Category: कलाप्रेस

  • चलचित्र परदेशी २ हेरेपछि कलाकारको प्रतिक्रिया : सिने क्षेत्रमा अर्का हिरो थपिए

    चलचित्र परदेशी २ हेरेपछि कलाकारको प्रतिक्रिया : सिने क्षेत्रमा अर्का हिरो थपिए

    काठमाडौं । नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो । चलचित्र हेरिसकेपछि रंग पत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताए ।

    उनले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताए । उनले अभिनेताको रुपमा प्रकाश सपुत उदाएको बताए । अर्को दशैँमा आफूहरुको फिल्म ल्याउने घोषणा गरे । त्यस्तै, वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताए । उनले गाउँ घरमा देशमा युवाहरु नहुनु र गाउँ रित्तो हुने जस्ता समस्या फिल्ममा देखाइएको बताए ।

    त्यस्तै, अभिनेत्री वर्षा शिवाकोटीले फिल्म राम्रो भएको प्रतिक्रिया पाएको बताइन् । अभिनेता प्रकाश सपुतले राम्रो प्रतिक्रिया पाएको र दर्शकहरुले धेरै रुचाएको प्रतिक्रिया दिइन् । त्यस्तै, अभिनेत्री केकी अधिकारीले दर्शकहरुले फिल्मले मन छोएको जस्तो प्रतिक्रिया दिइरहेको बताइन् ।

    गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो । चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया र नायकहरु दिलिप रायमाझी र नीर शाहको अभिनय छ ।

    चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन् । विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन् ।

     

     

  • चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० सम्पन्न

    चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० सम्पन्न

    काठमाडौं । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । कार्यक्रममा शम्भुजित बास्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो ।

    कार्यक्रममा गायक शिव परियारलाई अमर रजत सम्मान प्रदान गरिएको थियो ।

    ५५ विधामा वितरण गरिएको अवार्ड समारोहमा वेस्ट लोक दोहोरी अवार्ड कल्यान रत्न कार्कीलाई प्रदान गरिएको थियो ।

    त्यस्तै वेस्ट लोकदोहोरी जुरी श्रीकृष्ण बम मल्ल, वेस्ट लोकदोहोरी लेरिस्ट जीवन प्याकुरेल, वेस्ट लोकदोहोरी म्युजिक गणेश अधिकारी, वेस्ट लोकदोहोरी एरेन्जर डोलराज बाह्रघरे मगर, वेस्ट लोकदोहोरी भिडियो एडिटर दीपक विष्ट, लोकदोहोरी भिडियो डाइरेक्टर स्याड बबिता श्रेष्ठ वेस्ट भिडियो लोकदोहोरी डान्स सृजन बराललाई प्रदान गरिएको थियो ।

    सो अवसरमा वेस्ट लोकदोहोरी सिनेमाटोग्राफर दुर्गा पौडेल, वेस्ट लोकदोहोरी मोडल फिमेल डान्स करिश्मा ढकाल, वेस्ट लोकदोहोरी मोडल फिमेल स्याड गीता ढुंगना , वेस्ट लोकदोहोरी मोडल मेल स्याड विजय पुन, वेस्ट लोकदोहोरी मोडल मेल डान्स पल शाह, वेस्ट लोकदोहोरी मोडल मेल न्यु सुलेमान शंकर, वेस्ट लोकदोहोरी मोडल फिमेल न्यु मोडल स्मारिका ढकाललाई प्रदर्शन गरिएको छ ।

    यस्तै, वेस्ट लोकदोहोरी मेल सिंगर अर्जुन कुँवर, वेस्ट लोकदोहोरी मेल सिंगर जुरी कुमार कार्की, वेस्ट लोकदोहोरी फिमेल सिंगर हरिमाया रायमाझी, वेस्ट लोकदोहोरी फिमेल सिंगर न्यु दुर्गा रोकाया, वेस्ट लोकदोहोरी मेल सिंगर न्यु प्रकाश दूतराज , वेस्ट लोकगीत सुरेश रमन अधिकारीलाई अवार्ड प्रदान गरिएको थियो ।

    त्यस्तै वेस्ट मोडर्न गीत सुरेन गौतम, वेस्ट मोडर्न लेरिसिस्ट भूपेन्द्र बुढाथोकी, वेस्ट मोडर्न लेरिसिस्ट जुरी ध्रुव प्रसाद अमगाई, वेस्ट मोडर्न म्युजिक दीपक भान्जा, वेस्ट मोडर्न म्युजिक जुरी सन्तोष केसी, वेस्ट मोडर्न एरेन्जर पुष्कर सुनुवार, वेस्ट मोडर्न भिडियो एडिटर टेकेन्द्र शाह, वेस्ट मोडर्न भिडियो डाइरेक्टर दीपक प्रसाद आचार्य, वेस्ट मोडर्न सिनेमाटोग्राफर चक्र बहादुर बराललाई अवार्ड प्रदान गरिएको छ ।

    यसै गरी वेस्ट मोडर्न फिमेल मोडल आभा थापा, वेस्ट मोडर्न मेल मोडल विमल अधिकारी, वेस्ट मोडर्न न्यु सिंगर जेनी श्रेष्ठ, वेस्ट मोडर्न मेल सिंगर सचिन रौनियार, वेस्ट मोडर्न फिमेल सिंगर जुनु रिजाललाई अवार्ड प्रदान गरियो ।

    कार्यक्रममा वेस्ट लोक पप सङ सुरज अधिकारी, वेस्ट पप सङ विश्वराम कार्की, वेस्ट पप लेरिसिस्ट प्रतिमा गुरुङ, वेस्ट पप म्युजिक दीपक शर्मा, वेस्ट पप एरेन्जर योगेश काजी, वेस्ट पप भिडियो एडिटर राकेश दाहाल, वेस्ट पप भिडियो डाइरेक्टर सोनाम पाख्रिनलाई अवार्ड प्रदान गरिएको छ ।

    त्यस्तै, वेस्ट पप सिनोमाटोग्राफर ज्ञानेन्द्र शर्मा, वेस्ट पप फिमेल मोडल समारिका ढकाल, वेस्ट पप मेल मोडल विक्रम चौहान, वेस्ट पप न्यु सिंगर सुजता पाण्डे, वेस्ट पप मेल सिंगर विनोद ढकाल, वेस्ट पप मेल सिंगर जुरी चिरञ्जीवी भण्डारी, वेस्ट पप फिमेल सिंगर एलिना चौहान लाई अवार्ड प्रदान गरिएको थियो ।

    त्यस्तै वेस्ट देउडा तर्फ वेस्ट मेल सिंगर चक्र बम, वेस्ट डेउडा फिमेल सिंगर स्वस्तिका शाहीलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै वेस्ट काठ्य सिंगर मेल प्रकाश कटुवाल, वेस्ट काठ्य सिंगर फिमेल संगम लामिछाने, वेस्ट काठ्य न्यु सिंगर मनिसा घोरा सइनी लाई अवार्ड प्रदान गरिएको थियो ।

    त्यस्तै वेस्ट सेलो मेल सिंगर निमा पाख्रिन, वेस्ट सेलो फिमेल सिंगर पल्मु शेर्पा, वेस्ट सेलो फिमेल सिंगर जुरी मिंग्स लामालाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै वेस्ट पप आधुनिक डोयट सङ मेलिना राइ, हिमाल श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।

    त्यस्तै वेस्ट भजन सङ श्री कृष्ण आले, वेस्ट गजल कनैया सिंह परियार र वेस्ट डायस्पोरा निर्देशन निर्देशक कुशल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

    कार्यक्रममा ओएस नेपालका सञ्चारकर्मीहरू प्रभा शर्मा, एच बी ताम्राकार, सुमन सापकोटा, हरि अधिकारीलाई सञ्चार सम्मान २०८० बाट सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा डेढ दर्जन सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गरिएको थियो ।

  • आजबाट हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’

    आजबाट हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’

    काठमाडौं । आजबाट देशभरका हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ एकसाथ रिलिज भएका छन् । ‘परदेशी २’ र ‘कौसीद’ सामाजिक कथामा आधारित चलचित्र हो भने ‘बसेन्जी’ तथा हरर-थ्रिलर जनराको चलचित्र हो।

    गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो। चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया र नायकहरु दिलीप रायमाझी र नीर शाहको अभिनय देख्न सकिनेछ। चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन। विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन।

    त्यस्तै, आजैबाट रिलिज भएको अक्रो चलचित्र हो, ‘बसेन्जी’। हरर जनरामा निर्माण गरिएको यस चलचित्रमा असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको शीर्ष भूमिकामा छन्। चलचित्रलाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् ।

    कुमार भाष्कर निर्देशित ‘कौसीद’आजबाटै लागेको तेस्रो चलचित्र हो। भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनीको शीर्ष भूमिका रहेको चलचित्रले आफ्नो परिवार बचाउन एक शिक्षकले गर्नुपरेको संघर्षको कथा बोल्छ। चलचिबलाई निर्देशक कुमार भाष्करले निर्देशन र निर्माता केदार भुसालले निर्माण गरेका हुन्।

  • राजेश-समीक्षाको दसैँ गीत ‘पीपल डाँडैमा’ भिडिओसहित बजारमा

    राजेश-समीक्षाको दसैँ गीत ‘पीपल डाँडैमा’ भिडिओसहित बजारमा

    काठमाडौं । विजया दशमीको छेको पारेर राजेशपायल राई र समीक्षा अधिकारीको स्वर रहेको ‘पीपल डाँडैमा’ गीत भिडिओसहित सार्वजनिक गरिएको छ ।

    सन्तोष दाहालको शब्द रचना रहेको गीतमा विशाल निरौलाको संगीत छ । कृष्ण पौडेलको निर्देशनमा बनेको भिडिओमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन् । भिडिओका निर्माता कृष्ण घिमिरे हुन् ।

    सुरेश काफ्लेले छायांकन गरेको भिडिओको सम्पादन मिन रावलले गरेका हुन् । भिडिओ साइराम पिक्चर्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडिओमा प्रवीन थापाको कोरियोग्राफी छ ।

  • ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’ आउँदै, भोटिङ सिस्टमविना नै विजेता घोषणा

    ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’ आउँदै, भोटिङ सिस्टमविना नै विजेता घोषणा

    काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’ को घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको हो ।

    शोको निर्देशन शुभम् भुजेलले गरिरहेका छन् । उनका अनुसार शोको पहिलो चरणमा काम ‘डिजिटल अडिसन’ लिने काम भइरहेको छ । मंसिर पहिलो हप्तापछि सेमिफाइनल राउण्ड सुरू हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारणको तयारी छ ।

    ‘अहिले विभिन्न टेलिभिजन च्यानलसँग कुरा भइरहेकाले कुन च्यानलबाट प्रसारण हुने पक्का भैसकेको छैन् । चाँडै टेलिभिजन च्यानल, डिजिटल पार्टनर र पुरस्कार राशी घोषणा गरिनेछ’, प्रोजेक्ट संयोजक मानव सिवाकोटीले बताए ।’

    अन्य शोहरू भोटिङका कारण निकै विवादिन बनेकाले पनि आफूहरूले भोटिङ सिस्टम नै नराखेको उनले बताए ।

    रियालिटी शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्भीर विष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई छन् । निर्णायक मण्डलका संयोजक विष्टले पहिलो पटक नेपालमा केही फरक अनि भोटिङ सिस्टमविना नै विजेता घोषणा गर्नुपर्ने भएकाले निकै चुनौती रहेको बताए ।

    अभिनेत्री राउतले आफू नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्वीकार गरेको बताइन् ।

    निष्पक्षताको लागि यो शोका निर्णायकले दिने सम्पुर्ण अंक डिजिटल बोर्डमा सार्वजनिक समेत गरिनेछ । शोको मापदण्डविपरीत अत्यधिक र न्यून अंक दिने निर्णायकलाई लाइभ शोमै स्पष्टीकरण सोधिने आयोजक संस्थाले जनाएको छ । साथै प्रतिस्पर्धीलाई गीत छनोटमा स्वतन्त्रता दिइने बताइएको छ ।

    डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आर्कषक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रधान गरिनेछ । शोमा डिजिटल अडिसनमार्फत एकल, डोयट तथा ग्रुपमा समेत प्रस्तुति दिएर पठाउन सकिनेछ ।

    सिने इभेन्ट स्टुडियो प्रालीको व्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङ्गमा दर्शन कोइराला तथा प्रमोशन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी आफैं छन् ।

  • आजबाट देशभर ‘परदेशी-२’

    आजबाट देशभर ‘परदेशी-२’

    काठमाडौं । नारायण रायमाझीद्वारा निर्देशित ‘परदेशी’ को सिक्वेल ‘परदेशी-२’ आजबाट देशभर रिलिजमा आउँदैछ ।

    नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई आज पहिलो दिन ३७ शोज उपलब्ध गराएको छ । यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले ३ वटा स्टेशनमा १२ शोज दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ ।

    चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही सिनेमाबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन् ।

    नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

  • ‘घिन घिन मादल घिन’मा आशिष र शनिशाको रोमान्टिक अभिनय (भिडियो)

    ‘घिन घिन मादल घिन’मा आशिष र शनिशाको रोमान्टिक अभिनय (भिडियो)

    काठमाडौँ । गायक आशिष सचिनको ‘घिन घिन मादल घिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

    गायक सचिनसँगै गायिका बेनिशा पौडेलको स्वर रहेको सार्वजनिक गीतमा गायक सचिन स्वयम र पछिल्लो पुस्ताकी लोकप्रिय मोडल शनिशा भट्टराइको रोमान्टिक अभिनय भिडियोमा देख्न सकिन्छ ।

    पछिल्लो पुस्ताका चचिृत संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी र मन भित्र पलाएको मायालाई लुकाएरै राख्ने मायालुको स्वभावलाई निर्देशक मौसम हिमालीले फिल्मी शैलीमा भिडियो मार्फत देखाएका छन् ।

    पर्यटकीय नगरी मुस्ताङमा छायांकन गरिएको भिडियोमा आशिषसँग सनिशा गज्जबसँग खुलेकी छिन् ।

    नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् ।

    निर्देशक हिमालीकै कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोको निर्माण ओम अग्रवालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

    गायक सचिनका यसअघि ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीतले राम्रो चर्चा पाइसकेका छन् ।

    भिडियो

  • ‘दिमाग खराब’को टिकटक र यूट्यूब भिडियो च्यालेन्ज, विजयीलाई ५० हजार तथा डेढ लाख पुरस्कार

    ‘दिमाग खराब’को टिकटक र यूट्यूब भिडियो च्यालेन्ज, विजयीलाई ५० हजार तथा डेढ लाख पुरस्कार

    काठमाडौं । कार्तिक २४ गते रिलिज हुने निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमाले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।

    निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमश: ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ ।

    यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्यूब भिडियोका लागि छुट्याइएको छ ।

    प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा प्रतियोगीहरुले #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्नेछ।

    यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई cinemaart.np@gmail.com मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नसक्नेछन् ।

    उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी सिनेमामा काम गर्ने अवसर प्रदान गरिनेछ ।

    ‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ ।

    यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

    सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

    सामाजिक-राजनीतिक कथा पेस गर्ने सिनेमालाई आकाश बरालले लेखेका हुन् ।

    यस्तै, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमामा सुशन प्रजापतिको छायाँकन रहेको छ।

    भिडियो फर्म्याट निम्न लिंकमा दिइए अनुसार हुनुपर्नेछ :

    यूट्यूबका लागि https://drive.google.com/drive/folders/1y6hzquhcZAL50Zr7R_FLTKYEyfRl1dXl

    टिकटकका लागि https://drive.google.com/drive/folders/1wiapLBSTuFmbD0EnOHri2OBTwQrbTbNv

  • ‘ब्युँझिएको सिरानी’ ले देखाएको मानसिक स्वास्थ्यको गोरेटो

    ‘ब्युँझिएको सिरानी’ ले देखाएको मानसिक स्वास्थ्यको गोरेटो

    काठमाडौं । नृत्यको आफ्नै भाषा हुन्छ । आफ्नै कलात्मक भाषामार्फत् नृत्यले कसैको दुःख, दर्द र पीडालाई पस्कन्छ । मूलभूत रुपमा नृत्यले मनोरञ्जन दिन्छ । तर, मनोरञ्जन सँगसँगै यसले धेरै कुरा भन्ने ल्याकत राख्छ । नृत्यले नै सबैभन्दा सरल र सरसपूर्ण रुपमा कसैको कथालाई पस्कन सक्छ । कसैको कथालाई सिलसिलेबर तरिकाले उन्नसक्छ । त्यही नृत्य रंगमञ्चमा उक्लियो भने नाटकले उठाएको मूल मुद्दालाई झनै सबल रुपमा सम्प्रेषणीय बनाउँछ । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ब्युँझिएको सिरानी’ले यसलाई प्रमाणित गरेको छ ।

    यस नाटकभित्र कथा पनि नाटककै छ । नाटकका मुख्य कलाकार सोनामले मानसिक समस्या झेलिरहेको पात्रको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर, नाटकका निर्देशक र कलाकारहरुको असंवेदनशील व्यवहारका कारण सोनाम आफैं मानसिक समस्याबाट ग्रसित बन्दै जान्छन् ।

    अभिनयमा लागेकैले सोनामको घरपरिवार पनि लथालिंग छ । श्रीमती मेग्माले ऊनको धागो उनेर परिवारको गर्जो टारिरहेकी छन् । छोरी स्कुल पढ्छिन् । छोरीको स्कुल फी पनि मेग्माकै ऊन र कुरुषमा अल्झिएको छ । मेग्माको दुःख र संघर्ष पनि त्यही ऊन र कुरुषमै अल्झिएको छ । सोनामको दालभात पनि त्यही ऊन र कुरुषले नै जोहो गरिरहेको छ ।

    यही बीचमा सोनामलाई नाटकबाट निकालिन्छ । निर्देशक छत्रमानले नाटकबाट निकालेपछि सोनाम मानसिक रुपमा समस्यामा पर्दै जान्छन् । त्यो समस्याले श्रीमती र छोरीको जीवनमा असर गर्छ । सोनामले झेलिरहेको समस्याले उनीहरुको साँघुरो कोठामा असर गर्छ । छिमेकमा असर गर्छ । सिंगो समाजमा असर गर्छ ।

    उक्त समस्याबाट सोनाम बाहिर निस्कन सक्छन् त ? सोनाम फेरि अभिनयमा फर्कन सक्छन् त ? यही प्रश्नको जवाफ दिएर नाटकको बिट मारिएको छ । नाटकलाई मुख्यतया नृत्य र संगीतले झनै बलियो बनाएको छ । संवादहरुमार्फत् भन्नुपर्ने कथा नृत्य र संगीतद्वारा भनिएको छ । संवादहरुबाट भन्नुपर्ने कथा प्रकाशको सुन्दर संयोजनद्वारा भनिएको छ । ‘ब्युँझिएको सिरानी’को मुख्य शक्ति नै नृत्य, संगीत र प्रकाशको कलात्मक संयोजन हो ।

    एक व्यक्तिमा मानसिक समस्या हुनसक्छ । तर, त्यो समस्या एक व्यक्तिको मात्रै हुनसक्दैन । त्यो समस्या सिंगो समाजको हो । त्यो समस्याको समाधान खोज्न पनि सिंगो समाज र परिवारको खाँचो पर्छ । जेडी तमु निर्देशित नाटकले यो कुरा कलात्मक ढंगले भनेको छ । जब सोनाम बिरामी हुन्छन्, उनलाई हिजो पैसा नकमाएकोमा गालीमात्रै गरिरहने श्रीमती माग्माले बडो प्रेम गर्छिन् । छोरीले पनि सोनामलाई प्रेम गर्छे । त्यही ओजपूर्ण प्रेमको शक्तिले सोनाम विस्तारै तंग्रिँदै जान्छन् ।

    नाटकमा आधा बनाइएको सिलाम साक्मा स्टेजको पछाडि भित्तोमा झुण्डाइएको छ । आधा सिलाम साक्मा माग्माले बुनिरहेकी छन् । भित्तोको आधा सिलाम सक्मालाई आवश्यकताअनुसार प्रकाश दिइएको छ । यसरी निर्देशक तमुले विम्बको रुपमा प्रयोग गरेको सिलाम साक्मा विशेष गरेर लिम्बू समुदायसँग जोडिन्छ । तर, पात्रहरु भने तामाङ समुदायका छन् । तामाङ समुदायमा विशेष भनेको लुङ्दरहरु हो ।

    सोनामलाई झारफुक गराउन पनि लामा नआएर लिम्बू झाँकी आउँछन् । जो ‘तागेरा निमाफुङ’ भन्दै ढ्यांग्रो पिट्छ । तर, सोनामलाई त समुदायगत हिसाबले लामा चाहिने हो । खैर, निर्देशक तमुको आफ्नै खाले दृष्टिकोण होला । तर पनि तामाङ समुदायको पात्रले सिलाम साक्मा के कारणले बनाएको हो ? दर्शकको मनमा यस खालको खुल्दुली भने उब्जनसक्छ ।

    नाटकमा पात्र निर्देशक छत्रमानलाई निकै नै असंवेदनशील देखाइएको छ । ऊ स्क्रिप्ट पनि लेख्दैन । आफूलाई जे लाग्छ, त्यही नाटक हो भन्ने भ्रममा छ । अनि भद्दा मजाक गर्छ । सुरुमा दर्शकलाई लाग्नसक्छ, मानसिक समस्या सोनाममा होइन, छत्रमानमा छ ।

    के रंगमञ्चमा काम गर्ने निर्देशकहरु यति धेरै असंवेदनशील छन् त ? नाटकमा यति धेरै हेलचेक्र्याइँ गर्छन् त ? अवश्य पनि त्यति असंवेदनशील छैनन् । यदि हिजो त्यस्तो हुन्थ्यो भनेर निर्देशक तमुले देखाउन खोजेका हुन् भने हिजो महसुस हुनेगरी दृश्यहरु निर्माण गर्न सकिन्थ्यो । त्यो भने गरिएको छैन ।

    समग्रमा ‘समाज नै मानसिक बिरामी छ’ भनेर सकिएको नाटकले मानसिक स्वास्थ्यमाथि बहस छेडेको छ । मानसिक स्वास्थ्यमा समस्या झेलिरहेको एउटा मान्छेका कारण सिंगो परिवार र समाज कसरी बिथोलिन्छ भनेर देखाइएको छ । कोही मानसिक बिरामी हुन्छ । तर, ऊ आफ्नै कारणले मात्रै बिरामी हुँदैन । ऊ बिरामी हुनुमा धेरै फ्याक्टरहरुले काम गरेको हुन्छ । त्यसैले उसलाई साथ, सहयोग गरेर निको बनाउने जिम्मेवारी पनि सबैको हो । ‘ब्युँझिएको सिरानी’ले यही कुरालाई सघन रुपमा उठाएको छ ।

    निर्देशक तमु कन्टेम्पोररी नृत्यमा पारंगत नृत्यकार हुन् । उनले आफ्नो त्यही विशेषज्ञतालाई नाटकसँग जोडेका छन् । त्यही कारण नै कम संवादमै नाटकले नृत्यमार्फत् धेरै थोक भनेको छ । पात्रको छटपटी र बेचैनीलाई नृत्यबाटै भनिएको छ । पात्रको खुसी, उल्लासलाई नृत्यबाटै भनिएको छ । पात्रको दुःख र पीडालाई नृत्यबाटै देखाइएको छ । यसकारण पनि ‘ब्युझिएको सिरानी’ पछिल्लो समय शहरमा चलिरहेको नाटकभन्दा निकै पृथक अवश्य छ ।

    कलाकारहरु रुपेश लामा, वेदना राई, सुरज तमु, सृष्टि महर्जन, मनी के राई, सौजन सेनेहाङ, दीया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउतलगायतको अभिनयले नाटकलाई बलियो बनाएको छ । उमेश तामाङको लाइट डिजाइन, अनिल सुब्बाको कला निर्देशन, प्रवृत्ति राई, नवीन बयलकोटी र आयुषको लाइभ संगीतले नाटकलाई गजब बनाएको छ । साथै नाटक हेर्ने दर्शकलाई एक पटक मानसिक स्वास्थ्यमाथि सोच्न बाध्य बनाउँछ ‘ब्युँझिएको सिरानी’ले । यो नाटक यही असोज २८ गतेसम्म मञ्चन हुनेछ ।

  • चलचित्र ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

    चलचित्र ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

    काठमाडौं । असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई पहिलो दिन ३७ शोज उपलब्ध गराएको छ ।

    यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले ‘परदेशी २’लाई आफ्नो तीनटा स्टेशनमा १२ शोज दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ ।

    आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत गरेका सिनेमा ‘परदेशी’ घरेलू बक्स अफिसमा सुपरहिट भएको थियो । अब यो सिनेमा दोस्रो श्रृंखला शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दर्शकमाझ राम्रो हाइप बनाएकाले गर्दा पनि सिनेमा सफल हुने सम्भावना बलियो देखिएको छ ।

    सिनेमाप्रति हल व्यवसायीले पनि ठूलो आश राखेकाले मल्टीप्लेक्समा राम्रो शोज संख्या प्राप्त गर्न सफल भएको छ । सुपरहिट सिनेमाको श्रृंखला, राम्रो प्रचार र बलियो स्टारकास्टका कारण सिनेमाले मल्टीप्लेक्सहरुमा राम्रो शोज पाउन सफल भएको हो । बुकिङ राम्रो भएको अवस्थामा शोज सङख्यामा थप वृद्धि हुनेछ ।

    नारायण रायमाझीद्वारा निर्देशित सिनेमामा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही सिनेममाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।

    नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

  • पहिलोपटक मिस युनिभर्समा भाग लिँदै पाकिस्तानी सुन्दरी, तर सरकारले दियो छानबिन आदेश

    पहिलोपटक मिस युनिभर्समा भाग लिँदै पाकिस्तानी सुन्दरी, तर सरकारले दियो छानबिन आदेश

    काठमाडौं । इतिहासमा पहिलो पटक पाकिस्तानले प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’ मा सहभागीता जनाउने भएको छ । २४ वर्षीय एरिका रोबिनले यही नोभेम्बरमा ‘एल साल्भाडोर’मा हुने ‘मिस युनिभर्स २०२३’ मा पहिलोपटक पाकिस्तानलाई प्रतिनिधित्व गर्ने भएकी छन् ।

    उनले गत बिहीबार, सेप्टेम्बर १४ मा माल्दिभ्समा ‘मिस युनिभर्स पाकिस्तान’को उपाधि जितेकी हुन् । उनी यस सौन्दर्य प्रतियोगितामा भाग लिने पहिलो पाकिस्तानी हुन् ।

    पहिलोपटक आफ्नो देशलाई विश्वसामु चिनाउन गइरहेकी एरिकाको लागि यो उत्सवको क्षण हुनु पर्ने थियो, तर उनी आफ्नै देशमा आलोचनाको सिकार भएकी छन् ।

    गहिरो रूढिवादी मुस्लिम बहुल देश, पाकिस्तानले यसअघि कहिल्यै मिस युनिभर्समा भाग लिएको थिएन । आफ्नो सौन्दर्य प्रदर्शनमा राख्नु हुँदैन भन्ने मान्यता राख्ने पाकिस्तानी महिलार सरकारको लागि यो विषय एउटा ठूलै मुद्दा बनेको छ । एरिकाले ताज जित तोपनि उनलाई पाकिस्तानी सरकारले एल साल्भाडोरमा हुन गईरहेको ७२ औं ग्लोबल मिस युनिभर्समा भाग लिन अनुमति दिने या नदिने भन्ने ने अहिलेसम्म अस्पष्ट छ ।

    ‘मिस युनिभर्स पाकीस्तान’ को फिनाले माल्दिभ्समा सम्पन्न भएको हो । ‘मिस युनिभर्स बहराइन’ र ‘मिस युनिभर्स इजिप्ट’को फ्रेन्चाइज अधिकारको स्वामित्व लिएका दुबईस्थित युगेन ग्रुपले सो प्रतियोगिताको आयोजना गरेको हो । पाँच फाइनलिस्टलाई पछि पार्दै रोबिन माल्दिभ्समा ‘मिस युनिभर्स पाकिस्तान’ चुनिएकी हुन् ।

    तर पाकिस्तानी सरकारको लागि यो अपाच्य भएको छ । पाकिस्तानी सरकारको स्वीकृति बिना आफ्नो देशको नाममा प्रतियोगीता आयोजना गरेको भन्दै कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक ककरको सरकारले देशको गुप्तचर निकायलाई प्रतियोगिता आयोजकहरूसँग छानबिन गर्न आदेश दिएको छ ।

    ककरले माल्दिभ्स सम्पन्न भएको ‘मिस युनिभर्स पाकीस्तान’ लाई ‘लज्जापूर्ण कार्य’ र पाकिस्तानी महिलाहरूको अपमान र शोषण भएको बताएका छन् ।

    प्रतियोगितालाई लिएर पाकिस्तानका विद्वान तथा राजनीतिज्ञहरुले आफ्नो सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरिरहेका छन् । पाकिस्तानका एक इस्लामिक विद्वान ताकी उस्मानीले सरकारलाई प्रतियोगिताका आयोजकहरू विरुद्ध कारबाही गर्न र एरिकाले ‘पाकिस्तानको प्रतिनिधित्व गर्दै’ भन्ने वाक्य हटाउन माग गरेका छन् ।

    त्यस्तै, राजनीतिज्ञ मुश्ताक अहमद खानले प्रतयोतिगताले पाकिस्तानको अपमान भएको अभिव्यक्ति दिएका छन् ।

    उनी पहिलो ‘मिस युनिभर्स पाकिस्तान’ हुन भने ‘मिस युनिभर्स’ मा भाग लिने उनी पहिलो पाकिस्तानी हुन् ।
  • मुम्बई फिल्म फेस्टिभलको प्रतिस्पर्धा सूचीमा नेपालका ‘द रेड सुटकेस’ र ‘गुराँस’

    मुम्बई फिल्म फेस्टिभलको प्रतिस्पर्धा सूचीमा नेपालका ‘द रेड सुटकेस’ र ‘गुराँस’

    काठमाडौं । भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक लाइनअपमा नेपाल-भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धाको सूचीमा छ ।

    आइसफल प्रडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धी रहेको छ । यो फिल्मलाई पनि आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

    लो आइक्यू प्रडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो । ‘गुराँस’को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउस एसियन प्रिमियर सम्पन्न भएको थियो ।

    आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनौट भएकोमा निर्माता पोखरेलले खुसी व्यक्त गरेका छन् ।

    ‘यो प्रतिस्पर्धाभन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा फिल्ममार्फत् नेपालको प्रतिनिधित्व भएको अर्थमा बुझेको छु,’ उनले भने ।

    यही अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो पटक २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा ४० वटा वर्ल्ड प्रिमियर, ४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुनेछन् ।

    फेस्टिभलको उद्घाटन र समापनमा देखाइने फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

  • पूर्वी नेपालमा ‘परदेशी २’को टिम

    पूर्वी नेपालमा ‘परदेशी २’को टिम

    काठमाडौं । असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पूर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा परदेशी २ निर्माण गरिएकाले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेको छ ।

    पत्रकार भेटघाटमा फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस वंशलको उपस्थिति थिए ।

    पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा फिल्म बनेकाले सम्पूर्णले परदेशी २ हेर्न नछुटाउन अनुरोध गरिन् । अभिनेता प्रकाश सपुतले पनि आफ्नो संगीत करियरसँगै छायांकन सुरु भएको फिल्म भएपनि कहिले नमर्ने कथा परदेशी २ मा भएको हुनाले नेपालीको आफ्नै लाग्ने बताए ।

    निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा फिल्म निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । फिल्म युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

    अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो सिनेमामार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।

    अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा आफ्नो फरक भूमिका रहेको बताइन् । ‘फरक फिल्ममा फरक भूमिका गर्ने अपेक्षा अनुसार फरक भूमिका निवार्ह गर्ने प्रयास गरेकी उनको दाबी छ । मिडियामा फिल्मबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित रहेको सुनाइन् । फिल्म प्रचारका क्रममा निर्माता राजेश वंशलले कुनै पनि छिमेकी फिल्म वा कथाबाट प्रभावित नभई मौलिक कथामा निर्माण भएको बताए ।


    यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

    फिल्मको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

    असोज २२ गते विराटनगर अनि इटहरी र धरानको विभिन्न मिडियामा अन्तर्वार्तापछि फिल्म युनिट र २३ गते दमक र बिर्तामोडमा पत्रकार सम्मेलन तथा हल भिजिटमा गएको थियो । मंगलबार दिनभर झापाका विभिन्न ठाउँमा दर्शकसाग साक्षात्कार गर्दै साँझ काठमाडौं फर्किने छ ।

     

  • वेब सिरिज ‘लभ सुत्र’को टिजर सार्वजनिक, सब्स्क्रीप्सन लिएर मोबाइल, वेब र स्मार्ट टीभीमा हेर्न सकिने

    वेब सिरिज ‘लभ सुत्र’को टिजर सार्वजनिक, सब्स्क्रीप्सन लिएर मोबाइल, वेब र स्मार्ट टीभीमा हेर्न सकिने

    काठमाडौं । कान्तिपुर सिनेमाजले सिरिज ‘लभ सुत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा फिचर्ड छन् ।

    पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दशैंबाट स्ट्रिमिङ सुरु गर्न लागेको हो । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडि ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरिसकेको छ ।

    सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजरमा रोमान्टिक लभ स्टोरी र कमेडी देख्न सकिन्छ । भी मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

    बिग स्केलमा ओटीटी प्लेटफर्म आउँदा हलको पहुँच नभएका दर्शकले नयाँ नयाँ फिल्महरू हेर्न पाउने र फिल्मको डिजिटल बजार बढ्नेमा आशावादी रहेको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।

    एकेडेमीका अनुसार ३०-४० मिनेटको ५ एपिसोडको यस सिरिजको ट्रेलर भने यही असोज २९ गते सार्वजनिक हुनेछ । सोही दिनबाट संसारभरबाट सब्स्क्रिप्सन लिएर मोबाइल फोन, वेब र स्मार्ट टीभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।

  • ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न, छानिए टप १८ प्रतिस्पर्धी

    ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न, छानिए टप १८ प्रतिस्पर्धी

    काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ ।

    शोका निर्देशक नरेशनाथ योगी (किंग योगी)का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानिएका छन् ।

    फिजिकल अडिसनबाट छानिएकाहरुमा शुभमसिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दीपेश घिमिरे, हरि गजुरेल, हुकुमबाबु वली, कृष्ण भुर्तेल र लक्ष्मण पुजन नेपाल रहेका छन् । त्यस्तै रेशम सापकोटा, सञ्जीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्लीराज अधिकारी, कर्मा लामा र निरोज त्वायना पनि छानिएका छन् ।

    निर्माण कम्पनीका अनुसार कुनै एक टेलिभिजनबाट टप १८ राउण्डको प्रसारण गरिनेछ । ‘महागफाडी’को निर्देशक योगी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टरसमेत हुन् ।

    उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महागफाडी उपयोगी र नवीन प्लेटर्फम हो ।’

    ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण भैरहेको रियालिटी शोमा संसारभर रहेका नेपाली भाषी तथा नेपाली नागरिकले आफ्नो मातृभाषामा समेत अडिसन दिएका थिए । निर्माण कम्पनीका अनुसार सहभागीले शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्नेछ ।

    शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिएको थियो । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलिया र पहिलो वर्ल्ड टुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजकले दिएको छ ।

    दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा ‘माई पे’ रहेको छ । रियालिटी शोको डिजिटल राइट्स र प्रसारण हुने टेलिभिजन च्यानलबारेमा कुनै पनि जानकारी आयोजकले दिएको छैन ।

    ‘महागफाडी’को निर्णायकमण्डलमा वरिष्ठ हास्यव्यंग्य कवि शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । अभिनेता कामेश्वर चौरसियाले यो कार्यक्रम सञ्चालन गर्नेछन् । यही शोबाट लामो समयपछि कामेश्वर टेलिभिजनको पर्दामा देखिँदैछन् ।

    ‘महागफाडी’को विजेताले १५ लाख नगद तथा सवारीसाधन, फर्स्ट रनरअपलाई १० लाख नगद र सवारीसाधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारीसाधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीको भनाइ छ ।

    ‘महागफाडी’को प्रोजेक्ट हेडमा दीपक आरजे, प्रोजेक्ट म्यानेजरमा समीर खरेल, क्रियटिभ हेडमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डीओपीमा निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहेका छन् ।

  • आयूष पनि पुगेका थिए इन्डियन आइडलमा, तर फिजिकल अडिसन दिन पाएनन्

    आयूष पनि पुगेका थिए इन्डियन आइडलमा, तर फिजिकल अडिसन दिन पाएनन्

    काठमाडौं । भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा गोल्डेन माइक पाएपछि अहिले चर्चामा छिन् नेपाली गायिका मेनुका पौडेल । अडिसनमा उनको गायकी सुनेरले जजहरु भक्कानिएका थिए ।

    इन्डियन आइडलको १४ औं सिजनमा मेनुकासँगै नेपालका अर्का एक गायकले पनि अडिसन दिएको खुलेको छ । उनी हुन् आयूष केसी । पाँच वर्षअघि भारतकै गायन रियालिटी शो सारेगमपमा भाग लिएर धुम मच्चाएका बालक हुन् आयूष । अहिले १७ वर्ष पुगेका आयूष इन्डियन आइडलको डिजिटल अडिसनबाट छनोट भएर भारत पुगेका थिए । तर, उनले फिजिकल अडिसन दिन पाएनन् । जबकि आयोजकले नै आफूलाई इन्डियन आइडलमा सहभागी हुन प्रास्तव गरेका थिए ।

    आयूष गैरभारतीय भएकाले फिजिकल अडिसनका लागि अयोग्य ठहरिएका हुन् । इन्डियन आइडलमा भारतीयले मात्रै भाग लिन पाउने प्रावधान छ । आयूषले नेपाल प्रेससँग कुरा गर्दै नेपाली भएकैले आफूले अडिसन दिन नपाएको बताए ।

    उनले भने, ‘उहाँहरु (आयोजक) को आफ्नै नियम रहेछ । मलाई आयोजकले नै सम्पर्क गरेर सहभागी हुनलाई अनुरोध गर्नुभएको थियो । तर, टिभी राउन्डमा पुगेपछि भने उहाँहरुको नियमका कारण सहभागी हुन पाइनँ । इन्डियन आइडलमा सहभागी हुनलाई कि त भारतीय नागरिक हुनुपर्ने रहेछ, कि त भारतमै लामो समयदेखि बसेर संगीत सिकेको हुनुपर्ने रहेछ । म न भारतीय न भारतमा बसेको । त्यसैले सहभागी हुन पाइनँ ।’

    नेपाली भए पनि मेनुकालाई भने अडिसनमा सहभागी गराइएको छ । टिभीमा प्रसारित अडिसनमा उनले आफूलाई नेपाली भनेर चिनाएकी थिइनन् । न त जजहरुले नै उनी कहाँबाट आएकी हुन् भनेर सोधेका थिए । मेनुकालाई के आधारमा इन्डियन आइडलमा लिइयो भन्ने खुलेको छैन ।

     

  • कालो अक्षर-रातो अक्षर : मुद्दामा बलियो, प्रस्तुतिमा फितलो

    कालो अक्षर-रातो अक्षर : मुद्दामा बलियो, प्रस्तुतिमा फितलो

    काठमाडौं । शिक्षामा कति ठूलो विभेद छ, शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘कालो अक्षर-रातो अक्षर’ले बताउँछ । राज्यले शिक्षालाई निःशुल्क गरेको छ । तर, त्यही निःशुल्क शिक्षामाथि कसको रजाइँ छ, यो नाटकले भन्छ । माफियाहरुले निःशुल्क शिक्षालाई कसरी नाफैनाफाको व्यवसाय बनाएका छन्, यस नाटकले भन्छ ।

    पहुँचविहीन हुनु, सीमान्तकृत हुनु, उत्पीडित हुनुको कारण त्यही असमान शैक्षिक अवस्था हो । छेवैमा सामुदायिक स्कुल छ । जहाँ आर्थिक हैसियत नभएका जनताका बालबच्चा पढ्छन् । सँगै छ अर्को निजी स्कुल, जहाँ मध्यम आर्थिक हैसियत भएकाहरु र अर्को महँगो स्कुलमा ठूलाठालूका बालबच्चा अध्ययन गर्छन् । नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने शिक्षामाथिको यस्तो असमान वितरण कसले गर्‍यो ? नाटक ‘कालो अक्षर, रातो अक्षर’ले भन्छ ।

    गुणस्तरीय भनिने गरिएको शिक्षा माफियाहरुको पहुँचमा छ । तर, हामीले बालबच्चालाई दिइरहेको शिक्षा पनि वास्तवमा व्यवहारिक छ त ? ती शिक्षा जीवनोपयोगी छ त ? अनि शिक्षाको व्यापारीकरणमा क-कसको हात छ ? शिक्षाको व्यापारीकरण हुनुको खास कारण के हो ? नाटकले यी यावत प्रश्नहरुको जवाफ दिने कोसिस गरेको छ ।

    सँगसँगै विद्यार्थी आन्दोलन, उक्त आन्दोलनमा हुने चलखेलबारे नाटकले बताउने कोसिस गरेको छ । आन्दोलनमा जोडिने आन्दोलनकारीको चरित्रलाई पनि नाटकले उदांगो पारेको छ । आन्दोलनमार्फत् परिवर्तनको सपना देखेको स्वप्नजीवी मान्छे कसरी लजेग घिसारेर एयरपोर्ट पुग्नुपर्छ ? साँच्चै परिवर्तनका खातिर आन्दोलनमा होमिएकाहरु अन्तिममा कसरी एक्लो हुनुपर्छ ? आन्दोलन हाँकेकै व्यक्तिहरुले आन्दोलनमा कसरी घुसपैठ गर्छन् ? नाटकले उधिन्ने प्रयत्न गरेको छ ।

    असोज १७ गतेदेखि मञ्चन भइरहेको नाटकले यावत प्रश्नहरु उठाएको छ । अहिलेको तड्कारो मुद्दालाई मञ्चमार्फत् प्रस्ट पार्ने कोसिस गरेको छ । तर, मुख्यतया नाटकको खास रोमाञ्चकता नै प्रस्तुति हो । यहाँ भने नाटक चुकेको छ ।

    एकै मुद्दामा माइतीघरमा आन्दोलन गर्नु र त्यही मुद्दामाथि थिएटरमा नाटक मञ्चन गर्नु फरक पाटा हुन् । जब माइतीघरमा नाराबाजीमा रुमल्लिएको मुद्दा थिएटरमा पुग्छ, त्यहाँ भने भरपूर कलाले मोहरिएकै हुनुपर्छ । यदि कलाले मोहरिएन भने नाटक मर्छ । नाटकले सास फेर्न छाड्छ । नाटकमा त हरेक पात्रहरु धुकधुक गरेर दर्शकको छातीभित्र धड्किन सक्नुपर्छ । आखेरी मुद्दा त्यही हो । तर, माइतीघरमा जति सीधा भाषामा त्यो मुद्दालाई उठाइन्छ, नाटकमा भने त्यसरी उठाइँदैन । भनिन्छ नि, कलाले कहिल्यै पनि सीधा भाषामा भन्दैन । घुमाएर भन्छ । कला, साहित्यको खासियत पनि त्यही हो ।

    ‘कालो अक्षर, रातो अक्षर’ मुद्दामा निकै गम्भीर छ । तर, उचित सेट डिजाइन नहुनाले नाटकलाई खल्लो बनाएको छ । सेट डिजाइनले मात्रै होइन, लाइट र कलरहरुमा अझै राम्रो काम गर्न सकिन्थ्यो । फोकस लाइटले घरी कलाकारलाई आधा देखाएको छ, घरी पिठ्युँ देखाएको छ । घरी कलाकार आफैं फोकस लाइटमा नबसेर संवाद डेलिभरी गरिरहेको हुन्छ । रमाइलो दृश्य छ । तर, त्यहाँ नीलो प्रकाश खेलाइएको छ । अक्सर नीलो रङलाई सर्जकहरुले दुःख या पीडालाई देखाउनुपर्दा खेलाउने गर्छन् । यी सानातिना कुरामा ख्याल गरिएको भए नाटकले उठाएको मुद्दा झनै बलियो हुन सक्थ्यो ।

    अर्कातिर नाटकले मुद्दा त उठाएको छ । तर, मुद्दा उठाउँदा पात्र छनोटमा चुकेको छ । एक जना मंगोल अनुहार भएको पात्रले आन्दोलनमा केटाहरु जम्मा गर्ने नाइकेको काम गर्छ । उनीहरुको काम भनेको आन्दोलनमा तोडफोड गर्ने हो । अब प्रश्न उठ्छ कि आदिवासी, जनजाति युवाहरु लफडा र झगडा गर्नेमात्रै हुन् ? उनीहरुसँग अलिकति पनि राजनीतिक चेत हुँदैन र ? अनि वैचारिक हिसाबले आन्दोलन हाँकिरहेको पात्र चाहिँ आर्यन मूलको छ ।

    नाटकले गम्भीर मुद्दाको उठान गर्दैगर्दा राजनीतिक हिसाबले भने यहाँ चुकेको छ । आन्दोलन हाँक्ने कोही मंगोल पनि त हुनसक्थे ! तर, गोलो, चिम्सो अनुहार भएको, हेर्दै अलि जंकी खालको मान्छे चाहिँ लफडा र झैंझगडा गर्नमात्रै हो ? यस्ता पाटोबाट पनि हेरिएको भए नाटक झनै गजब हुने थियो ।

    सँगै त्यही लफडा गर्ने पात्र र अर्को सुदूरपश्चिमको कुनै कुनाका पात्र आन्दोलनमा भ्रष्ट भएर निस्कन्छन् । अब नाटकले सवाल उठाएको छ सीमान्तकृत, उत्पीडित र अवसरबाट बञ्चित भएकाहरुबारे । शिक्षाको व्यापारीकरणबारे सवाल उठाएको छ नाटकले । तर, आन्दोलन भाँड्ने काम चाहिँ राज्यले नै सीमान्तमा पारेको सुदूरपश्चिमको भूगोलबाट आएको पात्रले गर्छ । अनि अर्को चाहिँ मंगोल पात्रले । यसको सीधा अर्थ त ठूल्ठूला सैद्धान्तिक र वैचारिक गफ गर्ने कथित उच्च समुदायको मान्छे त भ्रष्ट हुनै सक्दैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । जब कि यो राज्यलाई सबैभन्दा बढी दोहन गर्ने उनीहरु नै हुन् । नाटक यस विषयमा पनि गम्भीर हुनुपर्थ्यो ।

    आन्दोलन दबाउने पात्र प्रहरी पनि मंगोल नै छनोट गरिएको छ । जब कि प्रहरीको उच्च ओहदामा कथित उच्च जातका मान्छे नै धेरै छन् । यीलगायत विषयमा गम्भीर भएको भए नाटक अझै राम्रो हुनसक्थ्यो । यी सवालहरु यो नाटकमा किन पनि तेर्सिन्छन् भने नाटकले राजनीतिक मुद्दा उठाएको छ । जब राजनीतिक मुद्दा उठाइन्छ, त्यहाँ त यस्ता विषयहरुमा झनै धेरै संवेदनशील हुनैपर्छ ।

    समग्रमा नाटकले पछिल्लो समयको विद्यार्थी आन्दोलन, आन्दोलनले उठाएको सवाल र आन्दोलनको राजनीतिक अर्थलाई राम्रोसँग स्पष्ट पारेको छ । आन्दोलन किन चाहिन्छ ? आन्दोलन केका लागि हुनुपर्छ ? आन्दोलन सफल पार्न कति धैर्य र लगन चाहिन्छ ? आन्दोलनलाई किनारा दिन कति त्याग र संघर्ष जरुरत पर्छ ? नाटकले प्रस्ट पारेको छ ।

    लेखक आके रोमस, परिकल्पनाकार समिक बडाल र निर्देशक दिलीप खत्रीको मेहनतले विद्यार्थी आन्दोलन नाटक थिएटरसम्म पुगेको छ । आन्दोलन थिएटरको मञ्चसम्म पुग्नु आफैंमा अर्थपूर्ण कुरा हो । जसमा कलाकारहरु अनुप न्यौपाने, अजय लामा, दीपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगीता थापालगायतको अभिनय महत्वपूर्ण छ । यो नाटक यही २७ गतेसम्म मञ्चन हुनेछ ।

  • कमल राईको ‘ए बरै’मा विद्या र विराजको मार्मिक अभिनय (भिडिओ)

    कमल राईको ‘ए बरै’मा विद्या र विराजको मार्मिक अभिनय (भिडिओ)

    काठमाडौं । कमल राईको ‘ए बरै’ म्यूजिक भिडिओमा भुटानी शरणार्थीका विषयमा कारुणिक दृष्य देखाइएको छ । नेपालको झापा र मोरङमा तत्कालीन समयमा रहने गरेका शरणार्थीहरु अहिले झापाको बेलडाँगीमा रहेका छन् ।

    उनीहरुमध्ये अधिकांश तेस्रो मुलुक पुनर्बास कार्यक्रममा रहेर अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशमा पुगे । तर अझै पनि करिब २० हजार भुटानी शरणार्थीहरु भने नेपालमै बसेका छन् । जसको कारण भने कतिपयको भुटान आफ्नो मातृभूमि फर्कने ईच्छा त कतिपयको भने नेपालले आफूलाई स्वीकारीदेओस् भन्ने चाहना हो ।

    जसका कारण पछिल्ला पिँढीका सन्ततिहरुले तेस्रो मुलुकको पुनर्बास रोजे भने आफ्ना बुबा आमा चाहिँ यतै रहे । यही अवस्थामा सन्तानसँग विछोडिनुको पीडालाई र बदलिँदो मानवीयतालाई गीतले प्रस्तुत गरेको छ ।

    जसमा अग्रज कलाकार विद्या कार्की र विराज बास्कोटाको अभिनय रहेको छ । करिब दुई दर्जन बढी म्यूजिक भिडिओ, विभिन्न नाटक एवम् ‘सक्किगो नि’मा आफ्नो अभिनय तथा कला प्रस्तुत गरिसकेका विराज यस गीतमा छोराको भूमिकामा रहेका छन् । गीतमा कलाकारहरुको अभिनयलाई दर्शकहरुले रुचाएका छन् । उनीहरुले उठाएको विषयलाई पनि कमेन्टमार्फत दर्शकहरुले हौसला प्रदान गरेका छन् ।

    गीतको शब्द/संगीत/स्वर तथा भिडिओको कन्सेप्ट र निर्देशन कमल राईकै रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका छन् । त्यस्तै, गीतको छायांकन र सम्पादन योगेश दाहालले गरेका हुन् । साथै, अभिनयमा काब्या बराल र दीपक राईसमेत रहेका छन् ।

     

  • ‘भष्मे डन’को ट्रेलरमा विपीनको एकछत्र, वर्षा गयल

    ‘भष्मे डन’को ट्रेलरमा विपीनको एकछत्र, वर्षा गयल

    काठमाडौं। यहीँ कात्तिक ४ गते शनिबारबाट रिलिजको तयारीमा रहेका चलचित्र ‘पश्पति प्रसाद २–भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ। टुकी आर्टसको प्रस्तुतीमा तयार पारिएको चलचित्रको ट्रेलरमा भष्मे डनको भुमिका निर्वाह गरेका अभिनेता विपीन कार्कीले एकछत्र राज गरेका छन्। ट्रेलरमा नायिका स्वस्तिमा खड्का र अर्का दुई नायकहरु सौगात मल्ल र रवीन्द्र सिंह बानियालाई अटाए तापनि अर्की नायिका वर्षा सवाकोटी भने गयल छिन्। उनलाई ट्रेलरमा कहीँकतै अटाईएको छैन।

    ‘पशुपति प्रसाद २–भष्मे डन’ सातवर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल हो। चलचित्र नै भष्मे डनमा समर्पित भएर हुन सक्छ ट्रेलरमा अरुलाई भन्दा विपिन कार्कीलाई बढी फोकस गरिएको छ। ट्रेलरमा नायिका सिवाकोटीलाई कहीँकतै सानो भुमिकामा पनि देखाईएको छैन। ट्रेलरको टाइटलमा समेत उनको नाम राखिएको छैन।

    उनको नाम हेर्न भित्री विवरण नै खोतल्नुपर्छ। ट्रेलरमा उनी नहुनार्ले चलचित्रमा उनको भुमिका के र कति होला भन्ने कौतुहल जगाएको छ। उनी चलचित्रमा हुने नहुनेबारे फाइनल गर्न पनि निर्माण टिमलाई लामै सोच्नु परेको थियो। चलचित्रको घोषणा कार्यक्रममा समेत सिवाकोटी यो सिक्वेलमा हुने नहुने बारे केही फाइनल गरिएको थिएन। हुन त, चलचित्रको पहिलो सिरिजमा पनि उनको खासै लामो भुमिका थिएन। उनलाई बोल्न नसक्ने युवतीको सानो रोलमा प्रस्तुत गरिएको थियो।

    चलचित्रलाई निर्माता खगेन्द्र लामिछानले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंमको हो। बनिश शाहले सम्पादन गरेको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा छायांकनको पाटो कृष्णबहादुर थापाले सम्हालेका छन भने डि.ओ.पी निरज कँडेलको छ।

     

  • इजरायल : हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव

    इजरायल : हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या एक हजार नाघेको छ । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

    राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।

    संगीत महोत्सवमा शुक्रबार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो । गोलीबाट बच्न मानिसहरू खुल्ला स्थानमा कुदिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । महोत्सवबाट थुप्रै व्यक्तिहरूलाई अपहरण गरेर हमास लडाकुले बन्धक बनाएका छन् ।

    संगीत महोत्सव भएको क्षेत्र गाजासँगको बोर्डर नजिक पर्छ ।