Category: वित्त प्रेस

  • सेवानै अवरूद्व हुने भन्दै तोडफोड नगर्न एनसेलको आग्रह, दुई दिन नि:शुल्क सेवा दिने घोषणा

    सेवानै अवरूद्व हुने भन्दै तोडफोड नगर्न एनसेलको आग्रह, दुई दिन नि:शुल्क सेवा दिने घोषणा

    काठमाडौं । आन्दोलनकारीहरूले कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि एनसेलको सेवा नै अवरूद्व हुने भएकोले यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । एक अपिल गर्दै एनसेलले यस्तो आग्रह गरेको हो ।

    ‘मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड भएको छ । दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने सुनिश्चित छ । त्यसैले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपुर्‍याइदिन हुन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नुहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौं’, एनसेलले भनेको छ ।

    यस्तै एनसेलले उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताको गर्न भन्दै आजदेखि लागू हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने जनाएको छ ।

     

  • काठमाडौं उपत्यकामा कर्फ्यू लागेका एरियामा बैंकहरु बन्द हुने, अन्यत्र आंशिक मात्रै खुल्ने

    काठमाडौं उपत्यकामा कर्फ्यू लागेका एरियामा बैंकहरु बन्द हुने, अन्यत्र आंशिक मात्रै खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा कर्फ्यू लागेको क्षेत्रहरूमा बैंक बन्द हुने भएको छ । जेन जीहरूको आन्दोलन चर्किएपछि निषेधित गरिएको क्षेत्रहरूमा बैंक बन्द गर्ने नेपाल राष्ट्र बैंक निर्देशन दिएको छ ।

    राष्ट्र बैंकका सूचना आधिकारी सुमन न्यौपानेका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कफ्यू लगाइएको क्षेत्रहरूमा बैंकहरुको कार्यालय नखोल्न भनेको छ । त्यसबाहेकका कार्यालयहरूमा पनि आंशिकरुपमा मात्रै खोल्न निर्देशन दिइएको छ ।

    ‘सबै कार्यालय नखोल्नु भनिएको छ । कर्फ्यू लगाइएको क्षेत्र बाहेकका क्षेत्रहरूमा पनि आंशिकरुपमा मात्रै सञ्चालनमा ल्याउनु भनिएको छ । जहाँबाट अत्यावश्यक सेवाहरू दिन भनिएको छ’, उनले भने ।

    अनलाइन कारोबारहरूमा भने कुनै पनि समस्या नआउने गरी संयन्त्र तयार पार्न समेत राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

     

  • कामना सेवा विकास बैंकले १५.७९ प्रतिशत लाभांश दिने

    कामना सेवा विकास बैंकले १५.७९ प्रतिशत लाभांश दिने

    काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद रहेको छ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको साधारण सभाबाट पारित गरेपश्चात् शेयरधनीहरुलाई पाउनेछन् । बैंकले अघिल्लो आवमा १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

  • चियामा करोडौं पुरस्कार राशीको लोभ देखाउँदै हिम्पोकले सदस्यहरूलाई पठायाे ‘शंकास्पद’  पत्र

    चियामा करोडौं पुरस्कार राशीको लोभ देखाउँदै हिम्पोकले सदस्यहरूलाई पठायाे ‘शंकास्पद’ पत्र

    काठमाडौं । हिमालयन टी प्रोड्युसर्स को-अपरेटिभ लिमिटेड (हिम्पोक) नेपालले चीनमा आयाेजना हुने एक कार्यक्रमका सन्दर्भमा भन्दै यही भदौ १२ गते आफ्ना सदस्यलाई एउटा ‘शंकास्पद’ पत्र पठाएकाे छ । साे पत्र बाहिर लिक भएसँगै अन्य चिया उत्पादक र कृषकहरुले आश्चर्य व्यक्त गरेका छन् ।

    पत्रमा कराेडाै‌ँ पुरस्कार राशीकाे उल्लेख हुनु तर कार्यक्रम आयाेजककाे टुंगो नहुनुले आशंका जन्माएको हो । आउँदो अक्टोबरको अन्तिम साता आयोजना हुने ‘चीन-नेपाल चिया अन्तर्राष्ट्रिय व्यापार मेला २०२५’ मा भाग लिन चाहने इच्छुक उत्पादकलाई पासपाेर्टकाे कपिसहित एक साताभित्र नाम पठाउन भनिएकाे छ । तर कार्यक्रमकाे आयाेजक चाहिँ काे हाे भन्ने  खुलाइएकाे छैन ।

    अध्यक्ष उदय चापागाईँद्वारा प्रेषित पत्रमा सहभागी जनाउने उत्पादक हिम्पोकको सदस्य हुनुपर्ने, अर्ग्यानिक प्रमाणित उत्पादकलाई प्राथमिकता दिइने, प्रत्येक उत्पादकबाट एकजना हुने र सेवा शुल्क बाँकी रहेका सहभागी हुन नपाउने जस्ता शर्तहरु उल्लेख छन् ।

    मेलामा प्रत्येक सहभागीका लागि छुट्टै स्टलको व्यवस्था हुने र हवाई भाडासहित सम्पूर्ण खर्च आयोजकले बेहोर्ने जनाइएकाे छ । चिनियाँ विज्ञले चियाको परीक्षण गर्ने र मूल्याङ्कनअनुसार विजेतालाई चिनियाँ युआन ५ लाख, ३ लाख र १ लाखको नगद पुरस्कार दिइने भनिएकाे छ । नेपाली मुद्रामा यो रकम करिब ९८ लाख, ५९ लाख र १९ लाख हुन्छ ।

    मन्त्रीस्तरको भेटघाट पनि हुने हिम्पोकको पत्रमा उल्लेख छ ।

    मेलासम्बन्धीको यो पत्राचारले व्यवसायीलाई उत्साहित बनाएको र नेपाली चियालाई विश्व बजारमा थप सशक्त ढंगले प्रवर्द्धन गर्ने ऐतिहासिक अवसर भएपनि पारदर्शीतामा भने प्रश्न उठाइएको छ । अन्य चियासम्बन्धी संघसंस्थाले पनि यस विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

    ‘सबै उत्पादकहरूको सहभागिता सुनिश्चित गरिनुपर्थ्यो तर यत्रो ठूलो इभेन्टबारे आधिकारिक जानकारी नपाउनु र हामीलाई बेवास्ता गरिनु अन्यायपूर्ण भयो । यसको जवाफदेही सम्बन्धित पक्ष नै बन्नुपर्छ’, एक उद्यमीले असन्तुष्टि जनाए ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले हिम्पोकले मेलासम्बन्धी प्रस्ताव तयार गर्दै गरेको जानकारी दिएपनि पुरस्कार राशी साथै कहाँ, कहिले, कसरी हुने भन्ने केही थाहा नभएको बताए । बोर्डका निर्देशक दीपक खनालले पनि मेलाबारे अफिसियल्ली थाहा नभएको बताए ।

    ‘बोर्डले इनिसियसन लिएको कार्यक्रम हो भने सबै उद्योगी समेटिन्थे । हेम्पोकको बारे केही थाहा भएन । उहाँहरूले एक्लै केही गर्न खोज्नुभएको हो कि !’, खनालले भने ।

    उद्योग, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र मेला शाखाका प्रमुख मीनबहादुर कुँवरले पनि चीनमा हुने चिया मेलाबारे अनभिज्ञता प्रकट गरे । उनले नेपाल प्रेससँग भने, ‘यस विषयमा हामीलाई अहिलेसम्म केही थाहा छैन ।’

    हिम्पोककै केही पदाधिकारीले समेत कार्यक्रमबारे ठोस जानकारी प्राप्त नभएको बताएका छन् । हिम्पोककी अन्तर्राष्ट्रिय व्यापार तथा बजार प्रमिता बज्रचार्यसँग जिज्ञसा राख्दा पनि उनले प्रेसलाई जानकारी नै नदिएको कुरा कसरी थाहा भयो भनी ? प्रतिप्रश्न गरेकी छन् । उनले योबारे अध्यक्षसँग बुझ्न सुझाइन् ।

    अध्यक्ष उदय चापागाईँसँग थप बुझ्दा उनले पनि मेलाबारे प्रष्टरूपमा भन्न सकेनन् ।

    ‘भेन्यू र आयोजकबारे मेरो कुरा भइरहेको छ । अहिले यो विषय म मिडियामा बोल्न चाहन्नँ’, चापागाईँले भने ।

    भारी पुरस्कार राशी उल्लेखसहित आधिकारिकरूपमा केको आधारमा पत्राचार गर्नुभयो त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘मैले मेरा मेम्बरहरूलाई पत्राचार गर्न पाइहाल्छु नि ! तर, आयोजकको खोजी हुँदैछ ।’

    आयोजक नै प्रष्ट नभई गलत प्रचार भएन र ? भनी सोध्दा उनले पछि सबै कुरा टुंगो लागेपछि आफैँ थाहा दिने बताए ।

  • अल्पमतबाटै बजेट सिलिङ पारितको घोषणा गरेका हर्क साम्पाङ ब्याक, पुँजीगत खर्च १० प्रतिशत घटाउन सहमत

    अल्पमतबाटै बजेट सिलिङ पारितको घोषणा गरेका हर्क साम्पाङ ब्याक, पुँजीगत खर्च १० प्रतिशत घटाउन सहमत

    विराटनगर । चालू आर्थिक वर्षको बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा बजेट निर्माणका विषयमा भएको विवाद टुङ्गो लाग्ने अवस्थामा पुगेको छ ।

    हिजो बसेको नगर कार्यपालिकाको बैठकमा उपमहानगरको सिलिङको सीमा घटाउने सहमति भएपछि बजेट पास हुने अवस्थामा पुगेको थियो । यसअघि धरानका मेयर हर्क साम्पाङले एमालेका बहुमत जनप्रतिनिधिहरुको बहिस्कारका बाबजुद पनि बजेटको सिलिङ पास भएको दाबी गरेका थिए ।

    उनलाई नेपाली काँग्रेस र माओवादीका जनप्रतिनिधिहरुको समेत सहमति थियो । कार्यपालिकामा बहुमत रहेको एमालेले विरोध गरेपछि हिजो बसेको कार्यपालिका बैठकले चालू खर्च बाहेक पुँजीगत खर्चका हरेक शीर्षकमा १० प्रतिशत घटाउने सहमति भएको छ । सो सहमतिमा एमालेले पनि सहमति गरेको धरान उपमहानगर संसदीय दलका नेता साबित्रा परियारले बताइन् ।

    उनले उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङ संशोधनसहित कार्यपालिका बैठकले पारित गर्ने निर्णय गरेको बताइन् । उनले शुक्रवार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने निर्णय भएको बताइन् ।

    बैठकमा सिलिङ पास गर्न मेयर साम्पाङले एजेन्डा राखेपछि एमालेको तर्फबाट कार्यपालिका सदस्य सावित्री परियारले १० प्रतिशत घटाउने संशोधन प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सहमति जनाउँदै सर्वसम्मतता पारित गरेको हो ।

    यसअघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेस गरेको थियो । सो सिलिङमा एमालेको असहमति हुँदा हदै पनि मेयर साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए । हिजो भएको संशोधनबाट अव धरानको बजेट १ अर्ब ९८ करोड हाराहारीमा आउने परियारले बताइन् ।

    एमालेले घाटा बजेट बनाउनु हुँदैन भन्ने अडान राखेको थियो । यसैगरी एमालेलेले कर वृद्धिमा समेत असहमति जनाएको छ । एमालेले राखेको करको दरमा पुनरावलोकन हुने निर्णय भएको छ ।

    बैठकले मेयर र उपमेयर भिजन भनेर विनियोजन गरिएको योजनाहरूको नाम परिवर्तन गरेर नगर भिजन राख्ने निर्णय पनि भएको छ । बैठकमा मेयर साम्पाङले मेयर र उपमेयर भिजनको नाम परिवर्तन गरेर नगर भिजन राख्ने प्रस्ताव गरेका थिए ।

    उक्त प्रस्तावमा उपमेयर अइन्द्रबिक्रम बेघाले भने आपत्ति प्रकट गरेका थिए । उनले मेयर र उपमेयर भिजनको बजेट ब्रेक डाउन माग गरेबमोजिम ब्रेक डाउन गरेर दिए पनि नाममा असहमति जनाएर परिवर्तन गरेकोमा एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूप्रति चर्को असन्तुष्टि जनाए ।

    धरानमा विवादका बाबजुद चालू वर्ष सुरु हुँदा समेत बजेट आउन सकेको छैन । बजेट नआउँदा धरानमा बजेट होलिडे छ । बजेट होलिडे भइरहेको धरानमा हिजो बसेको कार्यपालिका बैठकमा भने दलका बिचमा सहमति भएपछि बजेट आउने सुनिश्चित भएको उप मेयर आइन्द्रबिक्रम बेघाले बताए । उनले भदौ २६ गतेका लागि नगर सभा डाकिएको बताए । सो सभाबाट धरानको बजेट पारित हुने बेघाले विश्वास गरे ।

  • ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    काठमाडौं, हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ ।

    गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् ।

    भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।

    मधेस प्रदेश अन्तर्गत सप्तरीका मात्रै पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सिरहाका तीन, धनुषाको १०, महोत्तरी एक, सर्लाहीको पाँच, रौतहटको पाँच, बाराको पाँच र पर्साका पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार वाग्मती प्रदेश अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, दोलखाको बिगु, धादिङको खनियाबास र गल्छी गाउँपालिकाले बजेट ल्याएका छैनन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै बजेट प्रस्तुत गरिसकेको भएपनि मन्त्रालयको विवरणमा उल्लेख नभएको देखिन्छ ।

    लुम्बिनी प्रदेशको नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिका र लहमी नगरपालिकाको बजेट सार्वजनिक भएको छैन ।

    कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमाख, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै, सुदूरुपश्चिम प्रदेशको टिकापुर नगरपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    संवैधानिक व्यवस्थाअनुसार हरेक बर्षको जेठ १५ गते संघीय सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुन्छ । यस्तै, असार १ गते प्रदेश सरकारको र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

  • नेपालगन्जस्थित १२ हजार बचतकर्ताको सहकारी घोटाला : ३७ करोड हिनामिना आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

    नेपालगन्जस्थित १२ हजार बचतकर्ताको सहकारी घोटाला : ३७ करोड हिनामिना आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

    रुपन्देही । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिनाको अभियोगमा तीन जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिक रहेका छन् । अदालतको फैसला कार्यान्वयन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बाँके जिल्ला अदालतका सूचना अधिकारी तिर्थराज आचार्यले उनीहरु पक्राउ परेको जनाएका छन् ।

    अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेपछि चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।

    अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ । तीमध्ये सात जनाले कैद र जरिवाना भुक्तान गरिसकेका छन् भने अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकाहरूसँग पनि बिगो उठाउन बाँकी रहेको अदालतले जनाएको छ ।

    २०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो। २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो ।

    त्यसपछि २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउन आदेश दिएको छ ।

    जिल्लाको ठूला सहकारीमध्ये एक मानिने यस संस्थामा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन् । त्यसमध्ये १ हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत गरेका छन् । अध्यक्ष चौधरीसहितका तीनै जना मधेस केन्द्रीत विभिन्न दलबाट राजनीति गरेका पात्र हुन् ।

    अदालतको पक्राउ आदेश भएपनि उनीहरु बजार क्षेत्रमै रहेका थिए । स्थानीयका अनुसार लामो समय बचतकर्ताले यहाँ रहेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । यसअघि अध्यक्ष चौधरीले आफ्नो सम्पति बेचेर भएपनि तिर्नेगरी कागज गरेर केही समय सहकारी संचालन गरेका थिए तर पुनः मुद्धा परेपछि बचतकर्ताको रकम थप अन्यौलमा परेको हो ।

  • भारतमा जीएसटी दर परिवर्तनले नेपाली बजारमा दबाब, व्यवसायी चिन्तित

    भारतमा जीएसटी दर परिवर्तनले नेपाली बजारमा दबाब, व्यवसायी चिन्तित

    विराटनगर । भारतले वस्तु तथा सेवा कर (जीएसटी) दर घटाउने निर्णय गरेपछि सीमा क्षेत्रका उद्योगी व्यवसायी समस्यामा परेका छन् । यो निर्णयले भारतीय बजारमा सामानको भाउ अझ सस्तिने भएकाले नेपाली उपभोक्ता सीमापारी धाउने भन्दै उनीहरूले चिन्ता जनाएका हुन् ।

    भारतले १८ र १२ प्रतिशत जीएसटी तोकिएका दैनिक उपभोग्य वस्तुमा अब ५ प्रतिशतमात्रै कायम गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै भारतीय बजारमा ती वस्तुको मूल्य घट्नेछ ।

    उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भारतमा मूल्य घट्दा नेपालमा तस्करी झनै बढ्ने बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘नेपालमा दैनिक उपभोग्य वस्तुमा पनि १३ प्रतिशत भ्याट र भन्सार दरका कारण महँगो पर्न जान्छ । त्यसैले नेपालमा चोरी पैठारी थप बढ्ने जोखिम छ । भारतीय जीएसटीले नेपाली बजारमा चोरी पैठारीका वस्तु नै हावी हुने अवस्था बनाएको छ ।’

    सीमामा रहेका भारतीय बजारमा दैनिक उपभोग्य वस्तुहरू सस्तो भएपछि नेपाली उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुने र स्वदेशी उद्योग समेत बन्द हुने राठीले बताए ।

    नेपालको भन्सार मूल्याङ्कन र मूल्य अभिवृद्धि करका कारण उपभोग्य वस्तुको मूल्य भारतको तुलनामा बढी पर्ने राठीको दाबी छ ।

    मोरंग उद्योग व्यापार सङ्घले नेपालमा पनि दैनिक उपभोग्य वस्तुमा कर घटाउन माग गरेको छ । सीमा क्षेत्रमा चोरी तस्करी बढ्ने र नेपाली बजार सुनसान हुने भन्दै मोरङ उद्योग व्यापार सङ्घले नेपाल सरकारसँग तत्कालै कर नीतिमा परिवर्तन गर्न माग गरेको हो ।

    भारतको नयाँ जीएसटी नीतिका अनुसार टेक्स्टाइल, स्टेशनरी, खाद्यान्न, फुटवेयर, कन्जुमर ड्युरेबल्सजस्ता साना-ठूला सबै उद्योग प्रभावित हुने छन् । यसले राजस्व सङ्कलनमा पनि ह्रास आउने र समग्र नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने संघका अधिकारी बताउँछन् ।

    भारतको परिमार्जित जिएसटी प्रणाली लागू भएपछि भारतीय सामानहरू अझ सस्तो हुने हुँदा नेपाली उपभोक्ताहरू सीमापारिका बजारप्रति थप आकर्षित हुने र चोरी पैठारी बढ्ने संघले जनाएको छ ।

    यस अघि पनि जोगवनीलगायतका सीमावर्ती क्षेत्रबाट चोरी तस्करी भएर दैनिक उपभोग्य सामान आउने क्रम बढेकव भन्दै भन्दै मोरङ उद्योग व्यापार संघले यसअघि पनि विरोध गर्दै आएको थियो ।

    संघले भारतको कर नीतिमा आएको परिवर्तनका कारण नेपालका उद्योग, व्यवसाय, बजार र सरकारको राजस्वमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न नेपाल सरकारले तत्कालै आफ्नो कर नीतिमा सुधार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

    यसका लागि सङ्घले अत्यावश्यक वस्तुमा न्यून कर, मध्यम वर्गीय वस्तुमा मध्यम कर र विलासी वस्तुमा उच्च कर लगाउनु पर्ने सुझाव दिएको छ । विज्ञप्ति निकाल्दै संघले दैनिक उपभोग्य वस्तुहरूमा लाग्दै आएको अन्तःशुल्क र भन्सार महसुल घटाउनुपर्ने सुझाव दिएको छ । यसैगरी करका दर घटाउँदा स्वदेशी उद्योगमा पर्ने नकारात्मक असरलाई कम गर्न कर छुट, पुँजीगत तथा ब्याज सहुलियतजस्ता अनुदानहरू प्रदान गर्न समेत सरकारलाई सुझाव दिएको छ ।

    भारतमा यसअघि माल वस्तु हेरी ५, १२, १८ र २८ प्रतिशत गरी चारवटा दरमा जीएसटी लाग्दै आएको थियो । ५ प्रतिशत कायम गरिएका १२ र १८ प्रतिशत जीएसटी सूचीका वस्तुहरूमा खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुहरू छन् ।

  • तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुनः निर्वाचित

    तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुनः निर्वाचित

    काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए ।

    संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्तराज अधिकारी (हिमालयन कटन फेसन एण्ड ईन्टरनेशनल प्रा.लि) र उपाध्यक्षमा भुपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रा.लि) र्निविरोध निर्वाचित भएका छन् ।

    त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रा.लि), सहसचिवमा थोमनाथ बस्याल (युनाईटेड फेशन निटिङ्ग ई. प्रा.लि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।

    साथै, कार्यसमिति सदस्यमा क्रमशः कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रा.लि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन ई.प्रा.लि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।

  • सहकारी ऐनमा भएका व्यवस्था कार्यान्वयनको विकल्प छैन: मन्त्री अधिकारी

    सहकारी ऐनमा भएका व्यवस्था कार्यान्वयनको विकल्प छैन: मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐनमा भएका व्यवस्थाहरू क्रमशः लागू गर्दै जानुपर्ने बताएका छन् । बिहीबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

    उनले मूल ऐनमा भएका व्यवस्था, नियमावली र निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले कानुनमा भएका व्यवस्था पालनाको विकल्प नभएको बताए । ऐनले व्यवस्था गरेअनुसार दोहोरो पद कार्यान्वयनमा गर्न समेत अभियन्तालाई खबरदारी गरे ।

    ‘मुख्य कारोबारको विषय ऐन संशोधनको बेला कसैले पनि उच्चारण गर्नुभएन । निर्देशन तथा मापदण्ड जारी भएपछि मात्रै थाहा पाउनुभयो । मैले बुझेको अधिकतम ५१ प्रतिशतभन्दा बढी हो र विश्वव्यापी मान्यता पनि यही छ’, मन्त्री अधिकारीले भने, ‘ऐनले कार्यविधिमा बनाएर जान सकिन्छ भनेर राखिदिएको भए कार्यविधिमार्फत हेरफेर गर्न सकिन्थ्यो, त्यो पनि छैन । अहिले जे छ त्यहीबाट चलाऊँ ।’

    व्यवहारिक समस्या समाधान कसरी गर्न सकिन्छ सबै मिलेर गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । सहकारी क्षेत्रको विकासका लागि ऐन नै संशोधन गर्न परे पनि सरकार तयार रहेको भन्दै आवश्यक सुझाव र त्यसको सकारात्मक प्रभावको बारेमा छलफल गर्नुपर्ने अधिकारीको भनाई छ ।

    सहकारीको एकिन तथ्यांक नभएकाले समस्या निम्तिएकोले सहकारीलाई एउटा सही बाटोमा ल्याएपछि दर्ता खुला गर्न सकिने उनको भनाई छ । ‘सहकारीलाई आर्थिक समृद्धिसँग जोड्न हामी सहकारी ऐन, कानुन संशोधन गर्न तयार छौँ । तर, हाम्रो आवश्यकता पनि पहिचान हुनुपर्छ । रोइकराई गरेर हुँदैन’, मन्त्री अधिकारीले भने ।

    मुलुक सुहाउँदो ऐन, नियम र निर्देशिका बन्ने भएकाले अन्तर्राष्ट्रिय मान्यता भनेर धेरै रटान गर्न नहुने समेत मन्त्री अधिकारीले स्पष्ट पारे । तर ऐन, नियम र कानुन बनाउँदा अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्न सकिने बताए ।

    राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष ओमदेवी मल्लले दुई तहमा सञ्चालक बस्ने व्यवस्थालाई कडाइका साथ लागू गर्दा समस्या निम्तिन सक्ने बताए । निर्देशन जारी गरेर आजैका दिनदेखि लागु गर्न नहुने मल्लको भनाइ छ । ‘हामीले रजिष्ट्रारदेखि मन्त्रीलाई समेत अनुरोध गरेका छौँ । पुस मसान्तसम्म कारबाही प्रक्रिया अगाडी बढाउने चाहिँ नगर्दिनु होला’, उनले भनिन्, ‘माघ १ गतेबाट चाहिँ दुई तहमा सञ्चालक बस्ने व्यवस्था लागू गरौँ ।’ त्यसैगरी सहकारीले दिएका ऋण नउठ्दा पनि समस्या निम्तिने गरेको मल्लले बताइन ।

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्माले सहकारीका ऐन नियम केही दुविधा रहेको बताउँदै यसलाई समाधान गर्नुपर्ने बताए । जबसम्म मुख्य कारोबारलाई फरक ढङ्गले डिफाइन गर्दैनौँ तबसम्म प्राधिकरणले जारी गरेको निर्देशन पालना गर्नुपर्ने बताए । ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सबै प्रकृतिका सहकारीहरू प्राधिकरणको दायरा पर्ने स्पष्ट पारे ।

    सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले सहकारी क्षेत्रलाई लगानीको बाटो र रोजगारीको बाटो बनाउनुपर्ने बताए । सहकारीको मूल्य मान्यता हराउँदै गएकाले यसलाई जोगाउनु पर्नेमा उनले जोड दिए । संघीयतापछि सहकारीको नियमनको अधिकार ७६४ वटा स्थानीय तहमा पुगेको समेत बताए । नियामकले जारी गर्ने मापदण्ड र निर्देशन सबैका एउटै हुनुपर्नेमा आफूहरू सजग रहेको समेत स्पष्ट पारे ।

    नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको सात महिना बित्दा समेत अपेक्षित काम गर्न नसकेको बताए । प्राधिकरणले जे कुरालाई प्राथमिकता दिनुपर्ने हो त्यो भन्दा फरक ढङ्गले अघि बढेको आरोप लगाए । अध्यक्ष ढकालले प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी कुन हो भनेर परिभाषित गर्नुपर्नेमा जोड दिए ।

    सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईँले संस्थामा आबद्ध पत्रकारहरूको क्षमता अभिवृद्धिका साथै सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र खबरदारीमा सघाउने उद्देश्यले संस्था गठन भएको बताए ।

     

  • एभरेष्ट बैंकको लाभांश घोषणा 

    एभरेष्ट बैंकको लाभांश घोषणा 

    काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकले लाभांश दिने घोषणा गरेको हो ।

    बैंकका अनुसार बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले १४ प्रतिशत नगद (बोनस शेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस शेयर दिने भएको छ ।

    यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् ।

    बैंकको हाल चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ रहेको छ ।

     

  • सहकारीलाई नयाँ निर्देशन– सदस्यलाई भत्ता दिन नपाइने, साधारण सभामा गैर सदस्यलाई प्रवेश ‘निषेध’

    सहकारीलाई नयाँ निर्देशन– सदस्यलाई भत्ता दिन नपाइने, साधारण सभामा गैर सदस्यलाई प्रवेश ‘निषेध’

    काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई कडाइ गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धी नयाँ निर्देशन जारी गरिएको हो ।

    प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सहकारी संस्थाले सदस्यलाई भत्ता, यातायात खर्च, बैठक भत्ता, उपहार, भोजभतेर जस्ता खर्च गर्न नपाउने व्यवस्था गरिएको छ । ‘बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययिता कायम गर्न साधारण सभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागिता भत्ता, अतिथि उपहार, भोजभतेर जस्ता क्रियाकलापमा फजुल खर्च नगर्ने नगराउने’, जारी निर्देशनमा भनिएको छ ।

    त्यस्तै, साधारण सभामा गैर–सदस्यलाई प्रवेश गर्न रोक लगाइएको छ । गैर सदस्य कर्मचारी वा पदाधिकारीले साधारण सभामा सहभागी हुने, मतदान गर्ने वा निर्णय प्रक्रियामा प्रभाव पार्ने कार्यलाई स्वार्थको द्वन्द्व मानिने स्पष्ट गरिएको छ ।

    निर्देशनले साधारण सभामा सदस्यले मात्रै प्रत्यक्ष रूपमा सहभागी हुन पाउने व्यवस्था गरेको छ । आवश्यकता अनुसार सदस्य शिक्षा दिने उद्देश्यले मात्र गैर सदस्य प्रतिनिधि वा विज्ञलाई आमन्त्रण गर्न सकिने प्रावधान गरिएको छ ।

    साधारण सभामा नयाँ पदाधिकारी चयन गर्दा निर्वाचन समितिको उपस्थितिमा मात्र निर्वाचन सम्पन्न गर्नुपर्ने र सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने पनि प्राधिकरणले निर्देशन दिएको छ ।

    निर्देशनको पालना नगर्ने सहकारीलाई प्रचलित कानुन बमोजिम कारबाही हुने समेत प्राधिकरणका कार्यकारी निर्देशक शोषनारायण पौडेलले जानकारी दिएका छन् ।

     

  • नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब ७२ करोडमा खुम्चियो

    नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब ७२ करोडमा खुम्चियो

    काठमाडौ‌ं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम  चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

    आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ६९, निर्जीवन बिमा  शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

     

  • बीमकको लगानी सम्बन्धी निर्देशन जारी, यस्ता छन् मुख्य व्यवस्था 

    बीमकको लगानी सम्बन्धी निर्देशन जारी, यस्ता छन् मुख्य व्यवस्था 

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । प्राधिकरणले मंगलबार जारी गरेको निर्देशनको अधीनमा रहेर बीमकले ‘लगानी नीति’ सञ्चालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ ।

    बीमकलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, बीमकको लगानी विविधीकरण हुने गरी विभिन्न क्षेत्रमा लगानी सक्ने व्यवस्था गर्ने, बीमकको तरलता तथा सम्पत्ति र दायित्वको अवधि मिल्ने गरी लगानी व्यवस्थापन गर्ने र बीमकको लगानी सम्बन्धी आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले निर्देशन जारी गरिएको हो ।

    बीमकको लगानी सम्बन्धी निर्देशनमा भएका मुख्य मुख्य व्यवस्थाहरुः

    (१) बीमकलाई सरकारी सुरक्षण पत्र र नेपाल राष्ट्र बैंकबाट जारी हुने ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू नहुने,

    (२) जीवन, निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणबाट पूर्वस्वीकृति लिएर कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डारण गृह, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण, शिक्षा तथा स्वास्थ्य र लगानी कम्पनी लगायतका क्षेत्रमा व्यवसाय गर्नका लागि कूल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म सहायक कम्पनीमा लगानी गर्न सक्ने,

    (३) बीमकको सञ्चालक समितिका अध्यक्ष वा सदस्य वा निजका एकाघर परिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्ने,

    (४) बीमक आफैले संस्थापना गर्ने सहायक कम्पनीमा लगानी गर्नका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त गरेको मितिले एक महिनाभित्र लगानी गरिसक्नुपर्ने,

    (५) सहायक कम्पनीले निष्कासन गर्ने कुनै पनि सुरक्षणपत्रहरु तथा उपकरणमा बीमकले लगानी गर्न नपाउने,

    (६) बीमकले घरजग्गा व्यवसायमा रहेको लगानीको कम्तीमा प्रत्येक तीन वर्षमा एक पटक मूल्याङ्कन गर्नुपर्ने,

    (७) बीमकले कूल लगानीका आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने,

    (८) बीमकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा नेपाल राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम गरेको हुनुपर्ने,

    (९) बीमकले लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्ने,

    (१०) बीमकले लगानी गर्दा बीमा सम्बन्धी दायित्वको अवधिलाई ख्यालगरी लगानी गर्नुपर्ने,

    (११) जीवन बीमा व्यवसाय तथा लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो प्रत्येक पोर्टफोलियोको जीवन बीमा कोष र उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम लगायतका अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग अलग व्यवस्थापन गर्नुपर्ने,

    (१२) बीमकले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने,

    (१३) बीमकले प्रत्येक त्रैमास समाप्त भएको सात दिनभित्र लगानीको विवरण IRMIS पोर्टल मार्फत प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

     

  • शेयर बजारमा आईपीओ ल्याउने होड, ‘जस्ता’ कम्पनी पनि दौडमा

    शेयर बजारमा आईपीओ ल्याउने होड, ‘जस्ता’ कम्पनी पनि दौडमा

    काठमाडौं । पछिल्लो समय नेपाली पुँजी बजारमा एकपछि अर्को गर्दै विभिन्न क्षेत्रका कम्पनीहरू साधारण शेयर (आईपीओ) जारी गर्ने होडमा छन् । राम्रा र सबल कम्पनीहरू मात्र नभई ‘जस्ता’ कम्पनीहरू पनि आईपीओ ल्याउने दौडमा सामेल हुन थालेका हुन् ।

    नेपाली शेयर बजारमा आईपीओ ल्याउने लहर नै चलेको छ । बैंक तथा वित्तीय संस्था, बीमा, हाइड्रोपावर लगायत कम्पनीहरूको बजारमा अग्रसरता देखिएको भएपनि अब भने अन्य कम्पनीहरू पनि पुँजी बजारतर्फ आकर्षित भएका छन् । आईपीओ ल्याउने तरखर गरिरहेका धेरैजसो कम्पनीहरू पुँजी बजारबाट पैसा उठाउने रणनीतिमा छन् ।

    ‘बाजेको सेकुवा’ ले पनि आईपीओ निकाल्ने तयारी गरेको छ । असोज २ गतेका लागि साधारण सभा डोकेको बाजेको सेकुवाको विशेष प्रस्ताव नै आईपीओ निष्कासन गर्नेबारे छ । १६ औं वार्षिक साधारणसभाको विशेष प्रस्तावमा भनिएको छ, ‘सर्वसाधरणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने ।’

    आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भई स्वीकृतिका लागि अनुमति पर्खिरहेका कम्पनीहरूको लामै सूची छ । करिब ६ दर्जन कम्पनीहरु आईपीओ ल्याउने भन्दै सेबोनमा निवेदन दिएर अनुमति पर्खिरहेका छन् ।

    नेपाल राष्ट्र बैंकबाट पटक-पटक कारबाहीमा परेको सालपा विकास बैंक आईपीओ निष्कासनको पाइपलाइनमा छन् । यस बैंकले १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्दैछ । जबकी यो बैंक गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १.३९ लाख खुद नोक्सानीमा थियो ।

    प्रतिफलको सुनिश्चित नभई होटलमा लगानी गरेकाहरू पनि पुँजी बजारबाट पैसा उठाउन केन्द्रित हुन थालेका छन् । अहिले पनि चार वटा होटल आईपीओ ‘ल्याउँछौँ’ भन्दै सेबोन पुगेका छन् । होटल फरेस्ट इन, अकामा होटल, वर्णवास म्युजियम होटल र माउन्टेन ग्लोरी आईपीओ निष्कासनमा पाइपलाइनमा रहेको सेबोनको तथ्यांकममा उल्लेख छ ।

    यसबाहेक ३७ वटा हाइड्रोपावर कम्पनी पनि आईपीओ निष्काशनको पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका केही कम्पनीहरुको वित्तीय अवस्था राम्रो भएपनि कतिपय नोक्सानीमा रहेको र क्षतिग्रस्त अवस्थासम्मका छन् ।

    नेपाल ब्रोकास्टिङ च्यानल, ह्याम्स अस्पताल, छायादेवी कम्प्लेक्स, सोलार फार्म लगायत ७१ कम्पनीहरु आईपीओ ल्याउन अनुमति माग्दै सेबोन पुगेका छन् ।

    केही वर्षयता नेपाली शेयर बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । डिम्याट खाता र मेरो शेयर प्रयोगकर्ताको संख्या उल्लेख्य छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा डिम्याट खाता हुनेहरुको संख्या ७० लाख नाघेको छ ।

    भदौ १५ गते आइतबारसम्मको तथ्यांक अनुसार नेपालमा डिम्याटको संख्या ७० लाख ६१ हजार ५९२ पुगेको छ । यस्तै मेरो शेयर प्रयोगकर्ताको संख्या ६१ लाख ३५ हजार ३२५ रहेको छ ।

    शेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढिरहँदा त्यसको फाइदा उठाउँदै वित्तीय अवस्था कमजोर भएका तथा भविष्यको व्यापारिक सम्भावना स्पष्ट नभएका कम्पनीहरू पनि आईपीओको बजारमा होमिएका छन् ।

    नेपाल खाद्य संस्थानको जमिन लिजमा लिएर सटर भाडामा लगाइरहेको ट्रेड टावरले समेत आईपीओ ल्यायो । ३० वर्षका लागि लिजमा लिएको ट्रेड टावरले १५ वर्षपछि सर्वसाधरण लगानीकर्ताबाट ३९ करोड ७१ लाख रूपैयाँ उठायो । सर्वसाधरणको यो पैसा ट्रेड टावरले बैंकको ऋण तिर्‍यो ।

    यसरी प्रतिफल अनिश्चित भएका कम्पनीहरू समेत आईपीओ निष्काशन गरेर पैसा उठाइरहेका छन् । केही समय अगाडि जलविद्युत कम्पनीहरुले पनि आईपीओ निष्कासन अनुमति नपाउँदा ऋण तिर्न समस्या परेको भन्दै गुनासो गरेका थिए ।

    कतिपय कम्पनीहरू आईपीओबाट रकम जुटाउने उद्देश्यमा केन्द्रित हुँदा लगानीकर्ताहरूका लागि ‘जोखिम’ बढेको विज्ञ बताउँछन् । राम्रो कम्पनीहरुलाई मात्रै हेरेर आईपीओ निष्कासन गर्न सेबोनले अनुमति दिनुपर्ने शेयर विश्लेषक छोटेलाल रौनियारको सुझाव छ ।

    पुँजी बजारमा कम्पनीहरू आउनु सकारात्मक भएपनि जुनसुकै आएमा जोखिम थपिने बताउँदै विश्लेषक रौनियार भन्छन्, ‘एकपछि अर्को कम्पनी शेयर बजारमा आउनु राम्रै हो । तर, जो पनि आउनु भएन । सर्वसाधारण फस्नु भएन । राम्रालाई मात्रै सेबोनले आईपीओमा जान दिनुपर्छ । नराम्रोलाई रोक्नुपर्छ ।’

    निष्कासनमा गएका अधिकांश कम्पनीहरूको आईपीओमा मागभन्दा बढी आवेदन पर्ने गरेको छ । नेपाली शेयर बजारमा जुनसुकै कम्पनीले आईपीओ ल्याएपनि लगानीकर्ताहरूले आवेदन दिने गरेका छन् । कम्पनीको अध्ययन नै नगरी लगानी गर्ने गरेको टिप्पणी हुँदै आएको छ ।

    जसले लगानीकर्ताहरू फस्दै आएका छन् । कम्पनीको विस्तृत अध्ययन नगरी आवेदन नदिन सर्वसाधरण लगानीकर्ताहरुलाई रौनियारको सुझाव छ । लगानीकर्ताको संरक्षण गर्नु सेबोनको कर्तव्य रहेकाले यसमा सेबोनले ध्यान दिनुपर्ने उनको तर्क छ ।

    कडाइ गर्दै सेबोन

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासनमा कडाइ गर्न लागेको छ । आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको चाप बढेसँगै नियमावली नै संशोधन गर्ने तयारी थालेको छ ।

    सेबोन स्रोतले नेपाल प्रेससँग भन्यो, ‘पछिल्लो समय जस्तोसुकै कम्पनी पनि आईपीओ निष्कासनको अनुमति माग्दै आउने थालेका छन् । हामीले समयसापेक्ष बनाउनु पर्छ भनेर धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशेधनको तयारी थालेका छौँ ।’

    सेबोनका प्रवक्ता निरञ्जन घिमिरेले नियमावलीबारे अध्ययन थालिएको भन्दै अध्ययन समिति बनाइएको बताए ।

    प्रवक्ता घिमिरेले भने, ‘नियमावली अध्ययन गर्नका लागि समिति बनाएका छौँ । उक्त समितिले अध्ययन गरिरहेको छ । समितिको निष्कर्ष अनुसार अघि बढ्छौं ।’

    पाइपलाइनमा धेरै कम्पनी भए पनि कानुनीरूपमा प्रक्रिया पुर्‍याएकाहरूलाई मात्रै आईपीओ निष्कासन अनुमति सेबोनले दिँदै आएको उनको भनाइ छ ।

    ‘कुनै कम्पनीले आईपीओ ल्याउँछु भन्दैमा ल्याइहाल्न पाउँदैनन् । हामी जसलाई पनि अनुमति दिँदैनौं । कानून, नियमावलीअनुसार मात्रै अनुमति दिन्छौँ’, प्रवक्ता घिमिरेले प्रष्ट पारे ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै २ लाख ७ हजार नाघ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै २ लाख ७ हजार नाघ्यो

    काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    मङ्गलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • भिजिट भिसामा विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    भिजिट भिसामा विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो ।

    विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

    विकसित प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास लिइएको छ ।

    विभागले प्रणालीमा दर्ता हुने प्रक्रिया र ‘म्यानुअल’ पनि आफ्नो वेबसाइटमा राखेको छ । यससम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकिएको विभागले जनाएको छ ।

    विभागका अनुसार यस प्रणालीलाई पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागू गर्न लागिएको छ । दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारेहोटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जमा लागू गरिनेछ ।

    विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ । नयाँ प्रणाली लागू गर्नेबारे विभागले हालै होटल सङ्घ नेपाललगायत सरोकारवालासँग छलफल गरेको थियो । सङ्घका अनुसार विगत लामो समयदेखि यो प्रणालीबारे छलफल भए पनि लागू हुनसकेको थिएन । नयाँ प्रणालीका विषयमा छिट्टै आधिकारिक धारणा ल्याइने सङ्घले जनाएको छ ।

  • नाडाको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

    नाडाको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सभा गर्न लागिएको कारणसहित आवश्यक कागजात लिएर ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नाडालाई भनिएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाका अनुसार नाडाले बोलाएको विशेष साधारण सभा गैरकानूनी भएको भन्दै कार्यालयमा निवेदन परेको थियो । विधान संशोधनबारे पटक पटक छलफल भए पनि उक्त विवाद समाधान हुन सकेको छैन । यस्तो अवस्थामा साधारण सभा बोलाउनुको कारण लिएर कार्यालयमा आउनु निर्देशन दिइएको छ ।

    नाडालाई लेखिएको पत्रका भनिएको छ, ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकोले विधान बमोजिम साधारण सभा नबोलाएर के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक-पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ दिन भित्र जिल्ला प्रशासनमा उपस्थित हुन र साधारण सभा स्थगित गर्नुहुन अनुरोध छ ।’

    नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई विधानतः महासङ्घमा लैजाने निर्णय गरेको छ । उक्त निर्णयको प्रस्ताव पारित गर्न यही भदौ २४ गते विशेष साधारण सभा बोलाइएको थियो । प्रशासनको पत्रपछि डाँकिएको साधारण सभा अन्योल बनेको छ ।

    नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार विशेष साधारण सभा भदौ २४ गते मङ्गलवार ललितपुरको झम्सिखेलमा रहेको ‘द प्लाजा’मा आयोजना हुने तयारी थियो ।

    नाडा कार्यसमितिको निर्णयविरुद्ध आकाश गोल्छा पक्षले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । नाडाका अध्यक्ष करण चौधरीले आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट कार्यसमिति सदस्यमा झारिदिएपछि नाडामा विवाद चुलिएको छ ।

  • अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता, उच्च आर्थिक वृद्धिदरमा सहयोग गर्ने प्रतिबद्धता  

    अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता, उच्च आर्थिक वृद्धिदरमा सहयोग गर्ने प्रतिबद्धता  

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको हो ।

    अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए ।

    उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।

    अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताए । उनले विधेयकको  लक्ष्य अनुसार अघि बढ्न विश्व  बैंकबाट सहयोगको अपेक्षा गरे ।

    विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए । उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

    उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू  सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए । उनले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्‍याउने बताए ।

  • हिमाल आरोहणबाट ६३ करोड बढी राजस्व सङ्कलन

    हिमाल आरोहणबाट ६३ करोड बढी राजस्व सङ्कलन

    ताप्लेजुङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ ।

    ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् ।

    सो आरोहणबाट एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ । सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । विश्वको अग्लो सगरमाथा हिमालमा ३०२ र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए । यसबाट रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व सङ्कलन भएको छ ।

    यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण गरिएको थियो । जसमा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ । यसबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

    नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।

    नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठवटा नेपालमा छन् । हिमालका चुचुरा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमाल अहिले हिमरेखा सर्दै जाने क्रम बढेसँगै हिमालहरू नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ ।

    हिमरेखा सर्दै

    हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययन र स्थानीय अनुभवले पुष्टि गरेका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वातावरण वैज्ञानिक र स्थानीय समुदायको अनुभवबाट प्राप्त तथ्याङ्कले नेपालको हिमाली भूगोल परिवर्तनको चपेटामा परेको देखाउँछ ।

    इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन स्टेटस अफ ग्लेसियर्स इन द हिन्दू कुश हिमालयन रिजनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ । सोही अवधिमा सो क्षेत्रमा रहेका हिमतालको सङख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । पन्ध्र वर्षअघि २७ वटा हिमताल रहेकामा अहिले ४९ पुगेका छन् । यसबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रको भौगोलिक स्वरूप र पर्यावरणीय संरचनामा कति ठूलो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ ।

    जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने अर्को महत्त्वपूर्ण अध्ययन इसिमोडको हिमालयन वाटर सिक्युरिटी (२०२२) प्रतिवेदनले पनि नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ । यस तापक्रम वृद्धिले हिमनदी पग्लने दरलाई अझ तीव्र बनाएको, हिमरेखामाथि सर्ने प्रक्रिया छिटो भएको र हिमाली क्षेत्रका बासिन्दाको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतहरूमा सीधा असर परेको देखिएको छ ।

    तत्काल जलवायु अनुकूलन तथा दीर्घकालीन रणनीतिहरू अपनाइएन भने हिमनदीहरूको ह्रास अझ तीव्र हुने र यो समग्र जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन सङ्कटको कारक बन्न सक्ने विभिन्न प्रतिवेदनहरूले देखाएको छ ।

    रासस

  • अगस्टमा भित्रिए ८८ हजार पर्यटक, गत वर्षभन्दा २२ प्रतिशत बढि

    अगस्टमा भित्रिए ८८ हजार पर्यटक, गत वर्षभन्दा २२ प्रतिशत बढि

    काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

    बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबँट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

    सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

    त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

    कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनर्रुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन्। उनले भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको जानकारी दिए ।

  • इमेज सहकारीका एक लाखमुनिका बचतकर्तालाई रकम फिर्ता, बढी हुनेलाई घरजग्गा (भिडिओ)

    इमेज सहकारीका एक लाखमुनिका बचतकर्तालाई रकम फिर्ता, बढी हुनेलाई घरजग्गा (भिडिओ)

    पोखरा । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

    बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको सहकारीले बागलुङमा एक लाखमूनिका सबै बचतकर्तालाई रकम फिर्ता दिइसकेको र पोखराका १ सय ५८ जनालाई फिर्ता दिन थालिएको सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए ।

    उनकाअनुसार बागलुङका ६ सय १३ जनाको करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ । सोमबार पोखरा शाखाका ५२७ जनामध्ये एक लाख मूनि बचत रहेका १५८ जनालाई रकम फिर्ता गर्न थालिएको कार्कीले बताए । उनीहरुको करिब एक करोड रुपैयाँ फिर्ता गर्नुेपर्ने उनको भनाइ छ ।

    उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङमा १ हजार ५७४ र पोखरामा ५२४ बचतकर्ताको १ अर्ब ९५ करोड रुपैयाँ डुबेको अदालत दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको थियो । हालसम्म बागलुङका १ हजार ५०६ जना र पोखराका ३८७ जनासँग मिलापत्र भइसकेको पीडित संघर्ष समितिका संयोजक कार्कीले बताए । एक लाख मूनि बचत रहेकाहरुको बचत फिर्ता गरिसकिएको र एक लाखभन्दा माथि रहेकाहरुको हकमा भने मिलापत्र गरिएको कार्कीले बताए ।

    एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।

    समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।

    संघर्ष समितिको सक्रियतामा संस्थापक देवकुमार नेपालीले बचतकर्तासँग मिलापत्र गरेका हुन् । देवकुमार नेपाली पूर्पक्षका लागि थुनामा छन् । बचतकर्तासँग उनका दाइले मिलापत्र गरेका छन् । पीडित संघर्ष समितिका संयोजक कार्कीले अदालती प्रक्रियामा जाँदा पैसा फिर्ता नहुने देखेपछि मिलापत्रमा लागिएको उल्लेख गरे ।

  • यती एअरलाइन्स र उपायबीच साझेदारी-‘यती डोर टु डोर कार्गो सेवा’ अब छिट्टै सञ्चालनमा आउने

    यती एअरलाइन्स र उपायबीच साझेदारी-‘यती डोर टु डोर कार्गो सेवा’ अब छिट्टै सञ्चालनमा आउने

    काठमाडौं । नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउने भएको छ । उपाय सिटी कार्गो प्रा.लि.सँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो।

    ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्ने छन् । अब कार्गो पठाउन एअरपोर्ट वा कार्यालय धाउनु पर्ने छैन । उपायले बुकिङ अनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्‍याइदिने सम्मको सेवा प्रदान गर्ने छ ।

    डिजिटल बुकिङ र ट्रयाकिङः मोबाइल वा वेबमार्फत् सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल–टाइममा ट्र्याक गर्न सकिने छ । यती एअरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुवात गर्नेछ ।

    यस सेवा सुरुवात गर्नुको मुख्य उद्देश्य एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यती एयरलाइन्सको प्रतिबद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो । उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ ।’

    दुवै कम्पनीले आगामी दिनमा सेवालाई अझ आधुनिक बनाउन एआइ आधारित रुट अनुकूलन, स्वचालित हबहरु र डेटा–आधारित लजिस्टिक समाधान जस्ता नवीन प्रविधि लागू गर्ने तयारी समेत गरेका छन् ।

  • अन्तर्राष्ट्रिय अडिटरबाट १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण थालियो

    अन्तर्राष्ट्रिय अडिटरबाट १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण थालियो

    काठमाडौं । अन्तर्राष्ट्रिय अडिटरबाट नेपालका ठूला १० वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ कर्जाको गुणस्तर परीक्षण थालिएको छ । बंगलादेशको लेखा परीक्षक फर्म ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ले काम थालेको हो ।

    जसका लागि भदौ १२ गते राष्ट्र बैंकले हाउल्याडरसँग सम्झौता गरेको थियो । कम्पनीले लोन पोर्टफोलियो रिभ्यु स्थलगत निरीक्षणसहित हुने राष्ट्र बैंकले जनाएको छ ।

    सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वाणिज्य ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने सर्त मानेको थियो । आईएमएफले नेपालको बैंकहरुले प्रकाशित गरेको निष्क्रिय कर्जाको तथ्यांकमा आशंका व्यक्त गर्दै आएको छ ।

    हाउल्याडरले कन्सल्टेन्सी कार्यका लागि भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ जनाएको छ । जुन रकम १० बैंकको पोर्टफोलियो रिभ्युमा खर्च हुने जनाइएको छ ।

    कर्जा लगानीका आधारमा १० ठूला बैंकहरू नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, एनआईसी एशिया, हिमालयन र एनएमबि बैंकको कर्जाको गुणस्तर परीक्षण हुने बताइएको छ ।

  • सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको दुई लाख पाँच हजार कट्यो

    सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको दुई लाख पाँच हजार कट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ ।

    आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

  • वाणिज्य बैंकहरूको लाभांश दरमा उल्लेख्य सुधार : तर राष्ट्र बैंकको ‘बफर’ नीतिले थपियो दबाब

    वाणिज्य बैंकहरूको लाभांश दरमा उल्लेख्य सुधार : तर राष्ट्र बैंकको ‘बफर’ नीतिले थपियो दबाब

    काठमाडौं । पुँजी बजारमा लाभांश प्रतिक्षा गरिरहेका लगानीकर्ताहरूका लागि यो वर्ष वाणिज्य बैंकहरूको वित्तीय नतिजाले सकारात्मक संकेत दिएको छ । बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य रूपमा नाफा कमाउँदा लाभांश वितरण क्षमतामा पनि सुधार देखिएको हो ।

    पछिल्ला केही वर्ष यता वाणिज्य बैंकहरुको लाभांशदर निरन्तर खुम्चिँदै गएको थियो । तर, गत आवको वित्तीय विवरण हेर्दा वाणिज्य बैंकहरुको लाभांशदरमा उल्लेख्य सुधार देखिएको छ ।

    अघिल्लो आवमा लाभांश वितरण गर्न नसकेका बैंकको यस पटक लाभांश क्षमता २० प्रतिशतसम्म पुगेको छ । अघिल्लो वर्ष लाभांश वितरण गर्न नसकेको सानिमा बैंकले गत आवको मुनाफाबाट २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ ।

    अघिल्ला दुई आव (२०७९/८० र २०८०/८१)मा लाभांश वितरण गर्न नसकेका प्रभु बैंक, एनएमबी बैंक र कृषि विकास बैंकले यस पटक लाभांश वितरण गर्दैछन् । उनीहरूको सार्वजनिक वित्तीय विवरणअनुसार प्रभुको लाभांश क्षमता ४.४४ हुँदा एनएमबिको १०.४१ र कृषि विकास बैंकको १८.४२ देखिन्छ ।

    बैंकहरुको नाफामा उल्लेख्य वृद्धि हुँदा लाभांश क्षमता सुधार भएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको नाफा ४३ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरूले गत आवको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकि अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए ।

    नाफासँगै बैंकहरुको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो आवमा ७ अर्ब २४ करोड वितरणयोग्य मुनाफा रहेको वाणिज्य बैंकहरुको गत आवमा भने यस्तो मुनाफा १९ अर्ब ७७ करोड छ ।

    गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिन सक्ने बैंकको पहिलो नम्बरमा एभरेष्ट रहेको छ । गत आवमा ४ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । जसका आधारमा बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।

    सर्वाधिक लाभांश दिनेमा एभरेष्ट अग्र स्थानमा देखिँदा चार बैंक भने लाभांश दिनै नसक्ने अवस्था छन् । नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंक लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

    गत आवमा सर्वाधिक नाफा कमाएको नबिल बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड छ । यस बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ ।

    गत आवमा सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ । माछापुच्छ्रे बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत थियो । यस बैंकले ८ प्रतिशत लाभांश दिने घोषणा समेत गरिसकेको छ ।

    त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ । यसबाहेक नेपाल एसबिआई बैंकको लाभांश क्षमता ११.२९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.३३ प्रतिशत रहेको छ । जबकि अघिल्ला दुई आवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण गर्न सकेनन् ।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३४ लाख रहेको छ । जस अनुसार यस बैंकको लाभांश क्षमता १.९४ प्रतिशत देखिन्छ । अर्को सरकारी स्वामित्वको बैंक कृषि विकासले लाभांशदरमा उल्लेख्य सुधार गर्दा नेपाल बैंक लाभांश दिन नसक्ने अवस्थामा पुगेको छ ।

    नेपाल बैंकसहित हिमालयन बैंक र कुमारी बैंकले अघिल्लो तीन आवदेखि लगानीकर्तालाई लाभांश बाँड्न सकेका छैनन् । आव २०७९/८० मा ३०.५२ प्रतिशत लाभांश वितरण गरेको एनआइसी एशिया बैंकले पनि यस पटक लगानीकर्ताको हात खाली पार्दैछ ।

    पछिल्लो ६ आवको तथ्यांक केलाउने हो भने सात वाणिज्य बैंकहरुले लगानीकर्ताहरूको हात खाली भने पारेका छैनन् । आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा सिद्धार्थ बैंकले क्रमशः १५÷१५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका तीन आव २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३.१६ प्रतिशत, ४.२१ प्रतिशत र ४ प्रतिशत लाभांश दिएको छ । यस पटक यो बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ ।

    यसबाहेक नबिल बैंकले पनि ६ वर्षयता निरन्तर लाभांश वितरण गरिरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३५.२६ प्रतिशत लाभांश बाँडेको यस बैंकले आव २०७७/७८ मा ३८ र आव २०७८/७९ ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका आव २०७९/८० मा ११ र २०८०/८१ १० प्रतिशत लाभांश दिएको थियो । यस पटक यो बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ प्रतिशत लाभांश दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले आव २०८०/८१ मा त्यसको दोब्बर भन्दा बढी लाभांश दियो । यस आवमा बैंकले २५.५ प्रतिशत लाभांश दिएको थियो । अहिले पनि १९.८५ प्रतिशत लाभांश क्षमता बनाएको यस बैंकले लगानीकर्ताको हात खाली बनाउने छैन ।

    ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले लगानीकर्ताको हात खाली राखेका छैनन् । यी बैंकहरुले पछिल्ला ६ आव यता निरन्तर लाभांश वितरण गरिरहेका छन् ।

    स्वीकृतिमा राष्ट्र बैंकको कडाई 

    बैंकहरुको लाभांशदरमा उल्लेख्य सुधार देखिए पनि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश स्वीकृतिमा कडाइ गरेको छ । राष्ट्र बैंकले लाभांश स्वीकृतिमा कडाइ गर्दै पर्याप्त पुँजीगत कोष कायम नगरेसम्म नगद लाभांश वितरण गर्न रोक लगाएको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि बनाएको छ । उक्त कार्यविधि अनुसार अविमोच्य असञ्चित अग्राधिकार शेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँट हिसाब मार्फत चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था पालना भए/नभएको अनुगमन गरिने भएको छ ।

    विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्न प्राथमिक पुँजी बढाउनु पर्ने व्यवस्था गरिएको छ । लाभांश स्वीकृति कार्यविधिमा ०.५ प्रतिशत विन्दुले प्राथमिक पुँजी थप गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरूले नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडिक्व्यसी फ्रेमवर्क २०१५, तथा पूर्वाधार विकास बैंकहरूले क्यापिटल एडिक्व्यसी फ्रेमवर्क २०१८ अनुसार प्रस्तावित नगद लाभांशको रकम घटाएपछि सुपरिवेक्षकीय समायोजन सहित प्राथमिक पूँजीको आधारमा लाभांश स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

    प्रस्तावित नगद लाभांशको रकम घटाएपछि बाँकी रहने सुपरिवेक्षकीय समायोजनपछि बफरसहित तोकिएको न्यूनतम प्राथमिक पुँजी तथा पूँजीकोष वा सोभन्दा बढी कायम गरेमा मात्रै नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिने व्यवस्था गरिएको छ ।

    विकास बैंक बाहेक सबै फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाको सम्बन्धमा नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडिक्व्यसी फ्रेमवर्क २००७ र लघुवित्तका सम्बन्धमा एकीकृत निर्देशन अनुसार कायम गर्नुपर्ने तोकिएको न्यूनतम प्राथमिक पुँजीमा कम्तीमा ०.५ प्रतिशत र पूँजीकोषमा कम्तीमा १ प्रतिशत बफर कायम गर्नु पर्नेछ ।

    बैंक तथा वित्तीय संस्थाहरूले प्रस्तावित नगद लाभांशको रकम घटाएपछि बाँकी रहने सुपरिवेक्षकीय समायोजनसहित पूँजीकोष कायम गरेमा मात्रै नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिइनेछ । फाइनान्स कम्पनीको हकमा प्राथमिक पुँजी ६.५ प्रतिशत र पूँजीकोष ११ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेछ ।

    लघुवित्त वित्तीय संस्थाको हकमा हकमा पूँजीकोष ९ प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्नेछ । तर बोनस सेयर वितरण गर्दा कर प्रयोजनका लागि आवश्यक कर रकम बराबर नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिन बाधा नपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

    राष्ट्र बैंकले मासिक रूपमा औसत ब्याजदर अन्तर कायम गर्न नसक्ने बैंक/वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस शेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने भएको छ ।

    बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारण शेयर जारी गरेपछि चुक्ता पूँजीको दुई प्रतिशतभन्दा बढी शेयर धारण गर्ने आफ्नो संस्थापकको नाममा रहेको शेयर धितो बन्धक राखी कर्जा लिँदा यस बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्ता शेयरधनीहरुलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस शेयर रोक्का राख्ने व्यवस्था गरिएको छ ।

    गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाहरूको चुक्ता पूँजीको कुल योग भन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात् कायम हुने संस्थाको चुक्ता पुँजी कम हुने भएमा चुक्ता पुँजीमा फरक हुन आउने रकम (बचत)लाई पुँजीगत जगेडा कोषमा लेखाङ्कन गर्नुपर्नेछ । यस्तो रकमबाट शेयरधनीहरुलाई नगद लाभांश बाँड्न स्वीकृति नपाउने भएको छ ।

    गाभिने तथा प्राप्ति सम्बन्धी लेखाङ्कन गर्दा ‘अदर कम्पोनेन्ट अफ इक्युटी’ मध्ये गाभिने वा प्राप्ति भई आउने संस्थाको ‘एक्विजिसन डेट’मा कायम रहेको विभिन्न शीर्षकका कोषहरू (सञ्चित मुनाफा सहित) र पुँजीगत जगेडा कोष बाहेक पनि रकम बाँकी हुन आएमा सो रकमलाई मर्जर तथा एक्विजिसनमा लेखाङ्कन गर्नुपर्नेछ । सो रिजर्भमा भएको रकमबाट शेयरधनीहरुलाई लाभांश बाँड्न नपाइने भएको व्यवस्था गरिएको छ ।

  • नाडा अब महासंघ बन्ने, साधारण सभाबाट पारित गर्ने तयारी  

    नाडा अब महासंघ बन्ने, साधारण सभाबाट पारित गर्ने तयारी  

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अब महासंघ बन्ने भएको छ । नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गरेको हो ।

    उक्त निर्णयको प्रस्ताव यही भदौ २४ गते बोलाएको विशेष साधारण सभामा पनि राखिएको छ । नाडाको केन्द्रीय कार्यसमितिको बैठकले संघलाई महासंघमा परिणत गर्ने निर्णय गरेसँगै उक्त विषयलाई अनुमोदन गर्न विशेष साधारण सभा बोलाइएको हो ।

    नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार विशेष साधारण सभा भदौ २४ गते मंगलबार ललितपुरको झम्सिखेलमा रहेको ‘द प्लाजा’मा आयोजना हुनेछ । यसले नाडालाई वास्तविक रूपमै राष्ट्रियस्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रूपमा संरक्षण हुने नाडाको भनाई छ ।

     

  • घट्यो डिजेल र मट्टितेलको मूल्य

    घट्यो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ ।

    ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

     

  • धरानमा रमिता : एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा !

    धरानमा रमिता : एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा !

    विराटनगर । समय घर्केपछि पेश गरिएको धरान उप महानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरिएको छ । धरान कार्यपालिकामा एमालेको बहुमत छ ।

    असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधि एकठाउँ उभिएर बजेट अनुमोदन गरेको घोषणा गरे । गएको शुक्रबार कार्यपालिका बैठकमा सहमति जुटेन ।

    बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित ५ बुँदे जानकारी पत्र दिएर बैठक बहिस्कार गरेका थिए ।

    १५ जना कार्यपालिका सदस्य बैठक बहिष्कार गरेर छाडेर हिँडेको र बजेट अनुमोदन गरेको मेयर साम्पाङको दाबी छ । एमालेका जनप्रतिनिधि बाहिरिएपछि मेयर, उपमेयर र वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको एकतर्फी निर्णय गरिएको हो ।

    उपमेयर आइन्द्रविक्रम बेघाले अब सिलिङका आधारमा बजेट ब्रेक डाउन गरेर अर्को कार्यपालिका बैठकमा पेस गर्ने र नगरसभाबाट पारित गर्ने बताए ।

    एमाले भन्छ- घाटा बजेट स्विकारिन्न

    धरान उप महानगरले ल्याउन लागेको घाटा बजेट स्वीकार गर्न नसक्ने एमालेले जनाएको छ ।

    स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी एमाले नगर संसदीय दलकी प्रमुख सावित्री परियारले घाटा बजेट ल्याउने विषयमा सहमति हुन नसक्ने प्रष्ट्याइन् । समिति बैठकमा सुरूदेखि नै यही कुरा उठाएको, तर सम्बोधन नभएको उनको भनाइ छ ।

    ‘हाम्रो असहमति हुँदाहुँदै उपस्थितिको हस्ताक्षरालई सहमतिमा हस्ताक्षर गरेको भनेर गलत प्रचार गरिएयो । १७ औँ पटकसम्मको बैठकमा सुरूदेखि नै यो पटक चैँ घाटा बजेट नबनाऊ, थुप्रै समस्याहरू आइरहेको छ भन्यौँ । तर करको दर बढाउने कुरा भयो हामीले मानेनौं’, उनले भनिन् ।

    धरान-१३ का अध्यक्ष नेत्र काफ्लेले पनि कर अत्यधिक वृद्धि गरिएको बताए ।

    उनले भने, ‘एउटा सामान्य प्रावि विद्यालय स्वीकृति लिन हिजो २ हजार थियो, आज ५ देखि ७ हजार तिर्नुपर्ने प्रस्ताव छ । यो कुरा मान्न सकिन्न । ’

    राजश्व परामर्श समितिले दिएको राय विपरीत आफूखुसी करको दर बढाएको उनले दाबी गरे ।

    राजश्व परामर्श समितिले १ अर्ब ६० करोडले सीमा दिए पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको छ । यो बजेट घाटा बजेट भएको भन्दै त्यसमा पनि असहमति रहेको एमालेले जनाएको छ ।

    यसैगरी मेयर, उपमेयर कोष र मेयर उपमेयर भिजन कोष , कार्यपालिका सदस्यको कोष जस्ता अबण्डा कोषहरू खारेज गरिनु पर्ने एमालेको माग छ । नगरको यथार्थ आम्दानीलाई आधार मानी सोही अनुसार बजेट सीमा निर्धारण गर्नुपर्ने माग एमालेले गरेको छ ।

  • माथिल्लो तादीखोला जलविद्युतको व्यावसायिक उत्पादन शुरु 

    माथिल्लो तादीखोला जलविद्युतको व्यावसायिक उत्पादन शुरु 

    काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रूपमा व्यावसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो।

    परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन थालेको हो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ऊर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो।

    यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ। आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो।

    ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइईई) २०८१ असोज ८ गते स्वीकृत भएको थियो। ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजत पत्र प्राप्त भएको थियो।

    परियोजनाको इन्टेक करिब १५०० मिटर र पावर हाउस १२८२ मिटरको उचाइमा रहेको छ। पावर हाउसमा जडान गरिएका दुई वटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो । जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ।

    नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ। यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाट घण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाट घण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ।

  • भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

    भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

    काठमाठौं । दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो।

    बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो ।

    दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय समुदायलाई सुदूरपश्चिममा लगानी गर्न परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहको संयुक्त आह्वान

    अन्तर्राष्ट्रिय समुदायलाई सुदूरपश्चिममा लगानी गर्न परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहको संयुक्त आह्वान

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अन्तर्राष्ट्रिय समुदायलाई निधक्क भएर सुदूरपश्चिम प्रदेशमा लगानी गर्न आग्रह गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको लगानी तथा विकास सम्मेलनसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहले संयुक्त रूपमा प्रदेशमा लगानी गर्न आग्रह गरेका हुन् ।

    ‘हामीसँग सीमित पूर्वाधार, न्यून लगानी, रोजगारीको सीमित अवसर जस्ता चुनौतीहरू विद्यमान छन् । यी चुनौतीलाई अवसरमा बदल्नका लागि हामीले वैकल्पिक सोच, साझेदारी र दिगो लगानीलाई प्राथमिकता दिएका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेशको सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उजागर गर्नु छ । हामी त्यो प्रयासमा छौँ । सबै निकायलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गर्दछौँ ।’

    मुख्यमन्त्री शाहले निजी क्षेत्र र विकास साझेदार संस्थासँग सहकार्य बलियो बनाउँदै लगानी भित्र्याउने गरी प्रदेश सरकार लागिरहेको बताएका थिए ।

    ‘आवश्यक नीति तथा संस्थागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्नु र ठोस परियोजनाहरूलाई अगाडि बढाउनु हाम्रो दायित्व हो’, मुख्यमन्त्री शाहले भने, ‘सम्मेलनमा पूर्वाधार, पर्यटन, कृषि, औद्योगिक विकास, ऊर्जा, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रका प्राथमिक परियोजनाहरू प्रस्तुत गरिनेछ ।’

    छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकार सधैं तत्पर रहेको बताइन् । आफू पनि सुदूरपश्चिमको प्रतिनिधि भएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई त्यहाँ लगानी गर्न आग्रह गरिन् ।

    ‘सुदूरपश्चिम प्रदेशमा प्रशस्त सम्भावना रहेका छन् । म पनि त्यहाँकी प्रतिनिधि हुँ’, उनले भनिन्, ‘संघीय सरकार सुदूरपश्चिमको विकास र समृद्धिका लागि प्रतिबद्ध छ । तपाईंहरूले ढुक्क भएर लगानी गर्नुहोस् ।’

    शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेशमा २२ वटा पुल बनेको स्मरण गराउँदै उनले कांग्रेस अहिले पनि देश र प्रदेशको विकासका लागि लागिरहेको बताइन् ।

    परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा विकास साझेदार संघ–संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीहरू सहभागी थिए । उनीहरूले लगानी सुदूरपश्चिममा लगाउन आफूहरू तयार रहेको भन्दै नीतिगत विषयमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

    मंसिर १ र २ गते सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन हुँदैछ । सुदूरपश्चिम प्रदेश सरकार अहिले संघीय राजधानीमा लगानीकर्तालाई प्रदेशमा लगानी ल्याउन आग्रह गरिरहेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र हिजो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि प्रदेशमा लगानी ल्याउने विषयमा लगानीकर्तासँग छलफल गरिएको थियो ।

    औषधिजन्य जडीबुटी, कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटकीय सम्पदा, खनिज स्रोत र मानव स्रोतको सही परिचालन गर्न सके सुदूरपश्चिमको स्रोतले प्रदेशमात्र नभई देशको पनि समृद्धिको रेखा कोर्ने सहभागीहरूले बताएको लगानी तथा विकास सम्मेलनका प्रचार समिति संयोजक शिवसिंह ओलीले जानकारी दिए ।

     

  • धनगढीमा लगानी सम्मेलन हुँदै, सुदूरपश्चिममा लगानी गर्न पर्यटनमन्त्री पाण्डेको आग्रह 

    धनगढीमा लगानी सम्मेलन हुँदै, सुदूरपश्चिममा लगानी गर्न पर्यटनमन्त्री पाण्डेको आग्रह 

    काठमाडौं । सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ । सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन् ।

    मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्‌भेन्चरको सम्मिश्रण भएको प्रदेश हो । सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गर्दछु ।’

    मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरु मार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

    सुदूरपश्‍चिमको पर्यटन विकासका लागि सुदूरपश्‍चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराए ।

    त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे । उनले भने, ‘हामी सुदूरपश्चिमका सम्भावनाहरूलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौँ ।’

    मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका हुन् । सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

  • कोशीमा रोजगारी र उद्यमशीलतामा फड्को- ‘उदय’ परियोजनामार्फत बिना धितो ३० लाखदेखि ३ करोडसम्म कर्जा

    कोशीमा रोजगारी र उद्यमशीलतामा फड्को- ‘उदय’ परियोजनामार्फत बिना धितो ३० लाखदेखि ३ करोडसम्म कर्जा

    विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि ‘उदय’ परियोजना सुरू गरेको छ । स्वीस सरकारसँगको सहयोगमा सञ्चालन हुने यस परियोजनाबाट रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा प्रदेश सरकारको छ ।

    परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोडको च्यालेञ्ज फन्डमार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

    यसबाहेक इन्फर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ । ‘उदय’ परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ । ‌

    यो परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिइएको छ । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको सम्वद्ध अधिकारीले बताएका छन् । ‌‌

    प्रदेशका १४ वटै जिल्लामा परियोजना सञ्चालन गर्ने लक्ष छ । पहाडी क्षेत्रको बसाइसराइ न्यूनीकरणमा मध्यनजर गरेर त्यहाँका साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने र नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ । परियोजनाअन्तर्गत कोशी प्रदेश सरकारको क्रेडिट ग्यारेन्टीमा झण्डै ८ अरब रूपैयाँ लगानी परिचालन हुनेछ । पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुनेछ ।

    परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्ने गरी तयार गरिएको बताए । पहिलो चरणमा यो परियोजना चार वर्षसम्मको हुनेछ । परियोजना टीम लिडर अरुण राणाले नवउद्यमी र उद्यम गरिरहेका हरूको बीचमा पुर्‍याउने योजना सुनाए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले यो परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले परियोजना बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्ने बताए ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘उदय’ परियोजनालाई सफल बनाएर देशव्यापी रूपमा नमूनायोग्य बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा हुनेछ ।’

    प्रदेश सरकारले पर्यटन, कृषिमा ध्यान दिएको उल्लेख गर्दै कार्कीले पदमार्गमा आधारित पर्यटन विकासका लागि चारवटा पदमार्ग निर्माण गरिरहेको र योसँगै अहिले ‘उदय’ परियोजना मार्फत सञ्चालनमा ल्याइन लागेको नव उद्यमशीलता प्रवर्द्धन कार्यक्रमले कोशी प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने बताए ।

  • सुनको मूल्यमा रेकर्ड: तोलाकै २ लाख नाघ्यो

    सुनको मूल्यमा रेकर्ड: तोलाकै २ लाख नाघ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ ।

    बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो । सुनको मुल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ । चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

    हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।