काठमाडौं । आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले हात उठाएको छ । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् । १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् ।
Category: अपराध/सुरक्षा
-

प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए
उपत्यकास्थित १४ वटै प्रहरी वृत्तका थुनुवा छाडिएका छन् । हतियार जोगाउन नसक्दा प्रहरीहरु सादा पोशाकमा जिम्मेवारीबाट अलग भएका छन् । -

भैंसेपाटीस्थित मन्त्री निवासमाथि सेनाका ६ वटा हेलिकोप्टर
काठमाडौं । जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ ।
त्यस्तै, क्वार्टरमा आगजनी भएपछि सेनाले हवाई फायर गरेको छ ।
सेनाका ६ हेलिकप्टरबाट मानिसहरुलाई सेनाका ६ वटा हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ निकालिएको हो ।
-

लाखौं जनता सडकमा, प्रमुख सहरको परिस्थिति सुरक्षाकर्मीको नियन्त्रणबाहिर
काठमाडौं । जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् ।
आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् । यो अपडेट लेख्दासम्म प्रधानमन्त्री केपी शर्मा अोलीको निजी निवाससहित शीर्ष नेताका घरमा आक्रमण र आगजनी भएको छ।
केही ठाउँमा आन्दोलनकारीले रास्वपा कार्यालयमा पनि आगजनी गरेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा विहानैदेखि कफ्र्यु घोषणा भएपछि आन्दोलनकारीले प्रशासनको आदेश अवज्ञा गर्दै ठूला ठूला प्रदर्शन गरेका छन् ।
मध्यान्ह १२ बजेसम्मको अवस्था आँकलन गर्दा अधिकांश ठाउँमा सुरक्षाकर्मीले नियन्त्रण गुमाएका छन् । परिस्थिति नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रण बाहिर गएको छ । औपचारिक रूपमा कुनै पनि निकायका अधिकारीले प्रतिक्रिया दिन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
तर, त्यतिन्जेल परिस्थिति सरकारको नियन्त्रणबाट बाहिर गइसक्ने देखिएको छ । धेरैजसो आन्दोलनका मोर्चाबाट प्रहरी पछाडि हटिसकेका छन् । काठमाडौंसहित देशका प्रमुख सहरका मुख्य सडक आन्दोलनकारीका कब्जामा छन् ।
दमन गर्दा हिजोको जस्तै मानवीय क्षति हुने भएकाले प्रहरी आफैँ पछि हट्दैछन् । नेपाली सेनाका प्रवक्ताले आफूहरू छलफलमा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर निकासको पहल नगरे ठूलो क्षति हुने चेतावनी बौद्धिक समुदायले समेत दिइरहेका छन् । साँझ ६ बजेसम्म देशको सुरक्षा निकायले आन्दोलन धान्न सक्ने अवस्था देखिएको छैन ।
-

आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड (भिडिओ)
काठामाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।
यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ ।
त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।
-

सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।
आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।
-

उपत्यका प्रहरीको कमाण्ड फेरियो, एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी
काठमाडाैं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् ।
सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।
-

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला हुँदै
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहान साढे बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन् ।
उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।
-

काठमाडौं चक्रपथभित्र आज बिहान साढे ८ पछि अनिश्चितकालीन कर्फ्यू आदेश
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८:३० बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यू आदेश जारी गरिएकाे हाे ।
सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

-

ललितपुरकाे यी ठाउँमा कर्फ्यू आदेश
काठमाडौं । ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं. २ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा नं. ९ को च्यासल क्षेत्रमा आज बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो ।
जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । मंगलबार पनि प्रदर्शन हुन सक्ने आशंकामा विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताइएकाे छ ।

-

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देही । जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
बालकृष्णका भाई कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँडका अनुसार घरमा बालकृष्णकी आमा र श्रीमती मात्र रहेका थिए । ‘घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, भैरहवामा अराजकता गरेर फर्केको टोलीले घरमा पुगेर तोडफोड गरे’ उनले भने ।
प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी कार्यालयमा तोडफोड गरेर ठूलो क्षति पुराएका छन् भने बुटवलमा रहेको एमाले प्रदेश कार्यालयमा समेत दुई घन्टा घेराउ गरेर ढुंगा प्रहार गरेका छन् ।
कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा तोडफोड गर्नुका साथै चार वटा मोटरसाइकलका हेलमेट लुटेर लगेका छन् । उनीहरुले दिनभरजसो भैरहवामा प्रदर्शन गरेका छन् ।
एमाले जिल्ला कार्यालयमा पनि तोडफोड गरेको प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जनाए । यसपछि प्रदर्शनकारीको समूहले दिउसो बुटवलस्थित एमाले प्रदेश कार्यालय घेराउ गरेर ढुंगा प्रहार गरेका थिए । एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलका अनुसार दिउसो १ बजेदेखि २ घन्टा कार्यालय घेराउ गरी बाहिरबाट ढुंगा प्रहार गरेर सिसा फुटाएका छन् ।
‘दुई घन्टा कार्यालय घेराउ गरे, हामीले भित्रै बसेर खबरदारी गरिरहेका थियौं, ढुंगा हालेर केही सिसा फोरेका छन्, २ घन्टा घेराउ गरेपछि दुई तिरबाट सुरक्षाकर्मी आएको थाहा पाएपछि भागेका हुन्’, उनले भने ।
सोमबार बिहानदेखि सुरु गरेको आन्दोलन अराजक बन्दै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिउसो ४ बजेदेखि राती १० बजेसम्म लाई कर्फ्यु आदेश जारी गरेको हो।
‘जेन जी पुस्ताको आह्वानमा गरिएको आन्दोलन नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने भन्दै खोज्दै हिँड्न थालेपछि कर्फ्यु लगाउनुपरेको बताए।
जिल्ला प्रशासन कार्यालयले जेन जी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यु जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।
-

जेनजी प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगो लगाए, प्रहरीले निभाए
काठमाडौं । जेनजी प्रदर्शनकारीले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएका छन् । आगलागी नियन्त्रणमा आइसकेको छ ।
त्यहाँ कार्यरत एक प्रहरीका अनुसार बानेश्वरबाट लखेटिएका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । उनीहरूले साँझ पौने ६ बजे आगो लगाए ।
प्रदर्शनकारीको संख्याभन्दा प्रहरी कम भएका कारण तत्काल प्रतिकार गर्न नसकिएको ती प्रहरीले बताए । तर, उनीहरू फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।
-

गृहमन्त्रीलाई सुरक्षा प्रमुखको ब्रिफिङ : Gen-Z आन्दोलनमा यो हदको घुसपैठ कल्पना गरेका थिएनौं
काठमाडौं । तीन सुरक्षा नियकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका छन् ।
मन्त्रीका प्रेस संयोजक शेरबहादुर सिंहका अनुसार अनुसार बानेश्वरको प्रदर्शन नियन्त्रण बाहिर गएर मानिसहरू हताहत हुन थालेपछि दिउँसै लेखकले सुरक्षा प्रमुखलाई सिंहदरबारमा बोलाएका थिए । ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।
जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा सोमबार बानेश्वर क्षेत्र हिंसात्मक भएको उनीहरुले गृहमन्त्री लेखकलाई बताए ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जेन जी प्रदर्शनका आयोजकले एक सूचना जारी गरेर आफूहरु उक्त प्रदर्शनबाट पछाडि हटेको घोषणा गरेपछि अन्य प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा छिरेको उनीहरूले बताए ।
सरकारले जेन जी प्रदर्शनकारीसँग संयमित व्यवहार गर्नका लागि दिएको निर्देशन पालना गर्दा हिंसात्मक जत्था भित्रिएको र तिनले यो हदसम्म गतिविधि गर्लान् भनी अनुमान गर्न नसकिएको उनीहरुको ब्रिफिङ थियो ।
उनीहरूले रास्वपा, राजावादी र दुर्गा प्रसाईंका समूहको घूसपैठ हुँदा स्थितिले हिंसात्मक रुप लिएको जानकारी गृहमन्त्रीलाई दिएका छन् ।
प्रहरी र सशस्त्रले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै संसद भवनको सुरक्षा गरेको, तर त्यसक्रममा बल प्रयोग गर्दा स्थिति अप्रिय भएको भनेका छन् ।
सुरक्षा प्रमुखहरुसँग ब्रिफिङ लिएलगत्तै मन्त्री लेखक राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । अहिले पनि उनी त्यहीँ छन् । त्यहाँ परिषद्को बैठक सकिनासाथ साँझ ६ बजेदेखि मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
-

इटहरीमा गोली लागेर २ प्रदर्शनकारीको मृत्यु
विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले बताएको छ ।
घाइते भएपछि उनीहरूलाई धरान लगिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् । इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार भइरहेको छ ।
सोक्रममा सशस्त्र प्रहरीका सहायक हवल्दार रहेको प्रहरीले जनाएको छ । उनको गालामा चोट छ ।
इटहरी उप महानगरपालिकाको कार्यालयभित्र आगजनी र तोडफोड भएपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनमा उत्रिएकाहरू पछाडि नहटेपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ ।
कर्फ्यू आदेश हुँदा पनि आन्दोलनकारी नहटेपछि गोली चलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए । उनले मृत्युको भने पुष्टि गरेका छैनन् । उनले केही घाइते भएको जानकारी आएको बताए ।
-

Gen-Z आन्दोलन : यी हुन् ट्रमा सेन्टर पुर्याइएका ५० जना घाइते (नाम-ठेगानासहित)
काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म १४ जनाले ज्यान गुमाएको प्रहरी स्रोतले बताएको छ । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १३ को मृत्यु भएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । केही मृतकको ठेगाना खुलेपनि नाम खुलेको छैन । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १-१ को ज्यान गएको छ ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।
यी हुन् ट्रमामा पुर्याइएका घाइतेहरू

-

इटहरी उपमहानगर कार्यालयमा Gen-Z ले लगाए आगो, अनिश्चितकालीन कर्फ्यू आदेश
विराटनगर । इटहरीको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् ।
जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शन गरिरहेका छन् ।

-

झ्यालको सिसाबाट छिरेको गोली लागेर हिमालयन जाभाका सञ्चालक मेहेता घाइते
काठमाडौं । प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छ्न् ।
मेहेतालाई सिसाबाट छिरेको गोली लागेको प्रत्यक्षदर्शी रमिला नेपालले नेपाल प्रेसलाई बताइन् । आफूसहित १५/२० जना अहिले जाभाभित्रै रहेको उनले जानकारी दिइन् ।

जेनजीको आन्दोलन भड्किएसँगै बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ । अहिले यहाँ सेना परिचालित छ ।
-

कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू
काठमाडौं । जेन जीको आन्दोलन भड्किएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरेको छ ।
आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकी छन् ।

-

इटहरी उपमहानगर कार्यालयमा ढुंगामुढा, विराटनगरमा राजतन्त्र र बालेनको पक्षमा नारा (तस्बिरहरू)
विराटनगर । जेनजीको प्रदर्शनका क्रममा कोशीका विभिन्न सहरमा झडप हुन थालेको छ ।
सुनसरीको इटहरीमा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
यस्तै विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर उनीहरू महेन्द्र चोक हुँदै रोड शेष चोक पुगेका छन् ।

ट्राफिक चोकमा केहीबेर प्रदर्शनपछि देवकोटा चोक हिँडेका प्रदर्शनकारी अस्पताल चोकमा रोकिएका छन् ।
कमाण्डविनाको प्रदर्शनका कारण भिड बरालिएको छ । देखिएको प्रदर्शनका सहभागीहरूले चर्को नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध गालीगलौजपूर्ण नारा लगाएका ।
विराटनगरमा प्रदर्शनकारीले राजतन्त्र र बालेन साहको भने पक्षमा नारा लगाएका छन् ।

-

संसद भवनको गेटमै गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएपछि शववाहन मगाइएको छ ।
यो सँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि एकजनाको अस्पतालमा उपचारका मृत्यु भएको थियो ।
-

कर्फ्यू क्षेत्र बढाइयो- शीतल निवास, बालुवाटारलगायतका ठाउँमा पनि लागू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर बाहेकका ठाउँमा पनि कर्फ्यू आदेश जारी गरेको छ । मध्यान्ह साढे १२ बजेदेखि बानेश्वर क्षेत्रमा लगाएको कर्फ्यू राति १० बजेसम्म लागू हुने गरी विस्तार गरिएको हो ।
जेनजीको प्रदर्शनको क्रममा प्रदर्शनकारी संसद भवन प्रवेश गरेर अवस्था तनावग्रस्त बनेसँगै कर्फ्यू लगाइएको हो । यस क्षेत्रमा सेना पनि परिचालन गरिएको छ ।
कर्फ्यू आदेश तोकिएको ठाउँमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्णरूपमा निषेध गरिएको छ । कर्फ्यू लगाइएका ठाउँहरूमा शीतल निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार परिसर, प्रधानमन्त्री निवास बालुवाटार र संसद भवन नयाँ बानेश्वर लगायतका क्षेत्र छन् ।
-

आन्दोलनमा गोली लागेका एक प्रदर्शनकारीको मृत्यु, एकको अवस्था गम्भीर
काठमाडौं । जेनजीको आन्दोलनमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो ।
घाइते अवस्थामा सिभिल अस्पताल पुर्याइएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले बतायो । अन्य केहीलाई पनि गोली लागेर अस्पताल लगिएको छ ।
-

कोशीका शहरमा पनि Gen-Z को प्रदर्शन, दमकमा प्रहरीको गोली लागेर एकजना घाइते
विराटनगर । झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट कमल गाँउपालिकाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले अहिले दमक नगरपालिका घेराउ गरेका छन् । उनीहरू मुठभेडमा उत्रिएपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेसँगै प्रदर्शनकारीले नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् ।
दमक चोकमा भेला भएका जेनजी पुस्ता नगरपालिकातर्फ बडेपछि प्रहरीले प्रदशनकारीलाई रोक्न गोली र अश्रुग्याँस प्रहार गरेको थियो ।
जेनजीले कोशी प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन गरेका छन् । प्रदेश राजधानी विराटनगर, सुनसरीको इटहरी, दमक विर्तामोडलगायतका शहरमा प्रदर्शन जारी छ । अधिकांश कलेज पोशाकमा छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा प्रदर्शन गरिरहेका युवा पुस्ताले ‘हामीलाई दलाल होइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्रीदेखि दलका नेताहरूविरुद्ध चर्को नाराबाजी गरिएको छ ।
-

संसद भवन परिसर छिरेका प्रदर्शनकारीसँगको झडपमा सशस्त्र प्रहरी घाइते
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी घाइते भएका छन् ।
संसद भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा झडपमा सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ घाइते भएका हुन् । सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
-

प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले चलायो ‘रबर बुलेट’
काठमाडौं । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले रबरको गोली चलाएको छ ।
प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।
-

कोहलपुर इप्रकाको हिरासतमा थुनुवाको मृत्यु
दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजना मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले जानकारी दिए ।
मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन । डिएसपी पातलीका अनुसार उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको हो ।
मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।
-

सल्यानमा मेयरका भाइ र वडाध्यक्षले पत्रकार कुटे, के थियो समाचार ?
दाङ । सल्यानका पत्रकार नोखिराम थापामाथि कुटपिट भएको छ । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक थापालाई श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा गएराति बेलुकी ९ बजेतिर खाना खाइरहेका थापालाई ५-६ जनाको समूहले एकाएक कुटेका थिए ।
शारदा नगरपालिका-६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारीको समूहले आफूलाई कुटपिट गरेको पत्रकार थापाले बताए । वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुन् भने भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् ।
कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ । उनलाई उपचारका लागि श्रीनगरस्थित मेट्रो अस्पताल भर्ना गरिएको छ । केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार लेखिएको कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको पत्रकार थापाले बताए ।
उनले श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेका थिए । बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ । पत्रकार थापा नेपाल पत्रकार महासंघ कर्णालीको प्रदेश परिषद् सदस्य र प्रेस चौतारी कर्णालीको प्रदेश कमिटी सदस्य छन् ।
ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै संलग्नविरुद्ध किटानी जाहेरी आज दिने थापाले बताएका छन् । पत्रकार महासंघ सल्यान शाखा अध्यक्ष डिल्लीराज रावतले पत्रकार कुट्नेलाई कारबाहीको माग गरेका छन् ।
´समाचार लेखेकै कारण मेयरका भाइ र वडाध्यक्षबाट पत्रकार कुटिको छ । यो दु:खद घटना हो । राजनीतिक पहुँचमा छुट दिन मिल्दैन । कानून बमोजिम कारबाही हुनुपर्छ`, उनले भने ।
-

मानव बेचबिखनको उच्च जोखिममा कञ्चनपुर, भारतसँगै खाडी तथा अन्य देशतर्फ बेचिन्छन् किशोरी
कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।
जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन्।
उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले जानकारी दिइन् ।
खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उनको भनाइ छ ।
‘मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो’, संयोजक भट्टले भनिन् , ‘यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो । ’
मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताइन् ।‘यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ’, उनले भनिन्, ‘यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ । ’
मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन अन्तरराष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताए । उनका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।
माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।
सीमानाकामा रोकथाम गरिएकामध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन्भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उनले जानकारी दिए ।
सोही अवधिमा माइती नेपालले सीमानाकामा १२ हजार ८३२ सवारीसाधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमानाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।
माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।
मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गरिन् ।
‘मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय र सहकार्य अपरिहार्य छ’, उनले भनिन् ‘न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ । ’
मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उनको भनाइ छ ।
-रासस
-

नेपालगन्जस्थित १२ हजार बचतकर्ताको सहकारी घोटाला : ३७ करोड हिनामिना आरोपमा अध्यक्षसहित तीन जना पक्राउ
रुपन्देही । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिनाको अभियोगमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिक रहेका छन् । अदालतको फैसला कार्यान्वयन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बाँके जिल्ला अदालतका सूचना अधिकारी तिर्थराज आचार्यले उनीहरु पक्राउ परेको जनाएका छन् ।
अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेपछि चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।
अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ । तीमध्ये सात जनाले कैद र जरिवाना भुक्तान गरिसकेका छन् भने अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकाहरूसँग पनि बिगो उठाउन बाँकी रहेको अदालतले जनाएको छ ।
२०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो। २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो ।
त्यसपछि २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउन आदेश दिएको छ ।
जिल्लाको ठूला सहकारीमध्ये एक मानिने यस संस्थामा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन् । त्यसमध्ये १ हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत गरेका छन् । अध्यक्ष चौधरीसहितका तीनै जना मधेस केन्द्रीत विभिन्न दलबाट राजनीति गरेका पात्र हुन् ।
अदालतको पक्राउ आदेश भएपनि उनीहरु बजार क्षेत्रमै रहेका थिए । स्थानीयका अनुसार लामो समय बचतकर्ताले यहाँ रहेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । यसअघि अध्यक्ष चौधरीले आफ्नो सम्पति बेचेर भएपनि तिर्नेगरी कागज गरेर केही समय सहकारी संचालन गरेका थिए तर पुनः मुद्धा परेपछि बचतकर्ताको रकम थप अन्यौलमा परेको हो ।
-

सुनसरीको झुम्का कारागारमा तीन जना कैदीको मृत्यु, दर्जन बढी सिकिस्त
विराटनगर । सुनसरीको झुम्कास्थित कारागारमा तीन जना कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीन जनाको मृत्यु भएको हो ।
कारागारमा दर्जन बढी यस्तै लक्षण भएका बिरामी छन् । कारागारमा रहेका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएकोमा स्वास्थ्यकर्मीको टोलीले बुधवार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज ८ का ४६ वर्षीय जलेश्वर यादव, सुनसरीको गढी गाउँपालिका ६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको सोही रोगबाट मृत्यु भएको हो । उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।
बुधवार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। सोमवार उराँव र राईको मृत्यु भएको थियो ।
उराँवलाई शनिवार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा सोमबार उनीहरूको मृत्यु भएको हो ।
तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कारागारमा स्वास्थ्य सञ्चालन गरिएको थियो । बुधवार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनले भने, ‘अहिले सम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भएको छ । चिकित्सकको टोलीले स्वास्थ्य प्रशिक्षण गरिरहेको छ ।
जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँच पनि भइरहेको प्रशासनले जनाएको छ । चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निष्कर्ष निकालेको प्रजिअ मिश्रले जानकारी दिए । झुम्का कारागारका १ हजार ७९४ जना कैदी बन्दी रहेका छन् ।
-

पाताले छाँगो ठेक्का विवादः मेयर आचार्य नबोली हिँडे, एक जनामाथि खुकुरी प्रहार
पोखरा । पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई पोखरा महानगरको निर्णय कार्यान्वयन गर्न खोज्दा पुनः विवाद सिर्जना भएको छ ।
सिसाको पुल लगायत पूर्वाधार निर्माण गर्ने र सञ्चालन पनि गर्ने गरी जिम्मा पाएको सेती क्यानोनिङ प्रालिले काम सुरु गर्न खोज्दा स्थानीयले अवरोध गरेका हुन् ।
कम्पनीले आज संरचना निर्माण गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो । तर, स्थानीयले त्यसलाई बिल्थोल्न खोजेपनि थप विवाद हुन पुग्यो । स्थानीय तथा पार्टीका नेताले लगातार नाराबाजी गरेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कार्यक्रममा नबोली निस्किए । कम्पनीले केहि दिनअघि पनि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
त्यसपछि पनि स्थानीयले नाराबाजी र विरोध गरिरहे । विवाद बढ्दै जाँदा विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार हुन पुग्यो । खुकुरी प्रहार गर्ने बंशसिंह खवासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
२०३४ देखि छोरेपाटन माध्यमिक विद्यालयले भोगचलन गर्दै आएको पाताले छाँगो महानगरले ४० वर्षका लागि निजी कम्पनीलाई दिने सम्झौता गरेसँगै स्थानीयहरुले विरोध गर्दै आएका छन् । छोरेपाटन माविको आम्दानीको स्रोत बन्द हुने चिन्तामा उनीहरु विरोधमा उत्रिएका हुन् ।
तत्कालीन नगर योजना समिति (पोखरा उपत्यका नगर विकास समिति) ले २०३४ चैत ३१ गते छाँगोको गेट, रेलिङ र भर्याङको सुधार गरी रेखदेख गर्ने गरी छोरेपाटन माविलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । त्यसयता त्यसको रेखदेखदेखि भोगचलन छोरेपाटन माविले गर्दै आएको थियो ।
तर, महानगनरका तत्कालिन मेयर मानबहादुर जिसीले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता गरेपछि यो विवाद सिर्जना भएको हो । वर्तमान मेयर धनराज आचार्यले पनि उक्त निर्णयलाई स्विकृत दिएका थिए । महानगरको १७औं कार्यपालिका बैठकले पुरानो निर्णयलाई सदर गरेर ठेक्का दिने निर्णय गरेका थियो ।
-

रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत भेटिए दिदीबहिनी
अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
१७ गतेदेखि सम्पर्कविहीन रहेका दुवै जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
‘सानो बुवा र ठूलो बुवाका छोराछोरी रहेका दिदीबहिनी एउटै रुखमा भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाबारे बिहान ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँको प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको छ, जिल्लाबाट अर्को टोली पनि पुग्दैछ,’ डीएसपी खनालले भने , घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ ।’
घटनास्थल घरबाट करिब ४ सय मिटर टाढा रहेको छ । १३ र १४ वर्षका दुई किशोरीको शव प्रहरीले रुखबाट निकालेको छ । उनीहरू दुवै जना वडा नं. ६ कै निवासी हुन् ।
१७ गते साँझदेखि सम्पर्कविहीन रहेको जानकारी वडा अध्यक्ष टिकाराम जैशीले दिए । एउटै रुखको एउटै हाँगामा भेटिएको शवबारे गम्भीर अनुसन्धान हुनुपर्ने उनले बताए ।
-

चन्द्रकुवेरले लगाए आईजीपीको फुली (तस्बिरहरू/ भिडिओ)
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आईजीपीको फुली लगाइदिए ।

दिपक थापाले १८ भदौ मध्यरातबाट अवकाश पाएसँगै आजबाट खापुङले नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् । १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो ।

-

उपत्यका प्रहरीको अनौठो उर्दी- अनावश्यक खोक्ने खकार्ने नगर्नू, बिहानै कुकरमा सिठ्ठी नलाउनू
काठमाडौं । काठमाडौं प्रहरीले एउटा अनौठो उर्दी जारी गर्दै शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न भनेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो उर्दी जारी गरेको हो ।
विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर गर्ने उक्त कार्यालयले जनाएको छ । ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाहहरु दिएको छ ।
राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अमेरिसम्म म्इुजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव छन् ।
यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने सुझाव कार्यालयले दिएको छ ।
यस्तै, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउने, राति अबेरि वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउनसमेत भनिएको छ । कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ ।

-

टिकटकमा हतियार प्रदर्शन गर्ने पक्राउ (टिकटकसहित)
काठमाडौं । टिकटकमा हतियार देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
मुस्ताङ, वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर १ घर भई स्वयम्भू बस्ने २१ वर्षीय कर्म साङ्पो ठकुरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, भद्रकाली र प्रहरी बृत्त लैनचौरको टोलीले उनलाई ठमेलस्थित न्यू भान्सा होटलबाट पक्राउ गरेको हो । ठकुरीले होटलको चौथो तलाको कोठामा हतियार सिरकभित्र पोको पारेर राखेका थिए ।
प्रहरीका अनुसार हर्नेट जस्तो देखिनेModel को TM-07K.K mdtsushirso JAPAN and foreign patents pending made in japan लेखेको हतियार बरामद भएको हो । अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
-

श्राेत नखुलेकाे सवा ४ कराेड र ९ किलाेभन्दा बढी सुनका गहनासहित वृद्ध पक्राउ
काठमाडाैं । स्रोत नखुलेको ४ करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ र ९ किलोग्राम भन्दा बढी सुनका गरगहना र ३ किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीस्थित एक घरबाट उनी पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने घरधनी वर्ष ७७ को विनोद कुमार श्रेष्ठ रहेका छन् । उनलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जानकारी दिएकाे छ ।
श्रेष्ठकै घरबाट उक्त रकम र सुनचाँदीका गरगहना भेटिएकाे प्रहरीले जनाएकाे छ ।
नयाँबजारस्थित श्रेष्ठका छाेरा राज कुमार श्रेष्ठले सनम खड्गीकाे घरमा लिएकाे भाडाकाे काेठाबाट पनि केही रकम र गरगहना भेटिएकाे प्रहरीले जनाएकाे छ ।