Category: प्रवास

  • यमुना नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्ली डुबानमा

    यमुना नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्ली डुबानमा

    काठमाडौं । यमनु नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्लीका यमुना आसपासका बस्ती डुबानमा परेका छन् ।

    समाचार एजेन्सी पिटिआईका अनुसार बिहीबार बिहान यमुना नदीको जल सतह २०७ मिटर माथि पुगेको थियो ।

    यमुना नदीको पानी बस्ती र सडकमा पसेको छ । राहत र उद्धारका लागि एनडीआरएफका जवानहरू तैनाथ गरिएका छन् ।

    उद्धार गरिएका मानिसलाई राख्नका लागि दिल्ली सरकारकाले शिविरहरू स्थापना गरेको छ ।

  • भारतको अध्यागमन नीतिमा हेरफेर- नेपाली नागरिकसहित भुटानी र तिब्बती शरणार्थीलाई असर नपर्ने

    भारतको अध्यागमन नीतिमा हेरफेर- नेपाली नागरिकसहित भुटानी र तिब्बती शरणार्थीलाई असर नपर्ने

    काठमाडौं । भारत सरकारद्वारा २ सेप्टेम्बरदेखि लागू गरिएको नयाँ इमिग्रेसन कानूनबाट नेपाल र भुटानका नागरिकलाई पूर्ण रूपले छुट दिइएको छ।

    साथै पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानका हिन्दू, बौद्ध, जैन र सिख समुदायका अल्पसंख्यकलाई पनि छूट दिइएको छ।

    भारतीय सेनाका सदस्यहरू सरकारी कामकाजका लागि विदेश आउ–जाउ गर्दा, उनीहरूको परिवारसहित, पासपोर्ट वा भिसा नचाहिने भएको छ । यस्तै भारतीय नागरिकले नेपाल वा भुटानतर्फको भूमि वा हवाई मार्ग प्रयोग गरेर भारत पस्दा पासपोर्ट–भिसा नचाहिने, नेपाल र भुटानका नागरिकले आफ्नो सीमाबाट भारत पस्दा छुट पाउने, तर चीन, मकाउ, हङकङ वा पाकिस्तान हुँदै भारत आउँदा भने पासपोर्ट आवश्यक हुने व्यवस्था गरेको छ ।

    त्यस्तै २०१५ जनवरी ९ भन्दा अघि भारतमा आश्रय लिएका दर्ता भएका श्रीलङ्काली तमिल शरणार्थीलाई छुट, कूटनीतिक वा सरकारी पासपोर्ट भएका व्यक्तिहरू, भिसा-अन-अराइभल पाउने देशका नागरिक, वा भारत भ्रमणमा आएका विदेशी सैन्य जहाजका कर्मचारीलाई पनि भिसा सम्बन्धी प्रावधानबाट छुट दिइएको छ।

    वाहक (जस्तै बस, रेल, जहाज) सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ। यात्री वा चालकदललाई भारत भित्र्याउँदा वा बाहिर लैजाँदा, यदि कागजात नक्कली भएको कुरा विशेषज्ञ परीक्षणबिना पत्ता लगाउन नसकिने भएमा, वा यात्रु स्टोअवे (लुकिचोरी चढ्ने) भएमा, वा उडानरजहाज डाइभर्ट भएर आएको अवस्थामा, त्यस्ता यात्रुहरूको जिम्मेवारी वाहकलाई हुने छैन।

  • ट्रम्पका सल्लाहकारले भने- रुसी तेलबाट भारतीय ब्राह्मणहरुले नाफाखोरी गर्दैछन्, हामी रोक्छौँ

    ट्रम्पका सल्लाहकारले भने- रुसी तेलबाट भारतीय ब्राह्मणहरुले नाफाखोरी गर्दैछन्, हामी रोक्छौँ

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले रुससँग तेल किनेर भारतका ब्राह्मणहरुले मुनाफा कमाइरहेको टिप्पणी गरेका छन् ।

    उनले भारतका ब्राह्मणहरुको नाफाखोरी अमेरिकाले रोक्ने र युक्रेनविरुद्ध आक्रमणमा रुसलाई सहयोग बन्द गराउने बताएका छन् ।

    ट्रम्प प्रशासनका व्यापार मामिला वरिष्ठ सल्लाहकार नवारोले फक्स न्युज सन्डेलाई दिएको अन्तर्वार्तामा भने- प्रधानमन्त्री मोदी एक महान् नेता हुन् । तर हामीले के बुझ्न सकिरहेका छैनौँ भने भारतीय नेताले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनफिङलाई किन सहयोग गरिरहेका छन् ? जबकि भारत आफैँमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएर तानाशाहको पक्षमा किन गयो ?

    अमेरिकाले भारतमाथि रुसी तेल खरिद रोकाउन कर थोपरेपछि सम्बन्ध चिसिएका बेला ट्रम्पका सल्लाहकारको कडा बयान आएको हो । यसअघि राष्ट्रपति ट्रम्पले यदि रुससँग तेल खरिद कायमै राखे भारतले थप कर भोग्नुपर्ने बताएका थिए ।

    सल्लाहकार नवारोले भने- म यति मात्र भन्न चाहन्छु, भारतीय जनताले बुझ्नुपर्छ कि यहाँ के भइरहेको छ ? केही भारतीय बाहुनहरूको नाफाखोरीका लागि नेतृत्व किन सँगै गइरहेको छ । यसलाई हामीले रोक्नै पर्छ ।

  • सुर्खेतका युवकले कुवेत आएको आठौं दिनमै फ्लाइओभरबाट हामफालेर गरे आत्महत्या

    सुर्खेतका युवकले कुवेत आएको आठौं दिनमै फ्लाइओभरबाट हामफालेर गरे आत्महत्या

    यूएई । कुवेतमा एक नेपालीले फ्लाइओभर (पुल) बाट हाम फालेर आत्महत्या गरेका छन् । सुर्खेत, वीरेन्द्रनगर ४ शिवनगरका हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर ज्यान गुमाएका हुन् ।

    ३३ वर्षीय गौतम ८ दिनअघि (अगस्ट १७) मात्रै कुवेतस्थित एक होटलमा सवारी चालकको रूपमा काम गर्न आएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार बिहान करिब ७ बजे उनी फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर मुख्य सडकतर्फ हाम फालेका थिए । व्यस्त सडक बीचमा खसेका कारण हुइँकिएर आएका गाडीले समेत उनलाई किचेको छ ।

    सहकर्मीहरूका अनुसार गौतमको मानसिक अवस्था कमजोर थियो र कुवेत आएको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखाइरहेका थिए । यसबीचमा उनी २-३ दिनसम्म हराएका पनि थिए । मजदुर शिविर छोडेर हराएका उनी पुनः कम्पनीकै शिविरमा फर्किएको सहकर्मीले जानकारी दिएका छन् ।

    घटनाको दिन बिहान सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरेका थिए । तर, अचानक भागेर पुलमा पुगेका उनले कपडा र पर्स छेउमै राखेर पुलमाथिबाट हाम फाले । सडकमा यात्रा गरिरहेकाहरुले उनको अस्वाभाविक गतिविधि देखेर भिडिओ खिच्न भ्याएका छन् ।

    कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई खबर गरिसकिएको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ ।

    दूतावासका अनुसार हाल कुवेतमा नेपालीको संख्या बढेसँगै आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषधको प्रयोग तथा ओसारपसारजस्ता घटना बढेका छन् ।

     

  • अष्ट्रेलियामा व्यापार विस्तार गर्दै विष्णु सापकाेटा, प्रमोद खरेललाई बोलाएर लन्च गरे ५ नयाँ उत्पादन

    अष्ट्रेलियामा व्यापार विस्तार गर्दै विष्णु सापकाेटा, प्रमोद खरेललाई बोलाएर लन्च गरे ५ नयाँ उत्पादन

    काठमाडाैं । विष्णु सापकोटा अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तारमा लागेका छन् । उनले हालैमात्र आफ्नो मायालु ग्रुप अफ कम्पनिज अन्तर्गत ६ वटा नयाँ उत्पादन लन्च गरे ।

    सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायक प्रमोद खरेल निम्त्याएर उनले रिबन काट्न लगाएका थिए । अष्ट्रेलियन सरकारको मापदण्ड पूरा गरेर नयाँ उत्पादन ल्याएको सापकोटाको दावी छ ।

    लन्च गरिएका उत्पादनमा राइस कुकर, स्मार्ट राइस कुकर, प्रेसर कुकर, एयर फ्रायर, वाटर किटल र कफी एण्ड स्पाइस ग्रिन्डर छन् । अहिले अष्ट्रेलियाको सिड्नीमा दुई स्टोर र क्यानबेरामा एक स्टोरबाट आफ्ना उत्पादनहरु बिक्री गरिरहेको सापकोटाले बताए ।

    उनले भने, ‘तर अनलाइन अर्डरमार्फत अष्ट्रेलियाभरि नै डेलिभरी दिने गरेका छौं ।’

    हिजो प्रमोद खरेल र ‘द परम्परा’ को कार्यक्रममा बिक्रीको १० प्रतिशत रकम च्यारिटीका लागि दिएको सापकोटाले जानकारी दिए । नेपालमा अटिजम भइरहेका बच्चाहरुको सहयोगार्थ आफूहरुले च्यारिटीलाई १० प्रतिशत रकम दिएको उनको भनाइ छ ।

    अब मायालुका उत्पादनहरुको नेपालमा पनि आउटलेट खोल्ने योजनामा रहेको समेत सापकोटाले बताए । मायालु ग्रुप अफ कम्पनिज सन् २०१४ मा स्थापना भएको थियो । डेढ वर्षदेखि यसले आफ्नो उत्पादनहरु पनि बजारमा लागिरहेको छ ।

  • दुबईमा तीज : चैतदेखि प्रचार, दशैंसम्म लहर, करोड भन्दा बढीको कारोबार

    दुबईमा तीज : चैतदेखि प्रचार, दशैंसम्म लहर, करोड भन्दा बढीको कारोबार

    दुबई । परदेशको भूमिमा बिहान बेलुकी दौडधुपले थाकेका नेपालीहरूलाई चाडबाड कहिले पर्छ त्यत्ति मेलो मेसो हुँदैन । तर यहाँ रहेका संघसंस्थाहरुले महत्त्वपूर्ण पर्वहरू मनाउने आफ्नो स्थायी परम्परा नै बनाई सकेका छन्।

    सैनामैना सेवा समाज रुपन्देहीले स्थापनाको हरेक वर्ष दुबईमा तीज मनाउने गरेको छ । त्यस्तै रुपन्देही सेवा समाज यूएईले दुबईमा तीज मनाउन लागेको धेरै वर्ष भइसक्यौ ।

    रुपन्देहीको देवदह समाजले पनि दुबईमा वर्षेनी तीज मनाउँदै आएको छ । एउटै जिल्लाका नगर, तथा पालिका स्तरका संघसंस्थाहरुले दुबईमा कार्यक्रम गर्नु नौलो भने होइन ।

    यस पटक सुरुमै पाल्पाली समाज यूएईले दुबईमा तीज मनाउन सुरु गरेको हो । साउनको ११ गते नै उसले नेपालबाट लोक कलाकार नवीन पौडेल र सुशीला गौतमलाई दुबई ल्याई कार्यक्रम गरेको हो । उतिबेला भित्रिएको पाल्पाली ढाकाका पहिरनले दुबईको बजार अहिले पनि ढकमक्क बनेको छ ।

    सोही दिन सीतगंगा समाज अर्घाखाँची र परदेशीको लोक चौतारीले पनि तीज कार्यक्रम गरेका थिए ।

    स्याङ्जा समाजले यस पटक चर्चित लोक गायक पशुपति शर्मा र कोपिला न्यौपानेलाई दुबईको स्टेजमा उतारे । सधैँ जसो स्याङ्गजाका विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गर्थे । यस पटक भने त्यसो भएन ।

    उसो त रुपन्देही सेवा समाजले लोक गायिका शर्मिला गुरुङलाई दुबई ल्याई विशेष कार्यक्रम गर्‍यौ । उसले आफ्नो कार्यक्रम बाट भएको आम्दानीको केही हिस्सा भन्दै काठमाडौंमा रहेको एकीकृत समृद्धि नेपाल नामक संस्थालाई ५० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष अमित लोहनीले जानकारी दिए ।

    अर्घाखाँचीका ३ वटा संस्थाले यस पटक दुबईमा कार्यक्रम गरे, शितगंगा समाज यूएईले दुबईमा कार्यरत नेपाली कलाकारहरूलाई स्टेज दिएर तीज मनायो भने, बल्कोट अर्घाखाँची सम्पर्क समाजले जिल्लाकै कलाकार वसन्त लम्साललाई स्टेजमा उतार्‍यो । दुई वार्डका मात्रै सदस्य रहेको संस्थाले आयोजना गरेको कार्यक्रममा झण्डै ४ सय जनाले सहभागिता जनाए ।

    अर्घाखाँचीका कलाकार वसन्त लम्साल दुबई आएको अवसर पारेर भूमिकास्थान समाज अर्घाखाँचीले लम्साललाई आफ्नो कार्यक्रममा पाहुना बनायो । त्यसैमा वसन्त घर्तीलाई थपेर कार्यक्रम थप रमाइलो बनायो ।

    सैनामैना सेवा समाजले चर्चित गायक खुमान अधिकारी र मञ्जु भट्टराईलाई मैदानमा ल्याए ।

    तीजकै छेको पारेर समीक्षा अधिकारी दुबईमा व्यावसायिक कार्यक्रममा आइन् । त्यस्तै हाउडे माया तथा मुग्लान ब्यान्ड पनि तीज मनाउन दुबई आई पुगेँ । उसो त तीजकै छेको पारेर पप गायक एड्रिन प्रधान यूएईमै छन् ।

    दुबईमा कर्मथलो बनाएका कलाकारहरू कमल जंग कार्की, विरु ओली, निरुता गैरे, अर्जुन न्यौपाने, कृष्ण सापकोटा, हेमराज विश्वकर्मा, निरु श्रेष्ठ लगायतलाई यस पटक कार्यक्रममा प्रस्तुति दिन भ्याई नभ्याई भयो ।

    रोल्पा, दाङ र प्यूठान समाजले संयुक्त रूपमा गएको आइतबार कार्यक्रम गरे भने, बागलुङ, कास्की, दोलखा, चितवन, कपिलवस्तु, तथा गोरखा समाजले अलग्गै रूपमा तीज मनाए । त्यस्तै विश्वकर्मा समाजले पनि गायिका टिका सानुलाई तीज मनाउन दुबईमा उतार्‍यो । गायिका टिका सानु यस पटक मध्यपूर्वमा तीज मनाउन घुमिरहिन । दुई पटक बहराइन, इराक तथा दुबईमा आयोजित विभिन्न तीज कार्यक्रममा उनले प्रस्तुति दिइन् ।

    इनास अवुधावी क्षेत्रले महिलाहरू मात्रै सहभागी हुने गरी गएको साता कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै नेपाली दूतावास अवुधावीले यहाँ रहेका महिला तथा कलाकारहरूलाई सहभागी गराउँदै गएको आइतबार दूतावास परिसरमै तीज तथा दर खाने कार्यक्रम गरी मनाएको छ ।

    उसो त तीज बुधवार सकिँदै छ । तर अझै दुई साता दुबईमा तीजको कार्यक्रमहरू छन् ।

    प्रवास सम्पर्क विभाग दुबई क्षेत्र तथा गुल्मी सेवा समाजले आगामी आइतबार दुबईमा तीज कार्यक्रम गर्दै छन् । गायक नन्दु परियार तथा गायिका शान्ता रानी परियार लाई गुल्मीले दुबईमा ल्याउँदै छ ।

    महिनौँ पहिले बाट तीजको प्रचार प्रसार गरिए अनुसार सबै कार्यक्रम सफल भएको आयोजकको दाबी छ । यद्यपि गाउँ टोल तथा जिल्ला स्तरका समाजहरूले अलग अलग कार्यक्रमहरू गर्दा नेपालीको पैसा विदेशमै खर्च हुने र व्ययभार थपिने मात्रै सरोकार वालाको भनाइ छ । तीज कार्यक्रममा आउने कलाकारले कम्तीमा ५० हजार देखि ५ लाख सम्म पारिश्रमिक लिने गरेका छन् ।

    कार्यक्रम आयोजना स्थलको भाडा, व्यवस्थापन तथा प्रचार प्रसार एवं विभिन्न क्षेत्रमा लाग्ने खर्चको हिसाब जोड्ने हो भने करोडौँ रुपैयाँ खर्च भएको देखिन्छ । त्यसर्थ अलग अलग संस्थाले बेग्ला बेग्लै कार्यक्रम गर्नुभन्दा आगामी दिनमा सबै मिलेर एकै ठाउँमा ठूलो कार्यक्रम गर्न सके फाइदा हुने देखिन्छ ।

    नेपालमा भदौ महिनामा मात्र आउने तीज पर्व दुबईमा भने चैतदेखि प्रचार प्रसार देखि दशैंसम्म भइरहने पर्वझैँ बदलिएको छ ।

    परदेशमा माइतीघरको सम्झना

    तीज भनेको नेपालमा चेली–बेटीहरूको चाड । हरियो चुरा, रातो सारी, पोते र ठूला टिकासहित माइतीघरमा झुम्मिने दिन । तर परदेशमा बस्ने दिदीबहिनीलाई माइतीघरको आँगनको स्वाद लिन पाउनु गाह्रो हुन्छ । त्यही खालको आत्मीयता र अभावलाई पुरा गर्न दुबईका संघ–संस्था, कलाकार समाज र प्रवासी समुदायले चैत महिनाबाटै प्रचार प्रसार गर्ने देखि तीज विशेष कार्यक्रमको थालनी गर्छन् ।

    “नेपालको गाउँघर सम्झाउने यही चाड हो, नत्र यहाँ त सबै दौडधुप र काम मात्र हुन्छ,” दुबईमा बस्ने अर्घाखाँचीकी मुना पौडेलले बताइन् ।

    भव्यता र सांस्कृतिक रौनक

    दुबईमा आयोजना हुने तीज कार्यक्रममा नाचगान मात्रै हुँदैन । कार्यक्रम बाट भएको धेरथोर आम्दानी सामाजिक काममा खर्चिने भएकोले पनि कार्यक्रमहरूको महत्त्व अलग्गै छ ।

    चर्चित गायक-गायिका, दोहोरी जोडी र नृत्य समूहहरूको प्रस्तुति, परम्परागत पहिरन तथा नेपाली खानाको स्वादले कार्यक्रमलाई अझै थप।आकर्षक बनाउने गरेको छ ।

    महिलाहरू रातो र हरियो रंगका पहिरनमा झुम्मिन्छन् । कसैले माया भरिएका गीत गाउँछन्, कसैले मञ्चमा नाच्छन् । दर्शक दीर्घामा बस्ने दिदीबहिनीहरू झनै उत्साहका साथ नाचेर साथ दिन्छन् । यसरी परदेशमै भए पनि माइतीघरको आँगनझैँ अनुभूति हुन्छ ।

    पुरुषको सक्रियता र समुदायको एकता

    तीजलाई महिला मात्रको पर्व भन्ने बुझाइ भए पनि दुबईका कार्यक्रमहरूमा पुरुषहरूको भूमिका कम छैन । आयोजक, सहयोगी र दर्शकका रूपमा उनीहरूको उपस्थिति उत्तिकै देखिन्छ । “परदेशमा चेलीहरूलाई मात्र होइन, हामीलाई पनि तीजले जोडिदिन्छ,” जमानामा व्यवसाय गर्दै आउनु भएका व्यवसायी विष्णु अधिकारीले भने ।

    तीजका बहानामा विभिन्न संघसंस्थाबीचको एकता, सहयोग र आत्मीयता प्रष्ट देखिन्छ ।

    परदेशमै संस्कृति जोगाउने माध्यम

    परदेशमा जन्मिएका नयाँ पुस्ता बालबालिका र किशोर किशोरीलाई नेपाली संस्कृति बुझाउने एउटा उत्कृष्ट माध्यम पनि यही तीज बनेको छ । स्टेजमा देखिने नृत्य, गीत र पोसाकले उनीहरूलाई नेपालको गाउँ ठाउँ र संस्कृतिसँग परिचित गराउँछ ।

    “हामी आफ्ना छोराछोरीलाई कम्तीमा वर्षमा एक पटक भए पनि नेपाली पोशाक र गीत–नृत्यमा रमाउने मौका दिन्छौँ, यही हो हाम्रो पहिचान बचाउने बाटो,” दुबईमा लामो समय देखि कार्यरत पाल्पाली समाजका अध्यक्ष कैलाश अर्यालले भने ।

    चैतदेखि दशैंसम्म तीज

    कामको व्यस्तता, छुट्टी मिलाउन कठिनाइ, र विभिन्न संघसंस्थाको आवश्यकता अनुसार तीजका कार्यक्रमहरू चैत महिनादेखि प्रचार सुरु गरेर दशैंसम्म निरन्तर भइरहने छन् ।

    यसरी हरेक हप्ता वा महिना कुनै न कुनै शहरमा तीजको मेला लागेकै हुन्छ । दुबई, अबुधावी, सारजाह, अल ऐन लगायत यूएईका सहरहरूमा तीजका भाका गुन्जिरहेका छन् ।

    उसो त हुने खानेले आफ्ना घर , संघसंस्थाका कार्यक्रम सबै तीर तीज मनाउँदा आम श्रमिकले भने एक भक्तेको अघिल्लो दिन हिजो आइतबार दुबईको बर दुबईमा दशौं हजार नेपाली उपस्थिति भएर खुल्ला पार्कमा तीज मनाए । जोर मादल घन्काउँदै नेपालकै विभिन्न मेलामा जस्तै गाउँघरे सम्झना गर्दै तीज मनाएका थिए ।

  • प्रवासी नेपाली मंच स्लोभाकियाको राष्ट्रिय तदर्थ कमिटी निर्माण, अध्यक्षमा रुद्र किसान

    प्रवासी नेपाली मंच स्लोभाकियाको राष्ट्रिय तदर्थ कमिटी निर्माण, अध्यक्षमा रुद्र किसान

    प्रस्लोभाकिया । प्रवासी नेपाली मञ्च स्लोभाकिया राष्ट्रिय तदर्थ कमिटी निर्माण भएको छ । आइतबार भएको राष्ट्रिय भेलाले रुद्र किसानको अध्यक्षतामा ३१ सदस्यीय निर्माण भएको छ ।

    मंचको उपाध्यक्षमा शर्मिला पौडेल सचिवमा गोकर्ण भट्ट उपसचिवमा तिलक शर्मा न्यौपाने, रवि रिमाल चयन भएका छन् । मंचको सदस्यहरुमा धर्मेन्द्र दाहाल , प्रकाश भण्डारी, सन्तोष रानामगर, कासिराम तिवारी, दिपेश खत्री, तारा खड्का,जीवन भट्टराई,नितु खत्री, अनमिका खड्का चयन भएका छन् ।

    त्यसैगरी उमेश वास्तोला, सरु भट्टराई,विजय शर्मा, सुजन खत्री,बिमल भण्डारी, देब विक, लुमप्रसाद तिवारी, रामजी रानाभाट, अजय भट्टराई,मेनुका लम्साल, योगेश गुरुङ, धन्सुवा गुरुङ, मन्दीप क्षेत्री, भागीराम डाँगी, प्रयासराज खनाल, मुकेश लामा र टंकराज भण्डारी चयन भएका छन् ।

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रवासी नेपाली मंच अन्तराष्ट्रि कमिटि संजय थापा, अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा लगाएतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा मंचका युरोप क्षेत्रका विभिन्न देशका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा एनआरएनको विभिन्न पदमा रहेका काम गरेका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

  • यूएईका जेलमा ४७३ जना नेपाली, लागूऔषध र जाँडरक्सी मुख्य समस्या

    यूएईका जेलमा ४७३ जना नेपाली, लागूऔषध र जाँडरक्सी मुख्य समस्या

    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न जेलहरूमा हाल ४७३ जना नेपाली कैदीबन्दी रहेका छन् । यो संख्या हालसम्मकै बढी हो । जेलमा परेका कतिपय नेपालीले समय समयमा आममाफी पाएर स्वदेश फर्किने गरेको र जेलमै रहेका नेपाली नागरिकको सहयोगका लागि दूतावासले कानुनी सहायता प्रदान गर्न कानुनी सहयोगी नियुक्ति प्रक्रिया सुरु गरिसकिएको र नियुक्तिपछि कानुनी सहयोग गर्न थप सहज हुने यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बताए ।

    दूतावासका अनुसार कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, जाँड,रक्सी सेवन, घरेलु विवाद, अवैध बसोबास, आर्थिक लेनदेन तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पनि नेपालीहरू जेल जीवन बिताइरहेका छन् । यसरी जेल पर्नेमा ३६ जना महिला र ४ सय ३७ जना पुरुष छन्।

    यूएईका विभिन्न जेलमा रहेका नेपालीको अवस्था र उनीहरूलाई प्रदान गर्न सकिने कानुनी सहजीकरणका लागि भन्दै नेपाली दूतावास आबुधावी हालै यहाँका सातैवटा राज्यका विभिन्न जेलसम्म पुग्ने अभियान सुरु गरेको र हाल सम्म विभिन्न ३ वटा जेल भ्रमण गरिसकिएको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रन्जिता दाहालले बताइन।

    दूतावासका अनुसार दुबईका विभिन्न चौकी तथा सुधार गृहमा सबै भन्दा धेरै १९ महिला र २७० जना पुरुष कैदी जीवन बिताई रहेका छन् भने दुबईकै सेन्टरजेल अल अबिरमा १ महिला सहित ४५ जना नेपाली नागरिक छन्। त्यस्तै आबुधावी सेन्टर जेलमा ६ महिला सहित ६१ पुरुष, अलऐनमा १ महिला र ३ जना पुरुष तथा आबुधाबीकै जेलको केयर सेन्टरमा १ महिला र सुधार गृहमा ५ जना पुरुष जेल जीवन बिताई रहेका छन्।

    त्यस्तै यूएईको सारजाह जेलमा ७ जना महिला सहित १६ जना पुरुष , रसअलखेमा राज्यमा रहेको जेलमा १ जना महिला सहित १५ पुरुष , अजमानमा रहेको जेलमा ७ जना पुरुष कैदी जीवन बिताइरहेका छन् । त्यस्तै सबै भन्दा थोरै नेपाली कार्यरत रहेको मानिने उम्मलक्वीन राज्यको जेलमा ६ जना पुरुष जेलमा छन्।

    त्यस्तै फुजेराहमा रहेको जेलमा ९ जना नेपाली पुरुषले कैदी जीवन बिताइरहेको नेपाली दूतावास अवुधावीले जनाएको छ ।

    लागूऔषध तथा जाँडरक्सीका कारण सबै भन्दा धेरै

    कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । यूएईमा लागूऔषध सम्बन्धी कानुन अत्यन्त कडा छ । सानो मात्रामा समेत सेवन वा ओसारपोसारको अभियोग लागेमा लामो जेल सजाय भोग्नु पर्ने हुन्छ । त्यस्तै, सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने वा अनुमति बिना मदिरा बेचबिखन गर्ने , जाँड रक्सी खाएर एक आपसमा झै झगडा गर्ने , कुटपिटमा संलग्न हुने धेरै नेपाली यसरी जेल पर्न पुगेका दूतावासले जनाएको छ ।

    नेपाली दूतावास अबुधाबीले बारम्बार सूचना जारी गर्दै यूएईमा बसोबास गर्ने नेपालीलाई कानुन पालना गर्न आग्रह गर्दै आएको छ। सामाजिक संघसस्थाले यस सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि जानकारीको कमी, आर्थिक तथा सामाजिक दबाब र अन्य कारणले कतिपय नेपाली अपराधमा संलग्न हुने वा फस्ने गरेका छन् ।

    पछिल्लो समय आर्थिक प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडि अर्कैलाई दिएर बैंक बाट ऋण लिने , आफ्नो खातामा अवैध रकम भित्राउने , विभिन्न अनलाइन अवैधानिक आर्थिक गतिविधिमा संलग्न हुने , टेलिग्राम जस्ता माध्यम मार्फत अवैधानिक आर्थिक कारोबार गरेको आरोपमा पनि कतिपय नेपाली जेल जीवन बिताइ रहेका छन् ।

    दूतावासले जेलमा रहेका नेपालीलाई नियमित भेटघाट गर्दै आवश्यक कानुनी सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको भए पनि कैदीहरूको संख्या बढ्नु चिन्ताजनक रहेको बताइएको छ ।

    यसै सन्दर्भमा यहाँ सक्रिय विभिन्न सामाजिक संघसस्था तथा प्रवासी संगठनहरूले पनि यूएईमा रहेका नेपालीलाई सचेत रहन, अनुशासनमा बस्न र कुनै पनि अवैध क्रियाकलापमा नलाग्न अनुरोध गर्दै आएका छन्।

    यूएईका विभिन्न जेलमा दूतावासका तर्फबाट उपनियोग प्रमुख दाहाल , दुबई स्थित महावाणिज्य दूतावासका उप महावाणिज्यदूत कृष्णप्रसाद चापागाईँ , श्रम सहचारी पंकज लाभ कर्ण, दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार सहित स्थानीय जनसम्पर्क अधिकृतहरू दूतावासका प्रतिनिधिका रूपमा विभिन्न जेलमा पुगेको दूतावासले जनाएको छ ।

    हाल सम्म यूएईका ३ वटा जेल भ्रमण गरिसकेको दूतावासले अन्य जेल पनि क्रमशः पुग्ने योजना बनाएको छ । साथै जेल भ्रमणमा त्यहाँ रहेका नेपाली सँग भेटघाट तथा कानुनी सहायता बारे स्थानीय प्रशासनका अधिकारीहरू सँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

  • भाषा र सीप छ ? मेनपावरबाटै कोरिया जान पाइने, मासिक ५ लाखसम्म तलब

    भाषा र सीप छ ? मेनपावरबाटै कोरिया जान पाइने, मासिक ५ लाखसम्म तलब

    काठमाडौं । अब मेनपावरबाट नै कोरिया जान पाइने बाटो खोलिएको छ । सीप र भाषा जानेका नेपाली श्रमिकहरू ई-७ भिसामा कोरिया जान पाउने भएका हुन् ।

    नेपालबाट सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि तेस्रो पटक संशोधन गरिएको छ । श्रम मन्त्रालयले कोरियामा सीप र कोरियन भाषा जानेका नेपाली कामदारका लागि पठाउन भनेर ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८०’ बनाएको थियो । श्रम, कानून र परराष्ट्र मन्त्रालयले यसमा लामो समयदेखि गृहकार्य गरेका थिए ।

    परराष्ट्र मन्त्रालयले कोरियामा रहेको नेपाली दूतावासलाई माग प्रमाणीकरणको अधिकार दिएको छ । मेनपावरले ई-७ भिसामा नेपाली कामदारको डिमान्ड ल्याएपछि स्वीकृत हुनेछ ।

    मेनपावरबाट सीपयुक्त श्रमिक कोरियामा पठाउन मेनपावरले नै बीटुबी सम्झौता गरेर लैजाने छन् । ईपीएसबाट भने जीटुजी मार्फत नेपाली कोरिया गइरहेका छन् । श्रम मन्त्रालयले विभिन्न ४ वटा क्याटोगोरीमा १ सयभन्दा धेरै कामको सूची कार्यविधिमा राखेको छ ।

    यी काम जानेको हुनुपर्ने

    पहिलो क्याटेगरीमा ई-७-१ मा व्यवस्थापक र विज्ञ तहका ६७ वटा कामको सूची रहेको छ । व्यवस्थापनतर्फ सूचना, शिक्षा, व्यापार, उद्यम, यातायात, सूचना प्रविधि, खेलकुदसहितका १५ सीप छन् । भने, इन्जिनियर, नर्स, प्राध्यापक र अनुवादक विधाका ३६ पेसाका पनि जान सक्ने छन् ।

    दोस्रो क्याटेगरी मेडिकल व्यवस्थापक, कार्गो, पर्यटन क्यासिनो जस्ता क्षेत्रका कामदार, ड्युटी फ्रीमा काम गर्ने सेल्स काम जानेको, हवाई यातायात स्टाफ सम्बन्धित काम जानेको, होटेल रिसेप्सन र सेफको सीप भएका छन् ।

    तेस्रोमा हलाल मासु काट्ने, चिडियाघरको ज्ञान भएको, जहाज र पानीजहाज मेकानिक र कृषि प्राविधिक छ । त्यस्तै, चौथो क्याटेगरीमा ४ वटा विषयमा सीप भएका मान्छे जान पाउने छन् । जसमा उत्पादन र निर्माण, (कृषिको सीप, पशु र माछा पालनको सीपजस्ता काम छन् ।)

    यी सीप कोरियाको न्याय मन्त्रालयले हेरफेर गर्न सक्नेछ । ई-७ भिसामा कामदार पठाउँदा श्रम विभागले अनुगमन गर्ने छ ।

    यो भिसामा रोजगारदाता कम्पनीले लागत नव्यहोरे श्रमिकले नै तिर्नुपर्ने छ । ईपीएसमा कोरिया जाने कामदार बराबर नै ई-७ भिसामा रकम लाग्ने बताइएको छ ।

    श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भने, ‘मेनपावरले ल्याएको डिमान्ड नै दूतावासले प्रमाणीकरण गर्ने हो । कोरियन सरकारसँगकै छलफलमा कार्यविधि संशोधन गरेका हौं । मेनपावरले ल्याएको डिमान्ड ईपीएससँग मेल खान गएमा त्यस्ता डिमान्ड स्वीकृत हुने छैनन् ।’

    ई-७ भिसा सीप र भाषा जानेकालाई र ईपीएस भाषा परीक्षा पास गरेकालाई भएकाले फरक भएको घिमिरेले बताए ।

    वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मेनपावर व्यवसायीले लामो समयदेखि सीप र भाषा जानेका कामदार पठाउन पाउनु पर्‍यो भनेर माग गरेको बताए ।

    उनले भने, ‘मेरै पालादेखि मेनपावरबाट सीप र भाषा जानेको कामदार ई-७ भिसामा पठाउनका लागि पहल गरेका थियौं । त्यति बेला नै काम अन्तिम चरणमा पुगेको थियो । तर, श्रममन्त्री डोलप्रसाद अर्यालको पालामा रोकिएको थियो । अहिले सरकारले हामी व्यवसायीको माग पूरा गरेको छ ।’

    ई-७ भिसामा कोरियाले ७ वटा देशबाट श्रमिक लगिरहेको सुनाउँदै उनले स्किल फुल वर्कर मात्रै जान पाउने र मासिक कमाइ ४-५ लाख हुने बताए ।

    ईपीएस र ई-७ भिसामा के फरक छ ?

    ई-७ भिसा भनेको भाषा र सीप जानेका कामदार जाने भिसा हो । बीटुबी प्रकृतिको यो भिसाको अवधि सुरूमा १ वर्षको हुन्छ । प्रत्यक वर्ष म्याद थपेर ५ वर्षसम्म बस्न पाइन्छ । मेनपावरले ल्याएको माग अनुसार ईपीएसलाई असर नगरे जान पाइने छ । कोरियामा रोजगारी दिने कम्पनीले नेपाल आएर भाषा र सीप परीक्षण गरेरमात्रै नेपाली कामदार लैजाने छ ।

    भने, ईपीएस भनेको ई-९ भिसा हो । यसमा भाषा जानेकाहरूले परीक्षामा नाम निकालेपछि कोरियाबाट माग आएपछि जान पाइन्छ । ईपीएसमा कृषि, मेनु, सेवा र जहाज निर्माणलगायतका काममा नेपाली जाने गरेका छन् । यसमा कोरियाले कोटा तोक्ने गरेको छ । यो भिसामा ७ दिने अभिमुखीकरण तालिम दिएर लगिन्छ । कोरियामा २ रात ३ दिनको तालिम दिएपछि काममा लगाइन्छ । यो तालिममा कोरियाको कानून, त्यहाँको आधारभूत कुरा र ट्राफिक नियमहरूको जानकारी दिइन्छ ।

    ईपीएस कोरिया शाखाका निर्देशक राजकुमार राईका अनुसार बीमा, हवाई टिकट, स्वास्थ्य परीक्षण भिसा शुल्कलगायत करिब १ लाख ५० हजार शुल्क लाग्ने बताए । उनका अनुसार हाल ईपीएसमा कोरिया गएका नेपाली १ लाख १७ हजारभन्दा धेरै छन् ।

    ई-७ को डिमान्ड ल्याउँदा ईपीएससँग मिल्यो भने कोरियामा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्दैन । ईपीएस भिसालाई केही असर नगर्ने गरेर नै ई-७ भिसा नेपालमा खुल्ला गरिएको सम्वद्ध अधिकारीले बताएका छन् ।

  • ठगी र ‘सेटिङ’ नियन्त्रणमा अध्यागमनको कडाइ-एयरलाइन्सदेखि ट्राभल्ससम्मलाई यस्तो अनुरोध

    ठगी र ‘सेटिङ’ नियन्त्रणमा अध्यागमनको कडाइ-एयरलाइन्सदेखि ट्राभल्ससम्मलाई यस्तो अनुरोध

    काठमाडौं । अध्यागमन विभागले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भन्दै ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्मलाई लक्षित गरी सार्वजनिक अनुरोध गरेको छ ।

    विभागले आज एक सार्वजनिक अनुरोध जारी गर्दै विमानस्थलमा हुने ‘सेटिङ’, नक्कली कागजातको प्रयोग र भिजिट भिसाको दुरूपयोग रोक्न कडा कदम चाल्ने संकेत दिएको हो ।

    अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई प्रदान गरिने सेवालाई थप सरल र सहज बनाउन सहयोग गर्न विभागले यात्रुसहित ७ संस्थाहरुलाई अनुरोध गरेको छ ।

    विभागले अबदेखि पर्यटक भिसामा विदेश जान चाहने नेपाली नागरिकप्रति  हैसियतको आधारमा विभेदपूर्ण व्यवहार नगर्ने बताएको छ। कानुन बमोजिम अनुसन्धान गर्नुपर्ने स्थिति बाहेक अन्यथा रोकथाम वा दुर्व्यवहार नगर्न निर्देशन दिइएको छ।

    विभागले ट्राभल्स, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूलाई सचेत गराएको छ । पर्यटकीय भिसामा विदेश पठाउने प्रलोभन देखाउने, नक्कली कागजात बनाइदिने र दोहोरो टिकट काटेर यात्रुलाई अलपत्र पार्ने जस्ता कार्यमा संलग्न कम्पनीलाई तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । विभागले त्यस्ता गैरकानूनी काम गर्ने कम्पनी र सञ्चालकको नाम सार्वजनिक गर्ने पनि बताएको छ ।

    त्यस्तै, विमान कम्पनीहरूलाई पनि जिम्मेवार बन्न आग्रह गरिएको छ । ‘ओभरबुकिङ’ को नाममा यात्रुलाई हैरानी दिने र बोर्डिङ पास जारी गरेपछि पनि विभिन्न बहानामा उडानबाट वञ्चित गराउने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न सचेत गराइएको छ । कुनै यात्रुलाई ‘अफलोड’ गर्नुपरेमा त्यसको स्पष्ट र लिखित कारण दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

    सूचनामा भनिएको छ,‘सबै यात्रुहरुलाई विमानको प्रस्थान समयभन्दा कम्तीमा १ घण्टा अगावै अध्यागमनको स्टेरेलाइज्ड एरियामा अनिवार्य रूपमा पठाउन सबै वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिन्छ। यसका लागि चेक-इन काउन्टर समयमै बन्द गर्ने व्यवस्था मिलाई अध्यागमन क्षेत्र र प्रक्रियामा अनावश्यक दबाब तथा असहज अवस्था नहुने गरी व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

    कतिपय वायुसेवा कम्पनीहरुले अत्यधिक ओभरबुकिङ गर्ने, बोर्डिङ पास जारी गर्दा समेत नागरिकको हैसियतका आधारमा व्यवहार गर्ने भन्ने सूचना प्राप्त भएकाले त्यस्ता प्रकारका गतिविधिमा संलग्न नहुनरनगराउन सबै वायुसेवा कम्पनीहरुले हवाई टिकट बुकिङ्ग गर्दा सिट क्षमता भन्दा बढी टिकट बुकिङ्ग नगर्न र यस विषयमा सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारीहरुलाई सुसूचित तथा प्रशिक्षित गर्नुरगराउन विभागले समेत अनुरोध गरेको छ ।

    विभागले सर्वसाधारण नागरिकहरूलाई पनि दलाल र बिचौलियाको प्रलोभनमा नपर्न, आधिकारिक माध्यमबाट मात्रै भिसा प्रक्रिया अगाडि बढाउन र शंकास्पद लागेमा विभाग वा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।

    साथै, यात्रामा जानुअघि ‘नागरिक एप’मार्फत आफ्ना कागजात अपलोड गरी पूर्व-स्वीकृति लिने व्यवस्थाको फाइदा लिन पनि विभागले आग्रह गरेको छ। भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउँदै सुरक्षित आप्रवासनका लागि सबै पक्षको सहयोगको अपेक्षा गरिएको विभागले जनाएको छ ।

     

     

  • ड्यालसमा हिन्दू चाडपर्व मान्न नेपालकै क्यालेण्डरलाई आधार लिइने

    ड्यालसमा हिन्दू चाडपर्व मान्न नेपालकै क्यालेण्डरलाई आधार लिइने

    ड्यालस । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेन्डरलाई आधार मान्ने निर्णय लिएको छ ।

    हिन्दू चाडपर्व मान्ने दिनका सम्बन्धमा विवाद हुन थालेपछि गत हप्ताभरि सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणको नतिजा, शनिवार सम्पन्न टाउनहल बैठकमा सार्वजनिक समेत गरियो ।

    सर्वेक्षण, यसअघिका चाडपर्वहरूमा देखिएको बहुसंख्यकको उपस्थितिलाई आधार मानेर यस्तो निर्णय भएको बताइएको छ । केन्द्र अन्तरगत अहिले टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार रहेका छन् ।

    अमेरिकाका निम्ति भनेर निकालिएका तिथिमा पर्व मनाउने गरी विगत ६ वर्षदेखि मन्दिर तथा बिहारले स्थानीय अलग्गै क्यालेन्डर सार्वजनिक गर्दै आएको थियो । तर ठूलो संख्यामा भक्तजन तथा हिन्दू धर्ममा आस्था राख्नेहरूले नेपाली क्यालेन्डर अनुसारकै दिनमा मान्न चाहना देखाउनुका साथै त्यसै अनुसार सहभागिता देखिएपछि यो निर्णयमा पुगेको समेत जनाइएको छ ।

    ‘अबदेखि नेपाली क्यालेण्डरलाईनै फलो गरेर हिन्दू चाडपर्व मनाउने निर्णयमा हामी पुगेका छौँ । बहुसंख्यकबाट प्राप्त सर्वेक्षणको सुझाव, टाउनहल बैठकमा प्राप्त सुझाव एवं पर्वमा देखिने सहभागिताबाट हामी सर्वसम्मत रूपमा कार्यसमितिले यो निर्णय गरेको हो’, मन्दिरका प्रवक्ता सुमन कार्कीले भने ।

    सन् २०१९ को बडादशैंदेखि अमेरिकाको लागि भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले धेरै चाडपर्वहरु अघिल्लै दिन प्रकाशित गर्दै आएको छ । जसले गर्दा जनमानसमा द्विविधा हुनुका साथै मन खुकुलो मनाएर चाड मनाउन नपाएको व्यापक गुनासो आइरहेको थियो ।

    ‘नेपाली क्यालेन्डर र अमेरिकी क्यालेन्डर अनुसार दुई दिन पर्व राखिन्छ । यसले गर्दा अफिस छुट्टी लिनुपर्ने, स्कुल छुट्टी लिनुपर्ने बालबालिकाले कहिलेलाई भनेर लिने ? यसलाई तुरुन्त हल गरेर विगतमा जे थियो, त्यसैमा जानु हाम्रो कल्याण हुन्छ टाउनहल बैठकमा युलेस सिटीका मेयर प्रोटेम टीका पौडेलले निकै गम्भीर रूपमा धारणा राखेका थिए ।

    गत हप्ता लिइएको पर्व कहिले मनाउने भन्ने सर्वेक्षणमा ६५ प्रतिशतले नेपाली क्यालेन्डर अनुसार गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै २२ प्रतिशतले अमेरिकाको स्थानीय समय र तिथि अनुसार मनाउनुपर्ने र झण्डै १३ प्रतिशतले दुबै दिन मनाउँदा पनि हुने भनेर सुझाव दिएका थिए ।

    शनिबारको टाउनहलमा सहभागी भएर धारणा राख्ने ९४ जना मध्य ५९ प्रतिशतले नेपाली क्यालेन्डरलाई फलो गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै २४ दशमलव ५ प्रतिशतले अमेरिकी तिथि, १० दशमलव ६ प्रतिशतले दुबै दिन मनाउने धारणा राखेका थिए भने ५ दशमलव ३ प्रतिशतले कतै पनि आफ्नो मत जाहेर गरेनन् ।

    नेपाली क्यालेन्डर अनुसार नै पर्व मनाउनुपर्ने धारणा अत्यधिक समुदायबाट आउनुका साथै पर्वहरूमा सहभागिता समेत नेपालकै क्यालेन्डर अनुसारको दिनमा भएपछि घनीभूत छलफल पछि मन्दिरको कार्यसमिति सन् २०१९ अघिकै रूपमा पर्व मनाउने निर्णयमा पुगेको हो । अघिल्लो हप्ता शुक्रवार र शनिवार जनैपूर्णिमा मनाउने कार्यक्रम मन्दिरले राखेको थियो । शुक्रवार दुईसय जना पनि सहभागी भएनन्, जबकि शनिवार पाँचहजार भन्दा बढी व्यक्तिहरू मन्दिरको कार्यक्रममा सहभागी भएका थिए ।

    त्यस्तै हिजो शुक्रवार राखिएको कृष्णअष्टमीमा मन्दिरमा तीन दर्जन भक्तजनको पनि सहभागिता भएन । शनिवार राखिएको कृष्ण जन्माष्टमीमा भव्य रथयात्रा सहितको कार्यक्रम सम्पन्न भयो । श्रीकृष्ण प्रणामी समुदायले पनि हर्स्ट स्थित प्रणामी मन्दिरमा शनिबारनै जन्माष्टमी मनाएको छ ।

    शनिवार केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कोही भक्तजनलाई अमेरिकाको तिथि अनुसार पर्व मनाउन मन लागेमा मन्दिरले सेवा उपलब्ध गराउने निर्णय गरेको छ । ‘मन्दिरले आधिकारिक रूपमा जनैपूर्णिमा, जन्माष्टमी, तीज, दशैंको घटस्थापना, टीका, तिहारका लक्ष्मीपूजा, भाइटिका, शिवरात्री जस्ता तिथिका आधारमा मनाइने पर्वमा अब नेपाली क्यालेन्डरलाई आधार लिइनेछु प्रवक्ता कार्कीले भने- ‘यो बहुसंख्यकको सुझाव र पर्वमा देखिएको उपस्थितिलाई आधार मानेर लिएका हौं ।’

    बैठकले अबदेखि केन्द्रका बिभिन्न सामाजीक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक) जस्ता पेजहरुमा अहिले जस्तो तिथि मिति, पर्वका बारेमा नलेख्ने र मुख्य पर्व मनाइने दिनमात्र जानकारी दिइने निर्णय पनि गरेको छ ।

    त्यस्तै मन्दिरका पदाधिकारी, पुजारी पण्डित, कर्मचारी सबैका लागि आचार संहिताले बाँध्ने निर्णय गरेको छ । ‘मन्दिर र बिहारको हित प्रतिकुल सामाजीक सञ्जालमा लेख्न पाइनेछैन, सबैका लागि आचार संहिताको ड्राफ्ट गरिएको छ’ उनले भने ।

  • युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी*

    युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी*

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

    नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।

    दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो । रासस

  • कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

    कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

    यूएई । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

    महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै अवैध विषादी युक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको पूर्ण विवरण अझै नखुले पनि १६ जना नेपालीको ज्यान गएको जनाएको छ ।

    ‘१६ जना नेपाली नागरिक रहेको आधिकारिक जानकारी प्राप्त भयो, ज्यान गुमाउनेहरूको नेपालको ठेगाना र कम्पनी विवरण प्राप्त भइसकेको छैन ‘ पत्रकार महासंघका कुवेत शाखा अध्यक्ष राज मल्लले भने ।

    कुवेतमा शुक्रबार सार्वजनिक बिदा परेकोले थप विवरण प्राप्त हुन समय लागेको हो, नेपाल प्रेससँग कुरा गर्दै मल्लले भने ।

  • साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

    साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

    काठमाडौं ।  श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरुको श्रम वैधानिकिकरण सुरु भएको छ ।

    आज रियादस्थित नेपाली दूतावासले आयोजना गरेको एक समारोहमा आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिएर राजदुत डा नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण औपचारिक रुपमा सुरु गरे।

    कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताए ।

    श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने नभएकाले वैधानिकिकरण अभियान सुरु गरिएको उनले जानकारी दिए । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने बताए ।

    राजदूत डा ढकालले श्रम वैधानिकिकरणलाई अभियानकै रुपमा सञ्चालन गरिने बताए । उनले यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गरे ।

    राजदूत डा ढकालका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा आएका नेपाली श्रमिकहरुले श्रम स्वीकृतिका  लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

     

  • कुवेतमा अवैध रक्सी सेवनबाट ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु, कैयौँको अवस्था चिन्ताजनक

    कुवेतमा अवैध रक्सी सेवनबाट ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु, कैयौँको अवस्था चिन्ताजनक

    युएई । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ ।

    विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरूको उपचार भइरहेको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले बताए।

    ‘धेरै जना जना उपचारका क्रममा छन् । केही शवहरू अस्पतालमा छन् भन्ने जानकारी प्राप्त भएको छ , ज्यान गुमाउने अधिकांश८ भारतीय तथा केही नेपाली रहेको जानकारी प्राप्त भएको छ,’ कुवेतस्थित दूतावासका श्रम सहचारी आचार्यले भने ।

    तर, मृतकमध्ये नेपाली र कुन कम्पनीमा कार्यरत हुन भन्ने बुझ्ने क्रममा रहेको उनले बताए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै घटनामा ६ जना नेपाली परेको र थप विवरण प्राप्त गर्न बाकी रहेको जनाएका छन् । कोरोना संक्रमणकालमा पनि यस्तै मदिरा सेवन गर्दा १२ जना नेपालीको ज्यान गएको थियो ।

    ज्यान गुमाउनेमा २ जना आदान अस्पतालमा र ४ जना सालबिया क्षेत्रमा कम्पनीकै मजदुर शिविरमा छन् । मृत्यु हुने ६ जना नेपालीमध्ये ५ पुरुष सहित एक जना महिला रहेको पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष राज मल्लले नेपाल प्रेसलाई बताए ।

    उनका अनुसार कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

    कुवेती समाचार संस्था कुवेत टाइम्सका अनुसार गत शनिवारदेखि विषाक्त मदिरा पिएर अस्पताल भर्ना हुने क्रम बढेको हो । विषाक्त मदिरा सेवनका कारण बुधवारयता ६३ जना अस्पतालमा भर्ना भएको र १३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको समाचारमा उल्लेख छ ।

    कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी उत्पादन गरी अवैधानिक रूपमा बेचबिखन हुँदै आएको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसरी समस्यामा परी घाइते भएका ५१ जनाले मिर्गौलाको डायलासिस गरिरहेको र २१ जनामध्ये कसैमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको छ । यस्तै ३१ जनाको भेन्टिलेसनमा राखेर गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

    विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माणाधीन क्षेत्रमा कार्यरत श्रमिक रहेको कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

    प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । विषालु रसायनको रूपमा चिनिने मेथालोन उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने र सोही पदार्थ मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् ।

    सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भए पनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टिमा समस्या हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

  • ई-७ भिसामा कोरिया जान नयाँ व्यवस्था, दूतावासले माग प्रमाणीकरण गर्ने

    ई-७ भिसामा कोरिया जान नयाँ व्यवस्था, दूतावासले माग प्रमाणीकरण गर्ने

    काठमाडौं । नेपालबाट कोरियामा सीप र कोरियन भाषा जानेका नेपाली कामदार पठाउनेसम्बन्धी कार्विधि तेस्रोपटक संशोधन गरिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० चैत १७ गते सो कार्यविधि स्वीकृत गरेको थियो । पहिलो संशोधन २०८१ कात्तिक ७ गते, दोस्रो २०८२ असार ९ गते र तेस्रो संशोधन असार १३ गते भएको हो । कार्यविधि एकै महिनामा दुई पटक संशोधन गरिएको छ ।

    हालैको संशोधनअनुसार ई-७ भिसामा नेपालबाट कोरियामा काम गर्न जाने कामदार मेनपावरबाट पठाउने व्यवस्था रहेको छ । तर, यसको अनुगमन भने श्रम विभागले नै गर्नेछ । रोजगारदाता कम्पनीले ई-७ भिसाको लागत नबेहोरे श्रमिकले नै तिर्नु पर्नेछ । ईपीएसमा कोरिया जाने कामदार बराबर नै कोरिया जाने श्रमिकले तिर्नुपर्ने उल्लेख छ ।

    कोरियास्थित नेपाली दूतावसलाई नेपाली कामदार ई- ७ भिसामा पठाउन माग प्रमाणीकरण गर्न युजर नेम र पासवर्ड दिने प्रक्रिया परराष्ट्र मन्त्रालयले अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले कोरियामा रहेको नेपाली दूतावासलाई युजर नेम र पासवर्ड दिने प्रक्रिया अघि बढेको बताए ।

    श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले ई-७ भिसाको प्रक्रिया अघि बढेर नै तेस्रो पटक कार्यविधि संशोधन भएको बताए । तेस्रो संशोधनमा कुन कुन काम जानेका कामदार जान पाउने भन्ने लागतका विषय समेटिएको बताए ।

    घिमिरेले नेपाल प्रेससँग भने, ‘ई-७ भिसा र ईपीएस फरक हो । ई-७ भनेको काम र भाषा जानेका कामदार जान पाउने भिसा हो । भने, ईपीएस भनेको भाषा जानेर जान पाउने भिसा हो ।’

    ई-७ भिसा बीटुबी हुने छ । मेनपावरले डिमान्ड ल्याएपछि कोरियामा रहेको नेपाली दूतावासले माग पत्र प्रमाणीकरण गर्ने छ ।

    सुरुमा निःशुल्क रुपमा ई-७ भिसामा नेपाली कामदार पठाउने भनेर सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि २०८० बनेको थियो । अहिले तेस्रो संशोधनसम्म आइपुग्दा कुन कुन काममा नेपाली कामदार जान पाउने भन्ने कुरा उल्लेख भएको छ । त्यसका लागि १ सय वटा कामको सूची तयार छ ।

    पहिलो संशोधनमा निःशुल्क कोरिया भाषा जानेको र सीप जानेका कामदार जान पाउने भन्ने व्यवस्था थियो । तेस्रो संशोधनमा भने रोजगारदाताले श्रमिक लैजाँदा लागत नव्यहोरै श्रमिकले नै तिर्नुपर्छ । ई-७ भिसामा कोरिया जाँदा ईपीएसमा कोरिया लाग्ने शुल्कभन्दा बढ्ने गरी पैसा लिन नपाइने उल्लेख छ ।

    यस्तो छ कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि

  • तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय युवा दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरू

    तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय युवा दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरू

    काठमाडौं । आज अगष्ट १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको राजधानी लिस्वनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको सहभागितामा विश्व युवा सम्मेलन आयोजना गरी सो सम्मेलनबाट आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनुका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदे लिस्वन घोषणापत्र समेत जारी गरेको थियो ।

    त्यसपछि राष्ट्रसंघको आहानमा सन् २००० बाट विश्वभर हरेक वर्षको अंगष्ट १२ का दिन युवा सशक्तीकरण, जागरण र बहस गर्ने महत्त्वपूर्ण दिनको रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको छ ।

    यसै सन्दर्भमा सन् २०२५ का लागि संयुक्त राष्ट्रसंघले”Local Youth Actions for the SDGs and Beyond” भन्ने नारा तय गरेको छ भने नेपालमा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा यो दिवस मनाउँदै गर्दा देशको राजनीतिक अवस्थाले गर्दा युवाहरू विदेशिन बाध्य भएका छन् ।

    गलामा नेपालको राष्ट्रिय झण्डा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्नका लागि गोरखा पालुङटारबाट आएका सञ्जय नहर्की देशमा राम्रो भएको भए विदेशिन नपर्ने बताउँछन् ।

    घर, परिवार साथीभाइ छोडेर विदेशिनुको बाध्यता सरकारले नबुझेको उनको गुनासो पनि छ ।

    मकवानपुरका लीलाराज सुनार आफ्नो छोरा २५ वर्षीय राकेश सुनारलाई बिदाइका हात हल्लाउँदै मन भारी बनाइरहेका थिए ।

    उनका अनुसार मैले मेरो छोरालाई अर्काको दास बनाउन पठाउँदै छु राज्यले देशमा उद्योग, कलकारखाना खोली युवाहरूलाई देशमै बस्ने वातावरणको सृजना गर्नु पर्ने र काम गरी खाने अवस्था ल्याउन पर्ने बताए ।

    रामेछाप लिखुतामाकोशीका राजीव कार्की वैदेशिक रोजगारीका लागि साउदी जाँदै गर्दा आफ्ना दुई सन्तान र श्रीमतीसँग बिदाइ हुँदै थिए ।

    छोराछोरी, श्रीमती, घरपरिवार छोडेर विदेशिनुको बाध्यता सरकारले सही नीति, देशमा रोजगारीको अवस्था सृजना नगर्नु नै प्रमुख हो उनी बताउँछन् ।

    वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहँदा नेपाल बूढाबूढीको देश हुने चिन्ता बढेको छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक करिब दुई हजार युवा रोजगारीका लागि विदेश गइरहेका छन् ।

    गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

    प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।

    वैदेशिक रोजगारीमा जाने यो हालसम्मकै उच्च हो । गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन् ।

    नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् ।

    विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।

  • पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

    पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

    काठमाडौं । तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तर्राष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ ।

    उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ ।

    नेपाली मूलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका हुन्, आदित्य झा । उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन् ।

    झाको दाबी छ, ‘यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु । कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन ?’

    थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन् । लोभलाग्दा सफलता छन् । उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन् ।

    त्यसका लागि के गर्नुपर्ने हो ?

    ‘पलायन नेपालमा सामाजिक रोग बनेको छ । किनभने यहाँका धेरैजसो युवाले सोच्छन्– हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन । सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन् । तर उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ । रु ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ’, उनी विश्वासका साथ भन्छन् ।

    सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिए । ‘मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम ग¥यो । ठूलो टोली थियो । तर पछि अर्को कम्पनीलाई काम दिइयो । अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ’, उनले सुनाए ।

    नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उनी सुनाउँछन् । तर अस्थिरता र भ्रष्टाचार ? को कोपभाजनमा पर्यो उनको योजना । ‘नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ । अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ । यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन’, यो उनको कटु अनुभव हो ।

    ‘सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ । किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्’, उनको भनाइ थियो ।

    नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे । उहाँलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन । नेपाल त्यसका लागि तयार पनि छैन । सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ । तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ ।

    ‘बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो ? तर अहिले भियतनाम कहाँ पुग्यो ? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन ।’ उनको बुझाइमा राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालल पाउन सकेन । नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उनी समस्याका रुपमा देख्छन् ।

    ‘राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छङ’, उनले जोड दिएर भने ।

    ‘कस्तो भूमिका ?’

    ‘मुलुकको समृद्धि भनेको दियोजस्तो हो । दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ । राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो ।’

    उनले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भने, ‘एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो । जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन् । भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए । तर अहिले हैदरावाद कहाँ पुग्यो ?’

    उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके नतिजा देखिन्छ ।

    ‘नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, ‘हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ’, झाको उत्साही निष्कर्ष थियो ।

    नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने ? जवाफमा उहाँले अर्को तितो अनुभव सुनाए ।

    आइटीमा आफूले पाएको सफलताको अनुभवमा उनी भन्छन्, ‘तपाई नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईँको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ ।’

    अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन् ।

    यो कम्पनीका नौ देशमा कार्यालय छन् । कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना । भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन् । तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो ।

    किन यस्तो सफलता नेपालमै सम्भव भएन ? क्यानडा नै किन जानुपर्यो ? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन ? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन् ? यहाँ यो किन सम्भव भएको छैन ? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन् ?

    ृउनलाई लाग्छ – सायद नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन् ।

    ‘म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन् । मलाई थाहा हुनु पनि पर्दैन । तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु’, झाको जवाफ थियो ।

    भनसुन प्रवृत्ति नेपालको समस्या हो । अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ । किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन । ‘तपाईँ आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ । यो नै सभ्य समाजको चिनारी हो ।’

    उनले अगाडि थप्नुभयो, ‘हामी नेपाल सानो देश भन्छौँ । तर सिङ्गापुर पनि त सानो नै हो । युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन् । तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन । समस्या हाम्रो सोचाइ र संरचनामा छ ।’

    सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उनको मनमा एउटा सपना पलायो, ‘नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरू गर्न सकिएला ?’

    त्यो बेला भारतमा जम्मा चार÷पाँच वटा मात्र आइआइटी थिए । अहिले त्यो सङ्ख्या निकै बढिसकेको छ ।

    उनले सम्झिए, ‘तपाईँ इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन् । तर ती विश्वविद्यालय स्वतन्त्र थिए । व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन ।’

    झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राखेका थिए । तर नेपालमा अवस्था फरक छ । उनी भन्छन्, ‘कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ । अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा । यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै छ ।’

    नेपालमा काम गर्ने उनका अनुभव खासै राम्रो रहेनन् ।

    ०००

    ‘जब मैले राम्रो पैसा कमाएँ, तब लाग्यो– किन काठमाडौँ वा नेपालमा एउटा आइआइटीजस्तो संस्था हुँदैन’, उनले दुई दशक अघिको प्रयास सम्झिए । नेपालमा करिब १०० करोड लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने । व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने तर प्राइभेट– हार्वर्ड, एमआइटीजस्तै ।

    झाले अनुभव सुनाए, ‘म करिब एक वर्षसम्म त्यसमा लागेँ । क्यानडाबाट मान्छे झिकाएँ । तर म असफल भएँ । त्यो बेला म अलि अनुभवहीन थिएँ । आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ । किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु ।’

    त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ झालाई ।

    ०००

    उनको दोस्रो अनुभव पनि उस्तै ।

    अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथी आएर भने, ‘आदित्यजी, तपाईँले काठमाडौँका स्कुलमा कम्प्युटर बाँड्नका लागि लागि पैसा दिनुपर्छ ।’

    झाले सोधे, ‘कति चाहिन्छ ?’

    साथीले भने, ‘१० वटा स्कुलका लागि डेस्कटप ।’

    सायद झाले करिब १० हजार डलर दिए ।

    केही महिनापछि थाहा भयो– कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन् ।

    भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन् । उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने । ढुवानीमा धेरै पैसा खर्च गरँे । अनि ती कम्प्युटर स्कुलमा राखिदिए ।

    यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने । यो प्रयास पनि असफल भयो ।

    ०००

    तेस्रो, कसैले उनलाई सुनाए, ‘तपाईँ त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस् ।’

    त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो । त्यो अवधारणा नेपालमा पनि लागू गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उहाँले जनकपुर पठाए ।

    धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे । तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन । केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो ।

    तर केही महिनापछि झालाई फोन आयो, ‘आधा कम्प्युटर हरायो ।’

    झाले सोधे, ‘तपाईँले सिल गर्नुभएको थिएन ?’

    जवाफ आयो, ‘सिल छ, ताला छ, तर ल्यापटप छैन ।’

    त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो । केही समयपछि फेरि फोन आयो, ‘स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो । अब के गर्ने ?’

    झाले भने, ‘अब मलाई मतलब छैन । जेसुकै गर ।’

    नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गरे । अहिले उनको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्– टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ ।

    बीसभन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन् । उनको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पु¥याउने छ । साथै उहाँ क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहेका छन् ।

    ०००

    यद्यपि अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ – नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने । यस पटक भने उनको ध्यान ‘आइटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ ।

    ‘नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै सङ्ख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु’, उनी भन्छन् ।

    गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने उनको मुख्य ध्येय हो ।

    ‘यदि मैले ५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०–२५ जनालाई व्यवसाय गराउन सक्छु भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेछ । मेरो टोलीले उनीहरूलाई उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउनेछ । यही मेरो अन्तिम सपना परियोजना हुनेछ । यही मेरो पूजा हुनेछ । यही पशुपति, काशी र केदारनाथ हुनेछ ।’

    झालाई लाग्छ – नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो ।

  • क्यानडामा ‘हिमालयन मेला’ को तयारी, यस्ता छन् आकर्षण

    क्यानडामा ‘हिमालयन मेला’ को तयारी, यस्ता छन् आकर्षण

    टोरोन्टो, क्यानडा । नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने उद्देश्यस्वरूप हिमालयन मेला यस वर्ष आफ्नो १७ औं संस्करणसँगै नेप्लीज कम्युनिटी सर्भिसेज (NCCS) को रजत जयन्तीमा गरिने भएको छ ।

    टोरोन्टोको नेथन फिलिप स्क्वायरमा आगामी अगस्ट ९ मा मेलाको तय भएको छ । एनसीसीएसका महासचिव सुदर्शन सापकोटाले विगत भन्दा यस वर्ष मेला विशेष र फरक हुने बताए । १० देखि १२ हजार दर्शकको जमघट हुने अनुमान आयोजकको छ ।

    मेलामा मुख्य आकर्षणका रूपमा कलाकार खेम सेन्चुरीलाई निम्त्याइएको छ । साथै, विभिन्न जातजातिको परम्परागत बाजागाजा, सांस्कृतिक प्रस्तुति पनि हुनेछ ।

    विभिन्न समुदायका खाना र व्यवसायिक स्टल पनि मेलाका आकर्षण हुने छन् । करिब २० वटा फुड स्टलहरू जहाँ म:म:, सेलरोटी, आलुको आचारलगायत नेपाली परिकार राखिनेछ । यसबाहेक कन्सल्टिङ सेवा, इमिग्रेशन, रियल स्टेट, इन्स्योरेन्स, गहना व्यवसाय, हस्तकला र कपडा लगायतका १० भन्दा बढी व्यवसायिक स्टलहरू रहनेछन् ।

    क्यनाडाका प्रधानमन्त्री,,संघीय र प्रान्तीय सांसदहरू, टोरन्टो मेयर र नगरस्तरीय अधिकारीलाई पनि निम्तो गरिएको सापकोटाले सुनाए ।

    उनले भने, ‘हिमालयन मेला हाम्रो सांस्कृतिक पहिचानलाई बलियो बनाउने, नेपाली समुदायलाई एकताबद्ध गर्ने र क्यानडामा हाम्रो पहिचानलाई व्यापक रूपमा चिनाउने एक उत्कृष्ट अवसर हो । सबै मिलेर यो भव्य पर्वलाई सफल बनाऔं र नेपाली समुदायको गौरवलाई अग्लो बनाउन योगदान दिऔं ।’

  • ‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि

    ‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि

    काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’ मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।

    भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन् । सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ । अर्कोतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा दुई राजनीतिक दलले बैठकलाई अवरोध गर्दै आएका छन् ।

    गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने काम गर्दै आएको छ । विमानस्थलबाट बर्सेनि यसरी भिजिट भिसामा यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनका लागि स्रोतसाधन र प्रविधिमा चाप बढेको छ । अध्यागमन विमानस्थल कार्यालयमा हाल झण्डै एक सय ५० जना कर्मचारी समयतालिका अनुसार कार्यरत रहेको विभागले जनाएको छ ।

    गृह मन्त्रालयले अध्यागमन क्षेत्रलाई चुस्त बनाउन भन्दै केही दिन अघिमात्र विभागको महानिर्देशकमा रामचन्द्र तिवारी र विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा नरहरि अर्याललाई खटाएको छ । महानिर्देशक तिवारीले विभागलाई केवल आगमन र प्रस्थानको अभिलेख राख्ने निकायमा सीमित नराखी राष्ट्रिय सुरक्षा र सुरक्षित आप्रवासनका क्षेत्रमा नीतिगत सुझाव दिने एक विशेषज्ञ निकायको रूपमा विकास गर्ने गरी काम गर्ने बताए ।

    उनले अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधिलाई वर्तमान समयको आवश्यकता र अन्तरराष्ट्रिय अभ्यास अनुकूल परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै प्रविधिमा आधारित सुधारका विभिन्न कार्ययोजनासमेत तयार गरेको अवगत गराए ।महानिर्देशक तिवारीले भने, “राहदानी विभाग, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र सुरक्षा निकायलगायत सबै निकायको डाटालाई अध्यागमन प्रणालीसँग एकीकृत गर्ने एकीकृत डिजिटल अध्यागमन प्रणाली बनाउने योजनामा छौँ ।” त्यस्तै मानव संसाधन विकास र सुदृढीकरण गर्ने, विशेषज्ञता र वृत्ति विकास, उच्चस्तरको निष्ठा र अनुशासन, अन्तर–निकाय समन्वय र सहकार्यका योजनाबारे उनले सुनाए।

    उनले भिजिट भिसा प्रक्रियामादेखि समस्या समाधानका लागि परराष्ट्र, श्रम, गृह मन्त्रालय, नेपाल प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागबीच सूचना आदानप्रदान र सहकार्यका लागि एक बलियो र स्थायी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

    सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपालीले भिजिट भिसामा विभिन्न मुलुकमा यात्रा गरेका थिए । सन् २०२३ मा दुई लाख दुई हजार ४१९ ले यात्रा गरेका थिए, भने सन् २०२२ मा एक लाख ७५ हजार ७९० र ९० हजार १८१ नेपालीले भिजिट भिसामा यात्रा गरेको विभागको तथ्याङ्क छ । यो सङ्ख्या सन् २०२५ को जुलाई सम्ममा एक लाख ३४ हजार ८२५ पुगेको छ । भिजिट भिसामा जाने प्रमुख गन्तव्य मुलुकहरुमा युएई, थाईल्याण्ड, ओमान, कतार, मलेसियालगायत रहेका छन् ।

    “भिजिट भिसा समस्या खुद्रे र प्रतिक्रियात्मक सुधारले होइन, वृहत, एकीकृत र दूरगामी सोचले मात्र समाधान सम्भव छ । ‘भिजिट भिसामा कडाइ’ को असफल भाष्यबाटमाथि उठेर सहजीकरण, नियमन र संरक्षणको नयाँ मार्गचित्र अँगाल्नुपर्छ भन्ने विभागको निष्कर्ष छ” उनले भने । प्रस्थान व्यवस्थापन र यसको बहसमा मात्र सम्पूर्णमूलुक केन्द्रित भएको परिस्थितिमा विभागले आगामी दिनमा आगमनमा पनि प्राथमिकताका साथ कार्य गर्ने योजना तयार गरेको जनाएको छ ।

    महिलाको सङ्ख्यामा उल्लेख्य वृद्धि

    भिजिट भिसामा जाने महिला यात्रुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । कूल सङ्ख्यामा महिलाको हिस्सा सन् २०२१ को १४.४ प्रतिशतबाट बढेर सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ । खासगरी युएई र थाईल्याण्डजस्ता गन्तव्यमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ ।

    भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा म्याद भएको बैध राहदानी र यात्रा प्रयोजनसम्बन्धी भिसा, दुईतर्फी हवाई टिकट, खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम् ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने प्रावधान छ ।

    विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले भिजिट भिसा प्रक्रियामा देखिएका समस्या समाधानमा विशेष कार्ययोजनासहित आफूहरु खटिएको बताए । अन्तरप्रणाली आवद्धताका विषयमा सुधार गरी अघि बढ्ने प्रण गर्दै उनले भने, “यो राष्ट्रको गरिमासँग जोडिएको विषय हो, यसमा सफलता प्राप्त गर्न सबै निकाय र क्षेत्रको सहयोग आवश्यक हुन्छ । अनिमात्र सुशासन कायम गर्न सकिन्छ ।”अध्यागमन सुधारको लक्ष्य भनेको प्रविधिमैत्री, सुरक्षित, कुशल, पारदर्शी र नागरिकप्रति जवाफदेही प्रणाली निर्माण गर्नुभएको उल्लेख गर्दै उहाँले अनिमात्र राष्ट्रिय सुरक्षाको रक्षा गर्न र आफ्ना तथा विदेशी नागरिकको अधिकार र मर्यादाको सम्मान हुने बताए ।

    दलालको लहलहैमा भिजिट भिसामार्फत सेटिङमा विभिन्न मुलुकमा रोजगारीका लागि जाने सर्वसाधारण अनेकौ तहमा ठगिँदै आएका छन् । त्यस्ता सर्वसाधारण अध्यागमनसम्म आइपुग्दा आधा दर्जन तहसम्म ठगिने गरेका छन् । खासगरी श्रम प्रक्रियाको झन्झट र ढिलासुस्ती, भिजिट भिसामा विदेश जान छिटोछरितो देखिनु, सरकारी प्रतिबन्धलाई छल्न, लागत र आर्थिक प्रलोभनलगायत कारणले सर्वसाधारण श्रम स्वीकृति लिएर कामका लागि विदेश जान मन पराउँदैनन् ।

    यस बाहेक अपारदर्शी शुल्क, आकर्षक तलब र कामको प्रलोभन, एजेन्ट÷दलालको विश्वास र धोका, जोखिमबारे अनभिज्ञता, रोजगारदातासँगको बन्धन, आफ्नै इच्छाले काम खोज्ने सोचलगायत कारणले पनि श्रम स्वीकृति लिएर भन्दा भिजिट भिसामा कामका लागि विदेश जाने सङ्ख्या बढेको हो ।

  • रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५ प्रतिशत कर र ‘जरिवाना’

    रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५ प्रतिशत कर र ‘जरिवाना’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन् । नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि उनले घोषणा गरेका छन्।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताएका हुन् । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू– जसमा केही ५० प्रतिशतसम्म हुनेछन्– पनि लागु हुनेछन् ।

    छुट्टै पोस्टमा ट्रम्पले भने, ‘अगस्ट १ को समयसीमा बलियो छ र विस्तार गरिने छैन् ।’ उनले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गरेकासँगै १० प्रतिशत अन्तरिम आधारभूत दर लगाएका थिए् ।

    भारतमा २५ प्रतिशत कर अप्रिलमा घोषणा गरिएको दरभन्दा थोरै कम हुनेछ, तर वासिङ्टनसँग प्रारम्भिक व्यापार सम्झौता गरेका अन्य एसियाली देशहरूको तुलनामा यो बढी छ ।

    विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत ट्रम्प प्रशासनलाई व्यापक व्यापार वार्तामा संलग्न गर्ने पहिलो प्रमुख अर्थतन्त्रहरू मध्ये एक थियो। तर छ महिनापछि ट्रम्पका व्यापक मागहरू र भारतको कृषि र अन्य क्षेत्रहरू पूर्ण रूपमा खोल्न अनिच्छुकताले अहिलेसम्म नयाँदिल्लीलाई सम्झौता पूरा गर्नबाट रोकेको छ ।

    ‘याद गर्नुहोस्, भारत हाम्रो मित्र भए पनि हामीले वर्षौंदेखि उनीहरूसँग तुलनात्मक रूपमा थोरै व्यापार गरेका छौँ किनभने उनीहरूको भन्सारहरू धेरै उच्च छन्, संसारमा सबैभन्दा उच्च मध्ये, र तिनीहरूसँग कुनै पनि देशको सबैभन्दा कडा र अप्रिय गैर–मौद्रिक व्यापार अवरोधहरू छन्,’ ट्रम्पले भने, ‘भारतले सधैँ आफ्नो सैन्य उपकरणको विशाल हिस्सा रुसबाट किनेको छ, र चीनसँगै रुसको ऊर्जाको सबैभन्दा ठूलो खरीदकर्ता हो, यस्तो समयमा जतिबेला सबैले रुसलाई युक्रेनमा हत्या रोक्न चाहन्छन् ।”

    कुनै विवरण बिना ट्रम्पले २५ प्रतिशत भन्सारका अतिरिक्त भारतले ‘माथिका लागि जरिवाना’ को सामना गर्ने बताए ।

  • जापानमा नेपाली संगीतको महोत्सव हुने

    जापानमा नेपाली संगीतको महोत्सव हुने

    काठमाडाैं । जापानमा नेपाली संगीतको महोत्सव हुने भएको छ । ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव आगामी अगस्त महिनामा जापानका चार ठूला शहरहरू टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

    ‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित सुरु हुन लागेको यो फेस्टिभलले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

    फेस्टिभलमा नेपालको चर्चित र लोकप्रिय संगीत समूहहरू स्वर, द एज र कबवेबले विशेष प्रस्तुति दिनेछन्। परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वरले आफ्ना गीतहरू ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीत प्रस्तुत गर्ने तयारी छ ।

    भावनात्मक ऊर्जा र सामाजिक सन्देश समेटिएका गीतमार्फत युवा पुस्तासँग गहिरो सम्बन्ध बनाउँदै आएको द एज ब्यान्डले यो फेस्टिभललाई आफ्नो २५औँ वार्षिकोत्सवकै रूपमा विशेष बनाउँदैछ ।

    नेपाली रक संगीतमा क्रान्ति ल्याएको कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ ।

    फेस्टिभल अगस्त ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु हुनेछ, जुन क्रमशः ओसाकाको नाम्बा ह्याच, फुकुओकाको जेप्प फुकुओका र नागोयाको डायमन्ड हल हुँदै अगाडि बढ्नेछ ।

    प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ ।

    कार्यक्रमको टिकट मेरोटिकटमार्फत अनलाइन उपलब्ध हुनेछ। अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भिआइपी प्याकेजसहितका टिकटहरू डिजिटल रुपमा बिक्रीमा ल्याइनेछन्, जसमा ठगी रोक्न विशेष प्रविधि समेत प्रयोग गरिनेछ ।

    तीनवटै भाषामा (नेपाली, जापानी र अङ्ग्रेजी) हुने प्रचार अभियान, कलाकारहरूको डिजिटल सन्देश, पोस्टर र ब्यानरमार्फत कार्यक्रमको व्यापक प्रचार गरिने योजना छ ।

    फेस्टिभल इनडोर स्थानहरूमा आयोजना गरिने भएकाले व्यावसायिक ध्वनि प्रविधि, प्रकाश व्यवस्था, सुरक्षाकर्मी, द्विभाषिक कर्मचारी र आपतकालीन तयारीसहित सुरक्षित वातावरण सुनिश्चित गरिने आयोजकले बताएका छन् ।

     

  • गैरआवासीय नेपाली संघ चीनको अध्यक्षमा ढकाल

    गैरआवासीय नेपाली संघ चीनको अध्यक्षमा ढकाल

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् चीनले नयाँ नेतृत्व चयन गरेको छ । आइतबार (जुलाई २७) मा ग्वोन्जाउमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट मुकुन्द ढकाल संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

    संघको महासचिवमा सुरज न्यौपाने र आईसीसी सदस्यमा निर्मल शर्मा चौलागाईं निर्वाचित भएका छन् । संघले १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

    उपाध्यक्ष प्रदीप नेपाल र सुरज ब्याञ्जु, सचिव कमल सापकोटा र दिपेश प्रसाई, कोषाध्यक्ष रविरंजन कुशवाह, सह-कोषध्यक्ष रञ्जित उप्रेती, महिला संयोजक सुजता पाण्डेय, युवा संयोजक विशाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

    अन्य निर्विरोध निर्वाचित सदस्यहरूमा असिम ज्ञवाली, साधना थापा, रोजेन माकाजु, राजकुमार श्रेष्ठ, पुष्कर तिमल्सिना र अनुजा आचार्य रहेका छन् । संघका निवर्तमान महासचिव प्रदीप नेपालले सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

    गैरआवासीय नेपाली संघ चीनको नवौं महाधिवेशन नेपाली महावाणिज्यदूत भरत खनालले उद्घाटन गरेका हुन् । समारोहमा अन्तर्राष्ट्रिय परिषद्का सह–कोषाध्यक्ष अमृता थापा, परिषद् सदस्य रोहित अग्रवाल, वाणिज्यदूत सरोज भट्टराई, नेपाल सरकारका प्रतिनिधिहरू, कूटनीतिक नियोग तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम कउद्घाटनको क्रममा संघको स्मारिका ‘मितेरी’को विमोचन समेत गरिएको छ ।

    निर्वाचन आयुक्त मित्रलाल सापकोटाको संयोजनमा नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गरिएको संघले जानाएको छ । संघको प्रतिवेदनमा उल्लेख भए अनुसार डेढ दशक लामो गौरवपूर्ण इतिहास बोकेको एनआरएनए चीनले नेपाल र अन्य देशका नेपाली समुदायको हितका लागि उल्लेखनीय कार्य गर्दै आएको छ ।

    विपद् व्यवस्थापन, मानवीय सहायता, संस्कृतिक संरक्षण, खेलकुद, चाडपर्व र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता लगायतका गतिविधिमा संघको सक्रियता रहेको जनाएको छ ।

    सपथपश्चात अध्यक्ष मुकुन्द ढकालले ‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई आत्मसात् गर्दै, सबै नेपालीलाई समेट्ने संघ बनाउने प्रतिवद्धता व्यक्त गरे । चीनमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायसँग सुझाव, सल्लाह र मार्गदर्शनको अपेक्षासमेत उध्यक्ष ढकालले गरे । हाल गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनमा तीन सय २३ पञ्जिकृत सदस्य रहेका छन् ।

     

  • एनआरएनए बेलायत अध्यक्षमा पुडासैनी निर्वाचित

    एनआरएनए बेलायत अध्यक्षमा पुडासैनी निर्वाचित

    बेलायत । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका थिए ।

    पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी गर्नुभएको थियो भने अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले नौ सय ७७ र खत्रीले चार सय ९६ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन् । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिए । उनले भने “तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छौँ । हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।” सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनले जानकारी दिए ।

  • एनआरएनए स्पेन अध्यक्षमा सन्तोष श्रेष्ठ, नेपाल-स्पेन सम्बन्ध विस्तारको सेतु बन्ने प्रतिवद्धता

    एनआरएनए स्पेन अध्यक्षमा सन्तोष श्रेष्ठ, नेपाल-स्पेन सम्बन्ध विस्तारको सेतु बन्ने प्रतिवद्धता

    स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । श्रेष्ठ डेढ दशकदेखि स्पेनमा बस्दै आएका छन् । उनी स्पेनमा सफल ट्याक्सी व्यवसायी हुन् ।

    स्याङ्जा आँधिखोलाका श्रेष्ठ नेपाली जनसम्पर्क समिति स्पेनका निवर्तमान सभापति हुन् । श्रेष्ठ सामाजिक कार्यमा निकै अग्रसर छन् । स्याङ्जा सहयोग समाज मार्फत उनले थुप्रै सहयोग गरिसकेका छन् । नेपालमा रेयुकाई संस्थामा आवद्ध भएर ग्रामीण भेगमा सिपमुलक तालिम दिदै स्थानीयलाई आत्मनिर्भर बनाउन सक्रिय थिए ।

    नवौं अधिवेशनका लागि निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार कार्यसमिति निर्विरोध चयन भएको हो । अन्तराष्ट्रिय समिति सदस्य (आईसीसी) मा रोशन पाठक चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा, उपाध्यक्षहरुमा खुल्ला तर्फ जमुनादेवी सापकोटा, दिपक बस्नेत, महिला तर्फ मालती पन्त, क्षेत्रगत देवराज सापकोटा चयन भएका छन् ।

    यस्तै महासचिवमा नवीन घिमिरे, उपमहासचिवमा सुबास बहादुर विष्ट, सचिवमा खुल्ला तर्फ गणेशराज अधिकारी, प्रविन लोहार, क्षेत्रगत दिलकुमारी तामाङ् (म्याड्रिड), नवराज दुवाडि (कोष्टाव्लाङ्का) चयन भएका छन् । यस्तै कोषाध्यक्षमा नारायण प्रसाद सुवेदी, सहकोषाध्यक्षमा सुमन खड्का चयन भएका छन् ।

    महिला संयोजकमा लक्ष्मी घिमिरे ९शर्मा०, युवा संयोजकमा दिपिका श्रेष्ठ, युवा उपसंयोजकमा प्रलाद कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भिमसेन कार्की, विष्णुबहादुर सार्की, सम्बर बहादुर गिरी चयन भएका छन् । जुलाई ३० मा हुने नवौं राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमितिले सपथ लिनेछ ।

    नवनिर्वाचित अध्यक्ष सन्तोष श्रेष्ठले एनारएनए स्पेनलाई एकताबद्ध, समावेशी, पारदर्शी, र उत्तरदायी संस्थाको रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । झयो केवल पद प्राप्तिको क्षण होइन, यो हाम्रो साझा यात्राको सुरुआत होञ, सामाजिक सञ्जालमा लेखेका छन्’, ‘सर्वसम्मति स्वयंमा एउटा सशक्त सन्देश हो, हामी अब प्रतिस्पर्धाबाट सहकार्यतर्फ, टुक्रिएको भाषणबाट साझा दृष्टितर्फ, र गुनासोबाट समाधानतर्फ अघि बढ्न तयार छौं।ञ नेपाल–स्पेन सम्बन्ध विस्तार– लगानी, पर्यटन, शिक्षा, व्यवसाय र संस्कृति क्षेत्रको सेतु बन्ने प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

    उनले १८ बुँदे भावी कार्ययोजना पनि उल्लेख गरेका छन् । सीप विकास तालिम,स्पेनीश भाषा कक्षा सञ्चालन, नवआगन्तुक सहायता कार्यक्रम, आपतकालीन राहत कोष, व्यवसायिक प्रवद्र्धन कार्यक्रम,श्रमिक सचेतना तथा कानुनी जानकारी कार्यक्रम लगायतका गतिविधि सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

     

  • प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा जोशीसहित २९ सदस्यीय कमिटी चयन

    प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा जोशीसहित २९ सदस्यीय कमिटी चयन

    इजरायल । प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा रमेश जोशी सहित २९ सदस्यीय कमिटी चयन भएका छन् । कमिटीको उपाध्यक्षमा रश्मि राई , सचिब इन्दिरा कटुवाल र उपसचिव सेबिका आले रहेका छन् ।

    अधिवेशनका प्रमुख अतिथी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव शान्ति र अहिंसाको पक्षमा रहेको बताए ।

    तेस्रो राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्दै ज्ञवालीले हिंसा र आतंकवादको कुनै पनि प्रकारलाई नेपालले विरोध गर्ने स्पष्ट पारे।

    इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै हालसम्म बेपत्ता रहेका विपिन जोशीको खोजीमा नेपाल सरकार र इजरायल सरकार सक्रिय रहेको जानकारी दिए ।

    उनले इजरायलले नेपालीलाई रोजगारी दिएर गुन लगाएको बताए । नेपालले पनि इजरायललाई सहयोग गर्ने प्रतिबद्धता ज्ञवालीले जनाए ।

    ज्ञवालीले नेपालको संघीयता कार्यान्वयन गर्दै अधिकार जनतासम्म पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।

    इजरायलमा रहेका ज्ञवाली नेपाली कामदारहरुको कार्यक्षेत्रको समेत अवलोकन गरेका थिए । उनी हमास र इजरायल युद्व क्रममा नेपालीहरुको हत्या गरिएको क्षेत्रमा पुगेका थिए । युद्धका क्रममा बेपत्ता बनाईएका नेपाली बिपिन जोशिको खोजिका लागि संवाद र पहल गरिने उनले बताए ।

    ज्ञवालीले भोलि (आइतबार) इजरायलको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटका क्रममा वेपत्ता नेपाली नागरिक विपिन जोशिको खोजी पहलका लागि आग्रह गरिने उनले बताए ।

  • एनआरएनए इजरायलको अध्यक्षमा मियाको उम्मेदवारी घोषणा

    एनआरएनए इजरायलको अध्यक्षमा मियाको उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, इजरायलको अध्यक्षका लागि अलिमहम्मद मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

    सन् २०२५–२०२७ सम्मको कार्यकालका लागि वर्तमान महासचिव समेत रहेका मियाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
    आफ्नो उम्मेदवारी घोषणा गर्दै मियाँले आफू पदको लागि मात्र नभई इजरायलमा रहेका नेपालीहरूको सुखदुःख, पीडा र समस्याहरूको समन्वय गरी समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    विगतमा संघको सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेका मियाँले आफ्नो अनुभवलाई संस्थाको सुधारमा लगाउने वाचा गरेका छन् ।

    उनले भने, ‘संस्थाको विधान एवं लक्ष्य अनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रुपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा म योग्य छु । मेरो कार्य अवधि भित्र संस्थाभित्र रहेको हरेक किसिमका बिकृतिहरु, विसंगति र अनिमियताको सुधार्ने गर्ने छु ।’

    उनी २०१९–२०२१ र २०२१–२०२३ मा सचिव तथा २०२३–२०२५ मा महासचिवको रूपमा काम गरेका थिए ।

  • भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

    भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

    दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।

    दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ ।

    त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

  • प्रवासमा सामुदायिक भवनः जोडिँदैछन् नेपाली मन

    प्रवासमा सामुदायिक भवनः जोडिँदैछन् नेपाली मन

    जीवनलाई मैले समाजसँग जोडेर हेर्ने गरेको छु । म पहाडकै काखमा जन्मिएँ । पहाडको स्वच्छ हावामा सास फेर्दै खोलामा बगिरहेको चिसो पानी पिएर मैले जीवनको गोरेटोमा अघि बढ्न सुरु गरेँ ।

    सामाजिक कार्य र समाजसँग बुबाको सामिप्यताले पनि बाल्यकालदेखि नै आफूसँगसँगै समाजलाई पनि सधैँ उत्साह जगाउँदै अघि बढाउन प्रयासरत छु र त्यसलाई निरन्तरता पनि दिइराखेको छु । त्यही उत्साहले मभित्र ऊर्जा थप्छ ।

    सात समुद्रपारीको व्यस्त जीवनलाई पनि मेरो देशको धर्म, संस्कृति, रीतिरिवाज, परम्परालाई अन्य देशका समाज र हाम्रै नयाँ पुस्ताबीच कसरी चिनाउन सकिन्छ भनेर तल्लीन छु ।

    आफू रहेको ठाउँमा जसरी भए पनि आफ्नो धर्म, संस्कृतिको पहिचान गराउने सामाजिक अठोटलाई ग्रेटर स्याक्रमेन्टो, क्यालिफोर्निया, अमेरिकामा रहनुभएका सज्जन मनहरूको सहयोग र सहभागिताले प्रोत्साहित गरी केही लक्ष्यमा पुग्न समर्थ बनाएको महसुस गरेको छु ।

    आफू मात्र होइन, सबै नेपालीभाषीहरूलाई नेपाल र नेपालीको पहिचानका लागि कसरी आकर्षित गराउन सकिन्छ भनेर प्रवासमा रहेका नेपालीहरूसँग समन्वय गर्दै विभिन्न संघसंस्थाहरूको स्थापना, सञ्चालन र निरन्तरतामा दुई दशकको अनुभवले झन् मलाई उत्साहित बनाउँदै लगेको छ ।

    विगत २०–२५ वर्षदेखि नेपालबाट अवसरको खोजीमा विदेशिनेको लहरसँगै अमेरिकामा पनि धेरै नेपालीहरू आइसकेका छौँ । हामी नेपालीहरूको जातीय विविधता, आ-आफ्नै भिन्न धर्म, संस्कार र अमेरिकामा बढ्दो नेपाली जनघनत्वसँगै नेपाली समाजले आफ्नै भवन (कम्युनिटी सेन्टर) को आवश्यकता महसुस गरी अमेरिकाका विभिन्न राज्यका सहरहरूमा नेपाली संस्कृति झल्किने मन्दिर र कम्युनिटी भवनहरू निर्माण र सञ्चालन भइरहेका छन् । यसले संसारभरिबाट अमेरिकामा भेला भएका समुदायका बीच गर्विलो पहिचान दिएको छ ।

    क्यालिफोर्निया राज्यको लस एन्जलसमा नेपाली समुदायले आफ्नो पहिचान झल्किने गरी पशुपति र बुद्ध मन्दिर (हिन्दु टेम्पल) र कम्युनिटी सेन्टरको स्थापना र सञ्चालन गर्दै आएका छन् ।

    अर्को ठूलो संख्यामा नेपाली समुदाय रहनुभएको सन फ्रान्सिस्को वे एरियामा पनि उत्तम कार्की, अनिल पाण्डे, धन दवाडी, तेज राई जस्ता अभियान्ताहरूको लामो अथक प्रयास र अभियानले नेपाली समुदायको संस्था न्यान्सको अगुवाइमा आफ्नै कम्युनिटी भवन स्थापना भएको छ ।

    नेपाली पहिचान, नेपालीको गौरव, नेपालीको भविष्य र शान झल्काउने यो सामुदायिक भवन रिचमन्ड, क्यालिफोर्नियामा अवस्थित छ । त्यो हलको क्षमता ७ सयभन्दा बढीको संख्यामा आगन्तुक अटाउने छ, जसले गर्दा ठूला कार्यक्रम गर्न हामीले अन्यत्र ठाउँ खोजिरहनु पर्दैन भने यसको अगुवाइ न्यान्सका अध्यक्ष प्रितेश कार्कीले गरिरहनुभएको छ ।

    यसैबीचमा रिचमन्ड, क्यालिफोर्निया एरियामा नै बसोबास गरिरहेका नेपाली अभियान्ताहरूले मुक्तिनाथ धाम स्थापना गरी नियमित धार्मिक भजनकीर्तन लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।

    यस्तै, क्यालिफोर्नियाको क्यापिटल सिटी स्याक्रमेन्टोमा ग्रेटर स्याक्रमेन्टो एरियामा बस्नुहुने सज्जन नेपालीजनहरूको सहयोग र सद्भावमा दीपक मास्केले नेतृत्व गरी ग्रेटर स्याक्रमेन्टो नेपाली कम्युनिटी सेन्टरस्थापना हुन पुग्यो र जसको अथक प्रयासपछि कार्मिचाइल, स्याक्रमेन्टोमा करिब ६ लाख डलरमा एउटा भवन खरिद गरी सञ्चालन र प्रवद्र्धन गर्दै आएका छौँ, जहाँ अहिले साहित्यिक, धार्मिक, सांस्कृतिकदेखि अन्य कार्यक्रमहरू भइरहेका छन् । यस भवनलाई नेपाली मन्दिरसहितको बृहत् बनाउन हामी प्रयासरत छौँ ।

    नयाँ पुस्तालाई नेपाली भाषा सिकाउनकै लागि केही पहिलेदेखि नै रिचमन्ड वे एरियामा नेपाली स्कुल सञ्चालन गरिरहेको थियो भने नाटोमास, याक्रमेन्टोमा पनि स्रष्टा कृष्ण गिरीको अगुवाइमा नेपाली भाषा पाठशाला सञ्चालन भइरहेको छ, जहाँ शनिबार र आइतबार नेपाली भाषा पढाइन्छ ।

    नेपाल र नेपालीको भावना जोड्ने उद्देश्यले पनि सामुदायिक भवनको स्थापनाका लागि समाज र समाजका अगुवाहरू तल्लीन रहँदै आएका छन् । नेपाली समुदायका लागि नेपाली कम्युनिटी सेन्टरको आवश्यकता र महत्व बुझी नेपाली समाजले अन्य सहरहरूमा पनि कम्युनिटी भवनको आवश्यकतालाई महसुस गरी प्रक्रिया अगाडि बढाइरहेका छन् ।

    यस अभियानले मूर्तरूप पाओस्, मेरो व्यक्तिगत साथ सहयोग रहने नै छ ।

    प्रश्न उठिराखेको छ, किन विदेशी भूमिमा पनि नेपाली सामुदायिक भवन नै चाहियो त ? मैले माथि नै दर्शाइसकेँ, नेपाल र नेपालीको पहिचानका लागि, हाम्रो धर्म, संस्कार, संस्कृति हाम्रै नयाँ पुस्ताले सहर्ष स्वीकार गरून् भन्नका खातिर । अर्को पाटो छ, अधिकांश अमेरिका बसोबास गर्नुहुनेले आफ्ना अभिभावकलाई पनि आफूसाथ ल्याएका छन् ।

    उहाँहरूको लागि पनि यस प्रकारका सामुदायिक भवन फलदायी हुनेछन् । धेरै जना भएपछि एकआपसमा गफ गर्दै दिनचर्या व्यतीत गर्न सहज हुनेछ । अनि महत्त्वपूर्ण कुरा, हामी सबैको निवृत्त जीवनलाई सहज बनाउन सकियोस् भनी नेपाली महान् पर्वहरू एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्दै हर्षोल्लासले मनाउन सकौँ ।

    विविधताले भरिएको हाम्रो जात, धर्म, संस्कार र परम्परालाई सबैसामु चिनाउने प्रवासमा रहेका नेपाली समुदायको प्रयास हो । राज्य सञ्चालकले हामीलाई (गैरआवासीय) गैरनागरिकको रूपमा हेरे पनि राज्यप्रतिको हाम्रो उत्तरदायित्व, देशको चिनारीका लागि सबै प्रवासमा बसेका नेपाली एकजुट हुनुपर्छ ।

    राज्य भनेको राज्य सञ्चालकको मात्र होइन, त्यहाँको माटोको सुगन्ध, कलकल बग्दै गरेका खोलाको पानी, डाँडापाखामा रमेर हुर्किएका कर्मठ हाम्रो पनि हो । चित्त कुँडिन्छ, विमानस्थलमा ओर्लिएपछिको व्यवहारदेखि कुनै पनि सरकारी, गैरसरकारी कार्यालयमा आफ्नो व्यक्तिगत काम लिएर जाँदा प्रशासन र कर्मचारीको व्यवहार स्पष्ट नीति–नियम नभएकोले ।

    गैरनागरिकको व्यवहार जहाँबाट जजसले गरे तापनि हामीले हाम्रो माटोलाई भुल्नुहुन्न । सदैव हामीले हाम्रो संस्कृतिका साथसाथै हाम्रो संस्कार तथा विचारधारा ‘वसुधैव कुटुम्बकम’ – ‘अयं निजः परो वेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् ‘यो मेरो हो, त्यो अर्काको हो भन्ने सोच संकुचित हृदय भएकाहरूको हुन्छ, उदार चरित्र भएकाहरूका लागि त सारा पृथ्वी नै एउटा परिवार हो’ भन्ने सोच राखेर अगाडि बढ्नुपर्छ ।

    हाम्रो राष्ट्रको पहिचानको लागी जहाँ छौं, जस्तो छौं, जति सक्छौं, एकजुट भएर लाग्नुपर्छ ।

    (लेखक नेपाली समाज सेक्रेमेन्टो क्यालिफोर्नियाका विभिन्न सामाजिक संस्थाका संस्थापक सामाजिक अभियान्ता एनआरएन हुन्)

  • यूएईमा नेपाली दूतावासबाट श्रम वैधानिकीकरण सेवा सुरु

    यूएईमा नेपाली दूतावासबाट श्रम वैधानिकीकरण सेवा सुरु

    अबुधाबी । नेपाली दूतावास अबुधाबीले शनिबारदेखि ‘दूतावासस्तरीय श्रम वैधानिकीकरण सेवा’ औपचारिक रूपमा सुरु गरेको छ। विदाको दिन सेवा प्रवाह गर्दै नेपाली श्रमिकलाई थप सहजता गर्ने उद्देश्यले यो सेवा प्रारम्भ गरेको दुतावासले जनाएको छ ।

    सेवाको पहिलो दिन तीन जना पुरुष र दुई जना महिला सेवा लिन दूतावास पुगेका थिए। उनीहरूलाई श्रम काउन्सिलर दीपेन्द्र पौडेल, श्रम सहचारी पंकज लाभ कर्ण तथा उपनियोग प्रमुख रञ्जिता दाहाल लगायतले आवश्यक सहजीकरण गरेका थिए। सेवा लिनेहरूलाई मुस्कान मात्र होइन, मिठाइ सहित स्वागत गरिएको थियो।

    श्रम वैधानिकीकरण सेवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले करिब पाँच महिना अघि दुबईमा एक कार्यक्रम मार्फत उद्घाटन गरेका थिए। यद्यपि प्राविधिक तयारी नहुँदा सेवा सुरु गर्न केही ढिलो भएको दूतावासले जनाएको छ।

    दूतावासका अनुसार, २०२४ सेप्टेम्बर २४ सम्म जुनसुकै माध्यमबाट यूएई आएका र भिसा लागिसकेका तर एकपटक पनि श्रम स्वीकृति नलिएका नेपालीहरूले यो सेवा लिन सक्नेछन्।

    सेवा लिन इच्छुकले सामाजिक सुरक्षा कोष तथा बीमा शुल्क आफैंले तिरी, आवश्यक फारम भरेर बायोमेट्रिकका लागि दूतावासमा उपस्थित हुनुपर्नेछ।

    हाललाई यो सेवा प्रत्येक महिनाको पहिलो शनिबार र तेस्रो शनिबार प्रदान गरिने दूतावासले जनाएको छ । दुबईमा कन्सुलेट मार्फत सेवा सुरु गरेपछि भने अन्य दिनमा समेत  खुल्ला रहनेछ ।

    सेवा लिने रोजी पुलामी मगरले दूतावासको पहलबाट खुसी व्यक्त गर्दै भनिन्, ‘मुस्कान र मिठाइले स्वागत सहितको शैली फरक लाग्यौं । त्यस्तै, साउदी सीमा शिलाबाट दूतावास आएका महम्मद जमल हुसैनले सहज र सरल सेवा पाएको अनुभव सुनाए।

    दूतावासको यो पहलले यूएईमा रहेका अनौपचारिक अवस्थामा काम गरिरहेका नेपाली श्रमिकहरूलाई कानुनीरूपमा सुरक्षित बनाउने विश्वास लिइएको छ । 

  • यूएईमा नेपाली नागरिकका आपराधिक गतिविधिमा शतप्रतिशत वृद्धि: लागूऔषधदेखि जाँडरक्सी मुख्य समस्या

    यूएईमा नेपाली नागरिकका आपराधिक गतिविधिमा शतप्रतिशत वृद्धि: लागूऔषधदेखि जाँडरक्सी मुख्य समस्या

    अवुधावी ।  यूएईमा नेपाली नागरिकका आपराधिक गतिविधिमा १ सय प्रतिशतले वृद्धि भइरहेको स्थानीय निकायलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ।

    यहाँको उच्च निकाय तथा उच्च अधिकारीहरूसँगको भेटमा आफूहरूलाई पटक पटक सचेत गराउने गरेको नेपाली दूतावासका अधिकारीहरूले बताउने गरेका छन्। हालै दुबईमा सम्पन्न श्रमिक संवादको क्रममा दूतावासका अधिकारीहरूले समस्या बारे प्रकाश पार्दै यस्तो बताएका हुन् ।

    अघिल्लो वर्षमा भएका आपराधिक गतिविधि भन्दा पछिल्लो ६ महिनामा आपराधिक गतिविधि बढेको छ ।

    ‘गलत काम गर्ने, नेपालीलाई नेपालीले नै ठग्ने, लागू औषध प्रयोग गर्ने, ओसारपोसार गर्ने, जाँड रक्सी खाने, तथा अनैतिक गतिविधिहरू गर्ने, सामाजिक सञ्जाल मार्फत गाली बेइज्जत गर्ने, झैँ झगडा तथा कुटपिट गरी कानुन उल्लंघन गर्ने घटना बढेको प्रति दूतावासले सम्पूर्ण नेपालीलाई सचेत गराउन चाहन्छ’, यूएईका लागी नेपाली श्रम सहचारी पंकज लाभ कर्णले भने ।

    यसैबीच दूतावासका अनुसार इद अल-अधाको अवसरमा यूएई सरकारले विभिन्न कारागारहरूमा सजाय भोगिरहेका १२० जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ।

    नेपाली दूतावास, अवुधावीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको छ ।

    दूतावासले यूएई सरकारबाट प्राप्त आममाफीका लागि धन्यवाद दिँदै यस्ता कदमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।

    यसैबिच पछिल्ला महिनाहरूमा यूएईमा नेपाली नागरिकहरू आपराधिक गतिविधिमा संलग्न हुने दर उल्लेखनीय रूपमा बढिरहेको छ।

    दूतावासका एक उच्च अधिकारीका अनुसार, सन् २०२५ को पहिलो छ महिनामा मात्र नेपाली समुदायसँग सम्बन्धित आपराधिक मुद्दाहरू दोब्बरले बढेका छन्, जुन अघिल्लो वर्षको तुलनामा अत्यन्तै धेरै हो।

    आपराधिक गतिविधिमा संलग्नता किन बढ्दैछ ?

    विश्लेषकहरूका अनुसार गैरकानूनी आप्रवासन, भिजिट भिसा , कामको अवैध परिवर्तन, लागूऔषध कारोबार, झैँ(झगडा, र चोरीजस्ता घटनाहरूमा नेपालीहरू मुछिन थालेका छन्।

    धेरै नेपालीहरू रोजगारदाता वा स्पोन्सरबाट भागेर अवैध रूपमा अन्यत्र काम गर्ने वा फस्ने गरेका छन्। यस्तो अवस्थामा उनीहरू कानुनी सुरक्षाबाट वञ्चित हुने र सजिलै आपराधिक जालोमा पर्ने गरेका हुन्छन् ।

    दूतावासले यूएइमा रहने सबै नेपाली श्रमिक र बसोबास गरिरहेका नागरिकहरूलाई यूएईका कानुन र नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। कानुन उल्लङ्घन गर्दा व्यक्तिगत भविष्यमा मात्र नभई सम्पूर्ण नेपाली समुदायको छवि, र प्रतिष्ठामा समस्या हुने दूतावासको भनाई छ।

    यूएई सरकारको आममाफी योजनाले केही नेपालीहरूलाई पुनः जीवन सुरु गर्ने अवसर दिएको भए पनि अर्कोतर्फ आपराधिक गतिविधिमा वृद्धि हुनु नेपाली समाज र सम्बन्धित निकायहरूका लागि चुनौतीको रूपमा समस्या देखिएको सुधार र सचेतना अभियान आवश्यक रहेको सरोकारहरूको भनाइ छ।

  • युवालाई सुनिता डंगोलको सन्देश-विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे मात्रै सफल हुन्छन्

    युवालाई सुनिता डंगोलको सन्देश-विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे मात्रै सफल हुन्छन्

    काठमाडौं । काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलले विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे सफल हुने बताएकी छिन्।

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेशन’ ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उनले यस्तो बताएकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको सो कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलाई ‘वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर २०२५’ मा छनोट भएको भन्दै युवा सशक्तिकरण पुरस्कारबाट सम्मान गरिएको थियो ।

    सम्मानपछि संक्षिप्त मन्तव्य राख्दै डंगोलले सपना देख्ने मान्छेहरु मात्रै सफल हुने भन्दै सपनाको शक्तिमा विश्वास गर्न आग्रह गरिन् । ‘जुन युवाले सपनामा विश्वास गर्छ त्यो युवाले समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ,’ उनले भनिन्, ‘विश्वास गर्ने मात्र होइन, काम गरेर देखाउने र आफ्नो प्रतिबद्धता अनुसार काम गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन ।’

    उमेरले प्रभावलाई परिभाषित नगर्ने पनि तथ्य प्रस्तुत गर्दै उनले भनिन्, ‘प्रभावलाई परिभाषित गर्ने कुरा उद्देश्य हो । त्यसैले तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट प्रभाव सिर्जना गर्न सक्नुहुन्छ । तर, त्यसका लागि समाज, समुदाय, राष्ट्र र मानवताको सेवा गर्ने स्पष्ट उद्देश्य हुनुपर्छ ।’

    युवालक्षित उनले भनिन्, ‘तपाईँहरुले सफलता प्राप्त गर्नुहुनेछ र त्यो सफलता तपाईंको व्यक्तिगत वृद्धिको सफलतामा मात्र सीमित हुनेछैन । त्यो समाज र राष्ट्रको सफलता पनि हुनेछ, र मानवताको नाममा पनि एउटा सफलता हुनेछ।’

    ७० औं नेपाल–चीन मित्रताको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो मित्रता सरकार–सरकार बीच मात्र नभई जनता–जनता बीच पनि एउटा राम्रो सम्बन्धको ढोका खोल्ने अवसर भएको बताइन् । ‘यो कार्यक्रम र ७० जना चिनिया विद्यार्थीहरू यहि कार्यक्रममा नेपाल आउनु आफैंमा नेपाल र चीन बीच जनस्तरमा राम्रो सम्बन्ध स्थापित गर्ने एउटा उदाहरण हो,’ उनले भनिन्, ‘ म आशावादी छु । यो कार्यक्रम सुरुवात मात्र हो । आगामी दिनहरूमा पनि यसले निरन्तर पाउने छ र अझ राम्रो हुँदै जानेछ ।’

    जीवनको सफलताका बारेमा मात्रै सोच्न नहुनेमा पनि उनले जोड दिइन् । ‘जीवनमा असफल पनि आउन सक्छन् । तपाईं भुइँमा लड्न पनि सक्नुहुन्छ । त्यतिबेला तपाईँ कहिल्यै आशा नहार्नुहोस् र सधैं अझ बलियो, दयालु र साहसी भएर उठ्नुहोस् ।’

    कार्यक्रममा डंगोलसँगै सफल व्यवसायी पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै अनुराधा शर्मालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रधानमन्त्री अ‍ोली र राष्ट्रियसभा सदस्य तथा पूर्व राजदुत डा. अन्जान शाक्यले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो।

    ७० औँ वर्षगाँठको सन्देश दिन कार्यक्रममा चिनियाँ शिक्षक र विद्यार्थी ७० जना र नेपाली शिक्षक र विद्यार्थी ७० जना गरी एक सय ४० जनाले विभिन्न प्रस्तुतिमा प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा नेपालीले चिनियाँ र चिनियाँले नेपाली प्रस्तुति प्रर्दशन गरेको संस्थाका संस्थापक अध्यक्ष विनोद ब्लोनले बताए । ‘हामीले नेपाल–चीनबिचको सम्वन्ध अझ प्रगाढ बनाउने दुबै देशका शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘हामीले यो पटक ७० जना चिनियाँ शिक्षक र विद्यार्थीलाई यो हाम्रो देशको प्रधानमन्त्रीज्युको अघि राखेर कार्यक्रममा सहभागी गराएका छौँ ।’

    ’आगामी दिनमा हामीले हाम्रा नेपाली शिक्षक र विद्यार्थीलाई चिनियाँ राष्ट्रपतिको अघि राखेर यस्तै कार्यक्रम गर्ने सपना देखेका छौँ । आजको कार्यक्रममा नेपाली विद्यार्थीहरुले चिनियाँ संस्कृति झल्किने गित र नृत्यहरु देखाए भने चिनियाँले नेपाली । यो दुबै देशबिचको साँस्कृतिक आदन–प्रदानको सन्देश पनि हो ।’ उनले भने ।

    कार्यक्रममा चिनिया राजदूत छान सोङ, चिनिया दुतावासको साँस्कृति विभागका प्रमुख मिस्टर वाङलगायत पनि सहभागी थिए ।

  • मेलवर्नबाट एनआरएनमा अनुपको उम्मेदवारी

    मेलवर्नबाट एनआरएनमा अनुपको उम्मेदवारी

    काठमाडौं । अष्ट्रेलियाको मेलवर्न भिक्टोरिया स्टेटबाट गैर आवासीय नेपाली संघ (एनआरएन) को एससीसी सदस्यमा अनुप भण्डारीले उम्मेदवारी दिएका छ्न् ।

    १८ वर्षदेखि अष्ट्रेलिया रहेका भण्डारी जन्मभूमिका लागि केही गर्ने सोचका साथ सामाजिक कार्यमा समेत लागेका छन् । आर्थिक संकटका कारण विद्यालय छाड्नुपर्ने बाध्यताका मेधावी विद्यार्थीलाई उनले सहयोग गरिरहेका छन् । जसअनुसार सुनसरीको इटहरीकी एक छात्रा र सुन्दरहरैचा मोरङका एक छात्र र एक छात्रा गरी ३ जनाको पढाइ खर्च भण्डारीकै जिम्मा छ ।

    नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका अनुपको परिवार काठमाडौंमा बसाइ सरेको थियो । प्लस टूको अध्यनपश्चात स्नातक गर्दागर्दै ल्याब असिस्टेन्टको काम गरे । २००७ मा अष्ट्रेलिया पुगेपछि सुरूवाति दिनमा प्याज उखेल्नेदेखि अंगुर टिप्नेसम्मका काममा भोगेको संघर्ष उनी सम्झन्छन् ।

    ‘जब मैले त्यसबाट १२ डलर कमाउँथे, तर बसेको खर्चमात्र १३ डलर भयो । धेरै गर्मी भएकाले काम गर्न कठिन भयो’, उनी सुनाउँछन्, ‘होस्टेलमा अप्ठ्यारो परेका साथीलाई आश्रय दिँदा पाएको दु:ख, स्वास्थ्य अवस्था बिग्रेर लामो समय अस्पताल बस्दाको पीडा त भनीसाध्ये छैन ।’

    काम खोज्ने क्रममा मेलबर्न छिरे पछि त्यहाँ कुकरी र हस्पिटालिटीको पढाइसँगै किचनमा काम गरेको उनी बताउँछ्न् । अहिलेसम्मको अष्ट्रेलिया बसाइको क्रममा भिक्टोरियाको गेमिङको काम पाएको दिन आफ्ना लागि सबैभन्दा खुसीको दिन भएको उनी सम्झन्छन् ।

    बुवा श्यामप्रसाद भण्डारीको समाजसेवी कामबाट पाएको प्रेरणाले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन् ।

    कर्मथलो अष्ट्रेलियामा ‘नोबल करिअर गुरु’ नामक एजुकेशन कन्सल्टेन्सिमा आवद्ध रहेर अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई उनीहरूको रुचि, क्षमताअनुसारको पेशा तथा व्यवसायबारे सही परामर्शका साथ अहिले उनी सहजीकरण गरिरहेका छन् ।

    ‘त्यही संस्थामार्फत केही गरौं भन्ने सोचका साथ अहिले एनआरएनएको एससीसी सदस्यमा उठेको छु । सबैजनाको साथ पाए जित्छु भन्ने भरोसामा छु’, अनुपले सुनाए ।

  • गत वर्ष मात्रै झण्डै १२ लाख नेपाली वैदेशिक रोजगारीमा गए, उजुरीको संख्या १८ हजार नाघ्यो

    गत वर्ष मात्रै झण्डै १२ लाख नेपाली वैदेशिक रोजगारीमा गए, उजुरीको संख्या १८ हजार नाघ्यो

    काठमाडौं । गत वर्ष ११ लाख ९० हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ११ लाख ९० हजार भन्दा बढी युवालाई अनुमति दिएको हो। विभागले सार्वजनिक गरेको वार्षिक कार्यसम्पादन प्रतिवेदन अनुसार सबैभन्दा धेरै श्रम स्वीकृति मेनपावर कम्पनीमार्फत दिइएको छ ।

    श्रम स्वीकृतिमा ७ लाख भन्दा बढी स्वीकृति म्यान पावर कम्पनीमार्फत दिइएको विभागले जनाएको छ । त्यसपछि रिइन्ट्री अर्थात पुनः श्रमस्वीकृती लिएर जाने कामदारको संख्या करिब ३ लाख छ । नयाँ व्यक्तिका रूपमा पहिलो पटक विदेश जाने स्वीकृति प्राप्त गर्नेको संख्या भने १ लाख २० हजार भन्दा बढी रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

    इपीएस प्रणालीबाट ११ हजार बढी कोरिया गए, इजरायल गएकाको संख्या ६ सय मुनि

    नेपाल सरकार र इजरायलबीचको जिटुजी सहमति अनुसार सन् २०२३ मा नयाँ प्रक्रिया सुरु गरिएको थियो । तर प्रतिवेदन अनुसार आर्थिक वर्षभरिमा इजरायल गएका श्रमिकको संख्या ५९१ रहेको छ । यस्तै, कोरियातर्फ इपीएस प्रणालीमार्फत ११ हजार ५ सयभन्दा बढी नेपाली गएका छन् ।

    उजुरी १८ हजार नाघ्यो, क्षतिपूर्तिमा २० करोडभन्दा बढी

    वैदेशिक रोजगारमा रहेका नेपालीले झेल्ने समस्याको हकमा विभागमा उजुरीको चाङ बढेको छ । गत वर्ष १८ हजार २२१ वटा उजुरी दर्ता भएका छन् । उजुरीको आधारमा विभागले २८ करोड ७३ लाख रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । पीडित कामदारका लागि विभिन्न समन्वय, मिलापत्र, अदालतमा मुद्दा दायर लगायतका प्रक्रिया अगाडि बढाएको छ ।

    मुद्दा तथा अनुसन्धान शाखाले ५ हजार ३३७ उजुरीमा अनुसन्धान गरी २ हजार २१३ उजुरी फर्छ्यौट गरेको छ । त्यसक्रममा १२ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको उल्लेख गरिएको छ ।

    ५७ वटा तालिम प्रदायक संस्थाको कारोबार बन्द म्यान पावर कम्पनीको नियमनमा विभागले गत वर्ष ५७२ वटा अनुगमन गरेको छ, जसमा आकस्मिक निरीक्षणदेखि तालिम प्रदायक संस्थाको अनुगमन समेत समेटिएको छ। त्यसमध्ये ५७ वटा तालिम प्रदायक संस्थाको कारोबार बन्द गरिएको छ । १४१ वटा उजुरीमध्ये धेरैमा कारवाही अगाडि बढाइएको छ ।

    म्यान पावर कम्पनीले अनुमति प्राप्त संस्थाले राखेको धरौटीमा असार मसान्तसम्म १ अर्ब रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । ५ अर्ब रुपैयाँ धरौटी रकम मुद्दती खातामा राखिएको छ ।

    विभागको कुल वार्षिक बजेट १ अर्ब २० करोड रुपैयाँ जति भए पनि त्यसको ५५.९१ प्रतिशत मात्र खर्च भएको छ । मुख्य खर्च प्रशासनिक, अनुगमन तथा उद्धारका लागि भएको उल्लेख छ ।

  • एनआरएनए कतारको पञ्जिकृत सदस्यता आवेदन बन्द, कुल आवेदन संख्या ६ हजार ७५

    एनआरएनए कतारको पञ्जिकृत सदस्यता आवेदन बन्द, कुल आवेदन संख्या ६ हजार ७५

    दोहा । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको २०२५–२०२७ कार्यकालका लागि पञ्जिकृत सदस्यता आवेदन आह्वान आजबाट बन्द गरिएको जानकारी गराएको छ । अहिलेसम्म कुल आवेदन संख्या ६ हजार ७५ रहेको जनाइएको छ ।

    गैरआवसीय नेपाली संघ ११ औं अधिवेशन आयोजक समिति कतारका संयोजक केशव कार्कीले पञ्जिकृत सदस्यता आवेदन आह्वान संख्या उल्लेखनीय रुपमा बढेको बताए ।

    कार्कीले प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्‌टमा भएको आवेदनहरूमा नपुग कागजातहरुको जानकारी सम्पूर्णको इमेलमा प्राप्त हुने भएकाले २० जुलाई २०२५ सम्म आफ्‌ना नपुग कागजातहरु आफ्नो प्रोफाइलमा अध्यावधिक गर्नुहुन अनुरोधका साथ सबैमा सुचित गरिएको जानकारी गराए ।

    कतारमा रहेको एनआरएनए एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही, समितिका द्वित्तीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो ।

    एमआइएसद्वारा पञ्जीकृत सदस्यता सप्पन्न भैसकेको र आइसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गरिने गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले जानकारी गराएको परिषद सदस्य गोविन्द सुवेदीले जानकारी दिए ।