Category: वित्त प्रेस

  • सरकारलाई पत्याएनन् उखु किसानले, केहीबेरमा जबाफी पत्र पठाउँदै

    सरकारलाई पत्याएनन् उखु किसानले, केहीबेरमा जबाफी पत्र पठाउँदै

    काठमाडौं । विहिबार पनि उखु किसान संर्घष समितिले आफ्नो आन्दोलन जारी राखेका छन् । वार्ताका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार र बुधबार किसानहरुलाई बोलाएको थियो । मन्त्रालयले पत्र पठाउँदै उखु किसानलाई वार्तामा बोलाएको हो ।

    किसानहरु अहिलेसम्म वार्तामा गएका छैनन् । अघिल्ला दिनहरुमा धेरै पटक वार्तामा बसेको तर सरकार उद्योगीहरुबाट आश्वासन वाहेक केही नपाएकाले माग पूरा नहुन्जेल वार्तामा नबस्ने समितिका अध्यक्ष रामस्वार्थ रायले बताए ।

    आज संर्घष समितिले केहीबेरपछि उद्योग मन्त्रालयलाई आफूहरु वार्तामा नआउनुको कारण तथा मागहरु सहितको जवाफी पत्र पठाउँदै छ । अध्यक्ष रायले किसानका खातामा पहिला पैसा आउनु पर्ने अडान दोर्‍याएका छन् । अहिले उखु किसान संर्घष समितिको आन्दोल माइतिघरमण्डलामा भइरहेको छ ।

  • आन्तरिक पर्यटकले बढाए सौराहाकाे राैनक

    आन्तरिक पर्यटकले बढाए सौराहाकाे राैनक

    रासस । कोरोना भाइरस सङ्क्रमणका कारण करिव १ वर्षदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका छन् ।

    होटल रेस्टुरेन्टमा छूट र हात्ती सफारीमा घुम्ने समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन् । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन् ।

    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउन थालेको बताए । ‘पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ’, उनले भने । भट्टराईले आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापीरुपमा ‘‘घुमौं सौराहा’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्षअघि जनकपुर, वीरगञ्ज, विराटनगरलगायतका शहरमा पुगेर सौराहा भ्रमणको प्रचार गर्ने योजना उनले सुनाए । ‘देशका मुख्यमुख्य शहरमा अभियान सञ्चालन गर्छौं,’ उनले थपे, ‘त्यहाँका उद्योगी, व्यवसायी र संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेर सौराहा खुला छ र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छौं।’

    सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न संघले विभिन्न प्याकेज दिएको बताए । एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको उनले जानकारी दिए । ‘चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिन्थ्यो, तर अहिले दुई जना भए पनि जाने गरिएको छ,’ उनले नाफाभन्दा पनि व्यवसाय धान्ने र पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ काम गरिरहेको बताए । अहिले होटलदेखि हात्ती चढ्ने स्थानसम्म निःशुल्क गाडीको व्यवस्था गरिएको छ ।

    पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुरेन्ट खुलेका थिए । अहिले सौराहाका होटलमा खचाखच पर्यटक भरिने समय हो । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । होटल तथा रेष्टुरेन्टले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।

    होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेन्टमा आउन थालेको बताए । उनले आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेको बताए। उनले एशोसिएशनको तर्फबाट १५ प्रतिशतसम्म छुट दिइएको जानकारी दिए । निकुञ्जले हात्ती, जिप र डुङ्गा सफारीबापत लिँदै आएको राजश्वमा छुट र नयाँ रुट खोलिदिनुपर्ने उनको माग छ ।

    सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुरेन्टसञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

  • पाँच महिनामा २१ अर्ब विदेशी लगानी भित्रियो, कुन देशबाट कति ?

    पाँच महिनामा २१ अर्ब विदेशी लगानी भित्रियो, कुन देशबाट कति ?

    काठमाडौं । नेपालका उद्योग तथा कलकारखानामा सबैभन्दा धेरै विदेशी लगानी चीनबाट भित्रिएको छ ।

    विगतमा झैं यो वर्ष पनि चीनले नेपालमा सबैभन्दा बढी उद्योग तथा कलकारखानाहरूमा लगानी भित्र्याएको हो । यो पाँच महिनामा चीन लगायत ७ ओटा देशबाट लगानी भित्रिएको छ ।

    उद्योग विभागको तथ्याङ्क अनुसार आव २०७७/७८ को पाँच महिनामा नेपालका उद्योग तथा कारखानाहरूमा २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत आव २०७६/७७ मा २२६ कम्पनीमा ३८ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको थियो ।

    विश्वभर फैलिएको कोरोनाको महामारीले नेपाली उद्योग तथा कारखानाहरूमा लगानीमा कमी नआएको बताउँछन् उद्योग विभागका प्रवक्ता विनोदकुमार खड्का ।

    ‘कोरोनाको मारमा उद्योगधन्दा बन्द भइरहेको अवस्थामा पनि विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छैन’, उनले भने ।

    चीनले मात्र यो पाँच महिनामा ९८ ओटा कम्पनीमार्फत १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी नेपाल भित्र्याएको छ । प्रतिबद्धता अनुसार यी उद्योग कलकारखानाले २ हजार ९६० जनालाई रोजगार दिनेछ ।

    यसैगरी भारतबाट यो पाँच महिनामा विगत वर्षको तुलनामा ज्यादै थोरै लगानी भित्रिएको छ । भारतबाट तीन ओटा प्रोजेक्टका लागि तीन करोड रुपैयाँ मात्र लगानी भित्रिएको छ । त्यसैगरी ब्रिटिश भर्जिन इंग्ल्याण्डबाट तीन अर्ब रुपैयाँ बराबरको लगानी आएको छ ।

    बेल्जियमबाट ५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ । त्यसैगरी, मलेसियाबाट ५ करोड ३० लाख रुपैयाँ, मेक्सिकोबाट १५ करोड र युकेबाट १० करोड रुपैयाँ बराबरको लगानी भित्रिएको हो ।

    सबैभन्दा धेरै लगानी टुरिजम क्षेत्रमा आएको छ । पाँच महिनामा आएका १०८ उद्योग कलकारखानामा टुरिजममा मात्र ६८ ओटा कम्पनी आएका छन् । जसमा १४ अर्ब रुपैयाँ बराबरको लगानी गरिनेछ ।

    यसैगरी, सेवा क्षेत्रमा पाँच अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको छ । जसमा ३१ कम्पनी आउँदैछन् । त्यस्तै, एग्रो र फरेष्ट्री, इन्फरमेशन एण्ड टेक्नोलोजी र म्यानुफ्याक्चरिङमा पनि लगानी भित्रिएको हो । यो लगानी भित्रिएसँगै ३ हजार ३८३ जनाले रोजगारी प्राप्त गर्नेछन् ।

  • ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु गरेका छन् । वार्ता शुरु गरेकोमा आफू निकै खुसी भएको बताएका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन् पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ताको शुरुवात गर्न पाएकोमा म हर्षित छु,’ । ‘एउटा सक्षम व्यावसायिक वातावरणको निर्माण दुई देशबीचको बढ्दो व्यापार सम्बन्धले थप मजबुत बनाउने तथा नेपाली अमेरिकीहरुलाई उत्तिकै सघाउनेतर्फ पहिलो महत्वपूर्ण कदम हो, मेरो उच्च प्राथमिकता पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।

    नेपाल सरकार र संयुक्त राज्य अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागू हुने गरी व्यापार तथा लगानीसम्बन्धि सम्झौता (टिफा) मा हस्ताक्षर गरेका हुन् । यो सम्झौताको उदेश्य व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण लगायत रहेका छन् ।

    २०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देशकेन्द्रित ग्राहता कार्यक्रम स्थापित गरी ‘हार्मोनाइज्ड ट्यारिफ शेडुल’अन्र्तगत ७७ वस्तुहरु समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । जसमा हस्तकला, शल भ्रमण सामग्र लगायतका वस्तु छन् ।

  • बुधबार सुनको मूल्यमा ८ सयले वृद्धि

    बुधबार सुनको मूल्यमा ८ सयले वृद्धि

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ८०० सय रुपैयाँले उकालो लागेको छ । केही दिनदेखि स्थिर जस्तै रहेको सुनको मूल्य बुधबार ८ सय बढेको हो । नेपाल सुनचाँँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० रहेको छ ।

    तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६५० रहेको छ । त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ रहेको छ । चाँदीमा ३० रुपैयाँको वृद्धि भएको हो ।

  • उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने

    उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने

    काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने भएकाे छ ।

    मंगलबार गृहमन्त्रालयमा भएको  बैठकमा उखु किसानको रकम भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, र स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत सहभागी थिए ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार मन्त्रालयमा उखुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बारे छलफल भएको बताए ।
    उनले नेपालप्रेसँग भने,‘अब उद्योगीहरु को को छन् त्यसको खोजी गरेर कारबाही गर्ने तयारी गरिराखेको छ ।’

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • उखु किसान वार्तामा नजाने

    उखु किसान वार्तामा नजाने

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार उखु किसान संघर्ष समितिलाई वार्तामा बोलाएको छ । तर, उखु किसान संर्घष समितिका अध्यक्ष रामस्वार्थ रायले आजको वार्तामा आफूहरु उपस्थित नहुने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष रायले पहिला पैसा खातामा आउनु पर्‍यो । त्यसपछिका छलफलमा जान सकिने बताए । ‘वार्ता मात्र गरेर के गर्ने पैसा पाउनु पर्‍ यो पहिला । हाम्रा खातामा पैसा आएपछि अन्य कुराका लागि छलफलमा बसौला,’ उनले भने ।

    मन्त्रालयकी सह–प्रवत्ता उर्मिला केसीका अुनसार किसानलाई आज दिउँसो ३ बजे वार्ताका लागि बोलाइएको थियो । यसका लागि मन्त्रालयले वार्ताको तयारी समेत गरेका केसीको भनाइ छ ।

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • वाणिज्य मन्त्रालयले उखु किसानलाई वार्तामा बोलायो

    वाणिज्य मन्त्रालयले उखु किसानलाई वार्तामा बोलायो

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार उखु किसान संघर्ष समितिलाई वार्तामा बोलाएको छ । मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीका अुनसार किसानलाई आज दिउँसो ३ बजे वार्तामा बोलाएको हो । यसका लागि मन्त्रालयले वार्ताको तयारी समेत गरेको छ ।

    तर, उखु किसान संघर्ष समितिले वार्तामा जाने कि नजाने भनेर तय गरेको छैन । ‘हामीले ३ बजेका लागि किसानलाई वार्तामा बोलाएका छौं तर, वहाँहरु वार्तामा उपस्थित हुने नहुने कुनै जानकारी अहिलेसम्म पाएका छैनौं,’ केसीले नेपाल प्रेसलाई बताइन् ।

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • उखु किसानले पैसा पाएनन्, उल्टै क्वीन्टलमा २० केजी ठगिए

    उखु किसानले पैसा पाएनन्, उल्टै क्वीन्टलमा २० केजी ठगिए

    ‘सरकार किसानलाई बाँच्न देऊ’ भन्ने पर्चा छातीमा टाँसेका एक वृद्ध,  आइतबार र सोमबार एउटै कुरा दोहोर्‍याइ रहे ।  सर्लाहीबाट काठमाडौं आएका उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय रोष प्रकट गर्दै भनिरहेका थिए ‘अब अति भो सरकार हामीलाई बाच्न देऊ, हाम्रो पसिनाको मूल्य देऊ, सरकार अन्तिम पटक हाम्रो कुरा सुनिदेऊ, बाँच्ने आधार बनाइदेऊ, हाम्रा बच्चा–बच्चीका आङ नाङ्गा छन्, पेट भोक छ । औषधि उपचार नपाएर हाम्रा परिवार तड्पिएका छन्, सरकार पैसा देऊ, कि मृत्यु ! बरु मर्नु परोस् पैसा नलिई घर फर्किंदैनौ, आत्महत्या गर्न तयार छौं ।’

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् । सम्झौता कार्यान्वयन नभए पनि काठमाडौंको चिसो र कोरोनाको महामारीका बीचमा आफूहरू पुनः आन्दोलनमा उत्रिएको अध्यक्ष रामस्वार्थको भनाइ छ ।

    ‘हामी निमुखा किसान, बोल्न पनि राम्ररी जान्दैनौं, हाम्रो एउटै माग छ– पसिनाको मूल्य देऊ । किसानलाई मर्न बाध्य नपार’ उनले भने । चिनी मिलले उखु किसानलाई दिनुुपर्ने बाँकी बक्यौता रकम सम्झौता भएको एक वर्षसम्म दिएका छैनन् । रकम नपाएपछि यो एक वर्ष बीचमा उखु किसान संघर्ष समितिका पदाधिकारीहरू पटक–पटक काठमाडौं आए ।

    यही दशैं र तिहारको बीचमा अध्यक्ष रायलगायत अन्य किसानहरूले काठमाडौं आएर उद्योग मन्त्री, राष्ट्रपति र अन्य नेतालाई समेत भेटे तर समस्या सुल्झिएन । काठमाडौं आउनु अघि बारम्बार किसानले स्थानीय सरकारलाई पनि गुहारे । स्थानीय सरकारले उनीहरूको माग सुनेको नसुने झैं गर्‍ यो ।

    उद्योगीले किसानलाई  क्वीन्टलमै २० केजी ठगे 
    गत वर्ष नै नेपाल सरकारले किसानको माग अनुरूप उखुको मूल्य समायोजन गरेर उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ तोकिएको थियो । त्यसमा सरकारले ६५ रुपैयाँ अनुदान दिने सहमति गर्‍ यो । प्रति क्वीन्टल ४७१ रुपैयाँ उद्योगले किसानलाई दिनुपर्ने हो । तर उद्योगहरूले त्यसमा पनि ३५ रुपैयाँ घटाइदिए ।

    अध्यक्ष रायका अनुसार सर्लाही जिल्लाको गोडैता नगरपालिकाका मेयर देविन्द्रपसाद यादव, प्रदेश–२ का सांसद उपेन्द्र कुशवाह र महालक्ष्मी सुगर मिलका उद्योगपति वीरेन्द्र कनौडियालगायत केही स्थानीय नेता संलग्न बैठकले किसानहरूलाई जानकारी नै नदिइकन एकलौटी रूपमा पैसा घटाउने निर्णय गरे ।

    किसानले १०० केजी उखु जोखेरै दिंदा सुगर मिलहरूले त्यसमा १० केजी २० केजी बराबरको तौल कमी गरिदिएको किसानको भनाइ छ ।
    ‘हाम्रो बोल्ने मान्छे छैन भनेर किसानलाई हेपिएको पो हो कि ! आँखै अगाडि यत्रो भ्रष्टाचार गर्दा कति सहेर बस्नु ? मिलहरूले पैसा त दिएन, दिएन उल्टै हामी आफैंले जोखेर दिएको उखुको पनि तौल घटाइदिन्छन्’ अर्का पीडित उखु किसान राम पुकार राउतले भने ।

    उनले दुई बिगाहा जमीनमा उखु खेती लगाएका छन् । आठ जनाको उनको परिवारको मुख्य आम्दानीको स्रोत नै उखु खेती हो ।
    राउतले अन्नपूर्ण सुगर मिललाई उत्पादित सबै उखु दिंदै आएका छन् । आँखाभरि आँशु पार्दै उनले भने, ‘मेरो अर्को आम्दानीको श्रोत छैन । उद्योगले पैसा दिंदैन । घर–व्यवहार कसरी चलाउने ?’

    हाल देशभर पाँचओटा सुगर मिलहरूले किसानलाई करीब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले बताएका छन् ।

  • सोमबार पनि शेयर बजारमा उछाल, नेपाल लाइफको सर्वाधिक कारोबार

    सोमबार पनि शेयर बजारमा उछाल, नेपाल लाइफको सर्वाधिक कारोबार

    काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा सोमबार पनि उछाल आएको छ । आज भएको शेयर कारोबारमा ५६ दशमलव ७२ अंकले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको छ ।

    सोमबार एक करोड २८ लाख ८८ हजार ६६ कित्ताको शेयर खरीदविक्रीमा ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैया बराबरको कारोबार भएको छ । सोमबार सूचक अंक बढेसँगै कारोबार रकम समेत बढेको छ । आइतबारको शेयर रकमभन्दा सोमबार २ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।

    आज भएको कारोबारमा सवैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक खरीदविक्री भएको छ । आज एनएलआसीको ७४ करोड ३९ लाख ९९ हजार ६६८ रुपैयाँ बाराबरको शेयर खरीदविक्री गरेको छ ।

    १५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    सोमबार १५ ओटा कम्पनीको मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सार्वधिक मूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, शिखर इन्स्योरेन्स, नबिल बैंक,साल्ट ट्रेडिङ,नारायणी डेभलोपमेन्ट बैंक, विजया लघुवित्त, मिथिला लघुवित्त आदिमा सकारात्मक सर्किट लागेको हो ।

  • ६० प्रतिशत नेपालीका खुट्टामा स्वदेशी जुत्ता !

    ६० प्रतिशत नेपालीका खुट्टामा स्वदेशी जुत्ता !

    काठमाडौं । केहि वर्ष अगाडिसम्म स्वदेशी जुत्ता उत्पादक कम्पनी लगानीको प्रतिफल जुटाउन धौ–धौको अवस्थामा रहन्थे । विदेशी ब्रान्ड विशेष गरी चिनियाँ उत्पादनका जुत्ताहरु सर्वसुलभ मूल्यमा बजारमा उपलब्ध हुनु स्वदेशी कम्पनीका लागि चुनौति थियो ।

    अहिले अवस्था फेरिएको छ । केहि वर्षयता नेपालीहरु स्वदेशी ब्राण्डका जुत्ता–चप्पलमै आफूलाई सहज महशुस गर्न थालेका छन् । गोल्डस्टार, शिखर, क्रसरोडलगायत दर्जनौ ब्राण्डका स्वदेशी जुत्ताले नेपाली बजारलाई छपक्कै ढाकेको छ भन्दा फरक पर्दैन ।

    कुनै समय थियो नेपालीहरुले लगाउन प्रत्येक जुत्ता विदेशबाट आयत गरिँदा करोडौं रुपैयाँ विदेशिन्थ्यो । नेपाल फुटवेयर महासंघका आनुसार अहिले नेपाली बजारमा उपलब्धमध्ये ६० प्रतिशत जुत्ता–चप्पल स्वदेशी उत्पादन हो । महासंघका अध्यक्ष कृष्णकुमार फुँयालका अनुसार नेपाली जुत्ता–चप्पल व्यवसायमा करीब ५० अर्व रुपैयाँको लगानी रहेको छ ।

    स्वदेशी जुत्ता–चप्पल उद्योगमा अर्बाैंको लगानी भए पनि सुरक्षा संगठनहरुदले प्रयोग गर्ने जुत्ता भने नेपालमै उत्पादन हुन सकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले प्रयोग गर्ने छालाको जुत्ता (बुट) अहिले पनि टेण्डरमार्फत विदेशबाट आयात गरिन्छ ।

    सेनाले लगाउने छालाको जुत्तामा तीन प्रकारको छाला प्रयोग हुने भएकाले स्वदेशी कम्पनीले मापदण्ड पूरा गर्न नसकेपछि विदेशबाट ल्याउनु परेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

    ‘सेनाले स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्छ, टेण्डर आहन गर्दा पनि स्वदेशी कम्पनी नै छान्छौ । तर, अहिलेसम्म स्वदेशी जुत्ता–चप्पल उद्यागहरुले हाम्रो मापदण्ड नगरेकैले विदेशबाट मगाउनु परेको छ,’ उनले नेपालप्रेससँग भने ।

    महासंघले भने सुरक्षा निकायका लागि आवश्यक गुणस्तरको जुत्ता उत्पादनमा स्वदेशी कम्पनी पूर्ण सक्षम रहेको दावी गरेको छ । अध्यक्ष फुँयालका अनुसार स्वदेशी उद्योगहरु सक्षम भए पनि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले नेपाली जुत्ता–चप्पलको गुणस्तर मापन गर्न नसक्दा समस्या निम्तिएको हो ।

    ‘विभागमा बारम्बार गुणस्तर मापनका बारेमा बारम्बार कुरा हुने गरेको छ । तर, त्यहाँ जुत्ता–चप्पलको कच्चा पदार्थ मापन गर्ने मेशिन नै छैन । जुत्ता–चप्पलमा अनेक किसिमका कच्चापदार्थको प्रयोग हुन्छ र ती सबै कच्चापदार्थको मापन गर्न असमर्थ भएको जानकारी विभागले दिने गरेको छ,’ उनले थपे, ‘नेपाली जुत्ता–चप्पलमा कम्पनीहरुले ६ महिनाको वारेण्टी दिएका छन् । गुणस्तर मापन नहुँदा अझै यसलाई विश्वसनीय बनाउन सकिएको छैन । अहिले हाम्रो मुख्य माग नै ‘मेनपावर तथा गुणस्तर परीक्षण हो ।’

    नेपाली बजारमा बार्षिक ८ देखि ९ करोड जोर जुत्ताको माग रहेको फुँयालको भनाइ छ । उद्योगहरुले अन्य मुलुकमा समेत नेपाली ब्राण्डका जुत्ता निर्यात गर्दै आएका छन् । नेपालबाट अन्य मुलुकमा बार्षिक रुपमा ६०/६५ लाख जोर जुत्ता नियार्त हुँदै आएको व्यावसायीको भनाइ छ । नेपाली जुत्ता–चप्पलकोे मुख्य बजार भारत हो ।

    ०७२ सालको भूकम्प अघि नेपालबाट एक करोड जोर जुत्ता–चप्पल भारतलगायत अन्य मुलुकमा निर्यात हुने गरेको थियो । भूकम्प र लगत्तै भएको नाकाबन्दीको मार नेपाली जुत्ता–चप्पल पनि पर्‍यो । जसले गर्दा जुत्ता–चप्पलको व्यापार केही खुम्चन पुग्यो । ०७६ पछि पुन नेपाली जुत्ता–चप्पलको व्यापारमा रौनकता थपिँदै गर्दा विश्वव्यापी रुपमा देखिएको ‘कोभिड–१९’ को मारमा परेको छ ।

    स्वदेशी कम्पनीलाई जनशक्तिको समस्या

    नेपाली जुत्ता–चप्पल उद्योगमा अधिकांश कालिगड तथा मजदुर भारतीय रहेका छन् । पछिल्लो समय कोरोना कै कारण जुत्ता–चप्पल उद्योग ९ महिना बन्द भए । गत साउनबाट बिस्तारै खुल्न थालेकोमा अहिलेसम्म करिव ७० प्रतिशत उद्योगहरु खुलिसकेका छन् । उद्योग खुले पनि काम गर्ने कर्मचारी, मजदुर तथा कालिगडको चरम अभाव भएको व्यावसायीको भनाइ छ ।

    लामो समय उद्योग बन्द हुँदा कालिगड र अन्य कर्मचारी भारत फर्किएकाले पनि उद्योगमा कर्मचारी अभाव हुन पुगेको हो । ‘नेपाली मजदुर निकै कम छन् । हाम्रो मुख्य समस्यामध्येको एउटा मजदुर समस्या पनि हो,’ महासंघ अध्यक्ष फुँयालले भने । हाल स्वदेशी जुत्ता–चप्पल उद्योगले करीब ५० हजारभन्दा बढीलाई रोजगारी दिएका छन् ।

    विद्यार्थी र सुरक्षा गार्डका जुत्ता उत्पादनमा आत्मनिर्भर
    विद्यालय जाने विद्यार्थी वा नेपालमा सञ्चालित सुरक्षा सेवा प्रदायक कम्पनीहरुले नेपाली ब्रान्डका जुत्ता नै प्रयोग गर्न थालेका छन् ।

    विद्यार्थी र सुरक्षा गार्डले लगाउने जुत्ता शतप्रतिशत स्वदेशी ब्राण्डको भएको अध्यक्ष फुँयालको भनाइ छ । ‘स्कुल र सुरक्षा गार्डले लगाउने जुत्ता नेपाली ब्राण्डका हुन् । आयातीत एक जोर पनि छैन,’ उनले भने । नेपालमा हाल १ हजार ५ सय जुत्ता–चप्पलका उद्योग छन् ।

     

  • सोमबार सुनको मूल्यमा सामान्य गिरावट

    सोमबार सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार १०० रुपैयाँले घटेको हो । सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भइरहेको छ ।

    आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा खरीदविक्री भएको थियो । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २०० मा खरीदविक्री भइरहेको छ ।

  • होमलेस युवा बिलियन डलर कम्पनीका सीइओ

    होमलेस युवा बिलियन डलर कम्पनीका सीइओ

    काठमाडौं/ हाइस्कुलमा पढाइ छाडेका र दुईवर्ष जति घरविहिन बनेका जापानका एक युवक बिलियन डलर कम्पनीका सीइओ बनेका छन् । टोकियोका ताइहेइ कोवायसीले थालेको टेक स्टार्टअपको बजार मूल्य १ बिलियन डलर पुगेको छ ।

    गत जुलाइमा सार्वजनिक स्टार्टअपमा गएको यसको मूल्य त्यसयता तीन गुणाले बढेको छ । उनको यो स्टार्टअपले अन्य नयाँ स्टार्टअपलाई नयाँ बिजनेस र उत्पादन सृजना गर्नको लागि मद्दत गर्छ ।

    दुईवर्ष अगाडि गरेको कल्पनाको नतिजा भएको उनको कथन छ । १७ वर्षको छँदा कोवायसीका बाबुआमाले उनलाई घरबाट निकालेका थिए । त्यसयता उनले हाइस्कुलको पढाइ समेत छाडे ।

    उनी संगीतमा रुचि राख्थे । दिनभर संगीतमा व्यस्त हुन्थे । राती सडकमा सुत्थे । चिसा रातहरुमा उनले कार्डबोर्ड जम्मा गरेर आफूलाई न्यानो बनाउने प्रयास गर्थे । झन्डै दुईवर्ष उनी होमलेस भए । सन एस्ट्रिक नामक कम्पनीका सीइओ बनेका छन् अहिले ।

    उनले दुईवटा विन्टर टोकियोका सडकमा बिताए । ‘चिसोले मर्न पनि सक्थेँ । म जहाँ सक्थेँ, त्यही सुत्थेँ । ८० प्रतिशतभन्दा बढी समय म बाहिर नै सुत्थेँ’ उनले भने ।

    कोवायसीले गणितको क्षमता, तार्किक सोच लगायतका विषयमा ६ घण्टाको एउटा परिक्षा दिए । उनी परिक्षामा पास पनि भए । त्यसपछि उनका लागि सफ्टवेयर इन्जिनियर हुने बाटो खुल्यो । यसैक्रममा उनको सन एस्ट्रिकका एकजना संस्थापकसँग भेट भयो । उनीहरु दुबैले कम्पनीको सुरुआत गर्ने निर्णय गरे ।

  • ‘खुकुरी म्युजिक नेसन’ हुँदै

    ‘खुकुरी म्युजिक नेसन’ हुँदै

    काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा खुकुरी रमले ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्ने भएको छ । सो अवसरमा खुकुरी रमले ख्याती प्राप्त संगितकर्मी र कलाकारहरुको साथमा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    कम्पनीका अनुसार इच्छुक जो कोही व्याक्तिहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभालाई भिडियो मार्फत प्रतियोगितामा प्रस्तुत गर्न सक्ने छन् । सहभागीमध्येबाट शीर्ष १६ प्रतियोगीहरुको नाम २०२१ जनवरी १ मा आयोजना हुने ‘खुकुरी देशको संगीत’ साँगीतिक कार्यक्रमबाट घोषणा गर्ने कम्पनीले आफ्नो वेवसाइटमार्फत बताएको छ ।

  • कृषि विकास बैंकको लाभांश घोषणा

    कृषि विकास बैंकको लाभांश घोषणा

    काठमडौं । कृषि विकास बैंकले आर्थिक वर्षको मुनफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
    सोमबार विहान बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयरर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

  • व्यावसायिक बन्न अझै सकेनन् क्लब

    व्यावसायिक बन्न अझै सकेनन् क्लब

    नेपालीहरूको लोकप्रिय खेल फूटबल बिस्तारै महँगो हुँदै गएको छ । हिजोसम्म नेपाली फूटबल इच्छापूर्तिका लागि मात्र खेलिन्थ्यो भने आज व्यावसायिक रूपमा खेलिन थालिएको छ ।

    युवा माझमा बढ्दो फूटबल क्रेजले पनि नेपाली फूटबललाई महँगो बनाउँदै लगेको बताउँछन् मछिन्द्र फूटबल क्लबका अध्यक्ष प्रबोध कंसाकार । फूटबल महँगिएसँगै नेपाली राष्ट्रिय फूटबल क्लबहरूको बजेट पनि बढेको छ । केही वर्ष अघिसम्म ४०-५० लाखको हाराहारीमा वार्षिक बजेट निर्माण गर्ने क्लबहरू अहिले करोडमाथि उक्लिएका छन् ।

    ‘ए’ डिभिजन बाट खेल्दै आएका १४ वटा क्लबहरूको वार्षिक कारोबार २५ कारोडमाथि पुगेको छ । “हामीले यो वर्ष एक करोड ५० लाख रुपैयाँ वार्षिक बजेट छुट्याएका छौं”, अध्यक्ष कंसाकारले भने ।
    ‘ए’ डिभिजन क्लब मछिन्द्रले एक करोड ५० लाखमा एक करोड रुपैयाँ फूटबल खेलाडीको तलबका लागि मात्र छुट्याएको छ ।

    आन्तरिक खर्चका लागि बाँकी रकम रहेको छ । मछिन्द्रको मुख्य आम्दानीको स्रोत घरभाडा हो । घरभाडाबाट मात्र मछिन्द्रले वार्षिक ५१ लाख रुपैयाँ उठाउँदै आएको छ । राम्रो आयस्रोत भएको मछिन्द्रले फूटबल खेलाडीलाई पनि उत्तिकै राम्रो तलब दिने गरेको बताएको छ ।

    यो वर्षको लिग विजेता मछिन्द्रले मासिक ५० हजारदेखि एकलाखमाथि तलबमा खेलाडी अनुबन्धित गरेको छ । “हाम्रो क्लबमा केही राम्रा खेलाडीको तलब एक लाखभन्दामाथि छ । केहीलाई भने हामीले ५० हजारसम्म दिएका छौं”, कंसाकार भन्छन् ।

    पछिल्लो समय फूटबल खेलाडीले व्यावसायिक रूपमा खेल्न थालेकाले पनि फूटबल महँगो हुँदै गएको क्लबहरू बताउँछन् । अहिले क्लबहरूमा राम्रा खेलाडीको मासिक तलब एक लाखभन्दा माथि पुगेको छ ।

    विदेशी खेलाडीलाई क्लबमा अनुबन्धित गर्दा पनि मासिक एक लाखभन्दा बढी नै रकम तिर्नुपर्ने हुन्छ । “केही वर्षयता हामीले राम्रा खेलाडीलाई व्यावसायिक रूपमा नै मासिक एक लाख बढी तलबमा अनुबन्धित गर्दै आएका छौं”, फ्रेन्डस् क्लबका अध्यक्ष राजीवराज पौडेलले बताए ।

    फ्रेन्डस्ले पनि आफ्नो बजेटलाई बृहत् बनाउन ध्यान दिएको छ । उसले यो वर्षका लागि डेढ करोड माथि बजेट छुट्याएको छ । फ्रेन्डस्लाई नबिल बैंकले १२ लाख र कृषि विकास बैंकले ५ लाखमा प्रायोजन गरेका छन् ।

    फ्रेन्डस्ले डेढ कारोडमाथि बजेट छुट्याए पनि ‘कोभिड–१९’ का कारण खेलाडीलाई यो वर्ष ३० प्रतिशत मात्र तलब दिन सकेकोे उसको भनाइ छ । अन्य रकम भने ‘होम ग्राउण्ड’ निर्माणमा खर्चिने फ्रेन्डस्ले जानकारी दिएको छ ।

    आफ्नो ‘होम ग्राउण्ड’ नभएको फ्रेन्डस्ले भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको सहयोगमा चाँगुमा ‘होम ग्राउण्ड’ बनाउने भएको छ । क्लबले १२ खेलाडीलाई मासिक एक लाखभन्दा माथि तलब दिंदै आएको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा ठूलो बजेट संकटा क्लबको रहेको छ । संकटाले फूटबल खर्चका लागि यो आवमा दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । संकटाको मुख्य आम्दानीको स्रोत घरभाडा हो । न्यूरोडमा रहेका तीन वटा घरबाट संकटाले वार्षिक करोडभन्दा माथि भाडा उठाउँदै आएको छ । यसैगरी संकटाले अन्य विभिन्न व्यवसाय पनि गर्दै आएको बताएको छ ।

    फूटबलमा लगानी बढ्दै गएको देखिए पनि क्लबहरूको नियमित आम्दानी स्रोत भने न्यून रहेको छ । नियमित आम्दानीको स्रोत फराकिलो नहुँदा राष्ट्रिय फूटबल खेल अझै पनि व्यावसायिक बन्न सकेको छैन ।

    क्लबहरू लिगका लागि समेत एन्फाको भर पर्ने गरेका छन् । एन्फाले लिगका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिंदै आएको छ । क्लबले दरिलो प्रायोजक ल्याउनुपर्ने एन्फाका पदाधिकारी बताउँछन् ।

    क्लबको मुख्य आम्दानी विभिन्न कर्पोरेट क्षेत्रले गरेको प्रायोजन, घरभाडा, एन्फाको सहयोगलगायत शुभेच्छुकहरूले गर्ने आर्थिक भरथेगले नै नेपाली फूटबल क्लबहरू चल्ने गरेका छन् । खासगरी, फूटबल ‘प्यासन’ ले मात्र चलेको भन्दा फरक नपर्ने बताउँछन् मनाङमस्र्याङ्दी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङ ।

    मनाङमस्र्याङ्दी क्लबको फण्ड सृजना गर्ने शैली अन्य क्लबको भन्दा अलिक फरक छ । गुरुङका अनुसार क्लबको निश्चित आम्दानीको स्रोत यही हो भन्ने छैन । प्रायोजक कहिले भेटिन्छन्, कहिले भेटिंदैनन् । मनाङलाई सबैभन्दा धेरै माया गर्ने भनेको मनाङका स्थानीयवासी हुन् ।

    लिग वा अन्य टुर्नामेन्टहरूमा क्लबले ‘फन्ड सृजना’ का लागि स्थानीयवासी माझ ‘पार्टी’ आयोजना गर्ने गर्छ । त्यहाँ उपस्थित शुभेच्छुकहरूले नै मनाङ क्लबलाई हृदयदेखि नै आर्थिक सहयोग गर्ने गरेका छन् । मनाङमस्र्याङ्दी क्लबको वार्षिक बजेट एक करोड ३० लाख छ । ७५ लाख रुपैयाँ खेलाडीको तलबका लागि छुट्याएको गुरुङको भनाइ छ ।

    अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा चर्चित फूटबल नेपालमा भने परम्परागत ढाँचामै खेलिने गरिएको छ । अन्तर्राष्ट्रिय जगतमा फूटबल खेल व्यावसायिक भएको कैयौं वर्ष बिते पनि हामी कछुवा गतिमै छौं । खेलाडी व्यावसायिक बन्दै गए पनि क्लबहरू अझै आर्थिक रूपमा दरिलो बन्न सकेका छैनन् ।

    ‘ए’ डभिजन क्लबमा रहेका पुलिस, आर्मी तथा पुलिस फोर्स क्लबको बजेट अन्य क्लबको जस्तो छैन । फूटबलमा मात्र छुट्याएर बजेट आउने नभएर प्रायोजक र आन्तरिक रूपमा नै उनीहरूले आफ्नो क्लब चलाउने गरेका छन् ।

    अझै व्यावसायिक बन्न सकेन फूटबल क्लब
    नेपाली फूटबल क्लबहरू विगतको तुलनामा केही सबल बन्दै गए पनि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति अझै बनिसकेको छैन । नेपालका क्लबहरू एशियन फूटबल क्लब (एफसी) मा समेत जान सकेनन् ।

    एशिया मुलुकका लिग च्याम्पियन क्लबहरूसँग हुने ‘क्लब च्याम्पियन कम्पिटिशन २०२१’ (एसीसी) मा खेल्नका लागि नेपालका राष्ट्रिय क्लबहरू यो वर्ष पनि चुकेका छन् । एसीसीमा खेल्नका लागि नेपाली क्लबले एन्फाबाट ‘लाइसेन्स’ (अनुमति पत्र) प्राप्त गर्नुपर्छ ।

    तर, यो वर्ष नेपालका ‘ए’ डिभिजनका कुनै पनि क्लबहरूले ‘लाइसेन्स’ प्राप्त गर्न सकेनन् । एसीसीमा खेल्नलाई एफसीले नेपाललाई एउटा कोटा दिएको छ ।

    ‘लाइसेन्स’ का लागि ‘एशियन फूटबल संघ’ (एफसी) ले एन्फालाई दबाब दिइरहेको छ– नेपालका क्लबहरू ‘लाइसेन्सिङ’ सिष्टममा छिटो लैजाऊ भनेर । एन्फाले यसका लागि पहल पनि गर्‍ यो तर, सफलता हासिल गर्न नसकेको क्लबका कम्युनिकेशन, लाइसेन्सिङ तथा कमर्सियल विभागका प्रमुख युजल श्रेष्ठ बताउँछन् ।

    उनका अनुसार ‘लाइसेन्सिङ’ मा जानलाई क्लबहरूले १८ वटा ‘क्राइटेरिया’ पूरा गर्नुपर्छ । यसका लागि क्लबको आफ्नै फूटबल ग्राउण्ड हुनुपर्ने, एफसीको सीमा रेखाभित्र रहेर क्लबको पूर्वधार निर्माण हुनुपर्ने ।

    क्लबमा डाक्टर, कोच, पूर्ण खेलाडी सबैको व्यवस्था गर्नुपर्छ । क्लबको आफ्नै सचिवालय हुनुपर्ने जस्ता विभिन्न ‘क्राइटेरिया’ पूरा गर्नुपर्ने हुन्छ । तर, ‘लाइसेन्सिङ’ मा जानलाई अहिलेको अवस्थामा सम्भव नभएको क्लबका पदाधिकारी बताउँछन् । “हाल केही क्लब छाड्ने हो भने, अधिकांश क्लबहरूको ‘ग्राउण्ड’ शहीद स्मारक दशरथ रंगशाला नै हो”, जाउलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री भन्छन् ।

    क्लबहरूलाई ‘लाइसेन्सिङ’ मा लैजानका लागि एन्फाले यो वर्ष क्लबहरूमा पत्राचार गरेर ‘लाइसेन्सिङ’ फारम पठायो । तर, कुनै पनि क्लबले ‘लाइसेन्सिङ’ प्राप्त गर्न सकेनन् । कारण एउटै थियो, ‘लाइसेन्सिङ’ को ‘क्राइटेरिया’ पार गर्न नसक्नु ।

    क्लबहरू आफैं पनि ‘लाइसेन्सिङ’ मा जान चाहन्छन् । तर, क्लब धान्न धौ–धौ भइरहेको अवस्थामा ‘लाइसेन्सिङ’ मा जानु ढुङ्गा चपाउनु सरह भएको अध्यक्ष क्षेत्रीको भनाइ छ । यसका लागि ठूलो रकम आवश्यक पर्ने र एन्फालगायत राज्यले यसको पहल गर्नुपर्ने उनको बुझाइ छ । “लाइसेन्सिङमा जानै पर्नेछ । हामी पनि यसका लागि आतुर छौं । नत्र भने हामी फूटबल जगतमा धेरैपछि पर्छौं” उनले भने ।

    फूटबल सुधारका लागि एन्फाले छुट्टा–छुट्टै विभाग निर्माण गर्दै
    क्लबहरूको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय जगतमा नै प्रतिस्पर्धी बनाउनका लागि एन्फाले विभिन्न काम गर्दै रहेको बताए पनि क्लबको समस्या ज्यूँकात्यूँ छ ।

    एन्फाले हाल आफ्नो कार्यकक्षमा छुट्टाछुट्टै विभाग निर्माणको थालनी गरेको छ । फिजियोथेरापी विभाग, रेफ्री विभाग, कमर्सियल विभाग, महिला फूटबल विभाग, प्रतिस्पर्धी विभाग, टेक्निकल विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण विभाग तथा ‘लाइसेन्सिङ’ विभाग आदि निर्माण गरिएको छ । यस्ता विभाग निर्माणले नेपाल फूटबललाई अझ माथि पुर्‍ याउने एन्फाको भनाइ छ । विगतमा फूटबल सम्बन्धित सबै काम एउटै व्यक्ति र एकै ठाउँबाट हुने गरेको थियो ।

  • होटल क्षेत्रमा दुई अर्ब नोक्सान

    होटल क्षेत्रमा दुई अर्ब नोक्सान

    काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालको होटल व्यवसायले दुई अर्बभन्दा बढीको नोक्सान बेहोरेको छ । नौ महीनादेखि होटल व्यवसाय बन्द हुँदा उक्त नोक्सान भएको हो ।

    “नौ महीनादेखि होटल व्यवसाय बन्द हुँदा दुई अर्बभन्दा बढी नोक्सान भएको छ” नेपाल होटल एशोसिएसन (हान) का महासचिव साजन शाक्यले भने । उनका अनुसार गत वर्ष यस समयमा होटलहरूको अकुपेन्सी ७०\८० प्रतिशत रहेको थियो । नेपाल सरकारले गत वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ ‘भिजिट नेपाल २०२०’ घोषणा गरेको थियो ।

    भिजिट नेपालमा विदेशी पर्यटकको आगमन राम्रो भएको शाक्यको भनाइ छ । ‘नेपालको पर्यटन क्षेत्रमा सरकारले गरेको कार्यप्रति होटल व्यवसायी उत्साही थियौं । तर, महामारीले हाम्रो व्यवसायलाई शून्यमा झार्‍यो’, उनले भने ।

    । दिन–प्रतिदिन  नोक्सान बढ्दै जाँदा होटल व्यवसायीले बैंकको ऋण तिर्न नै धौ–धौ भइरहेको महासचिव शाक्यको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले पुनः कर्जा दिने भनिएको भए पनि यसको कार्यान्वयनमा ढिलाइ हुँदा आफूहरू अझ मर्माहत बनेको उनको भनाइ छ । ‘बैंकले हामीलाई चाँडोभन्दा चाँडो पुनःकर्जा दिनुपर्‍यो । नत्र भने हामी अझै चर्को समस्यामा फस्छौं’, शाक्यले भने ।

    नेपाल सरकारले विदेशबाट आएका नेपाली नागरिकलाई होटलमा बस्नुपर्ने नियम बनाएपछि होटलले केही राहत पाए । तर, त्यो पर्याप्त हुन नसकेको होटल व्यावसायी बताउँछन् । हान अन्तर्गत रहेका करीब ६०\६५ ओटा होटलहरूले विदेशबाट आउने नेपालीलाई क्वारेन्टाइनका रूपमा राखिरहेका छन् ।

    हानका अनुसार पर्यटकलाई मध्यनजर गरेर बनाइएका ‘टुरिष्ट स्ट्याण्डर्ड होटल’ भने अझै मारमा परेका छन् । प्रायः घर भाडामा लिएर होटल चलाउने टुरिष्ट होटलहरू बन्द हुँदा घर भाडा बुझाउन नै गाह्रो भएको छ ।

    कोरोनाले होटल क्षेत्र पूर्ण प्रभावित बनिरहेका बेला ‘कोभिड–१९’ को ‘भ्याक्सिन’ चाँडै आउन सक्ने पछिल्ला समाचारले आफूहरू उत्साही बनेको होटल व्यवसायीको भनाइ छ । ‘भ्याक्सिन’ चाँडै आएमा होटल व्यवसाय पहिलाकै गतिमा पुग्ने उनीहरूको विश्वास छ ।

    यसका लागि होटल व्यवसायी मार्केटिङमा लागिसकेका छन् । ‘हामीले मार्केटिङ गरिरहेका छौं । यसमा विभिन्न देशबाट ‘इन्क्वाइरी’ आइरहेको छ । आगामी मार्चसम्ममा हवाई क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आयो भने १५\२० प्रतिशतसम्म होटल अकुपेन्सी हुनसक्ने सम्भावना छ,’ शाक्यले भने ‘विदेशी पर्यटक नेपाल भित्राउनका लागि नेपाल सरकारले अनुमति दिइसकेको छैन ।

    यसले पनि समस्या पारिरहेको छ । आशा गरौं अर्को वर्षबाट नेपालको पर्यटन क्षेत्र सुखद् बन्ला ।’ हान अन्तर्गतका होटलहरूले आफ्ना ‘चियरम्यान टु डोरम्यान’ सम्मका कर्मचारी तथा मजदूरहरूलाई होटलको स्टार अनुसार निश्चित तलब दिंदै आएको बताएको छ ।

  • प्रभु लाइफ इन्स्योरेन्स आइपिओ बिक्री खुला

    प्रभु लाइफ इन्स्योरेन्स आइपिओ बिक्री खुला

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २९ गते सोमबारदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

    सर्वसाधारणका लागि छुट्याएको कुल किक्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी शेयर ५४ लाख कित्ता सर्वसाधारणका लागि खुलाा गरेको छ ।

    आईपीओ खुला गरेसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० कोरडबाट बढेर २ अर्ब पुगेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

    शेयर निष्कासन समाप्त अवधि छिटोमा पुस २ गतेसम्म रहने छ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आइतबार माहानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सामाग्रीहरु उपल्ब्ध गराएको छ । कम्पनीको रुपमा विस.२०७४ साल मंसिर २८ गतेदेखि उक्त कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

  • सानिमा बैंकले पुस १ गतदेखि ऋणपत्र निष्कासन गर्दै

    सानिमा बैंकले पुस १ गतदेखि ऋणपत्र निष्कासन गर्दै

    काठमाडौं । सानिमा बैंकले पुस १ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र एक हजार दरमा निष्कासन गर्ने भएको हो । बैंकले १६ लाख कित्ता सर्वसाधरणको लागि छुट्याएको छ । बाँकी रहेको २४ लाख कित्ता व्याक्तिगत रुपमा बिक्री गरिनेछ ।

    ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख किक्तासम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० बर्षसम्मको लागि बार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर तोकिएको छ ।

    ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआसी एसिया क्यापिटल बैंकिङ रहेको छ । साथै आवेदकले सि आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म रहेको छ ।

  • संसद् विघटनको प्रभाव शेयर बजारमा , ४५ अङ्कले घट्यो नेप्से

    संसद् विघटनको प्रभाव शेयर बजारमा , ४५ अङ्कले घट्यो नेप्से

    काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १२ः३० बजेसम्ममा २ दशमलव २६ प्रतिशतले घटेको छ । शुक्रबार ४५ अङ्कले घटेदै शेयर १ हजार ९ सय ८६ विन्दुमा झरेको छ । १ घण्टाको अवधिमा १८२ वटा कम्पनीले ३ अर्ब ११ करोड ८९ लाखको कारोबार भएको छ । आइतबार भएको राजनैतिक घटनाक्रमले लगानीकर्ताको मनोबल घटेका कारण शेयर बजार ओरालो लागेको शेयरबजार जानकार बताउँछन् ।

  • संसद् विघटनले नेप्सेमा पहिरो, झण्डै १०० अंकको गिरावट

    संसद् विघटनले नेप्सेमा पहिरो, झण्डै १०० अंकको गिरावट

    काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घट्दै १९ सय ३५ दशमलव ६४ अंकमा ओर्लिएको छ । नेप्से ४ दशमलव ७७ प्रतिशतले तल झरेको हो ।

    पछिल्लो अप्रत्यासित राजनैतिक घटनाले शेयर बजारमा भारी गिरावट आएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए । ‘नेप्से एकैदिन करीब ९७ अङ्कले तल झर्नुमा अन्य कुनै कारण नभइ आज भएको राजनैतिक घटनाक्रम नै हो,’ लगानीकर्ताको मनोबल कमजोर हुँदा त्यसको असर नेप्सेमा प्रत्यक्ष पर्‍ यो,नेप्से घट्नुमा अन्य कुनै कारण छैन,’ उनले भने ।

    नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकम भने बढोत्तरी भएको छ । आज भएको १४ करोड ३ लाख १५ हजार ७९६ कित्ताको कारोबारमा आठ अर्ब ९० करोड ४७ लाख २२ हजार ९५४ रकमको टर्नओभर भएको छ ।

    सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को १ अर्ब ५७ करोड ४७ लाख २ हजार ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।