Author: Shyamkrishna Dahal

  • प्रधानमन्त्रीलाई सिटौलाको सुझाव- आत्मालोचना गर्नुस्, गल्ती सच्याउनुस्

    प्रधानमन्त्रीलाई सिटौलाको सुझाव- आत्मालोचना गर्नुस्, गल्ती सच्याउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर गल्ती सुधार्न सुझाव दिएका छन् ।

    कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले रत्नपार्कमा आयोजना गरेको विरोध सभामा नेता सिटौलाले संविधानविपरीत संसद भंग गर्ने निर्णय नसच्याए ओलीको राजनीतिक पतन निश्चित भएको बताए ।

    ‘मान्छेबाट गल्ती हुन्छ तर गल्ती सच्याउन सकिन्छ । प्रधानमन्त्रीलाई मेरो सुझाव छ- आत्मालोचना गर्नुस्, आफ्नो गल्ती सुधार्नुस् । होइन भने तपाईंको राजनीतिक पतन अब निश्चित छ’, सिटौलाले भने ।

    उनले प्रधानमन्त्री ओलीले नटेरे अदालतले पाठ सिकाउने विश्वास व्यक्त गरे । ‘हाम्रो न्यायालयले सधैँ स्थायित्व, शान्ति र जन अधिकारको पक्षमा निर्णय गर्दै आएको छ । मलाई विश्वास छ अदालतले संविधान हेरेर व्याख्या गर्नेछ । ओलीको गल्ती सच्याउनेछ ’, सिटौलाले भने । उनले अदालतका सामु संविधान बचाउने अवसर आएको समेत बताए ।

    संसद विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन भएपनि कांग्रेसले असंवैधानिक कदमको प्रतिवाद गर्ने सिटौलाको भनाइ थियो । उनले कांग्रेसभित्रकै केही नेताहरू संविधान जोगाउने भन्दा चुनावको तयारीमा होमिन हतार गरेको भन्दै त्यस्तो निर्णय ‘अपरिपक्व’ हुने दाबी गरे । ‘निर्वाचनमात्रै भनेर मूर्खतापूर्ण बाटोमा हिँड्नु हुँदैन । संविधान बचाउन सकियो भने धेरै कुरा प्राप्त हुन्छ’, सिटौलाले भने ।

  • अरू प्रदेशमा अविश्वास ल्याउनेले मलाई दयामाया गरेर राखेका होइनन् (भिडियो)

    अरू प्रदेशमा अविश्वास ल्याउनेले मलाई दयामाया गरेर राखेका होइनन् (भिडियो)

    नेकपा विभाजनपछि सबैभन्दा अप्ठ्यारोमा पृथ्वीसुब्बा गुरुङ पर्नुपर्ने हो । गण्डकी प्रदेशको मुख्यमन्त्री र नेकपाको इन्चार्ज समेतको दोहोरो जिम्मेवारी दिइएकोमा माधवकुमार नेपालले उनको विपक्षमा नोट अफ डिसेन्ट नै लेखेका थिए ।

    पार्टी विभाजन लगत्तै प्रदेश १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड-माधव नेपाल पक्षले गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव किन दर्ता गराएन ? किन प्रचण्ड माधव पक्षका मन्त्रीहरु गुरुङकै क्याबिनेटमा छन् अहिलेसम्म ?

    बाहिर यो प्रश्न उठिरहेका बेला गण्डकीका मुख्यमन्त्री भने ढुक्क छन् र आफूलाई प्रचण्ड-माधव पक्षले माया दया गरेर अविश्वास प्रस्ताव नल्याएको भन्ने पनि उनलाई छैन । किनकी उनलाई विभाजित पक्षले गण्डकी प्रदेशको इन्चार्जबाट हटाएको घोषणा गरिसकेको छ ।

    केपी ओलीको विश्वासिलो टिमभित्रका एक नेता गुरुङले पार्टी विभाजन हुन नदिन निर्णायक बेलामा निकै मेहनत गरे पनि सफल हुन सकेनन् । प्रचण्डको जालमा माधव नेपाल फसेको निष्कर्षमा पुगेका गुरुङ महाधिवेशनमा अध्यक्ष हारेका नेपालको पदप्रतिको अधैर्यले पार्टी विभाजन भएको बताउछन् ।

    प्रस्तुत छ,यिनै समसामयिक विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रभावशाली नेता गुरुङसँग नेपालप्रेसकर्मी  विकास रोका मगरले पोखरामा गरेको कुराकानी नेपाल टकमा ।

    संसद विघटन र नेकपा विभाजनले प्रदेश सरकार सञ्चालनमा असर गरेको छ कि छैन ?

    आजका दिनसम्म चिन्ता लिनुपर्ने अवस्था छैन । म सुरक्षित भएर मात्रै हुँदैन, व्यवस्था, सरकार सुरक्षित हुनुपर्‍यो । अहिलेसम्म तल-माथिको स्थिति देखिंदैन ।

    तर, राजनीतिमा जे पनि हुनसक्छ । साथीहरूले खेल त खेलिरहेकै छन् । प्रदेश–१ र वागमती प्रदेशमा जस्तो अविश्वासको प्रस्तावै त ल्याएनन्, साथीहरूको सदासयता रह्यो भनेर चुप लागेर बसेको भन्न पनि मिल्दैन । हामी पनि बडो सचेततापूर्वक अध्ययन गरिरहेकै छौं ।

    केही समयअघिसम्म तपाईं पार्टी एकताको पक्षमा हुनुहुन्थ्यो । अहिले त ओली पक्षमा खुलेर लाग्नु भएको छ । विचार मिलेर हो कि वाध्यता ?

    पार्टी केपी ओलीले फुटाएको त होइन नि ! केपी ओलीले नयाँ पार्टी दर्ता गर्न थाले भने त्यो नयाँ पार्टीमा जान्नँ भनेको थिएँ ।

    तर, अहिले ओलीले होइन, अर्को टोलीले पार्टी फुटायो । यो संस्थापन पक्षलाई कसरी सुदृढीकरण गर्ने भन्ने हो । जनताको विश्वास, चाहनाविपरीत आफ्नो निहित स्वार्थ, आत्मकेन्द्रित विचार र महत्वाकांक्षाका आधारमा पार्टी फुटाउने काम भयो । हुन त कानूनी रूपमा आजसम्म पार्टी फुटेको छैन । तर, भावनात्मक रूपमा फुटिसकेको छ ।

    म पार्टी फुटेर केपी ओलीको पक्षमा लागेको होइन । पार्टी प्रचण्ड-माधवले फुटाएको हो । भावनात्मक रूपमा उनीहरू फुटेर गएका हुन् । संसद विघटन र मध्यावधि चुनाव प्रधानमन्त्रीको सिफारिश सर्वोच्च अदालतले सदर गरिदियो भने उनीहरु घर न घाटको हुनेछन् ।

    जनताले अभिमत दिएको सरकारलाई काम गर्न नदिने प्रवृत्तिलाई डटेर मुकाविला गर्नुपर्छ, त्यो प्रवृत्तिलाई पराजित गर्नुपर्छ । नेपाली जनताले विश्वास गरेको नेकपाको जुन अभियान छ, त्यसलाई निरन्तरता दिनुपर्छ । यसमा जो बाधक बन्छ, यसको विरुद्धमा लाग्नुपर्छ ।

    त्यसकारण म पार्टी फुटेर केपी ओलीको पक्षमा लागेको होइन । पार्टी प्रचण्ड–माधवले फुटाएको हो । भावनात्मक रूपमा उनीहरू फुटेर गएका हुन् । संसद विघटन र मध्यावधि चुनाव प्रधानमन्त्रीको सिफारिश सर्वोच्च अदालतले सदर गरिदियो भने उनीहरु घर न घाटको हुनेछन् ।

    नयाँ दलको मान्यता पाउन संसदीय दलमा पनि ४० प्रतिशत पुग्नुपर्‍यो, पार्टीमा पनि ४० प्रतिशत पुर्‍याउनुपर्‍यो । संसद भंग भएपछि संसदीय दल हुँदैन । संसदीय दल नभएपछि दल त्याग ऐनअन्तर्गत नयाँ स्थापना गर्ने मापदण्डै पुग्दैन । त्यसो भएपछि खुरुक्क यही पार्टीमा फर्किनुपर्‍यो । त्योभन्दा अर्को कुरा त छैन या स्वतन्त्र ढंगले नयाँ पार्टी गठन गरेर जानुपर्‍यो । नेकपा यसकारण हामीसँग रहन्छ, हाम्रो हुन्छ, हाम्रै हो । सूर्य चिन्ह हाम्रै हो ।

    केपी ओलीले तपाईं र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ‘एक व्यक्ति दुई पद’ दिएपछि माधव नेपाल पक्ष रुष्ट भएर अहिलेको स्थिति आएको भन्ने आरोप छ नि !

    यो त कुनै वैचारिक कुरै होइन नि ! पार्टीभित्र कार्यकर्ता कसरी व्यवस्थापन गर्ने भन्ने हो । केन्द्रमा प्रधानमन्त्री पनि हुने, पार्टीको अध्यक्ष पनि हुन पाउने । तर, यहाँ पार्टीको इन्चार्ज र मुख्यमन्त्री हुन नपाउने भन्ने के छ र ? त्यो निहुँ खोज्ने कुरा मात्रै हो ।

    जसले यो कुरा उठाइरा’छ, उहाँ पनि यही व्यवस्था अभ्यास गर्दै आएको हो । र यो पार्टीको सेन्टर कमिटीले गरेको निर्णय हो । मान्छेको चित्त नबुझ्न सक्छ । तर, फरक मत हुने वित्तिकै पार्टी छोडेर जाने, त्यही कारणले पार्टी फुटाउने भन्ने हुन्छ र ? यस्ता झिनामसिना कारणले पार्टी फुटेको भन्ने होइन ।

    पार्टी फुटेको त हारेका माधव नेपाललाई यही कार्यकालमा अध्यक्ष चाहिएर हो । किन त्यत्रो लोभ पलायो, थाहा छैन । उहाँ त्यस्तो हो भन्ने त मलाई अहिलेसम्म लाग्या थिएन । १५ वर्ष उहाँलाई नेता बनाएर हिंडेको हुँ । तर उहाँ प्रचण्डको डिजाइनमा फस्नुभयो ।

    पछाडिबाट धेरै प्रश्न उठिरा’छ– कसको कारणले यस्तो भइराख्या छ ? उहाँहरूकै कारण हो कि ? अरूकै कारणले हो कि ? भन्ने । ग्य्राण्डडिजाइन अन्तर्गत हो कि ? यो कुराको खुलासा त समयक्रममा हुँदै जाला । तर यो कुरा खुल्दै जाँदा धेरै ढिला भइसक्या हुनेछ । जनताले धोका पाइसक्नेछन् । त्यसकारण त्योभन्दा अघि नै जनताले थाहा पाउनुपर्‍यो – किन यस्तो भयो ? किन नेताहरू यस्तो बाटोमा लागे ?

    प्रचण्ड कमरेडले गत वर्ष अबचाहिं पाँचै वर्ष यो सरकारलाई चल्न दिने, केपी ओलीलाई नै प्रधानमन्त्री मान्ने, म बरु पार्टीको काम गर्छु भनेरस्वीकार गरेको हो । यो उहाँहरू दुई जनाबीच नै सहमति गरेको हो, पार्टीले भनेको पनि होइन । पार्टीले त अनुमोदन गरेको मात्रै हो ।

    तर, सहमतिको मसी सुक्न नपाउँदै भोलिपल्टबाटै त्यसविरुद्ध प्रचण्ड कमरेड लाग्नुपर्ने खण्ड/खातिर के पर्‍यो ? बुझ्न सकेको छैन ।

    सहमतिअनुसार चल्न नसकेरै पार्टी फुटेको हो त ?

    पछाडिबाट धेरै प्रश्न उठिरा’छ- कसको कारणले यस्तो भइराख्या छ ? उहाँहरूकै कारण हो कि ? अरूकै कारणले हो कि ? भन्ने । ग्य्राण्डडिजाइन अन्तर्गत हो कि ? यो कुराको खुलासा त समयक्रममा हुँदै जाला । तर यो कुरा खुल्दै जाँदा धेरै ढिला भइसक्या हुनेछ । जनताले धोका पाइसक्नेछन् । त्यसकारण त्योभन्दा अघि नै जनताले थाहा पाउनुपर्‍यो- किन यस्तो भयो ? किन नेताहरू यस्तो बाटोमा लागे ?

    यो जनता, व्यवस्था, संविधान र देशको हितमा भइरहेको छैन । पार्टीलाई काम गर्नै नदिने, कहिले संवैधानिक परिषद्को बैठकै हुन नदिने, कहिले प्रमुख प्रतिपक्षले हुन नदिने, कहिले आफ्नै पार्टीका नेताले असहयोग गर्ने ।

    संविधान बनाउँदा संवैधानिक परिषद्मा बहुमतका आधारमा निर्णय गर्ने परिपाटी बसाल्दा सत्तापक्षले एकलौटी गर्ने रै’छ भनेर हामीले सबै सदस्य उपस्थित भएपछि सर्वसम्मतिले निर्णय गर्ने प्रावधान राखेका थियौं ।

    ढोका थुनेर पिट्न थालेपछि बिरालोले पनि घाँटी समाउन आउँछ । भएको त्यही हो ।

    जसकारण संवैधानिक परिषद् दुई वर्ष १० महिनादेखि अवरुद्ध हुन पुग्यो । १५/१६ वटा आयोगमा नियुक्ति हुन पाएन । मानवअधिकार आयोग, निर्वाचन आयोग, अख्तियार, लोकसेवा आयोग सबै खाली हुँदै गए । नयाँ आयोगहरू बन्दै नबन्ने स्थिति आयो ।

    धेरै ठाउँमा सरकारले नियुक्ति गर्नै नपाउने हुन थाल्यो । सरकारको खुट्टा तान्ने, अवरोध सिर्जना गर्ने जुन काम भयो, यसैको बीचबाट पार्टीभित्र द्वन्द्व उत्पन्न भयो । अनि प्रधानमन्त्रीले यो अप्रिय निर्णय गर्नुपर्‍यो । यो निर्णयलाई कसैले प्रिय त भनेको छैन नि !

    पार्टीको आन्तरिक कलहका कारण संसद भंग गर्ने कुरा त ठीक भएन नि, होइन ?

    पार्टीको आन्तरिक कारण नै २०५१ सालमा प्रतिनिधिसभा विघटन भएको याद छैन र ? प्रतिपक्षको अविश्वास प्रस्ताव ल्याउन सक्ने क्षमता छैन ।

    आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउन थालेपछि, विशेष अधिवेशन माग गर्न थालेपछि, अनि बाहिर बसेर असंवैधानिक र अनुशासनहीन कुरा गरेर जसरी पनि प्रधानमन्त्रीलाई हटाउने भनेपछि के हुन्छ ?

    ढोका थुनेर पिट्न थालेपछि बिरालोले पनि घाँटी समाउन आउँछ । भएको त्यही हो ।

    संसद विघटन गरेर ओलीले पार्टी विभाजनलाई मलजल गरेको त हो नि, होइन र ?

    उहाँले पार्टी विभाजन गरेको एउटा प्रमाण छ ? दलको नेता उहाँ हुनुहुन्छ । दलको नेतालाई थाहै नदिई सदस्यले नेताविरुद्ध काम गर्न पाउँछ ? संसदीय प्रणालीको कुन विधान, कुन कानून वा कुन व्यवस्थाले भन्छ ?

    काम बिगार्दै प्रचण्ड माधवले नै पार्टीलाई यो स्थितिमा धकेलेका हुन् ।

    अहिले नेकपा विभाजन भएको होइन, एमाले विभाजन भन्ने पनि गरिन्छ नि !

    साविक एमालेको माधव उतातिर, केपी शर्मा ओली यतातिर भएर होला ! त्यसो त साविक माओवादीको जनयुद्धको रणनीतिकार बादल यता हुनुहुन्छ । त्यसैले यो हल्लाका लागि हल्ला मात्रै हो ।

    यो कुनै पनि रूपमा केपी ओली कमजोर छ भन्ने कुरा देखाउनका लागि मात्रै हो । यस्ता बेतुके कुराको कुनै अर्थ छैन ।

    नेकपा विभाजनपछि साविक एमाले कति प्रचण्ड-माधवतिर गए, त्यसको हिसाब छ ?

    प्रचण्ड-माधव समूह ठडिएको शूली जस्तो मात्रै हो । माथि जाँदा बराबरीजस्तो देखिन्छ । तलतल नेताहरू कहाँ छन् भन्नुहोस् त ? भेला, बैठक हेर्नुस्, तलका जनप्रतिनिधि हेर्नुस्, पार्टी कार्यकर्ता हेर्नुस्, हामीलाई भोट हाल्ने जनता हेर्नुस् । फुटेर जाओस् भन्ने कोही छ ? छैन । र, अहिले त्यसको ठ्याक्कै हिसाब चाहिँ निकालेको छैन ।

    तपाईंहरुले दुई अध्यक्षलाई मिलाउन र पार्टी एकता जोगाउन केही पहल गर्नु भएन ?

    धेरै प्रयास गरियो । त्यसअघि बुझ्नपर्ने केही कुरा छन् ।

    माधव नेपाल अध्यक्ष हुने ठूलो कुरा हो कि, देशको विकास हुने ठूलो कुरा ? लिम्पियाधुरा, लिपुलेक बचाउने ठूलो कुरा कि प्रचण्डलाई प्रधानमन्त्री बनाउने ठूलो कुरा ? आज जनताले त्यही कुरा हेर्‍या छन् ।

    प्रचण्ड प्रधानमन्त्री बनुन्, नबनुन् जनतालाई मतलब छैन । जनताले त केपी ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न पठाएको हो । पार्टीको नेता केपी नै त हो ।

    साविक एमालेले १२४ सिट ल्याएको हो । साविक माओवादीको कति थियो र ? २०७४ सालको चुनावको म्यान्डेट प्रचण्डलाई थिएन । गठबन्धनभित्रको केपी ओलीलाई थियो । त्यसको परिणाम जनताको अभिमतले प्रकट गरेको कुरा हो ।

    दलको नेता उहाँ (ओली) नै हुनुभो । अर्को दलको नेता उहाँ (प्रचण्ड) हुनुभो । प्रचण्ड र ओली क्रमशः आफ्नो साविक पार्टीको संसदीय दलको उम्मेदवार बन्नुभो ।

    माधव जीलाई अहिलेको प्रचण्डको सेकेन्ड अध्यक्ष हुनुभन्दा केपी ओलीको तृतीय अध्यक्ष भए पनि हुन्थ्यो । एकीकृत पार्टीको तेस्रो अध्यक्ष हुनुस् तपाईं भनेर त हामीले उहाँलाई प्रस्ताव राखेकै थियौं । त्यतिखेर किन नमानेको ? कसैको डिजाइन भित्र छ यो कुरा । यो निर्णय गर्ने कुरामा उहाँहरू स्वतन्त्र हुनुहुन्न ।

    जब पार्टी एकता भयो, सर्वसम्मत रूपमा पार्टीको संसदीय दलको नेता केपी ओली हुनुभो । त्यसकारण पनि जनताले चाहेको प्रधानमन्त्री केपी ओली नै हो नि !

    त्यतिबेला दुईजना नेताबीच भएको सहमति जनताको म्यान्डेटविपरीत थियो ।

    वाम गठबन्धनको सरकार बन्न नदिन प्रचण्डले षड्यन्त्र गर्नुभयो । मंसिर महिनाभित्र सकिएको चुनाव सरकार बनाउने कुरामा फागुनसम्म किन पु¥याउनुपथ्र्यो ? पुस र माघ महिनामा त साविक गैर एमालेको सरकार बनाउने प्रयास गर्नुभो ।

    केपीलाई प्रधानमन्त्री बनाउन रोक्ने प्रयत्न गर्नुभो । त्यो कुराको साक्षी कांग्रेस छ । महन्त ठाकुरजी, उपे्रन्द्रजी, राजेन्द्र महतोजीहरू साक्षी हुनुहुन्छ । उहाँहरू सबैले अविश्वास गरेर सहमति नजनाएकोले हुन पाएन ।

    राष्ट्रियसभाको चुनाव नभइकन प्रतिनिधिसभाबाट सरकार बन्दैन भनेर संविधानले कहाँनेर भन्छ ? हाम्रो निर्वाचन प्रणालीले कहाँनेर भन्छ ? सरकार बन्ने त प्रतिनिधिसभाबाट हो नि ! त्यस्तो खोंचे थापियो । खोंचे थाप्नेमा उहाँकै निकटका मान्छे थिए ।

    यो सबै स्थिति बुझेपछि पनि पार्टी एकता त गर्नै पर्‍यो । प्रधानमन्त्रीको पद बाँडेर भए पनि, अध्यक्ष पद बाँडेर भए पनि । होइन भने दुई वटा पार्टी मिल्दा धेरै संसदीय सामर्थ्य हेर्ने हो । त्यो हेर्दा त ७५/२५ को स्थिति हो नि !

    दुईवटा अध्यक्ष स्वीकार नगर्दा एउटा सानो टकराव रहिरहने भो । त्यो टकराव रहिरहँदासम्म वाम सरकार बन्ने भएन । त्यो नबन्ने भएपछि खेल्ने कुरा रहिरहने भो । अस्थिरता रहिरहने भो । राजनीतिक स्थिरता र समृद्धिका लागि र वाम गठबन्धनलाई एकताबद्ध बनाइरहन उहाँहरूले उक्त सहमति गर्नुभएको हो ।

    तर, त्यो सम्झौता मंसिर ४ मा आएर रि-क्वालिफाई गर्नुभो । दुई अध्यक्ष भएको ठाउँमा एउटा कार्यकारी अध्यक्ष, अर्को प्रथम अध्यक्ष । संगठनको काम एउटाले गर्ने, राजकीय काम एउटाले गर्ने भन्ने सहमति गर्नुभो । पछि भदौमा स्थायी कमिटीले अनुमोदन गर्‍यो । तर, लगत्तै सरकार र अध्यक्षको विरुद्धमा प्रचण्ड जानुभयो । विनाकारण अध्यक्षबाट राजीनामा देऊ भन्ने, प्रधानमन्त्रीबाट राजीनामा देऊ भन्ने खण्ड/खातिर के पर्‍यो भन्या ?

    उहाँहरूलाई हुन मन लाग्यो भनेर कसैले प्रधानमन्त्री पद छोडिहाल्नुपर्छ र ? माधवजीलाई त्यस्तो हतार किन भा’हो ? माधवजी त केपी ओलीसँग हारेको मान्छे हो नि ! हाम्रो कार्यकर्ताले हराएको मान्छे हो । अनि त्यो कार्यकाल पूरा हुँदा नहुँदै दुइटा पार्टीको एकता भएर साविक एमालेको लिगेसीको आधारमा उहाँ एकीकृत पार्टीको पनि अध्यक्ष हुनुभा’हो । हेटौंडाबाट निर्वाचित अध्यक्षको नाताले साविक माओवादी केन्द्रबाट प्रचण्ड अध्यक्ष हुनु भा’हो ।

    माधव जीलाई अहिलेको प्रचण्डको सेकेन्ड अध्यक्ष हुनुभन्दा केपी ओलीको तृतीय अध्यक्ष भए पनि हुन्थ्यो । एकीकृत पार्टीको तेस्रो अध्यक्ष हुनुस् तपाईं भनेर त हामीले उहाँलाई प्रस्ताव राखेकै थियौं । त्यतिखेर किन नमानेको ? कसैको डिजाइन भित्र छ यो कुरा । यो निर्णय गर्ने कुरामा उहाँहरू स्वतन्त्र हुनुहुन्न ।

    पछिल्लो कालमा प्रधानमन्त्रीले ‘दोस्रोपल्ट प्रधानमन्त्री तथा अध्यक्ष हुन्नँ, तपाईंहरूलाई छाड्छु’ भन्दा महाधिवेशनसम्म कुर्नै नसकेको किन ?

    पछिल्लो समयमा पार्टी मिल्दै नमिल्ने, सम्झौता पनि तोड्ने भएपछि हैरान भएर तपाईंले पार्टी छोडिदिनुस् पनि भनेका हौं । ६०/४० को अनुपातको आधारमा पार्टीको संरचना मिलेको छ । सरकार चलाउने पनि त्यही अनुसार गरौं न त भनेका हौं ।

    त्यो कुरामा प्रधानमन्त्री तयार पनि हुनुहुन्थ्यो । चैत या वैशाखमा छोड्ने कुरा पनि थियो । प्रधानमन्त्री प्रचण्डलाई बनाउने, आफू अध्यक्ष भएर पार्टीको एकता महाधिवेशन सम्पन्न गर्ने थियो । यो कुरा प्रचण्डलाई पनि थाहा छ ।

    केन्द्रका नेताहरू महत्वाकांक्षी र पदलोलुप भए भन्दैमा हामी पनि त्यस्तै हुनुपर्छ भन्ने छैन । यहाँ फरक ढंगले सोच्न सक्छौं । यही भएर पनि मैले मन्त्रीहरूलाई हटाउने सोचेको छैन । यो सरकार तल–माथि हुन्छ जस्तो लाग्दैन । तर, राजनीतिमा असम्भव भन्ने केही छैन । कहिलेकाहीं गोरु ब्याउन पनि सक्छ । त्यो दुर्लभ घटना हो ।

    संसद विघटन हुनुभन्दा अघिल्लो दिन पनि म खुमलटार पुग्या छु । त्यहाँ प्रचण्डलाई आरोपपत्र फिर्ता लिन आग्रह गरेर पार्टी एकता जोगाउन खोजेकै हो ।

    खुमलटारले अविश्वासको प्रस्ताव नल्याउने र बालुवाटारले संसद भंग नगर्ने गरी सहमति गराउन निकै प्रयास गरेकै हो । तर, उहाँहरुले छापामार शैलीमा अविश्वास प्रस्ताव ल्याउन लागेपछि संसद गर्नुपर्ने स्थिति आयो । योबारे मैले प्रचण्डलाई भनेकै थिएँ ।

    अब बहुमतप्राप्त प्रधानमन्त्री नयाँ म्यान्डेटमा जाने जहिले पनि संवैधानिक हुन्छ । जनताले बनाएको प्रधानमन्त्रीलाई जहिले पनि जनताको बीचमा जाने असंवैधानिक, अलोकतान्त्रिक त होइन नि !

    संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नु त असंवैधानिक नै हो नि, होइन र ?

    हामी अहिले नै अंवैधानिक/असंवैधानिक किन लाद्ने ? न्यायपालिकाको निर्णय पर्खौं न !

    प्रतिनिधिसभा गठन भइसकेपछि सरकार बन्ने मात्रै व्याख्या छ । २०४७ सालको संविधानभन्दा अहिले संविधानको थप व्याख्या भनेको चौथो उपधारामा मात्रै हो । त्यो संसदभित्रको एउटा माननीय सदस्यले पनि मेरो पनि बहुमत छ भनेर सिद्ध गर्न सक्यो भने हुनसक्छ ।

    जब पार्टी एकता भइसके पछाडि ६४ प्रतिशत प्राप्त दलको नेताले मलाई मेरै दलभित्रबाट काम गर्न दिइएन, अस्थिरता हुने स्थिति बढ्यो, मेरो विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयत्न भए भनेपछि उहाँले जनतामा जान नपाउने ?

    अहिले उनीहरू (प्रचण्ड-माधव) भावनात्मक रूपमा टुक्रिए पनि म्यान्डेट पा’छैन । दर्ता पनि भा’छैन । नयाँ पार्टीको दर्ता नपाएसम्म पार्टी त एउटै हो नि ! को-को भौंतारिंदै बाहिर–बाहिर पार्टी प्यालेसतिर हिंड्या छ भन्ने मान्ने हुँदैन नि ! कानून र संविधानले व्याख्या गर्दा त्यो भन्दैन नि !

    एउटा ६४ प्रतिशत बहुमत प्राप्त दलको नेताले संसद विघटनको सिफारिश गरिसकेपछि अब संसदमा कति प्रतिशत रहन्छ ? ३६ प्रतिशत रहन्छ । त्यसमा उपधारा ४ अनुसार व्यक्तिले बहुमत बनाउने ठाउँ पनि छैन, दुई वा त्योभन्दा बढी पार्टी मिलेर बहुमत बनाउने ठाउँ पनि छैन ।

    यो कुरा त कसैले गरेकै छैन । हाम्रो अहिलेको संविधानले व्यवस्था गरेको कुरा संसदमा सरकार बन्ने प्रक्रिया भइञ्जेलसम्म संसद भंग गर्न मिल्दैन भन्या हो । संसद भंग भइसकेपछि सरकार बनाउने कुनै पनि सम्भावना बाँकी हुँदैन । त्यसकारण सरकार नबन्ने स्थिति रहेकाले प्रधानमन्त्रीको यो सिफारिश संवैधानिक हुन्छ । हेर्नुहोला सदर हुन्छ ! अदालतले त्यही फैसला गर्छ ।

    जतिसुकै कानूनको पोका बाँधे पनि, आग्रह लिएर केपीविरुद्ध लाग्या छन् । केपीसँग पनि १३०/४० जनाले बहस गर्छन् । केही फरक पर्दैन ।

    प्रचण्ड-माधव पक्षले केपी ओलीलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको भनेका छन् । तर, तपाईंहरुले प्रचण्ड-माधवलाई कारवाही गर्नुभएको छैन । यसले के संकेत गर्छ ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरुद्धमा जसरी ८३ जनाले हस्ताक्षर गरेर दिए, त्यसैमा कारबाही गर्न सक्नुहुन्छ । त्यतिबेलासम्म त उहाँ सदस्य नै हो । दलको नेताले तीन महिना निलम्बन गर्ने अधिकार छ । तर, हामी त्यो ठाउँमा गएनौं ।

    हामी राजनीतिक रूपले जनताको बीचमा म्यान्डेट लिन जान्छौं पो भन्या हौं त । पार्टीमा सबैलाई निकाल्दै हिंड्ने त भन्या होइनौं । उहाँहरुले जस्तो अहिलेसम्म कुनै व्यक्तिलाई निकालेका छैनौं । जिम्मेवारी हेरफेर हुनसक्ने भो । तर, पार्टीबाटै हटाउने भन्ने हुँदैन ।

    अब एकताको सम्भावना कतिको छ त ?

    जो मान्छे घर छोडेर हिंड्यो, त्यही मान्छे फर्किनुपर्‍यो, बाँकी कुरा के हुन्छ र ! पार्टी प्यालेसतिर बरालिंदै हिंड्नेहरु आउँछन् भने त स्वागतै छ नि । जनताको चाहना पनि त्यही छ ।

    खासमा पार्टीहरु फुटिरहेका हुन्छन्, जुटिरहेका हुन्छन् । यो जुट-फुटको कारण चाहिँ के हुँदो रै’छ ?

    सिद्धान्तभन्दा पनि भागबण्डा नमिल्दा र नेताहरुको आत्मकेन्द्रित सोचले नै पार्टीलाई फुटाउन सहयोग गर्छ ।

    पहिले पुष्पलाल र तुलसीलाल अमात्य फुट्दा पनि धेरै कुरा देखिंदैन । बरु उनीहरूको लाइन फरक थियो । पुष्पलालले नयाँ जनवादी बाटो अपनाए, तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको बाटो भने ।

    त्यसपछि एमाले फुटेर माले हुनुको अर्थै थिए । प्रचण्डबाट फुटेका वैद्य, यादव, गोपाल किराँती, विप्लवहरू पनि राजनीतिक रूपले फुट्नुपर्ने विषय नै होइनन् ।

    पार्टीमा कहिले विचार अल्पमतमा, कहिले बहुमतमा पर्छ । धैर्य गर्न सक्नुप¥यो । त्यही नसक्नाले पार्टी फुट्छन् । नितान्त व्यक्तिगत महत्वाकांक्षा र आत्मकेन्द्रित विचारले पार्टी फुटाउँछ ।

    भलै त्यसमा सिद्धान्तको जलप लगाउँछौं । कार्यकर्ताहरू त्यसको भुलभुलैयामा पर्छन् । कार्यकर्ताहरू एउटा न एउटा नेताको नाममा पर्छन् । हाम्रो संस्कारै त्यही छ । विचारलाई होइन, व्यक्तिलाई हेर्छौं ।

    प्रचण्ड-माधव मिल्दा अफ्ठेरो पर्छ भन्ने त थाहा थियो नि ! पहिल्यै सचेत हुनुपर्दैनथ्यो ?

    केपी ओलीलाई ७०/३० र ६०/४० को अंकगणित थाहा थिएन होला त ! पार्टी एकता नै ६०/४० को आधारमा गरियो । त्यो आधारमा पनि साविक एमालेको माधवजीले मलाई चाहियो भन्ने कुरा भयो । अनि उहाँलाई पनि झन्डै ३०/३० बाँड्नुभयो ।

    त्यसो हुँदा माधव र प्रचण्ड मिल्दा ६० पुग्छ भन्ने त केपीलाई हिजै थाहा थियो । बहुमत दिंदा यिनीहरूको बहुमत हुन्छ र मलाई पेल्छन् भन्ने पनि त प्रचण्डलाई हिजै थाहा थियो ।

    तर, एकताको खातिर अल्पमत र बहुमतको आधारमा निर्णय नगर्ने भन्ने नयाँ निर्णय गर्‍यौं । हाम्रो विधानमा सहमतिको आधारमा चल्ने व्यवस्था छ । मत बाँड्न थालेपछि पार्टीको एकता र एकीकरण प्रक्रिया भत्किन्छ भन्ने हिजै थाहा थियो ।

    एकताको महाधिवेशन नगर्दासम्म सहमतिका आधारमा निर्णय गर्ने र दुई अध्यक्षको सहमतिमा एजेन्डा ल्याउने सहमति गर्ने भन्ने भयो । यही हो हाम्रो पार्टीको विधान ।

    साविक एमाले र माओवादी केन्द्रको विधान हेरेर वा अरू पार्टीको विधान हेरेर लौ हामीचाहिं कार्की बैंक्वेटमा पुग्यौं, हामी नै बहुमत भन्ने कुराको कुनै तुक छैन ।

    अहिले तीन जना पदाधिकारीमा दुई जना कता छ ? बहुमत गर्ने भए त यही संस्थापन हो । पहिलो अध्यक्ष, महासचिव जता छ, त्यतै संस्थापन हुने भो ।

    विद्यादेवीलाई टिकट दिने पनि उही केपी ओली हो । राष्ट्रियसभामा वामदेव थप्ने सिफारिश ओलीले गरेको हो । अनि माधवले भन्या पार्टी कसरी संस्थापन हुन्छ ? बहुमतको आधार भन्ने हाम्रो विधानमै छैन ।

    संसदपछि अब प्रदेश नै विघटनको चर्चा छ नि !

    त्यो बिगार्नेहरूको कुरा हो । संघीय सरकारले प्रदेश सरकारलाई विना कारण विघटन गर्‍यो भने त्यो संघीयतामाथिको प्रहार हुन्छ ।

    संघीयता विघटन गर्ने त संविधानमै प्रावधान छ नि ! ठूलो आर्थिक विच्छृंखलता भयो, चल्नै सकेन भने सरकारले विघटन गर्न सक्छ । या कुनै प्रदेशले मुलुकलाई टुक्र्याउन लाग्यो भने विघटन हुन सक्छ । यस्ता दुई/तीन कारणबाहेक संघ सरकारले संघीयता विघटन गर्न सक्दैन । संघको समस्याका कारण प्रदेश विघटन गर्ने भन्ने छैन ।

    प्रतिनिधिसभा विघटनसँगै घोषणा भएको चुनावले संघीयताविरोधी र राजावादीहरूलाई बल पुग्यो भन्ने छ, तपाईंको धारणा के छ ?

    अविश्वासको प्रस्ताव आएको भए राजावादीलाई फाइदा हुन्थ्यो । अविश्वासको प्रस्तावबाट प्रधानमन्त्रीलाई हटाएपछि मन्त्रिमण्डल बनाउने बेला शुरू हुन्थ्यो ।

    केपी ओली फास्ट भएर अविश्वासको प्रस्ताव रोकिएको हो । अविश्वासको प्रस्तावबाट केपी ओलीले राजीनामा दिनुपर्ने अवस्था आएको भए प्रचण्ड–नेपाल समूहले कानूनी रूपमा मान्यता पनि नपाउने, ६४ प्रतिशत पनि नपुग्ने भएपछि प्रधानमन्त्री को त ? ३६ प्रतिशतले त प्रधानमन्त्री बन्दैन ।

    प्रधानमन्त्री को बन्ने भनेर भुमरीमा परेपछि मुलुक अस्थिरतामा जान्थ्यो र त्यही मौकामा राजावादी रमाउँथे । बहुदलवादीले चलाउन सकेनन्, कम्युनिष्टले चलाउन सकेनन्, व्यवस्थालाई बचाउन सकेनन् भनेर आउने त्यो बेला हो ।

    चुनावमा त हामी राजावादीलाई पराजित गर्न सक्छौं नि ! राजावादीको नाममा आउने पार्टीहरूलाई रोक्ने कानून बनाएका त छैनौं । उनीहरू पनि चुनावबाट आउने स्वतन्त्रता छ । चुनावबाटै राजावादीलाई पराजित गर्नु स्थिरता र स्थायित्वको कुरा हो । व्यवस्थालाई बचाउने कुरा हो । जनतामा जाने प्रक्रिया जहिले पनि बलियो हुने हो ।

    अब प्रदेशतिर फर्कौं । अरू प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आइरा’छन् । यहाँ तपाईंको क्याबिनेटमा पनि विपक्षी समूहका दुई जना मन्त्री हुनुहुन्छ । उहाँहरूलाई हटाउने, नहटाउने के छ योजना ?

    हटाउने भए त म हटाइसक्थें नि ! हाम्रो मन्त्रीज्यूहरूले हामी यही सरकारमा रहने हो, हिजो पनि हामी दुई वटा पार्टी गठबन्धन मिलेरै सरकार बन्या हो । आज छुट्टिए पनि हामी किन छुट्टिनु पर्‍या छ ? भन्ने कुरा गरिराख्नुभएकोले उहाँहरूलाई किन हटाउने ? उहाँहरू मेरै समर्थनमा हुनुहुन्छ ।

    मुख्यमन्त्री शेरधन राई, डोरमणि पौडेलविरुद्ध अविश्वास ल्याउनेले पृथ्वी सुब्बालाई दयामाया गरेर राखेको भन्ने चाहिँ होइन । उहाँहरूले बल पुग्ने ठाउँमा सरकार ढाल्ने प्रयास गर्नुभएको छ । यहाँ मैले पनि त हेरिराख्या छु नि ! कांग्रेस, जसपा, राजमोसँग कुरा गरे कि गरेनन्, आफ्नो छुट्टै दल गठनको प्रयत्न गरिराख्नु भा’छ कि छैन, किनबेचको प्रयत्न भा’छ कि छैन । मैले पनि अध्ययन गरिराख्या छु ।

    विपक्षी समूह र पार्टीले मन्त्री पदकै लबिङ गरिराखेको भन्ने कुरा पनि छ नि ?

    होला, तर मलाई थाहा छैन । गण्डकी प्रदेशमा किन सरकार परिवर्तन गर्नुप¥यो ? गण्डकीले विकासको एकप्रकारको भिजन राख्या छ । प्रथम पञ्चवर्षीय योजना बनाएको छ । सन् २०३० भित्र पूरा गर्नुपर्ने दीगो विकास लक्ष्य हाँसिल गर्ने काम गरिरहेकै छौं ।

    केन्द्रका नेताहरू महत्वाकांक्षी र पदलोलुप भए भन्दैमा हामी पनि त्यस्तै हुनुपर्छ भन्ने छैन । यहाँ फरक ढंगले सोच्न सक्छौं । यही भएर पनि मैले मन्त्रीहरूलाई हटाउने सोचेको छैन । यो सरकार तल–माथि हुन्छ जस्तो लाग्दैन । तर, राजनीतिमा असम्भव भन्ने केही छैन । कहिलेकाहीं गोरु ब्याउन पनि सक्छ । त्यो दुर्लभ घटना हो ।

    कांग्रेसले ‘जता मुख्यमन्त्री, उतै समर्थन’ भनिसक्यो । त्यस्तै अवस्था आइलाग्यो भने मुख्यमन्त्री पद बुझाएर हिंड्न सक्नुहुन्छ त ?

    कांग्रेसको कुरा त मैले कसरी थाहा पाउनु ? तर संयुक्त सरकार बनाउनुपर्‍यो भने बरु मुख्यमन्त्रीकै टोलीसँग बनाउने, अर्को टोलीसँग किन बनाउनुपर्‍यो ? भनेको सुनेको छु । अर्को टोलीसँग सरकार बनाउन सङ्ख्या पनि पुग्दैन ।

    राजमोले हामीलाई समर्थन गर्ने बित्तिकै हामी बलियो हुन्छौं । हाम्रा टुक्रिएर गएका टोली र अरू दुई वटा पार्टीले मेरो विरुद्ध अविश्वास प्रस्ताव राख्यो भने पास गर्न सक्नुपर्‍यो । उहाँहरूले मलाई पराजित गर्न सक्नुपर्‍यो । होइन भने मैले विश्वासको मत प्राप्त गर्नुपर्‍यो ।

    गण्डकी प्रदेशको अंकगणित कस्तो छ ?

    प्रदेशमा साविक माओवादी केन्द्रबाट आएको १२ जना हो । एकजना साविक एमालेको उता जानुभो । १३ जना हुन्छ । सभामुख गणना हुने कुरै भएन । कांग्रेससँग १५ जना छन् । १२ जनाले १५ जना भएको कांग्रेसलाई मुख्यमन्त्री बुझाएर ती साथीहरू जानुहुन्छ भने मेरो भन्नु केही छैन ।

    मुख्यमन्त्री कांग्रेसलाई दिनुभन्दा पृथ्वी सुब्बालाई दिन्छौं नि भन्ने पनि छन् ! कांग्रेसका केही साथीहरू पनि मिले त संस्थापनसँग मिल्ने नि भन्ने पक्षमा हुनुहुन्छ ।

    राजमोले हामीले दिइराखेको समर्थन कायम छ भनेको छ । भोलि मुख्यमन्त्रीले सभा विघटन गर्‍यो भने त्यसबेला मात्रै हाम्रो समर्थन फिर्ता हुन्छ, नत्र सरकार चलुञ्जेल स्थिरताका लागि हाम्रो समर्थन जारी राख्छौं भनेकै छ । भनेपछि म त एकदम सुरक्षित नै छु नि !

  • बुटवलमा पाँच सात हजार भेला गरेछन्, २९ गते हामी देखाउँछौं : ओली

    बुटवलमा पाँच सात हजार भेला गरेछन्, २९ गते हामी देखाउँछौं : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ मा काठमाडौं र २९ मा बुटवलबाट जनसभा गरेर आफ्नो शक्ति दुनियालाई देखाउने बताएका छन् ।

    काठमाडौं महानगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अबका जनसभाहरू चुनावी अभियानका रुपमा लैजाने बताए ।

    ओलीले भने, ‘हिजो बुटवलमा पाँच/सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन् । वास्तविक आमसभा हामी बुटवलमा २८ गते गर्छौं । हामीलाई त्यो ठाउँ सानो हुन्छ, ठूला ठाउँ खोजेर लाखौं जनताको बीचमा सभा गर्छौं । त्यसपछि उनीहरूले खुट्टा बजारेको बेकार रहेछ भन्नेछन् ।’

    ओलीले माघ २३ गते काठमाडौंले चुनावको लागि देशलाई जुरुक्कै उठाउनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

  • योगेशको टिप्पणी- केपी ओली अस्ताउँदो सूर्य हुन्, सेटिङ फेटिङ चल्दैन

    योगेशको टिप्पणी- केपी ओली अस्ताउँदो सूर्य हुन्, सेटिङ फेटिङ चल्दैन

    विराटनगर । विभाजित नेकपाका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले संवैधानिक निकायमा सेटिङ नचल्ने भन्दै नेकपाको आधिकारिकता प्रचण्ड-माधव नेपाल नेतृत्वको समूहले पाउने दाबी गरेका छन् ।

    विराटनगरमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै भट्टराईले संविधान कानूनले प्रतिनिधिसभा विघटन नमान्ने र निर्वाचन आयोगमा पनि सेटिङ फेटिङ नचल्ने बताए ।

    उनले भने, ‘म संवैधानिक निकायहरुलाई पनि भन्न चाहान्छु, प्रधानमन्त्री केपी ओली आज अस्ताउँदो सूर्यका रुपमा छन् । यो नेकपा उदाउँदो सूर्य हो । तपाईंहरू कसको पक्षमा लाग्नुहुन्छ ? अस्ताउँको पक्षमा लाग्नुहुन्छ भने तपाईं मलामी जानुस् ।’

  • निर्वाचन आयोगले भन्यो- नेकपाका दुई अध्यक्षलाई चिन्छौं, दुई समूहलाई होइन

    निर्वाचन आयोगले भन्यो- नेकपाका दुई अध्यक्षलाई चिन्छौं, दुई समूहलाई होइन

    काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुई समूहलाई नभइ दुई अध्यक्षलाई चिनेको प्रष्ट पारेको छ । आयोगले नेकपाको आधिकारिताको लागि दुवै पक्षले निवेदन नदिएकाले अहिलेसम्म दुई अध्यक्षलाई चिनेको जनाएको हो ।

    शुक्रबार नेकपाका दुवै समूहलाई आयोगले बोलाएको थियो । प्रचण्ड माधव पक्षले समय मागेपछि केपी अ‍ोली पक्षसँग आयोगले अनौपचारिक छलफल गरेको आयुक्त ईश्वरी पौडेलले बताए । दुवै पक्षले आधिकारिता दाबी गरेर आएपछि मात्र कानुनबमोजिम आयोग अघि बढ्ने उनको भनाइ छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार नेकपाका दुवै समूहलाई नभई दुवै अध्यक्षका आधिकारिक प्रतिनिधिलाई बोलाइएको बताए । उनले आयोगले यसो गर्दा नेकपा विभाजनलाई मान्यता दिएको अर्थ नलाग्ने पष्ट पारे ।

    श्रेष्ठले भने, ‘आयोगले दुई समूहलाई मान्यता दिएको होइन, दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका आधिकारिक प्रतिनिधिलाई बोलाएको हो । नेकपाका दुई समूहलाई मान्यता दिएको होइन ।’

    नेकपाको प्रचण्ड-माधव पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाएको विवरण आयोगलाई दिएको छ । तर, अ‍ोली पक्षले प्रचण्डलाई अध्यक्षबाट हटाएको छैन ।

    नेकपाका दुवै अध्यक्षले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार आ-आफ्ना विवरण हेरफेर गर्नमात्र पत्र पठाएकाले त्यसबारे आयोगले निर्णय गरिसकेको आयुक्त पौडेलले बताए । आयोगले कसको बहुमत छ ? को अल्पमतमा छ ? भनेर हेर्नका लागि अरुनै प्रक्रियाबाट आउनुपर्ने उनले बताए ।

  • विराटनगरमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    विराटनगरमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ ।

    विराटनगरको रोडशेष चोक, तीनपैनी र हाटखोलाबाट एकैपटक प्रर्दशनसहितको र्‍याली शुरू भएको थियो । र्‍यालीको नेतृत्व प्रदेशका नेताहरूले गरेका छन् ।

    प्रदेशस्तरीय शक्ति प्रदर्शनमा ५० हजारभन्दा बढी मानिस सहभागी भएको दाबी गरिएको छ ।

    विराटनगरका विभिन्न रुटबाट निस्किएको जुलुस जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराईलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

    प्रतिनिधिसभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड-माधव पक्ष संघर्षरत् छ ।

  • ११ र १२ कक्षाको गणित विषयको विवाद टुंगियो

    ११ र १२ कक्षाको गणित विषयको विवाद टुंगियो

    काठमाडौं । ११ र १२ कक्षाको गणित विषयको विवाद ३ वर्षपछि टुंगिएको छ ।

    पाठ्यक्रम विकास केन्द्रले ल्याएको नयाँ पाठ्यक्रममा ११ र १२ कक्षामा गणित अन्य विषयमा राखिएको थियो । तर, अब सो विषय ऐच्छिकमा राखिएको छ ।

    अब कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणितमध्ये विद्यार्थीले एक रोज्न पाउँनेछन् ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा गणितलाई ऐच्छिकमा राख्ने निर्णय गरेको छ ।

    गणित समाजका सह-सचिव डा. जीवन काफ्लेले गणितबिना शिक्षा नै अपूरो हुन्छ भनेर ३ वर्ष कुरा उठाउँदा बल्ल गणितलाई ऐच्छिकमा राखिएको बताए ।

  • ललिता निवासको जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको संकेत (भिडियो)

    ललिता निवासको जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको संकेत (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको बहुचर्चित ललिता निवासको करीव १५७ रोपनी जमिनमा शहीद स्मारक बनाउने संकेत गरेका छन् ।

    शहीद दिवसको अवसरमा लैनचौरको शहीद स्मारकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो संकेत दिएका हुन् ।

    प्रधानमन्त्रीले हालको शहीद स्मारक साह्रै सानो भएको र विदेशी पाहुना आउँदा श्रद्धाञ्‍जली दिन पनि अप्ठेरो तथा सर्वसाधारणलाई पनि एकैपटक आउन नमिल्ने भएकाले फराकिलो ठाउँमा शहीद स्मारक बनाउने बताए ।

    प्रधानमन्त्रीले भने, ‘स्मारकका लागि यो ठाउँ साह्रै सानो भयो । त्यसकारण तुरुन्तै एउटा विदेशी पाहुनाहरु आउँदा पनि सजिलोसँग गएर श्रद्धाञ्जली अर्पण गर्न सकिने गरी प्रशस्त पार्किङ पनि भएको ठाउँ, हुनसक्छ प्रधानमन्त्री निवास नजिकैको बालुवाटारकै जमिन होस् वा यस्तै जो अलि फराकिलो छ त्यहाँ शहीद स्मारक बनाउँछौं ।’

    प्रधानमन्त्रीले त्यस्तो स्मारक एक वर्षभित्रै बनाउन सकिने बताए ।

    ओली प्रधानमन्त्री भएपछि सो सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणको छानविन गरी सरकारको नाममा फिर्ता ल्याएका थिए । हाल सो जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन पदाधिकारी र व्यक्तिहरुमाथि विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

  • प्रधानमन्त्री ‘हुतीहारा’ भनेपछि विडारीलाई भनियो- वरिष्ठज्यू ! अपशब्द नबोल्नुस्

    प्रधानमन्त्री ‘हुतीहारा’ भनेपछि विडारीलाई भनियो- वरिष्ठज्यू ! अपशब्द नबोल्नुस्

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा बहस गर्दा अपशब्द प्रयोग नगर्न वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाई सचेत गराएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहस गर्ने क्रममा राष्ट्रिय सभाका सांसद समेत रहेका बिडारीले प्रधानमन्त्रीलाई ‘हुतीहारा’ र कसको रिसले कसको काख फोहोर गर्नेजस्ता शब्द प्रयोग गरेपछि इजलासबाट उनलाई रोकिएको हो ।

    करिव आधा घण्टा बहस गरेका विडारीले सरकार चलाउन पनि असफल र पार्टी चलाउन पनि असफल हुतीहारा प्रधानमन्त्री भनेका थिए । उनले सौताको रिसले पोइको काख फोहोर गर्ने नेपाली उखानलाई समते बिम्बका रूपमा प्रयोग गरेपछि इजलासबाट रोकिएको हो ।

    बिडारीलाई प्रधानन्यायाधीश राणाले भने, ‘वरिष्ठ ज्यू ! यस्ता अपशब्दहरु यहाँ प्रयोग नगर्नुस्, आफ्नो बहस छोट्याउनुस् ।’

  • दल दर्तालगायतका चुनावी प्रक्रिया अघि बढाउन ओली पक्षको आग्रह

    दल दर्तालगायतका चुनावी प्रक्रिया अघि बढाउन ओली पक्षको आग्रह

    काठमाडौं । केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाले निर्वाचन प्रयोजनको लागि दल दर्तालगायतका प्रक्रिया तत्काल अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    निर्वाचन आयोगसँग भएको छलफलमा सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्नु भनेर अन्तरिम आदेश नदिएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न ओली पक्षले आग्रह गरेको हो ।

    नेकपाको दुवै पक्षलाई आयोगले बोलाए पनि प्रचण्ड-माधव नेपाल पक्ष भने छलफलमा सहभागी भएन । निर्वाचन आयोगसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै संविधानसभा अध्यक्ष तथा नेकपा ओली पक्षका नेता निर्वाचनको प्रयोजनमा हुने दल दर्ता लगायतका प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए ।

    निर्वाचन आयोगको आग्रह बमोजिम आफूहरु उपस्थित भएको र अदालतबाट अन्यथा फैसला नआउँदासम्म निर्वाचनका तयारी अघि बढाउन आग्रह गरिएको नेम्वाङले जानकारी दिए ।

    नेम्वाङले नेकपाको आधिकारिकताको विवाद टुंगो लगाइसकेको र त्यहि निर्णयको जगमा उभिएर आयोगले छलफलकाक लागि आफूहरुलाई बोलाएको दावी गरे । आयोगलाई निर्वाचन गर्न ८४ दिन भए पुग्ने र अहिले ९० दिन बाँकी रहेकाले आयोग अब अरु विवादमा फस्ने जानकारी आफूहरुले पाएको उनले बताए ।

    दल दर्ता प्रक्रिया अघि बढेपछि आफूहरु सहभागी हुने नेम्वाङको छ । आफूहरु प्रचण्ड माधव पक्षसँग छलफल गर्न भनेर आए पनि अर्को पक्ष छलफलबाट भागेको उनले बताए ।

  • रमणले मागे ५ घण्टा, १ घण्टाभन्दा दिन सकिन्न- प्रधानन्यायाधीश

    रमणले मागे ५ घण्टा, १ घण्टाभन्दा दिन सकिन्न- प्रधानन्यायाधीश

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहसको समय कति पाउने भन्ने विवाद चलेको छ ।

    एकैजनाले दुई दिनसम्म बहस गर्दै जाँदा लामो समय लाग्ने भएपछि संवैधानिक इजलासले समय तोकेको छ ।

    तर, शुक्रवार रामनारायण विडारीपछि बहस गर्न उभिएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेपछि केहीबेर सवाल जवाफ चलेर इजलास अवरुद्ध भएको छ । नेकपाका तत्कालीन प्रमुख सचेतक देव गुरुङसहितका रिट निवेदकको तर्फबाट बहस गर्न उभिएका रमणले ५ घण्टा समय मागेका हुन् ।

    अब गुरुङ सहितको निवेदकको तर्फबाट रमणले अन्तिम बहस गर्ने भन्दै ५ घण्टा मागिए पनि प्रधानन्यायाधीशले भने एक घण्टाभन्दा बढी समय दिन नसकिने बताएपछि केहीबेर समयकै लागि विवाद चलेको हो ।

    समयको नाममा विवाद बढेपछि राणाले भने, ‘तपाईंलाई ५ घण्टा दिने हो भने अरु साथीहरुलाई कति दिने ? तपाईं आफ्नो भनाइ बहस नोटमा दिन सक्नुहुन्छ । तपाईं विद्वान हुनुहुन्छ तीन महिना, तीन वर्ष पनि लाउनुहोला तर हामीले त निश्चित समयमा किनारा लगाउनुपर्छ ।’

    करिब १५ मिनेटको विवादपछि रमणले १ घण्टा समय पाएका छन् ।

  • संसद विघटनको लम्बेतान बहसः दिनहुँ उस्तै प्रश्नोत्तरले अदालती समय भक्षण

    संसद विघटनको लम्बेतान बहसः दिनहुँ उस्तै प्रश्नोत्तरले अदालती समय भक्षण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर अर्को प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिन् । यो राजनीतिक परिघटापश्चात सिंगै देशको ध्यान सर्वोच्च अदालततिर केन्द्रित छ ।

    राजनीतिक दल, मिडियादेखि सर्वसाधारणसम्मले सर्वोच्च अदालतमा प्रत्येक दिन हुने सुनवाइलाई चासोपूर्वक पछ्याइरहेका छन् । सर्वोच्चले देशको भावि दिशालाई निर्देश गर्ने भएकाले पनि विषय राष्ट्रिय महत्वको बनेको हो । तर, लम्बेतान न्यायिक प्रक्रियाले गर्दा तत्काल सर्वोच्चले मुद्दा किनारा लगाउन सक्ने स्थिति छैन ।

    यति महत्वको विषयलाई छिट्टै किनारा लगाउन सके कम्तीमा वार या पारको अवस्थामा देश पुग्थ्यो भन्ने धेरैले सोचिरहेका छन् । अहिलेकै प्रक्रियाबाट जाँदा यो मुद्दाको छिनोफानो हुन महिनौं लाग्ने देखिन्छ । यतिसम्म कि कतिपयले सरकारबाट घोषित निर्वाचन मितिसम्म पनि सर्वोच्चको फैसला नआउने हो कि भन्ने आशंकासमेत गर्न थालेका छन् ।

    किन हुन्छ ढिलाइ ?

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा उस्तै प्रकिृतिका १३ वटा रिट दायर भएका थिए । यी सबै रिटलाई एकीकृत गरेर सुनवाइ भइरहेको छ । तर, पनि फैसलामा जान ढिलाइ हुनुको मुख्य कारण हो मुद्दामा संलग्न वकीलहरूको भीड ।

    संसद विघटनको मुद्दामा पक्ष र विपक्षमा बहस गर्नेहरूको ठूलै जुलुस छ । विघटनविरुद्धको रिटको पक्षमा बहस गर्न डेढ सयभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन् । त्यस्तै विपक्षी (सरकार) का तर्फबाट ८० भन्दा बढी कानुनविद्ले वकालतनामा बुझाएका छन् । यसरी कुल मिलाएर झण्डै अढाई सय कानून व्यवसायी यो मुद्दामा संलग्न छन् । उनीहरू सबैले बहसको मौका पाउनुपर्ने भएको फैसलामा जान ढिलाइ भएको हो ।

    सर्वोच्चले मुद्दालाई चाँडो किनारा लगाउन विभिन्न प्रयास नगरेको होइन । सर्वोच्चमा सातामा दुई दिनमात्रै संवैधानिक इजलास बस्ने प्रचलन थियो । संसद विघटनको मुद्दामा भने दैनिक नै संवैधानिक इजलास बस्दै आएको छ ।

    घोषित चुनाव आउन तीन महिनामात्रै बाँकी रहेको अवस्थामा अदालतको निर्णय आउन ढिलाइ भएर कतै ‘लगनपछिका पोते’ बन्न त होइन भन्ने चिन्ता कतिपय कानून व्यवसायीले व्यक्त गरेका छन् ।

    संवैधानिक इजलासले ढिलै भए पनि बहसलाई छोट्याएर छिटो निष्कर्षमा पुग्न खोजेको देखिन्छ । अहिले रिट निवेदकका तर्फबाट बहस गरिरहेका वकीलहरूलाई १५-१५ मिनेटको समयसीमा दिइएको छ । नत्र यसअघि एकैजना वकीलले ४-५ घन्टासम्म बहस गर्थे । अहिले पनि निवेदकहरूले नै बढी समय लिने गरेको र कतिपय अवस्थामा इजलासले पनि घण्टौसम्म बहसको छुट दिएको देखिन्छ ।

    एउटै विषय भएकाले न्यायाधीश र वकीलहरूबीच हुने प्रश्नोत्तर पनि लगभग उस्तै हुन्छन् । न्यायाधीशले सोध्ने प्रश्न र वकीलले गर्ने तर्कहरू बारम्बार दोहोरिएका छन् । यसले गर्दा महत्वपूर्ण अदालती समयको नष्ट भइरहेको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अब बहसमा धेरै समय खर्चन नहुने बताउँछन् ।

    ‘यसलाई चाडो टुंग्याउनुपर्छ । धेरै विषयवस्तु त इजलासको सामु आइसकेका छन् । लामो बहस आवश्यक छैन । पक्षका वकीलहरूले पनि बहस छोट्याउन सहयोग गर्नुपर्छ,’ त्रिपाठीले नेपालप्रेससँग भने ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइको क्रममा बहस गर्दै ।

    नेपाल बार एसोसियसनका पूर्वमहासचिव अधिवक्ता सुनील पोखरेल पहिलो दिन नै बहस व्यवस्थापनको विषय उठे पनि इजलासले वेवास्ता गर्दा लामो समय लागेको बताउँछन् । ‘पहिलो दिन नै हामीले बहस व्यवस्थापन गरौं भनेका थियौं । त्यतिबेला नै पक्ष र विपक्षलाई समय छुट्याइदिएको भए यति समय लाग्दैनथ्यो,’ पोखरेलले नेपाल प्रेससँग भने ।

    इजलासले वकीललाई नभई पक्ष वा विपक्षलाई समय तोक्नुपर्ने पोखरेलको सुझाव छ । ‘अझै पनि बहस व्यवस्थापन गर्न सकिन्छ । पक्ष र विपक्षलाई निश्चित घण्टा तोकिदिने हो भने उनीहरू आफैं व्यवस्थापन गरेर बहसमा आउँछन् । जसले मुद्दालाई छिटो बनाउन सक्छ,’ पोखरेलले भने । इजलासले सबैलाई बहस खुला गर्नुको साटो लिखित धारणा मागेर पनि बहस छोट्याउन सक्ने उनले बताए ।

    विगतको दृष्टान्त

    नेपालमा प्रजातन्त्र पुन:स्थापनायता विभिन्न प्रधानमन्त्रीले अल्पायूमा संसद विघटन गरेका छन् । ती विघटनविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो, र फैसला हुन लामै समय लागेको थियो ।

    २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गरेपछि परेको मुद्दामा सर्वोच्चले २ महिना लगाएर फैसला गर्‍यो । यस्तै, २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटन सम्बन्धी मुद्दामा फैसला दिन सर्वोच्चले साढे २ महिना लगायो । कोइरालाले गरेको विघटनलाई सर्वोच्चले सदर गरेको थियो भने मनमोहनले गरेको विघटनलाई उल्टाएको थियो ।

    २०५४ सालमा तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापाले गरेको विघटन सिफारिसमा तत्कालीन राजा वीरेन्द्रको मागअनुसार सर्वोच्च अदालतले महिना दिनभित्रै संसद विघटन वैधानिक नहुने राय दिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ जेठ ८ गते संसद विघटन गरेपछि सर्वोच्चमा पुगेको मुद्दामा डेढ महिनामा फैसला आएको थियो ।

    संसद विघटनविरुद्ध विगतमा पनि अदालतले लामो समय लिएर निर्णय गरेको देखिन्छ । जानकारहरू यसपटक विगतमा भन्दा बढी समय लाग्ने सम्भावना बढेको बताउँछन् । संवेदनशीलताको दृष्टिकोणले आम नेपाली र अन्तर्राष्ट्रिय समुदाय समेतको ध्यान सर्वोच्चले खिचेको छ । संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन र निरन्तरताको समेत प्रश्न उठ्न थालिसकेकाले बहसलाई नै छोट्याए छिटो निष्कर्षमा पुग्नुपर्ने दबाब सर्वोच्चलाई छ ।

    झारखण्डको इतिहास दोहोरिने चिन्ता

    प्रतिनिधिसभा विघटनसँगै सरकारले निर्वाचनको घोषणासमेत गरिसकेको छ । आगामी वैशाख १७ र २७ गते दुई चरणमा नयाँ चुनाव गर्ने भनिएको छ । घोषित चुनाव आउन तीन महिनामात्रै बाँकी रहेको अवस्थामा अदालतको निर्णय आउन ढिलाइ भएर कतै ‘लगनपछिका पोते’ बन्न त होइन भन्ने चिन्ता कतिपय कानून व्यवसायीले व्यक्त गरेका छन् ।

    वरिष्ठ अधिवक्ता त्रिपाठीले भारतको झारखण्ड विधानसभा विघटनविरुद्धको मुद्दामा जस्तो अवस्था आउन दिन नहुने बताउँछन् ।

    ‘झारखण्डमा विधानसभा विघटनविरुद्धको मुद्दामा यति लामो बहस भयो कि बहस नसकिदै चुनाव आइहाल्यो । अदालतले मुद्दाको फैसला नदिई चुनावमा जानुपर्ने अवस्था बन्यो । त्यसबाट पाठ सिक्नुपर्छ,’ त्रिपाठीले भने ।

  • प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगलाई पत्र बुझाएर फर्कियो (पत्रसहित)

    प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगलाई पत्र बुझाएर फर्कियो (पत्रसहित)

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्ष केपी अ‍ोली पक्षसँगका छलफलमा सहभागी नभई पत्र बुझाएर निर्वाचन आयोगबाट फर्किएको छ ।

    आफ्नो समूहका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेको र माघ १८ अघि आयोगमा उपस्थित हुन नसक्ने पत्र बुझाएर फर्किएका नेता राजेन्द्र पाण्डेले बताए ।

    केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरी पठाइएको पत्रमा ‘माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुवै अध्यक्ष माईघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनैतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भई छलफल गर्न चाहनु भएको हुँदा आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको’ जानकारी गराइएको छ ।

    माघ १८ पश्‍चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न पत्रमा निर्वाचन आयोगसमक्ष अनुरोध गरिएको छ ।

  • नेकपा आन्तरिक कलहको बन्धक बन्यो प्रदेशसभा

    नेकपा आन्तरिक कलहको बन्धक बन्यो प्रदेशसभा

    विराटनगर । नेकपाको आन्तरिक कलहका कारण प्रदेश १ सभाको बैठक अनिश्चिततातर्फ धकेलिएको छ। पार्टीको आन्तरिक विवादले प्रदेशसभा बन्धक बनाइएको भन्दै टिप्पणीसमेत बढेको छ ।

    माघ ७ देखि शुरू भएको प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चितकालीन स्थगित गरिएको छ । पहिलो बैठक २ मिनेट पनि नबसी स्थगित गरिएको थियो ।

    दोस्रो बैठकको मिति तय भएको छैन । प्रदेश सभाको बैठक नियमित गर्नेबारे दलहरूबीच संवादसम्म हुनसकेको छैन ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरुको तर्फबाट माघ २० सम्म प्रदेश सभाको बैठक डाक्न भद्रसहमति भएकोले सोही अनुसार पर्खाइमा रहेको बताए ।

    सहमति अनुसार अबको तीन दिनभित्र बैठक बोलाउनुपर्ने भएपनि सभामुखले मिति तय गरी सूचना ननिकालेकोमा उनले आपत्ति जनाए ।

    ‘नेकपाकाे आन्तरिक कलहमा प्रदेशसभा बन्धक बनाउन पाइँदैन’ उनले भने,‘तोकिएको समयभित्र सभा चल्नुपर्छ। त्यसो हुन नसके कांग्रेस चुप भने बस्दैन।’

    नेपाली कांग्रेस र नेकपाकै प्रचण्ड-माधव समूहका नेताहरू प्रदेश सभा बैठकलाई नियमितता दिनुपर्ने पक्षमा छन् ।

    तर, सत्तारुढ (ओली) पक्ष भने संसदमा कुनै बिजनेश पनि नलाने र संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल पनि गर्न नदिने रणनीतिमा छ ।

  • प्रचण्डको प्रतिनिधित्व गरेर तीन नेता निर्वाचन आयोगमा जाँदै

    प्रचण्डको प्रतिनिधित्व गरेर तीन नेता निर्वाचन आयोगमा जाँदै

    काठमाडौं । निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठकमा नेकपाको प्रचण्ड-माधव नेपाल पक्ष पनि सहभागी हुने भएको छ ।

    तर, दलको आधिकारिकता विवाद नै कायम रहेको दाबी गर्ने सो पक्ष चुनावी प्रयोजनको छलफलमा भने सहभागी नहुने बुझिएको छ ।

    आयोगले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाललाई नै मानेर छलफलका लागि बोलाएको छ । प्रचण्डको पक्षबाट लीलामणि पोखरेेल,राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा जाँदैछन् ।

    आफूहरु आयोगमा जाने तर त्यसपछिको छलफल हेरेर थप कदम चालिने पाण्डेले बताए । आयोगले अध्यक्षलाई नै बोलाएको र आफ्नो पक्षका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेकाले त्यही सूचना दिइने पोखरेलले बताए । केपी ओली पक्षबाट भने महासचिव विष्णु पौडेल र सुवास नेम्वाङसहित सातजना सहभागी हुँदैछन् ।

  • नेकपा आधिकारिकता विवाद टुंगियो, अब ओलीको हस्ताक्षरमा चुनावी प्रक्रिया चल्छ

    नेकपा आधिकारिकता विवाद टुंगियो, अब ओलीको हस्ताक्षरमा चुनावी प्रक्रिया चल्छ

    काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंगो लगाइसकेकाले अब चुनावी प्रक्रिया शुरु भएको दाबी गरेका छन् ।

    निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको भन्दै नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानूनी विवाद नै नरहेको दाबी गरे ।

    नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले भने, ‘आधिकारिकताको कुरा अब सकियो । हाम्रा केही साथीभाइहरु मनमनै आत्तिएर के बोल्दै हिंड्नुभएको छ । तर नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’

    नेम्वाङले निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षलाई पार्टी विवादको सन्दर्भमा छलफल गर्न नबोलाएको प्रष्ट पारे । विवादको टुंगो लागिसकेको भन्दै उनले संविधान र कानूनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

    नेम्वाङले भने, ‘हाम्रा साथीभाइ ४४१ जनालाई आयोगले मान्यता दियो अब हामी नै हौं भन्दै हिंड्नुभएको छ । आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाई नै मान्यता दिएको हो । अब उहाँहरुलाई चित्त नबुझे अर्को दल दर्ता गर्न जान सक्नुहुन्छ ।’

  • ओली पक्षबाट निर्वाचन आयोगमा जाने नेता तोकिए, प्रचण्ड-माधव पक्ष छलफलमै

    ओली पक्षबाट निर्वाचन आयोगमा जाने नेता तोकिए, प्रचण्ड-माधव पक्ष छलफलमै

    काठमाडौं । निर्वाचन प्रयोजनका लागि दल दर्ता र हालसम्म निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आज आयोगमा बोलाएको छ ।

    आयोगले एउटै पत्रमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरेर पाँच-पाँच जना प्रतिनिधि पठाउन आग्रह गरिएकोमा ओली पक्षले सात जनालाई आयोगमा पठाउने भएको छ ।

    प्रचण्डको पक्षबाट भने जाने वा नजाने टुंगो भइनसकेको स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले बताए । यद्यपी आयोगले बोलाइसकेको हुनाले कुनै न कुनै रुपमा सूचना दिइने उनले नेपालप्रेसलाई बताए ।

    ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् । त्यस्तै पहिलेदेखिनै निर्वाचन आयोगमा पत्राचार गर्ने अधिकारीका रुपमा कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जादैछन् ।

    आयोगले दुवै अध्यक्षलाई आफ्ना प्रतिनिधिसहित उपस्थित हुन आग्रह गरेको छ । प्रचण्ड पक्षका नेता पोखरेलले आफूहरु छलफलमा रहेको बताए । आयोगले नेकपाको विवादको बारेमा छलफल नहुने गरि पत्राचार गरेको छ ।

    नेकपा विभाजन नभएको ठहर गरेको आयोगले पठाएको पत्रमा पनि अध्यक्ष भनेर पहिलो नम्बरमा केपी शर्मा अ‍ोली र दोस्रो नम्बरमा पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेको छ । संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा ४८ अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्न र आयोगले निर्वाचन तयारीका सन्दर्भमा हालसम्म गरेका कामको छलफल गर्न नेकपा केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो ।

    ओलीलाईनै अध्यक्ष मानेर आयोगले निर्वाचनको तयारीका लागि बोलाएकाले प्रचण्ड-माधव पक्ष आन्तरिक छलफलमा छ । सो पक्षले निर्वाचनको काम रोक्न आयोगलाई आग्रह गरिसकेको छ ।

  • गर्धन दुख्यो ? यसरी गर्नुस् घरेलु उपचार

    गर्धन दुख्यो ? यसरी गर्नुस् घरेलु उपचार

    गर्धन दुखाइ तपाईंले आफ्नो दैनिक जीवनमा गर्नुभएका स-साना गल्तीका कारण हुन सक्छन । आउनुस् हामी यस कष्टको कारण र व्याख्याबारे छलफल गरौं ।

    डाक्टर भन्छन् कि एक व्यक्तिले दिनमा लगभग ६ देखि १० घण्टा सुत्नु पर्छ। त्यसो गर्दा हामी अर्को दिन काम सजिलोसँग गर्न सक्दछौं । उचित निद्राको साथ, मुटु, मस्तिष्क, र पाचन पथसहित सजिलै स्वस्थ कार्य गर्न सकिन्छ ।

    यस पीडाको सबैभन्दा सामान्य कारण जब तपाईं सुत्नुहुन्छ तपाइको गर्धनको पोस्चर कस्तो छ भन्ने कुरामा भर पर्छ । सुत्दा तपाईंले कडा वा नरम सिरानी के प्रयोग गर्नुहुन्छ एकदमै ख्याल राख्नुपर्दछ । साथै, यो निश्चित गर्नु जरूरी छ कि टाउको र तपाईंको शरीरको लाइन सिरानीमा मिल्दो छ/छैन । यसले घाँटी वरपरको मांसपेशीको तनाव सन्तुलनमा राख्न मद्दत गर्दछ।

    म निद्रा र आसनको महत्त्वमा जोड दिन चाहन्छु, किनकि धेरै जसो कडा सिरानी प्रयोग गर्नेहरूले घाँटीभित्र र वरिपरि कठिनाइ र दुखाइ सामना गर्छन् ।

    तपाईंको प्रश्न हुन सक्छ – गर्धन दुखाइ र सिरानीको सम्बन्ध के छ ? र, समस्या कहाँ छ ?

    हामीले प्रयोग गर्ने सिरानी र गर्धन दुखाइको सम्बन्ध शतप्रतिशत छ । जब मानिसले गर्धन दुखाइको समस्याबारे डाक्टरलाई भन्छन, उनीहरूलाई पहिले सिरानी प्रयोगमा रोक लगाइन्छ । यद्यपि, कसैले पनि त्यसो गर्नुको कारण सोध्दैनन्।

    तपाईं यदि गलत सिरानीको प्रयोग गरेर सुतिरख्नु भएको छ भने बिहानै ओछ्यानबाट उठ्दा घाँटीमा रहेको सबैभन्दा महत्त्वपूर्ण मांसपेशी ‘ट्रापेजियस’ दुखेको महसुस गर्नुहुन्छ ।

    यसको कारण इनन पंच सामान्य अवस्थाबाट कडा हुनु हो जसले सिरानीमा पर्ने गर्धनको वरपर चिल्लो मांसपेसीहरूमा परिवर्तन हुन्छ। जब हामी टाउको एक छेउमा फर्काउँछौ यी मांसापेसीमा तनाव बढ्छ, त्यसको नतिजा टाउको दुख्ने र पीडा हुने गर्दछ. यसलाई सर्विको जेनिक हेडेक भनिन्छ, जहाँ सर्विको को अर्थ गर्धन उठेको हो।

    केही व्यक्ति फिजियोथेरापीमा आउँदा चिकित्सा सहायता र उपचार खोज्नुहुन्छ तर टाउको दुखाइको पछिल्लो मुख्य कारण घाँटीका मांसपेसेहरू जकडिनु नै हो।

    यदि तपाईं गर्धन दुखाइ अनुभव गर्दै हुनुहुन्छ भने, सबैभन्दा पहिला सिरानी बदल्नुहोस् । तपाईं त्यस्तो सिरानी किन्नुहोस जुन तपाईंको टाउकोको स्थिति सीधा राख्न र शरीर लाइनमा राख्न मद्दत गरोस् । यस्ता सिरानीहरू पसलहरूमा मज्जाले उपलब्ध हुन्छन्।

    यद्यपि घाँटी दुखाइ भएका व्यक्तिहरू आफ्नै लागि विशेष आकारको सिरानी लिन सक्छन् त्यस्ता सिरानी प्रयोग गर्दा यो सुनिश्चित गर्नुपर्दछ कि गर्धन र थोरसिक हड्डीहरू एक सीधा लाइनमा स्थित हुन् ।

  • द्वन्द्वपीडितको पीडामा मल्हम लगाउँछौ : मुख्यमन्त्री शाही

    द्वन्द्वपीडितको पीडामा मल्हम लगाउँछौ : मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णालीमा सत्य निरुपण तथा मेलमिलाप आयोगले बिहीबारदेखि परिचयपत्र वितरण शुरू गरेको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले द्वन्द्वको समयमा सरकारी पक्षबाट पीडित पूर्णप्रसाद पौडेललाई परिचय पत्र दिएर प्रदेशमा अभियानको शुरूआत गरे ।

    पौडेलले भने, ‘हामी पीडित भएको दशौं वर्षपछि परिचयपत्र मात्र पाएका छौं ।’ अब परिचयपत्रले मात्र नभई हाम्रो सपना पूरा गराउने तर्फ पनि सबै लाग्नुपर्छ । प्राप्त उपलब्धिको रक्षा र लोकतन्त्र जोगाएर राख्न आग्रह गर्दछु ।’

    आयोगका अध्यक्ष गणेशदत्त भट्टले देशभरमा आयोगमा ६३ हजार ७१८ उजुरी परेको बताउँदै त्यसमध्ये ३७८७ मा प्रारम्भिक कारवाही भएको बताए । ‘१९९० मुद्दाको हामीले छानबिन गरिसकेका छौं । १७३ मुद्दाको विस्तृत छानबिन गर्दैछौं । १०१ मा परिपूर्णको फाराम भराइरहेका छौं भने ३८१ उजुरी तामेलमा पठाएका छौं’, उनले भने, ‘अबको केही दिनमा मुकाम थपेर भएपनि आयोगले द्वन्द्वपीडितहरुको उजुरीलाई किनारा लगाई न्याय दिलाउने प्रयास गर्छ । यसमा सबै पीडितहरु ढुक्क भए हुन्छ ।’

    कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जतिसक्दो चाँडो मुद्दाको किनारा लगाउन आग्रह गरे । ‘तपाईंहरु मुद्दाको किनारा तत्काल लगाउनुहोस् । उहाँहरूको पीडामा मल्हम हामी लगाउँछौं ।’ उनले प्रदेश सरकार द्वन्द्वपीडितका लागि राहत दिने उद्देश्यले कानून नै बनाएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

  • प्रचण्ड-माधवलाई ईश्वर पोखरेलको जवाफ – नयाँ पार्टी बनाउन सक्नुहुन्छ

    प्रचण्ड-माधवलाई ईश्वर पोखरेलको जवाफ – नयाँ पार्टी बनाउन सक्नुहुन्छ

    इटहरी । उपप्रधानमन्त्री एवं नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् ।

    विहीबार सुनसरीको दुहबीमा जिल्ला कार्यकर्ता भेलामा प्रचण्ड-माधव पक्षलाई लक्षित गर्दै उनले भने, ‘नयाँ पार्टी बनाउन सक्नुहुन्छ । अर्को छुट छैन ।’ ओली नेतृत्वकै नेकपा आधिकारिक हो । यसमा कसैले भ्रम पाल्न आवश्यक छैन ।’

    कार्यक्रममा संविधानसभा सदस्य रेवतीरमण भन्डारी, प्रदेशसभा सांसदद्वय सर्वध्वज सावा, लिलम बस्नेत, नेतृ भगवती चौधरीलगायत उपस्थित थिए ।

  • बास्तोलालाई हिरासतमा राख्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

    बास्तोलालाई हिरासतमा राख्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र वास्तोलालाई हिरासतमा राखिराख्नुको कारणको जवाफ पेस गर्न आदेश दिएको छ ।

    प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा ‘बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नुनपर्ने हो ?’ भनी जवाफ पेस गर्न भनिएको छ ।

    नेता बास्तोलाकी पत्नी हिमा बस्तोलाले प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको आदेश दिन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

    २९ पुसमा ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो ।

  • ट्यांकर दुर्घटनामा चालकको मृत्यु

    ट्यांकर दुर्घटनामा चालकको मृत्यु

    दाङ । रोल्पा नगरपालिका १ भदौरेमा इन्धन बोकेको ट्यांकर विहीबार भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।

    नेपालगन्जबाट रोल्पाको जलजला पेट्रोल पम्पमा इन्धन लिएर जाँदै गरेको ना. ४ ख २२५७ नम्बरको ट्यांकर दुर्घटनामा परी नेपालगन्ज निवासी चालक हरबजन सिंहको मृत्यु भएको हो । रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीका अनुसार दुर्घटनास्थलबाट उपचारका लागि लिवाङ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

    दुर्घटनामा सहचालक सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ ।

  • वाग्मतीलाई पराजित गर्दै आर्मी चौथो पटक फाइनलमा

    वाग्मतीलाई पराजित गर्दै आर्मी चौथो पटक फाइनलमा

    काठमाडौं । वाग्मतीलाई ९४ रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको आर्मीले समूह ‘बी’को विजेता वाग्मतीलाई सहजै पराजित गर्दै लगातार चौथो पटक फाइनल यात्रा तय गरेको हो ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो । फाइनल प्रवेशका लागि २३० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो ।

    टप अर्डर फ्लप भएसँगै दयनीय सुरुआत गरेको वाग्मतीले ६.२ ओभरमा १८ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि मध्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्ने कोशिश गरे पनि सफल हुन सकेनन् ।

    वाग्मतीका लागि सर्वाधिक ४७ रन जोडेका ज्ञानेन्द्र मल्लले ६० बलमा ४ चौका प्रहार गरेका थिए । त्यस्तै, बिपिन आचार्य ४७ बलमा २३ रन जोडेर पेभेलियन फर्किँदा नन्दन यादवले २२ तथा अदिल खानले १० बाहेक अन्य ७ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखियाले ८.२ ओभरमा २४ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । बिक्रम सोबले १० ओभरमा २५ रन खर्चेर ५ मेडनसहित ३ विकेट लिए भने सुशन भारीले १० ओभरमा ३६ रन खर्चेर १ मेडनसहित ३ विकेट चट्काए ।

    पहिलो इनिङमा खराब सुरुआत गरेको आर्मीले ३.५ ओभरमा १७ रन बनाउँदा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो ।

    आर्मीका लागि राजेशले ९१ बलमा ४ चौका र २ छक्कासहित ६५ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । त्यस्तै, ६१ बलको सामना गरेका भीम सार्कीले ५ चौका र १ छक्कासहित ४० रन जोडेका थिए । ५८ बलमा ३ चौकासहित ३५ रन बनाएका बिक्रम सोब विकेटकिपर आकाश थापाको हातबाट क्याच आउट भए ।

    त्यसअघि लोकेश बम २३ तथा कप्तान विनादे भण्डारी १० रन बनाएर पेभेलियन फर्केका थिए ।

    वाग्मतीका लागि गौतम केसीले १० ओभरमा ६१ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए । उनले आर्मीका सुरुआती ती ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । बिपिन आचार्य, रामनरेश गिरी, नन्दन यादव र तिलक भण्डारीले १० ओभर बलिङ गर्दै एक/एक विकेट लिए ।

    आर्मीले शनिबार हुने फाइनलमा उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबको सामना गर्नेछ । एपिएफ बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

    एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा आइपुगेको थियो भने नेपाल पुलिस क्लब समूह ‘बी’को उप विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो ।

    प्रधानमन्त्री कपको चौथो संस्करणसम्म आइपुग्दा अहिले सम्म गैरविभागीय टोलीले फाइनल खेलेका छैनन् । तर, आज आर्मीलाई पराजित गरेर वाग्मती पहिलो पटक फाइनल पुग्ने प्रदेश स्तरीय टोली बन्ने मौका थियो । तर, ब्याटिङ कोल्याप्स भएसँगै वाग्मती ऐतिहासिक फाइनल प्रवेशबाट वञ्चित हुनुपर्‍यो ।

    पछिल्लो पटक २०१९ मा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यस्तै, २०१८ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

    २०१७ मा भएको पहिलो संस्करणको फाइनलमा वर्षाका कारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उपाधि बाँडेका थिए ।

    जारी सिजनको विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिने दुई टोली- वाग्मती र नेपाल पुलिस क्लबले ५०/५० हजार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • माधव नेपालको टिप्पणी- केपी ओलीलाई तपाईं भन्न पनि मन लाग्दैन

    माधव नेपालको टिप्पणी- केपी ओलीलाई तपाईं भन्न पनि मन लाग्दैन

    बुटवल । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई तपाई भनेर सम्मान गर्न पनि मन लाग्न छाडेको बताएका छन् ।

    विहीवार प्रचण्ड-माधव पक्षले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हुन त केपी ओलीलाई के तपाईं भन्नुजस्तो लाग्छ । राम्रो काम गरे पो सम्मान गर्नु ? केपी ओली सम्मानका लागि योग्य छैनन् ।’

    अरुलाई अपमानित गर्ने,होच्याउने र व्यंग गर्ने बाहेक ओलीले केही नजानेको नेपालले टिप्पणी गरे । नेपालले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेर केन्द्रीय कमिटीको दुई तिहाई बहुमतले अध्यक्ष बनाएकाले आफूनै आधिकारिक अध्यक्ष बताए ।

    उनले भने, ‘केपी ओलीले मसँग हारेको माधव नेपाललाई अध्यक्ष चाहियो भनेछन् । नवौं महाधिवेशनमा म १५/२० भोटले हारे पनि जालझेल गरेर ओलीले जितेका हुन् । खासमा उनले जितेकै होइनन्,जाली तरिका अपनाएका हुन् । तैपनि मैले मान्देको हो ।’

    भाषणको सबै समय अ‍ोलीलाई गाली गर्न खर्चेका नेपालले गणतन्त्रको विरोध गरेपनि २०६३ सालको जनक्रान्तिपछि आफूले उपप्रधानमन्त्री बनाइदिएको बताए ।

  • ओलीले भने- जनतालाई प्रणाम गरेर प्रचण्डलाई चितवनबाट जिताइयो (भिडियो)

    ओलीले भने- जनतालाई प्रणाम गरेर प्रचण्डलाई चितवनबाट जिताइयो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई प्रणाम गरेर प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् ।

    ट्रेड युनियन महासंघले राष्ट्रिय सभागृहमा आयोजना गरेको एक कार्यक्रममा ओलीले भने, ‘ ७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् । त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो ।’

    ओलीले भने, ‘उहाँ त यस्तो ‘फ्लोटिङ’ हुनुहुन्छ नी कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’

    जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको उनको टिप्पणी छ ।

    ओलीले भने, ‘जंगलमा न हिजो बस्नु भएको थियो न अब बस्नु हुन्छ । हिजो जंगल बस्नु भएको हैन उहाँ । दिल्ली, लखनऊमा हुनुहुन्थ्यो हामीलाई थाहा छ । जंगलमा उहाँले कार्यकर्ता र लडाकु बसाउनु भयो । आफूहरू त जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’

  • इजलासमा बहस- ताजा त फलफूल, तरकारीमात्र हुन्छ जनादेश होइन

    इजलासमा बहस- ताजा त फलफूल, तरकारीमात्र हुन्छ जनादेश होइन

    काठमाडौं । वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले जनादेश बासी नभइसकेकोले ताजा जनादेश भन्न नमिल्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा बिहीबार बहस गर्दै उप्रेतीले, ‘ताजा त फलफूल, तरकारी , खानेकुरा पो हुन्छ । जनादेश कसरी ताजा हुन्छ ?’ भनेर प्रश्न गरे ।

    संविधानले जनादेश ५ वर्षसम्म ताजै रहने र ५ त्यो अवधिसम्म बासी नहुने व्यवस्था गरेको प्रष्‍ट्याए ।

    ‘ताजा जनादेश भनेको कहिले हो श्रीमान ? प्रधानमन्त्रीलाई सपथ नलिदै ताजा जनादेश लिन मन लाग्ला । कुनै प्रधानमन्त्रीलाई एक महिनामै ताजा जनादेश लिन मन लाग्ला । श्रीमान यो ताजा जनादेशको घनचक्कर कहिलेसम्म घुमाइरहने ?’, उनले भने, ‘ताजा जनादेश आवश्यक छैन । त्यसैले ताजा जनादेशका लागि विघटन गरिनु संवैधानिक होइन श्रीमान ।’

  • अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक अग्रवाल पक्राउ

    अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक अग्रवाल पक्राउ

    काठमाडौं । उखु किसानको पैसा नदिने चिनी उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले नेपालप्रेसलाई बताए ।

    उखु किसानको बक्यौता रकम भुक्तानी नगरेकाले उनीविरुद्ध सर्लाही र नवलपरासीमा ठगी मुद्दा दर्ता भएकाले उनलाई पक्राउ गरिएको सिंहले बताए । अग्रवाल नवलपरासी पश्चिमस्थित इन्दिरा चिनी मिलका समेत सञ्चालक हुन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी मिलले अहिलेसम्म ९ करोड ९० लाख रुपैयाँ मात्रै किसानलाई भुक्तानी गरेको छ । मिलले किसानलाई अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

    कृषकलाई २१ दिनभित्र उद्योगीबाट भुक्तानी दिलाइदिने भनेपछि पुस १३ गते सरकार र किसानबीच ४ बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि किसानहरुले आन्दोलन फिर्ता गरेका थिए ।

  • दुई मूर्धन्य व्यक्तित्व हुलाक टिकटमा, नामअघि डा. लेखिंदा कौतुहल

    दुई मूर्धन्य व्यक्तित्व हुलाक टिकटमा, नामअघि डा. लेखिंदा कौतुहल

    काठमाडौं । मन्त्रिपरिषद्को गत माघ ८ गते बसेको बैठकले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गर्‍यो । दुई आदरणीय व्यक्तित्वहरुलाई राज्यले दिएको सम्मानलाई सबैले सराहना गरे । तर, हुलाक टिकटको तस्वीर सार्वजनिक भएपछि भने विभिन्न टीका-टिप्पणी भएका छन् ।

    टिकटमा घिमिरे र जोशी दुवैको नामअगाडि ‘डा.’ लेखिएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो । ‘डा.’ को अर्थ डाक्टर हो, जो दुईथरी मानिसहरुले प्रयोग गर्छन् । एउटा चिकित्साशास्त्र पढेका र अर्को कुनै विषयमा विद्यावारिधि गरेका । घिमिरे र जोशी दुवै याे श्रेणीमा पर्दैनन् । यद्यपि, उनीहरू दुवै मानार्थ विद्यावारिधि प्राप्त हुन् ।

    किन लेखियो डा. ?

    मन्त्रिपरिषदले दुई व्यक्तित्वहरुको सम्मानार्थ उनीहरूको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णय गर्यो । मन्त्रिपरिषदको निर्णयमा उनीहरुको नाम मात्रै उल्लेख छ । मानार्थ विद्यावारिधि प्राप्त गर्नेले नामअघि डा. प्रयोग गर्ने प्रचलन सामान्यतया छैन । त्यसोभए हुलाक टिकटमा कसरी डा. थपियो त ?

    यस विषयमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्मासँग जिज्ञासा राख्दा उनले अनभिज्ञता दर्शाए ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय मैले हेरिसकेको छैन, यसमा थप केही बोल्न मिल्दैन ।’

    हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता विनोदप्रसाद उपाध्याय पनि यसबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

    उच्च स्रोतका अनुसार दुई व्यक्तित्वहरुकै इच्छामुताबिक नामअघि डा. राखिएको हो । टिकट प्रकाशनको प्रयोजनार्थ दुवैतर्फबाट पठाइएको बायोडाटामा नामअघि डा. उल्लेख गरिएको स्रोतको भनाइ छ । माधव घिमिरे जीवित छँदै उनको बायोडाटा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा प्राप्त भएको थियो ।

    उनीहरु दुवैजनाले मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेको आधारमा कतिपय संघ-संस्थाले सम्मानपूर्वक नामअघि डा. लेख्ने गर्थे । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा गरेको योगदान कदरस्वरूप जोशीलाई काठमाडौँ विश्वविद्यालयले विद्यावारिधि मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो । नेपाली साहित्यमा अविच्छिन्न योगदान पुर्‍याएका राष्ट्रकवि घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले नै २०७२ सालमा मानार्थ विद्यावारिधिको उपाधि दिएको हो । घिमिरेलाई सरकारले २०७४ माघ २६ गते नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।

    ‘जोशीले हुलाक टिकटमा नामअघि डा. लेख्दा राम्रो हुने मौखिक सुझावसमेत दिनुभएको थियो,’ स्रोतले भन्यो ।

    सामाजिक सञ्जालको चर्चा

    टिकटमा दुवै व्यक्तित्वको नामअगाडि डा. लेखिएको कतिपयलाई चित्त बुझेको छैन । सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

    आम सञ्चारका प्राध्यापक भानुभक्त आचार्यले फेसबुकमा ‘मानार्थ पिएचडी र ‘पीएचडी’ फरक हुन् भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्, ‘मानार्थ पिएचडीलाई नामको अगाडि डा. लेख्ने कुरा उहाँहरूमाथिको मजाक हो । लेख्नै परेमा ‘मानार्थ विद्यावारिधि (फलानो विश्वविद्यालय)’ लेख्नुपर्छ ।’

    मानार्थ पद सम्बन्धित विश्वविद्यालयका हकमा मात्रै लागू हुने उनको भनाइ थियो । उनले उदाहरण दिंदै लेखेका छन्, ‘नेपाली सेनाले भारतीय सेनाप्रमुखलाई मानार्थ सेनापतिको सम्मान दिने चलन छ । यसको अर्थ ऊनै नेपालको सेनाप्रमुख भन्ने होइन ।’

    वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि हुलाकले सार्वजनिक गरेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘उहाँहरू आफैंमा पूर्ण हुनुहहुन्छ । उहाँहरूको नाम अगाडि डा. नथपेको भए अझ बढी यथार्थ र इज्जतिलो हुन्थ्यो । जे भए पनि सरकारले गरेको यो काम प्रशंसायोग्य छ ।’

    काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. बालचन्द्र लुइँटेल यसरी मानार्थ विद्यावारिधिमा डा. लेख्ने चलन नभएको बताउँछन् । हुलाक टिकटमा मानार्थ विद्यावारिधिलाई डा. लेखिनु अनौठो भएको उनको भनाइ छ ।

    ‘यसबारे कानून त छैन । नामको अगाडि डा. किन दिएको होला जस्ताे मलाई लाग्यो । हुलाक टिकटमा माधव घिमिरे भन्दा जति मीठो हुन्छ डा. थप्दा मीठो सुनिन्न । बाहिर पनि त्यस्तो लेख्ने चलन छैन’, उनी भन्छन् ।

  • मनमोहन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

    मनमोहन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

    काठमाडौं । सम्झौताअनुसार पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित भएका छन् ।

    अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सबै पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तोकिएको समय गुज्रिदासम्म व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेकोले आन्दोलन गर्न बाध्य भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, मनमोहन मेमोरीयल अस्पतालका सचिव निर्मल पोखरेलले बताए ।

    उनीहरूले श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतको माग राखेका छन् ।

  • बुटवलमा प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन शुरू

    बुटवलमा प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन शुरू

    रुपन्देही। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले बुटवलमा आयोजना गरेको विरोध प्रदर्शन शुरू भएको छ।

    केन्द्रीय संघर्ष समितिले तय गरेको आन्दोलनको नयाँ कार्यक्रमअन्तर्गत बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोधसभामा शुरु भएको हो।

    विरोधसभामा पश्चिम कपिलवस्तु, अर्घाखाँची र दाङसम्म, पूर्वनवलपरासी, उत्तर गुल्मी, पाल्पा तथा रुपन्देहीका दक्षिणी क्षेत्रका सबै पालिकाबाट आफ्नो समर्थकहरु ल्याइएको बताइएको छ।

    सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

  • निर्वाचनसम्बन्धी छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगले बोलायो

    निर्वाचनसम्बन्धी छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगले बोलायो

    काठमाडौं । निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्षलाई निर्वाचनका विषयमा छलफल गर्न बोलाएको छ।

    आयोगले पत्र पठाएर दुवै पक्षका अध्यक्ष वा अध्यक्षले तोकेका पाँच/पाँच जना प्रतिनिधिलाई बोलाएको हो।

    ‘भोलि साढे ११ बजे अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि पाँच/पाँच जना बोलाइएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपालप्रेससँग भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र तयारीका विषयमा छलफल गर्न बोलाइएको हो।’

    नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो। आयोगको निर्णयलाई दुवै पक्षले आ-आफ्नो जितका रूपमा व्याख्या गर्दै आएका छन् ।

  • लुम्बिनी प्रदेश : बजेट खर्च सुधारियो, विकास खर्च भने कम

    लुम्बिनी प्रदेश : बजेट खर्च सुधारियो, विकास खर्च भने कम

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा समय सकिँदा चालु र पुँजीगत गरी २२.८० प्रतिशत बजेट खर्च गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा करिब ४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा १८.६४ प्रतिशत बजेट खर्च भएको थियो ।

    त्यस्तै १ सय ९ स्थानीय तहलाई २ अर्ब ३० करोड ३३ लाख २३ हजार ४ सय ५० रूपैयाँ विनियोजन गरेको छ । प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले प्रदेश सरकारको बजेट खर्च सुधारिँदै गएको देखिएको बताउँछन् । खर्च गर्नसक्ने संयन्त्र र जनशक्तिको व्यवस्थापन हुँदै गएकाले बजेट खर्च सुधारिएको उनको भनाइ छ ।

    विकास बजेटमा कम खर्च

    तर चालु आर्थिक वर्ष ०७७।७८ को आधा समय सकिँदा कुल विकास बजेटको १८ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।

    प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार विकासका लागि प्रदेश सरकारले छुट्याएको १८ अर्ब ६६ करोड ९१ लाख २९ हजारमध्ये ३ अर्ब ५४ करोड २१ लाख ७१ हजार मात्रै खर्च भएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ३५ करोड २६ लाख रुपैयाँ बजेट पारित गरेको थियो । बजेटको चालुतर्फ २६.८५ प्रतिशत खर्च भएको छ ।

    चालु आर्थिक वर्षमा भएको विकास बजेट खर्च अघिल्लो आर्थिक वर्ष ०७६र७७ को सोही अवधिको भन्दा झिनो १.२६ प्रतिशत प्रतिशतले मात्रै धेरै हो । तथापि अघिल्लो बर्षको असार मसान्तसम्ममा ७९.२४ प्रतिशत विकास बजेट खर्च भएकाले चालु आर्थिक बर्षमा पनि सोही आँकडा बराबर नै बजेट खर्च हुनसक्ने मन्त्रालयका कर्मचारीको अनुमान छ ।

    तर, आर्थिक बर्षको बाँकी समयावधिमा बँचेको विकास बजेट खर्च गर्न भने चुनौतीपूर्ण रहेको देखिन्छ ।

    प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारको ध्यान विकास निर्माणबाट राजनीतिक सरगर्मीतिर मोडिएकाले अघिल्लो आर्थिक वर्षजस्तो विकास बजेट खर्च हुन नसक्ने कर्मचारीले अनुमान गर्न थालेका छन् ।

    चालु आर्थिक वर्षमा कूल पूँजीगत बजेटको ८५ प्रतिशतभन्दा धेरै पाएका भौतिक पूर्वाधार विकास मन्त्रालय, चालु आर्थिक वर्षमा कुल पूँजीगत बजेटको ८५ प्रतिशतभन्दा धेरै पाएका भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले क्रमशः २१.३६ प्रतिशत, १६.८५ प्रतिशत र १५.०८ प्रतिशत विकास बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिएका छन् ।

    भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पूर्वनिर्धारित लक्ष्यअनुसार जेठ मसान्तसम्ममा बजेट कार्यान्वयन गरिसक्ने बताउँछन् । उनले अधिकांश पूर्वाधार परियोजनाहरूको निर्माणकार्य शुरू भइसकेकाले पुँजीगत खर्च अपेक्षितरूपमा बढ्दै जाने बताएका छन् ।

  • वाग्मतीलाई फाइनल पुग्न २३० रनको लक्ष्य, आर्मीका राजेशले बनाए अर्धशतक

    वाग्मतीलाई फाइनल पुग्न २३० रनको लक्ष्य, आर्मीका राजेशले बनाए अर्धशतक

    काठमाडौं । राजेश पुलामी मगरको अर्धशतक प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा बाग्मती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको हो । खराब सुरुआत गरेको आर्मीले ३.५ ओभरमा १७ रन बनाउँदा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो ।

    आर्मीका लागि राजेशले ९१ बलमा ४ चौका र २ छक्कासहित ६५ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै, ६१ बलको सामना गरेका भीम सार्कीले ५ चौका र १ छक्कासहित ४० रन जोडेका थिए । ५८ बलमा ३ चौकासहित ३५ रन बनाएका बिक्रम सोब विकेटकिपर आकाश थापाको हातबाट क्याच आउट भए ।

    त्यसअघि लोकेश बम २३ तथा कप्तान विनादे भण्डारी १० रन बनाएर पेभेलियन फर्केका थिए ।

    बाग्मतीका लागि गौतम केसीले १० ओभरमा ६१ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए । उनले आर्मीका सुरुआती ती ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । बिपिन आचार्य, रामनरेश गिरी, नन्दन यादव र तिलक भण्डारीले १० ओभर बलिङ गर्दै एक/एक विकेट लिए ।

    प्रधानमन्त्री कपको चौथो संस्करणसम्म आइपुग्दा अहिले सम्म गैरविभागीय टोलीले फाइनल खेलेका छैनन् । तर, आज आर्मीलाई पराजित गरेर बाग्मती पहिलो पटक फाइनल पुग्ने प्रदेश स्तरीय टोली बन्न सक्ने छ । आजको विजेताले शनिबार हुने फाइनलमा विभागीय महारथी एपिएफको सामना गर्नेछ ।

     तस्वीर : क्यान ।

    एपिएफ बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

    आर्मी समूह ‘ए’को उपविजेताको रूपमा सेमिफाइनलमा आइपुगेको हो भने बाग्मती समूह ‘बी’को विजेता हो ।

  • युद्धकालमा बेपत्ता पारिएकाका परिवारलाई परिचयपत्र वितरण शुरू

    युद्धकालमा बेपत्ता पारिएकाका परिवारलाई परिचयपत्र वितरण शुरू

    काठमाडौं । तत्कालीन माओवादीको सशस्त्र युद्धमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण थालिएको छ ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बर्दियाको गुलरियामा बिहीबार एक कार्यक्रम गरी परिचयपत्र वितरण शुरु गरेको हो ।

    हालै मात्र सरकारले ‘लोकतन्त्रका योद्धा’ को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

    संयोजक ज्ञवाली आयोगले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका छन् ।

    ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदलले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार पाएको छ ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र युद्धका बेला राज्य र तत्कालीन विद्रोही पक्षबाट करिब २ हजार ६ सयजना बेपत्ता पारिएका परिवारहरूको निवेदन दर्ता गरिसकेको छ ।

    शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष मानिएको संक्रमणकालीन न्यायसम्बन्धी विषय लामो समयदेखि टुंगिन सकेको छैन ।

  • सुनको मूल्य १ सय घट्यो, कारोबार कतिमा ?

    सुनको मूल्य १ सय घट्यो, कारोबार कतिमा ?

    काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रूपैयाँ घटेको छ । बुधबार सुनको भाउ ७ सय घटेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ । बुधबार ९२ हजार १ सयमा कारोबार भएको थियो ।

    त्यस्तै तेजाबी सुन ९१ हजार ५ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    बुधबार एक हजार २५० रूपैयाँमा कारोबार भएको चाँदी तोलामा ५ रूपैयाँ घटेर बिहीबार एक हजार २ सय ४५ रुपैयाँ तोकिएको छ।