Author: Shyamkrishna Dahal

  • कांग्रेस बैठकमा समीक्षा- बल नेकपाकै कोर्टमा छ, फुट्ने कि जुट्ने निर्णय गरुन्

    कांग्रेस बैठकमा समीक्षा- बल नेकपाकै कोर्टमा छ, फुट्ने कि जुट्ने निर्णय गरुन्

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय सत्तारुढ नेकपाकै हातमा रहेको भन्दै अहिले कुनै निष्कर्ष निकाल्नु हतारो हुने समीक्षा गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थाबारे छलफल भएको छ । बैठक चलिरहेका बेला बाहिरिएका सहमहामन्त्री डा. प्रकाशशरण महतले बल अहिले नेकपाकै कोर्टमा रहेको प्रतिक्रिया दिए ।

    उनले भने, ‘सरकार राख्ने कि हटाउने भन्ने कुरा कांग्रेस भन्दा नेकपा नै निर्णायक हो । नेकपा विभाजन भएको हो कि होइन ? उहाँहरुको पहिले प्रष्ट हुनुपर्छ । अहिले नै कांग्रेसले निष्कर्ष निकाल्नु अपरिपक्व हुन्छ । हामीले बैठकमा राजनीतिक घटनाक्रमको समीक्षा गरेका छौं तर सरकारबारे अहिले हाम्रो कुनै धारणा हुन्न ।’

    महतले संसदमा अविश्वास प्रस्ताव आयो भने त्यसबेलै छलफल हुने बताए । पहिले नेकपाभित्रको विषय प्रष्ट हुनुपर्ने कांग्रेस बैठकमा समीक्षा भएको छैन । नेकपा कानूनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको बताएको छ ।

  • नवनियुक्त दुई राजदूतले लिए शपथ

    नवनियुक्त दुई राजदूतले लिए शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनीहरूलाई शपथग्रहण गराइएको हो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

  • ऋषि कट्टेलको मुद्दामा सुनुवाई सकियो, नेकपाको फैसला फागुन २० मा

    ऋषि कट्टेलको मुद्दामा सुनुवाई सकियो, नेकपाको फैसला फागुन २० मा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला फागुन २० गते हुने भएको छ । ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाई आज सकिएको छ ।

    न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनुवाईको मिति तोकिएको हो । कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

    ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक पटक सुनुवाई स्थगित हुँदै आएकोमा दुई वर्षपछि अब फैसला हुने भएको छ ।

    अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिक रुपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।

  • सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ?

    सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ?

    काठमाडौं । मंगलबार देशमा संकटकाल लाग्‍नसक्ने हल्लासँगै सेयर बजार ध्वस्त हुने अड्कलबाजी भए । लगानीकर्ता अनलाइन र ब्रोकर कम्पनी नै गएर धमाधम सेयर बेच्न पुगे । हल्लैहल्लामा त्यो दिन केही समय ८८ अंकसम्म नेप्से तल झर्‍यो । र, पुन: केही समयमा लयमा फर्कन थाल्यो ।

    मंगलबार साँझ नै संसद पुन:स्थापनाको सर्वोच्चको फैसलाले लगानीकर्तामा खुसी थपियो । सँगै नयाँ राजनीतिक घटनाक्रमले नेप्सेमा सकारात्मक प्रभाव पर्ने उनीहरूको आकलन थियो । तर, मंगलबार नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा देखिएको समस्याले लगानीकर्ता अलमलमा परे ।

    जसले गर्दा सेयर कारोबार रकम नै अन्य दिनको तुलनामा अर्बौंले घट्न पुग्यो । सेयर बजारले गति लिन्छभन्दा आज लगानीकर्ताको आकलनभन्दा बाहिर गएर नेप्से घटेको छ ।

    आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढेपछि लगानीकर्ता थप उत्साहित बने । बुधबार २५९९.०८ विन्दुमा बन्द भएको नेप्से प्रि-ओपन समयमा २६२२.७१ विन्दुमा पुगेको थियो । तर, केही समयको कारोबारपछि पुन: नेप्से घट्न पुग्यो । आज नेप्से घट्नु कुनै पनि कारण नभएको बताउँछन् सेयर विश्लेषक प्रकाश तिवारी । उनका अनुसार हिजो टीएमएसमा देखिएको समस्याका कारण आजको बजार प्रभावित भएको हो ।

    ‘हिजो टीएमएसमा देखिएको समस्या बजारमा लाखौं लगानीकर्ताको अपेक्षाबाहिर थियो । नेप्सेको चरम लापरवाहीका कारण लाखौं लगानीकर्ताको अर्बौंको लगानी गुम्न पुग्यो’ उनले भने ‘देशको राजनीति र सेयर बजार फरक भएकाले राजनीतिको असर सेयर बजारमा एकदम कम पर्छ तर, यहाँ राजनीतिको नाममा साना लगानीकर्तालाई हतोत्साही बनाइन्छ ।’

    तिवारीका अनुसार बजारमा राजनीतिको अफवाह फैलाएर बजार घटाउने काम समेत हुन्छ । यो बेलामा सेयर बजारमा जो सुकै लगानीकर्ताले पनि धैर्य राख्नु सबैभन्दा उत्तम हुने उनले बताए ।

    ‘आफूले थोपा-थोपा जम्मा गरेर लगानी गरेको सम्पत्ति हल्लै हल्लामा बेचेर घाटा ब्यहोर्नु उपयुक्त हुँदैन । साना लगानीकर्ता हल्लाको पछाडि दौड्दा ठूला लगानीकर्ताले मौकाको फाइदा उठाउँछन् । यो बेलामा हल्लाको पछाडि नदौडी संयमता अपनाउनुपर्छ,’ उनले भने ।

    नेपालमा जोकोही सामाजिक सञ्जालमा सेयर विश्लेषक भएका कारण नेप्से घट्ने र बढ्ने गरेको पनि उनको भनाइ छ । अहिले सामाजिक सञ्जालमा हुने विश्लेषणका आधारमा नै धेरै लगानीकर्ता फस्न पुगेको उनी तर्क गर्छन् ।

    ‘सामाजिक सञ्जालमा केही त यस्ता विश्लेषक पनि छन् जसले सेयर बजार अब यतिमा अंकमा पुग्छ भनेर अंकै तोक्ने गर्छन् जुन सरासर गलत छ । कसैले पनि सेयरको अंकै तोकेर भन्न सक्ने अवस्था हुदैन । यस्तो भन्नेलाई नियमन निकायले कारबाही गर्नुपर्छ’ तिवारीले नेपाल प्रेससँग भने ।

    सरकार परिवर्तन हुँदा भोलि कुन अर्थमन्त्री आउने हो भन्ने हल्लाले पनि सेयर घट्न सकेको बताउँछन् लगानीकर्ता । साथै लामो समयदेखि बढिरहेको सेयर बजारमा नाफा बुक गर्ने गरी करेक्सन पनि आएको थिएन। राजनीतिक माहोलको बहानामा नाफा बुक गर्न सकेको विश्लेषक बताउँछन् ।

    नेप्से परिसूचक आज ४४ दशमलव ९४ अंकले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ७३ प्रतिशतले घट्दै २५५४.१४ विन्दुमा रोकिएको छ ।

    आज एक करोड ५८ लाख ५६ हजार १७१ कित्ताको किनबेचमा ६ अर्ब ९८ करोड १ लाख ८८ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यसैगरी, नबिल बैंकको २१ करोड, नेश्नल हाइड्रोपावर कम्पनीको २१ करोड, नेपाल बैंक लिमिटेडको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरि हिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी, नेश्नल हाइड्रो पावरको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

  • ३१ जना सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

    ३१ जना सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

    काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

    सरुवा भएका सहसचिवहरुको विवरण यसप्रकार छ ।

  • ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

    ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

    काठमाडौं । केपी ओलीपक्षीय नेकपानिकट अनेरास्वियूले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलासँगै संसदलाई राजनीतिको फोहोरी खेलको अखडा बनाउने हर्कतहरू देखा पर्न थालेको बताएका छन् ।

    संयोजक ऐन महरले विज्ञप्तिमार्फत अदालतले मंगलबार गरेको संसद विघटन बदर गर्ने फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    ६४ प्रतिशत जनमत बोकेको नागरिक सरकारले सार्वभौम जनताको दैलोमा जाने गरी संसद विघटन गर्ने निर्णय मुलुकको विकास, स्थिरता, सुशासन र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि अत्यन्तै अग्रगामी, लोकतान्त्रिक, संवैधानिक र बहुदलीय संसदीय व्यवस्थाको स्थापित परम्परा र मान्यताबमोजिम नै रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

    ‘यदि गत पुस ५ गते सरकारले संसद विघटन गर्ने निर्णय नगरेको हुन्थ्यो भने हाम्रो संसदलाई प्रयोग गरेर देशी, विदेशी प्रतिक्रियावादीहरूले नेपाल र नेपालीहरूको विरुद्ध गम्भीर षडयन्त्र गर्ने, सांसदहरूलाई खरिदबिक्री गर्दै विदेशीहरूको इशाराको निर्देशित सरकार बनाउने, संसदलाइ बिगतको जस्तै फोहोरी खेलको अखडा बनाउनेजस्ता गम्भीर र खतरनाक हर्कतहरू गर्ने सुनिश्चित थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘तर, दुर्भाग्य सर्वोच्चको फैसला सँगसँगै यी यस्ता षड्यन्त्रमुलक हर्कतहरुको पुनरावृत्ति हुने लक्षण देखापरिसकेको छ ।’

    वैशाख १७ र २७ गते तोकिएको निर्वाचनबाट प्रधानमन्त्री ओली फेरि पनि अत्यधिक जनमतसहित सरकारको नेतृत्वमा पुग्दैछन भन्ने सन्देश रास्ट्रब्यापी मात्रै नभई विश्वव्यापी रूपमा गइरहेको र यी दृश्यले सत्ता र शक्तिका लागी लालायित व्यक्तिहरू अत्तालिएको टिप्पणी विज्ञप्तिमा गरिएको छ ।

    कानूनको सर्वोच्चताको पैरवी गरिररहने संगठन भएको अनेरास्ववियूले अदालतले गरेको फैसलालाई स्वीकार गर्ने महरले जनाएका छन् ।

  • यस्तो छ अवहेलना मुद्दामा दमननाथ ढुंगानाको लिखित जवाफ

    यस्तो छ अवहेलना मुद्दामा दमननाथ ढुंगानाको लिखित जवाफ

    काठमाडौं । पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाले अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका छन् ।

    बिहीबार अदालत पुगेका ढुंगानाले पेस गरेको लिखित जवाफमा आफूले प्रतिनिधिसभा विघटन सम्बन्धमा बोलेको विषयलाई तोडमोड गरेर अवहेलना मुद्दा लगाउन खोजिएको जिकिर गरेका छन् ।

    ढुंगानाले एउटा कार्यक्रममा प्रतिनिधिसभा पुनःस्थापना नभए संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूलाई जनताले सडकमा ल्याउने अभिव्यक्ति दिएका थिए । ढुंगानाले भने भिडियो समेत हेर्दा आफ्नो भनाइका विभिन्न अंश काटेर गलत ढंगले प्रवाह गरिएको बताएका छन् ।

    ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अदालतका अवहेलनामा कारवाहीका लागि निवेदन दर्ता गराएका थिए । सो निवेदनमाथि सुनुवाइ गर्दै माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको थियो ।

    ढुंगानाले अदालतमा पेश गरेको लिखित जवाफको पूर्णपाठ:

     

  • राजनीतिक समीकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    राजनीतिक समीकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । संसद पुनःस्थापनापछिको राजनीतिक समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक केहीबेरमा बस्दैछ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेका लागि बैठक बोलाइएको थियो । नेताहरू बैठकस्थल पुग्नेक्रम जारी छ । आजको बैठकमा देउवाले सम्भावित सत्ता समीकरणका लागि आएका प्रस्तावबारे नेताहरूलाई जानकारी गराउनेछन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतले भने तत्काल सरकारमा जान पार्टी हतारिन नहुने विषय बैठकमा राख्ने तयारी गरेका छन् ।

  • अदालतको आदेशपछि कोषले भन्योः जलहरी राखिसक्यौं, अब के हुन्छ थाहा छैन

    अदालतको आदेशपछि कोषले भन्योः जलहरी राखिसक्यौं, अब के हुन्छ थाहा छैन

    काठमाडौं । पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले नराख्न आदेश दिएपछि पशुपति विकास कोष अन्योलमा परेको छ । जलहरी राख्ने काम भइसकेपछि आदेश आएको हुँदा यसलाई के गर्ने भन्नेमा कोषले निर्णय लिन सकेको छैन ।

    कोषका सदस्य सचिव डा. प्रदिप ढकालले अदालतको अन्तरिम आदेश बिहीबार मात्रै कार्यालयमा आइपुगेको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘आदेश कार्यालयमा भर्खरै दर्ता भयो, मेरो टेबलमा आइपुगेको छैन । म हेर्छु । तर, हामीले जलहरी त राखिसक्यौं क्यारे ।’

    उनले अदालतमा मुद्दा परेको समेत जानकारी नभएको दाबी गरे ।

    उनले थपे, ‘मलाई त अदालतमा मुद्दा परेको पनि थाहा थिएन । हिजो अदालतले आदेश दिएको रहेछ । १७ गते बोलाउनुभएको छ, गएर कुरा गर्छौं ।’

    मन्दिरमा जलहरी राखिसकेपछि यसलाई अब के गर्ने भन्ने छलफल नभएको उनले बताए । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगमा १०८ किलो सुनको जलहरी राखिएको थियो ।

    तर, प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्च अदालतमा दिएको रिटमा साँझ अदालतले तत्काल मन्दिरमा जलहरी राख्ने काम रोक्न अन्तरिम आदेश दिएको थियो ।

    शिवलिंगमा सुनको जलहरी राख्न ८० करोड खर्च भएको कोषले जनाएको छ । कोषका अनुसार मंगलबार राति नै जलहरी स्थापना गरिएको हो । कोषले चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्न लागेको भन्दै सम्पदाप्रेमीहरूले विरोध जनाएका थिए ।

    कोषका सदस्य प्रदिप ढकालले केही पत्रकारलाई पशुपति मन्दिरभित्र लगेर सुनको जलहरी देखाएका थिए ।

  • प्रचण्ड-माधवलाई जसपाको प्रश्‍न- तपाईंको पार्टी कुन हो ? (भिडियो)

    प्रचण्ड-माधवलाई जसपाको प्रश्‍न- तपाईंको पार्टी कुन हो ? (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि प्रचण्ड-माधव पक्ष र जसपा नेतृत्वबीच छलफल भएको छ ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा पुगेका थिए ।

    छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति प्रचण्ड-माधवले आफूहरूलाई प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । जसपा नेताहरुले प्रचण्ड-माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेका छन् ।

    प्रस्तावबारे पार्टीको बैठकमा छलफल गर्ने बताएको भन्दै महतोले भने ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रष्ट हुनुस् भनेर हामीले जिज्ञासा राख्यौं ।’

    जसपा नेताहरूले पटक-पटक गरेको सहमतिमा आफूहरुले धोका खाएको पनि स्मरण गराएका थिए । आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू जेलमा रहेकोमा रिहाइको शर्तलाई पनि सवालको रूपमा जसपा नेताहरूले उठाएका छन् ।

    ‘हाम्रा आन्दोलनकारी साथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन विताइरहेका छन् । यी सवालहरू छन् । हामीले याे प्राथमिकताका साथ उठाएका छौं, आगामी दिनमा पनि उठाउने छौं र यसको लागि संघर्ष गर्छौं’ महतोले भने, ‘संविधानमा रहेका त्रुटि, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौं ।’

    यसअघि हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि दाहाल र नेपाल दुवैले संयुक्त भेट गरेका थिए ।

  • उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना पक्राउ

    उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं । उपहार परेको प्रलोभन देखाएर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    फरक-फरक व्यक्तिलाई उपहार पर्‍यो भनेर प्रलोभनमा पारी आईएमईमार्फत पैसा पठाउन लगाएर ठगी गरेको पीडितहरूको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत छन् ।

    महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले काठमाडौं-६ याङरिमा हिलसिटीबाट उनीहरूलाई ५३ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

  • किर्ते भौचर र छाप बनाई १ करोड बढी राजस्व हिनामिनाको आरोपमा लेखापाल पक्राउ

    किर्ते भौचर र छाप बनाई १ करोड बढी राजस्व हिनामिनाको आरोपमा लेखापाल पक्राउ

    काठमाडौं । बैंकको किर्ते भौचर र छाप प्रयोग गरी राजस्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय भरतपुर चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार पक्राउ परेका छन् ।

    काठमाडौंको तारकेश्वर नगरपालिका-६ मा बस्दै आएका ५७ वर्षीय परियारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार लेखा अधिकृत परियारसमेतको संलग्‍नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरूको दस्तखतसमेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रूपैयाँ सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

  • सांसदले ‘विघटित अवधि’को पनि तलब पाउने, एकैपटक तीन महिनाको आउँदै

    सांसदले ‘विघटित अवधि’को पनि तलब पाउने, एकैपटक तीन महिनाको आउँदै

    काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि रोकिएको सांसदहरूको तलब सुचारु हुने भएको छ । विघटन र पुन:स्थापनाबीचको ‘शून्य समय’ को तलब पनि उनीहरुले पाउनेछन् ।

    पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जना माननीयहरुको तलब सुविधा रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको छ । अब सांसदहरुले प्रतिनिधिसभा विघटत भएको समय पुस र माघको तलब फागुनको तलबमा खप्टिएर एकैपटक प्राप्त गर्ने भएका छन् ।

    प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले फागुनको तलबमा सांसदहरुको पुस र माघको तलब पनि खप्टिएर जाने बताए ।

    ‘सामान्यतया प्रत्येक महिनाको अन्तिम साता उहाँहरुले तलब पाउनुहुन्छ । संसद विघटनको अवस्थमा रहेको पुस माघ महिनाको तलब पनि अब फागुनकाे तलबसँगै जान्छ’, पाण्डेले नेपाल प्रेससँग भने । ’

    प्रत्येक सांसदले तलब-भत्ता गरी मासिक करिव ६५ हजार रूपैयाँ बुझ्ने गरेका छन् । यो हिसाबले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ ।

    पुस र माघ महिनाको ३ करोड ५७ लाख ५० हजार रूपैयाँ र फागुन महिनाको १ करोड ७८ लाख ७५ हजार रूपैयाँ गरी ५ करोड ३६ लाख २५ हजार रूपैयाँ संघीय सञ्चिति कोषबाट सांसदको तलबबापत एकैपटक खर्चिनुपर्ने भएको छ ।

  • घर बसीबसी घरजग्गा किनबेच गर्न सकिने ! यस्तो छ ल्याण्ड मार्केटको तयारी

    घर बसीबसी घरजग्गा किनबेच गर्न सकिने ! यस्तो छ ल्याण्ड मार्केटको तयारी

    काठमाडौं । सरकारले घरमै बसेर घरजग्गा किनबेच गर्न सकिने गरी भूमि बजार (ल्याण्ड मार्केट) स्थापना गर्ने भएको छ । स्थापना भएपछि ल्याण्ड मार्केटबाट जग्गा खरिद र बिक्री गर्न सक्ने छन् ।

    भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले ल्याण्ड मार्केटका लागि छलफल शुरू गरेको २ महिना पूरा भएको छ । अब डेढ महिनामा अन्तिम प्रतिवेदन आउने र अर्थमन्त्रालयसँग सहकार्य गरेर अगाडी बढ्ने मन्त्रालयले जनाएको छ ।

    भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले गत सोबार पनि ल्याण्ड मार्केट स्थापनाको प्रक्रिया बढिरहेको बताए ।

    भूमि बजार स्थापनासँगै घरजग्गा कारोबारमा संलग्न भई पैसा कमाउने बिचौलियाहरूको पनि प्रभाव विस्तारै अन्त्य हुनेछ । अहिले सेयर बजारमा ब्रोकर कम्पनी जस्तै घरजग्गा खरिद-बिक्रीमा संलग्नहरूले कम्पनी मार्फत करको दायरामा आउने जोशीले बताए ।

    जोशीले भने ‘नेपाल स्टक एक्सचेन्जमा जसरी कम्पनीहरु सूचीकृत भएपछि सेयर कारोबार हुन्छ त्यसैगरी ल्याण्ड मार्केटमा पनि सूचीकरण भई जग्गा किन्न र बेच्न सकिने व्यवस्था हुन्छ ।’

    ‘ल्याण्ड मार्केटको ऐन, कानून र कार्यविधिलगायतका विषयमा छलफल गर्न बाँकी छ । जग्गासँग सम्बन्धित कारोबारहरू आधिकारिक र मान्यता प्राप्त संस्थामार्फत् गर्नुपर्छ भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेकाले ल्याण्ड मार्केटको शुरूआत गर्न लागिएको हो ।’ प्रवक्ता जोशीले भने ।

    ल्याण्ड मार्केटबाट कसरी जग्गा किन्न वा बेच्न सकिन्छ ?

    जग्गा क्रेता वा बिक्रेतालाई आफ्नो जग्गा बेच्न वा अरुको जग्गा किन्नका लागि औपचारिक रुपमा खडा गर्न लागिएको संस्था हो ल्याण्ड मार्केट ।

    यो मार्केटमा जग्गा खरिद-बिक्री गर्न चाहनेलाई अनलाइनमार्फत खरिद-बिक्री गर्न सकिने व्यवस्था गर्छ । यदि कसैलाई जग्गा बिक्री गर्नुपरेमा आफ्नो जग्गाको विस्तृत विवरण ल्याण्ड मार्केटको वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइटबाट खरिद गर्न सक्ने छन् ।

    अवधारणा

    घरजग्गा किनबेच गर्दा दलाल (ब्रोकर) को माध्यमबाट हुने गरेको छ । खरिद-बिक्री गर्दा जग्गाको किन्ने र बेच्ने ठगिने क्रम बढ्दो छ । जग्गा किनेपछि पछि जग्गामा समस्या आयो भने पनि दलाल त्यसको जिम्मेवार हुँदैनन् । मार्केटबाट जग्गा किन्दा कोही ठगीने र पछि समस्या आउने हुँदैन । राजश्व छलीलगायतका समस्या धेरै आएपछि रोक्नका लागि सरकारले ल्याण्ड मार्केटको अवधारणा ल्याएको हो ।

    ल्याण्ड मार्केटबाट कारोबार गर्दा नक्कली जग्गा खडा गरी पूर्जा दिनेजस्ता प्रवृत्तिलाई रोक्न र ठगिनेलगायतबाट पनि रोकिने छ । जग्गाको किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योलको पनि यसले अन्त्य गर्छ ।

    किनबेच प्रक्रिया

    ल्याण्ड मार्केटको अनलाइन प्रणालीबाट घरजग्गाको किनबेच कसरी गर्ने भनेर वेबसाइटमा जानकारी राखिएको हुन्छ । घरजग्गा बिक्री गर्ने व्यक्तिले आफूले बिक्री गर्ने जग्गाको विस्तृत विवरण राख्नुपर्ने छ । जग्गा किन्नेले वेबसाइटमार्फत नै खरिद गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

    जग्गा बेच्न चाहानेले ल्याण्ड मार्केटमा अपडेट गरेपछि सूचीकरण हुन्छ र जग्गा किन्न इच्छुकले सोही मार्केटबाट अनलाइनका माध्यमबाट किन्न सक्नेछन् ।

    अहिले मन्त्रालयमा छलफलको क्रममा रहेकोले संघमा मात्रै केन्दीय कार्यालय खोलेर प्रदेशमा शाखा खोल्ने कि सबै प्रदेशमा केन्द्रीय कार्यालय खोल्ले भन्ने एकिन नभएको जोशीले बताए ।

    कसरी संचालन गर्ने भन्ने मोडालिटी प्रतिवेदन आएपछिमात्र थाहा हुनेछ ।

  • खुमलटार पुगेर प्रचण्डसँग वामदेवले भने- पार्टी एकताको पहल गर्नुस्

    खुमलटार पुगेर प्रचण्डसँग वामदेवले भने- पार्टी एकताको पहल गर्नुस्

    काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पहल गर्न प्रचण्डसँग प्रस्ताव गरेका छन् ।

    बिहीबार दाहाल निवास खुमलटार पुगेका गौतमले प्रतिनधिसभा पुन:स्थापनापछि पार्टी एकता गर्ने जिम्मा तपाईंकै काँधमा आएको भन्दै पुन: एकीकरणको पहलका लागि प्रचण्डसँग छलफल गरेको गौतमनिकट स्रोतले बताएको छ ।

    सर्वोच्चको फैसलासँगै प्रचण्डले आफूलाई विजयी महसुस गरेकोले पार्टी एकताको पहल गर्ने जिम्मेवारी पनि उनले नै लिनुपर्ने गौतमले बताउँदै आएका छन् ।

    प्रचण्डले गौतमसँग प्रधामन्त्रीको कार्यशैलीमा भर पर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

  • कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

    कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

    विराटनगर । पार्टी विभाजनपछि कतै नलागी बसेका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड-माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि विराटनगरबाट काठमाडौं पुगेका पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वको सरकार बनाउन जान नहुने बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने जनाए ।

    पण्डितले भने-बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।

    नेता पण्डितले नेपाल प्रेससँगको कुराकानीका क्रममा पार्टीलाई एक बनाउने विषय असम्भव नरहेकाले त्यसका लागि आफूले छलफल चलाउने बताए ।

    उनले अदालतको फैसलापछि एक समूह हारियो र सबै सिद्धियो भन्ने स्थितिमा पुगेर अर्को समूहमा जितको उन्माद देखिएकाले दुवै समूहका शीर्ष नेताबीच छलफल चलाउने माध्यमका रुपमा आफ्नो भूमिका रहने बताए ।

    उनले अदालतले संसद पुनर्स्थापना गराउने फैसलालाई स्वागतयोग्य समेत भनेका छन्।

    उनले भने-अहिले म अलिकति सरसल्लाहमा छु, एक दुई दिनमा मेरो खेमा प्रष्ट हुनेछ। नेकपाका दुवै समूहबाट यो बीचमा धेरै कमी–कमजोरी भएका छन् ।

    नेता पण्डितले यसअघि अदालतको फैसला आएपछि आफू नेकपाको कुन समूहमा जाने भन्ने निर्णयमा पुग्ने बताउँदै आएका थिए ।

    तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिंदै आएका थिए । एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर उनी प्रचण्ड-माधव समूहमा पनि सार्वजनिक रुपमा भने खुलेका छैनन् ।

  • नेकपा संसदीय दलको गणित- दुवै पक्ष हाराहारीमा (सूचीसहित)

    नेकपा संसदीय दलको गणित- दुवै पक्ष हाराहारीमा (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब सत्तासमीकरणको खेल शुरू भएको छ । नेकपा विभाजनले कानूनी मान्यता पाइनसके पनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ ।

    पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहले पुष्पकमल दाहाल (प्रचण्ड) लाई संसदीय दलको नेता चयन गरेको थियो । तर, प्रतिनिधिसभा पुनःस्थापित भइसकेपछि नेकपा विभाजनले कानूनी मान्यता नपाइसकेकाले वैधानिक प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।

    प्रचण्ड-माधव पक्षले संसदीय दलको बैठक बोलाएको छ । कानूनविद्समेत रहेका प्रचण्ड-माधव पक्षका सांसद कृष्णभक्त पोखरेलले वैधानिक प्रक्रियाबाट दलको नेता हटाउनुपरेमा त्यसमा जान सकिने बताए ।

    नेपाली कांग्रेसले पनि सत्ता समीकरणमा लाग्नुअघि नेकपाको वैधानिक विभाजन खोजेको छ । नेकपाको संसदीय दलमा प्रतिनिधिसभाका १७३ र राष्ट्रियसभाका ५० गरी २२३ सांसद छन् ।

    दलको नेता चयनमा दुवै सदनका सांसद सहभागी भए पनि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा प्रतिनिधिसभाका सदस्यको मात्र भूमिका हुन्छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रचण्ड, माधव नेपालसहित ९० जना सांसदको हस्ताक्षर थियो ।

    त्यसमा तत्कालीन सरकारमा रहेका दुई मन्त्री घनश्याम भुसाल र योगेश भट्टराईको हस्ताक्षर थिएन । उनीहरू दुईजनालाई समेत जोड्दा प्रचण्ड-माधव पक्षमा प्रतिनिधिसभाका १७३ मध्ये ९२ जना सांसद पुगेका थिए ।

    तर, यसैबीचमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये प्रभु साह र गौरीशंकर चौधरी ओली पक्षका लागेर मन्त्री भइसकेका छन् । शेरबहादुर तामाङ, यज्ञ बोगटी र भैरवबहादुर सिंह ओली पक्षमा लागेका छन् । यो संख्या घटाउँदा प्रचण्ड-माधव पक्षमा ८७ जना सांसद हुन्छन् । तर, सभामुखसहित जोड्दा ८८ पुग्छन् ।

    वामेदव गौतमकी पत्नी तुलसा थापाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् र उनी एकता अभियानमा छिन् । ओली पक्षको केन्द्रीय सदस्य समेत रहेकी थापाको समर्थन कता हुन्छ भन्ने कुरा वामदेवको निर्णयमा भर पर्छ । वामदेवले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् ।

    यसबीचमा लालबाबु पण्डितले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भनेर तटस्थ बसे पनि सर्वोच्च अदालतको फैसलापछि सम्भवतः उनी प्रचण्ड-माधव पक्षमै खुल्नेछन् । किनकि उनी विगतदेखि नै माधव नेपालनिकट नेता हुन् । नेपाल प्रेससँग कुरा गर्दै पण्डितले एक/दुई दिन अझै छलफलमा रहने बताए ।

    सर्वोच्च अदालतको फैसलापछि अहिलेसम्म दुवै पक्षका सांसद यथावत् छन् । तर, यसबीचमा ओली पक्षका केही सांसद आफूहरुसँग सम्पर्कमा रहेको र उनीहरुले कित्ता परिवर्तन गर्ने प्रचण्ड-माधव पक्षका नेताहरूले बताएका छन् । लालबाबु र तुलसी थापासमेत सो पक्षमा लागेमा यो संख्या ९० पुग्छ । हाल ओली पक्षमा प्रतिनिधिसभाका ८३ सांसदको हिसाब देखिन्छ ।

    राष्ट्रिय सभाका सदस्यसमेत जोड्दा संघीय संसदीय दलमा प्रचण्ड-माधव पक्षका सांसदको संख्या ११२ छ । त्यस्तै ओली पक्षमा दुवै सदनका सांसदको संख्या १०८ छ ।

    १७४ सिट प्रतिनिधिसभामा रहेका नेकपाको समानुपातिक सांसद सानु शिवाको निधनपछि हाल १७३ सिट भएको हो । राष्ट्रियसभामा वामदेव गौतमबाहेक ओली पक्षमा राष्ट्रियसभा अध्यक्षसहित २५ र प्रचण्ड-माधव पक्षमा उपाध्यक्षसहित २४ सांसद छन् । वामदेव प्रचण्ड-माधव पक्षमा लाग्दा बराबरी हुन्छ ।

    प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संसदीय दलको नेता चयनमा सहभागी हुन पाउँदैनन् । यदि नेकपा एकीकृत रूपमा रहने गरी दलको नेता चयन प्रक्रिया अघि बढ्यो भने दुवै सदनका २२१ सदस्यले मतदान गर्न पाउँछन् ।

    प्रतिनिधिसभा पुनःस्थापनासँगै कतिपय नेकपाका सांसदहरुले अब गुट परिवर्तन गर्ने क्रम शुरू हुनेछ । दुवै पक्षले आफ्नोतिर सांसद तान्ने क्रम चल्नेछ ।

    तर, सर्वोच्चको फैसलापछि सांसदहरूको ओहोरदोहोर शुरू नहुँदासम्म नेकपा संसदीय दलमा सांसदहरुको विभाजन यस्तो देखिन्छ ।

  • निर्वाचन रोकिएपछि अर्थको भार घट्यो, आयोगले खर्च गरिसकेको मात्रै पैसा पाउने

    निर्वाचन रोकिएपछि अर्थको भार घट्यो, आयोगले खर्च गरिसकेको मात्रै पैसा पाउने

    काठमाडौं । सरकारले घोषणा गरेको निर्वाचन सर्वोच्च अदालतले बदर गरेसँगै अर्थमन्त्रालय ठूलो आर्थिक भारबाट मुक्त भएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब रूपैयाँ बजेट माग गरेको थियो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले मागेको बजेटका लागि स्रोत व्यवस्थापन भएको बताएका थिए । चालु खर्च कटौती गरेर निर्वाचनका लागि बजेट छुट्याइएको उनको भनाइ थियो ।

    सर्वोच्च अदातलको हिजो निर्णयले अब मुलुकमा चुनाव नहुने भएपछि उक्त रकम के हुने हो भन्ने चासो व्यक्त भइरहेको छ । अर्थमन्त्रालयले ७ अर्ब बजेट निकासा भने दिएको छैन ।

    निर्वाचन आयोगको निर्देशिकामामात्रै सहमति जनाएको मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनिराम शर्माले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

    ‘बजेट निकासा दिएको होइन, निर्वाचन आयोगको निर्देशिकामा हामीले सहमति दिएको हो । निर्वाचन आयोगले गरेका र भएका केही खर्च दिनुपर्छ,’ उनले भने ।

    अर्थले सहमति दिइसकेको विषयभित्र निर्वाचन आयोगले गरेको खर्चलाई भुक्तानी दिनुपर्ने उनको भनाइ छ ।

    ‘७ अर्बमध्ये तत्काल करिव ३२ करोड रुपैयाँको माग गरेको थियो । आयोगले सिर्जना गरेका खर्चको दायित्वको भुक्तानी अर्थमन्त्रालले दिन्छ । त्योबाहेक दिनुपर्दैन’ शर्माले भने ।’

    बजेटका लागि सहमति दिने र निकासा दिने फरक विषय भएको उनी बताउँछन् । चैत्र १५ भित्र अर्थमन्त्रालयले खर्च नहुने बजेट ‘सरेण्डर’ गर्नुपर्ने हुन्छ । र त्यही खर्च नहुने शिर्षकका आधारमा आयोगलाई बजेट दिने तयारी गरेको अर्थमन्त्रालले जानकारी दिएको छ ।

  • प्रचण्ड-माधव भोजपुर कमिटीद्वारा संसद पुन:स्थापना पक्षधरप्रति आभार

    प्रचण्ड-माधव भोजपुर कमिटीद्वारा संसद पुन:स्थापना पक्षधरप्रति आभार

    काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै नेकपाको प्रचण्ड-माधव पक्षीय भोजपुर कमिटीले पुन:स्थापनाको पक्षमा लाग्ने सबैमा आभार जनाएको छ ।

    सर्वोच्चको फैसलाले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको भन्दै प्रचण्ड-माधव भोजपुर कमिटीले प्रधानन्यायाधीश, संसद विघटनको विपक्षमा वकालत गर्ने अधिवक्ताहरू, आन्दोलनका सहयात्रीहरूप्रति कृतज्ञता जनाएको हो ।

    जिल्ला अध्यक्ष शरणकुमार राईको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरिएको छ । साथै पुन:स्थापित संसदको काम कारबाहीमा पूर्वसतर्कता, सरकार निर्माणमा संवैधानिक र सन्तुलित पहलकदमीका लागि पर्याप्त तयारी गर्न आग्रह गरिएको छ ।

  • ओलीले कि बहुमत पुर्‍याउन् कि छोडुन् : देउवा

    ओलीले कि बहुमत पुर्‍याउन् कि छोडुन् : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको बताएका छन् ।

    महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा उनले प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेश गर्नै नपर्ने बताए ।

    ‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन, तर कि बहुमतसिद्ध गर्नुपर्‍यो, कि छाड्नुपर्‍यो । योभन्दा विकल्प छैन’, देउवाले भने ।

    संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनःस्थापना दुवै स्वीकार्ने बताएकोमा अन्यथा नलिन देउवाले आग्रह गरे ।

    ‘सर्वोच्चले स्टे अर्डर देला भन्ने लागेको थियो । नदिएपछि अदालतसँग आशंका बढेर पुन:स्थापना वा निर्वाचन जे भए नि मान्छौं भनेको हुँ’, देउवाको स्पष्टोक्ति थियो ।

    उनले अगाडि थपे, ‘कांग्रेसलाई जनताले भोट दिएनन् तर आखिर कांग्रेस नै रहेछ भन्ने बुझियो । कांग्रेसबाट आशा गरेकोमा सबैलाई धन्यवाद ।’

    नेकपा फुटोस् भन्ने कांग्रेसले नचाहेको उनको भनाइ छ ।

  • प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक: अविश्‍वास प्रस्तावबारे नयाँ ढंगबाट सोच्न सकिने (भिडियो)

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक: अविश्‍वास प्रस्तावबारे नयाँ ढंगबाट सोच्न सकिने (भिडियो)

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा पुन:स्थापना भएको सन्दर्भमा प्रधानमन्त्रीविरूद्धको अविश्‍वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगबाट सोच्ने बताएको छ ।

    पेरिसडाँडामा केहीबेरअघि सकिएको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लाग्नुभएकाहरूलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेका छौं ।’

    बैठकले प्रतिनिधि सभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको ठहरसहित आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

    ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीलाई राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन । प्रतिनिधिसभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ ।’

    आफूहरू हिजैदेखि पार्टी एकताको पक्षमा रहेको भन्दै श्रेष्ठले भने, ‘पार्टी एकतालाई प्रहार गर्ने चोइट्याउनेले र आफूलाई आत्मालोचक ढंगले प्रस्तुत नगरेसम्म कुराका लागि कुरा मात्र हुन्छ । मैले संविधान र लोकतन्त्रको विरुद्ध लागेर गल्ती गरें भन्नुपर्‍यो ।’

    कांग्रेससँग सम्भावित सत्ता सहकार्यबारे सोधिएको प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘प्रतिगमनको विरुद्धमा संयुक्त आन्दोलन गर्न चाहन्थ्यौं । कांग्रेसले निर्णय लिएन । संसद पुन:स्थापना भएपछि लोकतन्त्रवादी शक्तिहरू मिलेर जान छलफल गरेका हौं । हामीले फलानालाई बनाएर आफू बन्ने भनेर भनेका छैनौं ।’

  • सिस्टममै देखिएको समस्याप्रति लगानीकर्ताको आक्रोश- नेप्से, वाइको र सेवनको चरम लापरवाही

    सिस्टममै देखिएको समस्याप्रति लगानीकर्ताको आक्रोश- नेप्से, वाइको र सेवनको चरम लापरवाही

    काठमाडौं । बुधवार कारोबार शुरू भएको दुई मिनेटमा नै नेप्से ८६ अंकले घटेको देखियो । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालत फैसलापश्चात बजारले राम्रै उचाइ लिने लगानीकर्ताहरूले अपेक्षा गरेका थिए ।

    सेयर बजार परिसूचक नेप्से ८६ अंकले घट्दा सेन्सेटिभ परिसूचक र अन्य उपसूचक भने बढेको देखिन्थ्यो । त्यसको केही समयपछि ३६ अंकले बजार घट्यो ।

    अझ आश्चर्य त मंगलवार ७ सय २६ रूपैयाँमा पुगेको निफ्राको सेयर कारोबार भएको १ घण्टाभित्रमा १० प्रतिशतले नकारात्मक सर्किटब्रेक लागेर ५ सय ९४ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

    बुधबारको कारोबार त्यही नेप्सेको प्रणालीलाई कमजोर पार्ने काम निफ्राको सेयरले नै गरेको देखिन्छ । निफ्राको सेयरमा बेच्ने ‘क्राउड’ बढेपछी नेप्सेको ‘स्टिम क्रास’ भएको थियो ।

    मूल्य कारोबार भएको निकै समयसम्म निफ्राको सेयरमा शून्य देखाएपछी नेप्सेले कारोबार स्थगित गर्‍यो । जसले गर्दा नेप्सेको प्रणालीमा आएको समस्या सुधार भएको थियो ।

    के कारणले समस्या आयो भन्ने विषयमा अध्ययन गर्ने काम आइटी विभागले गरिरहेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेपाल प्रेसलाई बताए । ‘निफ्रा ठूलो कम्पनी हो , ठूलो संख्यामा लगानीकर्ताहरुको ‘क्राउड’ बढेपछी सिस्टमले काम गर्न छोड्यो । निफ्राको सेयर मूल्य कसरी शून्य भयो त्यसको अध्ययन भइरहेको छ, पराजुलीले भने ।’

    नेपाल धितोपत्र बोर्डले पनि आजको कारोबार अवरुद्धको विषयमा जानकारी प्राप्त भएको प्रतिक्रिया दिएको छ । ‘कुन कारणले समस्या आयो हामीले अध्ययन गरिरहेका छौं’ बोर्डका प्रवक्ता निरज गिरीले भने , ‘हामीले पनि समाचार आएपछि थाहा पाएको हो । निफ्रामा ‘क्राउड’ बढेछ , मूल्य पनि एक्कासी घटेको रहेछ । नेपालमा सेयर बजार सानो छ थोरै लगानीकर्ता भएका कारणले प्रणालीमा समस्या आएको थिएन । अहिले एकैपटक धेरैको भीडले गर्दा समस्या आएको हुन सक्छ । ’

    लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रोनियारले यसलाई नेप्से , धितोपत्र बोर्ड र नेप्सेको अनलाइन प्रणाली निर्माता वाइको कम्पनीलाई चरम लापरवाही भएको नेपाल प्रेसलाई बताए ।

    ‘सर्वोच्चको फैसलापछिको कारोबारको आज पहिलो दिन थियो हामीले आज धेरै कारोबार गर्ने सोच बनाएका थियौं तर नेप्सेको अनलाइन प्रणाली र वेबसाइट र मेरो सेयरमा समस्या आउँदा कारोबार नै गर्न सकेनौं । यसमा नियमक सेवन , धितोपत्र वोर्ड र वाइको कम्पनीको चरम लापरवाही देखिएको छ’ उनले भने, ‘हाम्रो त सेयर हराउने डर भयो अब कसरी लगानी गर्ने ? नेप्सेले फोन पनि उठाएन । हामी सबै लगानीकर्ताको आजको हुन नसकेकोमा ठूलो आपत्ति छ । हामीले तिरेको पैसाले निर्माण गरेको प्रणाली पनि गतिलो रहेनछ ।’

    ‘आज साढे २ बजेसम्म समस्या देखिएको छ यस्ता समस्याहरू पहिले पनि देखिँदा नियमक बोर्ड र नेप्सेले वास्ता गरेका थिएनन् ‘, रोनियारले थपे ।’

    बुधवारको बन्द हुँदासम्ममा सेयर बजार परिसूचक नेप्से १२.५६ अंकले बढ्दै २५९९.०७ अंकको विन्दुमा कारोबार बन्द भयो । २०४ कम्पनीको सेयर कारोवार भएको नेप्सेमा ६ अर्ब ७० करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ओलीपक्षीय नेकपाको निर्णय

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ओलीपक्षीय नेकपाको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।

    ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने बताए ।

    ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनले बताए ।

    आजै प्रचण्ड-माधव पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको बताए ।

    ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ ।

    अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।

  • पार्टी एकीकरणको पहल आफूलाई विजयी भएँ भन्नेले गर्नुपर्छ : वामदेव

    पार्टी एकीकरणको पहल आफूलाई विजयी भएँ भन्नेले गर्नुपर्छ : वामदेव

    विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने गौतमको भनाइ छ । पछिल्ला राजनीतिक घटनाक्रम र अबको परिदृश्यमा केन्द्रित रही गौतमसँग गरिएको कुराकानीको अंश :

    प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुन:स्थापित गरेको छ । र, यसले स्वेच्छाचारी तरिकाले जे मनलाग्यो त्यही गर्दै हिंड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधिसभा मात्रै पुन:स्थापित होइन अरु धेरै कामहरू पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु ।
    मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टीभित्रको राजनीति सबै खलबलिएको थियो ।

    अब कोर्स कताबाट शुरू गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन शिराबाट शुरु हुन्छ ?

    पार्टी एकताको निम्ति शुरू गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरूले हो भनेर यतातिर भनेको छ अनि साइड बाई साइड पार्टी फुटाउने वामदेव हो भनेर दुवैले आ-आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको दाेष अरुलाई लगाउने, आफैं गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरूलाई अगाडि सार्ने र उनीहरूले गर्दाखेरि नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिंड्नुभएको छ । यो पुन:स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुन:स्थापित गर्नुपर्छ । यद्यपि सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरूले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ ।

    कहाँबाट शुरू हुनुपर्छ ?

    जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरू हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । तर, प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ । पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरू एकजुट हुनुहुन्छ म उहाँहरुलाई आव्हान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन ।

    अब तपाईं चाहिं के गर्नुहुन्छ ?

    मैले औपचारिक र अनौपचारिक रूपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मालोचना गर्नुपर्छ । मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अब म आत्मालोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं ।

    सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?

    नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर, म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरि पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस् । मैले गल्ती गरेको थिएँ म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।

  • मिलेर जाने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले भने- पार्टीमा छलफल गर्छु

    मिलेर जाने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले भने- पार्टीमा छलफल गर्छु

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि विजयको खुशियाली मनाइरहेका विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव गरेका छन् ।

    चितवनको आमसभामा सहभागी नभई सीधै काठमाडौं आएका प्रचण्ड र नेपालले देउवालाई बूढानीलकण्ठस्थित निवासमै भेटेर मिल्ने प्रस्ताव राखेका हुन् । देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् । वार्तामा सहभागी एक नेताका अनुसार देउवाले बिहीबार पार्टीमा छलफल गर्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनपछिको अबको रणनीतिबारे छलफल गर्न देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकमा छलफलपछि प्रचण्ड-माधवको प्रस्तावबारे धारणा आउने कांग्रेसले जनाएको छ ।

    आज दुवै पक्षका नेताहरु व्यस्त रहेकाले भेटघाट छोटो समय चलेको थियो । प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक र देउवा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको कार्यक्रममा जान हतारिएकाले विस्तृतमा छलफल हुन नसकेको नेताहरुले बताएका छन् ।

  • खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

    खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-माधव पक्षले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय र्‍याली निकालेको छ ।

    काठमाडौंको शान्तिबाटिकामा भेला भएका नेता कार्यकर्ताहरू विजय उत्सवमा सहभागी भएका छन् । विजय र्‍याली रत्नपार्क, जमल, बागबजार पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ । सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

    मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ । खुशियालीमा आज देशभर विजय सभा गर्न जिल्ला र मातहतका कमिटीलाई बिहानै निर्देशन दिइएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • निर्वाचन आयोगद्वारा सबै चुनावी प्रक्रिया स्थगित

    निर्वाचन आयोगद्वारा सबै चुनावी प्रक्रिया स्थगित

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिष्ट पार्टीबारे निर्णय लिनै पर्ने दबाब घटेको बताएको छ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनै पर्ने समयको चाप आफूहरूमा रहेकोमा अब त्यो हटेको बताए।

    ‘नेकपा विवादबारे निवेदन छ, आयोगले त्यसमा केही निर्णय त गर्नुपर्छ,’ श्रेष्ठले नेपाल प्रेससँग भने, ‘निर्वाचन हुँदा दल दर्ताको सूचना निकालिहाल्नु पर्ने कारणले गर्दा तत्काल निर्णय लिनुपर्थ्यो । अब दल दर्ताका लागि सूचना निकाल्नु नपर्ने भएपछि आयोगलाई यस सन्दर्भमा केही समय उपलब्ध भयो ।’

    आजभोलि नै निर्णय लिनुपर्ने दबाब अब नरहेको बताउँदै श्रेष्ठले भने, ‘हामीले आजै गर्नुपर्ने, भोलि नै गर्नुपर्ने जुन समयको चाप थियो, त्यो अवस्था चाहीं अब रहेन ।’

    उनले धारा ४५ अनुसार परेका निवदेनमाथि पनि आयोगले निर्णय लिने बताए । श्रेष्ठले भने, ‘धारा ४५ अनुसार नेकपाको आधिकारिकताबारे परेको निवेदनबारे त केही न केही निर्णय गर्नुपर्ने हुन्छ । त्यो गरिहाल्छ ।’

    अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेसँगै निर्वाचन नहुने पक्का भएको र चुनावसम्बन्धी सबै प्रक्रिया यहीबाट स्थगित हुने श्रेष्ठको भनाइ छ।

    ‘अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपछि निर्वाचन नहुने पक्का भइहाल्यो,’ उनको भनाइ छ,‘ आयोगले निर्वाचनको तयारी गरेको हो । निर्वाचन नै नहुने भएपछि यो विन्दूबाट अगाडि बढिरहनु परेन ।’

    निर्वाचन प्रयोजनका लागि सामान्यबाहेक ठूलो कुनै पनि खर्च नरहेको उनको भनाइ छ।‘निर्वाचनका लागि प्रयोग हुने सामग्रीको सूचना निकालिएको हो, त्यसको खर्च गरिसकेका छैनौं,’ श्रेष्ठले भने, ‘जिल्लाहरूलाई सामान्य सवारीसधान मर्मत, इन्धन, कार्यालयल समाधन सम्बन्धमा पठाइएको हो । त्यो चाहीँ निर्वाचन भए पनि खर्च हुने, नभए पनि खर्च हुने हो ।’

    सामान्य मेसीनरी मर्मत सम्भारबाहेक अरू धेरै काममा खर्च नगरिएको जानकारी गराउँदै श्रेष्ठले भने, ‘प्रचार-प्रसार सामाग्री, मतपत्र, कर्मचारी बाहिरबाट ल्याएर परिचालन गर्नेलगायतका कामतर्फ चाहीँ केही भएको छैन ।’

  • राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा (तस्बिरहरू)

    राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरेकी छिन् ।

    पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि गरिएको क्षमापूजामा राष्ट्रपति सहभागी भएकी हुन् । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

    राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    पशुपति क्षेत्रमै कालिगड राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

    सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न ३० करोड बजेट व्यवस्थाको घोषणा गरेका थिए ।

              
  • राजीनामा दिए ओलीप्रति सकारात्मक हुन सकिन्छ : भीम रावल

    राजीनामा दिए ओलीप्रति सकारात्मक हुन सकिन्छ : भीम रावल

    कैलाली । नेकपा प्रचण्ड-माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

    धनगढीमा पत्रकारमाझ रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताए ।

    ‘सर्वोच्चले जनताको पक्षमा फैसला गरेको छ’, रावलले भने, ‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । ’ ओलीको पक्षमा रहेकाहरूलाई फर्किनसमेत उनको आग्रह छ ।

  • अदालतको फैसलाले हामीलाई संगठन गर्ने अवसर मिल्यो : शेरबहादुर तामाङ

    अदालतको फैसलाले हामीलाई संगठन गर्ने अवसर मिल्यो : शेरबहादुर तामाङ

    काठमाडौं । प्रचण्ड-माधव पक्ष छाडेर केपी ओली पक्षमा लागेका नेकपा नेता एवम् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सर्वोच्चको फैसलाले आफूहरुलाई अब दुई वर्ष पार्टी अझ बलियो बनाउने अवसर मिलेको टिप्पणी गरेका छन् ।

    ओलीपक्षीय युवासंघको बैठकलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै युवा संघका पूर्वउपाध्यक्ष समेत रहेका तामाङले भने, ‘यसको ठीक उल्टो फैसला आएको भए शायद आज उहाँहरूले आगो बालिरहनुभएको हुन्थ्यो । तर, हामी संयमित छौं र दुई वर्ष संगठन गर्ने अवसर पाएका छौं ।’

    तामाङले अदालत र संवैधानिक निकायका निर्णयले राजनीतिक पार्टी नबन्ने भन्दै विचारका आधारमा अघि बढ्ने बताए । उनले अझै पनि केपी ओली प्रथम अध्यक्ष भएकाले ओलीले बोलाएको बैठकमा प्रचण्ड-माधव पक्ष सहभागी भएमा पार्टी एकता हुनसक्ने दाबी गरे ।

    उनले आफू अवसर र पदका लागि ओली पक्षमा नलागेको र अदालतको फैसलाबाट निराश हुनुपर्ने अवस्था नभएको समेत बताए । भेलालाई सम्बोधन गर्दै अर्का नेता महेश बस्नेतले खेल भर्खर शुरू भएकोले अझै नेकपा विभाजनलाई रोक्न सकिने बताए ।

  • मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

    मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

    काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने र अविश्वास प्रस्ताव आएपनि यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले अविश्वास प्रस्ताव सामना गरेर अघि बढिने बताए ।

    ओलीपक्षीय नेकपाका नेता श्रेष्ठले भने, ‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन् । यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

    श्रेष्ठले प्रधानमन्त्री बनिदेऊ भन्दै केही नेताहरू घर-घर चहारे पनि फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनावी बाटोमै जाने बताए ।

  • बाबुराम भट्टराईको रोग निर्क्यौल हुन केही दिन लाग्ने

    बाबुराम भट्टराईको रोग निर्क्यौल हुन केही दिन लाग्ने

    काठमाडौं । हिजो अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

    उनको वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार पीईटी-स्क्यानलगायतका केही परीक्षण गर्न चिकित्सकले सुझाएका छन् ।

    वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि भट्टराईको रोगको निर्क्यौल हुनेछ ।

    न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराई उपचाररत छन् ।

  • ‘उपत्यका बाहिर जान बन्देज’ को समाचारप्रति उपराष्ट्रपतिको सचिवालयको आपत्ति

    ‘उपत्यका बाहिर जान बन्देज’ को समाचारप्रति उपराष्ट्रपतिको सचिवालयको आपत्ति

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनलाई ‘उपत्यका बाहिर जान बन्देज’ भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको निजी सचिवालयले जनाएको छ ।

    दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएकोमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने भनी निजी सचिवालयको तर्फबाट आयोजकलाई जानकारी गराइएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले विज्ञप्तिमार्फत जनाएका छन् ।

  • प्रचण्ड, माधव र देउवा भेट्दै

    प्रचण्ड, माधव र देउवा भेट्दै

    काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड-माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ ।

    विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको हो । चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    ‘संसद पुनःस्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे टेलिफोन संवाद भइसकेको भए पनि आज भेटेरै छलफल हुन लागेको हो’, देउवानिकट एक नेताले भने ।

  • सर्वोच्चको फैसलाले मन्त्रिपरिषद्का अन्य निर्णय प्रभावित हुँदैनन् : भीमार्जुन आचार्य

    सर्वोच्चको फैसलाले मन्त्रिपरिषद्का अन्य निर्णय प्रभावित हुँदैनन् : भीमार्जुन आचार्य

    काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतको फैसलाले मन्त्रिपरिषद्‍बाट भएका चुनावसँग सम्बन्धितबाहेक अन्य निर्णय प्रभावित नहुने बताएका छन् । साथै सर्वोच्चमा विचाराधीन रहेका विषयहरू भने प्रक्रियागतरूपमै निरुपण हुने उनको भनाइ छ ।

    नेपाल प्रेससँग आचार्यले भने, ‘मन्त्रिपरिषद्‍ले गरेका निर्णय स्वतः खारेज हुँदैन, त्यस्तो स्वतः खारेज हुने कानूनी व्यवस्था छैन । सबै प्रक्रियामा गएर पूरा हुन्छ । सरकारले गरेका कतिपय निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ र ती सबै विचाराधीन अवस्थामा छन् । तिनीहरूको निरुपण सर्वोच्चबाटै हुनेछ ।’

    सर्वोच्चले नै समय तोकिदिएकाले अब मन्त्रिपरिषद्ले संसद बोलाउने निर्णय गरिरहनु नपर्ने उनको टिप्पणी छ । संवैधानिक एवम् कानूनीरूपमा हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आचार्य बताउँछन् ।

    ‘यसमा प्रधानमन्त्रीले असहमति प्रकट गर्न सक्छन् तर नमान्ने भन्ने हुँदैन’ आचार्यले भने । संकटकाल लाग्न सक्ने सम्भावनालाई उनले नकारे ।

    ‘त्यस्तो भयो भने कानूनको हद नाघेको मानिन्छ । अब जे गर्ने हो सबै सदनले नै गर्छ । अब सीधै राष्ट्रपतिले सदन बोलाउने हो ।’