काठमाडौं। १७ वर्षअघिको प्रसंग कोट्याउँदै अभिनेत्री उषा रजक अनुप बरालमाथि खन्रिएकी छन्। बराल नेपाली सिने क्षेत्रका चर्चित अभिनेता, लेखक तथा निर्देशक हुन्। उनको आफ्नै ‘अ्याक्टर्स स्टुडियो’ नामक अभिनय सिकाउने स्टुडियो छ।
उनले आफ्नो स्टुडियोबाट थुप्रै सफल कलाकारहरु उत्पादन गरिसकेका छन्। उनकै स्टुडियोबाट अभिनय सिकेकी रजकले बरालमाथि नेपोटिजम र फेबोरिजम गरेको आरोप लगाएकी छन्। उनले १७ वर्ष अघि बरालले अभिनेत्री दिया मास्केलाई मात्र आएका सबै राम्रा रोलमा अनुबन्धित गराउने गरेको बताएकी छन्।
विगतलाई सक्झिँदै उनले लेखेकी छन,‘अ्याक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म। १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल , आएका राम्रा स्क्रिप्ट र सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गर्नुहुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन।’
आफू काष्ट भएको चलचित्रमा समेत रातारात धाँधली गरेर बरालले दिया मास्केलाई सो चलचित्र दिएको कुरा उषाले आफ्नो स्टाट्समा उल्लेख गरेकी छन्।
‘कागबेनी, नेपालको पहिलो डिजिटल चलचित्रको अडिसनबाट निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । यो कुरा चलचित्रको २ प्रमुख पाटोले भन्नु भएको मलाई,’उनी लेख्छिन,’ तर रातारात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखे। मैले जीवनको एक कालो पाटो देखेँ ।’
स्टाट्समा उनले आफूसँग हाल केही प्रमाण नभएको पनि बताएकी छन्। पहिला सिने क्षेत्रमा जस्तो कुरिती थियो, सो कुरिती अहिले पनि उस्तै रहेको उनको तात्पर्य छ।
काठमाडौं । हांस्यव्यंग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले नयाँ गीत सालको पात सार्वजनिक गरेका छन् । उनले असोज २ गते आफ्नो जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरेका हुन् ।
हाँस्यव्यंग्य कलाकारका रुपमा स्थापित उनको मुख्य रुचि भने संगीत र गायन नै हो । ललितकला क्याम्पसबाट उनले संगीतमा आइएफए तह उत्तिर्ण गरेका छन् । उनी गीत लेखन तथा संगीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् ।
उनका टेबल फ्यान, पिरतीको चस्मा, लोकल नभई हुँदैन जस्ता गीतहरु चर्चित छन ।उनी स्टेज कार्यक्रहरु सञ्चालन गर्नका निम्ति निकै माहिर मानिन्छन् । स्टेजको कम्प्लिट प्याकेज मानिने उनी आयोजकहरुको पहिलो रोजाईमा पर्ने कलाकार हुन् ।
स्ट्यान्ड अप कमेडीका साथै हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै उनले नेपालका करिब ६६ जिल्लाको भ्रमण गरिसकेका छन् ।
कमेडी हबको परिकल्पनाकार र प्रस्तोताको रुपमा समेत काम गरिसकेका उनी गितसंगितमा दुइवटा एकल एल्बम समेत निकालिसकेका छन् ।त्यस्तै करिब दर्जन भन्दा धेरै देशको भ्रमणसमेत गरिसकेका छन् ।
विभिन्न कार्यक्रमहरुका निम्ति देश विदेश गरिरहनु पर्ने भएका कारण उनी पस्कने सामग्रीहरुमा अपडेटेड रहने गर्छन् । सानो कुरालाई पनि हास्यव्यंग्यका रुपमा प्रस्तुत गर्न सक्ने कला भएका कारण उनी युवापुस्तामा निकै परिचित मानिन्छन् ।
जन्मदिनको अवसर पारेर आज सार्वजनिक गीतमा वैदेशिक रोजगारीमा गएका युवा साउदीको जेलमा परेपछिको पारीवारिक पीडालाई प्रस्तुत गरिएको छ ।
यसमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमानलाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।ज्ञानेन्द्र शर्मा हुमागाईँको निर्देशन रहेको यसै गीत मार्फत नव कलाकार युवराज गौतमले डेब्यु गरेका छन् । युवराजले पहिलो भिडियोमै अभिनेत्री शिल्पासँग जोडी बाध्ने अवसर पाएका छन् ।
कलाकार सुरवीर पण्डित अर्थात दाह्री बा र बाल कलाकार एलेक्श खड्का पनि मुख्य कलाकारको रुपमा रहेका छन् ।राजा राजेन्द्रको आवाज रहेको यस गीतमा श्रमदीप चौलागाईँको शब्द र संगीत रहेको छ । भिडियोलाई दिन्सन शाहको सम्पादन गरेका हुन् ।
विद्यालयमा राजनीतिक हस्तक्षेपको प्रसंग आएपछि शिव दाइ (नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्युरो सदस्य) ले मलाई पुलुक्क हेरे । हामी दीपेन्द्र लामाको लेखन/निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ हेर्दै थियौं, चरिकोटको हलमा ।
‘पञ्चायती व्यवस्थाको बेला शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप खुबै हुने गरेको थियो’, शिव दाइले सुनाए । भूमिगत राजनीति गर्दा शिव दाइ पनि शिक्षक नै थिए । त्यसैले त्यतिबेला प्रधानपञ्चले विद्यालयमा गर्ने हस्तक्षेपको साक्षी थिए होलान् उनी ।
तर, के अहिले चाहिँ राजनीतिक हस्तक्षेप हुँदैन ? दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ले यसको जवाफ दिएको छ ।
‘फिल्मको विषयवस्तु यथार्थपरक छ’, शिव दाइ भन्दै थिए, ‘लामो समयपछि हलमा छिरेको राम्रै फिल्म हेर्न पाइयो ।’ पत्रकार जीवन लामा र गोकर्ण भण्डारी पनि फिल्मको कथावस्तुमा वर्तमान राजनीतिको विकृत परिणाम महसुस गर्दै थिए ।
‘नाङ्गो गाउँ’को कथावस्तु सामान्य छ । एउटा गाउँको, एउटा विद्यालयको एउटा शिक्षक । कथावस्तु यसैको सेरोफेरोमा दौडिरहेको छ । तर, सन्देश कथावस्तुको सेरोफेरो जस्तो साँघुरो छैन । शिक्षामा राजनीतिको चोटिलो प्रहार र त्यसले समाजलाई पार्ने नकारात्मक असरको प्रभावको आँकलन छ ‘नाङ्गो गाउँ’मा ।
‘नाङ्गो गाउँ’को कथावस्तु सामान्य छ । एउटा गाउँको, एउटा विद्यालयको एउटा शिक्षक । कथावस्तु यसैको सेरोफेरोमा दौडिरहेको छ । तर, सन्देश कथावस्तुको सेरोफेरो जस्तो साँघुरो छैन । शिक्षामा राजनीतिको चोटिलो प्रहार र त्यसले समाजलाई पार्ने नकारात्मक असरको प्रभावको आँकलन छ ‘नाङ्गो गाउँ’मा ।
‘नाङ्गो गाउँ’मा एउटा इमानदार शिक्षक नाङ्गिएका छन् । तर, उनको सर्वाङ्ग शरीरले विकृत राजनीतिलाई गिज्याइरहेको देखिन्छ । राजनीतिले नीति, नियम, कानून र सामाजिक यर्थाथलाई हेर्दैन । हेर्छ त व्यक्तिगत स्वार्थ र अहम् । ‘नाङ्गो गाउँ’मा राजनीतिको त्यही स्वार्थ र अहम्ले एउटा असल शिक्षक, सामाजिक कार्यकर्ता, इमानदार बुद्धिजीवीलाई नङ्ग्याएको छ ।
शैक्षिक सुधारमार्फत गाउँमा चेतनाको विकास गर्ने र सडक, अस्पताल, विद्यालय जस्ता कुरा व्यवस्थापन गर्दै ग्रामीण जनताको सेवा गर्ने अभिष्टसहित आफ्नो रोजीरोटी बनेको शिक्षण पेशासमेत छोडेर इमानको राजनीतिमा होमिएका एउटा शिक्षकलाई ग्रामीण जनताकै स्वार्थले नङ्ग्याएको तीतो यथार्थ ‘नाङ्गो गाउँ’मा प्रस्तुत गरिएको छ ।
पञ्चायती व्यवस्थाको अवधिमा नेपालको राजनीति लगभग शिक्षकहरुले धानिदिएका थिए । ग्रामीण तहमा जनतासँग प्रत्यक्ष जोडिने शिक्षकहरुले पञ्चायती जर्जरतालाई मौन र बौद्धिक विद्रोहमार्फत परास्त गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्न खेलेको भूमिका प्रशंसनीय छ ।
तर, प्रजातन्त्र प्राप्तिपछि शिक्षण पेशा छोडेर राजनीतिमा जोडिएका नेताहरु बदनाम भएको पृष्ठभूमिमा ‘नाङ्गो गाउँ’को एउटा शिक्षकले जनताको लागि राजनीतिमा होमिँदै गर्दा इमानमा नाङ्गिन तयार भएको प्रसंगले तिनै शिक्षकहरुलाई व्यङ्ग्य त गरेको हैन ? एउटा जिज्ञासा ।
‘नाङ्गो गाउँ’को एउटा अर्को सन्देश छ- राजनीति नेताले बिर्गाछन् । तर, नेतालाई जनताले नै बिगारिरहेका छन् । ससानो लालचले खराब नेताको साथ दिने जनताको चरित्र, इमानलाई नङ्ग्याउन काफी भएको ‘नाङ्गो गाउँ’को कथामा प्रस्तुत गरिएको छ ।
प्रजातन्त्र प्राप्तिपछि शिक्षण पेशा छोडेर राजनीतिमा जोडिएका नेताहरु बदनाम भएको पृष्ठभूमिमा ‘नाङ्गो गाउँ’को एउटा शिक्षकले जनताको लागि राजनीतिमा होमिँदै गर्दा इमानमा नाङ्गिन तयार भएको प्रसंगले तिनै शिक्षकहरुलाई व्यङ्ग्य त गरेको हैन ?
धेरै फिल्मबाट अनुभव बटुलेका दीपेन्द्र लामाले ‘नाङ्गो गाउँ’को कथालाई स्थानीय राजनीतिको परिवेशमा बिटुल्याउँदै प्रेम, शक्ति र सम्पत्तिको अगाडि राजनीतिको सिद्धान्त र राजनीतिज्ञको इमान नाङ्गिन समय नलाग्ने सन्देशसँग कलात्मक ढङ्गले जोडिदिएका छन् ।
ग्रामीण तथ्यलाई सरल ढङ्गले प्रस्तुत गरिएको ‘नाङ्गो गाउँ’ दीपेन्द्र लामाको सफल लेखन/निर्देशनको असली प्रमाण बनेर अहिले देश-विदेशमा प्रदर्शन भैरहेको छ ।
कथाको पात्रमा अभिनय गर्ने कलाकारको इमानदारिता फिल्मको अर्को महत्वपूर्ण कुरा हो । दयाहाङ राईले इमानदार शिक्षक र राजनीतिज्ञको चरित्रमा आफ्नो इनोसेन्ट प्रस्तुतिमार्फत न्याय गर्न सफल भएका छन् । त्यसो त उनका यसअघिका फिल्महरुमा पनि कथालाई न्याय गर्ने चरित्रको चर्चा महिनौंसम्म हुने गरेकै हो ।
‘जारी’मा जमेको दयाहाङ र मिरुनाको जोडी ‘नाङ्गो गाउँ’मा अझ बढी मजबुत बनेको छ । मिरुनाको अभिनयले ग्रामीण महिलाको पारिवारिक इमानदारीलाई थप विश्वसनीय बनाएको छ । चलचित्रमा अन्य कलाकारहरुको अभिनय पनि उत्तिकै सशक्त लाग्छ ।
सुरुमा ‘नाङ्गो गाउँ’ नामसँग झस्कने दर्शकहरु हलबाट बाहिरिँदा त्यही नामसँग आत्मीय बनेको पाइन्छ । कथावस्तुसँग नामको सिक्वेन्स असाध्यै मिलेको छ । तर, इमानलाई अङ्गालेका शिक्षक राजनीतिक रुपमा नाङ्गिएपछिको अवस्था के भन्ने जिज्ञासा गुपचुप बनेको हो कि बनाइएको ? दीपेन्द्र लामाले नै बताउन सक्लान् ।
जे होस्, ‘नाङ्गो गाउँ’को अन्त्यले दर्शकलाई दयाहाङ र मिरुनाको जोडीलाई पटक पटक खोज्न बाध्य बनाएको छ । कथाले अर्को राजनीतिक परिवेशसहित उपस्थिति जनाउने अपेक्षा जीवित राखेको छ ।
काठमाडौं । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा तयार पारिएको टेलिसिरियल ‘सीता’को ट्रेलर सार्वजनिक भएको छ ।
आरटी इन्टरटेन्मेन्टमार्फत सार्वजनिक ट्रेलरमा गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठाइएको छ ।
सीताको भूमिकामा मोडल सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छन । ‘सीता’मा लेखक तथा निर्देशक प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । बालकृष्ण ओलीले सीताको श्रीमानको भूमिका निभाएका छन् ।
ट्रेलरमा राजु भुजू, सविता गुरुङ, तारा केकभ, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्यलगायतलाई मुख्य भूमिका देख्न सकिन्छ ।
‘सीता’ प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटी इन्टरटेन्मेन्टमा हेर्न सकिनेछ ।
काठ्माडौं । भदौ २९ गतेबाट देशव्यापी लागेको चलचित्र ‘एक भागवत र एक गीता’ ले निराशाजनक ओपनिङ गर्यो । शुक्रबार र शनिबार चलचित्रले हलहरुमा दर्शक तान्न सकेन ।
निर्माणअघि नै नामका कारण तीव्र विवादित बनेको चलचित्र जसोतसो रिलिज भएको थियो । तर, चलचित्रले गतिलो व्यापार गर्न नसक्दा निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापा तनावमा परेका छन् । निर्माण पक्षले अहिलेसम्म चलचित्रको कलेक्सन सार्वजनिक गरेको छैन ।
यसैबीच हिजो चलचित्रका वितरक गोविन्द शाहीले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ‘भगवत गीता’ को व्यापारमा अचानक उछाल आएको दावी गरे । उनले केही स्क्रिनसट समेत राखेर छैटौं दिनमा भगवत गीता हाउसफुल भइरहेको बताएका छन् ।
चलचित्र हलबाट उत्रिन लागेको हल्लाबीच एक्कासी ‘हाउसफुल’ हुन थालेको दावी गरेका शाहीलाई हामीले प्रश्न गर्यौं– साँच्चै हाउसफुल भएको हो कि फन्डा मात्र हो ?
उनले गम्भीर हुँदै उत्तर दिए, ‘फन्डा होइन, हाउसफुल नै छ । हिजोको शो त अल नेपाल हाउसफुल थियो । शुक्रबार र शनिवार सोचेजस्तो व्यापार भएन । दर्शक सोचेजस्तो आउनुभएन। तर हिजोदेखि राम्रै पिकअप लिएको छ । शोहरु थपिएका छन् । बिग मुभिजमा शो ३ वटाबाट थपिएर ४ वटा पुगेको छ । आइप्लेक्समा ४ वटा छ ।’
‘एक भागवत एक गीता’ सँगै दयाहाङ राई स्टारर चलचित्र ‘नाङ्गो गाउँ पनि भाद्र २९ बाटै रिलिज भएको थियो । एकातर्फ दुई नेपाली चलचित्र जुध्नु र अर्कोतफ बलिउड चलचित्र ‘जवान’ को दबदबाले व्यापारमा असर परेको हुनसक्ने शाहीको अनुमान छ ।
‘सकेसम्म चलचित्र नजुधेको राम्रो । एक–अर्कासँग कुरा गरेर आपसी समझदारीमा अगाडि बढेको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘बाहिर हेर्नुस न, चलचित्र जुध्ने भयो भने कुरा गरेर कसरी मिलाउने भनेर अगाडि बढ्छन् । उस्तै परे अर्काको चलचित्रको प्रोमोसनसमेत गरिरहेका हुन्छन् । हाम्रोमा त्यस्तो छैन । पालैपालो एउटा–एउटा गर्दै चलचित्र लागेको भए दुइटैलाई राम्रो हुन्थ्यो ।’
उनले थपे, ‘जवानको त के कुरा गर्नु र ? उहाँहरुको ठूलो मार्केट छ । पब्लिसिटीदेखि लिएर प्रोमोसन नै उहाँहरुको बेग्लै ढंगको हुन्छ । त्यहीमाथि विश्वव्यापी रुपमा लाग्ने चलचित्र । हाम्रो सानो मार्केट छ । त्यही पनि दर्शकको माया पाइरहेका छौ, हाम्रो लागी त्यही ठूलो कुरा हो ।’
शाहीले भगवत गीताको ओपनिङ राम्रो नभएको स्वीकार गरे । चलचित्र राम्रो हुँदाहुँदै पनि सोचेजस्तो नचलेपछि निर्माण पक्ष दुखी हुनु स्वभाविक भएको उनको भनाइ छ ।
शाही भन्छन्, ‘उहाँहरु अलि निराश नै हुनुहुन्छ जस्तो लाग्छ मलाई । पहिलाका चलचित्रहरुले राम्रो गरेका थिए । यो चलचित्रले पनि राम्रै बजार लिनुपर्ने हो । तर सबैथोक राम्रो हुँदाहुँदै पनि खै किन हो सोचेजस्तो भईरहेको छैन । लगातार हिट चलचित्र दिइरहेको बेलामा सोच्दै नसोचेको परिणाम आएपछि अलिकति निराश त हुने नै भइयो । हामीले यस्तो स्लो जान्छ होला भन्ने कल्पना पनि गरेका थिएनौं ।’
चलचित्रको कलेक्सनबारे उनले बताएनन् ।
‘अब हेरौँ चलचित्रले यो हप्ता कस्तो गर्छ । दर्शक कत्तिको आउनुहुन्छ । अझै पनि ‘एक भागवत एक गीता’ सँगसँगै दुई–तीनवटा चलचित्र अरु पनि लागिरहेका छन् । ठूलो लगानीको चलचित्र हो । लगानी उठाउन सहज पनि छैन । तर सम्भावना छ । जे होस्, चलचित्र यो हप्ता र अर्को हप्ता चल्नुपर्छ’, उनले भने ।
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम फलोअर्स १० लाख नाघेको छ । नेपाली नायिका अदिती बुढाथोकी र प्रियंका कार्कीपछि इन्स्टाग्राममा १ मिलियन फलोअर्स हुने उनी तेस्री नायिका हुन् ।
दर्शकमाझ खड्काको राम्रो क्रेज छ । उनी अभिनित चलचित्र ‘दिमाग खराब’ यही कात्तिक २४ गते रिलिज हुँदैछ ।
इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइएकी नायिका अदिती बुढाथोकीको हालसम्म इन्स्टाग्राममा २.३ मिलियन अर्थात २३ लाख फलोअर्स छन् । उनको नेपालमा मात्र नभएर भारतमा पनि फ्यान फलोअर्स छन् । उनी हाल भारतमै बस्छिन् । बेलामौका नेपाल आउँदै उनी नेपाली चलचित्रहरु गर्ने गर्छिन् ।
अदितीपछि इन्स्टाग्राममा धेरै पछ्याइने नायिका प्रियंका कार्कीको हालसम्म १.१ मिलियन अर्थात ११ लाख फलोअर्स छन् ।
काठमाडौं । यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा कुनै पनि ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा गायब पारिएको विषय अदालतमा पुगेको छ । चलचित्र ‘प्रकाश’ को टीमले पाटन उच्च अदालतमा आज मुद्दा दायर गरेको हो ।
अवार्डका लागि चलचित्र विकास बोर्डले बनाएको जुरीले सर्वोत्कृष्ट चलचित्रमा गत वर्षको बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई सिफारिस गरेको थियो । तर, सो अवार्ड राजनीतिक कोपभाजनमा पर्यो । चलचित्रले माओवादी जनयुद्धमाथि आलोचनात्मक दृष्टिकोण राखेको ठहरसहित सरकारले हस्तक्षेप गरेपछि ‘सर्वोत्कृष्ट चलचित्र’ को सबैभन्दा महत्वपूर्ण विधा नै गायब गरेर गत भदौमा अवार्ड वितरण गरिएको थियो ।
यसरी सिफारिसमा परेर पनि अवार्ड पाउन नसकेपछि ‘प्रकाश’ का लेखक विकास सुवेदीले चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । उनले सूचनाको अधिकार (आरटीआई) प्रयोग गर्दै राष्ट्रिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट चलचित्रको विधामा पुरस्कार नदिइनु तथा ‘प्रकाश’ सिफारिस भएर पनि अवार्ड नपाउनुको कारण सोधेका थिए ।
बोर्डले सो निवेदन दर्ता गर्नै गाह्रो मानेको थियो । बल्लतल्ल निवेदन दर्ता भए पनि बोर्डले अहिलेसम्म कुनै जवाफ नदिएको सुवेदीले नेपाल प्रेसलाई बताए ।
‘हामीले कानूनसम्मत तरिकाले दिएको निवेदन बोर्डले दराजमा थन्क्याएपछि अदालत जान बाध्य भएका हौं’, उनले भने ।
सुवेदीसहित ‘प्रकाश’ का निर्देशक दिनेश राउत र व्यवस्थापक मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुको निवेदनमा निर्णायक समिति ‘जुरी’ले प्रतिवेदनमा सिफारिस गरेको चलचित्रलाई नै उत्कृष्ट चलचित्रको उपाधिबाट पुरस्कृत गर्न परमादेशको माग गरिएको छ ।
विपक्षी बोर्डका पदाधिकारीले कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरी निर्णायक समितिले सिफारिस गरेको चलचित्रलाई पुरस्कार प्रदान नगरी अधिकार दुरुपयोग गरेको आरोप निवेदनमा लगाइएको छ ।
‘यसरी मनोमानी ढंगले कुनै पनि सार्वजनिक भएका चलचित्रलाई पुरस्कृत नगर्नु भनेको विपक्षीमा कुन हदसम्म दुर्नियत रहेको भन्नेमा विवाद देखिँदैन’, निवेदनमा भनिएको छ ।
काठमाडौं । पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्वाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानको रूपमा प्रस्तुत गरिएको छ ।
बाबु साहेब बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ ।
सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो ।
निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको जानकारी दिए । फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव, अपार गुरुङ र हुन् ।
फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।
काठमाडौं । ६ वर्षअघि दशैंको छेकोमा एक युवती रातारात सामाजिक सञ्जालमा भाइरल भइन् । उनले धरधरी रुँदै एउटा भिडिओ पोस्ट गरेकी थिइन्, जसलाई हेरेर मानिसहरु पेट मिच्दै हाँसे ।
खासमा उनको भिडिओ हास्यास्पद नै थियो । उनले भिडिओमा भनेकी थिइन्- दशैंमा खसीको मासु खानुस् । तर, जहान-परिवार भएका खसी-खसिनीको अकालमा हत्या नगर्नुस् । यसो भनिरहँदा उनका आँखाबाट बलिन्द्रधारा आँसु झरेका थिए । कसैले नाटक गरेको भने, कसैले प्याज दलेर आँसु झारेको लख काटे । जसले जे-जे भने पनि युवती एकैपटक लाखौं जनतामाझ परिचित भइसकेकी थिइन् ।
ती भाइरल लेडी थिइन् आशिका तामाङ । उक्त काण्डपछि उनको उपनाम रहन गयो- खसिनी दिदी । आज पनि धेरैले उनलाई ‘आशिका’ भन्दा ‘खसिनी’ भनेर चिन्छन् ।
त्यसो त यो भिडियो भाइरल हुनुअगाडि नै आशिका एउटा फिल्म निर्माण गरेर आफैं नायिकासमेत बनेकी थिइन् । ‘सुश्री’ नामको सो चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन । आशिकाको एक करोड डुब्यो । सँगसँगै डुब्यो उनले कलाकार बनेर नाम कमाउने सपना । युट्युबमा आएका सकारात्मक प्रतिक्रिया हेरेर चित्त बुझाउन बाध्य भइन् ।
दुई वर्ष लगाएर निर्माण गरेको फिल्मले नदिएको चर्चा आशिकालाई दुई मिनेटको एउटा भिडिओले दिलायो । सामाजिक सञ्जालमा लाखौं फलोअर्स बढे । मानिसहरुले उडाए पनि, हियाए पनि कम्तीमा उनी चिनिइन् । उनले लेखेका स्टाटसहरुमा मानिसहरुको ध्यान जान थाल्यो । खसिनी काण्डबाट पाठ सिकेर उनले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छन् । फरक छवि बनाएकी छन् ।
अहिले आशिका एउटा सक्रिय सामाजिक अभियन्ताको रुपमा चिनिन्छिन् । विदेशमा रहेका नेपालीहरु छुट्टी मनाउन नेपाल आउँदा आफन्त–साथीभाइसँग भेटघाट र घुमघाममै व्यस्त हुन्छन् । तर, आशिका तामाङको हकमा यो लागू हुँदैन । जर्मनीमा स्थायी बसोबास गरिरहेकी उनी नेपाल आउँदा धेरैजसो सडकमा भेटिन्छिन् । काठमाडौंका विभिन्न स्थानमा पुगेर सरसफाइमा जुट्नु उनको दिनचर्या बन्छ । यसबाहेक उनी अरु सामाजिक कार्यहरुमा पनि व्यस्त हुन्छिन् ।
त्यसो त ज्यान जर्मनीमै हुँदा पनि ध्यान भने उनको हरहमेशा नेपालमै हुन्छ । सामाजिक सञ्जालमा निकै सक्रिय आशिका नेपालका समसामयिक विषयवस्तुमाथि टिप्पणी गर्ने गर्छिन् । कहिले ताली पाउँछिन् त कहिले गाली ! तर, प्रशंसा र आलोचनाको वास्ता नगरीकन आफूलाई लागेको कुरा निर्धक्क लेख्ने उनको बानी छ । त्यसैले त फेसबुकमा उनले १० लाख फलोअर्स पुर्याउन लागिसकिन् ।
केही दिनअघि मात्रै तामाङ समुदायभित्र मामा-चेला र फुपू-चेलाबीच वैवाहिक सम्बन्ध ठीक हो कि होइन भन्ने विवादले उग्र रुप लियो । उनले एउटा तामाङ चेली भएर पनि आफ्नो समुदायभित्र कायम रहेको गलत परम्परा हटाउनुपर्ने वकालत गरिन् । यसो गर्दा समुदायभित्रैबाट उनले आलोचनामात्र होइन, धाकधम्कीसमेत सहनु परेको छ । तर, उनलाई यसको परवाह छैन ।
‘जुन प्रथा हाम्रो जातमा छ, त्यो रोकिनु पर्छ भन्नेमा म अझै पनि आवाज उठाउँछु । कमसेकम आफ्नै फुपू-मामा वा रगतको नाता पर्नेसँग चाहिँ विवाह नगरेको राम्रो’, उनी भन्छिन् ।
सामाजिक सञ्जालमा लेख्नेमात्र होइन, नेपालमा विभिन्न कारणले दुःख र पीडामा परेकाहरुलाई जर्मनीबाटै सहयोगको हात फैलाउने गर्छिन् आशिका । परोपकारमा रमाउने उनले आफ्नै नाममा फाउन्डेसन स्थापना गरेर नेपालमा सरसफाइलगायत विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् ।
एक महिनाको छुट्टीमा हालै नेपाल आएकी आशिकाले जर्मनी फर्किनुपूर्व यस पंक्तिकारसँग लामो अनौपचारिक कुराकानी गरेकी थिइन् । उनले आफ्नो निजी जीवनका अन्तरकुन्तरहरु खोलिन् । उनी नेपालबाट जर्मनी पुगेर त्यही घरजम गरेर बस्नुका पछाडि आङ जिरिङ्ग पार्ने कथा छ । सुनौं उनकै मुखबाट ।
०००
ढाँटेर जिन्दगीमा आखिर के नै मिल्छ र ? पहिला आफ्ना व्यक्तिगत कुरा खोल्न मन लाग्दैन थियो । अहिले जति खोल्यो, त्यति हल्का महसुस हुन्छ ।
आज म जहाँ छु, त्यहाँसम्म आइपुग्न मैले जीवनमा धेरै संघर्ष गरेकी छु । धेरै हण्डर खाएकी छु । म दुई वर्षकै उमेरमा आफ्नी आमाबाट टाढिएँ । उहाँ बुवा र मलाई छोडेर अरुसँग जानुभएको हो भनेर मानिसहरुले सुनाउनुहुन्थ्यो । तर, आजका दिनसम्म पनि मलाई आमा जीवित हुनुहुन्छ या हुनुहुन्न भन्ने थाहा छैन । मैले जानेदेखि अहिलेसम्म उहाँलाई देखेकी नै छैन । न मसँग उहाँको कुनै तस्विर नै छ ।
एउटा तस्विर भएको भए पनि उहाँ यस्तो हुनुहुँदो रहेछ है भन्ने हुन्थ्यो । खोजी गर्न पनि सक्थें होला । तर, आमा नचिन्दा अनि एउटा तस्विरसमेत नदेख्दा कहिलेकाहीं मलाई म कसैको कोखबाट नभई आकाशबाट झरेको पो हो कि जस्तो लाग्थ्यो ।
म दुःख गर्दै पढेर नर्स भएँ । काठमाडौंको एउटा अस्पतालमा ‘इन्टर्नसीप’ सुरु गरें । त्यसबेला जबजब कसैले बच्चा जन्माएको देख्थें, मलाई एकदमै पीडा हुन्थ्यो । आमाको बेस्सरी तिर्सना लाग्थ्यो । जब म आफैं आमा भएँ, त्यसबेला झन् भक्कानिएर रुन मन लाग्यो । मैले जर्मनीमै मेरा दुई सन्तानलाई जन्म दिएकी हुँ । त्यो प्रसव पीडापछि मलाई मेरी आमा कहाँ होलिन्, कस्ती होलिन् भन्ने जान्न झनै मन लाग्यो । मैले यो कुरा मेरो श्रीमान थोमसलाई पनि सुनाए । उहाँले ठीकै छ, नेपाल गएर खोजौंला भन्नुभयो । तर, कहाँ खोज्ने ? कसरी खोज्ने ? के आधारमा खोज्ने ? र, कुन वडामा खोज्ने ?
म जन्मिएपछि मेरो बुवा र आमा जम्मा दुई वर्षमात्र सँगै बस्नुभयो । आमाको ठेगाना वा विवरण सायद बुवासँग थियो होला । तर, बुवाको पनि सन् २०१० मा मोटरसाइकल दुर्घटनामा निधन भयो । त्यसपछि त त्यो राज पनि राजमै सीमित भयो ।
म त मेरी आमालाई चिन्दिनँ । तर, आमाले त मलाई चिन्नुहुन्छ नि ! आजभन्दा २०, ३० वर्ष अगाडि मलेखु भन्ने ठाउँमा एउटा भोटेकाइँला भन्नेसँग विवाह गरेकी थिएँ, छोरी पाएकी थिएँ, छोरीको नाम काली राखेकी थिएँ, दुई-तीन चोटी चोरेर लाने प्रयास पनि गरेकी थिएँ भन्ने उहाँलाई त याद होला नि ! त्यत्रो २२-२३ वर्षको मान्छेलाई आफूले कहाँ विवाह गरें, कोसँग गरें, कति वटा बच्चा पाएँ भन्ने चेत हुँदैन र ? उहाँ कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, मलाई त थाहा छैन । तर, कसैले उहाँलाई चिन्नुहुन्छ वा यदि मेरी आमाले नै मेरो यो अन्तर्वार्ता पढिरहनुभएको छ भने तपाईं जहाँ हुनुहुन्छ, एकचोटी मसँग भेट्न आइदिनुहोला ।
मेरो व्यक्तिगत जीवनको एउटै तपस्या र उद्देश्य भनेको एकचोटी मर्नुअघि मेरी आमालाई भेट्नु हो । म सधैं भगवानसँग यही प्राथना गर्छु । कमसेकम एउटा फोटो देख्न पाए पनि हुन्थ्यो । उहाँलाई म ल्याएर राख्छु भन्ने मनमा छैन । उहाँको पनि आफ्नै घरबार होला, परिवार होला । त्यो उहाँको इच्छाको कुरा पनि हो । मात्र एकचोटी उहाँसँग भेटेर अंकमाल गर्ने चाहना छ ।
हुन त उहाँका पनि केही बाध्यता थिए होला । गाउँलेहरु तेरो बुवाले रक्सी खाएर कुटेपछि भागेको होला भन्थे । उनले पनि सायद धेरै सहिन् होला । गाउँलेहरुले भनेअनुसार मेरी आमाले दुई-तीन चोटीसम्म आएर मलाई चोरेर लान खोज्नुभएको थियो रे ! बुवाले म सात वर्षको हुँदासम्म सधैं तेरी आमा मरिसकी भन्नुहुन्थ्यो । मलाई पनि विश्वास लाग्थ्यो । तर, जब अलि बुझ्ने भएँ, अनि सबैले भनेको सुन्न थालें तबमात्र मलाई उहाँ बित्नुभएको होइन, छाडेर जानुभएको हो भन्ने महसुस भयो ।
०००
मेरी आमाले छोडेपछि बुवाले धेरै श्रीमती ल्याउनुभयो । तर, कोही पनि उहाँसँग टिकेनन् । एक वर्षभन्दा बढी कसैसँग बुवाको घरजम भएन । बुवाले विभिन्न आश्वासन दिएर बिहे गर्नुहुन्थ्यो रे ! तर, दुई-चार महिनापछि छोडेर हिँडिहाल्ने । मेरी आमासहित ९ जना श्रीमतीले बुवालाई छोडेछन् । १०औं आमासँग बल्ल उहाँको सम्बन्ध टिक्यो ।
म जम्मा ४ कक्षामा पढ्दा बुवाले कान्छीआमा (१०औंं) विवाह गरेर ल्याउनुभएको हो । कान्छीआमाले मलाई फिटिक्कै देख्न नसक्ने । त्यही भएर बुवाले मलाई अर्काको घरमा घरेलु कामदारको रुपमा राख्दिनुभयो ।
पढ्न केमात्र गरिएन र जिन्दगीमा ? ८ वर्षको उमेरदेखि बिहान ४ बजे उठेर अर्काको घरमा गोबर सोहोर्ने, भाँडा माझ्नेदेखि लिएर चितवनको ४० डिग्री घाममा घाँस काट्नेसम्म गरियो । तीन तले घर थियो । तर, मलाई भर्याङको एउटा कुनामा सुत्न दिइन्थ्यो । तैपनि पढ्न पाएकोमा नै म सन्तुष्ट थिएँ । अर्काको घरमा बसे पनि पढ्नु चाहिँ पर्छ है भन्ने दिमागमा थियो ।
बुवा जीवित भइञ्जेल कान्छीआमाले कहिल्यै राम्रो गर्नुभएन मलाई । त्यही भएर पनि कहिल्यै ‘आमा’ को आभास नै भएन । उहाँको व्यवहारले गर्दा ‘आमा’ भन्ने आँट नै कहिल्यै जुटाउन सकिनँ । आमा शब्द घाँटीसम्म आएर अड्किन्थ्यो । तर, मुखसम्म कहिल्यै आइपुग्दैन थियो । मैले खान्छु भनेर जाबो एउटा बारीमा फलेको घिरौला पनि ट्यांकामा लुकाएर राख्नुहुन्थ्यो मेरी कान्छीआमा । तर भाग्यको खेल, आज अन्तिममा मैले नै हेरिरहेकी छु उहाँलाई ।
सन् २०१० मा बुवा खसेपछि कान्छीआमाले अर्को विवाह गर्नुभयो । उहाँले आफूले पाएका ४ वटै नानीहरु (३ वटा भाइ र एक बहिनी) छाडेर जानुभयो । उहाँले छाडेपछि ती भाइबहिनीको जिम्मेवारी मेरो काँधमा आयो । मैले नै भाइबहिनीहरु हुर्काएँ । मैले सबैलाई होस्टेलमा राखिदिएकी थिएँ । तर, दुईजना भाइ भने होस्टेलको गेटबाट हाम्फालेर गाउँ फर्के । अहिले उनीहरु गाडी चालक भएर आफ्नो गुजारा गरिरहेका छन् ।
बहिनीलाई चाहिँ अहिले नर्सिङ पढाइरहेकी छु । मेरी कान्छीआमा जोसँग भाग्नुभएको थियो, उहाँ पनि केही समयपछि बित्नुभयो । दोस्रो श्रीमान पनि बितेपछि आमाले धेरै दुःख पाउनुभयो । सबैको दुःख एउटै हो र पर्दा आफ्नो साथमा कोही हुँदैन भन्ने मैले सानैदेखि भोगेकीले उहाँको दुःख मैले देख्न सकिनँ । छोडेर गएको हुँदा भाइहरुले जग्गाजमिन दिँदैनन् । अर्को श्रीमानसँग भागेपछि यता उहाँको कुनै हक लागेन ।
अहिले उहाँलाई मैले गाउँमा एउटा सानो चिया पसल खोलेर राखिदिएकी छु । त्यहीबाट उहाँ आफ्नो गुजारा गर्नुहुन्छ । बेलाबेलामा भाइहरु र आमालाई आपत पर्यो भने म जर्मनीबाटै उहाँहरुलाई सक्ने सहयोग गर्छु । अस्ति लकडाउनमा कति समस्या पर्यो । सबैलाई खान-लाउन नै गाह्रो पर्यो । त्यो बेला मैले नै उताबाट आमा र भाइबहिनीलाई भरथेग गरिदिएँ ।
०००
मेरो बुवाको सपना थियो, मलाई विदेश पठाउने । म उडेको जहाज तलबाट हेर्ने । म जहाज चढेर विदेश गएँ पनि । तर, त्यसबेला तलबाट हेर्न मेरो बुवा जीवित हुनुहुन्थेन ।
बुवा खस्दा म २० वर्षकी थिएँ । उहाँले ज्याला-मजदुरी गरेर हामी सबैलाई पाल्नुभयो । तर, अन्तमा उहाँ बितेर जानुभयो । उहाँको पनि आमाबुवा हुनुहुन्न थियो । बुवा ८ वर्षकै हुँदा हैजाका कारण उहाँको पनि बुवाआमाको मृत्यु भएको थियो । एउटा कछाडमात्र लगाएर सानै उमेरमा खाली हात घर छाडेर सहर छिर्नुभएको मेरो बुवाले जीवनमा धेरै संघर्ष गर्नुभएको छ । सबैलाई सहयोग गर्ने मैले मेरो बुवाको लागि भने केही गर्न सकिनँ । यो सम्झिँदा भने साह्रै नमज्जा लाग्छ ।
पढ्नमा म अब्बल नै थिएँ । तर, बुवासँग मलाई पढाउने पैसा थिएन । त्यसैले मैले एउटा संस्थाबाट छात्रवृत्तिमा नर्सिङ सकें । तर, दुर्भाग्य, नर्सिङ सकेर केही गर्ने हुटहुटी शान्त गर्न नपाउँदै मैले बुवालाई गुमाएँ । त्यो बेला म डिप्रेसनमै गएको थिएँ । एउटै भएको सहारा पनि खोसिँदाको पीडा म शब्दमा बयान गर्न सक्दिनँ । भाइबहिनीलाई कसरी हुर्काउने भन्ने बोझ अर्कोतर्फ छँदै थियो ।
जिन्दगीको संयोग पनि कस्तो-कस्तो हुने ? मैले नर्सिङ सकेर जर्मनी जान्छु भन्ने सोचले गोथेबाट जर्मनी भाषा सिकेकी थिएँ । मलाई एम्बेसीबाट त्यही दिन फोन आयो, जुन दिन मेरो बुवाको निधन भएको थियो ।
बुवा धादिङमा केराको व्यापार गर्नुहुन्थ्यो । फुर्केखोलाको पुलमा एक दिन उहाँलाई मोटरसाइकलले ठक्कर दिएछ । कोरिया जान भनेर आएको एकजना युवकले चलाएको बाइकमा उहाँ ठोक्निुभएको रहेछ । मलाई मामाले फोन गर्नुभयो । ‘बुवाको एक्सिडेन्ट भयो’ भन्नेबित्तिकै मेरो त होसहवास उडिहाल्यो ।
मामाले उहाँलाई एउटा माइक्रो रिजर्भ गरेर काठमाडौं ल्याउनुभयो । म सीधै बीएन्डबी अस्पतालमा गएँ । झट्ट हेर्दा बुवालाई सद्दे देखें । बाहिरी चोटपटक थिएन । मनलाई अलि सन्तोष मिल्यो । तर, उहाँको दिमागमा असर गरेको रहेछ । मलाई नै चिन्न सक्नुभएन । कताकता हेरेर टोलाउनुहुन्थ्यो । डाक्टरले मस्तिष्कमा रगत जमेको र अवस्था क्रिटिकल रहेको बताए । म छाँगाबाट खसे झैं भएँ । अस्पतालभित्रै भक्कानो फुट्यो । यस्तरी रोएँ कि अहिले सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ ।
बीएन्डबीका डाक्टरले त्यहाँ उपचार सम्भव नभएको भनेर न्यूरो अस्पताल जान सल्लाह दिए । हामीले तत्कालै न्यूरोमा लग्यौं । डाक्टर उपेन्द्र देवकोटाले तत्काल अपरेशन गर्नुपर्छ भन्नुभयो । आफूसँग पैसा थिएन । बुवालाई ठक्कर दिने भाइको पनि आर्थिक अवस्था त्यति राम्रो जस्तो लागेन । उनले कोरिया जान ‘आफ्नो घरघडेरी सबै बेचिसकेको’ सुनाए । त्यसपछि मैले साथीभाइ गुहारेर पैसा जुटाएँ । बुवाको टाउकोको अपरेशन भयो । डाक्टर देवकोटाले नै अपरेशन गर्नुभयो ।
डाक्टरहरुले बताएअनुसार बुवाको टाउकाको हड्डी निकालिएको थियो । उहाँको टाउको थेप्चो भएको थियो । अपरेशनपछि विस्तारै उहाँको अवस्थामा सुधार आउन थाल्यो । होसका कुराहरु गर्न थाल्नुभयो ।
करिब एक महिना अस्पताल बस्दा हामीलाई आर्थिक रुपमा गाह्रो भयो । त्यो भाइ पनि तन्नम भइसकेको थियो । समयमा पैसा तिर्न नसकेकाले मलाई धेरै दिनसम्म बुवासँग भेट्नसमेत दिइएन । अन्ततः घरमै लैजाने निधो गर्यौं । अपरेशन सफल भए पनि डाक्टरले बुवा धेरै बाँच्न नसक्ने बताउनुभयो । उहाँहरुको कुराले मेरो मुटु चुँडिए झैं भयो । म एउटा विकराल परिस्थितिमा फस्न पुगें ।
त्यसबेला म कलंकीमा ठूलाबुवाको घरमा कोठा भाडामा लिएर बस्थें । बुवाको एक्सिडेन्ट भएपछि मैले उहाँको छोरा र छोरी दुवैलाई बोलाएर आफूसँगै राखेकी थिएँ । कोठामा भाइबहिनी आएपछि मलाई ठूलो बुवाले मान्छे धेरै भए भनेर अर्को डेरा खोज्न भन्नुभयो । बल्लबल्ल एउटा ३ कोठाको फ्ल्याट खोजेर सरेकी थिएँ । त्यही बुवालाई लगेर राखें । उहाँलाई बचाउन सक्छु कि भन्ने झिनो आशा थियो मनमा ।
बुवालाई इन्फेक्सन हुन सक्छ भनेर छुट्टै कोठामा राखें । म र भाइबहिनी अर्को कोठामा सुत्थ्यौं । राति दुई-दुई घन्टामा म उहाँलाई चिहाउँथें ।
०००
भदौ १ गतेको त्यो रात कहिल्यै भुल्न सक्नेछैन । अरु दिन जस्तै बुवालाई सुताएर पनि सुतें । राति दुईतीन पटक चियाएर हेर्दा उहाँ सुतिरहनुभएको थियो । तर, बिहान ५ बजे कोठामा जाँदा उहाँको अवस्था नाजुक थियो । सबै लुगा फुकाल्नुभएको रहेछ । चिलाएर हो वा के हो टाउकोको घाउ चिथोर्नुभएछ । बेस्सरी छट्पटइरहनु भएको थियो ।
मैले भाइबहिनी बोलाएर उहाँलाई बल्लतल्ल तलको कपडा लगाइदिएँ । अनि आफ्नो काखमा राखें । उहाँ निरन्तर छट्पटाइरहनुभएको थियो । मैले हेर्दाहेर्दै उहाँले हिरिकहिरिक गर्न थाल्नुभयो । शरीर चिसिँदै गयो । खुला आँखाले निरन्तर मलाई हेरिरहनुभएको थियो । मैले उहाँको शरीरमा छामछाम छुमछुम गरें । जीवनका लक्षणहरु हराउँदै गएको आभास भयो । अन्ततः मेरो काखमा उहाँ अस्ताउनुभयो । आँखाहरु उघ्रिएकै थिए । तर, उहाँ मबाट धेरै टाढा पुगिसक्नुभएको थियो ।
बुवाले संसार छोड्दा बिहानको ६ बजेको थियो । कोठामा मसँग ७ वर्षको बहिनी र ५ वर्षको भाइमात्र थिए । मैले मेरो नजिकको साथीलाई फोन गरें । ऊ मेरै अनुरोधमा पैसाको जोहो गर्न गाउँ गएको थियो । मैले मृत्युको खबर सुनाएपछि उतैबाट शव वाहन लिएर आउँछु भन्यो । शव वाहनको प्रतीक्षा गरिरहँदा ८ बजे बिहान मलाई एम्बेसीबाट कल आयो ।
मैले भाइबहिनीलाई कलंकीकै एक सरकारी स्कुलमा हाल्दिएकी थिएँ । बुवा बितेको बज्रपातकै समयमा एम्बेसीको कलले मलाई किंकर्तव्यविभूढ बनायो । केही सोच्नै सकिनँ । के गरौं, कसो गरौं भयो । यति धेरै दुःख गरेपछि केही प्रतिफल मिल्न लागेको छ, बुवाको सपना साकार हुन आँटेको छ, त्यसलाई कसरी छोडौं ? अर्कोतर्फ कोठाभित्र वुवाको शव लडिरहेको थियो । एकातिर बुवाको सपना, अर्कोतिर उहाँको शव । मैले उहाँको सपनालाई पछ्याउने निधो गरें ।
साथीसँग फोनमै सल्लाह गरेपछि मैले भाइबहिनीलाई चुपचाप स्कुल पठाएँ । त्यसपछि बुवाको शवलाई कोठाभित्रै छाडी ढोकामा ताला लगाएर म जर्मन एम्बेसी गएँ । त्यहाँ लामो लाइन थियो । त्यो लाइनमा धैर्य गरेर बस्नसक्ने क्षमता ममा थिएन । त्यहाँ त मेरो शरीरमात्र पुगेको हो, मेरो मष्तिस्क भने बुवातिरै थियो ।
म त्यहाँ लाइनमा उभिन सकिनँ । मैले लाइनमा बस्नुभएको आफूभन्दा अघिको व्यक्तिहरुलाई रुँदै आफ्नो पीडा सुनाएँ । नेपालीमा मानवता चाहिँ भरपुर छ । मेरो अवस्था सुनेपछि मलाई सबैले अगाडि जान छाडिदिनु भयो ।
एम्बेसीभित्र छिरेपछि त्यहाँको कर्मचारीहरुले मलाई एउटा प्रश्न गर्नुभयो, जसको जवाफ मसित थिएन । उहाँहरुले सोध्नुभयो, प्लेन टिकट कसले तिर्दिन्छ ? आफ्नो बाउको लासलाई ताला लगाएर आएकी म एकछिन अक्क न बक्क भएँ । पहिला फर्म भर्दा बुवाको नाम लेखेकी थिएँ । अब कसले तिर्छ भन्नु ? बुवा बितिसक्नुभयो भनौं भने फेरि मरेको बाउले तेरो प्लेन टिकटको पैसा कसरी तिर्छ भन्लान् । त्यसैले भगवानसँग माफी मागेर, मुटुमाथि ढुंगा राखी बुवाले तिर्दिनुहुन्छ भनें । त्यति भनेपछि उहाँहरुले मलाई पासपोर्ट दिनुभयो । यसो हेरें, भिसा लागेको रहेछ ।
मलाई मेरो भिसा अलि ढिला लाग्ला भन्ने थियो । तर, परिस्थिति हेर्नुहोस् न, आवेदन दिएका ७-८ जना सबैलाई फ्यालेर मलाईमात्र भिसा दिनुभएछ । उत्सव मनाउँ कि दुःख जस्तो क्षण थियो त्यो ।
भिसा लिएर कोठा फर्किएँ । भाइबहिनी स्कुलबाट आएपछि एउटा शव वाहन बोलाएँ । अनि बुवाको लाश हालेर धादिङ पुर्याएर अन्त्येष्टि गरें । गुम्बामा अन्त्येष्टि होस् भन्ने बुवाको चाहना थियो । त्यसैले मैले उहाँको लासलाई आफ्नै ठाउँमा लगें । मैले हेर्न पनि सकिनँ । हेरिनँ पनि । बुवाको अन्त्येष्टि गरेको ५-६ दिनमा म जर्मनी उडें ।
म आकाशमा उडेको हेर्ने बुवाको ठूलो रहर थियो । सधैं ‘तेरो भिसा कहिले लाग्छ लाग्छ, तेरो भिसा लागिञ्जेल म ऊ त्यो डाडाँपारि जलिसकेको हुन्छु होला’ भन्नुहुन्थ्यो । (भावविह्वल हुँदै) जब म जर्मनी जाने प्लेनमा उडें, मलाई धेरै गाह्रो भयो । मरेर गए पनि कतैबाट बुवाले मलाई हेरिरहनुभएको छ कि भन्ने लाग्थ्यो । त्यत्रो वर्ष अर्काको घरमा कमारो जस्तो भएर बस्नुभयो । तर, अन्तिममा कुनै सुख महसुस गर्न नपाइ बिदा हुनुभयो ।
अहिले मसँग सबथोक छ । चाहेको कुरा पूरा गर्न सक्ने सामर्थ्य छ । तर, अफसोच, मसँग मेरो बुवा हुनुहुन्न । सम्झेर खल्लो लाग्छ । सानो उमेरमै कति दुःख दिएका होलान् भगवानले जस्तो लाग्छ अहिले पनि सम्झिँदा । विगत सम्झियो कि तड्पन हुन्छ ।
०००
मैले जर्मन नागरिकसँगै विवाह गरें । उहाँ उमेरले मभन्दा धेरै जेठो हुनुहुन्छ । मलाई मान्छेहरुले किन त्यस्तो बुढासँग विवाह गरेकी, यताउता भनेर सोध्छन् । मैले उहाँको उमेर र बैंश हेरेर विवाह गरेको होइन । उहाँको मन हेरेर विवाह गरेकी हुँ । म मनभरि पीडा बोकेर हिँडेकी मान्छे । उहाँलाई भेटेपछि मैले दुःख बिसाउने ठाउँ भेटें ।
उहाँ यति समझदार हुनुहुन्छ कि कहिलेकाहीं म आफैं छक्क पर्छु । सायद मेरो श्रीमान जस्तो व्यक्ति र उहाँको जस्तो सोच कसैको छैन होला जस्तो लाग्छ । उहाँले मेरो हरेक कुरा बुझिदिनुहुन्छ । माया सँगसँगै स्वतन्त्रता छ । एउटा छोरी मान्छेको लागि त्योभन्दा ठूलो कुरा के नै हो र ? म जे गर्छु भने पनि उहाँले खुशी-खुशी अनुमति दिनुहुन्छ । केही कुरामा रोकटोक छैन । उहाँलाई मैले सन् २०१२ मा नेपाल पनि ल्याएकी थिएँ । फेरि पनि ल्याउँछु ।
मलाई धेरैले विदेशी भन्नुहुन्छ । तर, म आज पनि नेपाली हुँ । मसँग अहिले पनि नेपाली नागरिकता नै छ । मलाई मेरो श्रीमानले कतिचोटी नागरिकता परिवर्तन गर भन्दा पनि मैले गरेकी छैन । (हाँस्दै) म जर्मनी बसे पनि कुस्ती चाहिँ यहीका व्यक्तिहरुसँग गरिरहेकी हुन्छु । मेरो पहिचान नमेटियोस् भनेर म वर्षैपिच्छे नेपाल आउँछु ।
ममात्र नभएर मेरा नानीहरुले नेपाल चिनून् भनेर उनीहरुलाई पनि लिएर आउँछु । त्यहाँ पनि मेरो गृहस्थी छ । त्यसैले चटक्क छाडेर आउन सक्दिनँ । म हरेक वर्ष नेपाल आउँछु र यहाँको विकासका लागि एक दिन पनि नबसी खटिइरहन्छु । मलाई मेरो देश सफा बनाउनु छ । जबसम्म सफा हुँदैन तबसम्म म लागि परिरहनेछु । सबैले यति धेरै माया दिनुभएको छ । त्यसको लागि म जिन्दगीभर आभारी रहनेछु ।
काठमाडौं । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल गीत ’बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।
सिनेमाको सार्वजनिक लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ । सिनेमाको सार्वजनिक लिरिकल भिडियोका चल अचल दृश्यमा प्राय सवै कलाकारलाई कारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने देखिन्छ ।
भिडिओ:
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको सिनेमामा आकाश बरालको लेखन छ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।
‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
सिनेमा ‘लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए । त्यो बीचमा उनले केही सिनेमा तथा म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही गीतमा स्वर समेत भरेका थिए । कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा सिनेमा निर्माणको तयारी समेत गरेपनि ठुलो बजेटका कारण त्यो सिनेमालाई पोस्टपोण्ड गर्दै यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् ।
काठमाडौं । अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । बुधबार होटल र्याडिसनमा यी दुईकोे इन्गेजमेन्ट समारोह सम्पन्न भएको हो ।
परिवार, आफन्तजन, सीमित साथीभाई तथा केही कलाकर्मीको उपस्थितीमा यी दुईले औंठी साटासाट गरेका हुन् । करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडी यहीँ वर्षको माघमा विवाहमा परिणत गर्ने तयारीमा छन् ।
थुप्रै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेका पहारी चर्चित अभिनेता टीका पहारीका छोरा हुन् । उनले २०१३ मा रिलिज भएको चलचित्र ‘मञ्जरी’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । तर, उनलाई सोचेजस्तो सफलता भने ‘होस्टेल’ चलचित्रबाट मिलेको थियो । पछिल्लो समय उनी गायक प्रकाश सपुतको गीत ‘जाले रुमाल फाट्यो’मा देखिएका थिए ।
काठमाडौं । सेलिब्रिटीहरू मिडियासँगको अन्तरवार्तामा आफ्नो निजी जीवनबारे कति खुल्नु ठीक हुन्छ ? यसको कुनै मापदण्ड नहोला । कोही आफ्नो प्राइभेट लाइफलाई प्राइभेट नै राख्नु उचित ठान्छन् त कोही चर्चाका लागि सबै कुरा छताछुल्ल बनाउन पनि हिच्किचाउँदैनन् ।
पूर्वमिस नेपाल माल्भिका सुब्बाको कुरा गर्ने हो भने उनले आफ्नो निजी जीवनको एउटा महत्वपूर्ण परिघटनालाई लामो समयसम्म गोप्य राखिन् । श्रीमान्सँग माल्भिकाको पारपाचुके भएकोबारे गाईंगुईं हल्ला चलिरहेको भए पनि उनी स्वयम्ले भने कतै पनि बोलेकी थिइन् । दुई महिनाअगाडि उनले अभिनेत्री प्रियंका कार्कीले चलाउने एउटा पोडकास्टमा यो विषयमा पहिलोपटक मुख खोलेकी थिइन् । त्यो अन्तरवार्ता भाइरल नै भयो । धेरैले उनीप्रति सहानुभूति पनि व्यक्त गरे ।
टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउने होस्ट माल्भिकाले आफ्नै जीवनसाथी गुमाएको पाँच वर्ष भइसकेको छ । आफ्नो वैवाहिक जीवन असफल भए पनि उनले जीवनसाथीमा थुप्रै जोडीहरूलाई बोलाएर उनीहरूका सुखद अनुभवहरू सुनिरहिन् । भर्खरै मात्र ‘जीवनसाथी’ को नयाँ सिजन पनि उनैले लिएर आएकी छन् । यसमा विभिन्नखाले प्रतिक्रियाहरूको सामना गर्नुपरिरहेको छ । तर, माल्भिकाकै भनाइमा उनी अब प्रतिक्रियाहरुसँग डराउन छोडिसकेकी छन् ।
‘म त्यो फेजबाट अगाडि बढिसकेँ,’ उनी भन्ने गर्छिन्, ‘म अब प्रतिक्रियाको वास्ता नगरी आफ्नो काममा दत्तचित्त छु ।’
उनै माल्भिकाको एउटा ताजा अन्तरवार्ता अहिले चर्चामा छ । एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिका दोस्रोपटक आफ्नो वैवाहिक सम्वन्धबारे थप खुलेकी छन् । सो अन्तरवार्तामा उनका केही भनाइहरुले दर्शक/स्रोतालाई आश्चर्यमा पारेको छ ।
युट्यूवर उत्सव रसाइलीले आफ्नो शोमा दुई डिभोर्सी सञ्चारकर्मीहरूलाई निम्त्याएका थिए । माल्भिकासँगै थिइन् सरिता ज्ञवाली । एक घन्टाभन्दा लामो कुराकानी केवल उनीहरूको असफल वैवाहिक सम्बन्धको सेरोफेरोमा रुमल्लिएको थियो । रसाइलीले सोधेका साह्रै निजी र कतिपय अनर्गल प्रश्नहरुलाई पनि दुवैले सहजरूपमा जवाफ दिए ।
युट्यूवरको मुख्य चासो माल्भिका र सरीता डिभोर्सपछि अरु कुनै पुरुषसँग सम्बन्धमा छन् कि छैनन् भन्नेमा केन्द्रित थियो । उनीहरुलाई पालैपालो यस्तो प्रश्न सोधियोः
डिभोर्सपछि कुनै पुरुषसँग शारीरिकरूपमा आकर्षित हुनुभएको छ कि छैन ?
डिभोर्सपछि पूर्वपतिसँग घुम्न जानुभएको छ कि छैन ?
डिभोर्सपछि कसैसँग यौनसम्बन्ध राख्नुभएको छ कि छैन ?
डिभोर्सपछि कसैसँग रिलेसनसीपमा हुनुहुन्छ कि हुनुहुन्न ?
अब कस्तो खालको पुरुषसँग विवाह गर्न चाहनुहुन्छ ?
डिभोर्सपछि एक महिलाको जीवन सामान्य हुँदैन वा हुनुहुँदैन भन्ने खालको सोचबाट सोधिएका प्रश्नहरुलाई दुवै सेलिब्रिटीले चाहेको भए पन्छाउन वा जवाफ नदिन सक्थे । तर, उनीहरु दुवै खुलेर प्रस्तुत भए । खासगरी माल्भिका ।
माल्भिकाले आफू पूर्वपतिसँग अझै पनि भौतिकरूपमा नजिकै रहेको बताइन् ।
‘हामी अहिले पनि सँगै घुम्न जान्छौं । धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं,’ उनले भनिन् । दुवैको सन्तान एउटै भएकाले उसको खुशीका खातिर आफूहरु नटाढिएको उनले स्पष्ट पारिन् ।
त्यसपछि सोधियो, ‘शारीरिक सम्बन्ध पनि भएको छ ?’
माल्भिकाले भनिन्, ‘छ’ । धन्न युट्यूवरले यसलाई पनि व्याख्या गर्न लगाएनन् ।
(आफूले बोलाएका गेस्टलाई युट्यूवरले यति हल्कारूपमा लिए कि यस्तो प्रश्न पनि सोध्न भ्याए- टिभी शो चलाउँदै गर्दा पाद्नुभएको छ कि छैन ? यसमा पनि माल्भिकाले नहिच्किचाइ जवाफ दिइन्- छ ।)
त्यसो त माल्भिका र सरीताले युट्यूवर रसाइलीलाई पनि पेल्न बाँकी राखेनन् । रसाइलीले माल्भिकालाई सोधेका थिए, ‘तपाईंले त जीवनसाथीको साटो ब्रेकअप भएका जोडीहरूसँग अन्तवार्ता गर्नुपर्ने हो भनेर कमेन्ट आइरहेका छन् नि ?’
माल्भिकाले रसाइलीमाथि प्रतिप्रश्न गरिन्, ‘त्यसो भए तपाईंले पनि त आफ्नो शोमा ‘होमो सेक्सुअल’ हरुलाई मात्र ल्याउनुहुन्छ त ?’
युट्यूवर रसाइलीले हालै मात्र आफूलाई ‘गे’ (पुरुष समलिंगी) का रूपमा सार्वजनिक गरेका थिए । आफूहरुको सम्वन्धविच्छेदबारे धेरै खोतलेपछि माल्भिका र सरिताले रसाइलीको पनि एक पुरुषसँग ब्रेकअपको सन्दर्भ कोट्याउन खोजे । रसाइलीले आफ्नो ब्रेकअप भएको स्वीकार गरे तर प्रेमीको नाम खोलेनन् । उनले आफ्नो ‘क्रस’ भनेर चलचित्र ‘महापुरुष’ का हिरो अरुण क्षेत्रीको नामसमेत लिए ।
काठमाडौं। अभिनेता शाहरुख खान एक वर्षमा भारतमै १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् । चार वर्षको लामो ब्रेकपछि ‘पठान’लिएर फर्किएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको छ। ‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको छ।
‘पठान’ले रिलिज भए लगत्तैबाट बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। हिन्दी चलचित्रको लागि ‘पठान’सर्वकालिन ब्लकबस्टर बनेको थियो भने यता हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा तहल्का मच्चाईरहेको छ।
शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वब्यापी रुपमा ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ। एट्ली निर्देशित ‘जवान’ ले अझैपनि राम्रो व्यापार गरिरहेको छ।
एक वर्षमै हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका शाहरुखको पठान’ले ५४३.०५ करोड भारु माथि कमाएको थियो।
सन् २०१९ मा चारवटा रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाएका थिए। शाहरुखले २०२३ मा दुई फिल्मबाटै १०२३.०४० करोड भारु कमाएर अक्षयले बनाएको कीर्तिमान तोडेका छन्।
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको हो ।
निर्माण टिमले बुधवार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा भनेकाे छ ।
‘हिजो काम, आज काम काम विदेशमा काम भन्दा के नै छ र आमा विदेशमा’
गीतलाई रचना गरेका हुन् सतिश चापागाईँले । चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन् ।
बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । केही मन छुने संवादसमेत गीतमा समावेश छन् ।
भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।
गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)ले बक्स अफिसमा बिस्तारै दर्शक बढाउन थालेको छ । सिनेमाको इनिसियल व्यापार सुखद नदेखिएपनि विकेण्डपछि बिस्तारै दर्शक बढाउदै लगेको वितरक गोविन्द शाहीले बताए ।
वितरक शाही आज मंगलबारबाट सिनेमाले भने सोचेभन्दा राम्रोले साथ पाउन थालेको उल्लेख गरेका छन् । सिनेमा हेर्नका लागि थिएटरमा टिकट बुकिङको अनुपात पनि बढेको छ । थिएटरको बुकिङ सिटलाई हेर्ने हो भने गएको तीन दिनभन्दा यता बुकिङको अनुपात निकै बढेको छ । भोली बुधबारका लागि क्युएफएक्स लगायतका हलले शो समेत बढाएको देख्न सकिन्छ ।
राजधानीलगायतका विभिन्न हलको बुकिङ हेर्दा दर्शकको ठुलो संख्याले बुकिङ गरेको देख्न सकिन्छ । यही अनुरुपले सिनेमाले भोलिको संविधान दिवसको सार्वजनिक बिदाको फाइदा उठाउनका साथै बाँकी दिनमा पनि यही अनुपातमा दर्शक बढाउँदै लैजाने लगेको खण्डमा सिनेमाले व्यापारिक सफलता पाउने देखिन्छ ।
काठमाडौं । अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् ।
उनले निर्देशन तथा अभिनय गर्ने सिनेमाको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । सिनेमामा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही बर्ष गरिनेछ । सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।
मंगलबार नै सिनेमाको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।
निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने सिनेमाले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।
अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश सिनेमाले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन् । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफुहरु सजग रहेको उल्लेख गरिन् ।
यता अभिनेत्री रीमा विश्वकर्माले पनि सिनेमाले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई सिनेमाले नजिकबाट देखाउने दाबी गरिन् ।
सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।
कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका सिनेमामा पनि अभिनय गरेका छन् ।
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलबार सार्वजनिक गरेको छ ।
गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।
१ लाख १ हजार १११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको समिति गठन गरेको थियो ।
भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रबार राजधानीको गोकर्णेश्वर- ५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । रिजालका अनुसार गुठीको साधारणसभा पनि सोही दिन हुनेछ ।
काठमाडौं । असोज २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘कौसीद’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई मिनेट लामो ट्रेलर ओ.एस.आर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
कुमार भाष्कर निर्देशित चलचित्रमा चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सन्दीप लोहनी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई निर्माता केदार भुषालले निर्माण गरेका हुन भने डीमेश श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता र लक्ष्मण बाँनिया सह–निर्माता हुन् । चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । भिम विश्वकर्माले सम्पादन गरेको चलचित्रलाई निशल पौडेलले खिचेका हुन् ।
काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो ।
चलचित्रको मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै, नायिका करिश्मा श्रेष्ठ पनि अनुबन्धित भएकी छन् । यसै चलचित्र मार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।
सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको चलचित्र ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो फिल्म हुनेछ । यहीँ चलचित्रमार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहने छ।
चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजुविक्रम थापाको डिओपी रहनेछ भने चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ ।
दिवाकरले यसअघि चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।
काठमाडौं। निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’मा पूर्वमिस नेपाल वर्ल्ड तथा अभिनेत्री निकिता चाण्डक अनुबन्धित भएकी छन् । निर्मात्री सुप्रिया कट्वालले चलचित्रको विशेष भूमिकामा चाण्डक अनुबन्धित भएको जानकारी दिएकी हुन।
चलचित्रमा निकिताले कस्तो भूमिका निभाउनेछिन त्यो भने सुप्रियाले खुलाएकी छैनन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत चाण्डक विशेष भूमिकामा अनुबन्धित भएको मात्र जानकारी दिएकी हुन।
‘रावायण’को शीर्ष भूमिकामा यसअघि नायक अनमोल केसी र पूर्व मिस नेपाल नीति शाह अनुबन्धित भइसकेका छन् ।