Category: कलाप्रेस

  • ‘दमिनी भीर’माथि गैंती हानिरहेकी लच्छी

    ‘दमिनी भीर’माथि गैंती हानिरहेकी लच्छी

    काठमाडौं । राजन मुकारुङद्वारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘दमिनी भीर’ (२०६९) ११ वर्षपछि स्टेजमा उक्लिएको छ, नाटकको रुपमा । नाटकका पात्रहरुले विभेदको डरलाग्दो विम्ब बनेको ‘दमिनी भीर’माथि गैंती, बेल्चा चलाइरहेका छन् । नाटकले भन्छ- आज पनि लच्छी वा धौले कान्छाहरुको नियति उस्तै छ । उनीहरु कतै न कतै जब्बर बनेको जातीय विभेदका अग्ला अग्ला भीरहरुमाथि गैंती हानिरहेकै छन् ।

    दोस्रो जनआन्दोलनको संघारलाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यासले उठाएको मुद्दा आज झण्डै दुई दशकपछि पनि उत्तिकै सान्दर्भिक देखिन्छ । अहिले पनि यसरी सान्दर्भिक देखिनुमा हामीले तमाम परिवर्तनलाई कसरी आत्मसात गर्‍यौं त ? मण्डला थिएटर, थापागाउँमा चलिरहेको नाटकले सोधिरहेको यक्ष प्रश्न हो यो ।

    नाटकको सुरुमै सुके दमाईको सहनाई दुई टुक्रामा भाँचिन्छ । ऋण तिर्न नसकेर घर छाडेका सुकेकी भर्खर विवाह गरेकी श्रीमतीमाथि मुखियाको गिद्धे नजर पर्छ । सुकेकी श्रीमतीलाई मुखियाले बलात्कार गर्छ । अन्याय सहन नसकेर सुकेकी श्रीमती गाउँकै अग्लो भीरबाट हाम फाल्छिन् । सुकेको सहनाई श्रीमतीको आत्महत्यासँगै भाँचिन्छ ।

    त्यस दिनदेखि उक्त भीरको नाम रहन्छ, ‘दमिनी भीर’ !

    सुकेकी श्रीमतीले हाम फालेको उक्त भीरलाई भत्काउन सम्पूर्ण गाउँलेहरु गैंती, बेल्चा, झम्पल लिएर उत्रन्छन् । त्यो गाउँलेहरुको भीडमा हुन्छे, लच्छी । जो हिजो भीरबाट हाम फाल्ने दमिनी जस्तै निरीह छैनन् । बरु उनको जीवनमा जे जति आँधीहुरी आए, ती सबैलाई झेलेर न्यायको बाटोमा अग्रसर छिन् ।

    लच्छी तल्लो जातकी हुन् । उनलाई ललाइफकाइ गाउँकै सामन्तको छोरा चेतनले बलात्कार गर्छ । छोरी बलात्कार भएको थाहा पाएपछि आक्रोशित बनेकी लच्छीका आमा हसियाँ लिएर चेतनलाई काट्न जान्छे । तर, साँझमा मातेर फिर्छे । उनको केही जोर चल्दैन । बस् रुन्छिन् ।

    लच्छीकी आमाको आँसुले भन्छ, जातीय विभेदको संरचनामा निर्मित समाजमा उनीहरुको हैसियत के हो ? उनीहरुले पाउने न्याय कति धेरै टाढा र असम्भव छ, लच्छीकी आमाको आँसुसितको बोली काफी छ ।

    लच्छीकी आमाको निराश बोलीपछि चेतनकी आमाले लच्छीका लागि कुनै अर्को पुरुष ल्याउँछिन् । त्यो पनि आफ्नो छोरालई उन्मुक्ति दिन । तर, लच्छीले मान्दिनन् । आफ्नो पेटको बच्चालाई एक्लै हुर्काउने उद्घोष गर्छिन् ।

    नाटकले लच्छीको यही बोल्ड निर्णयबाट गति लिन्छ । उक्त निर्णयका कारण समाजमा उनले सहन परेको लाञ्छना, गालीगलौज, अवहेलना, अपमानको फेहरिस्त लामै हुन्छ । समाजले गर्ने छिःछि र दूरदूरको श्रृंखला अझ लामो हुन्छ । प्रश्नैप्रश्नको बीचमा समाजले गर्ने तिरस्कारको कथा झनै लम्बेतान हुन्छ । तर, लच्छी आफ्नो न्यायको बाटोमा कतै टसमस हुँदिनन् ।

    लच्छीको जीवनका आरोहअवरोह र संघर्षपूर्ण यात्रामा जोडिन आउने पात्रहरुले नाटकलाई अगाडि बढाउँछ । लच्छीको शरीरमाथि आँखा गाड्नेहरुदेखि उनलाई निःस्वार्थ प्रेम गर्ने धौले कान्छाहरु पनि लच्छीकै कथामा तानिन्छन् । लच्छीकै कथामा थुंगा थुंगा बनेर पात्रहरु उनिँदै जान्छन् र शहर छिरेर ‘कथित ठूलो मान्छे’ बनेको चेतनसम्म पुगेर नाटक टुंगिन्छ ।

    हिजोसम्म ‘चेतनले स्वीकार्नुपर्छ’ मात्रै भनिरहेकी लच्छी अन्तिममा चेतनले अपराध स्वीकार गरेपछि जीवनका बाँकी यात्रा धौले कान्छासित तय गर्ने निचोडमा पुग्छिन् । त्यति धेरै लामो समयसम्म चेतनबाट न्यायको खोजी गरिरहेकी लच्छीले चेतनलाई यत्तिकै किन छाड्छिन् ? दर्शकलाई नाटकले चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।

    तर, गाउँलेले अन्तिम निर्णय गर्ने अधिकार लच्छीलाई दिन्छन् । लच्छीले चेतनलाई इन्कार गर्छिन् । हिजोसम्म ‘स्वीकार्नुपर्छ’ भनिरहेकी लच्छीले एकाएक किन त्यस्तो निर्णय गर्छिन् ? नाटकले ठोस जवाफ त दिँदैन । तर, लच्छी स्वयंले निर्णय गर्ने जुन अधिकार पाएकी छन्, त्यसले जनजाति समुदायमा महिलाले कतै न कतै पाउने सानो स्पेसलाई देखाइएको छ । लच्छीले जे निर्णय लिन्छिन्, गाउँलेहरु उनको निर्णयमा सहमत हुनुको विकल्प नै हुँदैन ।

    जात व्यवस्थाले कथित तल्लो जातका मानिसहरुको न्यायको खोजीलाई कसरी गुमराहमा राख्छ ? लच्छीको दुःख, संघर्ष र न्यायको खोजीमा केन्द्रित नाटकले जवाफ दिने कोसिस गरेको छ । जातीय विभेदको चपेटामा थिलथिलो बनेकाहरुको न्यायको बाटो कति सकसपूर्ण हुन्छ, लच्छीमार्फत् ‘दमिनी भीर’ले देखाउन खोजेको छ । पहुँचविहीन हुनु र त्यसमा पनि कथित तल्लो जातको हुनुपर्दा कस्ता अक्करे ‘दमिनी भीर’हरु खडा हुन्छन्, नाटकले देखाउन खोजेको छ ।

    उपन्यासमा लेखक राजन मुकारुङले साकेलाको बिटमा भाषा चलाएका छन् । वाक्य संयोजन नै सिलीको बनोटमा छ । उपन्यासले भाषागत शिल्पहरु प्रयोग गरेर मुख्य रुपमा जुन मुद्दा उठाएको छ, नाटकमा त्यसलाई सम्बोधन हुने गरी पात्रहरुको उठान गरिएको छ । उपन्यासका सबै पात्र नाटकमा छैनन् । तर, उपन्यासका सबै मुद्दा नाटकमा समेटिएका छन् । यसमा निर्देशक इंगिहिपो कोइँच सुनुवारको निर्देशकीय कला देखिन्छ ।

    नाटकले मुख्यतया पूर्वी नेपालको राई समुदायमा पुर्‍याउँछ । भाषाको लवज, पात्रहरुको बाँच्ने तरिकाले दर्शकलाई राई गाउँमै पुगेको आभास दिलाउँछ । नाटकका हरेक पात्रहरुसँग अगणित दुःख छन् । तर, उनीहरु दुःखैमात्र बोकेर हिँड्दैनन् । उनीहरु दुःखैमात्र देखाएर हिँड्दैनन् । न उनीहरु दुःखलाई लुकाएर हिँड्छन् न त दुःखलाई लतारेर नै हिँड्छन् । यही नै राई समुदायको विशेषता हो ।

    मुख्यतयाः पाश्र्वमा बजिरहने सहनाई न लच्छीको मात्रै हो न त भीरबाट हाम फाल्ने सुकेकी श्रीमतीको मात्रै हो । सम्पूर्ण दलितहरुको व्यथा बनेर बजिरहन्छ सहनाई । सहनाईको क्रन्दनभित्र लच्छीहरुको आँसु लतपतिए जस्तो लाग्छ दर्शकलाई । रङहरुको संयोजनले पात्रहरुको मनस्थिति, अवस्थालाई सुन्दर तरिकाले चित्रित गरिएको छ ।

    नाटकमा चेतनकी आमा, खच्चड ड्राइभर जस्ता फिलरको रुपमा आएका पात्रहरु पनि छन् । उनीहरु सबै लच्छीसित ठोक्किन्छन् र त्यही सकिन्छन् । चेतनकी आमा पनि लच्छीलाई डमी बेहुला खोजिदिएपछि पुनः देखा पर्दिनन् । सबै गाउँलेहरु देखापर्दै गर्दा गाउँकै मुख्यानी चेतनकी आमा पनि कतै कतै देखिएको भए लच्छी र मुख्यानीबीचको द्वन्द्वले नाटकलाई झनै सघन बनाएर लैजान सक्थ्यो । लच्छीको न्यायको बाटोमा तगारो जस्तो बनेकी मुख्यानी पुनः देखापरेकी भए लच्छीको संघर्षपूर्ण यात्रालाई दर्शकले अझै थप आत्मसात गर्न सक्थे ।

    नाटकमा लच्छीको भूमिकामा पुनम थापाको अभिनय अब्बल छ । लच्छीलाई हरतरहले साथ दिने धौले कान्छाको रुपमा किरण चाम्लिङ राईले बेजोड अभिनय गरेका छन् । रियर राईले खच्चड ड्राइभर र चेतनको दुईवटा भूमिका निर्वाह गरेका छन् । दुवै भूमिकामा प्रश्न गर्ने ठाउँ दिएका छैनन् । अन्य कलाकारहरुको अभिनयले नाटकलाई झनै सुन्दर बनाइदिएको छ । निर्देशक सुनुवारले निर्देशकको रुपमा उपन्यासलाई जति मेहनत गरेर दृश्यमा उतारेका छन्, त्यो प्रशंसनीय छ ।

    तस्विरहरु : मण्डला थियटर

  • चलचित्र बोर्डले यी ११ जना कलाकारलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गर्ने

    चलचित्र बोर्डले यी ११ जना कलाकारलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गर्ने

    काठमाडौं । चलचित्र विकास बोर्डले संविधान दिवस २०८० का अवसरमा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिसहित ११ जना कलाकारहरुलाई सम्मान गर्ने भएको छ ।

    बोर्डकाे आइतबार बसेको बैठकले उनीहरुलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गरिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनीहरुलाई पुरस्कार प्रदान गर्नेछिन् ।

    पुरस्कृत हुनेहरुमा कलाकार मदनकृष्ण श्रेष्ठ, विजयराज तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पडित तथा मीन बहादुर भाम रहेका छन् ।

     

  • अस्कर अवार्डका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

    अस्कर अवार्डका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

    काठमाडौं । अमेरिकामा आगामी वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि ‘हल्कारा’ लाई सिफारिस गरिएको छ ।

    अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले विक्रम सापकोटा निर्देशित चलचित्र ‘हल्कारा’ लाई अस्कर अवार्डका लागि सिफारिस गरेको हो । राजु केसी अध्यक्षतामा रहेको उक्त समितिले प्राप्त ५ चलचित्रमध्ये उक्त फिल्मलाई सिफारिस गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको हो ।

    नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई असोज २९ सम्मको म्याद दिएर फिल्म बुझाउन आग्रह गरेको थियो । समितिको आव्हानअनुसार ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र बगानले आवेदन दिएका थिए ।

    प्रतिस्पर्धाका लागि प्राप्त चलचित्रमध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, कलान्तक बनोट, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोटलाई ध्यान दिएर नेपालको प्रतियोगीका रूपमा ‘हल्कारा’ लाई सामेल गराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

    ‘हल्कारा’ मा महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य अभिनय छ ।

    त्रिपाठीले वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट पनि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए भने चिन्तन राजभण्डारीले सर्वश्रेष्ठ छायांकारको उपाधि हासिल गरेका थिए ।

  • ‘वानर सेना’को ट्रेलर सार्वजनिक

    ‘वानर सेना’को ट्रेलर सार्वजनिक

    काठमाडौं । यही असोज १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट लामो ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ ।

    अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को कथा पौराणिक रहेकाले पनि दशैंको आसपासमा रिलिज गर्न लागेको जानकारी निर्माण टीमले दिएको छ ।

    गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

    फिल्ममा विनोद सापकोटाको छायांकन, रवि केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रवीण ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ ।

    फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • ‘किलिमन्जारो’ को अफ्रिका विमोचन तथा परिचर्चा

    ‘किलिमन्जारो’ को अफ्रिका विमोचन तथा परिचर्चा

    काठमाडौ् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको साहित्यिक प्रकाशन अफ्रिका महादेशीय नेपाली श्रष्टाहरूको सिर्जनाको सङ्गालो ‘किलिमन्जारो’ को अफ्रिका विमोचन तथा पुस्तक परिचर्चा पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्ड, भिक्टोरियामा सम्पन्न भएको छ ।

    हरितालिका तीजको अवसर पारेर आइतबार आयोजना गरिएको उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको सहकार्यमा भएको थियो ।

    एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसीसी महिला उपाध्यक्ष एस्मिन बेगम, विशेष अतिथि महिला सचिव राधिका गुरुङ तथा अतिथिहरुमा युवा उपाध्यक्ष रोशन थापा र अफ्रिका क्षेत्रीय उप-संयोजक रामप्रसाद पन्तले भर्चुअलरूपमा शुभकामना मन्तव्य दिएका थिए ।

    प्रत्यक्ष उपस्थितिका अतिथिहरूमा अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष तथा विमोचित पुस्तक ‘किलिमन्जारो’ का प्रधानसम्पादक गणेश खड्का, अनेसास अफ्रिका च्याप्टर कार्यसमिति सदस्य तथा एनआरएनए सेसेल्स संरक्षक रामचन्द्र राई, एनआरएनए सेसेल्स प्रमुख सल्लाहकार दुर्गाबहादुर थापा साथै सेसेल्सका समाजसेवी तथा नेपाल जानकार मिस्टर लुइसेल कन्स्ट्यान्स थिए ।

    विमोचित पुस्तक परिचर्चा गर्दै अनेसास अफ्रिका च्याप्टर अध्यक्ष गणेश खड्काले उक्त पुस्तकको नेपाल विमोचन २०७९ मङ्सिरमै नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको तर पुस्तकमा अफ्रिका महादेशीय नेपाली श्रष्टाहरुका सिर्जना समेटिएकोले पनि यसको अफ्रिका विमोचन गर्नु आवश्यकता महसुस भएको बताए ।

    कार्यक्रममा करिब तीन सय जना आप्रवासी नेपाली उपस्थित थिए ।

  • नाटक लिएर विभिन्न सहर पुग्दै परदेशी-२ टिम

    नाटक लिएर विभिन्न सहर पुग्दै परदेशी-२ टिम

    काठमाडौँ । यही असोज २६ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ ले आफ्नो कथामा आधारित नाटक विभिन्न सहरमा देखाउने भएको छ ।

    चलचित्रको प्रमोसनलाई तीव्र बनाउँदै परदेशी २ टिमले पश्चिमका सहरहरूमा नाटक देखाउन लागेको हो । निर्माणपक्षले असोज ४-५ नारायणगढ, ७-८ नेपालगन्ज , ९-१० बुटवल र ११-१२ पोखरामा नाटक प्रदर्शन गर्ने जनाएको छ ।

    नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

    गायक सपूतले यही चलचित्रबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन् । चलचित्रको निर्माता राजेश बंशल हुन् ।

  • ‘एक भागवत र एक गीता’ : एक दृष्टि

    ‘एक भागवत र एक गीता’ : एक दृष्टि

    काठमाडौं । मधेसभित्रको कथा बुनेर, मधेसी पात्रहरुलाई मुख्य चरित्र बनाएर नेपालमा कमै चलचित्र बनेका छन् । यस्ता चलचित्रमा खासै व्यापारिक स्कोप हुँदैन । तर, सुनिलकुमार थापा-झरना थापा कृत ‘भगवत गीता’ (परिमार्जित नाम ‘एक भागवत र एक गीता’) ले यो ‘धृष्टता’ गरेको छ ।

    यस चलचित्रको नामलाई लिएर खुबै विवाद भएको थियो । हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थलाई साभार गरेर नाम राखिएकोमा विभिन्न हिन्दूवादी संघसंस्थाले आपत्ति जनाए । अन्तमा प्रारम्भिक नाम ‘भगवत गीता’ लाई तोडमोड गर्दै ‘एक भागवत र एक गीता’ राखियो । चलचित्र हेरेपछि थाहा हुन्छ कि यसको नाम ‘भागवत गीता’ नराखी नहुने थिएन । दुई पात्रको नामबाट चलचित्रको नामकरण गरिएको छ । पात्रको नाम त जे पनि राख्न सकिन्थ्यो ।

    खैर, नाममा के छ । नामले चलचित्र हिट र फ्लप हुने होइन, कामले हो । कामको कुरा गर्दा झरना थापाले एउटा स्तरीय र मौलिक चलचित्र त दिएकी छन् । तर, यसले ‘मास अडियन्स’लाई आकर्षित गर्न कठिन छ ।

    अलिकति ‘क्लीस्ट’ कथावस्तुमा बनेको छ एक भागवत र एक गीता । व्यवसायिक निर्माता–निर्देशकले यस्तो कथामा हात हाल्ने हिम्मत नै गर्दैनन् । सुनिल थापा र झरना थापाले जोखिम मोलेका छन् । उनीहरुले छोरी सुहाना थापाको करिअरमाथि पनि जुवा खेलेका हुन् ।

    यस चलचित्रमा दुई वटा प्रमुख विशेषता छन् । पहिलो, यसले मधेश र पहाडलाई जोड्ने प्रयास गरेको छ । दुई समुदायबीच सामाजिक अन्तरघुलन देखाउन खोजिएको छ । मधेशकी युवती र हिमाली भेगका युवकको प्रेमलाई चलचित्रले निकै मीठो शैलीमा पेश गरेको छ । चलचित्रको मुख्य सौन्दर्य यही नै हो । चलचित्रमा मधेशको सुगन्ध भने हिमालको ताजा हावा पनि बहेको छ ।

    दोस्रो चाहिँ, चलचित्रले यौनिक र लैंगिक अल्पसंख्यकहरुको पक्षमा आवाज उठाएको छ । नेपालमा तेस्रो लिंगीहरुमाथि केही चलचित्र बनेका छन् । तर, यो चलचित्रले जत्तिको सशक्त रुपमा उनीहरुको पक्षमा वकालत सायदै अरुले गरेका थिए । एउटा बालकमा बालिकाका गुणहरु देखिएपश्चात उसले परिवार र समाजबाट भोग्नुपर्ने तिरस्कारलाई चलचित्रमा मार्मिक रुपमा उतारिएको छ ।

    झरना थापा आफैंले लेखेको चलचित्रको कथा खँदिलो नै छ । पाँच जनाले लेखेको पटकथामा ठ्याक्कै यो मिलेन भन्ने ठाउँहरु खासै छोडिएको छैन । यद्यपि, सुरुवाती दृश्यहरु बोझिला लाग्छन् । चलचित्रले गति लिन समय लाग्छ । तर, गीता र भागवत घरबाट भागेपछि दर्शक चलचित्रको कथामा बाँधिन्छन् । यसबीचमा थुप्रै घतलाग्दा दृश्यहरु छन् । बालक भागवतका बदमासी, धीरज र सुहानाको नोकझोक अनि, सेते साहुले सुहानालाई पट्याउन गरेको मेहनतले मनोरञ्जन दिन्छन् ।

    मनोरञ्जनसँगै चलचित्रले यौनिक अल्पसंख्यकको मुद्दालाई उठाउन खोजेको छ । तर, चलचित्रको कमजोरी चाहिँ ‘किन्नर किन्नरी’ हुन्, जसलाई हेर्दा दर्शक बोरमात्र हुन्छन् । विपीन कार्कीको ‘कमलामाई’ चरित्रमा ‘ब्लन्डर’ नै भएको छ । जति प्रयास गरे पनि उनको चरित्र दर्शकको मनमा बस्न सक्दैन र उनले बोल्ने गहन संवादहरुले छुन सक्दैन । कमलामाईको ब्याकग्राउन्ड स्टोरी पनि कमजोर छ । कथामा ट्वीस्ट ल्याउन उनको चरित्रलाई धीरजसँग जबरजस्ती जोडिएको छ, जुन त्यति विश्वसनीय र सुरुचिपूर्ण लाग्दैन । चलचित्रले विपीनलाई खेर फालेको छ ।

    जुनसुकै क्यारेक्टरमा पनि आफ्नो विशेष प्रभाव छोड्न सक्ने खुबी भएका कलाकार हुन् विपीन । तर, कमलामाईमा उनको त्यो ‘विशेष प्रभाव’ भेटिँदैन । कमलामाई पर्दामा देखिँदा ‘इरिटेटिङ’ लाग्छ । कमलामाईले बोल्ने लवजमा पनि विपीनले कुनै मौलिकता दिन खोजेका छैनन् । उनको चरित्रमा विपीनकै आवाज सुनिन्छ । आफ्नो चरित्रलाई खँदिलो बनाउन सबै बलबुता लगाउने विपीनले यो चलचित्रमा भने अल्छी गरे जस्तो महसुस हुन्छ ।

    चलचित्रमा प्रमुख भूमिका निभाएकी सुहानाले मधेशी भाषा र लवजमा संवाद सम्प्रेषण गर्न निकै मेहनत गरेकी छन् । चलचित्रभरि उनी छाएकी छन् । सुहानाको अभिनय भने औसत छ । वाउ भन्नुपर्ने पनि छैन, छ्या भन्नुपर्ने पनि छैन । उनले आफू जस्तोसुकै भूमिकाका निम्ति पनि तयार रहेको सन्देश भने दिएकी छन् ।

    चलचित्रमा बाल कलाकारको भूमिका निकै सशक्त छ । बाल कलाकारमार्फत नै कथा भन्ने प्रयास गरेकी छन् निर्देशक थापाले । हामीले धेरै चलचित्रमा एउटा कलाकारले डबल रोल गरेको देखेका छौं । तर, यो चलचित्रमा दुई बाल कलाकारले ‘सिंगल रोल’ खेलेका छन् । जेभिस र जेभिन श्रेष्ठ उस्तै अनुहार भएका जुम्ल्याहा हुन् । उनीहरु दुवैले चलचित्रमा ‘भागवत’ को भूमिका निभाएका छन् । निर्देशकका अनुसार कुनै दृश्यमा जेभिसले र कुनैमा जेभिनले अभिनय गरेका हुन् । दर्शकले कतै पनि फरक छुट्याउन सक्दैनन् । ९–१० वर्षका बालकबाट यतिको अभिनय निकाल्न सक्नु पनि निर्देशकको सफलता नै मान्नुपर्छ ।

    धीरज राई आफ्नो भूमिकामा फिट छन् । उनले अभियनमा सुहानासँग उनको कमेस्ट्री मिलेको छ । चलचित्रमा उनको भूमिका भने सीमित छ ।

    अन्य कलाकारहरुमध्ये रियर राईको भूमिका छोटो तर रोचक छ । उनले राम्रै मनोरञ्जन दिन्छन् । कविर खड्का, अनुराग कुँवर, सञ्जोग रसाइलीलगायतले पनि आफ्नो भूमिकामा न्याय गरेका छन् ।

    चलचित्रका गीतहरु कर्णप्रिय छन् । गीतहरु पहिल्यै रिलिज गरेर राम्ररी प्रमोसन गरिएको भए चलचित्रको व्यापारमा फाइदा मिल्न सक्थ्यो । ब्याकग्राउन्ड म्युजिकले पनि कथाको बहावलाई साथ दिएको छ ।

    निर्देशनको पाटोबाट झरना थापा सफल छिन् । उनले अहिलेसम्म निर्देशन गरेका चलचित्रमध्ये एक नम्बरमा यसलाई राख्न सक्छिन् । हरेक दृश्यमा उनको मेहनत झल्किन्छ । राम्रो चलचित्र बनाउन उनले इमानदार प्रयास गरेकी छन् । कथाको मागलाई सम्बोधन गर्न कतै पनि सम्झौता गरिएको छैन । प्राविधिक रुपमा चलचित्र उन्नत कोटीको बनेको छ ।

    यो आमदर्शकलाई अपिल गर्ने फिल्म होइन । तर, फिल्ममा मौलिकता खोज्ने र फरक ‘कन्टेन्ट’ मा इन्जोय गर्नेहरुका लागि हेर्नलायक फिल्म अवश्य हो ।

    – चिरञ्जीवी पौडेल

  • ‘हात्तीछाप’ को फस्टलुक- ‘बोत्तल राजा’ को पात्रमा देखिए सौगात

    ‘हात्तीछाप’ को फस्टलुक- ‘बोत्तल राजा’ को पात्रमा देखिए सौगात

    काठमाडौं । चलचित्र ‘हात्तीछाप’ को प्रदर्शन मिति घोषणा भएको छ । किरण नेपालीको प्रस्तुतिमा रहेको सो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

    सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुने पक्का भएको छ ।

    यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत गरिएको छ ।

    प्रदीप भारद्वाजको लेखनमा तयार भएको यो फिल्ममा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडाको अभिनय छ ।

    यस्तै पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

    यो फिल्ममा सुशन प्रजापतिको छायांकन छ । काठमाडौं र पोखरामा खिचिएको फिल्मले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो ।

    फिल्म ‘हात्तीछाप’ मा पनि ‘२ नम्बरी’ कै हिट टीम दोहोरिएको छ । यो फिल्ममा राजिव गुरुङ, पुष्कर गुरुङ र अमलादेवी राइको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

    यो फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मसको वितरण रहनेछ ।

  • मकवानपुरे साहित्यकार प्रियबन्दना र सहकारीकर्मी योञ्जनलाई जागरूक महिला सम्मान

    मकवानपुरे साहित्यकार प्रियबन्दना र सहकारीकर्मी योञ्जनलाई जागरूक महिला सम्मान

    हेटौँडा । मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरूक महिला सम्मान २०८० प्रदान गरिएको छ ।

    सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा शनिवार एक कार्यक्रमकाबीच दुई जनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरूक महिला सम्मान प्रदान गरिएको हो ।

    साहित्य र सहकारीको क्षेत्रबाट महिला सशक्तिकरणमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

    सम्मानपछि साहित्यकार बन्दनाले रेडियोले गर्दै आएको भूमिकाको प्रशंसा गरिन् । अहिले पनि समाजमा महिला हिंसा र थिचोमिचो कायमै रहेको भन्दै उनले महिलालाई गरिने यस्ता सम्मानले अरूलाई पनि हौसला मिल्ने बताइन् ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

    रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा दुई महिलालाई जागरूक सम्मान प्रदान गर्दै आएको रेडियोका अध्यक्ष पराजुलीले जानकारी दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्री डिनाले चाडपर्वमा अनावश्यक खर्च नगर्न अनुरोध गर्दै संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन आग्रह गरिन् ।

    चाडपर्वको नाममा अनावश्यक विकृति भित्रिएको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन् । कार्यक्रमका सहभागीमध्ये तीन जनालाई लक्की ज्वेलर्सले गोलाप्रथा मार्फत सुनचाँदीको गहना समेत प्रदान गरेको थियो ।

  • हलमा टिकटको खडेरी छ भन्ने सुन्दा खुसी लाग्छ : दयाहाङ राई

    हलमा टिकटको खडेरी छ भन्ने सुन्दा खुसी लाग्छ : दयाहाङ राई

    काठमाडौं । शुक्रवारबाट देशभरि प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ ले दर्शकहरूको साथ राम्रो पाइरहेको छ ।

    रिलिजदेखि नै मल्टिप्लेक्सहरुमा दर्शकको चाप रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रका अभिनेता दयाहाङ राईले अहिले हलमा टिकटका लागि पर्खिनुपर्ने अवस्था देखिएको बताए ।

    फिल्म हेर्न हलमा टिकटको खडेरी भएर दर्शकले नपाएको सुन्दा निर्माण पक्षको मेहनत खेर नभएको आभास हुने गरेको उनले बताए ।

    शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज दोस्रो दिन दर्शकहरूले मन पराइरहनुभएको छ । हलमा टिकटको खडेरी छ भन्दा खुसी पनि हुन्छ । निर्माता र निर्देशकको मुहारमा मुस्कान देख्दा आफूले गरेको मेहनत खेर नगएको आभास हुन्छ ।’

    जारीको रेकर्ड तोड्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘त्यसरी न हेरौँ होला । स्क्रिनको हिसाबले भयो है भन्न सकिनन् । हामीले भन्दा धेरै शो जवानले पाएको छ। व्यावसायिक रेकर्ड तोड्छ भने राम्रै हो तर पहिले निर्माताको लगानी सुरक्षित हुन पर्छ र हुन्छ भन्नेमा विश्वस्त छु। रेकर्ड तोड्छ नै भन्ने ग्यारेन्टी चाहिँ दिन सकिने अवस्था छैन ।’

  • ‘एक भागवत र एक गीता’ ले सकारात्मक प्रतिक्रिया पाएपछि झरना भन्छिन्- अंकभन्दा दर्शकको स्याबासी महत्त्वपूर्ण

    ‘एक भागवत र एक गीता’ ले सकारात्मक प्रतिक्रिया पाएपछि झरना भन्छिन्- अंकभन्दा दर्शकको स्याबासी महत्त्वपूर्ण

    काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको झरना थापाद्वारा निर्देशित ‘एक भागवत र एक गीता’ ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ ।

    दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएपछि निर्देशक थापा आफ्नो सिनेमाका लागि बक्स अफिसको अंकभन्दा दर्शकको स्याबासी महत्त्वपूर्ण बताउँछिन् ।

    विशेष शो मा बोल्दै उनले भनिन्, ‘मलाई व्यापारिक सफलताभन्दा पनि प्रतिक्रिया महत्त्वपूर्ण लाग्छ । बक्स अफिस भनेको त हिजो पनि थियो मेरो । त्यसैले त्यसको त्यति धेरै चाहना छैन । मेरो चाहना चाहिँ दर्शकले स्याबासी दिउन् भन्ने हो, जुन यतिबेला मैले पाइरहेकी छु ।’

    शुक्रवार आयोजित सिनेमाको विशेष शोमा सिनेमाकर्मी, पत्रकारलगायत उपस्थिति पाहुनाबाट निर्माण पक्षले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

    सिनेमा हेर्न पुगेका निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी लगायतले यो सिनेमाबाट नयाँ विषयमा बहस सुरु गरेको बताए ।

    सिनेमा हेरेपछि अभिनेता धिरज मगरले भने, ‘सिनेमाले भन्न खोजेको कथाले दर्शकको मन छुन्छ जस्तो लाग्छ । यसको ब्याग्राउन्ड स्कोर, विपिन दाइ, सुहाना लगायतको अभिनय बेजोड छ । यो सिनेमामा काम गर्न पाएकोमा खुशी छु ।’

    यता शुक्रवार एक भागवत र एक गीता सामाजिक कथा हेर्न राप्रपा नेपालका सांसद ज्ञानेन्द्र शाही पनि हल पुगेका थिए ।

  • आँचल र दयाहाङको ‘डिग्री माइला-एमए थर्ड क्लास’ को शुभमुहूर्त

    आँचल र दयाहाङको ‘डिग्री माइला-एमए थर्ड क्लास’ को शुभमुहूर्त

    काठमाडौं । कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशनमा बन्ने ‘डिग्री माइला-एमए थर्ड क्लास’ चलचित्रको शुभमुहूर्त गरिएको छ ।

    आज बिहान नक्साल भगवतिमा पुगेको फिल्मको शुभमुहूर्त गरिएको हो । चलचित्रमा आँचल शर्मा र दयाहाङ राईको मुख्य अभिनय रहनेछ ।

    अर्का साताको शुक्रबारबाट छायांकन सुरु हुने निर्माण पक्षले बताएको छ । छायांकन काठमाडौं ,ओखलढुंगा रुम्जाटारमा हुनेछ । दोस्रो सेडयुल मंसिर पहिलोहप्ताबाट हुनेछ ।

    चलचित्र आगामी बैशाख १ गते रिलिज गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक गुरुङले गत साउन २९ गते चलचित्रको घोषणा गरेका थिए ।

  • ‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि हाउसफुल, दर्शकको प्रतिक्रिया- फिल्म गज्जब छ

    ‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि हाउसफुल, दर्शकको प्रतिक्रिया- फिल्म गज्जब छ

    काठमाडौं । आजबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि दर्शकको चाप देखिएको छ । मल्टिप्लेक्सहरुमा दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित भएको जनाएको छ । मध्यान्नपछिका शोहरुमा बुकिङ उच्च देखिएको छ । यसैले, यो फिल्मले आज राम्रो ओपनिङ गर्ने संकेत दिएको छ ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकले पनि राम्रो भनेका छन् । आज बिहान काठमाडौंको एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकहरुले ‘नाङ्गो गाउँ’ राम्रो फिल्म बनेको बताए ।

    केही दर्शक त यो फिल्मको हिट गीत ‘सुन सुन सुन्दरी’मा हल भित्रै नृत्य समेत गरिरहेका थिए । फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यो फिल्मको कथावस्तु, दिन खोजेको सन्देश मन परेको बताए । कतिपयले फिल्मको क्लाइमेक्सले भावुक बनाएको समेत बताए ।

    फिल्म हेरेर फर्किएका दर्शकले गज्जब भनेपछि यसका निर्देशक दीपेन्द्र लामाले खुशी व्यक्त गरे । यो फिल्मले जनतालाई मतदानको बिषयमा सचेत गराएको छ । फिल्मले दिन खोजेको सन्देश हरेक मतदाताले वुझ्नु पर्ने फिल्मकर्मीहरुको पनि भनाई छ ।

    हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

  • गायक आनन्द कार्कीको ‘एकै पल्टमा’ सुशान्त र साक्षी (भिडिओ)

    गायक आनन्द कार्कीको ‘एकै पल्टमा’ सुशान्त र साक्षी (भिडिओ)

    काठमाडौँ । गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको ‘एकै पल्टमा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । गायक कार्की स्वयमकै अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भरेका छन् । जसमा फणिन्द्र राईको एरेन्ज रहेको छ ।

    प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको बेजोड अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडिओका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् ।

    र्‍याम्प हुँदै म्यूजिक भिडिओमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन ।

  • चलचित्र ‘चित्रा’को आजबाट छायांकन शुरू, पुस २७ गते रिलिज हुने

    चलचित्र ‘चित्रा’को आजबाट छायांकन शुरू, पुस २७ गते रिलिज हुने

    काठमाडौं। सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार हुन लागेको नेपाली चलचित्र ‘चित्रा’को शुक्रबारबाट छायांकन शुरू भएको छ।

    आज पोखराबाट चलचित्रको छांयाकन सुरु गरिएको हो। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।

    सन्तोष अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

    चलचित्रले एक रिटायर्ड बुवा र छोरीको कथालाई प्रस्तुत गर्दछ। चलचित्र पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र महेश पौडेलको छायांकन रहने छ। चलचित्रमा प्रतिमा थापा प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोड्युसर छन् ।

    राजन राज सिवाकोटीको गीत संगीत रहने चलचित्रमा केदार पराजुली ९श्री कृष्ण फिल्मस्० ले चलचित्रको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएका छन भने अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिईसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले बताए।

    अधिकारी नयाँ चलचित्र ‘डलर एयुडी’ को समेत तयारीमा छन् । यो चलचित्रको छायांकन भने तिहारपछि सुरु हुनेछ । उनको नयाँ चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

  • दीपक र दीपालाई फुर्क्याउँदै हरिवंशले भने- तपाईंहरु चलचित्र क्षेत्रका तपस्वी (भिडिओ)

    दीपक र दीपालाई फुर्क्याउँदै हरिवंशले भने- तपाईंहरु चलचित्र क्षेत्रका तपस्वी (भिडिओ)

    काठमाडौं। कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आजबाट मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएका छन्। आइएनआइ सिनेमाजको फ्रेन्चाइजीको रुपमा उनीहरुले हल सञ्चालन गरेका हुन् । हलमै पत्रकार भेटघाटको आयोजना गरी यो जोडीले हल उद्घाटन गरेको हो।

    हल उद्घाटनको अवसरमा दिपक–दीपाले नेपाली फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणासहित आफ्ना भनाइहरु राखेका थिए। दिपक–दीपालाई हौसला दिन हाँस्य–कलाकार हरिवंश आचार्य पनि हलमा उपस्थित थिए। उनले आफूहरुले गर्न नसकेको काम दीपक–दीपाले गरेको बताउँदै आफू हर्षित भएको बताए।

    ‘नेपाली सिने क्षेत्रमा दिपक–दीपाको टिम एक उदाहरणीय टिम भएर छाइसक्नुभएको छ। उहाँहरु नेपालको पहिलो कलाकारहरु हुनुहुन्छ जसले हल व्यवसायमा पाइला टेक्नुभएको छ,’उनले भने,‘यो मेरो लागि पनि असाध्यै गर्वको कुरा हो।’

    उनले विगत सम्झिँदै सुनाए,‘जुन बेलामा हामीले यो क्षेत्रमा पाइला अगाडी बडायौँ, त्यो बेलामा कलाकारहरुलाई र यो क्षेत्रमा आउनेलाई पैसा दिने चलन नै थिएन। शोक र नामका लागी काम गरिन्थ्यो। दाम त सोचमै आउदैन थियो। तर काम गर्दै गएपछि नाम सँगसँगै दाम पनि पछि–पछि आउने रहेछ। मात्र यति हो, समयलाई मान्छेले चिन्न सक्नुपर्ने रहेछ।

    प्रसुती व्यथा लाग्दा एउटी आमालाई जति गाह्रो हुन्छ, त्यति नै गाह्रो कथाकार र पटकथाकारलाई एउटा कथा निकाल्न गाह्रो हुने हरिवंशले जनाए। ‘चलचित्र क्षेत्र निर्माण भनेको एउटा तपश्वीले तपस्या गरेको जस्तै हो। र दिपक–दीपा पनि त्यहीँ तपश्वीजस्तै हुनुहुन्छ। उहाँहरुले निर्मातालाई जुन ५० प्रतिशत सेयर दिने घोषणा गर्नुभयो, त्यो झनै प्रशंसनीय छ। ठाउँ र समय सबै शुभ छ। टिमलाई सफलताको शुभकामना। व्यवसाय अझ फस्टाउँदै जाओस,’उनले सुनाए।

  • नयाँ हल सञ्चालनमा ल्याउँदै दीपकको घोषणा– फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिन्छौं

    नयाँ हल सञ्चालनमा ल्याउँदै दीपकको घोषणा– फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिन्छौं

    काठमाडौं । कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स सिनेमा हल आजबाट सञ्चालनमा आएको छ । नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको हल आइएनआइ सिनेमाजको फ्रेन्चाइजीको रुपमा उनीहरुले हल सञ्चालन गरेका हुन् ।

    हल उद्घाटनका अवसरमा बोल्दै दीपक दीपाले नेपाली फिल्मलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले नेपाली फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा पनि गरेका छन् ।

    गिरीले भने, ‘सेयर बाँडफाँडमा निर्माताहरुको असन्तोष छ । हलवाला र निर्माताको हातमा आम्दानीको बराबर हिस्सा होस भन्ने हाम्रो मान्यता हो । हामी यो हलमा आजकै मितिबाट नेपाली चलचित्रको हकमा ५०÷५० प्रतिशत सेयर बाँडफाँड हुने छ ।’

    गिरीले अन्य सिनेमाहरुले पनि यो सूत्रलाई पछ्याउने आशा व्यक्त गरे । राम्रो गर्दागर्दै नेपाली चलचित्रले स्थान नपाउने अवस्था नआओस भन्नेमा आफूहरु सचेत रहने पनि उनले बताएका छन् ।

    ‘फिल्म हेर्न दर्शक नै आएनन् भने त माया प्रेमले मात्र हुँदैन, तर राम्रो चल्दाचल्दै नेपाली फिल्मले शो नपाउने अवस्था चाहीँ नआओस भन्नेमा हाम्रो प्रयास रहनेछ,’ उनले भने ।

  • ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

    ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

    काठमाडौं । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् ।

    नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

    “एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उनले भने, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

    चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।

    सुनिलकुमार थापाले निर्माण गर्नुभएको उक्त चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

    आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।

    “हामीले नेतामात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भने, “यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।”

    चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसको कथा स्वयं निर्देशक लामाले लेखेका छन् ।

  • दीपक-दीपाको सिनेमा हल तयार, दर्शकका लागि आजैदेखि खुल्ला (तस्बिरहरू)

    दीपक-दीपाको सिनेमा हल तयार, दर्शकका लागि आजैदेखि खुल्ला (तस्बिरहरू)

    काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्माको टीमले निर्माण गरेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आएको छ । काठमाडौंस्थित नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा आईएनआई सिनेमा हल सञ्चालनमा आएको हो ।

    उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले मल्टिप्लेक्स हलको उद्घाटन गरे ।

    यो समूहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याइसकेको छ ।

    ‘आइएनआई सिनेमा हल’ मा आजैबाट नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) र ‘नांङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ लगायतका चलचित्र दर्शकले हेर्न पाउने छन् ।

    हलमा २ वटा स्क्रिन रहेको छ । जसमध्ये पहिलोमा १७७ र अर्कोमा २१० दर्शक आँट्ने छन् । हल निर्माणका लागि करिब १० करोड खर्च गरिएको बताइएको छ ।

  • एक साताअघि सर्‍यो ‘वानर सेना’ को प्रदर्शन मिति

    एक साताअघि सर्‍यो ‘वानर सेना’ को प्रदर्शन मिति

    काठमाडौं । चलचित्र ‘वानर सेना’ को प्रदर्शन मिति एक साताअघि सारिएको छ । अब यो चलचित्र असोज १९ बाट प्रदर्शन हुने भएको हो । यसअघि कात्तिक ४ गतेबाट प्रदर्शनको तयारीमा रहेका दुई फिल्ममध्ये ‘परदेशी २’ असोज २६ मा प्रि-पोण्ड भएपछि ‘वानर सेना’ निर्माताले आफूलाई अन्याय भएको भन्दै निर्माता संघमा उजुरी दिएका थिए ।

    बिहीबार निर्माता संघको न्यायिक समितिले दुवै फिल्मको निर्माण टीमलाई राखेर छलफल गराएको थियो । न्यायिक समितिका सभापति उदय सुब्बा, निर्माता संघका कार्यसमिति सदस्य किरण नेपाली, वितरक करण श्रेष्ठ, ‘वानर सेना’ का निर्माता युवराज गिरी र ‘परदेशी २’ का निर्माता राजेश वंशलसहितको छलफलमा सहमति जुटेको हो ।

    सहमतिसँगै ‘वानर सेना’ असोज १९ र ‘परदेशी २’ असोज २६ बाट प्रदर्शनमा जाने टुंगो लागेको हो ।

    गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘वानर सेना’ मा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाको अभिनय छ ।

    फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।