Category: प्रवास

  • एन आर एन यूकेको निर्वाचन १२ जुलाईमा : प्रमुख आयुक्तमा सिम्खडा

    एन आर एन यूकेको निर्वाचन १२ जुलाईमा : प्रमुख आयुक्तमा सिम्खडा

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने निर्णय गरिएको छ । बैठकले संघको नियमित र महत्त्वपूर्ण कार्यक्रम ‘काउन्सिल बैठक’ आगामी मार्च २ तारिख, आइतबार, अल्डरशटमा आयोजना गरिने सर्वसम्मत निर्णय गरेको हो ।

    उक्त काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरूको सहभागिता रहने छ।

    काउन्सिल बैठकको आयोजना गर्नका लागि उपाध्यक्ष लीलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। बैठकको अध्यक्षता एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले गरेका थिए।

    आजको बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले संघका हालैका गतिविधिहरूका बारेमा प्रकाश पार्नु को साथै संघको आगामी गतिविधिहरूको बारेमा जानकारी दिँदै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई निर्वाधरुपमा आफ्ना गतिविधि सुचारु राख्न पूर्ण अधिकार रहेको समेत प्रकाश पारेका थिए।

    हाल केन्द्रमा देखिएको भनिएको विवाद सर्वोच्चको पछिल्लो फैसलाले निरूपण गर्दै निर्वाचित कमिटीलाई निर्बाध काम गर्न र पूर्ण कार्यकाल क्रियाशील हुँदै आवधिक निर्वाचन पश्चात् नेतृत्व हस्तान्तरण गर्न बाटो खोलेको जानकारी दिए ।

    न्याय निरूपणको अन्तिम मुकाम सम्मानित सर्वोच्च अदालत भएकोले उसले दिएको अन्तिम फैसलाले उच्चस्तरीय समितिको नाममा छुट्टै र समानान्तर क्रियाकलाप गर्ने अधिकारी नदिएको स्पष्ट पार्दै एकताबद्ध एन आर एन को लागी सबै पक्ष लचिलो हुँदै ऐक्यबद्ध एनआरएनमा जोड दिए ।

    उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसीसीहरु नियमित कार्यक्रमहरू अघि बढाउन अनुरोध गरे। ठकमा गैरआवासीय नेपाली संघका सल्लाहकार चिरञ्जीवी ढकालले संघका गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिएको बताएका थिए ।

    निर्वाचनको विषयमा एनसीसीहरुलाई अन्योलमा नपर्न आग्रह गरेका थिए। साथै, उनले भूतपूर्व गोर्खा सैनिकहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा पनि गरे।

    एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्र बहादुर गुरुङले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताएका थिए र एनआरएनए यूकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित गर्ने कुरा उल्लेख गरेका थिए।

    बैठकले एनआरएनए यूकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मे सम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क १० पाउण्ड तोकेको छ।

    एनआरएनए यूकेको सदस्यता प्रमाणीकरणका लागि एक तिन सदस्यिय समिति गठन गरिएको छ, जसमा प्रमुख निर्वाचन आयुक्त केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडा, एन सी सी यूके अध्यक्ष हितकाजी गुरुङ्ग र महासचिव गोविन्द खरेल रहेका छन्।

    बैठकको शुरुमा कराते सिल्भर मेडल विजेता संन्जित राईलाई स्वागत र सम्मान गरिएको थियो।

  • नेपाली दूतावास आबुधावीले नेपाली समुदायको सहयोगमा राहदानी घुम्ती सेवा गर्ने

    नेपाली दूतावास आबुधावीले नेपाली समुदायको सहयोगमा राहदानी घुम्ती सेवा गर्ने

    आबुधावी । संयुक्त अरब इमिरेट्स यूएईमा रहेको नेपाली दूतावास आबुधावीले राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

    दूतावासले एनआरएन (नेपाल एसोसिएसन) यूएई तथा यहाँ रहेको नेपाली समुदाय सँग सहकार्य गर्दै ई–राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको हो ।

    विभिन्न कारणले समयमै राहदानी बनाउन नपाएका श्रमिकको सहजताका लागि संघसस्थाको सहकार्यमा दूतावासले ‘पासपोर्ट बुट’ क्याम्पमार्फत सेवा दिन लागेको जनाएको छ ।

    दूतावासले आबुधावी राज्यअन्तर्गत साउदी सीमा गायथीमा यही डिसेम्बर १५ आइतबारका दिन घुम्ती सेवा राखेको जनाएको छ ।

    एनआरएन यूएईको स्थानीय सहकार्यमा रुवीस गायथीमा रहेको वेस्टर्न होटल परिसरमा राहदानी घुम्ती सेवा प्रदान गर्न लागेको नेपाली दूतावास आबुधावीकी प्रवक्ता तथा उप नियोग प्रमुख रन्जिता दाहालले जानकारी दिइन् ।

    घुम्ती सेवामा राजस्वबाहेक अन्य शुल्क नलिई सेवा प्रदान गर्न लागिएको एनआरएन (नेपाल एसोसिएसन) यूएईका अध्यक्ष विकास शाहीले बताए ।

    आबुधावीमा रहेको नेपाली दूतावासदेखि झन्डै ३०० किलोमिटर टाढा पश्चिमी क्षेत्रमा नेपाली दूतावास, एनआरएन वा अन्य कुनै पनि नेपाली समुदाय पुग्न लागेको यो पहिलो पटक हो ।

    पछिल्लो समय यूएई तथा विदेशमा कार्यरत नेपालीहरूले समयमै राहदानी बनाउन नपाउँदा समस्या भोग्न परेको छ ।

    त्यसैमा अघिल्लो साता पासपोर्ट विभागको सर्भरमा साइबर आक्रमण भएका कारण समस्या आएपछि केही दिन राहदानी सेवा अवरुद्ध हुँदा कतिपय नेपाली नागरिकले सास्तीसमेत भोग्नुपरेको छ ।

    यस्तै समस्यालाई मध्यनजर गरेर नेपाली दूतावास आबुधावीले एनआरएन यूएई तथा नेपाली समुदाय सँग सहकार्य गरी घुम्ती सेवा प्रदान गर्न लागेको हो ।

    घुम्ती सेवामा सहभागी हुन कुनै अतिरिक्त शुल्क नलाग्ने तथा राहदानीको फारम पनि एनआरएन आफैँले वा व्यक्ति आफैले भर्न सक्ने भएकाले सक्दो छिटो सम्पर्कमा आउन एनआरएन एनआरएन यूएईले आग्रह गरेको छ ।

  • ‘वी प्रोटेक्ट ग्लोबल एलायन्स’: बालबालिकालाई अनलाइन हानीबाट जोगाउने नेपालको प्रतिबद्धता

    ‘वी प्रोटेक्ट ग्लोबल एलायन्स’: बालबालिकालाई अनलाइन हानीबाट जोगाउने नेपालको प्रतिबद्धता

    आबुधावी । बालबालिकालाई अनलाइन हानीबाट जोगाउन नेपालले प्रतिबद्दता दोहोर्‍याएको छ । युएईको आन्तरिक मन्त्रालयले आयोजना गरेको वी प्रोटेक्ट ग्लोबल एलायन्स (हामी संरक्षण गर्छौ विश्व गठबन्धन)शिखर सम्मेलनमा सहभागी नेपालले आफ्नो प्रतिबद्धता दोहोर्‍याएको हो ।

    सम्मेलनमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीको नेतृत्वमा नेपालले सहभागीता जनाएको छ । मन्त्रिस्तरिय सम्मेलनमा सम्बोधन गर्दै मन्त्री सुडीले डिजिटल स्पेसमा बालबालिका र युवाहरूलाई सुरक्षित राख्न बलियो नीति र कानूनहरू विकास गर्न नेपाल सरकारले गरेका प्रयास तथा अपनाएका अभ्यासहरु उल्लेख गरे ।

    मन्त्री सुडीले अनलाइन जोखिमलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सरकार, नागरिक समाज-संगठन, शैक्षिक संस्था र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए । डिजिटल क्रान्तिले फाइदाहरू ल्याएको भएपनि त्यसमा शोषण र दुर्व्यवहारसहित बालबालिकाका लागि जोखिमहरू पनि उत्तिकै ल्याएकोले सचेत हुनुपर्ने बताए । विभिन्न देशका मन्त्रीहरु सहभागी सम्मेलनको मन्त्रीस्तरिय बन्द सत्रलाई सम्बोधन गर्दै मन्त्री सुडीले सम्मेलन बाल बालिका संरक्षण र डिजिटल सुरक्षामा ऐतिहासिक हुने अपेक्षा राखेको बताए ।

    यही डिसेम्बर ४-६ सम्म चलेको सम्मेलनमा सहभागी अन्यदेशका मन्त्री तथा प्रतिनिधिहरुले बाल यौन शोषण, अनलाइन दुर्व्यवहार, र बाल अधिकार उल्लंघनका विरुद्ध विश्वव्यापी पहललाई सशक्त बनाउने पक्षमा एक्यवद्दता जनाए ।

    बाल सुरक्षा प्रविधिमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा विश्लेषण, र ब्लकचेनको प्रयोग तथा सरकारी एवम गैरसरकारी संस्था र निजी क्षेत्रबीचको साझेदारीमा सुदृढीकरण गर्दै बलियो बनाउनुपर्नेमा सम्मेलनले जोड दिँदै बालबालिकालाई डिजिटल खतराबारे शिक्षित गर्न प्रभावकारी उपायहरूको विकास गर्ने बिषयमा सबै एक भएका छन ।

    सम्मेलनमा ५० भन्दा बढी मुलुकका मन्त्री, विज्ञ र सामाजिक कार्यकर्ताहरूले आफ्नो विचार राखेका थिए । त्यस्तै डिजिटल सुरक्षा क्षेत्रका प्रख्यात वैज्ञानिकहरू बाल अधिकारवादी र विभिन्न देशका बाल बालिका संरक्षण विभागका प्रतिनिधिको उपस्थिति थियो ।

    बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको साझा प्रयासको प्रतिबिम्ब हो। यसको सफलताले बाल संरक्षणको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।

    सम्मेलनमा मन्त्री सुडी हित मन्त्रालयको सचिवालय सचिव दिनेश भट्टराई तथा महिला सशक्तीकरण महाशाखाकी सहसचिव आभा श्रेष्ठ कर्ण सहभागी छन् । त्यस्तै नेपालमा सकृय अन्य गैरसरकारी संघसस्थाका प्रतिनिधि हरुले पनि सहभागीता जनाएको नेपाली दुतावास आबुधावीकी प्रवक्त्ता तथा  उपनियोग प्रमुख रन्जिता दाहालले बताइन् । सहभागी टोली शनिबार नेपाल फर्किने कार्यतालिका छ ।

    सम्मेलनमा सहभागी मन्त्री सुडी सहित प्रतिनिधि टोली सँग मधेशी एकता समाज युएईले आज नेपाली दुतावास आबुधावीको सभाहलमा भेटघाट तथा छलफल कार्यक्रम समेत राखेको मधेसी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डा.रवीन्द्रकुमार यादवले जानकारी दिए ।

  • नरेश भट्टमाथि अन्ततः हत्याको मुद्दा दायर, कोठामा भेटिएको रगत ममताकै भएको पुष्टि

    नरेश भट्टमाथि अन्ततः हत्याको मुद्दा दायर, कोठामा भेटिएको रगत ममताकै भएको पुष्टि

    काठमाडौं । अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो ।

    नरेशले पत्नीको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आए पनि प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन । तर, घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीले मुद्दा हाल्न आधार बनेको हो । घटनास्थलबाट तत्कालै रगतको नमूना संकलन गरिएको भए पनि यसको डीएनए नतिजा आउन लामो समय लागेको थियो ।

    अदालतको ग्रान्ड जुरीले अनुमति दिएपछि प्रहरीले अभियोग पत्र दर्ता गरेको हो । नरेशमाथि ममताको हत्या गरेकोसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुईवटा चार्ज लगाइएका छन् । यी सबै आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरू बताउँछन् ।

    अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ । तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड भने छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ ।

    मुद्दा दायरपश्चात् पहिलो पेशी हिजो राखिएको थियो, जसमा नरेश पनि उपस्थित थिए । महिला न्यायाधीशले नरेशमाथि होमिसाइड चार्ज (कर्तव्य ज्यान सम्बन्धी मुद्दा) दायर भएको जानकारी गराउँदै उनलाई अपराध कबुल गर्न भनेकी थिइन् । हत्याको अभियोग लागेको थाहा पाउँदा नरेश निकै हताश बनेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी दुवै हात पुर्पुरोमा राखेर बसेका थिए ।

    नरेशमाथि यसअघि प्रहरीले शव लुकाएको कमजोर अभियोग लगाएको थियो । नेपाली समुदायहरूले हत्यामै मुद्दा चलाउनुपर्ने माग गर्दै आएका थिए । मनासास प्रहरीका प्रमुख मारियो लुगोले एक पत्रकार सम्मेलन गर्दै यथेष्ट प्रमाण संकलनपश्चात हत्याको मुद्दा दायर भएको जानकारी दिए ।

    ममताको शव भने अझै पनि फेला नपरेको र खोजी जारी राख्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमा ममताका आमा र भाइ पनि उपस्थित भएका थिए ।

    लुगोले प्रहरीसँग हत्या अभियोग प्रमाणित हुने पर्याप्त प्रमाणहरू रहेको र नरेश उम्किन नसक्ने बताए । हत्याको मुद्दा लागेसँगै अर्को वर्ष यसको अन्तिम सुनवाइ हुने छ । २०२५ को सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनवाइ हुने र फैसला सुनाइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम मेडिकल कलेजमा कार्यरत नर्स ममता काफ्ले गत जुलाईमा बेपत्ता भएकी थिइन् । जुलाई २७ मा अन्तिम पटक कार्यालयमा गएकी उनी त्यसपश्चात् हराएपछि कार्यालयका सहकर्मीले प्रहरीमा खबर गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि २२ अगष्टमा नरेशलाई पक्राउ गरेको थियो ।

    नरेश र ममताकी डेढ वर्षकी छोरी छन् । नरेश जेल परेपछि नेपालबाट अमेरिका गएका ममताका आमा र भाइले छोरीको हेरविचार गरिरहेका छन् ।

  • ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सम्पन्न

    ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपालीको अरबी श्रम गन्तव्य ओमानमा सामाजिक सुरक्षाको जानकारी श्रमिकलाइ दिने कार्यक्रम पहिलोपटक आयोजना भएको छ । राजधानी मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव विसेस कुमार साहका अनुसार नेपाली राजदूतावास, ओमानबाट सार्वजनिक बिदाको दिन पारेर मंसिर १४ अर्थात २०२४ नोभेम्बर २९ बिहान ९ बजेदेखि बेलुका ०६ बजेसम्म रदूतावासपरिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने कार्य र श्रम तथा कन्सुलर सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

    ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले परम्परागत पानसमा दीपप्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेको कार्यक्रममा बोल्दै राजदूत अर्यालले सामाजिक सुरक्षा कोष, नेपाल सरकारले चालेका कदमहरू र यसको महत्वबारेमा प्रकाश पारेको साहले जानकारी दिए । सामाजिक सुरक्षाकोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेप्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे जानकारी दिएका थिए ।

    उक्त कार्यक्रमका लागि सामाजिक सुरक्षा कोष, काठमाडौंबाट उपकार्यकारी निर्देशक पन्थी, सहायक निर्देशक राधिका निरौला र सूचना प्रविधि अधिकृत राजेश चापागाई सम्मिलित तीन सदस्यीय टोली ओमानको भ्रमणमा रहेको छ ।

    कार्यक्रममा श्रम तथा कन्सलर सम्बन्धी अलग डेक्स खडा गरेर सेवाग्राहीहरुलाई जानकारी प्रदान गरिएकोमा २१५ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । आज छुट भएका सेवाग्राहीहरुलाई पुन यो सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    दूतावासको आयोजनामा सन् २०२४ नोभेम्बर ३० का दिन ओमानको सोहार शहरमा पनि यस्तै किसिमको शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । साथै, सन् २०२४ डिसेम्बर २ सोमबारका दिन सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी आगामी दिनमा नयाँ प्रशिक्षक मार्फत सामाजिक सुरक्षामा आवद्धतासम्बन्धी कार्यक्रम हुने बताइएको छ ।

  •  नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

     नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

    बेलायत । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो ।

    “सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो” उनले मलिनो अनुहारमा भने, “तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गरौं ।”

    आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि कामको खोजी गर्ने हो उनको मनमा त्रासको तुुवाँलो मडारिएको छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुस्किल भएको अनुभव सुनाइन् ।

    “केही समययता विद्यार्थीका लागि काम पाउन निकै गाहे छ, बल्लबल्ल काम पाए पनि विश्वविद्यालय र कामको समय मिलाउन निकै सकस छ”, उनले भनिन्, “झण्डै एक वर्षअघि विद्यार्थी भिसामै बेलायत आएकी लक्ष्मीलाई बेलायत सरकारले बढाएको शुल्क र विद्यार्थीले काम पाउन भोग्नुपर्ने समस्या विकराल भएको अनुभव ताजै छ ।”

    कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुुयोग गिरीले पनि आफूले यहाँ कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन युके समूहमा सहयोगको याचना गरेका छन् । उनले आफू पढ्ने क्याम्पसको नाम नै उल्लेख गरेर आफ्नो नम्बरसमेत राखेर सहयोगका लागि आग्रह गरेका हुन् । अर्का विद्यार्थी दीपक यादवले पनि सोही समूहमा आफूू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपिल गरे ।

    केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरु मानसिक स्वास्थ्यको शिकार पनि बन्ने गरेका छन् ।

    एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम् गिरी आफ्नो बर्मिङ्घमस्थित कलेज नजिकै बस्दै आएको कोठा महङ्गो भएकाले छोडेर उल्भरह्याम्टन सरे। ‘‘कोठा भाडा महङ्गो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’’ उनले भने ।

    उनी पनि कामको खोजीमा छन् । केही दिन पहिलेदेखि उनले एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ । उनले पनि विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टा काम अझै पाएको छैन । वार्षिकरुपमा बढ्दो चर्को विश्वविद्यालयको शुल्क, शैक्षिक परामर्शदाताले दिलाएका झुठा आश्वासन, परिवारप्रतिको दायित्व, भाषा र भौगोलिक ज्ञानको अभावजस्ता कारण पनि कतिपय विद्यार्थी तनाव र डिप्रेसनसम्मको समस्या सामना गर्न बाध्य छन् ।

    नेपाली समाज वेष्टमिड्ल्याण्डका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीबिना विद्यार्थी बेलायत आउने भएको कारणले समस्यामा बढ्दै गएको छ । “बेलायत आउनुअघि हुनुपर्ने आधारभूूत ज्ञानको अभावमा नेपाली विद्यार्थी धेरै समस्यामा पर्ने गरेका छन्”–उनले भने, “सकेसम्म समस्या नदेखाउने र हार खाने अवस्थामा पुगेपछि सामाजिक सञ्जाल र नेपाली समूहमा हारगुहार गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।”

    सकेसम्म समस्यामा परेका नेपालीका लागि आवश्यक सहयोग गर्ने तर समाजमा आवद्धहरुको पनि आफ्नै सीमितताका कारण ठूलो सहयोग गर्न नसकिने उनको भनाइ छ । नेपाली राजदूतावास बेलायतका प्रवक्ता रोशन खनालले ‘भिसा त लागोस् बाँकी भोगौंला’, भन्ने प्रवृति मुख्य समस्याको रुपमा देखिएको बताए ।

    “कुन विषय पढ्ने ?, कुुन विश्वविद्यालयमा पढ्ने ?, उनले प्रश्नको शैलीमा भने, “सो ठाउँमा कामको सम्भावना र बस्ने ठाउँको अवस्था के छ ? समस्या पर्दा सहयोग गर्ने कोही छ कि छैन् ? लगायतका विषयमा आधारभूत ज्ञानसमेत नलिइकन बेलायत आउनेहरुले धेरै समस्या भोग्नुपरेको छ ।”

    काम गरेर कलेजको शुल्क तिर्छु र यहाँ आउँदा लागेको खर्चसमेत केही महिनामै उठाउँछु भन्ने सोच बोकेर बेलायत पुग्ने अधिकांश विद्यार्थी मानसिक समस्यामा पर्नु मुख्य कारण भएको उनले बताए।

    यतिबेला बेलायतमा विद्यार्थीले काम नपाउने र पाए पनि २० घण्टा काम गरेर पढेको शुल्क तिर्छु र नेपालमा पनि पठाउँछु भन्ने सोचले आएका विद्यार्थीहरुले समयमै विश्वविद्यालयको शुल्क तिर्न नसकेपछि केही समयका लागि समन्वय गरिदिन आग्रह गर्नेहरुको संख्या बढेको उनको भनाइ छ ।

    उनका अनुसार उल्भरह्याम्टन, बर्मिङघम, लण्डनलगायतका विभिन्न क्षेत्रका विश्वविद्यालयबाट विद्यार्थीहरुले काम नपाएको र शुल्क तिर्न समस्या भएको गुनासो सुनिएको छ । “नचलेका र जुनसुकै विषयमा भए पनि भिसा लगाउनकै लागि ग्रामीण कलेजमा पढ्न आउनेहरु समस्यामा पर्ने गरेका छन्”–उनले थपे, “बस्ने ठाउँ, पढ्ने ठाउँ र काम पाउने ठाउँको दूरी व्यवस्थापनमै धेरैलाई समस्या भइरहेको छ ।”

    कतिपयलाई बेलायत आउन पाए पुग्ने, पढ्ने विषय, विश्वविद्यालयबारे समेत पर्याप्त जानकारी नभएको सुनाउँदै उनले भने, “कतिपयलाई यहाँको यथार्थ भन्दा समेत जाने गएकै छन् राम्रै भएको छ, मलाई चाहीँ के नराम्रो होला भन्ने ठानेर दुुःख पाएको जस्तो लाग्छ ।”

    लण्डनभित्रकै कलेज हो भनेर शैक्षिक परामर्शदाता कम्पनीले दिएको गलत र भ्रमपूर्ण जानकारी विद्यार्थीका लागि घातक हुने गरेको पाइएको छ । प्रक्रियाका क्रममा भिसा मात्रै लागोस् भन्ने चाहना राखेका विद्यार्थीलाई भिसा लागेपछि मात्रै कुन विश्वविद्यालय हो भन्ने थाहा हुन्छ, त्यसपछि पनि त्यसको भौगोलिक अवस्था र सम्भावनाबारे बुुझ्दा समस्या भएको हुुनसक्छ ।

    लामो समयदेखि नेपाली विद्यार्थीका समस्यालाई नजिकबाट नियालिरहेको नेपाली विद्यार्थीहरुको छाता संस्था मर्जिङनेप्ससका संस्थापक अध्यक्ष पवन कँडेलले सेप्टेम्बर इन्टेकमा बेलायतमा विश्वभरबाट हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उच्चशिक्षाका लागि आउने भएकाले कोठा र काम पाउन कठिन रहेको बताए ।

    “सेप्टेम्बर र जनवरी इन्टेकमा विश्वभरबाट गुणस्तरीय शिक्षाका लागि हजारौं विद्यार्थी बेलायत आउँछन्, विश्वका उत्कृष्टमध्यमै पर्ने बेलायतमा रहेका १३० भन्दा बढी मुख्य विश्वविद्यालयमा आउने हजाराँै विद्यार्थी सबै राम्रो उच्च शिक्षाकै उद्देश्यकै कारण नआउने गरेका छन्”, उनले भने, “त्यसमा पनि नेपाललगायत कम आय भएका देशका केही विद्यार्थीबाहेक अधिकांशको उद्देश्य पढाइभन्दा पनि कसरी बेलायत प्रवेश गर्ने भन्ने मात्रै सोचेको देखिन्छ ।”

    अध्यक्ष कडेँलले बेलायतका विश्वविद्यालयलाई विद्यार्थीको लोभ र शैक्षिक परामर्शदाता कम्पनीले पाउने २० देखि २५ प्रतिशत कमिसनको चेपुवामा विद्यार्थीहरु पर्ने गरेका छन् । त्यसमाथि नेपालबाट आउँदा बेलायत भित्र्याउन पाउने सीमित पाउण्ड र बेलायतको बढ्दो महङ्गीकै कारण विद्यार्थीहरु बढी समस्यामा पर्ने गरेका सुनाए ।

    “यहाँ पढ्नकै लागि आउने हो, पढाइलाई किनारामा राखेर पैसा कमाउने लक्ष्य हो भने त्यो सम्भव छैन भनेर बुझ्न आवश्यक छ” उनले भने, “अधिकाश नेपाली विद्यार्थी काम गरेरै खर्च चलाउने, विश्वविद्यालयको शुल्क बुझाउनेदेखि नेपाल पैसा पठाउनेसम्म सपना देखेर बेलायत आउने गरेका छन् । त्यो पूरा हुन निकै कठिन छ ।”

    बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले साताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर, अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्ने जस्ता अवस्था सामान्य बनेका छन् । नेपाली, भारतीय र पाकिस्तानी कम्पनी तथा रेष्टुुरेन्टमा काम गर्नेहरुले पनि धेरै समय काम गरेर अत्यन्तै न्यून पारिश्रमिक पाउने गरेका छन् ।

    कानूनीरुपमा उनीहरुले २० घण्टामात्रै काम गर्न पाउने भएकाले विद्यार्थीहरु जति पाए पनि केही नबोली गर्न बाध्य छन् । रोजगारदाताहरुको रोजाइमा पूर्णकालीन काम गर्न सक्ने, जुनसुकै दिन र समयमा उपलब्ध हुने तथा भाषा र कामको अनुभव भएकाहरूलाई प्राथमिकता दिने भएकाले विद्यार्थीहरुले सहजै काम गर्न कठिन हुने गरेको छ ।

    नेपालबाट अध्ययनका लागि कति विद्यार्थी बेलायत आएका छन् भन्ने यकिन तथ्याङक नहुँदा समस्याको वास्तविक पहिचान गर्न सहज नभएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता प्रवक्ता रोशन खनालको भनाइ छ ।

    यसै वर्षदेखि ‘पोस्ट ग्राजुएट रिसर्च कोर्स’बाहेक अन्य कोर्समा आउँदा डिपेन्डेन्ट ल्याउन नपाइने नियम बनाएपछि विद्यार्थीहरुका लागि झनै समस्या भएको छ । तर पनि शैक्षिक परामर्शदाताले यथार्थ जानकारी नदिनु र लहडको भरमा विदेसिने प्रवृत्ति बढ्नुले नेपाली विद्यार्थीले अन्य देशमा पुगेर समस्या भोग्नुपर्ने क्रम बढेको छ ।

    रामनाथ घिमिरे \ रासस

  • यूएईमा ग्लोबल मिडिया कंग्रेस: प्रविधिको प्रयोग तथा चुनौतीका विषयमा चर्चा

    यूएईमा ग्लोबल मिडिया कंग्रेस: प्रविधिको प्रयोग तथा चुनौतीका विषयमा चर्चा

    यूएई । यूएईको आबुधाबीमा ग्लोबल मिडिया कंग्रेस सुरु भएको छ । कंग्रेसमा विश्वभरका मिडिया उद्योगका प्रतिनिधि, सञ्चार विशेषज्ञ, प्राविधिक विज्ञलगायत एकै ठाउँमा भेला भएका छन् ।

    मंगलबारदेखि बिहीबारसम्म चल्ने सम्मेलनले ग्लोबल मिडिया क्षेत्रमा आइरहेको नयाँ प्रयोग, चुनौती र सम्भावनाहरूमा केन्द्रित छलफल तथा सहकार्यलाई प्राथमिकता दिएको छ ।

    ‘मिडिया फर ब्रिजिङ कल्चर्स’ भन्ने मुख्य नारासहित सुरु भएको यस सम्मेलनले सांस्कृतिक विविधता, समावेशी सञ्चार र डिजिटल परिवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । नेपालसहित १०० मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा डिजिटल मिडिया र सञ्चार क्षेत्रमा ‘एआई’को प्रभाव र यसको भविष्य, डेटा-सञ्चालित पत्रकारिता, विश्वसनीयता र पारदर्शिताको सवाल, सांस्कृतिक अन्तरसम्बन्ध र मिडियाको भूमिका स्वविधतालाई सम्मान गर्दै सूचना प्रवाहलाई समृद्ध बनाउनेलगायतका विषयमा चर्चा भइरहेको छ ।

    ग्लोबल मिडिया कंग्रेसमा १०० भन्दा बढी देशका १ हजारभन्दा बढी संस्थाले सहभागिता जनाएका छन् । यस कार्यक्रममा मिडियाका नवीनतम प्रविधिहरू, उत्पादनहरू र सेवाहरूको प्रदर्शनी गरिएको छ ।

    सम्मेलनमा विश्वका प्रमुख पत्रकार, नीति निर्माताहरू र मिडिया विशेषज्ञहरूले आफ्नो विचार प्रस्तुत गरिरहेका छन् । डिजिटल परिवर्तन र मिडिया टिकाउपनका विषयमा सहभागीलाई नयाँ दृष्टिकोण प्रदान गरिएको छ ।

    मिडियालाई थप जिम्मेवार र सहकार्यको अवसर: राजदूत क्षेत्री

    सम्मेलनमा नेपालको तर्फबाट समेत सहभागिता जनाइएको छ । नेपाली दूतावासको तर्फबाट राजदूत तेजबहादुर क्षेत्रीले सम्मेलनको अवलोकन गरेका छन् ।

    साथै नेपाली सञ्चारकर्मीले समेत सम्मेलनमा सहभागिता जनाएका छन् । सम्मेलनको अवलोकन गर्दै राजदूत क्षेत्रीले सञ्चार क्षेत्रको विकास र नयाँ नयाँ प्रविधिको प्रयोगमा नेपाली सञ्चार क्षेत्रले अवलम्बन गर्नुपर्ने विषय धेरै रहेको जनाए ।

    सम्मेलनमा सहभागी नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘विश्वमा प्रयोग भइरहेका प्रविधि र विषयले हाम्रो मिडियालाई फाइदा पुर्‍याउनेछ । अनुभवी व्यक्तिका ज्ञान आदानप्रदान, खोज र अनुसन्धानले हाम्रा मिडियालाई थप जिम्मेवार र सहकार्यको अवसर दिलाउनेछ ।’

    यसको आयोजनाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबीच सहयोगलाई प्रोत्साहन गर्दै ग्लोबल मिडिया प्लेटफर्मका रूपमा आफ्नो स्थान सुरक्षित गरेको नेपालबाट सहभागी हिमाल प्रेसका पत्रकार चन्द्रशेखर अधिकारलीले बताए ।

    सम्मेलनमा नेपाल प्रेस, हालखबर अनलाइन तथा अन्य विभिन्न सञ्चारमाध्यममा कार्यरत नेपाली पत्रकारहरु सहभागी छन् । ग्लोबल मिडिया कंग्रेस सञ्चार क्षेत्रको भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण हुने सहभागीहरुको भनाइ छ ।

  • अस्ट्रेलियाको नेपाल फेस्टिबलमा झल्कियो नेपाली संस्कृति, सिड्नीमा २० हजार बढी नेपाली सहभागी

    अस्ट्रेलियाको नेपाल फेस्टिबलमा झल्कियो नेपाली संस्कृति, सिड्नीमा २० हजार बढी नेपाली सहभागी

    सिड्नी । अस्ट्रेलियाको सिड्नी र यसको केन्द्रस्थित डार्लिङ हार्बरको टम्बलङ पार्कमा नेपाल फेस्टिभल सिड्नी २०२४ सम्पन्न भएको छ ।

    न्यू साउथ वेल्स प्रिमियर क्रिस मिन्स साथै विपक्षी नेता र अरू संघीय र राज्यस्तरका राजनीतिकर्मीको उपस्थितिमा कार्यक्रम शनिबार सम्पन्न कार्यक्रममा नेपालको कला–संस्कृति झल्कने प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो ।

    गायक हेमन्त शर्मा, एक्स ब्यान्ड र आस्था राउतलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । मुलुक चिनाउने मेलाका रूपमा यो महोत्सव महत्त्वपूर्ण रहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलिया, न्यू साउथ वेल्सका संयोजक विनोद कुँवरले बताए ।

    योपटक करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको भनाइ छ । महोत्सवअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा समेत गरिएको एनएसडब्ल्यू राज्यसचिव कल्याण खड्काले बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा इमान्दार भएको भन्दै डार्लिङ हार्बरमा एकसाथ यतिधेरै सहभागी हुँदा आफू सिड्नी नभएर काठमाडौं या पोखरा कतै भएको बताए ।

    उनले डार्लिङ हार्बरमा एकै दिनमा यति ठूलो र उत्साहजनक सहभागिता आफूले कहिल्यै नदेखेको समेत बताए । उनले भने, ‘यो उपस्थिति कुनै काठमाडौं या पोखराको होइन, यो त सिड्नीको हो । यो संख्या आगामी दिनमा अझै बढ्दै जान्छ, नेपाली समाजसँग मिलेर आफूहरू काम गर्न सधै तयार छौ ।’

    कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियाको नेपाली समुदायको अभिभावक सस्थाको रुपमा एनआरएनए अष्ट्रेलिया रहेको बताउँदै यहाँको नेपाली समुदायले भोग्दै आएको समस्यालाई समाधान गर्न आफूहरुले सक्दो प्रयास गर्दै आएको बताए ।

    गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा स्थापित नेपाल फेस्टिभल सन् २००६ देखि हरेक दुई वर्षमा गरिँदै आएको छ र यो अष्ट्रेलियामा मात्र नभएर विश्व नेपाली डायस्पोरामासमेत लोकप्रिय बन्दै गएको छ ।

    गैरआवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्य समितिले यसलाई समन्वय गरेको थियो । अत्यन्त व्यस्त पर्यटकीय क्षेत्र डार्लिङ्ग हार्बरमा शनिवारको दिन जताततै फहराइएको चन्द्रसूर्य अंकित त्रिकोणाकार झण्डा, नेपाल झल्कने पहिरन, कला र संस्कृति अनि नेपाली सम्पदा, नेपाली खाना र सांस्कृतिक कार्यक्रमले यो क्षेत्रलाई गुञ्जायमान गराएको सहभागीहरुको भनाइ छ ।

    महोत्सवमा राखिएका विभिन्न स्टल र नेपाल हाउसको माध्यमबाट नेपाली खाना, नेपाली कलासंस्कृति, जात्रा तथा पर्व झाँकी र नेपालको पर्यटनको बारेमा विदेशीलाई जानकारी दिइएको थियो ।

    वर्षभरि सिड्नी शहरमा हुने अन्य कार्यक्रमभन्दा केही फरक यो महोत्सवले कम्तीमा एक दिन भए पनि सबै नेपालीलाई एकैथलो र एउटै पहिचानभित्र बाँध्ने गरेको, वर्षभरि भिन्न समूहमा विभाजित भई आआफ्नो लय पकड्ने परम्परालाई नेपाल महोत्सवले एउटै छातामुनी बाँध्ने काम गरेको, यो कार्यक्रम एउटा संस्थाको मात्र भएर अष्ट्रेलियाका हरेक नेपालीको साझा कार्यक्रम रहेको र यसले कर्मभूमिमा छरिएका सम्पूर्ण नेपालीलाई अपनत्व र जन्मभूमिप्रतिको दायित्वलाई थप उजागर गरेको यसको समन्वय गरेका मुक्तिराम पोखरेलले जनाए ।

    पहिलोपटक सन् २००६ मा आयोजित कार्यक्रम नै भव्य एवं सभ्य रूपमा सम्पन्न भएपछि उत्साहित अस्ट्रेलियाको नेपाली समुदायले हरेक २ वर्षमा यस महोत्सवलाई पर्वको रुपमा मनाउने एनआरएनए अष्ट्रेलियाको क्यालेन्डर नै बनिसकेको उनको भनाइ छ । उनले अष्ट्रेलियामा नेपालीको आउने क्रम बढ्दै जाँदा महोत्सवलाई पनि हरेक राज्यमा विस्तार गरिेएको उनको भनाइ छ ।

    एनआरएनए अष्ट्रेलियाले सिड्नीबाट सुरू गरेको महोत्सव यतिबेला अन्य देशका एनआरएनले पनि सिको गरेका छन् ।

    ‘यो अष्ट्रेलियामा रहेका नेपालीका लागि गौरवको विषय हो । प्रवासमा हामी नेपाली जहाँ रहे पनि नेपालप्रतिको माया र सद्भावमा कहिल्यै कमी आउँदैन। देशबाट जति टाढा गयो उति नै आफूनो मातृभूमिको माया झनझन गाँढा हुँदै जान्छ । त्यही मातृभूमिको मायालाई सम्झदै विश्वभर नेपाल चिनाउन यस्ता कार्यकमहरु निकै प्रभावकारी बन्दै आएका छन्’, उनले भनेका छन् ।

    ‘महोत्सवमार्फत् नेपालको पर्यटन विकासमा टेवा पुग्यो कि पुगेन त्यो आफ्नो ठाउँमा रहला तर यही जन्मेहुर्केका दोस्रो पुस्ताका बाबुनानीका लागि यी र यस्ता महोत्सवले नेपालसँग नजिक्याउने काम गरेको, महोत्सवमा प्रदर्शन गरिने झाँकी तथा संस्कृति र परम्परा झल्कने पोशाकले सांस्कृतिक रूपले धनी छौं है भन्ने कुराको बोध हाम्रा बाबुनानीले गरेको, अष्ट्रेलियामा नेपालको कला, संस्कृति, रीतिरिवाज एवम् परम्पराको प्रचारप्रसार गरी विदेशीहरूलाई नेपाल घुम्न जाउजाउ पार्ने उद्देश्यले दुई दशकदेखि हुँदै आएको नेपाल महोत्सवको निरन्तरतालाई नै अष्ट्रेलियाको नेपाली समुदायको सबैभन्दा ठूलो उपलब्धि मान्न सकिन्छ’, उनले भने ।

  • मापसे गरेर मुस्ताङ गाडी चलाउँदा अमेरिकामा दुई नेपालीको मृत्यु, दुई जना घाइते

    मापसे गरेर मुस्ताङ गाडी चलाउँदा अमेरिकामा दुई नेपालीको मृत्यु, दुई जना घाइते

    काठमाडौं । अमेरिकी सडकमा रक्सी खाएर फोर्ड मुस्ताङ गाडी चलाउने क्रममा दुर्घटना भएर दुई नेपालीको ज्यान गएको छ । समाचारअनुसार मृत्यु हुनेमा रुकुम आठबीसकोटका एक र अर्का बर्दियाका हुन् ।

    सवारी चालक पक्राउ परेकाे र ४ जना पुरुष यात्रारत गाडी दुर्घटनामा परेको अमेरिकी च्यानल फक्सले उल्लेख गरेको छ । चालकलाई हत्या अभियोग लाग्ने बताइएको छ ।

    अमेरिकाको संघीय राजधानी वासिङ्टन डीसीबाट करिब २५ मिनेट दुरीमा रहेको डलर्स इन्टरनेसनल एयरपोर्टबाट करिब १० मिनेटको दूरीमा रहेको लाउडन काउन्टिङको साउथ राइडिङ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    मृतकहरू दुर्घटनास्थलबाट नजिकै रहेको ‘आगो नेपाली रेस्टुरेन्ट’मा काम गर्ने कर्मचारी रहेको बताइएको छ ।

    घटना अमेरिकी समयअनुसार गएराति साढे १२ बजे भएको हो । गाडीले दुइटा रुखलाई ठक्कर दिएर पछि बाटोको जानकारी दिने होडिङ बोर्डमा ठोकिएको थियो । गाडीमा सवार अर्का व्यक्ति र गाडी चालक घाइते भएका छन् । एक जनाको सघन कक्षमा उपचार भइरहेको अमेरिकी अधिकारीले मिडियालाई जानकारी दिएका छन् ।

  • अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीकाे मृत्यु, एक घाइते

    अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीकाे मृत्यु, एक घाइते

    काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको कार दुर्घटनामा परि दुई जना नेपालीहरूको मृत्यु भएकाे छ ।

    नोभेम्बर २२ तारिख बिहान साढे बाह्र बजे भएको उक्त दुर्घटनामा एक अर्को नेपाली घाइते भएका छन् । कारमा चार जना नेपाली सवार थिए ।

    कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको कुरा लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि गरेको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख  गरेकाे छ ।

    उक्त दुर्घटनामा परेर ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठ बिस कोट नगर पालिकाको वडा नम्बर ७ का सुरेश केसी रहेको  सुशील चन्दले नेपालमदर डटकमलाई बताएकाे छ । अर्का ज्यान गुमाउने मा बर्दियाका विवेक सुबेदी रहेका छन् ।

    उनका अनुसार घाइते हुनेमा काठमाडौँ का मेहुल श्रेष्ठ रहेका छन् उनी अहिले अस्पतालमा उपचार गराइरहेका र उनको स्वास्थ्य अवस्था खतरा भन्दा बाहिर रहेको समाचारमा उल्लेख छ ।

    उक्त दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले गरेको  बताइएकाे छ ।

    अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडकबाट बाहिर पुगी रुखहरूमा ठोक्किएर दुर्घटना भएको प्रहरीले स्थानीय प्रत्यक्षदर्शी बासिन्दालाई उधदृत गर्दै बताएको छ तर प्रहरीले घटनाको अनुसन्धान पूरा भए पछि मात्र सबै कुरा बताउन सकिने बताएको छ।

  • अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

    अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

    काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।

    संयुक्त अरब इमिरेट्स(युएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवरद्धधन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए । आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्याए ।

    त्यस अवसरमा नेपालका उद्योगी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली सङ्घ, युएई,नेपाल विजनेस काउन्सिल युएई तथा यूएईमा रहेका उद्योगी–व्यवसायीबीच नेपाल र युएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै युएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा गहन छलफल भएको उक्त दूतावासले जनाएको छ ।

    नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए ।

    यसैबीच, मङ्सिर २ देखि ५ गतेसम्म दुबईमा आयोजना भएको ‘मिडल इष्ट अर्ग्यानिक एण्ड नेचुरल प्रडक्ट एक्स्पो’मा नेपालका १२ कक्षमार्फत नेपाली उत्पादन प्रवर्द्धन गरिएको थियो ।

    मेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल निर्यात व्यावसायी महासङ्घका प्रतिनिधि सहभागी थिए । विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त मेलामा नेपाल पहिलोपटक सहभागी भएको हो ।

     

  • युएईमा नेपाली अर्गानिक उत्पादनको प्रवर्द्धन: पहिलो पटक नेपाली प्याभिलियन

    युएईमा नेपाली अर्गानिक उत्पादनको प्रवर्द्धन: पहिलो पटक नेपाली प्याभिलियन

    युएई । दुबईमा आयोजना भएको मध्यपूर्व अर्गानीक तथा कृषिजन्य वस्तुको प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाएको छ ।

    प्रदर्शनीमा नेपालले आफ्नो उत्पादनको प्रतिनिधित्व गर्दै नेपाली अर्गानिक सामाग्रीलाई समावेश गरी नेपाली प्याभिलियननै स्थापना गरी प्रदर्शनीमा सहभागी भएको हो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाली दूतावास आबुधावी लगायत  विभिन्न निकायको समन्वयमा नेपालले यो सहभागीता जनाएको हो । प्रदर्शनीमार्फत नेपाली अर्गानिक उत्पादनलाई युएईको विश्वव्यापी बजारसम्म पुर्‍याउनु र प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताए।

    नेपाली जडिबुटी, चिया, मसलाजन्य उत्पादन, हस्तकला, अलैंची, कफी र अन्य धेरै अर्गानिक सामानलाई विभिन्न नेपाली उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनलाई प्रदर्शनीमा राखेका थिए ।

    विश्वव्यापी व्यापार र पर्यटनको केन्द्र मानिने यूएई नेपाली उत्पादनलाई बजार प्रवर्द्धन गराउने सम्भावनाको राम्रो अवसरको रुपमा लिइएको छ । नेपाली प्याभिलियनले नेपाली अर्गानिक उत्पादनप्रति स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायीहरूको ध्यान खिचेको सहभागी एनआरएन युएईका अध्यक्ष समेत रहेका व्यवसायी बिकास शाहीको भनाइ छ ।

    नेपाली दुतावास आबुधावीको पहल र नेपाल उद्योग वाणिज्य महासंघको पूर्ण सहयोगको प्रशंसा गर्दै अध्यक्ष शाहीले आगामी दिनमा युएईको बजारमा नेपाली उत्पादनको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गरे।

    नेपाली अर्गानिक उत्पादनलाई युएईको बजारमा थप सशक्त बनाउनका लागि नेपाल सरकार, सम्बन्धित निकाय र सम्पूर्ण समुदायको निरन्तर हातेमालो आवश्यक रहेको यहाँ व्यवसाय गरिरहेका नेपालीहरुले बताएका छन् ।

    युएई जस्ता अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रभावकारी उपस्थिति देशको आर्थिक विकास र नेपाली पहिचानको प्रवर्द्धनको लागि महत्वपूर्ण हुने भन्दै प्रदशनीमा सहभागी उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोली तथा युएईमा रहेका नेपाली व्यवसायी तथा अन्य समुदायका व्यवसायी सँग नेपाली दुतावास आबुधावीमा अन्तर्कृया समेत गरिँदैछ ।

  • श्रम बेचिएका वर्षहरू…   

    श्रम बेचिएका वर्षहरू…   

    काठमाडौं । एक दशकअघि हातमा जेब्रा झोला बोकेर अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पाइला लम्काउँदै गर्दा मनिष लामालाई लागेको थियो, ‘दुई/चार वर्ष त हो, ऋण तिरिसकेपछि त नेपाल फर्किहाल्छु नि !’

    मकवानपुर थाहा नगरपालिकास्थित दामनका लामाले विदेशी भूमिमा एक दशक  बिताउँछु भन्ने सोचेका थिएनन् । सन् २०१३ मा साउदी अरब पुगेका उनी अहिले पनि सोही ठाउँमा श्रम गरिरहेका छन् ।

    ‘थपिएको ऋणको भारीले स्वदेश बस्ने अवस्था रहेन । ऋण तिर्न विदेश जान्छु, तिरिसकेपछि नेपाल नै फर्किन्छु भनेर विदेश आए । लामो समय बस्दिन भन्ने लागेको थियो । सोचाइ र भोगाइ फरक हुँदो रहेछ । अहिलेसम्म पनि नेपाल फर्किन सकिन’, उनले भने ।

    एउटा घरको ऋणले पुर्‍यायो विदेश

    २०५० सालमा बाढीका कारण विस्थापित भएको परिवार हो उनको । घरजग्गा सबै बाढीले बगाएपछि उनको परिवार सोही नगरपालिकाको बजारमा कोठा भाडामा बसेको थियो । लामो समय कोठा भाडामा बसेपछि उनीहरूले एउटा घरको जग राख्न पुग्ने जग्गा किनेर घर बनाउने सोचे । ज्यालादारीबाट कमाएर जम्मा गरिएको पैसाले पुग्यो तर घर बनाउन भने ऋण लिनुपर्‍यो । आफन्त र एक वित्तीय संस्थाबाट ऋण लिएर घर बनाए ।

    ‘बुवा बितिसक्नु भएको थियो । घरको जिम्मेवारी दाइ र ममा थियो । दाइ विदेश नजाने यही ज्यालादारी गर्ने भन्नुभयो । उहाँको कमाइले ऋण तिर्न सक्ने अवस्था थिएन । मैले गरिरहेको ज्यालादारीबाट पनि आशा रहेन’, उनी सुनाउँछन् ।

    मनिष लामा ।

    घर बनाउँदा लिएको ऋण तिर्न भने उनलाई त्यही गरिरहेको ज्यालादारीको आम्दानीबाट पुगेन । त्यसपछि उनी श्रीमतीसहित काठमाडौं आए । काठमाडौंमा उनले मालीको काम गरे । काठमाडौंको आम्दानीले उनलाई घरको ऋण तिर्नु त परको कुरा बिहान बेलुकाको छाक टार्न नै मुस्किल पर्‍यो ।

    फेरि काठमाडौं छोडेर गाउँ फर्केको सुनाउँदै लामा भन्छन्, ‘काठमाडौं आएर दु:ख नगरेको होइन । धेरै दु:ख गरेँ । तर पनि परिवार पाल्न नै समस्या भयो । यस्तो अवस्थामा ऋण तिर्ने कुरै भएन । अनि फेरि गाउँ फर्किएँ ।’

    गाउँ फर्के पनि उनी लामो समय गाउँमै बस्न भने सकेनन् । बढ्दो ऋणको ब्याज र थपिँदै गरेको परिवारको जिम्मेवारीले उनी वैदेशिक रोजगारीमा जाने निर्णय लिए । त्यसपछि काठमाडौं आएर पासपोर्ट बनाए । म्यानपावरू धाउन थाले । र, उनी काठमाडौंको रातोपुलमा रहेको एक म्यानपावरमार्फत साउदी अरब पुगे ।

    ‘वैदेशिक रोजगारीमा आउनु मेरो रहर होइन, बाध्यता हो । परिवारको जिम्मेवारी थपिँदै थियो । मुन्टो लुकाउन बनाएको एउटा घरको ऋण तिर्नु थियो । ऋण तिर्न र परिवारको गुजारा चलाउनका लागि साउदी अरब आउन बाध्य भए’, उनले सुनाए ।

    विदेश आउँदा लागेको ऋण तिर्न उनलाई ६ महिना लाग्यो । त्यसपछिको कमाइले घर बनाउँदा लागेको ऋण तिर्न थाले । त्यो ऋण तिर्न उनलाई चार/पाँच वर्ष लाग्यो ।

    अधुरो सपना

    पाँच वर्षपछि उनले साउदीको बसाइलाई बिट मार्ने निधो गरे । अब नेपाल फर्किन्छु, बङ्गुर पालन गर्छु, बस्दिन अर्काको देशमा भन्ने सोचले नेपाल फर्किए । व्यवसायिकरूपमा बङ्गुर पालनमा लागेकाहरूलाई भेटे । यसबारे अध्ययन गरे । नेपालको वातावरण बुझे । यस क्षेत्रमा लागेकाहरूको वास्तविकता देखेपछि लगानी गर्ने आँट आएन र पुनः विदेश फर्किए ।

    ‘आफ्नै देशमा केही गर्न नचाहेको होइन । व्यवसायिकरूपमा बंगुर फारम खोल्ने सोच बनाएको थिएँ । तर, देखेको र भोगेको यथार्थ धेरै नै फरक रहेछ । यसको वास्तविक अवस्था देखेपछि लगानी सुरक्षित होला जस्तो लागेन । र, यसमा काम गर्न आँट भएन अनि फर्किएँ साउदी’,  मनिष भन्छन् ।

    उनले साउदीको जुस फ्याक्ट्रीमा काम गरेको ११ वर्ष भइसक्यो । लेवरको रूपमा उक्त कम्पनीका काम गरेका उनी हाल सोही कम्पनीको अपरेटर लिडरका रूपमा कार्यरत छन् । लामो समयदेखि विदेशमा पसिना बगाएका लामासँग स्वदेश फर्किने योजना छैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘नेपाल फर्किएर के गर्नु ? केहि गर्ने वातावरण छैन । त्यतिकै बसेर परिवार पाल्न सकिँदैन । स्वदेश फर्किने मन छ तर के गर्ने भन्ने वातावरण छैन ।’

    जुन ऋण तिर्न विदेशिएका थिए त्यो ऋण तिरिसके उनले । तर, जीविकोपार्जनका लागि अर्को भरपर्दो बाटो पहिल्याउन नसक्दा उनी नेपाल फर्किन भने सकेका छैनन् ।

    स्वदेशमै रोजगारीको ग्यारेन्टी र लगानीको वातावरण हुने हो भने तत्कालै नेपाल फर्किन तयार छन् उनी । यी सबै वातावरण नेपालमा नबन्दा उनी लामो समयदेखि विदेशमा सस्तो श्रम बेच्न बाध्य भएको सुनाउँछन् ।

    उस्तै पीडामा घनश्याम पनि

    लामाजस्तै एक दशकदेखि साउदी अरबमा श्रम बेचिरहेका अर्का नेपाली हुन्, खोटाङका घनश्याम खत्री । उनी पनि सन् २०१३ यता वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् ।

    ‘म २०१३ देखि विदेशमा छु, पहिलो पटक मलेसिया गए । त्यहाँबाट नेपाल फर्किए । केही महिना बसे त्यसपछि फेरि विदेश तिरै लागे । अहिले साउदीमा छु’, उनले सुनाए ।

    लामो समयदेखि विदेशमा श्रम बेचेका उनले उल्लेख्य प्रगति गर्न भने सकेका छैनन् । आफू र आफ्नो परिवारलाई आवश्यक घर र घडेरी जोडेका छन् । र, बाँकी उनको कमाइ परिवारको गुजारा चलाउन खर्च भइरहेको छ ।

    उनमा पनि नेपाल फर्किएर केही गर्छु भन्ने सोच आउँछ । तर, नेपालको परिस्थिति देखेर उनलाई नेपाल फर्किने हिम्मत आउन सकेको छैन ।

    घनश्याम तिवारी खत्री ।

    खत्री भन्छन्, ‘नेपालमा त्यस्तो आधुनिकताको आयाम देख्दिनँ । देशको राजनीतिक अस्थिरता त्यही हो । चरम भ्रष्टाचारले मुलुक जेलिसकेको छ । मन्दीको मार त छँदैछ । यस्तो अवस्थामा रोजगारी पाइने या भनौँ नयाँ व्यवसाय गर्न सकिन्छ जस्तो लाग्दैन ।’

    स्वदेश फर्किन चाहने नेपालीहरूलाई सरकारले सीप अनुसारको रोजगारी दिनुपर्ने बताउँदै उनी थप्छन्, ‘विदेशमा नेपालीहरूले कमाएको रकम र उसले सिकेको सीपलाई व्यवसायमा लगानी गर्ने योजनामा सरकारले सहयोग गर्नु पर्छ । धितो या बिना धितो ऋण दिनुपर्‍यो । झन्झटिलो नियम कानूनहरू सजिलो बनाउनु पर्‍यो । योसँगै मुलुकमा राजनीतिक स्थिरता हुनुपर्छ ।’

    विदेशबाट स्वदेश फर्किन चाहने युवाहरूको सीपलाई स्वदेशमै सदुपयोग गर्ने जिम्मा सरकारले लिनुपर्ने खत्रीको माग छ । सरकारले मुलुकमै रोजगारी र लगानीको वातावरण बनाइदिने हो भने विदेशमा सस्तो श्रम बेचिरहेका नेपालीहरू नेपाल फर्किने निश्चित रहेको उनको भनाइ छ ।

    फर्किएकाले पनि पाउँदैनन् काम, जान्छन् फेरि विदेशै

    बाध्यताले श्रमको साइनो गाँसेर लामो समयदेखि परदेश रहेका नेपालीहरू स्वदेश फर्कन चाहन्छन् । तर, स्वदेशमै श्रम बेच्ने अवसर नपाउँदा उनीहरू विदेशमै रहन बाध्य छन् ।

    नेपालमै केही गर्छु भनेर फर्किएकाहरू यहाँ विकल्प नपाउँदा उनीहरू पुनः विदेश नै फर्किएको समेत देखिन्छ । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययन हेर्दा स्वदेश फर्किएका अधिकांश नेपाली विदेश फर्किन नचाहेपनि अवसर र बेरोजगारी अभावले उतै जान बाध्य छन् ।

    २०२० मा उक्त प्रतिवेदन तयार पार्दा नेपाल फर्किएकाहरूमध्ये पुनः वैदेशिक रोजगारीमा जान नचाहनेको संख्या ५९ प्रतिशत र फर्किएकामध्ये नेपालमै केही गर्न चाहने नेपालीहरूको संख्या १७ प्रतिशत रहेको पाइएको थियो । तर, स्वदेश फर्किएका नेपालीहरूमा १८ प्रतिशतले मात्र तलबी रोजगारी पाए । ४३ प्रतिशत कृषि र गैरकृषि क्षेत्रमा आवद्ध भए भने ३९ प्रतिशत बेरोजगार नै रहे ।

    ‘वैदेशिक रोजगारी रहर होइन, बाध्यता हो । माथिको तथ्यांकले पनि भन्छ की नेपालीहरू स्वदेशमै बस्न चाहाँदाचाहँदै विदेशिनु परेको छ । नेपालमा जिविकोपार्जन नहुँदा बाध्य भएर विदेशिनेहरु धेरै छन्’, उनले भने ।

    बाध्यकारी वैदेशिक रोजगारी गमन अन्त्य गर्ने घोषणा पनि नगरिएको होइन । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षे रोडम्याप घोषणा गर्दै बाध्यकारी वैदेशिक रोजगारी गमन अन्त्य गर्ने भनियो । जुनबेला दैनिक श्रम स्वीकृति लिनेको संख्या एक हजार ३९४ थियो । घोषणा भएको पाँच वर्ष पूरा हुँदाको परिणाम ( २०७९/८०) आइपुग्दा दैनिक श्रम स्वीकृति लिनेको संख्या २ हजार ११३ पुग्यो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई फर्काएर स्वदेशमै स्वरोजगार बनाउने कुरा भाषणमा मात्रै सीमित हुने विज्ञ नेपालको धारणा छ ।

    ‘रोजगारीका कार्यक्रम, सिप सिकाइको अवस्था, नयाँ उद्योग कलकारखाना थपिनेको संख्या लगायत विभिन्न समय सरकारले गरेका घोषणाहरुको हभिगत छन् । क्षमता नै छैन । यस्तो अवस्थामा विदेशबाट नेपाल फर्किएर के गर्छन ?’, विज्ञ नेपाल प्रश्न गर्छन ।

    फरक गोरेटो, लक्ष्य उस्तैउस्तै

    वैदेशिक रोजगारीका लागि घरबाट निस्केका गोरेटोहरु फरक-फरक भएपनि लक्ष्य भने अधिकांश नेपालीहरूको लगभग उस्तैउस्तै नै हुन्छ । वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गरेर आफू र आफ्नो परिवारको अवस्था सुधार गर्ने सपना बोकेर अर्काको देशमा लामो समयदेखि श्रम गर्ने नेपालीहरूको जमात ठूलो छ । लामा र खत्री प्रतिनिधि पात्रमात्रै हुन् ।

    दक्ष जनशक्तिले समेत नेपालमा रोजगारीका लागि लामो समय भौतारिएर अन्ततः विदेशिनु पर्ने अवस्था छ । स्वदेशमा रोजगारीको अवसर नपाएर हरेक वर्ष लाखौँको संख्यामा युवाहरु कामको खोजीमा विदेशिएका छन् ।

    वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामै एक लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । चालू आवको साउनदेखि असोज मसान्तसम्म एक लाख १० हजार ६५३ जनाले श्रम स्वीकृति लिएका हुन् ।

    वैदेशिक रोजगारीका लागि साउनमा ३६ हजार ९२८ जनाले श्रम स्वकृति लिएका थिए । उक्त संख्या भदौमा बढेर ३९ हजार ५५७ पुग्यो । असोज महिनामा ३४ हजार १६९ जनाले विदेश जानका लागि संस्थागत र व्यक्तिगतरुपमा अन्तिम श्रम स्वीकृति लिएको विभागका निर्देशक सुवेदीले जानकारी दिए ।

    आर्थिक वर्ष २०५०/५१ देखि वैदेशिक रोजगारीमा जानका लागि लिइने श्रम स्वीकृतिको अभिलेख विभागले राख्न थालेको थियो । यस आवमा ५ हजार १५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सरकारले तथ्यांक राख्न शुरु गरेको आवदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ९७ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

    नेपालमा पर्याप्त रोजगारी सिर्जना नहुँदा नेपालीहरू विदेशी भूमिमा श्रम बेच्न बाध्य भइरहेको श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल बताउँछन् ।

    आप्रवासन विज्ञ रामेश्वर नेपाल ।

    उनी भन्छन्, ‘वर्षेनि बेरोजगार हुनेहरू थपिँदै गएका छन् । रोजगारीका नयाँ बाटोहरू कोरिएको छैनन् । स्वदेशमा सम्भावना नरहेपछि विकल्पमा विदेश पुग्छन् ।’

    नेपालमा बेरोजगारीको संख्या बढ्दो छ । प्रतिवर्ष करिब पाँच लाख नयाँ श्रम शक्ति बजारमा प्रवेश गर्छन् । त्यसमध्ये करिब ५० हजारले मुस्किलले रोजगारी पाएका हुन्छन् । एकवर्ष साढे चार लाखको हाराहारीमा बेरोजगार भइरहँदा अर्को वर्ष थप पाँच लाख आउँछन् ।

    अहिलेको अवस्थामा वार्षिक पाँच लाखलाई रोजगारी दिन सरकारले सक्दैन । सरकारले दिन्छु भनेर घोषणा गरेपनि यथार्थमा पाउने सम्भावना नरहेको नेपालको तर्क छ । आन्तरिक रोजगारीको व्यवस्था नहुँदा वर्षेणी बेरोजगारको संख्या थपिँदै गएको छ । नेपालमै रहेकाहरुले रोजगारी नपाइरहेको अवस्थामा बाहिरबाट नेपाली फर्काएर रोजगारी दिन्छु भन्नु भाषणमा मात्रै सीमित रहेको उनी टिप्पणी गर्छन् ।

    सरकारले रोजगारी दिन्छु भन्दा पनि व्यवसायिकरुपमा कृषिकर्म, पसल, उद्योग खोल्न चाहानेहरुलाई सहज वातावरण बनाइदिनु पर्ने उनको सुझाव छ ।

    उनी भन्छन्, ‘कोही फर्किएर केही उद्यम गर्छ, पसल खोल्छ, व्यापार व्यवसाय गर्न चाहन्छ भने त्यसको प्रक्रिया पुर्‍याउन नै झन्झट छ । यसमा  सहज वातावरण सरकारले बनाइदिने हो भने नेपालमै केही गर्न चाहनेहरू विदेशबाट फर्किने सम्भावना छ ।’

  • धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता

    धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता

    वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।

    पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए ।

    राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए ।

    “हामीले धेरै पटक उनको उद्धार गर्यौँ । परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौँ । तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए”, विष्टले भने ।” समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कबिहीन भएका हुन् । हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए ।

    बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उहाँले बताउनुभयो । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।

    यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरेका छन् । नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गर्नुभएको हो ।

  • संसारकै ठूलो मानिने दुबईको ग्लोबल भिलेजमा नेपाली स्टल राख्न राजदुत क्षेत्रीले गरे छलफल

    संसारकै ठूलो मानिने दुबईको ग्लोबल भिलेजमा नेपाली स्टल राख्न राजदुत क्षेत्रीले गरे छलफल

    दुबई । संसारकै ठूलो मानिने दुबईको ग्लोबल भिलेजमा नेपाली स्टल राख्ने बारे छलफल भएको छ । विभिन्न संस्कृतिहरू भएका ७५ भन्दा बढी देशहरूको प्रतिनिधित्व गर्ने २७ वटा प्याभिलियनहरू भएको ग्लोबल भिलेजमा नेपालको समेत सहभागीताका लागि युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले छलफल गरेका हुन् ।

    राजदुत क्षेत्रीले दुबई ग्लोबल भिलेजलाई सञ्चालन गर्दै आएको दुबई होल्डिङ इण्टरटेन्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत फर्नान्डो इरोवासहित त्यसको सुरक्षा उप-प्रमुख मन्सुर सलेमसँग भेटेर ग्लोबल भिलेजमा नेपाल स्टल राख्ने र त्यसमार्फत नेपाली उत्पादन, नेपाली खाना, लोकगीत र संस्कृतिहरु पस्किनेबारे बुधबार छलफल गरेका हुन् ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत इरोवाले नेपाली दुतावास र राजदुत क्षेत्रीको प्रयासलाई स्वागत गर्दै निकट भविष्यमा ग्लोबल भिलेज, दुबई पार्क र अन्य गन्तब्यहरुमा नेपालको प्याभिलियन र स्टलहरु स्थापना गर्न थप सहयोग र समन्वयका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गरेको नेपाली दुतावास आबुधावीले जनाएको छ ।

    भेटघाट तथा छलफलपछि नेपालप्रेससँग कुरा गर्दै राजदुत क्षेत्रीले ग्लोबल भिलेजमा नेपाल राख्न प्रयास स्वरुप सुरुवात गरिएको, त्यसका लागि अनेकन विधि प्रकृया भएकाले थप समय लाग्न सक्ने बताए। टेण्डर तथा कम्पनीका आफ्नै प्रकृया भएकाले थप छलफल र समन्वयनात्मक आवश्यकता रहेको राजदुत क्षेत्रीको भनाइ छ ।

    विश्वको सबैभन्दा ठूलो पर्यटन, मनोरञ्जन, किनमेल, व्यापार बजार प्रवर्द्धन तथा मनोरन्जन परियोजनाको रूपमा चिनिँदै आएको ग्लोबल भिलेज दुबईमा हरेक वर्ष ५ मिलियन भन्दा धेरै पाहुनाको सहभागिता हुने गर्दछ ।

    हरेक वर्ष जाडो मौसममा (अक्टोबर ( अप्रिल, मे सम्म ) सन्चालन हुँदै आएको सो मेला हरेक वर्ष ४० हजार भन्दा धेरै सांस्कृतिक र मनोरन्जनका कार्यक्रम हुने गर्छन् । सो मेलामा पुगे पछि संसारका सबै देश पुगेको महसुस हुने गरेको सहभागी दर्शकको भनाइ छ ।

     

  • सुरज र सरहना : अमेरिकी राज्यसभा चुनावमा विजय बने यी दुई नेपाली भाषी

    सुरज र सरहना : अमेरिकी राज्यसभा चुनावमा विजय बने यी दुई नेपाली भाषी

    काठमाडौं । नोभेम्बर ५ को अमेरिकी चुनाव राष्ट्रपतिको मात्रै चुनाव होइन । यो त चुनाव राज्य तथा संघका सदनहरूको पनि चुनाव हो । उक्त चुनावमा दुई नेपाली भाषी अमेरिकीहरू पनि विजय भएर पुगेका छन् ।

    विजेतामा एक हुन सुरज बुढाथोकी । उनी न्यू ह्याम्पसायर राज्यबाट राज्यसभामा विजय भएका हुन् । उनी डेमोक्रेटिक पार्टीका हुन् ।

    उनले साउदर्न न्यू ह्याम्सायर विश्वविद्यालय तथा नोर्विक विश्वविद्यालय पढेका उनी भुटानी हुन् । उनी भुटानको साम्राङमा जन्मिएका थिए ।

    यस्तै विजय हुने अर्का नेपाली भाषी हुन सरहना श्रेष्ठ । काठमाडौंमा जन्मेकी सरहना पनि सुरज जस्तै डेमोक्रेटिक पार्टीकै हुन् । उनी न्यू योर्क राज्यसभामा विजय भएकी छिन् ।

    २०२२ मै उनी नेपाली भाषी प्रथम महिला विधायक हुने रेकर्ड बनाउन सफल भएकी थिइन ।

    पुरुषतर्फ भने यस अगाडि नै मेरिल्याण्ड राज्यबाट ह्यारि भण्डारी विजय भइसकेका छन् । ह्यारीकै पहलमा हरेक वर्षको अक्टोबर ५ लाई दशैं डेको रूपमा मनाउने कानुन पनि मेरिल्याण्ड राज्यमा पारित भएको छ ।

    ह्यरी अहिले अमेरिकाको हाउस अफ डेलिगेट्सको रूपमा भएको अमेरिकाका नेपाली भाषी तथा डेमोक्रेटिक पार्टीमा आबद्ध प्रसन्न सङ्ग्रौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनले भने, ‘अमेरिकामा डेमोक्रेटिक पार्टीबाट नेपाली भाषीहरूको देखिने उपस्थिति राजनीतिमा पनि क्रमशः हुन थालेको छ । यो सकारात्मक खबर हो ।’

    अर्को चरणको भर्जिनिया राज्यको चुनावमा उठ्ने तयारीमा पनि भएका प्रसन्नले हालसम्म तीन नेपाली राज्यसभामा पुग्नु राम्रो अवसर भएको बताए ।

  • संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो म्ह पूजा

    संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो म्ह पूजा

    लिस्वन, पोर्चुगल । आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामूहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पूजामा नेवार समुदायका एक सय जनाभन्दाको सहभागिता रहेको थियो ।

    आफ्नो शरीरलाई आफैंले निरोगिता र रोकिएका काम पूरा होस् भनेर म्ह पूजा गर्ने चलन रहेको नेवाः खःल, पोर्चुगलका अध्यक्ष राजेशमान जोशीले जानकारी दिए ।

    ‘आत्मालाई मण्डपमा राखेर विधिपूर्वक पूजा गर्ने नेवारीअनुसार म्ह पूजा गर्ने चलन रहेको छ’, उनले भने, ‘हामीले पनि त्यही प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौं । हाम्रो कला, भाषा, संस्कृति भनैकै हाम्रो पहिचान हो । यसमा हामीले गर्व गर्नु पर्छ ।’

    युरोपमा पहलो पटक आयोजना गरिएको म्ह पूजाका संयोजक अमृतरत्न शाक्यले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएको कार्यक्रमबाट आफू हौसिएको बताए ।

    ‘पहिलोपटक गरिएको पूजामा भएको सहभागीताले निकै खुशी लागेको छ’, उनले भने, ‘नेपालीहरू जहाँ भएपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हो ।’

    नेवाः खःल, पोर्तुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएको जानकारी दिदैं आजको यो म्ह पूजा पनि भव्य हुन गएकोका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे ।

    ‘आफ्नो जन्मे हुर्केको बेला देखि आएको चलनलाई आत्मसाथ गर्न पाउँदाको खुशी हुँदैन र’, उनले भने, ‘प्रवासमा पनि यसरी आफ्नो संस्कृति अगाल्न पाउँदा निक्कै खुशी लागेको छ ।’

    एक वर्ष अगाडि स्थापना भएको नेवाः खःल, पोर्चुगलले अब आफ्नो संस्कृतिको जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिवद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

    यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ (दिलोन) का साथै कोषााध्यक्ष अमृत रत्न शाक्यको महत्वपूर्ण भूमिका रहेको जानकारी पनि खःलका अध्यक्ष जोशीले दिए ।

    यसैगरि पोर्चुगलमा रहेको विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसी भैलो पनि खेलेका थिए ।

     

  • ‘आकस्मिक कोष सहयोगार्थ’ गुल्मी सेवा समाज कतारद्वारा बृहत सांस्कृतिक कार्यक्रम आयोजना

    ‘आकस्मिक कोष सहयोगार्थ’ गुल्मी सेवा समाज कतारद्वारा बृहत सांस्कृतिक कार्यक्रम आयोजना

    दोहा । गुल्मी सेवा समाज कतारले ‘आकस्मिक कोष सहयोगार्थ’ आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

    समाजकी महिला संयोजक कल्पना कोहीनुरको संयोजकत्वमा शुक्रबार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा सो बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

    नेपालीहरूका महान पर्वहरू बिजया दशमी, दीपावली तथा छठको अवसर पारेर आयोजना गरीएको सो कार्यक्रममा लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले प्रस्तुती दिएकी थिइन् । उनले पञ्चेबाजा गीत ‘शिर फूल शिरको’ र ‘ढलें ढलें’ गीत गाएर दर्शकलाई मनोरन्जन दिएकी थिइन् ।

    शान्ता रानीसँगै कतारमा रहेका करिब एक दर्जन कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए भने केही साहित्यकार तथा सर्जकहरुले समेत आ आफ्ना रचना वाचन गरेका थिए ।

    समाजका कार्यवाहक अध्यक्ष सुरज चन्द बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यतामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट, विशेष अतिथिमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेल रहेका थिए ।

  • वैदेशिक रोजगारीको क्रममा मृतकका परिवारको क्षतिपूर्ति रकम वृद्धि

    वैदेशिक रोजगारीको क्रममा मृतकका परिवारको क्षतिपूर्ति रकम वृद्धि

    काठमाडौं । सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ लाई छैटौ संशोधनमार्फत संशोधन गरेको हो ।

    संशोधित व्यवस्थाअनुसार वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवार तथा आफन्तले यसअघि ७ लाख क्षतिपूर्ति पाउँदै आएकोमा अब १० लाख पाउने भएका छन् ।

    नियमावलीको नियम २८ मा संशोधन गर्दै यसअघि उपलब्ध गराउँदै आएको ७ लाखलाई १० लाख बनाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले जानकारी दिए ।

    उनका अनुसार नियमावली संशोधन भएको सूचना राजपत्रमा प्रकाशित भइसकेको र कार्यान्वयन प्रक्रियामा अघि बढिसकेको छ ।

  • गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक (भिडिओ)

    गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनउ बनाएको बताएका हुन्  ।

    ‘नेपालका लागि केही गर्न उदेश्य राख्नु भएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ, उनले भने,’गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसारफैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

     

    गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए। ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ’उनले भने ।

    यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईं पनि गृहकार्य गरेर आउनुहोस्,’उनले भने ।

    लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै लोकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए ।

  • अस्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मनायो तिहार

    अस्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मनायो तिहार

    सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिवबहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसीभैलो कार्यक्रम भएको छ ।

    समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक उमेश उपाध्याय, बालकृष्ण बस्याल, ई.राम कोइराला, आशिष भेटवाल, डा. राजु मानन्धर, ई.जीतेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, नेत्रप्रसाद पौडेललगायतले कविता तथा गजल प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा कवि शिवबहादुर श्रेष्ठको ‘उपहार’ पुस्तक त्रिविका पूर्वउपकुलपति भुसाल, प्रा. उपाध्याय र संस्थाका अध्यक्ष डा. प्रकाश पौडेलले संयुक्त रूपमा विमोचन गरेका थिए ।

    सो अवसरमा बाल साहित्यकार आयाम घिमिरेले कविता र रेवा शाहले सारङ्गी प्रस्तुत गरेका थिए । उनीहरु दुवैलाई यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भर्चुअल कार्यक्रममा पुरस्कृत भएकोमा आजै पुरस्कार प्रदान गरिएको थियो ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. शिव भुसाल र वरिष्ठ पत्रकार डीआर घिमिरेलाई सम्मान गरिएको थियो ।

    एनआरएनएका अध्यक्ष अनिल पोख्रेलले संस्थाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता दिने नीति राखेको जानकारी गराउँदै आगामी दिनमा थप सृजनात्मक काम गर्न नेपाली समुदायलाई आग्रह गरे ।

     

  • यूएईमा आममाफी: १७ वर्षपछि नेपाल फर्किए परिवारले आश मारेका उजुर

    यूएईमा आममाफी: १७ वर्षपछि नेपाल फर्किए परिवारले आश मारेका उजुर

    यूएई । रोजगारिका लागि झन्डै १८ वर्ष पहिले यूएई आएका उजुरसिङ लिम्बू हराइरहेका भन्दै खोजी गरिदिन किराँत याक्थुङ चुम्लुङ यूएईका पूर्वअध्यक्ष गजबहादुर लिम्बूले नेपाली समाज यूएईलाई सन् २०२४ को जनवरी दोस्रो सातामा जानकारी गराए । कागजातमात्रै होइन, राहदानी नम्बरसम्म पत्तो नभएका उजुरसिङ परिवारको सम्पर्कमा नआएको वर्षौं भएको थियो ।

    सन् १९९९ मा ५ वर्षे हस्तलिखित राहदानी बनाएर मलेसिया उडेका उजुर २००७ मा यूएई छिरेकोबाहेक परिवारसँग अरु कुनै जानकारी र अभिलेख थिएन । परिवारले सबैतिर खोज्यौं, कहीँ केही भेट्टाउन सकेन । केही सीप नलागेपछि परिवारले आश मारिसकेका थिए । मिक्वाखोला- ५ ताप्लेजुङका उजुरसिङको घरमा उनको कुनै विवरण थिएन ।

    नेपाली समाज यूएईले सूचना पाएलगत्तै नेपाली दूतावास आबुधावी र अन्य विभिन्न निकायमा समन्वयको प्रयास गर्‍यो, तर हस्तलिखित ढड्डामा नागरिकता र राहदानी भेटिएन । पहिलो पटक उजुरसिङ सन् २००४ मा राहदानी नवीकरण गरेर सन् २००७ मा यूएई छिरेका रहेछन् । सन् २००४ मा मलेसियास्थित नेपाली दूतावासमार्फत उनले हस्तलिखित राहदानी नवीकरण गरेको तथ्य आबुधावीस्थित नेपाली दूतावासमा राहदानी फाँट हेर्ने द्वितीय सचिव तिलबहादुर सुनारले फेला पारे, तर थप अन्य कुनै विवरण र कागजात भने भेटिएन ।

    मलेसिया र आबुधावीमा रहेको दूतावासले राहदानीको रेकर्ड भेट्टाउन संयुक्त रुपमा प्रयास गरिरहे । नेपालका विभिन्न निकायहरुमा पुगेर ढ्ड्डा केलाउँदा पनि उजुरको कागजात कहीँकतै पत्तो लागेन ।

    प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्की आफैं परराष्ट्र, कन्सुलर, अध्यागमन, श्रम, जिल्ला प्रशासन सबैतिर पुग्दा पनि केही मेसो नलागेपछि उजुरसिङलाई नेपाल फर्काउन सकिने आशा मारिसकेका थिए । नेपाली समाज यूएईले आबुधावीमा रहेको नेपाली दूतावाससँग समन्वय गरिरहेको थियो ।

    यसैबीचमा यूएई सरकारले आममाफी दिने योजना गाइँगुइँ सुनियो, तर यसअघिका २ वटा आममाफीमा एक्लै प्रयास गर्दा नेपाल फर्किन नपाएका उजुरलाई यसपटक पनि खासै आशा थिएन ।

    यूएईले आममाफी योजना ल्याएको र त्यहाँ नेपाल हेल्प डेस्क राख्नेबारे नेपाली दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदी, स्थानीय जनसम्पर्क अधिकृत इरफान आलम र नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याललगायत यहाँको सम्बन्धित निकायसँग बैठकमा गएको बेला उजुरसिङको सम्बन्धमा चासो राखियो । केही उपाय अपनाउन सकिएला भन्ने यूएईको सकारात्मक जवाफ पाएपछि नेपाल फर्काउने प्रयासले बल्ल आशा जगाएको अध्यक्ष अर्यालले बताए ।

    उनका अनुसार यूएईको उच्च निकायले उजुरसिङको बायोमेट्रिक सिस्टममार्फत राहदानी नम्बरसहित विवरण फेला पारेको थियो ।

    ‘सन् २००७ को मे २ तारिख रसअल खेमाको अल मदार बिल्डिङ कन्स्ट्रक्सन कम्पनीमा काठमाडौंबाट दुबई विमानस्थलमा उजुरसिङ लिम्बू आएको विवरण भेटिएपछि थप प्रक्रिया अगाडि बढाउन सजिलो भयो’, उनले भने, ‘झन्डै १० महिनाको प्रयासमा कैयौं पटक रसअल खेमा, कहिले दुबई अल अविअर इमिग्रेसन, कहिले दुबईका विभिन्न प्रशासनमा उजुरसिङलाई लिएर हिँडें ।’

    उनका अनुसार उजुरलाई नेपाली दूतावाससहित रस अलखेमामा कार्यरत रेशम लामाले पनि सहयोग गरेका छन् । कैयौं पटक नेपाली दूतावासका प्रतिनिधि आफैंले उनलाई लिएर यहाँका विभिन्न निकाय धाएका थिए । ५ हजार १५९ औं दिनसम्म यूएईमा अवैधानिक बसेका उजुरसिङ बिहीबार बिहानमात्रै नेपाल पुगे ।

    यूएईमा उजुरसिङको १७ वर्ष

    झन्डै १८ वर्ष पहिले यूएई आउँदा उजुरसिङ अग्लो कद, हसिलो चम्किलो अनुहारमा थिए । कम्पनीमा ६०० धिराम मासिक तलबमा आएका उनले त्यो तलब पाएनन् । यूएई आएको ३ महिनामा उनले कम्पनी छोडे । कम्पनीले फरार सूचीमा राखिदियो । कम्पनी छोडेर हिँड्ने बेला उजुरसँग ३ जोर कपडा र नेपालबाट आउँदाको सुर्केनी झोलामात्रै थियो । हिँड्दै खोज्दै साथीहरु भेट्दै कहिले कहाँ, कहिले कहाँ पुग्दा यूएईका सातै वटा राज्यमा उनी पुगे । उनको त्यो सुर्केनी झोला र भएका कपडा पनि हराए । यूएईको पश्चिमी क्षेत्र साउदी नाकामा ग्यास तथा तेल उत्पादन हुने क्षेत्रमा उनी पुगे ।

    झन्डै ३ जर्ष उनले त्यही बसेर काम गरे । कम्पनीभन्दा बाहिर आफूले रोजेको काम गर्दा उनले त्यहाँ राम्रै कमाउनु पनि भयो । त्यो बेलासम्म उनी परिवारको सम्पर्कमा पनि थिए, तर त्यसपछि फेरि उनी ४-५ वर्ष परिवारको सम्पर्कबाट हराए । वृद्ध बुवाआमा र दाइले उजुरसिङलाई धेरै ठाउँमा खोजी प्रयास गरिरहे, केही पत्तो नलाग्दा परिवारले समेत उजुर जिउँदै फर्किएला भन्ने आशा मार्न लागे ।

    १७ वर्षमा उजुरलाई ठूलो रोगले च्यापेन, तर कहिले कसो बिरामी हुँदा अरबमा अवैध भएर बसेकालाई भनिने ‘खल्लीबल्ली’मा बसेका साथीभाइहरुले सहयोग गरिरहे । जेनतेन उनले गुजारा गरिरहे । कहिले आबुधावी, कहिले दुबई ! कहिले कहाँ, कहिले कता उनी जता काम पाइन्छ त्यतै दौडिरहे । कहिले ठेक्कापट्टा, कहिले लोड अपलोड काम गरिरहेका उजुर पछिल्लो समय महिनाको साता १० दिनमात्रै काम गरेर गुजारा गर्दै थिए ।

    यसअघिका दुई वटा आममाफी योजनामार्फत नेपाल जान खोज्दा जहिल्यै उनको कागजात मागिन्थ्यो, तर परदेशमा उनको बारे बोलिदिने र खोजिदिने कोही नहुँदा उजुरले नेपाल फर्किन पाएएन् । बुधबार राति फ्लाई दुबईको उडानमार्फत बिहीबार बिहान काठमाडौं पुगेका उजुरसिङलाई प्रवासी नेपाली समन्वय समितिले स्वागत गर्दै संस्थाकै सेल्टरमा खानेबस्ने व्यवस्था गरिएको छ । शनिबार साँझमात्रै उनलाई ताप्लेजुङमा रहेको घरसम्म पुग्नेगरी बिदाइ गरिएको छ ।

    २० वर्षदेखि गुमनाम रामबहादुरलाई पनि फर्काउने तयारी

    यूएईले अहिले आममाफी (अध्यागमन)सम्बन्धी योजना चलाइरहेको छ । आप्रवासी कामदारलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय मानव अधिकार तथा विभिन्न सन्धिको कार्यान्वयनस्वरुप यूएईले चलाएको आममाफी प्रक्रियामा अवैधानिक रुपमा बसेका धेरै देशका श्रमिक आफ्नो घरदेश फर्किएका छन् । कतिपय यूएई सरकारले दिएको सुविधाअनुरुप यूएईभित्रै वैधानिक बसिरहेका छन् ।

    आबुधावीमा रहेको नेपाली दूतावासले दुबईको अल अविर अध्यागमनसँगको सहयोगमा नेपाल हेल्प डेस्क (सहायता केन्द्र) राखेर सहयोगसमेत गरिरहेको छ । सहायता केन्द्रमा नेपाली समाज यूएई, एनआरएन यूएई तथा विभिन्न संघसंस्थाले स्वयम्सेवक खटाएर दैनिक सहयोग गरिरहेका छन् । नेपाली दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र तथा कानूनी सहयोग गरिरहेको छ । आममाफी अभियान यही अक्टोबर ३१ मंगलबार सकिँदैछ ।

    पछिल्लो समय १७ वर्षदेखि अड्किएका उजुर फर्किएपछि उनकै समूहका अर्का एक नेपाली पनि उनीमार्फत नेपाली समाज यूएईको सम्पर्कमा आएका छन् । सन् २००४ मा यूएई आएर अवैधानिक रुपमा २० वर्षदेखि गुमनाम रहेका प्यूठानका रामबहादुर बुढा (नाम परिवर्तन)लाई पनि नेपाल फर्काउने प्रयास भइरहेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

    सितगंगा- ९ अर्घाखाँचीका तोमलाल ।

    त्यस्तै ८ वर्षदेखि यूएईमा अड्किएका सितगंगा- ९ अर्घाखाँचीका तोमलाल भुसाल पनि नेपाल फर्किएका छन् ।

    नेपाली दूतावास आबुधावी र नेपाली समाजको सहकार्यमा आममाफी प्रक्रियामार्फत करिब एक हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको र कतिपय वैधानिक बनेर यूएईमै बस्न नेपाली दूतावासको सहयोग लिएको नेपाली दूतावासकी प्रवक्ता उपनियोग प्रमुख रञ्जिता दाहालले बताइन् ।

  • माओवादीको एसिया प्रदेश समितिद्वारा राहत कोषमा १४ लाख नगद सहयोग

    माओवादीको एसिया प्रदेश समितिद्वारा राहत कोषमा १४ लाख नगद सहयोग

    आबुधावी । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश समितिले बाढीपहिरो प्रभावितको सहयोगका लागि भन्दै १३ लाख ७८ हजार ३ सय ३९ रुपैयाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ ।

    माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी समितिले सो रकम पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो ।

    नेकपा माओवादी केन्द्र एसिया प्रदेश समितिका इञ्चार्ज पम्फा भुसालको उपस्थितिमा केन्द्रिय सदस्य डिबी क्षेत्री, प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, प्रदेश समितिका सहसचिव दीपक पुन, सदस्य ईश्वर कठायत लगायतका पदाधिकारीहरुले सो रकम चेक मार्फत पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो प्रभावितको सहयोगका लागि बिदेशमा बस्ने पार्टीका शुभचिन्तकहरुको पहलकदमीका लागि धन्यवाद ब्यक्त गरे ।

    पार्टीले बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैंले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।

    विपद्‌बाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने प्रचण्डको भनाइ छ ।

    एसिया प्रदेश समितिले २७ सेप्टेम्बर देखि २२ अक्टोबर सम्म गरेर सो रकम सन्कलन गरेको थियो । सो अबधिमा १३ लाख ७८ हजार ३ सय ३९ रुपैया संकलन गरेको र त्यो रकम मध्ये ४० हजार रुपैया अखिल(क्रान्तिकारी)ले बाढी पहिरो प्रभावितको लागि तत्काल खाना खुवाउने अभियानको लागी सहयोग गरेको थियो ।

    त्यस्तै संकलित रकममध्ये पहिलोपतक ५ लाख रुपैया र दोस्रोपटक मंगलबार ८ लाख ३८ हजार ३ सय ३९ रुपैया चेक मार्फत पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरिएको एसिया प्रदेश समितिका सह सम्योजक हरी विवस नेपालीले जानकारी दिए ।

     

  • यूएईबाट नेपाल पैसा पठाउँदा उपहारमा १० वटा कार

    यूएईबाट नेपाल पैसा पठाउँदा उपहारमा १० वटा कार

    आबुधावी । यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १० वटा निसान कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो । उपहारमा प्रदान गरिने निसान सनी प्रतिएक कारको बजार मूल्य अहिले झन्डै साढे २२ लाख रुपैयाँ छ ।

    एक्सचेन्जले केन्द्रीय कार्यालय आबुधावीमा पत्रकार सम्मेलन गर्दै यो योजनाअन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने योजना सार्वजनिक गरेको हो ।

    यो योजना अक्टोबर १७ तारिखदेखि फ्रेबुअरी १३ सम्म सञ्चालन गरिनेछ । यस अवधिमा एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनोट गरिनेछ ।

    यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधिमार्फत गोलाप्रथा गरेर विजेता घोषणा गर्नेछन् । यस अवधिमा जम्मा ५ पटक इलेक्ट्रोनिक ड्र गरिनेछ । सोहीअनुसार योजना सुरु भएको ६० दिनमा दुई ठाउँ दुबई र आबुधावीमा इलेक्ट्रोनिक लक्की ड्र गरिनेछ । बाँकी ३ वटा इलेक्ट्रोनिक ड्र योजनाको १२० औं दिनको दिन आबुधावी, दुबई र सारजाहमा गरिनेछ । लक्की ड्र जहाँ गरिए पनि यूएईभरका ३० वटा शाखाबाट पैसा पठाउने सबै सेवाग्राहीले यो अवसर प्राप्त गर्नेछन् ।

    अल अहलिया एक्सचेन्जले गएको ११ वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका दुई वर्ष अफर ल्याउन नसकिए पनि गएको वर्षबाट ग्राहक लक्षित योजना सुरु गरेको एक्सचेन्जका वरिष्ठ बजार प्रमुख सन्तोष नाएरले बताए ।

    यसै वर्ष समर प्रमोसनमा पनि मेघा लक्की ड्रमार्फत आधा किलो सुनसहित ५ वटा निसान सनीको कार उपहार प्रदान गरिएको एक्सचेन्जका स्याटलाइट तथा एपीएस मार्केटिङ म्यानेजर सुदर्शन जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

    वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याएको एक्सचेन्जका नेपाल प्रमुख बेनिमाधव ढकालको भनाइ छ ।

    यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उनले आग्रह गरेका छन् । यही एक्सचेन्जमार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका थिए ।

    त्यस्तै सन् २०१३ मा सोही कम्पनीले चलाएको योजनामा अर्का एक नेपाली रामबहादुर कटुवालले एक लाख दिराम (झन्डै ३६ लाख रुपैयाँ) नगद उपहार पाएका थिए । एक्सचेन्जले सन् २०२० मा चलाएको विन्टर प्रमोसनमा रोल्पाका झकबहादुर गिरी र रुपन्देही सैनामैनाकी सीता पाण्डेले झन्डै ५० लाख रुपैयाँको उपहार पाएका थिए ।

    सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स पठाउनेमध्ये एक ठूलो कम्पनी हो ।

  • परिवारको सम्झनामा परदेशीले यसरी मनाए दशैँ (फोटो फिचर)

    परिवारको सम्झनामा परदेशीले यसरी मनाए दशैँ (फोटो फिचर)

    युएई,    संयुक्त अरब इमिरेट्स युएईको अजमानमा कार्यरत भुमिकास्थान ९ अर्घाखाँचीका भीम केसीको दशैँ यस पटक परदेशमा बित्यो । कम्पनीले दीने नियमित साप्ताहिक बिदा आइतबार भएपनि दशैँ शनिबार परेकोले मनाउन नपाउने पिरलो मनमा थियो । तर कम्पनीसँग कुरा गरेर आफ्नो शनिवारको कामको चाप शुक्रबार देखी शनिबार बिहान ९ बजे सम्म गरी उनले दशैँ मनाउने चाँजोपाँजो मिलाए ।
    १४ वर्षदेखि युएईमा कार्यरत केसीले यसरी दशैँ मनाउन लागेको धेरै भयो । आफूले जमरासम्म राख्न नपाएको बेला गोरखाका विष्णु अधिकारी र तिर्सना बोगटी दम्पतीले उमारेका जमराले विष्णु र उनका साथीभाइले दशैँलाई थप रङ्गिन बनाए ।

    No description available.
    युएईको आबुधावीमा कार्यरत रामेछापकी कमला रम्तेलले घर परिवार सँग दशैँ मनाउन नपाएको ७ बर्ष भयो । आबुधावीको एउटा स्कुलमा  सुपरभाइजरको रुपमा कार्यरत उनी र उनका साथीहरूले दशैँको समयमा बिदा पाउँदैनन् । दशैँको बेला आबुधावीमा भर्खरै स्कुलहरू गर्मी बिदा मनाएर खुलेकाले वार्षिक यो समयमा बिदा पाउन सम्भव छैन । त्यसैले कमलासँगै दोलखाकी शान्तमाया तामाङ, निरीमाया जिरेल, र रुपन्देही बुटवलकी कोपिलाले थापा मगरले जमराको  जोहो  आफै गरेका थिए । सन्जोगले दशैँ शनिबार परेकोले उनीहरुले आफ्नै कोठामा दशैँको टिका लगाउन भ्याए ।

    No description available.

    नेपाली रीतिरिवाज, परम्परा र संस्कार देश बाहिर जहाँ गए पनि जोगाइ राख्न परदेशीयका नेपालीहरूले पनि टिका ग्रहण गरेर दशैँ मनाएका हुन् ।।

    आबुधावीमा रहेको एमटी ८८४८ रेस्टुरेन्टले दशैँ मनाउन घरदेश जान नपाएका आफ्ना ग्राहकहरूलाई सित्तैमा जमरा वितरण गरेको थियो । तनहुँका महेश र सोनम श्रेष्ठ दम्पतीले आबुधावीमै आफ्नो परिवार सँग बसेर टिका जमरा लगाए ।

    No description available.

    घरदेशजस्तो सबै इष्टमित्र, नाता कुटुम्ब, साथी र आफन्तसँग परदेशमा जुट्न सजिलो नभए पनि सम्भव हुने आफन्तजनको उपस्थितिमा युएईको सारजाहमा ग्लोबल एनआरएन युएईका अध्यक्ष पासाङ शेर्पाले यस पटकको दशैँ मनाए ।
    राजधानी आबुधावी देखी झन्डै ४ सय किलोमिटर टाढा साउदी सीमा छेउमा रहेका नेपालीहरूले पनि साझ कम्पनीको काम सकेर क्याम्पमा मनाउने तयारी गरिरहेका छन् ।

    No description available.

    त्यस्तै सोही क्षेत्रमा रहेको अल हब्सन क्याम्पमा ५ बर्ष पहिले दशैँ मनाउँदा नेपालीहरूबिच झगडा परेको र झगडाले उग्र रूप लिई एक नेपालीले अर्को नेपालीलाई चक्कु प्रहार गरी हत्या गरेकाले पछिल्ला बर्सहरूमा दशैँ तथा चाडबाड मनाउन पाइँदैन । झन्डै ५ हजार नेपाली कामदार रहेको त्यो क्याम्प एरियामा भएका साथीभाइ मिलेर अझै पनि छिट्टफुट्ट टिका लगाउने गरिएको स्याङ्जाका अच्युत पाण्डेले बताए ।

    No description available.

    युएईमा व्यवसाय समेत गर्दै आइरहेका एनआरएन युएईका प्रवक्ता रुद्र थापाले यस पटकको दशैँ आफ्नो बुवा आमा, बहिनी र छोरीलाई युएई ल्याएर मनाए । सपरिवार युएईमा कार्यरत रुद्रले बुवा आमालाई विदेश घुमाउने बहानासँगै यस पटकको टिका  बुवा आमाकै हातबाट लगाउन पाए ।

    अरबका देश युएईसङै, कतार, ओमान, साउदी अरब लगायत देशमा कार्यरत धेरै नेपालीको निधार यस पटक पनि खाली रह्यो । कतिपयले राती अबेर सम्म दसैं मनाउने मेसो मिलाएका छन् ।

    No description available.
    खाडी मात्रै होइन युरोपको माल्टा, पोर्चुगल तथा स्लोभाकिया लगायतका मुलुकमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीले घरदेशका आफन्तलाई सम्झिँदै दसैं मनाएका छन् । स्लोभाकियामा कार्यरत नेपालीहरूले सामूहिक टिका लगाएर दसैं मनाएका छन् । एक महिना अघि मात्रै कामका लागि त्यहाँ पुगेका काठमाण्डौका हेम खड्का लगायत २० जनाले एकै ठाउँमा भेला भएर दसैं मनाएका हुन् । दशैँका लागि उनीहरुले रातो टिका समेत सँगै लिएर आएका थिए। उनीहरूसँगै वीरगन्जका राजन शाह, गोरखाका जित गुरुङ, पोखराका सुवास पन्त, रुपन्देहीका मनोज श्रेष्ठ, नुवाकोटका सागर पौडेल लगायतले पनि रातो टिका र जमरा सहित दसैं मनाएको नेपाल प्रेसलाई बताए ।

    No description available.
    परदेशमा कार्यरत धेरै जसोले दसैंको दिन निधार खाली राखे पनि कतिपय पूर्णिमासम्ममा समय मिलाई टिका जमरा लगाएर दसैं मनाउने योजनामा रहेको बताउँछन् ।

  • जब छोराको शव टीकाको अघिल्लो दिन आयो…

    जब छोराको शव टीकाको अघिल्लो दिन आयो…

    दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि गएका पन्थले १० महिने कोर्ष पूरा गरिसके । ८ महिनापछि उनी पाइलट बन्दै थिए ।

    छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैँ पनि विगतको भन्दा उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार । तर, त्यो सपनामै सीमित भयो । विराट घटनास्थापनको भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

    यता नेपालमा रहेको पन्थ परिवार दशैँका लागि जमराको चाँजोपाँजो मिलाउँदै थियो । त्यहीबेला खबर आयो, छोरा विराटको आफैँले चलाएको कार दुर्घटनामा परी निधन भयो । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको बताइएको छ ।

    कानूनी प्रक्रिया पूरागरी पन्थको शव शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरियो । दशैँको बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ ।

    बुवा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् ।

    आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला ! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।’

    छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको सुनाए ।

    ‘आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्’, श्रेष्ठले भने ।

    -रासस

  • दशैँमा सास त के, लास ल्याउन पनि सकस- यूएईमा अड्किए १५ नेपालीको शव

    दशैँमा सास त के, लास ल्याउन पनि सकस- यूएईमा अड्किए १५ नेपालीको शव

    आबुधावी । यूएईको सारजाहमा कार्यरत हिले दोलखाकी ४३ वर्षीया विमला बुढाथोकी खड्का केही समययता खुट्टाको नसासम्बन्धी समस्याबाट ग्रसित थिइन् । सारजाहकै एक क्लिनिङ कम्पनीमा कार्यरत उनलाई नेपाल फर्किने भन्दाभन्दै कम्पनीले झुलायो । काम गर्न नसकेपछि कम्पनीले केही समय यहीँ बसेर आराम गर्न भन्यो ।

    यूएईमा ज्यान गुमाएकी विमला बुढाथोकी खड्का ।

    दुबईमै काम गरिरहेकी विमलाकी जेठी छोरी पवित्राले आमालाई धेरै पटक नेपाल फर्काउन कोसिस गरिन् । तर, प्रयास सफल भएन । विमलाको नसाको अप्रेसननै गर्नुपर्‍यो । अप्रेसनको केही दिनपछि उनी कम्पनीकै कोठामा ढलिन् । साथीभाइ र कम्पनीले एम्बुलेन्स त बोलाए तर बचाउन सकेनन् ।

    उनको शव सारजाह अस्पतालमा छ । बुधबारमात्रै कम्पनीले कागजात तयार गरेको छ । तर, शव नेपाल पठाउन हवाई टिकट र कार्गो व्यवस्थापन भएको छैन ।

    साउदीमा कार्यरत विमलाका श्रीमान र जर्मनीमा रहेकी कान्छी छोरी नेपाल पुगेर दशैँको मुखमा विमलाको शव कुरिरहेका छन् । यता दुबईमा छोरी पवित्रालाई पनि आँखैअगाडि आमा गुमाउँदाको पीडा त छँदैछ । दशैँ दशा बनेको बेला शव लैजान नपाएकोमा उस्तै चिन्ता ।

    मकवानपुरका भीम बहादुर घिसिङ, सन्धिखर्क ६ अर्घाखाँचीका ताराबहादुर झाँक्री मगर, मोरङका विद्यानन्द राजवंशी, रौतहटका नीरबहादुर थिङ, र सुरेन्द्र शाहीको शव कानूनी प्रकृया पूरा गरी जहाजको कार्गो स्पेसको पर्खाइमा छन ।

    यी प्रतिनिधिमात्र हुन् । यूएईमा ज्यान गुमाएका १५ जना नेपालीको शव नेपाल पठाउन अझै बाँकी छ ।

    शव नेपाल लैजानु पहिले सम्पूर्ण कागजात पूरा गरेर आबुधावीमार्फत एनओसी (शव लैजान अनुमति पत्र) बनाउनु पर्छ । बिहीबार फूलपातीबाटै दशैँ बिदा सुरू भयो । एनओसीलगायत अत्यावश्यक सेवा नेपाली दूतावास बन्द हुँदा पनि जारी राख्ने राजदूत तेजबहादुर क्षेत्री बताउँछन् ।

    पछिल्लो समय यूएईमा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । त्यसमा आत्महत्याको तथ्यांक बढी छ । गएको मंगलबार र बुधबार २ दिनमा नेपाली दूतावास आबुधावीले ९ जनाको शव नेपाल लैजान एनओसी जारी गरेको छ । तर, जहाजमा कार्गो स्पेस फुल भएका कारण ती शव यूएईका विभिन्न मर्चरीमा छन् ।

    जहाजको टिकट दुई महिना पहिलेबाट बुकिङ भएको र अहिले यात्रुको चापका कारण लगेज कार्गो धेरै हुने भएकाले शव लैजान समस्या भएको एनआरएन यूएईका अध्यक्ष विकास शाही बताउँछन् ।

    ‘वाइडवडी जहाजमा २ जनासम्मको र न्यारोवडीमा एकजनाको मात्र शव लगिन्छ । अहिले दशैँको अग्रिम बुकिङका कारण शव लैजान नसकिएको हो’, शाहीले नेपाल प्रेससँग भने ।

    यो समस्या नेपाली दूतावास, एयरलाइन्स कम्पनी र कामदार कार्यरत कम्पनीको समन्वयमा समाधान गर्न सकिने उनी सुझाउँछन् ।

  • प्रधानमन्त्री राहत कोषमा एनआरएनएले गर्‍यो सहयोग

    प्रधानमन्त्री राहत कोषमा एनआरएनएले गर्‍यो सहयोग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ ।

    बालुवाटारमा संघका अध्यक्ष डा. बद्री केसीसहितको टोलीले प्रधानमन्त्री ओलीलाई उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको बताए । ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको केसीले गुनासो गरे ।

    प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिए । एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे । संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन उनले सुझावसमेत दिए ।

    यसैगरी आजै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले ६० लाख, विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट ६ लाख ४६ हजार ५ सय, नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट १० लाख कोषमा हस्तान्तरण भएको छ ।

  • युएईमा महिलालक्षित राहदानी नवीकरण र स्वास्थ्य परीक्षण सेवा, एक दिनमा १ सय भन्दा धेरै लाभान्वित

    युएईमा महिलालक्षित राहदानी नवीकरण र स्वास्थ्य परीक्षण सेवा, एक दिनमा १ सय भन्दा धेरै लाभान्वित

    आबुधावी । पासपोर्ट हराएर भिसा लगाउन नपाएकी चितवनकी रमिला गौतमले नयाँ राहदानी बनाउन यस पटक निकै सास्ती भोग्नुपर्यो । भिसा लगाउने बेला राहदानी नभेटिए जागिर गुमाउनु पर्ने डरले रमिला चिन्तामा थिइन् ।

    राहदानी हराएको पुलिस रिपोर्ट बनाएकी रमिलाले फारम आफैँ भर्न नपाउँदा हैरान भएकी थिइन् । जेनतेन आफैँले भरेको फारमको मिति डिसेम्बर महिनाको थियो ।

    जनवरीमा भिसा सकिन लागेकोले राहदानी नआए उनको रोजगार गुम्ने डर थियो । त्यसैले तोकिएको समयमा राहदानी नआए रोजीरोटी गुम्ने डरले उनी निकै चिन्तित थिइन् ।

    तर गएको साता नेपाली दूतावास आबुधावीले फेसबुक पेजमा राखेको सूचना उनलाई उनका साथीले म्यासेज गरी पठाए । त्यो थियो नेपाली दूतावासले अत्यावश्यक जरुरी भएका महिलाहरूको लागी मात्रै भनेर सार्वजनिक बिदाको दिन आइतबार राहदानी काउन्टर खुल्ला राख्ने र सोही समय स्वास्थ्य सचेतना सहित महिलाहरूको स्वास्थ्य परीक्षण गर्ने ।

    रमिला खुशी हुँदै झन्डै २ सय ५० किलोमिटर उत्तरपूर्वी राज्य रसअलखेमाबाट आइतबार आबुधावीमा रहेको नेपाली दूतावास आएर राहदानी नवीकरणका लागि आवेदन दिइन् ।

    रमिला जस्तै दूतावास भन्दा झन्डै ४ सय किलोमिटर टाढा साउदी सीमा शिला बाट आएकी झापाकी अनुरगामा लामा र वीराटनगरकी कुश्मा चौधरी मात्रै होइन युएईका विभिन्न राज्यबाट आएका १ सय भन्दा धेरै महिलाले राहदानी नवीकरण मात्रै गरेनन् ,स्वास्थ्य परीक्षण समेत गराए ।

    नेपाली दूतावासका स्थानीय कर्मचारी राहदानी आवेदकको फारम इनरोल्मेन्ट गर्दै थिए भने श्रम काउन्सिलर दिनबन्धु सुवेदी श्रम सम्बन्धी जानकारी , तथा युएईले ल्याएको आममाफी लगायतका विषयमा जानकारी दिइरहेका थिए । तथा परराष्ट्र सेवाका कर्मचारीहरूले राहदानी नवीकरणको प्राविधिक पक्षमा काम गरिरहेका थिए ।

    आबुधावीमा रहेको लाइफलाइन अस्पतालका चिकित्सकद्वय प्राची भट्टराई र विकास यादवले महिलाहरूका लागी मानसिक समस्या तथा महिनावारीका क्रममा देखिने समस्या र समाधानका विषयमा जानकारी तथा प्रस्तुति दिएका थिए ।

    दूतावासले पछिल्लो समय सेवा सुविधालाई विस्तार गरी महिलाहरूलाई समेत लक्षित गरेर अलग्गै कार्यक्रम राखेकोमा सहभागी धेरैले दूतावासको प्रशंसा गरे भने कतिपयले दूतावास सँग सहकार्य गरेर आफूहरूले पनि कम्पनीका क्याम्प क्याम्पमा सचेतना फैलाउन सहयोग गर्ने बताए ।

    सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गर्ने उद्देश्यले दूतावासले आइतबार महिलाका लागि मात्र सेवा दिएको दूतावासका द्वितीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

    कार्यक्रममा उपस्थित सय जना भन्दा बढी महिलाले स्वास्थ्य जाँचसँगै वित्तीय साक्षरता सम्बन्धी जानकारी लिएको दूतावासले जनाएको छ । बित्तिय साक्षरताको सहजीकरण दुतावासकी उपनियोग प्रमुख रञ्जिता दाहाल र श्रमका विषयमा श्रम काउन्सुलर सुबेदीले गरेका थिए ।

    पछिल्लो समय आबुधावीमा रहेको नेपाली दूतावासले राहदानी हराएका, बिग्रिएका, म्याद सकिएका तथा नवीकरण गर्न नपाएर समस्यामा परेकाहरूलाई प्राथमिकतामा राखी अतिरिक्त सेवा प्रवाह गरिरहेको नेपाली दूतावासकी नियोग उप-प्रमुख दाहालले नेपाल प्रेसलाई बताइन ।

    दूतावासका तर्फबाट राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा उपनियोग प्रमुख दाहाल, श्रम काउन्सिलर सुबेदी, श्रम सहचारी अविद अन्सारी, द्वितीय सचिव घिमिरे, तिल सुनार, राहदानी फाटका डिल्ली शर्मा, वीमलेश्वर मिश्र, स्थानीय जनसम्पर्क अधिकृत इरफान आलम, रजी अन्सारी, र दस्तुर सिङ बस्नेत, हरेराम अर्याल, बालकृष्ण रन्जित लगायतले राहदानी नवीकरणको सेवामा सहजीकरण गरेका थिए । दसैंको संघारमा आयोजित कार्यक्रममा उपस्थितले शुभकामना आदान-प्रदान समेत गरेका थिए ।

  • कांग्रेसको हङकङस्थित जनसम्पर्क समितिमा नयाँ नेतृत्व

    कांग्रेसको हङकङस्थित जनसम्पर्क समितिमा नयाँ नेतृत्व

    काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङमा नयाँ नेतृत्व आएको छ । १३औं अधिवेशनबाट शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा कार्यसमिति निर्वाचित भएको हो ।

    नवगठित समितिको उपसभापतिमा ओमराज गुरुङ र ताहिर खान, महामन्त्रीमा खुशी लिम्बू र भविन लिम्बू, सह-महामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ, कोषाध्यक्षमा रामचन्द्र विक, सह-कोषाध्यक्षमा उपेन्द्र विक, सदस्यहरूमा मिलन गुरुङ, बिकी गुरुङ, समिर गुरुङ, देव श्रेष्ठ, प्रशन गुरुङ र शेशाहाङ राई निर्वाचित भए ।

    नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले शपथ गराएका छन् ।

    प्रवासी नेपालीलाई जोड्न भारतमा प्रवासमा रहँदा बीपीले जनसम्पर्क समितिको परिकल्पना गरेको र अहिले आएर विभिन्न देशमा यो क्रियाशील रहेको गुरुङले बताए ।

  • युएईमा दिदीको शङ्कास्पद मृत्युमा फसेका थानेश्वरको चित्कार- ‘लास होइन सास लिएर देश’ फर्किन चाहन्छु

    युएईमा दिदीको शङ्कास्पद मृत्युमा फसेका थानेश्वरको चित्कार- ‘लास होइन सास लिएर देश’ फर्किन चाहन्छु

    दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा ज्यान गुमाएकी राधिका घिमिरेको मृत्यु प्रकरण अहिलेसम्म पुगेर टुङ्गिन सकेको छैन । रोजगारीका लागि युएई आएकी पाणिनी ५ मैदान अर्घाखाँचीकी राधिका घिमिरेको ६ महिना पहिले अजमानको चाईनामल नजिकैको भुईँमा छेदबिच्छेद अवस्थामा भेटिएको थियो ।

    राधिकाको मृत्युलाई उनको परिवारले रहस्यमय भन्दै उनका श्रीमान् टीकापुर-७ कैलालीका नेत्रप्रसाद न्यौपाने उपर राष्ट्रिय महिला आयोग मार्फत किटानी जाहेरी दिएका थिए । मृतक राधिकाको परिवारले महिला आयोगको जिल्ला इकाई अर्घाखाँची र कपिलवस्तु मार्फत जाहेरी बुझाएका थिए । यद्यपि मृतक राधिकाका श्रीमान् नेत्रप्रसाद अहिलेसम्म सम्पर्क विहीन छन् ।

    सोही मृत्युको प्रकरणमा जोडिएका राधिकाका छिमेकी भाइ थानेश्वर घिमिरे भने हालसम्म युएईको खुल्ला आकाश मुनी कैदी सरह जीवन बिताइरहेका छन् । थानेश्वरले अनाहकमा आफू फसेका कारण नेपाल फर्काउन हारगुहार गरिरहेका छन् ।

    दिदी राधिकाको मृत्‍यु हुनुअघि दिदी भिनाजुले काम लगाइदिने भन्दै ६ महिना पहिले थानेश्वरलाई युएई बोलाएका थिए । गएको चैत अन्तिम साता दुबई आएका थानेश्वर अहिले ‘न त नेपाल फर्किन पाएका छन् , न त कहीँ काम गर्न नै पाएका छन् ।’ दिदी राधिका र भिनाजु नेत्रप्रशादले थानेश्वरलाई युएई बोलाएर अजमानमा आफूहरूसँग राखेका थिए । युएई आएको ५ औ दिन उनीमाथि बज्रपात पर्‍यो ।

    भिनाजु नेत्रप्रसादले मदिरा ल्याएर दिदी र आफू सँगै बसेर पिउन भनेपछि थानेश्वरले पनि चियर्स गरे । खुसीका साथ रक्सी पिउन सुरु गरेका दिदी-भिनाजुबीच झगडा भयो । दिदी भिनाजुको झगडा नीकै बेर चलिरह्यौ । धेरै बेर झगडा हुँदा थानेश्वरलाई राम्रो लागेन र उनी उठेर शौचालय छिरे । शौचालयबाट आउँदा उनले दिदी राधिकालाई कोठामा देखेनन् । भिनाजु नेत्रप्रसादलाई दिदीबारे सोधे । नेत्रप्रशादले दिदी राधिकाले झ्यालबाट हाम फालेर आत्महत्या गरेको भन्दै घर मुनी बाटोमा शव देखाए । थानेश्वर चिच्याउँदै दिदी राधिकालाई हेर्न बिल्डिङ मुनी पुगे र दिदी राधिकालाई नियाले ।

    दिदीको भरोसामा युएई आएका थानेश्वरको न समाउने हाँगो न टेक्ने डालो, थानेश्वर डराए । अरबको ठाउँ, ५ दिन अघि मात्रै युएई आएका थानेश्वरले के गर्ने के नगर्ने केही सोच्न सकेनन् । एउटै फ्ल्याटमा बस्ने छिमेकी तथा बिल्डिङ वरपरका मान्छेले प्रशासनलाई जानकारी गराए । प्रहरी र एम्बुलेन्स आइपुग्यो। त्यतिन्जेल राधिकाका श्रीमान् नेत्रप्रसाद त्यहाँबाट फरार भईसकेका थिए ।

    भाइ थानेश्वर पनि डराएर आफ्नो सानो झोला र पासपोर्ट लिएर ट्याक्सी चढेर सारजाह विमानस्थल नजिकै होटलमा गएर त्यो रात बिताए । दिदी भिनाजुसँगै बसेर मदिरा पिएका थानेश्वरलाई बिस्तारै मदिराले पनि छोड्यौ र आफ्नो दिदीमाथि अन्याय भएको सम्झेर आफैँ नजिकैको प्रहरी चौकी पुगेर घटनाबारे बताए । घटनाको आंशिक जानकारी भएका भाइ थानेश्वरलाई लाग्यो भिनाजु नेत्रप्रशादलाई प्रहरीले समातेको होला । तर प्रहरीले नेत्रप्रसाद फरार भएको र आफ्नो अनुसन्धान गरिने बारे बताएको थानेश्वरलाई स्मरणमा छ ।

    ४ दिन प्रहरी हिरासतमा राखेर थानेश्वरलाई अजमानको अल जुर्फ पुलिश स्टेसनले रिहा गरिदियो । परदेशको ठाउँ, समुन्द्र पारी जसको भरोसामा आएको दिदी नहुँदा थानेश्वरलाई युएई बस्न मन लागेन । ज्यान गुमाएकी दिदीको शव लिएर नेपाल फर्किने आँट पनि आएन । जेनतेन नेपाल पुग्न सके घटनाबारे परिवारलाई भन्थे र दोषी रहेछ भने भिनाजु नेत्रप्रसादलाई सजाय दिलाउला भन्ने सोचेर भिजिट भिसा नसकिँदै नेपाल जान टिकट काटेर विमानस्थल पुगेका थानेश्वरलाई उडान गर्न दिइएन । दुबईको अध्यागमनले उनलाई यात्रा अनुमति नभएको (ट्राभल ब्याण्ड) भएको भन्दै अध्यागमनमा रोक्यौ । निराश हुँदै थानेश्वर बर दुबई फर्किए ।

    ‘गरिखान मेडिकल फेल, घरदेश फर्किन बन्देज’

    अर्काको देश । नेपाल हिँडेका थानेश्वरफर्किन नपाएपछि आँखाभरि आँशु बोकेर आफन्त साथीभाइको शरणमा पुगे । राधिकाको आफन्तजनले दिदीको हत्यारा जसरी आफूलाई वचन लगाएको सम्झिँदा उनी अहिले पनि भक्कानो छोड्छन् । दिदीको हत्या अभियोगमा साक्षी भएकै कारण आफू परिबन्दमा परेको उनको बुझाई छ । थानेश्वर नेपाल फर्किन नपाएपछि दुबईमा काम खोजेर बस्ने भन्दै भिसा लगाउन खोजे । पेपर भिसा पनि लाग्यौ । विडम्बना इमिरेट्स आइडी कार्ड बनाउन स्वास्थ्य परीक्षण गर्न जाँदा ‘मेडिकल फेल’ भए । न जसले बोलाएको उही दिदी रह्यो, न घरदेश फर्किन खोज्दा पाए, काम गरेर खान्छु र परिवार पाल्छु भन्ने थानेश्वरको सपना भताभुङ्ग भयो ।

    अग्लो कदको मोटो शरीर लिएर दुबई छिरेका थानेश्वरको अहिले १९ किलो तौल घटेको छ । आँखा ओभानो नहुँदा सुन्निएका छन् । आँखी भौँ क्रमश: पातलिँदै गएका छन् । ओठ र जिब्रोमा घाउ भएको छ । रुँदा रुँदै आँखा राता भएका छन् । अदालत धाउन कैयौँ पटक अजमान पुगेका उनी बाटोमै धेरै पटक ढलेका छन् । आफू सानै छदा स्वर्गीय भएका बुवाको श्राद्ध गर्न एकछाकी बसेका उनी बेहोस भएर दुबईमै ढले, छिमेकीहरूले थाहा पाएर उनलाई उठाए ।

    ६ महिनाको काखे छोरी छोडेर दुबई आएका थानेश्वर जेनतेन त्यही छोरीको तोते बोली सुन्न नेपाल जान चाहन्छन् । त्यही चाहानालाई मनोबल बनाएर उनी अहिले सम्म बाचिरहेका छन् ।

    थानेश्वरलाई अहिले दुबईमा कानुनी समस्या परेको छ । दिदीको हत्या हो वा मृत्यु आफूले भन्न सक्ने अवस्थामा उनी छैनन् । सँगै भए पनि उनले घटना के भएको आफ्ना आँखाले नदेखेको बताए । त्यही बयान उनले हिरासतमा प्रहरीलाई समेत दिएका हुन । आफूले नदेखेको कुरा झुट बोल्न हुँदैन, राधिकामाथि अन्याय भएको अनुसन्धानले पुष्टि गरे आफूलाई जुनसुकै सजाय दिए पनि सहने बताउँदै आएका उनले आफ्नो काखे छोरीको अनुहार हेर्न भए पनि नेपाल फर्किन चाहेको बताएका छन् । बर दुबईमा रहेकी अर्घाखाँचीकी एक जनाले आफ्नो कोठामा विस्तारा दिएर उनी बसिरहेका छन् । त्यहाँ भाडा र खानाको तिर्न समेत पैसा छैन ।

    ऋण काढेर विदेश उडेका श्रीमानले कमाउलान् र घर जोहो गरौला भनेकी थानेश्वरकी श्रीमती गीता कोखिलामा छोरी च्यापेर चाडबाड आउँदा परदेशीएका श्रीमानको बाटो कुरिरहेकी छन् । अर्घाखाँचीमा रहेकी आमाले नाक कानमा लगाएका पुराना गहना बेचेर पठाएको केही रकमले थानेश्वरले सुरुका केही महिना दुबईमा बिताए । तर अब भने नेपालमा घर रित्तो छ यता उनको चिन्ता थपिँदो छ ।

    कानुनी सहयोग गरिदिन दूतावास तथा संघसस्थामा अपिल

    कानूनी परिबन्दमा फसेका थानेश्वरलाई हालसम्म कसैले सहयोग गरेका छैनन् । बल्कोट अर्घाखाँची सम्पर्क समाज युएईले एनआरएन र नेपाली समाजलाई घटना बारे जानकारी गराउँदै कानुनी प्रतिरक्षाका लागी नेपाली दूतावास आबुधावीलाई गुहारेको छ । यद्यपि ६ महिना बितिसक्दा पनि थानेश्वरले राहत पाउन सकेका छैनन् । अजमानका पुराना व्यवसायी तथा समाजसेवी वेदप्रकाश पोखरेलले व्यक्तिगत रूपमा कैयौँ पटक अदालत, प्रहरी प्रशासन तथा अनुसन्धान ब्युरोसम्म पुगेर थानेश्वरको उद्धारका लागि अनुनय गरिरहेको बताए । यद्यपि संघसस्थाको स्तरभन्दा माथिल्लो तहबाट नेपाली दूतावास आफैँले कूटनीतिक रूपमा पहल गरे मात्रै थानेश्वर नेपाल फर्किन सक्ने पोखरेलको निष्कर्ष छ ।

    लामो समय थानेश्वरको मुद्दा हेर्दै आएका पोखरेलका अनुसार प्रहरीको मुचुल्कामा थानेश्वरसहितको नाम अदालतमा बुझाएको तर पर्याप्त प्रमाण नभएकाले अदालत बाट मुद्दा पुनः प्रहरी चौकीमा फिर्ता भएको देखिन्छ । त्यसैले समयमै दूतावासले पहल गरे थानेश्वर नेपाल फर्किन सक्ने देखिन्छ । समस्यामा परेका थानेश्वरले आफ्नो सास सहितको शरीर नेपाल पठाइ सहयोग गरिदिन सम्बन्धित संघसस्था तथा युएईमा रहेको नेपाली दूतावास समक्ष अपिल गरेका छन् ।

  • नरेश भट्टविरुद्ध हत्याको मुद्दा हाल्न किन आलटाल ? मनाससका प्रहरी प्रमुखले दिए यस्तो प्रष्टीकरण

    नरेश भट्टविरुद्ध हत्याको मुद्दा हाल्न किन आलटाल ? मनाससका प्रहरी प्रमुखले दिए यस्तो प्रष्टीकरण

    काठमाडौं । अमेरिका निवासी नेपाली चेली ममता काफ्ले बेपत्ता भएको दुई महिना पुगिसकेको छ । तर, अमेरिकी प्रहरीले उनको लाश र सास दुवै फेला पार्न सकेको छैन ।

    ममतालाई उनकै श्रीमान नरेश भट्टले आततायीरुपमा हत्या गरेकोमा नेपाली समूदाय स्पष्ट भइसकेको छ । नरेशले ममताको शरीर टुक्राटुक्रा पारी फरक फरक स्थानमा लगेर डिस्पोज गरेको सरकारी वकिलहरुले दावी गरेका छन् । उनीहरुले अघिल्लो सुनवाइमा केही अकाट्य प्रमाणहरु पेश गरेका थिए ।

    यता प्रहरी भने अझै पनि अनुसन्धानकै क्रममा छ । नरेशलाई पक्राउ गरेर हिरासतमा राखिएको भए तापनि उनीविरुद्ध हत्या अभियोग छैन । ‘शव लुकाएको’ कमजोर अभियोग लगाएर उनलाई थुनामा राखिएको हो । यो अभियोगमा दोषी प्रमाणित भएमा पनि सजाय खासै कडा हुँदैन ।
    ममताका आफन्तजन तथा समग्र नेपाली समूदाय नरेशमाथि हत्या अभियोग दायर हुने आशा र प्रतिक्षामा छन् ।

    नरेशले गरेको गुगल सर्च, घरभित्र रगतका निशानादेखि टकपटक कारमा लगेर पोकाहरु मिल्काएको सीसीटीभी फुटेजले हत्या प्रमाणित हुने उनीहरुको विश्वास छ । अब लाश भेटिने सम्भावना क्षीण रहेकाले प्राप्त प्रमाणहरुकै आधारमा मुद्दा हाल्नुपर्ने देखिन्छ ।

    तर, प्रहरी भने अझै ठोस प्रमाण खोजिरहेको छ । गत शनिबार ममताको न्यायका लागि आवाज उठाइरहेका नेपालीहरुबीच मनासस प्रहरी प्रमुख मारियो लुगोले संक्षिप्त सम्बाेधन गरे । उनले आफूहरु अझै पनि अनुसन्धानमा रहेको बताए ।

    मारियोको सम्वोधन यस्तो थियो:
    तपाईंहरु सबैलाई सन्ध्याकालिन अभिवादन । मलाई यहाँ आएर बोल्ने अनुमति दिनुभएकोमा धन्यवाद । म तपाईंहरु जस्तो ‘ममतालाई न्याय देउ’ भनेर आवाज उठाउने ठाउँमा पनि छैन । मैले ममताको विषयमा अहिलेसम्म गरेका अनुसन्धानबाट के पाएँ भने उनी एक ममतामयी आमा थिइन्, र कामलाई माया गर्थिन् ।

    वरिपरिका मानिसहरुले उनलाई माया गर्थे । जे भयो, एकदमै दुखद भयो । गत शुक्रबारको सुनवाइमा धेरै कुराहरु उद्घाटित भएका छन् । सबैलाई यसले सोच्न वाध्य बनायो । आखिर यस्तो किन भयो ?हामी अझै पनि यसमा काम गरिरहेका र्छौं ।

    अझै पनि प्रमाणहरु बटुलिरहेका छौं । हार मान्नेवाला छैनौं । अब अक्टोबर १० मा सुनवाइ छ । डिसेम्बरमा ट्रायल छ । मलाई आशा छ कि त्योभन्दा अगाडि नै हामी अर्को मुद्दा हाल्न सक्नेछौं । तपाईंहरुको सहयोग साथका लागि आभारी छौं । यहाँ म तपाईंहरुको जिज्ञासाहरुको समाधान गर्न आएको छु । तर अवश्य पनि मुद्दासँग सम्वन्धित विषयहरु मैले खोल्न मिल्दैन ।

  • बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

    बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैँया सहयोग गर्ने निर्णय गरेको हो ।

    बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा। हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा.केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

    बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ ।

    पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आज साँझ आपतकालिन बैठक आवहन गरिएको छ। यसैबीच बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ

  • यतिसम्म क्रुर र पतित थिए नरेश भट्ट, ममता नजिकिन खोज्दा थुक्ने गरेको खुलासा

    यतिसम्म क्रुर र पतित थिए नरेश भट्ट, ममता नजिकिन खोज्दा थुक्ने गरेको खुलासा

    काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्ले विगतदेखि नै श्रीमान नरेश भट्टबाट अवहेलना र तिरस्कार झेल्दै आएको खुलासा भएको छ । नरेश भट्टकै नजिकका साथीहरूले मिडियामा आएर उनका अनेक कर्तुतहरु उजागर गरेका छन् ।

    नरेशका साथीहरूको सम्पूर्ण कुरा सुन्दा उनले श्रीमतीको हत्या पूर्णरूपमा सचेत मनस्थितिमा र लामो योजना बनाएर गरेको स्पष्ट हुन्छ । चरम पितृसत्तात्मक सोच भएका नरेशले पहिल्यैदेखि उनले ममतालाई दमन र दवदवामा राखेका थिए । ममताको सहनशीलता र धैर्यले मात्रै उनीहरूको सम्बन्ध अहिलेसम्म जोगिएको साथीहरूले बताएका छन् ।

    नरेश र ममता दुवैकी मिल्ने साथी मन्दिराका अनुसार नरेशले ममतासँग सम्वन्धविच्छेद नगरिकनै अर्को विवाह गर्ने सोच बनाएका थिए ।

    ‘उहाँले मसित बारम्बार अर्को विवाह गर्ने भनेर केटी खोजिदिन भन्नुभएको थियो’ मन्दिराले अमेरिका निवासी सञ्चारकर्मी सच्ची मैनालीसित कुराकानीमा भनेकी छन् ।

    नरेशले ममतालाई बारम्बार हात हाल्ने र कुट्ने समेत गरेका थिए । एकपटक श्रीमानको अत्याचार सहन नसकेर ममता बाहिर साथीसँग केही समय बसेकी थिइन् । पछि सासू-ससुरा समेत गएर उनलाई फकाएर घर फर्काएका थिए ।

    नरेशका अर्का साथी मुकुन्दले नरेशको अर्को घिनलाग्दो हर्कत उजागर गरेका छन् । मुकुन्दका अनुसार श्रीमानबाट बारम्बार कुटाइ खानु परेपछि ममताले एकपटक प्रहरीसमेत गुहारेकी थिइन् । त्यसपश्चात भने नरेशले रणनीति परिवर्तन गरे । घरेलु हिंसामा हुने कारवाहीबाट बच्न उनले ममतालाई कुट्नुको साटो थुक्ने गरेका थिए ।

    मुकुन्दले भनेका छन्, ‘हातपात गर्दा घरेलु हिंसाको कारवाहीमा पर्ने भएपछि आफूले थुक्न थालेको कुरा उनले मसितै बताएका हुन् । ममताले पनि हातपात भन्दा थुक सहन सजिलो भनेर यो शर्त स्वीकार गरेकी रहिछन् ।’

    ममताले सम्बन्ध जोगाउनका लागि श्रीमानको यस्तो घिनलाग्दो हर्कत सहेर बसेको उनी बताउँछन् ।

    ‘उहाँले सम्बन्ध विच्छेद टार्नका लागि हरसम्भव कोसिस गर्नुभयो । श्रीमानले उनलाई निरन्तर मानसिक त्रासमा राखिरहे । ममताले सबै सहिरहिन् । ममताले श्रीमानको एकोहोरो आधिपत्य सहेर नबसेको भए पहिल्यै सम्बन्ध टुटिसक्ने थियो,’ मुकुन्दकी पत्नीले पनि भनेकी छन् ।

    मुकुन्दका अनुसार पछिल्लो समय श्रीमतीसँग भौतिक सामिप्यता नै रुचाँउदैन थिए नरेश । कहिलेकाहीँ श्रीमानको माया खोजेर ममता नजिकिन चाहिन् भने पनि नरेशले थुक्ने गर्थे । एक वर्षअघि बच्चा जन्मेयता उनीहरुको बेड अलग अलग भएको थियो ।

    नरेशको भनाइ उद्धृत गर्दै मुकुन्द भन्छन्, ‘मलाई त्यो केटी मनै पर्दैन । जसलाई म एकचोटि मन पराउँदिन उसलाई आजीवन घृणा गर्छु ।’

    नरेशले मुकुन्दलाई पनि आफ्नो लागि अर्को केटी खोजीदिन भनेका थिए । तर, आफूले श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर मात्रै अर्को विवाहबारे सोच्न सुझाव दिएक मुकुन्दले बताएका छन् ।

    आखिर श्रीमान-श्रीमतीको सम्बन्ध बिग्रिएको थियो त ?

    मुकुन्द र मन्दिरा दुवैका अनुसार समस्या ममतामा नभएर नरेशमै थियो । सानातिना र सहजै समाधान हुन सक्ने कुराहरुलाई उनी ठूलो इस्यूका रुपमा उछालिरहेका हुन्थे ।

    मन्दिरा भन्छिन्, ‘उहाँको प्राय गुनासो चाहीँ आफूले महंगोमा किनेको घर सफा भएन, काम गरेर घर फर्किँदा राम्रो वातावरण भएन भन्ने थियो ।’

    ममता पनि फुलटाइम काम गर्थिन् । घर आएर बच्चा हेर्नुपर्थ्यो । अमेरिकामा बस्ने नेपालीले घरेलु कामदार राख्न सक्ने क्षमता राख्दैनन् । त्यसैले दैनिक सरसफाइका लागि फुर्सद पनि नमिल्नु स्वाभाविक भएको मन्दिराको भनाइ छ । तर, नरेशले भने सफाइमा सघाउनुको साटो ममतालाई नै सबै दोष थोपर्थे ।

    नरेशको असन्तुष्टिको मुख्य विषय चाहीँ ममतासित आफ्नो स्तर मिलेन भन्ने थियो । गरिब परिवारको केटी भनेर उनी ममतालाई अवहेलना गर्थे ।

    ‘मसित बिहे नभएको भए यसको अमेरिका आउने हैसियत नै थिएन भन्ने गर्थे,’ मुकुन्दले भनेका छन् ।

    नरेशले अर्को बिहेका लागि आफूभन्दा धेरै कमाइ गर्ने केटी खोजिरहेका थिए । त्यस्तो केटी पाएमा आफू जागीरबाट रिटायर्ड लिएर घरमै बच्चा हेरेर बस्न तयार रहेको उनी बताउने गर्थे । एकपटक उनले आफ्नो फेसबुक प्रोफाइलमा वैवाहिक स्थिति ‘सिंगल’ बनाएका थिए ।

    ममता मितव्ययी स्वभावकी थिइन् । महंगा बस्तुहरु खरिद गर्न हिच्किचाउँथिन् । ठूलो लोन लिएर घर किनेका थिए नरेशले । श्रीमानलाई आर्थिकरूपमा दबाब नपरोस् भनेर सकेसम्म पैसा जोगाउन खोज्थिन् ममतालाई । तर, नरेशले उल्टै यसलाई पनि नरेशले इस्यू बनाएका थिए ।

    मुकुन्द भन्छन्, ‘ममताले सस्तो लुगा किन्ने गरेको, घरको लागि महंगा सामानहरू किन्न हिच्किचाउने गरेको विषयमा पनि उसको असन्तुष्टि थियो ।’

    तर, यो सबै देखाउने बहानामात्रै भएको साथीभाइहरू बताउँछन् । उनको खास रणनीति चाहीँ जतिसक्दो चाँडो धनाढ्य केटीसँग विवाह गर्ने थियो ।

    `कुकुरको मुत खानुभन्दा हात्तिको मुत खान्छु,´ नरेशले साथिभाइसँग भन्ने गर्थे ।

    कतिपयले उनी बाहिर कसैसँग अफेयरमा रहेको अनुमान पनि गरेका छन् । यस्तै अनुमानितमध्ये दुई युवतीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । तर, नरेशको कोसित अफेयर थियो भन्ने चाहीँ खुलिसकेको छैन ।

    नरेशले श्रीमतीलाई पन्छाउने र अर्को विवाह गर्ने विषयमा योजनावद्ध तयारी गरेका थिए । उनले गुगलमा ‘श्रीमती मरेको कति समयमा अर्को विवाह गर्न सकिन्छ ?’ भनेर सर्च गरेको भेटिएको छ । साथै, ‘श्रीमती मरेपछि उनको नामको ऋण के हुन्छ ?’ भनेर पनि उनले गुगल सर्च गरेका थिए ।

    नरेशलाई श्रीमती हत्याप्रति अहिले पनि कुनै ग्लानी नरहेको उनीसँग सम्पर्कमा रहेकाहरु बताउँछन् । नरेशले पक्राउ परेर जेल परिसकेपछि बारम्बार साथी मन्दिरालार्ई फोन गर्ने गरेका थिए । आफ्नो बच्चा मन्दिरालाई नै सदाका लागि कस्टडी दिन चाहन्थे उनी । तर, मन्दिराले स्वीकार गरिनन् ।

    मन्दिराका अनुसार नरेशले आफू डिसेम्बरसम्ममा जसरी पनि छुट्ने दावी उनीसित गरेका थिए ।

    ‘मलाई अलिकति पैसा दिएर तिमी मेरो बच्चा राख । बच्चालाई म कुनै पनि हालतमा नेपाल पठाउँदिन । यहाँ अरुलाई दिँदा पछि मैले भेट्न नपाउन सक्छु । तिमीले राख्यौ भने म डिसेम्बरमा छुटेपछि भेट्न पाउँछु,’ नरेशको भनाइ उद्धृत गर्दै मन्दिराले भनेकी छन् ।

    नरेशमाथि लाश बेपत्ता पारेको मुद्दा चलिरहेको छ । शव नभेटिएको भन्दै हत्याको मुद्दा दायर भइसकेको छैन ।

  • परराष्ट्रमन्त्री राणासमक्ष शेर्पा संघ अमेरिकाको ३ बुँदे माग

    परराष्ट्रमन्त्री राणासमक्ष शेर्पा संघ अमेरिकाको ३ बुँदे माग

    काठमाडौं । अमेरिकामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूलाई शेर्पा संघ अमेरिकाले नागरिकका विभिन्न सरोकार समेटेर ज्ञापन पत्र बुझाएको छ । न्यूयोर्कमा मन्त्री राणालाई ३ बुँदे माग पेश गरिएको शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) ले बताए ।

    संघले गैरआवासीय नागरिकताबाट प्राप्त हुने अधिकारबारे अन्योल रहेको भन्दै प्रष्ट पार्नुपर्ने माग गरेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन भिसाका लागि २/३ घण्टा लाइन बस्नुपर्ने, दुई-तीन ठाउँमा छाप लाउन पैसा तिर्न जानुपर्ने झण्झट हटाई सहज बनाउन पनि माग गरिएको छ ।

    विदेशबाट नवीकरण र निवेदन दिएका राहदानीको द्रुत मार्गबाट प्रक्रियाको लागि पनि परराष्ट्रमन्त्रीसमक्ष संघको आग्रह छ ।