Category: कलाप्रेस

  • ‘अन्जिलाको’को ईन्ड क्ल्याप

    ‘अन्जिलाको’को ईन्ड क्ल्याप

    काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको सिनेमा ‘अन्जिला’को छायांकन सकिएको छ ।

    छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो ।एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो । यसपछि इलाम, झापा र काठमाडौँमा खिचिएको हो ।

    मिलन चाम्स निर्देशित सिनेमामा एन्जिलाका साथै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजयबराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तानको पनि अभिनय छ । सिनेमकानिर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ । एन्जिलाको व्यस्तताका कारण फिल्मको छायांकन सुरु हुन ढिला भएको थियो ।

    छायाङ्कन सकिएपछि सह–निर्माताद्वय राजेश बगडिया र विनोद अग्रवालले एन्जिलालाई एकथान स्कुटर उपहार प्रदान गरेका छन् ।त्यस्तै, फिल्मलाई सम्पन्न गरिदिएकोमा धन्यवाद दिँदै निर्माता प्रेम कुमार श्रेष्ठले निर्देशक चाम्सलाई पनि बिनेली ब्रान्डको एक स्कुटरउपहार दिएका छन् ।

    सफल खेलाडी बन्नुभन्दा अघि एन्जिलाले धेरै दुःखहरु भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिनेनिर्देशक चाम्सले बताए ।

  • भक्तपुरका युवा गायक रोशनको ‘सररर हावा चल्यो’को म्युजिक भिडिओ सार्वजनिक

    भक्तपुरका युवा गायक रोशनको ‘सररर हावा चल्यो’को म्युजिक भिडिओ सार्वजनिक

    भक्तपुर । भक्तपुरका युवा गायक रोशन धौभडेलको ‘सररर हावा चल्यो’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले उक्त म्युजिक भिडिओ सार्वजनिक गरेकी हुन् ।

    गीतका सुशील चालिसेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडिओमा नायिक अनु शाह र नयाँ मोडेल रमेश विश्वकर्माको मुख्य अभिनय रहेको छ । भक्तपुरकै चाँगुनारायण नगरपालिका- ८ सुडालमा खिचिएको म्युजिक भिडिओको निर्देशन माइकल चन्दले गरेका हुन् ।

    दुई वर्षअघि तयार भएको गीतमा गायक धौभडेलले नै संगीत भरेका हुन् । यससँगै करिब ३ दर्जन गीतमा स्वर दिइसकेका धौभडेलल थप ६ वटा गीतको तयारी गरिरहेको जानकारी दिए ।

    ‘वन्ली यू’ भन्ने गीति एल्बम ल्याइसकेका उनले थप ६ वटा गीत समेटिएको अर्को एल्बम ल्याउने तयारी भइरहेको बताए ।

    म्युजिक भिडिओ सार्वजनिक गर्दै कुलपति शर्माले नेपालमै गीतसंगीतको प्रमाणपत्र पाउने व्यवस्था मिलाउन प्रतिष्ठान लागिपरेको बताइन् । यसको लागि त्रिभुवन र काठमाडौं विश्वविद्यालयसँग छलफल गरेर कार्यविधि बनिरहेको उनको भनाइ थियो ।

    कुलपति शर्माले म्युजिक भिडिओमा गायकगायिकालाई जस्तै गीतकारलाई पनि प्रस्तुत गर्नुपर्ने बताइन् ।

    वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले म्युजिक भिडिओमा लगानी गर्न नसक्ने राम्रा गीतकार तथा गायकहरु ओझेलमा पर्ने गरेको बताए । म्युजिक भिडिओले गर्दा गीतकार र गायकभन्दा कलाकारलाई बढी चिन्ने अवस्था आएको उनको भनाइ थियो ।

    त्यस्तै वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले राम्रो भिडिओले गीतसंगीतलाई थप प्रभावकारी बनाउने बताए ।

  • ‘कबड्डी’ पछि ‘रिमै’मा दयासँग आउँदै रिस्मा

    ‘कबड्डी’ पछि ‘रिमै’मा दयासँग आउँदै रिस्मा

    काठमाडौं । अभिनेत्री रिस्मा गुरुङ ‘कबड्डी’ पछि पुनः अभिनेता दयाहाङ्ग राईसँग सिनेमामा देखिने भएकी छन् ।

    ‘रिमै’ बाट उनीहरु चर्चित जोडी फेरि पर्दामा आउन लागेको हो ।

    गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने सिनेमालाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन् ।

    सिनेमामा दया र रिस्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन् ।

    उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन् ।

    सिनेमाको कार्यकारी निर्मातामा टिका गुरुङ्ग (युके), प्रकाश गुरुङ्ग (युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह-निर्माताका रुपमा रहनेछन् ।

    सिनेमाको हाल प्रिप्रोडक्सन चलिरहेको छ भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ ।

    ‘रिमै’ को चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ ।

    ‘कबड्डी’ सिनेमामा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए । यो सिनेमाले त्यो ‘केमिस्ट्री’लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ ।

    सिनेमालाई बितरण आरआर फिल्मस्ले गर्दैछ ।

  • पल शाह र दीपिका प्रसाईँको ‘मायावी’ को छायांकन सकियो

    पल शाह र दीपिका प्रसाईँको ‘मायावी’ को छायांकन सकियो

    काठमाडाैं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायांकन सकिएको छ ।

    मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरी करिब २ महिनामा छायांकन सकिएको हो ।

    फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो ।

    शनिवार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले इन्ड क्ल्याप गरेका थिए ।

    यो फिल्ममा पल शाह, दीपिका प्रसाईँ, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईँ लगायतका कलाकारको मुख्य भूमिका छ ।

    फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाइ दिने बताएका छन् ।

    फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रूपमा राजु पराजुली, रमा प्रसाईँ र नभ्नित झा छन् ।

    फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् ।

    क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

    फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब फिल्मको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ ।

  • गीतकार रोज लामाको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक

    गीतकार रोज लामाको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक

    काठमाडौं । गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक भएको छ । विदेशी भूमीमा रहेर पनि नेपाली गीत संगीतमा टेवा पुर्‍याई रहेका गीतकार रोज हाल दोहा कतारमा छन् ।

    विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किँरातीको स्वर रहेको छ ।

    सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् । गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि युट्युवमा सार्वजनिक गरिएको थियो ।

    https://www.youtube.com/watch?v=qnYxzJH9aMs

  • चलचित्र ‘परदेशी २’को प्रदर्शनको ५१ दिन पूरा

    चलचित्र ‘परदेशी २’को प्रदर्शनको ५१ दिन पूरा

    काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो । दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो ।

    काठमाडौंमा अस्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा चलचित्र प्रदर्शनरत छ ।

    त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र अहिलेसम्म निरन्तर चलिरहेको निर्माता राजेश वंशलले जानकारी दिए ।

    चलचित्रले कमाइ पनि राम्रो गरेको छ । घरेलु बक्स अफिसमा चलचित्रले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको समेत चलचित्रमा शीर्ष भूमिका छ ।

    मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

    विदेशमा पनि रुचाइँदै

    नेपालका दर्शकमाझ रुचाइएको चलचित्रको विदेश प्रदर्शन सुरु भइसकेको छ । चलचित्र यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शनमा आइसकेको छ । कुवेतमा केही दिनमा प्रदर्शनमा आर्उँदैछ । माल्टामा चलचित्रले दर्शकको निकै राम्रो माया पाइसकेको छ ।

    अमेरिकाको विभिन्न सहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिका पुगेका छन् । फिनल्याण्ड र स्पेनको बार्सिलोनामा चलचित्र प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा चलचित्र प्रदर्शन तय भएर प्रचारप्रसार सुरु भइसकेको छ ।

    कोरियामा डिसेम्बर ३ बाट चलचित्र प्रदर्शनमा आउँदैछ । अस्ट्रेलिया, यूके, हङकङ, न्यूजल्याण्ड, क्यानडासँगै भारतमा समेत चलचित्र प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।

  • हिमालको फेदैफेद कोरी पहाड

    हिमालको फेदैफेद कोरी पहाड

    काठमाडौँ ।  ‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो । सिक्लेसमा भर्खरै तात्तातो खाना खाएका थियौँ र समयको घडी पनि १२ बजाउने तरखरमै थियो । मनमनमा त्यही गालीकै हालत हुने होकि भन्ने लाग्यो ।

    आँखै अगाडि झरुवापाटाको उकालो याद आयो । कहिलेकाहीँ खाना खाँदाखाँदै हाम्रो घरमाथिको झरुवापाटाको उकालो हिँड्नुपथ्र्यो, असिनपसिन हुन्थ्यो । ऊ बेला आमाले औडाहा उठ्यो भन्नुभएजस्तै हुने हो कि भन्ने त्रासले छोयो ।

    पहिलेपहिले सिक्लेसका बुढापाकाहरु कसैलाई गाली दिनुपर्यो भने तातो ढिँडो खाएर १२ बजेको घाममा ओरालो उकालो चढ्नुपरोस् भन्थे रे । सिक्लेस परको मत्क्युँ खोला तरेपछि आउँछ त्यो उकालो । धेरै भयो नहिँडेर काठमाडौँमै कुजिएर बसेको । सहरको प्राविधिक व्यस्ततामा भौतिक शरीर प्रायः चलमल नगर्दा पनि हुने ।

    त्यसकारण कुजिएको छ शरीर । खाना खाएर हिँड्ने तयारीका लागि जुत्ताका तुना कस्दै थिएँ । सबै साथीहरु ठमठम हिँडेर पहाडको टुप्पोमा पुग्दासम्म पनि म फेदमै लत्रिएँ भने के होला ? अब खुट्टा दह्रो बनाउने समय छैन, मन चाहिँ बलियो बनाउन थालेँ ।

    कास्की–१ का सांसद मनबहादुर गुरुङको यात्राभरिको नाम ‘माननीय’ ज्यू हो । हामीले भनेको सुनेर यात्राका अरु पर्यटकले पनि उहाँलाई माननीयज्यू नै भने । मलाई लाग्छ ‘टिन एजर’ सबैले यो शब्दको अर्थ बुझेका भने छैनन् । यो पुस्ताले राजनीतिमा खासै चासो दिन छोडिसकेको छ । उनीहरुको धेरै चासो अहिले विदेश र सामाजिक सञ्जालतिरै छ ।

    सिक्लेसबाट सुरु भयो हाम्रो यात्रा । यात्राका ११ जनाको समूहले यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा मनबहादुर दाइले हामीलाई ‘गाइड’ गर्नुभयो । सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयमा उहाँले हामीलाई जानकारी पनि गराउनुभयो । यात्रामा उहाँलाई पाउँदा हामी निकै लाभान्वित भयौँ । छ दशक अघि नै ‘सिक्लेस–तसा–कोरी रुट’ टोनी ह्यागनले पत्ता लगाएका रहेछन् ।

    त्यसो त उनले नचिनाएको नेपाल र उनी नपुगेका यहाँका कुनाकाप्चा कमै होलान् । हामी ऐतिहासिक बाटो हिँड्दैछौँ भन्ने लाग्यो । त्यस्तै आधाघन्टा हिँडेपछि ओरालो सुरु भयो खोलासम्म । खोला तरेपछिको उकालोले हामीलाई लगभग भोलिपल्ट साँझसम्म नै पछ्याउने पक्कापक्की थियो ।

    विस्तारै अघि बढ्यौँ ट्रेकिङका लागि । स्पोर्टस् जुत्ता कस्यौँ, हातमा लौरो । झोला बोक्न भने दुई जना भाइको प्रबन्ध गरेका थियौँ । वास्तवमा बँधुवा भैँसीका खुर पलाएझैँ पलाएको छ हामी सहरियाको पेट । खानपिन धेरै तर उठ्बस र हिँडडुल कम । त्यसैले सहरमा पुट्ट पेट ननिस्किएको मान्छे भेट्न मुस्किल पर्छ । ठूलो पेटलाई डाक्टर रोगको घर भनिरहेका छन्, थाहा छ ।

    तर हामीहरु रोगको घरै बोकेर हिँड्ने धेरै छौँ । कम खान मान्दैनौँ अनि गाडी सुविधा पाए पनि कहिलेकाहीँ हिँड्नु पनि पर्छ भन्ने ठान्दैनौँ । आज पनि सिक्लेसको स्थानीय मासको दाल र स्थानीय चामलको स्वाद जिब्रोले छोड्न मानेन । सागको स्वादको त झन कुरै भएन । टन्न खाएरै उकालो ताक्ने तयारीमा छौँ । तात्तातो घाममा तातो भातसँगै उकालो ।

    तल ओर्लिएर मत्क्युँ खोला तरेपछि सुरु भयो तसाको उकालो । अब साथीहरुले ज्यानमा भएका कपडा खोल्न मिल्ने जति खोल्न थाले । समय १२ बजेकै आसपास, खोलाको खोँचमा अनि चौतर्फी पहाडकै पर्खाल । हावा खेल्ने ठाउँ छैन । जति आँखा च्यातेर हेर्यो, माथिसम्मै देखिन्छ नाकमै ठोक्किन आउने उकालो । यो कोरी पहाडको फेद हो । अब यहाँबाट करिब चार हजार मिटरको उकालो यात्रा तय गर्नुछ ।

    आजको बास हो तसा । तसासम्मै उकालो पुग्नुपर्नेछ । माननीयलाई सोधेँ–दाइ कतै तेर्पाएँ पनि छ कि यस्तै उकालो हो ? हाँस्नुभयो । लौ, उकालो सुरु भएकै छैन के को तेर्पाएँ खोजेको ? एक लर्कन उकालोपछि नसानसाबाट बग्न थाले पसिनाका खोला । अब एक हातमा ज्याकेट र अर्को हातमा लौरो भयो । स्थानीय ङच खोलाबाट सिक्लेस हाइड्रोको पावर हाउसका लागि ल्याइएका पाइपको कहिले मुनि र कहिले माथि हुँदै उक्लियौँ । त्यस्तै साँझ साढे ५ बजेतिर पुग्यौँ तसा ।

    तसामा बास

    तसामा फोनबाटै होटल बुक गरेका थियौँ । त्यसैले बेलुका खाना र ओत पाइयो । सुत्न त उही हो सिङ्गल बेडका दुई खाटमा पाँच जना । सबै उत्तानो अटाउन गाह्रो, कोही कोल्टे पर्नुपर्ने । दालभात भने मिठै पाइयो । हामी त्यस्तै ४० जानजतिले रात बितायौँ । कोही टेन्ट त कोही छाप्रोमा । यहाँको होटल भनेको छाप्रो रहेछ । यसो ओत लाग्ने मेसोमात्र । धेरै त टेन्टमै रात बिताएका थिए आफैँले लगेको स्लिपिङ ब्यागमा । हामीले भने ओत पाएका थियौँ एउटा छाप्रोमा ।

    ज्यान थाकेको थियो अनि ढिला भयो भने त्यही छाप्रो पनि नपाउने भएकाले साँझै त्यस्तै ७ बजेतिरै सुत्यौँ । सुतेदेखि नै एउटा कुराले बडो पिरोलिएको थियो भोलि बिहान चर्पी कसरी गर्ने भनेर । हामी त्यस्तै ४० जनाजति थियौँ तर चर्पी एउटै थियो । टसामा दुई वटा होटल रहेछन् अर्कोमा पनि हालत त्यस्तै । बिहान ३ः४५ बजेदेखि हामी उठ्न थाल्यौँ चर्पीका पिरले ।

    बाहिर हिउँपर्ने तरखर छ, पानी जमेको छ । बल्लतल्ल ५ बजेसम्म काम सक्यौँ तर हिउँ पगालेको पानीले हात आफ्नै हो कि अर्काको छुट्याउन गाह्रो थियो । त्यहाँ सुतेका अरु निद्रामै थिए । कति त इन्तु न चिन्तु थिए हिजोको हिँडाइले । होटल नामको छाप्रोका वरपर, सिँढी, पिँडी, आँगन, बलेसी सबैतिरका टेन्टमा सुतिरहेका छन् ।

    होटलवाला भाइलाई उठ्न र हाम्रो पैसा लिइदिन आग्रह गर्‍ र्यौं । भित्रैबाट आवाज आयो “राति १ बजेमात्र सुतेको एकछिन सुत्न दिनुस् न ।” हुन पनि सिक्लेसबाट बाटो लागेका तर हिँड्न नसकेकाहरु राति ११/१२ बजेसम्म नै होटल छिर्दै थिए । तिनलाई पनि खाना पकाएर त खुवाउनै पर्यो । फेरि हामीले भन्यौँ, भाइ उठ्नु न हामी चाँडै हिँड्नुपर्‍यो के पैसा लिइदिनुस् । फेरि भित्रबाटै आवाज आयो “दाइहरु अहिल्यै नजानोस् के अँध्यारो छ, माथि जङ्गलमा भालुले आक्रमण गर्छ ।”

    त्यस्तै ५ः३० जति बजेको थियो । हिमाल उदाउँदै थियो । घामले रङ्ग्याएर रातो हुन भने बाँकी नै छ । यसोमाथि तिर हेर्दा अँध्यारै छ । जङ्गल हो, होइन छुट्याउन गाह्रै छ । तर हामी ११ जना भएकाले भालुले केही गर्दैन र मोबाइलको टर्च बालेर पनि जान्छौँ भन्नैमै छौँ । भाइ उठेर पैसा लिइदिएपछि हामी आजको आन्तिम गन्तव्य कोरी पहाडका लागि बाटो लाग्यौँ ।

    बिहान सबेरैको समय, सफा मौसम । अनि प्रायः जङ्गलको बीचबाट कोरिएको नागबेली बाटो । उकालोको त कुरै भएन नाकमै ठोक्किन आउलाजस्तै । एकछिन हिँडेपछि विस्तारै उज्यालो भयो । अब माथि पहाडको उकालो आँखाले ठम्याउन सक्ने भयो । पारिबाट भर्खरै उदाएको घामले हिमाललाई चुम्न थालेको थियो । हामी जतिजति माथि चढ्दै थियौँ त्यति रातो घाम हिमाल चुचुरोबाट विस्तारै तल ओर्लंदै थियो । घामले बडो शिल्पी कालीगढले जस्तै रातो पोत्दै थियो हिमालमा । पहिला माछापुच्छ«े र त्यसपछि अन्नपूर्ण हिमशृङ्खलाका चुचुरासँगै विस्तारै रङ्गिँदै थिए हिमाल ।

    अब घामका राता किरण रुखका कापबाट तँछाडमछाड गर्दै छिरेर सडकमा पोखिने तरखर गर्दै थिए । आँखाले यो दृश्यको बडो रोमाञ्चक स्वाद लिइरहेको थियो । कतै चिरबिर चरा न्याउलीजस्तै बोल्दै थिए, ढुकुरको जोडीका आवाज सुनिँदै थियो । सायद गएरातिको समीक्षासँगै आज साँझसम्मको योजनाको सञ्चार उनीहरु गर्दै थिए । हामी पनि त्यसैमा थियौँ । हिजोको सुताइको समीक्षा गर्दै थियौँ र आज आज कोरी पहाडको टुप्पोमा पुगिएला भन्ने अनुमान लगाउँदै थियौँ ।

    लाग्थ्यो, हामी कतै धर्तीकै स्वर्गमा छौँ । त्यसो त स्वर्ग कस्तो हुन्छ कसलाई के थाहा रु स्वर्ग देख्ने यहाँ कोही छैन । यदि छ भने त्यो देखेको फर्किएको छैन, यहाँ हुनेले देखेकै छैन । यत्ति हो, वातावरण निकै रमणीय र अहिलेसम्म देख्नै नदेखेको । यसैगरी जारी रह्यो यात्रा । हिजोको हिँडाइले कैँडा लागेका खुट्टा विस्तारै तङ्गिँ्रदै थिए । जति अगाडि बढ्यो नयाँनयाँ दृश्यले मन तान्दै थियो । अब सडक छेउछाउतिरै आइपुगे घामका पाइला । अघि आँखाले लिएको घामको रसस्वादन अब शरीरले पनि गर्न थाल्यो ।

    यतिञ्जेल हामी त्यस्तै दुई हजार पाँच सय मिटरबाट माथिको उकालोमा थियौँ । बिहानको समय, सेक्दै छ सिरेटो । तर विस्तारै शरीरमा छाएका घामका किरणले न्यानो अनुभव हुँदैछ । देब्रेपट्टी लमतन्न हिमाल र यसको छेल पार्दै खेल्ने रुखको लुकामारी । बडो रोमाञ्चक देखिँदैछ । कहिले हिमालले रुख त कहिले रुखले हिमाललाई छेक्दै थियो । लाग्छ हिमाल नयाँ बेहुलीझैँ लजाएर रुखको छेलमा लुक्न जान्छ, तर हामीले हिमाल चुचुरो चियाउन छोडेका छैनौँ ।

    खुट्टालाई थकाइ लाग्थ्यो तर हासेको हिमाल देख्दा मन भित्रैदेखि हाँस्थ्यो । बडो प्रफुल्ल हुन्थ्यो आङ । त्यसपछि त थाकेर पछि लत्रिएका खुट्टामा ऊर्जा भरिन्थ्यो अनि अघिअघि सथ्र्यौं । सबैलाई त्यस्तै भएको अनुभव सुनाउँथे यात्राका साथीहरु । मलाई लाग्छ आफ्नै घरआँगनबाट हिमाल हासेको देख्न पाउने विश्वका धेरै कम भाग्यमानीमा पर्छौं हामी नेपाली ।

    यतिखेर मैले मेरो बाल्यकाल सम्झिएँ । म सुत्ने बार्दलीतिरै फर्किएर सधैँ हाँस्थ्यो माछापुच्छ्रे र धौलागिरि हिमाल । झुल्के घामसँगै उठाउँथ्यो मलाई पनि सुनको हिमालले । सबेरैको रातो घामले सबैभन्दा पहिला माछापुच्छ्रे  हिमालको माछाको पुच्छरलाई चुम्थ्यो र विस्तारै धौलागिरि हुँदै अरु हिमशृङ्खलातर्फ सर्दै जान्थ्यो । त्यसपछि सबै हिमाललाई राताम्मे पाथ्र्यो । घाम र हिमालको यो लुकामारी आँखासम्मको मुन्टोमात्र सिरकबाट बाहिर निकालेर चियाउथेँ मैले । त्यसैले दिनभर यही हिमालजस्तै स्वर्णमयी बन्थे मेरो बाल्यकालका हरेक बिहानी । मलाई यही हरेक बिहानीले दिउँसो देखाउँथे र दिनभरका लागि ऊर्जा भर्थे ।

    त्यही हिमालको साइनो आज गाँस्दै थिएँ म । किनकी नाक ठोक्किने उकालो काट्ने ऊर्जा आज यही हिमाल पस्किँदै छ । ती दिनजस्तै आज पनि हिमालले हाँसेर तान्दै छ र उसको फेदफेदबाटै शिरतिर सर्ने साहस दिएको छ । हिमाल छुने आशाले अघि बढ्दैछन् पाइला । माछापुच्छ्रे  र अन्नपूर्ण हिमशृङ्खलाको फेदबाट आफ्नो यात्रा तय गरिरहेका छौँ हामी । एकाध पाइला चालेपछि हिमालतर्फ फर्किहाल्छौँ र हेर्छौं कतै हिमालको स्वरुप फेरियो कि भनेर ।

    माननीय अघिअघि र त्यसपछि हुनुहुन्छ चन्द्र ढकाल दाइ । उहाँहरु हिँड्नेमा पर्नुहुन्छ, हामी पछ्याउनेमा । चन्द्र दाइको हिँडाइ देखेर अरुजस्तै म पनि छक्क पर्दैछु । काठमाडौँको व्यस्त जीवन, सुविधा आदि । यी सबका बाबजुद पनि उहाँले हिँड्ने अभ्यासलाई कसरी कायम राख्न सकेको रु मनबहादुर दाइ त यहीँको माननीय, सहरभन्दा गाउँबस्ती बढी चाहार्ने । तर चन्द्र दाइले उहाँलाई पछ्याउँदै हुनुहुन्छ ।

    त्यसपछि गोकुलजी, रुद्रजी, दिवाकरजी र होमजी । भीमदाइ छवि जी र म पछाडि छौँ, उहाँहरुलाई पछ्याइरहेकै छौँ । प्रस्तावित अन्नपूर्ण सिक्लेस केबलकारको ‘अलाइन्मेन्ट’ पनि यही पदमार्गको माथिपट्टि पर्दोरहेछ । यो हेर्ने र भित्रभित्रै ‘बिजनेस मोडल’ बनाउने काम पनि छ चन्द्र दाइको । यो काम भ्याएर पनि हिँड्न उछिन्नुभएको छ हामीलाई । तर प्रस्तावित बटम स्टेसनमा पुगेर केही मिनेट अवलोकनबाहेक यसपालि उहाँको पनि हिँड्ने नै छ योजना ।

    यो ट्रेकिङ त्यस्तै ६० वर्षअघि टोनी ह्यागनले नै हिँड्नुभएको रहेछ । सिक्लेस, मत्क्युँ, टँरा, रबरो, तसा, च्योबिने, चिगा, तिँजे, तासा हुँदै कोरी पहाड र यो हुँदै मनाङसम्मै । कोरी पहाडभन्दा पारिपट्टि अझै रमाइलो छ रे । त्यसपछि आउने मिजे, फुलुँ, ठूल्ने, थुर्पु, दूधपोखरी, नामुने भञ्ज्याङ अनि डाँफेखर्क हुँदै मनाङ पुगिने रहेछ । नामुने भञ्ज्याङ अहिलेको नक्साअनुसार कास्की, लमजुङ र मनाङको सिमानामा पर्दछ । डाँफेखर्क चाहिँ मनाङमै पर्छ । तर यसपालि भने हामी कोरीसम्म मात्रै पुग्यौँ ।

    कोरीको थाप्लैमा हिमाल

    त्यस्तै दिउँसो ४ बजेतिर पुग्यौँ कोरी । बिहान साढे ५ बजेदेखिको हिँडाइ र पहाडसम्म पुग्ने नपुग्ने त्रासका बीच यहाँ पुग्दा सगरमाथामै पुगेको अनुभूति भयो । यस्तै भन्दैथिए साथीहरु । मलाई पनि माइला दाइको नमस्ते गेष्ट हाउस पुगेपछि युद्ध जितेकै अनुभव भयो । भोकप्यास त छँदैछ । बिहान बोकेको पानी सक्कियो, बाटोमा पानीको स्रोत छैन । प्याकप्याकी परेको ज्यानले अब आराम पाउने भयो । बिहान तसाबाट बाटो लागेकाहरु अब विस्तारै होटल प्रवेश गर्दैछन् । फोन त प्रायः लाग्दैन तर तसा कोरीका व्यवसायीको सम्पर्क भयो होला ठूलो डेक्चीमा भात र दाल पाकेको थियो । त्यो देखेर झन भोक जाग्यो, खान तयार भयौँ ।

    अब झण्डै माइनस तापक्रममा आइपुगेका छौँ । थालमा मुछेको भात मुखसम्म लैजाँदै  कठ्याङ्ग्रिइहाल्ने, कस्तो अचम्म १ तात्तातौ भात खाने लाइनमा बस्यौँ । तरकारी त उही हो– न्युट्रेला । न्युट्रेलाले टारेको केही छाक भयो । मैले सोधेँ– किन हो जहाँ पनि यही तरकारी छ त भाइ ? हामी बसेको होटलका कुकले भने “हरियो परियो त कहाँ पाउनु दाइ ? बाटो छैन । न गाडी न घोडा–खच्चड । हेलीमा ल्याउनुपर्ने तरकारी किलोकै सयौँ रुपैयाँ भाडा पर्छ । हलुका र सस्तो यही पर्छ । केही बोरा ल्यायो राख्यो । सधैँ यही हो ।”

    खाइसकेपछि अब सुत्ने समस्या । बेलैमा ओछ्याउन नओगटे पछि पाइँदैन । नत्र आज पनि तसाबाट बाटो लागेका कैयौँ मानिसले यही छाप्रो पनि भरिनेवाला छ । खाट त के ओत पाउनै गाह्रो छ । साँझको रातो हिमाल यसो हेर्यौँ र बिहान झुल्के घामको हिमाल हेर्ने आशामा सुत्यौँ । रातिसम्म त्यस्तै ५० जना पुगे होटलमा । सबैका हिँडाइ अनुभव अलिअलि सुन्दासुन्दै राति नै भएछ ।

    स्लिपिङ ब्यागभित्र लुट्पुटिएका थियौँ । आज पनि उही साना दुई खाटमा पाँच जना । राति त्यस्तै १२ बजेतिर होटलको एकजना भाइ आएर भन्यो, “दाइहरु यसरी उत्तानो परेर सुतेर कहाँ हुन्छ ? यहाँ अरु दुई जना अटाउनु छ, सुत्न नपाएर मान्छे बाहिर बसिराछन् ।” कस्तो रमाइलो रु निकै हास्यौँ । भाइको आसयले कोल्टे परेर सुत्नु भन्यो । उसको व्यवस्थापन अनुसार हामी सबैजना कोल्टे परेर सुते त्यहाँ उसले थप दुई जना अटाउन सक्थ्यो । चन्द्र दाइले पनि सुन्नुभएछ, स्लिपिङ ब्यागभित्रैबाट हास्नुभयो । मलाई भने दुई पटक हासो उठ्यो । पहिलो उसको व्यवस्थापन सुनेर अनि अर्को कारण थियो त्यो भाइले अरबपतिलाई पनि आज कोल्टे पारेर सुताउने भयो ।

    सुत्न त्यस्तै भए पनि बडो रोमाञ्चक रह्यो राति । हाम्रो टिमका ११ जना एउटै केठामा सुतेका थियौँ । भूइँ र सबैतिर स्लिपिङ ब्यागमा मानिसहरु पल्टिएका छन् । राति चर्पी लागे बाहिर निस्कने बाटो छैन । तर यतिका धेरै मानिस एउटै हलमा सुत्दा पनि मोजा, सास, शरीर केही गन्हाएको थाहा छैन । सायद चिसोकै करामत होला ।

    एकाबिहानै सुनको हिमालले सबैलाई स्वागत गरेपछि भने रातिको सबै गाह्रोसाँगुरो सबैले बिर्सिए । होटलवाला उठेकै थिएनन् । हिउँ जमेको पानीले मुख धुन सकिने कुरा भएन । तातोपानी खानमात्र दिन्छ, मुख धुन दिँदैन । रातो हिमालसँग वार्तालाप सुरुभयो । सबै झुम्मिन थाल्यौँ । विभिन्न कोणका तस्बिर लिन सबैका मोबाइल व्यस्त थिए । कोही अझ माथि पहाड चढ्दै र कोही होटल वरपरको चौरबाट हिमाललाई मोबाइलमा कैद गर्न थाले । माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलाका विभिन्न हिमाल र लमजुङ हिमाल यहाँबाट आकर्षक र नजिक देखिने । लमजुङ हिमालको नामकरण त्यस्तै २०३० सालतिर हर्क गुरुङले गर्नुभएको रे ।

    तिहारको टीका लगाएर त्यसैदिन काठमाडौँबाट बाटो लागेका हामी त्यस दिन पोखरा बास बस्यौँ । त्यसको भोलिपल्ट सिक्लेसहुँदै तसा र पर्सिपल्ट कोरि पहाड पुग्यौँ । कोरि पहाड करिब तीन हजार नौ सय मिटर उचाइ हो । वास्तवमा हिमाल फेदैमा पुग्ने यो अत्यन्त छोटो र सजिलो रुट रहेछ । तर अब यहाँ बन्ने केबुलकारपछि कोरीमा स्तरीय होटल भयो भने यहाँबाट यो रुट भएर मनाङसम्म पुग्न सक्छन् । अहिले यहाँ होटल छैनन् अनि कोरी बास बसेर मनाङ पुग्नसक्ने अवस्था पनि छैन ।

    पोखराबाट ३५ किलोमिटर सिक्लेस अहिले पनि मोटरमा जान सकिन्छ । भोलि त प्रस्तावित अन्नपूर्ण सिक्लेस केबलकार ९६।५ किमी० कोरी पहाडसम्मै पुग्दा भने हिमालको फेदैमा पुगिन्छ । यति छोटो बाटोबाट हिमाल पुग्ने सायदै अर्को कुनै रुट भेटिएला नेपालमा । त्यसपछि कोरी त छँदैछ, कोरीपारिको पर्यटनमा पनि थप टेवा पुग्नेछ । मानिसहरु भोलि यही बाटो मनाङ जान सहज हुनेछ ।

    टोनी ह्यागनले आफ्नो संस्मरणमा यो रुटलाई एक अलौकिक नेपाल भनेर व्याख्या गरेको भए पनि बीचमा पर्यटकीय पूर्वाधार र विशेष गरी बस्ने होटलको अभावमा यो रुट त्यति प्रचलनमा आउन सकेन । अहिले कोरी र तसामा लाग्ने भिड पनि आन्तरिक पर्यटकहरुको हो । व्यवस्थित होटल नभएकाले विदेशी पर्यटक यहाँ जान चाहेर पनि सकेका छैनन् । तसा हुँदै कोरी पुगेर बास बस्ने अनि फर्किंदा अर्को रुट भएर क्याफुचे ताल हेर्दै फर्किने गर्दा ट्रेकिङको खास आनन्द आउँछ । तर त्यसका लागि कोरीमै पर्यटकीय पूर्वाधारहरु बन्नु आवश्यक छ । कोरीमा होटल बन्न सक्यो भने यो नयाँ रुटमा जान स्वदेशी र विदेशी पर्यटक लालायित हुनेछन् ।

    रासस / एकराज पाठक

  • ‘अछामी बड्डो’ को देउडा गीत ‘बड्डाका दिन गया’ सार्वजनिक (भिडिओ)

    ‘अछामी बड्डो’ को देउडा गीत ‘बड्डाका दिन गया’ सार्वजनिक (भिडिओ)

    महेन्द्रनगर । सुदूरपश्चिममा ‘अछामी बड्डो’ का नामले परिचित लालबहादुर धामीले ‘बड्डाका दिन गया’ गीत बजारमा ल्याएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाको मलास क्षेत्रमा उक्त गीत छायाङ्कन भएको हो ।

    विसं २०७२ मा ‘यो अछामी बड्डो’ देउडाबाट सुदूरपश्चिममा चर्चा बटुलेका गायक धामीले गत वैशाखयता तीन वटा देउडा गीत सार्वजनिक गरिसकेका छन् ।

    अछामी बड्डो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत बुधबार दिउँसोयता साँढे पाँच हजारले हरिसकेका छन् । राजेन्द्र शाहको शब्द, गायकको सङ्गीतमा रहेको उक्त गीतमा गायिका देवी घर्तीले साथ दिएका छन् ।

    गायक धामी र मोडेल रोजी कुँवरले अभियान रहेको गीतमा भीम थापाको निर्देशन र अमृत उपाध्यायले छायाङ्कन गरेका हुन् ।

    ‘सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन गीतमा यहाँका बला, संस्कृति समेटेर बजारमा ल्याएका छौँ’, धामीले भने, ‘यस गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्किएकाले सबैले मन पराउनेमा आश गरेका छौँ ।’

    विसं २०५५ देखि देउडा क्षेत्रमा सक्रिय रहेका धामी कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

  • सेभेन सिज इन्टरटेनमेन्टले किन्यो ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार

    सेभेन सिज इन्टरटेनमेन्टले किन्यो ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार

    काठमाडौं । अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो ।

    बुधबार निर्माण कम्पनि बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच सिनेमा रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो ।

    अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित सिनेमाले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्ने निर्देशक गुरुङले एक कार्यक्रममा बताएका थिए । सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।

     

  • दीपेन्द्रले घोषणा गरे ‘दुःखी आत्मा’, मूख्य भूमिकामा दयाहाङ

    दीपेन्द्रले घोषणा गरे ‘दुःखी आत्मा’, मूख्य भूमिकामा दयाहाङ

    काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘दुःखी आत्मा’को निर्माण घोषणा गरिएको छ ।

    ‘नाङ्गो गाउँ’ निर्माण कम्पनी क्लक वर्क क्रियसन्स र हिमाल कडरिया निर्माता रहेको सिनेमाको मूख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।

    स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुःखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन तथा निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ २’ गरी दुई सिनेमा निर्माण गर्ने घोषणा गरेका थिए ।

    अहिले आएर सिनेमा नाम ‘दुःखी आत्मा’ तय गरिएको हो । यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने सिनेमाका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने सिनेमा सोसियल कमेडी जनरामा निर्माण हुने जानकारी निर्देशक लामाले दिएका छन् ।

    निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैठौं सिनेमा हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

    ‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अबस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने, ‘सिनेमाले मानवीय स्वभावका बिभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

    अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो सिनेमाको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ । सिनेमाको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनीक गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।

  • मंसिर २८ मा लगनगाँठो कस्दै श्रृंखला र सम्भव

    मंसिर २८ मा लगनगाँठो कस्दै श्रृंखला र सम्भव

    काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाहबन्धनमा बाँधिने भएकी छन् ।

    प्रेमी सम्भव सिरोहियासँग यही मंसिर २८ गते उनले लगनगाँठो कस्ने तय भएको छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

    एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग अफेयरको सार्वजनिक स्वीकारोक्ति गरेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् ।

    श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने निकटस्थ स्रोतले जानकारी दियो । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ । अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् ।

    श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् ।

  • सलोन बस्नेत र करिश्मा केसी बुबा-आमा बन्दै

    सलोन बस्नेत र करिश्मा केसी बुबा-आमा बन्दै

    काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीले आमाबुबा बन्ने भएका छन् ।

    करिश्माले इस्न्टाग्राममार्फत आगामी वर्षको मे महिनामा नयाँ सदस्यको आगमन हुने जानकारी दिएकी छन् । उनले सलोनसँग केक काटेको भिडिओ पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।

    लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष मंसिरमा विवाह गरेका थिए ।

  • लामिछाने निर्देशित फिल्म ‘चित्रा’काे फस्टलुक पोष्टर सार्वजनिक

    लामिछाने निर्देशित फिल्म ‘चित्रा’काे फस्टलुक पोष्टर सार्वजनिक

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् ।

    निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो ।

    पुसको २७ गतेबाट रिलिज हुने‘चित्रा’का सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ ।

    यस्तै, फिल्मको दोश्रो पोष्टरमा फिल्मका मुख्य तीन अभिनेत्रीहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेताहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ ।

    पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन् ।

    यस्तै तेश्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले फिल्ममा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् भने अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ । बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक फिल्मका यी पोस्टरले फिल्मका अभिनेत्री मध्ये ‘चित्रा’ आखिर को हुन् त ? भन्ने कौतुहलता उत्पन्न गराउँछ ।

    ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने सहज अनुमान गर्न सकिन्छ ।

    ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाँजा’ बनाएपछि प्रशंसा बटुलेका थिए । यसैले, ‘चित्रा’ उनका लागि चुनौतीपूर्ण छ ।

    चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।

    सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।

    फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् । फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।

     

  • ‘ऐरी’ बन्दै प्रदिप, कसको गर्लान सिकार ?

    ‘ऐरी’ बन्दै प्रदिप, कसको गर्लान सिकार ?

    काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो। एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो ।

    सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ ।

    ‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।

    सिनेमालाई भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरको लगानी रहनेछ । जीवन थापा सिनेमाका निर्देशक हुन् ।

    आगामी वर्ष रिलिज हुने सिनेमा ठूलो बजेटमा तयार हुने बताइएको छ भने यो सिनेमा अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ । ‘प्रेमगीत-३’ को हिन्दी डब भारतमा रिलिज भएपछि सोका वितरक सुवास कालेले प्रदिपसँग हिन्दी सिनेमा बनाउने बताउँदै आएका थिए । यसैका लागि प्रदिपले ‘प्रेमगीत-३’ पछि निक्कै बाक्लो मात्रामा मुम्बई आउजाउँ गरिरहेका थिए ।

    हिन्दीसँगै यो सिनेमा नेपाली तथा तमिल भाषामा समेत रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

  • ‘दुई कदम’ को तेस्रो गीत रिलिज, वर्षा र इओन फिचर्ड

    ‘दुई कदम’ को तेस्रो गीत रिलिज, वर्षा र इओन फिचर्ड

    काठमाडौं । मंसिर २९ बाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘दुई कदम’ को तेस्रो गीत बजारमा आएको छ । मंगलबार सार्वजनिक ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यू अभिनेता इओन लिम्बूलाई फिचर्ड गरिएको छ ।

    वर्षालाई सिनेमाको यही गीतमामात्रै देखाइएको छ । गीतको भिडिओमा वर्षा-इओनको केमेष्ट्री जमेको देखिन्छ । गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको रचना र स्वर रहेको छ । कविराज गहतराजेको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

    उदय सुब्बा निर्देशित सिनेमामा वर्षा र इओनसँगै सिमोन गिरी सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय छ ।

    अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारादेवी लिम्बूको लगानी छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा

    शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा

    काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ । कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ ।

    सिनेमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाई सिनेमाका निर्माता हुन् ।

    सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ । सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको सिनेमा चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ ।

    ‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ । सुशन प्रजापतीले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।

  • चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु

    चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु

    काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा सोमबार पूजा गरेर शुभमुहुर्तसँगै चलचित्रको छायाङ्कन सुरु गरिएको छ ।

    यस फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती रहेका छन् ।

    पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ ।

    अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्ने यो चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए ।

    चलचित्रमा अमेरिका, म्यानमार, भुटान र इन्डिया गरी चार देशका चार जना नेपाली भाषी अभियन्ताहरु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्त्व, नेपाली वीरता र गोर्खालीहरू को हुन् ? नेपालीहरू कसरी भुटान म्यानमार, इन्डियासम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भनेर यो फिल्मले बोल्ने लेखक शिवम् अधिकारीले बताउनु भयो ।

    फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरी झापा हुँदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतको देशहरूमा हुनेछ ।

  • भ्वाइस अफ नेपालका प्रतिस्पर्धी आरिफ रफले ल्याए ‘आउँछौं कि भनेर…’

    भ्वाइस अफ नेपालका प्रतिस्पर्धी आरिफ रफले ल्याए ‘आउँछौं कि भनेर…’

    काठमाडौं । भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक आरिफ रफले ‘आँउछ केही भनेर’ बोलको गीतकाे म्यूजिक भिडिओ ल्याएका छन् ।

    गीतमा मोनिष निरौलाको शब्द तथा संगीत रहेको छ ।

    गीतको भीडीओमा मोडल अन्जान थापा सलीना खत्रीको क्लासिकल अभिनय देख्न सकिन्छ ।

    सार्वजनिक भिडिओ हेर्दा प्रेमीका हराएपछि विछिप्त बनेका एक पागल प्रमीको बारेमा दर्शाउन खोजिएको छ ।

    देव दोर्जे लामाको छायांकन रहेको भिडिओमा विकास मगरको समपादन, कलर र डिओपी रहेको छ ।

    नेपमेलोको प्रस्तुतीमा भिडिओलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् । पछील्लो समय गीत संगीतमा निकै रफ्तारका साथ अगाडी बढीरहेको नेपमेलोले विभिन्न किसिमका नेपाली गीतहरु दर्शक माझ प्रस्तुत गर्दै आईरहेको छ ।

     

  • फरक शैली बोकेको ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

    फरक शैली बोकेको ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

    काठमाडौं । फरक स्वाद दिने नेपाली सिनेमा हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । वर्षेनी एउटा न एउटा त्यस्ता खाले सिनेमा बनिनै रहेका छन् ।

    डेब्यू निर्देशक आशुतोषध्वज कार्कीले यस्तै सिनेमा ‘जम्प’ लिएर आएका छन् । सिनेमा मंसिर २९ गते रिलिज हुँदैछ । रिलिज मिति नजिकिदै गर्दा कार्कीले पहिलो ट्रेलर सार्वजनिक गरेको दुई सातापछि सिनेमाको फाइनल ट्रेलर रिलिज गरेका छन् ।

    सार्वजनिक ट्रेलरमा मुख्यपात्रको वास्तविक जीवन बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत गरिएको छ । सिनेमाले आशिष जो पेसाले एथ्लेटिक्सका खेलाडी हुन्, उनले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा पेस गर्छ ।

    सिनेमामा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री। अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको प्रमुख अभिनय रहेको छ ।

    फरक स्वासको सिनेमा भएकाले दर्शकका लागि रुचिकर हुने आशा निर्माणपक्षले गरेको छ । सिनेमाको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

  • पोखरामा मिथिला चित्रकला हेर्दै, सिक्दै

    पोखरामा मिथिला चित्रकला हेर्दै, सिक्दै

    पोखरा । नेपालको मधेश प्रदेशको मिथिला क्षेत्रमा लोकप्रिय मिथिला चित्रकला शनिबार गण्डकीका बासिन्दाले अवलोकन गरेका छन् । करिब ३० जना पोखरेली बालबालिका आर्ट वर्कसपमा समेत सहभागी भए । वर्कसपसँगै कला प्रदर्शनीसमेत भएको छ ।

    विद्यालयमा विभिन्न खालका पेन्टिङ सिकेका बालबालिका पृथक खालको मिथिला चित्रकला बनाउन व्यस्त भए । शनिबार दिउँसो करिब ५ घन्टा भएको कला कार्यशालामा सहभागी बालबालिकाले उत्सुकतापूर्वक मिथिलाको कला सिक्नुका साथै आफैंले सिर्जनासमेत गरेका छन् ।

    आइतबारसम्म चल्ने कार्यशालामा सहभागिताका लागि मधेश प्रदेशबाट सात कलाकार पोखरा आएका छ । कलाकार सुनयना ठाकुरले त्रेता युगमा भगवान रामको वरियत आउँदा स्वागतका लागि घर घरमा बनाइएका चित्रहरुले विकसित हुँदै मिथिला चित्रकलाको रुप लिएको बताइन् ।
    ‘कुनै प्रशिक्षकले नसिकाई घर घरमा बनाइने मिथिलाको यो कला अहिले कंक्रिट भवनहरु बन्दै जाँदा सङ्कटमा पर्न थालेपछि संरक्षणका प्रयास थालिएका छन्,’ उनले भनिन् । कलाकार ठाकुरले यसलाई मिथिलाको मात्र नभई पूरै नेपालको कलाको रुपमा अपनत्व दिलाउन जरुरी भएको उल्लेख गरिन् ।

    कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले कलाको माध्यमबाट संस्कृति संरक्षण र प्रवद्र्धन हुने जनाउँदै यस खालका कार्यक्रम ठाउँ ठाउँमा हुनुपर्नेमा जोड दिए । ‘ए डे विथ कलर्स’ भन्ने उद्घोषका साथ कार्यक्रम भएको हो ।

    कार्यक्रम संयोजक कृपा श्रेष्ठले कला, साहित्य आदानप्रदान गर्दै ती क्षेत्रको श्रीवृद्धिका लागि कार्यक्रम गरिएको बताइन् । ‘यसपालिको कार्यक्रम बालबालिका केन्द्रीत नै गरेका हौँ । बालबालिका नै वर्कसपमा धेरै सहभागी छन्,’ उनले भने ।

    कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेल, कलाकार एवम् कवि रमेश श्रेष्ठ, महिला उद्यमी रामकली खड्का, अभ्या क्लबका निरज लामा लगायतले मन्तव्य राखेका थिए ।