Category: प्रवास

  • गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

    गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

    सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।

    विभागले आइतबार सूचना प्रकाशन गर्दै नेपाली मूलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरिएको जनाएको हो ।

    विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति भने दिइने जनाएको छ भने नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउनेछन् ।

    विदेशी नागरिकलाई पूर्वस्वीकृति विना स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइएको छैन । सबै विदेशीले यात्रा शुरु गर्नुभन्दा बढीमा ७२ घण्टाको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट र दश दिनको क्वारेन्टिन अनिवार्य रहेको छ । यसअघि सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएकालाई मात्र अनअराइभल भिसा दिने गरिएको थियो ।

  • प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले भन्यो- रमेश पाण्डे नै आधिकारिक अध्यक्ष

    प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले भन्यो- रमेश पाण्डे नै आधिकारिक अध्यक्ष

    काठमाडौं । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले संसद विघटनको मुद्दामा स्वतन्त्र न्यायालयमाथि हुने हस्तक्षेप र दबाबको विरोध गरेको छ । अदालतमै विषय प्रवेश गरेकाले न्यायिकरुपमै त्यसको निरुपण हुनुपर्ने माग पनि मञ्चले राखेको छ ।

    अध्यक्ष रमेश पाण्डेले विज्ञप्ती जारी गर्दै मञ्च सामाजिक संस्था भएकाले राजनीतिक विवादलाई दबाबभन्दा कानुनीरुपले समाधान गर्नुपर्ने उल्लेख छ ।

    मञ्चले केपी ओली नेतृत्वको सरकारले देश र जनताको लागि विकास र सम्बृद्धिका पक्षमा गरको कामलाई समर्थन जनाएको समेत उल्लेख गरेको छ । अर्को पक्षले सामाजिक संजाल र मिडियामा मन्चको नेतृत्वको बारेमा भ्रमपूर्ण अफवाह फैलाएकाले रमेश पाण्डे नेतृत्वको समितिनै आधिकारिक रहेको प्रष्ट पारेको छ ।

  • जेठसम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध

    जेठसम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध

    साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् ।

    कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

    साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो बर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाई भएकाले यात्रा प्रतिवन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

    साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल ६ हजार ३६८ जनाको मृत्यु भएको छ ।

  • कतारमा विवेकशील साझा पार्टी एकीकरण

    कतारमा विवेकशील साझा पार्टी एकीकरण

    दोहा- विवेकशील साझा पार्टी कतारमा पनि एकीकरण भएको छ । कतार इकाइको संयोजकमा गणेश कार्की र सहसंयोजकमा जयशंकर शाह चयन भएका छन् ।

    दुबै दल एकीकृत भएपछि आयोजित कार्यक्रममा सँगै मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । राष्ट्रिय अध्यक्ष रविन्द्र मिश्रले हिमाल, पहाड र तराईबाट प्रतिनिधित्व हुने किसिमले समावेशी कार्यसमिति गठन गरिएको बताए ।

  • बेलायतबाट नेपाल आउनेलाई पीसीआर र क्वारेन्टिन अनिवार्य

    बेलायतबाट नेपाल आउनेलाई पीसीआर र क्वारेन्टिन अनिवार्य

    काठमाडौं । नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमण भएका बेलायत लगायतका मुलुकबाट नेपाल आउने यात्रुले अनिवार्य पीसीआर परिक्षण तथा क्वारेन्टिन लगायतका मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

    लन्डनस्थित नेपाल दुतावासले विज्ञप्ती जारी गर्दै नेपाल जान लागेका यात्रुलाई कोभिड–१९ मापदण्ड लागु गरेको हो ।

    ७२ घन्टाभित्रको कोभिड परिक्षण रिपोर्ट हुनुपर्ने, यात्राअघि मिति तथा हवाइ उडान सम्बन्धी विवरण राजदुतावासलाई जानकारी दिनुपर्ने, हवाइ टिकट खरिद गर्दा पर्यटन मन्त्रालयले सूचिकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य बुक गरेको हुनुपर्ने सर्त छन् ।

    गैरआवसिय नेपालीले यात्रा गर्नुअघि अनिवार्यरुपमा दुतावासबाट भिजा लिनुपर्ने र नेपालसँग सीमा जोडिएका मुलुकको स्थल मार्गबाट यात्रा नगर्नुहुन समेत दुतावासले आग्रह गरेको छ ।

    बेलायतमा फैलिएको कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि भेटिएको छ । जसले गर्दा नेपाल सरकारले बेलायत लगायतका मुलुकको यात्रालाई कडाइ गरेको छ ।

  • एचफोर भिजामा परिवारलाई अमेरिका लैजान सकिने

    एचफोर भिजामा परिवारलाई अमेरिका लैजान सकिने

    काठमाडौं । एच–फोर भिजा प्राप्त गरेर अमेरिकामा अस्थायी बसोबास गरेकाले अबदेखि परिवार सँगै लैजान पाउने भएका छन् । ह्वाइट हाउसले बुधबार बेलुका विज्ञप्ती जारी गर्दै राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनले लादेको एच–फोर भिजाको नीतिलाई उल्टाएको हो ।

    यो भिजा वाहकले अमेरिकी अर्थतन्त्रमा विशेष योगदान दिएको भन्दै बाइडेनले उनीहरुको परिवारलाई पनि सँगै लैजान पाउने नीति अख्तियार गरेका हुन् । यो भिजाअन्तर्गत अमेरिकामा बैज्ञानिक, चिकित्सक र शिक्षक र अस्थायी विदेशी कर्मचारी काम गर्दै आइरहेका छन् ।

    एच–फोर भिजा खारेज गर्दा त्यसले अमेरिकी अर्थतन्त्रलाई क्षति पु¥याउन सक्ने भन्दै बाइडेनले ट्रम्पको निर्णयलाई उल्टाएका हुन् । बाइडेनको अध्यागमन नीतिले कागजपत्रविहिन ११ मिलियनलाई बैधानिक हुने बाटो खोलेको बताइन्छ ।

  • कोरोना संक्रमणबाट बेलायतमा नेपाली डाक्टरको निधन

    कोरोना संक्रमणबाट बेलायतमा नेपाली डाक्टरको निधन

    कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ ।

    ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आउनुभएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिनुभयो।

    कोरोना सङ्क्रमण भई यही माघ ५ गतेदेखि अस्पतालमा उपचार भइरहेकै अवस्थामा अचानक मस्तिष्काघात भएपछि उहाँको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई भेट्न बोलाएको थियो ।

    परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन ।

    गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गर्नुभएका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गर्नुभएको थियो । पछिल्लो समय यहाँ बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहनुभएका उहाँ केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत आउनुभएको थियो ।

    राजनीतिकरूपमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित हुनुभएको थियो । त्यसपश्चात् ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास हुनुभएको थियो । उहाँलाई नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा पनि नियुक्त गरेको थियो । स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

  • प्राध्यापक डा. लक्सम्बाको मस्तिष्काघातबाट बेलायतमा निधन

    प्राध्यापक डा. लक्सम्बाको मस्तिष्काघातबाट बेलायतमा निधन

    रासस । कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एक नेपालीको बेलायतमा उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आउनुभएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए।

    कोरोना सङ्क्रमण भई यही माघ ५ गतेदेखि अस्पतालमा उपचार भइरहेकै अवस्थामा अमस्तिष्काघात भएपछि उहाँको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई बोलाएको थियो । परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन ।

    गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए ।

    पछिल्लो समय बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत आएका थिए।

    राजनीतिमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अनेरास्ववियूबाट अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित भएका थिए । त्यसपश्चात् ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास लिएका थिए । उनलाई नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा पनि नियुक्त गरेको थियो । स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा छन् ।

  • एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

    एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।

    विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र सङ्घका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरे ।

    महाधिवेशनले एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको सङ्घको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

    सङ्घमा आर्थिक व्यवस्थापन र पारदर्शीता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनका लागि गोवा कटुवालका संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

    महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरियो । विधानमा रहेका संशोधित प्रावधानअनुरुप काम कारवाही अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एनआरएनएका अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक डा शेष घले, पूर्वाध्यक्ष एवं अन्य संरक्षक देवमान हीराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा, सङ्घ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधि तथा नेपाली काँग्रेसका नेता गोविन्द भट्टराईलगायतको सहभागिता थियो ।

  • कोभिड प्रभावित नेपालीलाई पोर्चुगल सरकारको राहत

    कोभिड प्रभावित नेपालीलाई पोर्चुगल सरकारको राहत

    काठमाडौं । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई पोर्चुगल सरकारले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट चार सय नेपाली समुदाय लाभान्वित भएका थिए ।

    अहिले पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।

    राहत वितरण व्यवस्थित गर्न कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण संकलन गर्न समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न संघ–संस्थाका प्रतिनिधि र पत्रकारहसहितको तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ ।

    उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुलाई पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिए । कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ ।

  • गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा

    गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा

    गैरआवासीय नेपाली संघ(एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

    एनआरएनएको विशेष साधारणसभाको आज भर्चुअल उद्घान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

    मन्त्री ज्ञवालीले संघले संकटका बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको जनाए । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्दै भने–, संकटको यस अहं परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।

    नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरिएको जानकारी समेत दिए ।

    महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विपन्न देश नेपालमा ठूलो लगानीको आवश्यकता रहेको र विदेशमा हरेक नेपालीले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनुपर्ने बताए ।

    एनआरएनका प्रमुख संरक्षक तथा पूर्वाध्यक्ष शेष घलेले संस्थालाई साझा सङ्गठनका रुपमा अघि बढाएर सानो संयुक्त राष्ट्र संघका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । अर्का पूर्वाध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउण्डेशनन, भिजन २०२० लगायत विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।

    संघका संरक्षक तथा पूर्वाध्यक्ष जीवा लामिछानेले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नाको विल्कप नभएको बताउँदै गैरआवासीय नेपालीले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाइराख्न सबैलाई आग्रह गरे ।

    एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियानअनुसार सबैलाई संस्थाको विकासका लागि एकता आह्वान मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीका लागि जोड दिए ।

    कार्यक्रममा एनआरएनएका संस्थापक रामप्रताप थापाले संस्थाभित्र मेरो र तेरो नभई सामूहिक रुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नुपर्नेमा जोड दिए । भर्चुअल रुपमै दुई दिनसम्म चल्ने संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

    एनआरएनएका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा सञ्चालन संस्थाका उपाध्यक्ष रविना थापा, महासचिव डा हेमराज शर्मा, सल्लाहकार कुल आचार्य, टिबी कार्की, उपाध्यक्ष डा बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिए।

  • हिमानी कोषको शाखा अष्ट्रेलियामा, हिमानीले दिइन् भिडियो सन्देश

    हिमानी कोषको शाखा अष्ट्रेलियामा, हिमानीले दिइन् भिडियो सन्देश

    पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गरेको सेवामुलक संस्था हिमानी कोषको कार्यक्षेत्र अब अन्य देशमा पनि बिस्तार हुने भएको छ । नेपाल बाहिर पहिलोपटक अष्ट्रेलियामा हिमानीले सो संस्थाको शाखा स्थापना गरेकी छन् ।

    शाखा उद्घाटनका अवसरमा भिडियो सन्देश जारी गर्दै हिमानीले अष्ट्रेलियामा हिमानी कोष दर्ता भइसकेको जानकारी दिइन् । अन्य देशमा पनि कोष बिस्तारको क्रममा रहेको उनले बताइन् ।

    ‘हामी विभिन्न देशमा बिस्तार हुने क्रममा छौं । नेपालका गरिब र दुखीको जीवन र समग्र राष्ट्रको मुहारमा परिवर्तन ल्याउन केही हदसम्म योगदान पुगोस भन्ने हाम्रो उद्देश्य हो,’ हिमानीले भिडियो सन्देशमा भनेकी छ।

    आफूहरुको मूल धर्म नेपाल र नेपालीको सेवा मात्र भएको भन्दै उनले देश र विदेशमा रहेका नेपालीहरुबाट साथ र सहयोगको अपेक्षा राखिन् । नेपालमा भूकम्प, बाढी–पहिरो, कोरोना महामारीजस्ता संकटका समयमा कोषले अहोरात्र काम गरेको उको भनाइ छ ।

  • गैरआवसिय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्रीले गरे भर्चुअल सम्बोधन

    गैरआवसिय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्रीले गरे भर्चुअल सम्बोधन

    काठमाडौं । गैरआवसिय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअलरुपमा सुरु भएको महाधिवेशन आइतबारसम्म चल्नेछ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनलाई सम्बोधन गरे । महाधिवेशनले गत कार्यकालको आर्थिक प्रतिवेदन पारित गर्ने र विधानमा आवश्यक संसोधन गर्ने अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

  • नेपालीको घनाबस्ती भएको हङकङको जोर्डनमा लकडाउन

    नेपालीको घनाबस्ती भएको हङकङको जोर्डनमा लकडाउन

    काठमाडौं । कोरोनाभाइरस संक्रमणमा वृद्धि भएपछि हङकङमा शनिबारदेखि लकडाउन सुरु भएको छ । भाइरसलाई नियन्त्रण गर्न पहिलोपटक हङकङले सहरलाई लकडाउन गरेको हो ।

    हङकङमा पहिलो संक्रमण पुष्टि नेपालीको घनाबस्ती रहेको जोर्डन क्षेत्रमा भएको थियो । शुक्रबार मात्रै ६१ जनामा संक्रमण र १ जनाको मृत्यु भएको थियो । बढी संक्रमण जोर्डनमै देखिएको छ ।

    हङकङ सरकारले विज्ञप्ती जारी गर्दै लकडाउन–कन्ट्याक्ट ट्रेसिङ र परिक्षणलाई एकसाथ अघि बढाउने बताएको छ । हङकङको रात्रीकालिन पर्यटकीय थलो जोर्डनको टेम्पल स्ट्रिट पनि लकडाउनमा छ ।

    परिक्षण नभएसम्म घरबाट बाहिर निस्कनमा रोक लगाइएको छ । ४८ घन्टाभित्र सबैजनालाई परिक्षण गर्ने सरकारी तयारी छ ।

  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ ।

    शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।

    क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौं अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्मु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।

    मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

    उनले भने, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ ।’

    निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

    निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

    निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

  • श्रम सम्झौता भएको ४ महिना पछि इजरायलसँग कार्यान्वयन सम्झौता

    श्रम सम्झौता भएको ४ महिना पछि इजरायलसँग कार्यान्वयन सम्झौता

    काठमाडौं । नेपाल सरकार र इजरायल सरकारविच श्रम सम्झौता भएको ४ महिनापछि नेपाली कामदार इजरायल पठाउने विषयले पुर्णता पाएको छ ।

    नेपाल सरकार र इजरायल सरकारविच आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सम्झौता भएको ४ महिना पछि कार्यान्वयन भएको हो । यो सँगै नेपाली कामदार वैदेशिक रोजगारीको शिललिशामा इजरायल पठाउने विषयले पुर्णता पाएको छ । नेपाल सरकार र इजरायल सरकारविच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

    श्रम सम्झौताको अभिन्न अंगका रुपमा रहेको कार्यान्वयन सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनानले सम्झौता अनुसार नेपालबाट जाने कामदारको लागि कुनै विभेद नगरी इजरायलका नागरिक सरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको बताए । उनले नेपाल सरकारले छिट्टै प्रक्रिया सुरु गर्ने पनि विस्वास व्यक्त गरे ।

    नेपाल सरकारको तर्फबाट हस्ताक्षरकर्ता विभागका महानिर्देशक दहालले सम्झौता अनुसार इजरायल जाने नेपाली कामदारको लागि एक आन्तरिक कार्यविधि तर्जुमा गरी छिट्टै प्रक्रिया थालनी गर्ने नेपाल प्रेसलाई जानकारी दिए । तर प्रक्रिया पुरा हुन केहि समय भने लाग्ने सक्ने उनले बताए । इजरायलका लागि नेपालका राजदूत डाक्टर अन्जान शाक्यले नेपाल–इजरायल श्रम सम्झौताले दुवै देश बीचको मित्रतामा थप टेवा पुग्ने विस्वास भर्जुअल माध्यमबाट व्यक्त गरे ।

    कोरोनाको महामारीका बीचमा नेपलाी नागरिकलाई इजरायलमा रोजगारीको अवसर प्राप्त हुन लागेकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले खुसी व्यक्त गरे । इजरायलबाट नेपालले सीप तथा प्रविधि हस्तान्तरणमा उल्लेख्य उपलब्धी हाँसिल गरिरहेको र आगामी दिनमा कृषि लयागत रोजगारीका अन्य क्षेत्रमा समेत नेपाली नागरिकलाई रोजगारीको अवसर मिल्ने विस्वास व्यक्त गर्दै यस प्रक्रियामा संलग्न दुवै देशका राजदुत लगायत सम्बद्ध कर्मचारीलाई मन्त्री चौधरीले धन्यवाद व्यक्त गरेको मन्त्रालयका सह–सचिव एवम प्रवक्ता भरतमणि सुवेदीले बताए ।

    सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको सेवा, सुविधा, हित र सुरक्षालाई ध्यानमा राखेर विभिन्न मुलुकसंग द्विपक्षीय श्रम सम्झौता मार्फत नेपाली कामदार पठाउने नीति लिएको छ । त्यसै नीति अनुसार आज नेपाल सरकार र इजरायल सरकारकाविच नेपाली कामदार पठाउने विषयमा कार्यान्वयन सम्झौता भएको उनको भनाइ छ ।

  • प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न जिफन्टको ध्यानाकर्षण

    प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न जिफन्टको ध्यानाकर्षण

    काठमाडौं । नेपाल ट्रेड युनियन महासंघले आगामी वैशाख १७ र २७ मा निर्धारित मध्यावधि निर्वाचनमा प्रवासमा रहेका नेपाली श्रमिकलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    महासंघका अध्यक्ष विनोद श्रेष्ठले बुधवार निर्वाचन आयोगसमक्ष पत्र लेखी सर्वाेच्च अदालतको निर्देशन समेत स्मरण गराउँदै प्रवासमा रहेका नेपालीहरुले मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका हुन् ।

    कम्तीमा पनि मतदाता नामावलीमा नाम समावेश भएर मतदान परिचयपत्र प्राप्त गरेका प्रवासी नेपालीलाई सम्बन्धित देशबाटै मतदानको आवश्यक व्यवस्था गर्न जिफन्टले ध्यानाकर्षण गराएको हो ।

    सर्वोच्च अदालतले २०७४ चैतमा प्रवासमा रहेका नेपाली मतदाताहरुको मताधिकार सुनिश्चितताको लागि आवश्यक व्यवस्था गर्न सरकार र निर्वाचन आयोग समेतलाई निर्देशन जारी गरेको थियो । यसैबीच नेकपा प्रवास इन्चार्ज विन्दा पाण्डेले प्रवासी नेपालीलाई मतदानको अधिकारबाट वन्चित नगर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

  • नेकपा विभाजनको असर प्रवासमा, डेनमार्कमा ओली पक्षको नयाँ नेतृत्व

    नेकपा विभाजनको असर प्रवासमा, डेनमार्कमा ओली पक्षको नयाँ नेतृत्व

    काठमाडौं । नेकपा विभाजनसँगै प्रवासमाा रहेका कार्यकर्ता पनि विभाजित भएका छन् । नेकपाको प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च डेनमार्कमा केपी अ‍ोली पक्षले नयाँ कमिटी गठन गरेको छ ।

    प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहेका नेकपा नेता डा.राजन भट्टराईको भर्चुअल उपस्थितिमा प्रवासी नेपाली मन्च पुनर्गठन गरिएको पूर्व अध्यक्ष घनश्याम गौतमले बताए । शिव चापागाईको अध्यक्षतामा भएको बैठकमा पुष्प तिमल्सिना,घनश्याम गौतम,सुशील घिमिरे,सुमन थापा लगायतले ओलीको कदमको पक्षमा बोलेका थिए ।

    सोही बैठकले शिव चापगाई अध्यक्ष र राघवेन्द्र कार्की रविन सचिव रहने गरि प्रवासी नेपाली मञ्च डेनमार्क पुनर्गठन गरेको छ । कमिटीमा घनश्याम गौतम,शुशिल घिमिरे,कृष्ण धानुक, शिब कार्की, नरेन्द्र बहादुर बस्नेत,,उद्दब भट्टराई,चित्र प्रसाद पन्त,कृष्ण प्रसाद पराजुली, बिशाल थापा, शुसिल पहारी, रंजना श्रेष्ठ, अर्जुन पौडेल, शालिकराम शर्मा, राजेन्द्र भट्ट, भुवन ध्वज थापा, गोपाल नेपाल, सुमन थापा, रोहन घिमिरे, शुसन बराल सदस्य छन् ।

  • विपन्न विद्यार्थीलाई हेम-सरिता फाउन्डेसनले घोषणा गर्‍यो १० हजार डलरको छात्रवृत्ति

    विपन्न विद्यार्थीलाई हेम-सरिता फाउन्डेसनले घोषणा गर्‍यो १० हजार डलरको छात्रवृत्ति

    काठमाडौं । आर्थिक समस्याले उच्च शिक्षा अध्ययन गर्न नसकिरहेका दक्षिण एसियाली विपन्न विद्यार्थीका लागि हेम–सरिता पाठक फाउन्डेसनले छात्रवृत्ति दिलाउने भएको छ ।

    नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने भएका छन् । फाउन्डेसनले विज्ञप्ती जारी गर्दै उच्च शिक्षा अध्ययन गर्न नसकेका र निम्न आय भएका विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशीको छात्रवृत्ति घोषणा गरेको हो ।

    वैश्विक चुनौतिसँग जुध्ने सक्ने, समुदायमा समर्पित र अरुको जीवनमा योगदान दिन सक्ने खुबी भएको विद्यार्थीलाई छात्रवृत्तिको लागि प्राथमिकतमा राखिने भएको छ । साथै, अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने र छात्रवृत्तिबाट बञ्चित विद्यार्थीलाई लक्ष्य राखिएको छ ।

    अमेरिकाबाट आइ–ट्वान्टी प्राप्त, ३.५ जीपीए, संघसंस्था र विभिन्न समुदायको हितमा सक्रियलाई छात्रवृत्तिको मापदण्डमा राखिएको छ । फेब्रुअरी १ देखि खुला हुने आवेदनको अन्तिम मिति अप्रिल १५ रहेको छ । मे १५ मा उत्कृष्ट पाँच घोषणा गरिने र जुलाइ १५ मा छात्तवृत्ति घोषणा गरिने जनाइएको छ ।

    मायाज देसी बुटिकसँग मिलेर हेम–सरिता पाठक फाउन्डेसनले छात्रवृत्ति लन्च गरेको हो ।

  • कोरोनबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुग्यो

    कोरोनबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुग्यो

    काठमाडौं । कोरोनाभाइरसबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुगेको छ । २० देशमा नेपालीले ज्यान गुमाएको गैरआवसिय नेपालीको स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

    यो साता बेलायत र दक्षिण अफ्रिकामा थप एक–एक जना नेपालीले ज्यान गुमाएका छन् ।

    संघका स्वास्थ्य विभाग प्रमुख चीरन शर्माका अनुसार भाइरसबाट जर्मनीमा नेपालीको पहिलो मृत्यु भएको थियो । जापान, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, पोर्चुगल र भारतमा सबैभन्दा बढी नेपाली संक्रमित भएका छन् ।

    अहिलेसम्म ५०४९ देशमा ५४ हजार ५१९ नेपाली संक्रमित भएका छन् । ५२ हजार ९४५ नेपाली रिकभर भएका छन् । विदेशमा नेपाली निको हुने दर चाहिँ ९५ प्रतिशत छ ।

  • अन्तराष्ट्रिय गायन प्रतिस्पर्धा हल अफ फेमको दोस्रो सिजन सुरु, १२ देशका नेपाली प्रतिभा सहभागि

    अन्तराष्ट्रिय गायन प्रतिस्पर्धा हल अफ फेमको दोस्रो सिजन सुरु, १२ देशका नेपाली प्रतिभा सहभागि

    सिड्नी –अन्तराष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेम सिजन २ सुरु भएको छ । विदेशबाट नेपालीले पहिलोपटक डिजिटल प्लेटफर्ममा गायन कम्पिटिसन आयोजना गरेका हुन् । शुक्रबारदेखि सुरु भएको कार्यक्रममा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट ५० जना प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागि गराइने भएको छ ।

    अष्ट्रेलियाको एमएनटीभी र नेपालको हिमालय टिभीबाट एकसाथ प्रसारण गरिने जनाइएको छ । कोभिड–१९ महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अनलाइन प्रतिस्पर्धामा सयभन्दा बढी प्रतिस्पर्धीले आवेदन दिएका थिए । तर, तीमध्येबाट उत्कृष्ट पचास छानिएको हो ।

    प्रतिस्पर्धामा निर्णायकको रुपमा गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल छन् । कार्यक्रम संचालकमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेसनिया २०२० जेमिना श्रेष्ठ छन् । प्रतिस्पर्धामा निर्णायकको मतलाई अन्तिम मानिने भएको छ । निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकीय प्रतिक्रियालाई ३० प्रतिशत मानिने भएको छ ।

    बरिष्ठ गायक एवं निर्णायक दीप श्रेष्ठले विदेशमा रहेका सांगीतिक प्रतिभालाई पनि खुबी देखाउने अवसरको रुपमा हल अफ फेम स्थापित हुने विश्वास व्यक्त गरे । उमेरको कुनै बन्देज नलगाइएको प्रतियोगितामा १२ देशबाट नेपाली प्रतियोगी सहभागि छन् । टाइटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कारसहित गीत रेकर्ड, म्युजिक भिडियो निर्माणको अवसर पाउने भएका छन् ।

  • परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

    परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन्। ज्ञवाली परराष्ट्र सविच भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा केहीबेरअघि दिल्ली प्रस्थान गरेका छन्।

    दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए ।

    मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् । यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ।

    तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ।

  • अमेरिकामा कामदार पठाउन सक्ने योग्य देशको  सूचीमा नेपाल समेटियो

    अमेरिकामा कामदार पठाउन सक्ने योग्य देशको सूचीमा नेपाल समेटियो

    न्यूयोर्क । संयुक्त राज्य अमेरिकाले अस्थायी कृषि कामदार र अस्थायी गैरकृषि कामदारको सूची सार्वजनिक गरेको छ जसमा नेपाललाई पनि समावेश गरिएको छ । यो कार्यक्रमलाई एचटुए र एचटुबी भनिन्छ । आगामी जनवरी १९ देखि लागू हुने यो कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुने योग्य देशको सूची सार्वजनिक गरिएको हो ।

    केही देशले अस्थायी कृषि कामदार मात्र पठाउन पाउनेछन् भने केहीले अस्थायी गैरकृषि कामदारमात्र । केही देशहरु दुबै कार्यक्रममा कामदार पठाउन योग्य हुने भएका छन् । २०२१ को लागि फिलिपिन्सलाई एचटुबी कार्यक्रममा समावेश गरिएको छ भने सामाओ र टोंगालाई दुबै कार्यक्रमबाट हटाइएको छ । कृषि कामदार पठाउन पाउने सूचीमा नेपाललाई समावेश भने गरिएको छैन ।

    यो सूची अद्यावधिक गर्ने काम चाहिँ अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले गर्छ । तर, नेपालीहरु स्वतः योग्य हुने नभई युएससीआइएसले निधो गरेर मात्र भिसा दिने भएको छ । आर्थिक वर्ष २०२० मा ५१७ जनाले एच श्रेणीको कामदार भिसा प्राप्त गरेका थिए ।

  • बेलायत बस्दै आएका गायक केसीले गरे आत्महत्या

    डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

    पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका केसी पुनः बेलायत पुगेका थिए ।

    लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए । पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

  • प्रवासमा कांग्रेसको नीति प्रशिक्षणको संयोजक गौतम नियुक्त

    प्रवासमा कांग्रेसको नीति प्रशिक्षणको संयोजक गौतम नियुक्त

    काठमाडौं । प्रवासी नेपालीहरु रहेका विभिन्न देशमा नेपाली कांग्रेसको नीति,अनुसन्धान र प्रशिक्षण सम्बन्धी कामको समन्वय गर्ने जिम्मेवारी बेल्जियमका गंगाधर गौतमले पाएका छन् ।

    नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका युरोप महासचिव रहेका गौतमलाई नीति प्रतिष्ठाका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधीले प्रवासको संयोजक नियुक्त गरेका हुन् ।

    नेपाली जनसम्पर्क समिति रहेका सबै देशमा एक एक जना शाखा प्रमुख नियुक्त गर्ने अधिकार समेत निधीले गौतमलाई प्रत्यायोजन गरेका छन् ।

  • स्वदेश फर्कनुअघि भाबुक स्टाटस लेखेर किन गरे सुरतले आत्महत्या ?

    बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए ।

    फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

    एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगाली प्रहरीले बताएको छ ।

    यसैबीच कोरोनाका कारण सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन पुगेको छ ।

  • कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

    कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

    काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो ।

    यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए ।

    यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ ।

    इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् ।

    हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् ।

    यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।

  • भोलिदेखि जापानमा संकटकाल, ७० प्रतिशतले रोजगारी गुमाउने

    भोलिदेखि जापानमा संकटकाल, ७० प्रतिशतले रोजगारी गुमाउने

    कोरोनाभाइरस संक्रमण दर उच्च भएपछि जापानी प्रधानमन्त्री यासिहिदे सुगाले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । शुक्रबारदेखि लागु हुने संकटकाल राजधानी टोक्योसहित चिवा, सैतामा र कानागावामा लगाइने भएको छ । संकटकाल समयमा मानवीय आवागमनमा कडाइ गरिने भएको छ ।

    प्रधानमन्त्री सुगाले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन र ७० प्रतिशतले कामदार कटौती गर्न रोजगारदातालाई आदेश दिएका छन् । यो निर्देशनपछि जापानमा रहेका नेपालीले पनि उच्च संख्यामा रोजगार गुमाउने अनुमान गरिएको छ । आपतकाल लागु हुने क्षेत्रका बासिन्दालाई अनावश्यक हिँड्डुल गर्न पनि भनिएको छ ।

    बेलुका ८ बजेदेखि नै रेष्टुरेन्ट बन्द गर्नुपर्ने भएकाले आतिथ्यता सम्बन्धी सेवा व्यवसाय प्रभावित हुने देखिएको छ । खेलसम्बन्धी गतिविधिलाई दर्शकको न्यून उपस्थितीमा खेलाउन भनिएको छ । सेवा समय कटौती गर्न भनिएका रेष्टुरेन्टलाई सरकारले १७ हजार ४०० अमेरिकी डलरको राहत पनि व्यवस्था गर्ने भएको छ । नियममा कडाइ गरिने भएपनि स्कुल भने खुलै हुने भएका छन् ।

    संकटकालका बाबजुद आगामी जुलाइमा हुने भनिएको ओलम्पिक र प्यारा ओलम्पिक निश्चित समयमै हुनेमा प्रधानमन्त्रीले जोड दिए । जापानको पहिलो राष्ट्रिय संकटकालचाहिँ गत स्प्रिङमा गरिएको थियो । भाइरस संक्रमण उच्च भएपछि सरकारले आपतकाल लागु गर्न लागेको हो । बुधबार मात्र जापानमा ५,९५३ कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।

  • नेपाली महिला समाज पोर्चुगलको निःशुल्क सौन्दर्य तालिम

    नेपाली महिला समाज पोर्चुगलको निःशुल्क सौन्दर्य तालिम

    नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ ।

    कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

    पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० नेपाली महिलाहरुको तालिममा सहभागिता छ । तालिम एक महिना सञ्चालन हुनेछ । तालिमको प्रशिक्षकका रूपमा पोर्चुगलमा लामो समय सौन्दर्य व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यावसायी मीरा कार्की रहेको नेपाली महिला समाज पोर्चुगलका अध्यक्षले निर्मला खराल ढकालले जानकारी दिइन् ।

    स्थापनाकालदेखि नै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय नेपाली महिला समाजले समस्यामा परेका नेपालीलाई सहयोग, नेपाली संस्कृतिको प्रचारप्रसार, नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्दै आएको छ ।

  • एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

    एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

    काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ ।

    संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष अधिवेशन आह्वान गरेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।

    संघका आइसीसी सदस्यहरु चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया), विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले संयुक्त रुपमा नेपाल सरकारसँग विशेष अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका हुन् ।

    संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती आउँदो जनवरी २३ र २४ का लागि विशेष अधिवेशन तोेकेको निवेदकहरुको दावी छ ।भौतिक रुपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुअल रुपमा गर्न खोजेको र त्यो विधान विपरीत हुने उनीहरुको तर्क छ ।

    ‘२०२१ जनवरी २३ र २४ तारिखमा आयोजन गर्ने भनिएको गैर आवासीय नेपाली संघको भर्चुएल विशेष महाधिवेशन प्रचलित नेपाल कानुन, संघको विधान तथा आम सदस्यहरुको भावना विपरित हुन लागेको, सो विशेष महाधिवेशन स्थगन गर्न संघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनवाई नगरेकोले वाध्य भई गैर आवासीय नेपाली सम्बन्धि नियमावलीको २०६६ को नियम १६ (१) बमोजिम अनुगमन गरी नियम १६ (२) बमोजिम निर्देशन दिई सो विशेष महाधिवेशन स्थगित गराई पाउँ’ परराष्ट्र मन्त्रालयमा पेश गरिएको निवेदनमा उल्लेख छ ।

    सन् २००३ मा स्थापना भएको संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यसका गतिविधि अनुगमन गर्दै आवश्यक निर्देशन दिने अधिकार मन्त्रालयमा रहेको छ । निवेदनमा संघको नेतृत्वले घोषणा गरेको विशेष अधिवेशन परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र शर्त विपरित समेत रहेको दावी गरिएको छ ।

    मन्त्रालयले तोकेको शर्तसमेत विपरित हुने गरी विशेष अधिवेशन आह्वान गरिएकोले त्यसलाई रोक्नुपर्ने उनीहरूले माग गरेका छन् ।संघको नवौं अधिवेशन गत २०१९ अक्टोबरको तेश्रो साता काठमाडौंमा भएको थियो ।

    सो अधिवेशनले २०१९–२०२१ कार्यकालका लागि समिति चयन गर्यो । तर, उत्पन्न विवादका कारण अघिल्लो कार्यसमितिले तयार पारेको आर्थिक र सांगठनिक प्रतिवेदन पारित हुन सकेनन् । तत्कालका लागि विवाद समाधान गर्न तीन महिना भित्र विशेष अधिवेशन गरी दुवै प्रतिवेदन पारित गर्ने सहमति भएको थियो ।

    निवेदकहरुले विधानसम्मत र व्यावहारिक हुने गरी विशेष अधिवेशनको प्रक्रिया शुरु गर्न सकिने भन्दै विधानको प्रतिकूल हुने गरी र अव्यावहारिक हुने गरी विशेष अधिवेशन नगर्न पनि माग गरेका छन् ।
    विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरिएकोबारे संस्थापन पक्षले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

    कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

    कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या ९२० देशका ० ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

    समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    अगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

    हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

    विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

    बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको ९उत्परिवर्तित० भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ । भारतसहित बेलायत, युरोपेलि मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

  • डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्ब्याएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।

    तर, जनवरी २० देखि राष्ट्रपतीय अफिस सम्हाल्ने तयारीमा रहेका जो बाइडेनले चाहिं ट्रम्पको यो कदमको निन्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै खराब अध्यागमन नीतिलाई सच्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रोकावट चाहिं कायमै रहने भएको छ ।

    ट्रम्पले प्रतिबन्ध लगाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् । २०२१ को लागि डीभी परेकाहरुले भिसा पाएका छैनन् भने २०२० मा डीभी परेका र गएको सेप्टेम्बरमा भिसा पाएका पनि अमेरिका जान पाएका छैनन् । सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका पुगिसक्नुपर्नेछ । नभए उनीहरुको भिसाको अवधि समाप्त हुनेछ । यस्तो बेला उनीहरुको भिसा के हुन्छ भन्नेबारे खुलाइएको छैन ।

    ट्रम्पले यस्तो निर्णय गर्दा डीभी परेका ४०० नेपाली नेपालमै रोकिएका छन् । मार्चभित्र अमेरिका नगए भिसा स्थगित हुने जनाइएको छ । अदालतको आदेशपछि डीभी परेका नेपालीको संख्या ४०४ रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

  • दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

    दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

    दक्षिण कोरियाली सरकारले नयाँवर्ष २०२१ का लागि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत ५२ हजार कामदार लैजाने भएको छ । यसैसाता बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिले यस्तो निर्धारण गरेको हो ।

    यो प्रणालीमार्फत १६ देशले कोरियामा कामदार पठाउन पाउनेछन् । तर, कुन देशबाट कति कामदार लैजाने निधो भएको छैन । सन् २०२० मा ५६ हजारलाई लैजाने कोटा भएपनि अझै ३० हजार ९ सय ९ जना कोरिया जान पाएका छैनन् । लकडाउन र महामारीको कारण नेपालबाट पनि जान पाएका छैनन् ।

    प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कामदार कोटामा छानिएकालाई लगिएपछि मात्र नयाँ कोटाका कामदारले प्राथमिकता पाउनेछन् । सन् २०२१ मा तोकिएका ५२ हजार कोटामध्ये ३७ हजार ७ सय जना उत्पादनमा, ६ हजार ४ सय जना कृषि क्षेत्रमा, ३ हजार माछापालन क्षेत्रमा, १८ सय जना निर्माण क्षेत्रमा, १ सय जना सेवा क्षेत्रमा रहनेछन् ।

    २०२१ को अप्रिलसम्म २२ हजार कामदारलाई रोजगार अनुमति दिने र बाँकी कामदार भने रोजगारदाताको माग र कोरियाको अर्थतन्त्र हेरेर निर्धारण हुने जनाइएको छ ।

  • नयाँ वर्षसँगै बढ्ने भयो कोरियामा कार्यरत नेपालीको तलब

    नयाँ वर्षसँगै बढ्ने भयो कोरियामा कार्यरत नेपालीको तलब

    काठमाडौं । दक्षिण कोरियाले अंग्रेजी नयाँ वर्षसँगै कामदारको न्यूनतम तलबमा वृद्धि गरेको छ । यो निर्णयसँगै कामदारले अब तलबभन्दा १.५ प्रतिशतले बढी तलब पाउनेछन् ।

    प्रतिघन्टा ८ हजार ७२० वन पाउने दक्षिण कोरियाली सरकारले जनाएको छ । सन् १९८८ यता कोरियाले कामदारको तलबमा वृद्धि गरेको हो । कोरोनाभाइरस महामारीले अहिले दक्षिण कोरिया आर्थिक संकटसँग जुधिरहेको छ ।

    सातामा ४० घन्टा काम गर्ने कामदारको ज्याला अब मासिक १८ लाख २२ हजार ४८० वन पुग्नेछ । यसको नेपाली मूल्य १ लाख ८२ हजार नेरु हुन आउँछ । राति १० देखि बिहान ६ बजेसम्म काम गर्नेले भत्ता समेत पाउनेछन् ।

    कोरियाको तलब निर्धारण समितिले नवौं बैठकमार्फत यस्तो निर्णय गरेको हो । बढेको तलबसँगै दक्षिण कोरियामा रहेका ४० लाख कामदारसहित ३५ हजार नेपाली कामदारले लाभ उठाउनेछन् । तर, यसलाई उल्लेखनीय तलब वृद्धि चाहिं मान्न सकिंदैन ।

  • प्रवासी नेपाली एकता मञ्चद्धारा संसद विघटनको स्वागत

    प्रवासी नेपाली एकता मञ्चद्धारा संसद विघटनको स्वागत

    प्रतिनिधिसभा विघटन गरि चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको कदमलाई नेकपाको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले स्वागत गरेको छ ।

    ‘संसदको केही वर्षको अवधी बाँकी छँदै आमनिर्वाचनमा जाने अवस्था बन्नु अवश्य पनि सुखद हैन’ मञ्चद्धारा जारी वक्तव्यमा उल्लेख छ, ‘तथापी यस विषम परिस्थितीको एकमात्र उपयुक्त विकल्प जनताको ताजा जनादेश लिनु नै हो ।’

    जनताले गर्ने फैसलाबाटै देश अगाडि बढ्नुपर्ने निष्कर्ष रहेको मञ्चले उल्लेख गरेको छ । ‘लोकतन्त्रमा जहिले पनि जनता न्यायाधीश हुने भएकाले नेपाली जनताको ताजा जनादेश लिन निर्वाचनमा सहभागि हुन आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्छौं’ वक्तव्यमा भनिएको छ ।

    पार्टीभित्र अराजक र शत्रुतापूर्ण अवस्था बनाइएकाले नै आजको यो अवस्था आएको जनाइएको छ । विज्ञप्ती जारी गर्नेहरुमा प्रभु थापा अमेरिका अध्यक्ष, रमेश पाण्डे अष्ट्रेलिया अध्यक्ष, चानक पोखरेल कतार अध्यक्ष, रमेश थापा क्यानडा अध्यक्ष, लोकनाथ भण्डारी भारत अध्यक्ष छन् ।

    साथै, तीर्थ गौतम इजरायल अध्यक्ष, गोविन्द पौडेल पोर्चुगल अध्यक्ष, भक्त वाग्ले फ्रान्स अध्यक्ष, विश्वास बजगाइँ नर्वे अध्यक्ष, हेम शेर्पा स्पेन अध्यक्ष, टंक कटुवाल पोल्यान्ड अध्यक्ष, उत्तम आचार्य चेक रिपब्लिक अध्यक्ष, धर्मराज पाण्डे इटाली अध्यक्ष छन् ।

    साथै, कोमल पौडेल फिनल्यान्ड अध्यक्ष, शालिग्राम पन्त बहराइन अध्यक्ष, आत्मराम खनाल न्यूजिल्यान्ड अध्यक्ष, चन्द्रकान्त आचार्य जर्मनी अध्यक्ष, मनमूर्ति भुर्तेल रसिया अध्यक्ष, शिव थापा मकाउ अध्यक्ष, पे्रमकाजी गुरुङ नेदरल्यान्ड अध्यक्ष, परशुराम सापकोटा दक्षिण कोरिया अध्यक्ष छन् ।

    साथै, राजकुमार थापा कुवेत अध्यक्ष, विक्रम केसी स्वीटजरल्यान्ड सचिव, बोधराज पौडेल बेल्जियम सचिव, गंगा घिमिरे स्वीडेन सचिव, चन्द्रकला निरौला आयरल्यान्ड सचिव, श्यामराज पाठक युएई सचिव, दयाराम कुमाल मलेसिया सचिव, यदुराम पन्थी चेक रिपब्लिक सचिव, मनोज भुषाल फिनल्यान्ड सचिव, मनोज जिसी न्यूजिल्यान्ड सचिव, महेशप्रसाद न्यौपाने ओमान सचिव र विनोदकुमार आचार्य पोल्यान्ड सचिव छन् ।