Category: प्रवास

  • कोरियामा राजदूत तुम्बाहाङ्फेले गरिन् नेपाली समुदायका प्रतिनिधिसँग प्रत्यक्ष संवाद

    कोरियामा राजदूत तुम्बाहाङ्फेले गरिन् नेपाली समुदायका प्रतिनिधिसँग प्रत्यक्ष संवाद

    दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आयोजनामा ‘कोरियामा नेपाली आवाज: राजदूतसँग प्रत्यक्ष संवाद,’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महामहिम नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या, चुनौती र अवसरबारे विस्तृत संवाद गरिन् ।

    कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरू, व्यवसायी, विद्यार्थी, श्रमिक, राजनीतिक दलका पदाधिकारी, एनआरएनए अभियन्ता तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रोजगारी सुरक्षा, श्रमिक कल्याण, कानुनी सहयोग, भिसा र आप्रवासनसम्बन्धी मुद्दा, सामाजिक एकता, सांस्कृतिक, पर्यटन , विद्यार्थीका समस्या तथा दूतावास सेवामा सुधारको विषयमा आफ्ना जिज्ञासाहरू राखेका थिए।

     महामहिम राजदूत डा.तुम्बाहाङ्फेले कोरियामा रहेका नेपाली समुदायका समस्यालाई नजिकबाट बुझ्न चाहेको बताउँदै दूतावासलाई प्रवासी नेपालीहरूसँग अझ सशक्तरूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले नेपाली श्रमिकहरूका हकहितका लागि कोरियन निकायहरूसँग निरन्तर समन्वय गर्दै दूतावासका सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताइन् ।

    यस क्रममा श्रम काउन्सिलर मैया कँडेलले श्रमसम्बन्धी विभिन्न कानुनी विषय, श्रमिक हक, रोजगारदातासँग आउने समस्याहरू तथा अन्य रोजगारीसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइन्। उनले नेपाली श्रमिकहरूको सुरक्षाका लागि दूतावासले आवश्यक सहयोग तथा परामर्श निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

    एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रवासी नेपालीहरूका समस्याहरू समाधान गर्न एनआरएनए दक्षिण कोरिया दूतावाससँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । साथै, उनले शनिबारको दिन , व्यस्तता र विभिन्न अवरोधहरूका बाबजुद पनि आफ्नो अमूल्य समय दिँई कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद ज्ञापन गरे ।

    विशेष कुरा, कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि गरिएको थियो जसकारण दक्षिण कोरियाभित्र तथा अन्य देशमा रहेका धेरै नेपालीहरूले यो अन्तरक्रिया कार्यक्रमलाई अनलाइनमार्फत हेर्न र सुन्ने अवसर पाए।

    कार्यक्रमको समापनमा सहभागीहरूले नवनियुक्त राजदूतको खुलेर प्रशंसा गरेका थिए साथै यस्तो प्रत्यक्ष संवाद र अन्तरक्रियालाई निरन्तर आयोजना गर्नुपर्ने माग गर्दै प्रवासी नेपालीहरूको हित संरक्षणका लागि साझा पहल आवश्यक रहेको धारणा राखेका थिए।

  • यूएईमा ३ हप्ता पहिले नै मनाइयो होली

    यूएईमा ३ हप्ता पहिले नै मनाइयो होली

    यूएई । मधेशी समुदायका दुई प्रमुख संगठनहरूले यूएईमा ३ हप्ता पहिलेनै होली मनाएका छन् । होलीको समयमा रमादान पर्व भएकोले सोही अवसरलाई मध्यनजर गर्दै, संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायले होली पर्व तीन हप्ता पहिले नै विशेष कार्यक्रमका साथ मनाएका हुन् ।

    मधेशी एकता समाज, यूएईले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा दुबईमा विशेष कार्यक्रमको आयोजना गरी होली मनाएको हो ।

    बर दुबईको क्लब एसके सेभेनहलमा आयोजित कार्यक्रममा सहभागीहरूले रंग खेल्दै आपसी भाइचाराको सन्देश दिएका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा परम्परागत नृत्यहरू प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष डा। रबिन्द्र कुमार यादव, श्रम सहचारी पंकज लावकर्ण, तृतीय सचिव बिमलेश मिश्र, मधेशी एकता समाज नेपालका संयोजक डा. बबी सिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको समाजका अध्यक्ष रोशन मार्क्सिस्टले जानकारी दिए ।

    यूएईमा मधेशी प्रतिभा र उद्यमशीलतालाई सम्मान

    संयुक्त अरब इमिरेट्स (यूएई) मा विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएका प्रतिभाशाली मधेशी व्यक्तित्वहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो ।

    यस अवसरमा भूउपग्रहको सफ्टवेयर डिजाइनमा संलग्न मुकेश झा, मिसाइल डिजाइनमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी उद्यमी विनेश यादव तथा सफल व्यवसायी गणेश पूर्वे र जीवछ साहलाई सम्मान प्रदान गरिएको थियो।

    उनीहरूको मेहनत, लगनशीलता र उपलब्धिले मधेशी समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरूले आगामी दिनहरूमा मधेशी समुदायको प्रगति र उत्थानका लागि अझ बढी योगदान दिने प्रतिबद्धता जनाएका छन्।

    त्यसैगरी, गैर आवासीय मधेसी संघ, यूएईले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको उपस्थितिमा दुबईको होटल एम्बेस्डरमा होली मनाएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । उपस्थितले एकआपसमा रंग लगाउँदै होली उल्लासमय तवरबाट मनाएको संघले जनाएको छ ।

    आयोजकहरूका अनुसार, यो वर्ष होली पर्वको समय इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानसँग जुध्ने भएकाले समुदायले अग्रिम रूपमा (३ साता पहिले)पर्व मनाएका हुन ।

    यूएईमा रहेका मधेशी तथा गैर मधेशी समुदायको उल्लेखनीय सहभागिता तथा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतिमा भएको कार्यक्रममा सहभागीहरूले परम्परागत परिकारहरूको समेत आनन्द लिएका थिए।

    स्थानीय नेपाली समुदायबीच आपसी सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रमहरूले प्रवासी नेपालीहरूको सांस्कृतिक पहिचान जगेर्ना गर्ने प्रयासलाई थप मजबुत बनाएको आयोजकहरूको भनाइ छ।

  • श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

    श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

    काठमाडौं । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ ।

    कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो ।

    अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो ।

    दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।

  • म्यानमारमा पुगेर अवैध काम गरिरहेका दुई नेपाली थाइल्याण्डबाट नेपाल फर्काइए

    म्यानमारमा पुगेर अवैध काम गरिरहेका दुई नेपाली थाइल्याण्डबाट नेपाल फर्काइए

    काठमाडौं । नेपालबाट अवैध रुपमा म्यानमार पुगेका दुई नेपाली फर्काइएका छन् । थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडी क्षेत्रबाट ती नेपाली नेपाल फर्काइएका हुन् ।

    थाइल्याण्डको बैङ्ककस्थित नेपाली दूतावासका अनुसार नेपाल फर्काइएकाहरु इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याई आजै (सोमबार) नेपाल फर्काइका हुन् ।

    नेपालीलाई फर्काइको घटनाबारेमा दूतावासले सूचनामा भनेको छ, ‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनस् अनुरोध गर्दछ ।’

  • युएईमा घरेलु कामदार- सुरुमा पाँच हजार पठाइने, सुरक्षाको ग्यारेन्टी अनिवार्य सर्त

    युएईमा घरेलु कामदार- सुरुमा पाँच हजार पठाइने, सुरक्षाको ग्यारेन्टी अनिवार्य सर्त

    आबुधावी । संयुक्त अरब इमिरेट्स (युएई)मा घरेलु कामदारको रूपमा नेपाली कामदार पठाउने सम्बन्धमा सरकारले गृहकार्य सुरु गरेको छ । सरकारले सुरुमा पाँच हजार नेपाली घरेलु कामदार पठाउने तयारी सुरु गरिएको हो । ‘पाइलट प्रोजेक्ट’को रूपमा नेपाली कामदारलाई घरेलु कामदारका लागि लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएई सरकारबीच घरेलु कामदार पठाउने सम्बन्धमा दुई पक्षीय सम्झौता हुनुका साथै प्रोटोकलसमेत तयार भइसकेको छ ।

    श्रम मन्त्रालयले तयार पारेको कामदार पठाउने सम्बन्धी प्रोटोकल यतिबेला राय सुझावका लागि कानुन मन्त्रालयमा छ । कानुन मन्त्रालयको रायपछि श्रम मन्त्रालयले घरेलु कामदार पठाउने प्रक्रिया अघि बढाउनेछ । श्रम मन्त्रालयका सहायक प्रवक्ता वसन्त बहादुर बोहराले युएईमा पाइलट प्रोजेक्टका रूपमा घरेलु कामदार पठाउने गृहकार्य अघि बढेको जानकारी दिए । युएईसँग दुई पक्षीय सम्झौता गरी प्रोटोकल पनि बनाइसकेको उनको भनाइ छ ।

    ‘पाँच हजार नेपाली नागरिकलाई घरेलु कामदारका रूपमा पठाउने भनेका छौँ । अहिले पठाउने र त्यसलाई परीक्षणका रूपमा लिइने छ,’ उनले भने, ‘यूएई प्रभावकारी देखियो भने सोही तवरमा अन्य मुलुकमा पनि लागु गर्ने र प्रभावकारी नदेखिए नपठाउने भन्ने हो ।’

    कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेर्होनु पर्ने मापदण्ड

    त्यसरी पठाउने कामदारको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने गरी मापदण्ड बनेको छ । इम्प्लोई पे पोलिसी (ईपीपी) अन्तर्गत रहेर सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने गरी मापदण्ड बनेको छ ।

    ‘इथिकल रिक्युटमेन्टअनुसार व्यक्तिको जति पनि खर्च लाग्छ त्यो सबै रोजगारदाताले बेहोर्ने भन्ने छ । व्यक्तिको सामान्य खर्च मात्रै हुन्छ । त्यो प्रोटोकल एप्रुभ भएपछि प्रक्रिया अघि बढ्छ,’ बोहराले भने । जाने कामदारलाई एक महिनाको तालिम दिएर पठाउने र तालिमका लागि लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै तिर्ने भन्ने मापदण्ड बनेको छ । मन्त्रालयले यसरी कामदार पठाउन सके विगतमा देखिएका कुनै प्रकारका समस्या नहुने अपेक्षा लिइएको छ ।

    मानपत्र प्रमाणीकरणमा कम्तीमा ५०० डलर तलब निर्धारण

    त्यसरी पठाउने कामदारको पारिश्रमिक भने तोकिएको छैन । तर, त्यसका लागि मन्त्रालयले नेपाली दूतावासलाई एउटा निर्णय गरेर पठाइने सहायक प्रवक्ता बोहराले बताए । उनका अनुसार दूतावासलाई मानपत्र प्रमाणीकरण गर्ने बेला ५०० डलरभन्दा कम तलब हुने गरी आएका माग पत्रहरू प्रमाणीकरण नगर्न भनिनेछ । अर्थात् १५ सयमा तीन सय जोडेर १८ सय दिराम न्यूनतम पारिश्रमिक तोक्नुपर्ने भन्ने मन्त्रालयको बुझाइ छ ।

    २०७२ सालमा सरकारले ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका’ जारी गरेको थियो । उक्त निर्देशिकाअनुसार कुनै पनि मुलुकमा घरेलु कामदार पठाउन सम्झौता गर्नुपर्ने भन्ने थियो । तर, संसद्को तत्कालीन श्रम तथा उपभोक्ता हित समितिको निर्देशनपछि सरकारले २०७३ चैत २० गतेदेखि नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध लगाएको थियो ।

    कामदारको सुरक्षाको ग्यारेन्टी अनिवार्य सर्त : सरोकारवाला

    ग्लोबल एनआरएन युएईका अध्यक्ष पासाङ शेर्पाले कामदारको सुरक्षाको ग्यारेन्टी अनिवार्य सर्त हुनुपर्ने बताए । कानुन नियम बनाउँदा एकाध घटनालाई हेरेर होइन समग्र सम्पूर्ण कामदारको सुरक्षाको विषयलाई लिएर बनाउनु पर्ने शेर्पाको भनाइ छ ।

    घरेलु श्रममा महिलाका लागि पहिले संसद्ले लगाएको प्रतिबन्ध संसद्ले नै खोल्नु पर्ने समाजशास्त्री तथा आप्रवासन सम्बन्धमा लामो समय देखी कार्यरत डाक्टर मिना पौडेलले बताए । मन्त्रालय वा अमुक मन्त्रीको निर्णयले नभै संसद्ले नै खुलाउनु पर्ने भनाई पौडेलको छ ।

    कानुन मन्त्रालयमा पठाएको भनिएको निर्देशिका संसदमा छलफल गरिनुपर्छ, यस अघि कानुन मन्त्रालयले थुप्रै विषयलाई अस्वीकार्य भन्दै श्रममै फिर्ता गरेको पौडेलको भनाइ छ । एक दुई मन्त्रीको सनकमा अहिलेको तरल अवस्थामा तयारी नगरी महिला पठाउनु भनेको महिला श्रमिकको संरक्षणको पक्ष झन् जटिल बनाउनु भएको उनको भनाइ छ ।

  • अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने

    अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने

    काठमाडौं । अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।

    यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने भएको छ । यसअघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान रहेको भारतीय अखबार बिजनेस टूडेले उल्लेख गरेको छ ।

    उच्च दक्ष पेशाकर्मीलाई दिइने एच-१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ-१ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१/बी२ भिजा लिनेहरुलाई यो प्रावधानले असर गर्ने बताइएको छ ।

    यही मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो ।

     

  • प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने

    प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने

    काठमाडौं । कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा केआइआइटी कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

    मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले यस्तो जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    ‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    बुधबारै २० वर्षे प्रकृतिको शव नेपाल ल्याएर सद्गगद गरिएको थियो ।

  • पोर्चुगलमा जनयुद्ध दिवस मनाइयो

    पोर्चुगलमा जनयुद्ध दिवस मनाइयो

    लिस्बन । नेपाली समाजको ऐतिहासिक आन्दोलन जनयुद्धको ३०औं वार्षिकोत्सव पोर्चुगलमा सम्पन्न भएको छ ।

    कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्च पोर्चुगलकी अध्यक्ष सीता ढकाल सुवेदीले गरेकी थिइन् भने अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष तथा जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार अर्जुन घिमिरे प्रमुख अतिथिका रूपमा रहेका थिए ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष उमेश खड्का, सोनाम योञ्जन लामा, जनजाति महासंघका अध्यक्ष चोप कुमार मगर, नेपाली समाजका अध्यक्ष योञ्जन कुमार तामाङ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य राजकुमार थापा, इन्सका सल्लाहाकार दावा स्वङ लामा, महिला समाजकी अध्यक्ष शान्ति अर्याल अधिकारी, प्रवासी मञ्चका अध्यक्ष दिपक खत्री, शेर्पा किदुकका अध्यक्ष राजेन्द्र शेर्पा, तामाङ समाजका अध्यक्ष ह्योनजान ली, तथा हल उपलब्ध गराई विशेष सहयोग पुर्याउने आदरणीय धन शेर्पा लगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    यस विशेष कार्यक्रममा माओवादी विचारधारा बोकेका क्रान्तिकारीहरू, सामाजिक रूपान्तरणका पक्षधरहरू, तथा प्रवासी नेपाली समुदायका सचेत सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो ।

    कार्यक्रमको सञ्चालन ऋतु अधिकारीले गरेकी थिइन् भने उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई दिपक बानियाँ लगायतका कमरेडहरूले स्वागत गरेका थिए ।

    कार्यक्रमका वक्ताहरूले जनयुद्ध नेपाली जनताको मुक्ति, वर्गीय उत्पीडन, दलित शोषण, महिला हिंसा, र सामाजिक विभेदविरुद्धको संघर्ष भएको कुरामा विशेष जोड दिए। १० वर्षसम्म चलेको यस महान संघर्षले संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, तथा श्रमिक वर्गको सशक्त प्रतिनिधित्व स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

    कार्यक्रमकी अध्यक्ष सीता ढकाल सुवेदीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक आभार व्यक्त गर्दै भनिन्, ‘हाम्रो प्रवास जीवनको दशक लामो यात्रामा समाजले गरेको मूल्यांकन नै आजको कार्यक्रम भएको महसुस गर्दैछु । आगामी दिनमा पनि यही समाजप्रति सकारात्मक योगदान दिइरहनेछु ।’

    त्यसैगरी, प्रमुख अतिथि अर्जुन घिमिरेले नेपालमा माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्दै, क्रान्तिकारी विद्यार्थी संगठनको नेतृत्वमा रहँदा भोगेका चुनौतीहरू, माओवादी आन्दोलनको मूलधारमा आएको परिवर्तन, तथा अन्य राजनीतिक दलहरूले माओवादीप्रति राखेको व्यवहारबारे प्रकाश पारे ।

    उनले प्रवासी भूमिमा रहेका माओवादी कार्यकर्ताहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि सङ्गठित, जुझारु, र वैचारिक रूपमा सशक्त बन्नुपर्ने आवश्यकता औंल्याए । साथै, जनप्रगतिशील मञ्च पोर्चुगलको नेतृत्वमा सीता ढकाल सुवेदीले पुर्याएको योगदानप्रति प्रशंसा गर्दै, आगामी दिनमा मञ्चलाई अझ प्रभावकारी बनाउने संकल्प व्यक्त गरे ।

  • अमेरिकी श्रम कानून पालना नगर्ने नेपालीलाई डेढ करोड डलर जरिवाना

    अमेरिकी श्रम कानून पालना नगर्ने नेपालीलाई डेढ करोड डलर जरिवाना

    काठमाडौं । श्रम कानूनको पालना नगरेका एक नेपाली भाषी अमेरिकीलाई डेढ करोड अमेरिकी डलर जरिवाना सुनाइएको छ । अमेरिकाको ओहियोका संघीय न्यायालयका एक न्यायाधीशले यस्तो फैसला गरेको अमेरिकी समाचार पोर्टल यूएसए हेराल्डले जनाएको छ ।

    हेराल्डका अनुसार अमेरिकन हेल्थकेयर सर्भिस नामक कम्पनी चलाएका डिल्ली अधिकारीलाई यस्तो फैसला सुनाइएको हो । अतिरिक्त समय तथा घरेलु सहयोगीहरुको पारिश्रमिक नदिएको भन्दै क्षतिपूर्तिस्वरुप उक्त रकम फैसला सुनाइएको हो ।

    न्यायाधीश एडमन्ड ए. सार्गुसले सन् २०२१ मा परेको मुद्दामा फैसला सुनाउँदै उक्त क्षतिपूर्तिको सजाय सुनाएका हुन् । मुद्दा सन् २०१८ मा परेको यूएसए हेराल्डले उल्लेख गरेको छ ।

  • अन्तर्राष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरू लन्डनमा

    अन्तर्राष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरू लन्डनमा

    लन्डन । बेलायतमा शनिबार हुन लागेको अन्तर्राष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को स्थलगत अडिसनका लागि कलाकारहरू लन्डन आइपुगेका छन् ।

    यूके अडिसनकै लागि नेपालबाट नायिका केकी अधिकारी र गायिका सुनिता दुलाल विहीबार राति लन्डन आइपुगेका हुन् । कलाकारहरूलाई बेलायत अडिसन संयोजक कलाकार मनसुदन थापामगरले स्वागत गरेका थिए ।

    लन्डन उत्रिएपछि सुनिता र केकीले बेलायतवासी नेपालीलाई अडिसनमा आउन निमन्त्रणा गरे । भोलि १५ फेब्रुअरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने दुवै शोको अडिसन कार्यक्रम निशुल्क छ ।

    यसअघि अभिनेता धिरेन शाक्य र मोडल/डान्सर रिना थापामगर बेलायत आइसकेका छन् ।

    आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार नै अमेरिकाबाट लन्डन उत्रिएको छ ।

    यूके अडिसनमा अहिलेसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको संयोजक थापाले जानकारी दिए । उनले इच्छुक प्रतिभाहरूले अझै पनि फाउन्डेसनको वेबसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए ।

    विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोका लागि संसारका विभिन्न देशमा अडिसन शुरु भएका छन् ।

    युरोपमा बेलायतबाहेक पोर्चुगल, पूर्वी एसियामा थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।

    ‘भ्वाइस्’ र ‘डान्स’ दुवै विधामा विजेतालाई १ करोड रुपियाको पुरस्कार छ भने पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैया नगदसहितको पुरस्कार दिइनेछ ।

    ‘मेरो भ्वाइस् युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक-गायिका शिव परियार, पुष्पन प्रधान, अन्जु पन्तलगायत निर्णायकको भूमिकामा छन् ।

    ‘मेरो डान्स युनिभर्स सिजन २’ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के तथा कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।

  • अब अबुधाबीबाट पनि श्रम स्वीकृति

    अब अबुधाबीबाट पनि श्रम स्वीकृति

    काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स ९युएई०बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे ।

    अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।

    उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए ।

    मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे ।

    संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए ।

    उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए ।

    राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे ।

    त्यसअवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो ।

    वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो ।

    यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गरेका थिए ।

    उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो ।

    उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिएका थिए ।

  • पोर्चुगलमा जनयुद्ध दिवस मनाइने

    पोर्चुगलमा जनयुद्ध दिवस मनाइने

    लिस्बन, पोर्चुगल । जनयुद्धको २९औं वार्षिकोत्सवको अवसरमा पाेर्चुगलकाे लिस्बनमा एक विशेष कार्यक्रम गरिने भएकाे छ । आगामी आइतबार रेस्टुरेन्ट एभरेस्ट नेपाल, रुआ अलभाराे काेटिन्हाे टुबी, ११५०-०२५ लिस्बनमा एक समाराेहका बीच त्यहाँ रहेका नेपालीकाे एक समूहले जनयुद्ध दिवस मनाइन लागेकाे हाे ।

    नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन माओवादीले सुरु गरेकाे सशस्त्र युद्धले राजनीतिक रुपान्तरणमा भूमिका खेलेकाे विश्लेषण गरिन्छ भने आलाेचकहरुले त्याे अर्थहीन रहेकाे दाबी गर्छन् ।

    १० वर्षसम्म चलेको यस युद्धले हजारौं वीर सहिदहरूको बलिदानमा समाजवादको बाटो निर्माण गर्न महत्वपूर्ण प्रभाव पार्यो । यस आन्दोलनको उपलब्धि संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, तथा श्रमिक वर्गको सशक्त प्रतिनिधित्वका रूपमा देखिएको छ । यद्यपि, पछिल्ला वर्षहरूमा केही नेताहरू सत्ताको मोहमा परिसकेको आरोप लाग्दै आएको छ ।

    कार्यक्रम संयोजक सीता ढकाल सुवेदीका अनुसार, पोर्चुगलमा रहेका माओवादी विचारधारा बोकेका क्रान्तिकारीहरू, सामाजिक रूपान्तरणका पक्षधरहरू, तथा नेपाली समुदायका सचेत व्यक्तिहरूले यो दिवसलाई महत्वका साथ मनाउने तयारी गरेका छन् ।

    विशेष गरी प्रवासमा रहेका नेपालीहरूका लागि यो कार्यक्रम नेपाली राजनीतिक आन्दोलनप्रति सचेत रहने, जनयुद्धको मूल्य र बलिदानलाई सम्झने, र भावी योजनाहरू बारे छलफल गर्ने अवसर हुनेछ । प्रवासी भूमिमा बस्दै गर्दा पनि वर्गीय हित र श्रमिक अधिकारको संरक्षणमा नेपाली समुदायलाई संगठित गराउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

    कार्यक्रम मूल समारोह समितिका निर्देशक अर्जुन घिमिरेका अनुसार, यस अवसरमा जनयुद्धको आदर्श, उपलब्धिहरू, वर्तमान परिस्थितिका चुनौतीहरू, र भविष्यमा माओवादी आन्दोलनले लिनुपर्ने बाटोबारे विस्तृत छलफल गरिनेछ ।

    माओवादी आन्दोलनलाई सही मार्गमा अगाडि बढाउने, विभाजन अन्त्य गरी एकीकृत संगठन निर्माण गर्ने, र प्रवासी भूमिमा पनि विचारधारात्मक सशक्तीकरण गर्ने रणनीतिहरूमा गहन बहस हुने अपेक्षा गरिएको छ । कार्यक्रमको समापन “लाल सलाम!” का नारासहित जनक्रान्तिको विजय यात्रालाई निरन्तरता दिने प्रतिबद्धतासहित गरिने आयोजकहरूले जनाएका छन् ।

     

  • ओमानबाट सुरु भयो विदेशमा पहिलो वैधानिकीकरण श्रम स्वीकृति प्रक्रिया

    ओमानबाट सुरु भयो विदेशमा पहिलो वैधानिकीकरण श्रम स्वीकृति प्रक्रिया

    काठमाडौं । विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओ मानबाट सुरु भएको छ । नेपाली राजदूतावास, मस्कटको पहलमा विदेशमा पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति ३१ जनवरी २०२५ बाट सुरु भएको हो ।

    राजदूतावासको जानकारी मा भनिएको छ, ‘नेपाली राजदूतावासले ३१ जनवरी देखि ०१ फेब्रुअरी २०२५ सम्म सलालामा आयोजना गरेको राजदूतसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलर सम्बन्धी विशेष कार्यक्रममा वैधानिकीकरण श्रम स्वीकृति पनि प्रदान गरिएको थियो । विभिन्न माध्यमबाट ओमान आई वैध रुपमा कम्पनीमा कार्यरत रहनु भएका नेपाली श्रमिकहरुलाई नेपाली राजदूतावास, मस्कटले नै वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था भएको छ ।’

    राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सुर्य बहादुर खत्रीले संयुक्त रुपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सुरु गरेका थिए भने वैदेशिक रोजगार विभागका कम्प्यूटर ईन्जिनियर श्री नरेश प्रसाद दासले सबै प्राविधिक व्यवस्था गरेका थिए ।

    मस्कटबाट करिब ११०० किलो मीटर टाढा रहेको सलालामा नै राहदानीनवीकरण, बैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारी सहितको सेवा राजदूतावासले नियमित प्रदान गरेकोले सलालास्थित नेपाली श्रमिकहरुले खुसी व्यक्त गरेको राजदूतावासले उल्लेख गरेको छ । कार्यक्रममा सलालास्थित नेपाली सोसल क्लबका प्रतिनिधिहरू, स्वयंसेवकहरु लगायत नेपाली संघसंस्थाको कार्यक्रम अवधिभर सक्रिय सहभागिता र सहयोग रहेको थियो ।

    साथै ०३ फेब्रुअरी २०२५ (मिति २०८१/१०/२१) मा नेपाल घर, मस्कटमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी वैधानिकीकरण श्रम स्वीकृतिको सुरुवात भएको थियो । राजदूतावासका अनुसार सोही अवसरमा राजदूत र वैदेशिक रोजगार विभागका महानिर्देशक लगायतको टोलीसँग श्रम, आर्थिक कूटनीति, संघ सस्थाका सरोकार लगायतका विषयहरूमा अन्तरक्रिया गरिएको थियो ।

     

  • नुवाकोटका युवक यूएईमा कार्यरत कम्पनीमा मृत फेला, मृत्युअघि लिएका थिए २ जनाको नाम

    नुवाकोटका युवक यूएईमा कार्यरत कम्पनीमा मृत फेला, मृत्युअघि लिएका थिए २ जनाको नाम

    काठमाडौं । नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आफू कार्यरत कम्पनीमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

    जिल्लाको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत फेला परेका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए । मृतकका भाई हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाको जानकारी पाएको बताए ।

    मृतक तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् । हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरुसँग नियमित सम्पर्कमा थिए । अन्तिमपटक घटनाको एक सताअघि दाईसँग आफ्नो कुरा भएको हरिहरले बताए । घटनाभन्दा केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् ।

    उनले आफ्नो दाईले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुनसक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनको भनाइ छ ।

    बेलकोटगढी–१० का वडाअध्यक्ष प्रल्हाद थपलियासहित आफूहरु जाहेरी दिन गएको भए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई शव नबुझ्ने अडान परिवारको छ ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे । उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना मृतकको अडियोका आधरमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

    ‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

    जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरु प्रहरीको साइबर ब्युरोमा गएको र त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारले जनाएको छ ।

     

  • साउदीमा सडक दुर्घटनामा परी ३ नेपालीसहित १५ आप्रवासी कामदारको मृत्यु

    साउदीमा सडक दुर्घटनामा परी ३ नेपालीसहित १५ आप्रवासी कामदारको मृत्यु

    अवुधावी । साउदी अरबमा भएको सडक दुर्घटनामा परी ३ नेपालीसहित १५ जना आप्रवासी कामदारको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको ज्यान गएको साउदी जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयले पुष्टि गरेको छ ।

    गएको सोमबार भएको सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना छन् ।

    दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ भारतीय र तीन घानाका नागरिक छन् ।

    २६ जना कामदार बोकेको भ्यान र ट्रेलर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको त्यहाँस्थित बाइस अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरू अरबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्ने श्रमिक हुन् ।

    साउदी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार चालकको लापरबाही, सवारीसाधनको सुरक्षासम्बन्धी मापदण्ड र सडकको अवस्थामा अनुसन्धान भइरहेको छ ।

  • क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवाबाट १५ सय लाभान्वित

    क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवाबाट १५ सय लाभान्वित

    अमेरिका । नेपाली राजदूतावास वासिङटन डिसिद्वारा क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्कोमा आयोजना गरिएको राहदानी कन्सुलर सेवा शिविरबाट एक हजार पाँच सय १५ नेपाली प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

    उक्त शिविरमा एक हजार ५०६ जनालाई राहदानी सेवा र नौ जनालाई अधिकृत वारेशनामा सेवा दिइएको दूतावासले जनाएको छ । सुरुमा जनवरी महिनाको २२ तारेखदेखि पाँच दिन शिविर सञ्चालन गर्ने भनिए पनि सेवाग्राहीको चाप बढेपछि तीन दिन थप गरेर सेवाग्राहीलाई सेवा दिइएको थियो ।

    उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायमा अतिरिक्त आसपासका राज्यबाट पनि नेपाली सेवाका लागि क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्को पुगेको गैरआवासीय नेपाली सङ्घ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताए।

    नेपालीहरुको बाक्लो बसोबास रहेको क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सञ्चालन गर्नका लागि नेपाली समुदायमा संस्थाहरुले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । शिविरको गैरआवासीय नेपाली सङ्घ अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले  शिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।

    शिविरको समापन गर्दै दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपालीलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार दूतावासलेवर सञ्चालन गर्दै आएको बताए ।

    भौगोलिक क्षेत्र ठूलो भएका कारण दूतावास कार्यालयबाट सरल र सहज रुपमा सेवा प्रदान गर्न कठिनाइ भएकाले नेपाल सरकारले क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र टेक्सासको ड्यालसमा  दूतावास सेवा कार्यालय स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले बताए।

    शिविरको समापन कार्यक्रममा क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, गैरआवासीय नेपाली सङ्घ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ओझा, नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्की र श्री गुरुङले आफ्नो धारणा राखेका थिए।

     

  • विपिन जोशी जीवित भएको इजरायली मिडियाको सङ्केत- बिहीबार  रिहाइ हुने बन्धकमा अटाएनन् 

    विपिन जोशी जीवित भएको इजरायली मिडियाको सङ्केत- बिहीबार  रिहाइ हुने बन्धकमा अटाएनन् 

    काठमाडौं ।  विपिन जोशी जीवित रहेको इजरायली मिडियाले सङ्केत गरेको छ ।

    इजरायलको अखबार टाइम्स अफ इजरायलका अनुसार हमासको बन्धक सूचीमा आठ थाईल्याण्डका, एक नेपाल र एक तान्जानियाका नागरिक भएको भनिएको छ ।

    हमासको कब्जामा भएका एक मात्र नेपाली बन्धक विपिन जोशी हुन । दुई थाई नागरिकको ज्यान गएको पुष्टि भएको बताएको टाइम्स अफ इजरायलले ‘एक नेपाली’ बन्धक भएको उल्लेख गरेको छ ।

    नेपालीको हताहत भएको कुरा गरेको छैन । तर,  जनवरी ३० मा अर्थात् बिहीबार रिहाइ हुने सूचीका तीन जना बन्धकमा विपिन जोशीको नाम भने अटेको छैन ।

    दुई महिला र एक ज्येष्ठ नागरिक सूचीमा छन् । १९ वर्षकी अगम बर्गर, २९ वर्षकी आर्बेल येहुद र ८० वर्षका गदि मोसे मोसेस रिहाइ हुने सूचीमा अटाएका छन् ।

  • मलेसियाका लागी नेपाली राजदूत तिम्सिनाले सुल्तानसँग बुझाए ओहोदाको प्रमाणपत्र

    मलेसियाका लागी नेपाली राजदूत तिम्सिनाले सुल्तानसँग बुझाए ओहोदाको प्रमाणपत्र

    काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेतृ प्रसाद तिम्सिनाले आफ्नो ओहोदाको प्रमाणपत्र मलेसियाका राजा सुल्तान इब्राहिमलाई बुझाएका छन् ।

    राजदूत तिम्सिनालाई राजाका प्रेस्टिज गार्डले राजधानी क्वालालम्पुरमा रहेको राष्ट्रपति भवनमा सलामी दिएका थिए ।

    सुल्तानसँगको भेटमा राजदूत तिम्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सम्प्रेषण गरेका थिए ।

    नेपाली राजदूतावास क्वालालम्पुरको जानकारी अनुसार आजको ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरू छ जना थिए ।

    कार्यक्रममा मलेसियाका विदेशमन्त्री पनि सहभागी भएका थिए ।

  • अवैध आप्रवासीबाट २०२३ मा जन्मिएका थिए साढे दुई लाख बालबच्चा- स्वतः नागरिक हुने अधिकार खोस्दै ट्रम्प

    अवैध आप्रवासीबाट २०२३ मा जन्मिएका थिए साढे दुई लाख बालबच्चा- स्वतः नागरिक हुने अधिकार खोस्दै ट्रम्प

    काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प सरकारले अवैध आप्रवासीहरुलाई धरपकड गरेर हतकडी र नेल लाएर आफ्नै देशमा धमाधम फिर्ता गरिरहँदा अब उनीहरुबाट जन्मेका बालबच्चाको चर्चा सुरु भएको छ ।

    अमेरिकी च्यानल फक्स न्यूजका अनुसार सन् २०२३ मा मात्रै साढे दुई लाख बालबच्चा अवैध आप्रवासीबाट जन्मिएका थिए । विभिन्न अध्ययनहरुले एक करोडभन्दा धेरै अवैध आप्रवासी भएको देखाउँछन् ।

    ट्रम्पले फेब्रुअरी १९ बाट लागु हुनेगरी कार्यकारी आदेश दिएर जन्मको आधारमा अमेरिकी नागरिक हुने अधिकार खोसेका छन् । ट्रम्पको आदेशलाई अमेरिकी अदालतले खारेज गरेन भने हजारौं बालबालिकाको बिचल्ली हुने बताइएको छ ।

    सेन्टर फर इमिग्रेसन स्टडिज नामक एक गैरसरकारी संस्थाले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको थियो । अध्ययनले अमेरिकामा सन् २०२३ मा जन्मिएका बालबच्चाको ७ प्रतिशत अवैध आप्रवासीका सन्तान छन् ।

    अमेरिकाको संविधानको १४ औं तथा १५ औं संशोधनले अमेरिकामा जन्मेका सबै जना अमेरिकी नागरिक हुने प्रावधान छ, तर आलोचकहरुले यो दासप्रथा हुँदा सबैलाई नागरिकता दिने नियतले बनाइएको भन्दै अमेरिका गैरकानूनी वा कानूनी रुपमा आउँदै बच्चा जन्माएर अमेरिकी नागरिक बनाउन ल्याइएको कानून होइन भन्दै आलोचना गरेका छन् ।

  • आफ्ना अवैध आप्रवासी आफैं फिर्ता ल्याउन अमेरिकाको सबै देशलाई आग्रह

    आफ्ना अवैध आप्रवासी आफैं फिर्ता ल्याउन अमेरिकाको सबै देशलाई आग्रह

    काठमाडौं । आफ्ना देशमा आएका विश्वभरका आप्रवासीलाई सम्बन्धित देश आफैले फिर्ता ल्याउन अमेरिकाले आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एक प्रेस रिलिज निकाल्दै यस्तो आग्रह गरेका छन् ।

    राष्ट्रपति ट्रम्पको सरकारको समयमा अमेरिकालाई कसैले पनि ‘ठग्न र फाइदा लिन’ नसक्ने भन्दै रुबिओले जुन जुन देशका अवैध आप्रवासी छन् तिनका देश आफैले ‘गम्भीर र तत्काल’ फिर्ता लानुपर्ने बताएका छन् ।

    यस्तै कोलम्बियाका राष्ट्रपति पेत्रोले अमेरिकी सैनिक जहाज उड्न सुरुमा अनुमति दिएर उडेपछि रद्द गरेको रुबिओले सार्वजनिक गरेका छन् ।

    दुई आप्रवासी बोकेको सैन्य जहाज अवतरण गर्न कोलम्बियाले अनुमति दिएको थिएन । तर, ट्रम्पले २५ प्रतिशत भन्सार कर लाद्ने भनेपछि दुई देशले सहमति गरेर अवतरण सहजीकरण भएको विश्व मिडियाले उल्लेख गरेका छन्।

    भारतीय विदेशमन्त्री एस। जयशङ्करले भारतीय अवैध आप्रवासीहरू फिर्ता गर्न भारत तयार भएको बताएका छन् । नेपालले भने कुनै सार्वजनिक धारणा राखेको छैन ।

  • अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी

    अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी

    काठमाडौं । अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी भएको पाइएको छ । वैध नेपालीहरूलाई देश फिर्ता गरिने छैन ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई हतकडी र नेल लाएर धरपकड गर्दै धमाधम स्वदेश फिर्ता (डिपोर्ट) गरिरहँदा यस्तोमा पर्ने नेपालीको प्रतिशत १ भन्दा कम भएको देखिएको छ ।

    अमेरिकाबाट प्रकाशन भएको नेपयोर्क न्यूज पोर्टलका अनुसार १३६५ नेपालीहरू कुनै कानुनी आधार बिना अमेरिकामा बसिरहेका छन् । यसरी बस्नेहरूमा सन २०१५ को जुन २४ पछि अमेरिका जानेहरू छन् ।

    ‘तल्लो बाटो’ अर्थात् मेक्सिकोको सीमा हुँदै पुग्ने नेपालीहरू यो सूचीमा अटेका छन् । यस्तै अमेरिकामा टेम्पोररी प्रोटेक्सन स्टाटस लिएर बसेका सन २०१५ जुन २४ अगाडिकालाई नि वैध बनाएर अमेरिकामै रहने पूर्ण प्रत्याभूति भने नभएको बताइएको छ ।

    सबै गरेर तीन हजार बढी नेपालीहरू आगामी ६ महिनामा अमेरिकाबाट फिर्ता गर्ने सूचीमा पर्न सक्ने बताइएको छ ।

  • अमेरिकाबाट हतकडी र नेल लगाएर धमाधम धपाइँदै अवैध आप्रवासी, कति छन् नेपाली ?

    अमेरिकाबाट हतकडी र नेल लगाएर धमाधम धपाइँदै अवैध आप्रवासी, कति छन् नेपाली ?

    काठमाडौं । गत जनवरी २० मा शपथग्रहण गरेकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमामा संकटकाल घोषणा गरे । सेना परिचालन गरे । उनी त्यत्तिमै अडिएनन्, त्यो क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै कोस्ट गार्ड कमान्डर महिला एड्मिरल लिन्डा फागनलाई हटाए ।

    अमेरिकी मिडियाहरुमा ट्रम्पले शपथ लिनुभन्दा अगाडि समाचारहरु आएका थिए- ट्रम्प सरकारले पहिलो दिनबाटै अवैध आप्रवासीहरुमाथि धरपकड गर्नेछ । सिकागोबाट त्यो सुरु हुनेछ । बेलायती विश्व च्यानल बीबीसीलगायतले यो समाचार लेखेका थिए ।

    ट्रम्पको शपथग्रहणकै दिन अवैध आप्रवासीहरुलाई धरपकड गरिएका समाचार त आएनन्, तर अब क्रमशः आउन थालेका छन् ।

    सुरु भयो अवैध आप्रवासीहरुको पक्राउ र स्वदेश फिर्ती

    शपथग्रहण हुनुभन्दा अगाडि नै सिकागोबाट तत्काल अवैध आप्रवासीहरुलाई पक्राउ गरेर फर्काउने भनिएकोमा अहिले त्यस्तो गरिएको समाचार आएका छन् । न्यूज नेसनका अनुसार अमेरिकी सुरक्षाकर्मीहरुले घरघरमा गएर, ढोका-ढोकामा गएर अवैध आप्रवासीहरुको पक्राउ सुरु गरेका छन् । अवैध आप्रवासीहरुको पक्राउ परेसँगै सिकागोको छरछिमेक क्षेत्रमा क्रमशः ‘घोस्ट टाउन’ बन्न थालेका छन् ।

    समाचारमा देखाइएको भिडिओअनुसार विभिन्न अपराधमा संलग्न पाइएका अवैध आप्रवासीहरुलाई हातमा हतकडी र नेल बाँधेर पक्राउ गरिएको छ । सिकागो क्षेत्रबाट २ हजार ४०० जना पक्राउ गरिएका छन् । आइतबार सार्वजनिक समाचार तथा भिडिओअनुसार पक्राउ गरिएकाहरु धेरैजसो ल्याटिन अमेरिकी छन् । पक्राउ गरिएकाहरु इराक र बेलिजका जेलमा परेका अपराधीहरु भएको पनि न्यूज नेसनको समाचारमा दाबी गरिएको छ ।

    ट्रम्प सरकारले अवैध आप्रवासीहरुले पक्राउ र फिर्ताको क्रममा असहयोग गर्ने स्थानीय तथा राज्य सरकारका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउने बताएको न्यूज नेसनले उल्लेख गरेको छ ।

    आप्रवासी फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गर्दै अमेरिका, मेक्सिकोले दिएन अनुमति

    अमेरिकाले अवैध आप्रवासीहरुलाई फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गरेको छ । अमेरिकी मिडिया एबीसीन्यूजका अनुसार टेक्ससबाट सैन्य जहाजमा १७ जनालाई ग्वाटेमालामा फर्काइएको छ ।

    यस्तै सैन्य जहाजबाट फर्काइएका अरु देशका अवैध आप्रवासीहरुको तस्बिरहरु पनि अमेरिकी मिडियाहरुमा सार्वजनिक भएका छन् । हात बाँधेकाहरुलाई लाइन लगाएर सैन्य जहाजमार्फत स्वदेश फर्काइएका अवैध आप्रवासीहरुका तस्बिर अमेरिकी मिडियाहरुमा आएका छन् ।

    अमेरिकाका विभिन्न शहरहरुमा पक्राउ परेका अवैध आप्रवासीहरुलाई धमाधम सैन्य जहाजमार्फत उनीहरुलाई आफ्नै देश फर्काउन सुरु गरिएको एबीसीन्यूजले उल्लेख गरेको छ । अमेरिकी सेनाका सी-१७ जेटहरुले अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउन थालेको र त्यसको पहिलो चरण ग्वाटेमालाबाट सुरु भएको छ । ग्वाटेमालामा १६० जना फर्काइएको छ ।

    अमेरिकाले ल्याटिन अमेरिकाका अवैध आप्रवासीहरुलाई सैन्य जहाजमा अवैध आप्रवासीहरु फर्काउन लागे तापनि दक्षिणी छिमेकी मेक्सिकोले भने अमेरिकी सैन्य जहाज अवतरण गर्न अनुमति दिएको छैन । अमेरिकाको एनबीसीन्यूजका अनुसार अमेरिकाको सी-१७ सैन्य जहाजले ग्वाटेमालामा ८० जनाका दरले बिहीबार राति दुई उडान गरेका थिए । त्यस्तै उडान दक्षिणी छिमेकी मेक्सिकोमा गर्न खोज्दा मेक्सिकोले उडान अनुमति नदिएको एनबीसीले उल्लेख गरेको छ ।

    अमेरिकाले मेक्सिको हुँदै आएका मेक्सिकोबाहेकका आप्रवासीहरु त्यही बस्नुपर्ने तर्क अगाडि ल्याएको छ । अवैध आप्रवासी छोडेको खण्डमा मेक्सिकोलाई अतिरिक्त भन्सार कर थोपर्ने पनि ट्रम्पले धम्की दिएका छन् ।

    कति छन् अमेरिकामा अवैध आप्रवासीहरु ?

    विभिन्न मिडियाहरुले विभिन्न तथ्यांक लेखेका छन् । अमेरिकामा अवैध आप्रवासीहरुको आँकडा करोड बढी भएको देखिएको छ । गैरकानूनी तलबमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरु नभएका आप्रवासीहरुलाई अवैध आप्रवासी भनिएको छ । न्यूज नेसन नामक मिडियाका अनुसार अमेरिकामा डेढ करोड कागजात नभएका अवैध आप्रवासी छन् । सन् २०२२ जनवरीसम्मको एक अध्ययनले अमेरिकामा एक करोड बढी अवैध आप्रवासी भएको देखाएको थियो ।

    अमेरिकाको त्यही आप्रवासी आँकडालाई नै लक्षित गरेर ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले चुनावी उम्मेदवार हुँदाताकैबाट अवैध आप्रवासीहरुले अमेरिकामा समस्या ल्याएको बताएका थिए । ओहिओ राज्यको स्प्रिङगफिन्डमा अवैध आप्रवासीहरुले घरपालुवा जनावरहरु कुकुर र बिरालो पनि खाएको ट्रम्पले कमलासँगको राष्ट्रपतीय बहसमा भनेका थिए । जेडी भेन्सले पनि यही लाइन दोहोर्‍याएका थिए ।

    ट्रम्पको यो भनाइको सर्वत्र आलोचना भएको थियो, तर ट्रम्प पक्षधरहरुले पनि यस्ता घटनाहरु घटेकै आधारमा ट्रम्पले भन्दै आएको बताएका थिए ।

    अवैध नेपाली आप्रवासी कति समस्यामा छन् ?

    अमेरिकाका एक करोड बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको योजना छ । यसमा तीन हजार बढी नेपाली हुने बताइएको छ । आगामी ६ महिनाभित्र तीन हजार बढी नेपालीलाई अमेरिकाले स्वदेश फर्काउन सक्ने बताइएको छ ।

    अमेरिकाबाट सञ्चालन हुने नेपयोर्क न्यूज पोर्टलका अनुसार अमेरिकामा सन् २०१५ जुन २४ पछि पुगेकाहरु सबैभन्दा समस्यामा हुनेछन् । उनीहरुको फिर्ती प्राथमिकतामा हुनेछ । उसो त अमेरिकाबाट फर्काइएका नेपालीहरु अबमात्र फर्कन लागेका होइनन् ।

    योभन्दा अगाडिको बाइडेन सरकारको पालामा पनि अमेरिकाका अवैध नेपालीहरु स्वदेश फर्काइएका थिए । त्यसरी फर्काइएकाहरुको संख्या पछिल्लो चार वर्षमा १०० बढी भएको नेपयोर्कले उल्लेख गरेको छ ।

    अवैध आप्रवासीबारेमा भारतीय विदेशमन्त्रीले भने- नेपालकी परराष्ट्रमन्त्री मौन

    अमेरिकामा पुगेका अवैध आप्रवासीहरुमा सबैभन्दा धेरै आप्रवासीहरु दक्षिण एसियाबाट भारतका छन् । र, भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना अमेरिकी समकक्षी मार्को रुबिओसँगको कुराकानीमा अवैध भारतीय आप्रवासीहरुको सवाल उठेको थियो । त्यो सवालमा जयशंकरले कानूनी रुपमा भारत फर्काइने अवैध आप्रवासीहरु ल्याउन भारत तयार भएको बताएका थिए ।

    उसो त भारत अमेरिकामा वर्ष २०२४ मा पक्राउ परेका सबैभन्दा धेरै गैरकानूनी आप्रवासीको देशमा चौथो स्थानमा छ । अमेरिकामा गत वर्ष २ हजार ६४७ जना भारतीय पक्राउ परेका थिए । भारतभन्दा धेरै गैरकानूनी आप्रवासीहरु पक्राउ पर्ने देशहरुमा मेक्सिको, होन्डुरस र ग्वाटेमाला क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

    अमेरिकी सरकारले सार्वजनिक गरेको एक रिपोर्टअनुसार अमेरिकाले पक्राउ नगरेका २ देखि ११ लाखसम्म अवैध आप्रवासी भएका दश देशमा मेक्सिको, ग्वाटेमाला, होन्डुरस, भेनेजुयला, एल साल्भादोर, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर र हाइटी छन् । सबैभन्दा धेरै मेक्सिकोका ११ लाख ३५ हजार ७४३ जना पक्राउ पर्न बाँकी छन् । सबैभन्दा थोरै हाइटीका २ लाख ९२ हजार १७८ जना रहेका छन् ।

    नेपाल अमेरिकाको गैरकानूनी पक्राउ परेका तथा गैरकानूनी अमेरिकामा प्रवेश गरेका शीर्ष दश देशमा पर्दैन, तर तीन हजार बढी नेपालीलाई स्वदेश फिर्ता हुने आँकडा आइसकेको छ । नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले यो विषयामा केही बोलेकी छैनन् । न अमेरिकास्थित नेपाली दूतावासले नै केही तथ्य सार्वजनिक गरेको छ ।

  • ट्रम्पको नीतिका कारण अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

    ट्रम्पको नीतिका कारण अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

    काठमाडौं । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ ।

    गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने देखिएको छ ।

    स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ । यसअघि पनि अमेरिकाले नेपालीलाई फर्काएको उदाहरण छ ।

    पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ । जसमा सन् २०२१ मा ३८ साथै २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना छन् । अमेरिकामात्र नभएर पछिल्लो ४ वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएको छ ।

    भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकामा गैरकानूनीरूपमा बसेका भारतीयहरूलाई फिर्ता गर्न भारत तयार भएको भन्दै सहयोगको प्रतिवद्धता जनाइसकेका छन् ।

    नेपालको परराष्ट्र मन्त्रालयबाट भने यसबारे कुनै सार्वजनिक धारणा आएको छैन ।

  • तामाङ समाज पोर्चुगलद्वारा सोनाम ल्होछार विशेष कार्यक्रम गर्दै

    तामाङ समाज पोर्चुगलद्वारा सोनाम ल्होछार विशेष कार्यक्रम गर्दै

    पोर्चुगल । तामाङ समाज पोर्चुगलले मञ्जुश्री संवत २८६१, डुलसा पुख्री ल्होको अवसरमा सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

    शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक प्रस्तुतिसहितको यो कार्यक्रम आगामी फेब्रुअरी २ तारिख, आइतबारका दिन राजधानी लिस्बनमा सम्पन्न हुनेछ ।

    सन् २०११ मा ‘तामाङ जातिको परिवर्तनः शैक्षिक तथा आर्थिक सुदृढीकरण’ भन्ने मूल नाराका साथ स्थापना भएको तामाङ समाज पोर्चुगलले यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिँदै यो पर्व मनाउन लागेको संस्थाका अध्यक्ष गोपाल योञ्जनले जानकारी गराएका छन् ।

    तामाङ जातिको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाली राष्ट्रिय पर्वहरूको प्रचार–प्रसारका लागि यस संस्थाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

  • प्रवासी नेपाली मञ्चको आयोजनामा जापानमा हुने प्रशिक्षणमा एमाले महासचिव सहभागी हुने

    प्रवासी नेपाली मञ्चको आयोजनामा जापानमा हुने प्रशिक्षणमा एमाले महासचिव सहभागी हुने

    टोकियो । प्रवासी नेपाली मञ्च जापानले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

    एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक प्रशिक्षणसहित जापानको मुख्य तीन शहरमा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो ।

    जापानमा रहेका नेपालीहरूसँग प्रवासको चुनौती र राज्यले गर्नु पर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिए ।
खुला कार्यक्रममा उपस्थितिको लागि संघ-संस्थाका नेतृत्वहरूलाई निमन्त्रणा गरेको र मञ्च सम्बद्ध सदस्य तथा सल्लाहकारहरूको उपस्थित हुने सचिव राजेन्द्र श्रेष्ठले बताए ।

    नागोयामा आन्तरिक प्रशिक्षण हुने
प्रवासी नेपाली मञ्च जापानले १ फेब्रुअरी २०२५ नागोयामा
आन्तरिक प्रशिक्षण हुने भएको छ । बिहान ११ बजेबाट आन्तरिक प्रशिक्षण हुने नागोयाका क्षेत्रीय अध्यक्ष नरेश राईले जानकारी दिए ।

    जापानबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय कमिटीका सदस्य, पूर्वी एसिया महादेशीय संयोजक, सदस्यहरू, राष्ट्रिय कमिटीका सल्लाहकारहरू, चुवु क्षेत्रीय कमिटी नागोया, कान्साई क्षेत्रीय कमिटी ओसाका, क्यूस्यू क्षेत्रीय कमिटी फुकुओका तिन वटै क्षेत्रका मञ्चका सदस्यहरूलाई राखेर प्रशिक्षण गराउन लागेको हो ।

    ओकिनावा प्रशिक्षण र अन्तरक्रिया
एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकको प्रमुख उपस्थितिमा ओकिनावामा फेव्रुअरी ९ तारिख दिउसो १ बजे देखी ५ बजेसम्म प्रशिक्षण हुने छ ।
ओकिनावा क्षेत्रीय कमिटीका सदस्यहरू, सल्लाहकारहरू, विभागीय र मञ्च सम्बद्ध सदस्यहरूको प्रशिक्षण र त्यसपछि
खुला हुने भएको हो ।

    कार्यक्रममा स्थानीय संघसंस्था, ओकिनावा निवासी नेपालीहरूसँग खुला अन्तरक्रिया आयोजना गरेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा जापान इन्चार्ज सुरेश केसीले जानकारी दिए ।

  • अवैध रुपमा लाओस भई थाइल्यान्ड छिरेका नेपालीलाई फर्काइयो नेपाल

    अवैध रुपमा लाओस भई थाइल्यान्ड छिरेका नेपालीलाई फर्काइयो नेपाल

    काठमाडौं । अवैध रुपमा लाओस पुगेर फेरि त्यहाँबाट भागेर थाइल्यान्ड छिरेका एक नेपालीलाई नेपालमै फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा लाओस पुग्ने व्यक्ति त्यहाँको गोल्डन ट्रयाङ्गलमा थिए । त्यहीबाट उनी भागेर थाइल्यान्ड छिरेका थिए ।

    उनलाई शुक्रबार नेपाल फर्काइएको हो । अवैध रुपमा आसियानलगायतका देशमा जान नहुने भन्दै दूतावासले सचेत गरेको छ ।

    दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानूनविपरीत छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’

  • गैरआवासीय नेपाली नागरिकताबारे आएको अध्यादेश संविधानको मर्म विपरीत भएको टिप्पणी

    गैरआवासीय नेपाली नागरिकताबारे आएको अध्यादेश संविधानको मर्म विपरीत भएको टिप्पणी

    भियना । गैरआवासीय नेपाली संघले हालै प्रकाशित ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ʼका केही प्रावधानहरूप्रति ध्यानाकर्षण गराएको छ ।

    संघले संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकारलाई स्पष्टता र पूर्णता दिने अपेक्षा गरेको भए पनि अध्यादेशमा गैरआवासीय नेपाली नागरिकलाई प्रवेशाज्ञा आवश्यक पर्ने व्यवस्था ल्याइएका कारण निराशा व्यक्त गरेको छ । तर, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशलाई सकारात्मक कदमको रूपमा स्वागत गरिएको छ ।

    गैरआवासीय नेपाली नागरिकलाई कम्पनी खोल्न पाउने र नेपालबाट विदेशमा लगानीको बाटो खुलाइएकोमा संघले सह्राना प्रकट गरेको छ।संघले गैरआवासीय नेपाली नागरिकताको अधिकार, सम्पत्ति, र लगानी सुरक्षाका लागि थप कानूनी सुधारको आवश्यकता औँल्याउँदै, आवासीय नेपाली सरह सामाजिक, आर्थिक, र सांस्कृतिक अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई हार्दिक अपिल गरेको छ।

    गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकारबारे प्रतिकृया दिदै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष तथा नागरिकता निरन्तरता कार्यदलका संयोजक समेत रहनु भएका नेपालीहरुको घना बस्ती र पूर्ब गोर्खाजहरु लाखौ बसोबार गरिरहेका देश बेलायत र त्यहांको राष्ट्रीय समन्वय परिषदको स्थापना कालदेखि नै लाग्दै आएका अभियन्ता रामशरण सिमखडाको प्रतिकृया यस्तो छ ।

    ‘सरकारले झुक्याउने प्रयास गर्यो-एनआरएन झुक्किदैन । सरकारले केही दिन अघि ‘गैरआवासीय नेपालीहरुकै’ हितमा निर्णय गरि सम्माननीय राष्ट्रपतिज्यूबाट जारी गरिने भनिएको अध्यादेश मा उल्लेखित ‘१० बर्षे भिषा फ्रि’ प्रावधानले तमाम गैरआवासीय नेपालीहरुको संविधान प्रदत्त अधिकार र मनोभावना प्रति ठेस पुगेको छ । भलै क्षणिकको लागि सोच्ने हो भने ‘हतारमा मेरै पालामा मैले नै ल्याएंनि’ भन्ने जस लिनको लागि केही ले प्रधानमन्त्रीको हातैबाट कतै नचल्ने गैरआवासीय नागरिकता त लिए तर आज करिब १५ महिना सम्म सर्बसाधारणको हकमा यसको काम प्रायः शुन्य छ – जसलाई न त अध्यागमनले चिन्छ, न मालपोत कार्यालयले, न यातायात व्यवस्था विभागले चिन्छ न बैकहरुले नै न धितोपत्रबोर्डले ! यस्तो काममा नै नआउने “गैरआवासीय नागरिकता” दशौं हजारको संख्यामा लिई बसेका नागरिकहरुलाई केही राहत त अवश्य मिलेको छ । तर यो तत्कालिक न्यानो मात्र हो – कालान्तरमा यसले गैरआवासीय नेपालीहरु प्रति के सरकारको रवैया र नजरिया यस्तै पो हो कि भन्ने आशंकासमेत देखिन थालिएको छ । हामी अहिले नै मौजुदा संविधानको खिलाफमै वंशजको नागरिकता नै हुनु पर्छ भन्दै आन्दोलनरत थिएनौ यसको आसय पो पनि हैन की यिनीहरुलाई यसरी नै झुक्याई रहन सक्छौ भन्ने सरकारको सोच हो भने पनि त्यो ठूलो भूल हुनेछ ।

    देशको सम्माननीय प्रधानमन्त्रीज्यूले, सरोकारवाला गृहमन्त्रीले हामीसँगको विभिन्न भेटमा घण्टौको सम्बादमा मौजिदा गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई पूर्ण कार्यान्वयनमा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने आश्वाशन त दिनु भएकै थियो सार्बजिनि समारोहमा समेत निर्धक्क बोल्नु भएको सबैले सुनेका नै हौ ।

    तर अध्यादेशमा यसरी आएन । सरकार प्रमुख र जिम्मेवार मन्त्रीज्यूकै नियतमा शंका त नगरौ तर बारम्बार गैरआवासीय नेपालीहरु यसरी झुक्किईरहदैनन । बाख्रालाई घांस देखाएर हिडाई रहन सकिन्छ भन्ने मानसिकताबाट जुनसुकै सरकार पनि मुक्त हुंदा नै सबैको हित हुन्छ । लगानी र कम्पनी खोल्न ‘१० वर्षे फ्रि भिषाले’ हिडाई रहन सायदै अबको युगमा नसकिएला । नागरिकता र भिषा दुई किनारा हुन ।

    समुच्चमा ५०औ लाख नेपालीहरु आप्रवाशनमा रहे पनि गैरआवासीय नेपाली नागरिकताको लागि योग्य नै करिब २०औ लाख भै सकेको अनुमान लगाउन सकिन्छ । यति ठूलो संख्यामा रहेको बर्गलाई राष्ट्रीय मुलधारमा समाहित गर्दै समृद्द नेपाल को लागी एकाकार गर्दै हिँडाउने की शंसय, आशंका, त्रास वा डाहको भावले – यो राज्यलाईनै छाडी दिऔ । तर यति चै भन्ने पर्ने हुन्छ संसार जित्ने प्रेमले हो अबिश्वासले हैन । गैरआवासीय नेपालीहरु देशको लागि केही गर्न खोज्दैछन – राज्यले यति पर नधेकेल्न अनुरोध छ।’

    त्यसै गरी लमो समयदेखि अमेरिका रहँदै आएकी एन् आर एन् आईसीसी मेम्बर ,अमेरिका मैयां ढुगांना (मनीता) को भनाइ यस प्रकार छ : ‘नेपालको वर्तमान संविधानले हामी प्रवासमा रहेका नेपालीहरुलाई गैर आवसीय नेपाली नागरिकताको सुनिश्चित गरेको छ तथापी नेपाल सरकार ले यसलाई इन्कार गरी जुन अध्यादेश ल्याउन लागेको छ त्यसमा हाम्रो तर्फवाट स्वीकार्य छैन । हामी चाहान्छौ वंशजको नागरिकता को पूर्ण सुरक्षाको प्रत्याभूतिका लागी अनुरोध । एक पटक को नेपाली सधैको नेपाली भन्ने मुल मन्त्र लागु होस भन्ने चाहन्छु ।’’

    अफ्रिकालाई आफ्नाे कर्मथलो बनाइ रहेका, गैरआवासीय अभियानका पुरानो अभियन्ता तथा संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा भन्छन्, ‘संक्षेपमा भन्नु पर्दा गैरआवासीय नेपाली नागरिकलाई दस वर्षे नि:शुल्क भिसा दिने अध्यादेशको प्रावधान राख्ने सरकारको निर्णय सरासर गलत छ । संविधानले नै गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने र सबै सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार दिने उल्लेख गरिसके पछि यो प्रावधान सरासर गलत छ । वास्तवमा गैरआवासिय नेपालीको माग नागरिकताको निरन्तरता हो । जो अझै पनि छ र हुनु पर्छ । सरकारले नागरिकताको निरन्तरताको लागि अबको संविधान संशोधनको बेला प्रावधान राखोस् हाललाई गैरआवासीय नेपाली नागरिकता भएकाहरुलाई भिसा लिनु पर्ने प्रावधान हटाओस् ।’

    संसार भारी छरिएर रहेका सरकारले यस अध्यादेश प्रति गैर आवासीय नेपालीहरुमा ठुलो निराशा र अन्यौलता छाएको छ।

  • पृथ्वीनारायणलाई सम्झिँदै हङकङमा मनाइयो एकता दिवस, राप्रपा उपाध्यक्ष पाण्डेसहित सहभागी

    पृथ्वीनारायणलाई सम्झिँदै हङकङमा मनाइयो एकता दिवस, राप्रपा उपाध्यक्ष पाण्डेसहित सहभागी

    काठमाडौं । पृथ्वीनारायण शाहको ३०३ औं जयन्तीको अवसरमा हङकङ पुगेर नेपालीहरुले राष्ट्रिय एकता दिवस मनाएका छन् ।

    नेपालमा राजसंस्था र हिन्दू राज्यको माग राखेर राजनीति गरिरहेको राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री विजय खड्कासहितले प्रवासी नेपाली एकता समाजले गरेको कार्यक्रममा सम्बोधन गरेका थिए ।

    ‘पृथ्वीनारायण शाहको बारेमा जसरी चिन्ता लिनु भएको छ । त्यसरी नै राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई पनि साथ दिनुहोस्’, हङकङमा पाण्डेले भने, ‘विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो तर विदेशिएकाले नेपालमा लगानी गर्छु भन्दा गाह्रो छ ।’

    देशलाई माया गर्ने नागरिक नहुँदासम्म रैथाने भाषा र जाति एक नहुँदासम्म सनातनी हिन्दू छातामा नआएको पाण्डको भनाइ थियो । उनले पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशअनुसार देश र एकता चल्नुपर्ने बताए ।

    गोरखाबाट आएका पृथ्वीनारायणले गोरखा बनाउन सक्ने अवस्थामा पनि सबै समेटेर नेपाल बनाएको भन्दै पाण्डेले भने, ‘मूल्यवान संस्कृति जोगाउनका लागि एक बनौं ।’

    कार्यक्रममा एकता समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई नेपाली डेढ लाख बराबरको नगद सहयोग गरेका थिए । अटिज्मसम्बन्धी बालबालिकाको उपचारका लागि उनले यस्तो सहयोग गरेका हुन् ।

    पाण्डे केही दिन अन्य कार्यक्रम गरेर फर्कने तालिका छ ।

  • यी हुन चीनको भूकम्पमा सहयोग गर्ने ल्हासाका नेपालीहरू (सूचीसहित)

    यी हुन चीनको भूकम्पमा सहयोग गर्ने ल्हासाका नेपालीहरू (सूचीसहित)

    काठमाडौं । शनिवार प्रधानमन्त्री केपी शर्मा ओली नेपाली समुदायबाट तिब्बतमा भएको भूकम्पबारेमा सहयोग गरेको पोस्ट गरे ।

    उनले सामाजिक सञ्जालमा लेखे, ‘विपद्मा साथ दिने नेपाली संस्कृति हो । केही दिन अघि तिब्बतलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट त्यहाँ जनधनको क्षति भयो। नेपाल उक्त भूकम्पबाट प्रभावित चिनियाँ जनताको साथमा छ । नेपालमा यस्तो विपत्ति हुँदा छिमेकी मित्रराष्ट्र चीनले पनि हामीलाई सहयोग गरेको थियो।दुःख निवारण कल्याण कोष ल्हासाले त्यहाँ बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ ।’

    खासमा ल्हासामा रहेको एक मात्रै कूटनीतिक नियोग हो नेपालको । र, त्यही कूटनीतिक नियोगका प्रमुख लक्ष्मी निरौलाको समन्वयमा ल्हासामा भएका नेपालीहरूको रकम संकलन भयो । संकलित रकम चिनियाँ रेडक्रसलाई वितरण गरियो । सहयोग गर्नेमा नेपालीहरूको संस्था तथा व्यक्ति दुवै छन् ।

    संस्था ल्हासामा रहेको नेपालीहरूको परोपकारी संस्था दुःख निवारण कल्याणकारी कोष हो भने व्यक्तिहरूमा अरू ७८ जना रहेका छन् । कोषले सबैभन्दा धेरै ३० हजार युआन सहयोग गरेको छ । यी सबैको साझा प्रयत्नबाट १ लाख ९८ हजार ५७ युआन सहयोग गरेको छ ।

    ल्हासाका नेपाली रत्न कुमारले आफूहरूले सहयोग गर्न पाएको खुशी व्यक्त गरे । नेपाल प्रेससँग कुरा गरेका महावाणिज्यदूत निरौलाले आफूहरूले समन्वय गरेर सकेको काम गरेको बताए ।

  • यी ५ स्वास्थ्य संस्थामा हुनेछ इजरायल जाने केयरगिभरको मेडिकल परीक्षण

    यी ५ स्वास्थ्य संस्थामा हुनेछ इजरायल जाने केयरगिभरको मेडिकल परीक्षण

    काठमाडौं । केयरगिभरका रूपमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाँचवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । उच्च अदालत पाटनको पछिल्लो अन्तरिम आदेशपछि ५ वटा स्वास्थ्य संस्था आधिकारिकरुपमा छनौट भएका हुन् ।

    दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक श्रमिक (केयरगिभर) को स्वास्थ्य परीक्षण गर्न गत पुस ९ गते ५ वटा स्वास्थ्य संस्थालाई वैदेशिक रोजगार बोर्डले छनौट गरेको थियो । छनोट भएका पाँच वटा स्वास्थ्य संस्थालाई काम गर्न रोक लगाउनुपर्ने भन्दै परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको पछि उनीहरुले काम गर्न पाउने भएका हुन् ।

    पुस ४ गते काठमाडौंस्थित इजरायली दूतावासले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि इजरायलको ‘जनसख्या तथा अध्यागमन प्राधिकरण (पिवा) बाट आफ्नो मापदण्ड पूरा गर्ने पाँच वटा स्वास्थ्य संस्थालाई अनुमति दिइएको जानकारी परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएको थियो ।

    जसमा नेपाल मेडिसिटी अस्पताल, स्टार हस्पिटल, ह्याम्स हस्पिटल, मनमोहन मेमोरियल मेडिकल कलेज र क्रिस्टल डायग्नोस्टिक प्रालि रहेका छन् । यी स्वास्थ्य संस्थालाई पहिलो चरणमा पुस १७ देखि २३ गतेभित्र तोकिएको श्रमिकलाई स्वास्थ्य परीक्षण गर्न अनुमति दिइएको थियो । इजरायलले पहिलो चरणमा एक हजार जना सहायक श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ ।

    छनोट भएका स्वास्थ्य संस्थाहरू नेपाल सरकारबाट विशिष्ट श्रेणीको अनुमतिप्राप्त ‘ए’ र ‘बी’ ग्रेडको अन्तर्राष्ट्रियस्तरको अस्पताल र डायग्नोस्टिक ल्याब हुन् ।

    नेपालका स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरमा प्रश्न उठाउँदै गन्तव्य देशहरूले आफैंले अन्तर्राष्ट्रिय मापदण्ड पुगेको स्वास्थ्य संस्थामार्फत श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आइरहेका छन् ।

    पढ्नुहोस् उच्च अदालतको आदेश-

  • यूएईको रसल खेमामा दूतावासको राहदानी नवीकरण शिविर : ३३५ नेपाली लाभान्वित

    यूएईको रसल खेमामा दूतावासको राहदानी नवीकरण शिविर : ३३५ नेपाली लाभान्वित

    काठमाडाैं‌ । यूएईको रसल खेमाका नेपाली राजदूतावासले राहदानी नविकरण शिविर सम्पन्न गरेको छ । शिविरबाट ३३५ नेपालीहरुले लाभ लिएको राजदूतावासले सार्वजनिक गरेको छ ।

    अबुधाबीबाट ३०० किलोमिटरको दूरीमा रहेको क्षेत्रमा राहदानी वितरण शिविर राखिएको हो । राहदानी हराएका, राहदानीको म्याद सकिएका लगायतका समस्याहरु शिविरबाट समाधान गरिएका थिए ।

    आइतबार भएको शिविरको कार्यक्रममा ५५० नेपाली श्रमिकहरुलाई नेपाल तथा यूएईका कानूनबारेमा जानकारी पनि दिइएको थियो ।

    कार्यक्रमबारेमा राजदूतावासले भनेको छ, ‘भविष्यमा आयोजना गरिने यस किसिमका कार्यक्रमहरुमा समेत यूएइमा रहेका सम्पूर्ण नेपाली संघसंस्था लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सक्रिय सहभागिता तथा सहयोग रहने नेपाली राजदूतावास हार्दिक अपेक्षा गर्दछ ।’

  • डायस्पोरासँग नजोडिँदासम्म नेपालको विकास सम्भव छैन : पूर्वअध्यक्ष गुरुङ

    डायस्पोरासँग नजोडिँदासम्म नेपालको विकास सम्भव छैन : पूर्वअध्यक्ष गुरुङ

    लन्डन । प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका पूर्वअध्यक्ष भक्त गुरुङले डायस्पोरासँग नजोडिँदासम्म नेपालको विकास सम्भव नहुने बताएका छन् ।

    आइतबार पश्चिम लन्डनमा आयोजित प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गुरुङले सन् २००४ मा तत्कालीन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको रक्षा गर्न एनडीएफको स्थापना गरिएको बताए ।

    उनले नेपाललाई समृद्ध बनाउन, प्रवासमा आर्जन गरेको ज्ञान र धनलाई नेपालसंग जोड्न र समृद्ध नेपाल बनाउन संस्थाले काम गर्नु पर्नेमा जोड दिए ।

    उनले भारतलगायत संसारभरि रहेका झन्डै एक करोड प्रवासी नेपालीलाई समृद्ध नेपाल बनाउन परिचालित गर्नु पर्ने जनाए । उनले प्रवासी नेपाली मंचलाई बढीभन्दा बढी नेपालीहरुसम्म पुराउन आग्रह पनि गरे ।

    प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया लगायतले शुभकामना दिएका थिए।एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष सिम्खडाले २०१४ जनवरी ५ मा आफू मंचको अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै अझ जुझारु रुपमा अगाडि बढ्न संस्थालाई शुभकामना दिए ।

    अर्का पूर्व अध्यक्ष पुडासैनीले संस्थाको स्थापनाको स्मरण गर्दै बार्षिकोत्सवमा सहभागी हुन आउनु भएका सबैलाई धन्यबाद दिए ।

    अर्का पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले सन् २००४ डिसेम्बर २० का दिन आङ्ग कल्जंग लामाको निवासमा भेला भएर आफुहरुले संस्था स्थापना गरेको स्मरण गरे । उनले नेपालको उन्नति प्रगति र नेपालीको दुखसुखमा साथ दिनुका साथै मंचले सामाजिक र परोपकारी कामहरु गर्दै आएको जनाए ।

    उनले श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहार सहितको राफल टिकट बिक्री अभियान संचालन गर्न लागेको जनाए । त्यस्तै, प्रवासी नेपाली मंच युके इन्चार्ज सरस्वती केसी, प्रवासी नेपाली मंचका पुर्व अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उपसचिव कर्ण शाही, ओएनएफ युके नर्थ वेष्ट कमिटी अध्यक्ष भिम लाल भट्टराई लगायतले पनि शुभकामना दिए ।

    शुभकामना मन्तव्य दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्माले विदेशमा बसेर पनि देशको हितमा केही भए पनि योगदान गर्ने उद्देश्यले नेपालीहरु विभिन्न संगठनमा आवद्ध भएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी एक वैकल्पिक पार्टीको रुपमा स्थापित भै सकेको बताउँदै जुनसुकै पार्टीमा भए पनि सुसंस्कृत विचार राख्न आग्रह गरे ।

    प्रवासी नेपाली मंच युकेका अध्यक्ष भुसालले कोभिड महामारीको समयमा मन्चले अन्तर्राष्ट्रिय कमिटीसँग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको स्मरण गरे ।

    उनले सन् २०१५ को महाभूकम्प लगायत विपदको बेलामा सक्दो सहयोग गर्दै आएको जनाए।उनले मंच नेकपा एमालेसंग निकट रहेको बताउंदै एमालेका राम्रा कामहरुको प्रचार प्रसार गर्नुका साथै कमी कमजोरी सच्याउन आफुहरुले रचनात्मक सुझाव पनि दिने गरेको बताए ।

    कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गरेका थिए भने सीमा अधिकारी, अनीशा लगायतले रोचक नृत्य प्रस्तुत गरे ।

    प्रवासी नेपाली मंच युकेका सचिव पुण्य रेग्मीले संचालन गरेको समारोहमा कार्यक्रम संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्ष डा. मुकुन्द बास्तोलाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए ।

    समारोहको सुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

     

  • १८ पाङ्ग्रे मालबाहक लरीबाटै खाडीको फन्को मारिरहेका नेपाली चालकहरु

    १८ पाङ्ग्रे मालबाहक लरीबाटै खाडीको फन्को मारिरहेका नेपाली चालकहरु

    आबुधावी । नेपाली चालकहरुले बालुवा, तेल, मेसिनरी तथा राहत सामग्री राखे खाडीका १० लेनसम्मका व्यस्त सडकमा १८ पाङ्ग्रा लरी हुइँक्याइरहेका छन् ।

    ‘सडकमै लरी, लरीमै बास
    यही पकाउँछौं, यही सुत्छौं
    कत्तिको गयो सडकमै सास ।’

    साउदी सरकारको राहत सामग्री लरीमा बोकेर युद्धग्रस्त यमन हिंडेका नवलपरासीको बर्दघाट- १ का ३३ वर्षीय दीपेन्द्र विकको ज्यान गएको घटना स्मरण गर्दै तेह्रथुमका रामकुमार ल्वागुनले आबुधाबीका सडकमा चालकहरुको कथा सुनाए । चालकहरूको दैनिकीलाई उनले थोरै शब्दमा व्यक्त गरे पनि नेपाली चालकहरूका लागि यो केवल जागिर नभएर चुनौतीपूर्ण दैनिकी पनि हो ।

    चालकको सीट पछाडि एक थान सुत्ने ओड्ने बेलीबिस्तारासहित चालकहरु साउदी अरबबाट रातो आलु, प्याज, चामल, मरमसला जस्ता सामग्रीहरू लोड गरेर निस्किन्छन् ।

    लरी हुइँक्याउँदै यमन हिंडेका दीपेन्द्र सडकमै अस्ताएको कथा

    दीपेन्द्र लरी हुइँक्याएर यमन पुग्दा उतै अस्ताएको कुरा सुनाउँदा तेह्रथुममा रामकुमार मलिन भए । सन् २०१९ नोभेम्बरमा साउदी पुगेका दीपेन्द्र साउदीको लेह ट्रान्सपोर्टेसन कम्पनीमा लरी चलाउँथे ।

    सन् २०१४ देखि आन्तरिक द्वन्द्वमा फसेको यमन युद्धग्रस्त मुलुक हो । इरान समर्थित हुथी विद्रोही र साउदी गठबन्धन समर्थित यमन सरकारबीचको सशस्त्र द्वन्द्व त्यो बेला पनि चरम उत्कर्षमा थियो । विश्वमै ठूलो मानवीय संकटबाट गुज्रिएका यमनी नागरिकलाई साउदी राजाको नाममा स्थापित ‘सलमान मानवीय राहत तथा उद्धार सेन्टर’ (केएस रिलिफ)ले यमनी नागरिकलाई ६६.७ मिलियन डलरको औषधोपचार र खाद्य सामग्री उपलब्ध गराइरहेको थियो । त्यही सामग्री पुर्‍याउने ठेक्का दीपेन्द्रको कम्पनीले पाएको थियो ।

    दीपेन्द्रलाई साउदी सरकारको राहत सामग्री पुर्‍याउन कम्पनीले यमन पठाएका थियो ।

    ‘साउदीबाट दीपेन्द्रसहित १७ जना ड्राइभर राहत सामग्री बोकेर यमन गएका थिए । अरू सबै तोकिएको ठाउँमा पुगे, तर बीच बाटोबाटै दीपेन्द्र हराए । दुई वर्षको अवधिमा उनी सयौं पटक यमन गइसकेका अनुभवी ड्राइभर थिए, तर पछिल्लो लटमा बाटैबाट हराउँदा हामी सबै चकित पर्‍यौं’, रामकुमारले भने ।

    दीपेन्द्रको त्यस टोलीमा १३ पाकिस्तानी र चार नेपाली चालक थिए । ती ४ मध्येका एक हुन् रामकुमार ।

    २०७८ कात्तिक १९ मा यमनको सुक्राहको मुरिव मरुभूमिमा भेडा चराइरहेका फइज अब्दुल्लाह अनोओस (२६) ले दिउँसो ३ बजे लुगासहितको एक कंकाल देखे । कंकाल भेटिएको त्यो ठाउँ हाइवेबाट तीन किलोमिटर भित्र पर्छ, जुन आतंकवादी अलकाइदाको प्रभाव क्षेत्र हो । उनले तुरुन्तै प्रहरीलाई खबर गरे ।

    कंकालसँगै भेटियो दीपेन्द्रको ड्राइभिङ लाइसेन्स, राहदानी, कालो रेडमी मोबाइल फोन, केही साउदी रियाल र ५ जोर्डनी मुद्रा । कपडा सडेको थिएन । मात्रै बाँकी थियो घामले सुकेको हड्डी र छाला ।

    साउदीस्थित नेपाली दूतावास, कम्पनी र परिवारको लामो समन्वयपछि अनुसन्धानबेगर दीपेन्द्रको कंकाल यमनबाट इजिप्ट र टर्की हुँदै नेपाल पुर्‍याएर गाउँकै त्रिवेणी लगेर अन्त्येष्टि गरियो ।

    ‘दीपेन्द्रको परिवारले अहिलेसम्म साउदी तथा कम्पनीबाट उचित क्षतिपूर्ती पाएका छैनन्’, रामकुमारले भने, ‘अहिलेको यात्रामा म एक्लै छैन । सुनसरीका दिलीप मेहेता, चितवनका दिनेश शाह र नुवाकोटका लक्ष्मण लामा सँगै सडकमा छौं । लाइन लाएर लरी हुइँक्याउँछौं ।’

    भाग्य र अवसरका कारण रामकुमारसहित उनका ३ साथी कम्पनीका राम्रा कार्यस्थलमा परेका छन् । संसारकै महँगोमध्येको एक फेरारी कार रेसिङ खेल फर्मुला १ अन्तर्गत यूएई, कतार, बहराइन जस्ता देशमा हुने खेलमा लरी लिएर उनीहरु मैदानमा दौडिन्छन् । मैदान पुग्न उनीहरु साउदीको रियाददेखि झन्डै १ हजार किलोमिटर पार गरेर आबुधावी आइपुगेका छन् ।

    आबुधावीको फेरारी वर्ल्डमा भएको फेरारी कार रेसिङसँगै तिनै लरीमा राखेर भीभीआईपीलाई मैदानमा दौडिन्छन् नेपालीहरुले हुइँक्याएका लरी । झन्डै १५ लाख प्रतिव्यक्ति टिकटको मूल्य तिरेर ती खेल हेर्न आएका अतिथिहरु त्यही लरी चढ्छन र मैदानमा फेरारी रेसिङको मज्जा लिन्छन् ।

    आबुधावीपछि फेरि उनीहरु साउदी अरब फर्किएका छन् । साउदी अरबबाट पुनः उनीहरु बहराइनको यात्रामा निस्किनेछन् । अहिले फर्मुला १ (संसारकै महँगोमध्येको एक कार रेसिङ प्रतिस्पर्धा) चलिरहेको छ । अरु सिजनमा नेपाली चालकहरू साउदी, यूएई, कतार, कुवेत, ओमान, बहराइन जस्ता देशहरूमा मालसमान बोकेर लरीसहित खाडीका विभिन्न सडकको चक्कर काट्छन् ।

    सडकमार्फत विभिन्न देशको सीमा पार गर्न धेरैजसो कडा नियमहरू पालना गर्नुपर्छ । लरी चालकहरूले सीमा चौकीमा १फासा’ नामक कागजात बनाउनुका साथै आफ्नो सवारीको पूर्ण निरीक्षण गराएरमात्रै थप यात्रा गर्ने अनुमति पाउँछन् ।

    लरी नै घर र घर नै लरी !

    चालकहरूको दिनचर्या सधैं सडकमै हुन्छ । निर्धारित बासस्थान नभएकाले, उनीहरू लरी रोकेर सडकमै सुत्छन् । गाडीको आवाज र बालुवाको हावामा निदाउन मुस्किल भए पनि उनीहरू थकान मेट्ने प्रयास गर्छन् । खाना पकाउने भाँडाकुँडा र सामान लरीमै राखेर काम गर्ने र सुत्ने व्यवस्था बनाइएको हुन्छ ।

    कहिलेकाहीँ सुनसान मरुभूमिको बालुवामा गाडी रोकेर बास बस्नुपर्ने अवस्था आउँछ । त्यस्तै बेला हराएर वा कुनै भवितव्य परेर कतिपयले ज्यानसमेत गुमाएका छन् ।

    केही भाग्यमानी चालकहरूले ‘फर्मुला १’ फेरारी रेसिङका विशेष कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि पाएका छन् । यूएई, कतार र बहराइन जस्ता देशहरूमा हुने फर्मुला १ रेसिङ खेलको लागि लरी चालकको रूपमा काम गर्न पाउँदा विगतका पीडा क्षणभरलाई भए पनि भुलेको उनीहरु बताउँछन् ।

    रामकुमारका अनुसार यसरी लरी चलाउन थालेको ९ वर्ष भयो । घरपरिवारसँग टेलिफोन गर्दा उनी लरीमै भए पनि घरमै छु भन्छन् । किनकि उनका लागि लरी नै घर र घर नै लरी हो । काम राम्रै पर्‍यो र कम्पनीले राम्रो ठाउँमा खटायो भने बेतन र अतिरिक्त गरेर ४ हजार रियाल राम्रैसँग बचाउन सकिने उनी बताउँछन् । हरेक दुई वर्षमा तीन महिनाको बिदामा घर फर्किने गरेको रामकुमारको भनाइ छ ।

    खाडीमा १८ पाङ्ग्रे लरी चलाउँदै गरेका नेपाली चालकहरू घरपरिवारबाट टाढा रहेर बालुवाका तातो सडकमा गन्तव्यको अनिश्चितताबीच आफ्नो मेहनतको मूल्य खोजिरहेका छन् ।

  • मलेसिया दूतावासमा ‘टीके’असुली र दबदबा, पासपोर्ट बनाउन आउने श्रमिक कुटिए

    मलेसिया दूतावासमा ‘टीके’असुली र दबदबा, पासपोर्ट बनाउन आउने श्रमिक कुटिए

    क्वालालम्पुर । मलेसियायाका लागि भर्खरै नियुक्त भएका नेपाली राजदूत नेत्र तिमल्सिना कार्यभार सम्हाल्न आउनुअघि नै यहाँ बिचौलियाको भूमिकामा रहेकाहरुले श्रमिकलाई दुःख दिएको गुनासो आएको छ ।

    दूतावासकै सेटिङमा ठगी भइरहेको आरोप समेत लागेको छ । नवनियुक्त राजदूतले कार्यभार सम्हाल्न आउनु अगाडि नै यहाँको दूतावासले ’टिके’ भूमिका दिएकाहरूको अत्याचारले सीमा नाघेको गुनासो मलेसियामा कार्यरत श्रमिक संगठनहरुले गरेका छन् ।

    उनीहरूले राहदानी ’रिन्यु’ गर्न आउनेलाई हातपात मात्रै गरेका छैनन्, नेपाली कामदारको माग गर्ने कम्पनीहरूमा ’भिजिट’को नाममा रकमको ’बार्गेनिङ’ र असुली धन्दा नै चलाएको आरोप समेत छ ।

    असुलीका लागि ’डिमान्ड लेटर’ नै बदल्न लगाएर कामदारलाई ठग्ने र सेटिङमा सीमित व्यक्तिहरूले कमाउने चलखेल समेत उनीहरूले गरेका छन्।

    बोम सुनार र टेक बुढा तथा पैसाकै लागि मुस्लिमसँग विवाह गरी धर्म परिवर्तन गर्ने जयप्रकाश गिरी, बिकी अधिकारी र उत्तम कार्कीले दूतावासको नाममा यस्तो असुली धन्दा चलाएका हुन्।

    दूतावासका सवारी चालक सुन्दर श्रेष्ठले त रकम बोलकबोल नगरेको भन्दै पासपोर्ट ’रिन्यु’ गर्न आउने एक मजदुरलाई नै कुटेका छन्। असुलीकर्ता उल्लेखित सबै व्यक्तिहरू र चालक श्रेष्ठ नेपालका कुनै न कुनै वैदेशिक रोजगार कम्पनीसँग सम्बन्धित रहेको बताइएको छ ।

    नवनियुक्त राजदूत तिमल्सिनाले यिनलाई छानिछानी कारबाही नगरे मलेसियामा नेपाली रोजगारीमा थप धक्का पुग्ने मात्र होइन, देशकै इज्जत–प्रतिष्ठा समेत आघात पर्ने भन्दै बेनामी उजुरी समेत परेको छ ।

  • अमेरिकाको नेपाली डायस्पोरा रिसर्चको निष्कर्ष : करिब ६० प्रतिशतले मात्रै पठाउँछन् रेमिटेन्स

    अमेरिकाको नेपाली डायस्पोरा रिसर्चको निष्कर्ष : करिब ६० प्रतिशतले मात्रै पठाउँछन् रेमिटेन्स

    काठमाडौं । अमेरिकामा हुने नेपालीहरुमा करिब ६० प्रतिशतले मात्रै नेपालमा रेमिटेन्स पठाउने गरेको देखिएको छ । हालसालै सार्वजनिक भएको सर्वाङ्गण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले सार्वजनि गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

    अमेरिकामा हुने नेपालीहरुमा ५९.६ प्रतिसत नेपालीले अमेकिाबाट रेमिटेन्स पठाउने देखिएको छ । सन २०२३ को तथ्यांकले नेपालमा आउने कुल रेमिटेन्सको ११.६ प्रतिसत भाग अमेरिकाको देखिएको छ । प्रतिव्यक्ति रमेटिेन्स पठाउनेमा अमेरिकामा हुनेहरुले कतार, मलेसिया, साउदी अरब र यूएई भन्दा धेरै पठाउने पाइएको छ । कतार भन्दा १.५१ गुणा, मलेसिया भन्दा २ं.२८ गुणा, साउदी अरब भन्दा १ं.९५ गुणा र यूएई भन्दा १.७२ गुणा प्रतिव्यक्ति धेरै रेमिटेन्स अमेरिकामा हुनेले पठाउने पाइएको छ ।

    अमेरिकामा हुने नेपालीहरुले नेपाललमा लगानी गरेको नगन्य देखिएको छ । १३.२ प्रतिसतले मात्रै नेपालमा लगानी गरेका छन् । अझ रोचक कुरा नेपालमा जस्तै अमेरिकाका नेपालीहरुमा पनि पुरुषहरुको औसत कमाई महिलाको भन्दा धेरै देखिएको छ । सबै क्षेत्रको सरदर पुरुषहरुको वाािर्षक आय ६० हजार अमेरिकी डलर हुँदा महिलाको भने ३८ हजार अमेरिकी डलर मात्रै देखिएको छ । अमेरिकाका बेरोजगार नेपालीहरु ३.४ प्रतिसत देखिएको छ ।

    अमेरिकामा २ लाख १५ हजार सम्म नेपाली छन् भन्दै प्रतिवेदनमा पछिल्लो १२ वर्षमा अमेरिका जाने नेपालीहरुको आँकडा ६८.३ प्रतिशत भएको लेखिएको छ ।

    खोजकर्ताहरु डाक्टर अरुण जोशी, विभव प्रधान र रुजेल श्रेष्ठले संयुक्त रुपमा तयार गरेको खोज प्रतिवेदनले अमेरिकाका पाँच राज्यमा नेपालीहरु ठूलो संख्यामा पुगेको देखाएको छ । ती ठाँउहरुमा टेक्सस, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड र न्यू योर्क हुन । अमेकिा पुग्नेहरुमा ५८ प्रतिसत अध्ययनलाई पुग्ने देखिएको छ भने २६ प्रतिसतले राजनीतिक अस्थिरताले वाक्क पुगेको बताएका छन् ।

    अमेरिका पुग्नलाई बहुसंख्यक नेपालीहरुले १० हजार अमेरिकी डलरमा अमेरिका सरेको देखिएको छ भने ५० हजार डलर तिर्नेहरुको आँकडा पनि धेरै भएको देखिएको छ ।

    सन २०१२ बाट २०२१ सम्म ५३ लाख नेपालीहरुले डिभी भरेका थिए । औसतमा हरेक वर्ष ४०९८ भर्नेहरुको नाम डिभीमा निस्केको देखिन्छ ।