Category: प्रवास

  • एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले

    एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानको अध्यक्षमा पूर्वअध्यक्ष शेष घले चुनिएका छन् ।

    संघका अध्यक्ष कुमार पन्त लगायतले संस्थाका संरक्षक समेत रहेका घलेलाई बधाइ समेत दिएका छन् ।

    ‘नेपालको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि सरकारसँग मिलेर नीतिगत पहलकद्मीको पक्षमा काम गर्न उहाँलाई सफलता मिल्नेछ’ पन्तले भनेका छन् ।

    प्रतिष्ठान एनआरएनएको नीति निर्माण गर्ने प्रमुख निकाय हो ।

  • उच्च सुरक्षा घेराभित्रै हाइटीका राष्ट्रपतिको कसरी भयो हत्या ?

    उच्च सुरक्षा घेराभित्रै हाइटीका राष्ट्रपतिको कसरी भयो हत्या ?

    काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनल मोइसे बुधबार बन्दुकधारीहरुको आक्रमणमा आफ्नै निवासभित्र मारिए । उनकी पत्नी मार्टिन मोइसेसमेत घाइते भइन् । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजना आशंकितलाई गोली हानी मारेको छ ।

    बुधबार सबेरै आक्रमणकारीहरुले राष्ट्रपति भवनमा हमला गरेका थिए । छातीमा गोली लागेका राष्ट्रपतिको घटनास्थलमै मृत्यु भयो । उनकी पत्नी भने बालबाल बाँचिन् । उनलाई उपचारका लागि फ्लोरिडामा लगिएको छ । हाल उनको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।

    घटनामा आक्रमणकारीतर्फ चारजना मारिएको र दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रमुख लियोन चाल्र्सले बताएका छन् । टेलिभिजन वक्तव्यमा उनले आक्रमणकारीद्वारा बन्धक बनाइएका तीन प्रहरीको उद्धार गरिएको जानकारी पनि दिए ।

    ‘उनीहरु घटनास्थलबाट बाहिरिने क्रममा हामीले रोक्यौं, त्यसपछि सेनाले उनीहरुमाथि आक्रमण गर्यो,’ उनले भने ।

    घटनापछि बोल्दै कार्यवाहक प्रधानमन्त्री क्लाउड जोसेफले संयमता अपनाउन आग्रह गर्दै देशब्यापी आपत्कालको घोषणा गरेका छन् । अमेरिकालगायत विभिन्न देशका राष्ट्रपतिले घटनाको निन्दा गर्दै शान्तिको आह्वान गरेका छन् ।

    कसरी भयो आक्रमण ?

    अमेरिकी महादेशको गरिब राष्ट्रमा पर्छ हाइटी । मोइसे गत सन् २०१७ मा हाइटीका राष्ट्रपति बनेका थिए । पछिल्लो समय उनले राजीनामाका लागि चौतर्फी दवावको सामना गर्नुपरिरहेको थियो । सैनिक कु, राजनीतिक अस्थिरता, हत्या-हिंसा तथा प्राकृतिक प्रकोपले यो देशलाई दशकौंदखि जर्जर तुल्याइरहेको छ ।

    राष्ट्रपतिका रुपमा मोइसेको कार्यकाल सुखद थिएन । दुई महिनाभित्र राष्ट्रपपतिका लागि निर्वाचन गर्ने तयारी पनि भइरहेको थियो । मोइसेले नयाँ प्रधानमनत्रीमा एरियल हेनरीलाई नियुक्त गरेको २४ घन्टा नबित्दै यो आक्रमण भएका हो ।

    कार्यवाहक प्रधानमन्त्री जोसेफका अनुसार आक्रमणकारीहरु विदेशी नागरिक हुन् जो अंग्रेजी र स्पेनिस बोलिरहेका थिए । हाइटीको आधिकारिक भाषा क्रिओल र फ्रेन्च हुन् ।

    बुधबार स्थानीय समयअनुसार रातको एक बजे कालो लुगा लगाएका बन्दुकधारीहरु राष्ट्रपति निवासमा प्रवश गरेका थिए । उनीहरु अमेरिकी ड्रग एजेन्टको भेषमा भित्र पसेको केही समाचारहरुमा जनाइएको छ ।

    अमेरिकाका लागि हाइटीका राजदूत मोचिट एममोन्डले यो एउटा कमाण्डो आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणकारीहरुले ‘ड्रग एजेन्ट’ को रुपमा आफूलाई प्रस्तुत गरेर डीइए अपरेसनका सिलसिलामा आफूहरु आएको बताएका थिए ।

    सामाजिक सञ्जालमा एउटा भिडियो सर्कुलेट भइरहेको छ, जसमा अमेरिकी मुलका एक व्यक्ति मेगाफोनमा भनिरहेका छन्, ‘डीइए अपरेसन । सबैजना आआफ्नो ठाउँमा टाउकोले टेकेर खडा हुने ।’

    मोइसेको निवास पर्लिन ५ जिल्लास्थित पेटिअनभिल्लेमा पर्छ, जुन उच्च सुरक्षा भएको भीआईपी एरिया हो ।

  • एनआरएनए मकाउको अध्यक्षमा निर्मलाको उम्मेदवारी घोषणा

    एनआरएनए मकाउको अध्यक्षमा निर्मलाको उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा निर्मला थापा मगरले उम्मेदवारी घोषणा गरेकी छिन् ।

    उम्मेदवारी घोषणासहित उनले ६ बुँदे एजेन्डा पनि सार्वजनिक गरेकी छिन् जसमा मकाउस्थित नेपालीलाई एकताबद्ध तुल्याएर संस्थालाई राजनीतिक पूर्वाग्रहमुक्त बनाउनु रहेको छ ।

    त्यहाँस्थित नेपालीहरुलाई सघाउन आफू तयार रहेको बताउँदै मगरले कानूनी सहयोग पनि उपलब्ध गराउने जनाएकी छिन् । साथै, आर्थिक तथा भौतिक सहयोग गर्ने पनि उनले जनाएकी छिन् ।

    कोभिड महामारीको कारण नेपाल फर्कन चाहने अवस्थामा सहजीकरण गर्ने एजेन्डा पनि छ । नेपाली संघसंस्थासँग समन्वय गरी चाडपर्व संयुक्तरुपमा मनाउने उनको एजेन्डा छ ।

    सन् २०१२ देखि २०२३ सम्मको कार्यकालका लागि मगरले उम्मेदवारी घोषणा गरेकी हुन् ।

  • एनआरएनए जापानमा गुरुङको उम्मेदवारी

    एनआरएनए जापानमा गुरुङको उम्मेदवारी

    टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

    उनले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१-०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

    उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन् ।

    उनले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गरेकी छन् ।

  • अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीको संख्या ५५ हजार

    अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीको संख्या ५५ हजार

    न्यूयोर्क । अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या ५५ हजार पुगेको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सन् २०२० मा झन्डै ४८ सय ६ जना नेपाली नागरिकले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

    सन् २०२० को पहिलो तीन महिनामा १६ सय ४४ जना , दोस्रो तीन महिनामा १३ सय ५४ जना, तेस्रो तीन महिनामा ६४६ जना र चौथो तीन महिनामा ११ सय ६२ जना नेपलीहरुले अमेरिकी नागरिकता पाएका छन् ।

    त्यस्तै सन् २०१९ मा ७ हजार ४ सय ९ जनाले नागरिकता पाएका थिए जसमा ३५ सय ७७ जना महिला र ३८ सय ३२ जना पुरुष रहेका छन् । सन् २०१८ मा ५३ सय ५२ जना नेपालीले नागरिकता लिएका थिए भने २०१७ मा ४५ सय ९ जनाले लिएको स्टेट डिपार्टमेन्टले जनाएको छ ।

  • नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ : राजदूत डा. खतिवडा

    नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ : राजदूत डा. खतिवडा

    वाशिङ्टन । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘७० वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।’

    शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे ।

    खतिवडाले गैरआवासीय संघको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताए । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने समेत उनको भनाइ थियो ।

    अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गरे । खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागिसमेत प्रदान गर्न आग्रह गरे ।

    कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गरे । उनले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताए ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा.बद्री केसी,उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी जोशी, उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी मञ्चका प्रभु थापा, एनआरएन अमेरिकाका संरक्षक डा. केशव पौडेल, पूर्वअध्यक्ष खगेन्द्र जिसी, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेलगायत आआफ्नो धारणा राखेका थिए। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

    यसैबीच समितिका नवनिर्वाचित कार्यसमितिले सोही समारोहमा शपथ ग्रहण गरेको छ । एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, महिला उपाध्यक्षमा दीक्षा बस्नेत, उपाध्यक्षमा सुमन थापा, सचिवहरूमा अनुप खनाल, सुनिता सापकोटालगायत बोर्ड सदस्य तथा शाखाका अध्यक्ष एवं पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए ।

  • एनआरएनए अमेरिकाको सपथ ग्रहणमा हात हालाहाल, पुरानै नक्सा राखिएकोमा विरोध (भिडियो)

    एनआरएनए अमेरिकाको सपथ ग्रहणमा हात हालाहाल, पुरानै नक्सा राखिएकोमा विरोध (भिडियो)

    काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको १० औं साधारणसभामा विवाद उत्पन्न भएको छ । जसका कारण नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम केही समय स्थगित गरिएको थियो ।

    कार्यक्रममा विवादलाई शान्त पार्न मञ्चमा सेक्युरिटी परिचालन गरिएको थियो । १० औं साधारणसभाका संयोजक बीआर लामाले समय अभावको कारण देखाउँदै निर्वाचन आयुक्तलाई मञ्चमा बोलाएपछि लफडा शुरू भएको थियो ।

    मञ्चमा लफडाकै बीच सेक्युरिटी परिचालन गरी नवनिर्वाचित अध्यक्ष वुद्धि सुवेदीले सपथ लिए । सफत पछि सुवेदीले पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरूलाई पनि सपथ खुवाए ।

    कार्यक्रममा नेपालको पुरानो नक्साको प्रयोग :

    कार्यक्रमा नेपालको आधिकारिक नक्सा नभई पुरानो नक्सा प्रयोग गरिएको थियो । नेपालको नक्साको गलत प्रयोग गरिएको कारण नेपालीहरुको अपमान भएको भन्दै मञ्चबाटै विरोध आएको थियो । मञ्चमा प्रस्तुत गरिएको कार्यक्रममा नेपालको नक्सा स्क्रीनमामा देखाउँदा पटक-पटक नेपालको पुरानो नक्सा देखाइएको थियो ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि वाचन नगरिएपछि सहभागीले विरोध जनाएका थिए ।

  • फिलिपिन्समा सैनिक विमान दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु

    फिलिपिन्समा सैनिक विमान दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु

    मनिला । फिलिपिनी एयर फोर्सको ८५ जना सैनिकसहित उडेको विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले बताएको छ ।

    फिलिपिन्सको दक्षिणी आइसल्यान्ड जोलोमा आइतबार दुर्घटना भएको र कम्तिमा १७ जनाको मृत्य भएको अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले बताएको छ ।

    मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।

    फिलिपिनी सैन्य प्रमुख सिर्लिटो सोबेजनाले अवतरणका क्रममा विमान धावनमार्ग गुमाएर दुर्घटनामा परेको बताएका छन् । हालसम्म ४० जनाको उद्धार गरिएको जानकारी दिँदै आफूहरूले पूर्ण कोसिस गरिरहेको उनले बताएका छन् ।

    साथै यस अगाडि दुई महिना अघि फिलिपिन्समा एउटा सेनाको जहाज दुर्घटना भएको थियो ।

     

  • अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघको लोगो डिजाइन प्रतिस्पर्धा आयोजना

    अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघको लोगो डिजाइन प्रतिस्पर्धा आयोजना

    के तपाई सिर्जनशील हुनुहुन्छ ? नयाँ सोच र शैलीलाई अपनाएर अगाडि बढ्ने सोचमा हुनुहुन्छ वा कुनै संस्था, कम्पनी या व्यवसायिक क्षेत्रका लोगोहरू सिर्जना गर्न या बनाउन निपुण हुनुहुन्छ ? क्षमता भएर पनि सहि अवसर पाइरहनुभएको छैन भने अब पिर नगर्नूस , तपाईंहरूको क्षमता, दक्षता र सिर्जनशीलताको प्रवासमा रहने नेपालीहरूले मूल्यांकन गर्ने भएका छन् ।

    यिनै कुरालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघले लोगो डिजाइन प्रतिस्पर्धा आह्वान गरेको छ । मूलुक र प्रवासमा रहेका इच्छुकले प्रतिस्पर्धामा भाग लिन सक्ने भएका छन् । बिश्वभरीका नेपाली युवा उद्यमीलाई समेट्ने खालको लोगो हुनुपर्ने र सबै महादेशको प्रतिनिधित्वि हुनुपर्ने मापदण्ड राखिएको छ । साथै, प्रयोग हुने रङमा युवा उद्यमशिलता र नेपालको प्रतिनिधित्व झल्कनु पर्नेमा मापदण्ड पनि राखिएको छ ।

    बनाएको लोगो finye.nepal@gmail.com इमेलमा पठाउनुपर्ने छ भने लोगोमा Federation of International Nepali Youth Entrepreneurs (FINYE) को नाम उल्लेख हुनुपर्ने भएको छ । प्राप्त लोगोहरू मध्येबाट एक जना बिजेताको घोषणा जुलाई १५ मा गरिने जानकारी दिइएको छ । प्राप्त लोगो मध्ये उत्कृष्ट एक जनाको लोगोले सम्मान र पुरस्कारसहित पचास हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।

  • युएईद्वारा नेपाललाई यात्रा प्रतिबन्ध, पोर्चुगलले पनि प्रतिबन्धको अवधि थप्यो

    युएईद्वारा नेपाललाई यात्रा प्रतिबन्ध, पोर्चुगलले पनि प्रतिबन्धको अवधि थप्यो

    काठमाडौं । संयुक्त अरब एमिरेट्सले नेपालसहित १३ मुलुकलाई हिजो बिहीबारदेखि लागु हुने गरि यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।

    कोभिड-१९ संक्रमणको उच्च जोखिम रहेका मुलुकका नागरिकलाई तत्काल यात्रा प्रतिबन्ध लगाइएको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साथै, युरोपेली मुलुक पोर्चुगलले पनि नेपाल, ब्राजिल र दक्षिण अफ्रिकालाई लगाइएको यात्रा प्रतिबन्धमा विस्तार गरेको जनाएको छ । बेल्जियमले पनि गतसाता नेपाललाई यात्रा प्रतिबन्ध लगाएको छ ।

    अमेरिका, बेलायत लगायतका मुलुकको यात्रा प्रतिबन्ध सूचीमा अहिले पनि नेपाल छ । नेपालमा पछिल्लो समय कोरोनाको संक्रामक प्रजाति डेल्टा फैलिएको भन्दै विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका छन् ।

  • ब्रिटिस गोर्खा सैनिकको भोक हडताल तीन सातालाई स्थगित, आज सेन्ट्रल लन्डनमा प्रदर्शन

    ब्रिटिस गोर्खा सैनिकको भोक हडताल तीन सातालाई स्थगित, आज सेन्ट्रल लन्डनमा प्रदर्शन

    लन्डन । समान पेन्सनसहितका अधिकारको माग गर्दै बेलायती सेनाबाट सेनानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुले गरेको १५ दिने भोक हड्ताल तीन साताको लागि स्थगित भएको छ ।

    नेपाल सरकारले पत्र पठाएपछि जुलाइ १ गते बेलायती प्रधानमन्त्रीको कार्यालय अघि गर्ने भनिएको हड्ताल तत्कालका लागि स्थगित गरिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ ।

    जुलाई २१ सम्म हड्ताल स्थगित गरिएको समितिले जनाएको छ । तीन सातापछि माग पुरा नभए पुनः आन्दोलनमा उत्रने गोर्खा सत्याग्रहका कार्यक्रम निर्देशक ज्ञानराज राईले जानकारी दिए ।

    उक्त समितिले नेपाल र बेलायत सरकारलाई वार्ता टोली गठन गरेर वार्ता स्थल र वार्ता मिति तय गर्न आग्रह गर्दै आएको छ । हड्तालको कार्यक्रम पोस्टपोन्ड गरिएपनि उनीहरुले बिहीबार सेन्ट्रल लन्डनस्थित गोर्खा स्मारक अगाडि प्रदर्शन गरेका छन् ।

    तस्विर : शिव भण्डारी/ग्लोबल नेप्लीज

  • बाल आइसीयू बनाउन गैरआवासीय नेपालीको सहयोग

    बाल आइसीयू बनाउन गैरआवासीय नेपालीको सहयोग

    काठमाडौं । गैरआवासीय नेपाली संघले नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैया आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसीयू बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।

    परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसीयू बन्ने काम अगाडि बढेको हो ।

    गैरआवासीय नेपाली संघका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठलाई संघका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यलयमा हस्तारण गरेका थिए । देशमा आपत विपत पर्दा विदेशमा रहेर पनि नेपालमा निरन्तर सहयोग गर्ने गैरआवासीय नेपाली संघप्रति नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले धन्यपाद व्यक्त गरेका छन् ।

  • कतारका नेपाली व्यवसायीले प्रदान गरे १४ वटा भेन्टिलेटर

    कतारका नेपाली व्यवसायीले प्रदान गरे १४ वटा भेन्टिलेटर

    काठमाडौं । कतारमा रहेका नेपाली व्यवसायीले सरकारलाई १ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सहायता प्रदान गरेका छन् ।

    नेपाली बिजनेस एसोसिएसन कतारले स्वास्थ्य मन्त्रालयलाई यसैसाता १४ वटा भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सनट्रेटर, २१ सय पल्स अक्सिमिटर र ५० वटा नोजल क्यानुला प्रदान गरेको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा एसोसिएसनका प्रमुख सल्लाहकार टीवी कार्कीले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ती सामग्री प्रदान गरेका हुन् ।

    संस्थाका सदस्य महेन्द्र चौंलागाइँको संयोजकत्वमा गठितले समितिले इच्छुक दाताबाट उक्त रकम संकलन गरेको थियो । दोहास्थित नेपाली दूतावासले यसबारे जानकारी गराएको छ ।

  • एनआरएन जर्मनीको अध्यक्षमा निनाम्मा राईको उम्मेदवारी, यस्ता छन् चुनावी एजेण्डा

    एनआरएन जर्मनीको अध्यक्षमा निनाम्मा राईको उम्मेदवारी, यस्ता छन् चुनावी एजेण्डा

    काठमाडौं । गैर आवासयी नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा निनाम्मा राईले उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि कोषाध्यक्ष र उपाध्यक्ष भइसकेकी राईले अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

    जर्मनीमा रहेका नेपाली समुदायबीच सामाजिक कामका कारण परिचित रहेकी राई एनआरएन अभियानमा शुरुदेखिनै संलग्न रहेकाले यसपटक महिला नेतृत्व स्थापित गर्ने भन्दै अध्यक्षमा दावी गरेकी हुन् ।

    विशेषगरी महिला अधिकार, लैङ्गीक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा रहेर काम गरेकी राईले सबैको साथ र सहयोग आवश्यक रहने बताएकी छिन । उनले आफ्नो उम्मेद्वारी घोषणासँगै कार्ययोजनाहरु समेत सार्वजनिक गरेकी छिन । उनले आफ्नो कार्यकालमा आकस्मिक सेवा कोषको स्थापना गर्नेदेखि जर्मनी निवासी नेपालीहरुको सुख दुःखमा साथ दिनेसम्मका कार्ययोजना अघि सारेकी छिन् ।

    आगामी जुलाइ ३१ मा हुने निर्वाचनमा अध्यक्ष उम्मेदवार बनेकी राईले नेपाल भाषा कक्षा संचालन गर्ने,मातृभूमि परोपकार अभियान सन्चालन गर्ने,नेपाल सेन्टर स्थापना गर्ने लगायतका योजना अघि सारेकी छन् ।

    क्रान्तिनायककी नातिनी

    राणा शासनविरुद्धको २००७ सालको क्रान्तिका जननायक रामप्रसाद राईकी नातिनी निनम्मा राईको पारीवारिक पृष्ठभूमि नै लोकतान्त्रिक रहेको एनआरएन अभियन्ताले बताएका छन् ।

    सन् १९७१ मा भोजपुरको वासीखोरा सान्दिलुङ हालको रामप्रसाद राई गाउँपालिका–७ मा जन्मिएकी निनाम्मा करीव तीन दशकदेखि जर्मनीमा बस्दै आएकी छन् । विभिन्न सामाजिक अभियानमा रहेकी राईले काठमाडौंको पिपुल्स क्याम्पसवाट स्नातक पूरा गरेकी छन् । उनी सन् २००९ वाट एलसीसी सदस्य बनेर विधिवत एनआरएनए अभियानमा जोडिएकी हुन् ।

  • अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

    अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा सुरु गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी साधन खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।अष्ट्रेलियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने यो पहिलो संस्था बनेको छ । यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न सो बस पालैपालो काम लाग्ने संस्थाले जनाएको छ ।

    यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिलाप, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताए । ज्येष्ठ नागरिक र यहाँ आई बसोबास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उनको भनाइ छ ।

    संस्थाले शब्दमालासँग समन्वय गरी यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका, ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउनसमेत सवारी साधनले सहयोग पुग्ने पेन्ससमा बस्दै आएका श्यामबहादुर केसीले बताए ।

    यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने यहाँ बसोवास गर्ने धेरै नेपालीको विश्वास छ । यहाँ आएर बसोबास गरी आपतमा परेकालाई सहयोग गर्न पनि बसको व्यवस्था सहज हुने जनाइएको छ ।

    संस्थाका अध्यक्ष श्रेष्ठको पहलमा यहाँका एक मन्त्री डेभिड कोल म्यानसँगको सहयोगमा १० लाख अष्ट्रेलियाली डलरको सामुदायिक भवन प्राप्त गर्नसमेत संस्था सफल भएको छ । यस कामको यहाँ बस्ने सबै नेपाली संस्थाले सराहना गरेका छन् । नेप्लिज अष्ट्रेलियन एसोसिएसन तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि सो संस्थाको प्रयासमा सहकार्य गर्दै आएको छ ।

    यसरी प्राप्त भएको सामुदायिक भवनलाई पनि छिट्टै प्रयोगमा ल्याउने तयारी भएको छ । अष्ट्रे«लियामा नेपालीले बसोबास गरेको तीन दशक पूरा भए पनि पहिलोपटक संस्थागत रूपमा सवारी खरिद गरेर सेवा दिने र सामुदायिक भवनमार्फत विभिन्न सेवा भने पहिलोपटक दिन लागिएको जनाइएको छ ।

  • एनआरएनएद्वारा हेलम्बुका बाढी प्रभावितलाई सहयोग

    एनआरएनएद्वारा हेलम्बुका बाढी प्रभावितलाई सहयोग

    सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली संघ जापान तोचिगि क्षेत्रीय समितिले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

    सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गरेको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए ।

    यही असार १ को बाढीले प्रभावित भएका हेलम्बु बासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ ।

    असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

  • एनआरएन र सगुनबीच कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

    एनआरएन र सगुनबीच कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

    लन्डन । गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक संजालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ।

    त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्।

    ‘८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले सुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ। अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफुलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं’, गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले भने। विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुसंग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए ।

    यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहनु भएको छ र ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसँग जोडिएको छ। हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाएको माया, सहयोग र साथका लागि हामी सधैं आभारी छौं । साथै गैरआवासीय नेपाली संघसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ, उनले भने।

    सन् २०१५ मा औपचारिक रुपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

    सगुन कम्पनीको स्थापना काल देखी नै सशक्त रुपमा लागेर विश्वभरी छरिएका नेपालीलाई एकिकृत गराउने अभिलास बोकेका सगुनका अन्तराष्ट्रिय संयोजक समाजसेवी सुर्य गुरुङले अब यो सहकार्यबाट नेपालमा थुप्रै राम्रो काम गर्न सकिने धारणा व्यक्त गरे ।

     

  • पूर्व गोर्खा सैनिक पुनको नामबाट लन्डनमा रेलसेवा संचालन

    पूर्व गोर्खा सैनिक पुनको नामबाट लन्डनमा रेलसेवा संचालन

    लन्डन। भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतको राजधानी लन्डनमा रेल सेवा संचालनमा आएको छ । उनका सन्तानले बिहीबार लन्डनको प्याडिङ्टनमा रेलसेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा अभिनेत्री एवं गोर्खाली नेपाली सैनिककी अभियन्ता जोआना लुम्ले समेत उपस्थित थिइन् ।

    ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सेवाको शुभारम्भ गरेका थिए ।

    गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोर्खालीसँग काम गर्न पाउँदा खुशि मिलेको बताए । पुनको नाममा रेल सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । उनले नेपालमा रहेका गोर्खाली सेनाका परिवार कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।

    अभिनेत्री जोअना लुम्लेले पुनसँगको भेटबारे स्मरण गरिन् । आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् ।

    दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको लुम्लेले बताइन् ।

    सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।

    भिसी पुनको नाम कुँदिएको रेल लण्डन प्याडिङटन-ब्रिस्टोल सेवामा संचालन हुनेछ । पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा सन् १९४४ जुन २३ मा भिक्टोरिया क्रस पाएका थिए ।

  • कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    काभ्रे । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई ६ लाख ६९ हजार ४०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक/एक थान, ग्लुकोमिटर एक/एक थान, मास्क १०० थान, पञ्जा १०० थान र स्यानिटाइजर प्रत्येक नगरपालिका तथा गाउँपालिकाकामा पुगी वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष तथा सहयोग अभियानका संयोजक भीम खड्काले बताए ।

    स्वास्थ्य सामग्री खरिद गर्नुअघि प्रत्येक पालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक सामग्री अनुरुप खरिद गरी सहयोग गरिएको संयोजक खड्काले बताए । कोभिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लाको तामाकोशी सेवा समितिद्वारा सञ्चालित तामाकोशी अस्पताललाई पनि पालिकालाई दिए बराबर स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    पछिल्लो समय जिल्लामा पनि कोरोनाको दोस्रो भेरियन्ट देखिएपछि कोरोनाका कारण अस्वस्थ हुने तथा ज्यानै गुमाउनेको संख्या बढ्न थालेको थियो । उक्त विपत्जन्य अवस्थालाई मध्यनजर गर्दै यहाँ रहेका जिल्लावासी तथा नेपालीसँग सहयोग सङ्कलन अभियान चलाइएको थियो । अभियानबाट ६ लाख ६२ हजार २८४ रुपैयाँ उठेको थियो ।

    त्यस्तै यही अभियानमा थपिने गरी नेपालमा ३५ हजार ५३४ रुपैयाँ सङ्कलन भएको थियो । संकलित जम्मा रकम मध्येबाट ती सामग्री खरिद गरिएको हो ।यस कार्यका लागि विशेषतः रामेछाप सम्पर्क समितिका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ एक महिनासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।
    रासस

  • पत्रकार महासंघ बेलायतकाे अध्यक्षमा अर्याल

    पत्रकार महासंघ बेलायतकाे अध्यक्षमा अर्याल

    काठमाडौं । नेपाल पत्रकार महासंघ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

    महासंघको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका सम्पादक ध्रुवराज अर्याल र बेलायतबाटै प्रकाशन हुने विनेपाली अनलाइनमा आबद्ध पत्रकार श्याम लुईंटेल थिए ।

    यसैगरी वरिष्ठ उपाध्यक्षका लागि दिनेश परियारले सञ्जयभक्त कंडेललाई तथा महासचिवमा नरेन्द्र बस्नेतले बेलायतबाट प्रकाशन हुने साउथ एशिया टाइम्स अनलाइनका सम्पादक जगन कार्कीलाई पराजित गरेका छन्। वरिष्ठ उपाध्यक्षमा विजयी परियार लामो समयदेखि पत्रकारितामा आबद्ध छन् भने बस्नेत रातोपाटी अनलाइनका लागि बेलायत संवाददाता हुन् ।

    उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सह-कोषाध्यक्षमा सुरेन्द्र इङ्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका थिए ।

    कोभिड-१९ का कारण प्रत्यक्ष उपस्थित भई निर्वाचन गर्न नसकेपछि कूल ४३ मतदातामध्ये ३८ जना हुलाकमार्फत मतपत्र पठाएर मतदानमा सामेल भएका थिए । बाँकी पाँचले आइतबार नै प्रत्यक्ष मतदान गरेका थिए ।

  • प्रवासीद्वारा पहिरोपीडितका ४० घर पुनःनिर्माण

    प्रवासीद्वारा पहिरोपीडितका ४० घर पुनःनिर्माण

    काठमाडौं । प्रवासीहरुले म्याग्दीका पहिरोपीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरोपीडितको आवास पुनःनिर्माण गरेको हो ।

    मोनाको पुनर्वास कार्यदलका सदस्य दल शेरबुजाले पुनःनिर्माण भएका ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताए । ‘मोनालाई जिम्मेवारी दिइएको घर पुनःनिर्माण सकिएको छ’, उनले भने, ‘निर्माण सकिएका घरमा केही पीडित सरिसकेका छन् ।’

    विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक सङ्कलन गरेर पहिरो पीडितको घर बनाएका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुनःनिर्माणका लागि छनोट गरिएको थियो । मोनाले प्रतिघर पुनःनिर्माणका लागि पाँच लाख रुपैयाँ खर्च गरेको छ । पहिरो पीडितको आवास पुनःनिर्माणका लागि मोनाले दुई करोड जुटाएको थियो । धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार/चार वटा घर निर्माण भएका छन् । एउटा भान्छाकोठासहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो ।

    प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुनःनिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरि गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकीकृत बस्तीको अवधारणाअनुसार निजी आवास पुनःनिर्माण भएको छ ।

    बिममा बिम–मालिका सङ्घले २० लाखमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर निर्माण गरेको वडा अध्यक्ष रेशम जुग्जालीले बताए । उनले बिमका अन्य पीडितले पनि आफैँ घर निर्माण गरिसकेका बताए ।

    समुदायस्तरबाट आर्थिक स्रोत जुटाएर ३८ लाख ५० हजार रुपैयाँमा मराङको राम्चेमा १६ र अस्कारेमा १२ रोपनी जग्गा खरिद गरिएको थियो । वडाध्यक्ष राजाराम सुवेदीले राम्चेमा थप ६ र आस्कामा ४ घर निर्माण सकिएको बताए ।

    गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएका थिए । एकासी वटा बस्तीमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुनःनिर्माण गर्न पाँच लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यविधि स्वीकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पीडितको घर पुनःनिर्माणका लागि गत वैशाख अन्तिम साता एक करोड आठ लाख पठाएको थियो ।

    मोनाले बनाएका बाहेकका घर पुनःनिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन १० करोड ३५ लाख बजेट आवश्यक पर्छ । सङ्घ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुनःनिर्माणले पनि तीव्रता पाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

    सांकेतिक तस्बिर

  • तमुः समाज बेलायतद्वारा ११ लाखको स्वास्थ्य सामग्री प्रदान

    तमुः समाज बेलायतद्वारा ११ लाखको स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

    समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख २५ हजार रुपैयाँ, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।

    तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार-प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष थिए । बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पीपीइसमेत सहयोग गरेको थियो । त्यस्तै बेलायतमा रहेका नेपाली वृद्ध वृद्धालाई पीपीइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो ।

    समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताए ।

    नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौं र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताए ।

    लुम्बिनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    बेलायतको लण्डन शहरको वाटफोर्ड जनरल अस्पतालका नेपाली चिकित्सकको अग्रसरतामा ४० थान अक्सिजन कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाइएको छ । वाटफोर्ड अस्पतालमा कन्सलट्यान्ट फिजिसियनका रूपमा कार्यरत डा. मोहन थापाले संयोजनकारी भूमिका गरी थालनी गरेको सहयोग अभियानमा सोही अस्पतालमा कार्यरत भारतीयमूलका अन्य चिकित्सकहरूले आफ्नो संस्था बिएपीआइओबाट सहयोगमा गरेका थिए ।

    यसरी सङ्कलन गरिएको कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई बिहीबार हस्तान्तरण गरिएको डा. थापाले जानकारी दिए । बेलायतस्थित कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज युकेका अध्यक्ष प्रा सत्येन राजभण्डारी तथा नेप्लिज डक्टर्स एशोसिएशन युकेले पनि ती उपकरण नेपाल पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए । त्यस्तै स्थानीयस्तरमा डायबिटिज नेपाल नामक संस्थाले सघाएको थापाले जानकारी दिए ।

    लुम्बिनी प्रादेशिक अस्पताललाई हालसम्म पाएको सहयोगको सबैभन्दा बढी मात्रमा यसपटक सहयोग पाएको र कोभिडसँग लडिरहेका बिरामीका लागि अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी हुने बताउँदै सबै सहयोगीलाई डा. खनालले धन्यवाद दिए ।

  • कोरिया जान रोकिएका युवाको अभियान ट्विटरको एक नम्बर ट्रेण्डिङ्गमा

    कोरिया जान रोकिएका युवाको अभियान ट्विटरको एक नम्बर ट्रेण्डिङ्गमा

    काठमाडौं । कोरियन भाषा पास परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान चलाइरहेका छन् ।

    उनीहरुले कोरिया जाने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै सुरूआत गरेको ह्यासट्याग जस्टिस फर ईपीएस पासर

    (#justiceforepspasser) अहिले ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगेको छ ।

    अभियान शुरू गरेको केही दिनमा २७ हजार ७ सयभन्दा बढीले यस ह्यासट्यागमा ट्विट गरिसकेका छन् । पीडित युवाहरूले केही दिनदेखि प्रधानमन्त्री र पराष्ट्रमन्त्रीलाई मेन्सन गरेर ट्विट गर्ने गरेका छन् । प्रधानमन्त्रीले गरेका अरु विषयका ट्विटको कमेन्ट बक्समा समेत धेरै ईपीएसपीडित युवाहरूले आफ्नो पीडा पोख्ने गरेका थिए ।

    उनीहरूले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै कूटनीतिक पहल गरी रोकिएका कामदारहरूको माग पूरा गर्न समेत आग्रह गरेका छन् ।

    करिब १० हजारको संख्यामा नेपाली कामदार भाषा परीक्षा पास गरेर पनि कोरिया जान पाएका छैनन् । कोरोना महामारी सुरुभएदेखि नेपालीहरूको कोरिया रोजगारी अवरुद्ध बनेको छ ।

  • एनआरएन नागरिकता र ब्रिटिश गोर्खा मुद्दाबारे आचार्यद्वारा परराष्ट्रमन्त्री महासेठको ध्यानाकर्षण

    एनआरएन नागरिकता र ब्रिटिश गोर्खा मुद्दाबारे आचार्यद्वारा परराष्ट्रमन्त्री महासेठको ध्यानाकर्षण

    काठमाडौं । गैर आवासीय नेपाली नागरिकता र भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुबीर महासेठको ध्यानाकर्षण गराइएको छ ।

    गैर आवासीय नेपाली संघका सल्लाहकार एवम् पूर्वउपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता अध्यादेशमा गैरआवासीय नागरिकताको विषय नसमेटिएको र भूतपूर्व गोरखा सैनिकहरुको समस्या साधानका लागि नेपाल सरकारले धारणा सार्वजनिक नगरेको भन्दै उपप्रधान तथा परराष्ट्रन्त्री महासेठको ध्यानाकर्षण गराएका हुन् ।

    संसदमा लामो समयदेखि छलफलमा रहेको नागरिकता विधेयकमा गैर आवासीय नेपाली नागरिकताको विषय पनि समावेश थियो । तर, सरकारले जारी गरेको अध्यादेशमा भने गैरआवासीय नेपाली नागरिकताको विषय समावेश गरिएको छैन ।

    त्यस्तै, बेलायतमा लामो समयदेखि चल्दै आएको भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलन र समस्याका बारेमा आचार्यले उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएका छन् । भूतपूर्व गोर्खा संघ संस्थाहरुले लेखेको संयुक्त पत्रको ब्रिटिश सरकारले लिखित जवाफ दिएको तर नेपाल सरकारबाट अहिलेसम्म कुनै जवाफ नआएको बारे पनि महासेठको ध्यानाकर्षण गराएको आचार्यले बताएका छन् ।

    ‘खासगरी गोर्खा सत्याग्रहले नेपाल तथा बेलायतका सरकारहरुसंग तत्काल वार्ता समिति गठन गर्न माग गर्दै आउँदो जुलाई १ तारिखदेखि अनिश्चितकालिन भोक हड्ताल गर्ने घोषणा गरिसकेकाले तत्काल पहल गर्न अनुरोध पनि गरेँ’ आचार्यले भने ।

    आचार्यसँगको टेलिफोन संवादमा उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठले ती दुवै विषयमा आफूँले मन्त्रालयबाट तत्काल जानकारी लिने र समाधानका लागि जतिसक्दो चांडो पहल गर्ने जवाफ दिएका थिए ।

    ‘उहाँले बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीसँग समन्वय गर्न पनि सुझाब दिनु भयो’ मन्त्रीको भनाइ उद्धृत गर्दै आचार्यले भने । उपप्रधान तथा परराष्ट्रमन्त्रीको सुझाब अनुसार आफूँले बेलायतका लागि नेपाली राजदूत रेग्मीलाई ती सबै विषयमा जानकारी गराएको पनि आचार्यले बताएका छन् ।

    भूतपूर्व ब्रिटिश गोर्खासँग सम्बन्धित विभिन्न पाँच वटा संस्थाहरुको साथमा गैर आवासीय नेपाली संघ, बेलायतको गोर्खा विभागले गत अप्रिल पहिलो साता यसअघि नै तयार पारिएको तेह्र बुँदे प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै बेलायत र नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

    बेलायत सरकारको रक्षामन्त्रालयले गत साता एनआरएन एनसीसी यूकेका उपाध्यक्ष एवम् गोर्खा विभाग प्रमुख प्रेम गाहा मगरलाई पत्र लेख्दै भूतपूर्व गोर्खा सैनिकहरुको समस्या साधानका लागि आवश्यक वार्ता गर्न बेलायत सरकार तयार रहेको जवाफ दिएको थियो ।

    तर, नेपाल सरकारले भने अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । नेपाल सरकारले समस्या समाधानमा चासो नदेखाउँदा भूतपूर्व गोर्खा सैनिकहरुले थप आन्दोलनको तयारी थालेका छन् ।

  • कोशी अस्पताललाई जापानमा रहेका पूर्वेली नेपालीको सहयोग

    कोशी अस्पताललाई जापानमा रहेका पूर्वेली नेपालीको सहयोग

    काठमाडौं । पूर्वी नेपाल घर भई जापानमा रहेकाहरूले विराटनगरको कोशी अस्पताललाई पीपीई सहयोग गरेका छन् ।

    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत ५० थान पीपीई सहयोग गरिएको हो । मेयर पराजुलीले अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्ल र मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासलाई ती सामग्री हस्तान्तरण गरे ।

    विपदको समयमा प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि सम्झिने सहयोगी हातलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

    यसैगरी मेची अस्पतालमा समेत कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री सहयोग गर्ने तयारी भइरहेको पुर्वेली सेवा समाजका संयोजक भूषण कोइरालाले जानकारी दिए ।

  • साउदीमा रहेका नेपाली कामदार ट्रान्जिट हुँदै स्वदेश आउन सक्ने

    साउदीमा रहेका नेपाली कामदार ट्रान्जिट हुँदै स्वदेश आउन सक्ने

    काठमाडौं । साउदी अरबमा रहेका नेपाली कतार वा टर्कीमा ट्रान्जिटमार्फत  नेपाल आउन सक्ने रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । नेपाल सरकारले कतार र टर्कीका लागि गत बिहीबारबाट उडान भर्ने अनुमति दिएको छ ।

    साउदीमा रहेका नेपाली कामदारले नेपाल फर्किनेबारे चासो राखेको भन्दै दूतावासले साउदीबाट सोझै नेपाल जाने उडान खोल्नका लागि अझै कुनै निर्णय भइनसकेकाले कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्समार्फत ट्रान्जिट मिलाएर जान सकिने छ ।’

    साथै दूतावासले नेपाल जान चाहनेले टिकटका लागि सम्बन्धित एयरलाइन्स र ट्राभल एजेन्सीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

  • प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

    प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

    काठमाडौं । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड-१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।

    ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सीपीएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरेको उक्त दूतावासले आज जनाएको छ ।

    त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे ।

  • गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

    गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनएए)अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित भएका छन् । उनले ५,६१८ निकटतम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरे ।

    अध्यक्षका अर्का प्रत्यासी अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे र तीलक केसीले ५ सय ६७ मत पाए ।

    १५ हजार ७ सय ६८ सदस्यले सन् २०२१-२३ का लागि मतदान गरेका थिए । वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्त विजयी भए। महासचिवमा अन्जनकुमार चौलागाई विजयी भए।

    एनआरएनए अमेरिकामा २० हजार १ सय ३८ मतदाता छन्। चुनावमा ७८ प्रतिशत भोट खसेको जनाइएको छ ।

  • प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले स्वास्थ्य सहायता उपलब्ध गराउने

    प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले स्वास्थ्य सहायता उपलब्ध गराउने

    सिड्नी । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई अत्यावश्यक स्वास्थ्य सहायता उपलब्ध गराउने भएको छ ।

    अस्पतलामा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपर्ने स्थिती भएकाले मञ्चले आर्थिक सहायताका लागि ४६ हजार अष्ट्रेलियन डलर संकलन गरेको छ ।

    अन्तर्राष्ट्रिय संयोजक समितिको पहलमा नेपाललाई २५ हजार अष्ट्रेलियन डलर उपलब्ध गराइएको मञ्चले विज्ञप्तीमार्फत जनाएको छ । १५ हजार डलर पर्ने भेन्टिलेटर एकथान र ९६ हजार डलर बराबरको ५ थान अक्सिजन कन्सनट्रेटर पनि उपलब्ध गराइएको छ ।

    ५० क्युविक मिटर क्षमताको अक्जिसन प्लान्ट पनि नेपाललाई सहयोग गर्ने मञ्चले जनाएको छ । उक्त अक्सिजन प्लान्ट चीनबाट खरिद गरिएको र अहिले प्राविधिक परीक्षणको अवस्थामा रहेको जनाइएको छ ।

    भविष्यमा आइपर्ने संकटको बेला समेत काम लाग्ने गरी यी स्वास्थ्य सामग्री उपलब्ध गराइन लागेको जनाइएको छ । मञ्चका अध्यक्ष रमेश पाण्डेद्वारा जारी विज्ञप्तीमा ती स्वास्थ्य उपकरण छिटोभन्दा छिटो सरकारलाई उपलब्ध गराइने उल्लेख छ ।

  • गैरआवासीय नेपालीका लागि ‘एनआरएन द सिंगर’ आयोजना हुँदै

    गैरआवासीय नेपालीका लागि ‘एनआरएन द सिंगर’ आयोजना हुँदै

    काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सांगीतिक रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरु गर्न लागेको छ।

    प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने कार्यक्रम २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन्।

    प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

    शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले भने, ‘एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ। यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु।’

    एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए । प्रतियोगिता भर्चुअल माध्यमबाट हुनेछ । तर फाइनल भने प्रत्यक्ष गर्न लागिएको एनआरएनए भिडिया सहसंयोजक चिरन्जीवीराज देवकोटाले जानकारी दिए । फाइनलको स्थान भने तय भइसकेको छैन ।

    ‘नेपाली संगीतको अन्तर्राष्ट्रियकरण’

    वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले आफू सधैं नेपाली संगीतको अन्तर्राष्ट्रियकरणको पक्षमा रहेकाले यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभा जन्मिने विश्वास व्यक्त गरे। उनले सन् १९८७ मा प्रज्ञा प्रतिस्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गर्दै एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतको माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे।

    कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई, गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी , महासचिव डा. हेमराज शर्मा, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवी देवकोटाले पनि कार्यक्रममा शुभकामना दिएका थिए ।

    त्यस्तै कार्यक्रमको मूल आयोजक, संस्कृति तथा सम्पदा उपसमितिका संयोजक, गोविन्द प्रसाद गौतमले लामो तयारी गरेर समितिले यो कार्यक्रम सार्वजनिक गरेको भन्दै कार्यक्रम सफल पर्न सबैलाई आग्रह गरे । ‘विश्वव्यापी रुपमा घातक बन्दै गइरहेको कोरोना संक्रमणका कारण पीडा व्यहोरी रहेका नेपालीका निम्ति यो कार्यक्रमले केही भए पनि राहत पुग्नेछ भन्ने हामीले आशा लिएका छौं,’ उनले भने ।

  • इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने

    इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने

    काठमाडौं । सरकारले इन्टरनेटको माध्यमबाट हुने इ-कमर्श व्यवसायलाई नियमन गर्न कानुन निर्माण गर्ने भएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले इकर्श सम्बन्धी कानुन तर्जुमा गरिने जानकारी दिए ।
    ‘इ-कमर्श सम्बन्धी कानुन तर्जुमा गरिने छ,’ मन्त्री पौडेलले भने, ‘डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि लगायत चौथो पुस्ताको औद्योगिक क्रान्तिले ल्याएको अवसरको प्रयोग गरिने छ।’
  • नागरिकता अध्यादेशमा एनआरएनलाई नसमेटिएको भन्दै आचार्यद्वारा दु:ख व्यक्त

    नागरिकता अध्यादेशमा एनआरएनलाई नसमेटिएको भन्दै आचार्यद्वारा दु:ख व्यक्त

    काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) का सल्लाहकार एवम् पूर्व उपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरू(एनआरएन) को मुद्दा सम्बोधन नभएको भन्दै दु:ख व्यक्त गरेका छन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको टिप्पणी गरेका हुन् । नेपालको संविधानमा नै उल्लेख गरिएको विषयलाई पनि सरकारले उपेक्षा गरेको उनको आरोप छ ।

    ‘देशका अन्य नागरिकहरूका नागरिकताका सवाल संसद नभएको अवस्थामा फास्ट ट्रयाकमा सम्बोधन भैरहेको अवस्थामा गैर आवासीय नेपालीका नागरिकताका सवालमा भने निरन्तर विलम्ब हुनु दु:खद् पक्ष हो । यसतर्फ नेपाल सरकारको जति सक्दो चाँडो ध्यान जाओस् भन्ने आग्रह गर्दछु’ आचार्यले भनेका छन् ।

    भूकम्पको बेला वा अन्य जुनसुकै विपत्तिमा गैर आवासीय नेपालीहरूले मातृभूमि र नेपालीहरूको लागि सहयोग गरिरहेको स्मरण गर्दै आचार्यले सरकारले भने कहिल्यै उनीहरूको बारेमा ध्यान नदिएको गुनासो गरेका छन् ।

    आचार्यले भनेका छन्, ‘गैर आवासीय नेपालीहरूले भूकम्पको बखत होस् या अन्य संकटको समयमा निरन्तर सहयोग गरिरहेको अवस्था छ । महामारीको बखत सबै भन्दा धेरै पीडा भोगेका प्रवासी नेपालीहरूलाई देशको सहयोग आवश्यक थियो तर तर संविधानले नै प्रत्याभूत गरेको गैरआवासीय नागरिकताका विषयमा भने अझै सुनुवाइ भएन ।’

    आचार्यले नेपाली नागरिकता, सम्पत्तिको अधिकार, श्रमिकको सुरक्षा नै एनआरएनएको मूल मन्त्र भएको स्पष्ट पारेका छन् । प्रवासमा नेपाल र नेपालीको दूत बनी नेपाली भाषा, संस्कृति, व्यापार र राष्ट्रियताको पनि एनआरएनहरूले पैरवी गरिरहेको स्मरण गरेका छन् ।

    संसदको राज्य व्यवस्था समितिले तयार पारेको नागरिकता सम्बन्धि विधेयकमा एनआरएन नागरिकताको प्रावधान समावेश गरिए पनि सरकारले गत साता जारी गरेको अध्यादेशमा उक्त प्रावधान हटाइएको छ ।

  • दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

    दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

    सउल । कोरोना महामारी नियन्त्रणका लागि दक्षिण कोरियाले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।

    एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेका थिए ।

    अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएका थिए ।

    उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले जानकारी दिएका थिए ।

    गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य साम्रगीले नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

  • एम्बुलेन्स खरिद गर्न प्रवासीको सहयोग

    एम्बुलेन्स खरिद गर्न प्रवासीको सहयोग

    काठमाडौं । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

    बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् ।

    उनीहरूले कोरोना संक्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

    सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पुर्‍याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले जानकारी दिए ।

    भन्सार छुटसहित करिब २८ लाख ५० हजार रुपैयाँमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताए ।

    पहिलो चरणको १० लाख रुपैयाँको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गरेका थिए । उनले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताए ।

    -रासस

  • एनआरएनएको पहलमा सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

    एनआरएनएको पहलमा सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

    यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

    हवाई उडान सहजीकरण गर्न आग्रह

    पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरर्राैष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायतका विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ ।

    नागरिकतासम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण

    लामो समयदेखि नै गैरआवासीय नेपाली सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

    ४१ को निधन

    विश्वव्यापीरुपमा फैलिएको कारोनाभाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ र प्रोर्चुगलमा १ जना नेपालीको कोरोनाभाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा एक लाख सात हजार ८६ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना कोरोनामुक्त भएका छन् ।

    समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोनाभाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा. सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० चिकित्सक परिचालन गरेको छ ।

    यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात् तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण सोमबार साँझसम्म ६ हजार ५३१ जनाको निधन भएको छ ।