Author: Shyamkrishna Dahal

  • गाउँपालिका अध्यक्षले नै लगाए विद्यालयमा ताला

    गाउँपालिका अध्यक्षले नै लगाए विद्यालयमा ताला

    सुर्खेत । कालीकोटको पलाता गाउँपालिका-१ मा रहेको गणेश आधारभूत विद्यालयमा पालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आइतबार ताला लगाइदिएका छन् । विद्यालयमा ताला लगाइदिएपछि आजबाट शुरू हुने कक्षा ८ को परीक्षा अन्यौलमा परेको छ ।

    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मनप्रसाद न्यौपानेले पालिका अध्यक्ष दलबलसहित विद्यालय आएको र २ वटा कोठामा ताला लगाइदिएको बताए ।

    लक्ष्मणबहादुर बम (पलाता गाउँपालिका अध्यक्ष)

    ‘अध्यक्ष ज्यू दलबलसहित विद्यालयमा आउनु भएछ । उहाँले गाउँलेले खाडा आगालागीमा आफूहरुलाई साथ नदिएको, भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै आफैंले बनाइदिएको विद्यालयमा ताला हान्नु भयो । अहिले चार जना भन्दा बढी विद्यार्थीको झोला पनि कक्षाकोठामा छ ’, उनले भने, ‘खाडा आगलागी भएको समयमा विद्यालयमा चार कोठा थिए । अध्यक्ष आफैंले यहाँ आएर छत्र बमलाई ठेक्का दिएर २ कोठे कच्ची भवन बनाउन लगाउनु भयो । त्यो निर्णय विव्यसले गरेको छैन ।’

    जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गर्नु गलत भएको भन्दै अभिभावकहरूले ताला खोल्न दबाब दिएका छन् ।
    विद्यालयका प्रधानाध्यापक सर्प न्यौपानेले विद्यालयमा ताला लगाउनुको कारण आफूहरूलाई थाहा नभएको बताए । न्यौपानेले भने, ‘उहाँले विद्यार्थीलाई बाहिर निकालेर कक्षा कोठामा ताला लगाउनु भएको हो ।’

    अध्यक्ष बममाथि अधिकारको दुरुपयोग गर्दै आइरहेको, मनोमानी रूपमा बजेट खर्च गरिरहेको, आफन्त तथा आफ्ना आमाबुवाको असपतालको नाममा पालिकाले तिर्ने भन्दै सात वटा मोटरसाइकल खरिद गरेको स्थानीयको गुनासो छ ।

    गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेले आफू उपचारको क्रममा नेपालगञ्जमा रहेको बताउँदै तालाबन्दी भएको बारेमा केही जानकारी नभएको बताईन् ।

    ‘त्यो विद्यालय मेरै गाउँको हो । तालाबन्दी भएको बारेमा मलाई कसैले पनि जानकारी दिएका छैनन् । अध्यक्षले तालाबन्दी किन गरे भन्ने खासै बुझ्न पाएको छैन । मैले तालाबन्दी भएको कुरा तपाईंमार्फत जानकारी पाएँ ’, उनले भनिन् ।

  • प्रधानमन्त्री ओलीको दाबी-अर्को वर्ष आर्थिक वृद्धि १० प्रतिशत पुग्छ

    प्रधानमन्त्री ओलीको दाबी-अर्को वर्ष आर्थिक वृद्धि १० प्रतिशत पुग्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि अर्को वर्ष १० प्रतिशत पुग्ने दाबी गरेका छन्। सोमबार सरकारको तीन वर्षको प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तीन वर्षको औसत आर्थिक वृद्धि साढे ५ प्रतिशत रह्यो । अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ ।’

    ओलीले आफूले सरकार सम्हालेको एक वर्षमै अर्थतन्त्रले लय समातेको दाबी गरे। ‘सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो’ उनको भनाइ छ, ‘ एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो । ७ वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’

    संघीयता कार्यान्वयनमा समेत आफ्नो सकारले तीन वर्षमा उलेख्य काम गरेको प्रधानमन्त्रीको दाबी छ। ‘अहिले प्रदेश र स्थानीय तह धेरै सक्षम भइसकेका छन्’ उनको भनाइ छ, ‘ प्रदेश मन्त्रालय कति थिए ? कस्तो संरचना बनाउने भन्नेमा अलमल थियो । तीन वर्षपछि त्यसमा धेरै सुधार आएको छ ।’

    ‘सरकारले कसैले नसोचेको कोभिड १९ को महामारीको चपेटमा फसेकोमा समयमा समेत नेपालको आर्थिक वृद्धि दर नकारात्मक नभएको प्रधानमन्त्रीको जिकिर छ ।

    ‘यसले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो केही मुलुकहरू आर्थिक वृछि नकारात्मक रह्यो कतिपय मन्दीको चपेटामा परे । हाम्रो पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ , नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तिन वर्षको औषत वृद्धि ५ प्रतिशतको हाराहारीमा रह्यो, ओलीले भने ।’

    कोभिडको असर कम हुँदै जादा नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको प्रधानमन्त्री दावी छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले पनि नेपालले पुन: उच्च आर्थिक वृद्धिको बाटो समातेको प्रधानमन्त्री ओलीको भनाई छ ।

    ‘अर्को वर्ष १५ औं योजनाले लिएको १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने प्रवल सम्भावना वढेको छ । यसै आर्थिक वर्षको पहिलो ६ महिनामा शोधान्तर बचत १ सय २४ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिका उक्त वचत २४ अर्व मात्रै छ ।’

    वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्यमा आधारित मुद्रास्फिर्तीको सूचाङ्क ३.५ प्रतिशत रहेको , आयात ४.८ प्रतिशतले घटेको तथा निर्यात ६.१ प्रतिशतले वढेको ओलीले बताए ।

    ९ लाख भन्दा वढी नागरिक निरपेक्ष गरिबीबाट माथि उक्सिए

    प्रधानमन्त्रीले ओलीले आफ्नो तीन वर्षे कामको समिक्षामा सम्वोधन गर्दै ‘कोभिड नभएको १५ लाखभन्दा वढी नागरिकलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उकास्न सकिने’ दाबी गरे ।

    संयुक्त राष्ट्र संघको मानव विकास प्रतिवेदनले ५ प्रतिशतको विन्दुगत सूचाङ्कले पनि कोभिड १९ को चेपेटमा पर्दा पनि नेपालमा गरिबी नवढेको, भोकमरी नरहेको देखाएको प्रधानमन्त्रीले वताए ।

  • शेरधन राईले भने-राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मलाई अपदस्थ गर्न खोजिएपछि ताजा जनादेश (भिडियो)

    शेरधन राईले भने-राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मलाई अपदस्थ गर्न खोजिएपछि ताजा जनादेश (भिडियो)

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बहुमतप्राप्त आफ्नै पार्टीको सरकार ढालेर राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई अपदस्थ गर्ने षड्यन्त्र असफल पार्न ताजा जनादेशमा जानु परेको बताएका छन् ।

    प्रदेश १ को तीन वर्षे समीक्षात्मक कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने प्रयास भएको बताए । उनले आफूमाथिको अविश्वास प्रस्तावलाई सामना गर्ने पनि बताए ।

    राईले आफूमाथिको अविश्वास प्रस्तावमाथिको कानुनी प्रश्न कायमै रहेको भन्दै त्यसको निरुपण गरिने बताए । उनले केन्द्रमा सरकार ढालेर राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास असफल पार्न अब ताजा जनादेशमार्फत जनताले अभिमत प्रकट गर्नुपर्ने बताए ।

    राईले भने, ‘हामीले सीधा भन्दा मुलुकलाई पुनः अस्थिरतामा लगेर नौ महिने, १८ महिने र ६ महिने सरकार बनाउने ढाल्ने फोहोरी खेलमा लैजाने षडयन्त्र भएपछि ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको हो । अब जनताले ती तत्वलाई परास्त गर्नुपर्छ ।’

  • काठमाडौंमा सञ्‍जाल बनाएर लागुऔषध कारोबार गर्ने ९ जना पक्राउ

    काठमाडौंमा सञ्‍जाल बनाएर लागुऔषध कारोबार गर्ने ९ जना पक्राउ

    काठमाडौं । काठमाडौंको विभिन्‍न ठाउँबाट लागुऔषध कारोबारमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्ति पक्राउ गरेको हो ।

    पक्राउ परेका ९ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरूबाट एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागस औषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिलिप चौधरीले जानकारी दिए ।

    उनीहरुको साथबाट डाईजेपाम-९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन-६८४ एम्पूल, लुपिजेसिक-७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार ५ सय रूपैयाँ बरामद गरेको चौधरीले बताए ।

    पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल बनाएर कारोबार गरिरहेको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।

  • सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल नियुक्त

    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल नियुक्त

    काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।

    तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौला मुख्य न्यायाधीशमा नियुक्त भएपछि रिक्त रहेको मुख्यरजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।

    माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

    गुल्मीको धुर्कोटमा २०२९ सालमा जन्मिएका कुँवर २०५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

    यस्तै सर्वोच्च अदालतको रिक्त एकजना रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । माघ २९ कै मन्त्रिपरिषद्को बैठकले पौडेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको हो । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् ।

    यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन् । २०२४ सालमा विराटनगरमा जन्मिएकी पौडेल २०५२ मंसिरबाट शाखा अधिकृतबाट प्रवेश गरेकी थिइन् ।

  • धरानको जग्गाबारे सभामुखको स्पष्टीकरण-अदालतको फैसला कार्यान्वयन गरिएको हो

    धरानको जग्गाबारे सभामुखको स्पष्टीकरण-अदालतको फैसला कार्यान्वयन गरिएको हो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले धरानको सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गरेको भनी आफ्नो नाम जोडिएकोमा राजनीतिक पूर्वाग्रह भनेका छन् ।

    सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले आइतवार प्रेस विज्ञप्ति जारी गरी तत्कालीन वनमन्त्री रहेका बेला सापकोटाले सर्वोच्च अदालतको आदेशमात्र पालना गरेको जनाएका छन् ।

    सर्वोच्च अदालतले २०६७ चैत १७ मा निवेदकहरुको माग बमोजिम रोक्का रहेका जग्गा फुकुवा गरी दिनु भनी मालपोत कार्यालय सुनसरीका नाममा परमादेश दिएको र महान्यायाधिवक्ताको रायसमेतका आधारमा अदालतको फैसला कार्यान्वयनमात्र गरिएको सापकोटाको सचिवालयले जनाएको छ ।

    प्रेस नोटमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था तात्कालीन वन तथा भूसंरक्षण सचिवले उठाएको उल्लेखित टिप्पणी अनुसार अगाडि बढाइएको स्पष्ट छ । संविधानको धारा १२८ को उपधारा ४ मा ‘सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानूनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ’ भन्ने व्यवस्थालाई ध्यानमा राखिएको थियो ।

    सभामुखको सचिवालयले देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा संविधान, लोकतन्त्र र जनाधिकारको रक्षार्थ उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेको छ ।

    गत शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बालुवाटारको जग्गा खोजबिन अभियानका अभियन्ता अधिवक्ता युवराज कोइरालाले सापकोटा वनमन्त्री हुँदा सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गराएको तर अख्तियारले मुद्दा नचलाएको आरोप लगाएका थिए ।

    यो पनि पढ्नुहोस् : सभामुखमाथि धरानको ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप (भिडियो)

  • मतदानस्थलमा सीसी क्यामरा राख्न आयोगलाई दलहरूको सुझाव

    मतदानस्थलमा सीसी क्यामरा राख्न आयोगलाई दलहरूको सुझाव

    काठमाडौं । प्रतिनिधिसभाको आउँदो निर्वाचका लागि मतदानस्थलमा सीसी क्यामराको प्रयोग गर्न निर्वाचन आयोगलाई विभिन्न राजनीतिक दलले सुझाव दिएका छन् ।

    आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आइतबार गरेको छलफलमा निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन दलका प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् ।

    निर्वाचन आयोगमा अनुसार आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने, अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनु पर्ने, दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्नेलगायतका सुझाव पनि दलहरुले दिएका थिए।

    ‘कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने, अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनु पर्ने, दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्ने, मतदान पश्चात मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने क्रममा दल तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका सँगै आउने व्यवस्था मिलाउनु पर्ने, मतदानस्थलमा सीसी क्यामराको प्रयोग गर्नुपर्ने लगायतका महत्वपूर्ण विषयहरूमा लिखित एवं मौखिक रुपमा सुझाव दिनु भयो,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ।

    छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

    आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्‍याल, रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधर, आयोगका सचिव देवकुमारी गुरागाईँलगायतको उपस्थिति थियो।

  • चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

    चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

    पोखरा । उपप्रधान तथा ओलीपक्षीय नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड-माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए । ‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन पाइँदैन भन्दै थर्काउनुहुन्छ’, पोखरामा आइतबार आयोजित ओलीपक्षीय प्रेस संगठनको प्रदेश भेलामा पोखरेलले भने ।

    जनताको ताजा जनादेशका लागि जाने कुरा कुनै पनि हालतमा असैंवधानिक र अलोकतान्त्रिक नहुने उनको तर्क छ । माधव-प्रचण्डको सत्ता तृष्णाको मनोरोगका कारण संसद विघटन गर्नुपरेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ ।

    उपप्रधान पोखरेलले तत्कालीन माओवादीको राजनीति सकिएकोबेला एमालेको शरणमा आएको दाबी गरे । उनले भने, ‘माओवादीको पोलिटिक्स सकिएकोथ्यो । उहाँहरू पावरबाट बाहिर हुनुहुन्थ्यो । मानवताविरोधी कार्यका लागि टाउकोमा तरवार थियो । त्योबाट छुटकारा पाउन पार्टी एकता गर्नु भयो ।’उनले माधव नेपाल पनि प्रचण्डको मुंग्रो समाएर केपी विरोधी काम गरेको आरोप लगाए ।

    ‘टू इन वान भएर ओल्टेकोल्टे हुन पाइँदैन’

    पोखरेलले पार्टीनिकट पत्रकारलाई पार्टी र पेशा दुवैमा कटिबद्ध भएर लाग्न सुझाव दिए ।

    ‘पत्रकारले आफ्नो पेशागत दक्षता भने प्रदर्शन गर्नैपर्छ । दक्षता भएन भने अघि बढ्न सकिँदैन । विचारको पनि स्पष्टता हुन जरुरी छ,’ पोखरेलले भने, ‘पेशागत दक्षता नभएर पार्टीमा लाग्छु भन्ने सोच्नु हुँदैन ।’

    पोखरेलले कार्य दक्षता भएर पनि विचारमा स्पष्टता भएन भने अन्तिममा ‘नागरिक समाजको अगुवा’ भइने आरोप लगाए । ‘धेरैलाई देखेको छु । कार्य दक्षता भएर अग्रज भएका छन् । तर, अन्तिममा विचार खुइलिँदै गएर उनीहरु नागरिक समाजमा परिणत भएका छन्,’ उनले भने, ‘विचार र दक्षतासहित अघि बढिसकेपछि ओल्टेकोल्टे हुनै पाइँदैन ।’

  • बाघको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

    बाघको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

    कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो ।

    घाँस काट्न जंगल गएकी ती महिलालाई बाघले आक्रमण गरेको थियो । आक्रमणको स्थानभन्दा केही पर शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    कैलारी गाउँपालिकामा पनि शुक्रबार एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

  • स्रोत अभावले ऊर्जा दशकमा चुनौती थपियो : हितेन्द्रदेव (भिडियो)

    स्रोत अभावले ऊर्जा दशकमा चुनौती थपियो : हितेन्द्रदेव (भिडियो)

    काठमाडौं । विद्युत् आपूर्तिका आगि पर्याप्त विद्युत् भएपनि पुरानो संरचना बदल्नु पर्ने चुनौती रहेको नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

    विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार पदबहालीपछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले सो कुरा बताएका हुन् । यसका लागि स्रोतको अभाव रहेको र अर्कोतर्फ स्थानीयको अवरोध भएको उनले बताए ।

    वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिसन लाइन र सवस्टेशनमा तत्काल लगानी नबढाए २०७३ देखि २०८३ सम्मको ऊर्जा दशकमा चुनौती थपिएको शाक्यले बताए ।

    विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढिकरण तथा विस्तार गर्दै मुलुकभित्र र बाहिर खपत पनि बढाउनु पर्ने र यसका लागि बजार खोज्ने काम पहिलो प्राथमिकतामा रहेको उनले बताए । आगामी चार वर्षभित्रमा प्रतिव्याक्ति ऊर्जा ५ सय पुर्‍याउने योजना पनि सुनाए ।

    गत कात्तिक २६ देखि कायम कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्को माघ २६ को निर्णयबाट कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

  • आन्दोलनमा सहभागी हुन देउवाको अपिल

    आन्दोलनमा सहभागी हुन देउवाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।

    विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावनाविपरीतको कार्य भएकोले कांग्रेस एकमत साथ आन्दोलनमा रहेको जनाएका हुन् ।

    कांग्रेस केन्द्रीय समितिको पूर्व निर्धारिता कार्यक्रम अनुसार सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन हुँदैछ । सभापति देउवाले विगतका आन्दोलन कार्यक्रममा झै घर-घरबाट प्रदर्शनमा सहभागि भई सरकारविरुद्ध ऐक्यवद्धता जनाउन आग्रह गरेका हुन् ।

    सोमबार हुने प्रदर्शनअन्तर्गत सभापति देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री डा.शशांक कोइरालाले दाङ, पूर्व महामन्त्री प्रकाशमान सिंहले कास्की, पूर्व महामन्त्री कृष्ण सिटौंलाले झापा, नेताहरु डा. रामशरण महतले काभ्रे, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्यूठान, गगन थापाले चितवन, प्रदीप पौडेलले दैले, गुरुराज घिमिरेले दोलखालगायतका जिल्लामा सम्बोधन गर्ने तय भएको छ ।

    कांग्रेसले यसअघि देशभरका प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, स्थानीय तह र वडा केन्द्रित प्रदर्शन र सभा गरिसकेको छ ।

  • अरुको साथ नपाएपछि प्रचण्ड-माधव पक्ष एक्लै आन्दोलनमा

    अरुको साथ नपाएपछि प्रचण्ड-माधव पक्ष एक्लै आन्दोलनमा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले फागुन ७ पछि संयुक्त आन्दोलन गर्ने भनी दाबी गरेको भए पनि त्यसो नहुने भएको छ ।

    प्रचण्ड-माधव पक्षले आइतबार एक्लै आन्दोलनमा जाने गरी चौथो चरणको संघर्षका कार्यक्रम घोषणा गरेबाट पनि संयुक्त संघर्ष गर्ने प्रचण्ड-माधव पक्षको चाहना पूरा नभएको देखिएको छ। केन्द्रीय संघर्ष समितिले पेरिसडाँडामा पत्रकारसम्मेलन गर्दै फागुन ५-२१ सम्मको कार्यक्रम घोषणा गरेको हो ।

    तर, अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले यसअघि भने फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गर्ने दाबी गरेका थिए।

    २२ माघमा आयोजना गरेको आम हड्ताल सफल पार्न ललितपुरका सडकमा निस्केका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका थिए।

    ‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं, त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ,’ प्रचण्डको दाबी थियो, ‘त्यसपछि केपी ओलीको आयु सकिन्छ ।’

    जनता समाजवादीका नेता बाबुराम भट्टराईलगायतले संयुक्त आन्दोलन गनुपर्ने बताइरहे पनि प्रमुख विपक्षी नेपाली कांग्रेसले भने संयुक्त आन्दोलन गर्न इन्कार गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले संयुक्त आन्दोलनको साटो आफ्नै एजेन्डा लिएर सडकमा जाने बताइरहेका छन्।

    संयुक्त आन्दोलन गर्ने आफूहरूको प्रयत्न असफल भएको घोषणा भने २८ माघमा काठमाडौंमा आयोजना गरेको विरोध सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए।

    ‘आन्दोलनलाई संयुक्तरूपमा अघि बढाउन चाहन्थ्यौं,’ संयुक्त संघर्ष समितिका संयोजक समेत रहेका उनले भनेका थिए, ‘हामी कांग्रेस, जसपासँग संयुक्त कार्यक्रम गर्न चाहन्थ्यौं । त्यो अहिले भएको छैन तर हामी छलफलमा छौं ।’

    संयुक्त आन्दोलन नभए पनि अहिले देशै आन्दोलित भइरहेको उनको तर्क थियो । ‘सरकारी गुटबाहेक सिंगो देश अहिले आन्दोलनमा छ’ उनको दाबी थियो, ‘संयुक्त आन्दोलन नभए पनि अहिले सिंगो देश आन्दोलनमा छ ।’

    चौथो चरणमा लचिलो कार्यक्रम

    सरकारविरुद्ध आमहड्तालसम्म उत्रिएको प्रचण्ड-माधव पक्षले चौथो चरणमा भने लचक कार्यक्रम घोषणा गरेको छ।

    फागुन ६ गते प्रतिनिधिसभा विघटन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम तय गरेको छ।

    अलि ठूलो कार्यक्रमका रूपमा फागुन १२ गते चितवन, फागुन २१ गते दाङ, जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ। त्यसबाहेकका धेरै कार्यक्रम प्रदेश, जिल्ला, पालिका र वडाकेन्द्रित छन् ।

    फागुन ५ गते देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम राखिएको छ।

    फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गरिने भएको छ। त्यस्तै फागुन ८ गते काठमाडौंमा नागरिक समाजसँग वृहत् अन्तरक्रिया कार्यक्रम हुने छन् ।

  • नारायणकाजीको स्पष्टीकरण-पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो (भिडियो)

    नारायणकाजीको स्पष्टीकरण-पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले पशुपतिनाथ र हिन्दू धर्मका विषयमा आफ्ना नेताहरुको भनाइलाई बंग्याइएको भन्दै आपत्ति जनाएको छ । सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पशुपतिनाथ र जनताको धार्मिक आस्थाप्रति सम्मान रहेको बताए ।

    श्रेष्ठले भने, ‘पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र हो । त्यसको हामी सम्मान गर्छौं र जनताको धार्मिक आस्थाको पनि सम्मान गर्छौं । हाम्रा नेताहरूको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग र तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न अनुरोध छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपतिनाथमा पुगेर पूजा अर्चना गरी सुनको जलहरी लगाउने घोषणा गरेपछि प्रचण्ड-माधव पक्षले ओलीले धर्मनिरपेक्षता त्यागेको आरोप लगाएको थियो । माघ २८ गतेको काठमाडौंकाे आमसभामा अधिकांश वक्ताले ओलीको पशुपतिनाथ भ्रमणबारे कडा टिप्पणी गरेका थिए ।

    रघुजी पन्तले २०५८ मा राजा वीरेन्द्रले पशुपतिमा क्षमापूजा गर्दा वंशनाश भएको प्रसंग निकाल्दै ‘ओलीको के हुने हो ?’ भनी प्रश्न गरेका थिए । विश्व हिन्दू महासंघलगायतका संस्थाले नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हिन्दू धर्म र पशुपतिनाथको अपमान गर्नेलाई बहिस्कार गर्न आह्वान गरेकै बेला प्रवक्ता श्रेष्ठले यस्तो स्पष्टीकरण दिएका हुन् ।

    संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न सकिएपछि उनले आफैं समय लिएर पशुपतिनाथबारे स्पष्टीकरण दिएका हुन् ।

  • प्रचण्ड-माधव पक्षले गर्‍यो चौथो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेर्ने

    प्रचण्ड-माधव पक्षले गर्‍यो चौथो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेर्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रचण्ड-माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ।

    आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।

    केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    यस्ता छन् आन्दोलनका कार्यक्रम :

    –फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रम गर्ने ।

    –फागुन ६ गते मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेराउ गर्ने।

    –७ गते सबै वडामा कार्यक्रम

    –८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितिमा बृहत् अन्तरक्रिया गर्ने ।

    –९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।

    – फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।

    –फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्‍याली ।

    –फागुन १२ गते चितवन र २१ गते दाङमा बृहत् विरोध कार्यक्रम ।

  • घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    बुटवल । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रभावशाली नेता घनश्याम भुसालका मुख्य सहयोगी मानिने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे केपी ओली पक्षमा लागेका छन् ।

    अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलसँगको पटक-पटकको छलफलपछि उनले आइतवारबाट घनश्याम भुसालको साथ छाडेका हुन् । भुसालको गृहनगर तिलोत्तमाका मेयर घिमिरे र उपमेयर जागेश्वरी चौधरी दुवैजना पार्टी विभाजनपछि प्रचण्ड-माधव पक्षमा थिए ।

    शनिवारको बुटवलको जनसभामा भाग लिन पुगेका महासचिव पौडेलले आइतवार अपरान्ह मेयर घिमिरे र उपमेयर चौधरीको बीचमा बसेर ‘हामी सँगै थियौं र सँगै हुनेछौं’ भन्ने स्टाटससहितको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि दुवै नेकपा पंक्तिमा खैलाबैला मच्चिएको थियो ।

    घिमिरेनिकट स्रोतका अनुसार उनी र उपमेयरसहित नगरपालिकाका अधिकांश वडाध्यक्ष र सदस्यहरूले सल्लाह गरेर प्रचण्ड-माधव पक्ष परित्याग गर्ने निर्णय भएको हो । सो नगरपालिकामा तत्कालीन एमालेले जितेको थियो ।

    पार्टी विभाजनपछि रुपन्देहीमा प्रचण्ड-माधव पक्षको अधिकांश बैठक र छलफलहरू घिमिरे नेतृत्व र उनकै होटलमा हुने गरेका थिए । त्यस्तै उपमेयर चौधरीलाई अ‍ोली पक्षले केन्द्रीय सदस्य मनोनीत गरे पनि अश्वीकार गरेकी थिइन् ।

    आइतवार महासचिव बिष्णु पौडेललाई विदाइ गर्न मेयर उपमेयरसहित भैरहवा विमानस्थलमा पुगेका थिए ।

  • प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि जवाफी बहस

    प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि जवाफी बहस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा सुनुवाइको क्रममा आजदेखि जवाफी बहस शुरू भएको छ ।

    रिटको विपक्षमा सरकारी वकिल र सभामुखको तर्फबाट शुक्रबारदेखि बहस सकिएपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको हो । त्यसपछि सर्वोच्च अदालतका अनुसार जवाफी बहसपछि एमिकस क्यूरीले सुझाव दिनेछ ।

    एक साताभित्र यी सबै प्रक्रिया सकिएपछि फैसला आउनेछ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

    सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।

  • स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    काठमाडौं । निजामती सेवाका कर्मचारीलाई आजदेखि कोभिड-१९ खोप दिन थालिएको छ ।

    आइतबारदेखि निजामती निजामती सेवाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।

    काठमाडौंमा निजामती सेवाअन्तर्गतका जिल्ला प्रशासन, मालपोत, नापी, हुलाक, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले बताइन् । त्यसैगरी प्रहरीहरूलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनले जानकारी दिइन् ।

    सरकारले माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो । पहिलो चरणमा कोरोना महामारीविरुद्ध खटिएका फ्रन्टलाइनरलाई खोप दिइएको थियो ।

    दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।

    त्यसैगरी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार र नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।

    न्यायाधीश र वकिलहरुलाई पनि परिचय पत्रअनुसार खोप दिइने प्रजापतीले बताइन् ।

  • भ्यालेन्टाइन डेमा उपहार : नेपाली उत्पादन नै दिने कि ?

    भ्यालेन्टाइन डेमा उपहार : नेपाली उत्पादन नै दिने कि ?

    काठमाडौं । प्रेममा परेका युवा-युवतीका लागि एउटा चाड झैं बनेको ‘भ्यालेन्टाइन्स डे’ । त्यसो त आजकाल श्रीमान-श्रीमतीले पनि भ्यालेन्टाइन डे मनाउन थालेका छन् ।

    भ्यालेन्टाइन्स डेमा प्रेम-जोडीहरु उपहार आदानप्रदान हुने गर्छ । आफ्नो प्रेमी-प्रेमिकालाई दिने उपहारको खोजीमा गिफ्ट सपदेखि सपिङमल सम्ममा भीड लाग्छ । कोही चाहिँ उपहारको छनोटमै अल्मलिन्छन् ।

    भ्यालेन्टाइन डेमा आदानप्रदान हुने उपहार प्राय विदेशबाट आयातित हुने गर्छन् । यसले नेपालको करोडौं पैसा विदेशिन्छ । त्यसैले भ्यालेन्टाइन डेमा पनि नेपाली उत्पादनलाई नै उपहारको रुपमा किन नदिने ? यसले तपाईको प्रेमलाई मौलिक र अग्र्यानिक बनाउनुसाथै नेपाली मौलिक उत्पादनको पनि प्रवद्र्धन हुनेछ । आउनुस हामी तपाईंलाई केही स्वदेशी उत्पादन सिफारिस गर्दैछौं ।

    नेपाली ढाकाका लुगा

    नेपाली बजारमा ढाकाका कपडाको छुट्टै महत्व छ । नेपालीपन झल्कने ढाकाले तपार्इंको व्याक्तित्वलाई अझ उँचो बनाउँछ । आजभोलि नेपाली ढाकाका पोशाक आधुनिक र स्टाइलिस पाइन्छन् । ती स्टाइलिस पोशाकमा युवा-युवतीले आफूलाई अझ कम्फर्ट अनुभूति गर्न सक्छन् ।

     

    पस्मिना

    नेपाली पस्मिनाको सल धेरैको रोजाइमा पर्ने गर्छ । नेपालमा मात्र होइन पश्चिमा मुलुकमा पनि उत्तिकै लोकप्रिय छन् पस्मिना कपडा । मुलायम र किफाइती पश्मिनाले तपाईको प्रेमलाई अझ न्यानो बनाउन सक्छ ।

    सिङ्गिङ बाउल

    हिमाली क्षेत्रमा बसोबास गर्नेले हातले बनाएको उच्च गुणस्तरको टिवेटियन सिङ्गिङ बाउल बुद्धिज्ममा धेरै नै प्रख्यात छ । सिङ्गलिङ बाउलबाट आएको आवाजले तपाईंलाई आध्यात्मिक उपचार गराउँछ । यसको आवजले तपाईलाई गहिरो ध्यान, सक्रिय र सकारात्मक विचार उत्पन्न गराउँछ । यो बाउललाई तपाईले जहाँसुकै बोकेर हिँड्न पनि सक्नु हुन्छ । यो वर्षको प्रेम दिवसमा यो उपहार तपाईकालागि विशेष हुनसक्छ ।

    नेपाली मूर्ति

    नेपाली कलाकारले कुँदेर बनाइएका मूर्तिले जो कोही नेपालीको मन जित्छ । कुनै पनि भगवानका मूर्ति उपहारले सम्बन्धित धर्मालम्बीले प्रेमि-प्रेमिकाको मन सजिलै जित्छ । भगवानका मूर्तिले तपाईको प्रेमलाई अझ भावनात्मक बनाउँछ ।

    नेपाली ज्वेलेरी

    नेपालमा निर्माण भएका मेटल तथा चाँदीका गहना विदेशमा धेरै निर्यात हुने सामानमा पर्छ । ती गहना पनि तपाईका प्रेमि-प्रेमिकाको लागि उत्तम उपहार हुन सक्छ । नेपाली कलात्मकता झल्किने नेपाली ज्वलेरीले विशेषगरी तपाईकी प्रेमिकाको मन चाढै नै जित्ने छ ।

    नेपाली कागजका सामग्री

    नेपाली कागजबाट बनेका सुन्दर सामग्रीले तपाईंको प्रेम दिवसलाई अझ उत्कृष्ट बनाउन सक्छ । नेपाली कागजबाट बनेका सामग्रीले तपार्इंको कोठालाई मात्र होइन मनलाई नै सुन्दर बनाउन सक्छ । आजभोली नेपाली कागजका सुन्दर उपहार बजारमा सजिलै प्राप्त गर्न सकिन्छ ।

    पुस्तक

    नेपाली लेखकले लेखेका राम्रा-राम्रा पुस्तकले तपाईको प्रेमि-प्रेमिकाको अध्ययन गर्ने बानीमात्र बसाल्दैन यसले बौद्धिक क्षमतालाई पनि निखार्छ । जसले तपाईको प्रेमलाई अझ नजिक ल्याउन

    गुलावको बुकी

    प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलाव भ्यालेन्टाइन डे कै लागि बनेको हो भन्दा फरक नपर्ला । आजभोलि प्राकृतिक गुलावको फूलभन्दा पनि प्लाष्टिकको गुलावको फूल दिने प्रचलन बढेको छ । तर, तपाईले आफनो प्रेमी-प्रेमिकालाई प्राकृतिक नेपाली किसानले फुलाएको गुलावले दिन सक्नुहुने छ ।

  • प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ २९ गतेको बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लांभास कर प्रयोजनका लागि ५५ लाख ५९ हजार ३ सय ४१ कित्ता दिने घोषणा गरेको छ ।

    १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रूपैयाँ बराबरको बोनस सेयर प्रभु इन्स्योरेन्स कम्पनीले घोषणा गरेको छ । बीमा समितिले स्वीकृत दिएपछिमात्रै लाभांश वितरण गर्न पाउनेछ ।

  • दाङका कांग्रेस र मालेका दुई नेता ओलीपक्षीय नेकपामा प्रवेश

    दाङका कांग्रेस र मालेका दुई नेता ओलीपक्षीय नेकपामा प्रवेश

    बुटवल । नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि तथा दाङ जिल्ला कमिटी सदस्य भेषराज खत्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओलीपक्षीय नेकपाका इन्चार्ज शंकर पोखरेलले खत्रीलाई आइतवार खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    सोही अवसरमा नेकपा मालेको केन्द्रीय सदस्य लीला विक पनि माले परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपा केन्द्रीय सदस्य शान्ता चौधरीले जानकारी दिइन् ।

    पोखरेलले गृहजिल्ला दाङमा आफ्नो प्रभाव बढाउन पछिल्लो समय अन्य पार्टीका नेता कार्यकर्तासँग संवाद बढाएका छन् । पार्टी प्रवेश कार्यक्रममा ओलीपक्षीय नेकपाका केन्द्रीय सदस्य सुजिता शाक्य, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसमेत उपस्थित थिए ।

  • इन्टरनेटमा नकारात्मक सामग्री ब्लक गर्दै सरकार

    इन्टरनेटमा नकारात्मक सामग्री ब्लक गर्दै सरकार

    काठमाडौ । सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ प्रणाली राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता सामग्री ब्लक गर्ने प्रणाली भित्र्याउने भएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणले यही फागुनदेखि ‘कन्टेन्ट फिल्टरिङ’ लागू गर्न चालु आर्थिक वर्षको बजेटमा १ अर्ब रूपैयाँ छुट्याएको छ ।

    शनिबार प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले आयोजना गरेको ‘इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ नेपालका लागि कति आवश्यक’ विषयक भर्चुअल कार्यक्रममा प्राधिकरणका निर्देशक विजयकुमार रोयले यस विषयमा ‘कन्टेन्ट फिल्टरिङ’ मा भइरहेका कामबारे जानकारी दिए ।

    ‘अहिले हामी नेपालमा विभिन्न नाकाबाट भित्रिने व्यान्डविथको ट्राफिकको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘त्यसै आधारमा इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्नेगरी यो योजना अगाडि बढेको हो ।’ उनले कुनै व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य नभएको स्पष्ट पारे ।

    नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स) का बोर्ड सदस्य इन्डिभर बडालले सरकारले यो कार्य अगाडि बढाउनुभन्दा पहिला फिल्टरिङ के हो र यो सम्भव छ कि छैन भन्नेमा प्रष्ट हुन आवश्यक रहेको बताए । इन्टरनेटको प्याकेटमा के आइरहेको छ भनेर चिन्ने र त्यसलाई रोक्ने काम डीएनएस कन्ट्रोल मार्फत गर्न सकिने उनको भनाइ छ ।

    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकका अध्यक्ष दीलिप अग्रवालले इन्टरनेट सामग्री फिल्टरिङ वा नियन्त्रण गर्ने विषयमा सरकार नै स्पष्ट हुन नसकेको बताए । ‘कन्टेन हटाउने हो भने फेसबुकको सामग्री लुकाउन सक्नुपर्छ । तर, त्यो फेसबुक आफैंले नगर्दासम्म असम्भव छ ।’

    क्यान फेडेरेसनकी पूर्वउपाध्यक्ष सुनैना पाण्डेले बढ्दो साइबर अपराध नियन्त्रणका लागि पनि सामग्रीहरुको वर्गीकरण गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।

    अधिवक्ता बाबुराम अर्यालले भएका ऐन कानूलाई प्रयोग गर्ने भन्दा पनि सरकार नियन्त्रण थप्नेतर्फ लागेको टिप्पणी गरे ।

  • चरित्रहत्या गर्ने विनयविरुद्ध सपना रोका मगरको जाहेरी, पक्राउ गर्ने प्रहरीको तयारी

    चरित्रहत्या गर्ने विनयविरुद्ध सपना रोका मगरको जाहेरी, पक्राउ गर्ने प्रहरीको तयारी

    काठमाडौं । नांगो तस्वीर र भिडियो देखाइदिने भन्दै युट्युबमार्फत आफूलाई धम्की दिने विनयजंग बस्नेतविरुद्ध सपना रोका मगरले प्रहरीमा जाहेरी दिएकी छन् ।

    यसै वर्ष बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनाको चरित्रहत्या गर्दै युट्युबका भाइरलम्यान बस्नेतले सार्वजनिक रूपमा धम्की दिएका थिए ।

    सपनाको जाहेरी दर्ता भएको र बस्नेतलाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिन लागिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिंहले नेपाल प्रेस लाई बताए ।

    आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिंदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।

    म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए । बस्नेत उत्तेजक युट्युब कन्टेन्टहरुमार्फत भाइरल बन्ने गरेका छन् ।

  • बालुवाटार जग्गा प्रकरणमा माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

    बालुवाटार जग्गा प्रकरणमा माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौं । बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा  तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको छ ।

    बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत विपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुन लागेको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइको लागि पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

    यसअघि पेसी तोकिए पनि हेर्न नभ्याइने भनेर सरेको मुद्दाको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको हो ।

  • काठमाडौंको शंखरापुर जंगलबाट भरुवा बन्दुक बरामद

    काठमाडौंको शंखरापुर जंगलबाट भरुवा बन्दुक बरामद

    काठमाडौं । प्रहरीले शंखरापुर नगरपालिका-३ बोझिनीस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

    महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरू फरार भएपछि खोजी गर्ने क्रममा भरुवा बन्दुक भेटिएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार बन्दुक फ्याँकेर फरार भएकाहरूको खोजी कार्य भइरहेको छ ।

  • मानव बेचबिखन प्रभावितको भेलाले वागमती प्रादेशिक सञ्जाल गठन

    मानव बेचबिखन प्रभावितको भेलाले वागमती प्रादेशिक सञ्जाल गठन

    काठमाडौं । मानव बेचबिखन प्रभावितहरूको वागमती प्रदेशस्तरीय भेलाले प्रादेशिक सञ्जाल गठन गरेको छ । शनिवार काठमाडौंमा सम्पन्न भेलाले फूलमाया छुमीको संयोजकत्वमा मानव बेचबिखन प्रभावितहरूको वागमती प्रदेशस्तरीय सञ्जाल गठन गरेको हो ।

    शक्ति समूहको संयोजनमा भएको भेलामा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपाल, शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङ, शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीलगायतले मानव बेचबिखन प्रभावितहरूलाई समाजमा रोजगारी र पुनःस्थापनाको लागि राज्यबाटै पहल हुनुपर्ने बताएका थिए ।

    शक्ति समूहको आयोजनामा दुई वर्षअघि मानव बेचबखिनबाट प्रभावितहरुको सातै प्रदेशको सहभागितामा भएको भेलाले चरिमाया तामाङको नेतृत्वमा राष्ट्रिय सञ्जाल गठन गरेको थियो । यस्तो सञ्जाल प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने तामाङले बताइन् ।

    हालसम्म सुदूरपश्चिम, लुम्बिनी र वागमतीमा प्रदेशस्तरीय मानव बेचबिखन प्रभावितहरुको सञ्जाल गठन भइसकेको शक्ति समूहले जनाएको छ । सञ्जालले बेचबिखन प्रभावितहरूलाई कानुनी अधिकारको लागि वकालत, उद्दार, स्वदेश फिर्ती, पुनःस्थापनना, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरका लागि दबाब दिनेछ ।

    मानव अधिकार आयोगको अघिल्लो वर्षको प्रतिवेदन अनुसार नेपालबाट करीव डेढ लाख महिला तथा पुरुष बेचबिखनको जोखिममा छन् । तीमध्ये पत्येक वर्ष ३५ हजार वैदेशिक रोजगारी,मनोरन्जन क्षेत्र र बाल श्रमका रुपमा मानव बेचबिखनमा पर्ने गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

  • २ करोड हिनामिनाको आरोपमा गाउँपालिकाका प्राविधिक निलम्बन

    २ करोड हिनामिनाको आरोपमा गाउँपालिकाका प्राविधिक निलम्बन

    सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् ।

    २०७७ साउनदेखि कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै शाहीलाई निलम्बन गरिएको हो ।

    निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले गते बिहीबारदेखि निलम्बन गरिएको जानकारी दिए । कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र प्रमाण पेस गर्न भनिएको छ ।

    तर शाहीले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले भने, ‘अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु ।’

    रासस

  • देव गुरुङको तर्क-राजनीतिक सहमतिमा संसद सक्रिय बनाउन सकिन्छ

    देव गुरुङको तर्क-राजनीतिक सहमतिमा संसद सक्रिय बनाउन सकिन्छ

    रुपन्देही । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका नेता देव गुरुङले राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने तर्क गरेका छन् ।

    शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङ्गले न्यायालयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दाबी गर्दै २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण पेस गरे ।

    प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै नेता गुरुङ्गले सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडियालाई एक ठाउँमा उभिन आव्हान गरेका छन् ।

    ‘प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनविद्रोह पनि हुन सक्छ’, गुरुङको दाबी छ । प्रतिनिधिसभा विघटनसँगै नेपाललाई क्रिडास्थल बनाउ विदेशी शक्तिकेन्द्रहरू चलमलाएको बताउँदै गुरुले वैशाखमा चुनाव हुन नसक्ने ठोकुवा गरे ।

  • विपक्षीको काँधमा चढेर भरुवा बन्दुक देखाउनेलाई ओलीको एके ४७ ले सडकमा पुर्‍यायो : टोपबहादुर

    विपक्षीको काँधमा चढेर भरुवा बन्दुक देखाउनेलाई ओलीको एके ४७ ले सडकमा पुर्‍यायो : टोपबहादुर

    रुपन्देही । ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोपबहादुर रायमाझीले नेकपाको अन्तरविरोध कुनै विचारसँग, नागरिकका मुद्दासँग नभई सीमित व्यक्तिको पदप्रतिष्ठासँग जोडिएको बताएका छन् ।

    प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘आफ्नो पार्टीको प्रधानमन्त्री अपदस्त गरेर सत्तामा जान खोज्नेहरुलाई जनताले चिनेका छन्, विपक्षीका काँधमा चढेर प्रधानमन्त्रीलाई भरुवा बन्दुक देखाउनेहरूलाई केपी ओलीको एके ४७ ले सडकमा पुर्‍याएको छ, ओलीसँग स्वचालित हतियार छ भनेर हामीले धेरैपटक भनेका हौं ।’

    विकास र समृद्धिको अभियान चाल्ने समयमा पार्टीका केही शीर्ष नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध लागेर आफ्नो स्वार्थका लागि हिंडेको बताउँदै मन्त्री रायमाझीले अबको निकास नै निर्वाचन भएको दाबी गरे । जनमतबाट पत्तासाफ हुने डरले प्रचण्ड र माधव चुनावमा जान डराएको उनको टिप्पणी छ ।

    ‘नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरू चुनावका लागि तयार रहँदा सधैभर नागरिकलाई त्रास देखाएर सत्तामा जानेहरू चुनावबाट डराएका हुन्’,

    मन्त्री रायमाझीले कानुनी सर्वोच्चता कायम राख्न, अहिलेको संरचनालाई जोगाईराख्न र राष्ट्रलाई बचाई राख्न जनमतमा जाने उचित निर्णय भएको दाबी गरेका छन् । संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गरिरहेको पार्टीप्रति संकेत गर्दै उनले आन्दोलनरत पक्षलाई यथाशक्य आफ्नो गल्ती स्वीकार्दै जनमतमा जाने निर्णय स्वीकार गर्न आग्रह गरे ।

    रायमाझीले प्रचण्डले ३३ वर्षसम्म मनोनीत अभ्यक्ष भएर पार्टी चलाएको प्रसंग कोठ्याउँदै आफू र बादललाई ओली समूहबाट आउनलागेको कुप्रचार गरेर भ्रमको खेती गरेको बताए । उनले भने, ‘ओली समूहबाट उता जाने कोही छैन, उताको ठूलो समूह आउने तयारीमा छ, पोखरीमा पहिरो जानेवाला छ ।’

  • प्रधानमन्त्री-थाई राजदूतबीच भेट, भैरहवादेखि थाइल्याण्ड हवाई सेवाको चर्चा

    प्रधानमन्त्री-थाई राजदूतबीच भेट, भैरहवादेखि थाइल्याण्ड हवाई सेवाको चर्चा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफले शिष्टाचार भेट गरेका छन् ।

    भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र भैरहवा विमानस्थलबीच सीधा हवाई सम्बन्ध जोड्न सके नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् । ओलीले कुटनीतिक सम्बन्ध जोडिएको ६२ वर्ष लामो भएपनि यी दुई देशबीच सम्बन्ध भने त्यसभन्दा लामो रहेको उल्लेख गरेका छन् । यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने उनको धारणा छ ।

    प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकको लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

  • सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग

    सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग

    काठमाडौं । कञ्‍चनपुरका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले भारतसँगको सीमा नक्सा (स्ट्रीप म्याप) तयार गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेकोले सच्याउँन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष माग गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्रीसँग भेटघाटको क्रममा कञ्चनपुरका नेताहरूले भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राखिएको छ ।

    त्यस्तै पुनर्वास नगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने र शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुन:र्स्थापना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ ।

    प्रधानमन्त्रीसँगको भेटमा नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट तथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामीलगायतका नेताहरू सहभागी थिए ।

  • सभामुखमाथि धरानको ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप (भिडियो)

    सभामुखमाथि धरानको ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप (भिडियो)

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणसहित सरकारमार्फत छानबिन गराएका अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकरणमा सभामुख अग्नि सापकोटामाथि मुद्दा चलाउन अख्तियारले खुट्टा कमाएको आरोप लगाएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको दावी गरेका हुन् ।

    कोइरालाले भने, ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भनेर तोक लगाए । आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचलन गरिरहेका छन् । उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ ।’

    सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिन आयोजित हस्ताक्षर कार्यक्रममा कोइरालाले मन्त्रिपरिषदले निर्णय गरेरै उच्चस्तरीय समितिको सिफारिस अनुसार मुद्दा चलाउन पठाए पनि अख्तियारले फाइल नखोलेको आरोप लगाए ।

    ललिता निवास, बालुवाटारलगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाइएको थियो । हस्ताक्षर अभियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी समापन गरिएको हो ।

    समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्नेउपर कारबाहीको माग गरेको छ ।

    त्यस्तै धोबीखोला बगेको साबिक नगर २५ (क) कित्ता नम्बर ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीउपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न माग गरेको छ ।

    मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारबाहीको लागि दबाब दिन अभियान चलाइएको संघर्ष समितिका महासचिव समेत रहेका कोइरालाले बताए ।

  • बालुवा तस्करको आक्रमणमा २ प्रहरी घाइते

    बालुवा तस्करको आक्रमणमा २ प्रहरी घाइते

    जनकपुरधाम । पर्साको जगरनाथपुर गाउँपालिका १ स्थित ओरिया खोलामा बालुवा उत्खनन गरिरहेका भारतीय तस्कर र सशस्त्र प्रहरीबीच शुक्रवार झडप भएको छ । झडपका क्रममा दुई सशस्त्र प्रहरी घाईते भएका हुन् ।

    उत्खनन रोक्न सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोली पुगेको थियो । आक्रमणमा सशस्त्र प्रहरीद्वय आयुष यादव र नरेश यादव घाइते भएका छन् । ट्याक्टर नियन्त्रणमा लिने क्रममा भारतीय गाउँ गदियानी भंगाहाका बालुवा तस्करहरूले ढुंगा, लाठी र बेल्चाले आक्रमण गर्दा दुवैजना घाइते भएका छन् ।

    घाइते दुवैजनाको अहिले वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । नियन्त्रणमा लिएको तीनवटा ट्याक्टर प्रहरीबाट खोसेर तस्कर भागेको बताइएको छ । सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले अहिले अवस्था सामान्य भइसकेको बताए ।

    जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ भन्छन्, ‘ओरिया खोला नेपाल-भारत सीमा क्षेत्रमा पर्छ । भारतमा पर्दैन । तर जहिल्यै भारतीयले ज्यादती गर्छन् । आज सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थाहा पाएँ । यसअघि इन्सपेक्टरको पनि टाउँको फोडेको थियो । कैयौं नेपालीमाथि पनि आक्रमण गरेका छन् ।’

    उनका अनुसार खोला दशगजा क्षेत्रमा परेको तर भारतीय तस्करहरू नेपाली भूमिमा पर्ने नदीमा आएर बालुवा उत्खनन गरी लग्ने गर्छन् । ‘खोला नेपालमा रहेकाले संरक्षणका लागि हेरचाह गर्न मान्छे पनि राखेका थियौं’, उनले भने, ‘तर भारतीयले पटक पटक आक्रमण गरेर भगाइदियो ।’भारतीयको ज्यादतीले सो क्षेत्रका नेपाली हैरान बनेको उनको भनाइ छ ।

    नेपालतर्फ पनि भारतीय पक्षले नै खोलाको ठेक्का लगाउने गरेको प्रमुख मियाँ बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘सिमाको अन्तिममा खोला छ । १० मिटर यता र १० मिटर उता छोड्दा भारतमा पर्दै-पर्दैन । तर, खै कसरी ठेक्का भारतीय पक्षले लगाउँछ ।’ यसवर्ष ठेक्का लगाएको छ वा छैन भन्नेवारे थाहा नभएको उनले सुनाए ।

  • बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’ (तस्बिरहरू)

    बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’ (तस्बिरहरू)

    काठमाडौं । नागरिक आन्दोलनका नाममा राजधानीमा दिनहुँ थरि-थरि प्रदर्शनहरु भइरहेका छन् । शुक्रबारको एउटा प्रदर्शनमा भने अनौठो दृष्य देखियो ।

    प्रदर्शनकारीकै हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका थिए । महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला मार्च’ वसन्तपुरबाट शुरू भएर रत्नपार्क हुँदै सिंहदरबारको मूलगेटसम्म आएको थियो ।

    मार्चपासमा हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, दोषी पहिचान गरी कारबाही गर्न सरकारलाई दबाब दिइएको छ ।

    मार्चमा जसपा नेतृ हिसिला यमी, डा. गोविन्द केसी, नारायण वाग्ले, श्रृंखला खतिवडालगायत सहभागी थिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

    शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् ।

    सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् भने पत्नी राधादेवी ९७ वर्षकी भइन् ।

    चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि जोशी दम्पतीले मरणोपरान्त आफ्नो शरीर दान गरेको बताएका छन् । ललितपुर महानगरको प्रांगणमा नइ प्रकाशनले आयोजना गरेको एक कार्यक्रमका बीच उनीहरूले शरीर दानको घोषणा गरेका हुन् ।

    घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसमेत उपस्थिति थिए । केही दिनअघि सरकारले जोशीको तस्बिरअंकित हुलाक टिकट सार्वजनिक गरिसकेको छ । जिवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन् । त्यस्तै नेपाल राष्ट्र बैंकले जोशीको तस्बिरअंकित सिक्का सार्वजनिक गरेको थियो ।

    
    
    

     

  • ऐन आएपछि प्राविधिक शिक्षालय झन् समस्यामा

    ऐन आएपछि प्राविधिक शिक्षालय झन् समस्यामा

    रुपन्देही । सरकारले चिकित्सा शिक्षा ऐन २०७५ ल्याएपछि देशभर आधारभूत प्राविधिक शिक्षा संचालन गर्दै आएका ४ सय शिक्षालय प्रभावित भएका छन् ।

    यो ऐनमा यस्ता शिक्षालयमा अध्ययन हुने टीएसएलसी तहको कार्यक्रम फेज आउट गरी ३ वर्षे प्रमाण पत्र तहको कार्यक्रम संचालन गर्ने उल्लेख भएपनि लामो समयसम्म स्तरवृद्धि हुन पनि सकेन भने सो ऐनका कारण ती शिक्षालयले भर्ना लिनसमेत पाएका छैनन् ।

    यो ऐनमा टीएसएलसी तहको १८ महिने अध्ययनलाई रोकेर ३ वर्ष कोर्ष अध्ययन गर्ने उल्लेख भएपनि दुई वर्षदेखि रोकिँदा नयाँ विद्यार्थी भर्ना हुन नपाएका निजी प्राविधिक शिक्षालय महासंघले जनाएको छ ।

    २०७५ सालमा यस्तो ऐन ल्याइएपनि २०७७ साल सकिने बेलासम्म कार्यान्वयनमा नआएका कारण आफूहरुको अरबौंको लगानी अन्यौलमा रहेको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय सचिव तथा स्कुल अफ टेक्निकल एजुकेशन काठमाण्डौंका प्राचार्य भुवन जोशी बताउँछन् ।

    उनका अनुसार देशभरका यस्ता शिक्षालयमा करिब ८ अरब लगानी रहेको छ । देशभरका ४ सय यस्ता शिक्षालयमध्ये महासंघमा आवद्ध रहेका सीएमए, अनमी, ल्याब एसिस्टेन्ट, आम्चीलगायतका आधारभूत तहको प्राविधिक विषय अध्यापन गर्ने ७१ वटा शिक्षालय पूर्णरुपमा बन्दजस्तै रहेका छन् । ऐन बन्नु अगावै भर्ना भएका केही विद्यार्थी राखेर केही शिक्षालय आंशिक खुलेका छन् भने केही घरभाडा बुझाउँदै कर्मचारीलाई तलब खुवाउँदै सरकारको निर्णय कुरेर बसेका छन् ।

    ती मध्येका शिक्षालयले त्यो बाहेकका अन्य शैक्षिक तहहरु संचालन गरेर जेनतेन संचालन गरिरहेको अवस्था रहेका महासंघका अध्यक्ष बसन्तराज खनाल बताउँछन् । महासंघका पूर्वअध्यक्ष शैलेन्द्र मोहन झाले सरकारी नीतिका कारण अरबौंको लगानीमा रहेका शिक्षालय अस्तव्यस्त बनेको प्रतिक्रिया दिए । उनले सर्वसाधारण नागरिकको पहुँचमा रहेको प्राविधिक शिक्षालाई रोकेर अन्याय नगर्न सरकारलाई आग्रह गरेका थिए ।

    महासंघका निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन झाले आफ्ना समस्याका विषयमा धेरैपटक विभागीय मन्त्रालयमा ध्यानाकर्षण गराइएपनि सम्बोधन हुन नसकेको बताए । उनले भने–’हाम्रो माग भनेको कि स्तरवृद्धि गर कि पुरानो अवस्थामा विद्यार्थी भर्ना गर्न देऊ भन्ने हो ।’ नीतिबिहीन राजनीतिका कारण अरबौं लगानी गरेको यस्ता शिक्षालयको भविश्य नै अन्यौलमा परेको र सर्वसाधारण नागरिकको पहुँचमा रहेको प्राविधिक शिक्षालाई रोक्न खोजिएको उनको आरोप छ ।

    नेपाल स्वास्थ्य व्यवसायी परिषदमा रजिष्टार पुष्पराज खनालले निजी प्राविधिक शिक्षालयको समस्याका विषमा आफू जानकार रहेको र सरोकारवाला निकायसँग यस विषयमा धेरै पटक छलफल गरिएपनि निष्कर्ष निकाल्न नसकिएको बताए । उनले भने, ‘पटक-पटक मन्त्री तथा सचिवहरुसँग छलफल भएको छ, तर उहाँहरु कन्भिन्स हुनुभएको छैन, शिक्षालय संचालकहरु सरकारले ल्याएको ऐनमा रहन तयार भएपनि त्यो पनि कार्यान्वयन गर्न नसक्नु र पुरानो स्वीकृत पाठ्यक्रममा पनि भर्ना रोक्नु न्यायसंगत मानिएको छैन ।’

    यस विषयमा सीटीईभीटीका उपाध्यक्ष दुर्गाप्रसाद उप्रेतीले सरकारले ल्याएको स्तरवृद्धिको कार्यक्रम राम्रो भएपनि समयमै कार्यान्वयनमा लैजान नसकेको स्वीकार गरे । उनले कोरोना महामारीका कारणले पनि चिकित्सिा शिक्षा ऐनलाई कार्यान्वयन गर्न ढिलाई भएको बताए । ’यस विषयमा गम्भीर भएर लागेको अवस्था छ, केही समयमा यसलाई सम्बोधन हुनेगरी कार्यक्रम आउने छ भनेर म शिक्षालय संचालकललाई आश्वस्त पार्न चाहन्छु ’ उनले भने ।

    यस्ता शिक्षालय संचालकको पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षाका विषयमा सरोकार पक्षलाई सँगै राखेर समाधानको पहल गरेको बताउँदै उनले आधारभूत प्राविधिक शिक्षालाई रोकेर गर्न लागिएको स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल सुधार हुने संकेत गरेका छन् ।