Category: कलाप्रेस

  • अश्लील डान्सर बद्री बिष्ट रेस्टुरेन्टभित्र मोडलबाटै पिटिए !

    अश्लील डान्सर बद्री बिष्ट रेस्टुरेन्टभित्र मोडलबाटै पिटिए !

    काठमाडौं । अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफर/डान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए ।

    केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित गरेको डान्सको भिडिओ टिकटकमा भाइरल भएको थियो । उनले रीतुको अनुहारमा मास्क लगाइदिएर उक्त भिडियो सुट गरेका थिए । रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ लठ्ठ बनाएर बद्रीले त्यो भिडियो बनाएको आरोप लगाएकी थिइन् । पछि बद्रीले उक्त भिडिओका लागि माफी मागे ।

    अहिले सार्वजनिक भएको भिडियो क्लीपमा एक रेस्टुरेन्टभित्र बसिरहेका बद्रीलाई रीतुले थर्काउँदै पिटेको देख्न सकिन्छ ।

    ‘उसले गर्दा मेरो घर फेमिली कोही पनि अहिले मसित बोल्दैन’, घटनास्थलमा रहेका व्यक्तिहरुसँग रीतुले भनेकी छन् । त्यसपछि उनले ‘के गर्‍या तपाईंले भन्नू’ भन्दै बद्रीको कपाल लुछेर बङ कि बङ झापड लगाएको देखिएको छ । बद्री कुनै प्रतिकार गर्दैनन् । रेस्टुरेन्टका कर्मचारीहरुले रीतुलाई रोक्छन् र बाहिर जान आग्रह गर्छन् । रीतुले ‘पुलिस आइसक्यो’ भनेको सुनिन्छ ।

    फेसबुकमा सार्वजनिक भएको ५५ सेकेन्डको भिडिओमा घटनाको वास्तविकता खुलेको छैन । तीन महिना अगाडि दिएको एउटा अन्तर्वार्तामा रीतुले आफूलाई बद्रीले दुरुपयोग गरेको बताएकी थिइन् । बद्रीसँग डान्स सिक्न जाँदा उनले आफूलाई रक्सी खुवाएर अश्लील हर्कत गरेको रीतुको आरोप थियो ।

    ‘डान्स क्लास सकिएर घर जान लाग्दा बद्रीले मलाई रोकेर जबरजस्ती बियर खुवायो । म मदहोश भएपछि कुर्सीमा राखेर के के गरेको भिडियो बनाएछ । मलाई केही पनि थाहा भएन । पछि भिडिओ बाहिर आएपछि मात्रै थाहा पाएको हो’, रीतुले भनेकी छन् ।

    उनले पछि यो भिडिओलाई लिएर बद्रीविरुद्ध उजुरीसमेत गरेकी थिइन् । तर, बद्रीले माफी मागेर विवाद सेटल गरेका थिए । अहिले आएर फेरि बद्रीविरुद्ध रीतु जाइलागेकी छन् ।

    बद्री यसअघि अर्की मोडल एलिसा शर्मासँगको विवादमा पक्राउ परेका थिए । आफूलाई सामाजिक सञ्जालबाट तथानाम गाली गरेपछि एलिसाले बद्रीमाथि साइबर क्राइममा उजुरी गरेकी थिइन् । २४ घन्टा हिरासत बसेपछि एलिसा र उनकी आमा गएर मिलापत्र गरेका थिए ।

  • अनमोलकी आमा सुस्मिताको दावी– सुदर्शन थापाले मदिरा पिएर जथाभावि बोलेपछि कुरा बिग्रियो

    अनमोलकी आमा सुस्मिताको दावी– सुदर्शन थापाले मदिरा पिएर जथाभावि बोलेपछि कुरा बिग्रियो

    काठमाडौं । नायक अनमोल केसी ‘विश्वासघात’ को आरोपमा पक्राउ परेर दुई दिनपछि रिहा भए । उनले पक्राउ पर्नुअघि र पछि यो विषयमा कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

    अनमोल पक्राउ पर्दा उनका बुवा तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने युरोपमा थिए । एउटा कार्यक्रमका लागि ‘पत्नी’ जिया केसीसँग जर्मनीमा पुगेका भुवन तत्काल फर्किन सकेनन् । अनमोल घरमा एक्लै बसिरहेका थिए ।

    अनमोलकी आमा सुस्मिता बम्जन् भने दार्जिलिङमा बस्दै आएकी छन् । भुवन र सुस्मिता धेरै अघि अलग भएका हुन् । आपसमा अलग भए पनि उनीहरु दुवै छोरालाई उत्तिकै माया गर्छन् । अनमोलको पनि बुवा र आमा दुवैसँग न्यानो सम्वन्ध छ । यति मात्र होइन, ‘कान्छीआमा’ जिया केसीसँग पनि उनी उस्तै मिल्छन् ।

    यस प्रकरणमा निर्देशक शुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले अनमोलबाट धोका पाएको दावी गरिरहेका छन् । उनीहरुको भनाइ अनुसार अनमोलले १० लाख रुपैयाँ एड्भान्स लिएपछि फिल्म नखेल्ने भनेर धाका दिए । यस विषयमा अनमोलको प्रतिक्रिया नआइरहँदा उनकी आमा सुस्मिता केसीले मुख खोलेकी छन् । एक युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले अनमोलको बचाउ गर्दै अहिलेको परिस्थितिमा सुदर्शन थापाकै कमजोरी औंल्याएकी छन् ।

    सुस्मिताको भनाइ यस्तो छ :

    मेरो छोरो साँच्चिकै सोझो छ । कसैलाई नो भन्न सक्दैन । कसैलाई नराम्रो भन्न सक्दैन । कसैको मन दुखाउँदैन । हुन्न गर्दिन भन्न सक्दैन । हुन्छ नि दाइ हेरौंला नि भन्छ । त्यसलाई मान्छेले अर्कै हिसाबले लिन्छन् । कति ठाउँमा सोझो पनि राम्रो होइन भन्ने सम्भवतः अनमोलले सिक्यो होला ।
    मलाई अघिल्लो दिन नै च्याटमा उसले सुदर्शन थापाको कुरा सुनाएको थियो । मसित अनमोल र मेरो म्यासेजको स्क्रिनसट पनि छ । एक त सुदर्शन थापा अल्कोहोलिक हो भन्ने सबैलाई थाहा छ नि । तर फिल्मको स्क्रिप्ट सुनाउँदा त रक्सी खाएर कोही पनि आउँदैन । अनमोलले जेन्टलम्यान भएर दाइ अँ यताउति भनेर कुरा गर्यो । स्क्रिप्ट उनीहरुको कम्प्लिट भएको थिएन ।

    अनमोलले १० लाख रुपैयाँ मागेको होइन । उनीहरुले जबर्जस्ति थमाएको हो । एउटा गल्ति के भयो भने चेक लिनै नहुने थियो, उसले लिइदियो । त्यो मिस्टेक चाहीँ मान्छु । तर कहिलेकाहीँ जबरजस्ति गरेपछि नो पनि भन्न नमिल्ने अवस्था हुन्छ ।

    अहिले उनीहरुको सुटिङ गर्ने कुरा नै थिएन । ‘फर्कीफर्की’ र ‘जेर’ पछि मात्र ‘रावायण’ गर्ने कुरा भएको थियो । उसको बाउ ९भुवन केसी० को बर्थडेमा सुदर्शन थापा पूरै झ्याप भएर ‘नकआउट’ रहेछ । अनमोलले फस्र्ट टाइम उसलाई त्यस्तो अवस्थामा देखेको । अनमोल त माछामासु, जाँडरक्सी केही पनि खाँदैन । अहिले चैं बल्लबल्ल फिजिकल ट्रेनरले बि १२ कम हुन्छ भनेपछि माछा खान थालेको छ । उसलाई जाँड–रक्सी खाने मान्छे मनै पर्दैन । सुदर्शन थापाले रक्सी खाएर जे पायो त्यही बोल्न थालेपछि उप्रति अनमोलको इम्प्रेसन बिग्रियो ।

    दुई दिनपछि अनमोलले मलाई फोन गर्यो । त्यो दाइ रक्सी नखाँदा अर्कै मान्छे र रक्सी खाएपछि अर्कै मान्छे हुनुहुँदो रहेछ । मलाई त अर्को छड्के ३ बनाउने हो कि भन्ने डर लाग्यो मामु भन्यो । स्क्रिप्ट पनि अधकल्चो छ, मैले साइन पनि गरेको छैन के गर्ने भनेर सोध्यो । मैले स्क्रिप्ट सुनाउ त भनेँ । अनमोलले सुनाए अनुसार चलचित्रमा उसको दुईवटा भूमिका छ जसमा एउटा पाइलटको भूमिका छ । मैले आधा सुनेपछि स्क्रिप्ट चित्त बुझेन भनेँ । साइन गरेको छैन, खुरुक्क चेक फिर्ता गर्देउन भनेर सिकाएँ ।

    मैले बुवालाई चेक दिएर पठाउन त भन्दा बुवा यूरोप जानुभयो भन्यो । त्यसपछि मैले अर्को कोही विश्वासिलो मान्छेलाई दिएर पठाउ भने । उसले हुन्छ पनि भन्यो ।

    बुवा हुनुहुन्न भनेपछि उसलाई खाना कसले पकाउँछ भनेर सोधेँ । उसले घरमा काम गर्ने छैन, बाहिरबाट मगाएर खान्छु भन्यो । त्यसो भए तिमी यतै दार्जिलिङ आउन त केही दिनलाई भन्दा उसले घरमा कोको (कुकुर)छ उसलाई हेर्नुपर्छ भन्यो । अनि म आफैं आउँछु अनि कोकोलाई पनि लिएर आउँला, काँकडभिट्टामा गाडी छोडेर दार्जिलिङ आउँला भन्दा उसले एक्वेरियममा माछालाई खुवाउनुपर्छ, फुलमा पानी हाल्नुपर्छ भन्यो । म यहाँ सेफ छु भनेपछि मैले पनि ठिकै छ भनेर छोडिदिएँ ।

  • समभोक उपन्यास विक्रीबाट प्राप्त दुई लाख रूपैयाँ असहाय तथा बालबालिका लागि सहयोग

    समभोक उपन्यास विक्रीबाट प्राप्त दुई लाख रूपैयाँ असहाय तथा बालबालिका लागि सहयोग

    काठमाडौं । समभोक उपन्यास विक्रीबाट प्राप्त भएको रकम सामाजिक संस्थालाई प्रदान गरिने भएको छ ।

    लेखक शिव प्रकाशले पुस्तक विक्रीबाट प्राप्त भएको करिब २ लाख रकम दुई सामाजिक संस्थालाई प्रदान गरिने बताए ।

    उनले चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर ९सञ्चालक विमला श्रेष्ठ० र काठमाडौं स्थित रक्षा नेपाल ९सञ्चालक मेनुका थापा० प्रदान गरिने बताए ।

    यसअघि उनले घागी कथा संग्रह बिक्रीबाट आएको रकम महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई दुई लाख ५७ हजार सहयोग गरेका थिए ।

    सुन्दरहरैंचा, मोरङमा जन्मिएका प्रकाश काठमाडौंको सिनामङ्गलमा बस्दै आएका छन् । अहिले उनी अमेरिकको बस्टनमा छन् ।

    उनका जय नेताजी (हास्यव्यङ्ग्य कविता संग्रह), गोलमाल (हास्यव्यङ्ग्य कविता संग्रह), केही हास्यव्यङ्ग्य निबन्ध, जैमली (कथा संग्रह), घागी (कथा संग्रह), समभोक (उपन्यास) प्रकाशित छन् । उनका सामाजिक र राजनीतिक दर्शनवादी लेख–रचना पनि प्रकाशनमा रहेका छन् ।

  • सुप्रियाले देखाइन् प्रमाण : ‘रावायण’ मा अनमोलका लागि किनिएको थियो यस्तो कपाल, जुंगा र कस्ट्यूम

    सुप्रियाले देखाइन् प्रमाण : ‘रावायण’ मा अनमोलका लागि किनिएको थियो यस्तो कपाल, जुंगा र कस्ट्यूम

    काठमाडौं । सुपरस्टार अनमोल केसीसँग पहिलो पटक सहकार्य गर्ने कुराले निकै उत्साहित थिए, निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवाल । होम प्रोडक्सन फिल्म ‘रावायण’ उनीहरूको महत्त्वाकाङ्क्षी प्रोजेक्ट थियो ।

    एड्भान्स स्वरूपमा १० लाख रुपैयाँको चेक लिएर हिँडेका अनमोलले मनस्थिति बदलेपछि यो जोडी तनावमा पर्‍यो ।

     

    अन्ततः अनमोलले फिल्म नखेल्ने निर्णय सुनाए । पैसा फिर्ता लिइदिन आग्रह गरे । सुदर्शन र सुप्रियाका लागि ठूलै घातजस्तो भयो । किनकि उनीहरूले फिल्मका लागि धेरै तयारी अगाडि बढाइसकेका थिए । त्यसैले पैसा फिर्ता लिनुको साटो उनीहरू प्रहरीको शरणमा पुगे ।

    सुप्रियाको उजुरीमा अनमोल पक्राउ परेर दुई दिनपछि छुटिसकेका छन् । उनले आफ्नो तर्फबाट कुनै पनि प्रतिक्रिया दिएका छैनन् । पब्लिक सेन्टिमेन्ट उनको पक्षमा देखिन्छ । अनमोल पक्राउ परेपछि सुदर्शनमाथि निकै गालीगलौज भयो । आपसी छलफलबाट मिलाउन सकिने मामूली विषयवस्तुलाई प्रहरीमा पुर्‍याएर एक असल छविको नायकलाई बदनाम गराउन खोजेको आरोप लाग्यो । उनीहरूलाई अहिले स्पष्टीकरण दिँदाको हैरानी छ ।

    अनमोल रिहा भएको भोलिपल्ट सुप्रियाले फेसबुकमा लामो स्टाटस पोस्ट गरिन् । त्यसमा उनले सामाजिक सञ्जालबाट आफूहरू पीडित बनेको गुनासो गरेकी छन् ।

    अनमोललाई लक्षित गर्दै उनले लेखेकी छन्, ‘यसअघि पनि उहाँका यस्ता विश्वासघातका घटना प्रशस्तै भए पनि उसैको पक्षपोषणमा सबै जना हुनुहुन्छ, अझै उहाँलाई नै जय जयकार गरिराखेको देख्दा अचम्मित छु । सबैले बलेकै आगो ताप्छन्, त्यो थाहा छ र पनि स्वतन्त्र न्यायका लागि लड्न किन नपाउने ?

    सामाजिक सञ्जालमा बेतुकका तर्क गरेर पिडामाथि पिडा नदिन उनले आग्रह गरेकी छन् ।

    उनले भनेकी छन्- ‘सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, सक्नुहुन्न भने थप विक्षिप्त नबनाउनुहोस् । के न्याय माग्न प्राण नै त्याग गर्नु पर्ने हो र ? आर्थिक क्षति पनि आफ्नै, बेइज्जती पनि आफ्नै अनि न्याय माग्न पनि नपाउनु ? कुनै बाध्यता नभई दुधे बच्चा छोडेर न्यायालय धाउन कहाँ सहज छ र हजुर ।

    सुप्रियाले रावायणको निर्माण टीमसँग मौखिक र व्यवहारिक सहमति गरेर ३ महिना अगाडि नै अनमोलले चेक बुझेको बताएकी छन् । साथै, स्क्रिप्टमा यसो गरौँ, गीत यसरी गरौँ भन्दै निरन्तर सल्लाह–सुझाव दिने गरेको उनको भनाइ छ ।

    तर, कागजी सहमति गरौँ भन्दा जहिले गर्दा पनि हुन्छ भनेर मीठो बोलीमा फसाउने नियत स्पष्ट रहेछ, तर हाम्रो सोझोपना र इमानदारिताले त्यो आत्मीयतामा सधैँ अन्धो विश्वास गरिरह्यो,’ उनले लेखेकी छन् ।

    सुप्रिया थप्छिन् :

    सुटिङलाई चाहिने ड्रेस घरमै नाप्नुभयो । कपालको नाप दिन आफैँ जानुभयो । यी सबै चाहिने आवश्यक सामान पनि तयार भए । अनि आफू तयार भएको र जतिसक्दो छिटो स्पटमा जाऊँ त्यहाँको वातावरणले अझै क्यारेक्टरमा सजिलो हुन्छ भनेर अफिसबाट छुटेको मान्छे भोलिपल्ट अचानक फोन गरेर आफूले त्यसको भूमिका निभाउन नसक्ने र तयारीका लागि अनिश्चित समय माग्ने, अनि बाहिर गएर रावायण चलचित्र साइन नै गरेको छैन, मलाई केही फरक पर्दैन भन्दै हिँड्ने ।

    के कानुनी सझौता नै नगरेपछि जे गर्दा पनि हुने ? अनि छलफलका लागि अफिस आउनुहोस् भनेर पत्रसमेत काट्दा वकिलको भाषामा अब छलफल गर्नुपर्ने औचित्य नै सकिएको भनेर रवाफपूर्ण जवाफ पठाउने । टेलिफोन सम्पर्कमा निर्मातालाई म चिन्दिनँ तपाईँ को हो ? केका लागि १० लाखको चेक दिनुभएको भनेर संवेदनाहीन तर्कसमेत दिएपछि कानुनी बाटो रोज्न बाध्य भएको हो ।

    त्यसपछि उनलाई पटक–पटक सम्पर्क गरी प्रहरीले कार्यालयमा छलफलका लागि उपस्थित हुन बोलाए पनि अटेरी गर्दै शक्तिको आडमा बसेर आफैं मिलाउने र त्यहाँ उपस्थित हुनुपर्ने आवश्यकता नभएको जस्ता जवाफ समेत फर्काएका थिए । प्रहरी कार्यालयबाट पनि यो विवाद समाधान नहुने भएपछि उहाँको नाममा पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जी अनुसार उनलाई पक्राउ गरिएको हो । उनले निर्माण टिमलाई दिएको अन्तिम समयको निर्णयले आफू कानुनी कारबाहीमा पर्ने संकेत पाए पछि आफ्नो बचाउ गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा केही दिनअघि नै आफू कसैको दबाबमा र पूर्णरुपमा स्क्रिप्टमा चित्त नबुझेसम्म काम नगर्ने जस्ता तथ्यहीन अभिव्यक्ति पनि दिएका थिए ।

    हुँदाहुँदै उनकै टिमसँग अन्तिम स्क्रिप्ट छलफलमा बसेको कुरालाई चियाकफी खाएको फोटो हो सम्म भन्न भ्याए । के नगरकोटमा ३ दिन बसेर चियाकफी नै पिएका हुन् त ? यति मात्रै होइन, उनले आफ्नो बचाउमा के सम्म गरेनन् ? पक्राउ पुर्जी जारी हुन्छ भनेर निर्माण टिम र प्रहरीलाई विपक्षी बनाउँदै अदालतमा पक्राउ पुर्जी जारी नगर्न रिट निवेदन दिई निर्माता म स्वयम्लाई कागजात ह्वाट्सअपमा पठाएर मानसिक दबाब दिएका थिए । सञ्चारमाध्यमहरू पनि बेखबर जस्तै बनेर एकोहोरो दोषीकै पक्षमा बोलिरहेको पाइयो । विभिन्न संघसंस्था पनि छन् रे, तर आजसम्म के हो समस्या ? के छ भनेर १ कल फोनसम्म आएको छैन । बरु उल्टो सामाजिक सञ्जालमा यति सानो समस्या भनेर खिल्ली उडाइरहेको भेटियो ।

    यो त एउटा प्रतिनिधि घटना मात्र भयो यस्ता घटनाले धेरै निर्माता विदेश पलायन भएका छन् कति घरबारविहीन छन् । यो सबै अन्तिम समयको तयारी हैन र ?

    सुप्रियाले आफ्नो भनाइलाई पुष्टि प्रमाणका रूपमा अनमोलसँग कुराकानी गरिएका च्याटका स्क्रिन सट, अनमोलले ट्राई गरेको कस्ट्यूम, उनका लागि किनिएको कपाल र जुँगा लगायतका तस्बिर पोस्ट गरेकी छिन् । यो चलचित्रमा अनमोलले दोहोरो भूमिका निभाउनेवाला थिए ।

  • दशैँ धमाकामा न्युजिल्याण्डमा प्रमोद र मेलिनाले नचाउने, सुमनले हँसाउने

    दशैँ धमाकामा न्युजिल्याण्डमा प्रमोद र मेलिनाले नचाउने, सुमनले हँसाउने

    काठमाडौं । नेपालीहरुको चाडवाड बढेसँगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। नजिकिँदै गरेको दशैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दशैँ धमाका’ कार्यक्रम हुने भएको छ । निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देशमध्ये एक हो न्युजिल्याण्ड । न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्यव्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने भएका छन् ।

    काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो । ‘लाखे इभेन्ट’को आयोजनामा रहेको कार्यक्रम ‘दशैँ धमाका’लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ ।

    न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरुलाई बताउँदै गायक प्रमोद खरेलले यो दशैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरेका छन् । एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए ।

    हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैँ दर्शकहरुसंग हुने भएको हुँदा उत्साहित भएको बताए । घर परिवारसँग यसपालि दशैँ मनाउन नपाउने भएता पनि दर्शकसँग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए ।

    इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए ।

     

  • ‘पशुपति प्रसाद २ : भष्मे डन’को प्रचार प्रसार तीव्र

    ‘पशुपति प्रसाद २ : भष्मे डन’को प्रचार प्रसार तीव्र

    काठमाडौं । बडादशैंको अवसर पारेर आगामी कात्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरमा सिनेमाको होडिङ्ग बोर्ड राख्ने काम भइरहेको छ ।

    काठमाडौं महानगरपालिका भित्र मेयर बालेन शाहले पोस्टर टाँस्न नपाउने नियम ल्याएका छन् । जसले गर्दा निर्माण टिमले काठमाडौं महानगरपालिका भएर चल्ने करिब १ सय बढि सार्वजनिक यातायतमा पोस्टर राखेर सिनेमाको प्रचार गर्ने भएको हो । वास्तविक दर्शकसम्म सिनेमाको प्रचार पुगोस् भन्ने उद्देश्यले निर्माण टिम ग्राउन्ड जिरो प्रचारमा जुटेको छ ।

    सिनेमाको निर्माण टिमले काठमाडौंमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक बसहरूमा सिनेमाको प्रचार सामाग्रीले रङ्गिएका छन् । सिनेमाको पोस्टर काठमाडौंमा टाँस्न नपाइने भएकाले विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको सिनेमाका निर्देशक दीपेन्द्र के खनालले बताए ।

    सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो भएको अनुभव सुनाए । खर्चिलो भए पनि बस पब्लिसिटी अभियान प्रभावकारी हुने विश्वास हामीले लिएका छौं निर्माता तथा लेखक खगेन्द्र लामिछानेले बताए । अबको केहीदिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्दै व्यापक प्रचार प्रसारको तयारीमा रहेको जानकारी उनले दिए ।

    सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

    सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

    टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

    व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

  • अनमोलको आदत : ‘रावायण’ कै लागि पूजा शर्मासँग पनि १० लाख लिएर फर्काएका थिए

    अनमोलको आदत : ‘रावायण’ कै लागि पूजा शर्मासँग पनि १० लाख लिएर फर्काएका थिए

    काठमाडौं । चलचित्र ‘रावायण’ का निर्माताले दिएको उजुरीमा पक्राउ परेका नायक अनमोल केसी दुई दिन हिरासत बसेपछि छुटेका छन् । तर, यो विषय अझै सेलाइसकेको छैन । अहिले चलचित्रकर्मीहरुबीच अनमोलको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा तर्कवितर्क भइरहेको देखिन्छ ।

    आपसी कुराकानीबाट मिलाउनुपर्ने केसलाई प्रहरीमा पुर्याउनु गलत भएकोमा अधिकांश चलचित्रकर्मी सहमत छन् । तर, अनमोलले पनि आफ्नो शैलीमा सुधार गर्नुपर्ने कतिपयको धारणा छ ।

    अनमोलले चलचित्रमा काम गर्ने भनेर अग्रीम भुक्तानी लिएपश्चात निर्णयबाट ब्याक भएको यो पहिलोपटक होइन । उनले बढीजसो बुवा भुवन केसीको दबाबमा एड्भान्स लिएर चलचित्र साइन गर्ने गरेका छन् । तर, स्क्रिप्ट चित्त नबुझेर वा सेड्यूल नमिलेर छोड्ने गर्छन् । चलचित्र छोड्ने भएपछि एड्भान्स रकम तत्काल फिर्ता गर्ने गरेका छन् ।

    रावायणको केसमा भने उनले एड्भान्स लिए पनि लिखित एग्रिमेन्ट गरिसकेका थिएनन् । त्यसैले उनलाई पैसा फिर्ता गर्न सजिलो भयो । अनमोलले निर्मात्री सुप्रिया कटुवालको बैंक खातामा १० लाख जम्मा गरिदिएका थिए, उनको जानकारी बेगर नै ।

    रोचक के भने ‘रावायण’का लागि एड्भान्स लिएर रकम फिर्ता गरेको अनमोलको यो दोस्रोपटक हो । यसअघि नायिका तथा निर्मात्री पूजा शर्मासँग यही चलचित्रमा काम गर्ने भनेर उनले साइनिङ अमाउन्ट १० लाख नै लिएका थिए । अनमोलकी नायिका बन्न पूजा निकै उत्साहित भएकी थिइन् । यो चलचित्रको निर्माण पूजाले र निर्देशन सुदर्शन थापाले गर्ने तयारी थियो । चलचित्रको नाम खुलासा गरिएको थिएन, तर स्क्रिप्ट यही नै थियो ।

    अनमोलले चलचित्रको तयारीका लागि केही समय मागेका थिए । तर, उनले बिस्तारै मनस्थिति बदले । यसबीचमा पूजा र सुदर्शनले पटक-पटक भेट्न खोज्दा पनि उनले भेटेनन् । अन्ततः चलचित्र गर्न नसक्ने भन्दै पूजासँग लिएको १० लाख फिर्ता गरिदिए । यस विषयमा पूजा असन्तुष्ट भए पनि सार्वजनिकरुपमा केही बोलेकी छैनन् । अनमोलल पूजासँग आफ्नो अनस्क्रिन केमेस्ट्री नमिल्ने भनेर काम नगर्ने निर्णय गरेको बुझिएको छ ।

    अनमोलले नगर्ने भएपछि पुजा पनि मौन बसिन् । त्यसपछि सुदर्शनले यही नामको चलचित्र विकास बोर्डमा दर्ता गरेर निर्माणका लागि अघि सरेका हुन् । पत्नी सुप्रियालाई उनले निर्मात्री बनाएका छन् । आफैंले निर्माण गर्ने भएपछि सुदर्शनले फेरि अनमोललाई नै अफर गरे । मौखिक समझदारी पनि भयो । तर अनमोल फेरि पनि साइनिङ अमाउन्ट लिएर पछि हटे ।

    यस विषयमा आज पूजाले सामाजिक सञ्जालमा अनमोलप्रति घुमाउरो असन्तुष्टि पोखेकी छन् । उनले पाथिभारा मन्दीरमा पुगेर सो चलचित्रको स्क्रिप्ट पुजा गरेको तस्विर र भिडिओसमेत राखेर यो क्षण कहिल्यै बिर्सिन नसक्ने बताएकी छन् ।

    पूजा लेख्छिन्, ‘अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन, अझै प्रमाणसहित निर्माण पक्ष ठगीएको/धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ । कुराले मात्र होइन, व्यवहारले प्रोड्यूसर बचाऔं । कोही पनि अन्यायमा नपरोस ।’

  • ‘वानर सेना’को दोस्रो गीत ‘तिम्रो जुनेली रुप’ सार्वजनिक

    ‘वानर सेना’को दोस्रो गीत ‘तिम्रो जुनेली रुप’ सार्वजनिक

    काठमाडौं । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो जुनेली रुप’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

    फिल्मको सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङ र निर्देशक गिरीको संगीत रहेको छ । फिल्मको कथा पौराणीक रहेकाले पनि दशैंको अवसरमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ । फिल्मको यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेको दाबी निर्देशक गिरीको छ ।

    गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

    आगामी शुक्रबार अर्थात् असोज १९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

    फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

    https://www.youtube.com/watch?v=MG516GVrnaE

  • ‘परदेशी-२’ को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

    ‘परदेशी-२’ को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

    काठमाडौं । यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

    चलचित्रमा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

    यो गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ ।
    गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् ।‘लिरिकल शैली’मा तयार यस गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।

    दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

    रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

    ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । यसअघि सार्वजनिक गीत र देशदौडाहाबाट चलचित्रले निकै राम्रो हाइप बनाइसकेको छ ।

  • ‘रातो टिकी’ मा राजेश, दिलिप, केकी र निता (भिडियो)

    ‘रातो टिकी’ मा राजेश, दिलिप, केकी र निता (भिडियो)

    काठमाडौं । गायक कृष्ण बिकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा कृष्णलाई मेलिना राई र रेखा जोशीले आवाजमा साथ दिएका छन् ।

    जीबी आग्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा महानायक राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशी फिचर रहेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो निकै आकर्षक बनेको छ ।

    संदेशमुलक गीतको भिडियोले एकल महिलाको चाहनाको पक्षलाई समेत उठान गरेको छ । गोपाल रायले खिचेको भिडियोलाई विपिन मल्लले सम्पादन गरेका छन् । मनोज श्रेष्ठको भीएफएक्स रहेको भिडियोको कलर करेक्सन रेनिश फागोले गरेका छन् ।

  • समाजको कुसंस्कार बिस्तारै हट्दै छ : उपप्रधानमन्त्री खड्का

    समाजको कुसंस्कार बिस्तारै हट्दै छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको चाँडै मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाँच्न पाउने महिलाको अधिकारलाई समाजले बिस्तारै स्वीकारेको बताएका छन्

    मंगलबार गीत ‘रातो टिकी’ गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवनमा महिलाले पाउने दुःखका बारेमा भिडियोमा राम्रोसँग देखाइएको बताए । उनले देशको पश्चिमी क्षेत्रमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रुपमा यस्तो प्रचलन रहेको भन्दै समाजलाई बदल्न जरुरी रहेको बताए ।

    ‘एउटा महिला हाम्रो संस्कार, परम्पराले हामीले सदियौँदेखि स्वीकार्दै तर त्यसका प्रतिको प्रनिनिधिमुलक प्रतिवाद गर्दै समाजमा परिवर्तन पनि आउँदै गरेको छ । एउटा पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुशीले बाच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाहरुको जस्तै गरी बाच्न पाउने हक हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाएको थियो’, उनले भने, ‘त्यसलाई तोड्न् परम्परा शुरु भएको छ । समाजले स्वीकारेर आउन थालेको छ । यसको समस्या पश्चिममा अझै छ । आफ्नो जीवन हुँदाहुँदै पनि मन मारेर आफ्नो जीवन बिताउनुपरेको छ । यो भिडियोले समाजलाई बदल्ने कुरा देखाएको छ ।’

    कार्यक्रममा बोल्दै अभिनेता दीपकराज गिरीले गीत सामाजिक दायित्व बोकेको रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षाको अभावका कारण जनचेतना कम पुगेको अवस्थामा गीतले थप सचेत बनाउने बताए । त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले सामाजिक दायित्व बोकेर निस्किएको गीत धेरै नै राम्रो रहेको बताए ।

    उनले गीत सामाजिक विषयवस्तुमा रहेकाले सबैले मन पराउनेमा आशावादी रहेको बताए ।

  • विज्ञान र अन्वेषणकेन्द्रित ‘अस्तित्व’ को भिडिओ सार्वजनिक, गौरी मल्ल र महावीर पुनको मुख्य भूमिका

    विज्ञान र अन्वेषणकेन्द्रित ‘अस्तित्व’ को भिडिओ सार्वजनिक, गौरी मल्ल र महावीर पुनको मुख्य भूमिका

    काठमाडौं । अभिनेत्री गौरी मल्ल र राष्ट्रिय आविष्कार केन्द्रका संस्थाका महावीर पुनको विशेष भूमिका रहेको ‘अस्तित्व’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

    सुविद गुरागाइँको शब्द रचना रहेको यस गीतमा संकेत अगस्तीको संगीत र श्रेय अगस्तीको स्वर रहेको छ । संगीत संयोजन विशाल निरौलाले गरेका छन् । सुवास दाहालको निर्माणमा बनेको गीतमा गौरी, महावीरसहित नूर दाहाल, सुवास दाहाल, पुष्पराज गौतम, अन्जना कुइँकेल ‘पाठक’, सपना पोखरेल, सुगम भट्टराई र संयम भट्टको पनि अभिनय छ ।

    साथै यस लघु सांगितिक चलचित्रमा दिनेश पराजुलीको छायांकन, सुष्मा परियारको शृंगार, साक्षी श्रेयको कथा, शिलान लम्सालको सम्पादन र खेमनाथ खनाल को सहायक निर्देशन र स्क्रिनप्ले छ । म्युजिक भिडिओको निर्देशन भने संकेत अगस्तीले गरेका छन् ।

    ADHD के हो र यससम्बन्धी रोगबाट ग्रसित भएका एक बालकको अभिरुचि विज्ञान तथा अन्वेषण र आविष्कारमा केन्द्रित रही केही नयाँ गरौं भन्ने आशयसहितको कथावस्तु भिडिओमा समेटिएको छ । शिशिर भण्डारी युट्युब च्यानलबाट सार्वजनिक उक्त भिडिओले विद्यार्थी, बालबालिका र किशोरलाई सकारात्मक सन्देशसहित ऊर्जा दिने निर्माण टोलीको विश्वास छ ।

  • कृष्ण केदेमको संस्मरणको संगालो ‘एउटा गाउँले ठिटो’ सार्वजनिक

    कृष्ण केदेमको संस्मरणको संगालो ‘एउटा गाउँले ठिटो’ सार्वजनिक

    काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक कृष्ण केदेमको जीवन अनुभूतिको संगालो ‘एउटा गाउँले ठिटो’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी लुमुम्बू, दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राई, प्राज्ञ नन्दु उप्रेती र लेखक स्वयंले संयुक्तरूपमा उक्त किताब सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा बोल्दै अश्कले साहित्यमा कथा लेखिन्छ, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिन्छ र कथा काल्पनिक हुन्छ्, कसैसँग मेल खाएमा संयोग मात्र हुन्छ भनेर उम्कन मिल्न सकिने भए पनि अनुभूति तथा संस्मरण विधामा भने लेखकको नितान्त आफ्नो कथा हुने बताए ।

    दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राईले साहित्यको निबन्ध विधाभित्र संस्मरण, नियात्रा आदि पर्ने बताउँदै निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको सशक्त विधामा लेख्नु रहेको बताए । प्राज्ञ नन्दु उप्रेतीले केदेमको किताबले ताप्लेजुङदेखि विश्वका विभिन्न ठाउँ घुमाएको बताए ।

    लेखक केदेमले आफ्नो जीवनको भोगाइमात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि किताबमा उल्लेख गरेको बताए ।

    संगीतकार वसन्त मुकारुङ, साहित्यकार प्रेम रिबुसाल राई, गायक दीपक लिम्बू, किरात याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेलगायतको उपस्थिति थियो ।

    रत्न पुस्तक भण्डारले प्रकाशन गरेको ३२० पृष्ठको पृष्ठको किताबको मूल्य ५९५ राखिएको छ ।

  • ‘हात्तीछाप’का मल्टिस्टारर कलाकार, लुक्सले बढायो कौतुहलता

    ‘हात्तीछाप’का मल्टिस्टारर कलाकार, लुक्सले बढायो कौतुहलता

    काठमाडौं । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’का मुख्य कलाकारहरुको लुक्स सहित निर्माणपक्षले नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल समावेश छन् ।

    सार्वजनिक पोष्टर हेर्दा दया र उपासना एक अर्काको जोडी भएको देखिन्छ । सौगातको अवतारले भने दर्शकलाई उत्साहित बनाउने निश्चित छ ।

    किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप भारद्धाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । पुष्कर गुरुङ र अमलादेवी राइको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

    यो फिल्ममा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेनु भुजेलको पनि मुख्य भूमिका छ ।

    फिल्मको निर्माणपक्षले तेश्रो पोष्टर सार्वजनिक गर्दै गर्दा फिल्मलाई लिएर फिल्म क्षेत्रमा र दर्शकमा पनि चासो र चर्चा बढेको छ ।

    ‘२ नम्बरी’का मुख्य कलाकारहरु दया, सौगात र उपासना एकसाथ देखिदा फिल्मलाई लिएर दर्शकमा झनै बढी आशा बढेको छ ।

  • अनमोलले १० लाख फिर्ता गरेपछि सुदर्शनको आपत्ति- विनाजानकारी अर्काको खातामा पैसा हाल्न पाइँदैन

    अनमोलले १० लाख फिर्ता गरेपछि सुदर्शनको आपत्ति- विनाजानकारी अर्काको खातामा पैसा हाल्न पाइँदैन

    काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘रावायण’ मा अभिनय गर्न एड्भान्सस्वरुप लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । ‘रावयण’ कि निर्मात्री सुप्रिया कटुवालको (चन्द्रकला कटुवाल)को बैंक खातामा उनले आज पैसा जम्मा गरिदिएका हुन् ।

    अनमोलले चलचित्रका लागि एड्भान्स लिएर पछि धोका दिएको भन्दै सुप्रियाले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले शुक्रबार अनमोललाई पक्राउ गरी हिरासतमा राखेको थियो । हिजो अनमोल हिरासतमुक्त भएका छन् । लगत्तै उनले रकम फिर्ता गरेका हुन् ।

    पैसा जम्मा गर्न भरेको भौचरमा ‘अनमोल केसी रावायण रिटर्न’ भनेर लेखिएको छ । सिद्धार्थ बैंकमा डिपोजिट गरिएको रकम मंगलबार सुप्रियाको खातामा जम्मा हुने छ ।

    यता निर्देशक सुदर्शन थापा र सुप्रियाले भने अनमोलले पैसा फिर्ता गरेको विषयमा अनभिज्ञता दर्शाएका छन् । नेपाल प्रेससँग कुरा गर्दै थापाले आफूहरुले मिडियामा समाचार हेरेको तर रकम प्राप्त नभएको बताए ।

    उनले भने, ‘समाचारहरुमा जे आएका छन्, त्यो नितान्त गलत छ । हामीले पैसा फिर्ता लिएका छैनौं ।’

    तर, चन्द्रकला कटवालको खातामा १० लाख रुपैयाँ जम्मा गरिएको भौचर नै बाहिरिएको छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यसरी अर्काको खाताको डिटेल्स लिएर विनाजानकारी कसैले पैसा जम्मा गर्न पाउँछ ? हामीले यसलाई स्वीकारेका छैनौं ।’

    उनले थपे, ‘उहाँले आज जम्मा गर्नुभएको हो भने आउला भोलिपर्सिसम्म, तर हाम्रो मुद्दा त्यो होइन ।’

    थापाले आफूहरु १० लाख लिएर चित्त बुझाउने पक्षमा नभएको बताए । फिल्मका लागि एक करोडभन्दा बढी खर्च भएकाले त्यो सबै अनमोलले भर्पाइ गर्नुपर्ने उनको माग छ ।

    ‘उहाँले अरु निर्मातालाई पनि यसरी दुःख दिनुभएको छ, त्यही विषयमा हाम्रो कुरा हो । १० लाखको मात्रै मुद्दा होइन’, उनले भने ।

  • अनमोललाई थुनामुक्त गर्न प्रहरीले चलाएको ‘दफा १५’

    अनमोललाई थुनामुक्त गर्न प्रहरीले चलाएको ‘दफा १५’

    काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका चर्चित अभिनेता अनमोल केसी प्रहरी हिरासतमा राख्न अदालतबाट थुना अनुमति लिएकै साँझ आइतबार छुटे ।

    काठमाडौं जिल्ला अदालतले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न ३ दिनको समय दिएको थियो । तर, उनी पक्राउ परेको आइतबार नै ३ दिन पुगेकाले थुनामा राखिरहन सोमबार फेरि अदालत उपस्थित गराउनुपर्ने हुन्थ्यो । काठमाडौं प्रहरी परिसरले दिउँसो थुनाका लागि म्याद लिएर राति केसीलाई हाजिरी जमानीमा छाड्यो ।

    मुद्दा नै नचलाउनुपर्ने घटनामा पक्राउ गरेको भन्दै आलोचित बनेको प्रहरीले चाँडै गल्ती सच्याएको टिप्पणी भइरहेको छ । चलचित्र सम्बद्ध संघसंस्थाहरुको मध्यस्थतामा समाधान खोज्नुको साटो सीधै प्रहरीमा उजुरी हालेर एक कलाकारलाई जेल पठाउने प्रयास गर्दा निर्देशक थापासमेत आलोचनामा तानिएका छन् । अनमोलले कुनै लिखित सम्झौतासमेत नगरेकाले निर्माताको उजुरी आफैंमा कमजोर थियो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार अनमोललाई पक्राउ गरेको थियो । निर्देशक थापाकी पत्नी तथा निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेस्की लिएर फिल्म खेल्न नमानेको र आफ्नो करिब एक करोड रुपैयाँ नोक्सान गरेको आरोपसहित अनमोलविरुद्ध जाहेरी दिएकी थिइन् ।

    सामान्यतया फौजदारी कसुरमा जाहेरी परेपछि पक्राउ परेका व्यक्तिलाई बढीमा २५ दिनसम्म हिरासतमा राखेर सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दायर गरिन्छ । तर, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ मा अनुसन्धानका क्रममा पक्राउ गरिएका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्नसक्ने अधिकार दिएको छ ।

    त्यसमा भनिएको छ, ‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।’

    प्रहरीले अनमोललाई उनको आफन्तको जिम्मा लगाएर छाडेको हो । पक्राउ परेका व्यक्ति वा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरु सबै दोषी नहुन सक्छन् भनेर उनीहरुविरुद्ध प्रमाण नपुगेको अवस्थामा आवश्यक पर्दा छाड्न सकियोस् भनेर कानूनमा उक्त व्यवस्था गरिएको छ ।

    प्रमाण पुगेर पनि बाहिर राख्दा अनुसन्धान प्रभावित हुने नदेखिएमा बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने यो दफाले कल्पना गरेको छ । काठमाडौं प्रहरी परिसरले यही व्यवस्थालाई टेकेर अनमोललाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो ।

    अनुसन्धान बाँकी नै छ र प्रमाण पुगेको अवस्थामा उनीविरुद्ध अदालतमा अभियोगपत्र दर्ता हुनेछ । काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमुद ढुंगेलले बाहिर राख्दा पनि अनुसन्धान प्रभावित नहुने र प्रमाणहरु नष्ट हुने सम्भावना नदेखिएकाले अनमोललाई हाजिरी जमानीमा छाडिएको बताए ।

    ‘आरोपितलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने कानूनले नै परिकल्पना गरेको छ । अनमोललाई बाहिर राखेर अनुसन्धान गर्दा कुनै असर पर्ने देखिएन’, एसपी ढुंगेल भन्छन् ।

    सामान्यतया प्रहरी अधिकारीहरु कानूनको यो दफा प्रयोग गर्न तयार हुँदैनन् । अभद्र व्यवहारकै मुद्दा किन नहोस्, आरोपित पक्राउ गरेपछि २५ दिनसम्म हिरासतमा राखेरमात्र अभियोजन प्रक्रिया अगाडि बढाउने गरेको देखिन्छ । चेक बाउन्स जस्तो मुद्दामा पनि आरोपितहरुलाई पक्राउ गरेर २५ दिनसम्म हिरासतमा राखेरमात्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँछन् । चेक बाउन्समा त मिलापत्र गर्न सकिने कानूनी व्यवस्थासमेत रहेको छ ।

    दोषी-निर्दोष छुट्याउने काम अदालतको भएकाले जोसुकै व्यक्तिलाई नियन्त्रणमा लिने र हिरासतमा राख्ने कुराको विरोध हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो कतिपय निकायले बाहिर राखेरै अनुसन्धान गरी अदालतमा अभियोगपत्र लैजान्छन् । सम्पत्ति शुद्धीकरण विभागले पनि धरौटीमा बाहिर राखेर अनुसन्धान गर्ने गरेको देखिन्छ ।

    दुई रात प्रहरी नियन्त्रणमा अनमोल

    आफूलाई सुरुमा भनिएको स्क्रिप्ट फेरिएको भन्दै अनमोलले सुटिङमा सहभागी हुन अस्वीकार गर्दै आएका थिए । त्यसपछि फिल्म निर्माता पक्ष अनमोलका कारण आफ्नो करिब एक करोड रुपैयाँ हानि भएकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने माग राखेर उनीविरुद्ध प्रहरीमा पुगेको थियो ।

    ‘मलाई एउटा स्क्रिप्ट देखाएर सहमति गरियो र एड्भान्सका रुपमा १० लाख रुपैयाँ दिइयो । तर, सुटिङ हुने बेलामा स्क्रिप्टमा धेरै फेरबदल भएको थियो । मैले आफूलाई सुरुमा भनिएकै स्क्रिप्टमा काम हुनुपर्ने बताएको थिएँ’, अनमोलले प्रहरीसँगको सोधपुछमा भनेका थिए ।

    स्रोतका अनुसार फिल्म खेल्नेसम्बन्धी अनमोल र निर्माता पक्षबीच कुनै लिखित सम्झौता भएको थिएन । निर्माण पक्षले गरेको उजुरीपछि बोलाउँदा आलटाल र बेवास्ता गरेपछि उनलाई नियन्त्रणमा लिनुपर्ने अवस्थामा पुगेको काठमाडौं उपत्यका अपराध कार्यालयले बतायो ।

    प्रहरीको निगरानीमा अनमोल दुई रात अस्पतालमा बसे । आफूलाई अप्ठेरो भएको बताएपछि प्रहरीले अनमोललाई अस्पताल पुर्‍याएको थियो ।

    आइतबार काठमाडौं प्रहरी परिसरमा अनमोललाई म्याद थपका लागि तयारी भइरहँदा उनी अनुसन्धान कक्षको एउटा कुनामा बसेर बयान दिइरहेका थिए । मास्क लगाएका अनमोल एकोहोरिए जस्ता देखिन्थे । अनुहार मलिन थियो ।

    बुवा भुवन केसी नेपालमा नभएकाले पनि अनमोलको आत्मविश्वास कमजोर भएको हुनसक्छ । भुवन केही दिनअघि मात्रै युरोप गएका थिए । उनी अक्टोबर ४ तारिखमा नेपाल आइपुग्ने बुझिएको छ । आमा सुस्मिता बमजन पनि विदेशमै बस्दै आएकी छन् । काका, अन्य केही आफन्त र चलचित्रकर्मीहरु आइतबार दिनभर परिसर बसेका थिए ।

  • ‘दिमाग खराब’मा निश्चल र स्वस्तिमाकाे ‘झम्के झमा झम’ (भिडि‌ओ)

    ‘दिमाग खराब’मा निश्चल र स्वस्तिमाकाे ‘झम्के झमा झम’ (भिडि‌ओ)

    काठमाडौं । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘झम्के झमा झम’गीत सार्वजनिक गरिएको हो ।

    सिनेमाको सार्वजनिक गीतमा बबुल गिरिको शब्द, संगीत रहेको छ भने स्वर सुमित खड्का र नम्रता काफ्लेको रहेको छ ।सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको सिनेमामा आकाश बरालको लेखन छ ।

    निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

    ‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

    सिनेमा ‘लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए । त्यो बीचमा उनले केही सिनेमा तथा म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही गीतमा स्वर समेत भरेका थिए । कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा सिनेमा निर्माणको तयारी समेत गरेपनि ठुलो बजेटका कारण त्यो सिनेमालाई पोस्टपोण्ड गर्दै यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् ।

  • प्रदीपलाई अनमोलविरुद्ध लेखेको स्टाटसमा प्रष्टीकरण दिँदाको हैरान, आशिकाको आपत्तिपछि सच्याए यो शब्द

    प्रदीपलाई अनमोलविरुद्ध लेखेको स्टाटसमा प्रष्टीकरण दिँदाको हैरान, आशिकाको आपत्तिपछि सच्याए यो शब्द

    काठमाडौं । आज बिहानै नायक प्रदीप खड्काले फेसबुकमा एउटा लामो स्टाटस लेखे, जुन उनका प्रतिस्पर्धी नायक अनमोल केसीविरुद्ध लक्षित थियो । स्टाटसमा राखेको धारणाबाट उनले निकै आलोचना व्यहोर्नुपरेको छ ।

    अनमोलले ‘रावायण’ खेल्न एडभान्स लिएर पछि छोडेको विषयमा खड्काले घुमाउरो ढंगले कटाक्ष गरेका थिए । ‘विवाह’को उदाहरण पेश गर्दै उनले एक पटक सुहागरात मनाइसकेपछि कुनै पनि बहानामा दुलहीलाई छोड्न नमिल्ने बताएका छन् । कुनै खोट लगाएर छोडिसकेकी दुलहीमा फेरि विवाहको आत्मविश्वास बाँकी नरहन सक्ने उनको तर्क छ ।

    ‘दुलहीलाई खोट लगाएर लखेटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ’, खड्काले लेखेका छन् । एउटा कलाकारले स्क्रिप्ट मन नपरेर छोडेको चलचित्र निर्माण गर्न निर्मातामा हौसला बाँकी नरहने कुरालाई उनले यसरी चित्रण गर्न खोजेका हुन् । तर, यो उदाहरणले उनको एकल महिलालाई हेर्ने दृष्टिकोणमाथि नै प्रश्न उठेको छ ।

    सामाजिक सञ्जालमा थुप्रैले खड्कामाथि प्रश्न तेर्स्याएका छन् । अनमोलप्रति कुण्ठा पोख्दा असंवेदनशील उदाहरण प्रस्तुत गरेको आरोप उनीमाथि लागेको छ ।

    रंग पत्रकार पुष्पा थपलियाले लेखेकी छन्, ‘यो कस्तो अभिव्यक्ति हो ? महिलाको बारेमा उदाहरण दिँदा तपाईं जत्तिको मान्छे संवेदनशील बन्नुपर्छ कि पर्दैन ? बुढाले छाडेकी भनेर दाग लगाइदिएसी उसमा आत्मविश्वास नहोला रे अर्को बिहेका लागि ! तपाईंको इगो अन्तै पोख्नुस् । आफ्नो करिअर र प्रोफेसनको स्वार्थ पूरा गर्न महिला र उसको कुमारीत्व सर्वश्व हो भन्ने भाष्यलाई बढावा नदिनुस् ।’

    खड्काले पुष्पाको टाइमलाइनमा आएर जवाफ दिएका छन् । आफूले कसैलाई चोट पु¥याउन नखोजेको र केवल प्रणालीमाथि प्रश्न उठाएको उनको प्रष्टीकरण छ ।

    सामाजिक अभियन्ता आशिका तामाङले पनि खड्काको स्टाटसमा कमेन्ट गरेकी छन् ।

    उनको स्टाटस यस्तो छः

    ‘प्रदीप ज्यु, महिलालाई बुढाले छोड्दा किन आत्माविश्वास घट्छ ? कुन जमानामा हुनुहुन्छ ? नेपाली समाजका महिला अहिले कुनै युरोपका महिलाभन्दा कम छैनन् है, तपाईं, नेपाली समाजको महिलाप्रति अपडेट हुन चुक्नुभएछ । दुःख लाग्यो, यति युवा उमेरमा पनि बाउबाजेको पालाका महिलासँग आधुनिक महिलालाई दाज्नुभएकोमा । किन हरेक क्षेत्रको मान्छेले महिलालाई नै हतियार बनाउछ ? हामी महिला भएर जन्मिएर यो धर्तीमा सबैको बोझ हामीले उठाउनु पर्ने ? महिलाको नामले उदाहरण किन दिने ? अरु चिज छैन यो संसारमा ? हामी उदाहरण दिइने वस्तु हौं र ?’

    आशिकालाई पनि जवाफ दिन आइपुगे नायक खड्का । उनले आफ्नो स्टाटस राम्ररी नपढिकन कमेन्ट गरेको टिप्पणी गरे । त्यसलाई जवाफ दिँदै आशिकाले स्टाटस राम्ररी पढेर नै लेखेको बताइन् ।

    उनले सुझाव दिइन्, ‘आत्मविश्वास होइन, विश्वास गुम्छ भनेर लेख्नुस् न ! आत्मविश्वास भनेको महिलाका लागि धेरै ठूलो कुरा हो । विश्वास त पुरुषको पनि गुम्नसक्छ, यदि उसले महिलाबाट धोका पायो भने ।’

    आशिकाको यो सुझावलाई भने खड्काले मनन गरेका छन् । उनले आफ्नो स्टाटसमा ‘आत्मविश्वास’ हटाएर ‘विश्वास’ लेखेका छन् ।

    त्यसो त स्टाटस पोस्ट गरेदेखि नै खड्कालाई संशोधन र प्रष्टीकरणको हैरानी छ । उनले सुरुमा हालेको पोस्टमा पटक-पटक थपथाप गरेका छन् भने बारम्बार प्रष्टीकरण पनि दिइरहेका छन् ।

    पछिल्लो प्रष्टीकरणमा खड्काले आफू नै गलत रहेछु भन्ने महसुस भएको बताएका छन् । गल्ती जति छिटो स्वीकार्यो त्यति हितकर हुने कुरालाई मनन गरेको उनको भनाइ छ ।

    ‘प्रणालीको सुधार गर्नुपर्छ भन्ने गलत त म पो रहेछु, प्रणाली ठिकै रहेछ भन्ने आत्मालोचना गर्दै स्टाटसमा कमेन्ट पढेर आयो, नपढी आयो, जे आयो व्यक्तिगत धारणा आयो, सामान्य प्रक्रिया हो,’ उनले लेखेका छन्, ‘केही समस्या भएन, आफ्नो लागि मात्र बोल्छ भन्ने सुन्दा उद्योगका लागि आज कुरै मिल्दैन भनिएको निर्देशक र सम्पूर्ण निर्माताका लागि नि बोल्देको सबै तैं चुप, मै चुप देख्ता बल्ल गलत त मनै रहेछु भन्ने चेत आयो ।’

    उनले घुमाउरो असन्तुष्टि जनाउँदै अब आफू पनि सबैले स्वीकार गरेको सिस्टममा चल्ने बताएका छन् ।

    ‘जो जसले मेरो लहैलहैमा प्रणालीको सुधार गर्नुपर्छ भन्ने चेष्टा गर्नुभयो, मेरो सुझाव, गलत त हामी रहेछौं, मुलुक स्वतन्त्र छ, सबैलाई छुट छ । प्रणाली होइन, सायद व्यक्तित्वअनुसार यो क्षेत्रमा आउनु चाहिँ गलत छ । समयले बताउला ।’

  • भारतीय चर्चित गायक रितो रिबा नेपाल आउँदै

    भारतीय चर्चित गायक रितो रिबा नेपाल आउँदै

    काठमाडौं । भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यहि असोज २७ गते शनिबार काठमाडौंको ठमेल स्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् ।

    २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुती रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताए। लाइभ कन्सर्टमा सहभागीका लागी ७ बजे देखि नै खुल्ला गरिने छ भने रिबाले १० बजे आफनो प्रस्तुती दिने आयोजकले जनाएको छ ।

    लाइभ कन्सर्टमा प्रवेशका लाथि १५ सय रुपैंयाँ शुल्क लाग्ने कार्यकम संयोजक बस्यालले जानकारी दिए। टिकट अनलाइन बुकिङ मार्फत गर्न सकिनेछ ।

    केही समय अघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ । जजहरुको रिजेक्टपछि नै उनको भाग्य चम्किएको छ ।

    रितो रिबाको ‘तू मेरी हीर’ मिलियन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना गी क्या चर्चामा रहेका छन् । रिबाले भारतमा सांगितिक क्षेत्रमा धमका मच्चाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका समेत छन् । भारतमा सयौं सांगितिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

  • अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन

    अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन

    काठमाडौं । नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिए । तर, अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।

    खड्काले लेखेको स्टाटस अनमोलविरुद्ध लक्षित छ । यद्यपि, उनले कसैको नाम लिएका छैनन् । भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणीसमेत गरेका छन् ।

    खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’

    चलेका कलाकारले कुनै पनि फिल्म खेल्ने समझदारीपछि अग्रीमरूपमा केही पेश्की रकम लिने गर्छन् । अनमोलले ‘रावायण’ का निर्माताबाट १० लाख रूपैयाँ लिएका थिए । उनले फिल्म नखेल्ने भएपछि सो रकम फिर्ता गर्न चाहे पनि निर्माता निर्देशक थापाले लिन मानेका थिएनन् । त्यही एड्भान्स रकमलाई खड्काले अमिल्दो गरी ‘दाइजो’ सँग तुलना गरेका हुन् ।

    खड्का थप्छन्, ‘खैर, चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जेसुकै भाको भए पनि दुलहीले माग्ने आधा अंश हो । कानूनले दिलाउने पनि त्यही नै हो ।’

    यसमा खड्काको आशय निर्माताको खर्च भएको भनिएको रकम (एक करोडभन्दा बढी दाबी गरिएको) को आधा अनमोलले क्षतिपूर्ति गर्नुपर्छ भन्ने देखिन्छ । तर, स्मरणीय के छ भने अनमोलले ‘रावायण’ का निर्मातासँग लिखित सम्झौता गरेका थिएनन् । केवल मौखिक समझदारीका आधारमा उनले १० लाख पेश्की लिएका थिए । त्यसैले उनले दिएको ‘विवाह’ र ‘सुहागरात’ वाला दृष्टान्त पनि यहाँ मेल खाँदैन ।

    खड्काको थप भनाइ यस्तो छः

    बुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफूले जिते सम्झेर रमाउन त सक्लाउ, एकतिर उन्नत समाजले सामान्य मानेर दुलही स्वीकार्न पनि समस्या नहोला, तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ ।

    खैर ! चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानूनले दिलाउने पनि त्यही नै हो । ५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नि !

    यो पल्टको अलि गार्‍हो खाल्की छे भन्ने बुझ्न पर्ने ।

    चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बीचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीचबीचमा रुवाबासी गर्नु भन्दा मैदान पस्न अगाडि सोचेर निर्णय गरौं ।

    कानून राजको विकल्प छैन ।

    यो स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन् ।

    उनी थप्छन्, ‘विवाह (प्रतिवद्धता) पनि डिभोर्समा जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपूर्ति) चै हुन्छ है । आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ । जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोगको मामला हुन जान्छ ।’

    नेपाली चलचित्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको यो स्टाटसमा भने ‘बौद्धिकता’ भन्दा अनमोलप्रति कुन्ठा झल्किएको धेरैको टिप्पणी छ । अनमोलले छोडेको फिल्म पाउने आशामा सुदर्शनलाई खुशी पार्न खोजेको अनुमान पनि कतिपयले गरेका छन् ।