Author: Sharmila Pandit

  • नेपालगञ्ज – हुम्ला हवाई भाडादर सस्तियो

    नेपालगञ्ज – हुम्ला हवाई भाडादर सस्तियो

    सिमकोट । मंसिर अन्तिम सातादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।

    एयरलाइन्सले १२ सय ९५ रुपैँया भाडा घटाएको हो ।यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३०० कायम गरेको छ ।

    नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिन थालेपछि केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन
    दबाब परेको हो । सोही अनुसार बुधबारदेखि भाडादर घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

    यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उनले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।

     

  • दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन

    दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

    पर्यटन मन्त्रालय अन्र्तगत संस्कृत सम्बद्ध निकाय विकास समितिसँग आज भएको अन्तरक्रियामा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिए ।

    उनले गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रहसमेत गरेको छ ।

    मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना रहेको बताउँदै महिना दिनभित्र सुझाव दिन सबै समितिलाई आग्रह गरे । उनले विकास समितिले मितव्ययिता अपनाउन साथै भेटिपाती पारदर्शी तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न र बेरुजु फस्र्यौट गर्नेतर्फ लाग्न पनि निर्देशन दिएको हो ।

    धार्मिक तथा सांस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहको समन्वय गरेर बढीभन्दा बढी फाइदा लिन आग्रह गर्दै मन्त्री भट्टराईले धार्मिकस्थललाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नसमेत आग्रह गरे ।

    अन्तक्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौं बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति ललितपुर, बृहत्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

  • कोरोना अपडेट : ७३६ संक्रमित थपिए, १३ को मृत्यु

    कोरोना अपडेट : ७३६ संक्रमित थपिए, १३ को मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ५५५ नमुनाको पीसीआर परीक्षण गर्दा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ९ हजार ७५७ जना छन् ।

    यस्तै आज ८ सय ४७ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ३८ हजार ५६९ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४३ पुगेको छ।

  • बीबीसी रियालिटी सोमा नेपालका सन्तोष साह फाइनलमा

    बीबीसी रियालिटी सोमा नेपालका सन्तोष साह फाइनलमा

    कोदोको खिर चखाएर नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी शीर्ष ४ मा पुगेका हुन् ।

    प्रतियोगितामा सन्तोषले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि बनाएका थिए । उनले नेपाली खाना चखाउन यो प्रतियोगितामा भाग लिएका थिए । नेपालमा पाइने मौलिक खानाहरु जजलाई खुवाएर मन जितेका थिए । साथै उनले लोप भइसकेको खानालाई पुन: एकपटक विश्व माझ चिनाएका छन् ।

    सिरहाका सन्तोषले यो प्रतियोगिताको प्रथम चरणदेखि नै नेपाली खानाको परिकार पस्किरहेका छन् । उनले यो फाइनल राउन्डका ६ प्रतियोगीलाई पछि पार्दै शीर्ष ४ स्थान बनाउन सफल भए । उनी दुई दशकदेखि यो पेसामा आवद्ध छन् । यही क्रममा उनले भारत र बेलायतमा  धेरै वर्ष सेफको क्रममा काम गरे ।

    मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ । ३५ वर्षीय सन्तोष शीर्ष ४ मा पुगेकोमा उनकी आमाले खुसी व्यक्त गरेकी छिन् । आमाले भनेकी छिन्, ‘मलाई मेरो छोरा फाइनलमा पुगेको एकदमै खुसी लागेको छ । तर उनले चाडैँ नै विवाह गरिदिओस भन्ने इच्छा छ मेरो ।’

  • क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

    क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

    काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित क्लिन फिड लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।

    विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो ।

    विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ ।

    डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् ।

    उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महिनाभन्दा बढी भन्सार कार्यालयमा रोकिँदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो ।

  • कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

    कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

    काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ ।

    सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सभापति देउवाले पूर्व पदाधिकारीहरुसहित शीर्ष नेताको बैठक बोलाएका हुन् ।

    बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सह महामन्त्री डा.प्रकाशशरण महत, पूर्व महामन्त्री प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको उपस्थिति छ ।

    कांग्रेसले यसअघि नै अध्यादेश ल्याइनु अलोकतान्त्रिक कदम रहेको टिप्पणी गरिसकेको छ ।

  • तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो

    तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो

    काठमाडौं । विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । बुधबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

    प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए ।

    पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए ।

    राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

  • तोकिएको समयमै धरहरा पुनर्निर्माण नसकिने, ५० प्रतिशत मात्र काम सम्पन्न

    तोकिएको समयमै धरहरा पुनर्निर्माण नसकिने, ५० प्रतिशत मात्र काम सम्पन्न

    काठमाडौं । धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले ढलान गर्ने तयारी भइरहेको छ । अहिलेसम्म पुनर्निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

    गोरखा भूकम्पको तीन वर्षपछि मात्रै सो सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको भीमसेनस्तम्भ पुनर्निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेको हो ।

    मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पारेपछि नौतले बनाइएको थियो ।

    दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि हिजोआज निर्माणका काममा सुस्तता देखिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर शुरुआती चरणमा तीव्र रुपमा निर्माणको काम भए पनि पछिल्लो समय सोहीअनुरुप काम अघि बढ्न नसक्दा थप गरिएका समयमा पनि काम सकिन्छ भन्नेमा शङ्का उब्जिएको बताउँछन् ।

    कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनर्निर्माण प्राधिकरणले आठ महिना समय थप गरिदिएको छ ।

    नेपाली र केही भारतीयसहित दैनिक १५० कामदार नियमित रुपमा निर्माणमा जुटिरहेका छन् । धरहरा पुनर्निर्माणका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठ आफूहरुले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महिना मात्रै थपिएको बताए । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किलै छ ।

    “धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्य अभिवृद्धि र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ”, म्यानेजर श्रेष्ठले भने ।

    उनका अनुसार ऐतिहासिक ढुङ्गेधारा क्षेत्रलाई संरक्षण गर्ने गरी काम भइरहेको छ । ढुङ्गेधाराबाट निरन्तर पानी खस्ने व्यवस्था गर्न लागिएको छ । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा ३ अर्ब ४८ करोड खर्च लाग्ने बताइएको छ ।

    पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहरा थप चौडा हुनेछ । यहाँ दुई लिफ्ट रहने छन् । साथै एउटा परम्परागत भ¥याङ पनि हुनेछ । आगन्तुकले दुईमध्ये एक रोजेर प्रयोग गर्न सक्छन् ।

    ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् । बाहिरबाट ११ तलाको देखिने भए पनि स्तम्भ २२ तलाको हुनेछ ।

    यसको उचाइ ७२ मिटर तथा १४।६३ मिटरको आधार रहने छ । पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान बन्ने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृह हुनेछ ।

    यहाँ पढ्न, ध्यान गर्न या आरामसँग बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने बताइएको छ । धरहराको १८ औँ तलामा अवलोकन कक्षसहित सङ्ग्रहालय, फोहरा, बगैंँचा र खाजाघर पनि रहने छन् ।

    पचास वर्षअघिदेखि हुलाक सेवा दिँदैआएको यहाँको गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागकै प्राङ्गणमा सारिएको छ । गोश्वारा हुलाकको भवन भएका ठाउँमा तीनतले भूमिगत पार्किङ स्थल बन्ने छ ।

    यहाँस्थित टक्सार विभाग पनि बबलमहलमा स्थानान्तरण भएको छ । टक्सार विभाग रहँदा सुरक्षाका कारण बन्द गरिएको पुरानो बाटोलार्ई स्थानीय जनताको मागअनुसार केही समयअघिदेखि खोलिएको छ ।

  • ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु गरेका छन् । वार्ता शुरु गरेकोमा आफू निकै खुसी भएको बताएका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन् पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ताको शुरुवात गर्न पाएकोमा म हर्षित छु,’ । ‘एउटा सक्षम व्यावसायिक वातावरणको निर्माण दुई देशबीचको बढ्दो व्यापार सम्बन्धले थप मजबुत बनाउने तथा नेपाली अमेरिकीहरुलाई उत्तिकै सघाउनेतर्फ पहिलो महत्वपूर्ण कदम हो, मेरो उच्च प्राथमिकता पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।

    नेपाल सरकार र संयुक्त राज्य अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागू हुने गरी व्यापार तथा लगानीसम्बन्धि सम्झौता (टिफा) मा हस्ताक्षर गरेका हुन् । यो सम्झौताको उदेश्य व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण लगायत रहेका छन् ।

    २०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देशकेन्द्रित ग्राहता कार्यक्रम स्थापित गरी ‘हार्मोनाइज्ड ट्यारिफ शेडुल’अन्र्तगत ७७ वस्तुहरु समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । जसमा हस्तकला, शल भ्रमण सामग्र लगायतका वस्तु छन् ।

  • मेयरका छोरा नै ठेकेदार : २४ महिनामा पाँच प्रतिशत काम

    मेयरका छोरा नै ठेकेदार : २४ महिनामा पाँच प्रतिशत काम

    दाङ । तीव्र गतिमा काम भएको भए अचेल तुलसीपुर–लमही सडकखण्डमा निर्माणाधीन ४९ किमि चार लेनक सडकको काम अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, उक्त सडक निर्माण सुरु भएको २४ महिना बितिसक्दा समेत अलपत्र छ ।

    केही ठाउँमा मात्र कछुवा गतिमा काम भएको छ । ०७५ पुस १३ गतेदेखि सुरु भएको सडकको काम ३० महिनामा सम्पन्न गर्ने निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

    काम सक्न ६ महिना मात्रै बाँकी हुँदा काम भने ५ प्रतिशत मात्रै भएको सडक आयोजना कार्यालयका प्रमुख पारसमणि हमालको भनाइ छ ।

    भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ कम्पनीले निर्माणको जिम्मा लिएको छ । तर, तथ्य इन्जिनियरिङ कम्पनी आफैँले भने काम गरेको छैन् ।

    उसले उक्त ठेक्का पहिले दाङका जनक डाँगी, अनुप पाण्डे र जमिम रानालाई बेचेको थियो ।

    उनीहरुले चार लेन सडक निर्माणका लागि केही खर्च रकम समेत लिएका थिए । तर, लिएको रकम बराबरको काम गर्न नसेकेपपिछि आयोजनाले धरौटी बापतको करिब तीन करोड रुपैँया जफत गरेको जनाएको छ ।

    आयोजना प्रमुख हमालले भने,‘उनीहरुले जति काम गरेका थिए त्यती मात्रै भुक्तानी गर्‍ र्यौ । बाँकी रकम जफत गरेका छौँ ।’

    हमालका अनुसार पहिले चार लेन सडककको काममा जनक, अनुप र जमिम पार्टनर थिए । तर, उनीहरुले काम गर्न नसकेपछि काम छाडेर भागेका थिए ।

    निर्माण कम्पनीसँग सम्झौता गरेकाहरु काम छाडेर भागेपछि सडक निर्माण आयोजनाले निर्माण कम्पनीलाई कार्वाही गर्ने भन्दै पत्राचार गरेको र निर्माण कम्पनीले अहिले अनुप पाण्डेलाई कामको जिम्मेवारी दिएको सडक आयोजना प्रमुख हमालले बताए । अनुप तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा हुन् ।

    सडक आयोजना प्रमुख हमालका अनुसार अनुप अनुभवी ठेकेदार होइनन् । जसकाकारण उनलाई चार लेन सडकको काम गर्न गाह्रो भएको छ ।

    अनुपले प्रत्येक दुई महिनामा लक्ष्य अनुसारको काम गर्नुपर्ने र त्यसो गर्न नसके कार्वाही गर्ने हमालले बताएका छन् । हमालका अनुसार ठेक्का एउटाले लिने र काम अर्कालाई दिँदा सडकको काम अलपत्र परेको हो ।

    ठेकेदार अनुपका ईन्जिनियर दिवाकर पण्डितका अनुसार घोराहीको बबई खोलादेखि तुलसीपुरको हात्तीखौवा सम्मको ४९ किमिमध्ये पहिलो चरणमा बबईखोला–चौघेरा, सर्रा–नारायणपुर, नारायणपुर–दुधराससम्म दुई लेन बनाउने सम्झौता भएको थियो।

    तर, सरकारले यी क्षेत्रमा चार लेन विस्तार गर्ने निर्णय ग¥यो । त्यही अनुसारको डिजाइन भने दिन नसक्दा सडकको कामले गति लिन नसकेको हो ।

    डिजाइन मात्रै होइन आयोजनाले रकम समेत उपलब्ध गराउन नसक्दा सडक निर्माण अलपत्र परेको पण्डितको भनाई छ ।

    चार लेन सडकका लागि १ करोड, २१ लाख ८२ हजार अमेरिकी डलरमा पहिलो सम्झौता भए पनि दोस्रो सरकारी डिजाइनमा थपिएको काम बराबरको रकम नथप्दा पनि कम्पनीले काम गर्न नसकेको ठेकेदार पक्षको दावी छ ।

    तोकिएको समयमा काम पुरा हुने सम्भावना टरेपछि सडक आयोजनाले ३ जनवरी २०२२ सम्म काम गर्ने समय थपिदिएको छ ।

     

  • क्रसर उद्योगमा बम विस्फोट गराएको आराेपमा ३ पक्राउ

    क्रसर उद्योगमा बम विस्फोट गराएको आराेपमा ३ पक्राउ

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् ।

    सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आरोपमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

    सोमबार राति छ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ ।

    बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको तीव्र खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

    बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा रु १० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताए ।

  • संवैधानिक परिषद्को बैठक शुरु, देउवा र सभामुख अनुपस्थित

    संवैधानिक परिषद्को बैठक शुरु, देउवा र सभामुख अनुपस्थित

    काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष सहभागी भएका छन्। विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् ।

    अध्यादेश अनुसार तीन जनाको उपस्थितिले निर्णय गर्न बाटो खुलेको छ ।

    आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो अध्यादेश पारित गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाएको थियो । तर अध्यादेशबारे मन्त्रिपरिषद्मा छलफल नभएको मन्त्रीहरुले बताएका छन् ।

  • सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

    सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ।

    मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    ७ करोड ५० लाख रुपैयाँ बराबरको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ।

  • कोरोना अपडेट : १४ जनाको मृत्यु ,९३६ संक्रमित थपिए

    कोरोना अपडेट : १४ जनाको मृत्यु ,९३६ संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट १७३० जनाले ज्यान गुमाइसकेका छन् ।
    यस्तै  आज थप ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । हालसम्म ९ हजार ८८१ सक्रिय संक्रमित छन् । यस्तै मंगलबारै १९९६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

  • चिसोसँगै क्षयरोगको विरामी बढ्दै

    चिसोसँगै क्षयरोगको विरामी बढ्दै

    मोरङ । नेपालमा क्षयरोग टिबीबाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ ।

    नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।

    अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या बढ्न थालेको कोइरालाले जानकारी गराए।

    समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, मानिसमा चेतनाको कमी हुनु र पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।

    मोरङ जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार १५० र आव २०७६÷७७ को चैत मसान्तसम्ममा ७४१ रोगी शाखामा उपचारका लागि आएका संयोजक कोइरालाले बताए।

    क्षयरोग सुन्ने बित्तिकै बिरामी शुरुमा आत्तिने र डराउने गरेको, आफूहरुलाई सम्झाउन निकै गाह्रो पर्ने गरेको र धेरै मानिसमा क्षयरोगबारे ज्ञान नभएकाले यस्तो समस्या आउने गरेको छ ।

    क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । एक क्षयरोगीले उपचार नगराउँदा एक वर्षमा १० देखि १५ जनासम्मलाई सो रोग सर्ने सम्भावना हुन्छ ।

    नियमित क्षयरोगीका बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ छ । उनले यो रोगबाट भयभित हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुन्छ भने ।

    दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण हो । ज्वरो आउनु, खान नरुच्नु, छाती दुख्नु र खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण रहेका छन् । यदि कसैमा यस्ता लक्षणहरु देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न संयोजक कोइरालाले आग्रह गरे ।

    क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधिको अभाव नरहेको जनाइएको छ । गत आवमा विराटनगर महानगरपालिकामा १८६ जना क्षयरोगी उपचारमा आएका छन् ।

    हालको तथ्याङ्कअनुसार देशभरमा ८० हजारभन्दा बढी क्षयरोगीले उपचार गराइरहेका जानकारी उनले दिए ।

    यस्तै सामान्य क्षयरोगको उपचार नगराउँदा वा नियमित औषधि सेवन नगरेमा यो जीर्ण क्षयरोगमा परिणत हुने गर्छ । यो पनि नियमित उपचार गराएर नियमित औषधि सेवन गरेमा निको हुन्छ । जीर्ण क्षयरोगीले २० देखि २४ महिनासम्म औषधि नियमित खानुपर्ने हुन्छ ।

    जीर्ण क्षयरोगीको उपचार लामो समयसम्म चलिरहने भएकाले क्षयरोग निवारण संस्था विराटनगरले जीर्ण क्षयरोगीका बिरामीलाई डिआर आभासगृहमा राखी उपचार गराउँदै आएको छ ।

    जीर्ण क्षयरोगी ५६ जनामध्ये हाल १५ जना सो गृहमा बसेर आफ्नो उपचार गराउँदै आइरहेका छन् । सो गृहमा उपचार गराइरहेकालाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
     

  • उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने

    उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने

    काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने भएकाे छ ।

    मंगलबार गृहमन्त्रालयमा भएको  बैठकमा उखु किसानको रकम भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, र स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत सहभागी थिए ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार मन्त्रालयमा उखुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बारे छलफल भएको बताए ।
    उनले नेपालप्रेसँग भने,‘अब उद्योगीहरु को को छन् त्यसको खोजी गरेर कारबाही गर्ने तयारी गरिराखेको छ ।’

    गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

     

  • प्रहरीलाई दुर्व्यवहार गर्ने दुई पक्राउ

    प्रहरीलाई दुर्व्यवहार गर्ने दुई पक्राउ

    भक्तपुर । भक्तपुर नगरपालिका – ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

    उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापती रहेका छन् ।
    सूर्यमढी बस्ने गिता कोजुको मोबाईल हराएको उजुरी परेपछि प्रहरीले मोबाइल खोजेर कोजुलाई दिने क्रममा विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    थप अनुसन्धान भइरहेको  छ ।

  • सुन्दरीजलमा  थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

    सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले  सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । यसअघि दुईवटा पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

    अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

    दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उनले जानकारी दिए । एडिबीले सो डिजाइन रिभ्यु गर्ने काम अघि बढाइरहेको छ ।

    सरकारले चालू आवमा रु ३५ करोड छुट्याएकाले यो वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, “यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।”

    सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताए । आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ ।

    पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक रहेको छ ।

    सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५ दशमलव पाँच बनाउन सकिन्छ । उनले भने, “अहिले भइरहेका पूर्वाधारको क्षमता बढाउँदा अर्को एउटा पनि २५ दशमलव पाँच करोड लिटर क्षमताको निर्माण गरे पुग्छ ।”

    आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ ।

    तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एडिबीको आर्थिक सहयोगमा निर्माण भएकोे थियो । सुरुङ, हेडबक्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।

  • आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह

    आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस संविधानले सुनिश्चित गरेका उपलब्धि उल्टिन नदिन सचेत रहेको बताएका छन् ।

    जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता सिंहले धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नै कांग्रेसको बटमलाइन भएको बताए ।

    ‘कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानले दिएका राजनीतिक उपलब्धि निरन्तर रहनुपर्छ । राजतन्त्र वा हिन्दूराष्ट्रका नाममा परिवर्तनको विरुद्धमा कांग्रेस उभिंदैन’, सिंहले भने ।

    कांग्रेसका केही नेताहरुले हिन्दू राष्ट्र वा राजतन्त्रको पक्षमा बोलेको सन्दर्भलाई पार्टीको आधिकारिक धारणा मान्न नमिल्ने सिंहको भनाइ छ । ‘कसले के भन्यो वा भने त्यसमा मेरो टिप्पणी छैन । नेपाली कांग्रेस पार्टी संघीयता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रप्रति प्रतिबद्ध छ’, उनले भने ।

    फरक प्रसंगमा नेता सिंहले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार पूर्ण रुपमा असफल भएको दावी गरे । सरकारकै संरक्षणमा अपराध र भ्रष्टाचार मौलाएको दावी गर्दै नेता सिंहले सरकार बहुमतको भए पनि अत्यन्त कमजोर सावित भइसकेको बताए ।

    कोरोनाका कारण ठप्प भएका गतिविधि विस्तारै सामान्य बनाउँदै लैजानुपर्नेे सिंहको भनाइ छ । उनले सीमा नाका बन्द गर्दा सीमा क्षेत्रका जनता समस्यामा परेको हुनाले विस्तारै सुचारु गर्न सरकारसँग माग गरे ।

    सरकारले लामो समयसम्म संसद अधिवेशन स्थगित गरेर आफ्नो उत्तरदायित्व बिर्सिएको आरोपसमेत नेता सिंहले लगाए । ‘जनताका आवाज उठ्छन् र सरकारको आलोचना हुन्छ भनेर संसद ठप्प राखिएको छ’ सिंहले भने ।

  • काठमाडौंमा आज यस वर्षकै बढी चिसो

    काठमाडौंमा आज यस वर्षकै बढी चिसो

    काठमाडौं । उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ ।

    यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ,’ मौसमविद् सापकोटाले भने। यस वर्ष काठमाडौंको तापक्रम सूनय डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

    मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ । दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    अपराह्न प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।

  • विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

    विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

    काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ ।

    प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा सोमबार वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गर्दै प्रदेश सरकारले विसं २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारीसाधन विस्थापन गरी प्रदूषणरहित तथा नवीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिए ।

    उनले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनर्भरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने पनि बताए।

    उनका अनुसार पहिलो चरणमा काठमाडौंको चक्रपथका साथै काठमाडौं–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाइने छ ।

    सोही अवसरमा भौतिक विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जीव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणानुरुप बोर्ड गठन गरिएको बताए।

    उनले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

    बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा सहदेवबहादुर भण्डारीले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्य क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताए।

    बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने बताइएको छ । प्रदेश सरकारले प्रदेशभरी विभिन्न सडक मार्गमा ३० भन्दा बढी विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

  • पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

    पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

    काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मंगलबार बिहान क्षमा पूजा हुने भएको छ ।

    प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

    पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

    पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

    मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

    ‘महामारीको संकटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौं’,उनले भने । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मंगलबार पशुपति प्राङ्गनमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।

    लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।

    यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् ।

    मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

    नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।

    महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले बताए।

  • सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री

    सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री

    चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सामेबार भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्‍याउने बताए।

    उनले भने, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

    सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं संगठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए।

    गृहमन्त्रीले भने, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र संगठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ।’

    उनका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ।

    भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए।

  • सरकारले राउटेलाई दिएको आश्वासन पूरा गरेन

    सरकारले राउटेलाई दिएको आश्वासन पूरा गरेन

    सुर्खेत । कर्णाली प्रदेश सरकारले दशैंमा राउटेलाई दिएको आश्वासन अहिलेसम्म पूरा नभएको उनीहरूले गुनासो गरेका छन् ।

    गत ८ असोजमा दशैंको अवसर पारेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा लगायतको टोली सुर्खेतको चिंगाड गाउँपालिकास्थित राउटे बस्ती पुगेका थिए ।

    मुख्यमन्त्री शाहीले वस्तीमा गएर राउटेहरूले पाइरहेको भत्तामा मासिक दुई हजार थपिदिने घोषणा गरेपछि उनीहरूमा खुसी छाएको थियो । मुख्यमन्त्री शाहीले भनेका थिए, ‘हामी राउटेलाई हेर्ने अलग्गै संरचना बनाउँछौं । तपाईंहरूलाई प्रदेश सरकारको तर्फबाट थप दुई हजार भत्ता दिन्छौं ।’
    तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले गरेको वाचा आश्वासनमा मात्र सीमित भएको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रदेश सरकारले दुई हजार थपिदिए पाँच हजार पुग्थ्यो । कमसेकम लाउन खान त समस्या हुन्नथियो,’ राउटे युवा प्रकाश शाहीले भने, ‘आउँछ कि भन्ने आश गरिरह्यौँ । तर अहिलेसम्म नआउँदा आशा मरेको छ ।’

    राउटेका मुखिया महिनबहादुर शाही सरकारले गरेको त्यो वाचा अहिलेसम्म पूरा नगरेकोमा दुःखी छन् ।

    ‘हाम्रो वस्तीमा आएर आफैंले गरेको वाचा सरकारले पूरा गरिदिए हुने ! त्यति पाइयो भने हामीलाई धेरै राहत हुन्छ,’ मुखिया महिनबहादुर भन्छन् । सरकारले जङ्गलमा आफूहरूलाई उपयुक्त व्यवस्था पनि गर्न नसकेकोमा पनि उनको दुखेसो छ ।

    राउटे युवा वीरबहादुर पनि सरकारले वाचा पूरा नगरेकोमा गुनासो गर्छन् । भन्छन्, ‘सरकारले घोषणा मात्रै गरे जस्तो लाग्यो । हामीसँग भनेको वाचा पूरा गरोस् ।’
    सामाजिक विकास मन्त्री रावलले सामुदायिक वनसँग सहकार्य गरेर राउटेका समस्या समाधान गर्ने बताएका थिए । ‘अहिले हामीले राउटेको उत्थान गर्न एक संरचना निर्माण गर्ने तयारी गरेका छौं । त्यो संरचनामा एक जना अधिकृतसहित डाक्टर र नर्सको टिम हुनेछ । आवश्यक बजेटको व्यवस्थापन गर्न हामी जुटेका छौं, त्यसका लागि आवश्यक गृहकार्य दशैं लगत्तै सुरु गर्छौं ।’

    तर, मन्त्री रावलले प्रतिवद्धता गरेअनुसार कुनै दशैंयता कुनै पनि काम सुरु नभएको राउटेहरूको गुनासो छ ।

  • दुईपटक शिलान्यास गरेको पुल १० वर्षमा पनि बनेन

    दुईपटक शिलान्यास गरेको पुल १० वर्षमा पनि बनेन

    कालीकोट। कालीकोटमा दुई पटक शिलान्यास गरिएको एक पुल अलपत्र परेको छ।

    कर्णाली करिडोरअन्तर्गत खुलालुमा १० वर्षअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र २०७१ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेको पुलको निर्माण अहिलेसम्म हुन सकेको छैन ।

    झण्डै १४ करोड लागतको यो पक्की पुल एक वर्षभित्र निर्माण सम्पन्‍न गर्ने गरी २०६७ सालमा निर्माण कम्पनी कन्काई नेपाल प्रगति जेभीसँग सम्झौता गरिएको थियो।

    सुर्खेत सडक डिभिजनले ठेक्का लगाएर निर्माणको काम हेर्न हाल जुम्ला सडक डिभिजन कार्यालय कर्णालीलाई जिम्मेवारी हस्तान्तरण गरिसकिएको छ।

    ठेकेदार कम्पनीले लामो समय काम नगरेपछि पटकपटक ताकेता गरिएको कर्णाली सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

  • चायाको समस्या छ ? अपनाउनुस् यी घरेलु उपाय

    चायाको समस्या छ ? अपनाउनुस् यी घरेलु उपाय

    जाडो शुरु हुने वित्तिकै कपालमा चाया देखिन थाल्छ । जाडोको समयमा धेरै नुहाउन पनि नसकिने भएकाले चायाले झन् सताउँछ । चाया कपालमा सेतै देखिने भएकाले महिला र पुरुषहरू बढी तनावमा हुन्छन् ।

    कपालमा चायाकै कारण कपाल छोपेर वा टोपी लगाएर हिंड्नुपर्ने अवस्था आउँछ । गर्मीको समयमा भन्दा जाडोमा अत्यधिक चाया पर्ने गर्छ ।
    रक्तकोषिकाहरू मर्ने र नयाँ आउने क्रम भइराख्ने भएकाले कपालमा चाया देखिन्छ ।

    चाया जुनसुकै उमेर समूहको मानिसको कपालमा पनि पर्न सक्छ । चाया हटाउन विभिन्न खालको स्याम्पु पनि बजारमा पाइन्छ तर त्यस्ता स्याम्पुले पनि चाया हट्न मुश्किल पर्छ ।

    कतिपय आफ्नै घरमा पाइने सामानले पनि सजिलै चाया भगाउन सकिन्छ । तर प्रयोग गर्ने तरिका थाहा नहुँदा भौंतारिइरहेका हुन्छौं ।
    कपालको चाया हटाउनको लागि घरमै उपलब्ध हुने घरेलु सामानले पनि चाया सजिलै हटाउन सकिन्छ ।

    दही र तोरीको तेल
    दही र तोरीको तेलले पनि कपालको चाया सजिलै हटाउन सकिन्छ । घरमा भएको तोरीको तेल र दहीलाई मिसाएर कपालको जरासम्म पुग्ने गरी लगाउनुपर्छ । त्यसरी पेस्ट बनाएर लगाएर आधा घण्टासम्म राखेर नुहाउनुपर्छ र कपालको चाया सजिलै हट्छ । यो तरिका हप्ताको दुई दिन गर्न सके सजिलै चायाबाट मुक्ति मिल्छ । यो उपाय जुनसुकै उमेरका मानिस गर्न सक्छन् ।

    पिना र मोही
    तोरी पेलेर निस्कने पिनाले पनि चाया भगाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । र यसको प्रयोगले कपालमा भएको चायाबाट छुटकारा पाउन सकिन्छ । तोरी पिना र मोहीलाई मिसाएर लगाई नुहाउँदा चाया सजिलै हट्छ ।

     

  • मौसमी रुघाखोकी र कोरोना कसरी छुट्याउने ?

    मौसमी रुघाखोकी र कोरोना कसरी छुट्याउने ?

    देशका अधिकांश भागमा चिसो बढ्दै जाँदा धेरै मानिसहरूमा मौसमी रुघाखोकी (एन्फ्लूएन्जा) को समस्या देखिन थालेको छ । मौसमी रुघाखोकी र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने हुँदा धेरैमा मौसमी रुघाखोकी लाग्दा पनि कोरोनाको त्रास पैदा भएको छ ।

    मौसमी रुघाखोकी र कोरोना कसरी छुट्याउने त ?
    कोरोना र सिजनल फ्लूको लक्षण उस्तै उस्तै देखिने हुँदा बिरामी पहिचान गर्न पीसीआर टेष्ट नै गर्नुपर्ने संक्रमण रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व महानिर्देशक डा.बाबुराम मरासिनी कोरोनाका अधिकांश मानिसमा देखिएको लक्षण स्वाद र गन्ध थाहा नपाउने छ भने कोरोनाको आशंका गर्न सकिने बताउँछन् ।

    उनका अनुसार रुघाखोकी ज्वरोसहित स्वाद र गन्ध पनि थाहा नपाउने लक्षण देखिए कोरोना संक्रमण भएको हुनसक्छ ।

    त्यसैगरी कोरोना संक्रमणमा जोर्नी, जीउ दुख्ने; पखाला पनि लाग्ने समस्या इन्फ्लुएन्जा मौसमी रुघाखोकीमा भन्दा फरक देखिएका लक्षण हुन् । कोरोना संक्रमणको लक्षणमा सुक्खा खोकी लाग्ने गर्छ, ज्वरो आउँछ, स्वाद, गन्ध कम थाहा पाउने वा थाहा नपाउने हुन्छ ।

    डा. मरासिनीका अनुसार कोरोनाको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका तर इन्फ्लुएन्जाका लक्षण भएका बिरामीको इन्फ्लुएन्जा, स्वाइन फ्लु, हङकङ फ्लुलगायतका अन्य परीक्षण गर्ने व्यवस्था पनि सरकारले गर्नुपर्छ ।

    सुक्खा खोकीसँगै तपाईंको सास छोटो र छिटोछिटो भएको छ, सास फेर्न गाह्रो भएको छ भने कोरोना संक्रमणको संकेत हुन सक्छ ।

  • के हो अप्टिकल फाइबर ? किन अरूभन्दा छिटो हुन्छ फाइबर इन्टरनेट ?

    के हो अप्टिकल फाइबर ? किन अरूभन्दा छिटो हुन्छ फाइबर इन्टरनेट ?

    पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय छ। केही वर्ष अगाडिसम्म सीमित ब्रान्डब्यान्ड कनेक्सन मात्र फाइबर उत्कृष्ट थिए । अर्थात् वायरलेस, वाइम्याक्सको प्रयोग गरिन्थ्यो वा सामान्य इन्टरनेट केबल (तार) को माध्यमबाट प्रयोगकर्तासम्म इन्टरनेट पुर्‍याइन्थ्यो ।

    तर, अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको छ । यसको कारण हो इन्टरनेट स्पिड। अन्य माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै स्पिडको इन्टरनेट हासिल गर्न सकिन्छ वा यसमा धेरै द्रुत गतिमा डाटा ट्रान्सफर हुन्छ ।

    भलै एक सामान्य प्रयोगकर्ताका लागि फाइबर इन्टरनेट नयाँ हो । तर, इन्टरनेटको दुनियाँमा फाइबर धेरै वर्ष अगाडिदेखि नै प्रयोग हुँदै आइरहेको छ । सन् १९५० मा स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न फाइबर केबलका लागि तयार गरिएको थियो ।
    बिरामीको शरीरमा शल्यक्रिया नगरी फाइबर केबलको माध्यमबाट डाक्टरले शरीरभित्र हेर्नका लागि यसको प्रयोग हुने गरेको थियो।

    कुनै बेला बिरामीको उपचारमा प्रयोग हुने यो फाइबर केबलको अर्को पक्ष हेर्ने हो भने, विश्वमा अहिले जुन इन्टरनेटको जालो बनेको छ, त्यो जालो यही फाइबर केबलबिना सम्भव थिएन ।

    अहिले फाइबर केलब विश्वभर एउटा माकुराको जालो जसरी फिँजिएको छ। र, यसैको माध्यमबाट तपाईं र हामीले इन्टरनेटको उपयोग गर्न पाइरहेका छौं।

    के तपाईलाई थाहा छ,अप्टिकल फाइबर टेक्नोलोजीले कसरी काम गर्छ ?
    अब हामी तपाईलाई अप्टिकल फाइबरले कसरी काम गर्छ भन्ने जानकारी दिनेछौं । तर, त्यो भन्दा अगाडि अप्टिकल फाइबर भनेको के हो ? त्यसबारे बुझौं ।

    फाइबर अप्टिक्सलाई हामी ट्रान्समिसनको माध्यमको रूपमा बुझ्न सक्छौं । वा यसलाई एकदमै द्रुत गतिमा प्रकाशको सहायता लिएर डाटा कुद्ने पाइपको रूपमा पनि बुझ्न सकिन्छ। फाइबर केबल कपाल जस्तै पातलो र लामो हुन्छ। बीचमा नचुटियोस् भनेर एकै स्थानमा धेरै वटा फाइबर अप्टिक्सलाई बाहिरी पत्रले बेरेर सुरक्षा दिइएको हुन्छ ।

    फाइबर अप्टिक्सलाई हामी ट्रान्समिसनको माध्यमको रूपमा बुझ्न सक्छौं । वा यसलाई एकदमै द्रुत गतिमा प्रकाशको सहायता लिएर डाटा कुद्ने पाइपको रूपमा पनि बुझ्न सकिन्छ। फाइबर केबल कपाल जस्तै पातलो र लामो हुन्छ। बीचमा नचुटियोस् भनेर एकै स्थानमा धेरै वटा फाइबर अप्टिक्सलाई बाहिरी पत्रले बेरेर सुरक्षा दिइएको हुन्छ ।

    र, बन्डेलमा राखिएको यस्तो तारलाई अप्टिकल केबल भनिन्छ। लामो दूरिसम्म पनि प्रकाशको सहायता लिएर एकदमै छिटो डाटा पुर्‍याउनु फाइबर अप्टिक्सको प्रमुख विशेषता हो ।
    प्रकाशको गति एकदमै छिटो हुने भएकाले यसलाई डाटा ट्रान्समिसनको माध्यम बनाइएको हुन्छ । फाइबर अप्टिक्सलाई ध्यान दिएर हेर्ने हो भने कपालभन्दा सानो पाइप भित्र प्वाल देख्न सकिन्छ ।

    यदि हामीले फाइबर अप्टिक्सको एक छेउबाट लेजर प्रकाश लगाउने हो भने अर्को छेउमा देख्न सकिनेछ । जब अप्टिकल फाइबरमा समस्या आउँछ, तब बीचमा टुटेको र चुटिएको छ कि छैन ? भन्ने पत्ता लगाउन यही तरिकाको प्रयोग गरिन्छ ।

    एक फाइबर केबलभित्र धेरै फाइबर स्टान्ड्स हुन्छन् । यहाँसम्म कि समुद्र भित्रबाट केबल ल्याइएको वा लगिएको छ भने त्यसमा हजारौं साना साना फाइबर राखिएको हुन्छ । यसलाई कोर पनि भनिन्छ । यसको अर्थ केबलमा १० फाइबर राखिएको छ भने १० कोर भन्न सकिन्छ । यसलाई नजिकबाट हेर्नेहो भने सीसा पनि देख्न सकिन्छ । त्यसका साथै कोर, क्लडिङ वा बफर कोटिङ हुन्छन् । यसको अर्थ फाइबर भित्र पनि पातलो सीसा हुन्छ, जहाँ प्रकाश कुद्छ ।

    फाइबर अप्टिक्सले कसरी काम गर्छ ?

    तपाई यसलाई पाइपको रूपमा बुझ्न सक्नुहुन्छ । जसमा प्रकाशको माध्यमबाट डाटा ट्रान्समिट हुन्छ। फाइबर अप्टिक्सको भित्तालाई प्रकाश ठोक्किएर धेरै टाढासम्म पुग्ने र यता – उता फैलिन नसक्ने गरी डिजाइन गरिएको हुन्छ ।

    तर, तार कतै मोडियो भने प्रकाश जान पाउँदैन । र, इन्टरनेट बन्द हुन्छ । तर, यस्तै अवरोह रोक्नका लागि भित्र क्लडिङ गरिएको हुन्छ। जसको सहयोगले प्रकाश निरन्तर बाउन्स गर्छ ।

    क्लडिङलाई ‘ऐना देखिने भित्तो’ पनि भन्न सकिन्छ । क्लडिङले प्रकाश सोस्दैन र अगाडि बढ्छ । यसैकारण प्रकाश कयौं किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

    फाइबर अप्टिक्स किन छिटो र सुरक्षित छ ?

    हामीले यसअघि नै थाहा पाइसक्यौं कि, यहाँ प्रकाशको माध्यमबाट डाटा ट्रान्समिसन हुन्छ । हामीलाई थाहा छ, भ्याक्युममा प्रकाशले ३ लाख किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ । यसबाट हामी सजिलै अन्दाज लगाउन सक्छौं कि इन्टरनेटको गति कति छिटो हुन सक्छ भनेर ।

    प्रकाशभन्दा छिटो अहिले संसारमै केही छैन र फाइबर अप्टिक्समा यसैको प्रयोग गरिन्छ । पुरानो इन्टरनेट केबलको कुरा गर्दा त्यसमा इलेक्ट्रिकल सिग्नलको माध्यमबाट डाटा ट्रान्समिसन हुन्छ । जुन, प्रकाशको तुलनामा एकदमै ढिलो हुन्छ ।

    कपर वा स्याटेलाइटको तुलनामा पनि फाइबर अप्टिक केबलले छिटो डाटा ट्रान्समिट गर्छ । फाइबर अप्टिक्सलाई डेटा सेक्युरिटीका लागि पनि उचित मानिन्छ । किनभने, फाइबर अप्टिक केबल ह्याक गर्न स्याटेलाइट वा कपर वायरको तुलनामा मुश्किल र महंगो पनि छ।

  • ‘डिस्टिङ्सन आउने गरी काम गरेका छौं’

    ‘डिस्टिङ्सन आउने गरी काम गरेका छौं’

    निर्वाचनताका मतदातासमक्ष गरिएका प्रतिबद्धता, चुनावी घोषणा र त्यसको कार्यान्वयन अवस्थाबारे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसँग नेपाल प्रेस दाङ प्रतिनिधि गणेश आचार्यले गरेको कुराकानी-

    तुलसीपुर उपमहानगरपालिकाको प्रमुख भएको तीन वर्षमा कति प्रतिशत चुनावी घोषणापत्र कार्यान्वयन गर्नुभयो ?

    स्थानीय निर्वाचनका सन्दर्भमा हामीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर काम गरिरहेका छौं । कामको हिसाबले भन्नुहुन्छ भने मलाई लाग्छ, दुईतिहाइ प्रतिबद्धता हामीले पूरा गरिसकेका छौं । कतिपय काम सम्पन्न हुनका निम्ति केही काम लाग्ने भएकाले सम्पन्न हुने प्रक्रियामा रहेका छन् । खासगरी कोरोनाका कारणले केही समस्या पर्‍यो र कार्य सम्पादन गर्न हामीलाई कठिनाइ भएको छ । हामीले मात्रै होइन स्थानीय तहको निर्वाचनमा अन्य पार्टीले पनि आफ्नो घोषणापत्रमा उल्लेख गरेका राम्रा कामलाई समेटेर काम गरिरहेका छौं ।

    यहाँले दुईतिहाइ काम गरिसकेको दाबी गर्नुभयो । जनताले अनुभूति गर्ने गरी के–के काम गर्नुभयो ? बुँदागत रूपमा भन्दिनुस् न !

    दाङको टरिगाउँ विमानस्थल बन्द थियो । त्यसलाई संचालन गर्ने भन्ने हाम्रो चुनावमा प्रतिबद्धता थियो । हामीले चुनाव जित्ने बित्तिकै बन्द भएको विमानस्थल संचालन गर्न सफल भयौं । पहिले निजी कम्पनीका जहाज चले भने अहिले राष्ट्रिय ध्वजावाहक विमान संचालनमा छ । अब विमानस्थलमै इन्धन डिपो राख्ने प्रक्रिया चलिरहेको छ ।

    हामीले १९ वटै वडामा ल्याबसहितको स्वास्थ्य संस्था र एम्बुलेन्स विस्तार गरेका छौं । तुलसीपुरमा उपमहानगरपालिकाको आफ्नै मेट्रो हस्पिटल संचालनमा ल्याएका छौं । राप्ती उपक्षेत्रीय अस्पताललाई ६०० बेडको बनाउँदैछौं । त्यहाँ आईसीयू संचालनका लागि टेन्डर आह्वान भएको छ । चाँडै सेवा शुरू हुनेछ । हामीले ब्लड बैंक संचालन गर्छौं भनेका थियौं, संचालनमा आइसकेको छ ।

    हामीले गएको दुई वर्षमा मातृ मृत्युदर शून्यमा झार्न सफल भएका छौं । यो स्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि हो । राप्ती आँखा अस्पतालमा निम्न वर्गका नागरिकको मोतिया विन्दुको अपरेसन खर्च उपमहानगरपालिकाले खर्च व्यहोर्ने गरेको छ । हामी चुनाव जितेर आउँदा यस उपमहानगरपालिकाभित्र ३० किलोमिटर जति मात्रै सडक कालोपत्रे थियो ।

    हामी आएपछि १०० किलोमिटर बाटो कालोपत्रे गरेका छौं । उपमहानगरभित्र सडक सञ्जाल विस्तार गर्न विकास प्राधिकरण नै गठन गरेर द्रुत गतिमा काम गरिरहेका छौं । प्राविधिक शिक्षाको विकास गर्न आफैंले मेट्रो कलेज संचालन गरेका छौं । उपमहानगरभित्र प्रि–प्राइमरी क्लासमा होमवर्क दिन नपाइने कानून बनाएका छौं ।

    उपमहानगरपालिकाले प्रि–प्राइमरी क्लासमा होमवर्क दिन नपाइने कानून त बनायो तर, कार्यान्वयनमा आएन नि !

    हामीले कानून बनायौं । अहिलेसम्म कसैबाट पनि गुनासो आएन । यदि प्रि–प्राइमरी क्लासमा होमवर्क दिएको गुनासो आएमा त्यस्ता विद्यालयलाई कारबाही हुन्छ ।

    पशु एम्बुलेन्स सञ्चालन गर्ने तपाईंको प्रतिबद्धता पूरा भएको देखिएन नि !

    सरकारले खर्च नियन्त्रण गर्ने गरी यान्त्रिक साधन खरीद नगर्ने भनेकाले हामीलाई समस्या परेको छ । यो वर्ष अनुमति दियो भने हामी यही वर्ष नै पशु एम्बुलेन्स खरीद गर्छौं । यदि अनुमति पाएनौं भने आगामी आर्थिक वर्षमा अवश्य खरीद गर्छौं ।

    यहाँले चुनावमा जनतालाई बाँडेको एउटा मीठो सपना थियो, तुलसीपुर बजारलाई स्मार्ट सिटी बनाउने । चुनाव जितेपछि त्यसका लागि जापानको एउटा संस्थासँग पनि सम्झौता गर्नुभयो । तर, अहिलेसम्म स्मार्ट सिटीको काम शुरू किन हुन सकेन ?

    तुलसीपुरलाई स्मार्ट सिटी बनाउने नारा हामीले अघि सारेकै हो । त्यसका लागि जापानको संस्थासँग सम्झौता पनि ग¥यौं । तर, संघीय सरकारले स्मार्ट सिटी आफैं बनाउने भनेर तुलसीपुर बजारलाई पनि आफ्नो सूचीमा पा¥यो । अनि हामीले जापानिज संस्थासँग काम गरेनौं । तर, स्मार्ट सिटीको काम गर्न शुरूमा ५० करोड बजेट माग गर्दा संघीय सरकारले ५० लाख मात्रै दियो । जसका कारण स्मार्ट सिटीको काम अघि बढ्न नसकेको हो ।

    अब तपाईंको कार्यकाल सकिन दुई वर्ष मात्रै बाँकी छ । जनतामा कत्तिको सन्तुष्टि पाउनुभएको छ ?

    मलाई लाग्छ जनता यहाँको स्थानीय सरकारसँग सन्तुष्ट हुनुहुन्छ । हामीलाई यो कुरा पुगेन भनेर जनस्तरबाट कुनै गुनासो आएको छैन । सन्तुष्टि मापन गर्ने हो भने मलाई लाग्छ, हामी डिस्टिङ्सनमै छौं ।

  • बेहुलीलाई कोरोना पोजेटिभ देखिएपछि पीपीई लगाएरै  गरिन् विहे

    बेहुलीलाई कोरोना पोजेटिभ देखिएपछि पीपीई लगाएरै गरिन् विहे

    एजेन्सी । भारतको राजस्थानमा एक दम्पतिले बाराको केलवारा कोभिड सेन्टरमा विवाह गरेका छन् ।
    विवाहकै दिन दुलहीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरुले पीपीई लगाएर क्वारेन्टाइनमा विहे गरेका हुन् ।

    उक्त भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । भिडियोमा दुलहा र दुलही दुबै पीपीई सेट लगाएका छन् भने अनुहारमा फेससिल्ड र हातमा पन्जा लगाएका छन् ।

    विवाह समारोहमा पुजारी र उपस्थित सबैले पीपीई लगाएको एएनआईद्वारा ट्वीट गरिएको भिडियोबाट स्पष्ट देखिन्छ । उनीहरुले क्वारेन्टाइनमै जग्गे पनि बनाएका छन र विवाहको विधी पुरा गरी एक अर्कालाई माला लगाइदिए । बेहुलाले टाउकोमा आफनो सस्कृति अनुसारको पहिरन लगाएर विवाह सम्पन्न गरेका छन् ।

     

  • शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

    शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

    ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ ।

    लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता र्थुककुमार चोङवाङले बताए । सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइ दिने प्रवक्ता चोङवाङले बताए ।

    कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई बिहान कक्षा सञ्चालन हुने भएको छ । कक्षा ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताए । शिक्षकलाई तोकिएको पोशाक अनिर्वाय लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिए । पोशाक लगाए÷नलगाएको बारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताए ।

    गाउँपालिकामा माध्यमिक विद्यालय पाँच, निम्नमाध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख कोम्देनले बताए ।

  • कोइला खानीमा परेर २३ जनाको मृत्यु

    कोइला खानीमा परेर २३ जनाको मृत्यु

    मङ्सिर (रासस÷एएनआई) चीनको कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो ।
    उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।

    त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो । त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो ।

    सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् । यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

  • बाइडेनको पहिलो काम “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

    बाइडेनको पहिलो काम “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

    एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।
    उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिए ।

    बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आउनु भएको छ ।

    राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लाग्नु भएको हो ।

    अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो ।

    मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।
    राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् ।

    अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आउनु भएको थियो । उहाँले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताउनु भएको छ ।

    मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उहाँले अभियान नै चलाउने तयारी गर्नुभएको हो ।

    आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताउनु भएको छ ।

    अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

    आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भन्नुभयो, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरुलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।”

    उहाँले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे ।

    सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।