Category: कलाप्रेस

  • भेनिसमा ‘द रेड सुटकेस’लाई तीन मिनेटको ‘स्टयान्डिङ ओभेसन’

    भेनिसमा ‘द रेड सुटकेस’लाई तीन मिनेटको ‘स्टयान्डिङ ओभेसन’

    काठमाडौं । फिडेल देवकोटाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर भएको छ । भेनिस इन्टरनेसनल सिनेमा महोत्सवको दोस्रो ठूलो विधा होरोजान्टेमा प्रतिस्पर्धामा रहेको सिनेमा १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो ।

    प्रिमियरमा सहभागी हुन नेपालबाट निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल केही दिनअघि भेनिस पुगेका थिए भने छायांकार सुशन प्रजापति र कलाकार सौगात मल्ल र विपिन कार्की बिहीबार साँझ भेनिस आइपुगेका हुन् । लन्डनमा रहेकी सृष्टि श्रेष्ठ पनि बिहीबार साँझ मात्र भेनिस पुगेकी थिइन् ।

    सिनेमाका प्रिमियरअघि निर्देशक, निर्माता र कलाकार फोटोकलमा सहभागी भएका थिए भने फोटोकलपछि निर्देशक फिडेल देवकोटा र सृष्टि श्रेष्ठले भेनिसको अफिसियल च्यानलहरु टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएका थिए । यसपछि भने उनीहरु भेनिसको रेडकार्पेड हिँडेका थिए । भेनिसको समय अनुसार २ बजे सिनेमाको स्क्रिनिङ सुरु भएको थियो ।

    एक घण्टा ५० मिनेट लामो सिनेमाको प्रदर्शनपछि हलमा उपस्थित दर्शकले सिनेमालाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए । मन पराएको सिनेमालाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा महोत्सवमा रहेको छ । भेनिसमै यो बर्ष पुअर थिंक्सका लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।

    सिनेमाको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक रहेको थियो । सिनेमाको प्रदर्शनपछि दर्शकले कथासँग नेपाली समाजको साइनो र सिनेमा भित्र निर्देशक फिडेल देवकोटाले राखेका साँकेतिक दृश्यहरु बारे जिज्ञासा राखेका थिए । यो बाहेक दर्शकले छायांकनको छनौट तथा नेपाल र श्रीलंकाबीचको सहकार्यलाई अनौठो मानी जिज्ञासा राखेका थिए ।

    नेपालले धेरैजसो युरोपियन निर्मातासँग सहकार्य गरेर सिनेमा निर्माण गरेको छ । तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो । यो सिनेमाका सम्पादक पनि श्रीलंकन नै हुन् । सिनेमाले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गर्छ । तर ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद् अनुभव छैनन् ।

    सिनेमामा सौगात मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविन खतिवडा सिनेमाभित्र रोचक भूमिकामा छन् । शुक्रबार नै सिनेमाले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको थियो । स्वतन्त्र समीक्षकहरुको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू सिनेमा बनाउनेलाई दिइने परम्परा अनुसार फिडेल देवकोटालाई प्रदान गरिएको सर्टिफिकेटमा उल्लेख छ ।

  • मध्यरातमा झरना थापाको स्टाटस- ‘मर्नु न बाच्नुको पीडा भइरहेको छ’

    मध्यरातमा झरना थापाको स्टाटस- ‘मर्नु न बाच्नुको पीडा भइरहेको छ’

    काठमाडौं । चलचित्र एक भगवत गीता विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन ।

    मध्यरातमा सामाजिक सञ्जालमा उनले सारा स्रोत सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा यस्तो पीडा भइरहेको उल्लेख गरेकी हुन् ।

    केही धार्मिक सङ्घसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि अहिले बोर्डले यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तैयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’को सेन्सर सिफारिस रोकिरहेको छ ।

    विकास बोर्डले सेन्सर सिफारिस रोकिदिए पछि निर्देशक झरना थापाले मध्य रातमा उक्त स्टाटस लेखेकी हुन ।

    निर्देशक थापाले सत्य बोल्दा पनि कसैले नसुने पछि अब अन्तिम फैसला भगवानले गर्नु होला नि हैन ? भन्दै प्रश्न गरेकी छिन । थापा लेख्छिन्, ‘सत्य बोलिरहँदा पनि, सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिए पछि अन्तिममा फैसला त भगवान् ले गर्नु होला नि हैन ?’

  • जब बिपिनलाई झरना थापा र उनको आफ्नै साथीले चिनेनन्…

    जब बिपिनलाई झरना थापा र उनको आफ्नै साथीले चिनेनन्…

    काठमाडौं । अभिनेता विपिन कार्कीले महिला निर्देशक भएकै कारण ‘एक भागवत गीता’मा आफूलाई काम गर्न सहज भएको बताएका छन् । ‘सायद यो सिनेमामा पुरुष निर्देशक भएको भए मलाई अफ्ठ्यारो हुन्थ्यो होला’ विपिन भन्छन्, ‘सायद मेरो चरित्र पनि त्यस्तै भएर होला महिला निर्देशक भएका कारण मैले सहज महसुस गरेँ ।’

    ‘एक भागवत गीता’मा विपिन तेस्रोलिंगी महिला अर्थात् कमलामाईको भूमिकामा छन् । उनले यो चरित्र निभाएको पहिलोपटक हो ।

    ‘तेस्रोलिंगी महिलाको भूमिकामा भएकाले पनि होला मलाई उहाँले बेलाबेलामा यसरी गर्नुपर्छ भनेर भन्नु हुन्थ्यो । पुरुष भएर होला मेकअपको कुरामा हामी पुरुषलाई त्यति धेरै थाहा हुँदैन, यसमा पनि महिला निर्देशक हुँदा सहज भयो,’ उनी भन्छन्, ‘म त महिलाको चरित्रमा मात्रै हो त्यसैले महिलाको बडील्याङ्ग्वेज के हुन्छ त्यसमा मभन्दा धेरै उहाँलाई थाहा हुने नै भयो । त्यसैले उहाँ सम्झाइरहनु हुन्थ्यो ।’

    तेस्रोलिंगीको चरित्र थाहा पाउनका लागि आफूलाई प्रोडक्सनले छायांकन अवधिभर तेस्रोलिंगीहरूसँग संगत गर्ने वातावरण बनाइदिएको उनी बताउँछन् । प्रोडक्सनले यति नगरेको भए पनि चरित्रलाई न्याय गर्न केही कठिन हुनसक्ने उनी बताउँछन् ।

    आफूले ‘एक भागवत गीता’मा अरु कलाकारको भन्दा हरेक दिन दुई घण्टा बढी दिएको उनी स्मरण गर्छन् । ‘अरुको भन्दा मेरो दुई घण्टा अगाडि कलिङ टाइम हुन्थ्यो । हेबी मेकअप गर्नु पर्ने भएकाले म दुई घण्टा अगाडि नै सेटमा पुग्थेँ,’ उनी भन्छन्, ‘सुरुसुरुमा त निकै कठिन हुन्थ्यो । तर, पनि बानी परेँ ।’ उनले आफु कमलामाईको चरित्रमा हुदा निर्देशक झरना थापा र उनको आफ्नै साथीले चिन्न नसकेको बताए।

    तेस्रोलिंगी समुदायबारे यही सिनेमाका कारण आफूले धेरै बुझ्ने र संगत गर्ने अवसर पाएको पनि उनी बताउँछन् ।

    मिथिलाञ्चल कमलामाईको संस्कृति भएको भू–भाग भएकाले जनकपुरमा सिनेमा छायांकन गरिएको विपिनको भनाइ छ । यो सिनेमाले लुकेर र दबिएर बसेको समुदायलाई बिद्रोह गर्न सहज हुने उनको विश्वास छ ।

    यसैबीच उनले सिनेको कथाबस्तुमा विभिन्न हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले चासो देखाएकोप्रति भने असन्तुष्टि जनाएका छन् । कस्तो सिनेमा चल्न दिने र कस्तो सिनेमा चल्न नदिने भन्ने निर्णय गर्ने राज्यको आधिकारिक निकाय हुँदा हुँदै विभिन्न व्यक्ति र संस्थाले अनावश्यक चासो देखाउनु गलत भएको उनको बुझाइ छ । यसमा चलचित्र विकास बोर्डले स्ट्यान लिन नसक्नु दुर्भाग्य भएको उनले बताएका छन् ।

    सिनेमाको विषयबस्तुलाई लिएर हस्तक्षेप हुनु बिडम्बनापूर्ण भएको उनको धारणा छ । ‘सुरुमा राज्यको निकायले नै ठिक छ भनेर भन्ने तर पछि यही विषयमा एक पटक छलफल गर्नुपर्छ भन्नु नै गलत हो । हुँदैन भने सुरुमै भन्नु पथ्र्यो,’ उनी भन्छन् ।

    सिनेमा मेकरले हरेक व्यक्ति र संघसंस्थासँग अनुमति लिँदै हिँड्नु पर्ने अवस्था आउन बिडम्बनापूर्ण भएको उनको भनाइ छ ।

    पोस्टर, टिजर र ट्रेलरबाट आफूलाई प्राप्त फिडब्याकबाट आफू निकै उत्साही भएको उनी बताउँछन् ।

    अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिनसँगै सुहाना थापा, धिरज मगर, कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन रहेको छ । मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी छ । शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ ।

    ‘एक भागवत गीता’ भदौ २९ गते रिलिज हुँदै छ ।

     

  • सारुक ताम्राकारको न्यायको माग गर्दै समर्थकले निकाले शान्ति र्‍याली (तस्बिरहरू)

    सारुक ताम्राकारको न्यायको माग गर्दै समर्थकले निकाले शान्ति र्‍याली (तस्बिरहरू)

    काठमाडौं । कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण र्‍याली निकालेका छन् ।

    उनीहरु ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाइने बताइएको छ ।

    ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।

  • अनमोल केसी र जसिता गुरुङ अभिनित फिल्म ‘फर्कि फर्कि’को फस्टलुक भिडिओ सार्वजनिक

    अनमोल केसी र जसिता गुरुङ अभिनित फिल्म ‘फर्कि फर्कि’को फस्टलुक भिडिओ सार्वजनिक

    काठमाडौं । नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्कि फर्कि’को फस्टलुक भिडिओ सार्वजनिक गरिएको छ । फिल्मको छायांकन सुरु नहुँदै यसको निर्माण पक्षले टिजर सार्वजनिक गरेर फिल्म निर्माणको घोषणा गरेको हो ।

    फिल्मको फस्टलुक भिडियोमा नायक अनमोल केसीलाई फिचर गरिएको छ । आफैसँग अलमलमा परेका अनमोल केसीको सपना र विपनाको कथामा यो फिल्म बन्ने फस्टलुक भिडियोबाट थाहा हुन्छ ।

    सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा रोहित अधिकारी र ओम गुरुङको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ ।

    यो फिल्मको छायांकन तिहारको लक्ष्मीपूजाबाट सुरु गर्ने योजनामा निर्माता अधिकारी छन् । यो फिल्मको कथावस्तु निकै मन पराएपछि अनमोल काम गर्न तयार भएका थिए ।

    नायक अनमोल केसीले सामाजिक संजालमा फस्टलुक भिडियो शेयर गर्दै एउटा फरक कथामा रमाउन तयार रहन फ्यानहरुलाई आग्रह गरेका छन् । अनमोलले फिल्म ‘फर्कि फर्कि’ले फरक प्रेम कथा भन्ने उल्लेख गरेका छन् ।

    भिडिओ

  • हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

    हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

    काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस नपाएपछि बिहीबार विकास बोर्डको माहोल तनावपूर्ण बनेको थियो । सिनेमाका निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा ११ घण्टासम्म कुरेका थिए । केही धार्मिक संघसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि बोर्डले सेन्सर सिफारिस रोकेको हो ।

    निर्माता थापा र चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले पत्रकार सम्मेलन गरे । शीर्षक, कथासार, बजेट, ब्यानर, कलाकारदेखि निर्देशकसम्मको नाम उल्लेख नभएसम्म चलचित्र विकास बोर्डले सिनेमा निर्माण इजाजत दिँदैन । बोर्डबाट इजाजत लिएपछि मात्र सिनेमा निर्माण तथा प्रदर्शन हुन पाउँछ । तर, बोर्ड आफैले निर्माण इजाजत दिएको सिनेमालाई समेत सेन्सर सिफारिस रोकेर दुःख दिन थालेको छ । यही झमेलामा सिनेमा ‘एक भगवत् गीता’ पनि परेको हो ।

    केही हिन्दूवादी संस्थाहरुले सिनेमाको नाम र विषयवस्तुमा आपत्ति जनाउँदै निवेदन दिएपछि सिनेमालाई सेन्सर सिफारिस दिन बोर्ड डराएको छ । बिहीबार दिनभर सिनेमाका निर्माता सुनील कुमार थापा सेन्सर सिफारिसको पत्र कुरेर बोर्डमै बसिरहे । तर, बोर्डले सेन्सर सिफारिस दिनुको सट्टा निर्मातालाई हिन्दूवादी संगठनका प्रतिनिधिहरुसँग सहमति खोज्नका लागि छलफलमा अल्झाई दियो ।

    छलफलमा हिन्दूवादी संगठनका प्रतिनिधिहरुले व्यावसायिक प्रयोजनका लागि धर्मग्रन्थको नाम प्रयोग गरेर सनातन धर्म-संस्कृतिमा आँच र्पुयाउने काम भएको भन्दै सिनेमाको नाम परिवर्तन गर्नुपर्ने अडान लिएर बसेका थिए । निर्माता थापाले भने सिनेमामा भगवत् र गीता पात्रको नाम मात्र रहेको स्पष्ट पार्दै हिन्दू धर्ममाथि कुनै पनि खालको आघात पुग्ने दृश्य र कथा सिनेमामा नभएको दाबी गरिरहेका थिए ।

    तर, हिन्दूवादी संस्थाहरु नाम परिवर्तन गर्नुपर्ने अडानबाट पछि हटेनन् । जसले गर्दा बोर्ड पनि सिनेमालाई सेन्सर सिफारिस दिन डरायो । आज शुक्रबार यसबारेमा बोर्ड बैठकबाट निर्णय गरिने जानकारी पाएपछि निर्माता थापा केही निराश र आक्रोशित देखिएका छन् । सिनेमाकर्मीको पक्षमा उभिनुपर्ने बोर्ड सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको भन्दै उनले गुनासो व्यक्त गरेका छन् ।

    सिनेमाले प्रदर्शन अनुमति नपाए आफ्नो परिवार सिनेमा क्षेत्र छाडेर अमेरिका पलायन हुन बाध्य हुने निर्माता थापाले बताए । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले निराश हुँदै भने, ‘यदि सिनेमा नै नबना भन्नुहुन्छ भने म यो सिनेमा नै थन्काइदिन्छु । मलाई सिनेमा क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस नै दिँदैन ।’

    बोर्डले सिनेमालाई सेन्सर सिफारिस दिनुपर्ने उनको अडान छ । ‘बोर्ड त निर्माताहरुको पक्षमा उभिनुपर्ने होनी । तर, निर्मातालाई नै पेलेर यो र त्यो भएन भन्दै समस्या दिइरहेको छ,’ उनी भन्छन्, ‘मेरो सिनेमाले कुनै पनि हालतमा सेन्सर सिफारिस पाउनुपर्छ । बरु सेन्सर बोर्डले यो नाम नराख्न वा सिनेमा नै प्रदर्शन गर्न मिल्दैन् भन्यो भने म त्यसका लागि तयार छु । तर, सेन्सरमा सिनेमा हेरिनुपर्छ ।’

    विकास बोर्डका सदस्य तथा प्रवक्त केएल बुढाथोकीले भने सिनेमाको सेन्सर सिफारिस नरोकिएको दाबी गरेका थिए । ‘निर्माता सुनिल जी आज सेन्सर सिफारिसका लागि आउनुभएको छ । हामी त्यो प्रक्रियालाई अघि बढाउनेछौं । हामीले सेन्सर सिफारिस रोक्नै मिल्दैन । तर, कुनै विषयमा विवाद श्रृंखला भयो भने एकचरण छलफलबाट सहमति खोज्ने प्रयास बोर्डले गर्छ । बोर्डले त्यही गरेको हो,’ उनले भने ।

    आपत्ति जनाएका संस्था र निर्माताबीच सहमति नभएको अवस्थामा नियमअनुसार बोर्डले आफ्नो निर्णय दिने बुढाथोकीले स्पष्ट पारे । सदस्य बुढाथोकीले अगाडि भने, ‘सेन्सर सिफारिस दिन हामी डराएको हुँदै होइन, संवेदनशील भएको हो । दुवै पक्ष आ-आफ्नो अडानबाट पछि हट्नु भएन भने बोर्ड आफ्नो प्रक्रियामा अगाडि बढ्छ । त्यो प्रक्रिया के हो भन्ने कुरा बोर्ड बैठकबाट निर्णय हुन्छ ।’

    जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

  • जनता र शक्तिको कथा ‘दिमाग खराब’ को टिजर सार्वजनिक

    जनता र शक्तिको कथा ‘दिमाग खराब’ को टिजर सार्वजनिक

    काठमाडौं । निश्चल बस्नेतको निर्देशित चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ ।

    अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ मा रहेको टिजरमा दृश्यको समीकरण र ब्याकग्राउन्ड स्कोर दमदार छ । आउँदो तिहारछेक पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायतको अभिनय छ ।

    आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको ‘दिमाग खराब’ मा आकाश बरालको लेखन छ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

    ‘लुट २’ पछि निर्देशनबाट टाढिएका निश्चलले ६ वर्षपछि ‘दिमाग खराब’ बाट कमब्याक गरेका हुन् । कोभिडअघि ‘जिन्दावाद’ निर्माणको तयारीमा जुटेपनि धेरै रकम लाग्ने भएपछि त्यसलाई पोस्टपोण्ड गरेर उनी ‘दिमाग खराब’ लागेका हुन् ।

  • ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा निर्माताबीच एक हप्ता अन्तरमा फिल्म चलाउने सहमति

    ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा निर्माताबीच एक हप्ता अन्तरमा फिल्म चलाउने सहमति

    काठमाडौं । आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई सिनेमा ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टीमबीच एक हप्ता अगाडि पछाडि प्रदर्शन गर्ने सहमति भएको छ ।

    अब यी दुई सिनेमा एक हप्ताको अन्तरमा प्रदर्शनमा आउने भएका हुन् । बिहीबार वितरक र दुई सिनेमाका निर्माण टीमबीच भएको सहमतिअनुसार ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शनमा आउने भएका हुन् ।

    दुवै सिनेमाका निर्माताद्धारा सार्वजनिक संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चौथौं पटकको छलफलमा अलग–अलग मितिमा सिनेमा प्रदर्शन गर्ने सहमति भएको उल्लेख गरेका छन् ।

    ‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली सिनेमाका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निर्णय गर्न सफल भयौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । गायक सपूतले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । सिनेमाको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।

    त्यस्तै, दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेललगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको सिनेमामा उनीसँगै अभिनेत्री वर्षा सिवाकोटीले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

     

  • दिवाकरको ‘मायावी’ बाट फिल्ममा कमब्याक गर्दै पल शाह

    दिवाकरको ‘मायावी’ बाट फिल्ममा कमब्याक गर्दै पल शाह

    काठमाडौं । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् ।

    डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमव्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

    फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।

    फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

    दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

  • कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कार प्रदान

    कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कार प्रदान

    काठमाौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका दिन सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट कविहरूलाई पुरस्कार प्रदान गरिएको छ । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरे ।

    पुरस्कृत कविहरूमा उमेश पुन ( छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल ( रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी ( ईजा ! मुई गोठ नाइँ झान्या हुँ ) दार्चुला, जीवन आरोही ( प्रश्नहरुको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर ( हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा ( कविले के सम्झियो ?) सुनसरी, नविन अभिलाषी ( भेरी : अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा ( सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई ( नौरानको नाम) सुनसरी र राधिका कल्पित (परिचय पत्र ) काठमाडौं हुनुहुन्छ ।

    सो अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सुक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिए । हामीले आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्ने उनको सुझाव थियो ।

    प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारे । सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राखे ।

  • चलचित्र ‘ऐंचो पैंचो’ दोस्रो हप्तामा

    चलचित्र ‘ऐंचो पैंचो’ दोस्रो हप्तामा

    काठमाडौं । कृषा चौलागाईंको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ दोस्रो हप्तामा प्रवेश गरेको छ । गत बिहीबार जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘ऐंचो पैंचो’ दोस्रो हप्तामा प्रवेश गरेको हो ।

    वर्ड अफ माउथले प्रचार गर्दा चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ। सिनेमाले देशैभरका हलमा दर्शकको सुखद् साथ पाइरहेको छ भने प्रतिक्रिया पनि राम्रो पाइरहेको छ ।

    ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

     

  • निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक

    निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक

    काठमाडौं । निर्देशक तथा कलाकार निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक भएको छ ।

    पोस्टरमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलाई देख्न सकिन्छ ।

    उक्त चलचित्रको निर्माता रौनक विक्रम कँडेल हुन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा चलचित्र बन्न लागेको हो ।

  • ‘मायावी’ निर्माणको तयारीमा दीवाकर, मुख्य भूमिकामा दीपिका

    ‘मायावी’ निर्माणको तयारीमा दीवाकर, मुख्य भूमिकामा दीपिका

    काठमाडौं । निर्देशक दीवाकर भट्टराई ‘मायावी’को निर्माण तथा निर्देशनमा जुटेका छन् । हाल धमाधम वर्कसप भैरहेको सिनेमा सिनेमाको छायांकन आगामी असोज २ गतेबाट हुनेछ । सिनेमाको सम्पुर्ण छायांकन पोखरामा गर्ने तयारी निर्देशक भट्टराईको छ ।

    सिनेमामा अभिनेत्री दीपिका प्रसाईको मुख्य भुमिका रहनेछ । केही समयअघि उनको जोडीको रुपमा अभिनेता आर्शिवाद क्षेत्रीले अभिनय गर्ने पक्का भएका खबर आएको थियो । तर, यो सिनेमामा अन्य दुई अभिनेता पनि मुख्य कलकारको रुपमा अनुबन्धित भएका छन् । ती अभिनेता को(को हुन भन्ने निर्माण टिमले खुलाएको छैन् ।

    जसले गर्दा सिनेमामा दीपिकाको जोडी कोसँग बाँधिएको छ रु भन्ने खुलेको छैन् । निर्देशक भट्टराई सिनेमाको छायांकनसँगै सिनेमाको सम्पुर्ण टिमको जानकारी गराउने तयारीमा छन् । साथै, छायांकन सुरु भएसँगै सिनेमामा दीपिकाको जोडी बनेर अभिनय गर्ने अभिनेताको पनि खुलासा हुने बताउँछन् । सिनेमा ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको दोस्रो पटक सहकार्य गर्दैछन् ।

    क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको सिनेमामा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । दिवाकरले सिनेमा ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा निर्माण भएको सिनेमा ‘हनी बनी’ प्रदर्शनको तयारीमा रहेको छ ।

  • ‘एक भगवत् गीता’को दोस्रो गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक

    ‘एक भगवत् गीता’को दोस्रो गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक

    काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।

    जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत रहेको गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर सुन्न सकिन्छ । सिनेमाका मुख्य अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । राजेश श्रेष्ठले खिचेको गीतलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

    झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

    सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

  • चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज

    चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज

    काठमाडौं। २०४० सालमा रिलिज भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ श्रीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मंगलवार इन्टरनेटमार्फत यो गीत सार्वजनिक गरिएको हो ।

    ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन् । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामाङ वाईवाले युगल स्वर दिएका छन् । यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् । नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।

    भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन् । श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन् । संगम विसं २०७१ सालमा सौगात बिष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन् ।

    उनले सो चलचित्रमा बालकलाकारको रूपमा काम गरेकी थिइन् । उनले बालकलाकारको रुपमा अपहरण, जय शिव शंकर, श्रीमान, वरदान लगायतका चलचित्रहरूमा काम गरेकी छन् । संगमले ‘नरोउ राधा सम्झेर मलाई’बाट नै कमर्सियल अभिनयमा प्रवेश गरेकी हुन् ।

    हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

    पहिले नै चर्चित बनेको लोकगीतलाई भजन भर्सनमा ल्याएर भक्तिभावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए । “पुराना पुस्ताले अत्याधिक रुचाउनुभएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुनस्स्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभुति लिनुहुनेछ भन्ने विश्वास लिएको छु”, राउतले भने । पछिल्लो समय उत्कृष्ट भिडियोबीना गीत अपुरो हुने भएको कारण यसको भिडियोलाई पनि निकै मेहनतले बनाएको उनले बताए ।

    गीतकार प्रकाश सापकोटाले यो भजन पनि माया प्रेममा नै आधारित रहेको बताए । उनले भने, “हामीले सदिऔँदेखि कृष्ण र राधाको प्रेमचर्चा सुन्दै आएका छौँ । त्यही प्रसंगलाई चर्चित गीतको लयमार्फत आम मानिसमा पुऱ्याउने उद्देश्यले बिदुरजी र मैले मिलेर रचना गरेका हौँ ।” सापकोटाले यो भजन भर्सन सबैले सुन्दा आनन्द आउने बताए ।

  • अभिनेत्री गौरी मल्लको गायनमा पुनरागमन, सार्वजनिक गरिन् तीज गीत (भिडिओ)

    अभिनेत्री गौरी मल्लको गायनमा पुनरागमन, सार्वजनिक गरिन् तीज गीत (भिडिओ)

    काठमाडौँ। गायिकाको परिचयलाई पुनःजीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज बिशेष गीत सार्वजनिक गरेकी छन् । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।

    बाल्यकालदेखि गायनमा सौखिन मल्लले वर्षौ पहिले दर्जनबढि गीत गाएकी थिइन् । उनले चलचित्र ुभाईुमा नायिका मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडी बढाएकी थिइन् । सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट यूट्युब च्यानल समेत शुभारम्भ गरेकी छन् ।

    यस गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन् । गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन् । साथमा समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अञ्जु पोखरेल दाहाल म्यूजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

    गीत सार्वजनिक कार्यक्रममा मल्ल उत्साहित र भावुक बनेकी थिइन् । उनले आफ्नी आमालाई सो कार्यक्रममा निम्त्याएकी थिइन् । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, बरिष्ठ गीतकार करुण थापा, बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित थिए ।

    कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै नयाँ यात्राको शुभकामना दिए । अभिनेत्री बसुन्धरा भुषालले आफ्नो परिस्थितिले साथ नदिँदा यस गीतमा अभिनय गर्न नपाएको बताइन् । अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतमा अभिनयको लागि तत्कालै राजी भएको बताइन् ।

    मल्लले आफ्नो गायन यात्राबारे स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिष्ट डिजे एलएक्सले प्रेरणा दिई आफैलाई गाउन लगाएको बताइन् । उनले आफुमा यसरी गाउन सक्छु भन्ने हिम्मत नरहेको तर सफल भएको बताइन् । उनले अब गायनमा निरन्तरता दिने बताइन् । कार्यक्रममा म्यूजिक भिडियोमा योगदान गर्ने टीमलाई कदरपत्र प्रदान गरिएको थियो ।

  • चलचित्र ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक (भिडिओ)

    चलचित्र ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

    गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगर फिचर्ड छन् । यसअघि फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ निकै रुचाइएको छ । यो गीत चित्लाङमा छायांकन गरिएको हो ।

    रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

    हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

    यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

    भिडिओः

     

  • मिस गुरुङको पाँचौं संस्करण सुरु हुँदै

    मिस गुरुङको पाँचौं संस्करण सुरु हुँदै

    काठमाडौं । मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको तयारी पूरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ ।

    आगामी भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुँदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ ।

    उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन विज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गरान अध्यक्ष तृष्णा गुरुङले जानकारी दिए ।

    मिस गुरुङ्ग इन्टरनेसनल पाँचौं संस्करणमा सहभागी प्रतियोगिहरुलाई वर्षभरी नै बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आय-आर्जन मुलक व्यवसायिक गतिविधिहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनुका साथै उपाधि बिजेतालाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउनेछन् ।

    मिस गुरुङ्ग इन्टरनेसनल उपाधि बिजेताले नगद पुरष्कार पाँच लाख , मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फस्ट रनरअपले दुइ लाख सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले नगद २५ हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा अनलाइन भोटिङ्ग पाट्र्नरको रुपमा ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता व्यवस्थापनको जिम्मा बि एण्ड बि इभेन्ट मानियाले लिएको छ ।

     

  • ‘भगवत’ र ‘गीता’ पात्रको नाम हो, यसमा विवाद गर्नुपर्ने केही छैन : सुनिल थापा

    ‘भगवत’ र ‘गीता’ पात्रको नाम हो, यसमा विवाद गर्नुपर्ने केही छैन : सुनिल थापा

    काठमाडौं । झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘एक भगवत गीता’ नामका कारण विवाद परेको छ । भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई यतिबेला प्रचारप्रसारमा हिँड्नसमेत मुस्किल परिरहेको छ ।

    केही समय अघिमात्र यस चलचित्रको पोस्टर र ट्रेलर रिलिज गरिएको थियो । पोष्टर र ट्रेलर भएपछि आध्यात्मिक विकास समाज, हिन्दू जागरण नेपाल र विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले चलचित्रलाई लिएर विरोध जनाएका हुन् । निर्माण टीमलाई चलचित्रको प्रदर्शन रोक्नसमेत हिन्दूवादी संघसंस्थाले चेतावनी दिएका छन् ।

    नामका विषयमा विवाद चक्रिएपछि सोमबार चलचित्र विकास बोर्डमा दुई पक्षबीच छलफलसमेत भएको थियो ।

    आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माता सुनिल थापाले विवादबारे प्रष्टिकरण दिएका छन् । ‘उहाँहरुले पहिला पनि बोर्डमा गएर निवेदन दिनुभएको रहेछ । हाम्रो चलचित्रको नामलाई लिएर उहाँहरुको विशेष आपत्ति हो । यो नाममा प्रेमकथा बनाउन पाउनुहुन्न भन्ने उहाँहरुको भनाइ रहेछ’, उनले भने ।

    ‘हाम्रो प्रेमकथामा आधारित चलचित्र होइन । चलचित्रमा भागवत एउटा पात्रको नाम र गीता अर्काे पात्रको नाम हो खासमा । हामीले चलचित्रमा एउटा धर्मलाई समातेर वा अरु धर्मको विरोध तथा नष्ट गर्ने सोचले एउटा धर्मलाई उचाल्न खोजेका होइनौं । हिजो छलफलमा पनि मैले त्यहीँ भने,’ उनले कार्यकममा बोल्दै थपे ।

    छलफलपछि विरोध जनाउने संघसंस्थाका प्रतिनिधिले स्क्रिप्ट मागेको थापाको भनाइ छ । उनले सुनाए, ‘उहाँहरूले स्क्रिप्ट माग्नुभयो र चलचित्र हेर्ने कुरा राख्नुभयो । जसमा हाम्रो पूर्ण समर्थन छ ।’

    उनका अनुसार संघसंस्थाका प्रतिनिधिले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवादलाई टुंगो लगाउने सहमति छलफलमा भएको छ ।

    ‘हामीले व्यापार गर्न ‘भगवत गीता’को नाम प्रयोग गर्यौ तथा धर्मलाई थिचोमिचो वा आँच पुर्याउने काम गर्यौं भनेर उहाँहरुले निवेदन दिनुभएको हो । छलफलमा उहाँहरु एकछिन उग्र पनि हुनुभयो । हामीले मिल्छ भने आएर सेन्सरमा बसेर चलचित्र हेर्नु भनेका छौं । उहाँहरुले हेरेपछि बाँकी कुरा आउछ’, उनले जोडे ।

    ‘सरकारले सुरुमा चलचित्र बना भन्यो । हामीले त्यहीँ अनुरुप बनायौं । चलचित्रमा साढे ३ करोड खर्ची पनि सक्यौं । अहिले त्यहीँ सरकारले हैन तपाईंलाई यस्तो उजुरी परेको छ, तपाईंहरु आउनुहोस् भन्नुहुन्छ । उहाँहरुको ध्यानाकर्षण हुनु राम्रो पनि हो । अहिले धर्मको नाममा थुप्रै विवादहरु जो उत्पन्न भइरहेका छन् । सनातन धर्म जोगाउन लागिपर्नु भएको संघसंस्था हो उहाँहरुको । कसैलाई आपत्ति छ भने त्यसलाई जितेर अघि बढ्ने हाम्रो पनि सोच होइन’, उनले सुनाए ।

  • गोर्खालीको कथा विश्वले हेर्दैछ: निर्देशक चाम्स

    गोर्खालीको कथा विश्वले हेर्दैछ: निर्देशक चाम्स

    काठमाडौं ।  नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गरेका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको बताए ।

    गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’ को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदैछ ।

    विशेषत उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी हुन्छन् । यद्यपि गोर्खालीको विषयले गर्दा विशेष प्रदर्शनी सम्भव भएको बेलायतबाट निर्देशक चाम्सले जानकारी दिए ।

    “हामीले यो इतिहास बनाउँदैछौँ, विश्वका ठूला कम्पनीले निर्माण गरेको चलचित्र प्रिमियर हुने स्थानमा हाम्रो हुनुमा पैसाभन्दा पनि गोर्खालीले बनाउनुभएको वीरताको इतिहास हो”, निर्देशक चाम्सले भने, “अहिले गोर्खा वारियरको चर्चा देखिए पनि यसले कालान्तरमा नेपाली चलचित्रलाई प्रवद्र्धनमा टेवा पु¥याउँछ, किनकि नेपाली चलचित्रको स्तरीयता विश्वकै प्रख्यात चलचित्र भवनमा देखाउँदैछौँ ।”

    उनले खर्चिलो र कानुनी प्रक्रियामा जटिलता भएकाले त्यहाँ प्रिमियर गर्न सहज नहुने बताए । यद्यपि गोखालीको चलचित्र भनेपछि सबै स्तरबाट सहयोग पाएकाले देखाउन लागिएको निर्देशक चाम्सले जानकारी दिए । प्रिमियरमा सहभागी हुन नेपालबाट समेत चलचित्रकर्मी बेलायत पुग्नेछन् ।

    बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएपछि लन्डनमा चर्चा र चासो बढेको निर्देशक चाम्सले जानकारी दिए ।

    “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्खालीका विषयमा चलचित्र बनेको थाहा पाएपछि गरिरहेको सहयोगको शब्दमा बयान गर्न सक्दिन, हामीले सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावासका प्रतिनिधि लगायतलाई निम्तो दिइरहेका छौं”, उनले भने ।

    उनले आफ्नो कथालाई भन्न र विश्वलाई जानकारी गराउन अब निर्माता तथा निर्देशक तयार हुनुपर्ने बताए । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ ।

    नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारले अभिनय गरेका छन् ।  निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन, सुदीप बरालले छायाङ्कन र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।