विषयवस्तु, कथावाचन, निर्देशकीय कला, अभिनय र प्राविधिक पाटो समृद्ध हुनसाथ हलहरूमा दर्शक तान्नलाई केही फन्डा गर्नै पर्दैन । चलचित्र स्वयंले दर्शकलाई हलसम्म तान्ने ल्याकत राख्छ । यसको पुष्टि ‘पूर्णबहादुरको सारंगी’जस्ता चलचित्रले हाम्रै आँखा अगाडि गरिदिएका छन् ।
यद्यपि हाम्रा चलचित्रकर्मीलाई चलचित्र राम्रो भएर मात्रै पुग्दैन, अनेक हत्कण्डा मच्चाउनुपर्छ । विभिन्न तिकडम गरेर ‘हा हा हो हो…’ गर्दै हल्लाखल्ला गरेपछि मात्रै चलचित्र चल्छ भन्ने भ्रम छ । त्यही भ्रमको परिणति हो, अहिले सन्तोष सेन भर्सेज रोहित अधिकारी–दीपकराज गिरीबीचको ‘वाक युद्ध’ ।
उनीहरुबीच ‘अरूलाई गलत र आफूलाई सही’ प्रमाणित गर्ने प्रतिस्पर्धा तीव्र रूपमा चलिरहेको छ । भ्रम र झुटको पुच्छर समातेर सत्यको वैतर्णी तर्न प्रयासरत उनीहरू सामाजिक सञ्जालमा प्रदर्शनरत छन् । सञ्जालमा पूर्ण कमेडीको कलेवरमा सस्पेन्सले भरिपूर्ण थ्रिलर कथा पस्किरहेका छन् । दर्शकहरू हाँसिरहेका छन्, रमाइरहेका छन्, ताली पिटिरहेका छन् ।
तिक्तताको पुरानो विगत
सन्तोष भर्सेज रोहित–दिपकराजबीचको लफडा अहिले उत्कर्षमा पुगे पनि यो पुरानै घाउ हो । यसपटक रोहित अधिकारीले कोट्याइदिएमा मात्रै हुन् । उनले पुरानो घाउ कोट्याइदिँदा पनि यसरी कोट्याइदिए कि अहिले सामाजिक सञ्जालमामा छताछुल्ल र छरपस्ट छ ।
उनीहरुबीचको चिसोपना, तिक्तता र दुस्मनीको शृङ्खला गत वर्ष दशैंकै शुभसाइतमा प्रदर्शन भएका ‘छक्का पन्जा-५’ र ‘१२ गाउँ’ बाट उत्कर्षमा पुगेको थियो । ‘१२ गाउँ’ समीर भट्टको डेब्यु चलचित्र थियो । उनै समीर अहिले सन्तोषको ‘बलिदान’को मुख्य अभिनेता हुन् । ‘१२ गाउँ’अघि नै समीरले सन्तोषको चलचित्रबाट डेब्यु गर्ने भनिएको थियो । तर, प्राविधिक कारणले सम्भव भएन । तैपनि सन्तोषले ‘१२ गाउँ’को प्रचारप्रसारमा खुलेर सहयोग गरे ।
अर्कातिर ‘छक्का पन्जा’ टिमले लामो समयदेखि सञ्जालमा एक खालको आक्रमण झेल्दै आएको थियो । राजेश हमालप्रति टिप्पणी गरेकै आधारमा दीपकराज–दीपाश्री निरौलामाथि निरन्तरको तुच्छ र अपाच्य शब्दसहितको आक्रमण भइरहेको थियो । सञ्जालमा भिडले पुरानो प्रसंग कोट्याउँदै ‘छक्का पन्जा ५’ लाई मारमा पर्ने गरी गालीगलौज मात्रै गरेन, दीपक–दीपाको निजी जीवनमा नै आहत् पुग्नेखाले टिप्पणीहरू गरिदिएका थिए । उनीहरू मात्रै होइन, उनीहरूको परिवारको समेत मानसिक स्वास्थ्यमा खलल पुर्याउने गरी टिप्पणीहरू आइरहेका थिए । अर्कातिर छक्का पन्जा टिमकै विरोध गर्नेहरूले लगालग ‘१२ गाउँ’ को प्रमोसन गरिरहेका थिए ।
एकातिर अराजक र छुद्र टिप्पणीहरूले घायल भइरहेको थियो ‘छक्का पन्जा’ टिम । अर्कातिर सन्तोषले ‘१२ गाउँ’ को खुलेर प्रचार गरिरहेका थिए । यही समयमा दीपकराजको एक अन्तर्वार्ता सार्वजनिक भयो । जहाँ उनलाई प्रस्तोता प्रकाश सुवेदीले सन्तोषलाई देखाउँदै सोधेका थिए, ‘उहाँलाई साइबर कमान्डर भन्दा रहेछन् नि, हो ?’
दीपकराजले आफूले पनि त्यस्तो सुनेको उल्लेख गर्दै भनेका थिए, ‘कमाण्डिङ राम्रो छ ।’ त्यसवेला छक्कापन्जा टिमले गाली खानुमा सन्तोषको शीर्ष भूमिका रहेकोतिर संकेत गर्दै उनले भनेका थिए, ‘मेरो कानमा चाहिँ आएको छ । तँ विरुद्ध क्याम्पेनिङ गर्ने भन्छन्, तर म सुनेको भरमा दौडन्नँ । यदि हो भने पनि ठिकै छ नि ! मैले केही गर्न सक्दिनँ ।’
यसपछि सन्तोषले पनि फेसबुक लाइभमार्फत् दीपकराज र सञ्चारकर्मी प्रकाशको नाम लिँदै आफूलाई ‘साइबर कमान्डर’ पुष्टि गर्न चुनौती दिए ।
उनले भनेका थिए, ‘उहाँहरूलाई कसले त्यसो भन्यो, त्यो मान्छेलाई खडा गर्नुपर्यो । मान्छेलाई त्यसै लाञ्छना लगाएर भएन । कसैलाई गाली गरेर डिप्रेसनमा पुर्याउन पाउँछ ?’
उनले आफूले ‘छक्का पन्जा ५’लाई पनि ‘१२ गाउँ’लाई जसरी नै सपोर्ट गरेको समेत दाबी गरे । आफूले ‘छक्का पन्जा ५’को पोस्टर समेत सेयर गरेको तर, दीपकराजले कुनै रियाक्ट नगरेपछि डिलिट गर्दिएको उनको भनाइ थियो । यसअघिको ‘छक्का पन्जा ४’लाई ज्यानै फालेर साथ दिएको समेत सन्तोषले लाइभमा बताएका थिए । यो कुरालाई भने दीपकराजले समेत स्वीकार गर्ने गरेका छन् ।
त्यही लाइभ भिडियोमा सन्तोषले समीर भट्ट चलचित्र क्षेत्रमा आउँदा दिपकराजहरु खुसी नभएको समेत बताएका थिए । उनले भनेका थिए, ‘समीर भट्ट यो क्षेत्रमा आउँदा तपाईँहरू खुसी हुनुहुन्न । दीपकराज गिरीले उद्योग धानेको कुरा पनि बजारमा आएको छ । कोही एकजनाले करोडौँ कमाएर यो उद्योग धानिएको छैन । यो उद्योग चलायमान हुनलाई सबैको भूमिका छ ।’
यो प्रकरणभन्दा अझै पुरानो घटना पनि छ, सन्तोष–दिपकराजबीच । तीन वर्षअघि सन्तोषको चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आएको थियो । यो चलचित्रको हिन्दी भर्सन पनि सार्वजनिक भएको थियो । चलचित्रमा मुख्य अभिनेता थिए, प्रदीप खड्का । चलचित्र विकास बोर्डको अध्यक्ष थिए, भुवन केसी ।
‘प्रेमगीत ३’ को प्रदर्शनताका चलचित्र विकास बोर्डले एउटा नयाँ निर्णय गर्यो । उक्त नयाँ निर्णयमा बिहान ६ बजेदेखि रातको ११ बजेसम्म मात्रै चलचित्र देखाउन पाइने व्यवस्था थियो । बोर्डले ल्याएको यो नीति सन्तोष र प्रदीप लक्षित भएको उनीहरूको अनुमान थियो । साथै आफ्नो छोरा अनमोल केसीको प्रतिस्पर्धी प्रदीप भएकाले पनि भुवनले बोर्डमार्फत् यस्तो निर्णय लिएको सन्तोष–प्रदीपको आरोप थियो । यसपछि त के चाहियो ! एउटा प्रेसमिटमा प्रदीपले त भुवनको बोर्ड अध्यक्षबाट राजीनामा नै मागे ।
सन्तोष–प्रदीपले प्रेस मिटमै भुवनको आलोचना गरेपछि भुवनको बचाउमा अभिनेता सरोज खनालले आफ्नो अभिव्यक्ति दिएका थिए । यसपछि सन्तोष सरोजतिर खनिए । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरोजलाई ‘अमेरिकामा कलाकार लुक्ने ट्रेण्ड बसाल्ने कलाकार भएको’ आरोप लगाए । सरोजकै कारण अहिले अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिसा नदिने गरेको सन्तोषको भनाइ थियो ।
सन्तोषले सरोजमाथि कठोर टिप्पणी गरेपछि दीपकराजले आपत्ति जनाए । उनले सन्तोषलाई आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन पनि सुझाव दिए । यस स्टाटसमा उनले उल्लेख गरेको ‘सेना’ शब्द नै ‘साइबर सेना’ हो ।
उनले लेखेका थिए, ‘भुवन केसी, अनमोल केसी, झरना थापा.. । अब हुँदा हुँदा आदरणीय सरोज खनाल दाइ, उफ् ! सबैलाई गाली गरेरै चलचित्र चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्या यो ?’
साथै दीपकराजले ‘प्रेमगीत ३’ लाई नियमअनुसार कर तिर्न पनि सुझाव दिएका थिए । त्यसवेला ‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई नेपालमा प्रदर्शन गर्दा विदेशी चलचित्र सरह नै १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने अवस्था आएको थियो । निर्माण टिमले यसको विरोध गरेका थिए । यद्यपि पछि हिन्दी भर्सनलाई नेपाली चलचित्रकै सरह १५ प्रतिशत विकास शुल्क छुट दिने निर्णय सरकारले गरेको थियो ।
यसवेलादेखि गहिरिएको सन्तोष–दिपकराजबीचको तिक्तता र दुस्मनी ‘छक्का पन्जा ५’ मा आएर छ्यालब्याल भयो । अहिले त करिब करिब पानी बाराबारको स्थिति छ ।
लफडामा रोहित अधिकारीको इन्ट्री
दीपकराज–सन्तोषले ‘छक्का पन्जा ४’ को प्रदर्शनअघि नै सहकार्य गर्ने उल्लेख गरेका थिए । दीपकराजको आमा सरस्वती मुभिज र सन्तोषको आशुसेन फ्लिम्सबीच सहकार्य हुने बताइएको थियो । सन्तोषले दीपकराजसँग खिचिएको तस्बिर आफ्नो फेसबुकमा समेत राखेका थिए ।
तर, उनीहरुबीच सृजनात्मक सहकार्य हुनुको साटो तिक्तता र दुस्मनी झनै गहिरिँदै गयो, त्यो पनि सार्वजनिक रूपमा देखिने गरी । अहिले आएर त एक अर्कालाई सक्दो गलत देखाउन लागिपरेका छन् ।
यी दुईको बीचमा दीपकराजसँगै उभिएर ‘वाकयुद्ध’मा होमिएका छन्, रोहित अधिकारी । रोहित–दीपकराजले ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए । अहिले रोहितको निर्माण रहेको चलचित्र ‘माइतीघर’ दशैंको फूलपातीबाट प्रदर्शनमा आउँदैछ । ‘माइतीघर’सँगै सन्तोषको समीर भट्ट स्टारर ‘बलिदान’ पनि आउँदैछ । साथै हरिवंश आचार्य स्टारर ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शनमा आउँदैछ ।
ठूला बजेटका तीन चलचित्र भिड्ने भएपछि अलिकति प्रचारप्रसारमा सक्रिय हुनैपर्यो । तीन चलचित्रकै निर्माण टिम प्रचारप्रसारमा लागिपरेका थिए । तर, ‘माइतीघर’को गीत ‘मेरो प्यारो माइतीघर’ प्रदर्शन भएपछि माहौल बिग्रियो । यो गीतमाथि एकाध नकारात्मक प्रतिक्रियाहरू आउन थालेपछि रोहित उत्तेजित बनेर गए । उनले नकारात्मक कमेन्ट गर्ने आइडीहरूको स्क्रिनसट लिँदै आफ्नो फेसबुकमा सार्वजनिक गर्न थाले । ती पेजहरूले ‘बलिदान’ को टिजर भने सेयर गरेका थिए । आफूलाई म्यासेन्जरमा घुसेर गाली गर्ने व्यक्तिको समेत स्क्रिनसट लिँदै सन्तोषलाई नै ट्याग गरे ।
यही मेसोमा दीपकराजले पनि स्टाटस ठोके, ‘आफ्नो चलचित्रको प्रचार गर्नुको साटो अरूको चलचित्रलाई गाली गर्न लगाउने काम बन्द गरौँ । आफ्नो हिरो बाघ ! अरूको हिरो स्याल ? याद गरौँ, बाघ पनि जनावर नै हो ।’
‘बाघ’ शब्द सन्तोषले समीर भट्टका लागि प्रयोग गर्थे । यसपछि त के चाहियो ! सन्तोष दीपकराजमाथि खनिए । ‘दीपकराज गिरी तिम्रो सोचमै पाप छ’ भन्दै लामो स्टाटस लेखे । आफूले कसैलाई पनि नकारात्मक कमेन्ट गर्न नलगाएको भन्दै पशुपतिनाथ र काली माताको कसम नै खाए ।
सन्तोषले स्टाटस लेखे लगत्तै गिरीको अर्को स्टटास आयो । उनले लेखे, ‘चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न व्यंग्य बुझ्छ, न बौद्धिकता थाहा छ । बुरुक्क बुरुक्क साँढे उफ्रे झैँ उफ्रिन्छ ।’
उता रोहित अधिकारी साइबर ब्युरो, टेकु पुगे । गालीबैज्जतीको जाहेरी हाले, सन्तोष र ‘बलिदान’ टिम विरुद्ध । आफूमाथि कानुनी प्रक्रिया नै चालिएपछि सन्तोष स्वयंले पनि कानुनी उपचारमा जाने बताए ।
यसैबीच हिजो एक अडियो बाहिरियो । जहाँ रोहित, दीपकराज र निर्मल शर्मा ‘गैँडा’ को आवाज सुनिन्छ । अडियोमा सूत्र नामक युट्युब च्यानलका सञ्चालक केशव खड्काको नाम लिइएको छ । क्लोज सर्कलको गफगाफमा रोहितले हल्काफुल्का ढंगले खड्कालाई ‘पिट्ने’ आशयको कुरा गर्छन् । दीपकराजले त्यसो गर्न नहुने बताउँछन् । सूत्र न्युजले ‘माइतीघर’ बारे नेगेटिभ समाचार मात्रै छापेको रोहितको आरोप छ ।
उक्त अडियो सार्वजनिक भएपछि केशव जिउ ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन पुगेका छन् । आज उनीहरुबीच प्रहरी परिसर, भद्रकालीमा छलफल भइहरेको छ ।
अर्कातिर आफू, दीपकराज र निर्मल शर्मा बालुवाटारको एक थकालीमा रहँदा सन्तोषले आफूलाई पछ्याएको रोहितको आरोप छ । आफूलाई पिट्न सन्तोषले मान्छे लगाएको दाबी उनले गरेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन । तर, रोहितले सार्वजनिक गरेको सिसिटिभी फुटेजमा थकाली रेस्टुरेन्टको पार्किङमा सन्तोष र उसका सहयोगीहरूले गफ गरिरहेका देखिन्छन् । यसपछि एक सहयोगी भित्र छिरेर रोहित, दीपकराज र निर्मल बसेको टेबलमा आइपुग्छन् । फुटेजमा अडियो भने छैन ।
चलचित्र चलाउन अझैँ पनि लफडा, फन्डा र विवादको भर
सन्तोष, दीपकराज र रोहितबीच चलिरहेको आरोप–प्रत्यारोप र वाकयुद्धले अहिले सामाजिक सञ्जाललाई डिजिटल रणभूमि बनाएको छ । विषयवस्तु र प्रस्तुतिलाई पर राखेर फन्डा र लफडाले मात्रै चलचित्र चलाउन सकिन्छ भन्ने भाष्य निर्माण गर्न उनीहरू उद्यत देखिन्छन् ।
चलचित्र प्रचारप्रसारका लागि विभिन्न रणनीतिहरू निर्माण टिमले अंगिकार गर्ने गरेको उदाहरण नयाँ र नौलो होइन । पोस्टर, ट्रेलर र गीत सार्वजनिक कार्यक्रम, पत्रकार सम्मेलन लगायत गतिविधि प्रचारप्रसारका सामान्य क्रियाकर्महरु हुन् ।
तर, यहाँ त चलचित्र चलाउनलाई विभिन्न प्रकारका विवाद सृजना गर्ने, आरोप–प्रत्यारोप लगाउने त संवेदनशील विषयमा अनावश्यक बहस छेड्ने काम समेत भइरहेका छन् । यस्ता गतिविधिले तत्काललाई चलचित्रलाई तत्कालका लागि दर्शकमा कौतुहल सृजना गरे पनि दीर्घकालीन रूपमा यसको फाइदा शून्य प्राय देखिन्छ ।
अनेक हत्कण्डा निम्त्याएर चलचित्र चलाउन खोज्ने प्रवृत्ति नेपालमा मात्रै सीमित छैन । हलिउड चलचित्र ‘द इन्टरभ्यु’ (२०१४) उत्तर कोरियाका नेता किम जोङ उनको हत्या प्रयासको कथामा आधारित भएकाले अन्तर्राष्ट्रिय विवादमा फस्यो । उत्तर कोरियाले यसलाई ‘युद्धको घोषणा’ भन्दै सोनी पिक्चर्समा साइबर आक्रमण गर्यो । यो चर्चालाई चलचित्रलाई राम्रै फाइदा पनि गर्यो ।
बलिउड चलचित्र ‘पद्मावत’ (२०२८) पनि प्रदर्शन हुनुअघि नै विवादमा फसेको थियो । सञ्जय लिला भनसाली निर्देशित यो चलचित्रले इतिहासलाई बंग्याएको आरोपमा सुटिङ सेटमा आक्रमणदेखि ज्यान मार्ने धम्कीसम्मका घटना थिए । यही विवादले चलचित्रलाई बक्स अफिसमा सफलता दिलायो ।
यी चलचित्रले सृजना गरेको विवाद र पाएको चर्चा अलग थियो । तर, ‘माइतीघर’ र ‘बलिदान’बीचको विवाद र चर्चा भने नित्तान्त निजी देखिन्छ । यहाँ चलचित्रकर्मीहरूको इगो हाबी भएको देखिन्छ । यो लफडाले चलचित्रप्रति दर्शकलाई एक हदसम्मको कौतुहलता सृजना गरेको त होला, तर यसको दीर्घकालीन फाइदा केही देखिँदैन । अन्ततः चलचित्रकर्मीबीच गम्भीर दुस्मनीमा गएर यो लफडा टुंगिने देखिन्छ ।
लफडाहरूले क्षणिक रूपमा दर्शकलाई आकर्षित गरे पनि यदि चलचित्रको कथावस्तु कमजोर छ, अभिनय फितलो छ र प्रस्तुति प्रभावकारी छैन भने चलचित्र सफल हुन सक्दैनन् । दर्शकले वर्ड अफ माउथमार्फत् नकारात्मक प्रतिक्रिया दिन थालेपछि चलचित्रको बक्स अफिस आफैँ सुस्ताएर जान्छ ।
अहिलेका दर्शक हल्ला र लफडाको पछाडि लागेर हलमा ४५० को टिकट काट्न तयार छैनन् । उनीहरू मनोरञ्जनको मामलामा राम्रो कन्टेन्ट, नयाँपन र गुणस्तरीय प्रस्तुति खोज्छन् । नेपाली चलचित्रकै इतिहासमा हिट भएका जति पनि चलचित्र छन्, ती हल्लाले होइन, कथा र प्रस्तुति बलियो भएरै चलेका छन् । कन्टेन्ट इज किङ भन्ने भनाइलाई आत्मासात् नगरेका चलचित्रहरूलाई दर्शकले सीधै खारेज गरिदिएका छन् । मेकरहरुले के बुझ्नुपर्छ भने सशक्त कथावस्तु, उत्कृष्ट पटकथा, अब्बल निर्देशन, प्राविधिक उत्कृष्टता र कलाकारहरूको जीवन अभिनयविनाको चलचित्र जति हल्ला गरे पनि चल्नेवाला छैन ।