Category: कलाप्रेस

  • किशोरको ‘इलामैको चिया बगान’ मा जंग-नग्माको प्रेम कहानी

    किशोरको ‘इलामैको चिया बगान’ मा जंग-नग्माको प्रेम कहानी

    काठमाडौं । गायक तथा संगीतकार किशोर शिवाकोटीको ‘इलामैको चिया बगान’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । शिवाकोटी र बानिका प्रधानको स्वर रहेको गीतमा गायक शिवाकोटी स्वयम्, सर्वजीत राई र शिव माप्चनको शब्द सिर्जना छ । गीतमा पबिधन खालिङको एरेन्ज छ भने मिक्सिङ र मास्टरिङमा किशोर थापा छन् ।

    भिडिओमा इलामको रोमाञ्चक दृश्यसँगै चिया बगानभित्र हुने रमाइला र सुखदु:खका दृश्यलाई निर्देशक कमल राईले कलात्मक शैलीमा देखाएका छन् । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी बुनिएको भिडिओमा जंग मगर र नग्मा श्रेष्ठ गज्जबसँग खुलेका छन् ।

    चियाका मुना टिप्न गएका किशोरकिशोरी प्रेममा परेको र समयक्रमले विवाह बन्धनमा बाँधिएको कथालाई भिडिओमा देखाइएको छ । फिल्मी शैलीमा तयार पारिएको यस गीतको भीडीओमा राई समुदायको संस्कृति र स्थानीय परम्परालाई पनि झल्काउने काम गरेको छ । भिडिओको छायांकन र सम्पादन योगेश दाहालले गरेका हुन् ।

    रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगरलगायतका कलाकारहरूको पनि भिडिओमा अभिनय छ । शिवाकोटीकै अफिसियल च्यानल केके म्यूजिकबाट भिडिओ बजारमा आएको हो ।

  • अष्ट्रेलियामा ‘जय हो’काे प्रचार सकेर फर्किए सलाेन

    अष्ट्रेलियामा ‘जय हो’काे प्रचार सकेर फर्किए सलाेन

    काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन् । अब उनी नेपालमा फिल्मको प्रचारको काममा व्यस्त हुनेछन् । फिल्म अष्ट्रेलियाका ४० ओटा हलमा एकसाथ रिलिज हुनेछ ।

    त्यहाँका वितरक देव कार्कीसँग मिलेर सलोनले हरेक हलमा फिल्मको व्यानर समेत राखेका छन् । उनी अष्ट्रेलियाका विभिन्न सहरमा वितरक र निर्मातासँगै पुगेर दर्शकलाई फिल्मको बारेमा जनाकारी दिएका छन् । त्यहाँ फिल्म हेर्न दर्शक निकै प्रतिक्षारत रहेको पाएको अभिनेता बस्नेतले बताए ।

    अष्ट्रेलियाबाट फर्के लगत्तै सलोन अब ‘जय हो’को प्रचारको लागि देश दौडाहामा निस्कने तयारीमा छन् । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा सलोनका अलवा केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेडमा समीर खान । निर्माता सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छ्न।

  • ‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

    ‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

    काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘रावायण’मा थप दुई कलाकार अनुबन्धित भएका छन् । शुक्रवार निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग लिखित सम्झौता गरेको हो ।

    सिनेमाकी निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई टिममा स्वागत गर्दै फेसबुकमा तस्बिर सेअर गरेकी छन् । आगामी भदौबाट छायांकन सुरु हुन लागेको सिनेमामा अनमोल केसीले दोहोरो भूमिका निर्वाह गर्दैछन् । उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । उनीहरूले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु समेत गर्दैछिन् ।

    सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’को असफलतापछि करिअर र सिनेमा छनोटलाई लिएर अनमोल गम्भीर देखिएका छन् ।

    सुदर्शन थापाको निर्देशन र पूजा शर्माको लगानी रहने एक सिनेमामा अघिल्लो वर्ष अनमोललाई अनुबन्धित गरिएको थियो । पछि विभिन्न कारणले उक्त सिनेमा बनेन ।

  • किस्ना आचार्यको ‘तिम्रो याद’ सार्वजनिक

    किस्ना आचार्यको ‘तिम्रो याद’ सार्वजनिक

    काठमाडौं । किस्ना आचार्य रोशनीको शब्दमा ‘तिम्रो याद’ बोलको भिडियो गीत सार्वजनिक भएको छ।

    नेपाली सांगीतिक, सञ्चार र साहित्यकला क्षेत्रमा सक्रिय रहेकी किस्नाको शब्द रहेको गीतमा मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत समावेश रहेको छ ।

    सार्वजनिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको अभिनय देख्न सकिन्छ ।

    मुकेश हुमागाईँले खिचेका भिडियोमा दीपेन्द्र केसीको निर्देशन र प्रकाश भट्टको सम्पादन रहेको छ।

  • राजेश हमालको तीज गीत सार्वजनिक

    राजेश हमालको तीज गीत सार्वजनिक

    काठमाडौं। महानायक राजेश हमाल र मञ्जु थापा फिचर्ड ‘नयाँ घर आँगनमा नाच फरर’ बोलको तीज गीत सार्वजनिक भएको छ। गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ।

    भावना आचार्यका यसअघि बग्ने खोला, मूलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरू लोकप्रिय छन् । त्यसै गरी गायक डेभिडको पनि पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरू सफल छन्।

    देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

  • दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान

    दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान

    काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ ।

    बिहीबार दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गरेका हुन् ।

    सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट दुई जना छात्रछात्रा सम्मानित भएका छन् । दरबार हास्कुलको कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८०) र छात्रातर्फ लुनिभा कार्की (३.३३) सम्मानित भएका हुन् । २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।

    बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रियामा प्रा.डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाइन भने देवकुमारी लुइटेलले कविता वाचन गरिन् ।

    सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई, पूर्व मन्त्री गिरिराजमणि पोखरेल, साहित्यकार प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
    ‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोशमा राखिएको छ ।

    अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ । बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ ।

    वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।

     

  • अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाइ

    अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाइ

    काठमाडौँ । हिट फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योति राईलगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनको भोगाइका अनुभवहरु कवितामार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेर सार्वजनिक गरेकी हुँ’, अभिनेत्री गुरुङले भनिन् ।

    गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कवितासमेत थपेर पुस्तक ल्याउने सोच रहेको उनले बताइन् । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिक गर्न मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।

    ‘जब मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले भनिन्, ‘मैले पहिलो चोटी ‘बोबी’ फिल्म अभिनय गरें । गत वर्ष पुस्तक ल्याएँ ।’

    पहिलो पटक कोरेको कविता श्रीमान्लाई सुनाउँदा राम्रो भनेकाले अन्य कविता पनि कोरेको उनले बताइन् ।

    कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष पराजुलीले अभिनेत्री गुरुङको आँट र क्षमताको आफू सधैं‌ प्रशंसक रहेको बताए ।

    ‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने, ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भए पनि राम्रो सुरुवात भयो ।’

    कविताले पुस्तक पुरा गरेर सार्वजनिक गर्नेमा आफू आशावादी रहेको पराजुलीले बताए ।

    चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योति राईले अभिनेत्री गुरुङको कवितामा यथार्थ र जीवन भोगाइ भएकोले सबैको जीवनसँग कहीं न कहीं मेल खाने बताए ।

    कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरु’, ‘भेट्नु छ एकचोटी अब फेरि’ शीर्षकका तीन कवितासमेत बाचन गरेकी थिइन् ।
    उनले गतवर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् ।

  • सुब्बाको ‘गाउँ आएको बाटो’ टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदै

    सुब्बाको ‘गाउँ आएको बाटो’ टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदै

    काठमाडौं । नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’ प्रतिष्ठित टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, क्यानडामा वल्र्ड प्रिमियर हुने भएको छ । सेप्टेम्बर ७ देखि १७ तारिखसम्म सम्भालना हुने यस फेस्टिभलका लागि यस फिल्म छनोट भएको निर्देशक सुब्बाले जानकारी दिए ।

    भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायंकन गरिएको यस फिल्मले गाउँमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढाव र दरारको कथा भन्छ । फिल्ममा दयाहाङ राई, पशुपति राई लगायत कलाकारको अभिनय रहेको छ ।

    यसअघि सुब्बाको फिल्म ‘नुमाफुङ’ विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनोट तथा पुरस्कृत भएको थियो ।

    सुब्बाका अनुसार अहिले फेस्टिभलको सिजन भएकाले ‘गाउँ आएको बाटो’ फेस्टिभलहरुमै जानेछ । त्यसपछि मात्रै नेपालमा रिलिज हुनेछ । सुब्बाले भने, ‘नेपालमा त त्यस्तै आउँदो फागुन, चैततिर रिलिज हुन्छ होला । अहिले चाहिँ फेस्टिभलकै सिजन भएकाले अन्तर्राष्ट्रिय फेस्टिभलहरु नै टार्गेट गरेका छौं ।’

  • ‘मेरो भ्वाईस यूनिर्भस र डान्स’को ग्रान्ड फिनाले भदौ २ गते हुने

    ‘मेरो भ्वाईस यूनिर्भस र डान्स’को ग्रान्ड फिनाले भदौ २ गते हुने

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भस’को ग्रान्ड फिनाले भदौ २ गते हुने भएको छ ।

    बिहीबार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रान्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजेदेखि गर्न लागेको जानकारी दिएको हो ।

    कार्यक्रममा मेरो भ्वाईस यूनिर्भस तर्फ छनौट भएका उत्कृष्ट पाँच प्रतियोगिको र डान्स तर्फको उत्कृष्ट ६ प्रतियोगीको परिचय समेत गराइएको थियो ।
    ३० एपिसोडसम्म प्रसारण भईसकेको मेरो भ्वाईसको टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई पर्न सफल भएका छन् भने दार्जेलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईको अन्तिम प्रतिष्पर्धा रहने छ ।

    त्यसैगरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाईल्याण्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये कुनै पाँच जनाबीच अन्तिम प्रतिष्पर्धा रहने छ । यि दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउनेछन् भने उप– विजेताले ३० लाख र तेश्रो हुनेले २० पुरस्कार पाउनेछन् ।

    एलन श्रेष्ठको निर्देशनमा निर्मित यि दुवै कार्यक्रमको प्रसारण ३ महिनासम्म भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रह्यो । ‘हाम्रा रियालिटी सोले विश्वभर रहेका रहेका नेपालीहरुलाई साँस्कृतिक माध्यमबाट एक जुट बनाउने उद्येश्य राखेको छ जसका लागि हामीले एक रुपैयाँ पनि नाफा नराखी यो कार्यक्रम गरेका हौँ त्यसैले आगामी वर्ष हाम्रा कार्यक्रमलाई अझ परिस्कृत गर्दै लाने छौँ ।’ ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पत्रकार सम्मेलनमा भनेका छन् ।

    कार्यक्रममा मेरो भ्वाईस तर्फ जज बनेका वरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रममा प्रतियोगीले उठाएको साँस्कृतिक पक्ष मात्र नभई कार्यक्रम निकै अब्बल रहेको दाबी गरे । त्यसैगरी डान्स यूनिभर्सको तर्फबाट जज बनेकी अभिनेत्री मिथिला शर्माले प्रतियोगीले नेपाली संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको भन्दै यो मञ्चमा आउँनै नै जीत हो भन्दै प्रतियोगीको तारिफ गरेकी थिईन् ।

    दुई रियालीटी शोको डान्स तर्फ मिथिला बाहेक शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई र गेष्ट जजमा ऋचा शर्मा थिइन भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङले लिड गरेका थिए ।

    यसैगरी भ्वाईस तर्फ दीप श्रेष्ठ सहित सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा छन जुन कार्यक्रमलाई रिमा विश्वकर्मा र सन्दीप क्षेत्रीले होस्ट गरेका छन ।

  • यश कुमारको प्रष्टोक्ति- म बालेनको विरोधमा होइन, नगर प्रहरी र सडक व्यापारीबीच प्रेम सम्भव छ

    यश कुमारको प्रष्टोक्ति- म बालेनको विरोधमा होइन, नगर प्रहरी र सडक व्यापारीबीच प्रेम सम्भव छ

    काठमाडौं । यतिबेला गायक तथा नायक यशकुमारले भर्खरै सार्वजनिक गरेको ‘सुस्तरी’ बोलको गीत र भिडिओले बजार गर्माएको छ । समसामयिक विषय उठान गरिएको भिडिओलाई दर्शकले निकै रुचाएका छन् ।

    सार्वजनिक भएको दुई दिनमै गीतले १ मिलियन भ्युज बटुल्न सफल भयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमा गीतका प्रशंसा गरेका थिए । सञ्चारमाध्यमहरूको सकारात्मक टिप्पणी र ओलीको स्टाटससँगै गीतले ह्वात्तै पिकअप लिएको हो ।

    यशकुमारले आफ्नो च्यानलमा हालसम्म जम्मा २१ वटा भिडिओ अपलोड गरेका छन् । ३ वर्षअगाडि रिलिज भएको ‘तिम्रो मुटुमा’ बोलको गीत उनको च्यानलको सबैभन्दा बढी हेरिएको भिडिओ रहेको थियो । उक्त भिडिओलाई ३१ लाखपटक हेरिएको छ । रिलिजको दुई दिनमै ‘सुस्तरी सुस्तरी’ उनको च्यानलको धेरै हेरिने भिडिओको लिस्टको तेस्रो नम्बरमा उक्लिइसकेको छ । भिडिओको रफ्तार हेर्दा यो गीतबाट उनी पहिलोपटक करोड क्लबमा प्रवेश गर्न सक्छन् ।

    ‘सुस्तरी’ मा यशले नगरप्रहरी र सडक व्यापारीको प्रेमकथालाई बडो मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन् । भिडिओमा उनलाई अनु थापाले साथ दिएकी छिन् भने गायनमा अनु चौधरीले । यसै गीत र भिडिओबारे यश कुमारसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी-

    – यो गीत र भिडिओको कन्सेप्ट कसरी आयो ?

    मेरो कन्सेप्ट र लिरिक्स एकैचोटि तयार हुन्छ । यो मैले दुई वर्षअगाडि नै सोचेको गीत हो । अहिले आएर सबै काम सम्पन्न भयो ।

    भिडिओको कन्सेप्ट भने समय सान्दर्भिक भएर हो । अहिले जताततै यस्तै माहोल छ । फोन समाएर यसो केही हेर्न खोज्यो उही रोनाधोना, लछारपछार पारेको भिडिओ मात्र देखिने । साह्रै मनमा पर्‍यो । मेरो मन पोल्यो । बिलौनाबाहेक केही छैन । त्यही भएर, अब चाहीँ भएन, यसलाई यो शैलीमा लाँदा ठीक हुन्छ भनेर यो भिडिओ निर्माण गरेँ ।

    – समय सान्दर्भिक भिडिओ छ । भिडिओले दिने मूल सन्देशबारे के भन्नुहुन्छ?

    भिडिओमा रोएको, कराएको, खोसाखोस र झगडा गरेको दृष्यहरू धेरै देखाइएको छ । मैले झैझगडाको बीच पनि माया सम्भव छ है भनेर देखाउने प्रयास गरेको छु । भिडिओमा देखाइएको सडक व्यापारीको सामान खोस्न जाने व्यक्ति र खोसिने व्यक्ति एउटै हुन् । प्रहरीको पोशाक लगाईञ्जेल उ एउटा जिम्मेवारीमा बाँधिएको हुन्छ, त्यसैले खोस्न बाध्य हुन्छ । तर, जब राति घर पुगेर त्यो पोशाक खोल्छ, त्यो नगर प्रहरी पनि मकैवाली जस्तै हुन्छ । त्यसैले जिम्मेवारीमा बाँधिएको एउटा नगर प्रहरी र आफ्नो घर चलाउन सरकारी नियमविपरीत काम गरिरहेको वा भनौं बाध्यताले लखेटिएको एउटा पीडितबीच माया बस्यो भने के हुन सक्छ भनेर पर्दामा उतार्न खोजेको छु ।

    हुन त अहिलेको अवस्थामा नगर प्रहरी र सडक व्यापारी दुश्मनजस्तो भएका छन् । पटक्कै ग्रह नमिल्ने । तर, उनीहरूबीच माया पनि सम्भव छ भन्ने भिडिओमार्फत देखाउन खोजेको छु । आफैं हेर्नुहोस् न, आफूले माया गरेको मान्छेको अवस्था हेर्न नसकेर एउटा प्रेमी आफ्नो पेशासम्म छाडेर परदेश जाने पहल गरिरहेको छ । अर्कोतिर, एउटी मकैवालीले प्रेमको निम्ति आफ्नो व्यापारको शैली परिवर्तन गर्न तयार हुन्छे ।

    भिडिओमा प्रस्तुत गरिएको मुटु नै कमाउने खालको घटनाहरूलाई मायाले जित्नुपर्छ भन्ने कुरा हो । मैले भत्काउनेतिर मात्र होइन, सपार्नतर्फ पनि लाग्नुपर्छ र माया भए जे पनि सम्भव छ भन्ने आशय दिन खोजेको छु । मायाले दुश्मन नै भएपनि एउटै सुत्रमा ल्याउन सकिन्छ भन्ने बुझाउन खोजेको छु । त्यही हो ।

    – भत्काउनेतिर मात्र होइन, सपार्नतर्फ पनि लाग्नुपर्छ भन्नुभयो । तपाईंलाई बालेनको कामप्रति असन्तुष्टि हो ?

    त्यस्तो होइन नि । मैले त मेरो भिडिओमा अन्त्यमा बालेनजीलाई नै हिरो बनाएको छु ।

    ‘मसँग बिहे गर्ने हो भने यसरी दोबाटोमा मकै बेच्न पाउँदैनस’ भन्नु नै उहाँको काममा समर्थन जनाउनु हो । असन्तुष्टि केही छैन । मात्र मायाले गरे जे पनि सम्भव छ भन्न मात्र खोजेको हो ।

    – यो विषय उठाउँदा चर्चा दोब्बर हुन्छ भनेर त होइन ?

    त्यो पनि होइन । हरेक गीतमा एउटा कन्सेप्ट हुन्छ, चाहे त्यो राष्ट्रिय गीत होस्, मायाप्रेमको गीत होस् या धोका दिएकै किन नहोस् । सर्जकलाई एउटा विषय चाहिन्छ नै ।

    मैले यश कुमार को हो भनेर मेरो काममार्फत पहिला नै दर्शकहरूलाई चिनाइसकेको छु । त्यसैले चर्चा कमाउन कुनै उपाय लगाउनु जरुरी नै छैन । मैले मात्र मेरो गीत अनि भिडिओलाई जीवन्त बनाउन खोजेको हो ।

    मैले सीधै गएर बालेनजी वा सरकारलाई यसो नगर भन्न सक्दिनँ । म कुनै राजनीतिज्ञलाई गएर अह्राउन सक्दिनँ । म कलाकार हुँ, त्यसैले कलामार्फत केही सन्देश दिन भने पक्कै सक्छु । मैले यो कन्सेप्टमा भिडिओ नबनाएको भए पनि कोही न कोहीले त यो विषय पक्कै उठाउनुहुन्थ्यो । मैले अगाडि उठाएँ, त्यतिमात्र हो ।

    – भिडिओको कथा वास्तविक घटनामै आधारित हो कि ?

    एउटा सफल भिडिओ निर्माण गर्न कलाकारमात्र नभएर हरेक चिजमा ध्यान दिनुपर्ने हुन्छ । हाँसो, खुसीदेखि लिएर सबै भावहरूको समिश्रण बनाउन सके मेहेनतले रंग ल्याउँछ । त्यसैले मैले बीचमा जति झैझगडा भएपनि अन्तमा ह्यापी ईन्डिङ गरेको छु । ३ घण्टाको चलचित्रले दिने सन्देश ८ मिनेटमा अटाएको छ । एक किसिमको चलचित्र नै बनाएको छु ।

    सबै मसलाहरू चट्ट मिलाएर मीठो चटपटे बनाएको छु । खाँदा पनि मिठो भएर जिब्रो ट्वाक्क पड्कियोस् भन्ने भावले रचना गरेको छु । कसैको आँखा नबिझाउने अनि मन नपोल्ने तवरले भिडिओ निर्माण गरेको छु ।

    मैले बालेनजी र नगरप्रहरीहरूले सडक व्यापारीहरूलाई उठाइरहँदा उहाँहरूले के कस्तो डाइलग बोल्नु भयो भनेर हेरेको पनि छैन । मसँग पात्र तयार थिए । गीत अनि कथा तयार थियो । त्यसैले केही नसोची कन्सेप्ट बनाएर भिडिओ तयार गरिहालेँ ।

    – अनुजीको अभिनयको निकै प्रशंसा भइरहेको छ । उहाँको बारेमा के भन्न चाहनुहुन्छ ?

    उहाँ थिएटर आर्टिस्ट हो । उहाँले थुप्रै नाटकहरूमा खेल्नुभएको छ । खासमा उहाँसँग मैलै २०१८ मै चलचित्र ‘छिरिङ’ मा सहकार्य गर्न खोजेको थिएँ । तर, उहाँको पढाईको कारण त्यो सम्भव हुन सकेन । भाग्यवश अहिले संयोग जुर्‍यो ।

    उहाँ एकदमै राम्रो अभिनय गर्ने कलाकार हो । साँच्चै भन्ने हो भने उहाँले यस क्षेत्रमा आउन ढिला गर्नुभयो । उहाँ हाम्रो कला क्षेत्रले नदेखेको अनि ओझेलमा परेको कलाकार हो । नदेखेको पनि हैन । देखेर पनि नचिनेको कलाकार हो । सबैको नजरमा पर्नु पर्ने र कला क्षेत्रलाई चाहिने कलाकार हो । उहाँको काम र अभिनयले मलाई प्लस भएको छ । मेरो त्रुटि र कमजोर भएको अभिनयमा उहाँले ज्यान हाल्दिनुभएको छ ।

    – भिडिओमा नगरप्रहरीलाई झापड हानेको दृष्य पहिलै भाइरल भएको थियो । धेरैले त्यतिबेला यसलाई वास्तविक घटना पनि ठानेका थिए । त्यसले कस्तो असर गर्‍यो ?

    हो, नगरप्रहरीलाई झापड हानेको र एयरपोर्टको दृष्य पहिलै भाइरल भयो । सायद त्यो बेलाको माहोल पनि त्यस्तै त्यस्तै भएर होला । त्यसैले धेरैले रियल नै ठान्नुभएछ । हुन पनि रियल नै झापड हान्नुभएको थियो । त्यही भएर देख्नेलाई त्यस्तो लाग्यो होला ।

    छायांकनको दौरानमा कसैले खिचेर हाल्दिनुभएको रहेछ । (हाँस्दै) हुन पनि अहिले सबैजना क्यामराम्यानै क्यामराम्यान हुनुहुन्छ । तर, केही भएन । कहिलेकाहीँ हुन्छ यस्तो ।

    सडकबाट सडक व्यापारीहरूलाई उठाइरहँदा धेरैले आफ्नो जिम्मेवारी निभाइरहेको नगरप्रहरीलाई किन हात हालेको होला भनेर प्रश्न उठाउनुभयो । यस विषयमा मलाई के लाग्छ भने नि, एउटा अभाव अनि बाध्यतामा जेलिएको मान्छेको सहारा खोस्न आउँदा उसले आफ्नो बचाउ अवश्य नै गर्छ । आफ्नो घर जलाउन खोज्दा को चुप लागेर बस्छ र ? बचाउमा मान्छेले जे पनि गर्छ । त्यही घटनालाई देखाउन खोजेको छु ।

    – पछिल्लो समय यस्ता सन्देशमुलक सांगीतिक भिडिओहरू प्रकाश सपुतजीले धेरै निकालिरहनुभएको छ । उहाँको कपी गर्न खोज्नुभएको हो कि ?

    त्यस्तो हो र ? मलाई त लाग्दैन । मैले अगाडि गरेका सबै गीतहरू हेर्नुहोला, सबैमा कुनै न कुनै सन्देश दिन खोजेको छु । उहाँको अर्कै किसिमको छ । मलाई अहिलेसम्म कसैले न मुद्दा उठाउनुभएको छ न कसैले आरोप नै लगाउनुभएको छ ।

    उहाँले ‘गलबन्दी’ निकाल्नुभएको समयमा चोरीको आरोप लाग्यो । शम्भु राईजीले चोरीको आरोप लगाउनुभएको थियो । दोस्रो पटक ‘पीर’ गीतलाई लिएर पार्टीले मुद्धा हाल्यो । तेस्रो पटक होटल व्यवसायीले मुद्धा हाले । सायद आपत्तिजनक कन्टेन्टहरू भएर होला । तर मैले त्यस्तो खालको केही गरेको छैन । मैले छोएको पानी चल्दैन, बाटो मुनीको फूल, लगायतका मेरा सबै भिडियोले केही न केही सन्देश बोकेकै छ ।

    मैले ‘हिजो अर्कैसँग देखेँ’ को कन्टेन्ट २० वर्ष अगाडि नै उठाएको हो नि । त्यसैले अहिले आएर मैले प्रकाश भाइको कपी गर्नुपर्छ जस्तो लाग्दैन । उसले उठाएका कुनै विषयहरूबाट प्रेरणा मिल्नु अलग कुरा होला, तर कपी नै गर्ने भनाईलाई चाहीँ म मान्दिनँ । मलाई बिझाएका कुरा मैले मेरो कलामार्फत पहिला पनि पस्किएको हो र सधैँ पस्किरहनेछु ।

    – अरु पनि केही नयाँ सिर्जना आउँदैछ कि ?

    आउँदैछ । छिट्टै फेरि अर्को प्रोजेक्ट ल्याउँदैछु । त्यसमा पनि दर्शकले केही विशेष पाउनुहुनेछ ।

  • ‘जुलेबी’को ‘आज मन’ बोलको गीत सार्वजनिक

    ‘जुलेबी’को ‘आज मन’ बोलको गीत सार्वजनिक

    काठमाडौं । यही भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच चलचित्रको ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर रहेको छ । शब्द तथा संगीत भने कोसिस क्षेत्री र केतन क्षेत्रीले भरेका छन् ।

    गीत सार्वजनिक कार्यक्रममा निर्देशक गणेशदेव पाण्डे, निर्माता आभा नेपाल, कार्यकारी निर्माता नवीन भट्ट र कलाकारसहित चलचित्रको सम्पूर्ण टीमको उपस्थिति थियो ।

    ‘जुलेबी’ लेखक तथा निर्देशकको आफ्नै जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो । लेखक तथा निर्देशक पाण्डेले भने, ‘चलचित्रका पात्रहरुलाई रत्नपार्कले जोड्छ । चलचित्रको कथा सात जना पात्रको सम्बन्धको वरिपरि घुमेको छ ।’

    अभिनेत्री सुरक्षा पन्तले पनि चलचित्रको कथा रत्नपार्कको वरिपरि घुमेको र फरक कथामा निर्देशक पाण्डेसँग काम गर्दा मज्जा आएको अनुभव सुनाइन् ।

    ‘यस्तो कथामा धेरै चलचित्र बन्दैनन् । हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक भए तापनि उहाँहरु (यौनकर्मी) सुन्दर व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुको आफ्नै कथाव्यथा छन्’, उनले भनिन् ।

    एन्थोलोजी जनरामा बनेको चलचित्र आभा शर्मा नेपालले निर्माण गरेकी हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दिक्षीतलगायतको अभिनय छ ।

    चलचित्रमा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । डीसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डीएआर मुभिजले खरिद गरेको छ ।

  • बार्बी: प्लास्टिकको पुतलीले देखाएको सामाजिक यथार्थ

    बार्बी: प्लास्टिकको पुतलीले देखाएको सामाजिक यथार्थ

    हाम्रो आँखाबाट हामीले हाम्रो खेलौना/गुडियाहरुको संसार देखेका छौं, आफैंले कल्पना गरेर विभिन्न परिदृश्यमा उनीहरुलाई राखेका पनि होला । अब सोच्नुहोस्, यही हामीले खेलाउने सधैं राम्रो पहिरन लगाएकी खुशी देखिने सुन्दर गुडियाको आँखाबाट हाम्रो संसार कस्तो देखिएला ? बार्बीले यही कुरा चित्रण गरेको छ ।

    बार्बीले आफ्नो ट्रेलरमा उल्लेख गरेको छ, यदि तपाईं बार्बी मनपराउनुहुन्छ भने यो चलचित्र तपाईंको लागि हो, यदि मनपराउनु हुन्न भने पनि यो तपाईंको लागि हो ।

    यथार्थ भन्नुपर्दा- आई एम नट अ बार्बी गर्ल, सानो हुँदा नबुझिकन मैले गीत गाउँथें । सायद मेरो उमेरमा हुर्केका धेरैले गीतको बोलको अर्थ थाहा नपाइ ‘यू क्यान ब्रस माइ हेयर अन ड्रेस मी ए वेरिवह’ भन्दै गाउनुभयो होला । भजाइना अर्थात योनी नभएको गुडिया किन सेक्सुअलाइज भइन् भन्ने कुराले समाजको ऐना देखाउँछ । त्यतिमात्र हैन मेरो निम्ति बार्बीले पूँजीवादको उपभोक्तावादी पक्षलाई प्रतिविम्बित गर्दछ । तर पनि मलाई बार्बी हेर्न जिज्ञासा धेरै नै भयो । म उपभोक्ताकरणको शिकार भएँ कि भइनँ मलाई थाहा छैन । तर, मलाई यदि कसैले फेरि बार्बी हेर्न जाम भन्यो भने म फेरि पनि टिकट लिएर हलभित्र पुग्न तयार छु । हो, म अझै पनि बार्बी पूँजीवादको प्रोडक्ट हो भन्छु, जुन सानोमा मध्यम वर्गीय परिवारमा हुर्केको मैले कहिल्यै खेल्न पाइनँ ।

    तर, म बार्बी एकचोटी हेर्नुपर्ने चलचित्र भनेर आफ्नो मत राख्छु । बार्बीको छायांकन, कथा, कलाकारको प्रस्तुति र यसले उठाएको विषयवस्तु भने साँच्चिकै हेर्नुपर्ने खालको छ ।

    चलचित्रको सुरुवातमा बार्बील्याण्डमा भएकी पहिलो बार्बी जब आफूसँग दैनिक रुपमा नसोचेको घटना घट्न थाल्छ, उनी त्यसको कारण पत्ता लगाउन रियल वर्ल्ड अर्थात वास्तविक मानिस भएको संसारमा पुग्छिन् । उनलाई उनको यात्रामा साथ दिन केन उनीसँगै आउँछन् । चलचित्र बार्बील्याण्ड र रियल वर्ल्डको परिवेशको बीचको सेरोफेरोमा घुमेको छ ।

    बार्बील्याण्ड वास्तविक दुनियाँभन्दा फरक छ । यहाँ महिलाले सोचेको पूरा हुन्छ । यहाँ महिला स्वतन्त्र रुपले आफ्नो चाहनाअनुरुप काम गर्छन् । यहाँ कुनै पनि समाज र पुरुषले बार्बीहरुलाई रोक्दैनन् । तर, वास्तविक दुनियाँ भने पितृसत्ताले भरिएको छ ।

    बार्बी ग्रेटा गेर्विगद्वारा निर्देशित चलचित्र हो । ग्रेटाले निर्देशन गर्ने पात्रहरु जिज्ञासु, फेमिनिस्ट, र सामाजिक प्रतिबन्धका विद्रोही हुन्छन् । उनको निर्देशनमा मानवीय र यथार्थवादी लेन्स हुन्छ । उनले यो चलचित्रमा उनको लेन्स बिर्सिएकी छैनन् । बार्बील्याण्ड वास्तविक दुनियाँभन्दा फरक छ । यहाँ महिलाले सोचेको पूरा हुन्छ । यहाँ महिला स्वतन्त्र रुपले आफ्नो चाहनाअनुरुप काम गर्छन् । यहाँ कुनै पनि समाज र पुरुषले बार्बीहरुलाई रोक्दैनन् । तर, वास्तविक दुनियाँ भने पितृसत्ताले भरिएको छ । जसरी महिलाको अस्तित्व वास्तविक जीवनमा समाजले पुरुषसँग जोड्छ, केनले आफ्नो अस्तित्व बार्बीसँग बार्बील्याण्डमा जोडेका छन् । तसर्थ बार्बील्याण्ड आफैंमा महिलावादी भए पनि समानता नभएको कारण आदर्शवादी छैन ।

    बार्बी जति रियल वर्ल्डमा असहज महसुस गर्छिन्, केन उति नै आफूलाई महत्वपूर्ण र प्रभावकारी भएको महसुस गर्छन् । पितृसत्ताले कसरी पुरुषको अहंकार वृद्धि गर्छ र कसरी उसलाई खोक्रो पुरुषत्व दिन्छ भन्ने कुरा रयानगस्लिंगलेले आफ्नो पात्र केनबाट दर्साएकाछन् । वास्तवमा भन्नुपर्दा केनले हामीलाई हाम्रो समाज हेर्ने नयाँ आँखा दिएका छन् । सोच्नुस् त के कोही जन्मिँदैमा गलत र सही भएर जन्मिन्छ र ? जसरी केनले पितृसत्ताबारे सिके, हरेक दिन हामी घरमा, छरछिमेकमा, आफन्त भाइसँग त्यो सिकिरहेका छौं र सिकाइ पनि रहेका छौं । पाहुना आउँदा चाहे महिलाले चिया पकाउने होस् वा पुरुषले त्यही भान्सामा महिला खाना बनाएको बेला बाहिर बसेर राजनीतिबारे गफ गर्ने होस्, यो चलिरहेको समाजको चलनले धेरै आमजीवनमा भएका केन र बार्बीलाई पितृसत्ताको पाठ पढाइरहेका छन् ।

    मार्गोटरोबीले बार्बीलाई आफ्नो अभिनयले जीवन्त पारेकी छन् । तर, चलचित्रमा सबैभन्दा यथार्थपरक पात्र अमेरिकाफेर्ररोले निभाएकी छन् । उनले वास्तविक दुनियाँको महिलालाई लिएर गरिने दोग्लो टिप्पणीको आलोचनामात्र गर्दिनन्, तर हरेक महिलाले दैनिकीमा भोग्ने भोगाइको कुरा गर्छिन् । महिला बन्न साँच्चिकै असम्भव छ । यो कुनै नयाँ कुरा हैन, यो कुनै नसोचिएको कुरा हैन । यो हरेक महिलाको अन्तर्मनको द्वन्द्व हो । तर, जब महिलाले महिलाको कथा भन्छन्, संवेदनशील भएर भन्छन् ।

    कतै कतै यसले ग्रेटाद्वारा निर्देशित जेन अस्तेनको नोवेलमा आधारित लिटल वोमेनमा जोले भनेको मोनोलग याद दिलाउँछ । हामीले सन् १९५२ मा बनेकी बार्बीलाई समयअनुरुप बदलिँदो प्रगतिशील दिशामा अघि राखी मत र समाज भने प्रतिगामी मानसिकतामै अल्झेको छ । आधुनिक समाज सैद्धान्तिक रूपमा समयअनुरुप अघि बढ्यो । तर, के समाजले व्यवहारिकतामा त्यो सिद्धान्त लागू गर्‍यो ? चलचित्र हेरेपछि तपाईं यस्तै प्रश्नमा अल्झिनुहुन्छ ।

    नारीत्व र सशक्तीकरण तथा फेमिनाइन इनर्जीको प्रतीक गुलाबी रंग

    महिलाले गुलाबी रंगलाई सशक्तीकरणसँग जोडेको यो पहिलो चोटी हैन । तपाईंले भारतको गुलाबी ग्याङबारे सुन्नुभएको होला । यो त्यो महिलाको जमात हो, जो महिलालाई घरेलु हिंसा, यौन हिंसा र उत्पीडनविरुद्ध रक्षा गर्न प्रशिक्षण दिन्छ ।

    बार्बील्याण्डमा सबै कुरा गुलाबी छ । गुलाबी रंगले मुख्यतः रोमान्स, आकर्षण, मिठास, स्त्रीत्व, एकता, सहानुभूति , र सौन्दर्यता जनाउँछ । बार्बीको निम्ति यो उत्साह, उमङ्ग र सशक्तीकरणको पहिचान पनि हो । यो उनको आफ्नै दुनियाँ हो, जहाँ उनलाई अरु कसैको भरपर्नु पर्दैन । बार्बी आत्मनिर्भर छिन्, उनी साहसी र आफ्नो कामप्रति विश्वस्त छिन् ।

    महिला बन्न साँच्चिकै असम्भव छ । यो कुनै नयाँ कुरा हैन, यो कुनै नसोचिएको कुरा हैन । यो हरेक महिलाको अन्तर्मनको द्वन्द्व हो तर जब महिलाले महिलाको कथा भन्छन्, संवेदनशील भएर भन्छन् ।

    एक दृश्यमा एक बार्बीले उनी वकिल भए पनि तथ्य, भावाना र तर्कलाई सँगै लान सक्छिन् भनेर भन्छिन् । यसले आफूभित्र रहेको फेमिनाइन एनर्जी लाइन लुकाई आत्मविश्वाससाथ अघि बढ्ने सन्देश दिन्छ । सफल हुन आफूलाई परिणत गर्नुपर्दैन भन्ने कुरा गुलाबी रंगले संकेत दिएको छ । केटी जस्तो रुने हो ? यस्तो अभिव्यक्ति मैले मेरो वरिपरि रहेको दाजुभाइले रुँदा अरुले दिएको निकै देखेको छु । तर, आफ्नो भावना व्यक्त गर्दा कोही कमजोर कसरी हुन्छ ? जब कोही महिलाले रिस पोख्छन्, तब उनलाई कस्तो अभद्र भनेर कराउने समाज कति दोग्लो छ । पुरुष र महिलाका निम्ति कति फरक नियम छन् यी समाजमा । एक खुला मनले रुन पाउँदैनन् र अर्को आक्रोश, निराशा पोख्न पाउँदैनन् । महिला सधैं कोमलताको प्रतीक र पुरुष सधैं जिम्मेवारीबोधमा रहनुपर्ने यो समाजले साँच्चै जबसम्म लैंगिक विभेद अन्त गर्दैन तबसम्म सबैले आफ्नोभित्रका भावहरु लुकाइ रहनुपर्ने हुन्छ । यहाँ महिलामात्र हैन पुरुष पनि यो सामाजिक टिप्पणीसँग जुधिरहेका छन् । मानसिक रुपमा सबै टीकाटिप्पणीसँग जुधिरहेका छन् ।

    बार्बी, ब्राण्डिङ र भविष्य

    बार्बीले समग्रमा राम्रो सन्देश दिए पनि, केही अन्य पक्षमा फिल्म फिक्का जस्तो देखिन पुग्छ । यसले केही पात्रहरुसँग न्याय गर्न सकेको छैन । ब्राण्डिङ हरेक उमेर समूहको लागि भनेर गरे पनि यो १३ वर्षमुनिको बालबालिकाको लागि सान्दर्भिक महसुस हुँदैन । बार्बीले समाजको यथार्थ महिलाको नजरबाट दर्शाए पनि यसले भौतिकवादको समर्थन गर्छ । महँगा पहिरन र सनेल जस्ता ब्याग बोक्ने बार्बी हरेक वर्गका निम्ति बनेकी हुन् त ?

    पूँजीवाद र उपभोक्तावादको लागि बनेकी बार्बीले समानताको कुरा गर्दा कति ठाउँमा अनौठो लाग्छ । बार्बी गुडिया बनाउने मतेल कम्पनीको सेल्स यो चलचित्रको ब्राण्डिङले गरेर आफैं बढ्नेछ । बार्बी समयअनुरुप बदलिरहने छिन् । उनी आधुनिक दुनियाँको महिला भनेर विश्व व्यापीकरण भएकी थिइन्, हुन्छिन् र हुनेछिन् । तर, के हाम्रो वास्तविक दुनियाँ प्लास्टिकको बार्बीको दुनियाँ जस्तो महिलाको निम्ति अघि बढ्ने हुन्छ त ? यदि प्लास्टिकको गुडियाको चलचित्रले मलाई महिला सशक्तीकरण, आफूलाई स्वीकार्न र साहसी भएर आफ्नो लक्ष्य र आफ्नो पहिचानबारे सिकाउँछिन् भने सायद मलाई उनी हेर्न केही आपत्ति छैन ।

  • निधन भएको तीन वर्षपछि भेटिए सुशान्त सिंहजस्तै देखिने व्यक्ति

    निधन भएको तीन वर्षपछि भेटिए सुशान्त सिंहजस्तै देखिने व्यक्ति

    काठमाडौं । सन् २०२० मा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । अकालमै भएको निधनले उनका फ्यान, शुभचिन्तक लगायत सबैलाई नै स्तब्ध बनाएको थियो ।

    मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका राजपुतको याद ताजै राख्न प्रशंसकहरू उनको नामको फ्यानपेज मृत्युपश्चात पनि फ्यानले खोलेका थिए ।

    निधन भएको तीन वर्ष बितेसँगै अहिले सामाजिक सञ्जालमा उनी जस्तै देखिने एक व्यक्ति आएका छन् । सुशान्तजस्तै देखिने डोनिम अयान नामक उक्त व्यक्तिको तस्बिर र भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    उनको एउटा ट्रान्जिसन भिडिओले २४ मिलियनभन्दा बढी भ्युज पाएको छ भने जुन २६, २०२३ मा उनले पोष्ट गरेको भिडिओले समेत अहिले लाखौं भ्युज बटुलिरहेको छ । झट्ट् हेर्दा उनी ठ्याक्कै सुशान्त जस्तै देखिन्छन् । सुशान्त जस्तै देखिने भिडिओ देखेपछि धेरैले उनीप्रति प्रशंसा र माया दर्शाएका छन् ।

    प्रशंसा सँगसँगै उनको आलोचना पनि भईरहेको छ । कतिले उनलाई ए.आई प्रविधिको प्रयोग गरी सुशान्त जस्तै देखिन खोजेको आरोप लगाएका छन् भने कतिले उनको एकाउन्ट नै फेक भएको बताइरहेका छन् ।

     

  • यश कुमारको ‘सुस्तरी’ ले ओलीको मन छोयो

    यश कुमारको ‘सुस्तरी’ ले ओलीको मन छोयो

    काठ्माडौं । हिजोमात्र सार्वजनिक भएको गायक तथा नायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुलेर तारिफ गरेका छन् ।

    गीतले सुस्तरी-सुस्तरी नभई एकै पटकमा मन छोएको ओलीको भनाइ छ । उनले आफूलाई गीत एकदमै मन परेको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडिओ शेयर समेत गरेका छन् । भिडिओ सँगसँगै उनले सानो पोष्ट पनि लेखेका छन् । पोष्टमा उनले एकपटक सबैलाई गीत हेर्न पनि सुझाएका छन् ।

    उनले लेखेका छन, ‘कलाकार यश कुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकै पटक मन छोयो । नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा । हिजो बेलुका युट्युबमा हेरेर लिंक शेयर गरेको छु, हेर्नुस् है । शुभ बिहानी ।’

    यश कुमार अफिसियल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको गीतको भिडिओमा नगर प्रहरी र सडक व्यापारी(मकैवाली)को मर्मस्पर्शी प्रेमकथा देखाइएको छ ।

    भिडिओले एउटा सिंगो चलचित्र हेरेजस्तो भान दिन्छ । भिडिओमा यश कुमार आफैँले नगर प्रहरीको भूमिका निभाएका छन् भने अनु थापाले मकैवालीको भूमिकामा छिन् । रोचक तवरबाट सुरु भएको कथाको इन्डिङ मर्मस्पर्शी छ ।

    भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको शब्द रचना यश स्वयंमको हो । भिडिओको कन्सेप्ट पनि यश आफैको हो ।

     

  • यश कुमारको म्युजिकल भिडिओ- नगरप्रहरी र मकैवालीको मर्मस्पर्शी प्रेमकथा

    यश कुमारको म्युजिकल भिडिओ- नगरप्रहरी र मकैवालीको मर्मस्पर्शी प्रेमकथा

    काठमाडौं । काठमाडौंको सडक व्यापारीहरूका लागि सबैभन्दा ठूलो आतंक हुन् नगर प्रहरी । गुजाराका लागि सडकमा सानोतिनो व्यापार गर्नेहरू नगर प्रहरी देख्नासाथ ठाडो पुच्छर लाएर कुद्न बाध्य हुन्छन् ।

    काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र साह निर्वाचित गरेपछि झन् सडक व्यापारमा कडा प्रतिबन्ध लगाइदिए । त्यसयता नगर प्रहरीले सडक व्यापारीबीच घम्साघम्सीको अनेक भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसले गर्दा नगर प्रहरीप्रति सडक व्यापारीमा एकदमै नकारात्मक छाप बसेको छ ।

    यति गफ यहाँ किन लगाइएको हो भने अहिले एउटा सांगीतिक भिडिओ आएको छ, जसमा नगर प्रहरी र सडकमा मकै पोल्ने युवती प्रमुख पात्र बनाइएको छ ।

    नगर प्रहरी र मकैवाली प्रेममा परेको मिठो परिकल्पनामा सिर्जित भिडिओले जोकसैको मन पगाल्छ ।

    यश कुमार र अनु चौधरीले गाएको ‘सुस्तरी सुस्तरी…’ बोलको गीत सामान्य छ । तर, भिडिओ बबाल बनाएका छन् यस कुमार र निर्देशक निकेश खड्काले । भिडिओ हेर्दा एउटा सिंगो फिल्म हेरेजस्तो मजा लिन सक्नुहुन्छ ।

    यश कुमार आफैँले नगर प्रहरीको भूमिका निभाएका छन् भने अनु थापा मकैवालीको भूमिकामा छिन् । अनुकाे अभिनय निकै जिवन्त छ । याे भिडिओमा मकैवालीले एक नगरप्रहरीलाइ थप्पड हानेकाे दृष्य सुटिङका क्रममा नै टिकटकमा भाइरल भएको थियो । धेरै मानिसहरुले साँच्चिकै ठानेर कमेन्ट गरेका थिए । यसबाट पनि थाहा हुन्छ, अनुकाे अभिनय कति यथार्थपरक छ भन्ने ।

    सडक व्यापारी लखेट्न जाने क्रममा यशकुमारको आँखामा पर्छिन् मकैवाली अनु । लभ एट फर्स्ट साइट हुन्छ उनलाई । त्यसपछि त के थियो, उनी हरेक पटक सडक व्यापारी उठाउन हिँड्नुअघि अनुलाई फोन गरेर पूर्वसूचना दिन्छन् ।

    कथाको सुरुवात यसरी रोचक तवरबाट भएको छ भने इन्डिङ मर्मस्पर्शी छ । भिडिओमा मुलतः सडक व्यापारीहरूप्रति सहानुभूति दर्शाइएको छ । नगर प्रहरीको ज्यादति देखाइएको छ । तर, बालेनका समर्थकहरू नबिच्किउन् भनेर हुन सक्छ, इन्डिङमा व्यालेन्स गर्न खोजिएको छ ।

    जे भए पनि यो भिडिओले हरेकको हृदयमा एउटा झन्कार पैदा गर्न सक्छ । एकपटक हेर्न सिफारिस ।

  • यी हुन् मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तक

    यी हुन् मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तक

    काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि छनौट भएका पुस्तकको नाम सार्वजनिक गरेको छ ।

    गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन्।

    छनौटमा परेका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत रहेका छन् ।

    यस्तै प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ ।

    वि.सं. २०१२ सालमा स्थापना भएको गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधानमा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

    गुठीले वि।सं। २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दश वटाको श्रेष्ठ सूची सार्वजनिक गर्ने गरेको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाउने गरिन्छ । श्रेष्ठ सूचीमा छनौट पुस्तक मध्ये एकलाई सर्वश्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार दिने गरिएको छ। २०७५ सालबाट पुरस्कार राशि चार लाख रूपैयाँ बनाइएको छ ।

  • योगाज राजनले छोरीसँग गाए ‘राजा ल्याउँ देश बचाउँ’ (भिडिओ)

    योगाज राजनले छोरीसँग गाए ‘राजा ल्याउँ देश बचाउँ’ (भिडिओ)

    काठमाडौं । राजसंस्था पक्षधरहरुले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आउ देश बचाउ’ । यही नारालाई केन्द्रमा राखेर एउटा गीतसमेत रेकर्ड भएको छ, जुन आगामी दिनमा राजावादीहरुबीच लोकप्रिय बन्न सक्छ ।

    राजसंस्थाप्रति झुकाव राख्ने सर्लाहीका संघर्षशील गायक योगाज राजनले यो गीत निर्माण गरेर सार्वजनिक गरेका हुन् । हिजो युट्यूवमा सार्वजनिक भएको गीतमा राजनलाई उनकै छोरी तिलस्मी खड्काले स्वर दिएकी छन् ।

    ‘राजा ल्याउँ देश बचाउँ महाअभियान’ शीर्षकको गीतको भिडियोमा राजनले निकै मिहिनेत गरेका छन् । राजसंस्था पुनस्र्थापनका निम्ति भएका आन्दोलन, राजा महेन्द्रदेखि पारससम्मका भिडियो फुटेज, तथा राजसंस्था पक्षधर विभिन्न नेताहरुका भाषणका क्लीपहरुसमेत राखेर भिडियोलाई रोचक र दर्शनीय बनाइएको छ ।

    गायक खड्का देशमा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्थाको आवश्यकता जनतालाई थप महसुस गराउन यो गीत ल्याएको बताउँछन् ।
    उनी भन्छन्, ‘देश गणतन्त्रपछि समृद्ध हुनुका साटो झनै अधोगतितर्फ गइरहेको छ । नेताहरु आफ्नै स्वार्थपूर्तिमा केन्द्रीत छन् । त्यसैले यो व्यवस्था खारेज गरी फेरि राजसंस्थामा फर्कने जनचाहनालाई थप बल पु¥याउन गीत सिर्जना गरेको हुँ,’ उनले भने ।

    गीतले संघीयता र धर्मनिरपेक्षता खारेज हुनुपर्ने वकालत पनि गरेको छ । गीतमा राजनीतिक विषयवस्तु मात्र छैन । बैंक तथा वित्तीय संस्थाहरुले जनतालाई चर्को ब्याजदर थोपरेर मर्नु न बाँच्नुको अवस्थामा पुर्याइरहेको अवस्थालाई पनि गीतले चित्रण गरेको छ ।

    राजनले पहिलोपटक राजनीतिक भाषाको गीत गाएका हुन् । यसअघि उनले २०५७ सालमा उनले ‘गरौं चिनाजानी’ नामको गीति एल्बम ल्याएका थिए । त्यसको ६ वर्षपछि २०६३ सालमा उनले ‘स्कुल क्याम्पस’ नामको दोस्रो एल्बम सार्वजनिक गरे । यी दुवै एल्बमका गीतहरु विसुद्द मनोरञ्जनात्मक थिए ।

    राजनले आफ्नी छोरी तिलस्मीलाई पनि सांगीतिक क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिइरहेका छन् । तिलस्मीले २०७६ सालमा पौडी खेलाडी गौरीका सिंहमा समर्पित गीत ‘हिप हिप हुर्रे गौरीका’ मा स्वर दिएकी थिइन् । तेह्रौं साग खेलकुदभन्दा ठीक अगाडि राजनले गौरीकालाई प्रोत्साहित गर्ने हेतु सो गीत लेखेर छोरीलाई स्वर दिन लगाएका थिए । गौरीकाले उक्त सागमा चारवटा स्वर्णपदकसहित नौवटा पदक जितेकी थिइन् । पदक जितेपश्चात बधाइ दिन आएकी तिलस्मीलाई गौरीकाले धन्यवाद दिँदै भनेकी थिइन्, ‘तिम्रो गीतले काम गर्यो नि ।’

    अहिले देशको दुरावस्थाका कारण राजनीतिक विषयवस्तुको गीत बनाएको राजन बताउँछन् । यो गीतमा शब्द र संगीत उनको आप्mनै छ । म्युजिक डिजाइन डीजेएलएक्स पौडेलले गरेका छन् भने भिडिओ निर्देशन र सम्पादन अरुण लम्सालको रहेको छ । तिलस्मी खड्काको युट्यूव च्यानलबाट यो गीत सार्वजनिक भएको छ ।

  • चलचित्र ‘नम्बरी सुन’ आगामी माघ १९ मा रिलिज हुने

    चलचित्र ‘नम्बरी सुन’ आगामी माघ १९ मा रिलिज हुने

    काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ आगामी माघ १९ मा रिलिज हुने भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिएको थियो ।

    फिल्म युनिटले नयाँ रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै माघ १९ मा फिल्म रिलिज हुन लागेको जानकारी दिएको हो ।

    नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा गौरव पहाडी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी,लगायत कलाकारको अभिनय छ ।

    सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो ।

    दिव्य सुवेदीले छायांकन गरेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

     

  • भदौ १३ देखि प्रज्ञा भवनमा ‘८० सालको गाईजात्रा’, मनोज गजुरेलदेखि सुबोध गौतमसम्मले हँसाउने

    भदौ १३ देखि प्रज्ञा भवनमा ‘८० सालको गाईजात्रा’, मनोज गजुरेलदेखि सुबोध गौतमसम्मले हँसाउने

    काठमाडौं । कोरोना महामारीयताको पहिलो गाईजात्रा प्रहसन यस वर्ष भदौ १३ गतेदेखि आयोजना हुने भएको छ । ‘८० सालको गाईजात्रा’ नाम दिइएको यो कार्यक्रम भाद्र १८ गतेसम्म प्रज्ञा भवनमा चल्नेछ ।

    ब्राण्डवर्थ प्रालिले यसपालिको गाईजात्रा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुविना अधिकारी, चक्र दवाडीलगायतका कलाकारहरुले दर्शकहरुलाई हँसाउनेछन् ।

    जेसीस, लायन्स क्लवलगायतका संस्थाहरुसँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि ‘८० सालको गाईजात्रा’ आयोजना गर्दैछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भइसकेको छ । साथै अन्य शहरमा पनि ‘८० सालको गाईजात्रा’ आयोजना हुनेछ ।

    कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन गराइएको थियो । यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रशारण गर्नेछ । सात इपिसोडमा प्रशारण हुने ‘डिजिटल गाईजात्रा’ को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रंगमञ्चमा हुने ‘८० सालको गाईजात्रा’ को रिहर्सलमा व्यस्त छन् ।

  • डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ लोकार्पण (भिडिओ)

    डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ लोकार्पण (भिडिओ)

    काठमाडौं । उच्च अदालत तुलसीपुरका कामु मुख्यन्यायधीश डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक लोकार्पण गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उक्त पुस्तक लोकार्पण गरे ।

    पुस्तक लोकार्पण गर्दै न्यायाधीश सिन्हाले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यो पुस्तक महत्वपूर्ण दस्ताबेजको रूपमा स्थापित हुने विश्वास जनाए ।

    साइबर अपराधमा डिजिटल प्रमाण संकलन र तिनको साइबर फरेन्सिक परीक्षण तथा विश्लेषण, अभियोजन, प्रतिरक्षा र न्याय निरुपण जस्ता नवीनतम विषयमा आवश्यक ज्ञान, सीप, तालीम, दक्षता र सचेतना भएको जनशक्तिको कमी भएको परिवेशमा साइबर अपराधको अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा विषयगत सन्दर्भ सामग्रीको चरम अभावलाई चिर्नका लागि पुस्तक सार्थक रहने लेखक बागचन्दले विश्वास जनाए ।

    कार्यक्रममा साइबर कानूनमा विद्यावारिधि गरेका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले यस पुस्तकको महत्वका बारेमा प्रकाश पारे । हालसम्म साइबर अपराध अनुसन्धान, अभियोजना र न्याय निरुपणका तिनै क्षेत्रलाई समेटिएको दस्ताबेजको अभावलाई यस पुस्तकले पूर्ति गर्ने विश्वास उनको थियो । सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान, लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले यस पुस्तकमा समावेश गरिएका सामग्रीहरुको बारेमा चर्चा गरे ।

    महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे, सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, नेपाल टेलिकम प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, क्यान फेडरेशनका महासचिव चिरन्जिवी अधिकारीले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यस पुस्तकले खेल्ने भूमिकाको बारेमा बोलेका थिए ।

    सात मुख्य अध्याय रहेको यस पुस्तको पहिलो अध्यायमा साइबर अपराधलाई व्याख्या गर्दै त्यसको वर्गीकरण गरिएको छ । दोस्रो अध्यायमा साइबर अपराध अनुसन्धानका क्रममा पहिल्याउनु पर्ने चरणहरूको साथै त्यसका लागि सहयोगी हुने आवश्यक व्यवहारिक उदाहरण प्रस्तुत गरिएको छ ।

    तेस्रो अध्यायमा डिजिटल प्रमाण र त्यसका स्वरुप र व्यवस्थापनबारेमा विस्तृत व्याख्या गरिएको छ भने चौथो अध्यायमा साइबर अपराधको अनुसन्धानमा अत्याबश्यक साइबर फरेन्सिक तथा त्यसको लागि आवश्यक पर्ने उपकरण र अत्याधुनिक प्रविधिको बारेमा उल्लेख गरिएको छ । पाँचौ अध्यायले सरकारी वकीलले अभियोगपत्र दायर गर्दा पूरा गर्नुपर्ने दायित्व र चरणहरुको बारे बुँदागतरूपमा व्याख्या गरिएको छ ।

    छैठौं अध्यायमा बिभिन्न देशका साइबर कानूनहरुको तुलनात्मक विश्लेषण गरेको छ । त्यसैगरी, सातौं तथा अन्तिम अध्यायले न्याय निरुपणका आधारहरु प्रस्तुत गर्नुका साथैका साथै न्याय निरुपणकर्तामा हुनुपर्ने आधारभूत विशेषज्ञाता र विज्ञताको बारेमा प्रकाश पारिएको छ ।