Category: कलाप्रेस

  • इन्डियन आइडलको थियटर राउन्डमा मेनुका- फेरि पाइन् तीनै जजको ‘स्ट्यान्डिङ ओभेसन’

    इन्डियन आइडलको थियटर राउन्डमा मेनुका- फेरि पाइन् तीनै जजको ‘स्ट्यान्डिङ ओभेसन’

    काठमाडौं । इन्डियन आइडलको अडिसनमा तहल्का मच्चाएकी नेपाली गायिका मेनुका पौडेलले थियटर राउन्डमा पनि निर्णायकहरुको उच्च प्रतिक्रिया पाएकी छन् । उनी अडिसनमा गोल्डेन माइक पाएर सिधै थियटर राउन्डका लागि छनोट भएकी थिइन् ।

    मेनुकाले दिएको प्रस्तुतिको पूरा एपिसोड प्रशारण हुन बाँकी छ । तर, उनको सानो फुटेज युट्यूवमा सार्वजनिक गरिएको छ । मेनुकाले पुरानो हिन्दी फिल्म ‘तुम्हारे लिए’ का लागि लता मंगेशकरले गाएको गीत ‘तुम्हे देखती हुँ तो लगता है ऐसे…’ गाएर निर्णायकको मन जितेकी हुन् ।

    यो एपिसोडमा तीन नियमित जजमध्येकी एक श्रेया घोषाल अनुपस्थित छिन् । उनी सांगीतिक टुरका लागि देशबाहिर रहेकाले थियटर राउन्डमा उपस्थित हुन नसकेकी हुन् । उनको स्थानमा प्रख्यात गायिका कविताकृष्ण मुर्तिलाई निम्त्याइएको छ ।

    मेनुकाको प्रस्तुतिलाई तारिफ गर्दै संगीतकार विशाल ददलानीले भने, ‘तिम्रो आवाजले संगीतलाई परिभाषित गर्छ ।’

    प्रस्तुतिपछि तिनैजना जजले उठेर ताली बजाएका छन् । यो एपिसोडबाट टप १५ को छनोट हुने छ । मेनुका छनोट भए–नभएको भिडिओमा खुलाइएको छैन ।

     

  • भारत-पाकिस्तान म्याच हेर्न गएकी उर्वशी ‘गोल्डेन आइफोन’ हराएर तनावमा

    भारत-पाकिस्तान म्याच हेर्न गएकी उर्वशी ‘गोल्डेन आइफोन’ हराएर तनावमा

    काठमाडौं । शनिबार भारतले पाकिस्तानमाथि एसीसी विश्वकप क्रिकेटको पहिलो खेल जितेको उत्सव मनाइरहँदा यता बलिउड अभिनेत्री उर्वशी रौटेला भने मोबाइल हराएको तनावमा छिन् । मोबाइल पनि चानचुने होइन, गोल्ड कोटेड आइफोन । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको उत्सवबीचमा उनको २४ क्यारेट सुनको आइफोन हराएको हो ।

    सुनको फोन हराएपछि रौटेलाले आफूलाई ठूलो व्यक्तिगत क्षति भएका बताउँदै प्रहरीमा उजुरी दिएकी छिन् । उजुरीसँगै उनले आफ्नो सामाजिक सञ्जालमा औपचारिक उजुरीको स्न्यापसट पोष्ट गर्दै सबैसँग मद्दतको आह्वान पनि गरेकी छन् ।

    उनले लेखेकी छिन,‘नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा मेरो २४ क्यारेट रियल सुनको फोन हरायो । यदि कसैले मेरो फोन देख्नुभयो भने, कृपया मलाई जतिसक्दो चाँडो सम्पर्क गर्नुहोला । र, मद्दत गर्न सक्ने अरुलाई पनि ट्याग गर्दिनुहोला ।’

  • धिरज र अदिति स्टारर ‘बाबरी’ युट्युबमा

    धिरज र अदिति स्टारर ‘बाबरी’ युट्युबमा

    काठमाडौं । गत वर्ष हलहरुमा औसत व्यापार गरेको फिल्म ‘बाबरी’ केन्द्र मोसन पिक्चरर्सको च्यानलबाट युट्युबमा सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायत कलाकारको अभिनय रहेको छ ।

    दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यस फिल्मले युट्युबमा भने राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा गणेश बुढाथेकी र पुष्पलता बुढाथोकीको लगानी रहेको छ ।

    फिल्मका गीतहरुले भने निकै चर्चा पाएको थियो । ‘बाबरी’पछि धिरजको दुई वटा नयाँ फिल्म प्रदर्शन भइसकेका छन् भने अदितिले कुनै फिल्म साइन गरेकी छैनन् ।

  • कमेडी क्लव विथ च्याम्पियनमा पुगेका प्रकाश सपुत जब भक्कानिए

    कमेडी क्लव विथ च्याम्पियनमा पुगेका प्रकाश सपुत जब भक्कानिए

    काठमाडौं । हास्यप्रधान टिभी रियालिटी शो ‘कमेडी क्लव विथ च्याम्पियन’को पहिलो सिजन सुपरहिट थियो, तर दोस्रो सिजनको त्यति चर्चा छैन । पहिलो सिजनको टिमलाई हटाएर पुरै नयाँ टिम ल्याएपछि दोस्रो सिजनमा दर्शकको आकर्षण घटेको हो । यद्यपि, युवा कमेडियनहरुले शोलाई माथि उठाउन प्रयास गरिरहेका छन् ।

    कमेडी क्लव विथ च्याम्पियन २.० को पछिल्लो एपिसोडमा अतिथि बनेर पुगेका छन् गायक प्रकाश सपुत र नायिक वर्षा शिवाकोटी । उनीहरु त्यहाँ आफ्नो चलचित्र परदेशी–२ को प्रमोसनका लागि पुगेका थिए । यो एपिसोड प्रशारन हुन बाँकी छ, तर प्रोमोले नै चर्चा बटुल्न सफल भएको छ ।

    यस कार्यक्रममा विभिन्न अतिथिहरुलाई बोलाएर रोस्ट गरिन्छ र हँसाइन्छ । प्रकाश र वर्षालाई पनि कलाकारहरुले खुब हँसाए । तर, एक कमेडियनको प्रस्तुतिमा प्रकाश सपुत भावविव्हल भए । उनले आँशु थाम्न सकेनन् ।

    प्रोमोमा देखाइएअनुसार ती कमेडियनले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने युवाहरुको पिडा अभिव्यक्त गरेका छन् । उनले खाडीका कामदारको प्रसंग निकाल्ना साथ कार्यक्रममा सन्नाटा छाएको थियो । हाँस्दा हाँस्दै प्रकाश र वर्षा भावुक बनेका थिए ।

    वैदेशिक रोजगारीबाट छुट्टिमा आएको लागि हिँडेको युवाको भूमिकामा देखिएका कमेडियनलाई कार्यक्रमका होस्ट यमन श्रेष्ठले सोध्छन्, ‘एयरपोर्टमा कोही छोड्न आएन ?’

    उनी जवाफ दिन्छन्, ‘केको छोड्न आउनु दाजु । हामीलाई छोड्न बसपार्कदेखि ट्याक्सी त एयरपोर्ट जान मान्दैनन् । मान्छे के आउँथे । त्यही पनि अष्ट्रेलिया, अमेरिका जाने भए पो लावालस्कर लागेर आउँथे । हामीलाई त को छोड्न आउँछ ?’

    ‘लहै गएँ है । मेरो त फ्लाइट छ अहिले । यो चोटि आउँदा खुट्टैमा आइयो । उताबाट बाकसमा आइन्छ कि ।’

    यो डाइलगले प्रकाश सपुतलाई रुवाँउछ । उनी आँशु लुकाउन खोज्छन् तर सक्दैनन् । दर्शकहरु पनि आँशु पुछ्न थाल्छन् ।
    सपतुले रुवाइमिश्रित आवाजमा भन्छन्, ‘यो १५/२० वर्षमा नेपाललाई कसैले पालिरहेको छ भने खाडीले पालिरहेको छ जस्तो लाग्छ । यदि मेरो बा साउदी नगएको भए सायद म पनि बन्दिनँथे होला ।’

  • अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ मा ‘गोरु पर्व’ छनोट

    अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ मा ‘गोरु पर्व’ छनोट

    काठमाडौं । नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ ।

    बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।

    योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन् । सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल छन् । राजेन्द्र बजगाईँको पाश्र्व सङ्गीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तरराष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ ।

    जात्रा माघेसङ्क्रान्तिकै दिन आयोजना हुने र त्यससँग विभिन्न संस्कृति जोडिएकाले यसलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रबन्ध निर्देशक केपी पाठकले जानकारी दिए ।

    “गोरु जुधाउने जात्रा हाम्रो मौलिक संस्कृति हो । यसलाई अन्तरराष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिको अन्तरराष्ट्रियस्तरमा प्रचार गर्न सकेमा देशलाई चिनाउन सक्छौँ”,  लेखक तथा निर्देशक लम्सालले भने ।

  • पूर्ववडाअध्यक्ष डिल्ली अधिकारीले ल्याए ‘खाडीको लाहुरे’

    पूर्ववडाअध्यक्ष डिल्ली अधिकारीले ल्याए ‘खाडीको लाहुरे’

    काठमाडौं । डिल्लीराम अधिकारीको स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत भिडिओसहित बजारमा आएको छ ।

    नेपमेलो युटुब च्यानलबाट सार्वजनिक गीतमा अष्ट्रेलिया/अमेरिकाको ग्रीन कार्ड र खाडी मुलुकमा पसिना बगाउनेमाथि समाजको हेर्ने दृष्टिकोण देखाउन खोजिएका छन् । भोजपुरको अरुण गाउँपालिका-७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवारसमेत रहेका अधिकारीले यही गीतमार्फ गायनमा डेब्यू गरेका हुन् ।

    सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले ‘खाडीको लाहुरे’ बाट सम्भावना देखाएका छन् ।

    समसामयिक सामाजिक विषयवस्तुमा आधारित देशनरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेशकाजीको संगीत संयोजन रहेको छ । भिडिओमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय छ ।

    भिडिओको निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बुद्ध थापाको छ ।

  • हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलामा’ गीतको भिडिओ रिलिज

    हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलामा’ गीतको भिडिओ रिलिज

    काठमाडौं । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘आमा तिम्रो तस्बिर दैलामा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । दसैँको अवसर पारेर सार्वजनिक गरिएको भिडिओमा आमाको महिमाको वर्णन गरिएको छ । जसमा शब्द तथा संगीत खिमानन्द खरेलको छ ।

    हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन् । गायक स्वयं, रमा थपलिया र बाल कलाकार इभान चैसियारको मर्मस्पर्शी अभिनय भिडिओमा देख्न सकिन्छ । आमाको निधनपछि एक्लिएको छोराको सुख दुखका सम्झनामा डुबेका क्षणलाई भिडिओमा कथा बनाएर देखाइएको छ ।

    आमाको अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई भिडिओमा मार्मिक तरिकाले उठाइएको छ । हेमन्तको निर्देशन रहेको भिडिओको सम्पादन पदम सुवेदी र छायांकन किरण चौसियारले गरेका छन् ।

  • ‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्य समेटेर ‘प्रिभ्यू’ सार्वजनिक

    ‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्य समेटेर ‘प्रिभ्यू’ सार्वजनिक

    काठमाडौं । शनिवारबाट प्रदर्शनको तयारीमा रहेको ‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्यहरू समेटेर ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ ।

    प्रिभ्यूमा विपिन कार्कीलाई देखाइएको छ । सानो अंशमा आँचल शर्मा पनि छन् । शर्मा चलचित्रको सुटिङका लागि पशुपति क्षेत्रमा पुगेको दृश्य देखाइएको छ । भने विपिन त्यहाँ घुम्दै पुगेको देखिन्छ ।

    टुकी आर्टसको प्रस्तुतिमा तयार पारिएको चलचित्रको ट्रेलर असोज २२ गते सार्वजनिक गरिएको थियो ।

    ‘पशुपति प्रसाद २–भष्मे डन’ सात वर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल हो।

    चलचित्रलाई निर्माता खगेन्द्र लामिछानेले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंको हो। बनिश शाहले सम्पादन गरेको चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा छायांकनको पाटो कृष्णबहादुर थापाले सम्हालेका छन् भने डिओपी निरज कँडेलको छ।

  • रोहित अधिकारीले निर्माण गर्न लागेको ‘फर्की फर्की’को प्रदर्शनमिति तय

    रोहित अधिकारीले निर्माण गर्न लागेको ‘फर्की फर्की’को प्रदर्शनमिति तय

    काठमाडौं । निर्माता रोहित अधिकारीको चलचित्र ‘फर्की फर्की’ आगामी वर्षको जेठ ११ गते रिलिज हुने पक्का भएको छ ।

    निर्माता अधिकारीले वितरकसँग सल्लाह गरेर फिल्मलाई जेठमा रिलिज गर्न लागेको बताए । यो चलचित्रको वर्कसप पनि सुरु भएको छ ।

    वर्कसपमा चलचित्रका मुख्य नायक अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र समृद्धि अर्याल जोडिएका छन् । चलचित्रकी मुख्य नायिका जसिता गुरुङले भने केही दिनमै वर्कसप सुरु गर्ने निर्माणपक्षले बताएको छ । सुयोग गुरुङले निर्देशन चलचित्रलाई निर्देशन गर्नेछन् ।

    यो चलचित्रको छायांकन काठमाडौं, पोखरा, अन्नपूर्ण बेस क्याम्पमा गरिनेछ । साथमा, एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार हुन लागेको चलचित्रका सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् ।

    चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । चलचित्रको छायांकन मंसिरको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

    ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र दिएका निर्माता अधिकारीले यसपटक दर्शकले प्रेमको कथामा बेग्लै स्वाद पाउने बताए ।

    चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । चलचित्रको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

  • श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

    श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन् ।

    उनले इन्स्टाग्राम एकाउन्टमार्फत उनीहरुबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

    उनले सम्भवसँगका विभिन्न फोटो भिडिओहरु शेयर गर्दै आफूले प्रेमको साँचो अर्थ थाहा पाएको उल्लेख गरेकी छन् । श्रृंखलाले साहित्यिक रुपमा सम्भवसँगको सम्बन्धबारे लेखिकी छन् ।

    उनीहरुबीच केही वर्षदेखि डेट गर्दै आएका भएपनि सार्वजनिक रुपमा खुलेका थिएनन् । तर सम्भवको पारिवारिक कार्यक्रममा श्रृंखलाको उपस्थिति हुने गरेको थियो ।

     

     

    View this post on Instagram

     

    A post shared by Shrinkhala Khatiwada (@shrinkhala_)

  • ‘लौ माया सुटुक्कै’मा रोमान्स र बाध्यताको मिश्रण (भिडिओ)

    ‘लौ माया सुटुक्कै’मा रोमान्स र बाध्यताको मिश्रण (भिडिओ)

    काठमाडौं । गायिका विन्दु परियार र गायक भुपाल परियारको आवाजमा दसैंलक्षित लोक दोहोरी गीत ‘लौ माया सुटुक्कै’सार्वजनिक भएको छ ।

    गीतको कम्पोज गणेश बाबु बिकले गरेका छन् भने शब्द पदम गुरुङ र सुन्दर खनालको रहेको छ । त्यस्तै, सुदीप सागरको एरेन्ज रहेको छ । त्यस्तै, म्यूजिक भिडिओमा विराज बास्कोटा, अतीत निरौला, जेशिका पोखरेल र एलिना थपलियाको फिचरिङ रहेको छ ।

    भिडिओलाई राज शेर्मा र लेखराज तामाङले निर्देशन गरेका छन् । त्यस्तै, किरण राई र विक्रम डीसीले सिनेम्याट्रोग्राफी गरेका छन् । झापाको अर्जुनधारालगायतका क्षेत्रमा सुटिङ गरिएको गीतमा सांस्कृतिक पहिचानलाई पनि ध्यान दिएको छ ।

    भिडिओ सुन्दर खनाल युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

    लोक दोहोरी गीतको भिडिओ सुटिङ हेरेपछि अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनले कला संस्कृतिका लागि आफूले आफ्नो नगरबाट गर्न सक्ने विषयमा योगदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

    भिडिओमा पञ्चेबाजा, नेपाली पोशाक एवम् झापाका विभिन्न मनोरम दृष्यहरु समेटिएका छन् । त्यस्तै, भिडिओको अन्तिममा नेपाली युवाहरुको बाध्यतालाई पनि उजागार गर्ने प्रयत्न गरिएको छ । विदेश जानुपर्ने विवशतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ भने गीतको बीचमा युवा युवतीबीचको रोमान्टिक प्रसंगलाई उल्लेख गरिएको छ ।

    भिडिओ

  • दशैं विशेष ‘मन परेसी’मा दीपा, सन्दीप, सरोज र आभाको छमछमी

    दशैं विशेष ‘मन परेसी’मा दीपा, सन्दीप, सरोज र आभाको छमछमी

    काठमाडौं । आजबाट दशैंको उमंग नेपालीहरुको घरमा प्रवेश गरेको छ । दशैंको उमंगले छोएसँगै नेपाली गीतसंगीतमा पनि महान् पर्व लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् ।

    यसैबिच, गायीका रानी शाक्य र सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटीको यूगल गायनमा नयाँ गीत सार्वजनिक गरिएको छ । दशैं विशेष भन्दै सार्वजनिक गरिएको ‘मन परेसी’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत, देवेन्द्र केसीको शब्द छ ।

    यो गीतको भिडियोमा कलाकार दीपाश्री निरौलाको साथमा कमेडियन सन्दिप क्षेत्री, मोडलद्धय सरोज राणा प्रजा र आभा थापाको अभिनय हेर्न सकिन्छ ।

    भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सुदीप बरालले यसलाई छायांकन गरेका हुन् । प्रवीण ढकालको कलरिङ रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । भिडियोलाई निकै नै आकर्षक बनाइएको छ । यो भिडियो तथा गीतले दर्शकको मन जित्ने विश्वास लिइएको छ ।

  • प्रश्नभन्दा माथि राजेश हमाल ?

    प्रश्नभन्दा माथि राजेश हमाल ?

    काठमाडौं । भर्खरै एउटा कमेडी शोमा अभिनेत्री उषा रजकले अभिनेता राजेश हमाललाई भनेकी थिइन्, ‘राजेश हमाल ओभररेटेड एक्टर हो । उ बेलामा (हमालको समयमा) एउटा स्थान पाउनुभयो । तर, अभिनयको हिसाबले हेर्दा त्यस्तो विशेष केही पनि छैन । नृत्य त देखेकै छौं । तपाईंहरु(होस्टतिर इंगित गर्दै) कमेडी क्लबमा हसाउनुपर्‍यो कि उहाँकै डान्स गर्नुहुन्थ्यो ।’

    उनको यो अभिव्यक्ति यति धेरै विवादित भयो कि अन्ततः माफी नमागिकन सुखै पाइनन् । सामाजिक सञ्जालमा हमालका फ्यानबाट साइबर आक्रमण सुरु भएपछि उषाले आफ्नो भनाइ फिर्ता लिएकी छन् । तर, उनले अझै धेरै दिनसम्म गालीगलौज र ट्रोलको शिकार हुनुपर्ने निश्चित छ ।

    उषाले हल्काफुल्का तरिकाले हमालको अभिनय क्षमतामाथि प्रश्न उठाएकी थिइन् । आफूलाई लागेको कुरा भनेकी थिइन् । लोकतन्त्रमा राष्ट्रपतिमाथि पनि प्रश्न उठाउन पाइन्छ र आलोचना गर्न सकिन्छ । कुनै पनि कलाकार, चाहे जतिसुकै प्रख्यात किन नहून्, प्रश्न र आलोचनाभन्दा माथि हुन सक्दैनन् । फेरि कलाकार बाँच्ने भनेकै अभिनय क्षमता र कलाले हो । कलाकारमाथि प्रश्न उठ्ने भनेकै उसको अभिनय गर्नसक्ने तागतमाथि हो । चाहे सौगात मल्ल हुन् या दयाहाङ राई वा विपीन कार्की, अनमोल केसी हुन् या प्रदीप खड्का, उनीहरुमाथि प्रश्न उठेकै छन् ।

    अब हमालमात्रै त्यस्तो कलाकार भइदिए कि जसमाथि मानौं प्रश्न उठाउन वर्जित छ । जसले यस्तो प्रश्न उठाउँछ, उसको करिअरमा प्रश्न उठ्छ । राजेश हमाल आफैं कम बोल्छन् । मिडियामा पनि कूटनीतिक जवाफहरु दिन्छन् । तर, उनका फ्यानहरु उत्तेजक छन् । हमालको महानायक भन्न कसैले अस्वीकार गर्‍यो भने सीधै भुईंमा पछारिदिन्छन् ।

    उषाले दिएको अभिव्यक्तिको क्लिप काटेर ‘राजेश हमाल ओभररेटेड एक्टर’ भनेको संवादलाई मात्रै सञ्जालमा फैलाइयो । यसको नतिजा कतिसम्म प्रतिकूल भइदियो भने उनको निजी जीवन कोट्याउनेदेखि लिएर निम्नस्तरको गालीको वर्षा सुरु भयो । अपाच्य गालीहरुले सिथिल बनाएपछि रजक माफी माग्न बाध्य भइन् ।

    उनले हमालसँग माफी माग्दै सञ्जालमा लेखेकी छन्, ‘मैले गरेका टिप्पणीहरु कमेडी कार्यक्रममा गरिएका थिए । र, ती टिप्पणीहरुलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । उहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको योगदानहरुको बारेमा राम्रा कुराहरु पनि भनेकी थिएँ । तर, दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरुबीच कतै हराए ।’

    ०००

    केही समयअघि अभिनेत्री दीपाश्री निरौलाले हमालको ‘महानायकत्व’ माथि प्रश्न उठाएकी थिइन् । हमालले महानायक कहलाउनुको जिम्मेवारी निर्वाह गर्न नसकेको उनको आशय थियो । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘उहाँ महानायक हुनुहुन्छ र ? बलिउडमा अमिताभ बच्चन त (फिल्म) खेलिरहनुभएको छ । त्यस्तो व्यक्तिले चलचित्र उद्योग हाँक्नुपर्छ ।’

    उनले हमाल चलचित्र उद्योगको खम्बा र राम्रो अभिनेता भएकोसमेत बताएकी थिइन् । तर, अन्तर्वार्ता सार्वजनिक भएपछि हमालका प्रशंसक दीपाश्रीमाथि खनिए । ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भन्ने वाक्यांशको भिडियो क्लिप शेयर गर्दै उनको चौतर्फी आलोचना सुरु भयो । उनको व्यक्तिगत जीवन र चरित्रमाथि आक्षेप लगाइयो । अनेक धम्की दिइयो ।

    तर, त्यस्तो निम्नस्तरको गालीगलौज आइरहँदा हमालले आफ्ना उग्र समर्थकलाई चुप लगाउने प्रयास गरेनन् । आफैं चुप बसे । बरु एक्सरसाइज गरिएका, राम्रा खानेकुरा खाइएका भिडियोहरु सञ्जालमा हालेर बसे । लकडाउनको वेला हमालका फिल्ममा ३०-३५ वर्ष अघिदेखि काम गरेका प्राविधिकहरु दुई छाक चामलको जोहो गर्न नसकेर कुम्लो कुटुरो बोकेर गाउँ फिर्दै थिए । हमाल खानेकुरा कसरी खाने र कसरी स्वास्थ्य रहने भन्ने टिप्स दिन व्यस्त थिए । त्यसवेला हमाललाई जिम्मेवारीबोध गराउने कोही समर्थक थिएनन् । तर, जब निरौलाले हमालको ‘महानायकत्व’माथि प्रश्न उठाइन्, उग्र समर्थकहरु उनको चरित्रमाथि नै आक्रमण गर्न उद्यत बने ।

    पढ्न÷सुन्न नसकिने खालका प्रतिक्रियाहरुको बाढी नै आएपछि कथित आलोचना मत्थर बनाउन निरौलाले सञ्जालबाटै रुँदै माफी मागिन् । उनले भनिन्, ‘हमालज्यु सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहनुहुनेछ । तर, उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा महल लगाउन सक्नुपर्छ । नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइनँ र छैन पनि । तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा उहाँका फ्यानहरुसँग माफी माग्छु ।’

    माफी मागेपछि पनि निरौलामाथि सञ्जालबाट प्रहार रोकिएको थिएन । तर, हमालको महानायकत्वको वकालत गर्नेहरुले देशको सार्वभौम संविधानको भने अपमान गरेका थिए । संविधानको धारा १७ उपधारा (२) ले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । तर, निरौलाको त्यही हकलाई हमालका उग्र समर्थकहरुले कुल्चिदिए । यहाँ भगवान पनि कुन मान्ने र कुन नमान्ने, मान्छेलाई छुट छ । हमाल त मान्छे हुन्, उनलाई महानायक मान्न पाइयो, नमान्न पनि । निरौलाले त्यो छुट पनि पाइनन् ।

    ०००

    केहीअघि आफैंले निर्देशन गरेको चलचित्र ‘डाँडाको वरपिपल’ को एउटा कार्यक्रममा निर्देशक शोभित बस्नेतले भुवन केसीलाई महानायक भनिदिए । शिव श्रेष्ठले सही थापे । त्यसपछि त के थियो । शोभित, भुवन र शिव एकसाथ हमालका समर्थकको निशानामा परिहाले । फिल्म बहिष्कारकै आह्वान भयो । हुन पनि ‘डाँडाको वरपिपल’ ले हलमा पानीसम्म भन्न पाएन ।

    यो प्रकरणसँग विल्कुलै असम्बन्धित दुई नायक अनमोल केसी र सलोन बस्नेतसमेत प्रताडित हुन पुगे । अनमोलको दोष, भुवन केसीको छोरा हुनु थियो भने सलोनको दोष शोभित बस्नेतको छोरा । आजपर्यन्त पनि उनीहरुलाई हमालका उग्र समर्थकको एउटा तप्काले खेद्न छोडेको छैन ।

    महानायक काण्डमा निशाना बनाइएका अर्का असम्बन्धित पात्र हुन् दीपकराज गिरी । दीपाश्री निरौलाका सहकर्मी भएकै कारण उनी लखेटाइमा परे । उनलाई ‘महानायक’ भनेर अहिले पनि होच्याउने गरिन्छ । यो टीमको फिल्म नै बहिस्कार गर्ने धम्कीहरु दिइए । अनि गिरीले पनि सञ्जालमा स्पष्टीकरण बाध्य भए, ‘जबदेखि कलाकार भएँ, हरिवंश, मदनकृष्ण र सन्तोष दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थें । मेरो बाटो र लक्ष्य कहिल्यै पनि महानायकको घरतिर मोडिएन । मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’

    ०००

    अस्ति असोज १५ गतेमात्रै नेपाली फिल्म क्षेत्रले ५८ वर्ष पूरा गर्‍यो । ‘आमा’ फिल्म २०२२ साल असोज १५ गते प्रदर्शन भएको थियो । यो ५८ वर्षको इतिहासमा नेपाली फिल्मले कति फड्को मार्‍यो, त्यो समीक्षाको अर्कै पाटो भयो । यो ५८ वर्षमा साँच्चै नेपाली फिल्महरु कति बने ? विमर्शको अर्कै पाटो भयो ।

    तर, हमालले सयौंको संख्यामा फिल्म खेले । उनका राम्रा फिल्महरु कुन कुन थिए ? सम्भवतः औंलामा गन्न सकिने संख्यामा पनि छैनन् । नेपाली फिल्मको इतिहासमा त्यस्तो प्रभावी फिल्महरु कुन कुन हुन् हमालका ? उनी आफैंलाई सम्झना नहोला ।

    ५० को दशकमा हमाल उदाए । ६० दशकको मध्यमा हमाल युगको विसर्जन थियो । तर, यो बीचमा सम्झनलायक कुनै नेपाली फिल्म बन्यो त ? नेपाली फिल्मले त्यो समयमा आफ्नो मौलिक धार निर्माण ग¥यो त ? बरु ५० देखि ६० को दशकको नेपाली फिल्मको समग्र समीक्षा गर्ने हो भने फिल्महरुको नाम याद हुँदैन । हमालमात्रै याद हुन्छ ।

    जापानी फिल्म इतिहास सम्झनासाथ आकिरा कुरुसावाका फिल्महरु एउटा दर्पण हुन् । अब्बास किरुस्तामी या मजिद मजिदीका फिल्महरु इरानी फिल्म इतिहासका आँखीझ्याल हुन् । सत्यजीत रेका फिल्महरु बंगाली फिल्म इतिहासको एउटा प्रस्थान विन्दु हो । तर, नेपाली फिल्मको अनुहार के हो त ? ५०-६० को एकडेढ दशकभरि बनेका हजारौं फिल्म हमालको अनुहारले छोपिन्छन् । अनि हामीले कस्तो खालको फिल्म बनायौं त ? सत्य यो हो कि नेपाली फिल्म क्षेत्रमा राजेश हमाल बने । तर, नेपाली फिल्म बनेन । त्यही हमालीकरणले नेपाली फिल्म अहिले पनि निकै पछि रहेको निर्देशक नवीन सुब्बाले बताउने गरेका छन् ।

    अहिले दक्षिण कोरियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ फिल्म लिएर पुगेका सुब्बाले पंक्तिकारसँग एक अन्तर्वार्तामा भनेका थिए, ‘जस्तो ‘राजेश हमालका सिनेमाहरु’ भनेर अध्ययन गरौं । तर, हमालको सिनेमाको अध्ययन गर्दा समयलाई निर्देशित गर्‍यो कि गरेन, समयअनुसार थियो कि थिएन, त्यसले नेपाली मौलिकता निर्माण गर्‍यो कि गरेन ? अभिनयमा के थियो ? प्रविधिमा के आयो ? बजारीकरण गर्दा कहाँ समस्या भयो ? त्यो अध्ययन गर्न सक्छौं ।’

    निरौलाको अभिव्यक्तिले फिल्म क्षेत्रमा ‘महानायक’ पदवीमाथि बहस छेडेको थियो । जतिवेला बलिउड भने अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणले तातेको थियो । त्यसवेला बलिउडकर्मीहरु नेपोटिजमको बहसमा लागेका थिए । गम्भीर भारतीय सिनेकर्मीहरु राम्रो सिनेमा नबन्नुका कारणहरु खोतल्न लागिपरेका थिए । त्यसवेला नेपालमा भने मान्छेहरु ‘महानायक’माथि बहस गरेर बसेका थिए ।

    पंक्तिकारलाई सुब्बाले त्यसवेला भनेका थिए, ‘हाम्रा सिनेकर्मी र दर्शक कस्ता भए भने सुशान्तसिंह राजपुतले न्याय पाउनुपर्छ पनि भन्छन् । यता फलाना महानायक हुन् पनि भन्छन् । सुशान्तको हत्या त्यही ‘स्टार सिस्टम’ले गरेको हो । नेपाली सिनेकर्मी र दर्शक जुन स्टार सिस्टमले सुशान्तको हत्या ग¥यो, त्यही स्टार सिस्टमको गुनगान गाउँदै देवत्वकरण गरेर बस्छन् । योभन्दा पाखण्डपन के हुनसक्छ ?’

    ०००

    करियरको उर्बर समयमा हमालले कति फिल्ममा काम गरे, उनैलाई यकिन नहुन सक्छ । कति फिल्ममा गीतमा मात्रै देखिए । कति फिल्ममा एक सीनमा देखिए । अनि उनैको सबैभन्दा ठूलो पोस्टर राखेर फिल्मको प्रचार गरिन्थ्यो ।

    हमालले पाएको स्टारडमले गर्दा त्यस्तो परिस्थिति बन्यो होला । निर्माताहरु उनीतिर आकर्षिक भए होलान् । तर, यस विषयमा हमाल आफैं सचेत हुनुपर्थ्यो कि पर्थेन ? अहिले हमाल स्वयंमाथि तेर्सिएको प्रश्न हो यो ।

    निरौलाले अन्तर्वार्तामा थप भनेकी पनि थिइन्, ‘मलाई महानायकप्रति आपत्ति छैन । ट्याग भिर्नुभएको छ । चलचित्र क्षेत्रको खम्बा हो उहाँ । तर, निर्माता, निर्देशकहरु महानायक भएनन् । राजेश दाइले मात्रै फिल्म खेल्नुभयो । त्यस्तो व्यक्तिले त फिल्म क्षेत्रलाई हाँकेर लानुपर्छ । आज हामी ५०-५२ वर्षमा प्रवेश गर्दा पनि हाम्रो चलचित्र क्षेत्र लिन्ठिङलिन्ठिङ छ ।’

    उनले थप सवाल पनि उठाएकी थिइन्, ‘महानायक जस्तो ट्याग भिरेको व्यक्तिले गीतमा मात्रै, सीनमा मात्रै खेलिदिँदा चाहिँ जनतालाई छारो हालेको काम भयो । पोष्टरमा राजेश हमाल ‘हे’ गरेको राख्थे । तर, भित्र केही हुँदैन थियो । त्यसले दर्शकलाई चोट पुग्यो ।’

    तर, हमालका उग्र समर्थकहरु भने उनलाई पनि आफ्नो कामको समीक्षा गराउनुको साटो निरौलाको सानो क्लिप्सलाई लिएर लखेट्न उद्यत भए । तथापि, अब भने हमालको अभिनय क्षमतामाथि समीक्षा गर्ने वेला आएको छ । हमालले खेलेका फिल्महरुले नेपाली समाजलाई कति योगदान दिए त ? विमर्श गर्ने वेला आएको छ ।

  • आस्था राउतको नयाँ गीत आयो है ‘लै बरि लै’ (भिडिओ)

    आस्था राउतको नयाँ गीत आयो है ‘लै बरि लै’ (भिडिओ)

    काठमाडौं । ‘झुम्के बुलाकी’ गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैं मोडलिङ पनि गरेकी छन् ।

    ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गरेकी छन् ।

    सावित्री राउतको शब्दमा सुरेश अधिकारीले संगीत भरेको गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ । गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शक पाउने विश्वास व्यक्त गरिन् ।

    ‘देश विदेश जताततैबाट नकारात्मक खबर आएको समयमा यस्ता गीतले हामीमा नयाँ उर्जा भरुन् भन्ने उद्देश्यले अलि रमाइलो शैलीको गीत गाएकी हुँ । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो’, आस्थाको भनाइ छ ।

    केही गीतका भिडियोमा लिपसिङमा मात्र देखिने गरेकी आस्थाले यो गीतमा आफैं मज्जाले नाचेकी पनि छिन् । उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् । गीतको भिडिओ किरण थापाले निर्देशन गरेका हुन् । भिडिओमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ, रिया सुन्दास आदिले पनि उपस्थिति देखाएका छन् ।

     

  • चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक (भिडिओ)

    चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक (भिडिओ)

    काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।

    आगामी मंसिर २९ गतेबाट रिलिज हुने सिनेमाको सार्वजनिक टिजरमा अभिनेता सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारीलाई स्थान दिइएको छ ।

    सार्वजनिक टिजर हेर्दा अभिनेता गौरव पहारी भिलेको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ । सिनेमाको टिजरले दर्शकमा कौतुहल्ता जगाउने देखिन्छ ।

    अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

    मुस्ताङमा एक गीतको छायांकन गरिएको सिनेमाको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

    दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

    भिडिओ

  • चलचित्र ‘महाराजधिराज’को निर्माण घोषणा, परिच्छेद सेनले निर्देशन गर्ने

    चलचित्र ‘महाराजधिराज’को निर्माण घोषणा, परिच्छेद सेनले निर्देशन गर्ने

    काठमाडौं । निर्देशक परिच्छेद सेनको निर्देशनमा नयाँ चलचित्र ‘महाराजधिराज’ बन्ने भएको छ । घटस्थापनाको अवसर पारी नयाँ चलचित्र ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो ।

    परिच्छेदकै लेखन रहेको चलचित्रका प्रस्तुतकर्तामा बिराज बिष्ट रहेका छन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । ‘बुलाकी’ले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

    टोपेन्द्र बिष्टको लगानीमा तयार हुन लागेको चलचित्रले रोमान्टिक सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् ।

    छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्रलाई २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । चलचित्रका लागि कलाकार भने तय गरिएको छैन ।

    चलचित्रमा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा पुष्टि गरेका थिए । यसैले, उनको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ । ‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् ।

    परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामक सट फिल्म निर्देशन गरिसकेका छन् । यी दुवै फिल्मले दर्जनौ अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका थिए ।

     

  • यहाँ जलेर खरानी हुन पनि पैसा चाहिन्छ

    यहाँ जलेर खरानी हुन पनि पैसा चाहिन्छ

    परबाट हेर्दा पशुपतिनाथ मन्दिर धार्मिक आस्थाको केन्द्र हो । तर, नजिकबाट नियाल्दा पशुपतिनाथ जीवन र मृत्युको संगमस्थल हो । जहाँ हरेक दिन हजारौं मानिसहरु प्रार्थनाका खातिर पुग्छन् । जहाँ हरेक दिन सयौं मानिसहरु आफन्तको दाहसंस्कारका निमित्त बाध्यताका खातिर पुग्छन् ।

    पशुपतिमा मान्छे जीवन माग्न पुगिरहेका हुन्छन् । जहाँ मान्छेहरु जीवनलाई अन्तिमपटक आँसु र जल चढाउन पनि पुगिरहेका हुन्छन् । जहाँ मान्छेहरु जीवनलाई जलाएर खरानी बनाउन पनि पुगिरहेका हुन्छन् ।

    कसैको यात्रा पशुपतिमा पुगेर टुंगिन्छ । कसैको यात्रा पशुपतिमा पुगेपछि सुरु हुन्छ ।

    त्यही पशुपतिमा पुगेर यात्रा सुरु गर्न चाहनेहरुको अरोह अवरोहमाथि निर्देशक दिपेन्द्र के खनालले सात वर्ष पहिले बनाए चलचित्र, ‘पशुपतिप्रसाद’ । अहिले सात वर्षपछि ‘पशुपतिप्रसाद’को सिक्वेल ल्याउँदै छन्, ‘पशुपतिप्रसाद–२ भष्मे डन’ ।

    ‘पशुपतिप्रसाद’लाई १३ दिन लगाएर सुटिङ सिध्याए । सिक्वेललाई लगाए ५६ दिन । सुटिङका लागि मात्रै खनालले ६९ दिन पशुपतिमा बिताए । अन्य विविध प्रायोजनका लागि कति पटक पुगे, त्यसको हिसाब परेन । आफन्तको बिदाइ गर्ने लाइनमा पनि खनाल उभिए । बुबा र हजुरआमालाई पशुपतिको घाटबाटै अन्तिम श्रद्धान्जली समेत दिए ।

    जीवनको बिदाइ गर्नेहरु र नयाँ जीवनको कामना गर्नेहरुको भिडमा जिन्दगीबाट आजित भएर पशुपति पुग्नेहरु पनि कम छैनन् । फिल्म पशुपतिप्रसादको मुख्य धरातल नै यही थियो । जो जीवनबाट निराश भएर, दिक्दार भएर पशुपति पुगेका थिए ।

    खनाल सुनाउँछन्, ‘कामना, प्रार्थना र शोकका लागि जानेहरु त भए । तर, जीवनदेखि दिक्क भएर जीवन–मरणको दोसाँधबाट विरक्तिएर जाने ठाउँ कतै नपाउँदा मन हल्का गर्न जानेहरुको जंकसन पनि हो पशुपति । म पनि जीवनको एकदमै कठिन समयको बेला भौतारिएर त्यहाँ पुगेको छु ।’

    भौतारिएर पशुपति पुगेका पात्रहरु नै भष्मे डन वा पशुपतिप्रसाद या दुर्गामाता हुन् । यिनै पात्रहरुलाई खनालले दुवै फिल्ममा मिलाएर उनेका छन् । खनाललाई लाग्छ, पशुपतिमा भेटिने बरालिएका पात्रहरु सानतिना हण्डर खाएर आएकै हुँदैनन् । पशुपति आफैंमा कथाहरुको सागर हो ।

    अनि खनालले पात्रहरुको माध्यमबाट देखाउन खोजेको पशुपति चाहिँ कस्तो हो ? खनाल सुनाउँछन्, ‘राजधानी भन्नसाथ आफैंमा संघर्षको थलो हो । राजधानीमै धार्मिक आस्थाको केन्द्र छ । अनि पात्रहरुले त्यहाँ देख्ने भनेकै आशा हो । त्यहाँ पुगेका पात्रहरु हण्डर खाएर पुग्छन् । अनि शरण पाइन्छ, जीवन चल्छ भन्ने एक किसिमको आशा सबैमा छ । त्यही देखाउन खोजेको हो ।’

    तपाईंका लागि चाहिँ मन्दिर के हो ?

    कतिपय मान्छेले मनको व्यथा सबैलाई भन्न सक्दैन । उनीहरुले व्यथालाई लुकाएर राखेका हुन्छन् । अनि मन्दिर भनेको चाहिँ मनको व्यथा लुकाएर पोख्ने ठाउँ हो ।

    घाट चाहिँ के हो ?

    जीवनभर भोगेका दुःख, दुःख पाउने गरी गरिएका काम, सम्पूर्ण लोभलालच शान्त हुन्छ घाटमा पुगेपछि । घाटमा गएर नियाल्न पाइन्छ, कसले के लगिरहेको छ ? बिदाइ त सबैको एकै किसिमको हुन्छ । घाट भनेको मान्छेलाई शुद्ध गर्ने ठाउँ हो ।

    सम्पत्ति ?

    सम्पत्ति केही होइन भन्ने पनि हो । अहिलेको युगमा सम्पत्ति सबैथोक हो पनि । अहिलेको समय सम्पत्तिबिना साधारण जीवन बाँच्छु भनेर सोच्न नसकिने भयो । म सादा जीवन बाँच्छु भन्दा सुख नपाउने भयो । मर्दा पनि सम्पत्ति नभईकन राम्रो मरण नहुने भयो । मर्दाखेरि पनि सम्पत्ति चाहिने भयो । नत्र कसले जलाइदिने ?’

    ०००

    खनालले पशुपतिप्रसादका दुवै सिक्वेलमा लास पोल्ने पात्रहरु पनि प्रमुखताका साथ स्क्रिन दिएका छन् । तर, लास पोल्नेहरुका लागि लास जलाउनु चाहिँ कस्तो अनुभूति रहेछ ?

    खनाल सुनाउँछन्, ‘लास जलाउनु कसैको सौख हुँदैन । यो काम गर्न पाए हुन्थ्यो, गर्न पाइनँ भन्ने खालको काम होइन । त्यहाँ काम गर्नेहरुको बाध्यता हो । तर, बाध्यता भए पनि त्यो काम बडो पुण्यको काम हो ।’

    चलचित्र ‘पशुपतिप्रसाद’मा पशुपपतिप्रसाद बितेपछि उसको लास मितबाले जलाउँदैनन् । अर्को घाटेले जलाएका छन् । आफ्नो बा र हजुरआमाको वियोगमा पशुपति पुग्दा पनि खनालले लास जलाउने मान्छेहरुलाई नियालेका थिए । त्यसबेला पनि उनलाई लागेको थियो, त्यो उसको पेशा हो । साथै बाध्यता पनि होला ।
    खनाल भन्छन्, ‘तर, अलि टाढाबाट हेर्दा भने कसैको भौतिक शरीरलाई धरतीबाट अलग गरिदिनु बडो पुण्यको काम हो ।’

    खनालले फिल्म निर्माणको दौरान पशुपतिमा त्यस्ता मान्छेहरुलाई समेत भेटे, जसले पशुपतिमै सानातिना काम गरेर छोराछोरीलाई डक्टर, इन्जिनियर, आर्मीको अफिसर बनाएका छन् । तर, अहिलेसम्म बा आमाले भने त्यहीँ काम गरेका छन् ।

    खनालले उनीहरुलाई सोधेका थिए, ‘अनि अब त परिस्थिति फरक भएको छ । किन यही काम गरिरहनुभएको छ ?’

    उनीहरुको जवाफ थियो, ‘हाम्रो सन्तान पो त्यस्तो भयो । तर, हाम्रो धरातल त यही हो । हामी बाँचुन्जेल यहीँ बस्छौं ।’

    एउटा पुस्ता पशुपतिबाट उडेर कतै पुगिसक्यो । गुँड लगाउने पुस्ता त्यही गुँड वरिपरि नै छ । अर्काैथरी मान्छे भने कोही वृद्धाश्रममा ल्याइएका मान्छेहरु पनि भेटे खनालले । जो नदीपारी जलिरहेको लासहरु हेरेर दैनिकी कटाउँछन् ।

    ०००

    पशुपतिको घाटमा पनि लासहरुको वर्गिकरण हुन्छ । पैसा हुनेहरु माथिल्लो लहरमा भएका घाटहरुमा लास जलाउँछन् । मध्यम हुनेहरु अलि तल । अनि आर्थिक हैसियत अनुसार विस्तारै ओह्रालो लाग्छन् । पशुपतिमा लहरै जलिरहेको लास तलदेखि माथिसम्म हेर्ने हो भने पनि हाम्रो समाजमा कति ठूलो आर्थिक विभेद छ, प्रष्टै देख्न सकिन्छ ।

    यसैले त खनाल भन्छन्, ‘यहाँ मर्दा पनि पैसा चाहिन्छ । राम्रोसँग जलेर खरानी हुन पनि पैसा चाहिन्छ । मृत्युमा चाहिँ त्यसो नगरिदिए हुन्थ्यो । मलाई मृत्युको त्यो वर्गीकरणमा चित्त बुझेको छैन ।’

    ‘पशुपतिप्रसाद’मा खनालले लास पोलिएको कोइला काठको राजनीति पनि चुस्स देखाएका छन् । यथार्थमा भने ती कोइला काठहरु इँटा भट्टामा पुग्छन् । भट्टामा इँटा बन्छन् । ती इँटाले नयाँ घर बनाउँछ । नयाँ घरमा मान्छेहरु बस्छन् । उनीहरु कुनै दिन घाट पुग्छन् । उनीहरुलाई जलाएको कोइला काठले फेरि अर्को नयाँ इँटा पाक्छ ।

    खनाललाई यो एउटा साइकल शिवाय केही लाग्दैन । कोइला काठसँगै बागमती मन्दिरमा डुबुल्की मार्नेहरु पनि छन् । दुईवटा चप्पलले बालुवा छान्दै सुन खोज्नेहरु पनि छन् । टपरीमा फूलमाला बगाउनेहरु पनि छन् ।

    खनाललाई लाग्छ, पशुपतिमा बागमतीले जीवनको दुईवटा पाटो छुट्याएजस्तो लाग्छ । भन्छन्, ‘वारिको पाटोमा मान्छे वियोगमा हुन्छन् । आस्थामा हुन्छन् । पारिपट्टी भने धेरै खालका पेशामा हुन्छन् । व्यापार छ । श्राद्ध गर्नेदेखि हात हेर्नेसम्म छन् । चटपटे खानेदेखि चिया, कफी हुँदै डेटिङ जानेसम्म छन् । एकातिर अँध्यारो पाटो पनि छ । अर्कोतिर नवजोडीहरु डेट गएर जीवनको सुरुवात गर्न कम्मर कसिरहेको पाटो पनि छ ।’

    ०००

    खनालको तर्क छ, मान्छेहरु मन्दिर अप्ठ्यारो अवस्थामा जाने गर्छन् । खासमा मान्छेहरु स्वार्थी छन् । गाह्रो अवस्थामा भिख माग्न पुग्छन् । सजिलो अवस्थामा भने घाटसम्म पनि जाँदैनन् । आफू स्वयं भने एकदमै पातलो मात्रामा मन्दिर जाने गरेको खनाल सुनाउँछन् ।

    भन्छन्, ‘म नास्तिक होइन । म हात जोडेर भिख माग्ने पक्षमा छैन । जे काम गर्दा पनि भगवानलाई सम्झन्छु । र धन्यवाद मात्रै दिन्छु । माग्ने काम कहिल्यै गर्दिनँ ।’

    खनालको यिनै तर्क, धारणा, पात्र, दुःख, संघर्षहरुको गठजोड हो, ‘पशुपतिप्रसाद – २ भष्मे डन’ । खनालले पात्रहरुमार्फत् भन्न खोजेको पनि यिनै कुराहरु नै हुन् । तर, ‘पशुपतिप्रसाद’ बनेको सात वर्षपछि सिक्वेल बन्नु आवश्यकता हो कि ? कथाको माग हो कि ? दर्शकको माग हो कि ? भष्मे डन पात्रको लोकप्रियता हो ?

    खनाल भन्छन्, ‘यो अहिलेको आवश्यकता हो । हर मान्छे परिवर्तन हुन खोज्छ । रत्नाकर डाँकुबाट वाल्मिकी बन्छ । अहिले भष्मे डनमा परिवर्तन देखिन खोजेको छ । कोही मान्छे परिवर्तनको यात्रामा कसरी जान्छ भन्ने कथा हो यो फिल्म । अब उसको जिन्दगीको यात्रा के हो त ? के समाजले उसलाई परिवर्तन हुन दिन्छ ? यिनै कुराको सवाल जवाफ हो भष्मे डन ।

    व्यापारिक हिसाबले हेर्दा त ब्राण्ड बेच्न खोजेजस्तो देखिन्छ नि ?

    यदि त्यस्तो भए त सात वर्ष नै कुर्दैन थियौं नि हामी । अरु फिल्महरु आठ, नौ पुगिसके । ब्राण्ड बेच्न खोजेको भए खल्तीमा हात हालेर सात वर्षसम्म बस्दैन थियौं । हामीले राम्रो फिल्म बनाउने सोचेरै समय लगाएका हौं ।

    ०००

  • ‘परदेशी २’लाई दर्शकको साथ

    ‘परदेशी २’लाई दर्शकको साथ

    काठमाडौं । नेपाली चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको साथ पाएको छ ।

    शुक्रवारबाट प्रदर्शनमा आएको गरेको चलचित्रले शनिवार धेरै हलमा हाउस फुल दर्शक पायो ।

    हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् ।

    अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरूले चलचित्रले हँसाउने, रुवाउने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् ।

    शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ ।

    निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीम उत्साहित रहेको बताउँछन् ।

    ‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउस फुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’

    निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

    चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।

    निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।

  • एमाले अध्यक्ष ओलीलाई ‘परदेशी-२’ को गीत मन परेपछि …

    एमाले अध्यक्ष ओलीलाई ‘परदेशी-२’ को गीत मन परेपछि …

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष गीत संगीत तथा मनोरञ्जन क्षेत्रमा रुचि राख्छन् । उनले बेला बेलामा आएका विभिन्न गायक गायिकाहरुका रचनाहरुलाई खुलेर प्रशंसा गर्ने गरेका छन् ।

    यसै क्रममा शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी–२’को गीत मन परेको भन्दै आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।

    उनले ‘परदेशी छुकछुके रेलैमा’ झ्याउरे भाकाको गीतको कलीप शेयर गर्दै लेखेका छन्, ‘यो गीत सञ्जालहरुमा निकै बजेको सुन्छु र हेर्छु । प्रकाश सपुतको पहिलो फिल्म परदेशी–२ को गीत त यति मीठो, फिल्म कति राम्रो होला ?’

    चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी तथा वर्षा शिवाकोटीलगायतको अभिनय रहेको छ ।

  • घाम-छायाँबीच अविरल वर्षा

    घाम-छायाँबीच अविरल वर्षा

    काठमाडौं । पुक्क गालासहितको ‘बेबी फेस’ भएकी वर्षा  शिवाकोटीलाई ठूली भइसक्दा पनि लाग्थेन कि उनी एक दिन सिनेमाको ‘हिरोइन’ बन्नेछिन् । उनलाई त बैंकमा जागिर खानु थियो र खनखनी पैसा गन्नु थियो । कम्तीमा ब्रान्च म्यानेजर बन्नु थियो ।

    जिन्दगी यस्तो नाटकीय यात्रा हो, जहाँ कतिबेला के ट्विस्ट आइदिन्छ, यात्रीलाई नै पत्तो हुँदैन । तपाईं सोच्नुहुन्छ एउटा, भइदिन्छ अर्को । परिस्थितिअनुसार आफूलाई बदल्दै, लड्दै-उठ्दै अनवरत हिँडिरहनु नै त जिन्दगी ।

    वर्षाको जीवन अनेक घामछायाँहरुले भरिएको छ । कक्षा १२ मा पढ्दै गर्दा वर्षा र उनको परिवारलाई ठूलो बज्रपात पर्‍यो । उनले आफ्नो बुवालाई सधैंका लागि गुमाइन् । बुवाको हात समातेर बेफिक्री हिँडिरहेका उनका पाइलाहरु एकाएक गहु्रंगा भए । जसोतसो सम्हालिँदै उनी अघि बढिन् ।

    बीबीए पढ्दै गर्दा वर्षाको कलेजमा एउटा सौन्दर्य प्रतियोगिता आयोजना भएको थियो । उनलाई मन त थिएन तर ‘क्याप्टेन’ भएकाले भाग लिनैपर्ने भयो । त्यो बेला उनलाई ढंगले हिँड्न पनि आँउदैनथ्यो । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा के प्रस्तुति दिने भन्नेमा समेत उनी अन्योलमा परेकी थिइन् ।

    नाचमा थोरबहुत रुचि भएकाले वर्षाले ट्यालेन्ट राउन्डमा नृत्य देखाउने सोच बनाइन् । कलेजको स्टेजमा पहिलो पटक नाचिन् उनी । उनको उक्त नृत्य देखेपछि कलेजमा डान्स सिकाउन बोलाइएकी कोरियोग्राफर प्रतिमा श्रेष्ठले उनलाई सोच्दै नसोचेको प्रस्ताव राखिन् । प्रस्ताव थियो- चलचित्रमा अभिनय गर्ने । वर्षाले हँसीमजाक होला भन्ठानेर हचुवामै ‘ओके’ भनिदिइन् । तर, यो हँसीमजाक थिएन ।

    करिब एक महिनापछि उनलाई उनै प्रतिमाको फोन आयो । एउटा राम्रो ब्यानरबाट फिल्म खेल्ने अफर थियो । वर्षाको मन हलहल भइदियो । त्यतिबेला अहिलेको जस्तो स्क्रिन टेस्ट गर्ने चलन थिएन । जे त होला भनेर उनले प्रस्ताव स्वीकारिन् ।

    त्यसलगत्तै वर्षालाई सीधै छायाङ्कन सेटमा लगियो । त्यहाँ पुग्दा त उनी आत्तिइन् । कहिल्यै नदेखेका ठूला–ठूला क्यामरा र मान्छेको ठूलो जमात । आँखै तिल्मिलाए उनका । प्रियंका कार्कीलाई अगाडि देख्दा झनै नर्भस भइन् ।

    विगतमा फर्किंदै वर्षा सुनाउँछिन्, ‘भाग्य भनौं या संजोग, नाइँ नभन्नु ल-२ की मुख्य बाल कलाकार सुज्ञानी भट्टराईको अनुहार मसँग मिल्दोजुल्दो रहेछ । मलाई ठूली सुज्ञानीको भूमिका दिइएको थियो ।’

    टीम मेम्बरहरु उनलाई देख्नासाथ हौसिएका थिए । ‘वाउ… हामीले खोजे जस्तै मान्छे भेट्यौं’ भनिरहेका थिए । यता वर्षाको मन भने थरथर काँपिरहेको थियो । अभिनय गर्नसक्छु भन्ने आत्मविश्वासै जागिरहेको थिएन ।
    निर्देशक विकासराज आचार्यले उनलाई प्रेरित गरे । कहिल्यै क्यामरा फेस नगरेकी युवतीलाई विश्वास गरेर अवसर दिएका थिए उनले । निर्देशकले स्क्रिप्ट थमाएपछि वर्षाले थाहा पाइन्, भूमिका डाक्टरको थियो । ग्ल्यामरस रोल गर्नभन्दा डाक्टरको रोल गर्न उनलाई सहज हुन्थ्यो । ‘डाक्टर बन्ने’ परिवारले पनि भनेपछि कुनै अब्जेक्सन गरेनन् ।

    तर, पहिलो पटक क्यामरा फेस गर्दा वर्षाको सातो नै गयो । त्यसमाथि सीन थियो उस्तै । पहिलो टेकमा नै कसैलाई सम्झिएर कुत्कुतिँदै हाँस्नुपर्ने । त्यो पनि थोरै होइन, पाँच मिनेटसम्म निरन्तर ।

    त्यो क्षण सम्झिँदै भन्छिन्, ‘कहिल्यै क्यामरा फेस नगरेको यस्तो अन्डर-कन्फिडेन्ट मान्छे म । पहिलो टेक नै यस्तो गाह्रो थियो । पाँच मिनेट क्यामरामा हेरिहेरि कसरी हाँस्नु म ?’

    उनले त्यो सीन मरिगए गर्न सकिनन् । निर्देशकले त्यसलाई क्यान्सिल गरेर पछाडिको पार्ट गराए । अरु सबै छायाँकन सकिएपछि अन्तिममा सुटिङ गरियो, कुत्कुतिने सीन । त्यसबेलासम्म वर्षाको कन्फिडेन्ट बढिसकेको थियो । निर्देशकले चाहे जस्तो गरी कुत्कुतिइन् ।

    ‘नाइँ नभन्नु ल २’ को सुटिङ सकिँदासम्म वर्षालाई अभिनयको चस्का परिसकेको थियो । अझै राम्रो गर्न सक्छु भन्ने हुटहुटी बढिसकेको थियो । पहिलो फिल्मबाटै सफलताको रमरम स्वाद पनि चाखिन् उनले । अन्ततः बैंकर बन्ने सपनालाई सिरानीमुनि हालेर कलाकारिताको दहमा पौडिन थालिन् ।

    पहिलो चलचित्र गरेपछि उनलाई म्युजिक भिडियोका अफरहरु आए । म्युजिक भिडियोले राम्रै कमाइ पनि हुन्थ्यो । पढाइ र अभिनयलाई सँगै डोर्‍याउँदै गर्दा २०७२ सालको भुईंचालोले उनको करिअरमा अलिकति ब्रेक लाग्यो । केही समय कामविहीन भइन् । भूकम्पको त्रास सकिनासाथ उनलाई ‘पशुपतिप्रसाद’ बाट अफर आयो । यसमा उनलाई छानिनुको कारण पनि रोचक नै छ ।

    त्यस फिल्मका मेकरहरुले ‘झट्ट हेर्दा लाटी लाटी देखिने’ युवतीको खोजी गरिरहेका रहेछन् । खगेन्द्र लामिछानेलाई कसैले वर्षाको नाम सिफारिस गरिदिएछ । वर्षालाई पहिलोपटक देखेपछि खगेन्द्रले ओके गरिदिए ।

    उनी हाँस्दै भन्छिन्, ‘खगेन्द्र दाइलाई कसैले ‘नाइँ नभन्नु ल २’ मा खेल्ने एउटा केटी हेर्दै लाटी जस्ती छ, एकचोटी बोलाएर हेरौं भनेर रिकमेन्ड गर्दिनुभएको रहेछ । पछि म कुरा गर्न जाँदा पनि खगेन्द्र दाइले मलाई हेरेर धेरैबेर विचार गर्नुभयो रे ! उहाँलाई पनि म साँच्चिकै लाटी जस्तो लागेपछि चलचित्रका लागि म ओके भएँ ।’

    ‘पशुपतिप्रसाद’ मा वर्षाको रोल झनै सानो थियो । तर, पनि ‘नोटिसेबल’ थियो । चलचित्रको चर्चासँगै छोटै रोलबाट पनि वर्षा चिनिइन् । उनले बुझिन्, दर्शकको नजरमा पर्न रोल ठूलो होइन, ‘विशेष’ हुनुपर्छ ।

    तर, अहिलेसम्मको यात्रामा वर्षाले त्यस्तो ‘विशेष’ भूमिका कमै पाएकी छन् । पहिलो र दोस्रो फिल्म हिट भएपछि त्यसपछि उनलाई असफलताले पछ्याइरह्यो । धेरै फिल्मबाट ठक्कर खाइन् उनले । तर, हार भने खाइनन् । नेपालमा भविष्य नदेखेर थुप्रै कलाकारहरु विदेशिए । कसैले पेशा परिवर्तन गरे । तर, वर्षा भने अविरल लागिरहेकी छन् । उनलाई हिट-फ्लप भन्दा पनि दर्शकको मनमष्तिस्कमा बस्नु छ ।

    वर्षाले अभिनय गरेको पछिल्लो फिल्म ‘परदेशी २’ भर्खरै प्रदर्शनमा आएको छ । यो चलचित्रबाट निकै आशावादी छिन् उनी । प्रकाश सपूत र केकी अधिकारीसँगको सहकार्य उनका निम्ति विशेष स्मरणीय रह्यो ।

    परदेशी टीमबाट प्रस्ताव आउँदा वर्षाले फ्याट्टै ओके गरेकी थिइन् । हिट फिल्मको सिक्वेल भएकाले उनलाई यसबारे सोच्न धेरै समय लागेन । यसै चलचित्रबाट गायक प्रकाश सपूत नायक बनेका छन् । डेब्यु चलचित्रलाई लिएर प्रकाश सपूतको अनुहारमा देखेको रौनक र उत्साहले वर्षालाई आफ्नो विगतमा फर्काएको थियो । प्रोजेक्टलाई लिएर सबै टीम मेम्बरको अनुहारमा चिन्ता अनि तनाव भरिँदा सपूत भने बिन्दास देखिन्थे ।

    ‘परदेशी २’ चार वर्षअगाडि छायांकन भएको चलचित्र हो । यति लामो पर्खाइपछि अन्ततः चलचित्र रिलिज भएको छ । प्राविधिक हिसाबले हेर्ने हो भने यो अन्तरालमा धेरै कुरा परिवर्तन भए । तर, वर्षा यसै कुरालाई चलचित्रको विशेषता मान्छिन् । चलचित्रमा देखाइएको मौलिकपनाले दर्शकको मन जित्नेमा उनी ढुक्क छिन् ।

    टीमसँग बसेर चलचित्र हेर्दा उनी आफैं भावुक भएकी थिइन् ।

    ‘यस्तो राम्रो बन्यो होला भन्ने मैले कल्पना पनि गरेकी थिइनँ । बाध्यताले होस् या रहरले, अहिले हरेक घरका कोही न कोही सदस्य विदेशिनुभएको छ । चलचित्रमा उहाँहरुकै कथा समेटिएको छ । जे होस्, दर्शकको मन छुने बनेको छ चलचित्र’, उनले भनिन् ।

    ०००

    अब फेरि व्यक्तिगत जीवनका कुरा । बुवा बितेपछि वर्षाका दाइ पनि अमेरिकातिर भासिए । त्यसयता परिवारको दायित्व पनि उनको काँधमा आयो । परम्परागत रुपमा एउटा छोराले निभाउने जिम्मेवारी निभाउँदै आइन् उनले ।

    छोरीमान्छेले घरमा छोराको जिम्मेवारी निभाउनु चुनौतीपूर्ण हुने वर्षा बताउँछिन् ।

    ‘व्यक्तिगत र व्यवसायिक दुवै पाटोमा संघर्ष गर्नुपरेकाले जिन्दगीमा धेरै असन्तुलनहरु आए । घरमा जाउँ, घरको तनाव । बाहिर आउँ, यताको तनाव’, उनी भन्छिन्, ‘तर, खुसी लाग्छ, जब कसैले तारिफ गर्नुहुन्छ । हाम्रो समाज अझै पनि एउटा छोरीले सबै व्यवहार धान्छ है भन्ने कुरा मान्न तयार छैन नि त ! गरेर देखाउँदा पनि बारम्बार यो सबै मैले नै गरेको है भनेर पुष्टि गरिरहनुपर्छ । छोरीले मात्र पनि घर चलाउन सक्छन् भन्ने कुरा बुझाउन एकदमै गाह्रो छ ।’

    वर्षाको निजी जीवनमा फेरि अर्को ट्विस्ट आयो । उनको विवाह असफल भयो । विवाहपछि दाम्पत्य जीवनको वास्तविक अनुभूति लिन नपाउँदै सम्बन्ध विच्छेद गरिन् उनले । यो पीडादायी निर्णय लिनुपर्ने अवस्थामा कसरी पुगिन् ? यसभित्रको अन्तरकथा उनैलाई थाहा होला । तर, सबैका सामु पोखेर सहानुभूति बटुल्नु छैन उनलाई । जे भयो, सकियो । उनलाई मिडियाले यति चाहिँ फेवर गरिदिऊन् जस्तो लाग्छ कि डिभोर्सको घाउ नकोट्याइदिऊन् । उनी केही पनि स्पष्टीकरण दिन चाहन्नन् ।

    विगतमा घटेका हरेक घटनाहरुलाई एउटा पाठ सम्झेर अगाडि बढ्न सके जिन्दगी सरल अनि सहज हुने वर्षाको मान्यता छ ।

    ‘जिन्दगीमा अगाडि गरेका कामहरुबाट पश्चाताप नहुने व्यक्ति सायदै नहोला । मलाई पनि छ । केही समय अगाडिसम्म पनि मैले गरेका केही कामहरु सम्झिँदा मलाई पछुतो लाग्थ्यो’, उनले भनिन्, ‘तर, अहिले ती सबै कुरालाई एउटा पाठको रुपमा लिन्छु । त्यो नभएको भए अहिले यो हुँदैन थियो भन्ने लाग्छ । त्यो मान्छे नभेटेको भए अहिले यो निर्णय लिदिनँ थिए होला भन्ने हुन्छ । जिन्दगीमा जे पनि भयो, त्यसमा म खुसी छु’, उनी भन्छिन् ।

    वर्षा अहिलेको ‘टप’ नायिकामा पर्दिनन् । तर, उनको आफ्नै छवि छ नेपाली चलचित्रमा । अन्य हिरोइनभन्दा केही न केही पृथक नै छिन् । अन्तरमुखी स्वभावकी वर्षा युट्युबर अघिपछि लिएर हिँड्दिनन् । आफ्नो विषयमा आउने गसिपहरुलाई जवाफ दिएर पनि बस्दिनन् । नो रियाक्सन इज बेस्ट रियाक्सन भन्ने सिद्धान्तलाई पछ्याएर हिँडेकी छन् वर्षाा । उनी मिडियामा कम देखिने नायिकाहरुमध्येमा पर्छिन् । प्रोजेक्टबाहेकका अन्य व्यक्तिगत कुराहरु लिएर मिडियामा छाइराख्न उनलाई मन पर्दैन ।

    ‘अनावश्यक निजी कुरा गर्न मिडियामा आउनुपर्छ जस्तो मलाई लाग्दैन’, वर्षा भन्छिन्, ‘दया दाइ, सौगात दाइहरुलाई नै हेरौं न ! कामको सिलसिलामा बाहेक अरु बेला खासै मिडियामा आउनुहुन्न । तर, उहाँहरुकै चलचित्रहरु हिट छन् ।’

    ‘मैले किन बोल्ने ? आज म कुनै कुरामा आफ्नो स्पष्टीकरण दिन्छु, त्यो कुरामा भोलि तीन जनाले आफ्नो प्रतिक्रिया दिनुहुन्छ । मैले फेरि उहाँहरुको कुराको खण्डन गर्नुपर्‍यो । बेकारमा कुरा लम्बिइरहन्छ । त्यसैले होस् भन्ने लाग्छ । जो मेरो शुभचिन्तकहरु हुनुहुन्छ, उहाँहरुलाई मैले केही कुराको स्पष्टीकरण दिनै पर्दैन । अरुलाई स्पष्टीकरण दिएर कामै छैन’, वर्षा बर्सिन्छिन् ।