Category: कलाप्रेस

  • दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक

    दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक

    काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, मिरुना मगर, कर्मा स्टारर फिल्मको ट्रेलरमा स्थानीय राजनीति र चुनावमा हुने चलखेललाई देखाइएको छ ।

    झण्डै चार मिनेट लामो ट्रेलरमा गाउँमा हुने राजनीति र त्यसले परिवारमा ल्याउने उतारचढावलाई देखाउन खोजिएको छ ।

    फिल्ममा दीपक शर्मा र एसडी योगीको संगीत, बनिस शाहको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठ मुख्य निर्माता हुन् भने रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।

    लेखन तथा निर्देशन लामाको रहेको छ । फिल्ममा दयाहाङ, मिरुना, कर्मासँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको अभिनय रहेको छ ।

    फिल्म यही भदौ २९ गते देशभर प्रदर्शन हुनेछ ।

  • दर्शकले फिल्म नबुझिदिनु भनेको हाम्रो असफलता हो : केकी अधिकारी (भिडिओ)

    दर्शकले फिल्म नबुझिदिनु भनेको हाम्रो असफलता हो : केकी अधिकारी (भिडिओ)

    काठमाडौं । अभिनेत्री केकी अधिकारी अहिले फिल्म ‘जय हो’ को प्रचारमा व्यस्त छिन् । आउँदो शुक्रबारबाट फिल्म देशभर प्रदर्शन हुँदैछ । अहिले एक खाले दबाब महसुस पनि गरिरहेको बताउँछिन् उनी ।

    ३३ औं फिल्ममा काम गरिरहेकी केकीलाई फिल्म प्रदर्शन हुनुअघिसम्मको समय जति दबाबमा बसे पनि प्रदर्शन भएपछि भने केही गर्न नसकिने लाग्छ । फिल्मलाई दर्शकले जसरी पनि ग्रहण गरिदिन सक्छन् । दर्शकले ग्रहण गरिदिने तरीकाले नै बक्स अफिसमा फिल्मको आयु लामो या छोटो हुन्छ, निर्क्यौल गरिदने उनको बुझाइ छ ।

    केकी भन्छिन्, ‘फिल्ममा धेरै मान्छेको सपनाको लगानी भएको हुन्छ । मैले काम गरेको हरेक फिल्ममा मैले मेरो गोल्डेन समय दिएकी हुन्छु । कहिलेकाहीँ सोच्छु, यदि यो नै मेरो अन्तिम फिल्म भयो भने रु यदि मैले योबाहेक अरु फिल्ममा काम गर्नै नसक्ने अवस्था बन्यो भने रु फिल्म रिलिजको अन्तिम समयसम्म यस्तो पलहरुबाट गुज्रिएकी हुन्छु ।’

    दुई-तीन दिनसम्म यस्तो तनाव र दबाब महसुस भएपछि त्यसपछि मुभअन हुन सकिएन भने अर्को फिल्ममा मानसिक र शारीरिक रुपमा सय प्रतिशत मिहेनत गर्न नसकिने केकीको अनुभूति छ । तर, एकदमै धेरै मिहेनत गर्दा पनि दर्शकले फिल्म बुझेनन् भने त्यसलाई आफूहरुको असफलता हुने बताउँछिन् केकी ।

    कुनै कुनै फिल्म निकै पछि फिल्मका विद्यार्थीहरूका लागि काम लाग्न सक्छ । कुनै कुनै फिल्म समयभन्दा अगाडि बढेर पनि बनाइएका हुन्छन् । समय बित्दै जाँदा त्यसलाई सफल फिल्म मानिन्छ ।
    केकी भन्छिन्, ‘तर, तत्कालको समयमा हलहरुमा दर्शकलाई फिल्म बुझाउन नसक्नु पनि असफल हुनु नै हो आखिरमा । दर्शकले फिल्म नबुझ्नु भनेकै हाम्रो असफलता हो । समयभन्दा अघि दर्शक तयार नै नहुँदै गर्दा पनि त्यस्ता कन्टेन्टमा काम गरिन्छ । किनभने फिल्म प्रयोग पनि हो । समाज यस्तो भइदिए हुन्थ्यो भन्नका लागि पनि कति चिज बनाउँछौं ।’

    तर, दर्शकले कस्तो फिल्म रुचाउने भन्ने कुरा चाहिँ मानवीय स्वाभावसँग जोडिने केकीको निर्क्यौल छ ।

    भन्छिन्, ‘फिल्म मेकिङको मजा नै यो हो कि दर्शकले जस्तो कथा पनि मन पराइदिन सक्नुहुन्छ ।कहिलेकाहीँ एकदमै अपेक्षा गरेको चिजमा विपरीत नतिजा आउन सक्छ । कहिलकाहीँ नसोचेको नतिजाले उत्साह थपिदिन्छ । मुख्य कुरा त दर्शकको मनमा छुनुपर्‍यो । यही खालको कन्टेन्ट चल्छ भन्ने हुँदैन । फिल्म मेकिङको सौन्दर्य नै यही हो ।’

    तर, फिल्म टीमवर्क भएकाले सबैको उत्तिकै लगानी र योगदान चाहिने केकीको तर्क छ । यसो हुँदाहुँदै पनि आफूलाई पात्र वा चरित्र निर्वाह गर्दै गर्दा प्रस्तुतिमार्फत् दर्शकलाई कहाँ झुट बोलेँ भनेर ठ्याक्कै थाहा हुने बताउँछिन् ।

    उनी भन्छिन्, ‘कहाँ दर्शकलाई झुट बोलेँ, कहाँ दर्शकलाई फिल हुने गरी काम गरेँ भनेर ठ्याक्कै थाहा हुन्छ । जहाँ राम्रो गरेको छु, त्यसले फेरि अर्कै मजा दिन्छ । एउटा कलाकारले दुई घण्टाको चलचित्रमा उस्तै मुमेन्ट फिल हुने गरी सायदै काम गर्न सक्ला । त्यसैले कलाकारलाई सोचेजस्तो बेस्ट दिन सकिनँ, सोचेजस्तो उतार्न सकिनँ भनेर जहिल्यै लाग्छ । व्यवहारिक जीवनमा पनि हामी यस्तै खाले अनुभूति लिएर बाँचिरहेका हुन्छौं नि !’

  • बुबा सोभित बस्नेतमाथि सलोनको टिप्पणी- उहाँ स्मार्ट मेकर र निर्देशक हो जस्तो लाग्छ (भिडिओ)

    बुबा सोभित बस्नेतमाथि सलोनको टिप्पणी- उहाँ स्मार्ट मेकर र निर्देशक हो जस्तो लाग्छ (भिडिओ)

    काठमाडौं । आउँदो शुक्रबारबाट सलोन बस्नेत र केकी अधिकारी स्टारर फिल्म ‘जय हो’ प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईद्वारा निर्देशित र सोभित बस्नेत निर्माता रहेको यस चलचित्रमा सलोन र केकीको अलावा निशा अधिकारी, अर्पन थापा, माओत्से गुरुङलगायतको अभिनय छ ।

    डेढ महिनादेखि चलचित्र युनिट फिल्मको प्रमोसनको दौडधुपमा व्यस्त छ । तर, प्रमोसनले मात्रै फिल्म चल्न सक्छ त ? सलोनलाई लाग्छ, प्रमोसनभन्दा ठूलो कुरा चाहिँ फिल्म बलियो छ कि छैन भन्ने नै हो । सालोन भन्छन्, ‘तर, कति फिल्महरु प्रचारप्रसारकै कमीले गर्दा दर्शकहरुले थाहा पाउनु भएको हुँदैन । प्रचारप्रसारले उहाँहरुसम्म जानकारी पुर्‍याउन चाहिँ सहयोग गर्छ । अन्तिममा भने फिल्म नै बलियो हुनुपर्‍यो ।’

    कुनै फिल्ममा काम गर्दैगर्दा निर्माताको लगानी डुब्ला कि भन्ने भयले सताउने गरेको बताउँछन् सलोन । आफ्नै घरमा पनि लगानी डुब्दा र उक्सिँदाको अवस्था देखेको बताउँदै उनी भन्छन्, ‘फिल्म असफल हुँदा निर्मातामा निराशपन देखिन्छ । त्यो हुँदा एकदमै नराम्रो लाग्छ ।’

    सलोनलाई लाग्छ, राम्रो फिल्म बनाउने कुनै सूत्र हुँदैन । कसैले सोचेको कुनै संसारलाई फिल्ममा देखाउन कोसिस गर्ने हो । त्यो संसार सबैलाई मनपर्छ भन्ने पनि हुँदैन । सबै फिल्म सफल हुन्छन् भन्ने पनि हुँदैन । तर, लगानी नडुबाउन निर्माता स्वयं पनि स्मार्ट हुनुपर्ने सलोनको बुझाइ छ ।

    सलोन भन्छन्, ‘कति निर्माताहरु होमवर्क नगरी आउनुभएको मैले देखेको छु । कति सिनेमा त लगानी नै धेरै भएर पनि डुबेको देखेको छु । मुख्य कुरा त होमवर्कको कमी हो । निर्माताहरुले अलिकति स्मार्टली काम गर्न आवश्यक देख्छु ।’

    यस हिसाबमा सलोनलाई आफ्नो बुवा सोभित बस्नेत स्मार्ट मेकर जस्तो लाग्छ । ‘जय हो’को समेत निर्माता रहेका सोभितले फिल्म बनाउने कुरामा स्मार्टनेस देखाइदिने सलोनको बुझाइ छ । भन्छन्, ‘उहाँ के चलिरहेको छ, कस्तो कुरा चलिरहेको छ, ठ्याक्कै बुझ्नुहुन्छ । त्यो भएर पनि उहाँ आजसम्म सक्रिय हुनुहुन्छ । यसैमा रमाइरहनुभएको पनि छ । उहाँसँगैका कति मान्छे अहिले हुनुहुन्न । उहाँ टिकिरहनु भएको छ । उहाँ स्मार्ट मेकर र निर्देशक हो जस्तो लाग्छ ।’

  • अनिता र खेमले ल्याए तिजगीत ‘मनै त हो साइला’, भिडिओमा पल र गीताको चमकदमक

    अनिता र खेमले ल्याए तिजगीत ‘मनै त हो साइला’, भिडिओमा पल र गीताको चमकदमक

    काठमाडौं । गायिका अनिता चलाउने र गायक खेम सेञ्चुरीको स्वरमा रहेको ‘मनै त हो, साइलो हाम्रो पनि’ बोलको नयाँ तीजगीत सार्वजनिक भएको छ । गीतको भिडिओमा अभिनेता पल शाह र मोडल गीता ढुंगाना फिचर्ड छन् ।

    अनिता चलाउने अफिसियल युटउब च्यानलमार्फत शुक्रबार सो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको दुई दिनमा गीतलाई २ लाख ६१ हजारभन्दा बढीले हेरिसकेका छन् । आउँदो तिजमा नाच्नका लागि यो एउटा राम्रो डान्सिङ नम्बर हो ।

    गीतमा नेत्र अर्यालको शब्द तथा गायक खेम सेन्चुरीकै संगीत रहेको छ । भिडियोलाई निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि उनैको रहेको छ ।

    मालश्री स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा विनोद बाजुरालीको एरेन्जिङ, खडक बाजुरालीको मिक्सिङ र मिलन विश्वकर्माको दृश्य सम्पादन तथा कलरिङ छ ।

    भिडिओमा पल शाह र गीता ढुंगानको केमेस्ट्री खुबै मिलेको छ । दुवैले उत्कृष्ट नृत्य गरेका छन् । साडीचोलोमा गीता निकै खुलेकी छन् ।

    भिडिओ

  • गायक धर्मेन्द्र सेवानको‘एउटा यात्रा’ सार्वजनिक

    गायक धर्मेन्द्र सेवानको‘एउटा यात्रा’ सार्वजनिक

    काठमाडौं । गायक धर्मेन्द्र सेवानको आवाजमा‘एउटा यात्रा’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ। जीवनप्रति आशावादी हुँदै जीउनु नै जीवन हो भन्ने भाव व्यक्त गरेको गीतमा गायक राज। के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको छ।

    गोस्वामी आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । उनले यश गीतको भिडियोमा पनि आफ्नो सोही शैली देखाउने प्रयास गरेका छन् ।
    दिनरात अथक परिश्रम गरेतापनि कहिलेकाहीँ परिणामहरू अपेक्षाअनुरूप नहुने जसले अगाडी बढ्न असहज गराउने तर त्यस्ता क्षणहरूमा पनि शान्तिपुर्ण ढंगले आफैंमा भरोसा जगाउनु महत्त्वपूर्ण हुन्छ भन्ने भाव भिडियोले दिन खोजेको छ।

    गोस्वामीले पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आई अप्रिय कदमहरु उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन्।‘नेपाल तारा’बाट चर्चामा आएका गायक सेवान नेपाली संगीत क्षेत्रका प्रतिभावान गायकका रुपमा परिचित हुन्।

    सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरुमा विभिन्न साङ्गीतिक कार्यक्रम सँगै केही गीतहरुमा सहकार्य गर्दै आइरहेका छन्। र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो।

    यो गीतको भिडियोलाई सुरज श्रेष्ठले छायाकंन, सम्पादन तथा निर्देशन गरेका हुन् ।

  • ९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार

    ९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार

    काठमाडौं । ४० वर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्राकार नन्दकला सुवेदी काठमाडौंमा पुरस्कृत एवम् सम्मानित भएकी छन् । उनलाई साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको हो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा लेखिका सुवेदीको व्यक्तित्व र उनीद्वारा लेखिएको नियात्रा सङ्ग्रह ‘अठासी वर्षमा कैलाश मानसरोवर’को बारेमा चर्चासमेत गरिएको थियो ।

    कार्यक्रममा वक्ताहरूले ज्येष्ठ नागरिक नियात्राकार सुवेदी लेखनमा सबै उमेर समूहका लेखकहरूका लागि प्रेरणाकी स्रोत बनेको धारणा राखेका थिए । स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेकी सुवेदीको धन्यवाद एवम् आशीर्वाद वक्तव्यको अडियो प्रस्तुत गरिएको थियो ।

    साहित्य सन्ध्याद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार खेमराज निरौलालाई २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, नेपालकै वरिष्ठ स्नायुरोग विशेषज्ञ डा.वसन्त पन्तलाई २०७९ सालको ‘साहित्य सन्ध्या-कृबा’ पुरस्कार तथा सम्मान र अर्घाखाँचीकी विद्यार्थी गोमा कामीलाई २०७९ सालको ‘साहित्य सन्ध्या- मन पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो ।

  • बुटवलमा नेत्र पन्थीको लेफ्टराइट पुस्तकको समीक्षा

    बुटवलमा नेत्र पन्थीको लेफ्टराइट पुस्तकको समीक्षा

    रुपन्देही । पाठक मञ्चले बुटवलमा पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ’अ’राजनीति‘ पुस्तकमाथि समीक्षा गराएको छ ।

    रुपन्देहीबाट पत्रकारिता सुरू गरी हाल काठमाडौं बस्ने पन्थीले केही समयअघि प्रकाशित गरेको पुस्तकको विषयमा लेखक, पाठकबीच सँगै बसेर समीक्षा गरिएको हो ।

    कार्यक्रममा यस क्षेत्रका लेखक तथा साहित्यकारहरूले पुस्तकका बारेमा छलफल गर्दै पुस्तकमा समेटिएका महत्त्वपूर्ण विषय र अर्को प्रकाशनमा थप्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

    समीक्षक तथा सहभागी पाठकले पुस्तकले नेपालको राजनीतिमा सत्ताका लागि भएका खेलहरूको अनेक अन्तर कथाहरू तथ्यगत रूपमा समेटिएको भन्दै पुस्तकका विभिन्न पक्षमाथि विचार विमर्श गरेका थिए ।

    उनीहरूले मुख्य दलका शीर्ष नेताहरू सत्ता र शक्ति प्राप्तिका लागि राजनीतिक मूल्य–मान्यता, इमानदारिता भन्दा बाहिर कसरी चलखेल गर्दै कस्ता कस्ता कदम चाल्छन् भन्ने विषय वस्तु समेटिएको एउटा महत्त्वपूर्ण दस्ताबेजका रूपमा पुस्तक रहेको बताए ।

    सहभागीहरूले पुस्तकका विभिन्न पक्षमाथि टीकाटिप्पणी गर्दै विभिन्न जिज्ञासा तथा सुझावहरू समेत राखेका थिए । पुस्तक राजनीतिमा रुचि राख्नेका लागि उपयोगी दस्ताबेजका रूपमा रहेको भन्दै राजनीतिमा हुने खेलहरू पुस्तकमा पढ्न पाइने उनीहरूको भनाई थियो बताए ।

    पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा पत्रकार डीआर घिमिरेले पुस्तकको केन्द्र भागमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राखेर सत्ता र शक्तिका लागि भएका खेलहरू गहन र तथ्यगत रूपमा पुस्तकमा समेटिएको बताए ।

    त्यस्तै लेखक तथा साहित्यकारहरू रामचन्द्र श्रेष्ठ, शङ्कर गाह, मनिकर कार्की, माधवकुमार पौडेल, टोप अस्लामी, विमल गिरीलगायतले पुस्तकमा समेटिएका विभिन्न पक्षमाथि धारणा राखेका थिए । समीक्षा कार्यक्रमको संयोजन स्तम्भकार समाज रुपन्देहीका अध्यक्ष तथा पाठक मञ्चका सदस्य माधव कुमार पौडेलले गरेका थिए ।

    कार्यक्रममा पुस्तकका लेखक पत्रकार नेत्र पन्थीले संविधान जारी पछि राजनीतिक नेताहरू जनताको चाहना अनुरूप देश विकासमा केन्द्रित हुन्छन् भन्ने जनअपेक्षा भए पनि सो अनुरूप नभएको तथ्यहरू पुस्तकमा समेटिएको बताए । पुस्तकमा पार्टीहरूका आन्तरिक झगडा, सत्ता मोह, सत्ता प्राप्तिपछिका परिवार मोहका तथ्यहरू पुस्तकमा समेटिएको उनले बताए ।

    शीर्ष नेतृत्वबाट शक्ति र सत्ताका लागि हुने विभिन्न दाउपेच तथा धोकै-धोकाका तथ्यहरू समेटिएको पुस्तकको प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले रहेको छ । पन्थीका यसअघि डिभोर्स प्रचण्ड बाबुरामको, माओवादीभित्र अन्तरसंघर्ष र युद्धमा प्रेम र यौनलगायतका पुस्तक प्रकाशित छन् ।

    लेखक पन्थीले विभित्र क्षेत्रबाट पाएका सुझावलाई अर्को प्रकाशनमा जोड्ने प्रतिबद्धता जनाएका छन् ।

  • म्युजिक भिडिओ निर्देशक समाजले स्रष्टा सम्मान गर्दै

    म्युजिक भिडिओ निर्देशक समाजले स्रष्टा सम्मान गर्दै

    काठमाडौं । नेपाल म्युजिक भिडिओ निर्देशक समाजको साधारण सभा आज हुँदैछ ।

    समाजको दोस्रो वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान कार्यक्रमको पनि आयोजना गरिएको छ ।

    राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख अतिथि रहनेछन् ।

    कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति समेत समावेश हुने आयोजकले जनाएको छ ।

     

  • उच्चपदस्थहरूको फुर्सद : प्रधानमन्त्री, सभामुख र दुई मन्त्रीले रियालिटी शोमा बिताए पाँच घण्टा

    उच्चपदस्थहरूको फुर्सद : प्रधानमन्त्री, सभामुख र दुई मन्त्रीले रियालिटी शोमा बिताए पाँच घण्टा

    काठमाडौं । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र व्यवस्थापिका प्रमुख सभामुख देवराज घिमिरे हिजो एउटा कार्यक्रममा एकसाथ देखा परे । एउटा टिभी रियालिटी शोमा प्रधानमन्त्री प्रमुख अतिथि र सभामुख विशेष अतिथि बनेर पुगेका थिए ।

    प्रधानमन्त्री र सभामुख एउटै कार्यक्रममा उपस्थित हुनु अनौठो होइन । अनौठो त यो भयो कि उनीहरूले ढुक्कसँग पाँच घण्टा रियालिटी शो हेरेर बिताए । फेरि यो कुनै देशका बारेमा गम्भीर चिन्तन–बहस गर्ने कार्यक्रम नभएर नितान्त मनोरञ्जनात्मक कार्यक्रम थियो । इन्ट्रा फाउन्डेसन अमेरिका नाम संस्थाले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको संयुक्त फाइनलमा यति उनीहरूले समय दिएका हुन् ।

    कार्यक्रममा प्रधानमन्त्री र सभामुख मात्र होइन, संघीय सरकारका दुई मन्त्री पनि सहभागी थिए । परराष्ट्र मन्त्री एनपी साउद र ऊर्जामन्त्री शक्ति बस्नेत पनि रमाइलो हेर्न गोदावरीको सनराइज सम्मेलन केन्द्र पुगेका हुन् । तर, उनीहरू त्यहाँ भूमिकाविहीन थिए । प्रधानमन्त्रीले विजेतालाई ट्रफी र सभामुखले चेक वितरण गर्दा मन्त्रीद्वय पछाडि उभिएर ताली बजाउनमै सीमित भए ।

    उच्चपदस्थहरू बेलुकी ५ बजे कार्यक्रम स्थलमा पुगेर राति १० बजेसम्म बसेका थिए । देश हाँक्ने जिम्मेवारीमा रहेका उच्च ओहदाका दुई पात्रले यसरी एउटा पाँच घण्टासम्म एउटा रमाइलो कार्यक्रममा बिताउँदा दर्शकले भने पक्कै रमाइलो मानेनन् ।

    यी दुई रियालिटी शोको आयोजना इन्ट्रा फाउन्डेसन अमेरिकाले गरेको हो । यो संस्था भुटानबाट लखेटिएर नेपाल हुँदै अमेरिका पुगेका भुटानीहरूले खोलेका हुन् ।

    मेरो भ्वाइस युनिभर्सको विजेता सिक्किमका प्रितम राई भएका छन् भने थाइल्यान्डकी खुशी कार्कीले मेरो डान्स युनिभर्सको उपाधि जितेकी छन् । यो रियालिटी शोमा अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार राखिएको छ । दुवै विजेताले एक-एक करोड हात पारेका छन् ।

  • कवि सुरज आचार्य ‘द मेटाफोरिकल’का बागबजारमाथि लेखिएका तीन कविता

    कवि सुरज आचार्य ‘द मेटाफोरिकल’का बागबजारमाथि लेखिएका तीन कविता

    काठमाडाैं । कवि सुरज आचार्य ‘द मेटाफोरिकल’ पेशाले प्राध्यापन गर्छन् । विशेष गरी कविता र गजल लेख्छन् । वामपन्थी धारका गुल्मीका आचार्यका कविताहरू प्रगतिशील विचारधारा हुन्छन् ।

    एक कविता सङ्ग्रह र गजल सङ्ग्रहको अन्तिम तयारीमा रहेका उनै आचार्यको बागबजारमाथि लेखिएका तीन कविता प्रस्तुत गरेका छौँ ।

    ‘बदनाम छ बागबजार कीर्तिपुरमा’

    एक दिन घुम्दै फिर्दै आइपुग्यो बागबजार कीर्तिपुरमा ।

    आन्दोलन, राजनीति, विचार, दर्शन र गलफत्तीको ठेकेदारीबाट धेरै टाढा ।

    जहाँ शान्त, स्निग्ध, मौन, अटल, निश्चल बनेर जो नियाली रहेछ काठमाडौंको कर्कश ध्वनि कीर्तिपुर ।

    यहाँ विचार, दर्शन, राजनीति, विज्ञान रणनीति र तर्कका ठाउँमा रहर, चाहाना, इच्छा, आकाङ्क्षा, भावना र अनुभूतिले स्थान पाएको देख्दा ।

    उसको वैज्ञानिक समाजवाद अल्पमतमा पर्ने डरले ।

    आवाज ठूलो गरेर भन्यो तपाईँलाई बोल्न वर्जित छ ।

    घोषणा गर्‍यो म भनेकै आन्दोलन हो आन्दोलन भनेकै म हु ।

    यहाँ समाजवादको ढल छताछुल्ल भएर ह्वास्स नगन्हाएका कारण उसले मार्क्स लगायो ।

    जो कालो थियो वा सेतो जर्मन थियो वा इटालियन कीर्तिपुरले याद गरेन ।

    मान्छेका संवेदनालाई नियाल्न नसकेका कारण उसले चस्मा लगायो ।

    जो रसियन थियो वा चाइनिज कीर्तिपुरले याद गरेन ।

    चिया गफमा उसले चिया पिएन, आफ्नो लागि कफी अर्डर गर्‍यो जुन अमेरिकी ब्रान्डको अमेरिकानो थियो यो कुरा कीर्तिपुरलाई भलिभात्ती याद छ ।

    कीर्तिपुरले आतिथ्यमा समर्पित गरेको रोटी खाएन बागबजारले पिज्जा लन्च गर्‍यो ।

    यसरी आफूलाई सभ्य, सहरिया, सम्भ्रान्त र समाजवादी भएको ठहरायो ।

    विश्वविद्यालयका सदियौँ लामा साधना, समालोचना, मेहनत, अनुसन्धान र डिग्रीहरू बागबजारलाई बुर्जुवा शिक्षाका उपयोगहीन कागजी खोस्टा लाग्छन् ।

    जसले युनिभर्सिटी देखेको छैन उसलाई युनिभर्सिटी बेरोजगार उत्पादनको अखडा लाग्छ ।

    सोझो कीर्तिपुर हेरिरह्यो तमासा ।

    नियाली रह्यो सहरिया सभ्यता ।

    अनुभूत गर्‍यो समाजवादी गुदी ।

    बागबजारलाई हीनताबोध भयो कीर्तिपुर आउनुको ।

    तैपनि सहानुभूति स्वरूप, वैज्ञानिक समाजवादको कुम्भ मेलामा सहभागी हुनुपर्ने गृहकार्य सुम्पेर फर्कियो बागबजार आफ्नै लयमा ।

    त्यसै दिनदेखि बदनाम छ बागबजार कीर्तिपुरमा ।

    ‘बागबजार’

    काठमाडौदेखि दूर दराजका आम मानिसलाई लाग्दो हो।

    बाघको मुखौटो पहिरिएका डमीहरूको बजार ।

    अथवा जिउँदा जाग्दा पाटे बाघहरूको चिडियाघर ।

    वा लाग्दो हो बाघका छाला नङ्ग्रा दाह्रा खप्पर पाइने ठाउँ ।

    यहाँ जिउँदा बाघहरूको हुङ्कार होइन अघाएका समाजवादी सम्भ्रान्तहरूको डकार सुन्न पाइन्छ । ढ्याऊ…

    मार्क्स नपढेकोमा तपाईँलाई मान्छे स्वीकारिने छैन ।

    बागबजारका गल्लीहरूबाट गुज्रिँदै गर्दा तपाईँले समाउनु पर्ने छ गोर्कीको कुनै उपन्यास ।

    १८ औँ शताब्दीका नाराहरू घोकेर फलाक्न सकेकोमा तपाईँ विद्वान् कहलाउनु हुनेछ ।

    तपाईँले घोषणापत्र नपढेकोमा हुर्मत लिइने छ तपाईँको ।

    बागबजारका ढलहरूमा जन्मन्छ समाजवाद ।

    टुकुचा पुग्दा नपुग्दै वैज्ञानिक सिङ हालेर जवान बन्छ । मिसिन्छ बाग्मतीमा र प्रदूषित गरिरहन्छ सारा काठमाडौं ।

    बागबजार हुनेखाने, काठमाडौंमा घर हुने, अथवा बाउले कमाइदिएको सम्पत्तिमा रजाइँ गर्नेहरूको रच्छ्यान हो ।
    उनीहरूकै बसिबियालो गर्ने चौतारी हो ।

    जहाँ मञ्चन भइरहेछ समाजवाद शीर्षकको एउटा नाटक ढोङ्ग गरिरहेछन् कथित कम्युनिस्टहरू ताली पिटी रहेछौं हामी सोझा फगत दर्शकहरू ।

    यहाँ अनन्तदेखि बाचिरहन्छन् त केवल उनीहरूका विचार, सिद्धान्त, दर्शन, कार्यदिशा, रणनीति र योजना ।

    हरेक दिन आत्महत्या गरिरहेछन् । युवाहरूका जोश, जाँगर, उत्साह, सपना, सम्भावना, जीवन, जवानी, उमेर र अनेक सिङ्गा मानवहरू ।

    अनि मलाई ह्वास्स गनाउन थाल्छ समाजवाद टुकुचा नजिकै थुपारिएको कुहिएर सडेगलेको फोहोरको डङ्गुरमाथी राज गरिरहेछ अनन्तदेखि अनन्तसम्म जसलाई समाजवाद भनिन्छ ।

    ‘बागबजारदेखि बागबजारसम्म’

    हतारमा छु ।

    म त समाजवादको व्यापारी सबेरै पुग्नु छ बागबजार ।

    ल आर आर शङ्करदेव पिके क्याम्पस हुँदै भाउजूको चिया पसल, शान्ति बाटिका, जागरण पुस्तक पसल हुँदै दोबिल्ला पुगेर हेगेल, मार्क्स, एङ्गेल्स, लेलिन, स्तालिन, माओ, फिडेल, चे, र पुष्पलाल बेच्नु छ ।

    सहिदहरूका सपना बेच्नु छ ।

    उनीहरूको वैचारिकी छाटेरै सम्पन्न गर्नु छ, एउटा समाजवादको अविराम यात्रा बागबजारदेखि बागबजारसम्म ।

    म त समाजवादको व्यापारी ।

    भुट्नु छ युवाहरूको बुद्धि,

    भस्मीभूत बनाउनु छ उसका सुनौला सपना,

    बर्बाद बनाउनु छ उसको व्यक्तिगत जिन्दगी,

    तर्कवितर्क गरेरै कन्फ्युज गराउनु छ उसको वैचारिकी,

    बेच्नु छ समाजवादका नारा,

    दिनु छ क्रान्तिका गफ,

    अरु नाङ्ला व्यापारीहरूले उछिन्छन् कि भन्ने डर छ मलाई,

    म हतारमा छु ।

    सम्पन्न गर्नु छ एउटा समाजवादको अविराम यात्रा बागबजारदेखि बागबजारसम्म ।

    बोयफ्रेन्ड/गर्लफ्रेन्ड माथिको स्वामित्वलाई लिएर गरिएको लुछालुछ र लछारपछार मिलाउनु छ म आफैले,

    महिला अधिकारका बारेमा भाषण दिनु छ सबेरै,

    न्याय दिलाउनु पर्ने छ ती तमाम उत्पीडितहरूलाई,

    बोलिदिनु पर्ने छ आवाज विहीनहरूको आवाज,

    कुनै पुस्तक विमोचनमा बेलैमा पुगेर एक गड्गडाहट ताली पनि बजाइदिनु पर्ने छ,

    ओगट्नु छ आफ्नो भागमा परेको एक कप चिया र चार छ पाना बिस्कुट,

    फेरि कोही चित्तमिलेको भेटिए त विषय बनाउनु छ अमुक व्यक्तिलाई,

    उडाउनु छ उसलाई,

    घटाउनु छ पेटको बोसो अलिकति हाँसेरै,

    म एक्लो क्रान्तिकारी म एक्लो समाजवादी,

    कसरी भ्याउनु जताततै त्यसैले हतारमा छु म ।

    सम्पन्न गर्नु छ एउटा समाजवादको अविराम यात्रा बागबजारदेखि बागबजारसम्म ।

  • बलिउड अभिनेता साहिल खान नेपालमा

    बलिउड अभिनेता साहिल खान नेपालमा

    काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्।

    स्टाइल, एक्सक्युज मि, डबल क्रस, यहि हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफुलाई खुसि लागेको बताए। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी भोली फर्कनेछन्।

    खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको प्रतियोगिताको आज फाइनल हुने जानकारी सज्ञान खरेलले दिए ।

    इन्डियाको फ्रेन्च आइज ‘नरेश सूर्या क्लासिक नेपाल’मा १५० जना सहभागी छन्। कार्यक्रममा नेपाल, मलेसिया, युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन् । फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।

  • चलचित्र ‘जय हो’काे सेन्सर पास

    चलचित्र ‘जय हो’काे सेन्सर पास

    काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म‘जय हो’सेन्सर पास भएको छ ।

    शुक्रबार सेन्सर पास भएका फिल्म सबै उमेर समुहका दर्शक सजिलै हेर्न पाउने छन् । सेन्सरमा फिल्म हेरेका पदाधिकारीले ‘जय हो’लाई राम्रो प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ ।

    फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

  • पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक

    पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक

    काठमाडौं । पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक गरिएको छ ।

    खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो ।

    सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्वजनिक गरेको सर्ट लिस्ट अनुसार सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, डा.देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा.नवराज केसी शून्यको मूल्य नामक पुस्तकहरू परेको छ ।

    सो प्रतिष्ठानले विगत २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

    अध्यक्ष लामिछानेका अनुसार चयन प्रक्रियाको पहिलो चरणमा सो प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्ड बमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेका थियो ।

    चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तक मध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिस बमोजिम आज सार्वजनिक गरिएको हो ।

  • ऐँचो पैँचो’ दर्शकले मन पराउने सिनेमा हो : कृषा चौलागाईं

    ऐँचो पैँचो’ दर्शकले मन पराउने सिनेमा हो : कृषा चौलागाईं

    काठमाडौं । सिनेमा ‘ऐँचो पैँचो’ निर्देशक कृषा चौलागाईंले एउटा मेकरको रोजाइको कथा लाखौं दर्शकले मन पराउनु सामान्य कुरा नभएको बताएकी छन् ।
    सिनेमा निर्माणका क्रममा एकजनाको रोजाइको कथा लाखौं र करोडौंमा जाने भएकाले त्यससँग सबै सहमत हुन्छन् भनेर अपेक्षा राख्नु नै गलत भएको बताएकी छन् । करोडौंको विचार एउटै हुन्छ र मिल्छ भनेर सोच्नु नै गलत भएको उनको भनाइ छ ।

    यद्यपि आफूहरुले यसपटक धेरै दर्शकले मन पाउने चलचित्र बनाएको उनले बताएकी छन् । ‘यो सिनेमा सक्सेस भए पनि यहीँ रहन्छु । नभए पनि फेरी खुट्टा टेकेर उठ्छु । एकपटक फेलियर हुँदैमा यो क्षेत्रमा रहनु हुँदैन भन्ने छैन,’ ऐँचो पैँचो निर्देशक कृषा भन्छिन्, ‘मलाई कसैले रोक्न सक्दैन । यो मेरो निर्णय हो । सिनेमा सक्सेस हुन्छ अथवा हुँदैन कोही व्यक्ति विशेषमा छैन, दर्शकको हातमा छ ।’

    आफू निर्मात्री हुँदादेखि नै निर्देशकीय कामलाई आफूले नजिकबाट नियाल्ने गरेको उनले बताएकी छन् । म वास्तवमा प्रोडुसर हुँदा पनि प्रोडुुसरको कुर्सीमा बसिरहँदा निर्देशकले सट लिँदा त्यसलाइ त्यसरी होइन यसरी लिँदा कस्तो हुन्छ भनेर सोच्थेँ,’ उनी भन्छिन्, ‘त्यसैले आफूले केही हेरेर र सहभागी भएर गरेको काम यसपटक आफैँ किन नगरौँ भनेर म निर्देशक भएको हुँ ।’

    उनले दर्शकका लागि आफूहरुले राम्रो कन्टेन्ट तयार पारेको भन्दै दर्शक पनि सिनेमा हेर्न तयार हुनुपर्ने बताइन् । कृषा चौलागाईंको निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।

    सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह–निर्माता रहेका छन् ।

  • ‘पशुपति प्रसाद २: भष्मे डन’को फस्ट लुक सार्वजनिक

    ‘पशुपति प्रसाद २: भष्मे डन’को फस्ट लुक सार्वजनिक

    काठमाडौं । दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा ‘पशुपति प्रसाद २: भष्मे डन’ को आज फस्ट लुक सार्वजनिक भएको छ ।

    चलचित्रको विदेश रिलिजको सम्पूर्ण जिम्मा सेभेन सिज प्रालीले लिएको छ । चलचित्रको अमेरिकामा करिब १ हजारदेखि १२ सय शो, युकेमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, क्यानडामा १ सय ५० शो, मध्ये पूर्वका देशहरुमा करिब साढे ७ सय शो, जपानमा १ सय शो, युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा रिलिज पक्का भैसकेको छ ।

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् ।

    टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने छ । सिनेमा विदेशका ठूला र नाम चलेका मल्टिप्पलेक्स चेनहरुमा पहिलो पटक रिलिज हुन लागेको हो ।

  • फिल्म ‘जय हो’ टीम प्रचार प्रसारमा व्यस्त

    फिल्म ‘जय हो’ टीम प्रचार प्रसारमा व्यस्त

    काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’ टीम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ । सिनेमाको निर्माण टीम अहिले दैनिक जसो कुनै न कुनै कार्यक्रममा सहभागी भएर जय हो प्रचार गरिरहेको देखिन्छ ।

    यसैबीच सिनेमाको टिम शुक्रबार बिहान चुच्चेपाटी स्थित मनास्लु कलेज पुगेर जय हो प्रचार गरेको छ । कलेजका करिब एक हजार विद्यार्थीमाझ सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई जय होको बारेमा जानकारी दिएका थिए ।

    सिनेमाका मुख्य अभिनेत सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ्ग गाएर सुनाएका थिए । करिब एक घन्टा जय हो टिमले विद्यार्थीसँग बिताएको थियो । निर्माण टिमका अनुसार विद्यार्थीले सिनेमाको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए ।

    सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

  • चलचित्र ‘भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक

    चलचित्र ‘भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । आज सार्वजनिक एउटा पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ।

    चलचित्र ‘भगवत गीता’ को १ मिनेट ३२ सेकेण्डको टिजर यसअघि नै सार्वजनिक गरिएको थियो । झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।

    राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्माता सुहाना थापा हुन् । झरनालाई ‘ए’ शब्द फापेको छ । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनटै सिरिज सफल भएका थिए । यसैले उनले ‘भगवत् गीता’मा पनि ‘ए’ शब्द आउने एक राखेकी हुन् । फिल्म भदौ २९ गते प्रदर्शन हुँदैछ ।

  • सलोन र केकीको ‘सपनाको वेडिङ्ग’ सार्वजनिक

    सलोन र केकीको ‘सपनाको वेडिङ्ग’ सार्वजनिक

    काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘जय हो’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनको नोकझोक देख्न सकिन्छ ।

    ‘सपनाको वेडिङ्ग’बोलको गीतको गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिनेता बस्नेतले नै दिएका छन् । रोमान्टिक फ्लेवरमा तयार पारिएको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

    सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितेकाले पनि अभिनेता बस्नेत आफैले तयार पारेको गीतबाट निर्माण टिम अझै आशावादी देखिन्छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् ।

    सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगर अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

    आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

  • अनमोल र नीतिको ‘रावायण’मा प्रमोद अग्रहरीको प्रवेश

    अनमोल र नीतिको ‘रावायण’मा प्रमोद अग्रहरीको प्रवेश

    काठमाडौं । सिनेमा ‘रावायण’मा अभिनेता प्रमोद अग्रहरी पनि अनुबन्धित भएका छन् । उनीसँग केहीदिन अघि निर्माण टिमले औपचारिक रुपमा लिखित सम्झौता गरेको थियो । उनको प्रवेशसँगै सिनेमामा कलाकारको लाइनअप बलियो बनेको छ ।

    सिनेमामा अनमोल केसी, नीति शाह, कामेश्वर चौरासिया, शिल्पा मास्के यसअघि नै सिनेमाको मुख्य भुमिकामा अनुबन्धित भैसकेका छन् । सिनेमाका लागि अझै केही कलाकार छनोटको चरणमा रहेको निर्मात्री सुप्रिया कटुवालले बताइन् ।

    लभस्टोरी सिनेमामा आफ्नो अब्बल छाप छोडेका निर्देशन सुदर्शन थापा यतिवेला आगामी भाद्रबाट फ्लोरमा जाने सिनेमा ‘रावायण’को प्रि(प्रोडक्सनमा व्यस्त छन् । उनले सिनेमाका लागि मुख्य कलाकारको बलियो लाइनअप तयार पारेका छन् । निर्देशक थापा गत बैशाख १५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद २’ पछि ‘रावायण’ निर्देशनको तयारीमा जुटेका हुन् ।

    सिनेमामा सुपरस्टार अनमोल केसी पहलो पटक दोहोरो भुमिकामा काम गर्दैछन् । उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । उनीहरुले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु समेत गर्दैछिन् ।

    एक्सन लभस्टोरी जनरामा निर्माण हुने सिनेमा सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ । सिनेमाको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्धन्द्व निर्देशन, विक्रम स्वारको कोरियोग्राफी रहने सिनेमामा पुष्कर लामा प्रोडक्सन डिजाइनर तथा सुदीप ढकालले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् ।

    सिनेमाको बलियो लाइनअप बनेसँगै डिजिटल राइट्स र विदेश राइट्स खरिदको लागि अफरहरु धेरै आउन थालेको जानकारी हामीलाई प्राप्त भएको छ । निर्माण घोषणासँगै सिनेमा बजारमा ‘रावायण’को चर्चा चुलिएको छ ।

  • ‘गलबन्दी’बाट दुई पैसा नकमाएको भए म पलायन भइसकेको हुन्थें : प्रकाश सपूत

    ‘गलबन्दी’बाट दुई पैसा नकमाएको भए म पलायन भइसकेको हुन्थें : प्रकाश सपूत

    काठमाडौं । प्रकाश सपूत गायक हुन् । गायक सँगसँगै गीतकार, संगीतकार, वाद्यवादक, पटकथाकार र मोडलसमेत हुन् । तर, उनलाई भने यी सबै परिचय एक ठाउँमा ल्याएर ‘सर्जक’को सम्बोधन प्रिय लाग्छ । आफूलाई सर्जक वा स्रष्टा भन्दा आफूले गरेका तमाम सृजनात्मक कामहरु समेटिने सपूतको विश्वास छ ।

    ‘बोलमाया’ गीत ल्याएपछि खाडी जानेबारे सोचेका सपूतले खाडी जानु परेन । गरिबीको गहिरो खाडलबाट सतहमा उक्लिएका उनले पछाडि फर्केर हेर्नु परेन । मुटु तीतो बनाउने विभेदहरुलाई संगालेर राखेका थिए, त्यसैले गीतहरुको अन्तरा खोज्न उनलाई कतै जानु परेन । बाआमा, पुर्खा र आफैंले भोगेर आएको निस्सासिँदो कथा थियो । त्यसैले कथा खोज्न अन्त कतै जानु परेन ।

    ‘बोलमाया’, ‘गलबन्दी’, ‘पिर’, ‘सकमबरी’ हुँदै ‘दमाई महाराज’सम्म आइपुग्दा अधिकांश गीतहरुमा कतै आफ्नै कथा उनेका छन्, कतै आफ्ना नजिकका साथीभाइले भोगेका कथाहरुलाई बुनेका छन् । जसै कथाहरु टिपेर गीत लेख्छन्, सँगै सामाजिक मुद्दाहरु पनि जोडेर ल्याउँछन् ।

    मनोरञ्जनको लागि मात्रै सस्ता गीतहरु बजारमा ल्याइरहनेहरुका भीडमा सपूत पृथक छन् । प्रशंसित छन्, आलोचित पनि । गम्भीर मुद्दालाई हल्का रुपमा उठाएको भनेर उनीमाथि प्रश्नसमेत गर्ने गरिन्छ । चाहे ‘सकमबरी’मा युवतीलाई प्रस्तुत गरिएको विषय होस् या पारिजातको बहुचर्चित उपन्यास ‘शिरीषको फूल’को पात्र सकमबरीलाई प्रस्तुत गरिएको तरिका होस् । या ‘पिर’ गीतमा माओवादी पूर्वलडाकुलाई यौनकर्मी बनाइएको विषय होस् । सपूतमाथि प्रश्नहरु पनि तेर्सिरहेकै हुन्छन् । यिनै समग्र विषयमाथि केन्द्रित रहेर स्रष्टा प्रकाश सपूतसँग नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश:

    – तपाईं आफूले लेखेर, कम्पोज गरेर गाएको गीतमा मोडलिङ पनि आफैं गर्नुहुन्छ । मोडलिङ तपाईंको रहर हो कि अरुप्रति विश्वास नभएर हो ?

    अरुलाई तिर्ने पैसा नभएर हो (लामो हाँसो) । खासमा मलाई सबै कुरामा रुचि छ । म करियरको सुरुदेखि धेरै कुरामा जोडिँदै आएँ । धेरै कुरा सिक्दै आउने मौका पाएँ । बाल्यकालमा गाउँमै भित्ते पत्रिकाहरु पढ्थें । गाउँमै गजल, मुक्तकहरु लेख्ने, सुन्ने गर्दा शब्द रचनामा रस पस्यो । गाउँमा संस्कृति नै संगीतमय थियो । गाउने, नाच्ने भनेपछि हाम्रो रगतै हुने भयो । पछि टीभी अयो । फिल्मका चक्काहरु आउन थाले । भिडियो आयो । फिल्म आयो । त्यसमा पनि कनेक्ट भइयो ।

    म बाँचेको निकै छिटो परिवर्तनशील भइरहेको समय र समाजमा धेरै नयाँ कुराहरुको अनुभव लिएकाले मेरो चेतनाको प्रक्रिया विस्तार हुँदै गर्दा धेरै कुराहरुसँग जोडिएँ । त्यतिखेर कतै न कतै अवचेतनमा संगीत, शब्द, अभिनयका कुराहरु घुसे ।

    अहिलेसम्मको यात्राको क्रममा ठ्याक्कै हिरो बन्न सकिएन । कोसिस त गरिएकै थियो । ठयाक्कै गायक हुनलाई स्वर भयंकर छ भनेर अन्य गायकहरुले जस्तो भटाभट गीत गाउन पनि सकिएन । शब्द लेखेर, बेचेर, ‘यसको शब्द खत्रै हुन्छन्, यसका शब्द किनौं’ भन्ने खालको पनि लेखिएन (फेरि हाँसो) । औसतमा कहिले गाएर, कहिले अरुका गीतमा नाचेर जीवन पालियो । बीचको आठ-दश वर्ष बाउआमाले छोरो बाँचेको छ भनेर देखाउन गाउने, नाच्ने, बाजा बजाउने, कार्यक्रममा पनि हिँड्ने गर्दा बाध्यताले सबै अलिअलि सिकियो । यी सबै कुरा यात्रा र अनुभवले सिकाएको जस्तो लाग्छ ।

    – अभिनय चाहिँ रहर हो कि प्यासन ?

    रहर वा प्यासनभन्दा पनि अभिनयबाट पनि अभिव्यक्त गर्न सकिन्छ है भन्ने लागेको हो ।

    – भनिन्छ नि, सबैथोक जान्ने, तर कुनै एउटा कुरामा विशेषज्ञता हासिल नगर्ने । त्यस्तै त होइन नि ?

    समग्रमा म थोरै थोरै अंक हो (हाँसो) । अभिनयमात्रै छुटाएर हेर्दा प्रकाशले खत्रै अभिनय गर्छ भन्ने होइन । तैपनि व्यवसायिक हिसाबबाट अभिनयको प्रस्ताव आइरहेकै छन् । तर, मेरो आत्मविश्वास चाहिँ सबैमा थोरै थोरै छ । त्यसैले मलाई थोरै थोरै अंक दिए हुन्छ । मलाई संगीतमा फुल मार्क, शब्दमा फुल मार्क चाहिएन ।

    अहिलेसम्मको यात्राको क्रममा ठ्याक्कै हिरो बन्न सकिएन । कोसिस त गरिएकै थियो । ठयाक्कै गायक हुनलाई स्वर भयंकर छ भनेर अन्य गायकहरुले जस्तो भटाभट गीत गाउन पनि सकिएन । शब्द लेखेर, बेचेर, ‘यसको शब्द खत्रै हुन्छन्, यसका शब्द किनौं’ भन्ने खालको पनि लेखिएन ।

    – कति दिए हुन्छ ? पास मार्क कि अलि बढी ?

    अहिले त सय प्रतिशत नै आइरहेको छ नि, हैन र ? (लामो हाँसो) । सबै मिलाएर सय प्रतिशत हो । डिभाइड गर्दा चाहिँ कसैलाई अभिनय मन पर्नसक्छ । साहित्यिक या बौद्धिक दर्शकले ‘यसले विषय चाहिँ उठाउँछ है’ भनेर त्यतातिर अंक बढी दिनुहोला । कोही संगीत लयको पारखी हुनुहुन्छ भने ‘लय मीठो आउँछ है’ भन्नुहोला । अहिलेसम्म ओभरअलमा सय प्रतिशत नै आइरहेको छ ।

    – तपाईं आफूलाई सर्जक भनेको रुचाउनुहुन्छ । तैपनि गायक, संगीतकार, गीतकार, पटकथाकार, मोडलको परिचय छ । यी विधाहरुमध्ये सबैभन्दा बेटर छु भन्ने लाग्ने कुन हो ?

    मलाई म कथा भन्न सक्छु भन्ने लाग्छ । लेख्न सक्छु भन्ने लाग्छ । मैले कथा नलेखेको वा कथालाई नउनेको भए सायद मेरा यी पछाडिका सबै परिचय फिक्का हुन्थे । प्रकाश सपूत गायक हो भन्ने छ । तर, मेरो गायन त्यस्तो वाउ भन्ने छैन । अहिले मान्छेले मन पराइरहेको त मेरो सृजना हो नि ! त्यसो हुँदा लाग्छ कि मेरो लेखन चाहिँ अलि राम्रो रहेछ है ! मैले लेखेका शब्द, मैले उनेका कथाहरु मान्छेलाई बढीजसो मन परिरहेको छ । गायन, भिडिओ त कथामा थपिने फूलबुट्टा हो । मुख्य कुरा त कथा र कथा लेखन हो ।

    – तपाईंलाई मान्छेहरुले किन रुचाए जस्तो लाग्छ ?

    किन रुचाए भनेर भन्ने क्षमता त म राख्दिनँ । तर, मैले हाम्रै समाजको कथा भनिरहेको छु । मौलिक प्रयासहरु गरिरहेको छु । हामीले बाँचेको समयको कथा हाम्रै मौलिक शैलीमा हाम्रो रुचिअनुसार भनिरहेको छु जस्तो लाग्छ ।

    – तपाईंको जति प्रशंसा हुन्छ, उत्ति नै आलोचना पनि भइरहेका हुन्छन् । आलोचनालाई व्यक्तिगत रुपमा कसरी लिनुहुन्छ ?

    दुई प्रकारका आलोचना हुने रहेछन् । एउटा व्यक्तिगत र अर्को वैचारिक । व्यक्तिगत आलोचनाले मलाई अलिकति असर गर्छ । म जे होइन, मेरो नियत, स्वभाव र आचरण जे होइन, त्यसलाई लिएर मान्छेले जज गरिरहेका हुन्छन् । आलोचनाको नाममा व्यक्तिगत नियत राखेर सानो समूहमै पनि खराब चित्रण गरिदिँदा थोरै मासमा भए पनि गलत असर पर्छ नि ! त्यसैले व्यक्तिगत रुपमा गरिएका आलोचनाको डर पनि लाग्छ । किनभने मेरो परिवार छ, निजी र सार्वजनिक जीवन छ ।

    तर, वैचारिक आलोचनाले चाहिँ मलाई असर गर्दैन । किनभने मेरो विचार नै सही हो, मैले भनेका कुरा नै सही हो भनेर लाग्दिनँ । ‘यी विषय विमर्श गरिनुपर्ने विषय हुन् है, तपाईंलाई लागेको के हो, तपाईं भन्नुस्, मलाई चाहिँ यस्तो लाग्यो’ भनेर काम गरिरहेको हो मैले । मलाई ‘पिर’, ‘सकमबरी’, ‘दमाई महाराज’मा लागेको कुरा भनें । तर, अरुलाई फरक लाग्नसक्छ ।

    मलाई म कथा भन्न सक्छु भन्ने लाग्छ । लेख्न सक्छु भन्ने लाग्छ । मैले कथा नलेखेको वा कथालाई नउनेको भए सायद मेरा यी पछाडिका सबै परिचय फिक्का हुन्थे । प्रकाश सपूत गायक हो भन्ने छ । तर, मेरो गायन त्यस्तो वाउ भन्ने छैन । अहिले मान्छेले मन पराइरहेको त मेरो सृजना हो नि !

    एउटा सुर मैले लिएर जाने हो । अर्को सुर अर्कोले लिएर आउने हो । र, हामीले समाजलाई लय दिने हो । देशलाई लय दिने हो । त्यसैले लय नपक्रिइसकेको समाजमा फरक फरक सुर ल्याइनु स्वाभाविक हो ।

    – तपाईंको ‘पिर’माथि निकै बहस भयो । सार्वजनिक रुपमा माओवादी नेताहरुले समेत अभिव्यक्ति दिए । पछि भिडिओ नै सम्पादन गर्नुभयो । तपाईंले डराएर सम्पादन गर्नुभएको हो वा तपाईंको विचार धर्मराएको हो ? सृजनामार्फत् पस्कने तपाईंको विचारको धरातल कति बलियो हो ?

    यस्तो छ, मलाई अलिकति निरुत्साहित गर्ने भाषामा भन्ने हो भने त्यो डराएर नै हो भनेर भन्न मिल्छ । सायद सबै मान्छेलाई जवाफ दिन सकिनँ होला । सबै मान्छेको आवेगलाई सन्तुलनमा राख्न सकिनँ होला । एउटा राजनीतिक दलले गरेको मुभमेन्टको भारीलाई थेग्न सकिनँ होला ।

    तर, यसैलाई सकारात्मक ऊर्जासहित आलोचना गर्ने हो । म त्यस्तो दबाब थेग्न तयार नभइसकेको रहेछु । मेरो वैचारिक धरातल त थियो, विचार त हुन्छ नै मान्छेसँग । तर, विचारपछि पनि विमर्श हुन्छ । विचारले देखाउने क्रियाको स्वाभाविक प्रतिक्रिया हुन्छ । त्यसका लागि चाहिँ म तयार नभइसकेको रहेछु ।

    ‘पिर’मा म अलि भावनात्मक थिएँ, वैचारिकभन्दा पनि । मेरो हृदय सर्जकीय भावनात्मक हृदय हो । तर, ‘पिर’ले उठाएको विषय साझा विषय हो । मैले सृजनामा हटाउँदैमा हट्ने भन्ने पनि होइन ।

    वैचारिक हिसाबले आफ्नो विचार व्यक्त गरिसकेपछि आउने विचारहरुको उचित सम्बोधन गर्न वा प्रतिकार गर्न तयार नभइसकेको रहेछु ‘पिर’सम्म आइपुग्दा । त्यहाँ अगाडिका सृजनाहरु अलि भावनात्मक थिए । समाजलाई चित्रितमात्रै गरिएका थिए । तर, ‘पिर’मा आइपुग्दा अलि बढी राजनीति र विचार हावी भयो । मान्छेले त्यसरी ग्रहण गरे । त्यसले मलाई खुशी पनि बनायो । हटाउने भनेको त के मुड चल्यो, एकछिनको निर्णय त हो । मलाई हटाउन मनलाग्यो, हटाइदिएँ ।

    – अहिले तपाईंलाई लाग्छ, त्यो नहटाएको भए पनि हुन्थ्यो ?

    लाग्छ, हरेकपटक लाग्छ । नहटाएको भए हुन्थ्यो भन्ने लाग्छ । तर, आफूले गरेको कुरामा पछुतो गर्ने होइन, सुधार्दै लैजाने भन्नेबारे मात्रै सोच्छु । मैले आफूलाई त्यसरी परिस्कृत गर्छु । प्रसंगवश कुरा गर्ने हो भने त्यो भिडिओ नहटाएको भए हुन्थ्यो भन्ने लाग्छ ।

    – ‘पिर’मा तपाईं आत्तिएर भिडिओ हटाउनुभयो । तर, ‘सकमबरी’मा चाहिँ त्यति धेरै आलोचना हुँदा पनि हटाउनुभएन । तपाईं परिपक्व भएको हो र ?

    अब चाहिँ म मान्छेहरुसँग प्रतिप्रश्न गर्न सक्छु, यदि यदि आवश्यक पर्‍यो भने । अहिले पो जवाफ दिएर हिँड्ने प्रकाश सपूत जीवित छ । बीपी कोइराला, शंकर लामिछाने, पारिजात या भूपिका सृजना पढ्दा फरक बुझ्नुभयो भने कसलाई जवाफ माग्ने ? कसलाई सोध्ने ? कतिपय सवालहरुको जवाफ दिनैपर्छ भन्ने आवश्यकता छैन भन्ने कुरामा अहिले स्पष्ट छु म ।

    – ‘सकमबारी’ नाम राखिएकै भरमा पारिजात स्मृति प्रतिष्ठानले पनि तपाईंसँग स्पष्टीकरण मागेको थियो । तर, तपाईं टसमस नै हुनुभएन, के कारणले हो ?

    मैले उहाँहरुलाई सम्बोधन चाहिँ गरें । उहाँहरुले संयोग नभएर नियत नै देखिन्छ भन्नुभएको थियो । मैले ‘सकमबरी’ नाम नियतवश नै राखेको हो । मेरा सृजनामा सहित्य, पुस्तकलाई विम्बात्मक रुपमा प्रस्तुत गर्दै आएको छु । किनभने मेरो सुरुवात पुस्तकहरुबाट भयो । अहिलेको मेरो चेतना बनाउन मलाई ती पुस्तक कामयावी बने । समाजलाई विभिन्न कोणबाट हेर्न सकिन्छ भन्ने चेतना पुस्तकहरुबाट पाएँ । जीवनमा पहिलोपटक पढेको पुस्तक नै ‘शिरीषको फूल’ थियो ।

    व्यक्तिगत आलोचनाले मलाई अलिकति असर गर्छ । म जे होइन, मेरो नियत, स्वभाव र आचरण जे होइन, त्यसलाई लिएर मान्छेले जज गरिरहेका हुन्छन् । आलोचनाको नाममा व्यक्तिगत नियत राखेर सानो समूहमै पनि खराब चित्रण गरिदिँदा थोरै मासमा भए पनि गलत असर पर्छ नि !

    ‘शिरीषको फूल’की ‘सकमबरी यस्तो छोरी मान्छे थियो, जो मैले देखेका तमाम महिलाहरुभन्दा भिन्न थिई । मेरी आमा, बहिनी, छिमेकी, फुपू, काकी, हजुरआमाभन्दा विल्कुल फरक थिई । मुडुलो टाउको थियो । चुरोट खान्थिन् । भर्खरै जुँगाको रेखी बसेको वेला, फरक लिंगप्रति आकर्षण सुरु हुँदा मैले त्यस्तो छोरीमान्छे देखेकै थिएन ।

    मैले मेरो आँखाअघि देखेको सजीव मान्छेभन्दा पुस्तकमा पढेको निर्जीव पात्रलाई पहिलो प्रेमिका बनाएँ । पुस्तकको त्यो पात्र र गीतको यो पात्रमा धेरै फरक छ । उस्तै होइन भनेर देखाउन पुस्तक नै पढेको दृश्य छ । अनि त्यो साहित्यिक चेत चाहिँ नबुझ्ने ? फूलमायाले ‘शिरीषको फूल’ पढिरहँदा कसैले आएर नाम सोध्छ । उसले भन्छे, ‘सकमबरी’ ।

    जम्मा सकमबरीलाई त्यो दृश्यमा राखेको छु । तर, सकमबरीलाई पात्र बनाएर गीतमा प्रस्तुत गरिएको होइन । फूलमाया भिन्न हो । सकमबरी त उसले उपन्यास पढ्दा आउने पात्र हो । मैले त्यति दृश्य राखेपछि ‘शिरीषको फूल’ नपढेका कति पाठकहरुले पढ्नुभयो होला ।

    मैले प्रतिष्ठानलाई यो कुरा बुझाएँ । मैले यो पनि भनें, ‘सायद पारिजात जिउँदो हुनुहुन्थ्यो भने तपाईंहरुलाई यो विज्ञप्ति निकाल्न दिनुहुन्नथ्यो होला, भिडियो हेर्नुहुन्थ्यो होला । सकमबरी र फूलमाया छुट्याउनुहुन्थ्यो होला । सकमबरी नाम किन राख्यो भनेर कारण खोज्नुहुन्थ्यो होला । पुस्तकको नामबाट प्रभावित भएर सकमबरी नाम राख्या रैछ भनेर तपाईंहरुलाई नै गाली गर्नुहुन्थ्यो होला ।’

    अनि मैले उहाँहरुलाई भनेको थिएँ, पारिजातले नै बनाएको साहित्यको फाँटमा आएको म सानो किसानलाई तपाईंहरुले निरुत्साहित बनाउनुहुन्न भन्ने आशा लिएको छु ।’ अनि पत्र उहाँहरुको ठेगानामा पठाइदिएँ ।

    ‘सकमबरी’ मार्फत् मनोरञ्जन क्षेत्रलाई जसरी देखाउन खोज्नुभएको छ, यस क्षेत्रमा सपना देखेका नवप्रतिभाहरुको नियति त्यस्तै नै हो र ?

    मैले गीतमा मनोरञ्जन क्षेत्रको कथा भन्छु भनेर भनेको छैन । मैले सामान्य फूलमायाको यात्रा देखाउन खोजेको छु । गाउँको परिवेशबाट आएकी उनको आमालाई छोरीमात्रै जन्मियो भनेर बाउले छाडेर गएको छ । त्यहाँ लैंगिक विभेद छ । छोराप्रतिको आशक्ति छ । पितृसत्तात्मक सोच छ । तर, मान्छेहरु मनोरञ्जन क्षेत्रमा मात्रै फोकस भए ।

    १४ मिनेटको गीतमा ऊ फिल्म खेल्न थालेपछिको दुई तीन मिनेटमा हामी अल्झियौं । तर, कथा त गरिबीको कथा थियो । फूलमायाको काँधमा आइलागेको जिम्मेवारीको कथा थियो । पुरुषले गर्ने हिंसाको कथा थियो । त्यस्तो पृष्ठभूमिबाट आएर ऊ मनोरञ्जन क्षेत्रमा जोडिएकी थिई । फूलमायाको ठाउँमा हरिमाया भएकी भए कथा फरक हुन्थ्यो होला । उसले अडिसन दिन्थी होली ।

    मेरो क्षेत्रलाई म मूल्यवान बनाउन चाहन्छु । भोलि बिरामी हुँदा विचरा भन्ने नहोस् । हिजो राजेश हमालदेखि आजको पुस्तासम्म पनि कलाकारितालाई सुरक्षित क्षेत्र मानिँदैन । म त्यसलाई चिरियोस् भन्ने चाहन्छु । म मानसिक रुपमा पनि पैसा कमाउनुपर्छ भन्ने कुरामा सचेत छु । कलाकारितालाई फैलाउनुपर्छ भन्ने कुरामा पनि सचेत छु ।

    तर, फूलमायाको त हिरोइन बन्ने सपनै थिएन । कम्तीमा बाँच्नुपर्छ, परिवार बचाउनुपर्छ भन्नेमात्रै थियो । त्यसैले वेटरको काम गरेकी थिई । परिस्थितिले ऊ मनोरञ्जन क्षेत्रमा जोडिएकी थिई । उसलाई त आफू बाँच्नु र आमाबहिनीलाई बचाउनु थियो । कम्तीमा यति त बुझिदिनुप¥यो नि !

    – तपाईंले महिलालाई कमजोर देखाउनुभयो, महिलाहरु सवल छन् । ‘कल्ले किन्दियो’ भनेर भनिरहन पर्दैन भनेर पनि प्रश्नहरु उठेका थिए नि ?

    यो प्रश्न गर्नु अगाडि सोचौं, त्यस्ता महिलाहरु छन् कि छैनन् ? कोही एकजना पात्रको मात्रै कथा पनि कथा हुन सक्दैन र कला क्षेत्रमा ? सबै सुयोगवीरहरु लाहुरे हुन्छन् र ? एकजनामात्रै फूलमाया रहिछिन् भने पनि त्यसको कथा नभन्ने ? त्यो कलात्मक छैन ? विम्बात्मक छैन ?

    आत्मविश्वासी, शिक्षित महिलाहरु पनि छन् । अरुप्रति भर पर्नेहरु पनि छन् । यौनलाई छोटो बाटो अपनाउने पनि छन् । जजसले प्रकाशले यस्तो देखायो भन्छन्, उनीहरुलाई पनि थाहा छ कि उनीहरु पनि कुनै न कुनै महिलाको कुरा काटेर बसेका छन् ।

    – २०८० साललाई ‘विभेदविरुद्धको वर्ष’को रुपमा मनाउने घोषणा गर्नुभएको छ । त्यही पेरिफेरिमा ‘दमाई महाराज’ ल्याउनुभयो । तर, दलितलाई महाराज बनाएर महायज्ञ, अनुष्ठान गराउँदामात्रै दलित मुक्ति सम्भव हुँदैन भनेर पनि आलोचना भए । यसलाई कसरी लिनुहुन्छ ?

    पहिलो कुरा त नेपाल, भारतको हिन्दू समाजमा विभेदको पृष्ठभूमि धर्म हो । अहिले पनि कुनै वृद्ध आमैबाबैलाई ‘दलितले छोएको तपाईं किन खानुहुन्न’ भनेर सोध्दा ‘पाप लाग्छ, अनिष्ट हुन्छ, बिटुलो हुन्छ’ भन्नुहुन्छ । त्यस्तो हुने कुनै वैज्ञानिक कारण त छैन ! हाम्रो शरीरमा कुनै रेडियसन हुने पनि होइन । एउटै कुरा हो अन्धविश्वास । डर हो । हाम्रा हजुरबाले पनि ‘फलानोलाई छोएँ भने, मन्दिरभित्र छिरें भने पाप लाग्छ’ भनेर सोच्नुभयो । एउटा पुस्ता त त्यसरी बाँचेको छ नि !

    जजसले त्यसरी प्रश्न गरे, उनीहरुको पृष्ठभूमि खोतलौं । मेरो पृष्ठभूमि चाहिँ हिन्दू धर्मको सहधर्मी हो । मेरो थर विश्वकर्मा हो । मेरो धर्म, पहिचान मलाई थाहा छैन । म जन्मिएको समाजमा त्यो पनि थिएन । धर्म नै संस्कृति जस्तो थियो । सबै पर्व मान्थ्यौं । सहधर्मी थियौं । तर, त्यो हुँदाहुँदै त्यहाँ एकैथोक फरक थियो । त्यो हो विभेद ।

    यो विभेदबाट भाग्न कि त धर्म परिवर्तनको कुरालाई पनि हेर्नुपर्‍यो । कि यो धर्म मान्दैनौं भनेर हिँड्नुपर्‍यो । तर, पर्वहरु मनाउने, संस्कृति र संस्कार त्यही मनाउने हो भने र त्यही विभेद छ भने त्यहीबाट आवाज उठाउनुपर्‍यो नि ! ‘ए बजै धर्ममा यस्तो छैन है, नडराऊ’ भनेर सामान्य भाषामा भनिएको गीत हो त्यो । दमाई महाराजले आमैहरुलाई फकाइफकाइ बुझाउने कोसिस गरेको थियो ।

    – पछिल्लो समय तपाईंका गीतहरु कन्ट्रोभर्सीमा परिरहन्छन् । कन्ट्रोभर्सी इन्जोय गर्न थाल्नुभएको हो ?

    कसैले मलाई नराम्रो भन्नुभयो, अनि मैले फेरि नराम्रो भनें भने नराम्रो ऊर्जा पैदा हुन्छ । कलालाई मैले पेशा बनाएको छु । मान्छेलाई लाग्छ, छुट्टै तरिकाले गीत बनाउनुपर्छ । स्वार्थ नराखिकन बनाउनुपर्छ । तर, बाँच्नु पनि पर्छ नि ! ‘बोलमाया’बाट दुई पैसा नकमाएको भए ‘गलबन्दी’ गर्दिनँ थिएँ । ‘गलबन्दी’बाट दुई पैसा नकमाएको भए म पलायन भइसकेको हुन्थें ।

    समाजका कुरा अभिव्यक्तिमार्फत् भनिरहेको हो मैले । त्यस्तो कन्ट्रोभर्सीमात्रै भएको भए त मेरो के हालत हुन्थ्यो होला ? मैले शोहरु गरिरहेकै छु । दर्शकको प्रेम पाएकै छु । नत्र मेरो घरको झ्यालमा ढुंगा हानिन्थ्यो होला । मलाई जहाँ उभियो, त्यही आक्रमण गरिन्थ्यो नि !

    नेपाल, भारतको हिन्दू समाजमा विभेदको पृष्ठभूमि धर्म हो । अहिले पनि कुनै वृद्ध आमैबाबैलाई ‘दलितले छोएको तपाईं किन खानुहुन्न’ भनेर सोध्दा ‘पाप लाग्छ, अनिष्ट हुन्छ, बिटुलो हुन्छ’ भन्नुहुन्छ । त्यस्तो हुने कुनै वैज्ञानिक कारण त छैन ! हाम्रो शरीरमा कुनै रेडियसन हुने पनि होइन । एउटै कुरा हो अन्धविश्वास । डर हो ।

    मसँग व्यवसायिक आइडिया छ । व्यवसायिक हिसाबले पनि सोच्छु । म एकदमै कमजोर पृष्ठभूमिबाट आएको मान्छे हो । पैसा नहुँदाको वेला ग्यास्ट्रिक पालेर आएको छु । त्यसैले कन्ट्रोभर्सी केलाई भन्ने त ? म सामाजिक मुद्दाहरुलाई पनि कलाको माध्यमबाट छोएर सृजना गर्छु । त्यसमाथि बहस, विमर्श त भइहाल्छ नि !

    – तपाईंका गीतहरुमाथि विवाद, विमर्श हुनुको पछाडि तपाईंको भित्री चाहना हो कि त्यस्ता मुद्दाहरु ल्याउँदै गर्दा स्वाभाविक रुपमा विवाद, विमर्श हुने कुरा हुन् ?

    मैले भनिरहेको एंगललाई मान्छेले अर्कै एंगलबाट पनि हेर्नसक्छ । मैले एक साइडबाट हेरेको हुन्छु र अर्को साइडबाट पनि देखिन्छ भनेर ख्याल गरिएको हुँदैन । किनभने मेरो क्षमता, कल्पनाशीलता र ज्ञान एउटा साइडमा मात्रै छ । मैले ‘दमाई महाराज’ मार्फत् भगवान बिटुलो हुँदैन भनेर भन्दा ठीकै होला भनेर भनें । अर्कोले अर्को पाटोबाट हेरिदियो । दुईवटा साइड मिसमास भएर कन्ट्रोभर्सी हुने भयो । तर, मैले भनिरहेको कुरा पूर्ण गलत होइन नि ! धेरैथोरै आफ्नो ठाउँमा होला ।

    पहिलो कुरा त कलाकार भएकाले मेरो सृजना धेरै जनामा पुगोस् भन्ने हो । धेरै जनामा पुगिरहँदा एउटा यो विषयमा पनि हालिदिउँ न ! कस्तो मीठो भजन रहेछ भनेर हेर्दै जाँदा मान्छेले मुद्दा पनि महसुस गरुन् भने हो । यथार्थमा मुद्दामात्रै उठाएर कला बेच्न गाह्रो छ । कलामात्रै बेचेर मुद्दा उठाउन गाह्रो छ । मैले कला र मुद्दालाई सँगै लैजान कोसिस गरिरहेको छु ।

    मेरो सृजनामाथि बौद्धिक लेभलबाट पनि प्रतिक्रियाहरु आउँछन् । किनभने मैले कलामार्फत् ती कुरा भनिरहेको छु । सामान्य टिकटक बनाउनेसम्म पनि मेरो विचार पुगिरहेको हुन्छ । तर, मैले ती कुराहरुलाई मज्जाले इन्जोय गरेको छैन । किनभने हाम्रो समाज इन्जोय गर्ने तहमा पुगिसकेको छैन ।

    – तपाईं आफ्ना गीतहरुमा चाहिँ गम्भीर भएर काम गर्नुहुन्छ । तर, मोडलिङ चाहिँ जस्तो गीतमा पनि गर्नुहुन्छ । पैसाकै कारणले हो त ?

    म एउटा लामो यात्रा गरेर आएँ । सानो ठाउँबाट धेरै मान्छेसँग जोडिँदै आएँ । म ड्याङ माथिबाट आएको भए धेरैलाई चिन्दिनँ थिएँ । यो यात्रामा धेरै मान्छेसँग चिनजान छ । धेरैको अपेक्षा छ मसित । हिजो यात्रामा कुनै न कुनै रुपमा सहयोग गरेका मान्छे छन् । सहयात्री र सहकर्मी छन् । ठीकै छ, म खेलिदिएर, नाचिदिएर हौसला हुन्छ भने किन नगर्ने भन्ने हो । ग्राउण्ड लेभलका धेरै साथीहरुलाई चिन्छु । ती साथीहरुको आग्रहलाई नकार्न नसकिएर गर्न सकिन्छ ।

    अर्को त पैसा पनि हो । मेरो क्षेत्रलाई म मूल्यवान बनाउन चाहन्छु । भोलि बिरामी हुँदा विचरा भन्ने नहोस् । हिजो राजेश हमालदेखि आजको पुस्तासम्म पनि कलाकारितालाई सुरक्षित क्षेत्र मानिँदैन । म त्यसलाई चिरियोस् भन्ने चाहन्छु । म मानसिक रुपमा पनि पैसा कमाउनुपर्छ भन्ने कुरामा सचेत छु । कलाकारितालाई फैलाउनुपर्छ भन्ने कुरामा पनि सचेत छु ।

    – तपाईंका सृजनाहरुमा बढी नै विज्ञापन देखिन्छ । कहिलेकाहीं विज्ञापन बढी भयो भन्ने लाग्दैन ?

    अहिले अलिकति बढी भयो भन्ने चाहिँ लाग्छ । तर, त्यो आइडिया हो । म पहिला कन्टेन्ट बनाउँछु । कथा बनाउँछु । अनि व्यवसायिक आइडिया लगाउन खोज्छु । एउटा रेस्टुरेन्टमा दुई पात्रले कफी खाँदैछन् भन्ने कथा भएपछि कसैले कफीको स्पोन्सर गर्ला कि भनेर सोच्छु । पहिला नै विज्ञापन उठाएर यहाँ यहाँ देखाउँछु भन्दिनँ । पहिला कन्टेन्ट बनाउँछु, अनि त्यहाँ विज्ञापन खोज्छु ।