Author: Shyamkrishna Dahal

  • प्रचण्ड-माधवलाई बादलको प्रस्ताव: पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस्

    प्रचण्ड-माधवलाई बादलको प्रस्ताव: पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस्

    काठमाडौं । गृहमन्त्री एवम् ओलीपक्षीय नेकपाका नेता रामबहादु थापा ‘बादल’ ले पार्टी एकता जोगाउने अन्तिम अवसर भएको भन्दै प्रचण्ड-माधव पक्षलाई भदौ २६ को निर्णयमा फर्किन प्रस्ताव गरेका छन् ।

    सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड-माधवलाई अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउने अवसरसमेत मिलेको टिप्पणी गरे।

    ‘उहाँहरूले अविश्वास प्रस्तावलाई फिर्ता गरेर एकता गर्ने अवसर आएको छ,’ बादलको प्रस्ताव छ, ‘तपाईंहरूलाई सच्चिने अवसर मिलेको छ । पार्टी एकताका निम्ति भदौ २६ मा फर्किनुहोस् । आत्म आलोचनसहित भदौ २६ को निर्णय पालना गर्नुहोस् र एकतामा सहयोग पुयाउनुहोस् ।’

    २६ भदौको स्थायी कमिटी बैठकले त्यसअघिका सबै विवादलाई थाती राख्ने, प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार प्रदान गर्ने र केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने निर्णय गरेको थियो ।

    आफूहरू एकताको पक्षमा भए पनि प्रचण्ड-माधव पक्ष फुट, गुट र अस्थिरताको पक्षमा लागेको बादलको आरोप छ । उनले भने, ‘अर्को पक्ष फुट, गुट, अस्थिरता र अन्तरघातको पक्षमा उभिएका छन् । उनीहरूको यो पश्चगामी विचार हो । ’

    प्रचण्डतिर संकेत गर्दै बादलले ‘कर्फर्टेबल सरकार’ को कुरा गरेर राष्ट्रिय स्वाधीनातामा अतिक्रमण गर्ने कोसिस गरिएको समेत दाबी गरे। ‘जनताले स्थायित्वको जनादेश दिएका छन्,’ उनले भने, ‘तर, एकथरी हाम्रा कमरेडहरू कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई अतिक्रमण गर्न चाहन्छन् । समाजवाद रोक्न चाहन्छन् ।’

    आफूहरूले अदालतको फैसला मानेपनि यसले देशलाई अस्थिरतातर्फ धकेलेको बादलको टिप्पणी छ। उनी भन्छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले अदालतको फैसला मान्छौं । तर, यो फैसला स्थिरताका पक्षमा भएको छैन । अदालतको यो फैसलाले हामीले मान्दा मान्दै पनि देशलाई अस्थिरतातिर धकेलेको छ ।’

    सडकको मोर्चाबाट सदनको मोर्चाका संघर्ष शुरू भएको भन्दै अब यो पनि जित्नुपर्ने उनले बताए ।

  • धुर्मुसलाई हौसाउँदै हरिवंशले भने- तपाईं सालिकजस्तै मान्छे हो, देशले मूल्यांकन गर्नेछ

    धुर्मुसलाई हौसाउँदै हरिवंशले भने- तपाईं सालिकजस्तै मान्छे हो, देशले मूल्यांकन गर्नेछ

    काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले अर्को पुस्ताका हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको प्रशंसा गर्दै उनलाई ‘सालिक’को संज्ञा दिएका छन् । धुर्मुसले अघि बढाएको सामाजिक अभियानलाई ईंगित गर्दै उनले यस्तो संज्ञा दिएका हुन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा हरिवंशले जनतासँग पैसा उठाउने काम अत्यन्त संवेदनशील हुने बताए । आफूहरुको अनुभव पनि सुनाउँदै उनले धुर्मुसको सहनशक्ति उच्च रहेको उल्लेख गरे ।

    ‘सामाजिक काम गर्दा एकदमै पोल्छ । जनतासँग पैसाका लागि हात थाप्दा त्यो पैसा होइन आगोजस्तो लाग्छ,’ हरिवंशले भने, ६२/६३ को आन्दोलनका क्रममा हामीले पनि आह्वान गरेर दुई करोड ५० लाख उठाएका थियौं । तर, त्यसमा सानो-सानो प्रश्न उठ्दा पनि रातभरि निद्रा लाग्दैनथ्यो । कोही नकारात्मक प्रवृत्तिका मान्छेले यत्तिकै पनि आरोप लगाइदिन्छन् । त्यसैले हामीलाई यति पोल्यो कि त्यो पैसा आफूसँग राख्नै सकेनौं । एउटा कमिटी बनाएर साइन पनि नगरी हस्तान्तरण गरिदियौं ।’

    हरिवंशले आफूहरूको भन्दा धुर्मुसको सहनशक्ति धेरै रहेको बताए ।

    उनले भने, ‘धुर्मुस भाइ, तपाईं अगाडि बढ्नुस् । तपाईं फलामको मान्छे हो । ढुंगाको मान्छे हो । मलाई त तपाईं एउटा सालिकजस्तै लाग्छ । सालिकलाई सानो ढुंगालो हानो भने ट्वाङ्ग आवाज आउँछ, केही हुँदैन । तपाईंको पनि सहनशक्ति त्यति धेरै छ । तपाईंको महान कामको मूल्यांकन पछि देशले गर्नेछ ।’

    चितवनमा धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालमा कसैको व्यक्तिगत पहलमा अघि बढेको सबैभन्दा ठूलो अभियान भएको हरिवंशले बताए ।

  • प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास

    प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरेका छन् ।

    सोमबार पोखरा सभागृहमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइपुगेका ओलीले केही बेरअघि प्रतिष्ठानको शिलान्यास गरेका हुन् ।

    पोखरा १ नदीपुरमा ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा ३३ कोठाको प्रतिष्ठान निर्माण गरिनेछ । ३३ करोड २१ लाख लागत अनुमान रहेको प्रदेशसभासँगै निर्माण हुने सो भवनमा बहुउद्देश्यीय बैठक कक्ष, क्लास रुम, डाइनिङ हल, पार्किङको सुविधान हुने बताइएको छ ।

  • राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

    राष्ट्रपतिको कार्यालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।

    सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

  • रंगशाला निर्माणमा धुर्मुसको घोषणाः ३० हजार कुर्सी प्रायोजन गर्न सकिने

    रंगशाला निर्माणमा धुर्मुसको घोषणाः ३० हजार कुर्सी प्रायोजन गर्न सकिने

    काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीहरू प्रायोजन गर्न सकिने भएको छ ।

    फाउन्डेसनले प्रत्येक कुर्सीलाई कुनै व्यक्ति वा संस्थाले एक लाखको दरले प्रायोजन गरेर त्यसमा आफ्नो नाम लेख्न सकिने आज घोषणा गर्‍यो ।

    ‘हाम्रो रंगशाला मेरो कुर्सी’ को अवधारणा आज सार्वजनिक गर्दै फाउन्डेसनले यसबाट रंगशाला निर्माणका लागि आर्थिक संकलनमा टेवा पुग्ने आशा व्यक्त गरेको छ । कार्यक्रममा वरिष्ठ हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले फाउन्डेसनले अघिसारेको अवधारणाको प्रशंसा गरे । यसरी कुर्सी प्रायोजन गर्नेलाई रंगशालाप्रति अपनत्व महसुस हुने उनीहरुको भनाइ छ ।’

    कार्यक्रममा तेक्वान्दो खेलाडी दिपक विष्टले भने, ‘यो कुर्सीको अवधारणा मलाई पनि निकै मन पर्‍यो । मैले केही साथीहरुसँग कुरा गर्दा उनीहरुले पनि कुर्सी प्रायोजन गर्न इच्छा देखाएका छन् ।’

    रंगशालाका कुर्सी अनलाइनबाट बुक गर्न सकिने छ । रंगशालाको एप डाउनलोड गरेर आफूले चाहेको कुर्सी बुक गर्न सकिने बताइएको छ । प्रायोजन गरिएको कुर्सीमा आफ्नो वा संस्थाको नाम र ठेगाना उल्लेख गर्न सकिने छ । यो एप एक महिनाभित्रमा आउने कार्यक्रममा जानकारी दिइयो ।

    सोही कार्यक्रममार्फत एक युवाले कुर्सी बुक गर्ने घोषणा गरे । साथै जिल्लावासीहरुसँगको सहकार्यमा रंगशालाका विभिन्न कक्षहरु पनि प्रायोजन गर्न सकिने कार्यक्रममा जानकारी दिइयो । रंगशालाका लागि ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्नेहरुको नामावली शिलालेखमा राखिने र त्यो भन्दा कम सहयोग गर्नेको नामाबली डिजिटल डिस्प्लेमा राखिने बताइएको छ ।

    ३ अर्ब रूपैयाँको लागत अनुमान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला अहिले निर्माणाधीन छ । आर्थिक वा अन्य कारणले कुनै व्यवधान नआएको खण्डमा अबको १८ महिनाभित्र रंगशाला निर्माण पूरा हुने कार्यक्रममा बताइयो । अहिलेसम्म प्याराफिट निर्माणको ३० प्रतिशत काम सकिएको जानकारी पनि गराइएको छ ।

  • रघुजी पन्तको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीको आपत्ति

    रघुजी पन्तको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीको आपत्ति

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीप्रति गरेको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।

    महिलाको क्षमता मूल्यांकन गरेर भन्दा उनीहरूको शारीरिक अंगहरूलाई लिएर टिकाटिप्पणी गर्नु बिडम्बना भएको उनीहरूको भनाइ छ।

    ‘महिला अस्तित्वलाई उपयोगिता र उपभोगसँग दॉंजेर हेर्नु पितृसत्ताबाट आरक्षित अधिकारप्राप्त पुरूषको अहम र आडम्बर हो,’विज्ञप्तिमा भनिएको छ, ‘आधा जनसंख्या भएका महिलाको स्थान निकै कम आँकलन हुनु र उनीहरूको सक्षमता र सबलतालाई स्वतन्त्र मूल्यांकन नगर्नु सामाजिक बिडम्बना हो। स्मरण रहोस् कि राजनीतिक महत्वका स्थानमा महिलाको अत्यन्तै न्यून सहभागिता रहेको अवस्था छ।’

    महिलाको शरीर र यौनिकतालाई केन्द्रबिन्दू टिप्पणी गर्नु मानव अधिकारको हनन् भएको समेत उनीहरूको ठहर छ । ‘महिलाको शरीर र यौनिकतालाई केन्द्रिविन्दु बनाइ राजनितीमा संलग्न महिलाको खिल्ली उडाउने, कुनै पनि व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरी यसरी सार्वजनिक रूपमा दिने अभिव्यक्ति मानव अधिकारको हनन् हो,’ उनीहरूको भनाइ छ, ‘यो अभिव्यक्ति आम महिलाको आत्मसम्मान, स्वतन्त्रता र मानव अधिकार विरोधी छ। महिलाको शरीर र यौनिकताका विषयलाई राजनैतिमा खिल्ली उडाउने, हाँसो र ठट्टाको विषय बनाउने कार्य जो कोहीबाट भएपनि निन्दनीय छ, यस भनाईको हामी भत्सर्ना र खुलेर विरोध गर्दछौं।’

    ऐक्यबद्धता जनाउने व्यक्ति तथा संस्थाहरू प्रणिका कोयू, मानवी पौडेल, संजिता तिम्सिना, टिका दाहाल, नितु पोखरेल, इन्दिरा घले, कल्पना झा, सपना संजिवनी,
    हेमलता राई, नीति अर्याल खनाल, रूखसाना कपाली, स्वेता ज्ञानु बानियाँ, अस्मिना रञ्जित, कला कोयू, मिना तामाङ्ग, सबिता पोखरेल, राजेन्द्र महर्जन, बच्चु हिमांशु, प्रज्वल तुलाचन, मुनु राई, सायरा कार्की, चादँनी राना, प्रतिमा गुरुङ, भावना राउत, संजोग ठकुरी, डा. रेणु अधिकारी, लोक्शरि कुँवर, तुलसा अधिकारी सामाजिक न्यायका लागि महिला सञ्जाल ,महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, अन्तरपुस्ता फेमिनिष्ट सञ्जाललगायत छन् ।

  • प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक फागुन १९ मा

    प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक फागुन १९ मा

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक १९ गते बस्ने भएको छ । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा तय गरिएको छ ।

    यसअघि बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

    स्थायी कमिटी बैठकको मिति भने तय गर्न बाँकी छ ।

  • प्रचण्ड-माधव पक्षले भन्यो- देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय मान्दैनौं (भिडियो)

    प्रचण्ड-माधव पक्षले भन्यो- देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय मान्दैनौं (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो मान्य नहुने बताएको छ ।

    सोमबार बिहान बसेको सचिवालय बैठकले सचेतक गुरुङलाई हटाउने निर्णयप्रति आपत्ति जनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी ओलीले खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरेका थिए ।

    पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धमा हामीले दाबी गरेको आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौं ।’

  • वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर

    वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर

    काठमाडौं। वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

    मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् ।

    यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत गरेकोमा मियाँले अस्वीकार गरेका थिए ।

    उनी हज कमिटीका पूर्वअध्यक्ष पनि हुन् ।

  • प्रदीप ज्ञवालीको टिप्पणी: प्रचण्ड-माधवले सोचेझैं छैन केपी ओलीलाई हटाउन

    प्रदीप ज्ञवालीको टिप्पणी: प्रचण्ड-माधवले सोचेझैं छैन केपी ओलीलाई हटाउन

    काठमाडौं । केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा कानूनीरूपमा विभाजन नहुँदासम्म प्रचण्ड-माधवले सोचेजस्तो प्रधानमन्त्री हटाउन सहज नरहेको दाबी गरेका छन् ।

    आइतबार सिंहदरबारमा नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलालगत्तै लड्डू बाँडेर खुसी साटेकाहरूको उत्साह अब भुइँमा झरेको भन्दै ‘सोचेझैं रैनछ’ भन्ने अवस्थामा पुगिसकेको बताए ।

    ज्ञवालीले भने, ‘नेकपा कानूनीरूपमा विभाजन नहुँदासम्म संविधानको धारा ७६ (१) अनुसारको प्रक्रियाबाट सरकार फेर्न सकिन्न । उहाँहरूले सोचेजस्तो सहज छैन । धारा ७६ भित्रैबाट विकल्प खोज्ने हो भने उहाँहरू त्यो विधिमा आउनुपर्छ । उपनेतालाई दलका नेताविरुद्धको अविश्वास प्रस्ताव दिएर बैठक बोलाउन भन्नुपर्छ । त्यो नगरेसम्म उहाँहरूले अन्यत्र बैठक बसेर वैधानिक हुन्न ।

    मन्त्री ज्ञवालीले प्रचण्ड-माधव पक्षले संसदीय दलभित्रको प्रक्रियाबाट भागेर सीधै संसदमा अविश्वास प्रस्ताव लैजानलाई पनि सजिलो नरहेको विश्लेषण सुनाए । उनले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई झन् जटिल र अस्थिर बनाइदिएको टिप्पणी गरे ।

    प्रवक्ता ज्ञवालीले भने, ‘उहाँहरू सीधै अविश्वास प्रस्तावमा जम्प गर्नुभयो भने पनि त्यसका लागि वैकल्पिक प्रधानमन्त्रीको नाममा सहमति हुनुपर्छ । एक त नेकपा फुटेकै छैन भनेर कांग्रेस, जसपाले भनिरहेका छन् । अर्कोतिर उहाँहरूले नेकपाभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउन लागेपछि उहाँहरुसँग भएका सांसदहरु कति त्यहाँ अडिन्छन् । यी धेरै कुरा हेर्न बाँकी छ ।’

    नेकपाको कानूनी विभाजन किन भएन ? कतै ओली पक्षको दबाबका कारण त होइन ? ज्ञवालीलाई पत्रकारले सोधेको जिज्ञासामा उनले प्रचण्ड-माधव पक्ष त्यसबाट हच्किएको दाबी गरे । उनले ओली पक्षले त विभाजनलाई स्वीकार नै नगरेको र प्रचण्डलाई अध्यक्ष कायमै राखेको बताए ।

    ज्ञवालीले भने, उहाँहरु विभाजनको औपचारिक बाटोमा किन जानुभएन भन्दा पहिलो कुरा उहाँहरू वैधानिक हामी हौं भनेर तलदेखि माथिसम्मको पार्टी कब्जा गर्न चाहनुहुन्छ । तर, दुई अध्यक्ष र महासचिवले बोलाएको बाहेक अरु बैठक वैधानिक हुन्न । दोस्रो कुरा, विभाजन गर्नका लागि अध्यक्ष र महासचिवको हस्ताक्षर अनिवार्य छैन, त्यसो गर्दा उहाँहरुले अर्को दल दर्ता गरेको मानिन्छ र उहाँहरुसँग कति सदस्य छन् भन्ने कुराले कानूनी मान्यता पाउँदैन ।’

    निर्वाचन आयोगले नेकपाको विधान अनुसार निर्णय गरेको भन्दै ज्ञवालीले सहमतिको विधान आयोगमा पेश गरेर, असहमतिबाट निकास खोज्ने तरिका नै गलत भएको ज्ञवालीले बताए ।

    मन्त्री ज्ञवालीले प्रतिनिधिसभामै उपस्थित भएर जवाफ दिन्छु र संसद फेस गर्छु भन्दा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाउनुको औचित्य नरहेको समेत बताए । उनले विगतमा मनमोहन अधिकारीले पनि प्रतिनिधिसभा पुनःस्थापनापछि संसद फेस गरेको भन्दै ओलीले मनमोहनकै बाटो अँगालेको बताए ।

    सर्वोच्च अदालतको फैसला आफूहरुले स्वीकार गरे पनि यसले मुलुकको कार्यकारीलाई कमजोर र निरीह बनाएको तथा राजनीतिलाई थप जटिल र सधैंका लागि अस्थिरताको ढोका खोलेको टिप्पणी मन्त्री ज्ञवालीले गरे ।

    उनले भने, ‘सर्वोच्चको फैसलाले राजनीतिक प्रणालीमा गम्भीर विचलन खडा गरेको छ । यसका असरहरू भविष्यमा देखिंदै जानेछन् । जनताले खोजेको स्थिरता सरकारमा हो । तर, फैसलाले संसद स्थिर हुने स्थिर सरकार भने दिन नसक्ने अवस्था ल्यायो । अदालतले सीमित सरकारको व्याख्या गरेर गम्भीर प्रश्न उब्जाएको छ ।’

  • शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड

    शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याएकी छिन् ।

    शीतल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरूपको प्रतिफल हासिल हुनेमा विश्वास व्यक्त गरिन् ।

    नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिको छ ।

    बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रूपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बालदुर्व्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामूहिक पहल जरुरी रहेको बताइन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकुल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

    कोभिड-१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति सरकार संवेदनशील भएको बताउँदै मन्त्री श्रेष्ठले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए ।

    विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई अनिवार्य बनाउनु पर्नेतर्फ सहभागीहरूले सुझाए ।

    शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसहित संसद सदस्यहरू, जिसस महासंघका अध्यक्ष सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, अभिभावक संघ, राष्ट्रिय शिक्षक महासंघ र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल (एनसीसी) का संयोजक रघुराम भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलन धरेलसमेतको उपस्थिति थियो ।

  • ओलीको हास्यरस : उठिरहेका बूढानीलकण्ठको पाउमा पर्नुभयो साथीहरू ! (भिडियो)

    ओलीको हास्यरस : उठिरहेका बूढानीलकण्ठको पाउमा पर्नुभयो साथीहरू ! (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा पुगेर हास्यव्यंग्यको बिस्कुन लगाएका छन् । इतर समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि गरेको प्रस्तावमा ओलीले रमाइलो मजाक गरे ।

    झापाको ‘नेपाल-चीन मैत्री औद्योगिक पार्क’ को शिलान्यासका क्रममा ओलीले प्रचण्ड र नेपालको नाम नलिइकन यसरी मजाक गरेः-

    ‘प्रतिनिधिसभा पुन:स्थापना भो । के भो त राम्रै भो । अनि के देखियो भने, चितवनको सभा छोडेर प्लेन चढेर काठमाडौं आए । एयरपोर्टबाट यिनीहरूको घर दक्षिणपट्टि, तर लागे उत्तर । सेक्युरिटीले कहाँ जाने सा’ब भनेर सोध्दा बूढानीलकण्ठ भन्छन् । सुतिरहेका बूढानीलकण्ठको पाउमा पूजा गर्न जान्छन् कि भनेको त होइन रहेछ । उनीहरू त उठिरहेका बूढानीलकण्ठ पो खोज्दै गए । गएर निवेदन गरे, ‘प्रभू, संसद पुन:स्थापना भइसक्यो । केही गरे पनि केपी ओलीलाई हटाउन सकिएन । प्रभूले अब प्रधानमन्त्री स्वीकारिदिनुपर्याे । हामी सभामा हाजिर छौं ।’

    विभिन्नथरी रंगीविरंगी, नन्दीभृंगी जम्मा भएर सरकार बनाउँ । केपी ओलीलाई त हटाउनै पर्याे, नत्र देशको विकास गर्छ त्यसले, विकास रोक्नका लागि हटाउनैपर्याे भनेपछि प्रभूले यसो विचार गरे, यी मान्छे त भरपर्दा छैनन् । अनि विचार गर्छु, साथीभाइसँग छलफल गर्छु भनेर पठाइदिए । अँध्यारो मुख लाएर फर्किए ।’

    त्यसपछि ओलीले प्रचण्ड-माधवले जनता समाजवादी पार्टीका नेताहरुसँग गरेको भेटलाई यसरी बयान गरेः-

    ‘फेरि अर्को ठाउँमा गएछन् । हामी मिलेर सँगै काम गर्नुपर्याे । मिलेर जाउँ । उनीहरुले सोधे, कुन पार्टीबाट आउनुभएको तपाईंहरु ? नाम के हो ? भन्न सकेनन् । झस्याङ्ग भए साथीहरू । कुन पार्टी भन्ने भन्ने । संसद पुन:स्थापना भयो, दलको नेता केपी ओली । पार्टी अध्यक्ष केपी ओली । प्रधानमन्त्री केपी ओली नै छ । अनि, अहिले उहाँहरू मसँग हात थाप्न थाल्नुभएको छ, राजीनामा गर्दिनुस् न ।’

    ओलीले त्यसपछि चुनौतीको भाषामा भनेः-

    ‘तपाईंहरुले जब संसद पुन:स्थापना गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई हटाएर देखाउनुस् न । अविश्वास राख्नुस्, हटाउनुस् । पहिले पनि मलाई अविश्वास प्रस्ताव ल्याएर हटाएकै हो । फेरि जनताबाट निर्वाचित भएर आएँ । फेरि हटाउनुभयो भने तीन करोड नेपाली जनताबाट दुईतिहाइ लिएर फेरि आइन्छ । कुनै चिन्ताको विषय छैन ।’

    ओलीले आफूले जिन्दगीमा कैयौं मुद्दा लडेको र हारेको बताए ।

    ‘म त जिन्दगीमा मुद्दा हार्दा-हार्दा गरेको मान्छे । उहिले पनि धेरै मुद्दा हारेँ । गल्ती नगर्ने, मुद्दा हार्दै जाने । मलाई मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाइदिएको होइन । तपाईंहरुले प्रधानमन्त्री बनाएको हो । जबसम्म तपाईंहरु मेरो साथमा हुनुहुन्छ, जबसम्म मेरो साथमा जनता छ, जबसम्म मेरो टाउकामाथि तपाईंहरूको आशीर्वाद छ, तबसम्म मुद्दा त के भो र ?’

    ओलीले आफू ५० वर्षअघि आजकै दिन आफू पक्राउ परेको सम्झिए ।

    उनले भने, ‘संघर्ष हामीले आज थालेका होइनौं । आज मैले सम्झेँ । ५० वर्ष अगाडि… विष्णु प्रसाई र म सँगै पक्राउ परेका थियौं । विष्णु प्रसाईजी यस्सो अगाडि देखिदिनुस् त… हामी २०२७ साल, फागुन १६ गते आइतबार सँगै गिरफ्तार भएका थियौं । आज ५० वर्ष पूरा भो । मैले दुब्लो-पातलो भएर अलि कम कुटाइ खाएँ । उहाँलाई धेरै चर्को कुटाइ भयो ।

    ओलीले थपे, ‘यसरी जेलनेल गरेर, भूमिगत बसेर, मुद्दा झेलेर, दुखकष्ट सहेर हामीले आज यहाँसम्म ल्याएको हो देश । म भन्न चाहन्छु, अहिले पनि हामी सही बाटोमा छौं । देश बनाउने संकल्पमा छौं । त्यसकारण बच्छिउँ खायौं के भन्छन् नि… झुसे बारुलाहरुले फुर्ति नलगाए हुन्छ ।

    ओलीले आज भने उखान राम्ररी भन्न सकेनन् ।

    दुईदिन अघि प्रचण्डले दिएको एक अन्तर्वार्ताले निकै विवाद निम्तियो । त्यसमा उनले भारतका लागि आफूहरुको सरकार सबैभन्दा ‘कम्फर्टेबल’ हुने बताएका थिए । त्यसलाई पनि ओलीले छुटाएनन् ।

    ‘टिभीमा एकजनाले अन्तर्वार्ता दिंदै हुन्छन् हौसिएर । अविर जात्रा गर्दै गर्दा, लड्डु ख्वाईख्वाई गर्दागर्दै एउटा फोन गर्छन् । आवाज सुनिन्छ, त्यो अन्तर्वार्तामा- हेलो.. कैसे हे आप । आपके सहयोगके लिए बहुत-बहुत धन्यवाद । कसलाई भनेको मलाई थाहा छैन । तर, सुनियो त्यस्तो । त्यो हामीले बनाएको होइन । एउटा त्यस्तो अर्को कम्फर्टेबल । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल । यी दुई मिस्टरहरूले नेपाललाई बर्बाद पार्न चाहेका छन् ।’

     

  • प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

    प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

    झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् ।

    झापामा ‘नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वार्ताबाटै समस्या समाधान हुन दृढता जनाए ।

    प्रधानमन्त्री ओलीले यसअघि पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्टलाई मूलधारमा ल्याउने बताएका थिए ।

    महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

    सरकारले विप्लव समूहलाई वार्तामा आउन सहज वातावरण बनाइदिने मन्त्रीहरूले बताउँदै आएका छन् ।

  • भीम रावलको दाबी- ह्वीप नमान्ने सांसदलाई ओलीले हटाउन सक्दैनन् (भिडियो)

    भीम रावलको दाबी- ह्वीप नमान्ने सांसदलाई ओलीले हटाउन सक्दैनन् (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई हटाउन नसक्ने दाबी गरेका छन्।

    आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताए।

    रावलको भनाइ छ,‘मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्नुकुरा कति झुठ, भ्रमपूर्ण । धम्की दिएपछि केही सदस्यहरू उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाट्ने कुरा रहेछ।’

    संसदीय दलको नेताको हैसियतमा ओलीले लगाएको ह्वीप मान्न नपर्ने बताउँदै उनले त्यसरी निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको बताए।

    ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, रावलले भने,‘उहाँले समानुपातिक सांसद हटाइदिन्छु भन्नुभयो। बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौं। पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त आफूहरू पक्ष स्वत: आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावालले दावी गरे।

    निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमतसिद्ध गर्ने पनि उनले बताए।

  • न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

    न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

    दाङ । दाङमा एक न्यायाधीशको श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छिन् ।

    उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।

    उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउको पुष्टि गरेको गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् । तर, तुलसा श्रीमानसँग अंश लिई २०७३ सालदेखि  अलग-अलग बस्दै आएको पारिवारिक स्रोतले बताएको छ ।

  • ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै केहीका मनमा छटपटी हुन्छ : प्रधानमन्त्री ओली

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै केहीका मनमा छटपटी हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर आएको र त्यो देखेर केही मान्छे जलेको टिप्पणी गरेका छन्।

    आइतबार गृहजिल्ला झापामा ‘नेपाल-चीन औद्योगिक पार्क’ को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दा पनि केहीका मनमा छटपटी हुने दाबी गरे।

    ‘केही मान्छे यो विकास देखेर जलेका छन्,’ ओलीको भनाइ छ, ‘विकासको लहर आएर जलेका छन् । देशमा समृद्धि आएकोमा जलेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै उनका मनमा छटपटी हुन्छ।’

    ओलीले आफूले भोट माग्दा गरेका केही वाचा सम्झिए र ती पूरा गरेको पनि दाबी गरे। आफूले गरेका वाचा सम्झदै उनले भने, ‘तपाईंहरूसँग उहिले भोट माग्दा भनेको थिएँ- तपाईंहरूले भोट दिनुहोस्। म तपाईंहरूलाई किन भोट दिएछु भनेर आत्मग्लानी हुन दिने छैन । तपाईंहरूको अनुहार मलिन हुन दिने छैन । तपाईंहरूको शिर ठडाउने छु, तपाईंहरूको शिर निहुरिन दिने छैन ।’

    आफ्नो वाचा पूरा गरेको भन्दै ओलीले भने, ‘आज त्यो प्रमाणित भएको छ । पुष्टि भएको छ ।’

  • शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा, यस्ता छन् सर्त

    शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा, यस्ता छन् सर्त

    काठमाडौं । एक जिल्लाबाट अर्को जिल्लामा शिक्षकहरू सरुवा हुन सक्ने भएका छन् ।

    २ महिनादेखि रोक्का गरिएको शिक्षकको जिल्लान्तर सरुवा निश्चित सर्त तथा मापदण्ड पूरा गरेर गर्न सकिने भएको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले आज एक परिपत्र जारी गर्दै शिक्षक सरुवाको लागि ६ वटा सर्त तोकेको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भए पछि मात्र गर्न सक्ने व्यवस्था गरिएको छ ।

    त्यस्तै जिल्लान्तर सरुवा भई आउने शिक्षकहरूको विवरण पाक्षिक रूपमा पेश गर्नुपर्ने छ ।

  • रघुजी पन्तको बचाउ गर्दै अष्टलक्ष्मी भन्छिन्- महिलाले पहिरनमा ध्यान दिनुपर्छ

    रघुजी पन्तको बचाउ गर्दै अष्टलक्ष्मी भन्छिन्- महिलाले पहिरनमा ध्यान दिनुपर्छ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । तर, प्रचण्ड-माधव पक्षकी एक वरिष्ठ नेतृले भने पन्तको बचाउ गरेकी छन् ।

    पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ३ को मुख्यमन्त्री आकांक्षी अष्टलक्ष्मी शाक्यले महिलाहरूले आफ्नो पहिरनमा ध्यान नदिंदा विकृति आएको भन्दै कोमलमाथि घुमाउरो असन्तुष्टि व्यक्त गरिन् । वलीले पिंडुला देखाएर राष्ट्रिय सभाको सांसद बनको भनेर रघुजी पन्तले गर्नुभएको टिप्पणीमा तपाईंको भनाइ के छ ? भनी हामीले शाक्यलाई सोधेका थियौं ।

    उनले यसरी जवाफ दिइन् :-

    ‘सबैको आ-आफ्नो दृष्टिकोण हुन्छ । मलाई के लाग्छ भन्दा अलिकति विकृति चाहिं आएकै हो । हाम्रो परम्परा त्यस्तो छैन । अहिले महिलाहरूमा नग्नता प्रदर्शन गर्ने खालको विकृति आएकै छ । महिला हिंसा बढेको पनि त्यही भएर हो । यसमा हामी सचेत हुनै पर्छ । आफ्नो शरीरलाई आफैंले सुरक्षा गर्ने हो । लुगाले पनि धेरै कुराहरू संरक्षित गर्छ भन्छु म ।’

    शाक्यले थपिन्, ‘म व्यक्ति विशेषमा जान चाहन्न । यो आमरूपमा चिन्ताको विषय हो । व्यक्तिले के गर्‍यो भनेर यसरी जानु राम्रो हुँदैन । मलाई त्यस्तो लाग्छ । हाम्रो संस्कृति आयातित भएको छ । महिलामाथि ज्यादती बढेको पनि त्यही भएर हो । महिलाहरू पनि आधुनिक बन्ने क्रममा आफूलाई सरल हुने लुगाहरू लगाउनु राम्रो हो । १२ हातको सारीले बेर्नुपर्छ भन्ने मेरो मान्यता छैन । तर, लाउने बेलामा सभ्यता होस् । आफ्‍नो ज्यानको सुरक्षा होस् भन्ने चाहन्छु म ।

    उनले कोमल वलीलाई पार्टीमा दिइएको अवसरलाई लिएर पनि असन्तुष्टि जनाइन् ।

    शाक्यले भनिन्, ‘हाम्रो कम्युनिष्ट पार्टीभित्र को व्यक्ति ल्याउने, कस्तो व्यक्ति नल्याउने विधि, प्रणाली र मापदण्ड छन् । त्यो मूल्याङ्कनको आधारमा ल्याउने चलन छ । तर, यो बीचमा बिग्रियो । जोसुकै मान्छे टिप्ने काम भयो । त्यो भएकाे हुनाले धेरै कुरा विग्रियो । दु:ख गरेका, त्याग गरेका, निस्वार्थी, इमान्दार मान्छेहरू पछाडि परे भनेर हामीले भनिराखेका छौं ।

    शाक्यलाई सोधियो, ‘अरु कुरा जे भए पनि महिला नेतृको अंगलाई लिएर सार्वजनिक टिप्पणी गर्नु ठीक हो र ?’

    उनले उही कुरा दोहोर्‍याइन् ।

    ‘के शब्द प्रयोग गर्नुभयो भन्दा पनि मलाई के लाग्यो भने यही विधि बिग्रेको हुनाले त्यस्तो भन्नुभएको होला । पार्टीमा, संसदमा, केन्द्रीय कमिटिमा पनि त्यस्तै भयो । त्यही भएर मान्छेलाई अलिकति पीडा हुन्छ । अब राजनीति नबुझेको, राजनीतिमै नलागेको मान्छे चाटचुट आए क्या । कुरा यो हो । कहिले राजनीति नगर्ने मान्छेहरू ल्याउनुहुँदैन नि । अलिअलि त्यही भएर विग्रेको हो ।

    जे भए पनि राजनीतिमा लागेका महिलाहरूलाई उहाँको अभिव्यक्तिले त बिझाउँछ होला नि ?

    उहाँले यस्तो भन्नुभएको होला । कोमल वली गायन क्षेत्रबाट हो । एउटा लोकप्रिय गायिका पनि हो । म कोमल वलीजस्तो हुन्छु भनेर हुँदैन । तर, अलिकति भनें नि, हाम्रो पार्टीभित्र कस्तोलाई राष्ट्रियसभाको सदस्य बनाउने भन्ने छ । त्यो अलिकति मापदण्ड र आधार भत्केकै हो । यसले गर्दा पनि अलिअलि विकृति आएको हो भन्ने लाग्छ । त्यसकारण पनि यस्तो अभिव्यक्ति दिनुभएको होला ।

    भनेपछि कोमल वलीलाई राष्ट्रियसभा सदस्य बनाइनु हुन्नथ्यो ?

    अहिले बनिसकेपछि धेरै टिप्पणी पनि नगरौं। धेरै आधार मिचिएको छ । हाम्रै पार्टीको कमजोरी हो ।

    कोमल वलीको आज राष्ट्रियसभामा योगदान छैन त ?

    राष्ट्रियसभामा गइसकेपछि त भूमिका त खेल्नै पर्‍यो नि । त्यहाँ पुगिसकेपछि त्यही वजन राख्नुपर्‍यो । त्यही भूमिका खेल्न सक्नुपर्‍यो । गरेकै होला भन्ने लाग्छ ।

  • प्रचण्ड-माधवलाई हच्काउने नेकपा संसदीय दलको यो विधान !

    प्रचण्ड-माधवलाई हच्काउने नेकपा संसदीय दलको यो विधान !

    काठमाडौं । नेकपा विभाजनको सकस केन्द्रीय कमिटीबाट अब संसदीय दलमा सरेको छ । निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई मात्रै चिनेकाले संसद अधिवेशन शुरू हुनुअघि कुन प्रक्रियामा जाने भन्नेमा अर्को जटिलता थपिएको छ ।

    प्रधानमन्त्री केपी ओली पक्षले कानूनी रूपमा पार्टी विभाजन नभएकाले प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेता हटाउने वैधानिक प्रक्रियामा आउन प्रचण्ड-माधव पक्षलाई चुनौती दिएको छ । होइन भने दल विभाजनका लागि नयाँ दल दर्ता गर्न जानुपर्ने ओली पक्षको भनाइ छ ।

    प्रचण्ड-माधव पक्ष भने संसदीय दलको प्रक्रियामा जान चाहँदैन । यसका मुख्य दुई कारण छन् । पहिलो,ओलीलाई दलको नेता र पार्टी सदस्यबाटै कारबाही गरिसकेको हुनाले फेरि उनैलाई बैठक बोलाइदेऊ भनेर जाँदा आफूले गरेका कारबाहीको औचित्य सकिन्छ ।

    दोस्रो भनेको, संसदीय दलको प्रक्रियामा जाँदा ओली पक्ष माथि पर्छ । दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक सबै ओली पक्षकै छन् । त्यसमाथि संसदीय दलको नेताबाट ओलीलाई हटाउन आवश्यक पर्ने सुविधाजनक बहुमत पनि निश्चित छैन । केही सांसदहरूको ओहोरदोहोर चलिरहँदा दलमा ओली नै बहुमतमा पुग्ने सम्भावना छ ।

    संसदीय दलको वैधानिक प्रक्रियाबाट जाँदाका खतरा देखेरै प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगले चाँडो पार्टी विभाजनलाई वैधानिकता देओस् भन्ने चाहेको छ । आयोगलाई औपचारिक र अनौपचारिक रूपमा पनि प्रचण्ड-माधव पक्षले दबाब दिइरहेको छ । तर, आयोगको प्राथमिकता अहिले त्यो देखिएको छैन । ऋषि कट्टेलको नेकपाको मुद्दा फागुन २० मा फैसला नहुन्जेल आयोगले पनि कुनै निर्णय दिने सम्भावना छैन ।

    विपक्षी नेपाली कांग्रेस र जसपाले सत्ता समीकरणको प्रस्ताव लिएर गएका प्रचण्ड-माधवलाई पहिले कुन नेकपा हो प्रष्ट भएर आउन भनेका छन् । नेकपाले औपचारिक रूपमा विभाजनको मान्यता नपाउँदासम्म सत्ता गठबनन्धनको तस्बिरसमेत प्रष्ट नहुने भएकाले प्रचण्ड-माधवलाई हतारो छ भने ओली पक्षलाई हाइसञ्चो देखिन्छ ।

    प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले शनिवार एक कार्यक्रममा संसदीय दलको प्रक्रियाबाट जानै नहुने बताएका थिए । ओलीलाई हटाउन संसदीय दलको प्रक्रियाबाट जाँदा धेरै खालका सम्भावनाहरू हुने भएकाले अब संसदभित्रै ‘टसल’ हुने पन्तको भनाइ छ । अब सडकमा छरिएको राजनीति सोहोरिएर संसदमा पुग्ने उनले बताए ।

    ओलीले हालै प्रमुख सचेतकका नियुक्त गरेका विशाल भट्टराईले भने प्रचण्ड-माधव पक्षले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको हो भने पहिले विधान अनुसार संसदीय दलको बैठक माग गर्ने र अविश्वास प्रस्ताव उपनेतामार्फत लैजाने अधिकार रहेको बताए । उनले दल विभाजन नहुँदासम्म संसदमा दलको नेताको अनुमतिविना सांसदले कुनै प्रस्ताव लैजान समेत नपाउने दाबी गरे ।

    के छ नेकपाको विधानमा ?

    ८ पुसमा प्रचण्ड-माधव पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको थियो । अर्का अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव प्रचण्डलाई दलको नेता चयन गरिएको थियो । जतिबेला प्रतिनिधिसभा विघटनमा थियो ।

    प्रचण्ड दलको नेता बनेको निर्णय राजनीतिक मात्र भएकाले यसको वैधानिकताका लागि दलभित्रैबाट प्रक्रिया थाल्नुपर्ने संविधानविद विपिन अधिकारी बताउँछन् । प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगको निर्णयअघि नै ओलीलाई दलबाट हटाउने हो भने विधान अनुसारको प्रक्रिया पुर्‍याउनुपर्ने उनको भनाइ छ । नत्र सरकार गठन प्रक्रिया लम्बिनेछ ।

    नेकपाको संसदीय दलको विधानले दलको नेता अविश्वासको प्रस्ताव पारित हुँदा मात्रै हट्ने कल्पना गरेको छ। विवाद निरूपणका अन्य विकल्प विधानले दिएको छैन । विधानको दफा ३१ मा संसदीय दलका नेताले विश्वासको मत लिनसक्ने र ३२ मा अर्को अविश्वास प्रस्ताव दर्ता हुनसक्ने व्यवस्था गरिएको छ ।

    दफा ३१ मा ‘दलको नेताले आफ्नो कार्यकाल भित्र कुनै बखत आफूमाथि दलको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतको लागि दल समक्ष प्रस्ताव राख्न सक्ने’ उल्लेख छ ।

    केपी ओली आफैंले विश्वासको मतका लागि दलसमक्ष प्रस्ताव राख्न सक्छन् । तर, त्यसमा प्रचण्ड-माधव पक्ष सहभागी नभए औचित्य छैन । १७३ जना प्रतिनिधिसभा सदस्य र ५० जना राष्ट्रियसभा सदस्य रहेको संघीय संसदीय दलमा सभामुख र राष्ट्रियसभा अध्यक्ष बाहेक २२१ जना सदस्यमध्ये बहुमत ओलीले देखाउन सके पनि नेकपा विभाजन नहुँदासम्म उनै स्वतः प्रधानमन्त्री हुन्छन् ।

    दफा ३२ को (१) अनुसार दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । दलको उपनेताले प्रस्तावको सूचना पाएको १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन दिनुपर्नेछ ।

    ओलीपक्षीय केही नेताले दलको नेता र उपनेता आफूहरूसँगै भएकाले आफूहरूले नबोलाई बैठक कसरी बस्छ भन्ने प्रश्न पनि उठाइरहेका छन् । त्यस्तो अवस्था आएमा विधानले त्यसको पनि समाधान दिएको छ।

    दफा ७ को (घ) मा ‘दलको बैठक बस्न आवश्यक छ भनी विषय र कारण खुलाई दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा २५ प्रतिशत सदस्यहरूले दलको नेता समक्ष लिखित सूचना दिएमा सूचना प्राप्त भएको मितिले ७ दिन भित्र संसदीय दलको बैठक बोलाउनुपर्ने’ व्यवस्था गरिएको छ।

    प्रचण्ड-माधव पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाउँदा विधानले व्यवस्था गरेका कुनै पनि प्रक्रिया अबलम्बन गरेको छैन । वैधानिकताको प्रश्न उठ्दा त्यसले मान्यता नपाउने अवस्था रहन्छ ।

    तर, प्रचण्ड-माधव पक्ष ओलीलाई पार्टीको साधारण सदस्यबाटै कारबाही गरिसकिएकाले त्यो प्रक्रिया अपनाउन जरुरी नरहेको तर्क गर्छ । ‘पार्टीबाटै निष्काशित गरिएको अवस्थामा, पार्टीको सदस्य नै नरहेको अवस्थामा दलभित्र विश्वासको मत लिनुको खास अर्थ छैन’ सांसद कृष्णभक्त पोखरेलको भनाइ छ।

    अनिश्‍चयमा अविश्वास प्रस्ताव

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरे लगत्तै प्रचण्ड-माधव पक्षले संसदमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । ५ पुसमा अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्ड-माधव पक्षले ९० जना सांसदको हस्ताक्षर थियो ।

    तीमध्ये गौरीशंकर चौधरी,प्रभु साह, शेरबहादुर तामाङ, भैरवबहादुर सिंह, यज्ञ बोगटी र माया ज्ञवाली अहिले ओलीतिर लागिसकेका छन् । त्यसबेला घनश्याम भुसाल र योगेश भट्टराईको हस्ताक्षर थिएन । संसदीय दलमा अहिले कसको बहुमत छ भन्नेमा दुवै पक्ष निश्चिन्त छैनन् ।

    संसद पुन:स्थापना भइसकेको अवस्थामा पहिले नै दर्ता गरिएको अविश्वास प्रस्ताव सक्रिय हुन्छ कि हुँदैन ? पहिलेकै अविश्वास प्रस्तावलाई अगाडि बढाउने या नयाँ प्रस्ताव लैजाने भन्नेमा प्रचण्ड-माधव पक्ष अझै स्पष्ट भइसकेको छैन ।

    कानूनविद् समेत रहेका प्रचण्ड-माधव पक्षीय सांसद कृष्णभक्त पोखरेल आफूहरू यसबारे अझै छलफलमा रहेको बताउँछन्। अविश्वास प्रस्तावको अवस्था के हुन्छ भन्नेबारेमा पनि खासै स्पष्टता नभएको उनको भनाइ छ ।

    ‘हामी यसमा छलफल गरिरहेका छौं’ पोखरेल भन्छन्, ‘ यसको ‘स्टाटस’ पनि अलिकति धरमर नै छ । संसद विघटन भएपछि भएको हुनाले त्यसको प्रभाव शून्य नै हो कि भन्ने लाइनबाट पनि कुरा छ । त्यो प्रक्रिया अगाडि बढ्ने, नबढ्ने अझै स्पष्ट भएको छैन ।’

    पहिले दर्ता भएको अविश्वास प्रस्तावको अवस्था के होला भन्ने प्रश्नमा संसद सचिवालय पनि अझै प्रष्ट छैन । प्रवक्ता रोजनाथ पाण्डे यस विषयमा अहिलेसम्म छलफल नभएको र धेरै कुरा सभामुखको तजबिजमै निर्भर रहने बताउँछन् ।

    ‘सभामुखले कसरी निर्णय गरेर जानुहुन्छ, त्यसबारे अहिलेसम्म थाहा छैन’  उनको भनाइ छ, ‘त्यो चाहिं आउने दिनमा राजनीतिक घटनाक्रमले बताउने कुरा हो । प्रस्तावलाई अगाडि बढाउने, नबढाउने कुरा सभामुखको हातमा हुन्छ । संसदीय कारबाहीमा भएको कुरामा अदालतमा प्रश्न पनि उठ्दैन । सभामुखको तजबिजले धेरै कुराहरू व्यवस्थित गरेको हुन्छ ।’

  • कोमल वली भन्छिन्- रघुजीको निकृष्ट अभिव्यक्तिविरुद्ध अदालत जाँदैछु

    कोमल वली भन्छिन्- रघुजीको निकृष्ट अभिव्यक्तिविरुद्ध अदालत जाँदैछु

    काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् ।

    हाल दाङमा रहेकी वलीले काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् ।

    ‘अहिले यो विषयमा सरसल्लाह गरिरहेकी छु, सबैले कानूनी प्रक्रियामा जान सुझाव दिनुभएको छ’, उनले नेपाल प्रेससँग भनिन् ।

    नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको कोमलले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उनको भनाइ छ ।

    ‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ’ वलीले भनिन्, ‘यसमा म चुप लागेर बसें भने भोलि अरु महिलाहरुले पनि यसैगरी आरोपित बन्नुपर्नेछ ।

    सामाजिक सञ्जालमा कतिपयले तपाईंलाई राजनीतिक योगदान विना केपी ओलीले राष्ट्रियसभा मनोनीत गरेको भनेर पनि टिप्पणी गरेका छन् नि ? भन्ने नेपाल प्रेसको  प्रश्नमा कोमलले यसरी प्रष्टिकरण दिइन् :

    ‘केपी ओलीले टप्प टिपेर राष्ट्रियसभामा ल्याउनुभएको आरोप पूर्णरुपमा झूटो हो । म तल्लो कमिटीदेखि सिफारिस भएर आएकी हुँ । पहिले जिल्ला कमिटीले सिफारिस गर्‍यो । त्यसलाई प्रदेश कमिटीले सदर गरेर एक नम्बरमा नाम राखेर पठायो । अनि, स्थायी कमिटीले पारित गरेपछि बल्ल म राष्ट्रियसभामा पुग्ने बाटो खुलेको हो । स्थायी समितिले मेरो निर्णय गर्दा रघुजी पन्तले किन रोक्नुभएन ? अहिले फरक पार्टी भयो भन्दैमा यसरी आरोपित गर्न मिल्छ ?’

    आफूलाई कलाकारितामा दिएको योगदानका लागि पार्टीले सम्मान दिएको वली बताउँछिन् ।

    ‘विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरू छानेर लैजाने ठाउँ हो राष्ट्रियसभा । कलाकारितामा मेरो योगदान क्षमता हेरेर नै एमालेले मलाई प्रवेश गराएको हो । राष्ट्रियसभा गरिमा र कार्यक्षेत्र नै फरक छ । त्यहाँ मैले अनेकन् मुद्दाहरूमा आवाज उठाएर जिम्मेवारी निभाइरहेकी छु । जनताको पक्षमा बोलिरहेकी छु । सरकारलाई सहयोग पनि गरिरहेकी छु । सबैभन्दा बढी संशोधन प्रस्तावहरू राख्ने सांसदमा पर्छु । उहाँलाई मैले राष्ट्रियसभामा निभाएको भूमिका थाहा छैन होला’, उनले भनिन् ।

    आफूले लड्ने कानूनी लडाईंमा प्रचण्ड-नेपाल पक्षका महिला नेतृहरूले पनि साथ दिनुपर्ने वलीको भनाइ छ ।

    ‘उहाँहरूले पनि आवाज उठाउनुपर्छ, किनभने भविष्यमा उहाँहरूले पनि यस्ता आरोप खेप्नुपर्ने हुन सक्छ’, वलीले भनिन् ।
    नेता पन्तसँग आफ्नो पहिले राम्रो सम्बन्ध रहेको वलीले उल्लेख गरिन् ।

    ‘उहाँ प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदादेखि नै चिनेको हो । म उहाँलाई सम्मान गर्थेँ । दाइ भन्थें । तर, मलाई आज एकदमै ठूलो चोट पुर्याउनुभयो’, उनले भनिन् ।

  • काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    काठमाडौं । ‘विकासको नाममा प्रतिगमन’ भन्दै आन्दोलन गरिरहेका अभियन्ताहरूले आज काठमाडौं महानगरपालिका कार्यालयअघि धर्ना दिएका छन् ।

    बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा भइरहेको प्रदर्शनअन्तर्गत आइतबार महानगरपालिकाअघि विरोध प्रदर्शन गरिएको हो ।

    चक्रपथ विस्तारमा आफूहरूलाई उठिबास लगाएको प्रदर्शनकारीहरूको गुनासो छ । त्यस्तै कमलपोखरीमा कंक्रिटको कमल फूल राख्ने कार्यप्रति पनि आपत्ति जनाइएको छ ।

     
     
     
     
     
     
     
     

     

  • प्रचण्डको ‘कम्फरटेबल’ अभिव्यक्तिको विरोधमा ओलीपक्षीय विद्यार्थीको आज पनि प्रदर्शन

    प्रचण्डको ‘कम्फरटेबल’ अभिव्यक्तिको विरोधमा ओलीपक्षीय विद्यार्थीको आज पनि प्रदर्शन

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू र कांग्रेस तथा जसपाको सरकार बन्दा भारतलाई पनि ‘कम्फरटेबल’ हुने भनी दिएको अभिव्यक्तिलाई नेकपाको केपी ओलीपक्षीय विद्यार्थीहरूले विरोधको विषय बनाएका छन् ।

    शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका ओली पक्षीय अनेरास्ववियूका विद्यार्थीले आइतबार काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन् ।

    पश्चिमाञ्‍चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि ओलीपक्षीय विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

     

  • सदन छलेर दुई अध्यादेश ल्याउँदै कर्णाली सरकार

    सदन छलेर दुई अध्यादेश ल्याउँदै कर्णाली सरकार

    सुर्खेत । कर्णाली प्रदेश सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    प्रदेश सभाको हिउँदे अधिवेशन शुरू भइनसकेकोको अवस्थामा फागुन ४ को प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष २ अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । गत असोज २५ गते सूचना टाँस गरेर प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य गरिएको थियो ।

    उनका अनुसार प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) र प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न सिफारिस गरिएको हो ।

    वैठकले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने, बाढी पहिरो समस्या समाधान समितिमा पदाधिकारीहरू मनोनित गर्न स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति दिने र सामुदायिक क्याम्पस र बहुप्राविधिक शिक्षालयतर्फ विनियोजित बजेट रकम विद्यालयहरू समेतको पूर्वाधार विकासको लागि रकमान्तर प्रस्ताव स्वीकृत गरेको छ ।

    मन्त्री केसीले माघ ३० गते बसेको बैठकका निर्णय पनि सार्वजनिक गरेकी छिन् । जिल्ला प्रहरी कार्यालयको पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट १२ करोड ५९ लाख २ हजार ९ सय ७८ रूपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

    नापी र मालपोत कार्यालय सुर्खेतको सेवा व्यवस्थापनको लागि १४ लाख ७५ हजार र मालपोत कार्यालय सुर्खेतको पूर्वाधार निर्माणका लागि ४६ लाख रूपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

  • अवैध उत्खननले बस्ती जोखिममा परेपछि केराबारीका बासिन्दाले घेरे गाउँपालिका

    अवैध उत्खननले बस्ती जोखिममा परेपछि केराबारीका बासिन्दाले घेरे गाउँपालिका

    विराटनगर । क्रसर उद्योगले बस्ती विस्थापित हुन लागेको भन्दै मोरङ केराबारीका स्थानीयबासीले गाउँपालिकामा प्रदर्शन गरेका छन् ।

    माहादेव मिनिरल कम्पनी र शिवम क्रसर उद्योगविरुद्ध स्थानीयबासी आन्दोलित भएका हुन् । केराबारी-८ आँमजुगीबासीले बिहानैबाट गाँउपालिका कार्यालय घेरेका छन् ।

    स्थानीय खदम खोलामा राखिएको क्रसरले मापदण्डविपरीत ढुंगा र गिट्टी उत्खनन् गरेकाले बस्तीतर्फ खोला पसेपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन् । पटकपटक गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई समस्या समाधानका लागि आग्रह गरेपनि बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

    गाउँपालिकामा ताला लगाउन पुगेका आक्रोशित स्थानीयबासीलाई प्रहरीले रोकेको छ । भीड नियन्त्रणका लागि प्रहरीको बाक्लो उपस्थिति छ । उनीहरूले जनप्रतिनिधिविरुद्ध नाराबाजीसमेत गरिरहेका छन् । स्थानीयको प्रदर्शनका कारण गाउँपालिकाको काम ठप्प भएको छ ।

    अव्यवस्थित र अवैध उत्खनन्का कारण आँमजुगीका ५०० परिवार विस्थापित हुने अवस्था आएको पीडितमध्येका एक अमृत थापाले बताए ।

  • अवहेलनाको लिखित जवाफमा प्रचण्डले उठाए संवैधानिक नियुक्तिको प्रसंग (पूर्णपाठसहित)

    अवहेलनाको लिखित जवाफमा प्रचण्डले उठाए संवैधानिक नियुक्तिको प्रसंग (पूर्णपाठसहित)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्ति एकै दिन भएको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।

    अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको उल्लेख गरेका छन् । उनले यसबारेमा थप बोल्न नचाहेको समेत प्रष्ट पारेका छन् ।’

    प्रचण्डको लिखित जवाफमा भनिएको छ, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्न ।

    उनले अदालतबाटै यसबारेमा छिनोफानो हुने विश्वास व्यक्त गरेका छन् । उनले आफूले अदालतको अवहेलना नगरेको जिकिर समेत गरेका छन् । वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीसहित लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्चमा पुगेका थिए ।

  • लिखित जवाफ बोकेर प्रचण्ड सर्वोच्च अदालतमा (भिडियो)

    लिखित जवाफ बोकेर प्रचण्ड सर्वोच्च अदालतमा (भिडियो)

    काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  सर्वोच्च अदालत पुगेका छन् ।

    अधिवक्ता समिर हायुले प्रचण्डमाथि अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

    प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभए जनअदालतबाट फैसला हुने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।

  • प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै

    प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए ।

    यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । ‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्‍यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भने, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।

    फागुन १५ गते हुने भनिएको जनसभालाई सफल पार्न युवा संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२२ जनाको स्वयंसेवक समिति गठन गरिएको थियो ।

  • विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग !

    विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग !

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेका नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थीसँग उच्च अदालत पाटनले ३६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    मुख्य न्यायाधीश कुमार चुँडालको एकल इजलासले बिहीवार नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलसहित ६ जनासँग ३६ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    उनीहरूसँग उपचार खर्चबापत एक-एक लाख रुपैयाँ समेत लिन आदेश दिइएको छ । नेविसंघ अध्यक्ष आचार्यले भने उप-प्राध्यापक चलाउनेले १० दिन मेडिसिटी अस्पतालमा उपचार गर्दाको खर्च त्रिविले व्यहोरिसकेको र उनी झडपमा सामान्य घाइते मात्र भएको दाबी गरेका छन् ।

    आचार्यले नेपाल प्रेससँग भने, ‘विद्यार्थी संगठनले लगाएको ताला खोल्न उहाँ आफैं आएपछि सामान्य झडप भएको विषयलाई राजनीतिक आपराधीकरण गरियो । मेडिसिटीमा उपचार गरेको खर्च त्रिविले तिरेको छ । विद्यार्थीसँग ३६ लाख धरौटी मागिएको छ, हामीले कहाँबाट तिर्ने ?’

    धरौटी रकम नबुझाए जायजेथाबाट असुल गर्ने आदेश दिइएको छ । उप-प्राध्यापक चलाउनेमाथि २०७७ असोजमा आक्रमण भएको थियाो ।

    उनले आचार्य र रावलसहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले सामान्य धरौटीमा उनीहरूलाई छाडेको थियो ।

  • सांसद माया ज्ञवालीले भनिन्- ‘अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु’

    सांसद माया ज्ञवालीले भनिन्- ‘अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु’

    काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गरेकी छन् ।

    ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो । नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले अहिले आफू सत्ता पक्षमै रहेको बताइन् । यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानसँग समेत उनी संलग्न भएकी छन् ।

    ज्ञवालीले भनिन्, ‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले ।’

    आफू यसबीचमा ओलीपक्षीय अखिल नेपाल महिला संघको अभियानमा समेत जोडिएको उनले बताइन् । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।

  • काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १४ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १४ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू फेला परेको छ ।

    पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका व्यवसायिक कुखुराको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षण गर्दा बर्ड फ्लु प्रमाणित भएको हो ।

    रोग देखिएको क्षेत्रमा ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोईलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार के.जी. दाना नष्ट गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छीपालनलाई निरूत्साहित
    गर्न/गराउन र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन पनि विभागले अनुरोध गरेको छ ।

     

  • सभापति देउवाले गरे कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

    सभापति देउवाले गरे कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत देउवाले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

    शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि वीर अस्पताल पुर्‍याइरहेका जोशीलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

    नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

    चिन्ताजनक अवस्थामा रहेका जोशीको अप्रेसन गरी मस्तिष्कमा ड्रेन राखेर प्रारम्भिक उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

  • आज मन्त्रिपरिषद् बैठक, संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

    आज मन्त्रिपरिषद् बैठक, संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश जारी गरेको अवस्थामा आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ ।

  • काठमाडौंको मीनभवन क्याम्पसनजिकै आगलागी (भिडियोसहित)

    काठमाडौंको मीनभवन क्याम्पसनजिकै आगलागी (भिडियोसहित)

    काठमाडौं । काठमाडौंको मीनभवनस्थित कमर्स क्याम्पस गेटनजिकैको विद्युत पोलमा आगो लागेको छ ।

    अहिले आगो लागिरहेको छ । आगो निभाउन दमकललाई खबर गरिएको छ । थप क्षति हुन नदिन आगो निभाउने प्रयास जारी छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

     

     

  • रामचन्द्र भन्छन्- छोरो नजन्मिदै कन्दनी बाट्ने कुरा छैन

    रामचन्द्र भन्छन्- छोरो नजन्मिदै कन्दनी बाट्ने कुरा छैन

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् ।

    पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहीं कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताए ।

    पौडेलले भने, ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो भने हामीले निर्णय गर्ने हो ।’

    पौडेलले आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा प्रधानमन्त्री कुन मुखले संसदमा जान्छन् ? भन्ने प्रश्न समेत गरे ।

  • औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ

    औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ

    विराटनगर । विराटनगरस्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर-३ स्थित एक होटलबाट केहीबेरअघि उनलाई २ लाख घुससहित पक्राउ गरेकाे  आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले नेपाल प्रेसलाई जानकारी दिए ।

    बन्द भएको फार्मेसीलाई सञ्चालनको अनुमति दिने आश्वासन दिएर सुवेदीले घुस लिएको अख्तियार स्रोतले जनाएको छ ।