दुबई । सधैँजसो आइतबारको बिदामा नेपालीको बाक्लो जमघट हुने क्षेत्र हो बरदुबई । त्यही भएर पनि यो ठाउँको नामाकरण नै गरिएको छ- ‘नेपाली पार्क’ । गएको आइतबार यो पार्क सुनसान प्राय: देखियो । यहाँबाट झन्डै १० किलोमिटर दूरीको क्रिक पार्क पुग्न लाइनवद्ध देखिन्थे नेपाली । बरदुबईबाट क्रिक पार्कसम्म नेपाली परम्परागत र मौलिक पहिरनमा सजिएर मेट्रो, बस तथा ट्याक्सीमा नेपालीको भीड थियो ।
जबिल पार्क, बुर्जुमान, आउथ मेथा मेट्रो स्टेसनहरूमा नेपालीको ठेलमठेल भीडले विदेशीहरू पनि अचम्भित देखिन्थे । त्यही क्रिकपार्कमा झन्डै ५० हजार नेपाली जम्मा भएर यसपटक दुबईमा रहेका नेपालीले इतिहास रचेका छन् ।
बिहानै उठ्यो काममा गयो, साँझ आयो घुत्रुक्क सुत्यो । भोलिपल्ट उही दैनिकीको श्रृंखलाभित्र परदेशिएका नेपालीका थुप्रै कथा-व्यथा छन् । तर यसपटक भने दुबईमा आधा लाख नेपाली जनसख्या एकै दिन एउटै आँगनमा भेला भएर इतिहास रचे । कतिपय पार्कमा प्रवेश नपाएर फर्किनुपर्यो ।
बुर्जुमानमा बस्दै आएकी रोल्पाकी रुपकला मगरलाई ५ किलोमिटर परको पार्कमा चलिरहेको महोत्सवमा पुग्न झन्डै ५ घण्टा लाग्यो । काठमाडौं कपनकी रिता गुरुङ र मीन्चु सारजाहबाट कार्यक्रम हेर्न भन्दै आएका थिए । गायिका शान्तीश्री परियार, वरिष्ठ गायक रोज मोक्तानको प्रस्तुतिले हेर्न भन्दै टाढा बाट आएका आफुहरुले उनीहरुको प्रस्तुती हेर्नै नपाएको गुनासो गरे ।

सबै चाँजोपाजो मिलाएर कार्यक्रमस्थल पुगेका बल्कोट अर्घाखाँची सम्पर्क समाजका राहुल कुमाल १५ जना सहकर्मीसँगै पुगेका थिए । गेटमा भिड अत्यधिक बढेकाले त्यत्तिकै फर्कनुपर्ने कि भन्ने पीर थियो । छोटो समयका लागि गेट खुलेको मौका पारेर उनीहरू स्टेज छेउमै पुगी पूरै अवधि भरपुर मनोरञ्जन लिए । बमबहादुर कार्की र शिभा आले कार्कीले ‘डाँडैको देवी देउराली’ गीतमा रम्दा घरगाउँ पुगेकै अनुभूति भएको उनीहरू बताउँछन् ।
अहिलेसम्म यसरी खुल्ला आकाशमुनि दुबईमा नेपालीका कुनै कार्यक्रम भएका थिएनन । कुनै क्लब, दोहोरी साँझ, तथा होटलका हलका कार्यक्रमभन्दा सिङ्गो नेपाललाई प्रतिबिम्बित गर्ने नेपालको परम्परागत झाँकी, नृत्यहरू प्रस्तुत गर्नुका साथै नेपालबाट आएको सांगीतिक समूह सुरसुधालगायतका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक तथा नृत्य प्रस्तुतिले फरकपनको महसुस गरायो । कार्यक्रममा यूएई सरकारका उच्च पदाधिकारी, विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुख, विभिन्न अन्तर्रराष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिक शुभचिन्तकसहित ५० हजार जनाले सहभागिता जनाए ।
फेस्टिभलमा नेपाली खानेकुरा, पर्यटन, हस्तकला तथा नेपाल झल्काउने किसिमका विभिन्न ५० भन्दा बढी स्टल राखिएका थिए । अनुमान गरेको भन्दा बढी नेपालीको उपस्थितिले खानेकुरासमेत अभाव भयो । विदेशी पाहुनासहितको औपचारिक कार्यक्रम अबेर राखिएको थियो । विहानैदेखि संघसस्था तथा समुदायको मार्चपासलगयातका कार्यक्रम थिए । समय व्यवस्थापन गर्न नसक्दा साँझपखको कार्यक्रममा समस्या समेत देखिए ।
नेपालबाट आएका कलाकारको प्रस्तुति हेर्न टाढा-टाढा बाट आएका दर्शकहरूले दिनभर पार्कमा बसेर प्रतीक्षा गरे । राष्ट्रिय कलाकारहरूलाई स्टेजमा ल्याउन पर्ने बेलामा प्रमुख अतिथि तथा विशेष पाहुनाहरूलाई छोटो मन्तव्य दिन बोलाउँदा कतिपयले भाषणभन्दा पनि संगीतमा जोड दिन भन्दै हल्ला गरिरहे । केहीले सरकारको आलोचनासमेत गरे । प्रमुख अतिथि स्वास्थ्य तथा जनसख्यामन्त्री पौडेलको भाषण लामो भएको भन्दै कतिपयले उनको विरोध पनि गरेका थिए ।
नेपाली दूतावास आबुधावीको हालैको तथ्यांकअनुसार झन्डै ७ लाख नेपाली यूएईमा कार्यरत् छन् । विदेशमा रहेका नेपालीको व्यवहारकै कारण नेपालको इज्जत र प्रतिष्ठा कायम गरी अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भइ एकआपासमा मिलेर कार्य गरेकै कारण पनि नेपालीको माग यूएईमा धेरै क्षेत्रमा छ ।

यसै कुरालाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो सम्बोधनको क्रममा पनि उल्लेख गरे । यस प्रकारका कार्यक्रमले नेपाल र यूएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउँदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रूपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने राजदूत क्षेत्रीले बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालमा नै लगानी भित्र्याउन यूएईमा रहेका नेपालीलाई आह्वान गरेका थिए ।
उद्यमी ढकाल बोलिरहँदा कार्यक्रमस्थलबाट केहीले कोशी प्रदेशको ताप्लेजुङमा निर्माण गर्न लागिएको केबलकारको विरोध गरेका थिए । ‘नो केबलकार’ को कुरा उठेपछि ढकाल शान्तरूपमा मुस्काउँदै, खिसिक्क हाँसेर प्रस्तुत भए ।
मुस्काउँदै उनले थपे, ‘विदेशमा कमाएको केही हिस्सा देशमा लगानी गर्नुपर्छ । सकारात्मक भएर मुलुक फर्कनुहोस् ।’
गैरआवासीय नेपाली संघ, यूएईका अध्यक्ष विकास शाहीले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।
हास्यकलाकार सन्दीप क्षेत्री र पूर्व मिस नेपालले नायिका तथा मोडल नर्मता श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको सांगीतिक कार्यक्रमको आकर्षणको रूपमा गायिका शान्ति श्री परियार, गायक अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान र बमबहादुर कार्की, शिभा आले कार्की, कविता रानाभाट तथा थुप्रै स्थानीय कलाकारले आफ्ना लोकप्रिय गीत तथा प्रस्तुति देखाउँदा दर्शकहरू झुमेका थिए ।
विशेष आकर्षण बन्यो बालबालिकाको प्रस्तुति
विशेष गरी यूएईमै जन्मिएका र हुर्केका बालबालिकाको प्रस्तुति कार्यक्रममा सबैभन्दा आकर्षणको केन्द्र बन्यो । १४ जना बालिका र ८ जना बाल कलाकार गरी २२ जनाले ६ मिनेटको बाल प्रस्तुति दिएका थिए । बालबालिकाको प्रस्तुतिलाई विगत एक महिनादेखि अञ्जली भट्टराईले संयोजन गरिरहेकी थिइन् ।
भट्टराईका अनुसार ‘बालबालिकामार्फत संस्कृति र देशप्रेमको बीउ विदेशमा पनि रोप्ने उद्देश्य’ ले प्रस्तुतिलाई विशेष बनाउन प्रयास गरिएको थियो । बिहान १० बजेबाट पार्क खुल्ला गरिएको भएपनि सांस्कृतिक कार्यक्रममा ढिलाइ भएको थियो ।

पहिले आयोजक तथा सहयोगी विभिन्न सामाजिक संघसस्थाको ब्यानरसहित मार्चपास गरिएको थियो । आयोजकले समयको तालमेल मिलाउन नसक्दा नेपालबाट आएका केही चर्चित कलाकार स्टेजमा उक्लिन भने पाएनन् । यूएईकै चर्चित ब्यान्ड ‘काभ्या’, वरिष्ठ गायक रोज मोक्तान लगायतले आफ्नो प्रस्तुति देखाउन पाएनन् ।
भिड व्यवस्थापनमा स्वयंसेवकलाई हम्मेहम्मे परेपछि पार्क व्यवस्थापन प्रशासनले कार्यक्रमलाई १ घण्टा पहिले नै बन्द गरिदिँदा आयोजकले दर्शकमाझ स्टेजबाट माफीसमेत माग्न पाएन । कलाकारको प्रस्तुति हेर्न आएका जनजाति समुदायको एउटा ठूलो जमातले आफूहरूमाथि अन्याय भएको भन्दै केहीबेर विरोध गरेका थिए । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा टिका टिप्पणीसमेत गरिएको छ ।
कार्यक्रममा नेपालीको भिड बाक्लिँदै गएपछि सुरक्षाका हिसाबले त्यस क्षेत्रमा थप भिड नहोस् भन्नका लागि त्यहा मोबाइल नेटवर्क तथा इन्टरनेट समेत सट डाउन गरेर कार्यक्रमलाई सफल बनाउने प्रयास गरिएको थियो ।
‘नो आशन, नो भाषण’ – ‘नो खादा नो माला’
यूएईमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता तथा संघसस्थाका प्रतिनिधिले कार्यक्रमको आर्थिक पक्षमा पारदर्शिताको माग गरेका छन । कार्यक्रम सोचेभन्दा पनि सफल भएको भन्दै कतिपयले भविष्यमा पनि यस्तै कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा जनाएका छन् । पार्क इन्ट्रीका लागि ५ धिराम ( झन्डै १७० रूपैया) मात्रै तोकिएको थियो ।
कार्यक्रमपछी नेपाल प्रेससँगको कुराकानीमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पहिलो कार्यक्रमबाट हौसला मिलेको भन्दै थप व्यवस्थित तरिकाले नेपाली समुदायसँगको सहकार्यमा आगामी वर्षमा यूएईका अन्य राज्यमा पनि यस्तै कार्यक्रमको निरन्तरता दिइने लक्ष्य राखिएको बताए ।

मूल आयोजक समितिका संयोजक विकास शाहीले कार्यक्रममा ‘नो खादा नो माला’ नो आशन नो भाषण अनुरूप सञ्चालन गरिएको बताए । पहिलो पटक भएकाले थुप्रै कमीकमजोरी हुन सक्ने भन्दै शाहीले आगामी दिनमा त्यसतर्फ ध्यान दिने बताए ।
