Author: Shyamkrishna Dahal

  • चितवनबाट प्रचण्डले भने- राजनीतिक दलहरूसँग समझदारी बनाएर जान्छौं

    चितवनबाट प्रचण्डले भने- राजनीतिक दलहरूसँग समझदारी बनाएर जान्छौं

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै राजनीतिक दलसँग समझदारी बनाएर अघि बढ्ने बताएका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि चितवनबाट प्रतिक्रिया दिंदै दाहालले भने, ‘अब हामी राजनीतिक दलहरुसँग समझदारी बनाएर जान्छौं ।’

    प्रचण्डले चितवनमा गरेको सम्बोधनको बुँदागत अंश :

    देशभरिका सबै पार्टींलाई आआफ्नो ढंगले विजय र्‍यालीका रूपमा मनाउन आग्रह गर्दछु ।

    बौद्धिक समुदाय, न्यायिक क्षेत्रमा काम गर्ने, पत्रकार सबैको विजय हो । न्यायाधीशहरूको साहसिक फैसला हो, म उहाँहरूलाई पनि बधाई दिन चाहन्छु ।

    जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भने ती सबैलाई बधाई भन्न चाहन्छु । अब हामी राजनीतिक दलहरूसँग समझदारी बनाएर जान्छौं ।

    केपी ओलीको भ्रममा रहेका सबै पार्टीका साथीहरूलाई भ्रममुक्त हुन अपील गर्न चाहन्छु ।

    केपी ओलीजी यदि तपाईंमा अलिकति पनि लाजशरम छ भने राजीनामा दिनुहोस् ।

  • प्रचण्ड-माधवले एकअर्कालाई लड्डु खुवाएर खुशी साटे

    प्रचण्ड-माधवले एकअर्कालाई लड्डु खुवाएर खुशी साटे

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेकोप्रति प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन्।

    पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।

    भोलिका लागि तय भएको प्रचण्ड-माधव पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत हुने भएको छ ।

  • सर्वोच्चको फैसला स्वागतयोग्य : कांग्रेस सभापति

    सर्वोच्चको फैसला स्वागतयोग्य : कांग्रेस सभापति

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताएका छन् ।

    ट्वीटरमार्फत प्रतिक्रिया दिंदै सभापति देउवाले कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने जनाएका छन् । आफूले शुरूदेखि नै सर्वोच्चलाई स्वतन्त्ररूपमा फैसला गर्न सघाउनुपर्ने बताएकोमा सर्वोच्चले सोही अनुसार नै फैसला गरेको देउवाले उल्लेख गरेका छन् ।

    सभापति देउवाले संसद पुनःस्थापना गर्ने संवैधानिक इजलासका न्यायाधीशहरूलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

  • प्रतिनिधिसभा पुन:स्थापना : प्रचण्ड-माधव पक्षका कसले के भने ?

    प्रतिनिधिसभा पुन:स्थापना : प्रचण्ड-माधव पक्षका कसले के भने ?

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का नेताहरूले त्यसको स्वागत गरेका छन् ।

    राष्ट्रपति र प्रधानमन्त्री मिलेर चालेको कदम अवैध ठहर भएको भन्दै दुवैजनाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नत्र एकसाथ अविश्वास र महाभियोग प्रस्तावको सामना गर्नुपर्ने बताएका छन् ।

    कसले के भने  ?

    नारायणकाजी श्रेष्ठ

    सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको छ । संविधान र लोकतान्त्र रक्षा गर्ने काम गरेको छ ।

    अब प्रधानमन्त्रीको राजीनामा अनिवार्य छ । उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया शुरू गर्नुपर्छ ।

    जनार्दन शर्मा

    नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन, न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रूपले पुष्टि गरी न्यायालयप्रति जनताको विश्‍वासलाई नयाँ उँचाइमा उठाएको छ । न्यायालयलाई जनताको सलाम छ।

    विष्णु रिजाल

    संसद पुन:स्थापना गरेर सर्वोच्च अदालतले हाम्रो संविधान जोगाएको छ । राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहाँहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ ।

    योगेश भट्टराई

    सर्वाेच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उँचाे गरेको छ । मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशज्यूहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।

  • प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- यो फैसला पछिसम्म विवादकै रूपमा रहनेछ

    प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- यो फैसला पछिसम्म विवादकै रूपमा रहनेछ

    काठमाडौं । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा ओलीपक्षीय नेकपाका नेता डा.राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले भोलिका लागि प्रश्न र चुनौती खडा गरेको प्रतिक्रिया दिएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षको छलफल चलिरहेका बेला सल्लाहकार भट्टराईले अदालतको आदेशको सम्मान गर्ने बताए । तर, अदालतको यो फैसला पछिसम्म विवादकै रूपमा रहने उनको भनाइ छ ।

    डा.भट्टराईले भने, ‘संवैधानिक र संसदीय व्यवस्थाका पक्षधरहरूले यसमा सोच्नुपर्छ । आज त फैसला आफ्नो पक्षमा आउनेहरू खुशी होलान् । तर, यसले देखाउने बाटो चाहिं सहज छैन । यो पछिसम्म विवादकै रुपमा रहनेछ । भोलिका दिनमा आउन सक्ने चुनौतीबारे सबै सजग हुनुपर्छ ।

    वेलायतले समेत संसद पाँच वर्षलाई हुने भनेर २०११ मा बनाएको कानून व्यावहारिक भएन भनेर नयाँ कानून बनाउन खोजिरहेका बेला सर्वोच्चले बहुमतप्राप्त प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेको विघटनलाई अस्वीकार गरेर भोलिका लागि चुनौती थपिदिएको उनले बताए ।

  • माधव नेपालको प्रतिक्रिया- सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षा गरेको छ

    माधव नेपालको प्रतिक्रिया- सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षा गरेको छ

    काठमाडौं । प्रचण्ड-माधव पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

    नेपाल प्रेस सँग कुरा गर्दै नेपालले आफूहरू सहमतिका साथ अघि बढ्ने बताए ।

    नेपालले सामाजिक सञ्‍जालमार्फत संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् ।

    ‘ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

  • भीमार्जुनले भने-अदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने प्रमाणित गर्‍यो

    भीमार्जुनले भने-अदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने प्रमाणित गर्‍यो

    काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रनिनिधिसभा विघटन बदर गर्ने निर्णय गरेर सर्वोच्च अदालतले पुनः आफू सक्षम र सबल भएको प्रमाणित गरेको टिप्पणी गरेका छन्।

    ‘आदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने कुरा प्रमाणित गर्‍यो,’ नेपाल प्रेससँग आचार्यले भने, ‘कार्यपालिका र व्यवस्थापिकाभन्दा न्यायापालिका पृथक छ । संविधानको कसैले उल्लंघन गर्‍यो भने हामी चेक गर्न सक्छौं, नियन्त्रण गर्न सक्छौं । र, यो मुलुक संवैधानिक सर्वोच्चताको हो भन्ने देखायो ।’

    उनले आफूले न्यायालयको यो साहसलाई कदर गर्ने बताए ।

  • यस्तो छ प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

    यस्तो छ प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेको छ ।

    फैसलासँगै संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चले परमादेश दिएको छ ।

    संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो ।

    फैसलाको पूर्णपाठ हेर्नुस् :

  • सत्यकै जित भयो, सर्वोच्चलाई धन्यवाद : नेता पौडेल

    सत्यकै जित भयो, सर्वोच्चलाई धन्यवाद : नेता पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

    संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य रहेको भन्दै नेता पौडेलले सर्वोच्चको फैसलाले सत्यको जित भएको बताए ।

    ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । सर्वोच्च अदालतले मुलुकलाई दुर्घटनाबाट बचाएको छ । सर्वोच्चलाई धन्यवाद ’, पौडेलले नेपाल प्रेससँग भने ।

    नेता पौडेलले संसद फाल्ने प्रधानमन्त्री केपी ओलीलाई संसदमा रहने अधिकार नभएको भन्दै राजीनामा नदिए संसदले प्रधानमन्त्रीबाट हटाउने बताए ।

  • संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको आदेश

    संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको छ ।

    साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ ।

    योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

  • सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

    सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेको छ ।

    संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो ।

    दुवै पक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने बताएका थिए । दुवै पक्षको बहस नोट फागुन १० गते पेस भएको थियो ।

    आज बिहानैदेखि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूबीच छलफल चलेको थियो । धेरैको अनुमान आज निर्णय सुनुवाइको मिति तोकिन्छ भन्ने थियो । तर, लामो समय राख्दा दबाब बढ्ने भन्दै आजै फैसला गर्न इजलास सहमत भएको स्रोतको दाबी छ ।

    पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । त्यसका विरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरूबाहेक अन्य ११ वटा रिट परेका थिए ।

    सबै रिटहरुलाई संवैधानिक परिषद‍्मा लैजाने आदेश राणाले दिएका थिए । संवैधानिक इजलासबाट यो मुद्दा किनारा लगाउने कि वृहत पूर्णइजलासमा लैजाने भन्ने विवादसमेत चलेको थियो ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी थिए । शुरूमा गठित इजलासमा रहेका हरिकृष्ण कार्की विगतमा केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै विपक्षी वकिलले प्रश्न उठाएपछि उनले इजलासमा नरहने भनेका थिए । त्यसपछि उनको ठाउँमा सपनालाई ल्याइएको हो ।

  • प्रतिनिधिसभा विघटन- सर्वोच्चको फैसला सुनाउने क्रम शुरू

    प्रतिनिधिसभा विघटन- सर्वोच्चको फैसला सुनाउने क्रम शुरू

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आजै फैसला सुनाउँदैछ ।

    संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा फैसला पढ्न लागेका छन् ।

  • ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

    ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्ने गरी नआउने विश्वास व्यक्त गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।

    ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने भन्दै कथम् कदाचित भएछ भने पनि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको बताए । पार्टी फुटाएर बहुमतको सरकार ढाल्ने र अरुलाई प्रधानमन्त्री बनिदेऊ भन्दै हल बाँधेर हिंड्ने अवस्थामा प्रचण्ड-माधव पुगेको ओलीको टिप्पणी छ ।

    प्रधानमन्त्रीले भने, ‘काल्पनिक रूपमै भने पनि लौ प्रतिनिधिसभा पुनःस्थापना भएछ रे, त्यसपछि विचरा प्रचण्ड, माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् भन्दै कहिले उत्तर, कहिले दक्षिणतिर जानुहुन्छ । खोजेर हिंड्दा हिंड्दै मैकहाँ आइपुग्न बेर छैन ।’

    ओलीले देशलाई अस्थिरतातर्फ लैजाने फैसला अदालतले गर्छ भन्ने आफूलाई विश्वास नरहेको बताए । उनले सूर्य चिन्ह आफूले २०४७ सालमा निर्वाचन आयोगमा दर्ता गराएको भन्दै प्रचण्ड फर्केर पेरिसडाँडा गइसकेकाले चिन्ह कसले पाउँछ भन्ने विवाद नै नरहेको बताए ।

  • माओवादी विरासतमा ओलीको अर्को एक्सन, चुनु स्मृति प्रतिष्ठान उद्घाटन गर्ने

    माओवादी विरासतमा ओलीको अर्को एक्सन, चुनु स्मृति प्रतिष्ठान उद्घाटन गर्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि अहिले युद्धकालीन माओवादीको विरासत खोसाखोसमा परेको छ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले त्यो विरासतको असली प्रतिनिधि आफूलाई दाबी गर्छ भने ओली पक्ष त्यसलाई आफ्नो पकडमा पार्ने ध्याउन्नमा छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा ल्याउने, माओवादी जनुयुद्धका घाइते तथा अपाङ्ग र पूर्वलडाकुलाई आफूतिर ल्याउन निकै कोसिस गरिहेका छन् ।

    यही मेसोमा ओलीको निशानामा परेको छ, माओवादी युद्धकी एकजना संस्कृतिकर्मी चुनु गुरुङको नाममा स्थापित स्मृति प्रतिष्‍ठान ।

    नेकपाका दुवै पक्ष अहिले उक्त प्रतिष्ठानलाई कब्जा गर्ने होडमा छन् । चुनुस्मृति प्रतिष्ठानकी संयोजक डम्बरकुमारी गुरुङ पार्टी विभाजनपछि ओली पक्षमा लागेपछि त्यसको स्वामित्वलाई लिएर विवाद शुरू भएको हो ।

    प्रतिष्ठानले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिका रूपमा बोलाएर बुधबार सांस्कृतिक कार्यक्रम गर्दै छ । माओवादी युद्धका शहीद तथा बेपत्ता परिवारलाई अभिनन्दन गर्ने गरी राखिएको त्यो कार्यक्रम बहिस्कार गर्न प्रचण्ड-माधव पक्षले आह्वान गरेको छ ।

    प्रचण्ड-माधव पक्षीय जनसांस्कृतिक महासंघले ओली सहभागी भएर हुने त्यो कार्यक्रम बहिस्कार गर्न आह्वान गरेको छ ।

    ‘उहाँ (प्रतिष्ठानकी संयोजक) ले नमानेर उता कार्यक्रम गर्नुभयो, त्यो हाम्रो भावनाविपरीत छ,’ महासंघका संयोजक सरल सहयात्रीले भने, ‘चुनु स्मृति प्रतिष्ठानका साथीहरूले त्यसको विरोधमा विज्ञप्ति जारी गर्दै हुनुहुन्छ। ११ जनामध्ये ८ जना गलत हो भन्नेमा हुनुहुन्छ ।’

    प्रतिष्ठानकी संयोजक गुरुङले भने आफूले नभइ स्वयं सरल सहयात्रीले नै चुनु गुरुङको अपमान गरेको आरोप लगाएकी छिन्। फेसबुकमा सरल सहयात्रीलाई लक्षित गर्दै गुरुङले लेखेकी छिन्, ‘मेरो कुरा ध्यान दिएर सुन, तिमी यदि त्यो महासंघको नेतृत्व हौ भने चुनु प्रतिष्ठानले फागुन १ गते आयोजना गरेको कार्यक्रम बहिष्कार गरेर रोल्पा पुग्नु के चुनु प्रतिको अपमान थिएन ?’

    उनले शहीद कुनै पार्टीको पेवा नहुने भन्दै जनयुद्धका योद्धाहरुको अपमान गर्ने प्रचण्डभन्दा योद्धा र तीनका परिवारलाई न्याय दिन अघि बढेका केपी ओली धेरै ठीक भएकाले देशको प्रधानमन्त्रीबाट प्रतिष्ठानको उद्घाटन गर्न लागिएको बताइन् ।

    उनले प्रचण्डबाट अब जनयुद्धको लिगेसी बोक्न सम्भव नभएको भन्दै रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू जहाँ छन्, जनयुद्धको मूलधार पनि त्यही हुने बताइन् ।

    प्रचण्ड-माधव पक्षीय जनसांस्कृतिक महासंघको विज्ञप्ति:

  • साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

    साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

    जनकपुरधाम । स्रोत नखुलेको ३५ लाख ५० हजार रूपैयाँसहित सप्तरी र धनुषाबाट चारजना पक्राउ परेका छन् ।

    धनुषाको सीमावर्ती नगराईनबाट २५ लाख ५० हजार रूपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका संजय साह र भारत पिपरौन गाउँका सुमित यादव छन् ।

    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ती दुवैजनालाई शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको धनुषा प्रहरी अपराध शाखाका सई सन्तोष झालेले जानकारी दिए ।

    यस्तै सप्तरीको तिलाठीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् ।

    सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सीमा सुरक्षा बल तिलाठीको गस्ती टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।

    प्रहरी स्रतोका अनुसार छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका चारैजना हुण्डीको अवैध कारोबार गर्नेहरू हुन् ।

  • प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन

    प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव पक्षको नेकपानिकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।

    चरणवद्ध संघर्ष गरिरहेको प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन अन्तर्गत दिउँसो १ बजेदेखि काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।

    आदिवासी जनजातिहरू परम्परागत र जातीय भेषभुषामा विरोध प्रदर्शनमा सहभागी थिए ।

    
    
    
    
    
     
  • हामी अहिले रक्तपातहीन युद्धमा छौं : प्रचण्ड

    हामी अहिले रक्तपातहीन युद्धमा छौं : प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि आफूहरू युद्धमा रहेको टिप्पणी गरेका छन् । तर, त्यो युद्ध रक्तपातहीन रहेको उनको भनाइ छ ।

    ‘हामी अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्न खोज्नेविरुद्ध एक प्रकारको युद्धमा छौं,’ मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोन गर्दै प्रचण्डले भने, ‘हामी रक्तपातहीन युद्धमा छौं । अहिले युद्ध हामीले जित्नुछ ।’

    प्रचण्डले माओवादी युद्धलाई पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न लडेको युद्धपछिको सबैभन्दा ठूलो परिघटना भएको व्याख्या गरे। ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न युद्ध लडेपछिको ठूलो घटना जनयुद्ध नै हो,’ उनको भनाइ छ, ‘यसले देशलाई युगान्तकारी परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको हो । तर, मानिसहरुलाई यो कुरा स्वीकार गर्न गाह्रो छ । किनभने हामी पुरै जितेर आएको होइन । हामी सम्झौता गरेर आयौं ।’

    युद्धको रणनीति र राजनीतिक रणनीति मिलाएर आफूहरू अगाडि बढेको भन्दै प्रचण्डले भने, ‘हामी युद्ध मात्रै गरेका भए यहाँ हुने थिएनौं । हामीले गरेको राजनीति नै थियो त्यसैले हामी यहाँ हुने थियो ।’

    अर्को प्रसंगमा प्रचण्डले अदालतप्रति आफूहरूको विश्वास रहेको बताए । आफूहरू पार्टी विभाजनको पक्षमा भए पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई विघटन गरेको आरोप उनले लगाए।

    ‘पार्टी निकै दुःखका साथ बनाइएको हो,’ प्रचण्डले भने, ‘पार्टी विभाजन गर्ने काम भइरहेको छ र हामी भइनै सकेका छौं । हामी अहिले बाँकी जो छौं, पार्टी एकताको पक्षमा छौं। हामीले एकताको झण्डा उठाएका छौं । तर, केपी ओली संविधान र पार्टी विघटनतिर जाने जानुभयो ।’

  • रोचक संयोग : प्रधानमन्त्री र विद्रोही नेताको जन्मदिन उही

    रोचक संयोग : प्रधानमन्त्री र विद्रोही नेताको जन्मदिन उही

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७० औं जन्मदिन मनाउँदैछन् । रोचक संयोग के भने भूमिगत आन्दोलनमा रहेका नेकपा विप्लव समूहका अध्यक्ष नेत्रविक्रम चन्दको जन्मदिन पनि आजै हो । दुई कम्युनिष्ट नेताको उमेरमा भने धेरै अन्तराल छ ।

    ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मेका हुन् भने चन्दको जन्म २०२४ साल फागुन ११ गते रोल्पामा भएको हो । यसरी चन्दभन्दा ओली १६ वर्षले जेठा छन् । उमेरमात्र नभएर ओली र चन्दमा वैचारिक र स्वभावजन्य अन्तरालहरू पनि यथेष्ट छन् ।

    चन्द आजका दिनमा राज्यबाट प्रतिबन्धित समूहका नेता हुन् । विप्लव माओवादीले हिंसात्मक आन्दोलनमार्फत देशमा जनवाद स्थापना गर्ने लक्ष्य लिएको छ । केही हिंसात्मक गतिविधिहरू गरेपछि सरकारले २०७५ साल फागुनमा यो समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता समूहका नेताहरू भूमिगतरूपमा गतिविधि गर्दै आएका छन् । विप्लव पनि लामो समयदेखि भूमिगत छन् ।

    ओली पनि विगतमा कट्टरपन्थी कम्युनिष्ट नै थिए । झापामा भएको सशस्त्र विद्रोहलाई उनले अगुवाइ गरेका हुन् । एक हिसाबले भन्दा आज जुन ठाउँमा विप्लव छन्, त्यो ठाउँमा करिब ५ दशक अगाडि ओली थिए । आज ओलीको छवि अर्कै छ । कम्युनिष्ट ट्याग नहटाइसकेको भए पनि उनी प्रजातान्त्रिक धारका नेताका रूपमा चिनिएका छन् । पूर्वीय दर्शन र अध्यात्मकतर्फ उनको झुकाव बढ्दो छ ।

    अहिले विप्लव समूहप्रति सरकार केही लचक बनेको छ । विप्लवले केही दिनअघि एक विज्ञप्ति जारी गरी सरकारसँग वार्तामा बस्न तयार रहेको उल्लेख गरेका थिए सरकारले पनि विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने मनस्थिति बनाइरहेको छ ।

    को हुन् विप्लव ?

    रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर चन्द र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मेका हुन् नेत्रविक्रम चन्द । माओवादी जनयुद्धमा सामेल भएपछि उनले भूमिगत नाम ‘विप्लव’ राखेका थिए र आजसम्म यही नामबाट चर्चित छन् ।

    मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दको बाल्यकाल रोल्पामै बितेको थियो । उनले रोल्पाको सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । नेकपालका नेता कृष्णबहादुर महराका विद्यार्थी हुन् उनी ।

    चन्दले २०३९ सालमा अखिल छैटौंबाट राजनीति शुरू गरेका थिए । त्यसको ४ वर्षमा उनी विद्यार्थीका रोल्पमा अध्यक्ष भए । त्यही वर्ष एसएलसी पास गरेका हुन् । एसएलसीपछि उनी काठमाडौं आएर कानून पढ्न नेपाल कानून क्याम्पस भर्ना भए ।

    २०४८ सालमा स्नातक पढ्दै गर्दा उनी एकता केन्द्र मसालको सदस्य बनेर सक्रिय राजनीतिमा होमिए । २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसार्इ सर्‍यो । उनले कपिलवस्तुमा रहेको जग्गा पार्टीलाई बुझाएका थिए ।
    माओवादीले जनयुद्ध सुरु गर्दा उनी विद्यार्थी संगठनका उपाध्यक्ष थिए । साथै, पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी पनि उनलेपाएका थिए । पछि उनलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्ज बनायो ।

    २०५५ साल भदौमा भएको माओवादीको चौंथो विस्तारित बैठकबाट केन्द्रीय सदस्य बनेका विप्लव २०५९ सालमा पोलिटब्यूरोमा उक्लिए । २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्यूरो इन्चार्ज भए । कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि उनको चर्चा भएको थियो ।

    माओवादीमा उनी अध्यक्ष प्रचण्डको विश्वासपत्र थिए । तर, माओवादी शान्तिप्रक्रियामा आएपछि कट्टरपन्थी विप्लव प्रचण्डसित टाढिए । शान्ति प्रक्रियामा माओवादीले हस्ताक्षरा गरेकोमा नै उनी सन्तुष्ट थिएनन् । २०६९ सालमा माआवादीबाट अलग्गिएर मोहन वैद्यले नयाँ पार्टी खोल्दा उनी त्यततिर लागे । पछि वैद्यसित पनि कुरा नमिलेपछि २०७१ मा उनले आफ्नै नेतृत्वमा पार्टी बनाएका हुन् । अहिले उनी नेपाल कम्युनिष्ट पार्टीको महासचिव छन् ।

    शान्ति प्रक्रियापछि पनि कुनै लाभको पदमा नपुगेका थोरै नेतामध्ये उनी पर्छन् । २०७४ सालदेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । युवाहरुलाई सत्तापलटको सपना देखाएर हिंसात्मक गतिविधिमा लगाएका विप्लवका आफ्नै छोरा भने डाक्टर हुन् ।

    यो पनि पढ्नुस् : ७० वर्ष लागे ओली, यस्तो छ जीवनको आरोह-अवरोह

  • सडक दुर्घटनाका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

    सडक दुर्घटनाका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

    जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरेका छन् ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा दुर्घटनामा परेर आज बिहान सडकमा छटपटाइरहेका चारजनालाई झाले उद्धार गरेका हुन् । उनी जनकपुरबाट बाराको जीतपुर जाँदै थिए । सोही क्रममा सडकमा घाइतेलाई देखेपछि गाडी रोकेर उद्धार गरेका थिए ।

    झाले आफ्नै सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्मा दिएर घाइते चारैजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएका छन् । घाइतेमध्ये एक बच्चासमेत रहेको र उनीहरूको पहिचान तथा दुर्घटनाको कारण भने खुल्न सकेका छैन ।

  • पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

    पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

    काठमाडौं । उपचारका लागि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई अस्पताल भर्ना गरिएको छ ।

    प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराईलाई बिहान ९ बजे भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भट्टराईलाई भर्ना गरिएको हो । ‘आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ’, पाण्डेले ट्वीटमा लेखेका छन् ।

    चिकित्सकले न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट सोमबार दिल्ली गएका हुन् ।

  • हतकडीसहित अदालत परिसरबाटै २ थुनुवा फरार

    हतकडीसहित अदालत परिसरबाटै २ थुनुवा फरार

    विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा हतकडीसहित फरार भएका छन् ।

    लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत उपस्थित गराइएका मोरङ कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरी हतकडीसहित भागेका हुन् ।

    उनीहरु दुवैजनालाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरीको आँखा छलेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

    हिजो साढे ३ बजेतिर फरार भएका उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ । दुवैजना भारततिर भागेको हुनसक्ने प्रहरी आशंका छ । सबैतिर नाका सिल गर्दै भागेका थुनुवाको खोजी तीव्र पारिएको जनाइएको छ ।

    चियानास्ता गर्न भनी अदालतकै क्यान्टिनमा गएका उनीहरू फरार भएको प्रहरीको भनाइ छ । खाजा खानुअघि प्रहरीको मोबाइल मागेर केही व्यक्तिहरुलाई फोन पनि गरेको प्रवक्ता राईले बताए ।

    लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले शेख आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर र तौल गर्ने मेसिनसहित पक्राउ परेका थिए । चौधरी भने विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका हुन् ।

  • ७० वर्ष लागे ओली, यस्तो छ जीवनको आरोह-अवरोह

    ७० वर्ष लागे ओली, यस्तो छ जीवनको आरोह-अवरोह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन मनाउँदैछन् । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ ।

    २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।

    ओलीको परिवार २०२२ सालमा तेह्रथुमबाट झापामा बसाइँ सरेको थियो । झापा आएपछि ओली कम्युनिष्ट राजनीतिमा होमिए । २०२२ सालबाट राजनीतिमा सक्रिय उनले २०२६ सालमा कम्युनिष्ट पार्टीकाे सदस्यता लिएका हुन् ।

    झापाको सुरुङ्गास्थित कन्काई नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । डेढ वर्षकै उमेरमा आमा गुमाएकाले उनको बाल्यकाल पनि कष्टप्रद बन्यो । उनी सानै छँदा कन्काईमा आएको बाढीले घरजग्गा सबै बगाएको थियो ।

    ६९ औं जन्मदिन मनाउँदै प्रधानमन्त्री । फाइल तस्बिर

    तेह्रथुम इवाकै प्रणाली माविमा ओलीले औपचारिक पढाइ सुरु गरेका थिए । पछि उनलाई झापा आन्दोलनका शहीद रामनाथ दाहालले आफ्नो घरमा राखेर पढाए । सानैदेखि चलाख र बोल्न तगडा ओलीबाट रामनाथ प्रभावित थिए । उनले नै ओलीलाई राजनीतिमा लाग्न प्रेरित गरेका हुन् ।

    राजनीतिमा लागेपछि ओलीले पढाइलाई निरन्तरता दिन सकेनन् । यद्यपि अनौपचारिक अध्ययनलाई भने उनले जारी राखे । एसएलसी दिएपछि उनले गाउँकै प्राथमिक विद्यालयमा केही समय पढाएका थिए । तर, पछि त्यो पनि छोडे ।

    १४ वर्षको जेलजीवन

    राजनीतिमा ओलीको वास्तविक उदय भने झापा विद्रोहबाट भएको हो । त्यसबेला उनी वैचारिकरुपमा कट्टरपन्थी कम्युनिष्टका रुपमा चिनिन्थे । उनले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको नेतृत्व गरेका थिए ।

    पञ्चायतविरोधी आन्दोलनका क्रममा ओली लामो समय जेलमा बस्नुपर्यो । पहिलोपटक २०२७ साल फागुन १६ गते झापाबाट पक्राउ परेका उनी त्यसपछि बारम्बार पक्राउ पर्ने र छुट्ने सिलसिला चल्यो । २०३० असोज २३ गते पक्राउ परेपछि भने उनले लामो र कष्टपूर्ण जेलजीवन बिताउनुपरेको थियो । यस क्रममा उनलाई ‘जेलभित्रको पनि जेल’ भनिने गोलघरमा राखिएको थियो । त्यसबेला ओली मृत्युको मुखमा पुगेर बाँचेको उनका सहयात्रीहरु बताउने गर्छन् ।

    केन्द्रीय कारागार, नख्खु जेलबाट २०३६ साल जेठमा ओली जेलमुक्त भए । तर, फेरि २०३७ सालमा गिरफ्तार भएका उनी २०४४ असार ११ मा भद्रगोल जेलबाट छुटेका थिए ।

    राजनीतिका आरोह-अवरोह

    नेपालमा कम्युनिष्ट आन्दोलनका अग्रणी नेताहरुमध्ये पर्छन् ओली । पार्टीको नेतृत्व सम्हाल्न भने उनले लामो समय प्रतीक्षा गर्नुपरेको थियो ।

    २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा उनी आवद्ध थिए । २०२६ सालमा तत्कालीन नेकपाको उपसचिव बनेका उनले २०२७ सालमा नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँगकाे एकीकरण अभियानको अगुवाइ गरे । २०२९ सालमा उनी नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुख भए । २०३० सालदेखि लगातार जेल जीवन बिताएपछि ओलीले पार्टीका सिंढी उक्लिन सकेनन् । जेलबाट छुटेपछि एकैपटक २०४४ सालमा आएर उनी नेकपा मालेको केन्द्रीय सदस्य बने ।

    प्रजातन्त्र आएपछि २०४८ र २०५१ सालमा ओलीले झापा ६ बाट संसदको चुनाव जिते । २०४७ मा उनी पार्टी निकट प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष बने । मदन भण्डारीको देहावसानपछि नेकपा एमालेमा माधव नेपाललाई महासचिव बनाउन ओलीको भूमिका थियो । ओलीले ‘सेकेन्ड म्यान’ का रुपमा नेपाललाई अविच्छिन्न साथ दिए । पछि नेपालसँग उनको फाटो भयो । अहिले उनीहरु अलग–थलग भइसकेका छन् ।

    २०४९ सालदेखि २०७१ सालसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य मात्रै भए पनि पार्टीभित्र उनी शक्तिशाली मानिन्थे । अन्ततः २०७१ साल असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । त्यसअघि २०७० साल माघमा झलनाथ खनाललाई हराएर उनी संसदीय दलको नेतासमेत बनिसकेका थिए । यसरी नेपालकाे राष्ट्रिय राजनीतिमा ओलीको जबरजस्त उदय भएको थियो ।

    ओली पहिलोपटक लाभको पदमा पुगेको चाहिं २०५१ सालमा हो । त्यसबेला एमालेको अल्पमतको सरकारमा उनी शक्तिशाली गृहमन्त्री थिए । गृहमन्त्रालय हाँक्दा निकै राम्रो छवि बनाए उनले । त्यसपछि उनी एकपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा दुईपटक प्रधानमन्त्री बनेका छन् । २०६३ सालमा उनी उपप्रधानमन्त्री बनेका थिए । ओली २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भए । कांग्रेसका सुशील कोइरालालाई हराउँदै उनी प्रधानमन्त्री पदमा पुगेका थिए । तर, त्यो सरकार ९ महिना मात्रै टिक्यो ।

    गृहमन्त्रीका रुपमा सफल ओलीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा भने खासै छाप छाड्न सकेनन् । प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल भने छोटो तर अविस्मरणीय रह्यो । उनले भारतले लगाएको नाकाबन्दी डटेर सामना गर्दै राष्ट्रवादी छवि बनाएका थिए । दोस्रो कार्यकालमा भने उनी अपेक्षित सफल भइरहेका छैनन् ।

    क्षमता र कमजोरी

    पहिलोपटक प्रधानमन्त्री बनेयता ओलीले प्रखर राष्ट्रवादी नेताको छवि बनाएका छन् । त्यसबेला अत्यन्तै अप्ठेरो कालखण्डमा उनी प्रधानमन्त्री बन्न पुगेका थिए । भारतले लगाएको नाकाबन्दीसँग नझुकिकन उनले यसलाई पार लगाए ।

    प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका तीन वर्ष ओलीले व्यतीत गरेका छन् । यो कार्यकालमा उनी अत्यधिक विवादमा तानिए । लामो समयपछि देशले स्पष्ट बहुमतसहितको बलियो सरकार पाएको थियो । तर, पार्टीभित्रको कचिंगललाई सही समाधान गर्न नसक्दा सरकारको कामकारबाही प्रभावित बन्यो । अन्ततः ओलीले प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहसी निर्णय लिन पुगे । यो उनका राजनीतिक जीवनकै सर्वाधिक विवादित कामका रुपमा रेकर्ड हुनेछ ।

    ओलीको एउटा विशिष्ट प्रतिभा भनेको वाक्पटुता हो । उनका भाषण समर्थक र विरोधी दुवैले चाख मानेर सुन्ने गर्छन् । भाषणबाटै ओलीले निकै आलोचना पनि भोग्ने गरेका छन् । विरोधी नेताहरुलाई भित्तामा पुर्याउने गरी प्रहार गर्न खप्पिस छन् ओली । उखान टुक्का र हास्यरसले भरिएका उनका भाषणहरु चर्चित छन् । तर, भाषण गर्ने क्रममा कहिलेकाहीं आफ्नो पदीय मर्यादा नै बिर्सिने गरेको आरोप उनीमाथि लाग्ने गर्छ ।

    उच्च मनोबल र सक्रियता ओलीको अर्को सबल पक्ष हो । दुईपटक किड्नी फेरेर पनि उनले आफूलाई कहिल्यै कमजोर सोचेनन् । अहिले पनि पार्टी निर्माणका काममा देशभर खटिरहेका छन् । स्वास्थ्यप्रति लापरवाह रहेकोमा उनका निकटस्थहरु भने चिन्तित बन्ने गर्छन् ।

    ओलीको अर्को प्रशंसित पक्ष भनेको ज्ञानको भण्डार हो । औपचारिक अध्ययन कम भए पनि उनको ज्ञानले अनौपचारिक अध्ययनमार्फत आफ्नो ज्ञानको दायरा फराकिलो बनाएका छन् । राजनीति मात्र नभएर अरु पनि विभिन्न विधामा उनी लामो प्रवचन दिन सक्छन् । उनी नयाँ नयाँ कुराहरुमा पनि अपडेट रहन्छन् । राष्ट्र निर्माणको भिजन पनि उनीसँग छ, तर त्यसको कार्यान्वयन पक्षमा भने ओली कमजोर देखिएका छन् । बोली र व्यवहारको अन्तराल घटाउन सके उनीबाट अझै देशले आशा राख्ने ठाउँहरु छन् ।

  • मैले राजीनामा दिएको छैन, षडयन्त्रकारीले हल्ला चलाए : महान्यायाधिवक्ता खरेल (भिडियो)

    मैले राजीनामा दिएको छैन, षडयन्त्रकारीले हल्ला चलाए : महान्यायाधिवक्ता खरेल (भिडियो)

    काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलाएर आफूमाथि षड्यन्त्र गर्न खोजेको बताएका छन् ।

    नेपाल प्रेस सँग कुरा गर्दै उनले भने, ‘मैले राजीनामा दिएको छैन । राजीनामा गर्नुपर्ने परिस्थिति नि छैन । कुनचाहिं षड्यन्त्रकारीले कुनामा बसेर हल्ला चलाए ।’

    सामाजिक सञ्‍जाल तथा केही सञ्‍चारमाध्यमले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलाको सँघारमा महान्यायाधिवक्ता खरेलले राजीनामा गरेको भनेर भ्रामक प्रचार गरेका थिए ।

  • बालुवाटारमा सुरक्षा परिषद् बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्दै

    बालुवाटारमा सुरक्षा परिषद् बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान १० बजेका लागि बैठक बोलाइएकोमा त्यसअघि सुरक्षा परिषद्‍को बैठक बस्ने भएको छ । सुरक्षा परिषद् बैठक शुरू हुन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

    सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षासम्ममा केही छलफल हुने बताइएको छ ।

    सहज वातावरण बनेमा वार्ताको लागि सकारात्मक रहेको विप्लवको धारणा आइसकेको अवस्थामा आज सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

    परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उहाँहरू शान्तिपूर्ण ढंगले आउन चाहँदा सरकारले सकारात्मक रूपमा लिएको र यसका लागि सहज वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए ।

  • प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु

    प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताएका छन् ।

    उनले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका हुन् । रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् ।

    उनले विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति जनाएका हुन् । रोकाया साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि पनि उनी सोही पदमा छन् ।

  • आहा रारा गोल्डकप : सहारा क्लब र कथा नेपालबीच सम्झौता

    आहा रारा गोल्डकप : सहारा क्लब र कथा नेपालबीच सम्झौता

    काठमाडौं। चैत १७-२८ मा पोखरामा सञ्चालन हुने ‘आहा रारा गोल्ड कप’ प्रतियोगिताको १८ औँ संस्करणको अडियो भिडियो अधिकारका लागि सहारा क्लब पोखरा र कथा नेपाल प्रालीबीच सम्झौता भएको छ।

    सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रा.लि.का तर्फबाट मनोजराज पाण्डेले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।

    कथा नेपाल प्रालिद्वारा सञ्चालित देखापढी डट कमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।

  • सर्वोच्चको आदेशविपरीत धर्मेन्द्र रिहालगत्तै पुन: पक्राउ

    सर्वोच्चको आदेशविपरीत धर्मेन्द्र रिहालगत्तै पुन: पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई पुन: पक्राउ गरिएको छ ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

    रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्चको गेटबाट प्रहरीले बलपूर्वक पक्राउ गरेको छ ।

    सोही मुद्दामा फेरि पक्राउ गरिए प्रहरीलाई नै कारवाही गर्ने सर्वोच्च अदालतको आदेशविपरीत प्रहरीले सर्वोच्च अदालत परिसरबाटै धमेन्द्र बास्तोलालाई पुनः पक्राउ गरेको हो ।

    यसैबीच अदालत परिसरबाटै प्रहरीको धरपकडप्रति सर्वोच्च स्रोतले असन्तुष्टि जनाएको छ । बिहानैदेखि अनुसन्धानको नाममा सादा पोसाकको प्रहरी परिचालन गर्न र शौचालयसम्म निगरानी गर्नुले सेवाग्राहीसमेत आतंकित भएको स्रोतको भनाइ छ ।

  • भागबण्डा र अस्थिरताको लागि संसद पुन:स्थापनाको खेलमा लागेका छन् : प्रधानमन्त्री

    भागबण्डा र अस्थिरताको लागि संसद पुन:स्थापनाको खेलमा लागेका छन् : प्रधानमन्त्री

    कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयप्रति आफ्नो पूर्ण विश्वास र सम्मान रहेको बताएका छन् । दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका ओलीले अदालतलाई सधैँ सम्मान गर्ने दोहोर्‍याए ।

    शनिबार विराटनगरमा गरेको सम्बोधनलाई लिएर केहीले हौवा फिँजाएको भन्दै ओलीले आफूले लोकतन्त्र बलियो पार्ने र देश बनाउने आन्दोलन गर्ने भनेको तर ढुंगामुढा र नाराजुलुश गर्ने आन्दोलनका रूपमा अफवाह फैलाइएको प्रष्ट्याए ।

    भागबण्डाको राजनीति र अस्थिरताको खेल शुरू गर्न पाइन्छ भनेर केही संसद पुन:स्थापनाको खेलमा लागेको प्रधानमन्त्रीले बताएका छन् । ‘अब देश चुनावतिर गइसकेको छ । तपाईंहरू सबै चुनावको तयारीमा लाग्नुस्’, ओलीको भनाइ थियो ।

    भागरथी भट्टको हत्यामा संलग्नलाई चाँडै पक्राउ गरेर देखाएको प्रहरी बहादुरीप्रति उनले प्रशंसा गरे । ओलीले भने, ‘अब निर्मला पन्तको हत्यारालाई पनि चाँडै कानुनी दायरामा ल्याइनेछ ।’

  • विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

    विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

    बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

    यसअघि अदालतले छाड्न आदेश दिएपनि उनलाई पुन: पक्राउ गरिएको थियो । सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

     

     

  • बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने

    बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने

    काठमाडौं । स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने भएको छ ।

    उनले आज चिकित्सकसँग प्रारम्भिक स्वास्थ्य परामर्श गरेका छन् । प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार थप परीक्षण र उपचारका लागि भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भट्टराईलाई भोलि भर्ना गरिने छ ।

    पेटमा समस्या देखिएपछि भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

    चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट सोमबार दिल्ली दिल्ली गएका हुन् ।

  • प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

    प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

    कञ्‍चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् ।

    आज कञ्चनपुरको निर्माणस्थलमै पुगेर प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

    ८ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४५० बिघा रहेको छ ।

    पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रदेशको मात्रै नभई मुलुकै व्यापार घाटा कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

    एकैपटक चार प्रदेशमा पाँचवटा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्य अनुरुप दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो । औद्योगिक क्षेत्रहरूको शिलान्यासका लागि फागुन १० , ११ , १३, १४ र १६ गते औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

    पाँचमध्ये प्रधानमन्त्रीले दुई वटा, अर्थमन्त्री विष्णु पौडेलले एउटा र उद्योगमन्त्री लेखराज भट्टले दुईवटा औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

  • प्रधानसेनापतिले भेटे प्रधानन्यायाधीश

    प्रधानसेनापतिले भेटे प्रधानन्यायाधीश

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए ।

    सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका हुन्।

    ‘सर्वोच्च अदालतको भवन निर्माण हुँदै छ सर्वोच्च पछाडि, त्यो सेनाको क्याभलरी भएको जग्गा हो,’ नेपालप्रेससँग अदालत निकट स्रोतले भन्यो, ‘सरकारी जग्गा भए पनि हस्तान्तरण र प्राप्तिको एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रधान सेनापति सेनाको प्रमुख भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले उहाँलाई बोलाउनु भएको हो ।’

  • नेपालमा फ्रेन्चाइज फुटबल शुरू हुँदै, पहिलो संस्करण वैशाखमा

    नेपालमा फ्रेन्चाइज फुटबल शुरू हुँदै, पहिलो संस्करण वैशाखमा

    काठमाडौं । नेपालमा पहिलोपटक फ्रेन्चाइज मोडलमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ को पहिलो संस्करण सञ्चालन हुने आज आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

    नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

    पहिलो संस्करणमा देशभरिका विभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरहरुका फ्रेन्चाइज टिमहरु सहभागी हुनेछन् ।

    टिमको नाम र टिम मालिकको जानकारी एक विशेष समारोहका बीच यसै महिनाभित्र सार्वजनिक गर्ने बताइएको छ ।

    अक्सनको माध्यमबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिने नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ‘यस प्रतियोगिता गर्नुको मुख्य उद्देश्य निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडीहरू र फुटबल खेललाई थप व्यवसायिक बनाउन टेवा पुर्‍याउने हो,’ विज्ञप्तिमा भनिएको छ । हरेक टिममा विदेशीसहित विभिन्न श्रेणीका २० खेलाडीहरु रहनेछन् । राउन्ड रोविन लिग फर्म्याटमा हुने प्रतियोगितामा १९ खेलहरु हुनेछन् । खेलाडीको श्रेणी छुट्याउने काम एन्फासँगको सहकार्यमा हुने जनाइएको छ ।

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबलपछि विवाद मोडियो, अबको बाटो के ?

    मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबलपछि विवाद मोडियो, अबको बाटो के ?

    विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आइतबार सरकार पक्षको बहिष्कारका बीच सदनमा टेबल भएको छ ।

    अविश्वासको प्रस्ताव पेस भएसँगै प्रदेश सभा सञ्चालनलाई लिएर विवाद अन्तै मोडिएको छ । प्रदेश सभा सञ्चालनको प्रकृया प्रदेशसभा नियमावाली विपरीत भएको भन्दै सत्ता पक्षले वैधानिकतामाथि प्रश्‍न उठाएको छ । प्रदेश १ को मुख्यमन्त्रीसहित मन्त्रीहरू ओलीपक्षीय नेकपाका छन् ।

    नेकपाकै प्रचण्ड-माधव पक्ष भने अब प्रदेश सरकार परिवर्तनको प्रक्रिया औपचारिकरूपमा शुरू भएको दाबीसहित आइतबारको प्रदेशसभा सञ्‍चालन वैधानिक भएको जिकिर गरिरहेको छ ।

    सरकार पक्षले आइतबार साँझ नै नियमावलीमा उल्लेख भएको बैठक सञ्चालन र स्थगनसम्बन्धी व्यवस्थाको बर्खिलाप हुने गरी बैठक सञ्चालन भएको विषयलाई लिएर विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अवैधानिक रुपमा सञ्चालन गरेको बैठकमा प्रस्ताव टेबल गरिएकोले कानुनी उपचारमा जाने बताइसकेका छन् ।

    मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव पक्षका नेता भीम आचार्यले सरकार परिवर्तनको प्रक्रिया शुरू भएको बताए । नेपाल प्रेससँग कुरा गर्दै आचार्यले मुख्यमन्त्री राईलाई राजनीतिक इमान्दारीता भए राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका छन् ।

    हिजोको प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारी प्रस्ताव गरेका थिए । तर, सभामुख भण्डारीले मुख्यमन्त्री राईको प्रस्ताव अस्वीकार गर्दै बैठक संचालन गरेका थिए ।

    आइतबारको प्रदेशसभा बैठकमा नेकपा प्रचण्ड-माधव पक्षका सांसद इन्द्र आङ्बो प्रस्तावक र लक्षुमन तिवारी समर्थक रहेको मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस भएको छ । आइतबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले ‘संविधानको धारा १८८ को उपधारा ४ बमोजिम तथा नियम १२९ को उपनियम १ बमोजिम मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन आएको र जम्मा ३७ जनाले संयुक्त हस्ताक्षर गरेकामा पाँचजनाले पुनः निवेदन दिई प्रस्ताव फिर्ता लिएको’ सदनसमक्ष जानकारी गराएका थिए ।

    प्रदेशसभा नियमावलीमा के छ ?

    प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ मा प्रदेशसभा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ । नियमावलीको परिच्छेद ३ मा ‘बैठकमा मन्त्रीको उपस्थिति हुनुपर्नेछ र कुनै खास विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ’ भन्ने उल्लेख छ ।

    तर, आइतबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री, मन्त्री र ओलीपक्षीय नेकपाका सांसदहरूले बैठक बहिष्कार गरे । प्रचण्ड-माधव पक्षीय नेकपा र नेपाली कांग्रेसका सांसदहरू भने सहभागी थिए । एक पक्षले बैठक बहिष्कार गरेको अवस्थामा बैठक सञ्चालन र स्थगनबारे नियमावलीमा केही उल्लेख छैन ।

    पार्टी विवादको बाछिटा प्रदेशसभामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै ने पार्टी केन्द्रको विवादको बाछिटा प्रदेश १ मा पनि पर्‍यो ।

    मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन गरेको भन्दै अर्थमन्त्री इन्द्र आङ्बोलाई पुस १० गते बर्खास्त गरेका थिए । लगत्तै पुस १२ बिहान प्रचण्ड-माधव पक्षका मन्त्री जीवन घिमिरे, जसमाया गजमेर र विजय विश्वासले पदबाट राजीनामा दिए । सोही दिन भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव दर्ता गरियो ।

    त्यसलगत्तै पार्टी विभाजन नभइसकेको अवस्थामा विधि विधान मिचेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भन्दै दलको नेताको हैसियतले मुख्यमन्त्रीले प्रचण्ड-माधव पक्षका १६ सांसदलाई निलम्बन गरे ।

    नेकपाको प्रचण्ड-माधव पक्षले पनि मूख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गरेको जानकारी प्रदेशसभा सचिवालयमा गराएको थियो ।

    संवैधानिक व्यवस्था

    संविधानको धारा १८८ मा मुख्यमन्त्रीविरुद्ध विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ । उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीन दिनभत्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्छ ।

    उपधारा ४ मा प्रदेशसभामा तत्काल कायम रहेका सदस्यहरूमध्ये एकचौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखितरूपमा अविश्वास प्रस्ताव पेस गर्न सक्नेछन् । तर, मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको प्रस्ताव असफल भएको एक वर्षभित्र त्यस्तो प्रस्ताव पेस गर्न सकिने छैन ।

    उपधारा ६ मा अविश्वासको प्रस्ताव बहुमतबाट पारित भए मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था गरेको छ ।

    तर, नेकपाको दुवै पक्षलाई प्रस्ताव पास या फेल गराउन चाहिने संख्या अपुग छ । यस प्रदेशमा अविश्वासको पक्ष वा विपक्षमा उभिन बहुमतको लागि ४७ सांसदको बहुमत पुग्नु पर्छ । बहुमतका लागि भने दुवै पक्षलाई कांग्रेसको समर्थन आवश्यक छ । प्रस्तावको पक्ष वा विपक्ष कता लाग्ने भन्नेबारे कांग्रेसले अहिलेसम्म निर्णय गरिसकेको छैन ।

    यस्तो अवस्थामा संविधानको धारा १६८ मा व्यवस्था भएको प्रदेश मन्त्रिपरिषद्सम्बन्धी व्यवस्थामा विश्वासको मत लिन नसके वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था रहेको छ ।

    संविधानको धारा २३२ को उपधारा ३ मा कुनै प्रदेशमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएका राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद् वा प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन वा विघटन गर्न सक्ने व्यवस्था छ । त्यसलाई संघीय संसदबाट बहुमतले अनुमोदन गराउनुपर्छ ।

    तर, अनुमोदन नभए निलम्बन स्वतः निस्क्रिय हुन्छ । उपधारा ३ बमोजिम गरिएको निलम्बन भने ३५ दिनभित्र संघीय संसदको बहुमतबाट अनुमोदन नभएसम्म प्रदेशसभामा संघीय शासन लागू हुने व्यवस्था छ ।

    विघटनको सम्भावना टर्‍यो

    प्रदेशसभा विघटनका लागि मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग अनौपचारिक परामर्श पनि गरेको स्रोतले बताएको छ ।

    राईले विभिन्न मिडियामा अन्तर्वार्ता दिने क्रममा पनि प्रदेशसभा विघटन हुनसक्ने उल्लेख गरेका थिए । उनले सरकार ढाल्ने सहमति जुट्यो र अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल हुने अवस्था आए प्रदेशसभा विघटन गरिने प्रष्टसँग भनेका थिए ।

    तर, आइतबार अविश्वास प्रस्ताव टेबल भएपछि प्रदेशसभा विघटनको सम्भावना टरेको संवैधानिक कानुनका विज्ञ डा. भीमार्जुन आचार्य बताउँछन् ।

    ‘संवैधानिक कानून र संसदीय मान्यता अनुसार अविश्वास प्रस्ताव टेबल भइसकेपछि प्रदेशसभा विघटनको बाटो बन्द भयो’, आचार्यले नेपाल प्रेससँग भने,‘अब मुख्यमन्त्री राईसँग अविश्वास प्रस्तावको सामना गर्ने एकमात्र विकल्प बाँकी छ ।’

  • नारायणकाजीले गरे बाबुरामको स्वास्थ्यलाभको कामना

    नारायणकाजीले गरे बाबुरामको स्वास्थ्यलाभको कामना

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना गरेका छन्।

    न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा भट्टराई उपचारका लागि आइतबार दिल्ली प्रस्थान गरेका थिए।

    ‘पूर्वप्रधानमन्त्री एवं जसपाको संघीय परिषदका अध्यक्ष मित्र डा. बाबुराम भट्टराइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

    २०७४ प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ र भट्टराई गोरखाको एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । निर्वाचनमा भट्टराई विजयी भएका थिए।

    दुवै नेताको गृहजिल्ला एउटै भएकाले जिल्लामा को हाबी हुने भन्ने प्रतिष्पर्धा उनीहरूबीच छ। दुवैजनाले बेला-बेलामा एकअर्काप्रति कटाक्ष पनि गर्ने गरेका पनि छन् ।