Category: कलाप्रेस

  • पशुपतिप्रसाद- २ मा लर्खराएको भष्मे डन

    पशुपतिप्रसाद- २ मा लर्खराएको भष्मे डन

    लौ फिल्म त सकिएछ– आर्थिक पत्रकार समाजका केन्द्रीय अध्यक्ष सुजन ओलीले भने ।
    हैन साच्चै सकिएछ पो– पत्रकार गोकर्ण भण्डारीले थपे ।

    म चाहिँ अझै पनि पर्दामा नियाल्दै रहेछु, भष्मे डन त्यो भिरबाट उठेर आउने प्रयासमा छ भनेर । किनभने हलको पर्दामा दुईवटा हातका पञ्जाहरू भिरबाट माथि उठिरहेका थिए ।

    पर्दामा अक्षरहरूको लस्कर देखिन थालेपछि बल्ल म पनि झस्किएँ फिल्म त साँच्चै सकिएछ ।

    ०००

    ‘पशुपतिप्रसाद- २ भष्मे डन’ चरिकोटको हलमा चलेकै दिन हेर्ने योजना पत्रकार जीवन लामा, गोकर्ण भण्डारी र मैले झण्डै एक हप्ताअघि देखि बनाएका हौं । कार्तिक- ४ अर्थात फूलपातीको दिन फिल्म चल्ने भएकोले म त्यो दिन बिहानै सातदोबाटो चोकमा निस्किए । जीवन लामा कतै घुम्न गएकोले ऊसँग भेट भएन । दसैँको लागि घर आएका आर्थिक पत्रकार समाजका केन्द्रीय अध्यक्ष सुजन ओली र गोकर्ण भण्डारीसँग चोकमा भेटेपछि हामी कफी पिएर हलतिर लाग्यौं ।

    लेखक मास्के ।

    ‘पशुपति प्रसाद- २ भष्मे डन’ यसरी सुरू भयो कि प्रत्येक दृष्य र संवादपछि अब के होला भन्ने जिज्ञासा लागि नै रहने । यसका लेखक दीपेन्द्र के खनालले पशुपतिप्रसाद- ३ को तयारी फिल्मको सुरूदेखि नै गरेको प्रष्ट हुन्छ । खगेन्द्र लामिछानेले ‘पशुपतिप्रसाद- २ भष्मे डन’ को कथा लेख्दै गर्दा नै अर्को सिक्वेलको परिकल्पना गरिसकेका रहेछन् । खुलेरै भन्दा लेखक खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल मिलेरै दर्शकलाई कौतुहलताको कुतकुतीमा हुत्याउँदै पशुपतिप्रसाद- ३ हेर्ने वातावरण बनाउँदै छन् ।

    पत्रकार सुजन, गोकर्ण र मैले फिल्म चल्दा चल्दै हलमै घोषणा गर्‍यौं अब पशुपतिप्रसाद- ३ आउँछ, आउँछ । नाम चाहिँ के राख्ने हो फिल्म निर्माण टीमले हामीसँग सल्लाह मागे त्यतिबेलै भन्ने छौं ।

    एउटा कुरा प्रष्ट भनौं, अब भष्मे डनको क्रेज चाहिँ रहँदैन । पशुपति प्रसादमा विपीन कार्कीले भष्मे डन पात्रमा जसरी न्याय गर्न सकेका थिए ‘पशुपतिप्रसाद- २ भष्मे डन’ मा त्यो रफ्तार देखिएन । कतै फिल्मको नाममै भष्मे डन जोडिएपछि विपीन कार्कीलाई आफूले निभाएको पात्रको चरित्रमा न्याय गर्ने बेला डर त पैदा भएन ? प्रश्न कलाकार विपीन कार्कीतिरै । तर, अब पशुपतिप्रसाद- ३ मा भष्मे डन चाहिँ नजोडौं, सुझाव छ ।

    भष्मे डन, पशुपतिप्रसाद- २ मा अलि बढी काल्पनिक, अलिबढी बनावटी र अलिबढी असहज लागेका हुन् की ! दर्शकले आशंका गर्न पाए नि । फेरि पनि सिंगो फिल्ममा भष्मे डन पात्रकै अब्बलता प्रष्ट छ । अब दर्शकले विपीन कार्कीसँग अलि बढीनै अपेक्षा गर्न थालेका छन्, त्यसैले भष्मे डन पात्रमा उनको भूमिकामा थोरै प्रश्न उठाएका छन् । तर, उनले भष्मे डन पात्रमा प्रस्तुति र पहिरनको हिसाबले कहीँ कतै अन्याय गरेका भने छैनन् ।

    त्यसो त अभिनयको हिसाबले सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ सबै ठीक छन् । तर, पात्रअनुसारको अभिनयमा सौगात मल्ल पनि चुकेका हुन् की ? अनि वर्षा शिवाकोटीलाई भूमिकामै अन्याय गरिएको हो कि ? यो पनि लेखक र निर्देशकसमक्ष जिज्ञासा बनेको छ दर्शकको ।

    जे होस् फिल्मको प्रस्तुति र कथावस्तु समसामयिक तथा दमदार लाग्दछ । ‘पशुपतिप्रसाद’ भित्र पशुपतिनाथ मन्दिरमा पीडासँग विवशता खोज्ने पशुपतिप्रसाद, भष्मे डनजस्ता पात्रले जीवन तन्काउन गरेको संघर्ष उतार्न सफल खनाल र लामिछाने ‘पशुपतिप्रसाद– २ भष्मे डन’ मा जीवन तन्काउन बालबालिकाको लागि गरिने सौदा, आफ्नाबाट पाइने धोखाजस्ता विषय दर्शकमाझ पुर्‍याउन सफल भएका छन् ।

    बाबु-आमाविनाको छटपटी र छोरा–छोरीको मायामा पीडितको नियति तथा पीडकको नियतले फिल्मका पात्रहरूलाई चलाएको छ । आफ्नाको लागि गरिएको दुष्कर्म र आम्दानीको लागि गरिएको दुष्कर्मले आखिर परिणाम त एउटै ल्याउँदो रहेछ नि । भष्मे डन (विपीन कार्की) ले बाबु चिन्न र नागरिकता बनाउन पैसा जोहो गर्नु थियो । कालीबहादुर (सौगात मल्ल) ले मृत्यु भएको छोरीको शव अस्पतालबाट निकालेर सांस्कृतिक परम्पराअनुसार सदगद गरी छोरीको मुक्तिको लागि पैसाको जोहो गर्नु थियो ।

    दुवैलाई पैसा चाहिएको, दुवैको पीडा उस्तै र दुवैको पैसा कमाउने नियत उस्तै । फिल्मको कथामा नेपालीले भोगिरहेको नागरिकता समस्या र अधिकांश स्वास्थ्य संस्थाले गरिरहेको लुटको खेतीलाई बडो उर्वर ढङ्गले प्रस्तुत गर्न सकेका छन् निर्देशक दीपेन्द्र के खनालले र आम नेपालीले सधैँ भोगिरहेको पीडालाई बडो मार्मिक ढङ्गले उधिन्न सकेका छन् लेखक खगेन्द्र लामिछानेले ।

    डनगिरीमा रमाउने जमातलाई पनि गतिलो शिक्षा छ ‘पशुपतिप्रसाद– २ भष्मे डन’ मा । डनगिरीमा आफ्नैबाट चाहिँ कति सुरक्षित हुन सकिन्छ वा अरुको पसिनामा मस्ति गर्ने कर्मले अन्तत: कता लान्छ भन्ने जवाफ छ ‘पशुपतिप्रसाद– २ भष्मे डन’ मा ।

    ‘पशुपतिप्रसाद- २ भष्मे डन’को कथाले सिक्वेल खोजेकै हो । यसका केही उदाहरण–

    दुर्गामाता बस्ने कोठामा के छ ? जहाँ माया साटिएको मुटु भष्मे डनले समेत इन्ट्री पाउँदैनन् । भष्मे डनका मु– बोला बाउले बालगृह चलाउने संस्था प्रमुखसँग किन पैसाको कुरा गरिरहेका छन् ? भष्मे डनसँग छलिएर । भष्मे डनको बुबासँग भेट हुने र नागरिकता पाउने कुरा कैले हुन्छ ? कालीबहादुरको छोरीको मृत्यु कसरी भयो ? उनको छोरी अस्पताल कसरी पुगिन् ? र उनकी श्रीमती चाहिँ कहाँ छिन् ? उनको श्रीमतीलाई छोरीको मृत्यु भएको खबर छ कि छैन ? भष्मे डन र कालीबहादुर भिरबाट कसरी बचेर निस्कन्छन् ? उनीहरू बीच कुराकानी हुन्छ कि हुदैन ? आपसमा पीडा साटेर दुष्कर्मको विरुद्ध संयुक्त प्रतिवाद गर्छन् कि गर्दैनन् ?

    उल्लेखित उदाहरणको जवाफले नै सिक्वेल मिलाउँछ पशुपतिप्रसाद- ३ को लागि । त्यो सिक्वेलअनुसार कथावस्तु कसरी अगाडी बढ्छ, कुन-कुन पात्र आवश्यक पर्छन् र पुशपतिप्रसाद प्रकरणको अन्त्य कसरी हुन्छ त्यसको जिम्मा दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेलाई ।

    अहिले यति भनौं ‘पशुपतिप्रसाद- २ भष्मे डन’ एउटा सन्देशमूलक तथ्य कथाको छाया चित्र हो । यसले नेपाली समाजमा विभिन्न क्षेत्र र व्यवसायमार्फत भित्रिँदै गरेको विकृतिलाई उजागर गरेको छ । नेपाली फिल्मी क्षेत्रमा यसले नयाँ रेकर्ड बनाउन सकोस् शुभकामना !

  • समीक्षादेखि दीपकसम्म- कसले कसरी मनाउँदै छन् दसैँ ?

    समीक्षादेखि दीपकसम्म- कसले कसरी मनाउँदै छन् दसैँ ?

    काठमाडौँ । दसैँ भन्नेबित्तिकै धार्मिक आस्था र परम्परा अनुसार पूजा आराधना गर्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रूपमा लिइन्छ । काम विशेषले जन्मथलोबाट टाढा रहेका पनि दसैँकै बहानामा आफ्नो गाउँघर फर्किने गर्छन् भने आफन्तसँग बसेर रमाउँछन् । यही परिवेशमा सधैँ व्यस्त रहने कलाकार कोही आफ्नै क्षेत्रमा व्यस्त छन् । कोही जन्थलोमा पुगेर दसैँ मनाइरहेका छन् । कलाकारले दसैँ कसरी मनाइरहेका छन् त ?

    दीपकराज गिरी

    कलाकार दीपकराज गिरी यस वर्षको दसैँलाई सामान्य किसिमले मनाइरहेको बताउँछन् । गिरी शाकाहारी भएको १५ वर्षभन्दा बढी भइसकेकाले उनी मासुजन्य पदार्थबाहेक अरु खानेकुरामा रमाउँछन् ।

    उनले नेपाल प्रेससँग भने, ‘मेरो दसैँ काठमाडौं भित्रै भए पनि अलिकति रिङरोड भन्दा टाढा चन्द्रागिरीमा गाउँमा मनाइरहेको छु । यहाँ परिवार, आफन्त र बालपनका साथीभाइ भेला हुने रमाउने गरिरहेको छु । मदिरापान धेरै गरिदैँन । सामान्य वियर खाएर रमाइलो गरिरहेको छु । दसैँमा लागेका सबै चलचित्र पनि हेरेर सकियो । दसैँमा पनि आफ्नो चलचित्र हलमा चलचित्र हल सञ्चालन तथा प्रमोशन गरिरहेको छु ।’

    सुरक्षा पन्त

    नायिका सुरक्षा पन्त यस वर्षको दसैँमा एकदमै फरक ढङ्गले मनाइरहेकी छन् । मानव सुवेदीसँग यसै वर्ष विवाह बन्धनमा बाँधिएकी उनी श्रीमान्‌को परिवारसँग पहिलो पटक झापामा दसैँ मनाइरहेकी छन् ।

    उनले भनिन्, ‘विवाहपछिको मेरो पहिलो दसैँलाई नयाँ परिवारसँग मनाउँदा विशेष भइरहेको छ । एक हप्तादेखि यतै छु । नयाँ परिवारमा दसैँ मनाउन पाइदाँ एकदमै नयाँ र रमाइलो महशुस गरिरहेकी छ ।’

    सामान्यतया चलचित्र छायाँकनमा बेला झापातिर पुगे पनि यसरी झापाका भित्री गाउँ घुम्न नपाएकाले अहिले घुमघाम पनि गरिरहेको उनले बताईन ।

    समीक्षा अधिकारी

    गायिका समीक्षा अधिकारी आफ्नो जन्मघर कास्कीको माछापुच्छ्रे गाउँपालिका एकमा रहेको घरमा फूलपातीकै दिन पुगिसकेकी छन् । उनी आफ्ना हजुरआमा बुवा, आमा दाइ लगायत आफ्न्तको हातबाट टीका लगाउने तयारीमा छन् । यद्यपि उनकी दिदी सर्मिला अधिकारी नेपाल बाहिर भएकाले अलिकति नरमाइलो भने महसुस गरिरहेकी छन् ।

    उनले भनिन्, ‘दसैँको मौकामा घर आएर गाउँघरमा साथीभाइसँग रमाइरहेकी छु । टीकाको दिन हजुरआमा, बुवा, आमा र दाइ तथा आफन्तबाट टीका लगाउँछु । यस वर्ष दिदी घरमा नभएकाले अलिकति नरमाइलो महसुस गरिरहेकी छु ।’

    दसैँमा घर पुगेका बेला उनी फुर्सद निकालेर टिकटकमा लाइभ बस्ने, मोवाइलबाट फोटो खिच्ने, भिडियो बनाउने काम गरेर पनि रमाइरहेकी छन् ।

    उनले थप्दै भनिन्, ‘गाउँमा यसै पनि रमाइलो नै हुन्छ । गाउँको हरियाली बातावरण देखेपछि फोटो खिच्न, भिडियो बनाउन सारै मन पर्छ र त्यो पनि गरिरहेकी छु । बेला–बेलामा टिकटकमा लाइभ पनि बस्ने गरेकी छु ।’

    एक सातापछि काठमाडौं फर्किएर डोल्पा, इटहरीलगायतका ठाउँमा आयोजित मेला महोत्सवमा सहभागी हुने उनको तालिका छ ।

    खगेन्द्र लामिछाने, अभिनेता तथा लेखक

    अभिनेता तथा लेखक खगेन्द्र लामिछाने यस वर्ष आफ्नो जन्म घरमा गएका छैनन् । जन्मघर स्याङ्जा भए पनि आफ्नो चलचित्र ‘पशुपति प्रसाद २ः भस्मे डन’ को प्रदर्शन सुरु भएका कारण काठमाडौँमै बसिरहेका छन् । यस वर्ष परिवारमा टीका नहुने भएकाले घर नगएको उनले बताए ।

    आस्था राउत, गायिका

    गायिका आस्था राउत अष्टमीदेखि नेपालको पूर्वी क्षेत्रमा सुरु हुने भएको साङ्गीतिक भ्रमणमा छन् । उनको नयाँ गीत ‘लै बरी लै’ घटस्थापनाको दिन सार्वजनिक भइसकेको छ ।

    उनले भनिन, ‘दशमीका दिन फिदिममा दशमी मेला समितिले आयोजना गर्ने महोत्सवमा प्रस्तुति दिँदैछु ।’

  • धनुषाको सबैलामा टिकटकस्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा, प्रहरीद्वारा लाठीचार्ज

    धनुषाको सबैलामा टिकटकस्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा, प्रहरीद्वारा लाठीचार्ज

    जनकपुरधाम । धनुषाको सबैला बजारस्थित दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पुगेकी  टिकटकस्टार प्रिती पासवानमाथि ढुंगामुढा भएको छ ।

    युवाहरुले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोजेपछि ढुुंगामुढा गरेको बुझिएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

    स्रोतका अनुसार ढुंगामुढाबाट प्रिती पासवानसहितका कलाकारलाई चोट लागेको छ । हुलदंगापछि कलाकार पासवान चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । प्रहरीको लाठी चार्जबाट पनि दर्जनौं व्यक्ति घाइते भएका छन् ।

    धनुषाका डिएसपी रञ्जन अवाका अनुसार प्रहरीले कलाकारहरुलाई सुरक्षित स्थानमा लगेका छन् । अहिले प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयासमा छन् ।

    आश्रुग्यास प्रहार वा हवाइ फायरबारे अहिले जानकारी नआएको डिएसपी अवाले जानकारी दिए । उनले ढुंगामुढाबाट तीन प्रहरी घाइते भएको र थप विवरण आउँन बाँकी रहेको बताए ।

  • सुरक्षा पन्तको अभिनय रहेको रतन देवकोटाको ‘देश छोड्नेको लर्को’ सार्वजनिक (भिडियो)

    सुरक्षा पन्तको अभिनय रहेको रतन देवकोटाको ‘देश छोड्नेको लर्को’ सार्वजनिक (भिडियो)

    काठमाडौं । सञ्चारकर्मी तथा लेखक रतन देवकोटाले लेखन, निर्माण गरेको गीत ‘देश छोड्नेको लर्को’ सार्वजनिक भएकाे छ । स्वयम देवकोटा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र सञ्जीव बराइलीको एरेन्ज रहेको छ ।

    मानव सुवेदीले निर्देशन गरेको गीतको भिडियोमा सुरक्षा पन्त र टंक चौलागाईको अभिनय रहेको छ । गीतको सम्पादन सुवेदीले नै गरेका हुन् भने छायांकन सौगात धितालले गरेका छन् । गीत रतन देवकोटा युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

    गीतमा समग्र वर्तमान नेपाली समाजको वास्तविक चित्र देखाइएको छ । महिलाले न्याय नपाएको कुरादेखि भ्रष्टाचार र राजनैतिक बेइमानीको कुरा उठाइएका छन् । नाटकिय शैलीमा गितले युवाले देश छोड्नुका कारण उठाएको छ । नागरिक सरकार, राजनैतिक दल र कर्मचारी प्रणालीबाट हैरान भएको कुरा प्रस्तुत गरिएको देवकोटाले नेपाल प्रेससँग बताए । उनले भने, ‘सुसासनको प्रत्याभुत गर्न नसकेको कुरा उठाइएको छ । नेता मात्रै समस्या होइनन् । जनता स्वयं एक चोक्टा मासु र एक चुस्की रक्सीमा भुलेको कुरा पनि गितमा नाटकिए ढंगले प्रस्तुत गरिएको छ ।’

    विभिन्न जात जाति धर्म र समुदायलाइ प्रतिनिधी पात्रका रूपमा गितमा उभ्याइएको र देशमा गरिखाने सकारात्मक माहोल नभएपछि अधिकांश युवाले विदेशिले सपना देखि रहेका तथा देश छोड्नु धेरैको रहर होइन बाध्यता बनेको कुरा पनि समेटिएको छ ।

    सन् २०२० मा यो कस्तो शिक्षा हो ? गीतको सार्वजनिक गर्दै संगित क्षेत्रमा औपचारीक रूपमा प्रवेश गरेका देवकोटा ग्यालेक्सी टिभीमा कार्यक्रम निर्माता तथा प्रस्तोता छन् । विगत १० वर्षदेखि शिक्षा तथा मिडियामा सक्रिय रतन देवकोटा सङ्गीत कम्पोजर, गीतकार तथा गायक हुन् । शिक्षा क्षेत्रको बेथिति विसङ्गतिलाई सङ्गीतको माध्यमबाट व्यङ्ग्यात्मक रूपमा भन्दै आइरहेका छन् ।

    शिक्षा तथा सामाजिक विषयवस्तुमा कलम चलाउने देवकोटाले विभिन्न सामाजिक विषयवस्तु समेटिएका उनका थप गीतमा काम गरिरहेको देवकाेटाले बताएका छन् ।

  • ‘पशुपतिप्रसाद’ ले कमाएको साख भष्मे डनमा भष्म

    ‘पशुपतिप्रसाद’ ले कमाएको साख भष्मे डनमा भष्म

    ‘पशुपतिप्रसाद-२ भष्मे डन’ को प्रमोसनताका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले भनेका थिए, ‘सिक्वेल एउटा चरणमा गएर सकिन्छ । हलिउड सिक्वेल कस्तो मजाले बुन्दै गएको देखिन्छ र कति नम्बरसम्म यसको सिरिज जान्छ । हामी पनि यसको युनिभर्स बनाएर लैजाऔं भन्ने छ । निर्माताको रूपमा मेरो यो पछिल्लो समयको सोच हो ।’

    तर, लामिछानेले भनेजस्तो ‘पशुपतिप्रसाद’ को दोस्रो सिक्वेल मजाले बुनेर दर्शकलाई मोहित बनाउन भने फिल्म निर्माण टीम चुकेको छ । यसले अर्को सिक्वेल बन्ला कि नबन्ला ? संशय पैदा गरेको छ ।

    ‘पशुपतिप्रसाद’ ले ब्रान्डिङ गरेको ‘भष्मे डन’ दोस्रो सिक्वेलसम्म आइपुग्दा पात्रबाट रूपान्तरण भएको छ । युनिभर्स बनाएर लैजाँदा फिल्मको आफ्नै खाले सीमा र फैलावटहरू हुन्छन् । अघिल्लोभन्दा राम्रो फिल्म दर्शकलाई पस्कनुपर्ने चुनौति पनि हुन्छ । तर, ‘पशुपतिप्रसाद’ को तुलनामा दोस्रो सिक्वेल फितलो सावित भएको छ ।

    विपीन कार्कीले भष्मे डनको रूपमा मिहेनत गरेका छन् । स्वस्तिमाले पनि गेटअपमा मिहेनत गरेकी छन् । सौगातको पनि मधेशी पात्रको गेटअपमा मिहेनत छ । तर, डाइलग डेलिभरीले गैरमधेशी हो भन्ने देखाउँछ ।

    ‘पशुपतिप्रसाद’ मा ५० हजार ऋण तिर्न पशुपतिघाट आइपुगेको पशुपतिप्रसाद र भष्मे डनबीचको सघन द्वन्द्वले दर्शकलाई खिचेको थियो । तर, दोस्रो सिक्वेल भने भष्मे डनको भासिएको स्वरमा मात्रै केन्द्रित हुँदा फिल्म समस्याग्रस्त बनेको छ ।

    हो, भष्मे डन लोकप्रिय पात्र हो । कुनै पनि लोकप्रिय पात्रलाई फिल्ममा निरन्तरता दिँदा त्यसले व्यापारलाई सहयोग गर्छ नै । तर, चुनौतीहरू पनि थपिएर आउँछन् । उक्त पात्रमार्फत् दर्शकलाई पुनः नयाँ स्वाद दिन सक्नुपर्छ । नयाँ रोमाञ्चकता सृजना गर्न सक्नुपर्छ । रोमाञ्चकता विनाको पात्रको ओज हराउन थाल्छ ।

    दोस्रो सिक्वेल भष्मे डनले झेल्ने समस्या र तनावहरूमा केन्द्रित छ । नयाँ पात्र थपिएका छन् । मुख्यरूपमा कालिप्रसादको भूमिकामा सौगात मल्ल, दुर्गा माताको रूमा स्वस्तिमा खड्का । बाँकी पुरानै पात्रहरूको निरन्तरता छ । र फिल्मको संरचना, रचना ‘पशुपतिप्रसाद’ कै निरन्तरता छ । ‘पशुपतिप्रसाद’को समापन र सुरूवात जे छ, त्यसबाट दोस्रो सिक्वेल बाहिर निस्कन सकेको छैन । जस्तो ‘कबड्डी’ सिरिज छ । ‘कबड्डी’ सिरिजमा चारवटा फिल्म आए । तर, संरचनाको हिसाबले चारमध्ये एउटा फिल्म हेरे पुग्छ । ‘भष्मे डन’ त्यही पथमा अग्रसर देखिन्छ ।

    भष्मे डनले सुनको दाँत बनाएका छन् । कोरोनाकालमा लासहरू धेरै जलाइँदा फालिएका सुन जम्मा गरेर दाँतमा भरिएको छ । पशुपतिप्रसादको मितबासँग भष्मे नजिकिएका छन् । मितबालाई भष्मेले बा भनेर बोलाउँछ । डान्सबारमा काम गर्ने युवती दुर्गामाताको अवतारमा पुशुपतिमा आइपुगेकी छन् । अस्पतालबाट छोरीको लास उठाउने पैसा कमाउन पशुपति आइपुगेका छन् कालिप्रसाद । अनि यिनै पत्रहरूबीचको द्वन्द्व, प्रेम, घृणा, धोका र अन्तरसम्बन्धको कथामा बुनिएको छ ‘पशुपतिप्रसाद-२ भष्मे डन’ ।

    विपीन कार्कीले भष्मे डनको रूपमा मिहेनत गरेका छन् । स्वस्तिमाले पनि गेटअपमा मिहेनत गरेकी छन् । सौगातको पनि मधेशी पात्रको गेटअपमा मिहेनत छ । तर, डाइलग डेलिभरीले गैरमधेशी हो भन्ने देखाउँछ ।

    पशुपतिनाथ परिसरमै खिचिएको फिल्मको पहिलो मध्यान्तरले दर्शकलाई खिच्न सफल छ । पात्रहरूबीचको द्वन्द्व र संघर्षले फिल्मलाई सघन बनाएको छ । पहिलो मध्यान्तरसम्म दर्शकले बोर नमानी फिल्म हेर्न सक्छन् । पहिलो मध्यान्तरको अन्त्यमा भष्मे डनलाई बोरामा खाँदेर फोहोरको डंगुरमा फालिन्छ, तब दोस्रो भागलाई लिएर दर्शक व्यग्र प्रतीक्षामा जान्छन् ।

    पहिलो मध्यन्तरसम्म पात्रहरू बीचको अन्तरसम्बन्धलाई पनि राम्रोसँग केलाइएको छ । एक-एक पात्रहरू किन जोडिए, त्यसको जवाफ दिँदै फिल्म अगाडि बढेको छ । यसले गर्दा दोस्रो मध्यन्तरको प्रतीक्षा पनि गराउँछ । दोस्रो मध्यन्तरको सुरूवात फोहोरको डंगुरबाट हुन्छ । बोरामा खाँदिएका भष्मे, पशुपतिमा चुम्बक हानेकाले भष्मेले नै लखेटेका अर्का पात्र र ‘पशुपतिप्रसाद’ मा हनुमानको भूमिकामा भएका बैकुण्ठ (रवीन्द्रसिंह बानियाँ) को भेट डम्पिङ साइटमा हुन्छ । पहिलो मध्यान्तरपछि ठूलो अपेक्षासहित फिल्म हेर्न आतुर दर्शक यहीँबाट निराश हुँदै जान्छन् ।

    पात्रहरूको द्वन्द्व फितलो हुँदै जान्छ । मितबाको भूमिका किन दोहोरो भयो ? फिल्मले जवाफ दिएको छैन । बाउआमाको नाम नै थाहा पाउनका लागि त्यत्रो १० लाख बुझाउनु पर्ने भष्मेको के बाध्यता हो ? स्पष्ट छैन । दुर्गामाता बन्नुको कथा अपर्याप्त छ । त्यतिले मात्रै ऊ दुर्गामाता बनेर पशुपतिमा पहिचान लुकाएर हिँड्नुको तुक देखिँदैन । अझै कुनै बलियो तर्क भइदिए दुर्गामाता हनुमान जस्तै स्थापित हुन सक्थिन् । कम्तीमा फिल्मले यी कुराहरूमा पनि काम गरेको भए दर्शक निराश हुनुपर्ने थिएन ।

    पशुपतिनाथ परिसरमै खिचिएको फिल्मको पहिलो मध्यान्तरले दर्शकलाई खिच्न सफल छ । पात्रहरूबीचको द्वन्द्व र संघर्षले फिल्मलाई सघन बनाएको छ । पहिलो मध्यान्तरसम्म दर्शकले बोर नमानी फिल्म हेर्न सक्छन् ।

    तर, निर्माता तथा लेखक लामिछानेले भनेजस्तो युनिभर्स शैलीमा जाने ध्याउन्नमा फिल्मले मसिना कुराहरू धेरै छुटाएको छ । अर्को सिक्वेल भष्मे डन या कालीप्रसादको यात्रा र संघर्षमा केन्द्रित हुन सक्ला ।

    सिलाजित बेच्ने व्यक्ति छोराको खोजीमा छ । कर्णालीतिरबाट आएका ती सिलाजित व्यापारी र मुगुबाट आएको भष्मेबीच केही न केही सम्बन्ध हो कि भन्ने त छ । कतै बाउछोरा नै हुन् कि भन्ने संकेत भष्मेले व्यापारीलाई रगत दिएपछि पनि गरिएको छ । तर, स्पष्टरूपमा खुलाइएको छैन । यी मसिना कुराहरू अर्को सिक्वेलको लागि नराखेर यही सिक्वेलमा खुलाउनुपथ्र्यो । सिरिज र फिल्म यही कारण त फरक हुन् नि ! हलिउडले युनिभर्स शैलीमा दर्जनौं फिल्म बनाए पनि हरेक फिल्म आफैंमा पूर्ण कथाले बनेका हुन्छन् ।

    भष्मे डन र दुर्गामाताबीचको सम्बन्धलाई निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद र नबोल्ने युवतीबीचको सम्बन्धलाई जसरी नै दोहोर्‍याएका छन् । भष्मे बाहिर र दुर्गामाता कोठाभित्र रहेर गरिएको संवाद बडो बिम्बात्मक छ । ‘मलाई माता होइन, मैना भन्नु !’ भष्मे र दुर्गामाताबीचको प्रेमलाई यही संवादले स्पष्ट पारेको छ । जतिबेला भष्मे बाहिर हुन्छन् । दुर्गामाता भित्र हुन्छिन् । यो दृश्य फिल्मभरिकै सुन्दरमध्ये एक हो ।

    निर्देशक खनालले यस फिल्ममा पनि अस्पताल जोडेका छन् । अस्पतालको वेतिथिलाई खोतल्न खोजेका छन् । खनालका पछिल्ला फिल्महरूमा कि त अस्पताल आएका छन् कि त लास आएका छन् । यो उनको सिग्नेचर हो या संयोगले आएका हुन्, खनाल नै जानुन् ।

    समग्रमा ‘पशुपतिप्रसाद-२ भष्मे डन’ व्यवसायिक हिसाबले बनाइएको फिल्म हो । तर, यसको व्यापार भने ‘पशुपतिप्रसाद’को साखले टिकेको छ । यसको अर्को सिक्वेल आयो भने त्यसको व्यापार भने ‘पशुपतिप्रसाद २ भष्मे डन’को साखले हुनेवाला छैन । ‘पशुपतिप्रसाद’ ले कमाएको दर्शकको माया यही सिक्वेलमा आएर विसर्जन भएको छ ।

  • सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक

    सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक

    काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् । काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी दिए ।

    धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रब्य दृश्य मार्फत प्रस्तुत गरेको छ । २ युवा सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत समग्र नेपालको पर्यटनकोक्षेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ।

    संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एवं कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । म्युजिक नेपालको युट्युब च्यानल र अफिसियल मोबाइल एप्स मोमो एप मार्फत एकैसाथ सार्वजनिक ‘आए म त ‘ भिडियोलाइ समग्र दार्चुला जिल्ला र अपी गाउँपालिकाले समेत आफ्नोक्षेत्रको प्रचार प्रसार माध्यम बनाउन सक्छन । राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त ‘ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।

  • राउटे समुदायका बाजकली र ज्याामिरेको प्रेम कथा समेटिएको प्रकाश दुतराजको ‘रिमै’ सार्वजनिक (भिडिओ)

    राउटे समुदायका बाजकली र ज्याामिरेको प्रेम कथा समेटिएको प्रकाश दुतराजको ‘रिमै’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायक प्रकाश दुतराजको राउटे समुदायको संस्कृति झल्कीने म्युजिक भिडि‌ओ ‘रिमै’ सार्वजनिक भएको छ । गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडिओमा  स्वयम दुतराज र केपिना गोतामेको अभिनय रहेको छ ।

    ज्यामिरेको बुवा मुखियाको निधन भएको दुई दिन भएको छ । उनीहरुको प्रचलन अनुसार मुखियाको निधन भएपछि उनीहरु आफ्नो बासस्थान छोडेर नयाँ बासस्थानतर्फ सर्दैछन् । यो त सबै राउटे समुदायको बसाइसराईको कथा हो । तर, बाजकली भने ज्याामिरेको खोजीमा छन् । बोल्ने शैली फरक, लगाउने भेषभुषा फरक तर, आफ्नालाई गुमाउनुको पिडा सबैलाई एउटै हुने रहेछ भन्ने कथा म्यूजिक भिडिओमा समेटिएको दुतराजले नेपाल प्रेससँग बताए । उनका अनुसार राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा देखाउन खोजिएको छ ।

    गायक दुतराजकै लिरिक्स र म्यूजिक रहेको गीतमा म्यूजिक एरेन्ज बीबी अनुरागी, मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ । शनिबार आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको भिडिओ एक दिनमा साढे तीन लाखले हेरिसकेका छन् । राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो । तीन वटा गोत्रमा समेटिएको राउटे समुदायको जनसंख्या १४१ जना मात्रै र ४१ घरधुरी रहेको छ । उजीहरु काठमा भाँडा, मधुस, ठेकी, कोसी, बनाएर जिवीकोपार्जन गर्दै आएका छन् । समुदायमा सकैको मृत्इु भएमा रितपुर्वक संस्थार गरी केहि दिन भित्रमा बसाई सर्ने उनीहरुको प्रचलन रहेको छ ।

  • फूलपातीको दिन ‘पशुपति प्रसाद २ : भष्मे डन’को २ करोड ४० लाख ग्रस कलेक्सन

    फूलपातीको दिन ‘पशुपति प्रसाद २ : भष्मे डन’को २ करोड ४० लाख ग्रस कलेक्सन

    काठमाडौं – शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो ।

    नेपालभरका ३०० बढि स्क्रिनमा रिलिज भएको सिनेमाले आज आइतबार पनि हलमा दर्शकको भिड देखिएको छ । हिजो शनिबार दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो ।

    सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

    सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।

  • पशुपति प्रसाद २ ‘भष्मे डन’ बिहानदेखि राति सम्मकै शोमा दर्शकको चाप, हल पुगेर कलाकारले दिए धन्यवाद

    पशुपति प्रसाद २ ‘भष्मे डन’ बिहानदेखि राति सम्मकै शोमा दर्शकको चाप, हल पुगेर कलाकारले दिए धन्यवाद

    काठमाडौं । आज शनिबारबाट प्रदर्शनमा आएको सिनेमा पशुपति प्रसाद २ भष्मे डनले बक्सअफिसमा बम्पर व्यापारको सुरुवात गरेको छ । सिनेमा बडादशैंको फूलपातीको अवसर पारेर तीन सयबढी स्क्रिनबाट प्रदर्शनमा आएको छ । अधिकांश हलका अनलाइन साइटमा हेर्दा बिहानदेखि राति १० बजेसम्मका शोमा दर्शकको चाप उच्च देखिएको छ ।

    शनिबार बिहानी शोबाटै हाउस फुलका साथ सिनेमा हर्ने दर्शकको भिड हलमा देखिएको छ । नेपाली सिनेमामा यस्तो संयोग निकै कम सिनेमाले मात्रै पाउने गर्छन् । सिनेमाको निर्माण टिम शनिबार बिहानी शोबाट नै कलाकार विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दिपेन्द के खनाल आज दिनभर राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो ।

    लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दर्शकको उच्च साथ पाएसँगै हिजोसम्म मनमा भएको डर हटेको बताएका छन् । सिनेमालाई दर्शक तथा समीक्षकले सिनेमा रुचाउनु भएको छ । दर्शकबाट सिनेमाको सस्पेन्स पाटोलाई निकै मन पराएको आफुहरुले पाएको भनाई उनको छ ।

    अभिनेत्री स्वस्तिमा खड्काले आफुले अहिलसम्म सिनेमा हेर्न नपाएको तर दर्शकबाट पाएको प्रतिक्रियाले सिनेमा हेर्न निकै आतुर बनाएको बताइन् । हल रिपोर्टको क्रममा पत्रकारले अभिनेत्री खड्कालाई दुर्गा माताको भुमिकाबारे पाएको प्रतिक्रियाका बिषयमा समेत सोधेका थिए । जवाफमा अभिनेत्री खड्काले दर्शकले दुर्गा मातालाई निकै माया गरेको भन्दै खुशी व्यक्त गरिन् । आगामी दिनमा अझै चुनौती पूर्ण भुमिकामा काम गर्न हौसला मिलेको सुनाइन् ।

    अभिनेता विपिन कार्कीले पनि भष्मे डनलाई दर्शकले रुचाएकोमा सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । आजबाट बल्ल सिनेमा रिलिज भएकाले पहिलो दिनको जस्तै साथ सर्पोट र मायाको खाँचो आगामी दिनमा पनि रहेको भन्दै भोलीका दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने जिम्मेवारी भष्मे डनले थपेको बुझाई उनको छ ।
    अभिनेत सौगात मल्लको क्यारेक्टरले पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । अन्य सिनेमाको छायांकनले गर्दा प्रचार प्रसारमा समय दिन नपाएपनि दर्शकबाट मिलेको माया र साथ प्रति आभारी रहेको बताए ।

    यस्तै, सिनेमाका निर्देशक दिपेन्द्र के खनालले शनिबार सिनेमालाई मिलेको ओपनिङ अपेक्षाकृत नै भएको बताएका छन् । सिनेमाको निर्माण घोषणा भएसँगै दर्शकमा देखिएको उत्साहआज हलमा देखिएको छ । आगामी दिनमा दर्शकमा यो उत्साह अझै बढ्ने विश्वास व्यक्त गरे ।

    दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिमले दर्शको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो । सिनेमा हेरर हलमा निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग पशुपति प्रसाद ३ को डिमाण्ड गरिरहेका थिए ।आज सिनेमा हेर्नु हुने सम्पुर्ण दर्शकलाई धन्यबाद ।आज सिनेमा नहेरेका दर्शकलाई आफ्नो नजिकको हलमा गएर सिनेमा हर्ने समेत निर्माण टिमले आग्रह गरेको छ ।

    वितरक करण श्रेष्ठले शनिबार काठमाडौं उपत्यकामा मात्रै नभई देशैभरी सिनेमाले बम्पर व्यापार गरेको बताए ।

  • ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ अब भिडियोपसलमा

    ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ अब भिडियोपसलमा

    काठमाडौं । व्यवसायिक रूपमा सफल साथै दर्शकले निकै रुचाएका दुई चलचित्र ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटीटी प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ ।

    नेपालीहरूको महान चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । रिलिज भएका यी दुई चलचित्र अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

    दसैँ नजिकिँदै गर्दा विदेशमा रहेका दर्शकबाट ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’को माग उच्च भएपछि चलचित्र रिलिज गरिएको भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउँछन् ।

    सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ देखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि चलचित्र हेर्न सकिनेछ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

    यता कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरी र दीपाश्री निरौला पनि चलचित्र ‘छक्का पञ्जा ४’ हेर्न दर्शक निकै आतुर रहेको बताउँछन् । हरेक दिनजसो चलचित्रको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिनसक्ने दीपक-दीपा सुनाउँछन् ।

    हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायतको अभिनय छ ।

    पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’मा भने केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

    सन् २०१७ देखि सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यसअघि कबड्डी ३, जात्रैजात्रा, प्रसाद, साइँलीलगायतका चलचित्र रिलिज भइसकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

  • निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

    निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

    काठमाडौं । निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भुईंमान्छे कसरी देशमा नियम कानूनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथा पेस गर्छ ।

    झण्डै आधा दर्जन बढी चलेका कलाकार अभिनय रहेको सिनेमाको टिजरले दर्शकलाई फरक सिनेमा पस्कने संकेत गरेको छ ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा देखिएका छन् ।

    आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनकविक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौंभित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • ‘भष्मे डन’ माथि केही मन्थन- रिलिजअघि के भन्छन् निर्माण टीम ?

    ‘भष्मे डन’ माथि केही मन्थन- रिलिजअघि के भन्छन् निर्माण टीम ?

    काठमाडौं । दसैँको मौका पारी भोलिबाट रिलिजको तयारीमा छ- ‘पशुपतिप्रसाद २-भष्मे डन’ । सात वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘पशुपतिप्रसाद’ को सिक्वेल को रुपमा निर्माण भएको यस चलचित्रमा विपीन कार्की, सौगात मल्ल, वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानिँयालगायतले अभिनय गरेका छन् ।

    यति बेला निर्माण टीम चलचित्रको प्रि-बुकिङलाई लिएर उत्साहित देखिन्छ । चलचित्रले निकै राम्रो ओपनिङ गर्नसक्ने प्रक्षेपण गरिएको छ । ‘पशुपतिप्रसाद’को ब्राण्डले गर्दा पहिल्यै यस चलचित्रले हाइप बनाइसकेको थियो । अहिले अरु कलाकारहरु पनि थपिएपछि सिक्वेलप्रति कौतुहल थपेको छ ।

    चलचित्रमा अभिनेता विपीन कार्कीलाई मुख्य भूमिकामा देख्न सकिनेछ । उनकै पात्र ‘भष्मे डन’ लाई केन्द्रमा राखेर चलचित्र बनाइएको हो । ‘पशुपतिप्रसाद’मा भष्मेको पात्र दर्शकले अत्यधिक रुचाएका थिए ।

    चलचित्रलाई लिएर विपीन उत्साहित छन् । आफ्नै मुख्य भूमिकामा चलचित्र निर्माण भएकाले भविष्यमा आउने तारिफ र आलोचनाको लागि समेत उनी तयार भएर बसेका छन् ।

    उस्तै आतुर छन् नायिका स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा निर्माता खगेन्द्र लामिछाने ।

    ‘पशुपतिप्रसाद’ दर्शकले रुचाएको कथा भएकाले यसको दोस्रो भाग ल्याउनु चुनौतीको काम थियो । त्यसैले पशुपतिप्रसादको निर्माण टीम राम्रो कथा नपाएसम्म सिक्वेल नबनाउने पक्षमा थियो ।

    ‘हामी राम्रो कथा नभए सिक्वेल नबनाउने पक्षमा थियौं र अहिले पनि छौं । त्यही भएर पनि यो चलचित्र बन्न सात वर्ष लाग्यो । ती बीचमा कति ड्राफ्टहरु बने । तीन-चार वटा स्क्रिप्ट बने’, चलचित्रका निर्देशक खनाल सुनाउँछन्, ‘कुनै पनि चित्त नबुझिरहेको स्थितिमा अन्तिममा बनेको यो स्क्रिप्टले भने पशुपतिप्रसादलाई न्याय दिनसक्छ है भन्ने भयो । पशुपतिप्रसादको लिगेसीलाई यसले कायम राख्छ भन्ने भएपछि चलचित्र बन्यो ।’

    निर्देशक खनाल भष्मे डनलाई सिक्वेल भन्न रुचाउँदैनन् । न यसलाई उनी ‘स्पिन अफ’ नै भन्न रुचाउँछन् ।

    उनी भन्छन्, ‘यो न स्पिन अफ हो न त सिक्वेल । स्पिन अफ भन्नाले एउटामात्र पात्र बुझाउला र सिक्वेल भन्यो भने पनि सम्पूर्ण कथा त्यहीबाट जोडिएर आउनुपर्छ भन्ने बुझिएला । अरु पनि पात्रहरु जोडिएकाले ‘भष्मे डन’ सिक्वेल या स्पिन अफ के हो, त्यो ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

    चलचित्रको पहिलो सिरिज पशुपतिप्रसादमाथि फोकस्ड थियो । त्यसमा भष्मे डन को हो ?, के हो ? कस्तो मान्छे हो ? भन्ने खुलाइएको थिएन । त्यही पात्रलाई यस श्रृंखलामा खुलाइएको छ ।

    चलचित्र भष्मे डनको नाममा निर्माण भए तापनि चलचित्र हेरिरहँदा कतै पनि पशुपतिप्रसाद नभएको अनुभूति नहुने खनाल बताउँछन् । भौतिक रुपमा पशुपतिप्रसाद चलचित्रमा नभए पनि उक्त पात्रको अस्तित्व अझै पनि पशुपतिप्रसादमा बलियो देखिने र चलचित्रले सबैलाई समेट्ने खनालको भनाइ छ ।

    सामान्यतया चलचित्रको सिक्वेल त्यतिखेर बनाइन्छ जतिखेर पहिलो सिरिजको कथा आधाअधुरो रहन्छ । तर, पशुपतिप्रसादको कथा पूर्ण थियो । अन्तिममा मुख्य पात्रको मृत्युसँगै चलचित्रको समापन भएको थियो । यस्तो अवस्थामा चलचित्रको दोस्रो सिरिज बन्नुलाई कसरी लिने ? के भष्मे डन व्यापारिक पाटोलाई मध्यनजर गरेर बनाइएको चलचित्र हो ?

    उत्तर दिँदै खनाल भन्छन्, ‘हामीले बजारमुखी भएरमात्र चलचित्र बनाएका होइनौं । त्यस्तो प्रयास गरेका पनि छैनौं । हाम्रो नितान्त राम्रो चलचित्र आउनुपर्छ भन्ने धारणा हो । भष्मे डनमा पशुपतिप्रसादको लिगेसीलाई बिगार्ने काम कतै गरिएको छैन । चलचित्र हेरेपछि हामीले कस्तो काम गरेका छौं भन्ने थाहा पाइहाल्नुहुन्छ ।’

    खनालको अभिव्यक्तिमा समर्थन जनाउँदै चलचित्रका निर्माता तथा लेखक खगेन्द्र लामिछाने जोड्छन्, ‘मलाई चलचित्र ‘युनिभर्स’ को हिसाबमा बनाउँ जस्तो लाग्छ, फरक फरक कथा बोक्नेवाला । नयाँ–नयाँ पात्र भएको । सधैं एउटै पात्र र एउटै चरित्र हेर्दा कुनै न कुनै क्षणमा गएर दर्शकलाई पनि दिक्क लाग्छ । त्यसैले पहिलो भागमा पशुपतिप्रसादको मृत्यु भए पनि हामीले दोस्रो भागमा फरक व्यक्तिको कथा ल्याएका हौं । राम्रो चलचित्र बनाउँ भन्ने हो । बाँकी हामीले केही सोचेका छैनौं ।’

    भष्मे डनमा ‘सिंक साउन्ड’को प्रयोग गरिएको छ । नेपाली चलचित्र हेर्दा अधिकतम दर्शक र समीक्षकको कान दुख्यो भन्ने खालका गुनासा धेरै सुनेकाले भष्मे डनमा सिंक साउन्ड प्रयोग गरिएको निर्देशक खनालले बताए ।

    ‘पशुपति जस्तो ठाउँमा सिंक साउन्ड गर्न नसकिएला भन्ने थियो । छायाँकनको दौरान एकदमै गाह्रो भयो पनि । एक त त्यस्तो भीडभाड ठाउँ, त्यसमाथि एकएक छिनमा प्लेन उडेको आवाज आइरहने’, सिंक साउन्डको अनुभूति सुनाउँदै खनाल भन्छन्, ‘डिस्टरबेन्स धेरै थियो । रिटेक धेरै गर्नुपर्‍यो । आर्थिक स्थितिको हिसाबले हेर्ने हो भने निर्मातालाई पनि गाह्रो थियो । त्यति हुँदाहुँदै पनि हामीले गर्‍यौं ।’

    सिंक साउन्ड टेस्ट गर्न निर्माण टीमले हलमा तीन चोटी चलचित्र हेरेको थियो । टेस्टपछिको अनुभव साट्दै खनालले भने, ‘हामी जहिले समीक्षकहरुबाट नेपाली चलचित्र हेर्दा कान दुख्यो भन्ने समीक्षा गरेको देखिरहेका हुन्थ्यौं । तर, भष्मे डनको साउन्ड सुनेपछि आफैंलाई आनन्द लाग्यो । मैले अहिलेसम्म गरेको काममध्ये यो मेरो उत्कृष्ट हो । कानलाई आनन्द आउने चलचित्र बनेको छ । हामीले गरेको मेहनत र लगानी सफल भएको छ ।’

    पशुपतिप्रसादले पाएको दर्शकको माया र साथका कारण भष्मे डनको चर्चा हुनु स्वाभाविक हो । चर्चाचर्चैमा सीमित रहला या दर्शकले चलचित्र साँच्चैको मन पराउलान्, त्यो भने आउने दिनले बताउनेछ ।

    यता चलचित्रमा दुर्गा माताको भूमिका निभाएकी अभिनेत्री स्वस्तिमा खड्का पनि भष्मे डन आफ्नो लागि चुनौती मान्छिन् ।

    ‘यो पात्र नै मेरो लागि चुनौतीपूर्ण थियो । किनकि मैले अगाडि निभाएका पात्रहरु कुनै न कुनै चलचित्रमा कोही न कोही अभिनेत्रीहरुले गरिसक्नु भएको हो । तर, यो दुर्गा माताको चरित्र कमै अभिनेत्रीहरुले निभाउनुभएको छ । सुरुमा कस्तो होला भन्ने थियो । तर, पात्र सुन्नेबित्तिकै गर्न उत्साहित भएकी थिएँ ।’

    स्वस्तिमाले निर्देशक खनालसँग धेरै चलचित्रहरुमा सहकार्य गरिसकेकी छन् । आफ्नो करियरको सुरुवातबाट नै खनालसँग काम गर्दै आएकाले उनलाई आँखा चिम्लेर विश्वास गर्न सक्ने स्वस्तिमाको भनाइ छ । भष्मे डनको सिक्वेल र खनालको निर्देशन नभएको भए काम गर्न एकचोटी सोच्नुपर्ने उनको भनाइ छ ।

    स्वस्तिमाका लागि पनि यो चलचित्र केही विशेष छ । उनले पहिलो चोटि पशुपति क्षेत्रमा छायाँकन गरेको चलचित्र हो यो । छायाँकनको पहिलो दिन पहिलो टेकबाट नै उनलाई भिन्न आभाष भएको थियो । उनी चलचित्रमा भावुक दृश्यहरु गर्न पनि आफूलाई गाह्रो नभएको बताउँछिन् ।

    ‘हामी कलाकार भए पनि जतिखेर भन्यो त्यति खेर भावुक हुन वा रुन गाह्रो पर्छ । त्यसैले कति वटा भावुक दृश्यहरुमा हामी ग्लिसिरिन प्रयोग गर्छौं । दीपेन्द्र दाइको हकमा भने केही फरक छ । उहाँले ग्लिसिरिन प्रयोग गर्न त्यति दिनुहुन्न’, उनले भनिन्, ‘यस्तो अवस्थामा कहिलकाहीं भनेको बेलामा पात्रमा डुब्न सकिन्न । चलचित्रमा दुर्गा र भष्मेको एउटा भावुक दृश्य छ । त्यो दृश्यमा थाहा छैन किन मैले आफू कमजोर भएको महसुस गरें । भावुक हुन मलाई गाह्रै भएन ।’

    ‘सायद पशुपतिको इनर्जीले होला । दाइहरुले भनेको त सुनेकी थिएँ । तर, त्यो दृश्यपछि भने मैले आफैं महसुस गरें । मैले खगेन्द्र दाइलाई पनि सुनाएँ । त्यसै पनि जीवनको अन्तिम क्षणमा जाने ठाउँ हो पशुपति । दुःख पर्दा दुःख बिसाउन जाने ठाउँ हो पशुपति । त्यहाँ छायाँकन गर्दागर्दै मान्छे जलाएको देखिन्थ्यो । मान्छे रोएको देखिन्थ्यो । त्यहाँको इनर्जी नै केही फरक छ’, उनी थप्छिन् ।

  • रोशन र अस्मिताको ‘सलल’मा प्रिज्मा–प्रिन्सी र राजको नोकझोक

    रोशन र अस्मिताको ‘सलल’मा प्रिज्मा–प्रिन्सी र राजको नोकझोक

    काठमाडौं। गायक रोशन अधिकारी र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।

    राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक भएको गीतको भिडिओमा गायक रोशन स्वयंमले अभिनय गरेका छन्।

    भिडिओमा उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा र राज आचार्यले साथ दिएका छन्। डान्सिङ्ग बिटमा बनेको भिडिओ पनि निकै आकर्षक बनेको छ। भिडियोमा रोशन, प्रिजा, प्रिन्सी र राजलाई गम्भीर बिष्टले करियोग्राफी गरेका छन्।

    स्टार इन्टरटेनमेन्ट नेपालको ब्यानरमा बनेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ। भिडिओलाई दिन्सोन शाहले कलर करेक्सन गरेका हुन्।

    पवन सुश्लिङ्गले खिचेको भिडिओको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने भिडिओमा सुरेन्द्र बसेलको सहनिर्देशन रहेको छ।

  • १२ उत्कृष्ट नेपाली नारीको कथा बोकेको पोडकास्ट ल्याउँदै बैंकर अनिल केशरी शाह

    १२ उत्कृष्ट नेपाली नारीको कथा बोकेको पोडकास्ट ल्याउँदै बैंकर अनिल केशरी शाह

    काठमाडौं । ‘छोराजस्तो छोरी हैन, छोरीजस्तो छोरी बनाउने हो’ भन्ने मूल नाराका साथ बैंकर अनिल केशरी शाहले नारी टेलिभिजनमार्फत ‘नारी’ पोडकास्ट ल्याउने भएका छन।

    टिभिएस एन्र्टक प्रायोजकका रुपमा रहेको पोडकास्टमा नेपालका १२ उत्कृष्ट, अभूतपूर्व तथा महिमावान नारीहरुको जीवनयात्रा, आरोहअवरोहका साथै उनीहरुका तितामीठा यादहरुलाई साटिनेछन्। दर्शकले कार्यक्रमको १२ वटा श्रृंखला हेर्न पाउनेछन्।

    कार्यक्रमको मुल उद्देश्यबारे जानकारी दिदैँ शाहले एक भिडिओ समेत सार्वजनिक गरेका छन। सार्वजनिक भिडिओमा उनले कार्यक्रम छिट्टै प्रशारण हुने जनाएका छन्।

    ‘हिरो भन्नासाथ अधिकांशले पुरुष भन्ने बुज्नुहुन्छ। तर नारीहरु पनि हिरो छन जसको पसिना र बुद्धिले गर्दा आज हाम्रो देश यहाँ पुगेको छ’,उनले भनेका,‘यहाँ कैयौँ त्यस्ता नेपाली महिलाहरु छन जसले आफ्नो क्षेत्रमा आफूलाई प्रमाणित गरेका छन्। जसले अविश्वसनीय काम गरिरहेका छन् । जोे नेपाल वा विश्वको जुनसुकै ठाउँमा रहेका नेपाली महिलाहरुका लागि प्रेरणको स्रोत बनेका छन्।’

    शाहले आफ्नो पोडकास्टमा नेपालका १२ जना महिमावान महिलाहरू निम्त्याउन पाएकोमा आफूलाई गर्व लागेको कुरा पनि भिडिओमा उल्लेख गरेका छन।

  • शिल्पाका पतिले ट्विटरमा लेखे- हामी अलग भयौं

    शिल्पाका पतिले ट्विटरमा लेखे- हामी अलग भयौं

    काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राले आफूहरु छुटिएको आफ्नो ट्विटर अकाउन्टमार्फत जानकारी दिएका छन् । उनले स्टाट्समा आफूहरु छुटिएको सन्दर्भ मात्र उल्लेख गरेका छन् । तर कारणहरु भने खुलाएका छैनन् ।

    उनले लेखेका छन्, ‘हामी अलग भएका छौं। र, यो कठिन समयमा हामीलाई केही समय दिन सबैमा विनम्र अनुरोध गर्दछौं ।’

    उनले पोस्ट गरेको सो ट्विटले धेरैलाई सोच्न बाध्य बनाइरहेको छ भने कतिले उनको पोष्टलाई प्रचारात्मक नौटंकीको संज्ञासमेत दिइरहेका छन् ।

    राजले सोही पोस्टको स्क्रिनसट इन्स्टाग्राम स्टोरीमा पनि शेयर गरेका छन् ।

    सन् २००९ मा शिल्पा शेट्टीसँग विवाह बन्धनमा बाँधिएका कुन्द्राका दुई सन्तान छन् । उनी सन् २०२१ को जुलाईमा पोर्नोग्राफीसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । उनको यो मुद्दा सो वर्षकै सबैभन्दा ठूलो विवादित बन्यो । उनलाई मुम्बईको अर्थर रोड जेलमा राखिएको थियो ।

    करिब दुई महिनाको जेल बसाइपछि महानगरीय मजिस्ट्रेटले जमानत दिएपछि उनी सोही वर्षको सेप्टेम्बरमा बाहिरिएका थिए । उनीमाथि भारतीय दण्ड संहिता (आईपीसी) सूचना प्रविधि ऐन र महिलाको अशोभनीय प्रतिनिधित्व (रोकथाम) ऐनको सम्बन्धित धाराहरूअन्तर्गत मुद्दा दायर गरिएको थियो ।

  • श्रृंखलाले प्रेमी सार्वजनिक गर्दा सिसनमाथि ट्रोलको आँधिहुरी !

    श्रृंखलाले प्रेमी सार्वजनिक गर्दा सिसनमाथि ट्रोलको आँधिहुरी !

    काठमाडौं । कुनै ठूला सेलिब्रिटी होइनन्, तर सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुने पात्रमा पर्छन् युट्यूवकर्मी सिसन बानियाँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडासँग जोडेर उनलाई गिज्याउने र लखट्ने काम लामो समयदेखि भइरहेको छ ।

    विगतमा सिसन र श्रृंखलाबीच प्रेम सम्वन्ध रहेको चर्चा हुने गथ्र्यो । उनीहरु दुवैले यसको सार्वजनिक स्वीकारोक्ति त गरेका थिएनन्, तर उनीहरुका तस्वीर र केही भिडिओहरुले अफेयरमा रहेको बुझ्न सकिन्थ्यो । तर, उनीहरुको सम्वन्ध टिकाउ भएन ।

    श्रृंखला पढ्नका लागि अमेरिका गएपश्चात सिसनसँग टाढिएकी थिइन् । त्यसपछि उनीहरुको ब्रेक अपको खबर गर्मायो । अनि सुरु भयो सिसनमाथि ट्रोलको सिलसिला । फेसबुकदेखि टिकटकसम्म उनका फोटो र भिडिओहरु जोडजाड गरेर ट्रोलरहरुले अति छारो उडाए । सिसनले एउटा अन्तरवार्तामा यो विषयलाई लिएर दिक्दारी समेत पोखेका थिए । श्रृंखलाले पनि सामाजिक सञ्जालमा आफूलाई निरन्तर चिढ्याइएको भन्दै दुखेसो गरेकी थिइन् ।

    यतिबेला श्रृंखला आफ्नो नयाँ जीवनको सुरुवात गर्ने सुरसारमा छिन् । केही दिनअघि मात्रै उनले आफ्नो प्रेमीका रुपमा सम्भव सिरोहियालाई चिनाइन् । केही समयदेखि उनीहरुको प्रेमको चर्चाले गसिप बजार गर्माइरहेको थियो । यसपाली भने श्रृंखलाले आफैं पुष्टि गरिदिएकी छन् । त्यसपछि त के थियो । ट्रोलरहरु जागिहाले । उत्पातै ठूलो घटना घटेझैं गरी ट्रोलको बौछार लाग्न थालिहाल्यो ।

    यतिबेला सिसन र श्रृंखलाका पुराना भिडिओ र श्रृंखला–सुसनका नयाँ भिडिओहरु टिकटकमा भाइरल गराइएका छन् । यससँगै एउटा पुरानो गीत पनि चर्चामा ल्याइएको छ– बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गइ ।

    पक्कै पनि यो सीमाहिन ट्रोलले सिसन मात्र होइन, श्रृंखलाको निजी जीवनमा समेत असर परेको हुन सक्छ । यद्यपि, दुवैजना अहिलेसम्म मौन नै बसिरहेका छन् ।

  • मानसराजको मुड फ्रेसमा आश्मा र सरोज (भिडिओ)

    मानसराजको मुड फ्रेसमा आश्मा र सरोज (भिडिओ)

    काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

    भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् । जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।

    नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीत का गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन् । उनको रचना रहेको फिल्म रेशम फिलिलिमा समावेश बहुचर्चित गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, चलचित्र डायरीको माया मायामा, भाईरल भैदियो, हिरो, लैलै राजकुमारी लगायतका छन् । सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो ।

     

  • परदेशी-२ : पहिलो सातामा ३ करोड ३० लाख ग्रस कलेक्सन

    परदेशी-२ : पहिलो सातामा ३ करोड ३० लाख ग्रस कलेक्सन

    काठमाडौैं । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी-२’ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकबाट अपार माया पाएको सिनेमाले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।

    निर्माण टिमका अनुसार सिनेमाले पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिएको छ ।

    दोस्रो सातामा पाएको शो सङ्ख्याले पनि दर्शकले सिनेमा रुचाएको प्रमाणको रुपमा बुझ्न गाह्रो पर्दैन । हलमा सिनेमा हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि सिनेमा सफलताको बाटोमा हिडेको बुझिन्छ ।

    दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।

    उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

    नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

  • तेजस-समीक्षाको ‘पोखरा बगरमा घर’ को भिडिओ बजारमा

    तेजस-समीक्षाको ‘पोखरा बगरमा घर’ को भिडिओ बजारमा

    काठमाडौं । तेजस रेग्मी र समीक्षा अधिकारको स्वर रहेको गीत ‘पोखरा बगरमा घर’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमको अभिनय छ ।

    सार्वजनिक म्युजिक भिडियओमा अभिनेता भण्डारी र अधिकारीको केमेष्ट्री गजब देखिएको छ । अस्ट्रेलिया बस्दै आएका भण्डारी केही समयअघि नेपाल आएको बेला भिडिओ छायांकन गरिएको थियो । गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत छ ।

    काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, दीपक विष्टको कलर तथा सम्पादन, विमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ ।

  • भष्मे डनको चश्मा

    भष्मे डनको चश्मा

    काठमाडौं । सात वर्षअघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ बाट ‘भष्मे डन’ पात्रको जन्म भयो । चलचित्रको शीर्षक पात्र ‘पशुपति प्रसाद’ भए तापनि दर्शकको मन भने भष्मे डनले जितेको थियो ।

    चलचित्रमा भष्मे डनको भूमिका अभिनेता विपीन कार्कीले निभाएका थिए । उनको लागि यो भूमिका ‘लक्की चार्म’ नै सावित भयो भन्दा फरक पर्दैन । ‘पशुपति प्रसाद’ पछि उनले थुप्रै चलचित्रमा थरिथरि भूमिका निभाए, तर उनलाई अहिले पनि अधिकतम दर्शकले ‘भष्मे डन’ भनेर नै चिन्ने गर्छन् । दर्शकमाझ अत्यधिक लोकप्रिय उही ‘भष्मे डन’ लाई मुख्य पात्र बनाएर ‘पशुपति प्रसाद २-भष्मे डन’ निर्माण भएको छ, जुन यही शनिबार अर्थात् कात्तिक ४ बाट देशभर एकसाथ रिलिज हुँदैछ ।

    ‘भष्मे डन’ पात्र दर्शकको लागि जति विशेष छ, त्यति नै महत्वपूर्ण विपीनको लागि पनि छ । त्यसैले त उनले अहिलेसम्म पनि ‘भष्मे डन’ बन्दा आफूले लगाएको चश्मा सुरक्षित साथ राखेका छन् । पशुपतिप्रसादमा उनले लगाएको चश्माको कथा पनि रोचक नै छ । त्यो चश्मा उनलाई एकजना साथीले दिएका थिए । चश्मा उनको साथीको हजुरबुवाको थियो । हजुरबुवाले जवान हुँदा लगाउने सो चश्मा मृत्युअघि नातिलाई दिएका रहेछन् । त्यही चश्मा साथीले विपीनलाई दिएका थिए ।

    उनलाई मनपर्ने भएकाले विपीन त्यो चश्मा प्राय लगाएर हिँड्थे । पशुपति प्रसादको छायांकन हुँदा पनि उनले त्यो चश्मा लगाएरै गएका थिए । खासमा, उनलाई पशुपति प्रसादमा लेन्स लगाउन मन थियो । उनले प्रोडक्सन टीमसँग माग राखेका पनि थिए । तर, प्रोडक्सन टीमले उनको माग अस्वीकार गर्‍यो ।

    ‘लेन्स लगाउने सोच थियो । गएर भनेँ पनि । (हाँस्दै) तर त्यतिबेला शंकर पाण्डेले पत्याएनन् । कहाँ सबैलाई जे भन्यो त्यही दिएर हुन्छ भन्ने कुरा आएपछि मैले दीपेन्द्र दाइलाई आएर सुनाए,’ विगत सम्झिँदै विपीन सुनाउँछन् ।

    निर्देशक दीपेन्द्र के खनालले नै उनलाई आफूले लगाएकै चश्मा चलचित्रमा लगाउन सुझाएका थिए ।

    ‘लेन्स प्रोडक्सनले दिएन भनेपछि दाइले मैले लगाइरहेको चश्मातर्फ देखाउँदै यही चस्मा लगाऊ न, दामी देखिएको छ भन्नुभयो । उहाँले भनेपछि ठीकै छ भन्ने भयो । अनि त्यही चश्मा लगाइयो,’ उनले जोडे ।

    विपीन आफूले निभाएको कुनै पनि पात्रको केही चिनो घरमा राख्न रुचाउँदैनन् । घरमा राखिएको त्यो चिनो वा प्रप्सले आफुलाई सो पात्रबाट माथि उठ्न नदिने उनको धारणा छ । तर, भष्मे डन गर्दा आफूले लगाएको चश्मा भने उनले अहिलेसम्म पनि सम्हालेर राखेका छन् । भष्मे डनसँग आफ्नो इमोसन जोडिएकाले पनि त्यो चश्मा राखेको उनको भनाइ छ ।

    भष्मे डनमा उनले यही चश्मा लगाएका छन् । सात वर्ष भइसकेकाले चश्माको सिसा फुटे पनि सिसा फेरेर उनले त्यही चश्मालाई सिक्वेलमा पनि प्रयोग गरेका छन् ।

    पशुपति प्रसादबाट विपीनले दर्शकको अप्रत्याशित माया पाए । तर, पहिलो संस्करणमा पशुपति प्रसादको निधन भइसकेकाले उनलाई यो चलचित्रको दोस्रो संस्करण बन्छ भन्ने मनमा एक रत्ति थिएन । त्यसमाथि, आफ्नै मुख्य भूमिकामा हुनेबारे त उनले सोचेका पनि थिएनन् ।

    विपीन भन्छन्, ‘भष्मे डनमै चलचित्र बन्छ भन्ने मेरो मनमा थिएन । एक त चलचित्र हेर्दा सिक्वेल नै बन्दैन जस्तो लागेको थियो । यदि बनिहाल्यो भने म नछुट्ने पात्र हुँ जस्तो चाहीँ लागेको थियो ।’

    ‘भष्मे डन’ मा काम गर्दा आफूलाई झनै मज्जा आएको उनको अनुभूति छ ।

    ‘मज्जा आउँदा आउँदै चलचित्र सकियो । पशुपति प्रसादको छायांकन गर्न जम्मा ७, ८ दिन लागेको थियो होला, यो भागको छायांकन सक्न ५६ दिन लाग्यो । लगभग हरेक दिन छायांकनस्थलमै थिएँ म,’ उत्साहित हुँदै उनले थपे ।

    सात वर्षअघि आफूले निभाएको पात्रमा पुन फर्कन कलाकारलाई सहज पक्कै छैन । त्यहीँ पात्रलाई यतिका वर्षपछि फर्काउन धेरै मेहेनत र अभ्यास जरुरी पर्दछ । तर, सात वर्षपछि पनि भष्मेको क्यारेक्टरलाई ब्याक गर्न आफूलाई भने गाह्रो नभएको विपीन बताउँछन् ।

    उनी भन्छन्, ‘केही गाह्रो भएन, किनकी पात्र त्यही हो । के गर्ने भन्ने स्पष्टै थियो । कुन मुडको क्यारेक्टर भन्ने पहिले नै तय थियो । फरक थियो त मात्र उसको भूमिका ।’

    चलचित्रको मूल कथा भष्मेकै भएकाले आफू यसपालि झनै जिम्मेवार भएको विपीन सुनाउँछन् । चलचित्र हेरेपछि दर्शकबाट आउने तारिफ र आलोचना दुवैको लागि उनी तयार भएर बसेका छन् ।