Category: कलाप्रेस

  • ‘एक भगवत गीता’को नामको विवादबारे चलचित्र विकास बोर्डमा छलफल

    ‘एक भगवत गीता’को नामको विवादबारे चलचित्र विकास बोर्डमा छलफल

    काठमाडौँ। केही आध्यात्मिक संस्थाहरुले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारेमा उठाएका प्रश्न र विमतिको विषयमा चलचित्र विकास बोर्डमा छलफल भएको छ ।

    सोमवार बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागी थिए भने हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापा लगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    भाद्र २९ गते रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ती संस्थाहरूले लगाएका थिए ।

    त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नगागेको प्रष्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको बताएको थियो । आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धि विवादलाई टुंगो लगाउने सहमति सो छलफलमा भएको छ ।

    बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए ।

    उनले भने, ‘हुनत मैले यो चलचित्र हेरेको छैन तरपनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद भगवत गीताको सन्देशको विपरित चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन । यद्यपि चलचित्र हेरेर मात्र नाम परिवर्तनको बिषयमा निर्णय लिनु उत्तम हुनसक्छ ।’ केसीले समस्या समाधानको लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्ने जिकिर गरे।

    सो छलफल अत्यन्त महत्त्वपूर्ण, सार्थक, सकारात्मक एवम् पेचिलो भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । उनले ‘एक भगवत गीता’बारे विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउन सर्वसम्मत सहमति भएको जनाए ।

    ‘चलचित्रको नामलाई लिएर पैदा भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले निकै विवेकसम्मत तरिकाले पहलकदमी लियो । सर्वपक्षीय छलफलको आयोजना गरी बोर्डले हार्दिक विमर्शद्वारा दुबै पक्षलाई सकारात्मक निकासतिर प्रेरित गर्‍यो । यस प्रयत्न र निष्कर्षबाट सबैपक्ष उत्साहित र एकतावद्ध भयौँ”, बुढाथोकीले बताए ।

    यो चलचित्रले कुनै पनि जात, धर्म, समुदाय, लिंग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए । बोर्ड सिर्जनात्मक स्वतन्त्रताको पक्षधर रहेको उनको जिकिर छ ।

    सो छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रबिचन्द्र अधिकारी सहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोबिन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागीता थियो ।

  • निष्पक्ष छानबिन गर्न र फोनको विवरण देखाउन शारुक ताम्राकारकी आमाको आग्रह

    निष्पक्ष छानबिन गर्न र फोनको विवरण देखाउन शारुक ताम्राकारकी आमाको आग्रह

    काठमाडौं । दुई महिनाको अन्तरालमा श्रीमान र छोरा दुवै गुमाएपछि दिवंगत अभिनेता शारुक ताम्राकारकी आमा रुक्मणी ताम्राकारले निष्पक्ष छानबिन गर्न नेपाल प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन् । छोरा सारुकको आत्महत्या भएको ५२ दिनमै श्रीमान सानु ताम्रकारको पनि निधन भएको थियो ।

    श्रीमान र छोरा दुवै गुमाएपछि अहिले रुक्मणी एक्ली भएकी छन् । उनले सामाजिक संजालमा स्टाट्स लेख्दै भनेकी छन्, ‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान पनि गुमाउँदा ममाथि ठूलो बज्रपात परेको छ । यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भन्ने कुराको खबर न आउँदा, म सम्पूर्ण पुलिस प्रशासनलाई मेरो छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँग गर्न अनुरोध गर्दछु ।’

    उनले स्टाटसमा फोनको सम्पूर्ण विवरण प्रस्ट अगाडि ल्याउन समेत अनुरोध गरेकी छन् ।

  • संस्कृति नीति बनाउन कुलपति भुपाल राईको संयोजकत्वमा कार्यदल गठन

    संस्कृति नीति बनाउन कुलपति भुपाल राईको संयोजकत्वमा कार्यदल गठन

    काठमाडौं । संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त कार्यदल गठन गरेको हो ।

    समितिमा पूर्वव्यवस्थापिका सांसद मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा. अमर गिरी, मन्त्रालयका संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा. प्रेम खत्री, संस्कृतिविद् डा. डिल्ली ओली, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, प्रा.डा. विपण पौड्याल, देवशरण यादव, संस्कृति अध्येता भोगीराज चाम्लिङ, चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा मन्त्रालयको संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाईं रहेका छन् ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भए पनि विगतमा संस्कृतिबारे उल्लेख्य काम नभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको धारणा छ । नेपाली समाज र संस्कृतिमाथि प्राज्ञिक अध्ययन गरेरमात्र समाज राष्ट्रलाई समृद्ध बनाउन सकिने भएकोले आगामी दिनमा संस्कृतिमाथि बृहत अध्ययन गरिनुपर्ने उनले बताए ।

    नेपालको पर्यटन नीति, हवाई उड्डयन नीति र संस्कृति नीति पुरानै भएकाले यसबाट ठोस परिणाम निकाल्न नसकिने भएकोले पनि मन्त्रलयअन्तर्गतका तीनै क्षेत्रको नीति निर्माण गरिने मन्त्री किराँतीले बताए ।

  • नेपाल-भारतको म्याच हेर्न श्रीलंका पुगिन् वर्षा

    नेपाल-भारतको म्याच हेर्न श्रीलंका पुगिन् वर्षा

    काठमाडौं । श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशालामा हुन गईरहेको एसिया कपमा नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी कोलम्बो पुगेकी छन् ।

    सिवाकोटीले कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा दिदैँ उनले तस्विर सेयर गरेकी हुन्।

    नेपाली टोलीलाई हौसला दिन सिवाकोटीमात्र नभई रास्वपा अध्यक्ष रवि लामिछानेदेखि काठमाडौं महानगरका मेयर बालेन साह पनि यतिबेला कोलम्बोमै छन् ।

    नेपाली समयानुसार आज दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल भारतसँग आमनेसामने हुँदैछ। एसियाको समूह एमा नेपाल भारत र पाकिस्तानसँग एउटै समूहमा छ ।

  • रामबाबु गुरुङको ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित

    रामबाबु गुरुङको ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित

    काठमाडौं । अभिनेत्री आँचल शर्मा पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित भइरहेकी छन् । गत साउनमा मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पञ्चामृत’मा अनुबन्धित भएकी उनी केही हप्ता अगाडि सविन तोलाङ्गीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ह्वाइट हाउस’ साइन गरेकी थिइन् ।

    यसैबीच अभिनेत्री आँचल शर्मा आज आइतबार रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला स् एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यो सिनेमा आगामी नयाँ बर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

    बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको निर्माण पक्षले आँचल बाहेक अन्य कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए । ‘डिग्री माइला’ दर्शकले रुचाएको नाटक हो । नाटककै पात्र दयाहाङ नै सिनेमा हुन्छन् अथवा अरु ? निर्माण पक्षले खुलाएको छैन ।

    असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा सिनेमाको छायांकन हुनेछ । सिनेमाको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । रामबाबु गुरुङ बक्स अफिसमा हिट सिरिज ‘कबड्डी’ सिनेमाका निर्देशक हुन् ।

    कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो । गतवर्ष रामबाबु निर्देशित सिनेमा ‘कबड्डी ४’ र ‘फुलबारी’ प्रदर्शनमा आएका थिए । भने, उनले निर्माण गरेको सिनेमा ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो । यी सवै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए ।

  • युट्यूब ट्रेन्डिङमा ‘एक भगवत् गीता’काे ट्रेलर, झरनाको निर्देशन र विपिनको कमलामाई चरित्रको चर्चा

    युट्यूब ट्रेन्डिङमा ‘एक भगवत् गीता’काे ट्रेलर, झरनाको निर्देशन र विपिनको कमलामाई चरित्रको चर्चा

    काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर गत शुक्रबार एक कार्यक्रमका बीच राजधानीमा सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक ट्रेलरले सामाजिक सञ्जाल युट्यूबमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

    झरना थापा निर्देशित सिनेमाको ट्रेलर अहिले युट्युव ट्रेन्डिङको १८ औं नम्बरमा छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउनका साथ अहिलेसम्म ४ लाख २८ हजार बढि भ्युज तथा १ हजार २ सय बढि कमेन्ट र २३ हजार बढि लाईक पाएको छ । सिनेमाको एक हजार बढि कमेन्टमा अधिकांश दर्शकले अभिनेता विपिन कार्कीको पारालैंगिक चरित्र ‘कमलामाई’ले मन जितेको उल्लेख गरेका छन् ।

    सिनेमाको कमेन्ट बक्समा सन्तुराम श्रेष्ठले लेखेका छन्, ‘विपिन कार्कीले नेपाली सिनेमा उद्योगको मुहार परिवर्तन गरेका हुन् र सुहाना थापाले यो सिनेमाबाट धेरै कुरा सिक्न सक्छिन् । म उहाँहरुलाई सिनेमा उद्योगको शिर्ष स्थानमा देख्न चाहान्छु । सिनेमालाई सफलताको शुभकामना ।’

    नामिन नाम गरेका अर्का दर्शकले सिनेमाको ट्रेलरमा कमेन्ट लेखेका छन्, ‘निर्देशक झरना थापाले आफ्नो जेनेरेसनमा आफुलाई उत्कृष्ट अभिनेत्रीको रुपमा प्रमाणित गरिसकेकी छन् । अब उनले निर्देशकको रुपमा पनि आफुलाई त्यही बाटोमा हिँडाएकी छन् । एक भगवत गीतको लागि शुभकामना । विपिनको कमलामाई अवतार सिनेमाको अनमोल रत्न हुन् ।’

    यस्तै, जेनी गुरुङ नमाक अर्की एक दर्शकले कमेन्टमा देखेकी छन्, ‘पहिलो पटक आफुलाई नेपाली सिनेमाको हेर्दा गर्व महसुस गरेकी छु । आशा छ सिनेमा पनि ट्रेलर जस्तै उत्कृष्ट बनेको हेर्न पाइयोस् । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।’ सिनेमाको ट्रेलरको कमेन्ट बक्समा अन्य कलाकार सुहाना थापा, धिरज मगर र कविर खड्काको पनि तारिफ दर्शक तथा फ्यानले गरेका छन् ।

    जनकपुरको सेटिङमा खिचिएको अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

    सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

     

  • ‘ऐंचो पैंचो’लाई दर्शकको साथ, ‘वर्ड अफ माउथ’ सकारात्मक

    ‘ऐंचो पैंचो’लाई दर्शकको साथ, ‘वर्ड अफ माउथ’ सकारात्मक

    काठमाडौं । गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले हिजो शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । सिनेमाले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको हो । निर्देशक चौलागाईले शनिबारका बिहानी शोमा ८० प्रतिशतदेखि शतप्रतिशतसम्म अकुपेन्सी रहेको बताइन् ।

    शनिबार निर्देशक चौलागाई अभिनेत्री स्वस्तिमा खड्का, बर्षा राउत, अभिनेता सुशिल सिटौला र राजाराम पौडेललाई लिएर सिभिल, छायां सेन्टर तथा बिग मुभिज लगायतका हलमा दर्शक प्रतिक्रिया लिएकी थिइन् । जहाँ दर्शक भरिभराउ थिए । सिनेमा हेरेका दर्शकले सिनेमा निकै राम्रो बनेको भन्दै दोस्रो पार्ट निर्माणको माग समेत गरिरहेका छन् ।

    विशेषगरि दर्शकले अभिनेत्री बर्षा राउत, अभिनेता सुशिल सिटौला र राजाराम पौडेलको भुमिकालाई रुचाएका छन् । अभिनेत्री राउतलाई दर्शकले आगामी दिनमा पनि यस्तै मनछुने भुमिकामा देख्न चाहेको बताउने गरेका छन्, भने सुशिलको सिताराम अर्था सिते क्यारेक्टरलाई आफैमा अनुभुत गरिरहेको बताएका छन् । यस्तै अभिनेता राजराम पौडेललाई दर्शकले हल पुग्दा राष्ट्रिय भिनाजुकै रुपमा सम्बोधन गरिरहेका छन् ।

    डेव्यु निर्देशक चौलागाईले सिनेमा रिलिजको पहिलो दिनको बिहानी शो बाहेका सवै शोमा राम्रो दर्शक मिलेको बताउँछिन् । ‘हाम्रो सिनेमाले आक्रामक व्यापा गर्यो त भन्दिन तर जति दर्शकले हेर्नु भएको छ, सवै दर्शकले राम्रो प्रतिक्रिया दिनु भएको छ ।’ त्यसैले गर्दा सिनेमाले विक डेजमा पनि राम्रो व्यापार गर्ने अपेक्षा उनलाई छ ।

    सिनेमा हेरेका दर्शकबाट मिलेको सकारात्मक वर्ड अफ माउथले आगामी दिनमा अझै राम्रो व्यापार गर्दै जाने विश्वास उनमा छ । तर, अर्को बिहीबार नै रिलिज हुन लागेको बलिउड सिनेमा जवानको चपेटामा परिने होकी भन्ने पिरले समेत सताउन थालेको हलमा दर्शक प्रतिक्रिया लिएपछि मिडियासँग गरेको कुराकानीमा उनले बताएकी छन् ।

    उनले जारीपछि केही मात्रामा हलमा दर्शक फर्किएकाले पनि हल सञ्चालकलाई नेपाली सिनेमालाई माया गरिदिन आग्रह गरेकी छन् । ‘हुनत हामी सवैले आफ्नो आफ्नो हिसावले व्यापार गरिरहेका छौं । तर, केही बढि नाफा मिल्ने देख्ने वित्तिकै नेपाली उत्पादनलाई पाखा र विदेशी उत्पादनलाई काखी नच्यापी समान व्यावहार गरियोस् भन्ने आफ्नो चाहाना छ’ उनले भनिन् ।

    ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

  • नायिका नीता ढुङ्गानालाई पितृ शोक

    नायिका नीता ढुङ्गानालाई पितृ शोक

    काठमाडौँ । नायिका नीता ढुङ्गानालाई पितृ शोक परेको छ। ढुङ्गानाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत आफूलाई पितृ शोक परेको जानकारी दिएकी हुन।
    उनले आफूलाई पितृ शोक परेको बताउँदै बुवालाई श्रद्धाञ्जली दिएकी छन्। उनले लेखेकी छन्,’ श्रद्धाञ्जली मेरो भगवान्। मेरो बुवाको वैकुण्ठ मा बास होस। धेरै सम्झना छ मेरो मुटु।’
  • निरुताको जीवनमा ‘सपना भई’ आउने को हुन् ?

    निरुताको जीवनमा ‘सपना भई’ आउने को हुन् ?

    काठमाडौं । पचासको दशकमा नेपाली चलचित्र उद्योगकी हिट नायिका निरुता सिंहले गत बिहीबार आफ्नो विवाह भएको सार्वजनिक गरेकी छन् ।

    भारतको मुम्बई निवासी संजीभ गुलाटीसँग लगन गाँठो जोडेको भन्दै उनले इन्सटाग्राममार्फत सार्वजनिक गरेकी हुन् । तुलसी घिमिरे निर्देशित चलचित्र दक्षिणाबाट चर्चामा आएकी निरुताले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेपनि पछिल्लो समय सक्रिय छैनन् ।

    उनले ५० को उमेर कटेपछि विवाह गरेर कहिले बिहे गर्ने भन्ने वर्षौँदेखिका प्रश्नहरूको जवाफ दिएको बताएकी छन् । निरुताले अभिनय गरेको पहिलो सफल चलचित्र दक्षिणमा नायक भुवन केसीसँग ‘सपना भई आँखामा आउने को होला ?’ बोलेको गीतमा उनको नृत्य कालजयी मानिन्छ ।

    उनले पति गुलाटीको बारेमा अरू बताएकी छैनन् । उनी मुम्बइमा सामान्य व्यवसाय गरेर बसेका व्यक्ति भएको बताइएको छ ।

  • ‘ऐंचो पैंचो’ टीम हल पुग्दा सुशिल र राजरामसँग छमछमी नाचे दर्शक

    ‘ऐंचो पैंचो’ टीम हल पुग्दा सुशिल र राजरामसँग छमछमी नाचे दर्शक

    काठमाडौं । कृषा चौलागाईंको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ जनैपूर्णिमाको अवसर पारेर हिजो बिहीबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले बिहीबार र शुक्रबार देशैभरका हलमा दर्शकको सुखद् साथ पाइरहेको छ ।

    शुक्रबार सिनेमाका मुख्य कलाकार सहित दर्शक प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेको निर्माण टिम शुक्रबार पनि विश्वज्योति लगायतका केही हलमा पुगेको थियो ।

    निर्देशक चौलागाई अभिनेता सुशिल सिटौला र राजाराम पौडेल लिएर विश्वज्योति हलमा पुग्दा दर्शक भरिभराउ थिए । कलाकार पुग्दा दर्शकले हुटिङ र तालिसहित स्वागत गरेका हुन् ।

    केही दर्शकले अभिनेत सुशिल सिटौलालाई काँधमा बोक्नुका साथै ‘काले केटा’ले बोलको गीतमा छमछमी नाचे । निर्देशक चौलागाईले दर्शकको यस्तो प्रतिक्रियाले आफू र आफ्नो टिमलाई निकै उत्साह मिलेको बताइन् । हिजो र आज दर्शकको राम्रो साथ पाएका छौं । भोली शनिबार बिदाको दिन भएकाले पनि दर्शकको सङ्ख्य अझै बढ्ने विश्वास व्यक्त गरिन् ।

    शुक्रबारका बिहानी शोमा ४० प्रतिशत आसपासमा अकुपेन्सी देखिएपनि दिउँसो र रात्री शोमा ८० देखि शतप्रतिशत अकुपेन्सी मिलेको वितरक रोहित कट्टेलले बताए ।

    सिनेमाले बिहीबार र शुक्रबार राम्रो व्यापार गरेकाले शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको भन्दै दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेकाले अझै राम्रो व्यापार गर्ने अपेक्षा वितरक कट्टेलको छ । उनले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि सिनेमाले राम्रो व्यापार गरिरहेको जानकारी दिएका छन् ।

    ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

     

  • अष्ट्रेलियामा पनि गौराको रौनक : देउडाको जादु चलाउँदै अनिता चलाउने र रवि ओड (तस्बिरहरु)

    अष्ट्रेलियामा पनि गौराको रौनक : देउडाको जादु चलाउँदै अनिता चलाउने र रवि ओड (तस्बिरहरु)

    काठमाडौं । नेपालको सुदूरपश्चिम भेगमा मनाइने गौरा पर्वको रौनक अष्ट्रेलियासम्म पुगेको छ । एक हुल कलाकारहरु अष्ट्रेलियाका विभिन्न शहरमा देउडा गुञ्जाइरहेका छन् ।

    सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अष्ट्रेलियामा पुगेका नेपालीहरुले स्थापना गरेको सुदूरपश्चिम समाजले हरेक वर्षजस्तै यस वर्ष पनि गौरा पर्वका अवसरमा सांस्कृतिक कार्यक्रमहरु गरिरहेको छ । सो कार्यक्रममा भाग लिन अहिले सुदुरपश्चिमेली गायक गायिका रवि ओड, अनिता चलाउने, भोजराज भट्ट, केशव अराजक, श्रृंखला जोशी लगायतका कलाकारहरु पुगेका छन् ।

    कलाकारहरुको भ्रमण २१ दिन लामो छ । उनीहरुले चारवटा कार्यक्रममा प्रस्तुति दिँदैछन्, जसमा ३ वटा कार्यम मेलवर्न शहरमा आयोजना भइसकेको गायिका अनिता चलाउनेले जानकारी दिइन् । भोलि अर्को कार्यक्रम सिड्नीमा हुँदैछ ।

    अनिता र रविको स्वरमा सजिएको ‘कर्णाली पारीको’ बोलको देउडा गीत हालै मात्र सार्वजनिक भएको थियो । युट्यूबमा दर्शकहरुले रुचाइरहेको उक्त देउडा गीत अष्ट्रेलियामा पनि उनीहरुले गुञ्जाइरहेका छन् । यसैगरि, आफ्ना हिट नम्बरहरु पनि पस्केका छन् ।

    पहिलोपटक अष्ट्रेलिया भ्रमण आउँदा निकै रमाइलो अनुभव भएको अनिताले बताइन् ।

    सुदरपश्चिम समाज २००९ सालमा स्थापना भएको हो । समाजका अध्यक्ष लक्ष्मी जोशीका अनुसार हरेक वर्ष गौरा पर्वमा नेपालबाट कलाकारहरु निम्त्याएर सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । यसपालीको कार्यक्रममा हुड्केली डान्सको विशेष प्रस्तुति रहेको पनि उनले बताए ।

    आफूहरुले सुदूरपश्चिमबाट आएका नेपालीहरुबीच आपसी सम्पर्क र भाइचारा उद्देश्यले संस्थाको स्थापना गरेको जोशीको भनाइ छ । अहिले यो संस्थाले अष्ट्रेलियामा आफ्नो मौलिकता र संस्कृतिको जगेर्ना गर्न पनि भूमिका खेलेको उनले बताए ।

    ‘हामीले यहाँ गरेका कार्यक्रममा उठेको रकमले सुदूरपश्चिमवासीलाई विभिन्न सहायता गरिरहेका छौं । कोभिडको टाइमदेखि विभिन्न बाढी पहिरोबाट पिडित भएकाहरुलाई सक्ने सहयोग गरेका छौं’, उनले भने ।

    यसपालि संकलन हुने पैसाले सुदूरपश्चिमका तीनवटा विद्यालयमा अक्षयकोष खडा गर्ने उद्देश्य रहेको उनले सुनाए ।

  • विश्वकै पहिलो एग्रिकल्चर गेम रियालीटी शो ‘र’ को घोषणा, मास्टर होस्ट राजेश हमाल

    विश्वकै पहिलो एग्रिकल्चर गेम रियालीटी शो ‘र’ को घोषणा, मास्टर होस्ट राजेश हमाल

    काठमाडाैं । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाएको कार्यक्रम ‘र’को घोषणा गरिएको छ ।

    इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शोमा एग्रिकल्चर(कृषि) र इन्टरटेनमेण्ट दुई विधाको संयोजनबाट ‘एग्रिटेनमेण्ट’को परिकल्पना गरिएको छ ।

    घोषित शोमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रुपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बि.एस.सी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ ।

    कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रुपमा डा. योगेन्द्र कुमार कार्की र डा.नम्रता पाण्डेलाई परिचित गराइएको छ ।

    कार्यक्रममा बोल्दै मास्टर होस्ट राजेश हमालले नेपालको विकास गर्नुछ भने व्यवसायिक कृषिसँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए ।

    ‘तीन दशक लामो अभिनय यात्रामा कयौंपटक किसानको भुमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छ’, उनले सुनाए, ‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिमा गफ गरेको सुनिएको थियो अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ । युवाहरुको यो सोचलाई मास्टर होस्टको रुपमा आफुले नेतृत्व गर्न पाउँदा अद्भुत अनुभूति भएको छ ।’

    कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, किसान समुहका प्रतिनिधि, प्राध्यापक, व्यापारिक संघसंस्था, पत्रकार, विद्यार्थी लगायतको उपश्थिति थियो। कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले कृषि र प्राथमिक उत्पादनको क्षेत्रमा बढेको निराशामा यस रियालिटि शोले कमी ल्याउने विश्वास व्यक्त गरे ।

    शोका निर्देशक शैलेश कँडेल क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरु बीचको प्रतिस्पर्धा नभएको बताए । किसान प्रतिस्पर्धीले किसानसँगै प्रतिस्पर्धा गरेर उत्कृष्ट एक जना विजेता बन्ने र प्राविधिक प्रतिस्पर्धीले प्राविधिकसँगै प्रतिस्पर्धा गरेर उत्कृष्ट एक विजेता बन्ने कार्यकारी निर्माता विजय बस्यालले बताए ।

    कृषिका विविध आयामहरु जस्तै कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मुल्य श्रृंखला, आदि विषयमा रहेर प्रतिस्पर्धा हुने यो शोको लक्ष्य सकारात्मक मानसिकता विकास गरी सुखी र समृद्ध राष्ट्र बनाउने रहेको बताइएको छ । यसका साथै गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

     

  • ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाई अवतारमा सशक्त विपिन

    ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाई अवतारमा सशक्त विपिन

    काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ ।

    अल्पसंख्यक लैंगिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपिनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोजेका छन् । समग्रमा बदलाको कथामा आधारित सिनेमा जस्तो ट्रेलरबाट बुझ्न सकिन्छ ।

    पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको देख्न सकिन्छ । सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत सिनेमाको सार्वजनिक ट्रेलरमा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ ।

    जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

    सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

  • लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंलाई घाँटीको क्यान्सर, अमेरिकामा उपचार हुँदै

    लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंलाई घाँटीको क्यान्सर, अमेरिकामा उपचार हुँदै

    काठमाडौं । छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगबाट पीडित भएकी छन् । उनलाई घाँटीको क्यान्सर भएको छ ।

    परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आइरहेकी गुरागाईं अहिले त्यहाँको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन् । हिजोमात्रै उनको थाइराइडको शल्यक्रिया भएको छ । निकटस्थ स्रोतका अनुसार उनी शल्यक्रियापछि ‘रिकभरि’ को चरणमा छिन् ।

    स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्ने पनि पारिवारिक स्रोतले बताएको छ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

    सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ विगत एक वर्षदेखि हाडजोर्नीसम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’

    गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् । नेपालमा इलाम घर भएका उनीहरू १५ महिनादेखि अमेरिकामा बस्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूवमा हाल्ने गरेकी थिइन् ।

    आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूवमा धारावाहिक प्रशारण गरेपश्चात उनीलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।

  • प्रदर्शनको दोस्रो सातामा ‘जय हो’

    प्रदर्शनको दोस्रो सातामा ‘जय हो’

    काठमाडौं । अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।

    पहिलो हप्ताका फिल्मले केही हलमा हाउसफुल व्यापार समेत गरेको थियो । दोस्रो सतामा यो फिल्म देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आईएनआई, बिएसआर, एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शन भैरहेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए । समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको उनको भनाइ छ ।

    फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सुरज ल्वागन सरकार र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

  • जनैपूर्णिमाबाट प्रदर्शन भएको सिनेमा ‘ऐंचो पैंचो’को सुखद् सुरुवात

    जनैपूर्णिमाबाट प्रदर्शन भएको सिनेमा ‘ऐंचो पैंचो’को सुखद् सुरुवात

    काठमाडौं । जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ । निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी मिलेको छ ।

    निर्देशक कृषा चौलागाईले जनैपूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिएपनि दिउँसोबाट पिकअप लिएको बताइन् । अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउतले पनि दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले आफुहरु दर्शक प्रतिक्रिया लिन हल पुगेका थिए । हल सञ्चालकहरुले हाम्रो हलमा दिउँसोका शोहरु हाउसफुल छन् आउनु होला भनेकाले आफुहरु उत्साहीत भएर दर्शक प्रतिक्रिया लिन पुगेको बताए ।

    निर्देशक चौलागाईले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन् । हामीलाई सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । भोलि शुक्रबार र पर्सी शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास व्यक्त गरिन् । बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र बर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । आज सिनेमाको निर्माण टिम र कलाकार पुगेका सवै हलमा शो हाउसफुल थिए ।

    यता सिनेमाका वितरक रोहीत कट्टेल र रत्न श्रेष्ठ पनि सिनेमाले राम्रो ओपनिङ गरेपछि खुशी देखिएका छन् । वितरक कट्टेलले भने सिनेमाले बिहीबार राम्रो ब्यापार गरेकाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको बताए । अब विकेण्डमा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेको खण्डमा राम्रो ब्यापार गर्ने अपेक्षा वितरकद्धय कट्टेल र श्रेष्ठको छ । उनीहरुले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि सिनेमाले राम्रो सुरुवात गरेको जानकारी दिएका छन् ।

    ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

     

  • कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव छ : राजेश हमाल

    कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव छ : राजेश हमाल

    काठमाडौं । महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् ।

    बिहीबार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए ।

    नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए । नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको बताए ।

    ‘किसान र कृषि प्राविधिकले भाग लिन पाउने, किसानले किसानसँगै र प्राविधिक प्रतिष्पर्धीले प्राविधिक प्रतिष्पर्धीहरुसँगै प्रतिष्पर्धा गर्नेछन् । युवा पुस्ताले कृषि क्षेत्रमा देखाएको चासोले राम्रो लागेको छ । नेपालमा नेपाललाई विकास गर्नु छ, सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्ने हो । त्यसैबाट हामीले देशलाई विकासतिर लैजान सक्छौँ’, उनले भने, ‘किनभने हाम्रो क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र हो । अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न सक्दैन । नेपालले आफ्नो स्थान विश्वमा बनाउनु छ, समृद्ध बनाउनु छ भने एग्रिकल्चर नै एउटा माध्यम हो । सयौँ वर्षसम्म एउटै जनजीवन थियो तर यो ३० वर्षमा धेरै परिवर्तन भयो, आधुनिकताको नाममा राम्रा कुराहरु बिर्सिएका छौँ । जगैदेखि उखालेर फालेका छौँ ।’

    कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नेछन् ।

    दुवैतर्फ एक÷एक विजेता चयन हुनेछन् । विजेताले १० लाख भन्दा बढी नगद पाउनुहुनेछ । त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रसारण हुने भन्ने टुंगो लागि नसकेको भएपनि माघबाट प्रतिष्पर्धा शुरु हुने आयोजकले जनाएको छ ।

  • फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

    फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

    काठमाडौं । चलचित्र विकास बोर्डले दुई दिनअघि आयोजना गरेको राष्ट्रिय चलचित्र अवार्ड कार्यक्रममा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कार नै घोषणा भएन । चलचित्र पत्रकार तथा बोर्डले बनाएको जुरीका सदस्य अनुप भट्टराईले ‘विवाहमा बेहुली नै छुटेको’ टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् ।

    कुनै पनि फिल्मी अवार्ड वितरण गर्दा त्यसको मुख्य विधा भनेकै ‘सर्वोत्कृष्ट चलचित्र’ हुन्छ । अरु छुटे पनि ‘सर्वोत्कृष्ट चलचित्र’ छुट्दैन । तर, बोर्डले भने मुख्य विधामै टिपेक्स लगाएर अवार्ड बाँडेपछि चलचित्र जगतमा हल्लीखल्ली भइरहेको छ । धेरैले एउटा चलचित्रमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको र विकास बोर्डमा हस्तक्षेप गरेको भन्दै टिप्पणी गरेका छन् । जुरीका संयोजक राजेन्द्र सलभले शीतलनिवासमा आयोजित अवार्ड समारोह नै बहिष्कार गरे ।

    विकास बोर्डले राष्ट्रिय चलचित्र अवार्डका लागि पुराना निर्देशक सलभको संयोजकत्वमा निर्णायकमण्डल (जुरी) बनाएको थियो । जुरीमा पत्रकार अनुप भट्टराईसहित थियटर कलाकार सरिता गिरी, संगीतकार चेतन सापकोटा र लेखक शिवम अधिकारी सदस्य थिए । उक्त जुरीले गत वर्षको बहुचर्चित र बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कृत गर्न सिफारिस गरेको हो ।

    कार्यविधिअनुसार जुरीले गरेको सिफारिसलाई केरमेट गर्न सक्ने अधिकार बोर्डलाई हुँदैन । तर, ‘प्रकाश’ लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड नदिन बोर्डभित्रै अध्यक्ष भुवन केसीलाई दबाब परेको बुझिएको छ । विकास बोर्डमा माओवादीको वर्चश्व छ । बोर्डका सदस्य रविचन्द्र अधिकारी, राजु केसी र केएल बुढाथोकी माओवादी निकट हुन् । रविचन्द्र प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालसँग विशेष निकट छन् । उनी चितवनका पत्रकार हुन् ।

    बोर्ड सदस्यहरुले ‘प्रकाश’ फिल्मले माओवादी जनयुद्धको बदनाम गर्न खोजेको भन्दै यसलाई अवार्ड नदिन भुवन केसीलाई आग्रह गरेका थिए । यतिमात्र नभएर ‘माथिबाट’ पनि केसीलाई दबाब आएको बुझिएको छ । बोर्ड अध्यक्ष केसी जुरीबाट सिफारिस भएको चलचित्रलाई नै दिनुपर्ने पक्षमा भए पनि दह्रो खुट्टा टेक्न भने सकेनन् । सञ्चार मन्त्रालयले पनि बोर्डको कार्य क्षेत्रमा हस्तक्षेप गर्‍यो ।

    स्रोतका अनुसार अवार्डका विषयमा निर्णय लिन मन्त्रालयभित्र सो चलचित्र मगाएर हेरिएको थियो । सञ्चार सचिव आफैं बसेर पूरा चलचित्र हेरेको स्रोतले बतायो । चलचित्र हेरिसकेर ‘माथि’ ब्रिफिङ गरिसकेपछि ‘प्रकाश’ लाई कुनै हालतमा अवार्ड नदिन बोर्डलाई फर्मान जारी गरिएको स्रोतको भनाइ छ ।

    यसैबीच चलचित्र प्रकाशका अभिनेता प्रदीप खड्कासहितको एउटा टोलीले सञ्चारमन्त्री रेखा शर्मासँग भेटेरै गुनासो राखेको छ । भेटमा मन्त्री शर्माले अवार्ड वितरणमा मन्त्रालयले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण दिएकी थिइन् ।

    उक्त भेटमा मन्त्रीको प्रष्टीकरणसँग खड्का पनि कन्भिन्स्ड देखिएका छन् । भेटघाटको तस्वीर शेयर गर्दै उनले मन्त्रालयभन्दा पनि ‘व्यक्ति विशेष’ चलचित्रसँग डराएको दाबी गरेका छन् ।

    ‘प्रकाशसँग सरकार डराएको देखिएन, बरु प्रक्रियागत हिसाबले अगाडि बढेको पाइयो । प्रक्रिया बुझ्दा बरु व्यक्ति विशेष चाहिँ हामीसँग डराएको बुझियो’, उनले लेखेका छन् ।

    खड्काका अनुसार मन्त्री शर्माले चलचित्र प्रकाश सेन्सर पास भएर प्रदर्शनमा आएकाले चलचित्रप्रति कुनै पूर्वाग्रह नरहेको प्रस्ट पारेकी थिइन् । जुरीको निर्णयअनुसार सोही चलचित्रबाट निर्देशक र नायिकाले अवार्ड पाउनुले पनि आफूहरु मन्त्रीको भनाइमा आश्वस्त भएको खड्काले बताएका छन् ।

    ‘समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसइवी साँध्न सम्मानित मन्त्रालय साथै पूरा सरकारको नाम प्रयोग भएको बुझियो’, उनले लेखेका छन् ।

    सीधै नभने पनि खड्काको निशाना बोर्ड अध्यक्ष भुवन केसीप्रति लक्षित छ । ‘प्रेमगीत ३’ को सेन्सरलाई लिएर उत्पन्न विवादपछि केसी र खड्काको सम्बन्ध बिग्रिएको थियो ।

    खड्काले परिआए देशको न्यायालयको ढोका ढक्ढकाउनेसमेत उल्लेख गरेका छन् । स्मरणीय यो छ कि, चलचित्र ‘प्रकाश’ मा खड्का निर्माता नभएर कलाकारमात्र हुन् । ‘सर्वोत्कृष्ट चलचित्रको अवार्ड’ निर्माता वा निर्देशकको सरोकारको विषय हो । तर, उनीहरुभन्दा खड्का अघि सरेका छन् ।

    ‘प्रकाश’का कथाकार विकास सुवेदी तालुकदार निकायका हिसाबले विकास बोर्ड जिम्मेवार हुनुपर्ने बताउँछन् ।

    ‘हामीले सोध्ने भनेको विकास बोर्डलाई हो । उसले माथिको दबाबमा गर्‍यो वा आफैंले गर्‍यो भन्ने हामीलाई थाहा हुने कुरा भएन । तर, जुरीले सिफारिस गरेको चलचित्रलाई किन पुरस्कार दिइएन भन्ने गम्भीर विषय हो’, उनले भने ।

    प्रकाशको अवार्ड खोसिएको विषय संसदमा समेत उठ्ने भएको छ । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस विषयलाई लिएर सरकारमाथि कडा प्रश्न उठाउने तयारी गरेका हुन् ।

    चलचित्र विकास बोर्डले भने सर्वोत्कृष्ट चलचित्रलाई अवार्ड नदिइएको विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । बोर्ड अध्यक्ष भुवन केसीलाई नेपाल प्रेसले फोन गर्दा उनले यो विषयमा प्रवक्ताले जवाफ दिने बताए ।

    बोर्ड प्रवक्ता केएल पण्डितले भने बोल्न चाहेनन् । ‘एक छिनमा आफैं कलब्याक गर्छु है’ भन्दै टक्टकिए । तर, न उनले फोन गरे न त हामीले गर्दा उठाए ।

    के छ प्रकाशमा ?

    दिनेश राउतले निर्देशन गरेको प्रकाशमा कर्णालीको अभावग्रस्त जनजीवन र राजनीतिक बेथितिलाई कलात्मक तवरबाट चित्रण गरिएको छ । माओवादी जनयुद्धले दिएका घाउचोटहरु यसमा छन् भने सरकारी सेवामा जातीय आरक्षणको व्यवस्थामाथि प्रश्न उठाइएको छ । चलचित्र रिलिज हुँदा पनि माओवादी वृत्तबाट असन्तुष्टिका स्वरहरु सुनिएका थिए ।

    याे पनि पढ्नुस् : ‘प्रकाश’ भित्रको अन्धकार

  • रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेता मुकुन अनुबन्धित

    रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेता मुकुन अनुबन्धित

    काठमाडौं। जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हन लागेको अनटाइटल चलचित्रको औपचारिक घोषणा गरिएको छ।

    पारिवारिक कथामा बन्ने चलचित्रमा मुख्य अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। चलचित्रमा डेब्यु अभिनेता मिलन मिश्र पनि अनुबन्ध भएका छन्।

    दुई अभिनेत्रीको खोजी कार्य भईरहेको निर्माण पक्षले जनाएको छ। रघुनाथ सापकोटाको कथा र सुनिल निउरेको पटकथा संवाद रहने चलचित्रको निर्देशन नबिन भट्टले गर्ने भएका छन्।

    ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन गर्ने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ। रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने चलचित्र असोज पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ।

  • ‘पशुपति प्रसाद २: भष्मे डन’को पहिलो गीत ‘दुई चुल्ठी बाटन’ रिलिज

    ‘पशुपति प्रसाद २: भष्मे डन’को पहिलो गीत ‘दुई चुल्ठी बाटन’ रिलिज

    काठमाडौं । आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २: भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश गीत ‘दुई चुल्ठी बाटन’ इन्टरनेटमा रिलिज गरिएको हो ।

    सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । आँचल र निश्चललाई सिनेमाको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ ।

    निरज कँडेलले खिचेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ स् भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

    टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

    व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।