Category: कलाप्रेस

  • दयाहाङ र विपिनको बक्स अफिस भिडन्त, कसको पल्ला भारी ?

    दयाहाङ र विपिनको बक्स अफिस भिडन्त, कसको पल्ला भारी ?

    काठमाडौं । भाद्र २९ गते शुक्रबार अर्थात भोलिबाट सम्भावना बोकेका दुई नेपाली चलचित्रहरु एकसाथ रिलिज हुँदैछन् । अभिनेता विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’ र अर्का अभिनेता दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ ।

    हुन त यी दुवै चलचित्रमा अरु चल्तीका कलाकारहरु पनि छन् । दिपेन्द्र लामा निर्देशित तथा लिखित चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङलाई नायिका मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी राणा, कर्मा लगायतले साथ दिएकी छन् भने ‘एक भगवत र एक गीता’ मा विपिनसँगै अर्का नायक धिरज मगर र नायिका सुहाना थापाको प्रमुख भूमिका छ ।

    ‘एक भगवत र एक गीता’ सुहाना इन्टरटेनमेन्ट्सबाट बनेको चलचित्र हो, जसलाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन र निर्माता सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुहाना सुनिल र झरनाकी छोरी हुन् । एक वाक्यमा भन्नुपर्दा ‘एक भगवत र एक गीता’ सुहानाको आफ्नै होम प्रोडक्सन फिल्म हो ।

    दुवै चलचित्रमा कलाकारहरु भरमार भएता पनि अभिनयका महारथी विपित र दयाहाङमाथि बढी निर्भर रहनेछन् । उनीहरु दुवै बलियो फ्यान बेस भएका कलाकार हुन् । बौद्धिक दर्शकलाई पनि हलसम्म आकर्षित गर्न सक्ने क्षमता उनीहरुमा छ ।

    कडब्डी ४ र जारी पछि दयाहाङ र मिरुनालाई चलचित्र नगरीको हिट जोडीको रुपमा लिने गरिएको छ । यो चलचित्रको सबैभन्दा ठूलो व्यापारिक हत्कण्डा पनि यही नै हो । ‘जारी’ पछि उनीहरुलाई फेरी हेर्न दर्शक आतुर छन् भन्ने निर्माण पक्षको बुझाइ छ । चलचित्र रिलिजअघि एउटा गीत टिकटकमा हिट भएकाले पनि निर्माता–निर्देशक हौसिएका छन् ।

    अर्कोतर्फ ‘एक भगवत एक गीता’ लाई कन्ट्रोभर्सीले फाइदा मिलेको छ । चलचित्रको नामलाई लिएर निकै लफडा भयो । केही धार्मिक संस्थाले नाममा आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिएको थिएन । यो विवादले चलचित्रलाई व्यापक चर्चामा ल्यायो । यति विवाद खेपेको चलचित्र कस्तो बनेको छ भन्ने कौतुहल दर्शकमा जागेको छ । साथै, भर्खरै सार्वजनिक गरिएको एउटा मैथिल गीतले पनि प्रशंसा कमाइरहेको छ ।

    धीरज र सुहानाको जोडीले पनि युवा पुस्ताका दर्शकलाई अपिल गर्न सक्छ । सुहानाले अभिनय गरेको पहिलो फिल्म ‘ए मेरो हजुर ४’ बक्स अफिसमा हिट भएको थियो । यस्तै, धीरज पनि उदियमान कलाकारमा पर्छन् । धीरज र सुहानाको केमेस्ट्री हेर्न पनि केही दर्शकहरु हलसम्म तानिनेछन् ।

    अरु पक्ष जे भए पनि मुख्य प्रतिस्पर्धा भने विपिन र दयाहाङकै हुने छ । चलचित्र हिट वा फ्लप हुँदाको जस÷अपजस पनि सबैभन्दा बढी उनीहरुले नै बोक्नुपर्ने हुन्छ । अभिनयमा दयाहाङ भन्दा विपिन धेरै भर्सटाइल छन् । तर, व्यापारिक रेकर्ड भने दयाहाङको राम्रो छ । उनीहरु दुवैले एकसाथ अभिनय गरेको चलचित्र ‘फुलबारी’ ले गत वर्ष औसत व्यापार गरेको थियो ।

    तर, यतिबेला यी दुवै नेपाली चलचित्र विदेशी चलचित्रको मारमा परेका छन् । अहिले स्वदेशी सिनेमा घरमा भारतीय चलचित्र ‘जवान’ को दवदवा छ । जवानकै कारण ‘नाङ्गो गाउँ’ र ‘भगवत गीता’ ले पर्याप्त शोहरु पाएका छैनन् । यदि ओपनिङ डे बाट राम्रो वर्ड अफ माउथ पाएको खण्डमा चलचित्रका शोहरु थपिन सक्छन् । अन्यथा दुवै चलचित्रलाई लगानी उठाउनु चुनौतिपूर्ण हुने देखिन्छ ।

    विपिन कार्की स्टारर ‘भगवत गीता’ ले क्यूएफएक्समा देशव्यापी १९ शो मात्र पाएको छ । चलचित्रलाई वान सिनेमाजले सात, बिग मुभिजले पाँच र आईएनआईले चार शो दिएका छन् । त्यसैगरी दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ ले क्यूएफएक्समा देशव्यापी ३० शो पाएको छ ।

    चलचित्रलाई वान सिनेमाजले ७ शो, बिग मुभिजले ४ र आईएनआईले ६ शो दिएका छन् । शो संख्याको तुलना गर्ने हो भने ‘नांगो गाउँ’ अगाडि छ । यद्यपि, दर्शकको प्रतिक्रियाका आधारमा यो तलमाथि हुन सक्छ ।

  • ‘नाङ्गो गाउँ’ को प्रिमियर: सबै आए, कर्मा आएनन् (तस्बिरहरु)

    ‘नाङ्गो गाउँ’ को प्रिमियर: सबै आए, कर्मा आएनन् (तस्बिरहरु)

    काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’ को आज प्रिमियर गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियर काठमाडौं सीतापाइलास्थित सीके सिनेमामा भएको हो ।

    प्रिमियरमा चलचित्रका कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का र साम्राज्ञीलगायत उपस्थित थिए । तर, चलचित्रका अन्य  प्रमुख कलाकारहरु शिशिर बाङ्देल, कर्मा र बुद्धि तामाङ प्रिमियरमा देखिएनन् । साम्राज्ञी र कर्मा ‘नाङ्गो गाउँ’को पब्लिसिटीमा पनि सक्रिय थिएनन् ।

    प्रिमियरमा फिल्म तथा संगीत क्षेत्रबाट विभिन्न अतिथिहरुलाई आमन्त्रण गरिएको थियो । कलाकार जितु नेपाल, गायक राजेश पायल राईलगायत प्रिमियरमा उपस्थित थिए ।

    चलचित्रमा दयाहाङ र मिरुना मुख्य भूमिकामा छन् । साथमा कर्मा, साम्राज्ञी, शिशिर, बुद्धि, रवीन्द्रसिंह झालगायतको मुख्य भूमिका रहेको छ । ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते रिलिज हुँदैछ ।

  • प्रेममा छिन् गायिका रचना रिमाल, तर कोसँग ?

    प्रेममा छिन् गायिका रचना रिमाल, तर कोसँग ?

    काठमाडौं । गायिका रचना रिमाल र क्रिकेटर ललितनारायण राजवंशीको निकटताले केही समयदेखि टिकटकमा सरगर्मी बढाइरहेको छ । उनीहरुलाई धेरैले प्रेमी-प्रेमिका ठान्न थालेका छन् ।

    रचना बारम्बार ललितसँग टिकटक बनाएर लभ इमोजीसहित पोष्ट गरिरहन्छिन् । यस्ता टिकटकमा धेरैले उनीहरुलाई ‘ब्यूटिफुल कपल’ भन्दै बधाई दिएको भेटिन्छ । कतिपय टिकटक प्रयोगकर्ताले त नेपाली क्रिकेटरहरुको ‘जोडी’ मा उनीहरुलाई पनि समावेश गरेर भिडिओ बनाउन भ्याइसकेका छन् । क्रिकेटका फ्यानहरुले रचनालाई ‘भाउजू’ भन्न थालेका छन् ।

    यसरी प्रेम चर्चा छ्याप्छ्याप्ती भइसक्दा पनि रचना र ललित दुवैले आफूहरुको सम्बन्धबारे मुख खोलेका छैनन् । न कमेन्टहरुमा कसैलाई जवाफ दिएका छन् ।

    संस्कृतमा भनाइ छ- ‘मौनम् स्वीकृति लक्षणम्’ अर्थात् मौनता नै स्वीकृतिको संकेत हो । के रचना र ललितले मौन बसेर आफूहरुको सम्बन्धबारे स्वीकारोक्ति व्यक्त गरेका हुन् ?

    रचनासँग निकटस्थ व्यक्तिहरु भने उनीहरु प्रेममा रहेको विश्वास गर्दैनन् । रचनाले टिकटकमा भ्यूज र पपुलारिटीका लागि मात्रै ललितसँगको भिडिओ पोस्ट गर्ने गरेको उनीहरुको अनुमान छ ।

    रचनासँग निकट एक गायकले भने, ‘रचना केही समयदेखि प्रेममा छिन् तर, ललितसँग होइन ।’

    ती गायकका अनुसार रचना करिब दुई वर्षदेखि विष्ट थरका एक युवकसँग अफेयरमा छिन् । ती युवक पोडकास्ट चलाउँछन् र स्टेज शोहरु होस्ट पनि गर्छन् । उनी सेलिब्रिटी फिगर भने होइनन् ।

    ‘मलाई थाहा भएसम्म उनीहरुको प्रेममा दरार आएको छैन । ललितसँगको प्रेम टिकटककै खपतका लागि मात्र हुन सक्छ’, उनले भने ।

    रचना भन्छिन्, ‘भिडिओ हाल्दैमा प्रेम हुन्छ त ?’

    नेपाल प्रेससँगको कुराकानीमा रचनाले ललितसँग आफू प्रेममा नरहेको स्पष्ट पारिन् । टिकटक भिडिओ बनाउँदैमा प्रेमी भनेर बुझ्न नहुने उनको भनाइ छ ।

    ललितसँगको प्रेमबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘छ्या… होइन हौ… हाम्रो त्यस्तो केही छैन । भिडिओ हाल्दैमा प्रेम हुन्छ त ?’

    कहिलेकाहीं भेटेको बेला धेरैवटा भिडिओ बनाएर टाइम-टाइममा अपलोड गर्ने गरेको उनको भनाइ छ । आफू नेपाली क्रिकेटरमध्ये ललित र भीम सार्कीसँग बढी नजिक रहेको पनि रचनाले बताइन् ।

    ‘म क्रिकेटको फ्यान हुँ र सबै खेलाडीलाई सपोर्ट गर्छु । ललित हाम्रो पूर्वतिरकै हो नि त ! एउटा कार्यक्रममा भेट भएको थियो । त्यसपछि हामी बोल्न थाल्यौं र बिस्तारै साथी भयौं’, उनले भनिन् ।

    रचनाले साथीका रुपमा ललित राम्रो लागे पनि प्रेम रहने सम्भावना नरहेको बताइन् । उनले टिकटकमा आउने कमेन्टहरुलाई सहज रुपमा लिएकी छन् । रचना भन्छिन्, ‘दर्शकले मन पराउनु राम्रो कुरा हो नि ! तर, उहाँहरुले लेखेको कुरा रियल चाहिँ होइन ।’

    तपाईं अरु कसैसँग प्रेममा हुनुहुन्छ भन्ने प्रश्नमा उनले खुलेर जवाफ दिइनन् । आधा हाँस्दै, आधा लजाउँदै भनिन्, ‘छैन हौ ….।’

    तपाईं सिंगल नै हो त ?

    ‘अँ…हो… त्यही भनेर लेख्नु न !’

    खेल र खेलाडीलाई अत्यधिक माया गर्ने गायिकाको रुपमा चिनिन्छिन् रचना । उनी विशेषगरी नेपालको फुटबल र क्रिकेट म्याच हुँदा टीमलाई समर्थन गर्न सकेसम्म मैदानमै पुग्ने गर्छिन् । यसले उनलाई खेलप्रेमीहरुबीच निकै लोकप्रिय बनाइरहेको छ ।

  • झरना-सुनिलले भने- भागवत गीताको विवाद मिलाउन भुवन केसीले सहयोग गर्नुभयो, अनमोल छोराजस्तै

    झरना-सुनिलले भने- भागवत गीताको विवाद मिलाउन भुवन केसीले सहयोग गर्नुभयो, अनमोल छोराजस्तै

    काठमाडौं । नामलाई लिएर चलेको लामो विवादको अन्त्यपछि आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘एक भगवत एक गीता(सामाजिक कथा)’ को अफिसियल गीत सार्वजनिक गरिएको छ । चलचित्रको सम्पूर्ण टीमको उपस्थितिमा गीत सार्वजनिक कार्यक्रम समापन गरिएको हो । सार्वजनिक ‘झिँझिँया’ बोलको गीतमा नायिका सुहाना थापा र नायक विपिन कार्की फिचर्ड छन् ।

    कार्यक्रममा निर्माण टीमले चलचित्रबारे आफ्ना धारणाहरु राखेका थिए। चलचित्रको नामबारे विवाद चक्रिएपछि र सेन्सर पास नहुने भएपछि धेरैले विकास बोर्डलाई औंला उठाएका थिए । चलचित्र विकास बोडर्का अध्यक्ष भुवन केसीले सेन्सर पास गर्न नदिएको धेरैको आरोप थियो । आफ्ना छोरा अनमोललाई चलचित्रमा नलिएकाले भुवनले भड्स पोखेको आलोचना उनलाई लागेको थियो ।

    कार्यक्रममा सोही आलोचनाबारे प्रश्न गरिएको थियो ।

    आलोचनाबारे बोल्दै निर्माता सुनिल कुमार थापाले भने, ‘अनमोल मेरो परिवारको सदस्य हो । मेरो छोरा जस्तै हो । उसले मेरो प्रोड्क्सनबाट २ वटा चलचित्र गरिसक्यो । आउने दिनमा पनि हामीसँगै नै हुनेछौ । यी सब हल्ला मात्र हुन् । भन्नेको मुख कसले छेक्न सक्छ र ? भुवन केसीले त विवाद मिलाउन हामीलाई सहयोग गर्नुभएको छ । उहाँप्रति हामीलाई कुनै गुनासो छैन । कुरा रह्यो अनमोलको । उसलाई हाम्रो चलचित्रको कहानी सबै थाहा छ । उसलाई सुरुमा नै यो चलचित्रमा अफर थिएन । म यो कहानीमा फिट छैन भनेर उसलाई पहिलै थाहा थियो ।’

     

  • चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे गीत‘झिझिया’ सार्वजनिक

    चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे गीत‘झिझिया’ सार्वजनिक

    काठमाडौं । चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे  गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘झिझिया’ शीर्षकको गीत सार्वजनिक गरिएको हो।

    नेहा पृयादर्शनी र प्रभेश मल्लिकको स्वरमा रहेको उक्त गीतमा संगीत प्रभेश मल्लिकले दिएका छन । गीतको पुर्ण छायांकन जानकीमन्दिर परिसरमा भएको छ ।

    भदौ २९ बाट रिलिजको तयारीमा रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर शीर्ष भूमिकामा छन् ।

  • ‘एक भगवत् र एक गीता’ले पायो प्रदर्शन अनुमति, भदौ २९ बाट रिलिज

    ‘एक भगवत् र एक गीता’ले पायो प्रदर्शन अनुमति, भदौ २९ बाट रिलिज

    काठमाडौं । लामो धार्मिक विवादपछि चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको हो । चलचित्र अब सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

    चलचित्रको नामलाई लिएर १३ हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि चलचित्रको सेन्सर प्रक्रिया रोकिएको थियो । विवादले चक्रो रुप लिने भएपछि आइतबार चलचित्र विकास बोर्डमा धार्मिक संस्थाहरु र निर्माण टीमबीच शीर्षकबारे छलफल गर्न बैठक बसेको थियो । बोर्डमा भएको सर्वपक्षीय छलफलले ‘एक भगवत र एक गीता(सामाजिक कथा)’ नाममा सहमति जुटाएसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको हो ।

    भदौ २९ बाट रिलिजको तयारीमा रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर शीर्ष भूमिकामा छन् ।

  • प्रकाश सपूतको गीतबाट हट्यो ‘भद्दा’ संवाद

    प्रकाश सपूतको गीतबाट हट्यो ‘भद्दा’ संवाद

    काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश ‘भद्दा’ संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा खड्काबीचको संवाद विवादित बनेको थियो ।

    हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप लागेको थियो । तर, उनले तुरुन्तै आफ्नो ‘गल्ती’ सच्याएर विवादलाई किनारा लगाएका हुन् ।

    गायिका समीक्षा अधिकारीको आवाजमा रहेको गीत अहिले युट्यूवको नम्बर १ ट्रेन्डिङमा छ । तीन दिनमा २८ लाख भ्यूज पाएको गीतमा झण्डै आठ हजारजनाले कमेन्ट गर्न भ्याइसकेका छन् ।

    दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । दर्शक/स्रोताले गीत निकै रुचाएका छन् । तर, एउटा संवादले गर्दा किरकिरी भएको थियो ।

    अहिले भिडिओमा सपुतले स्वस्तिमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको छ ।

    याे पनि पढ्नुहाेस् ।

    गीत समीक्षा: सपूत-समीक्षाको सुन्दर ‘जालीरुमाल’ मा एउटा दाग

  • ‘नाङ्गो गाउँ’ गाउँमा के छ ? यसो भन्छन् दयाहाङ र मिरुना

    ‘नाङ्गो गाउँ’ गाउँमा के छ ? यसो भन्छन् दयाहाङ र मिरुना

    काठमाडौं । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको बताएका छन् ।

    चलचित्र हेरेर दर्शकले अहिलेको अवस्था आउनुमा जनताको पनि दोष रहेछ भनेर मनन गर्न सक्ने उनको भनाइ छ । राईले अहिलेको समाजको राजनीतिक चेतना नै सिनेमाको मुख्य विषय भएको पनि बताए ।

    उनी भन्छन्, ‘अहिलेको राजनीतिक अवस्थाभित्र हामी कहाँ छौँ, कसरी ग्रसित छौँ, के सोच्छौँ । हाम्रो नेतृत्वको दिमाग कस्तो छ, उनीहरूको सोच कस्तो हुन्छ त्यही विषयमा यो सिनेमा हो । एउटा गाउँमार्फत अहिलेको अवस्था देखाएका छौँ । जनताको आक्रोश, अपेक्षा र हामीले भोगिरहेको समाजको एक अंश हो ।’

    निर्देशक दीपेन्द्र लामाको भनाइमा नेतामाथि मात्रै होइन अब प्रश्न जनतामाथि पनि उठाउनु पर्ने बेला भएको छ ।

    उनी भन्छन्, ‘गलत नेता जितेर आएको जनताकै कारण हो । असल नेता चयन गर्ने जिम्मेवारी जनता पनि हो । इमानदार नेता मात्रै होइन जनता पनि हुनुपर्छ ।’

    नेपाली राजनीति उत्तरदायी नहुनुमा जनताको पनि दोष रहेकोमा दयाहाङ पनि सहमत छन् । पटक पटक खराब नेता छनोट गर्नु जनताको पनि गल्ती भएको उनको ठम्याइ छ ।

    ‘हामी नेता खराब भए भनेर आलोचना गर्छौँ । निर्वाचनमा तिनै आलोचना गरेका नेतालाई जिताउँछौँ,’ दयाहाङ भन्छन्, ‘त्यसैले नेताले देश बिगारे भनेर भनिरहँदा सायद यसमा हामी पनि त्यसमा दोषी छौँ कि भन्ने हाम्रो बुझाइ छ । यही नै सिनेमाको कथा हो ।’

    ‘नाङ्गो गाउँ’ हेरेर अहिलेको अवस्था आउनुमा जनताको पनि दोष रहेछ भनेर मनन गरे त्यही नै सिनेमाको सफलता हुने उनको बुझाइ छ ।

    ‘सायद आर्टिस्टले यसै गरी नै सामाजिक परिवर्तनमा भूमिका खेल्ने होला’, उनी भन्छन्, ‘कलाकारले गर्न सक्ने भनेको यति नै हो । कलाकारले समाज परिवर्तन गर्ने होइन प्रश्न उठाउने मात्रै हो भन्ने लाग्छ ।’

    नायिका मिरुना मगरले राजनीतिबारे आफूलाई पर्याप्त जानकारी नभए पनि बुझ्ने प्रयास गरेको बताइन् । सामाजिक सञ्जालले नेपाली राजनीति बुझ्न आफूलाई धेरै सहयोग गरेको उनको भनाइ छ ।

    दीपेन्द्रको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । सँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्रसिंह झालगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते रिलिज हुँदैछ ।

  • गीत समीक्षा : सपूत-समीक्षाको सुन्दर ‘जालीरुमाल’ मा एउटा दाग

    गीत समीक्षा : सपूत-समीक्षाको सुन्दर ‘जालीरुमाल’ मा एउटा दाग

    काठमाडौं । दुई वर्षअघिको सुपरहिट गीत ‘कुरा बुझ्न पर्च’ को सिक्वेलका रूपमा गायक प्रकाश सपूतले ल्याएका छन्, ‘जाली रुमाल फाट्यो ।’ रिलिज भएको २४ घण्टाभित्रै टप ट्रेन्डिङमा उक्लिएर यो गीतले पनि ‘हिट’ को पगरी गुथिसकेको छ ।

    सपूतको कुनै पनि गीत दर्शक/श्रोताले मन पराउनु र चल्नु अनौठो कुरा भएन । तर, आजकाल चाहिँ उनको गीत आएसँगै यसले के कन्ट्रोभर्सी ल्याउने हो भनेर प्रतीक्षा गर्न थालिएको छ । सपूत पनि कन्ट्रोभर्सीका निम्ति कुनै न कुनै मसला दिइहाल्छन् । तथापि, उनको सिर्जनात्मक शक्ति भने दिनप्रतिदिन निखारिँदो छ ।

    हुन त यो जबरजस्त बनाइएको सिक्वेल हो । ‘कुरा बुझ्न पर्च’ को भिडिओले कुनै सिक्वेलको माग गर्दैन । महिला सशक्तीकरणको अवधारणा बनेको उक्त गीतको सिक्वेललाई भने जातीयता र छुवाछुततर्फ मोडिएको छ । एउटा ब्राम्हण पुरुष र दलित युवतीसँग प्रेम हुन्छ र शारीरिक सम्बन्ध रहन्छ । युवती गर्भवती बन्छिन् । तर, परिवारले जातको कारण देखाएर भाँजो हालेपछि पुरुष युवतीसँग टाढिन्छ । युवतीले कानूनी उपचारको खोजी गर्छिन् । तर, उनको हत्या गरिन्छ । गीतको भिडिओले बोलेको कथा हो यो ।

    समय बदलिए पनि जातीय छुवाछुतको अवशेष हाम्रो समाजबाट निमिट्यान्न भइसकेको छैन । आज पनि कथित उच्च जातको परिवारले कथित निम्न जातको परिवारसँग वैवाहिक साइनो गाँसिहाल्न चाहँदैनन् । यतिसम्म गीतले यथार्थ बोलेको छ । दलित परिवारसँग पैसाको सौदा गर्न खोजिएको सन्दर्भ पनि । तर, युवतीलाई घरमा बोलाएर बन्दुक ताकिएको र जंगलमा लखेटेर हत्या गरेको देखाइनु चाहिँ अतिरञ्जना हो । फिल्मीकरण हो । एउटा यथार्थवादी गीतलाई यति फिल्मी नबनाएको भए बढी उद्देश्यमूलक हुन सक्थ्यो ।

    एउटा गीतको रूपमा ‘जाली रुमाल फाट्यो’ पहिलो पटक सुन्दा नै जोकोहीको मनमा पस्न सक्छ । शब्द, संगीत र स्वर तीनवटै पक्षमा बलियो छ गीत । प्रकाश सपूत आफैँले शब्द र संगीत सिर्जना गरेका हुन् । गीतको भाका ‘कुरा बुझ्न पर्च’ सँग मिल्दोजुल्दो भएकाले पनि यसमा भिज्न समय लाग्दैन ।

    यो गीतले सबैभन्दा ठूलो फाइदा गायिका समीक्षा अधिकारीलाई हुन सक्छ । पल शाह प्रकरणपछि धर्मराएको करिअरलाई लयमा फर्काउन प्रयासरत उनी एउटा हिट गीतको खोजीमा थिइन् । दिनहुँ ६–७ वटा गीत रेकर्ड गराइरहे पनि कुनै पनि गीतले बजार तताउन सकिरहेका थिएनन् । निकै लामो समयपछि उनको गीत टप ट्रेन्डिङमा आयो । यो गीतले फेरि समीक्षालाई ‘लिडिङ फिमेल सिंगर’ को पंङ्तिमा उभ्याउन सफल हुने आशा राख्न सकिन्छ ।

    एकदमै जीवन्त र बुलन्द स्वरकी धनी हुन् समीक्षा । तर, पछिल्लो चरणमा आएका गीतहरू सुन्दा उनको गायिकीमा केही परिवर्तन आएको महसुस हुन्छ । पहिले उनको आवाजमा जुन ताजापन थियो, त्यो कतै हराएकोजस्तो लाग्छ । उमेरजन्य कारणले आएको बदलाव हो वा उनले आवश्यकताभन्दा बढी ‘इफोर्ट’ लगाएकी हुन्, आवाज बढी मसिनो र तिखो सुनिन्छ । पहिलेजस्तो धक फुकाएर गाउन सकिरहेकी छैनन् । उनले आफ्नो आवाजलाई खुल्ला छाडिदिएर गाउँदा नै बढी मिठो सुनिन्छ ।

    गीतको भिडिओ पुरै प्रकाश सपूतको कलेवरमा छ । उनले आफ्नै शैलीमा कथा र संवाद हालेर भिडियोलाई फिल्मजस्तो बनाएका छन् । जातीय छुवाछुतविरुद्ध सन्देश दिन खोजेका छन् । सपूतले जातीय छुवाछुतविरुद्ध ‘ब्याक टु ब्याक’ दोस्रो गीत ल्याएका हुन् । बारम्बार एउटै अवधारणामा गीत गाइरहँदा भने दर्शक मोनोटोनस हुनसक्ने खतरा पनि छ ।

    भिडिओमा नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माले मूख्य भूमिकामा अभिनय गरेका छन् । मेनस्ट्रिमका नायिकाहरूको उपस्थितिले भिडियोलाई अवश्य पनि ‘सम्पन्न’ बनाएको छ । ‘कुरा बुझ्नु पर्च’मा यो जोडीको केमेस्ट्री हिट भएको थियो । यसमा पनि उनीहरूले आ–आफ्नो ठाउँबाट न्याय गरेका छन् । प्रहरी युनिफर्म स्वस्तिमालाई खुबै सुहाएको छ ।

    गीतको भिडिओमा कतै प्रश्न उठाउने ठाउँ छ भने त्यो हो ‘इन्डिङ’ । गीत सकिएपछि प्रकाश सपुत र स्वस्तिमाले बोलेको भद्दा संवाद कथाको ‘डिमान्ड’ थियो र ? उनले अनावश्यकरुपमा नायिकालाई एउटा भल्गर शब्द बोल्न लगाएका छन् । आफूले पनि ‘अनुचित’ संवाद बोलेका छन् । सुन्दर जालीरुमालमा झिँगा बसेझैं भएको छ । सपुतले गीतलाई चर्चामा ल्याउन सस्तो हत्कण्डा प्रयोग गरेको आरोप लागेको छ ।

    यो स्तरको गायकलाई हिट हुन वास्तवमा कुनै ‘कन्ट्रोभर्सी’को सहारा लिइराख्नुपर्ने होइन । उनका सिर्जना नै पर्याप्त छन् । आफ्नो सिर्जनात्मक शक्तिमा विश्वास गर्दै उनले आगामी दिनमा सकेसम्म कन्ट्रोभर्सीबाट टाढा रहनु श्रेयष्कर हुन्छ ।

    गीतको सुरुमा, बीच–बीचमा र अन्त्यमा संवाद राख्ने शैलीमाथि पनि उनले समीक्षा गर्न आवश्यक छ । गीत भनेको खासमा गीत मात्रै हुनुपर्छ । बीच–बीचमा संवाद राख्नु भनेको संगीतप्रेमीलाई झिँजो गराइदिनु हो । मिठो धेरैपटक सुन्दा पनि अघाइँदैन, तर संवाद एकपटक सुनेपछि पुग्छ । गीतका लागि बारम्बार संवाद पनि सुनिरहनुपर्दा यातना हुन्छ ।

    चिरञ्जीवी पौडेल

  • प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा (भिडियो)

    प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा (भिडियो)

     

    काठमाडौं । गायक एवं सर्जक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीज पर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागमा रूपमा सार्वजनिक गरिएको हो ।

    गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, नायक गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

    आरन प्रोडक्सनले प्रस्तुत गरेको उक्त गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट शनिवार राति सार्वजनिक भएको हो । दलित समुदायको महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले नेपाल प्रेससँग बताए । उनका अनुसार नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याइएको हो । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताए ।

    दुई वर्षअघि सार्वजनिक तिज गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । उक्त गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

    यसैबीच ‘जाले रुमाल फाट्यो’ गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब  ट्रेडिङको शीर्ष स्थानमा उक्लिएको छ । सार्वजनिक भएको २४ घण्टा पुग्दा १२ लाख भन्दा बढीले युट्युवमा हेरिसकेका छन् ।

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक प्रकाश सपूतका यसअघि ‘गलबन्दी’, ‘बोलमाया बोल’, ‘फुटेका चुरा’, ‘बदला बरीलै’, ‘मेरो पनि होइन र यो देश’, ‘पर–पर छु’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराजा’लगायत गीत सार्वजनिक भइसकेका छन् ।

  • नाम परिमार्जन गर्दा ‘एक भगवत गीता’ का पोस्टर र फ्लेक्स नाश, नयाँ बनाउन चटारो

    नाम परिमार्जन गर्दा ‘एक भगवत गीता’ का पोस्टर र फ्लेक्स नाश, नयाँ बनाउन चटारो

    काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को परिमार्जन गरी ‘एक भागवत र एक गीता (सामाजिक कथा) राखिएसँगै निर्माण पक्षलाई पोस्टर छपाइको चटारो थपिएको छ । यसअघि छापिएका पोस्टर टाँस्न नमिल्ने भएपछि नयाँ पोस्टर छाप्नुपरेको हो ।

    आइतबार चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय बैठकले ‘एक भगवत गीता’ नाम परिवर्तन गरी ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ नाम राख्ने सहमति जुटाएको थियो । सो सहमतिअनुसार निर्माण पक्षले चलचित्रको पोस्टर आजै परिवर्तन गरिसकेको छ । पुरानै पोस्टरमा नयाँ नाम राखेर सार्वजनिक गरिएको हो ।

    निर्माता सुनिलकुमार थापाका अनुसार यसअघि चलचित्रका ८ हजार पोस्टर छापिएका थिए । ती पोस्टर अब थन्किने भएका छन् ।

    ‘८ हजार पोस्टर र १०० वटा फ्लेक्स छापेका थियौं । ब्यानर यताउता गरेर १०-१५ लाख खर्च भइसकेको छ । अब फेरि त्यति नै खर्च गर्नुपर्ने भयो’, थापाले नेपाल प्रेससँग भने ।

    पुराना पोस्टर लागेका ठाउँहरुमा फेरि नयाँ पोस्टर बनाएर पठाउन लागिएको उनले बताए । ‘सम्भव भएका ठाउँहरुमा हामी नयाँ पोस्टर पठाउनेछौं । सम्भव नभएको ठाउँमा त कसरी पुर्‍याउनु र ? हामीसँग समय पनि कम छ, रिलिज डेट आइसक्यो’, उनले भने ।

    पुरानो र नयाँ पोस्टरले खासै फरक नपर्ने उनको विश्वास छ । ‘त्यस्तो केही ठूलो परिवर्तन भएको छैन, थोरै परिमार्जन त भएको हो । दर्शकले बुझिहाल्नुहुन्छ’, उनले भने ।

    युट्युबमा सार्वजनिक भएका ट्रेलर, टिजर र गीतमा समावेश भएको नाम भने पुरानै रहने सहमति भएको थापाले बताए । ‘परिवर्तन गर्न नमिल्ने ठाउँमा त यति छोटो समयमा कसरी गर्नु र ? जहाँ जहाँ गर्न सकिन्छ, त्यहाँ त्यहाँ हामी गर्छौं । बाँकी त्यतिकै रहनेछ’, उनले थपे ।

    सर्वपक्षीय छलफलले गरेको निर्णयमा आफू सन्तुष्ट नरहेको थापाले संकेत गरे । ‘असन्तुष्टि त भइहाल्छ नि ! त्यत्रो खर्च गरेर चलचित्र बनायौं । अहिले दोहोरो खर्च हुने भएको छ । कहीं न कहीं चित्त त दुःखिहाल्छ । विपक्षीको कुरा पनि सुन्नैपर्‍यो । हिन्दू धर्ममा आस्था पनि राख्नैप¥यो । हामीले गर्दा कसैलाई अभर नपरोस्, त्यही हो’, उनले भने ।

  • टेकुमा तीज विशेष कार्यक्रम, उद्यमी महिलाहरूलाई हौसला

    टेकुमा तीज विशेष कार्यक्रम, उद्यमी महिलाहरूलाई हौसला

    काठमाडौं । काठमाडौंको टेकुस्थित मचली भैरव मन्दिर परिसरमा बंसीघाट एकल महिला समितिले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    पशुपति शमशेर जबरा प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, कलाकार मदनदास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    जबराले मचली भैरव आफैँमा पवित्र स्थान भएको उल्लेख गर्दै कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए।

    उनले शुभकामना दिँदै सबैलाई रमाइलो गरेर तीज मनाउन आग्रह गरे।

    उनले आगामी दिनमा पनि महिलाहरूलाई आत्मनिर्भर भई आफ्नै नाम र पहिचान बनाउने खालका कामहरूमा अझै बढी जोड दिन  आग्रह गरे।

    उक्त कार्यक्रममा आफ्नो देशमा व्यवसाय गर्दै आएका उद्यमी महिलाहरूलाई सम्मानसमेत गरिएको थियो।

  • ‘भगवत गीता’ को विवादबारे दीपकराज गिरी- व्यवसाय र धार्मिकता दुवैमा आँच आउनु हुँदैन

    ‘भगवत गीता’ को विवादबारे दीपकराज गिरी- व्यवसाय र धार्मिकता दुवैमा आँच आउनु हुँदैन

    काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उब्जेको विवाद अन्तत सुल्झिएको छ । चलचित्र विकास बोर्डमा आज भएको सर्वपक्षीय छलफलले ‘एक भगवत र एक गीता (सामाजिक कथा)’ नाममा सहमति जुटाएको हो ।

    छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रका निर्माता सुनिलकुमार थापा, निर्माता संघका अध्यक्ष नवल खड्का तथा धार्मिक संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । निर्माता तथा अभिनेता दीपकराज गिरीलाई पनि छलफलमा निम्त्याइएको थियो ।

    कुनै पनि विषयमा खुलस्त धारणा राख्ने र बारम्बार विवादमा पनि आउने अभिनेता गिरीले आजको छलफलमा भने सन्तुलित बोले । उनले दुई पक्ष मिल्न जरुरी भएको अभिव्यक्ति दिए ।

    बैठकमा दीपकराजको भनाइ यस्तो थियोः

    यस मुलुकमा हामी ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीहरु छौं । त्यसमा कुनै दुई मत छैन । केही समय अगाडि रिलिज भएको भारतीय चलचित्र ‘आदिपुरुष’ मा पनि विवादहरु आएका थिए । त्यसमा विवाद हुनु स्वाभाविक थियो किनकि त्यो चलचित्र हाम्रो शास्त्रमै आधारित रहेर बनाइएको थियो । चलचित्रमा राम, सीता, हनुमानलगायतका पात्रहरुलाई अस्वाभाविक रुपमा देखाइएको थियो । संवादको त झन् कुरै नगरौं । त्यही भएर हामी सबै नेपालीहरु नै त्यस चलचित्रको विपक्षमा थियौं ।

    तर, त्यो विषय र यो विषय फरक छ । दृष्टिकोणको कुरा हो । तपाईं कसरी हेर्नुहुन्छ भन्ने हो । तपाईं कठोर भएर हेर्नुहुन्छ कि नरम भएर हेर्नुहुन्छ । हामी हिन्दूहरुको सबैभन्दा राम्रो पहिचान भनेको हामी माफी दिन्छौं । भ्रातृत्व वा प्रेम हामीमा भरपुर छ । धर्मलाई हामी अथाह मान्छौं । म आफैं पनि मैले पाएका सफलताको श्रेय ईश्वरलाई दिन्छु । जीवनमा मैले जे पनि पाएको छु, त्यो सबै भगवानको देन हो जस्तो लाग्छ ।

    यो चलचित्रको कुरा गर्ने हो भने ‘भगवत गीता’ रिलिजको संघारमा छ । एउटा उदाहरण दिन चाहें । भारतमा एउटा ‘राम अवतार’ नामक चलचित्र बनेको थियो । जहाँ राम एउटा पात्र हो र अवतार अर्को पात्र । झट्ट सुन्दा ‘राम अवतार’ हाम्रो भगवान रामको कथा भएको चलचित्र हो जस्तो लाग्छ । तर त्यहाँ कुनै धार्मिकता छैन ।

    ‘भगवत गीता’ भन्नेबित्तिकै पनि भगवान कृष्णका कुरा, बाँसुरीका कुरा, धार्मिकताका कुरा हुनुपर्छ भन्ने भनाइमा म पनि समर्थन गर्छु । आस्था मेटिनु भएन । तर, ठ्याक्कै भगवत गीताकै कथा दुरुस्तै राख्नुपर्छ र चलचित्रको नाम भगवत गीता नै नराख भन्नेमा चाहिँ म सहमत जनाउँदिनँ । उहाँहरुको मेहनतमा शंकै नगरे हुन्छ । मैले बुझेसम्म उहाँहरु आफैं कृष्णभक्त हुनुहुन्छ । हरेक धाममा उहाँहरुको उपस्थिति हुन्छ । छोरी आफैं कृष्णको कट्टर भक्त हुन् ।

    केही नगरी एक्कासि यो चलचित्र रिलिज भयो भने भोलि जरुर विरोध हुन्छ, त्यो पनि थाहा छ मलाई । किनकि यो एकदमै संवेदनशील विषय हो । तर, हाम्रो काम तोड्ने होइन, जोड्ने हो । यो चलचित्रले हामीलाई भविष्यको लागि सोच्न बाध्य बनाएको छ । सचेत बनाएको छ । चलचित्रको नाम राख्दा कसैको भावनामा ठेस नपुर्‍याइ, संवेदनशील विषयमा नाम राख्दा एकचोटी सोच्नुपर्ने सन्देश दिएको छ ।

    अहिले हामी यस्तो विन्दूमा छ, जहाँ दुई पक्ष मिलेर अगाडि बढ्न जरुरी छ । धार्मिक विषयमा म पनि संवेदनशील भएकाले धार्मिक आस्थामा ठ्याक्कै चोट नपुर्‍याउने निष्कर्ष निक्लनुपर्छ । मिलेर अगाडि नबढे भोलि यसले ठूलो विरोधको रुप लिनसक्छ । त्यसैले व्यवसाय र धार्मिकता दुवैमा आँच नआउने नतिजा निस्कनुपर्छ । उहाँहरुले पनि नाम स्वाट्टै फेरेर रिलिज गर्न नसक्ने बाध्यता होला । त्यसैले कसरी के गर्न सकिन्छ, के हटाउन सकिन्छ, कसरी मिल्न सकिन्छ त्यता लाग्नुपर्छ । कसैलाई अन्याय नहोस् ।

  • विकास बोर्डमा सहमति जुट्यो- ‘एक भागवत र एक गीता’ नाम फाइनल (भिडिओ)

    विकास बोर्डमा सहमति जुट्यो- ‘एक भागवत र एक गीता’ नाम फाइनल (भिडिओ)

    काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्ष सहमतिमा आएका हुन् ।

    निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए । बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थयो ।

    ‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भागवत र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् ।

    सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ । केहीबेरमा सहमतिबारे औपचारिक घोषणा गरिने भएको छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • भुवन केसीको प्रष्टीकरण- विकास बोर्डले सेन्सर रोक्दैन, रोक्न मिल्दैन

    भुवन केसीको प्रष्टीकरण- विकास बोर्डले सेन्सर रोक्दैन, रोक्न मिल्दैन

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘एक भगवत गीता’ को सेन्सर बोर्डले नरोकेको दावी गरेका छन् । दुवै पक्षलाई सहमतिमा ल्याउन मात्र आफूले प्रयास गरेको उनको भनाइ छ ।
    आज बोर्डमा आयोजित सामूहिक छलफलमा बोल्दै केसीले सो चलचित्रको नाम बाहिर आउनासाथै बोर्डमा निवेदन परेको बताए ।

    ‘यो नाम उपयुक्त हुँदैन भनेर बोर्डमा निवेदन आएको थियो । मैले निर्देशक झरना थापालाई जानकारी पनि गराएको थिएँ । उहाँले हिन्दू धर्ममा आँच आउने कुनै पनि विषयवस्तु चलचित्रमा नरहेको भनेर आश्वस्त तुल्याउनु भयो,’ उनले भने ।

    चलचित्रको निर्माण इजाजत दिने अधिकारी विकास बोर्डसँग भए पनि चलचित्र कस्तो छ भनेर हेर्ने अधिकार आफूहरुसँग नरहेको केसीको भनाइ छ ।

    ‘चलचित्र हेर्ने जिम्मेवारी सेन्सर बोर्डको हो । हामीले सेन्सरका लागि सिफारिस दिने हो । सिफारिस रोक्ने अधिकार विकास बोर्डलाई छैन । हामीले रोकेका पनि होइनौं,’ उनले भने ।

    केसीले थपे, ‘सेन्सर सिफारिस रोकियोस भनेर गुरुहरू आउनुभयो । नरोकियोस् भनेर निर्माण पक्षले माग गर्‍यो । यस्तो सेन्सेटिभ विषयमा निर्णय लिन हामीले केही समय मागेको हो । तर, रोकेको भनेर प्रचार गरियो । हामीलाई एकपटक पनि नसोधिकन सञ्चारमाध्यमले समाचार बनाए ।’

    बोर्ड अब कार्यविधिअनुसार चल्ने उनले प्रष्ट पारे । आफू पनि एक निर्माता भएकाले निर्माताको भावना बुझ्ने, तर बोर्डको अध्यक्षका रुपमा भावुक बन्न नमिल्ने केसीले बताए ।

    ‘मैले सकेसम्म दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गर्ने हो । त्यो नभएमा हामी कार्यविधिअनुसार चल्छौं । सेन्सर सिफारिस रोकिँदैन,’ उनले भने ।

  • भागवत गीताको बीचमा ड्यास थप्ने प्रस्ताव धार्मिक प्रतिनिधिद्वारा अस्वीकार

    भागवत गीताको बीचमा ड्यास थप्ने प्रस्ताव धार्मिक प्रतिनिधिद्वारा अस्वीकार

    काठमाडौं । चलचित्र एक भगवत गीताको नामलाई लिएर उत्पन्न विवाद सुल्झाउनका लागि चलचित्र विकास बोर्डमा छलफल जारी छ ।छलफलको प्रारम्भमा चलचित्रका निर्माता सुनिल कुमार थापाले राखेको प्रस्ताव असन्तुष्ट धार्मिक समूहले अस्वीकार गरे ।

    थापाले ‘भगवत’ लाई भागवत बनाउने तथा भागवत र गीताको बीचमा ड्यास राख्ने प्रस्ताव राखेका थिए । साथै मयु र बाँसुरीको फोटो हटाउने एवं नाममाथि नेपाली कथानक चलचित्र उल्लेख गर्ने उनको प्रस्ताव थियो ।

    थापाको प्रस्तावपछि धार्मिक समूहहरु एकछिन छुट्टै छलफलमा बसे । उनीहरुको छलफलपछि फेरि सामूहिक छलफल भइरहेको छ । यसमा धार्मिक समूहका प्रतिनिधिले थापाको प्रस्ताव अस्वीकार गरेका हुन् ।

    छलफलमा बोल्ने धार्मिक प्रतिनिधिले ड्यास राख्नुको औचित्य नहुने बताए ।‘पोस्टरमा ड्यास राखिए पनि भन्दा भगवत गीता नै भनिने हो,’ उनले भने, ‘यसमा हामी सहमत हुन सक्दैनौं ।’

    उनले चलचित्र रिलिजअघि मात्र नभएर सुरुदेखि नै आफूहरुले नाममा आपत्ति जनाएको उल्लेख गरे । ‘हामीले सुरुदेखि नै उहाँहरुलाई भनेका हौं । चलचित्र जे विषयमा बनेको हो त्यसैसँग सम्वन्धित नाम राख्दा राम्रो हुन्छ,’ उनले भने ।
    कुनै पनि चलिचित्रले कसैको धार्मिक भावनामा चोट पुर्याउनु नहुने उनले बताए ।

  • ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत चर्चामा

    ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत चर्चामा

    काठमाडौं । भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ मा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीतले युट्युबमा राम्राे भ्यूज बटुलिरहेकाे छ । अन्जु पन्त र एसडी योगीको स्वरमा समावेश यो गीतले ५ दिनमा साढे ६ लाख भ्यूज पाएकाे हाे ।

    गीत हिट भएर यसको प्रभाव फिल्मको बक्स अफिसमा पनि पर्ने निर्माण पक्षकाे आशा छ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल शर्माको प्रस्तुति छ । फिल्मको यो गीतमा नायक दयाहाङ राई र नायिका मिरुना मगर फिचरिङ छन् ।

    सुष्मा सिग्देलले लेखेको गीतमा सुशान्त गौतमको संगीत छ । जय श्रेष्ठको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मले राजनीतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् ।

    यसैबिच, फिल्मको प्रदर्शनको दिन नजिकिदै जादा यसको निर्माणपक्षले देशभर प्रचारलाई पनि तिव्रता दिइरहेको छ ।

     

  • भागवत गीताको बीचमा ड्यास राख्ने सुनिल थापाको प्रस्ताव, बोर्डमा छलफल जारी

    भागवत गीताको बीचमा ड्यास राख्ने सुनिल थापाको प्रस्ताव, बोर्डमा छलफल जारी

    काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उब्जिएको विवाद समाधानका लाग चलचित्र विकास बोर्डमा निर्णायक छलफल जारी छ । चलचित्रका निर्माता सुनिल थापाले नाम परिमार्जनबारे आफ्नो नयाँ प्रस्ताव राखेका छन् ।

    थापाले भगवतलाई भागवत बनाउने तथा भागवत र गीताको बीचमा ड्याससमेत राख्ने प्रस्ताव सामूहिक छलफलमा गरेका हुन् । उनले प्रस्तावित नयाँ नामसहितको पोस्टरसमेत असन्तुष्ट पक्षलाई देखाए ।

    थापाले पोस्टरबाट मयुरको र बाँसुरी हटाउने तथा ‘नेपाली सामाजिक चलचित्र’ लेख्ने पनि बताएका छन् । उनले पेश गरेको प्रस्तावलाई लिएर असन्तुष्ट धार्मिक समूहका प्रतिनिधिहरु आन्तरिक छलफलमा बसेका छन् ।

    आजै सहमति जुटाएर चलचित्रलाई सेन्सर सिफारिस दिने बोर्डको तयारी छ ।

  • चलचित्र ‘मायावी’ मा सुशील अनुबन्धित

    चलचित्र ‘मायावी’ मा सुशील अनुबन्धित

    काठमाडौं । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशील सिटौला निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् ।

    निर्देशक भट्टराईले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशीलले यस अघि अभिनय गरेका होस्टेल रिटन्स्, गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचोबाट आफनो कामको निकै प्रशंसा पाएका थिए ।

    निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए ।

    फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाई मुख्य कलाकारको रुपमा फाइनल भइसकेका छन् । पल शाहले करिब २ बर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । नायिका प्रसाँइले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छिन् ।

    क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।

    दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

  • ‘एक भगवत गीता’बारे विकास बोर्डमा निर्णायक छलफल, आजै सेन्सर सिफारिस पाउने

    ‘एक भगवत गीता’बारे विकास बोर्डमा निर्णायक छलफल, आजै सेन्सर सिफारिस पाउने

    काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ को नाममाथि उत्पन्न विवादलाई लिएर आज चलचित्र विकास बोर्डले निर्णायक छलफल बोलाएको छ । आजै सेन्सरका लागि सिफारिस दिइने पनि विकास बोर्ड स्रोतले बतायो ।

    विकास बोर्डले चलचित्रको सेन्सर रोकेको भनेर गलत प्रचार गरिएको स्रोतको भनाइ छ ।

    ‘खासमा विकास बोर्डले रोक्नै मिल्दैन र रोकेको पनि होइन,’ स्रोतले भन्यो, ‘हामीले शुक्रवारै सिफारिस दिने भनेका थियौँ, तर निर्माण पक्षले नाम थप परिमार्जन गरी धार्मिक समूहहरूलाई पनि सहमतिमा ल्याएर आइतबार लिने भनेपछि रोकिएको हो ।’

    यसैबीच, चलचित्रकी निर्देशक झरना थापाले हिजो मध्यरातमा फेसबुकमा पीडादायी स्टाटस लेखिन् । उनले चलचित्रबाट श्रीमदभागवत गीताको अवहेलना नभएको प्रष्ट पार्दा पनि सेन्सर सिफारिस नदिइएको बताएकी छन् ।

    तर, स्रोतले भने बोर्डलाई आरोप लगाएर निर्देशक थापाले भावनात्मक समर्थन हासिल गर्न खोजेको टिप्पणी गर्‍यो । ‘शुक्रवार उहाँहरूले नै सिफारिस लिन चाहनुभएन । आज सिफारिस पाउनुअघि स्टाटस लेखेर बोर्डलाई दोषारोपण गर्न खोज्नुभयो,’ स्रोतले भन्यो ।

    आज बोर्डले चलचित्रको नाममाथि आपत्ति जनाएका धार्मिक संघ–संस्थाहरूलाई निर्णायक छलफलका लागि बोलाएको हो । नाममाथि सहमति जुटे पनि नजुटे पनि बोर्डले सिफारिस नरोक्ने स्रोतको भनाइ छ ।

    ‘सम्भवतः आज सहमति जुट्छ होला, जुटेन भने पनि बोर्डका तर्फबाट पत्रकार सम्मेलनमार्फत आफ्नो प्रष्टीकरणसहित सेन्सर सिफारिस दिइन्छ,’ स्रोतले भन्यो ।

    आजको छलफलमा बोर्डका पदाधिकारी, धार्मिक समूहहरूको प्रतिनिधि, निर्माता संघका प्रतिनिधि र चलचित्र निर्माण पक्ष सहभागी छ ।

    हिन्दूहरुको महान् ग्रन्थको नाममा दुरुपयोग गरिएको भन्दै धार्मिक समूहहरूले विकास बोर्डमा निवेदन दिएका थिए ।

    निर्माण पक्षले भने फिल्मले श्रीमदभागवत गीतालाई अवहेलना नगरेको र फिल्मको कथावस्तु धार्मिक नभएको प्रष्टीकरण दिइरहेको छ । फिल्म रिलिज हुने संघारमा सेन्सर रोकिएपछि निर्माण पक्ष छटपटीमा परेका हुन् ।