काठमाडौं । अहिलेको जल्दोबल्दो ‘सहकारी ठगी’ को कथामा निर्माण भएको चलचित्र ‘महाभोज’ तोकिएको समयभन्दा १५ दिन ढिला गरी आमदर्शकमाझ आएको छ । यसअघि जेठ १५ गते रिलिज हुने तिथि रहेको चलचित्र राजावादी आन्दोलनको मारमा परेर पछि धकेलिएको थियो ।
सहकारी ठगीको कथा भन्नासाथ धेरैले रवि लामिछानेलाई सम्झिन्छन् । सहकारीको पैसा अपचलन गरेको आरोप लागेका लामिछाने अहिले थुनामा छन् । सहकारीबाट पैसा ल्याएर गोर्खा मिडियामा लगानी गरेको मुद्दामा अदालतले उनलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा ज्यादतीपूर्ण काम-कारबाही भइरहेको आरोप उनका समर्थकहरूले लगाउने गरेका छन् ।
‘महाभोज’ का कुनै पनि पात्रको कथा रवि लामिछानेसँग मेल खाँदैन । किनकि चलचित्रमा ‘सहकारी’मात्र छ, ‘गोर्खा मिडिया’ छैन ।
कथासार यस्तो छ
नमुना बहुउद्देश्यीय बचत तथा ऋण सहकारी नाम गरेको एउटा सहकारी संस्थाले स्थानीय बचतकर्ताहरूको ससाना रकम टिपेर गाउँ–ठाउँमा इमानदारीपूर्वक सेवा दिइरहेको छ । यही संस्था सफलतापूर्वक हाँकेर लोकप्रियता कमाएका छन् सूर्यप्रसाद (आर्यन सिग्देल) ले ।
तर उनी अब सहकारी छोडेर राजनीतिमा हाम्फाल्न तम्सिन्छन् । आफ्ना एक ‘निष्ठावान’ कर्मचारी चन्द्रकाजी गुरुङ (दयाहाङ राई) लाई सहकारीको जिम्मा लगाउँछन् र आफू मेयरमा चुनाव लड्छन् । जित्छन् पनि ।

सूर्यप्रसादले छोडेसँगै सहकारी विस्तारै-विस्तारै खस्किन थाल्छ । विभिन्न कारणले बचतमा कमी आउँछ । एकसाथ धेरै बचतकर्ताहरूले आफ्नो रकम फिर्ता लैजान खोज्दा तरलता संकट उत्पन्न हुन्छ । त्यसपछि खुल्छ, सूर्यप्रसादको बदमासीको पोल । उनले चुनाव लड्न सहकारीको ठूलो रकम अपचलन गरेका थिए, सोझा चन्द्रकाजीलाई प्रयोग गरेर । बचतकर्ताहरू भने चन्द्रकाजीविरुद्ध उत्रिन्छन् ।
कथाभित्र एक जोडी विश्व कोइराला (खगेन्द्र लामिछाने) र शान्ति (अञ्जना बराइली) को सहायक कथा पनि छ । उनीहरू काठमाडौंमा बस्छन् । श्रीमान बैंकका जागिरे । श्रीमतीले आफ्नो माइतीसँग पैसा मागेर अपार्टमेन्ट किनेकी छन्, तर माइतीलाई पैसा तिर्न श्रीमानलाई दबाब दिइरहन्छिन् । केही नलागेपछि विश्वले गाउँमा अवकाशको जीवन बिताइरहेका आफ्नो बुवा (मोहन निरौला) लाई गुहार्छन् । उनका बुवाले आफ्नो जीवनको कमाइ त्यही नमुना सहकारीमा लगानी गरेका छन् । विश्व र शान्ति गाउँ फर्किएर सो पैसा फिर्ता माग्ने क्रममा कथाले गति लिन्छ ।

कथामा अलिकति विविधता ल्याउन र चलचित्रलाई मनोरञ्जक बनाउन श्रीमान-श्रीमतीबीचको अन्तरद्वन्द्व, सासू-बुहारीको नोकझोक, बाबु-छोराको खटपटलाई घोलिएको छ, सहकारीको प्रधान विषय नबरालिने गरी । ‘शो पिस’ का रूपमा सहकारीकी कर्मचारी ममता (मल्लिका महत) पनि छिन्, जो सञ्चालकको बदमासीले गर्दा अनावश्यक झमेलामा फँस्न पुग्छिन् । मल्लिकाको भूमिकालाई अलिकति फराकिलो बनाइएको भए चलचित्रमा अझै विविधता थपिन सक्थ्यो ।

निर्देशन र प्रस्तुतीकरणका हिसाबले चलचित्र अब्बल नै छ । दिनेश राउतले नेपाली चलचित्रमा अहिलेसम्म बनाएको साखलाई खस्किन दिएका छैनन् । यद्यपि उनको अघिल्लो चलचित्र ‘पूजार सार्की’ को उत्कृष्टतालाई भने ‘महाभोज’ले छुन सकेको छैन । समग्रमा ‘महाभोज’ औसतभन्दा माथिल्लो दर्जाको, तर ‘उत्कृष्ट’ बन्न चुकेको चलचित्र हो ।
यस्ता किसिमका गम्भीर सामाजिक मुद्दालाई चलचित्रमा ल्याएर पछार्नु सजिलो काम हुँदै होइन । व्यावसायिक हिसाबले त यो एउटा जोखिम पनि हो । किनकि मनोरञ्जन खोज्न हलसम्म आउने दर्शकलाई यस्ता विषयवस्तुले ‘ल्याङ’ गर्न पनि सक्छन् । यस्ता चलचित्रमा दर्शकलाई बाँधेर राख्न लेखक र निर्देशकले निकै भाँती पुर्याउनुपर्छ । यसमा निर्देशक राउत सफल नै छन् ।
चलचित्रमा नाम चलेका कलाकारहरूको भीडभाड छ । सबैलाई सन्तुलित रूपमा नै भूमिकाको बाँडफाँट गरेका छन् लेखक र निर्देशकले । कलाकारहरूले पनि आफूले पाएको भूमिकामा न्याय गरेका छन् ।
फेरि एक पटक अरुको तुलनामा दर्शकको मन जित्न सफल भइन् अञ्जना बराइली । ‘पूर्णबहादुरको सारंगी’ मा जस्तै यसमा पनि मनले सफा, तर व्यवहार छुच्चो भएकी पत्नीको भूमिका उनले निकै जीवन्त रूपमा निभाएकी छन् ।

आर्यन सिग्देल ‘नेगेटिभ’ रोलमा त्यति अभ्यस्त कलाकार होइनन् । कुनै बेलाका ‘रोमान्टिक हिरो’ बाट ‘क्यारेक्टर आर्टिस्ट’ मा ढल्दै गएका आर्यनलाई यो चलचित्रले थप आत्मविश्वास दिनेछ । दयाहाङ राईको भूमिका बलियो छ भने अभिनय सामान्य । उनको अभिनयमा फरकपना पाइँदैन । खगेन्द्र लामिछाने आफ्नो भूमिकामा जमेका छन् । गौमाया गुरुङ, मोहन निरौला, कमलमणि नेपाल, बुद्धि तामाङलगायत सबै ठीस्कठाक छन् ।
चलचित्रभरि एउटा पनि गीत समावेश छैन । यूट्युबमा राखिएको कौडा गीत चलचित्रमा गायब छ । गीत घुुसाउन सकिने ठाउँ नभएको होइन, तर निर्देशकले चलचित्रलाई विशुद्ध नै राख्न चाहे । बरु कथा सकिएपछि एउटा डान्स नम्बर आउँछ, जसमा देखिएका छन् निश्चल बस्नेत । चलचित्र सकिएपछि गीत राख्नु नयाँ प्रयोग हो कि खोई के हो ?
खासमा निश्चललाई चलचित्रकै एक पात्रका रूपमा प्रचारित गरिएको थियो र उनी चलचित्रका प्रेसमिटदेखि प्रमोसन कार्यक्रमहरूसम्म पुगेका थिए । चलचित्रभरि कतै नदेखिएका निश्चल कथा सकिएपछिको गीतमा डान्स गर्न आइपुग्छन्, तर उनको डान्स र गीत नै हेर्न दर्शक हलमा के बसिरहन्थे ? मलिका महतको बिहे देखाउनकै लागि यो गीत आवश्यक पनि थिएन ।
अब कुरा गरौं स्क्रिप्टको ।
चलचित्रका लेखक विकास सुवेदी भने यस पटक अलिकति चुकेको महसुस भएको छ । विकास उनै लेखक हुन्, जसले यसअघि दिनेश राउतले नै निर्देशन गरेका ‘प्रकाश’, ‘पूजार सार्की’ जस्ता चलचित्रबाट आफूलाई प्रमाणित गरिसकेका थिए । ती दुवै चलचित्रमा उनको कलम औधी निखारिएको थियो । अहिले उनी चलचित्र निर्देशकसमेत बन्दैछन् । अभिनेता पल शाहले आफैं निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’ मा विकासलाई निर्देशनको अभिभारा सुम्पिइसकेका छन् ।
‘महाभोज’ मा भने विकासले ‘प्रकाश’ र ‘पूजार सार्की’मा जति मेहनत नगरेको भन्न करै लाग्छ । चलचित्रको पहिलो हाफ त्रुटिरहित छ, मनोरञ्जक पनि । दोस्रो हाफमा भने उनले लत्तो छोडेका छन् । सहकारीको ठगीको समाधान ‘जनविद्रोह’ वा ‘हिंसा’ नै हो भन्ने गलत निष्कर्षमा पुर्याएको छ यो चलचित्रले । पीडितलाई न्याय दिन चलचित्रले सुझाएको ‘क्रान्तिकारी विकल्प’ ले कानूनी राज्यको अवधारणालाई आत्मसात गरेको छैन ।

चलचित्रमा सूर्यप्रसादलाई खलनायक र चन्द्रकाजीलाई नायक बनाउन खोजिएको छ, तर तर्कबाट त्यो स्थापित हुँदैन । सूर्यप्रसादको सहकारी ठगीमा चन्द्रकाजी प्रमुख मतियार थिए । बेरितपूर्वक आफ्नो नामबाट सहकारीको रकम सूर्यप्रसादलाई निकासा गरिदिएका चन्द्रकाजी कसरी निर्दोष भन्ने प्रश्नको जवाफ लेखकले दिएका छैनन् ।
सहकारी ठगी विशुद्ध एउटा सामाजिक अपराध भएकाले कानूनी हिसाबले अदालतबाट अन्तिम निरूपण भएको देखाइएको भए त्यो बढी सार्थक हुन्थ्यो, तर यसमा दयाहाङ र धनमाया (गौमाया गुरुङ) लाई अनावश्यक रूपमा ‘विद्रोही’ अवतारमा पेश गरेर ‘माओवादी जनयुद्ध’ को महिमामण्डन गरिएको छ । यसअघिका दुई चलचित्रमा माओवादी जनयुद्धप्रति सन्तुलित दृष्टिकोण प्रस्तुत गरेका लेखक सुवेदीले यस चलचित्रमा आइपुग्दा भने हिंसाप्रति नचाहिँदो आशक्ति देखाएका छन् ।
वास्तवमा सहकारी भनेको देशको अर्थतन्त्रको एउटा खम्बा नै हो । नेपालमा थुप्रै सहकारीले राम्रो अभ्यास गरेर अर्थ व्यवस्थामा टेवा दिइरहेका छन् । केही सहकारी विभिन्न कारणले समस्याग्रस्त छन् । कतै सञ्चालकको खराब नियतले त कतै बाह्य कारणले । केही सहकारीको बदमासीलाई लिएर समग्र सहकारी क्षेत्र नै बदनाम हुनुहुँदैन भन्ने सन्देश चलचित्रले प्रवाहित गर्न सक्नुपर्थ्यो, त्यो गरेन ।
यस चलचित्रको नाम ‘महाभोज’ किन राखियो ? यसको उत्तर कतै भेटिँदैन । शीर्षकलाई सार्थक बनाउन जबरजस्ती एकाध संवादमा महाभोज शब्द प्रयोग गरिएको छ । खैर, नाममा के नै छ र ?
समग्रमा एउटा सामाजिक मुद्दाको उठान गरेर यत्तिको चलचित्र तयार पारेकोमा निर्माण टीमलाई बधाई दिनुपर्छ । कथा-पटकथामा अझै बढी होमवर्क गरेर ‘मास्टरपिस’ बनाउने अवसर चाहिँ खेर फालिएको हो कि ?


















































