Category: कलाप्रेस

  • ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक, अनलाइन सब्सक्रिप्सन लिएर विश्वभर हेर्न मिल्ने

    ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक, अनलाइन सब्सक्रिप्सन लिएर विश्वभर हेर्न मिल्ने

    काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिकल थ्रिलरमा निर्मित सिरिजको पहिलो सिजन ४ एपिसोडको हुनेछ भने प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । सिरिजलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।

    वीरगन्जमा छायांकन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।

    प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलीज गरिनेछ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।

    सिरिजको ट्रेलर भने ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षको भनाई छ । विश्वभरिबाट जुनसुकै डिभाईसमा पनि अनलाइन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताइएको छ ।

    ईनिसीयल फेजमा न्युनतम ४८ घण्टाको प्रिमीयम कन्टेन्टबाट प्लेटफर्म सार्वजनिक गरिने र सबै कुराको तयारी पश्चात केही दिनमै प्लेटफर्मको औपचारिक रुपमा घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ ।

  • श्रीलंकामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

    श्रीलंकामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

    काठमाडौँ । श्रीलंकामा आयोजना भएको ‘मिस वल्र्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शीर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई उत्कृष्ट दश भित्र उभ्याउदै उक्त उपाधि हात परेकी हुन् ।

    खनालले आफुले श्रीलंकामा उपाधि प्राप्त गरेको खुसी सामाजिक संजालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलंकाको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगिता हालै सम्पन्न भएको थियो ।

     

    सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो । श्रीलंका उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।

    प्रतियोगितामा नेपाली पहिरन, कलासंस्कृति मार्फत आफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगिताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।

  • ‘कार्साङ’मा दयाहाङसँग बाँधियो सुरक्षाको जोडी

    ‘कार्साङ’मा दयाहाङसँग बाँधियो सुरक्षाको जोडी

    काठमाडौं । अभिनेता दयाहाङ राई र बुद्धि तामाङको मुख्य भुमिका रहने सिनेमा ‘कार्साङ’को मुख्य अभिनेत्रीको रुपमा सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।

    यम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमामा सुरक्षाको जोडी दयाहाङसँग बाँधिनेछ । यसअघि नै सिनेमाका दुई मध्ये एक अभिनेत्रीमा छिरिङ शेर्पा पनि फाइनल भइसकेकी छिन् ।

    यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको सिनेमाका लागि अन्य कलाकार अडिसनबाट छनोट गर्ने तयारी निर्माण टिमको छ ।

    शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा सुरक्षा अनुबन्धित भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय सिनेमा हो । सिनेमामा उनी स्वयंको कथा, पटकथा तथा संवाद लेखन समेत रहेको छ ।

    पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै सिनेमाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निमार्ण पक्षले बताएको छ ।

    सिनेमा ‘कार्साङ’को ओभरसिज राइट्स पनि छायाकंन अगावै बिक्री पनि भइसकेको छ । सिनेमालाई अन्तराष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । सिनेमाको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिन अघि कागजी संझौता भएको थियो ।

  • ‘वानर सेना’को पहिलो गीत सार्वजनिक

    ‘वानर सेना’को पहिलो गीत सार्वजनिक

    काठमाडौं । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाईँ फिचर्ड छन् ।

    सार्वजनिक गीतको भिडियोमा उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

    सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङको संगीत रहेको छ । सिनेमाको कथा पौराणिक रहेकाले पनि दशैंको अवसरमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेको दाबी निर्देशक गिरीको छ ।

    गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक अर्पण गिरी, आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

    असोज २६ गतेबाट प्रदर्शनमा आउने सिनेमामा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ ।

    सिनेमाको सम्पूर्ण छायांकन सर्लाही र सप्तकोशी किनारमा गरिएको हो । युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

    https://youtu.be/YrtmCDNqtQo

  • साउन १९ गते प्रदर्शन हुने ‘अदृश्य’को पत्रकार भेटघाट

    साउन १९ गते प्रदर्शन हुने ‘अदृश्य’को पत्रकार भेटघाट

    काठमाडौं । आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए ।

    सिनेमाका निर्माता तथा निर्देशक काफ्ले ‘अदृश्य’ एउटा उत्कृष्ट फिल्म बनेको दाबी गरेका छन् । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफुले डेब्यू निर्देशकिय राम्रो बनाउन सकेको बताउँछन् । सिनेमाको पहिले नाम ‘ए’ राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिर्वतन गरिएको बताए ।

    अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीकाबीच छायांकन गरिएको फिल्मको सार्वजनिक पोस्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे । नेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम फिल्म बन्ने भएककाले पनि यस्तो खालका फिल्म दर्शकको रोजाईमा पर्न सक्छन् । आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बुझाई उनको छ ।

    फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवी गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म सवैले हेरेर सहयोग गरिदिन आग्रह गरे ।

    फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले रिलिजको ४ दिन अगाडी गरिएको पत्रकार भेटघाटले पनि दर्शकलाई फिल्मको बारेमा धेरै कुरा जान्ने अवसर मिलेकाले पनि हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले यो फिल्मबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन् ।

    पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

    राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

    प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा, भोलिबाट अडिसन हुने

    टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा, भोलिबाट अडिसन हुने

    काठमाडौं । टेलिभिजन रियालिटी शो ’महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।

    टेलिभिजन रियालिटी शो ‘महागफाडी’लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् । उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन् ।’

    ढाकाटोपी फिल्मसको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजन कम्पनीले दिएको छ । तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । निर्माण कम्पनिका अनुसार सहभागीले शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ ।

    यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ । फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिनेछ, भने पहिलो वर्ल्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्मस्ले दिएको छ ।

    दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा ’माई पे’ रहेको छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोकको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन् । चाँडै ’महागफाडी’ प्रसारण हुने टेलिभिजन च्यानल र डिजिटल पार्टनर सार्वजनिक गर्ने तयारी आयोजकको छ ।

    ’महागफाडी’को निर्णायक मण्डलमा वरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । अभिनयबाट गुमनाम रहेका कामेश्वर यही शोबाट टेलिभिजनको पर्दामा देखिँदैछन् ।

    ‘महागफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।

    टेलिभिजन रियालिटी शो ’महागफाडी’को प्रोजेक्ट हेटमा दिपक आरजे, प्रोजेक्ट म्यानेजरमा समिर खरेल, क्रियटिभ हेजमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डिओपी निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहेका छन् ।

  • सारुकको आत्महत्यामा अनुसन्धान बन्द, प्रहरी भन्छ- सुसाइड नोटसहित प्रतिवेदन पेश गर्छौँ (भिडिओ)

    सारुकको आत्महत्यामा अनुसन्धान बन्द, प्रहरी भन्छ- सुसाइड नोटसहित प्रतिवेदन पेश गर्छौँ (भिडिओ)

    काठमाडौं । मोबाइल परीक्षण रिपोर्टमा सुसाइड नोट भेटिएसँगै कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरण अब ‘क्लोज्ड’ भएको छ ।

    यसअघि एक नायिकालाई जोडेर आत्महत्या दुरुत्साहनमा आकर्षित हुने ब्यहोराका समाचारहरू बाहिर आएका थिए। तर सारुकको मोबाइलमा भेटिएको सुसाइड नोटमा उनले कसैलाई पनि आरोप लगाएका छैनन् ।

    काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले अब यो घटनालाई आत्महत्या मानेर सुसाइड नोट समावेश गरी अनुसन्धान प्रतिवेदन पेश गरिने बताए।

    ‘अब सुसाइड नोट राखेर पेश गर्ने छौँ’, एसएसपी कार्कीले भने।

  • नम्रतालाई राहत: सारुकको सुसाइड नोटमा उनीमाथि छैन कुनै आरोप

    नम्रतालाई राहत: सारुकको सुसाइड नोटमा उनीमाथि छैन कुनै आरोप

    काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि अभिनेत्री नम्रता श्रेष्ठ जबरजस्त विवादमा आइन् । केही मिडियाहरुले उनैले सारुकलाई आत्महत्यामा धकेलेको अर्थ लाग्ने गरी समाचारहरु पनि लेखे ।

    आत्महत्या गरेकै दिन नम्रता र सारुक ‘ह्यासट्याग माया’ को सुटिङमा थिए । सुटिङकै क्रममा उनीहरुबीच विवाद भएको तथा होटलमा फर्किएपछि पनि झगडा गरेका कुराहरु चलचित्रको निर्माण टीमले बाहिर ल्याए । यसबाट नम्रता तनावमा थिइन् । कतिपय मिडियाले उनी देश छोडेर भागेको समाचारसमेत लेख्न भ्याए ।

    प्रहरीलाई नम्रतालाई अनुसन्धानमा तान्न दबाबसमेत परेकाे थियाे । तर, उनीविरुद्ध कसैले उजुरी नगरेकाले साेधपुछकाे लागि नबाेलाइएकाे स्राेतले बतायाे । प्रहरीले एकातर्फ मोबाइलको परीक्षण रिपोर्ट कुरिरहेको थियो भने अर्कोतर्फ मृतकका आफन्तहरुको जाहेरी ।

    ‘मृतकका आफन्तहरु १४/१५ दिन काजकिरियामै हुनुहुन्थ्यो । उहाँहरुबाट जाहेरी आउँछ कि भन्ने थियो तर आएन’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

    सारुकको कुनै ‘सुसाइड नोट’ प्रहरीले नभेटेकाले यो घटनालाई लिएर विभिन्न संशयहरु थिए । तर, उनको मोबाइलको फरेन्सिक ल्याब परीक्षणले घटनालाई नयाँ ट्विस्ट दिएको छ । मोबाइलको नोटप्याडमा सारुकको ‘सुसाइड नोट’ फेला परेको छ, जसमा उनले कसैलाई पनि आरोपित गर्न चाहेका छैनन् ।

    प्रहरी स्रोतका अनुसार उनले सुसाइड नोटमा थुप्रैको नाम लिएका छन्, तर सकारात्मक रुपमा । नोटमा नम्रताको नाम पनि उल्लेख रहेको स्रोतले बतायो ।

    ‘उहाँले नम्रतालाई पनि सम्झिनुभएको छ, नराम्रो केही लेख्नुभएको छैन,’ स्रोतले भन्यो ।

    आत्महत्या दुरुत्साहन हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । सारुकका परिवार तथा ‘ह्यासट्याग माया’का निर्माण पक्षसँग बयान लिइएको थियो । तर, सारुकको सुसाइड नोटपछि प्रहरी ढुक्क भएको छ ।

  • धरतीको इन्द्रेणी लिएर आए नेपाल प्रेसका स्तम्भकार विमल पोखरेल

    धरतीको इन्द्रेणी लिएर आए नेपाल प्रेसका स्तम्भकार विमल पोखरेल

    काठमाडौं । विद्यार्थी नेता विमल पोखरेल ‘धरतीको इन्द्रेणी’ लिएर पाठकमाझ आएका छन् । लेखक तथा अधिवक्ता पोखरेलको नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ शनिवार नेपाल बार एशोसिशनमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो।

    अनेरास्ववियु छैटौँका पूर्व अध्यक्षसमेत रहेका पोखरेलले पुस्तकमा आफ्नो राजनीतिक यात्राको क्रममा देखेका र भोगेका विषयवस्तुलाई समेटेका छन्।

    पुस्तकमा नेपालका पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्म र भारतका केही स्थानका भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक र ऐतिहासिक विषयलाई समेटिएको पोखरेलले बताए।

    पुस्तकमा २३ वटा निबन्ध तथा नियात्रा समावेश छन् । पोखरेलको यो पाँचौँ पुस्तक हो। उनका यसअघि शिक्षाको राजनीतिक स्वरूप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोलन: अखिल छैटौँको इतिहास प्रकाशित छन् ।

    पुस्तक सार्वजनिक समारोहमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, प्रज्ञा सदस्य डा. कौशिला रिसाल तथा पत्रकार अरुण बरालले पुस्तकबारे टिप्पणी गरे ।

    पोखरेल नेपाल प्रेसका स्तम्भकार समेत हुन् ।

  • रोयल्टी विवाद : अमर्यादित भाषा प्रयोग गरेकोमा सुरेश अधिकारीले गरे क्षमायाचना

    रोयल्टी विवाद : अमर्यादित भाषा प्रयोग गरेकोमा सुरेश अधिकारीले गरे क्षमायाचना

    काठ्माडौं । रोयल्टीको विषयमा आफूले अमर्यादित भाषा प्रयोग गरेको बताउँदै संगीतकार तथा संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले क्षमायाचना गरेका हुन् ।

    आफूले प्रयोग गरेको आलोचनात्मक शब्द र आवेगपूर्ण खरो भाषा, कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने वा कुनै व्यक्तिप्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले नगरेको उनको प्रष्टीकरण छ ।

    ‘मैले कोही व्यक्ति वा कुनै संस्थालाई तोकेर आरोप, लाञ्छना वा आलोचना गरेको हैन । त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टीप्रति उहाँहरुका गलत धारणा र कार्यशैली प्रतिको आक्रोश मात्रै हो । तर मैले गरेको पोस्टले सङ्गीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरुलाई समेत त्यस आलोचनामा मुछिएको अनुभुति भएछ । जसले म आफैंलाई दुःखी तुल्याएको छ’, अधिकारीले लेखेका छन्, ‘आफ्नो पेशागत हकहितका लागि कृयाशील रहनु भएका वहाँहरुप्रति मेरो सदैव सम्मान र आदर छ । आवेगवश रुपमा प्रस्तुत मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोही–कसैलाई चित्त दुखेको छ वा आफ्नो ब्यक्तित्वलाई धमिल्याएको जस्तो लाग्छ भने म सम्बन्धित सबैमा विनम्रता पूर्वक क्षमायाचना गर्दछु ।’

    उनले क्षमायाचनासहित रेडियो टेलिभिजन र स्रष्टा कलाकारको आपसी अन्योन्याश्रित सम्बन्ध सुधार गरी एक अर्काको गरिमामय भुमिकालाई राज्यमा स्थापित गर्न ठोस सहकार्य गर्ने र आफू आफ्नो स्थानबाट सदैब तत्पर रहने बताएका छन् ।

    उनले स्रष्टाहरुको कानूनप्रदत्त रोयल्टीको अधिकार र त्यसलाई व्यवस्थित गर्न राज्यले निर्धारण गरेको कानुनी प्रावधानप्रति संवेदनशील र जिम्मेवार रुपमा प्रस्तुत हुनसमेत अनुरोध गरेका छन् । साथसाथै, स्रष्टाहरुको रोयल्टीको निम्ति गठित संस्थाको अवमुल्यन, अपमान र तिनका काम कारवाहीहरुको विषयमा आफ्नो क्षेत्राधिकार नाघेर राखेका गलत धारणा, भ्रम र गलत सन्देशप्रति आफ्नो आपत्ति र असहमति कायमै रहने पनि बताएका छन् ।

    श्रावन १ गते संगीतकार सुरेश अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो । उनले स्टाट्समा प्रयोग गरेको ‘अमर्यादित’ शब्दहरुप्रति आपत्ति जनाउँदै नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (एक्योर्याब) द्वारा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको मागसहित एक विज्ञप्ति जारी गरिएको थियो । अधिकारीको शो अभिव्यक्तिपछि निजी तथा सामुदायिक एफ.एम रेडियो सञ्चालकहरुका तीन संस्थाले उनका सबै गीतहरु बहिष्कार गरेका छन् ।

     

  • सुशान्त खत्री भन्छन्- निको हुने प्रयासमा छु, समय लाग्छ

    सुशान्त खत्री भन्छन्- निको हुने प्रयासमा छु, समय लाग्छ

    काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री करिब एक वर्षदेखि डिप्रेसनमा छन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा रहेको जानकारी दिएका थिए । मध्यरातमा फेसबुक लाइभ आई आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र आफ्नै देशमा आएर मर्ने चाहना रहेको बताएका थिए ।

    खत्रीले बिहीबार भने आफू निको हुने प्रक्रियामा रहेको बताएका छन् । आफ्नो फेसबुक स्टोरीमार्फत उनले आफू मेडिकेसनमा रहेकोसमेत खुलाएका छन् ।

    उनले रातो पानाको ईमोजीसहित लेखेका छन, ‘म आफैं निको हुने कोसिसमा छु । अहिले मेरो इनर्जी सबै नकारात्मक छ । सकारात्मक हुन समय लाग्छ । मलाई आफूमा भएको नकारात्मक इनर्जी सबैमा पास गर्नु छैन । त्यसैले मलाई बुझिदिनु हुन सबैलाई अनुरोध गर्दछु । मानसिक स्वास्थ्य मजाक होइन । म मेडिकेसनमा छु र म वाचा गर्छु कि म फर्किंदा झनै बलियो र खुशी भएर फर्किनेछु । धेरैलाई दुःख दिए होला । यो मेरो लडाइँ हो र म आफैं लड्नेछु । धन्यवाद अनि सबैलाई धेरै माया ।’

    उनी केही दिनअघि हिमालयन रोडिजको सेटमा पनि देखिएका थिए । उक्त शोमा उनी गेस्ट भएर पुगेका हुन् या प्रतिस्पर्धी, त्यो भने खुलेको छैन । उनी हिमालयन रोडिजमा पुगेको केही भिडिओ सार्वजनिक भएका छन् ।

    भिडिओमा पनि उनी त्यहाँ पुग्नुको कारण खुलाइएको छैन । सार्वजनिक एक भिडिओमा उनले रोडिज देख्दा जस्तो सजिलो देखिन्छ, रियलमा त्यस्तो नभएको बताएका छन् । उनको यो अभिव्यक्तिले दर्शकमा झनै कौतुहल बढाएको छ । उनी त्यहाँ के भूमिका निभाउन पुगेका होलान् भन्ने जान्न दर्शक आतुर छन् ।

    केही समयअघि लाइभ आई खत्रीले औषधिको पत्ता देखाउँदै आफूले कुनै पनि क्षण गलत निर्णय लिन सक्ने संकेत गरेका थिए । ६ महिनादेखि आफूलाई निकै गाह्रो भएको बताउँदै उनले हालै आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिँदै अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्दै चिन्ताजनक सङ्केत गरेका थिए ।

    लाइभ आउनुपूर्व उनले फेसबुकमा निराशावादी पोस्ट पनि गरेका थिए । जहाँ उनले ६ महिनादेखि आफूलाई निकै गाह्रो भएको बताएका थिए । तर, उनले आफ्नो समस्या भने खुलाएका थिएनन् । आफूले धेरैलाई साथ र सहयोग गरे पनि आफूलाई चाहिएको बेला अरुको साथ नपाएको उनको गुनासो थियो ।

  • ‘जय हो’को नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

    ‘जय हो’को नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

    काठमाडौं । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।

    गीत सार्वजनिक भएसँगै सलोन शुक्रबार अष्ट्रेलियातर्फ जाँदैछन् । फिल्मको प्रदर्शनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन् । यसैले उनी उड्नुभन्दा अगाडि निर्माण टिमले पत्रकारसँग भेटघाट गर्दै नयाँ गीत सार्वजनिक गरेको हो । अष्ट्रेलिया जाने निश्चित भएपछि सलोन दुई हप्ता फिल्मको प्रचारमा राम्रै खटेका थिए । अब फिल्मको प्रचारमा अरु कलाकार सक्रिय हुने जनाइएको छ ।

    टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

    फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । फिल्मलाई मुस्ताङ र पोखरा क्षेत्रमा खिचिएको हो ।

  • ‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल

    ‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल

    काठमाडौं । उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ । आज काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो ।

    यो मिस यूनिभर्स फ्रान्चाइजी अन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो । कार्यक्रममा उमंगा क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारी र राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले विश्वभर आफ्नो खुबी प्रस्तुत गर्ने नयाँ अवसर आएको बताएका थिए ।

    ‘मिस यूनिभर्स नेपाल’मा सहभागी हुन चाहने प्रतियोगीको उचाई र तौलको मापदण्ड गरिएको छैन । यस्तै, यो प्रतियोगितामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्नेछन् ।

    ‘मिस यूनिभर्स नेपाल २०२३’को विजेताले ‘७२ औं मिस यूनिभर्स’को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यो प्रतियोगितामा सहभागीता जनाउनका लागि मिस यूनिभर्सको वेवसाइटमा गएर वा खल्ती एप प्रयोग गरि आफ्नो नाम दर्ता गर्न सकिनेछ ।

    यो प्रतियोगितामा सहभागीता जनाउन चाहनेहरुले जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन् । ४ अगष्टमा आयोजकले क्वाटरफाइनलको घोषणा गर्नेछ । यस्तै, १४ अगष्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ ।

    मिस यूनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ । सेप्टेम्बर ८ मा ‘मिस यूनिभर्स नेपाल २०२३’को घोषणा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछन् । विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’मा नेपालको प्रतिनिधीत्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगीताको ताज जित्ने अवसर पाउनेछन् ।

    मुख्य उपाधिसँगै ‘मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल ब्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस’ विधामा पनि प्रतियोगीहरुलाई पुरस्कृत गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।

  • सुशान्त खत्री हिमालयन रोडिजमा, गेस्ट कि प्रतिस्पर्धी ?

    सुशान्त खत्री हिमालयन रोडिजमा, गेस्ट कि प्रतिस्पर्धी ?

    काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री हिमालयन रोडिजको सेटमा देखिएका छन् । उनी उक्त शोमा गेस्ट भएर पुगेका हुन् या प्रतिस्पर्धी, त्यो भने खुलेको छैन ।

    उनी हिमालयन रोडिजमा पुगेको केही भिडिओ सार्वजनिक भएका छन् । भिडिओमा पनि उनी त्यहाँ पुग्नुृको कारण खुलाइएको छैन । सार्वजनिक एक भिडिओमा उनले रोडिज देख्दा जस्तो सजिलो देखिन्छ, रियलमा त्यस्तो नभएको बताएका छन् । उनको यो अभिव्यक्तिले दर्शकमा झनै कौतुहल बढाएको छ । उनी त्यहाँ के भूमिका निभाउन पुगेका होलान् भन्ने जान्न दर्शक आतुर छन् ।

    केही समय अघिमात्र खत्रीले मध्यरातमा फेसबुक लाइभ आई आफू करिब एक वर्षदेखि डिप्रेसनको शिकार भएको खुलाएका थिए । लाइभमै उनले औषधिको पत्ता देखाउँदै आफूले कुनै पनि क्षण गलत निर्णय लिन सक्ने संकेत समेत गरेका थिए । ६ महिनादेखि आफूलाई निकै गाह्रो भएको बताउँदै उनले हालै आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिँदै अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्दै चिन्ताजनक सङ्केत गरेका थिए ।

    कपननिवासी खत्री युवापुस्तामा निकै लोकप्रिय डान्सर हुन् । नेपाल र भारतमा उनका लाखौ फ्यान छन् । उनी भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन २’ का फाइनलिस्ट र सन् २०१२ मा सम्पन्न भारतको चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’को टप १० फाइनलिस्ट हुन। उनले सन् २०१९ मा ‘सानुमाया’ बोलको पहिलो गीत पनि रिलिज गरेका थिए ।

  • शिक्षा बनिन् मिस प्लस टू नेपाल २०२३

    शिक्षा बनिन् मिस प्लस टू नेपाल २०२३

    काठमाडौं । शिक्षा राणा ‘मिस प्लस टू नेपाल २०२३’ घोषित भएकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा शिक्षाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ताजसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधिसमेत हात पारिन् ।

    प्लस टू अध्ययनरत छात्राहरुको प्रतिभा निखार्दै व्यक्तित्व र सौन्दर्य मापनको उद्देश्यले आयोजित प्रतियोगितामा याङ्जी दावा लामा फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अप भए । लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधिसमेत हात पारिन् । श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन् ।

    युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा भएको प्र्रतियोगितामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारे ।

    त्यस्तै कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बने ।

    सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगितामा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेशनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायक रहेका थिए ।

    ‘मिस प्लस टू’को उपाधि यस अगाडि अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माले पनि जितेकी थिइन् । यो उपाधिपछि उनी कला क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

  • चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक

    चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘एैंचो पैंचो’को ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो। आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ ।

    ‘एैंचो पैंचो’ यही भदौ १४ गतेबाट देशभर एकसाथ लाग्ने भएको छ।केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको केही समय अघि टिजर सार्वजनिक गरिएको थियो । चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्दि तामाङ, विशाल पहारी, रमेश वुढाथोकी, रविन्द्र झा, सुमन मोटे, आदि लगायतका कलाकारको अभिनय छ ।

    कृषा चौलागाइको निर्देशनमा तयार पारिएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन। चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछानेको लगानी रहेको छ भने विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको कोरियोग्राफी छ ।

  • बजारमा आयो ‘दोबाटोमा’ को म्युजिक भिडिओ

    बजारमा आयो ‘दोबाटोमा’ को म्युजिक भिडिओ

    काठमाडौं । संकेत अगस्तीको शब्द संगीतमा श्रेय अगस्ती र सम्यकमान सिंह अधिकारीको स्वर रहेको ‘दोबाटोमा’ को भिडिओ सार्वजनिक भएको छ । उक्त  भिडिओमा कलेजका सहपाठीप्रति दुई युवकले एकल प्रेम गर्दा उनीहरूलाई मायामा आकर्षित गराएर अर्कै प्रेमीसँग हिँडेको कथावस्तु समेटिएको छ ।

    भेनस फिल्म्स अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडिओमा सविन कोइराला, साहिल चौधरी र निकी शाही मुख्य भूमिकामा छन् । सहायक भूमिकामा रिदम अस्मित साउद र ट्रिटन इन्टरनेशनल कलेजका विद्यार्थी देखिएका छन् । ट्रिटन इन्टरनेशनल कलेजको प्रायोजनमा बनेको यो म्युजिक भिडियोमा सोही कलेजको अधिकांश दृष्य समेटिएको छ ।

    गीतमभा पुरुषोत्तम सुवेदीको संगीत संयोजन र कुमार केसीको ध्वनी मिश्रण रहेको छ । दिनेश पराजुलीको छायांकन र रोनिशा अधिकारीको शृंगार रहेको यस म्युजिक भिडियोलाई निराजन केसीको सम्पादन र निशान एसके को निर्देशनले पूर्णता दिएको छ ।

  • नयराज पन्तको डायरी : विराटनगरमा बीपी-मनमोहनको टकरावले नौ जनाको मृत्यु !

    नयराज पन्तको डायरी : विराटनगरमा बीपी-मनमोहनको टकरावले नौ जनाको मृत्यु !

    काठमाडौं । ७२ वर्ष अगाडि संशोधन मण्डल सुरु गरेका नयराज पन्त नेपालको इतिहास क्षेत्रका एक नामी अनुहार हुन् । संस्कृत भाषाका पोख्त र प्रेमी उनै पन्तले २००७ कात्तिकदेखी २००८ चैतसम्म संस्कृतमा लेखेको डायरी अहिले नेपाली भाषामा अनुवाद भएर आएको छ । छोरा महेशराज पन्तको सम्पादन र अनुवादमा आएको डायरीमा मूल पाठ संस्कृतको अंश पनि छ । नेपालका प्राज्ञिक हस्ती पन्तको आँखाले देखेको तत्कालीन समाजको चित्र डायरीमा छ ।

    खासगरी डायरीमा राणा, राजा, कांग्रेस र भारतका धेरै कुरा अटाएका छन् । यी चार शक्तिको संघर्षदेखि समन्वयकालको भएकोले हुनसक्छ, डायरीमा ती कुरा आएका छन् । पन्तको डायरी आलोचनात्मक छ । उनी राणा, राजादेखि कांग्रेस हुँदै भारतसम्मको कुरामा पनि आलोचनात्मक देखिन्छन् । नेपालले मानेका नामी अनुहारहरु बाबुराम आचार्यलाई ‘इतिहासरसिक’ भन्ने देखि कवि लेखनाथ पौड्याललाई ‘राणाका भाट’ भन्नसम्म पन्तले भ्याएका छन् । बीपीले भरत शमशेर थुन्दा कानून नपुर्‍याएको भन्दै आलोचना गरेका पन्तले भरतशमशेरमाथि बीपीलाई मार्न खोजेको आरोप पनि लगाएका छन् । यसबाट पनि तत्कालीन घटनाक्रममा पन्त स्वतन्त्र चेतमा बसेका जस्तै देखिन्छन् ।

    नयराज पन्त ।

    तत्कालीन राणा युगमा वर्षको पाँच सय बढी तलब हुने ‘सुनको सरस्वती भएको ब्याजको टोपी’ लगाउने समूहका सदस्य पन्त राणाहरुसँग नरम भएको पनि देखिँदैनन् । उनै वागी बौद्धिक पन्तको हालसालै फाइन प्रिन्टले बजारमा ल्याएको डायरीका केही रोचक कुरा यहाँ प्रस्तुत गरिएको छः

    पृथ्वीनारायणको भूनीति र जंगबहादुरको मौद्रिक नीति पछिकाले तोडे

    पृथ्वीनारायण शाहले खेतीयोग्य जमिनमा अन्न रोप्न बस्ती सारेको तर पछिका शासकले त्यो परम्परा तोडेको पन्तले २००८ मंसिर २१ को डायरीमा लेखेका छन् । भीमसेन थापाले नै नेपालमा पहिलोपटक पहिलो ठूलो निजी महल बनाएको भन्दै पन्तले वीरशमशेरहरुले अन्न फल्ने खेत नाशेर ठूल्ठूला महल बनाएको लेखेका छन् । पृथ्वीनारायणका जनाति राजेन्द्रविक्रमले बुद्धि नभएर नोकर जंगबहादुरको बन्धनमा आफू र आफ्ना सन्तानलाई धेरै कालसम्म पारेको पन्तले लेखेका छन् ।

    पन्तले २००८ साल मंसिर २६ गतेको डायरीमा जंगबहादुरले धन देश बाहिर लान रोक लगाए पनि चन्द्रशमशेरले लगेको लेखेका छन् । त्यो प्रचलन पछिसम्म भएको उनले लेखेका छन् ।

    कोशी जस्ता नदीहरुले घेरिएको देशमा जलसेनादेखि समयको मागअनुसारको हवाई सेनासमेत राणाहरुले राख्न नसकेको भन्दै पन्तले आलोचना गरेका छन् ।

    राणा ढाल्ने आन्दोलनको नेता सुवर्णशमशेर नेतृत्वका महावीरशमशेरदेखि गोपालशमशेरहरुको उदाहरण दिएर पन्तले राणाहरुको पतनमा कौटिल्यको सूत्रअनुसार नै भएको २००७ साल चैत २३ गतेको डायरीमा उल्लेख गरेका छन् । पन्तले कांग्रेसका खास नेता बीपी र मात्रिका नभएर सुवर्णशमशेर भएको पटकपटक लेखेका छन् । नेपालमा राणा प्रधानमन्त्रीहरु धनी भएको र सबैभन्दा धनी मोहनशमशेर भएको २००७ साल चैत २४ को डायरीमा लेखेका छन् ।

    राजा, राणा, कांग्रेसदेखि नागरिक समाज विदेशीको इसारामा चल्ने

    पन्तले तत्कालीन समयमा कसरी विदेशी हस्तक्षेप स्वीकार भएको थियो र त्यसमा राजा, राणा, कांग्रेसदेखि नागरिक समाज कसरी जोडिएका थिए भनेर लेखेका छन् ।

    २००८ साल बैशाख २ गतेको डायरीमा पन्तले तत्कालीन महाराजाधिराज त्रिभुवनको अध्यक्षतामा भएको मन्त्रिमण्डलको बैठकमा भारतीय राजदूत चन्द्रेश्वर र सल्लाहकारहरु गोविन्दनारायण अनि वृजनारायण बसेको लेखेका छन् । यस्तै २००८ साल मंसिर ११ को डायरीमा पन्तले लेखेका छन्, ‘श्री ३ चन्द्रका छोराहरु भारतको दास भएर आफ्नो गौरव र मुलुकलाई खसाल्ने कर्तव्यबोध नभएका दुःखी भएर रहेका छन् ।’

    २००८ साल फागुन १८ को डायरीमा पन्तले चन्द्रशमशेरको बारेमा आलोचनात्मक लेखेका छन्, ‘अंग्रेजको पाउ मोलेर आफ्ना सबै प्रजालाई विवश पारी थुनेर आफ्ना दाजुभाइलाई क्रुद्ध पारेर चन्द्र धेरै कालसम्म आनन्दसँग बसे ।’

    २००७ साल चैत २५ गतेको डायरीमा पनि पन्तले बीपीलगायतका कोइरालाहरुको विरोध गरेर लेखेका छन्, ‘लोकनेता भनाउँदा कोइरालाहरुले राज्यको अधिकार लिएपछि गोविन्दनारायण र वृजनारायण नाउँका भारतीय अहिले राजकाजमा सल्लाह दिने भएका छन् । यताबाट नेपालीहरु भारतीयहरुको पिछलग्गू दिनकादिन हुँदै गइरहेका छन् ।’

    सोही दिनको डायरीमा नागरिक समाज पनि विदेशीले किनेको अर्थमा पन्तले लेखेका छन्, ‘नेपालका अदालतमा युरोपियनहरु न्यायाधीश नियुक्त गरिऊन भनेर नागरिक अधिकार समिति भन्ने कुनै संस्थाले अर्कोतिर आफ्नो आशय प्रकट गरेको छ ।’

    राणाका चाकरहरु एकाएक कांग्रेसका चाकरमा बदलिए

    राणा शासनलाई विदेशी पाउ मोल्ने, देशभक्ति नभएका र जनतालाई हेप्ने भनेर पन्तले ठाउँठाउँमा आलोचना गरेका छन् । तत्कालीन राणा सत्ता ढलेपछि राणाका चाकरहरु कांग्रेसका चाकर भएको पन्तले २००८ साल फागुन ७ गतेको डायरीमा लेखेका छन् । राणा कालका सरकारी प्रचार विभागका हाकिम बालकृष्णशमशेर, न्यायाधीश वल्लवशमशेर, प्रहरी हाकिम नरशमशेर, बबरशमशेरका चाकरीदार सरदार मानबहादुर, रााणाको कानून बनाउने कुलनाथ लोहनीसम्मको उदाहण दिएर उनले यस्तो लेखेका छन् ।

    सोही खण्डमा उनले पहिले राणाको बाटो कुरेर दर्शन गर्ने र पछि रााणाको पतन होस् भन्ने तत्कालीन चित्रकार केशव दुवाडीको पनि उदाहरण यसैमा दिएका छन् । यी अनुहारहरुको चरित्र चित्रण गर्दै पन्तले लेखेका छन्, ‘जुन मानिसहरु पहिले राणाजीहरुको ओड लिई तिनीहरुका अनुचर भएका थिए, तिनै मानिसहरु अहिले ती राणाजीहरुको पतन भएपछि कांग्रेसका मूल मान्छे भएका छन् ।’

    त्रिभुवनलाई सत्ताच्युत गर्ने पत्रमा सही गरेकाहरुले नै पछि राजभक्तिको गीत गाएको पनि पन्तले लेखेका छन् ।

    गृहमन्त्रीबाट हट्नुपरेपछि भारतविरोधी भएका बीपी

    पन्तले भारतको कृपा हुदाँसम्म भारतसँग नरम भएका बीपी कोइराला भारतले असहयोग गरेपछि विरोधी भएको उल्लेख गरेका छन् । मोहनशमशेरको क्याबिनेटमा गृहमन्त्रीबाट हटेपछि बीपीले नेपालमा भारतका प्रतिनिधिहरुले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको भनेको र त्यो समाचार कांग्रेसी अखबारहरु नेपाल पुकार र युगवाणीले छपाउँदै केआई सिंहको प्रशंसा र भारतीय राजदूत चन्द्रेश्वरको निन्दा गरेको पन्तले २००८ साल पुस ३ गतेको डायरीमा लेखेका छन् ।

    २००८ साल माघ २० गतेको डायरीमा भारतकै प्रसंगमा बीपी जोडेर पन्तले लेखेका छन्, ‘विसं २००७ मा नेता भनाउँदा विश्वेश्वरहरुले थालेको लडाइँ पनि भारतकै कृपाकटाक्षले नै सफल भयो । नत्र केही दिनमै यी कोइरालाहरुको गति पनि कुँवर इन्द्रजीत सिंहको जस्तो हुँदैनथ्यो भनेर लोकव्यवहार बुझेको कुन मानिसले भन्न सक्छ ।’

    पन्तले सोही डायरीमा थपेका छन्, ‘भारतको कृपाले प्राणरक्षा भएका र ठूलो अधिकार पाएका विश्वेश्वरले वि.स २००८ कार्तिकमा गृहमन्त्रीको पदबाट झर्नेबित्तिकै भारत नेपालमा अनधिकार हस्तक्षेप गर्छ भनेर सभैपिच्छे बकबक गरेको देखिन्छ ।’

    बीपीको चन्दा प्रकरणमा पनि पन्तले शंका गरेका छन् । २००८ साल फागुन १४ गतेको डायरीमा उनले भारतको काशीको महाविद्यालयलाई दिएको पाँच हजार चन्दाको विषय लिएर महिनाको १५ सय तलब हुने सामान्य परिवारका बीपीले ९ महिना मन्त्री हुँदा साढे १३ हजारमात्रै कमाएकोमा त्यहाँ शंकाको सुविधा भएको तर्क गरेका छन् ।

    विरोध प्रदर्शनदेखि बिर्ता मुद्दामा कांग्रेसी नेताहरुको दोहोरो चरित्र

    पन्तले नेपाली कांग्रेसका मन्त्रीहरुको दोहोरो चरित्रको आलोचना गरेका छन् । २००८ साल पुस १८ गते लेखेको डायरीमा बिर्तावालाहरुको जग्गाजमिन हर्न खोजेको तर पछि काठमाडौं र पहाडमा २५ रोपनी, तराईमा २५ बिगाहा जमिन वैध गरेको लेखेका छन् । २००८ साल साउन १३ मा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले आफ्नो तलब बढाउन आग्रह गर्दै हड्तालको कुरा गर्दा हड्ताल गरे वा ठूलो स्वरमा कराए सबैको जागिर जान्छ भनेर आदेश दिएको भन्दै पन्तले २००४ सालमा विराटनगरको जुटमिलमा मजदुरको तलब बढाउने आन्दोलनका नेता बीपी गृहमन्त्री भएपछि त्यस्तै खाले मुद्दामा विरोधी भएको पन्तले लेखेका छन् ।

    २००७ साल चैत २६ को डायरीमा पनि पन्तले कांग्रेसी मन्त्रीहरुको आलोचना गरेर लेखेका छन्, ‘यी कांग्रेसी मन्त्रीहरुले पनि आफूले कबुलेअनुसार दुनियाँको हित गर्न सकेनन् र यिनीहरु शत्रुको निन्दा गरेरै दिन बिताइरहेका देखिन्छन् ।’ यसमा पन्तले थपेका छन्, ‘शत्रुको निन्दा गरेर कांग्रेसीहरुले शत्रुकै बल बढाइरहेका छन् ।’

    राणाहरुको बद्नाम गर्न कांग्रेसका मन्त्रीहरुले अन्न खानतलास गरेको पन्तले लेखेका छन् । २००८ साल साउन २० गतेको डायरीमा पन्तले तत्कालीन खाद्यमन्त्री सूर्यप्रसाद वा गृहमन्त्री बीपीको आदेशले बहादुरशमशेर, अग्निशमशेर, हरिशमशेर, नारायणशमशेर, समरशमशेर आदिका घरमा खोजतलास गरेको र अग्निशमशेरको घरमा ८०० मुरी र समरशमशेरको घरमा ८०० मुरी धान भेटिएको कुरालाई धेरै हल्ला गरिएको पन्तले लेखेका छन् ।

    एक जनालाई एक दिनको खाना खान दुई माना चामल चाहिने भन्दै वर्षमा एक जनालाई मात्रै साढे ११ मुरी अन्न चाहिने तथ्यांक निकाल्दै पन्तले ठूलो परिवार र धेरै नोकरचाकर भएका राणाहरुको घरमा त्यत्ति धान हुनु कुनै असामान्य नभएको तर्क गरेका छन् । यस्तै २००८ साल कार्तिक २५ गतेको डायरीमा बीपीका बारेमा पन्तको अर्को आलोचनात्मक टिप्पणी छ । त्यहाँ पन्तले लेखेका छन्, ‘आफ्नो हातमा शक्ति आएपछि त्यस शक्ति स्थिर गर्न गृहमन्त्री कोइराला त्यही शक्तिद्वारा श्री ३ मोहन जस्तै हुन खोजिरहेका छन् ।’

    राणा प्रधानमन्त्री जुुद्धशमशेरले बन्द गरेका कतिपय भीआईपी चाकरी प्रथा मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएर आएपछि पुनः सुरु गरेको पन्तले २००८ साल मंसिर २४ को डायरीमा लेखेका छन् । डायरीमा भनिएको छ, ‘आफूलाई जनताको नेता ठान्ने मानिसहरुको हातमा अधिकार जाँदा आजभोलि प्रधानमन्त्री मात्रिकाप्रसादको स्वागतको लागि हीराका चाँद लाउने सरकायिरा जागीरदारहरु र महाराजाधिराजको स्वागतका लागि सुनको चाँद लाउने सरकारिया जागीरदारहरु शहरबाट झण्डै एक कोश पर गौचर हवाई अड्डामा हाजिर हुनुपर्छ भन्ने राजकीय घोषणा भयो ।’

    विराटनगरमा बीपी र मनमोहन टकराव हुँदा नौ जनाको मृत्यु !

    विराटनगरको कलकारखानामा वि.सं २००४ मा चलेको आन्दोलनलाई पन्तले उपद्रव भनेका छन् । त्यहाँबाटै बीपी र मनमोहनको नाम आएको उनले २००८ साल बैशाख ५ को डायरीमा लेखेका छन् । उनले भनेका छन्, ‘विराटनगरमा वि.सं. २००४ मा कलकारखानामा चलेको उपद्रवले गर्दा त्यस उपद्रवका प्रवर्तक कोइरालाहरु प्रख्यात भए । त्यसरी प्रख्यात हुनेहरुमा मनमोहन अधिकारी भन्ने कुनै मानिस पनि थिए ।’

    विराटनगरका कलकारखानामा बीपी र मनमोहनको टकराबको कारणले नौ जनाको ज्यान गएको पनि पन्तले सोही दिनको डायरीमा लेखेका छन् । उनले भनेका छन्, ‘आफ्ना अनुयायीहरुले घेरिएका मनमोहनले बीपी कोइरालाले बनाएको सबै नियम हटाएर कलकारखानाहरुमा आफ्नै नियम लागू गर्न खोजे । त्यो नसहेर कोइरालाले शहरमा हल्लाखल्ला गर्ने कारखानाका कमदारहरुमाथि गोली चलाँउदा नौ जना मरे र एक्काइस जनालाई घाइते बनायो भनी ठूलो कोलाहल छ ।’

  • भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक

    भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक

    काठमाडौं । भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ।

    सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरू समेटिएको छ। चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टको भनाइ छ।

    एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत का कलाकारको अभिनय रहेको छ।

    फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

    विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन्।

    चलचित्र ‘जुलेबी’ को वितरण डिसीएन र रिच इन्टरटेन्टमेन्टले गर्नेछन भने चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।

    https://youtu.be/6WmC8uKz-G0

  • कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ? भक्कानिँदै प्रियंकालाई सुनाइन् डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा

    कसरी बिग्रियो माल्भिका सुब्बाको घरबार ? भक्कानिँदै प्रियंकालाई सुनाइन् डिभोर्सदेखि डिप्रेसनसम्मको अन्तरकथा

    काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउँछिन्, जसमा सफल दाम्पत्य सम्बन्धमा रहेका जोडीहरुलाई ल्याएर उनीहरुको प्रेम र रोमान्सका कुराहरु खोतल्छिन् । तर, माल्भिकाको आफ्नै दाम्पत्य जीवनको अनुभव भने मीठो छैन ।

    आफ्नो निजी जीवनका विषयमा अहिलेसम्म माल्भिकाले सार्वजनिक रुपमा बोलेकी थिइनन् । श्रीमानसँगको डिभोर्सलाई पनि उनले मिडियाबाट लुकाएर राखेकी थिइन् । तर, हालै नायिका प्रियंका कार्कीसँगको एक अन्तर्वार्तामा उनले आफ्नो वैवाहिक जीवन कसरी असफल भयो भन्ने विवरण सुनाएकी छन् । अन्तर्वार्तामा उनी पटक पटक भावविह्वल भएकी थिइन् ।

    प्रियंकाले आफ्नै युट्युब च्यानलमा सञ्चालन गरिरहेको कार्यक्रम ‘फोर्थ ट्राइमेस्टर’ मा माल्भिकालाई गेस्ट बनाएकी हुन् । एकदमै मिल्ने साथी भएकाले पनि उनीसँग खुल्न माल्भिकालाई सजिलो भयो । उनले आफ्नो प्रिग्नेन्सीदेखि डिभोर्ससम्मका कुराहरु पहिलोपटक सार्वजनिक गरिन् ।

    माल्भिकाले ३ वर्षको प्रेम सम्बन्धपछि रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन् । विवाहको केही समयसम्म ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु हुन थालेको माल्भिकाको भनाइ छ । गर्भावस्थामा आफूले श्रीमानबाट पर्याप्त साथ नपाएको उनले बताएकी छन् । सम्बन्ध बिग्रिन थाल्नुको कारण भने उनले खुलाइनन् ।

    ‘प्रेग्नेन्सीपछि केही इस्युहरु सुरु भयो । श्रीमानका रुपमा मैले धेरै कुरामा सपोर्ट पाइनँ । मैले सोचेको कुराहरू गर्न पाइनँ’, उनले भनिन् ।

    माल्भिका र रियाजको अन्तरजातीय विवाह थियो । दुई परिवारको संस्कृति र परम्परामा धेरै फरक भएकाले पनि समस्या उब्जिएको माल्भिका बताउँछिन् । आफूले छोराको न्वारन साधारण तरिकाले गर्न चाहे पनि श्रीमान र परिवारको दबाबले उनीहरुकै रीतिरिवाजअनुसार गर्नुपरेको उनको भनाइ छ ।

    ‘म उहाँको परिवारलाई धेरै सम्मान गर्छु । सासूससुराले मेरो छोरा हुर्काउन एकदमै सपोर्ट पनि गर्नुभएको छ । तर, हामीबीच सांस्कृतिक र वैचारिक भिन्नता धेरै थियो । त्यसैले एडजस्ट हुन गाह्रो भयो’, उनले भनिन् ।

    श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफूले एक्लै छोरा हुर्काउनुपरेको माल्भिकाले सुनाइन् ।

    उनले भनिन्, ‘पहिलो ६ महिना निकै सकस भयो । ४ महिनासम्म त मैले १६ घन्टा नसुतिकन एक्लै बच्चा हेरें । पहिलो ३ वर्ष उसले राम्रोसँग मसित कम्युनिकेट गर्दैनथ्यो । जहिले पनि झगडा पर्थ्यो ।’

    छोरा २ वर्षको भएपछि आफूले श्रीमानको घर छाडेको उनले बताइन् । यो उनको एकल निर्णय थियो ।

    ‘असाध्यै सफोकेसन भएपछि म घर छोडेर हिँडें । मेरो त्यो निर्णयमा माइती परिवार पनि सहमत हुनुहुन्थेन । ३-४ वर्षसम्म मैले एक्लै संघर्ष गरेर छोरालाई हुर्काएँ’, उनले भनिन् ।

    भावविह्वल हुँदै माल्भिकाले भनिन्, ‘त्यसबेला मलाई २-३ जना साथीहरुबाहेक कसैको सपोर्ट थिएन । परिवारले पनि मलाई बुझेन । बाँच्न पनि मन लाग्दैनथ्यो । आत्महत्याको सोच आइराख्थ्यो । तर, छोराको लागि जसरी पनि बाँच्नुपर्छ भन्ने ठानें । वास्तवमा भन्नुपर्दा म छोराकै कारण आज जीवित छु ।’

    आफूले पहिल्यैबाट केही रकम बचत गरेकाले एक्लै बाँच्न सम्भव भएको उनले बताइन् ।

    ‘मैले घर छोडेर अञ्जान ठाउँमा जसोतसो सेटअप गरें । निकै गाह्रो भएको थियो सबै एक्लैले म्यानेज गर्न । (भक्कानिँदै) एकजना साथीले राइसकुकर ल्याइदियो, अर्को साथीले प्लेटहरु ल्याइदियो । मैले सेकेन्ड ह्यान्ड फर्निचर किनें । किनकि नयाँ किन्ने क्षमता थिएन’, माल्भिकाले सुनाइन्, ‘श्रीमानको घर नजिकै डेरा लिएर बसेकी थिएँ । छोरालाई बुवा र उनको परिवार भेट्न सहजै होस् भनेर नजिकै बसेको हो । स्कुलबाट घर ल्याउँदा उसको घर भएर गुज्रिनुपर्थ्यो । त्यतिबेला सधैं घर जाने भनेर रुन्थ्यो । कहिलेकाहीं मैले गल्ती त गरिनँ भने जस्तो पनि लाग्थ्यो । राति सुत्दा सोच्थें, मेरो लाइफ कस्तो हुनुपर्ने, कस्तो भयो । तर, फेरि आफूलाई बलियो बनाउँथें ।’

    ‘म टेलिभिजनमा ‘जीवनसाथी’ भने गरिरहेको थिएँ । टेलिभिजनको पर्दामा पीडा लुकाउनुपर्थ्यो । मुस्कुराएर अतिथिलाई स्वागत गर्नुपर्थ्यो । अरु दम्पतीको कथा सुन्थें । उनीहरुको रोमान्टिक कुराहरु खोतल्थें । तर, आफ्नो विवाह बिग्रिएको थियो । कमेन्टमा कतिपयले लेखेको पनि देख्थें- आफ्नै सम्बन्ध टिकाउन नसक्नेले जीवनसाथी चलाएको भनेर । यस्ता कमेन्टहरुले पनि मानसिक रुपमा म विक्षिप्त हुँदै थिएँ । मलाई पोस्र्टमार्टम डिप्रेसन नै भयो ।’

    चार वर्षसम्म अलग बसेपछि माल्भिकाले औपचारिक डिभोर्स गर्ने निर्णय लिइन् । उनीहरुले दुई वर्षअघि डिभोर्स गरेका हुन् । छोरालाई दुवैले ‘को प्यारेन्टिङ’ गरेर हुर्काइरहेका छन् । श्रीमानसँग सम्पत्ति केही पनि नलिएको माल्भिकाले बताइन् ।

    डिभोर्सपछि आफूलाई रित्तो महसुस भएको माल्भिकाको अनुभूति छ ।

    ‘मैले सोचिविचारी निर्णय लिएको हो । तर, डिभोर्सपछि आफूलाई एक्लो फिल चाहिँ भयो । आई फेल्ट सो इम्पटी । त्यसबेला पनि सुसाइडल थट नआएको होइन’, उनले सुनाइन् ।

    गत वर्ष माल्भिका एउटा कन्ट्रोभर्सीमा परेकी थिइन्, जतिबेला उनी आफैं निकै डिप्रेस्ड अवस्थामा थिइन् । सन् २०१४ मा भएको एउटा सौन्दर्य प्रतियोगिताकी एक प्रतियोगीले आफूमाथि यौन हिंसा भएको र त्यसबेला माल्भिकाले पनि साथ नदिएको बयान दिएपछि माल्भिकालाई सामाजिक सञ्जालमा गालीगलौज भएको थियो ।

    ‘भर्खरै डिभोर्स भएको हुनाले म आफैं एउटा खराब मानसिक अवस्थाबाट गुज्रिरहेको थिएँ । त्यसमाथि त्यो कन्ट्रोभर्सी थपियो । त्यसले गर्दा नै मैले आफ्नो निजी जीवनको कुरा बाहिर ल्याउनु परेको हो’, उनले भनिन् ।

    अहिलेको अवस्थामा आउन आफूलाई चार वर्ष लागेको उनले बताइन् । अहिले भने पूर्वश्रीमानसँग मिलेर ‘को प्यारेन्टिङ’ गरिरहेको माल्भिकाको भनाइ छ ।