Category: कलाप्रेस

  • यहाँ मेनुकाहरु गुमनाम छन्, भेलुबाजे-कलाैटेहरूकाे जगजगी छ

    यहाँ मेनुकाहरु गुमनाम छन्, भेलुबाजे-कलाैटेहरूकाे जगजगी छ

    काठमाडौं । इन्डियन आइडल- १४ को अडिसन राउण्डमा नेपालकी गायिका मेनुका पौडेलले गोल्डेन माइक जितिन् । ‘तुम्हारेविना हमारा कोनो नहीं’ बोलको शास्त्रीय भजनमा उनको प्रस्तुति दमदार थियो । त्यसैले त पाइन् जजहरु श्रेया घोसाल, कुमार सानु र विशाल डिडलानीबाट स्टान्डिङ अवेसन ।

    मेनुकाले प्रस्तुति दिइरहँदा गायिका श्रेया भक्कानिइरहेकी थिइन् । सँगसँगै विशालले पनि आँसु रोक्न सकिरहेका थिएनन् । उनले प्रस्तुति सकाएपछि केहीबेरसम्म एक खालको सन्नाटा छाएको थियो । सन्नाटालाई चिर्दै विशालले भनेका थिए, ‘हामी संगीतकर्मीले जुन चिजलाई पुज्छौं, त्यो चिज आज आँखा अगाडि देखिरहेका छौं । म जे चिजलाई पुग्छु, त्यो तिमी हौ । श्रेया रोइरहेकी छिन् (श्रेयालाई हेर्दै) । म आफैं रोइरहेको छु ।’

    विशालले मेनुकालाई प्रस्तुतिका लागि धन्यवाद दिँदै अबदेखि आफूले गर्ने संगीतहरु मेनुकाकै कारण फरक हुनेसमेत बताए । श्रेयाले पनि आँसु पुछ्दै भनिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मज्जा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ ।’

    मेनुकाको उक्त प्रस्तुति अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनलाई नेपाली संगीतकर्मीहरुले बधाई दिइरहेका छन् । मेनुकाको गायकीलाई संगीतका त्यस्ता उस्तादहरुले स्टान्डिङ अवेसन दिनु धेरै ठूलो कुरा हो भनिरहेका छन् । नेपाली संगीतप्रेमीले पनि मेनुकाप्रति गर्व महसुस गरिरहेका छन् ।

    मेनुकाहरुको होइन, भेलु बाजे र कलाैटेहरुको डिमान्ड छ

    झापाकी मेनुका एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन् । संगीतमा आफ्नो उज्ज्वल भविष्य बनाउन संघर्षरत छिन् । उनको गायकी कलाको सबैले तारिफ पनि गर्छन् ।

    तर, वर्तमान नेपाली संगीतले मेनुकालाई होइन, भेलु भाजे र तेजेन्द्रपरियार कलाैटेहरुलाई खोजिरहेको समय हो यो । कोही मान्छे कुनै अन्टसन्ट र चटक गरेर चर्चामा आउनासाथ गल्लीगल्लीमा छ्यापछ्याप्ती रहेका स्टुडियोहरुमा लतारेर पु¥याइन्छन् । बेसुरा गीतहरु गाउन लगाइन्छन् । अटो ट्युनको मद्दतले स्वरहरुलाई ठासठुस पारेर मिलाइन्छन् ।

    र, संगीतमाथि न्यूनतम ज्ञान नभएका उनीहरु नेपाली संगीतको क्षेत्रमा गायक/गायिकाको अवतारमा पदार्पन हुन्छन् । उनीहरुको गायकी होइन, गायकीमार्फत् उनीहरुले देखाउने मजाक हेर्न भीड जम्मा हुन्छ । स्टेज शो पाउँछन्, सेलिब्रेटी हुन्छन् ।

    साधनाले निखारिएको गलामा माधुर्यता भएका मेनुकाहरु गुमनाम हुँदै गर्दा भेलु बाजेहरु किन व्यस्त भइरहेका छन् ? संगीतकार आशिष अविरलको विश्लेषण छ, यस्तो हुनु भनेको संगीतमा लागेकाहरुको फ्रस्टेसनको पराकाष्ठा हो ।

    अविरल भन्छन्, ‘जो भाइरल भएका छन्, तिनलाई ल्याउँदा डलर आउँछ कि भन्ने समूहको चरम फ्रस्टेसन हो यो । यहाँ जसरी हुन्छ, मान्छेलाई हिट हुनु छ । उनीहरु चरम फ्रस्टेसनमा छन् । त्यसैले उनीहरु छोटो बाटो खोजिरहेका छन् । त्यही कारणले गर्दा नेपाली संगीतमा समस्या आइरहेको छ ।’

    गर्न खोज्दा पनि भने जस्तो काम नपाएपछि अहिले इन्डियन आइडलमा पुगेकी छन् मेनुका । २०७४ सालमै नेपाल आइडलमा भिडेकी उनी २०७५ सालमा भारतकै रियालिटी शो सारेगमपसम्म पुगिन् । रियालिटी शोमा भिडेको छ वर्षपछि आहिले पनि उनी रियालिटी शोमै भिडिरहेकी छन् । तर, टिकटक या युट्युबतिर अन्टसन्ट गरेर भाइरल भएकाहरुलाई कथित गीत रेकर्डिङका लागि भ्याइनभ्याइ छ ।

    मेनुकाहरुलाई बिर्सिएर नेपाली संगीत भेलु बाजेहरुको पछि लागेको दृश्य नौलो होइन । एकाध राम्रा संगीतकारहरुले नेपाली संगीत बचाएका त छन् । तर, उनीहरुले सुन्दर गीतका लागि भन्दा पनि घर खर्च चलाउन बढी संघर्ष गरिरहनु परेको छ । अनि तिलकसिंह पेलाहरु होइन, नरेश पातलीहरुको बजारमा डिमान्ड हुन्छ ।

    त्यस्ता भाइरलहरु र उनीहरुको क्षमतामाथि प्रश्न गर्ने हिम्मत कसको ? संगीतकार वसन्त सापकोटा दुःखेसो पोख्छन्, ‘कसैले संगीत बिगारेको छ भनेर बोलियो भने उल्टै गाली धेरै पाइन्छ । त्यसैले नराम्रा कुराहरुप्रति नबोलौं लाग्छ । नराम्रो कुराप्रति प्रतिक्रिया नदिएपछि सबैले राम्रो भन्दा रहेछन् । अनि त्यस्तो काम गर्नेहरुलाई थप हौसला मिल्दोरहेछ ।’

    वसन्त व्यवसायिक संगीतकार हुन् । संगीत गर्दा भने व्यवसायिकतालाई एक ठाउँमा राखेर राम्रो सृजना पस्कन नै तत्पर हुन्छन् । तर, उनको सृजनामाथि जसले लगानी गरिरहेको छ, तिनलाई भने भ्युज चाहिन्छ । भ्युजका लागि के गर्ने ? बजारमा जो भाइरल छ, उसैलाई ल्याउने ।

    वसन्त भन्छन्, ‘हामीले यस्तो भएन, हुँदैन भन्यौं भने हामी नै प्रोजेक्टबाट आउट हुनुपर्ने अवस्था आइदिन्छ । स्वर राम्रो भएर, कलालाई सम्मान गरेर आउने वातावरण नै छैन । तर, हामीले सक्दो राम्रो काम गर्ने कोसिस चाहिँ गरिरहेका छौं ।’

    यसरी भाइरलहरुले बजार पिट्नुमा हाम्रो समाजमा प्राज्ञिक र दार्शनिक कुराहरुको बहस, विमर्श गर्ने संस्कृति हराउँदै जानुलाई कारक मान्छन् संगीतकार सुरेश अधिकारी । उनी समाजबाट कला, साहित्य विस्थापित हुँदै गएको हो कि भन्ने महसुस गर्छन् वेलावेलामा ।

    सुरेश भन्छन्, ‘हाम्रोमा कला र प्रतिभालाई स्वीकार गर्नुभन्दा पनि सञ्जालमा अन्टसन्ट गर्नेहरुका कारण असली कला लोप हुँदै जाने संघारमा छ । मान्छेले कलातिर ध्यान दिन छाडेर चटकतिर मनोरञ्जन लिइरहेका छन् । मैले त कतिसम्म देखेको छु भने अरुको घर झगडा हेरेर मनोरञ्जन लिनेहरुसमेत देखेको छु । यो कलाका लागि घातक कुरो हो ।’

    भाइरलहरु आउँछन् जान्छन्, तर मेनुकाहरु आइरहन्छन्

    सन् २०१६ मा साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी लोकगायक बब डिलनलाई दिइयो । उनलाई ‘महान अमेरिकी गीति परम्पराभित्रैबाट नौलो काव्यात्मक अभिव्यक्ति सृजना गरेका’का कारण सो पुरस्कार दिइएको थियो ।

    डिलनले नोबेल साहित्य पुरस्कार पाएपछि त्यसवेला निकै बहस विमर्श भएको थियो । उनले उक्त पुरस्कार पाउँदै गर्दा संसारभरका संगीतकर्मीहरुमा खुसीको उछाल भएको थियो । संगीतको ओज र गरिमालाई नोबेल पुरस्कार समितिले बुझेको विश्लेषण भएको थियो । तर, नेपालमा भने मेनुका जस्ता सयौं प्रतिभा कतै न कतै गुमनाम छन् । भाइरलहरु बदनाम छन् । तर, चर्चामा छन्, हाइहाइ पाइरहेका छन् ।

    नातिकाजी, अम्बर गुरुङ, गोपाल योञ्जनहरुको काम, प्रतिभा र योगदानको चर्चा कम हुन्छ । भाइरलहरुको चर्चा गल्लीगल्लीमा हुन्छ । टिकटक, युट्युब र फेसबुक, इन्स्टाका रिलहरुमा उनीहरुको कर्कस आवाज छरपष्ट हुन्छन् ।

    तर, भाइरलहरुलाई संगीतकार सुरेश एक भेलबाढीको रुपमा मात्रै देख्छन् । उनी भन्छन्, ‘एउटा बाढी आउँदा धेरै कुरा पुरिन्छन् । कहिलेकाहीं त्यस्तो बाढीले डाँडा भत्काएर हिरा पनि निकाल्छ । भाइरलहरुले मेनुका जस्ता धेरै राम्रा प्रतिभाहरुलाई पुरेको देखेको छु मैले । तर, नराम्रा कुराहरु बढ्दै गएपछि जब अन्धकार छाउँछ, तब घाम लाग्छ । समाज एक किसिमको मानसिक अवस्थामा गुज्रन थालेपछि समाजलाई कसरी अनुशील, विनयशील बनाउने भन्ने कुरो आउँछ । अनि नराम्राहरुको थुप्रोभित्र राम्रो कुराको उत्खनन् गर्ने दिन आउँछ ।’

    संगीतकार वसन्तको विश्लेषण छ, ‘भाइरल ज्वरो आउँछ अनि जान्छ । कोरोना आयो, गयो । भेल आउँछ, जान्छ । तर, नदी भनेको नदी हो । त्यसको आफ्नै आधार हुन्छ, सधैं बगिरहन्छ ।’

    उनी थप्छन्, ‘मैले मेनुकालाई सानैदेखि वाच गरेको छु । दुईतीन वटा गीत पनि गरेको छु । उनी संगीतमा धेरै राम्रो ज्ञान भएको, साधना गरिरहेको, शब्दहरुलाई न्याय दिनसक्ने प्रतिभा हो । उनी भाइरल ज्वरो होइनन् । भाइरल ज्वरोको भीडमा उनी अलग्गै छिन् ।’

  • ‘प्रसाद-२’ विवादमा पक्राउ परेका ओम अग्रवाल हाजिरी जमानीमा रिहा

    ‘प्रसाद-२’ विवादमा पक्राउ परेका ओम अग्रवाल हाजिरी जमानीमा रिहा

    काठमाडौं । ‘प्रसाद-२’ चलचित्रको विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन् । उनलाई हाजिरी जमानीमा रिहा गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमुध ढुंगेलले जानकारी दिए ।

    फिल्मका निर्माता सुदर्शन बस्नेतको उजुरीपछि अग्रवाल पक्राउ परेका थिए । आपराधिक विश्वास घात गरेको आरोप उनीमाथि लागेको थियो ।

  • बहिष्कारको घोषणा लगत्तै चलचित्र विकास बोर्डको कार्यक्रम स्थगित

    बहिष्कारको घोषणा लगत्तै चलचित्र विकास बोर्डको कार्यक्रम स्थगित

    काठमाडौं । चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध संघसंस्थाले चलचित्र विकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेपछि विकास बोर्डको कार्यक्रम स्थगित भएको छ । कुनै पनि संस्था र चलचित्रकर्मी, चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने भएपछि बोर्डले कार्यक्रम स्थगित गरेको हो ।

    बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय चलचित्र दिवसको अवसरमा आयोजना हुन लागेको कार्यक्रम हाललाई स्थगित गरेको जानकारी गराएको हो ।

    विज्ञप्तिमा लेखिएको छ,‘राष्ट्रिय चलचित्र दिवसको अवसरमा यही असोज २४ गते १ बजे चलचित्र क्षेत्रका अग्रज, विज्ञ व्यक्तित्व तथा सरोकारवालाहरुसँग अछफल तथा अन्र्तक्रिया आयोजना गर्न भनी बोर्डले कार्यक्रम तय गरेकोमा विशेष परिस्थितिवश शो कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराउँदछौं । सो कार्यक्रम आगामी दिनमा उपयुक्त समयमा आयोजना गरिने व्यहोरासमेत जानकारी गराइन्छ ।’

    चलचित्र विकास बोर्डले सरोकारवाला संघसंस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेबसाइटमा राखेपछि शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धी ९ वटा संघ संस्थाहरुको सामूहिक बैठक बसेको थियो ।

    सरोकारवाला संघसंस्थाहरुको सहमतिबिना चलचित्र विधेयक अगाडि बढाएपछि सो काम नगर्न अनुरोध गर्दै संघसंस्थाले चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रसमेत बुझाएका थिए ।

  • ओम अग्रवाल पक्राउ परेपछि दीपकराज गिरीको टिप्पणी- मान्छे त्यसै पलायन हुँदैनन्

    ओम अग्रवाल पक्राउ परेपछि दीपकराज गिरीको टिप्पणी- मान्छे त्यसै पलायन हुँदैनन्

    काठमाडौं । चलचित्र ‘प्रसाद- २’को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेपछि अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।

    उनले ओम अग्रवाल जस्तो हिसाबकिताबमा इमानदार मान्छेलाई कानूनी दाउपेचको चक्रव्यूहमा फसाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मान्छे त्यसै पलायन हुँदैन । चलचित्र क्षेत्रको बजार निर्माण र विस्तारमा निरन्तर लागिरहेका हिसाबकिताबमा पनि इमानदार मान्छे आज कानूनी दाउपेचको चक्रव्यूहमा फसेका छन् । छिट्टै न्याय मिलोस् ।’

    आपराधिक विश्वासघात गरेको आरोपमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । चलचित्रका निर्माता सुदर्शन बस्नेतले अग्रवालसहित निर्देशक सुदर्शन थापाविरुद्ध आपराधिक विश्वासघात गरेको बताउँदै प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीलगत्तै अग्रवाल र थापामाथि पक्राउ पुर्जी जारी गरिएको थियो ।

    निर्देशक थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए ।

  • सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रियाको आक्रोश- निर्दोषलाई फसाउन खोज्ने ?

    सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रियाको आक्रोश- निर्दोषलाई फसाउन खोज्ने ?

    काठमाडौं । चलचित्र ‘प्रसाद २’ प्रकरणमा श्रीमान् सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कट्‍वालले आक्रोश पोखेकी छन् ।

    देशमा पहुँच हुनेले जे गरे पनि हुने भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि सीधै सरकारी वकिलमार्फत् गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालयको त विश्वास छैन, कसको विश्वास रह्यो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक, सम्पादक र आफ्नो लगानीले डिजिटल राइटस् लिने कम्पनी सञ्चालकजस्ता निर्दोष मान्छेलाई फसाउने ?’

    उनले राजनीतिक शक्तिको चरम दुरुपयोग भएको भन्दै मुख्य नाइकेलाई पक्रेर अगाडि ल्याउन चुनौती दिएकी छन् ।

    निर्देशक थापाविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै पक्राउ पूर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।

    ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रूपैयाँको आर्थिक नोक्सानी पुर्‍याएको दाबी गरेका छन् ।

    श्रीमान्विरुद्ध पक्राउ पुर्जी जारी भएपछि आक्रोशित भएकी कटुवालले अभिनेता अनमोल केसी विरुद्ध पनि गएको भदौ ८ गते ‘रावायण’ फिल्ममा आपराधिक विश्वासघात गरेको भन्दै उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा अभिनेता केसी तीन दिनसम्म हिरासतमा बसेका थिए ।

  • मेनुका पौडेलको साधना- नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा छरिन् जादु

    मेनुका पौडेलको साधना- नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा छरिन् जादु

    काठमाडौं । भारतीय टीभी रियालिटी शोमा प्रतियोगीहरूलाई निर्णायकले वाहवाही गर्नु, उनीहरूको ‘दर्दभरी कथा’ सुनेर भक्कानिँदै आँसु झार्नु कुनै नौलो दृश्य होइन । टीआरपीका लागि पनि उनीहरु कहिलेकाहीं अतिरञ्जित रूपमा पेश हुने गर्छन् । तर, नेपालकी गायिका मेनुका पौडेलले इन्डियन आइडलको मञ्चमा पहिलोपटक पेश हुँदा जुन रियाक्सन जजहरुबाट पाइन्, त्यो भने ‘नेक्स्ट लेभल’ कै थियो ।

    मेनुकाको प्रस्तुतिमा निर्णायकद्वय श्रेया घोसाल र विशाल धर्धरी रोए । तर, उनको पीडादायी जीवनकथा सुनेर होइन, फगत उनको आवाज र गायकीले निर्णायकहरु भक्कानिएका थिए । उनीहरुले मेनुकाको प्रशंसामा कुनै पनि शब्द खर्चिन कञ्जुस्याइँ गरेनन् । ‘संगीतको भगवान’ कै संज्ञा दिए । तर, जब मेनुकाले विशालको संगीतमा गाउने इच्छा व्यक्त गरिन्, विशालले स्पष्ट शब्दमा ‘एस’ भनेनन् । कूटनीतिक जवाफ दिँदै भने, ‘यदि मेरो नसिबमा रहेछ भने त्यो सम्भव हुनसक्छ ।’

    भन्न खोजिएको के हो भने अडिसनमा पाएको तालीबाट नै मेनुकाको इन्डिया आइडल यात्रा कति लामो हुन्छ भन्न सकिन्न । आज ‘संगीतको भगवान’ भन्दै भावुक हुने जजहरुले अर्को कुनै प्रस्तुतिमा ‘आई एम नट इम्प्रेस्ड’ भन्न कुनै संकोच मान्दैनन् । विगतमा पनि मेनुकाको जस्तै तारिफ पाउनेहरु टप १० मै नपुगी आउट भएका उदाहरण छन् । यदि टप १० मा पुगिहालिन् भने त्यसपछिको यात्राका लागि पब्लिक भोटमा निर्भर हुनुपर्छ उनले । पब्लिक भोटमा गइसकेपछि प्रतिभाभन्दा पैसा बलियो हुन्छ ।

    इन्डियन आइडल १४औं सिजनको हिजोबाट प्रशारण सुरु भएको हो । पहिलो एपिसोडमै मेनुकाको प्रस्तुति समावेश थियो । त्यसको अफिसियल भिडिओ रिलिज गरिएको छैन । तर, मेनुकाले गाएको क्लिपहरु भने सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनको प्रस्तुतिले सबैलाई कायल बनाएको छ ।

    भारतीय टीभी रियालिटी शोमा मेनुकाले यसरी ‘आगो लगाएको’ यो पहिलो पटक होइन । उनी चार वर्षअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिन गएकी थिइन् । त्यसको अडिसनमा पनि उनले यसैगरी वाहवाही बटुलेकी हुन् । यसैगरी उनको भिडिओ भाइरल भएको थियो ।

    त्यसबेला अडिसनमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात है..’ गाउँदा जजहरुले प्रशंसाको पुल बाँधेका थिए । हरेक एपिसोडमा मेनुकाले नै उच्च स्कोरसहित स्ट्यान्डिङ अवेसन पाउने गर्थिन् । तर, टप ११ को प्रतिस्पर्धाबाटै उनलाई आउट गरियो । पहिले अडिसनमा ‘तिम्रो मूल्यांकन गर्ने हाम्रो औकात छैन’ भन्दै फुर्क्याउने जज वाजिद खानले टप ११ मा आइपुग्दा ‘मेनुकाको प्रस्तुति सुन्दर भए पनि ‘म्याजिकल’ नभएको’ प्रतिक्रिया दिएका थिए । यसरी प्रतियोगीहरुलाई ‘उचाल्न र थेचार्न’ अभ्यस्त हुन्छन् भारतीय टीभी रियालिटी शोका जजहरु ।

    इन्डियन आइडलको पाँचांै र छैटौं सिजनमा जज रहेकी सुनिती चौहानले इकोनोमिक टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा आफूहरुलाई कार्यक्रमका निर्माताले प्रतियोगीहरुलाई बढीभन्दा बढी प्रशंसा गर्न लगाउने गरेको खुलासा गरेकी थिइन् । सन् २०२१ मा गेस्ट जजका रुपमा आएका गायक अमितकुमारले पनि आफूलाई कुनै पनि प्रतियोगीको आलोचना नगर्न सुझाव दिइएको बताएका थिए ।

    मेनुकाको यात्रा र साधना

    २५ वर्षीय मेनुका आँखाको दृष्टिबाट वञ्चित छिन् । उनको अन्तरदृष्टि भने निकै चम्किलो छ । उनलाई यस्तो आवाजको वरदान प्राप्त छ, जसले जोकोहीलाई मन्त्रमुघ्ध बनाउन सक्छ । मानौं, संगीत उनको नशा नशामा छ ।

    २०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । सामान्य आर्थिक अवस्था भएका बुवाआमाले उनलाई आँखा विसेक पार्न हरसम्भव प्रयास गरे । अस्पतालदेखि धामी-झाँक्री सबैतिर धाउँदा पनि केही लागेन । अन्ततः ४ वर्षको उमेरमै उनलाई बुवाले गह्रामुनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर थन्क्याइदिए, जहाँ उनी जस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेका थिए । घरबाट एक घन्टा दूरीमा रहेको यही होस्टलको चौघेराभित्र बितेको थियो मेनुकाको बाल्यकाल ।

    आँखा नदेखे पनि मेनुका सानैबाट अति आत्मविश्वासी थिइन् । उनको एक्लैएक्लै हिँड्ने आदत बाल्यकालदेखिकै हो । ह्वाइट केन हातमा समातेपछि ठमठम गर्दै शहरबजार जतासुकै चहार्थिन् । चाहेको ठाउँमा पुगेरै छाड्थिन् । जसरी अहिले एक्लै भारत-नेपाल आउजाउ गर्छिन् ।

    पढाइमा जेहेनदार थिइन् मेनुका । ब्रेल लिपिमा लेखपढ गरेकी उनले सहयोगी राखेर एसएलसी परीक्षा दिएकी थिइन् र फर्स्ट डिभिजनमा पास भएकी थिइन् । भनिरहनु नपर्ला, आँखा देख्ने कैयौं परीक्षार्थीलाई उनले पछि पारिन् । एसएलसीपछि बल्ल दुर्गा मावि होस्टलबाट उनी बिदा भइन् ।

    संगीतमा मेनुकाको झुकाव पनि जन्मजात नै थियो भन्दा हुन्छ । चार वर्षको उमेरमा होस्टल छिर्दा त्यहाँ हार्मोनियमको गुञ्जनले उनलाई तानेको थियो । त्यो धुन उनलाई दिन-प्रतिदिन प्रिय लाग्दै गयो । ७ वर्षको उमेरमा आफैंले हार्मोनियम बजाउन सिकिसकेकी थिइन् । पढाइभन्दा संगीतमा नै उनको लत बस्यो । स्कुलभित्र र बाहिर थुप्रै गायन प्रतियोगितामा भाग लिइर पुरस्कार जितिन् ।

    एसएलसी सकेर काठमाडौं आएपछि उनको नयाँ चरणको संघर्ष सुरु भयो । यो संघर्षमा उनको एकमात्र भरपर्दो साथी थियो मोबाइल । उनी मोबाइल चलाउन पारंगत थिइन् । त्यही मोबाइलबाट खोजीखोजी संगीत क्षेत्रका व्यक्तिहरुलाई साथी बनाइन् । भेट्न पुगिन् । सहयोग मागिन् । तर, कहिल्यै कतै पनि आफ्नो शारीरिक कमजोरीलाई सहारा बनाइनन् । उनलाई नभेट्दासम्म कसैलाई पनि थाहा हुँदैनथ्यो कि उनी एक दृष्टिविहीन हुन् ।

    छोरीको चाहनाअनुसार बुवाले उनलाई म्युजिक पढाउने कलेजमा नै भर्ना गरिदिए । कपनमा रहेको दृष्टिविहीनहरु बस्ने होस्टलमा बसेर उनी आकाशेधारामा रहेको म्युजिक कलेज धाउँथिन् । कलेज-घर एक्लै आउजाउ गर्नु उनको लागि कुनै बडीबात थिएन ।

    काठमाडौं आएको केही समयमै उनले रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा भाग लिइन् र प्रथम भइन् । यसपछि उनको हौसलाले थप उडान लियो । अनि भाग लिइन् नेपाल आइडलको पहिलो सिजनमा । जतिबेला उनको उमेर १८ वर्षको थियो ।

    नेपाल आइडलले नै उनलाई देशविदेशमा रहेका नेपालीहरुमाझ चिनायो । यात्रा भने टप ११ मा पुगेर रोकियो । भोटिङका आधारमा उनी आउट भइन् । तर, रोकिएन उनको सांगीतिक रफ्तार । अब उनलाई देशको सीमा छिचोलेर बाहिर निस्किनु थियो । भारतीय टीभी च्यानलले सारेगमपको नयाँ संस्करण सुरु गर्न लागेको थियो । काठमाडौंमा पनि अडिसन हुने उनले थाहा पाइन् । अवसर गुमाउनु थिएन । भिडिओ अडिसन दिइन् र सेलेक्ट भइन् । काठमाडौंको अडिसनमा भाग लिएका सयौंबाट छानिएर कोलकाता पुगिन् । त्यहाँबाट पनि छानिएर मुम्बईमा अडिसन दिन पुगिन् । पाँचौं चरणमा दिएको अडिसन बल्ल अन एयर भयो, उनी रातारात भाइरल भइन् ।

    मुम्बई अडिसनमा मेनुकाले लता मंगेशकरको गीत गाउँदा जजहरुले भयंकर तारिफ गरेका थिए । उनलाई कम्तीमा टप ५ को प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । तर, प्रशंसा एकातिर, ‘नियत’ अर्कोतिर । भोटिङ राउन्ड सुरु नहुँदै उनलाई पन्छाइयो । संयोगवस यहाँ पनि टप ११ मै उनको यात्रा रोकियो ।

    सारेगमपबाट आउट भएपछि नै उनले इन्डियन आइडलको तयारी थालेकी हुन् । तर, उनले कसैलाई पनि आफू इन्डियन आइडलमा भाग लिन जाँदैछु भन्ने सुइँको दिएकी थिइनन् । त्यसैले यो एकप्रकारले सबैका लागि सरप्राइज भयो ।

    सारेगमपबाट भाग लिएर फर्किएपछि यो पंक्तिकारको एक पटक मेनुकासँग भेट भएको थियो । त्यसबेला उनले गायकी भन्दा पनि बाह्य कारणले आफू चाँडै आउट भएको आँकलन सुनाएकी थिइन् ।

    उनले भनेकी थिइन्, ‘त्यहाँ धेरै कुराले असर गर्दो रहेछ । गायनमात्र नभएर धेरै कुरामा विचार पुर्‍याउनुपर्दो रहेछ । गीत त मैले राम्रो नै गएको थिएँ । तर पनि अरु कारणले आउट भएँ ।’

    मेनुकाले आफू फेक न्यूजको शिकार बनेको गुनासो गरेकी थिइन् ।

    उनले भनेकी थिइन्, ‘मैले नराम्रो गाएर आउट भएकी होइन । युट्युबमा आएका केही हेडलाइनहरुले मलाई असर ग¥यो । धेरै मिडियाले मलाई साथ दिँदादिँदै केही युट्युब च्यानलले फेक न्यूजहरु भाइरल गराए ।’

    त्यसबेला ‘मेनुका पौडेल भन्छिन्- भारतसँग नाकाबन्दीको बदला लिएरै छाड्छु’, ‘म अन्धीलाई एक शेयर गरिदिनुस् प्लीज’ भन्ने जस्ता हेडलाइन केही युट्युब च्यानलमा आएका थिए ।

    मेनुकाले इन्डियन आइडलको अडिसनमा गोल्डेन माइक पाएपछि सीधै थियटर राउन्डमा स्थान बनाएकी छन् । उनीसँगै ४ जनाले गोल्डेन माइक पाएका थिए । अब उनीहरुले १५ जना प्रतिस्पर्धीसँग भिड्नुपर्छ । थियटरपछि गाला राउन्ड र त्यसपछि ‘इलिमिनेसन राउन्ड’ सुरु हुनेछ । टप १२ पछि सायद भोटिङबाट निर्णय हुने होला । कामना गरौं, यसपालि मेनुकालाई कुनै पनि ‘बाह्य कारण’ ले असर नगरोस् ।

    इन्डियन आइडलको मञ्चमा आउँदाखेरि मेनुका निकै आत्मविश्वासी देखिएकी छन् । उनले आफ्नो आत्मविश्वास खुलेरै प्रकट पनि गरिन् ।

    ‘मलाई कुकिङ, सपिङ गर्न आउँछ । हार्मोनियम बजाउन आउँछ । म एक्लै जतासुकै घुमफिर गर्छु । सामान्य मान्छेले गर्ने काम सबै गर्न सक्छु’, उनले फुर्तीसाथ भनिन् ।

    जब गाउन थालिन्, उनको ‘उठान’बाट नै जजहरु प्रभावित भइहाले । कोमल आवाजमा उनी निकै मीठो गुञ्जिइन् । सात वर्षअघि नेपाल आइडलमा गाउँदा र अहिले इन्डियन आइडलमा गाउँदा उनको गायिकीमा बदलाव पाइयो । पहिले उनी अलि तिखो आवाजमा गाउँथिन् । अहिले बढी मधुर र कर्णप्रिय लागिन् । सुरमा पनि निकै कमान्ड बनाइसकेकी छन् । एउटा नेपाली गायिकाले हिन्दी भाषाको गीत यत्तिको सटिक उच्चारण र सुर मिलाएर गाउनु पनि ठूलै कुरा हो । मेनुकाले गायकीमा मात्र नभर हिन्दी भाषामा पनि निकै सुधार गरिछन् ।

    इन्डियन आइडलमा नेपाली !

    नेपालीहरुले भारतका थुप्रै टीभी रियालिटी शोहरुमा भाग लिँदै आएका छन् । तर, इन्डियन आइडलमा भाग लिने मेनुका पहिलो नेपाली हुन् ।

    खासमा ‘इन्डियन आइडल’ मा गैरभारतीयले भाग लिन नपाउने प्रावधान छ । अरु भारतीय रियालिटी शोमा जुनसुकै देशका नागरिकले भाग लिन पाउने भए पनि इन्डियन आइडलमा भने भारतीयले मात्रै प्रतिस्पर्धा गर्न पाउँछन् । विगतमा केही नेपालीभाषी भारतीयले इन्डियन आइडलमा भाग लिएका छन् । दार्जिलिङका प्रशान्त तामाङले उपाधि नै जितेका थिए । तर, विशुद्ध नेपाली नागरिकले भने इन्डियन आइडलमा अडिसन दिएर छनोट भएको पहिलो पटक हो ।

    मेनुकाले कसरी इन्डियन आइडलमा अडिसन दिन पाइन् भन्ने खुलेको छैन । या त टेलिभिजनले नेपालमा मार्केट बढाउन आफ्नो नीति बदलेको/मिचेको हुनुपर्‍यो वा मेनुकाले भारतबाट रासन कार्ड/आधार कार्ड जस्ता कुनै कागजात लिएको हुनुपर्‍यो । अडिसनको फुटेज हेर्दा उनलाई जजहरुले कहाँबाट आएको भनेर सोधेनन्, जबकि सामान्यतया सोध्ने गर्छन् । न मेनुका आफैंले आफूलाई नेपाली भनेर चिनाइन् ।

    – चिरञ्जीवी पौडेल

  • अनमोल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

    अनमोल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।

    प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

    जाहेरीअनुसार प्रसाद-२ का निर्माताले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्‍याएकी दाबी गरेका छन् । थापा र श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले बतायो ।

  • बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने चलचित्र सम्बद्ध संघंसस्थाको घोषणा

    बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने चलचित्र सम्बद्ध संघंसस्थाको घोषणा

    काठमाडौं । चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध संघसंस्थाले चलचित्र विकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ ।

    शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धी ९ वटा संघ संस्थाहरुको सामूहिक बैठक बसेको थियो ।

    बैठकले चलचित्र विकास बोर्डले सरोकारवाला संघसंस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेभ साइटमा राखेको भन्दै आपत्ति जनाएको छ ।

    सरोकारवाला संघसंस्थाहरुको सहमतिबिना चलचित्र विधेयक अगाडी नबढाउन अनुरोध गर्दै संघसंस्थाले चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र बुझाएको छ ।

    यसअघि चलचित्र सम्बन्धी संघसंस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति गरेको विधेयक लुकाएर बोर्डले चलचित्र उद्योग र संघीयताको मर्म विपरीत गोप्य रूपमा विधेयक ड्राफ्ट गरी अगाडी बढाएको आरोप लगाएको छ ।

    शुक्रवार सञ्चार मन्त्री रेखा शर्मालाई पत्र बुझाउँदै सबै संघ संस्थाले सहमतिमा विधेयकको ड्राफ्ट वा सुझाव पठाइसकेपछि मात्र मन्त्रालयमा पेश गर्न माग गर्दै त्यस अघिका बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने ८ संस्थाले निर्णय गरेको हो ।

    नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले कुनै पनि संस्था र चलचित्रकर्मी चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

    सबै संघसंस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टीकरणसहित चलचित्र विकास बोर्ड र मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ ।

  • छायांकन अगावै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री

    छायांकन अगावै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री

    काठमाडौँ । ‘महाजात्रा’ ले छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री गरेको छ ।

    अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

    कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई उनले ‘जात्रा’ शृङ्खलाप्रति दर्शकमा रहेको विश्वास हो भने ।

    वितरक थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समूहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मूल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

    उनले जापान, हङकङ, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए ।

    वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।

    चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन् लागेको बताए ।

    उनले भने, ‘हाम्रो पछिल्लो चलचित्र जात्रै जात्रा इन्टरनेट रिलिज भएपछि अधिकांश दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नु हुन्थ्यो । हामीले शृङ्खला थप्न हतार गरेनौँ । अहिले कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि काम अगाडी बढाएका छौँ ।

    ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यस पटक हरिवंश आचार्य जोडिएका छन् ।

  • ‘प्रसाद-२’ विवादमा ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ

    ‘प्रसाद-२’ विवादमा ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौं । ‘प्रसाद-२’ चलचित्रको विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । फिल्मका निर्माता सुदर्शन बस्नेतको उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आपराधिक विश्वास घात गरेको आरोप उनीमाथि लागेको छ

  • साउन्ड डिजाइनर स्थापितको प्रश्न- पार्श्र्व संगीत ध्वनिको उपविधामात्रै हो, हाम्रा फिल्म मेकरले कहिले बुझ्ने ?

    साउन्ड डिजाइनर स्थापितको प्रश्न- पार्श्र्व संगीत ध्वनिको उपविधामात्रै हो, हाम्रा फिल्म मेकरले कहिले बुझ्ने ?

    काठमाडौं । मीन भाम निर्देशित ‘कालो पोथी’देखि यही असोज २६ गते प्रदर्शनमा आउन लागेको ‘कौसीद’सम्म विपीन स्थापितले साउण्ड डिजाइनको काम गरे । क्यान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सर्ट कर्नरमा छनोट भएको ‘लभ लस्ट लाइफ’देखि बर्लिन फिल्म फेस्टिभलमा बेस्ट जुरी अवार्ड जितेको ‘जालगेडी’सम्म साउण्ड डिजाइनर बने । ६० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल घुमेको ‘काफल पाक्यो’लगायत दर्जनौं फिल्म स्थापितको साउण्ड डिजाइनको कलाले मोहरिएको छ ।

    ३० वर्षदेखि यस क्षेत्रमा सक्रिय छन् स्थापित । तर, करियरको अन्तिम अन्तिम संघारमा आइपुग्दा अझै पनि स्थापितलाई लाग्छ, नेपाली फिल्म क्षेत्र साउण्डको विधामा स्पष्ट भइसकेको छैन । सुन्दर साउण्ड डिजाइनको कमीले सिंगो फिल्मको मर्म नै मर्छ । फिल्मले सम्प्रेषण गर्न खोजेको कथाको उद्देश्य नै साउण्ड डिजाइनविना अधुरो रहन्छ । तर, त्यही साउण्ड डिजाइनलाई हल्काफुल्का रुपमा फिल्म मेकरहरुले लिइदिन्छन् । ।

    स्थापितको गुनासो छ, ‘साउण्ड डिजाइनविना सुन्दर फिल्मको कल्पनै गर्न सकिन्न । तर, हाम्रा मेकरहरु यसलाई नजरअन्दाज गरिदिन्छन् । उनीहरुलाई लाग्छ, साउण्ड डिजाइन भनेको ब्याकग्राउण्ड म्युजिक र केही गीतका संगीतहरुमात्रै हुन् । तर, यी त साउण्ड विधाका ब्रान्चमात्रै हुन् ।’

    साउण्डमा विभिन्न क्याटागोरी हुन्छन् । अनलोकेसन प्रोडक्सन साउण्ड हुन्छ । ब्याकग्राउण्ड साउन्ड हुन्छ । फोले डिपार्टमेन्टलगायत हुन्छ । अनिमात्रै म्युजिक डिपार्टमेन्ट आउँछ । साउण्डमै अनेक क्राफ्टिङ हुन्छन् । संवादहरुको क्लिन्जिङ हुन्छन् । साउण्डका यिनै यावत् कामहरुका कारण नै फिल्ममा कुनै पात्र हिँडिरहँदा खुट्टाको आवाज आउँछ । खुट्टाको आवाज पनि पात्रपिच्छे फरक आउँछ । कोही पात्र रिसले हिँडिरहेको छ र अर्को कोही पात्र खुसी भएर हिँडिरहेको छ भने ती पात्रको खुट्टाले निकाल्ने आवाज फरक हुन्छ । धनाढ्यको घरको ढोकाको ‘चुइँय..’ आवाज र गरीबको घरको ढोकाको ‘चुइँय..’ आवाज फरक हुन्छ ।

    कुनै अवस्था र समय देखाउनुपर्‍यो भने ब्याकग्राउण्ड साउण्ड नै चाहिन्छ । मानौं, कुनै दुई पात्र १२ बजेको समयमा काठमाडौंको घण्टाघरअघि उभिएका छन् । उनीहरुको अवस्था र समय देखाउन धेरै केही गर्नैपर्दैन, घण्टाघरले १२ बजेको जनाउ दिन ‘टङ… टङ…’ गरे पुग्छ ।

    यीलगायत यावत् कामहरु साउण्ड डिजाइनरको हो । अथवा फिल्ममा साउण्ड विभागको हो । तर, आफ्नो पात्रको मनस्थिति, आफ्नो पात्रको वर्ग, आफ्नो पात्रको चरित्रमाथि पहिला त मेकर स्पष्ट हुनुप¥यो । आफूले भनेको कथा कुन वर्ग, कुन समुदाय र कुन समयको हो, मेकर नै स्पष्ट हुनुप¥यो । अनिमात्रै मेकरले सोचेको कथालाई पूर्णता दिन साउण्ड डिजाइनर आवश्यक हुने स्थापित बताउँछन् ।

    भन्छन्, ‘तर, हाम्रा मेकरहरुलाई यी विषयमा चासो नै हुँदैन । साउण्ड डिजाइनलाई महत्वपूर्ण विभाग नै मान्दैनन् । हाम्रो फिल्म क्षेत्रले त साउण्ड भनेको म्युजिक र ब्याकग्राउण्ड म्युजिक भनेरमात्रै बुझ्यो । अहिले सिंक साउण्ड अलिअलि बुझेका छन् । तर, सिंक साउण्ड भनेको पनि लठ्ठी ठडाउनुमात्रै हो भनेर बुझेका छन् । सिंक साउण्डको अर्थ के हो, त्यसको उपादेयता के हो, त्यो किन चाहिन्छ भनेर महत्वका साथ हेर्ने बानी नै परेको छैन ।’

    नेपालमा अचेल टेलिसिरियल बहुल संख्यामा बनिरहेका छन् । ती टेलिसिरियलले समाजका विभेद, अन्यायलाई कसरी प्रस्तुत गरिरहेको छ, समीक्षाको छुट्टै पाटो भयो । ती टेलिसिरियलले भुईंमान्छे र उनीहरुको मुद्दालाई कुन रुपमा उठाइरहेको छ, त्यो पनि विमर्शको अर्कै पाटो भयो । तर, ती टेलिसिरियलले प्रायः डबिङ गर्दैनन् ।

    उनीहरु सिंक साउण्ड गर्छन् । सुटिङमा एउटा माइक्रोफोन तेस्र्याउँछन् । माइक्रोफोनमा रेकर्डेड साउण्डलाई भिडियोमा समावेश गर्छन् ।

    अहिले सिंक साउण्ड संसारमा चलेको विधा हो । सिंक साउण्डको अर्थ हुन्छ, अनलोकेसनमा गएर कलाकारको प्रस्तुतिसँगै उनीहरुको आवाजको प्रस्तुति पनि लिनु । स्थापितका अनुसार अहिले जति पनि सिंक साउण्ड लिइएका फिल्म, टेलिफिल्म, सर्टफिल्महरु छन्, त्यहाँ हचुवाको भरमा मात्रै लिइएका सिंक साउण्ड छन् ।

    ‘सिंक साउण्ड लिनलाई दक्ष प्राविधिकहरु चाहिन्छ । सिंक साउण्डमा बाहिर माइक्रोफोन राख्दा अनावश्यक आवाज पनि आउँछ । अनि प्राविधिक रुपमा त्यसलाई फाइनल मिक्सिङ गरेन भने ध्वस्तै हुन्छ । माइक्रोफोनले डाइलग त लियो, तर फोहोर लियो । अनि मेकरहरु सजिलै भनिदिन्छन्, सिंक साउण्ड लिएको छ, किन डबिङ गर्नुपर्‍यो ? यही ज्ञानको कमीले हाम्रा फिल्महरु कमजोर बनिरहेका छन्’, स्थापित सुनाउँछन् ।

    सिंक साउण्डको सुन्दरता भनेको अभिनय सँगसँगै कलाकारको ओरिजिनल आवाज पनि आउनु हो । स्थापितका अनुसार यहाँ सिंक साउण्डका नाममा जो पनि गएर माइक ठडाइदिन्छन् । तर, माइक ठडाउने पनि तरिकाहरु हुने स्थापितको भनाइ छ । त्यतिमात्रै होइन, माइक्रोफोन छनोट गर्ने पनि तरिका हुने गर्छ ।

    कुन प्रोडक्सनका लागि गएको हो ? टीभी हो कि ? फिल्म हो कि ? इनडोर हो कि ? आउटडोर हो कि ? त्यसअनुसारको साउण्डको सेटअप चाहिने स्थापित बताउँछन् ।

    स्थापित भन्छन्, ‘हाम्रोमा साउण्डलाई लिएर चेत खुलिसकेको छैन । बुम तेस्र्याएपछि काम भयो भन्ठान्छन् । म्युजिक त म्युजिसियनले गरिहाल्छ भन्ठान्छन् । तर, म्युजिक साउण्डको एक पाटो हो । प्राविधिक रुपमा साउण्डमा एमएई (म्युजिक एण्ड इफेक्टस्) र डाइलग हुन्छ । फोले हुन्छ । फोले पनि तीन प्रकारका हुन्छन् । यी सबैथोकको फिल्ममा ठूलो अर्थ रहन्छ ।’

    स्थापितको आरोप छ, ‘हाम्रा कतिपय मेकरहरुले साउण्डको महत्व बुझ्दाबुझ्दै पनि इग्नोर गरिरहेका छन् । कतिपयले त बुझेकै छैनन् । बुझेकाहरु पनि नेपाली बजारमा यतिकै भए पनि चलिहाल्छ भनेर गुणवत्तामा हेलचेक्र्याइँ गर्छन् ।’

    साउण्डको मामलामा मेकरहरुको मात्रै हेलचेक्र्याइँ छैन । हलहरुमा पनि समस्या छ । हलहरुको प्रोपर स्टान्डर्ड छैन । ‘साउण्डलाई लिएर हलहरुको प्रोपर स्टान्डर्ड के हो ?’, स्थापितको प्रश्न छ ।

    एक पटक स्थापित दुईतीन वटा हलहरुमा गए । हलमा काम गर्ने भाइहरुलाई हलको साउण्ड स्टान्डर्डबारे सोधे । उनीहरुले भने, ‘दाइ, हामी त यहाँ सुनेर गर्ने हो ।’

    हलको प्रोजेक्सन लेभलमा नै एकरुपता नहुँदा कुन स्टान्डर्डको अडियो क्वालिटी बनाउने भनेरै समस्या झेलिरहेका छन् स्थापितहरु । प्रदर्शनमा आउन लागेको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’सँगै अन्य फिल्ममा काम गरिरहेका साउण्ड डिजाइनरहरु पनि हलमा एकरुपता नहुँदा समस्या झेलिरहेका छन् ।

    स्थापितको प्रश्न छ, ‘हामीले राम्रो साउण्डमा दर्शकलाई फिल्म देखायौं भने पो उनीहरुलाई बानी लाग्छ । त्यसरी काम नगरेपछि दर्शकले फिल्म झुर भयो भनेर त यसै पनि भन्छन् । फिल्मको साउण्ड विभागमा म्युजिकमा काम गरिरहेकाहरु झ्याप्प आएका छन् । उनीहरुलाई फाइनल मिक्सिङको ज्ञान छैन । संसारको स्टान्डर्ड कति हो भनेर पनि थाहा छैन । साउण्डमा त टीमवर्क नभइ हुँदै हुन्न । अर्कातिर साउण्डको ज्ञान भएकाहरुले काम गर्छु भन्दा प्रोजेक्सन गतिलो छैन । अनि कसरी राम्रो फिल्म हुन्छ ?’

    यसको समाधान चलचित्र विकास बोर्डले गरिदिनु पर्ने हो । हलको स्टान्डर्ड कति हो, नियम बनाइदिनु पर्ने हो । तर, बोर्डका अध्यक्षलाई रिबन काटेर हिँड्न फुर्सद हुँदैन । सेन्सर बोर्डमा राजनीतिक नियुक्ति हुन्छ । उनीहरु फिल्मका शब्दहरुमा मात्रै कैंची लगाउन बसेका छन् ।

    ‘अनि यस्तो अवस्थामा हामी पलायन हुनुको विकल्प के छ ?’, स्थापित प्रश्न गर्छन् ।

    स्थापित यिनै यावत् कारणले गर्दा नेपाली फिल्महरुमा कम काम गर्छन् । अफर त आउँछ । तर, कतिपय फिल्ममा उनलाई टीम चित्त बुझ्दैन । टीममा राम्रो तालमेल नभइ आउटपुट आउने कुरा पनि भएन । कतिपय फिल्ममा स्थापितलाई बजेट चित्त बुझ्दैन ।

    अनि वर्षमा दुईतीन वटा सर्ट फिल्म गर्छन् । उक्त सर्ट फिल्महरु बर्लिन, बुसान जस्ता प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा पुगेकै छन् । त्यसैले पनि आफू बाहिरको काममै रमाइरहेको बताउँछन् स्थापित ।

    कतिपय अवस्थामा साउण्डमा गम्भीरताका साथ काम गरेका कारण पनि फिल्महरु ती फेस्टिभलहरुमा छनोट भएका छन् । साउण्डको विधा नै ड्यांगै बाहिर देखिने खालको हुँदैन । एनिमेसन फिल्मको कथा एनिमेसन नै हो भनेर थाहा पायो भने दर्शकले हेर्दैनन् । तर, एनिमेसन हो कि रियल हो भनेर दर्शक दोधारमा पर्‍यो भने राम्रोसँग फिल्मको आनन्द लिन्छन् । स्थापितको भनाइ छ, ‘साउण्ड पनि एनिमेसन जस्तै हो ।’

    अर्कातिर नेपाली फिल्म क्षेत्रमा हिरोहिरोइनको पारिश्रमिक ३०-४० लाख हुन्छ । टीयुको एफिलियसनमा फिल्म पढाइने कलेजहरुमा साउण्ड विषयको पाठ्यक्रम नै निर्माण गरिदिएका स्थापित भन्छन्, ‘हिरोहिरोइनको अलावा यहाँ काम गर्न जाँदा हामीलाई तीनचार लाखभन्दा बढी दिँदैनन् । पाइलट साउण्ड जो एडिटको वेलामात्रै काम लाग्छ, त्यसका लागि स्पटब्वाइको रुपमा हाजिर दिन्छन् । उसले लठ्ठी ठड्याइदिन्छन् । सकियो । तर, साउण्डमा सिंगो टीमले काम गर्नुपर्छ र पो फिल्म बलियो हुन्छ ! स्क्रिनमा हिरोहिरोइन राम्रो देखिएरमात्रै फिल्म राम्रो बन्दैन नि !’

  • इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक, भक्कानिइन् श्रेया घोसाल

    इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक, भक्कानिइन् श्रेया घोसाल

    काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् ।

    मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छाएको थियो । त्यसपछि सबै निर्णायकहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिए ।

    स्टान्डिङ अवेसनपछि भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ’

    त्यस्तै श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् । मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे,‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ । जसको कारण तिमी हौ ।’

    यसपछि मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरिन् । यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने आशिसले बताए ।

    अन्तिममा श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मजा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ ।’

    साथै आफूले मेनुकाको आवाजमा ईश्वर देखेको पनि श्रेयाको भनाइ थियो । यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिन्छन् ।

    झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

  • पूजा र रेहानले हात पारे ‘एस अफ मोडल्स २०२३’ को उपाधि

    पूजा र रेहानले हात पारे ‘एस अफ मोडल्स २०२३’ को उपाधि

    काठमाडौं । ‘एस अफ मोडल्स २०२३‘ को उपाधि झापाकी २१ वर्षीया पूजा सिंह राजपुत र काठमाडौँ, बुढानीलकण्ठका १८ वर्षीय रेहान गदालले हात पारेका छन् । काठमाडौँस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ ७ गरी जम्मा २३ प्रतियोगी रहेका थिए।

    २१ प्रतियोगीलाई उछिन्दै पूजा र रेहानले उपाधि जितेका हुन् । ‘इभेन्ट तथा फोटोग्राफी कम्पनी क्याप्चर’ले आयोजना गरेको प्रतियोगितामा फस्ट रनर अपको उपाधि शिला नेपाली र भावेश खड्काले जितेका छन भने सेकेन्ड रनर अपको उपाधि हेभन उपाध्याय र रोनि आले मगरले हात पारेका छन् ।

    प्रतियोगिताबाट मस्ट फोटोजेनिकको टाइटल शिला नेपाली र भावेस खड्का, बेष्ट पर्सनालिटिको टाइटल रेहान गदाल र शिला नेपाली, बेस्ट वाकको टाइटल रुजल स्थापित र सिम्रिका खत्री, बेस्ट स्किनको टाइटल शिला नेपाली, बेस्ट फिजिकको टाइटल भावेष खड्का र बेस्ट फिगरको टाइटल पुजा सिंह राजपुतले पाएका छन।

    त्यस्तै मस्ट ट्यालेन्टेडमा रेहान गदाल र स्तुति क्षेत्री, मस्ट एक्टिभमा सुवास्ना रेग्मी, मस्ट पङ्चुअलमा डार्विन देवकोटा र श्रिसा श्रेष्ठ, मस्ट पपुलरमा शिला नेपाली र डार्विन देवकोटा, पब्लिक च्वाइस अवार्डमा सुवास्ना रेग्मी, मस्ट डिसिप्लेनमा सम्यम श्रेष्ठ र निलम बम ठकुरी, मस्ट करेजियसमा हेभन उपाध्याय, मस्ट स्टाइलिस्टमा रोनि आले मगर र सिफाली महर्जन र मस्ट फ्रेन्डलीमा सुरज चौधरी र प्रिज्मा भुजुले सह–उपाधिका अवार्ड प्राप्त गरेका छन् ।

    फोटोग्राफर पबिन्द्र श्रेष्ठले निर्देशन गरेको प्रतियोगिताको निर्णायक मण्डलमा मिस्टर नेपाल २०२२ नुतन श्रेष्ठ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर सोनम सुब्बा लिम्बु, सिनियर ब्यूटिसियन रुक्सा श्रेष्ठ र रोडिज सिजन–२ बिजेता आयुष श्रेष्ठ रहेका थिए ।

  • महायज्ञमा ‘परदेशी २’ टीमलाई स्वागत तथा सम्मान

    महायज्ञमा ‘परदेशी २’ टीमलाई स्वागत तथा सम्मान

    काठमाडौं । दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यति बेला प्रचार–प्रसारमा लागिपरेको छ ।

    चलचित्र प्रचारका लागि निर्माण टीमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ ।

    निर्माण टीमले यति बेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरूमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।

    यसैबीच, चलचित्रका निर्देशक एवं कलाकारहरू शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन् ।

    निर्देशक एवं कलाकारहरूलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए ।

    त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपिल गरेका थिए ।

    अभिनेता प्रकाश सपूतले चर्चित गीतहरू प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गरे ।

    अभिनेत्रीद्वय केकी र वर्षाले दशैंको फेस्टिभ माहौलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मन पर्ने विश्वास दिलाए ।

    शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।

    वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

    रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ ।

    राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङखला ‘परदेशी’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

    ‘परदेशी २’प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।

  • ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ लिएर आइन् पूर्व उपमेयर कविता, सिङ भाँच्चिएका गाउँका सिंहदरबार

    ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ लिएर आइन् पूर्व उपमेयर कविता, सिङ भाँच्चिएका गाउँका सिंहदरबार

    काठमाडौं । स्थानीय सरकारका समस्या तथा काम गर्दाका भोगाइहरूलाई समेटेर नेपाल नगरपालिका संघकी पूर्व सदस्य कविता ढुंगानाले पुस्तकको रूप दिएकी छन् ।

    नुवाकोटको बेलकोटगढी नगरपालिकाकी पूर्व उपमेयर ढुंगानाको पुस्तक ‘स्थानीय सरकार,अपेक्षा र अवस्था’ शनिवार काठमाडौंमा विमोचन भएको हो ।

    माओवादी केन्द्रकी युवा नेता समेत रहेकी ढुंगानाको पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका हुन् । शहीद भरत ढुंगानाकी छोरी कविता बेलकोटगढीको पहिलो उपमेयर हुन् ।

    पुस्तक विमोचन गर्दै प्रधानमन्त्रीले कविताको पुस्तकले जनप्रतिनिधिहरूको अवस्था र संविधानको कार्यान्वयनको बारेमा विस्तृतमा व्याख्या गरेको बताए ।

    पुस्तक विमोचन समारोहमा कांग्रेस नेता अर्जुन नरसिंह केसी,नेकपा एमालेका स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहाल,विज्ञ बालानन्द पौडेललगायतले स्थानीय सरकारका अपेक्षा र अवस्थाबारे पुस्तकले विस्तृतमा जानकारी दिने बताए ।

    पुस्तकमा स्थानीय सरकारबाट जनताले धेरै अपेक्षा गरेको तर संविधान प्रदत्त अधिकारहरूको समेत राम्रोसँग प्रयोग गर्न नसकिएका विषयलाई विस्तृतमा व्याख्या गरिएको छ ।

    पुस्तक स्थानीय सरकारका प्रतिनिधिहरूका साथै नीति निर्माताहरूका लागि पनि मार्गदर्शक बन्ने वक्ताहरूले बताए । गाउँ गाउँमा पुगेका भनिएका सिंहदरबारको सिङ चाहिँ भाँच्चिएको टिप्पणी उनीहरूको थियो ।

  • मदनकृष्णको स्वास्थ्यलाभको कामनासहित पारिवारिक प्रस्तुती

    मदनकृष्णको स्वास्थ्यलाभको कामनासहित पारिवारिक प्रस्तुती

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुती दिएका हुन्।

    श्रेष्ठको स्वास्थ्यलाभको कामना एवम् पारिवारिक सांगीतिक साधनाको प्रस्तुतीमा जहाँ उनले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरेका थिए। पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र बाबुराम भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा। सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठमा गीत सुन्न प्रेक्षालयमा उपस्थित थिए।

    ‘मदनकृष्ण मुड’ श्रेष्ठले आफ्ना चर्चित गीतहरू अरबौं मान्छेहरूमा, खोलावारी खोलापारी, एउटै सपना छ, हे भगवान, फूलबुट्टे सारी लगायतका गीतहरू प्रस्तुत गरे।

    श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित उनका छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, सेल्फी गीत प्रस्तुत गरे। यस्तै छोरी सराना श्रेष्ठले ती जून जस्तै, एकतर्फी माया न हो जस्ता कालजयी गीत प्रस्तुत गरिन्। तीनै जनाले य थरी बाजा गीत सामूहिक प्रस्तुत गरे।

    उनीहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बु, प्रविण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिएका थिए।
    उनलाई सुन्न देशका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरू हलमा उपस्थिति थियो। हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए।

    कलाकार श्रेष्ठको जन्म वि.सं २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्।
    उनले ‘सुख दुख’, ‘वासुदेव’ र के घर के डेरा लगायत फिल्ममा खेले। हजारवटा जति टेलिफिल्ममा खेलेका छन्।

    विज्ञापन नाटक सयौंपटक प्रहसन गरेका छन्। पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरे। जनचेतना जगाउने काममा उनीहरूको अभूतपूर्व योगदान छ। तर, उनी अब्बल कलाकारसहित अब्बल गीतकार र गायक पनि हुन्।

    समारोहको संचालन सरोज घिमिरेले गरेका थिए भने सांगीतिक साँझमा लक्ष्मण गाम्नागे, टंक आचार्य, चक्र दवाडीले सहजीकरण गरेका थिए।

  • ‘रावायण’ नखेलेका अनमोल ‘फर्कि फर्कि’ को तयारीमा, नयाँ अनुहारमा सम्वृद्धी र रवि

    ‘रावायण’ नखेलेका अनमोल ‘फर्कि फर्कि’ को तयारीमा, नयाँ अनुहारमा सम्वृद्धी र रवि

    काठमाडौं । नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ ।

    यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यसैबीच, फिल्ममा अडिसनबाट अनमोल र जसितापछि २ नयाँ कलाकार सम्वृद्धी अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको छ ।

    नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ ।

    ‘फर्कि फर्कि’ ले सपना र विपनाबीचको कन्फ्यूजनको कथा भन्नेछ । अनमोल केसी र जसिता गुरुङले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् ।

  • टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

    टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

    काठ्माडौँ। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए।

    यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एलिजे सधैँ बुर्कामा नै हुने भएकाले लाइभ हेर्ने कसैले पनि अहिलेसम्म उनको अनुहार देखेका छैनन्। ईन्गेजमेन्टको क्लिप्सहरुमा पनि एलिजेको अनुहार देखाईएको छैन।

    एलिजे पाकीस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे आफ्नो परिवारको साथ नेपालसमेत आएकी थिईन्।

    सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो। पाकिस्तान र नेपाल दुई देशको नागरिक भएकाले पनि यो जोडीको प्रेमलाई लिएर दर्शकहरुमा कौतुहल थियो।

  • ‘परदेशी २’को ट्रेलर सार्वजनिक

    ‘परदेशी २’को ट्रेलर सार्वजनिक

    काठमाडाैं । यही दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    असोज २६ गते (आउँदो शुक्रवार)बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

    नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ ।

    प्रेम, बिछोड, उमंग, द्वन्द्व सबै पक्षको समीस्रण ट्रेलरमा पाइन्छ । गीतसंगीतलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ ।

    ‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ ।

    अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्वय प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ ।

    ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यस पटक पनि सोही भूमिकामा छन् ।

    दशैंको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ ।

    राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

    रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

    यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो ।

    चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

  • चिनियाँ राष्ट्रपति सी पत्नीले गाएको चर्चित सगरमाथा गीत (भिडिओ)

    चिनियाँ राष्ट्रपति सी पत्नीले गाएको चर्चित सगरमाथा गीत (भिडिओ)

    बेइजिङ । छ दशक अगाडि लेखेको किताबमा नेपालका विज्ञ टोनी हागनले सगरमाथा नेपाल र चीनको आधा आधा भएको भनेर लेखेका छन् ।

    बीपी कोइरालाले भूमिका लेखेको र अंग्रेजी, जर्मन, फ्रान्सेली र जापानी भाषामा प्रकाशन भएको ‘नेपालको चिनारी’ पुस्तकमा हागनले लेखेका छन्, ‘सन १९६० को दशकमा नेपाल–चीनबिच सीमा रेखाबारे पछिल्लो सहमति कायम भयो, जसअनुसार सगरमाथाको चुचुरो दुवै देशको भागमा आधा आधा पर्छ भने सगरमाथाको दक्षिणी पाटाका सम्पूर्ण हिम चुचुराहरु नेपालको भागमा पर्दछन् ।

    टोनीहागन छ दशक अगाडि प्रष्ट भएको र नेपाल–चीनले छ दशक अगाडि नै सगरमाथामा आधा आधामा सम्झौता गरे पनि नेपाल र चीन दुवै देशमा अहिलेसम्म आम जनमानस प्रष्ट छैन । नेपालीलाई लाग्छ– सगरमाथा सबै नेपालको हो । चिनियाँलाई लाग्छ- सगरमाथा सबै चीनको हो ।

    नेपालमा सगरमाथा, चीनमा चोमोलाङ्मा र विश्वभर माउन्ट एभरेस्ट भनेर चिनिएको सर्वोच्च शिखर सगरमाथालाई बिम्ब बनाएर कलामा प्रस्तुत गर्ने चलन पनि विश्वभर छ । चीनमा पनि छ । यसको एक उदाहरण हो वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङ पत्नि तथा चिनियाँ फ्रस्ट लेडी फङ्गली युआन । फङ्गलीले सगरमाथाको बारेमा एक गीतै गाएकी छन् ।

    चिनियाँ राष्ट्रपति सी पत्नी मात्रै नभएर चीनकी एक लोकप्रिय लोक गायिका फाङ्गलीले धेरै गीत गाएकी छन् । त्यसमा एक सगरमाथाको गीत हो ।

    उनले सगरमाथाको गीत गाएको प्रसंग चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआईका विदेशी विज्ञ तथा लेखक चेतनाथ आचार्यले २०७४ मा बजारमा ल्याएको पुस्तक ‘चीन चियाउँदा’ मा उल्लेख गरेका छन् । उनले साढे दुई दशक अगाडि गीत गाएकी थिइन । अहिले पनि चिनियाँ र पश्चिमा सामाजिक सञ्जालहरूमा उक्त गीत भेट्न सकिन्छ ।

    सन् १९८० को दशकमा लोकसंगीतमा स्नातकोत्तर गर्ने प्रथम चिनियाँ महिला पनि उनै भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआईका विदेशी विज्ञ तथा २०७५ मा प्रकाशित पुस्तक ‘निहाउ नमस्ते’का लेखक लक्ष्मी लम्साल ‘लक्ष्मीपूजा’ले लेखेका छन् ।

     

    https://youtu.be/L0EBEIbP-cQ

    १८ वर्षको उमेरमा चिनियाँँ जनमुक्ति सेनामा प्रवेश गरेकी उनी मानार्थ मेजर जनरलसम्म बनिन् । सन १९८७ मा सीसँग विवाह गरेकी फङ्गलीको झुकाव तिब्बती संस्कृति र तिब्बती बौद्ध धर्ममा भएको भनिन्छ । त्यसैको कारण उनले सगरमाथाको गीत गाएको मानिन्छ । गीतमा प्रयोग भएको ध्वनिमा भरपुर तिब्बती स्वाद देखिन्छ ।

    चाङ युङ्फैले लेखेको र फङ्गली युआनले चिनियाँ भाषामा गाएको ‘चोमोलाङ्मा’ गीतको नेपाली खेस्रा भावानुवाद यस्तो छ:

    सगरमाथा

    सगरमाथा

    तिमी मानव हृदयहरूमा चुलिएकी छौँ

    तिमी निलो आकाश मुनि उभिएकी छौँ

    तिमी प्रेमिल सूर्योदयले केल्साङ फूल सजाउँछौँ

    तिमी सारा हिमालयहरू भरि इजोरिया छर्किन्छौँ

     

    सगरमाथा

    सगरमाथा

    म कत्ति कत्ति आत्मिक तारहरु बजाउन चाहन्छु

    आयु विहीन शब्दहरू तिमी तर्फ बगिरहेका छन्

    म तिमीलाई माया गर्छु

    सगरमाथा तिमी मुटुमा छौँ

     

    सगरमाथा

    सगरमाथा

    तिमी प्याराहरूको सपनामा हिँड्छौँ

    तिमी उच्च भेगका सङ्कलकसँग हाँस्छौँ

    तिम्रो इज्जतदार आत्मा सूर्य किरणसँगै चम्कन्छ

    तिमी पृथ्वी आमालाई बतासको बेग पठाएर न्यानो बनाउँछौ

     

    सगरमाथा

    सगरमाथा

    म कसरी कसरी उत्साहित गाउँमा उफ्रन चाहन्छु

    सगरमाथा तिमीमा समर्थित एक श्वेत खँदा

    दैवी सगरमाथा

    सगरमाथा

    सगरमाथा