Author: Shyamkrishna Dahal

  • एमाले-माओवादी एकता बदर, फेरि मिल्ने भए आयोग जान परमादेश

    एमाले-माओवादी एकता बदर, फेरि मिल्ने भए आयोग जान परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता पनि बदर भएको छ ।

    सर्वोच्चको फैसलामा आयोगले एकीकरणको मान्यता दिनुपूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) अस्तित्वमा रहेको उल्लेख गरिएको छ ।

    यी दुई पार्टी २०७५ जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेका थिए ।

    सर्वोच्चको फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।

  • प्रचण्ड-माधव पक्षको सूचना संसद सचिवालयमा दर्ता

    प्रचण्ड-माधव पक्षको सूचना संसद सचिवालयमा दर्ता

    काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गरेको छ ।

    दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड, माधव नेपालसहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिवसमक्ष पुगेका थिए ।

    केहीबेरअघि सूचना दर्ता गरिएको प्रचण्ड-माधव पक्षका नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले जानकारी दिए ।

    महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्कीसमेत परेको थियो ।

    निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भन्दै नेताहरूले दबाब दिएका थिए ।

  • ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज

    ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज

    काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

    यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

    निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

    सर्वोच्च अदालतले नेकपाको आधिकारिकता दिएसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

    दुवै अध्यक्ष रहेको नेकपा प्राविधिक रुपमा फुटे पनि कानूनी रुपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।

  • प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन

    प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन

    काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको छ ।

    दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड, माधव नेपालसहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिवसमक्ष पुगेका थिए ।

    महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको छ । नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।

    स्रोतका अनुसार निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भनेर नेताहरुले दबाब दिए पनि महासचिव गौतमले भने परामर्श गरेर निकास दिने बताएका कारण प्रचण्ड-माधव पक्षका नेताहरु आक्रोशित बनेका छन् ।

  • आफूहरुलाई दलको मान्यता दिन माग गर्दै प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय

    आफूहरुलाई दलको मान्यता दिन माग गर्दै प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय

    काठमाडौं । संसद सचिवालयले नेकपा विभाजनमा आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएलगत्तै प्रचण्ड-माधव पक्षीय शीर्ष नेताहरुले संसदका महासचिवलाई भेटेका छन् ।

    सिंहदरवारमा केहीबेरमात्र बसेको आफू पक्षीय सांसदहरुको बैठकपछि प्रचण्ड,मधव नेपाल र झलनाथ खनाल सहितका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् ।

    आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ ।

    ११२ जना सांसदको हस्ताक्षरसहित अहिलेसम्म आफूहरुले गरेका निर्णयलाई मान्यता दिन प्रचण्ड-माधव पक्षले महासचिवलाई आग्रह गरेको छ । aहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम हुनुपर्ने भन्दै उनीहरुले सचिवालयलाई पत्र दिएका छन् ।

  • महरालाई भेट्न पुगे विप्लव

    महरालाई भेट्न पुगे विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रचण्ड-पक्षीय नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

    महरालाई भेट्न विप्लव आइतबार उनकै निवास पुगेका थिए । विप्लवसँग सरकारसँगको वार्ताका लागि गठित समितिका सदस्य तथा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ पनि पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक परिवेशमा छलफल भएको बताइएको छ ।

    सरकारसँगको वार्तामा ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण खुला राजनीतिमा आएदेखि विप्लवले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

    शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेताहरूसँग छलफल गरेका थिए ।

    तत्कालीन माओवादीमा विप्लव र महरा सँगै थिए ।

  • प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक

    प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । पुन:स्थापित संसदको बैठक बस्ने समय केही घण्टामात्र बाँकी हुँदा प्रचण्ड-माधव पक्षीय नेकपाले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने सांसद रेखा शर्माले जानकारी दिइन् ।

    बैठकमा अपरान्ह ४ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय हुने स्रोतले बताएको छ ।

    शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो ।

  • संसदको कार्यसूची फेरियो, शोक प्रस्ताव र राष्ट्रपतिको पत्र पढेर बैठक अन्त्य

    संसदको कार्यसूची फेरियो, शोक प्रस्ताव र राष्ट्रपतिको पत्र पढेर बैठक अन्त्य

    काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ।

    नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।

  • ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

    ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएकाे छ।

    महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाई प्रधानमन्त्री केपी शर्मा ओली अभियानको शुरूआत गरेका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि सँगै खोप लगाएकी छिन् ।

    दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिदैँ छ । वृद्धवृद्धा कोरोना संक्रमणको जोखिम वर्गमा पर्छन् ।

    यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले जनाए ।

    खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

  • संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो)

    संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो)

    काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए ।

    पाण्डेले भने, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’

  • कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो

    कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ ।

    कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप काठमाडौं आइपुगेको हो । खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुशी लागेको उल्लेख गरेकी छन् । बेलायत सरकारले खोपलाई नेपालीसम्म पुर्‍याउन सहयोग गर्दैआएको र खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी रहेको उनले बताएकी छन् ।

    उनले भनेकी छन्, ‘बेलायतमा बनेको खोप भएकोले थप खुशी लागेको छ ।’

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

    चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • प्रचण्ड-माधवसँग सभामुखको परामर्श, कार्यव्यवस्था बैठक अन्योलमा

    प्रचण्ड-माधवसँग सभामुखको परामर्श, कार्यव्यवस्था बैठक अन्योलमा

    काठमाडौं । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् ।

    सभामुखको भूमिका सन्देहास्पद रहेको भन्दै केपी ओली पक्षले चेतावनी दिइरहेका बेला प्रचण्ड-माधवले सभामुखसँग परामर्श गरेका हुन् ।

    सभामुखको सचिवालय स्रोतले भने विभिन्न दलका नेताहरुसँग परामर्श गर्ने क्रममा सभामुखले प्रचण्ड र माधव नेपालसँग भेट गरेको बताएको छ ।

    नेकपाको आधिकारिकता विवाद चलिरहेको र प्रचण्डले दलको नेता दाबी गरेको बेला सभामुख सकसमा छन् । विवादकै कारण आज कार्यव्यवस्था परामर्श समिति बैठक समेत बोलाइएको छैन ।

  • प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप (भिडियो)

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    प्रधानमन्त्रीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर आइतबार बिहान ११ बजेतिर खोप लगाएका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छिन् ।

    प्रधानमन्त्रीले खोप लगाएसागै दोस्रो चरणको खोप अभियान औपचारिक शुरूआत भएको छ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

    अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरू प्रधानमन्त्रीसागै खोप लगाउन अस्पताल पुगेका थिए ।

    खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताएका छन् । उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग खोप लगाउन समेत सबैलाई आग्रह गरे ।

    ‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,’ प्रधानमन्त्री ओलीले भने ।

  • संसदमा आज ८ अध्यादेश पेश हुने

    संसदमा आज ८ अध्यादेश पेश हुने

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपल्ट आज अपराह्न संसद बैठक बस्दैछ ।

    पुन:स्थापित संसद बैठकको पहिलो दिन ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश गर्नेछन् ।

    त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेश हुने संसद सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको हिउँदे अधिवेशन बोलाएकी हुन् ।

  • राजीनामा नदिए ओलीविरुद्ध प्रचण्ड-माधव पक्षले आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने

    राजीनामा नदिए ओलीविरुद्ध प्रचण्ड-माधव पक्षले आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा नदिए आइतबार उनीविरुद्ध प्रचण्ड-माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।

    शुक्रबार बसेको संसदीय दलको बैठकमा आइतबारसम्म ओलीको राजीनामा पर्खिने र राजीनामा नआए अविश्वास प्रस्ताव दर्ता गर्ने एक सांसदले नेपाल प्रेसलाई जानकारी दिए ।

    संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविश्वास प्रस्तावतिर जान आफूलाई ओलीले बाध्य पारेको प्रतिक्रिया दिएका थिए ।

    ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो,’उनको भनाइ छ, ‘तर, उहाँले अहिलेसम्म दिनुभएको छैन। अब दिनुभएन भने त हामी संविधान, संसद, कानून नियमअनुसार जानुपर्ने हुन्छ।’

    अविश्वास प्रस्ताव एक्लै ल्याउने वा कांग्रेससँग मिलेर ल्याउने भन्नेबारेमा भने अझैं टुंगो लागेको छैन् । प्रमुख सचेतक देव गुरुङले यसबारे नेपाल प्रेससँग भने, ‘पहिले त राजीनामाको अपेक्षा नै छ । नभए विकल्प खोजिन्छ। अविश्वास प्रस्ताव एकल वा संयुक्त रुपमा दर्ता गर्ने भन्ने त्यहीबेला नै टुंग्याउँछौं।’

    प्रचण्ड-माधव पक्षीय सांसदहरूले संसद विघटनपछि यसअघि पनि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यो प्रस्ताव अघि नबढाउने भएको सो पक्षले नयाँ ढंगले जाने सोचेको हो ।

    प्रचण्ड-माधव पक्षले आजको बैठकमा ११५ जाना सांसद उपस्थित भएको दाबी गरेको छ । संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा प्रचण्डले पनि आफू ११५ जनाको सांसदबाट दलको नेतामा निर्वाचित भएको बताएका थिए ।

  • अविश्वास प्रस्तावबारे कांग्रेस संसदीय दल अनिर्णित (भिडियो)

    अविश्वास प्रस्तावबारे कांग्रेस संसदीय दल अनिर्णित (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसले २ दिनपछि शुरू हुने संसद बैठकमा सत्तापक्ष त्यसमा पनि नेकपाको भूमिका हेरेर अविश्वासको प्रस्तावमा कांग्रेसले उचित निर्णय लिने बताएको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाँडले मुलुकमा देखा परेका राजनीतिक समस्या समाधान गर्न, संविधान बलियो बनाउन र जनतामा भरोसामा विश्वास दिलाउनेतर्फ अघि बढ्ने बताए ।

    ‘आजको बैठकमा २९ जना सांसदहरूले महत्वपूर्ण धारणा राख्नुभएको छ । सांसदहरूको सुझाव, सल्लाह र धारणालाई मध्यनजर गरेर कांग्रेसले उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछ ‘, नेता खाँडले भने ।

  • प्रचण्डले भने- ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे, अब त्यही बाटो हिंड्छौं (भिडियो)

    प्रचण्डले भने- ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे, अब त्यही बाटो हिंड्छौं (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेसलगायतका दलहरूसँग मिलेर अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

    आफूपक्षीय सांसदहरूको बैठकबाट दलको नेता चयन भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले ओलीपक्ष बाहेकका अन्य दलहरूसँग मिलेर नयाँ सरकार गठनको प्रक्रिया एक/दुई दिनभित्रै शुरू हुने बताए ।

    प्रचण्डले भने, ‘केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि र देशको लागि पनि सहज हुन्छ । दिनु भएन भने संविधान अनुसार हामी संसदबाटै समाधान खोज्छौं । उहाँले त्यही बाटो (अविश्वास प्रस्ताव) जान बाध्य पार्नुभयो, अब हामी जान्छौं ।’

    प्रचण्डले आफूलाई करिब ११५ जना सांसदको समर्थन रहेको बताए । उनले ओली पक्षमा लागेका सांसदहरूलाई पनि आफूतिर आउन आग्रह गरेका छन् ।

  • सरकार-विप्लव सहमतिको प्रचण्ड-माधव पक्षद्वारा स्वागत

    सरकार-विप्लव सहमतिको प्रचण्ड-माधव पक्षद्वारा स्वागत

    काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द ‘विप्लव’को कदमलाई स्वागत गरेको छ।

    शुक्रबार सिंहदरबारमा बसेको प्रचण्ड-माधव पक्षीय संसदीय दलको बैठकले उनको कदमलाई स्वागत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्।

    ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समुहको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ’, उनले भने ।

    विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदा नै आफूहरुले त्यसको विरोध गरेको भन्दै अहिलेको सहमतिमार्फत त्यो सच्चिएको श्रेष्ठले बताए । ‘वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको हामी सधैँ स्वागत गर्छौं,’ उनको भनाइ छ, ‘उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको हामीले त्यतिखेर नै सार्वजनिकरूपमै विरोध गरेका थियौं ।अहिलेको सहमतिमार्फत कम्तीमा त्यति कुरा भने सच्चिएको देखिन्छ।’

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पत्रमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा हस्ताक्षर भएको छ। राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका थिए ।

  • विशाल भट्टराईको वक्तव्य-प्रचण्डको पत्र गैरकानूनी र औचित्यहीन

    विशाल भट्टराईको वक्तव्य-प्रचण्डको पत्र गैरकानूनी र औचित्यहीन

    काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् ।

    भट्टराईले संसदीय दलको तर्फबाट शुक्रवार प्रेस विज्ञप्ति जारी गरी दलको विधान बमोजिम विधिवत रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानूनी रहेको दाबी गरेका छन् ।

    प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड-माधव पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली, उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए ।

    भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानूनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानूनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’

    मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेकाे हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताएका छन् ।

    भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन् ।

     

  • आधिकारिकता छिटो टुंग्याइदिन निर्वाचन आयोगसमक्ष प्रचण्ड-माधवको ताकेता

    आधिकारिकता छिटो टुंग्याइदिन निर्वाचन आयोगसमक्ष प्रचण्ड-माधवको ताकेता

    काठमाडौं । विभाजित प्रचण्ड-माधव पक्षको नेकपाले पार्टी आधिकारिकता छिटो टुंग्याइदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    शुक्रबार आयोग पुगेर सो पक्षका नेता राजेन्द्र पाण्डेले निर्णय छिटो टुंग्याउन अनुरोधसहित लेखिएको पत्र बुझाएका छन् ।

    प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रूपमा विभाजन भएको नेकपा कानुनी रूपमा भने विभाजित भएको छैन ।

    विभाजनले कानुनी मान्यता नपाउँदा २ दिनपछि शुरू हुने संसद बैठकलगायतका अन्य गतिविधिमा अन्योल सिर्जना भएपछि प्रचण्ड-माधव पक्षले आयोगमा ताकेता गरेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आइतबारदेखि निर्णय प्रक्रिया शुरू गर्ने जानकारी दिएका छन् ।

  • ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं

    ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तीमा पद राखेर अरुको दैलोमा भीख माग्न हिंडिरहेको टिप्पणी गरेका छन् ।

    विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याएपछिको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पारे ।

    ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर, सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदेऊ न भन्दै हिंडेका छन् विचराहरू । आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’

  • विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ

    विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताएका छन् । उनले नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गरे ।

    विप्लव समूहसँग सरकारले गरेको तीनबुँदे सम्झौतामा हस्ताक्षरपछि बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

    उनले भने, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ केही दिनअघि संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल शान्तिको पारामिटरमा अगाडि देखिएको सन्दर्भ उनले प्रस्तुत गरे ।

    ‘राष्ट्रसंघको शान्ति पारामिटरमा नेपाल शान्तिको मापदण्डमा अमेरिका, भारत, पाकिस्तानजस्ता देशहरुभन्दा धेरै अगाडि थियो । झन् भरे बेलुका राष्ट्रसंघले मूल्यांकन गर्‍यो भने के भन्ला ?’

    कार्यक्रममा ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहसिक कदम चालेको बताए ।

    ‘म विप्लवजीलाई बधाई दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा बाटोमा हिंडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ । उहाँले सफलतापूर्वक गर्नुभयो । यो फोर्सल्यान्डिङ होइन, क्रयासल्यान्डिङ होइन, सेफल्यान्डिङ हो ।’

    ओलीले १०/१२ वर्ष अगाडि नै विप्लवसँग भेटेर आफूले लामो छलफल गरेको खुलासा गरे ।

    ‘हामीबीच त्यो बेला एक/डेढ घण्टा गहन छलफल भएको थियो । हामीबीच विश्वासको बीउ रोपिएको त्यही छलफलबाट हो’, ओलीले भने ।

    सम्वोधनको शुरूआतमा नै ओलीले भर्खरै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धमेन्द्रलाई बधाई दिएका थिए । ठट्टा गर्दै ओलीले भने, ‘धमेन्द्रजीलाई बधाई छ, यति छिट्टै जेलबाट निस्कन पाए पो । आफू त १४ वर्ष…’

  • ऋषि कट्टेलको मुद्दामा आइतबार फैसला, नेकपाको आधिकारिकता कसले पाउला ?

    ऋषि कट्टेलको मुद्दामा आइतबार फैसला, नेकपाको आधिकारिकता कसले पाउला ?

    काठमाडौं । अदालतमा सार्वजनिक बिदाका कारण बिहीबार हुन नसकेको नेपाल कम्युनिष्‍ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आइतवार हुने भएको छ । नेकपा अध्यक्ष ऋषि कट्टेलले २ वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ सकिएपछि बिहीबार निर्णय सुनुवाइको मिति तोकिएको थियो ।

    तर, यसबीचमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण बिहीबार अदालतहरूमा बिदा दिइएका कारण निर्णय सुनुवाइ सरेको थियो । सो मुद्दाको फैसला अब आइतबर हुने भएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्‍ट पार्टी नामाकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेल आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

    निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

    दुवै अध्यक्ष रहेको नेकपा प्राविधिकरूपमा फुटे पनि कानुनी रूपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए आयोगले नै नेकपाको अर्को नाम राखिदिन सक्छ ।

  • प्रचण्ड दोस्रो पटक दलको नेता चयन, नेकपा संसदीय दल औपचारिक विभाजन

    प्रचण्ड दोस्रो पटक दलको नेता चयन, नेकपा संसदीय दल औपचारिक विभाजन

    काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । शुक्रवार बसेको सो पक्षका दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक दलको नेता चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो ।

    ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद झपट रावलले नेपाल प्रेसलाई जानकारी दिए । दलको नेतामा प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् ।

    प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको रावलले बताए ।

    प्रचण्ड-माधव पक्षीय दलको बैठकले दलको नेताबाट केपी ओली र उपनेता सुवास नेम्वाङ तथा सचेतक शान्ता चौधरीलगायतमाथि गरेको कारबाहीलाई अनुमोदन गरेको उनले जानकारी दिए ।

  • विप्लवले भने – कम्युनिष्ट शान्तिदूत पनि हुन्, तीनबुँदेमा प्रतिबद्ध छौं (भिडियो)

    विप्लवले भने – कम्युनिष्ट शान्तिदूत पनि हुन्, तीनबुँदेमा प्रतिबद्ध छौं (भिडियो)

    काठमाडौं । मूलधारकाे राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । सरकारसँग तीनबुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिए ।

    राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’

    उनले तीनबुँदेमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीनबुँदेमा प्रतिवद्ध छौं,’ उनले भने ।

    उनले एउटा देउडा गीतलाई उद्धृत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए ।

    उनले सुनाए, ‘मैले उहाँलाई भनेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस् । हामी कसैको भाग खोसेर, हमला गरेर होइन, जनताको श्रममाथि उभिएर देश बनाउनेछौं । हाम्रो छलफल भएको थियो ।’

    सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसूस भएको उनले बताए । विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

  • नेकपा संसदीय दल विभाजन गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

    नेकपा संसदीय दल विभाजन गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई पुनः चयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनपछि बसेको सो पक्षको बैठकले एकपटक दाहाललाई नेता चयन गरिसकेको थियो ।

    आज फेरि झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयनको एजेण्डा ल्याइएको छ । नेकपा कानुनी रुपमा विभाजित नभएको र दलको नेता केपी ओली नै रहेकाले प्रचण्डलाई पुनः दलको नेता चयन गरेर औपचारिक रुपमा दल विभाजनको प्रक्रियामा जान लागिएको प्रचण्ड माधव पक्षका नेताहरुले बताएका छन् ।

    दल विभाजनको प्रक्रिया टुंगिएपछि संघीय संसद सचिवालयलाई जानकारी दिने तयारी छ । दलका नेता केपी ओलीले शनिवार प्रचण्ड माधव पक्षलाई समेत दलको बैठकमा बोलाएका छन् ।

  • सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

    सहमति अनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।

    सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको छ ।

    यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पूर्ण मुद्दा खारेज गरिने भनिएको छ ।

    सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

  • जब भयो बालुवाटारमा विप्लवको इन्ट्री (तस्बिरहरु)

    जब भयो बालुवाटारमा विप्लवको इन्ट्री (तस्बिरहरु)

    दुई वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

    दुईजनाबीच भेटपछि सहमतिपत्रमा हस्ताक्षरका लागि आयोजित विशेष समारोहमा दुवैजना राष्ट्रिय सभागृह गएका छन् ।

  • विप्लव बालुवाटारमा, प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

    विप्लव बालुवाटारमा, प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

    काठमाडौं । २ वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

    काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता टोली सहित पुगेका विप्लवले प्रधानमन्त्रीसँग भने एक्लै भेट गरेका हुन् ।

    केहीबेर दुई नेताबीच वार्तापछि सँगै राष्ट्रियसभागृहमा जाने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । विप्लव र प्रधानमन्त्री एउटै गाडी चढेर सभागृहमा संयुक्त हस्ताक्षर र सम्बोधनका लागि जाँदैछन् ।

  • औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा तनाव, अर्थमन्त्रीले बोल्दै गर्दा ढुंगामुढा

    औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा तनाव, अर्थमन्त्रीले बोल्दै गर्दा ढुंगामुढा

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा असन्तुष्ट स्थानीयले अवरोध गर्दा तनाव उत्पन्न भएको छ ।

    कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बोल्दै गर्दा ढुंगामुढा गर्नुका साथै सभास्थल वरपर आगजनी गरिएको छ । ओद्योगिक शिलान्यास भएपनि स्थानीयले घेराउ गरेका छन् ।

    मन्त्री लेखराज भट्टको मन्तव्य सकिएपछि अर्थमन्त्री पौडेल बोल्दै गर्दा स्थिति तनावग्रस्त बनेको थियो ।

    प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । सो क्रममा २ सुरक्षाकर्मी र ६ स्थानीय घाइते भएका छन् । अहिले दुवैजना मन्त्री कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

    आफूले जोतभोग गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा गएको भन्दै स्थानीयले विरोध गरिरहेका थिए । शिलान्यास रोक्न माग गरेपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोक्ने जनाएको थियो ।

     

  • रिहाइलगत्तै काठमाडौंमा विप्लवलाई भेट्न पुगे धर्मेन्द्र

    रिहाइलगत्तै काठमाडौंमा विप्लवलाई भेट्न पुगे धर्मेन्द्र

    काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि रिहा भएका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले महासचिव नेत्रविक्रम चन्दलाई भेटेका छन् । धर्मेन्द्र चन्दपछिका दोस्रो तहका नेता हुन् ।

    सरकारसँग वार्तामा तीन बुँदे सहमति भएसँगै सार्वजनिक हुन काठमाडौं आइपुगेका विप्लवलाई भेट्न धर्मेन्द्र काभ्रेबाट सीधै काठमाडौं आएका हुन् ।

    विप्लव केही बेरअघि काठमाडौं आइपुगेका छन् । नवलपरासीबाट आएर सामाखुसी बसेका विप्लवलाई सरकारसँगको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’,उदय चलाउने ‘दीपक’ ले पनि भेटेका छन् ।

    केहीबेरपछि सरकारसँग भएको सहमतिमा हस्ताक्षर गर्दै विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्दैछन् ।

    तस्बिर : प्रकाश डुम्रे

  • नेकपाको एकता जोगाउने अन्तिम अवसरको सदुपयोग गरौं

    नेकपाको एकता जोगाउने अन्तिम अवसरको सदुपयोग गरौं

    संसद विघटनपछि चुनावमा जाने कि पुन:स्थापना गर्ने भन्ने विवाद थियो । हामी चुनावको पक्षमा थियौं । तर, सर्वोच्चले एउटा फैसला गरिदियो । चुनावमा जाँदा देश स्थिरतातिर जान्छ । चुनाव भनेको अस्थिरताको बाटो होइन । चुनाव समस्या समाधानको बाटो हो ।

    अस्थिरताको अन्त्य गर्ने बाटोलाई रोकेर सर्वोच्चले संसद पुन:स्थापना गरिदिएको छ । यसले फेरि पनि देशमा अस्थिरता हुन्छ । संसदभित्र ‘हर्स ट्रेडिङ’ शुरू भयो । यी सब कुरा नगर्नका लागि हामीले जनमत माग राखेर यो ठाउँमा आइपुगेका थियौं ।

    आज यसले (संसद पुन:स्थापना) ले पार्टी-पार्टीमा विभाजन र विवाद भएको छ । कारण यही हो । नेपाल कम्युनिष्ट पार्टीको विवाद छँदै थियो, भावनात्मक रूफमा २ वटा पार्टी भइसकेका छन् । नेपाली कांग्रेसभित्र पनि २ धारमा विवाद देखिन्छ ।

    जनता समाजवादी पार्टीभित्र पनि साविक राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच देखिने गरेर विवाद शुरू भइसकेको छ । देखिने गरी गुटबन्दी देखिन्छ ।

    यी सबै गुटबन्दीमा खेल्ने ठाउँ, हर्स ट्रेडिङ, सांसद खरिदबिक्रीको ठाउँ शुरू हुने, तानातान हुने अवस्था सिर्जना हुन्छ भनेर चुनावमा जाने भनेका थियौं । तर, नेपाल सरकारको सिफारिसलाई सर्वोच्चले उल्ट्याइदिएका कारण नेपाली राजनीति नयाँ कोर्समा खोजेको छ ।

    यस्तो परिस्थितिमा हामीले लोकतन्त्रको एउटा मूलभूत मूल्य र मान्यतालाई विश्वास गर्ने पार्टी, शक्ति पृथकीकरण सिद्धान्तलाई विश्वास गर्ने पार्टी र न्यायपालिकाको स्वतन्त्रताको वकालत गर्दै आएको पार्टीका हैसियतले सर्वोच्चको फैसला मन नपरेपनि, अप्रिय लागेपनि न्याय पालिकाको निर्णयलाई शिरोधार्य गर्छौं । त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा सरकार लागिरहेको छ ।

    सर्वोच्चकै आदेश बमोजिम संसदीय बैठक बोलाउने भनेका छौं । यसैबीचमा पार्टीभित्र जुन खालको समस्या पैदा भएको छ, त्यो समस्या नहोस् भनेर हामी फेरि यो भावानात्मक रूफमा फुटिसकेको पार्टीलाई जुटाउन सकिन्छ कि ! जुटाउन के-के विकल्प हुन सक्छन् भनेर लागिरहेका छौं ।

    सर्वोच्चको फैसलापछि हामीसँग अहिले मुख्य त दुई विकल्प छन् :-

    पहिलो : विभाजित आफ्नै पार्टी नेकपाभित्र सहमति खोज्ने ।

    वैमनश्यताले दुईतिर फर्किएको पार्टीलाई एकैतिर फर्काउन के-के विकल्प हुन सक्छन् ? कसरी फेरि एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने विकल्पको खोजीमा छौं । एउटा विकल्प यही नै हो ।

    दोस्रो  : नेपाली कांग्रेससँग समर्थन खोज्ने ।

    नेपाली कांग्रेसको समर्थनमा केपी ओलीकै नेतृत्वमा सरकार बनाउन सक्ने विकल्प रहन सक्छ । या नेपाली कांग्रेसकै समर्थनमा प्रचण्ड-माधव समूहको सरकार बन्न सक्ने अवस्था पनि रह्यो । वा प्रचण्ड-माधवकै समर्थनमा नेपाली कांग्रेसको सरकार बन्न सक्ने सम्भावना पनि सक्ने देखिन्छ । केपी ओलीकै नेतृत्वको दलले नेपाली कांग्रेसलाई समर्थन गरेर अर्को सरकार बन्ने सम्भावना पनि त्यत्तिकै छ ।

    यी र यस्ता धेरै विकल्प हामीसँग छन् । तर, यी विकल्प समस्या समाधानका विकल्प भने होइनन् । तत्कालका लागि सिर्जित संसदको अवस्थालाई कमसेकम अन्त्य गर्ने र सरकार निर्माण गरेर जनतालाई अभिभावक दिने हो ।

    त्यसैपनि डेढ वर्षपछि चुनावमा जानैपर्छ । अब नयाँ सरकार बनेपछि ५/६ महिनासम्म अविश्वासको प्रस्ताव ल्याउनै पाइँदैन । त्यही ४/५ महिनाका लागि जुन ढंगको हतारोको कुरा, अविश्वासको प्रस्ताव ल्याउने काम भइरहेका छन्, त्यो यो मुलुकमा अस्थिरता चाहने, समृद्धिको अभियानमा बाधा, अवरोध सिर्जना गर्ने, बाहिरबाट आक्रमण गर्न नसकेर पार्टीभित्रै अन्तद्र्वन्द्व सिर्जना गर्ने, अन्तरविरोध सिर्जना गरिदिने डिजाइन छ । यो डिजाइनमा नेपालका राजनीतिक दल, दलका नेताहरू शिकार भएका छन् ।

    नेपाल कम्युनिष्‍ट पार्टी भावनात्मक रूफले विभाजित भइसक्या छ । नेताहरुको रिभेन्ज पोलिटिक्सले विभाजित छ, मन बेमेल हुँदा विभाजित छ । तर, अहिलेसम्म कानुनी रूफमा एउटै छ । त्यसकारण हामी अहिले पनि फेरि भावनात्मक रूफमै एक बनाउन सकिन्छ कि भनेर लागिरहेका छौं । पार्टीलाई फेरि जोगाउन सकिन्छ कि भनेर प्रयत्नशील छौं । फेरि एकताद्ध भएर त्यही पार्टीकै सरकारलाई निरन्तरता दिन सकिन्छ कि भन्ने अभियानमा छौं ।

    संसदमा ६४ प्रतिशतभन्दा बढी बहुमत प्राप्त नेकपाको सरकारलाई नै कसरी एकताबद्ध बनाएर लैजान्छ, कसरी त्यसलाई नै निरन्तरता दिन सकिन्छ र फेरि मुलुकमा स्थिरता प्रत्याभूति गराउन सकिन्छ भन्ने अवसर हामीसँग छ । मुलुकको अस्थिरता अन्त्य गर्न यो अवसरको सदुपयोग हामी सबै लाग्नुपर्छ । राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाउन जरुरी छ ।

    गण्डकी प्रदेश सरकारले स्वास्थ्य तालिम केन्द्रमा बनाउन लागेको खोप भण्डार कक्षको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको मन्तव्यको सम्पादित अंश ।

    प्रस्तुति : विकाश रोकामगर/पोखरा

  • रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

    रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले राजनीतिक निकासको लागि पहल गर्ने सबैप्रति आभार जनाएका छन् ।

    शुक्रवार काभ्रेबाट रिहा भएका बास्तोलाले राजनीतिक समस्यालाई राजनीतिक ढंगबाटै हल गर्ने कुरा आफ्‍नो पार्टीले पहिलेदेखि नै गर्दै आएको प्रतिक्रिया दिए ।

    सरकारले पनि राजनीतिक तरिकाले नै समस्या समाधान गरौं भनेर अघि बढे भन्दै बास्तोलाले रिहाइ तथा वार्ता सफल पार्न सहयोगी भूमिका निभाउने सबैलाई धन्यवाद दिएका छन् ।

    ‘यो देशको समस्या समाधान गर्न हामी अघि बढ्छौं र सफल पनि हुनेछौं’, उनले भने ।

  • म्यानमारको दूतावास अगाडि नागरिक अगुवाहरूको प्रदर्शन (तस्वीरहरू)

    म्यानमारको दूतावास अगाडि नागरिक अगुवाहरूको प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं । म्यानमारमा लोकतान्त्रिक आन्दोलनकारीविरुद्ध नरसंहार बन्द गर्न माग गर्दै नागरिक अगूवाहरूले काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

    वृहद नागरिक आन्दोलनको ब्यानरसहित गरिएको प्रदर्शनमा सहभागीहरुले म्यानमारमा लोकतन्त्रका बहाली हुनुपर्ने माग गरेका थिए ।

    नागरिक अगुवाहरू डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत करिब दुई दर्जनको उपस्थिति रहेको थियो । सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए भने म्यानमारमा सेनाले गरेको दम झल्काउने सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।