Author: Sharmila Pandit

  • कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

    जुम्ला। कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएकोे छ ।

    गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा छन् ।

    अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको छ । सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसेकाले सडक खोल्न समय लागेको जनाइएको छ । नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । दुई दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुसमेत बिचल्लीमा परेको स्थानीयवासी कल्पना बुढाले बताए।

  • कोशी ब्यारेजका ३४ ढोका खोलिए

    कोशी ब्यारेजका ३४ ढोका खोलिए

    धरान । सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् ।

    दिउँसो ३ः०० बजे दुई लाख ४९ हजार १०५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा ३२ ढोका खोलिएका थिए । आइतबार बेलुका १०ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुग्दा ३१ ढोका खोलिएका थिए ।

    प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएका छन् । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो ।

  • लेखजंगबारे रास्वपा महामन्त्री भन्छन्– सबै कुरा बुझेका हौं, दुई श्रीमती नभएको प्रष्ट प्रमाण छ

    लेखजंगबारे रास्वपा महामन्त्री भन्छन्– सबै कुरा बुझेका हौं, दुई श्रीमती नभएको प्रष्ट प्रमाण छ

    रुपन्देही । रास्वपाले लामो गृहकार्यपछि हिजो रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गर्यो । तर घोषित उम्मेदवार विवादमुक्त बन्न सकेका छैनन् ।

    उम्मेदवार घोषणासँगै डा. लेखजंग थापाको निजी जीवनसँग सम्वन्धित विवादास्पद विषयहरु बाहिर आएका छन् । उनीमाथि बहुविवाहको आरोप लागेको छ । दुई श्रीमतीलाई अंगालो मारेर मुस्कुराइरहेका तस्विरहरु पनि सार्वजनिक भएका छन् ।

    थापाले भने आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स गरेर मात्रै दोस्रो विवाह गरेको दावी गरेका छन् । रास्वपाले पनि उनको दावीमा विश्वास गरेको छ ।

    लेखजंगले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिन आज पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर, कुनै ठोस कारण नखुलाइकन स्थगन गरियो । यसले पनि अलिकति संशय पैदा गरेको छ । बहुविवाहसम्बन्धी प्रश्नको सामना गर्न डराएको भनेर टिकाटिप्पणीहरु भइरहेका छन् ।
    रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी डा.थापाले पहिलो श्रीमतीसँग डिभोर्स गरिसकेको बताउँछन् ।

    उनले भने, ‘लेखजंगजीमाथि बहुविवाहको मुद्दा छ भन्ने विषय उम्मेदवार छनौट प्रक्रियाका बेलामै आएको थियो, पार्टीको अफिसियल टीमले त्यस विषयमा सबै कुरा बुझेर र कानूनी रुपमा दुईवटा श्रीमती नरहेको प्रष्ट प्रमाणका आधारमा उम्मेदवार छनौट गरिएको हो,’ महामन्त्री बुर्लाकोटीले भने, ‘हामी यसमा किलियर छौं, उहाँमाथि बहुविवाहको मुद्दा छैन ।’

    थापाको पहिलो विवाह सुलोचना घिमिरेसँग र दोस्रो विवाह नुमा शर्मासँग भएको हो । पहिलो श्रीमती सुलोचनासँग उनले सम्बन्ध बिच्छेद गरिसकेको रास्वपाको भनाइ छ । घिमिरे भैरहवामा बस्छिन् भने शर्मा काठमाडौंमा बस्छिन् ।

    रास्वपाका ९ जना आकांक्षीलाई काठमाडौं लिएर गएर फर्केका रुपन्देही अध्यक्ष डा. बुद्धि शर्माले पहिलो विवाह विच्छेद गरेर अर्को बिहे गर्नुलाई धेरै समस्या बनाउन नहुने बताए । यसलाई पहिले पनि छलफल गरेरै पार्टी अघि बढेको हुनुपर्ने उनको विश्वास छ ।

    ‘यति धेरै दिन सबै आकांक्षीका विषयमा खुला छलफल भएका थिए । मतदाताकहाँ पनि सँगै गएको अवस्था हो । यी कुराहरु नेतृत्वले सबै हेरेरै निर्णय गरेको हनुपर्छ,’ शर्माले भने ।

    डा. थापाले बहुविवाह गरेको विषयमा पार्टीमा पनि उजुरी परेको थियो । त्यसबा बाबजुद पनि उनलाई रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनाइएको भन्दै विभिन्न खालका टिकाटिप्पणी भएका छन् । यो विषयमा उनले सार्वजनिकरुपमा भने मुख खोलेका छैनन् ।

    रास्वपा कार्यकर्ताले हिजो बालकृष्ण खाँण, दीपक बोहोराले यही क्षेत्रबाट उम्मेदार बन्दा उनीहरुको दुई श्रीमतीको विषयमा प्रश्न नगर्नेहरुले अहिले चर्को बोलेको भन्दै सामाजिक सन्जालमा जवाफ दिइरहेका छन् ।

  • रास्वपाका आकांक्षीहरुले नै थाहा पाएनन् ‘प्राइमरी इलेक्सन’ मा आफूले ल्याएको मत

    रास्वपाका आकांक्षीहरुले नै थाहा पाएनन् ‘प्राइमरी इलेक्सन’ मा आफूले ल्याएको मत

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपचुनावका लागि उम्मेदवार छनोटमा नयाँ अभ्यासको थालनी गर्यो, जसलाई धेरैले सह्राहना पनि गरे । पार्टीले ९ जना आकांक्षीहरुबीच ‘प्राइमरी इलेक्सन’ गराउनुका साथै अन्य ‘वैज्ञानिक’ विधिहरु अबलम्बन गरेको थियो ।
    उम्मेदवार छनोट प्रक्रियालाई सुरुदेखि नै रास्वपाले अति पारदर्शी पनि बनायो ।

    आकांक्षीहरुबीच भएका आन्तरिक छलफलदेखि लिएर नेतृत्व तहले उनीहरुसँग व्यक्तिगत रुपमा लिएका अन्तरवार्ताहरुलाई समेत रेकर्ड गरेर सामाजिक सञ्जालमा हालिएको छ । यसले गर्दा पार्टीका सदस्यहरुलाई उम्मेदवारहरुको मूल्यांकन गरेर मत हाल्न सजिलो भयो । तर, अन्तिममा आइपुग्दा यो सबै प्रक्रिया विवादरहित भने बन्न सकेन ।

    रास्वपाले गरेको प्राइमरि इलेक्सन आधाभन्दा बढी केन्द्रीय सदस्यले अघोषित बहिष्कार गरे । ६२ जनाको केन्द्रीय समितिमा ३५ जनाले भोट नहाल्नुको कारण अझैसम्म खुलेको छैन । अर्कोतर्फ रुपन्देही ३ का करिब ३ दर्जन पार्टी सदस्यहरुले भोट हाल्न नपाएको भनेर उजुरी गरेका छन् । सिस्टम ह्याक गरेर आन्तरिक चुनावमा धाँधली गरिएको उनीहरुको आरोप छ । नेताहरुले भने पहिलो अभ्यास भएकाले सामान्य कमिकमजोरी भए पनि नतिजा प्रभावित हुने गरी ठूलो गडबडी नभएको बताइरहेका छन् ।

    लामो र चरणवद्ध प्रक्रिया पूरा गरेर रास्वपाले हिजो उम्मेदवारको आधिकारिक घोषणा गर्यो । तर, प्राइमरी इलेक्सनको नतिजा भने सुनाइएन । हरेक प्रक्रियाहरु पारदर्शी रुपमा भिडिओ नै बनाएर देखाइरहेको रास्वपाले सबैभन्दा महत्वपूर्ण विषय चाहिँ किन लुकाइरहेको छ भनेर प्रश्न उठ्नु स्वभाविक हो । उम्मेदवारहरु स्वयम्ले पनि आफूले प्राप्त गरेको मत थाहा पाउन सकेका छैनन् ।

    रास्वपाको निर्वाचन आयोग स्रोतका अनुसार सबैभन्दा बढी भोट पाउने टप थ्रीमा लेखजंग थापा, सुलभ खरेल र ज्ञानु पौडेल छन् । उनीहरुको भोट धेरै तलमाथि नरहेको स्रोतको दावी छ । तर उनीहरुमध्ये कसको सबैभन्दा धेरै भोट आयो भन्ने चाहिँ स्रोतले बताउन चाहेन । लेखजंगले नै बढी भोट ल्याएको भन्न सकिने अवस्था छैन किनभने प्राइमरी इलेक्सनमा जसले बढी भोट ल्यायो उही उम्मेदवार हुने ग्यारेन्टी थिएन ।

    यसपटक उम्मेदवार छनोट विधिमा परिमार्जन गरेर प्राइमरी इलेक्स्नको नतिजालाई ५० प्रतिशतमात्रै अंक भार दिइएको थियो । ४० प्रतिशत अंकभार लिडरसिप एकेडेमीसँग रहने अहिलेको कार्यविधिमा उल्लेख छ । बाँकी १० प्रतिशत पोल्टिकल प्रोग्जेमिटी र समावेशितालाई छुट्ट्याएको छ। तर, लिडरसिप एकेडेमी गठन नभइसकेको हुँदा यो अधिकार सचिवालयलाई नै प्रत्यायोजन गरियो । यसप्रकार प्राइमरी इलेक्सनको नतिजालाई सचिवालयले सहजै उल्टाउन सक्ने परिस्थिति बनेको थियो ।

    उम्मेदवार घोषणा हुने दिनमै हिजो सभापति रवि लामिछानेले कारागारमै सबै आकांक्षीहरुलाई पालैपालो भेटे । यो केका लागि थियो भन्ने प्रष्ट भएको छैन । हिजै कार्यवाहक सभापति डीपी अर्याल पनि सभापति भेट्न कारागार पुगे ।

    यो सबै ‘सिक्वेन्स’ हेर्दा कतै लेखजंगलाई टिकट दिइने पूर्वनिर्धारित त थिएन भन्ने आशंका अन्य प्रतिस्पर्धीहरुले गर्न थालेका छन् । यद्यपि, उनीहरु केही बोल्न चाहँदैनन् । यसअघि नै जसलाई पार्टीले उम्मेदवार बनाए पनि चित्त बुझाउने भनेर सम्झाैतापत्रमा हस्ताक्षर गरेकाले उनीहरु नैतिक बन्धनमा पनि छन् ।

    नाम नखोल्ने शर्तमा एक आकांक्षीले नेपाल प्रेससँग भने, ‘प्राइमरि इलेक्सनको नतिजा थाहा पाउनु र अन्य गतिविधिहरुले हामी अलिकति अन्योलमा परेका छौं । कतै म्याच फिक्सिङ पो भएको हो कि भन्ने शंका उब्जिएको छ ।’

    स्रोतका अनुसार केही आकांक्षीहरुले ह्वाट्स एप ग्रुपमा नतिजा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । तर, अहिलेसम्म उनीहरुको माग सम्बाेधन भएको छैन ।

    आकांक्षी मध्येकै मधु अर्यालले प्रारम्भिक नतिजाका बारेमा जान्न चाहेको बताए । उनी निर्वाचन क्षेत्र रहेको रुपन्देही ३ का पार्टी सभापति हुन् र भूगोलमा सुरुवातदेखि खटिएका पात्र हुन् ।

    अर्यालले पार्टीले गरेको निर्णयमा आफू प्रतिवद्ध रहेको बताउँदै यसको विवरण छिटै बाहिर आउने विश्वास व्यक्त गरे ।

    ‘हामीले गरेका विभिन्न चरणका प्रक्रियाहरूको नतिजा सार्वजनिक नै छन्, हिजोको उम्मेदवार छनोट प्रक्रिया एउटा महत्त्वपूर्ण घडी थियो । मैले सम्पूर्ण प्रक्रियालाई मनैदेखि सहयोग गरेको छु । उम्मेदवार छनोट गर्ने कुरा केन्द्रीय समिति सचिवालयले नै बसेर गरेको कुरा हो । पार्टी केन्द्रले पक्कै पनि सार्वजनिक गर्न मिल्ने कुराहरू पठाउनेछ । पार्टीले सार्वजनिक गरेका उम्मेदारका पक्षमा लाग्ने मेरो दायित्व र जिम्मेवारी हो । तर अहिलेसम्म प्राइमरी इलेक्सनको अंक जानकारी नभएकाले यस विषयमा जान्ने उत्सुकता छ’ उनले भनेका छन् ।

    अहिले रास्वपाका जिम्मेवार नेताहरु भने यो विषयमा बोल्न चाहिरहेका छैनन् ।

  • दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा

    दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा

    दोधारा चाँदनी । आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ ।

    त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका छन् । डुबानमा परेका १५ घरपरिवारका ५५ जनालाई सरसामान र चौपायासहित नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । वडा नं १० शान्तिनगरका डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ ।

    त्यसैगरी दोधारा चाँदनी नगरपालिका–१० र ७ स्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रवक्ता बोहराले जानकारी दिए । उनका अनुसार वडा नं १० स्थित सुन्दरनगरमा रहेको बिओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ ।

    उक्त बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ । वडा नं ७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । उक्त बिओपीका कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको सारिएको छ ।

    “बाढीले ५२ घर डुबानमा परेका छन् उक्त घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा राखिएको छ”, प्रवक्ता बोहराले भने, “महाकाली नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।” उहाँका अनुसार महाकाली नदीमा पानीको सतह बढेर दुई लाख ७१० क्युसेक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    विभागले सुचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ९६।८ मि० पार गरेको जनाएको छ । जलसतह बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ ।

    डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्कबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

  • दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

    दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

    मुस्ताङ। यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो ।

    यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले उल्लेख गरे ।

    गतवर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्याङ्ग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । उहाँका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो । गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको उनकाे भनाइ छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्याङ्कअनुसार यहाँका पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्राको सङ्ख्या रहेको छ । यहाँको पाँच पालिकामा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको कार्यालय प्रमुख डा अर्यालले बताए ।

    यहाँको लोमान्थाङ गाउँपालिकामा च्याङ्ग्रा १४ हजार ३९८ र भेडा एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्याङ्ग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्याङ्ग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८, घरपझोङ गाउँपालिकामा च्याङ्ग्रा चार हजार ४२, भेडा चार सय ३३, बाख्रा एक हजार उक सय ९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार तीन सय ८३ वटा रहेको जनाइएको छ ।

    मुस्ताङमा सबै भन्दाबढी च्याङ्ग्रापालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको सङ्ख्यामा भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो । यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्याङ्ग्रा दसँै तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा अर्यालले बताए ।

    उनले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको सङ्ख्यामा सिनाल प्रजातीका बाख्रा र अन्य जातका बाख्रापालन भइरहेको बताए । यसवर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्याङ्ग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट पाँच हजार बढी च्याङ्ग्रा आउने प्रारम्भिक अनुमान गरिएको छ ।

    यहाँको उत्पादन र डाल्पाबाट भित्रिने भेडाच्याङ्ग्रा गरी करिब २० हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङको जोमसोम हुँदै म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसाबाट बाहिरिने पशु चिकित्सक डा अर्यालको दाबी छ । गतवर्ष मुस्ताङमा प्रतिच्याङ्ग्रा २८ हजारदेखि ३५ हजार मूल्यमा च्याङ्ग्रा बिक्री गरिएको थियो ।

    आवश्यक प्रक्रिया पुगे तिब्बत्बाट च्याङ्ग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन उत्तरी कोरलानाकाबाट भेडाच्याङ्ग्राका पाठापाठी भित्रिएको बताए । उनले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्याङ्ग्रा नभित्रिएको जानकारी दिए ।

    ‘यहाँ भेडाच्याङ्ग्रा आयात गर्नमा कुनै समस्या छैन, ब्यापारीले चीनबाट पशु क्वारेन्टाइन रिपोर्ट लिएर आउनु पर्‍यो,’ निमित्त प्रमुख राईले भने ‘यहाँ तिब्बतबाट भित्रिएका भेडाच्याङ्ग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले यहाँ भन्सारमा पशु निरोगितासम्बन्धी प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजस्व काट्छौँ ।’ निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेन्टाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले बैधता प्रदान गर्ने बताए ।

    रासस

  • नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी–२० सिरिज

    नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी–२० सिरिज

    काठमाडौं । भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपालले ‘ए’ टिमले जितेको छ ।

    भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

    अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो ।

    आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए । बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

    त्यसअघि पहिला पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन खडा गरेको थियो ।

    नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।

  • नुवाकोटको दुप्चेश्वरमा पहिरोले एक विद्यालय र तीन घरमा क्षति, ५ घर जोखिममा

    नुवाकोटको दुप्चेश्वरमा पहिरोले एक विद्यालय र तीन घरमा क्षति, ५ घर जोखिममा

    त्रिशूली । लगातारको वर्षाका कारण नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ सरमथलीमा पहिरोले एक विद्यालयसहित तीन घरमा क्षति पुगेको छ । पाँच घर उच्च जोखिममा छन् । पहिरोले सरमथलीस्थित भगवान आधारभूत विद्यालयको चारवटा कोठामा क्षति  पुर्‍याएको छ ।

    त्यसैगरी स्थानीय गोकर्ण थापा, कुमार थापा र निर्मलजङ्ग थापाको घरमा क्षति पुर्‍याएको वडा नं ३ का वडाध्यक्ष ध्रुवकर केसीले जानकारी दिए । उनका अनुसार क्षति भएका घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास थालिएको छ । बाँकी जोखिममा रहेका घरधुरीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    आइतबार रातिदेखि बगेको पहिरोले सरमथली–हुङ्ग सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोले सडक बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको र पैदल यात्रु आउजाउ गर्न समेत कठिनाइ भएको छ ।

    आज नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूको गाँस–बाँसको व्यवस्था गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

  • बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक

    बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक

    बैतडी।बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

    विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

    गृहमन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो । उनले भने, “अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ । त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।” यो नियम आज रातिदेखि लागू हुनेछ ।

  • सांसद डा. शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित

    सांसद डा. शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित

    काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित भएकी छन् । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाई संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सहमति जनाउन सभामा अनुरोध गरेपछि सभाले संयुक्त समितिको सदस्य मनोनयनका लागि सहमति जनाएको थियो ।

    शाक्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनित सांसद हुन् । उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा समेत सदस्य छन् । यस अघि राजदूत रहेकी शाक्य नेकपा एमालेसँग नजिक छन् । केहि दिन अघि मात्रै राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालिन सभापति रामहरी खतिवडा संसदीय सुनुवाई समितिको सदस्य मनोनयन भएका थिए ।

    संसदीय सुनुवाई संयुक्त समितिका सभापति इश्वरीदेवी न्यौपानेले समितिको सदस्यबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भइसकेकी छन् । सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएसँगै न्यौपाने सुनुवाई समितिको सदस्यबाट समेत हटेकी छन् ।

    संसदीय सुनुवाई समितिमा अब १५ जना सदस्य रहेका छन् । जसमा राष्ट्रिय सभाबाट २ जना सांसद थिए । शाक्य थपिएसँगै राष्ट्रिय सभाका ३ जना सदस्य पुगेका छन् । यस अघि नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा रहेका थिए ।

  • पानी साझा हो,अर्को प्रदेशले उपयोग गर्न सक्छ: मुख्यमन्त्री आचार्य

    पानी साझा हो,अर्को प्रदेशले उपयोग गर्न सक्छ: मुख्यमन्त्री आचार्य

    पोखरा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताएका छन् ।

    लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापनपश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

    ‘पानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ’ उनले भने, ‘तर गण्डकी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आघात नपुग्ने गरी डाइभर्सन अघि बढाउनुपर्छ ।’

    कालिगण्डकी डाइभर्सन भनेको कालिगण्डकी नदीको पानीलाई स्याङ्जा, पाल्पा, नवलपुर हुँदै तानसेन र बुटवल क्षेत्रमा लैजाने ठूलो सिँचाइ तथा जलविद्युत् योजना हो । यस अन्तर्गत नदीको पानीलाई सुरुङमार्फत मोडेर खेतीपाती, खानेपानी र विद्युत् उत्पादनका लागि उपयोग गर्ने लक्ष्य राखिएको छ ।

     

  • किराना पसल खोलेर नक्कली कागजात बनाउने धन्दा चलाएका ३ जना पक्राउ

    किराना पसल खोलेर नक्कली कागजात बनाउने धन्दा चलाएका ३ जना पक्राउ

    काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा, शहिद लखन गाउँपालिका ४ घर भइ काठमाडौं बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका ७ घर भइ हाल धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका ३ घर भइ  गोंगबु बस्ने २१ वर्षीय सविन आले मगर रहेका छन्।

    आइतबार दिउँसो २ बजे सामाखुशी टाउनप्लानिङस्थित अचल लामिछानेले सञ्चालन गरेको ईजी सपमा एसईई सर्टिफिकेट, पुलिस रिपोर्ट विभिन्न होटल तथा संस्थामा काम गरेको अनुभव पत्र आदीको नक्कली (किर्ते)कागजातहरु बनाउने गरेको थिए ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त ईजी सपमा खानतलासी गर्दा पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरुको किर्ते कागजातहरु फेला परेकोमा उक्त कम्प्युटरहरु बरामद गरेकाे हाे ।

    ३ जनालाई नियन्त्रणमा लिइ  काठमाडौं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको  परिसरले जनाएकाे छ।

  • विवादकाबीच नेकपा एसनिकट युवा संघले बोलायो आयोजक कमिटीको बैठक

    विवादकाबीच नेकपा एसनिकट युवा संघले बोलायो आयोजक कमिटीको बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघले ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण बैठक आह्वान गरेको छ। भदौ २३(२४ गते बस्नेगरी बैठक बोलाएको हो।

    बैठकमा आगामी महाधिवेशन तयारी, संगठन सुदृढीकरण, सदस्यता अभियान र युवा आन्दोलनलाई सशक्त बनाउनुपर्ने रणनीतिमा छलफल हुने जनाइएको छ।

    देशव्यापी रूपमा हुने महाधिवेशनलाई ऐतिहासिक बनाउन युवा संघका संरचना, कार्यविभाजन र कार्यक्रमलाई प्रभावकारी बनाउने एजेण्डामा बैठक केन्द्रित हुने जनाइएको छ।

    युवा संघले रोशन थापाको संयोजकत्वमा २०१ आयोजक कमिटी घोषणा गरेको थियो। असन्तुष्टि पक्षले सञ्जीव राईको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । तर राईलाई युवा संघले कारबाही गरिसकेको छ।

  • चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण

    चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण

    काठमाडौं । चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको हो।

    कार्यक्रममा मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मानित गर्दै परिचयपत्र वितरण गरेका थिए। चलचित्र विकास बोर्डले वितरण गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’लाई औपचारिक रूपमा चलचित्रकर्मीको पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ।

    यस कार्यक्रममा सहभागी चलचित्रकर्मीले आफूले पाएको परिचयपत्रले आफ्नो पेशागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

  • इभीमै हुन थाल्यो गाँजा ओसारपसार, ६ जना पक्राउ

    इभीमै हुन थाल्यो गाँजा ओसारपसार, ६ जना पक्राउ

    हेटौँडा । पछिल्लो समय यात्रुबाहक विद्युतीय सवारी साधन इभीमै लागुऔषध गाँजा ओसारपसार भइरहेको पाइएको छ । मकवानपुर प्रहरीले आइतबार दुई वटा इभीमा ठूलो मात्रामा लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरपछि यस्तो खुलासा भएको हो ।

    प्रहरीले बा प्र०१–००२ज ६५४९ नम्बरको इभी गाडीमा राखेर हेटौँडा ल्याइएको लागुऔषध गाँजा मकवानपुरको बसामाडी लेवटमा बरामद गरेको हो ।

    प्रहरीले इभी चालक काभ्रे, पाँचखाल –८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा शैलुङ–८ का २२ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको छ । गाडीमा १ सय १२ किलो ७९० ग्राम गाँजा फेला परेको हो । उनीहरुलाई आइतबार नै अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।

    यस्तै, आइतबार नै प्रहरीले बसामाडीमै हेटौँडातर्फ आइरहेको बाप्र०६–००१ ज ०५०३ नम्बरको इभी गाडीमा २६ किलो १० ग्राह गाँजा बरामद भएको छ । गाँजासहित मकवानपुर, राक्सिराङ–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पनि अदालतबाट म्याद थपेर अनुसन्धान जारी छ ।

  • नासु खुला गर्ने सहमति भइसकेको विषयमा मन्त्रालयले बन्द गर्ने प्रस्ताव राखेपछि विवाद

    नासु खुला गर्ने सहमति भइसकेको विषयमा मन्त्रालयले बन्द गर्ने प्रस्ताव राखेपछि विवाद

    काठमाडौं । संघीय निजामती सेवा विधेयकको छलफल क्रममा नायव सुब्बा (नासु) पद खुला प्रतियोगिताबाट हटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विवाद चर्काएको छ ।

    सचिव रविलाल पन्थले खरिदार तहका कर्मचारी बढुवामा वञ्चित भइरहेका कारण नासुमा शतप्रतिशत बढुवामार्फत पदपूर्ति गर्ने प्रस्ताव ल्याइएको स्पष्ट पारे । उनका अनुसार, सबै खरिदारलाई नासुमा बढुवा गर्न सकियो भने कार्यालय र कर्मचारी दुवैको हित हुन्छ। चौथो र पाँचौँ तहमा पटक–पटक परीक्षा दिनुपर्ने प्रवृत्ति अन्त्य गर्न पनि यो उपाय उपयुक्त हुन्छ।

    तर, सांसदले मन्त्रालयको प्रस्तावलाई औंल्याउँदै असहमति जनाए । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रश्न उठाए, ‘सहसचिव खुला गरिन्छ तर नासु किन बन्द गर्ने ? यसलाई खुला गर्ने भन्नेमा त समिति एकमत भएको थिएन र ?’

    नेकपा एकीकृत समाजवादीका सांसद डा।बेदुराम भुसालले समितिको अघिल्लो निर्णय सम्झाउँदै भने, ‘हामीले स्पष्टै नासु खुला गर्ने सहमति गरिसकेका थियौँ। न्यूनतम प्रतिशत तोक्न मन्त्रालय आएको भए हुन्थ्यो, तर खुला नै बन्द गर्ने भन्ने किन ल्याइयो ?’

    नेकपा एमालेका सांसद अञ्जान शाक्यले मन्त्रालय र प्रतिनिधि सभामा समेत असन्तोष रहेको बताउँदै आफ्नो संशोधनप्रति कटाक्ष गरिन् । उनले भनिन्, ‘नासु बढुवाबाटै ठिक हुन्छ । तर, अधिकृत तहमा भने खुला प्रतियोगिताको अवसर बढाउनुपर्छ । यसो गर्दा युवा पुस्ताको सहभागिता बढ्छ । सहसचिवमा पनि बढुवा नै उपयुक्त हुन्छ, किनकि अनुभवबिना सिधै अधिकृतबाट सहसचिव बनाउँदा नीति निर्माणमा कमजोरी आउँछ ।’

    नेकपा (माओवादी केन्द्र)का सांसद तारामान स्वारले मन्त्रालयले अघिल्लो सहमति उल्ट्याएको भन्दै असन्तोष पोख्दै भने, ‘नासु खुला गर्ने भनेर सहमति भएको थियो । अहिले मन्त्रालयले फेरी बखेडा झिकेर विधेयक पारित गर्न ढिलाइ गर्नु हुँदैन । प्रतिशत राख्न सक्दैन भने हामी आफैं राख्छौँ ।’

    तर, सचिव पन्थले भने सरोकारवालासँगको छलफलपछि टुंग्याइएको विषय भएकाले प्रतिशत तोक्ने जिम्मा संसदकै हुनुपर्ने बताए । समिति सभापति तुलसाकुमारी दाहालले दुवै विकल्प अघि सारेकी थिइन्, ‘मन्त्रालयको प्रस्ताव स्वीकार गर्ने कि समितिले आफैं प्रतिशत तोकेर जाने ?’

    पुनः छलफलमा उत्रिएका सांसद भुसालले तर्क गरे, ‘यदि सबै खरिदारलाई नासु बनाउनुपर्छ भने सबै नासुलाई अधिकृत, सबै अधिकृतलाई उपसचिव र सबै उपसचिवलाई सहसचिव बनाउने तर्क पनि आउँछ । शतप्रतिशत बढुवा वैज्ञानिक हुँदैन । स्नातक पास गरेको अधिकृतभन्दा माथि कुनै प्रतिस्पर्धा नै नबनाउने हो भने त प्रणालीमै प्रश्न उठ्छ । उनले ८० प्रतिशत बढुवाबाट र २० प्रतिशत खुलाबाट पदपूर्ति गर्ने प्रस्ताव अघि सारे ।

    यसरी मन्त्रालय र सांसदबीच नासु खुला वा बढुवा गर्ने विषयमा स्पष्ट मतभेद देखिएपछि विधेयक टुंग्याउने प्रक्रिया फेरि पेचिलो बनेको छ ।

  • झलनाथ-घनश्याम पक्षको भेलामा झाँक्रीको पनि इन्ट्री

    झलनाथ-घनश्याम पक्षको भेलामा झाँक्रीको पनि इन्ट्री

    काठमाडौं । शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा जारी नेकपा एसका असन्तुष्ट नेताको भेलामा पूर्वमन्त्री रामकुमारी झाँक्रीको इन्ट्री भएको छ ।

    डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, धर्मराज निरौला, हिरेन्द्र शाहीसहितका नेता शुरुदेखि नै त्यहाँ छन् । अपराह्न पौने ४ बजे झाँक्री बैठकमा पुगेपछि त्यहाँ रौनक नै फेरिएको एक सहभागीले नेपाल प्रेसलाई बताए ।

    पार्टीमा अध्यक्ष माधवकुमार नेपालको मनोमानीपूर्ण कार्यशैली र अहंकारी व्यवहारका कारण पार्टी विघटन उन्मुख भएको ती नेताले चर्चा गरिरहेका छन् । नेपालले भित्रभित्रै पार्टी माओवादीलाई बुझाउने गरी वार्ता अगाडि बढाएको भन्दै ती नेताले असन्तुष्टि राखेका छन् ।

  • निजामती विधेयकको विवादित विषय टुंगो लगाउन छलफल सुरु

    निजामती विधेयकको विवादित विषय टुंगो लगाउन छलफल सुरु

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राष्ट्रिय सभाको संसदीय समितिमा दफाबार छलफल सकिएपछि विवादित विषयमाथि टुंगो लगाउन अन्तिम छलफल सुरु भएको छ ।

    आइतबार बिहान ८ बजेदेखि सुरु भएको बैठकले मध्यान्ह १२ बजे दफाबार छलफल टुंग्याएपछि समितिमा विवादित र टुंगो नलागेका विषय टुंगो लगाउनका लागि दिउँसो ३ बजेटबाट बैठक सुरु भएको हो ।

    दिउँसो २ बजेका लागि बैठक बोलाइएको भए पनि समितिका सदस्य ढिलोगरी बैठकमा आएपछि करिव १ घण्टापछि ३ बजेबाट विधेयकमाथि विवादित भएका र टुंगो लाग्न नसकेका विषयमा छलफल सुरु भएको हो ।

    विवादित विषय टुंगो लगाइसकेपछि विधेकको प्रतिवेदन तयार गरिने र प्रतिवेदनमाथी समितिको बैठकमा छलफल हुनेछ ।

  • सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाह र ऊर्जामन्त्री खड्काको संयुक्त आह्वान

    सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाह र ऊर्जामन्त्री खड्काको संयुक्त आह्वान

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा पर्याप्त ऊर्जाको सम्भावना रहेको भन्दै हाइड्रोमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।

    मंसिर १ र २ गते कैलालीको धनगढीमा हुन लागको विकास तथा लगानी सम्मेलनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले नयाँ लगानीकर्ताहरूलाई प्रदेशमा लगानी गर्न आग्रह गरेका हुन् । उनले हाइड्रोका लागि लाइसेन्स लिएका लगानीकर्ताहरूलाई समेत तत्काल काम सुरु गर्न आह्वान गरेका थिए ।

    ‘सुदूरपश्चिममा पर्याप्त ऊर्जाको सम्भावना छ । नयाँ लगानीकर्ताहरूलाई त्यहाँ लगानी लगाउन आह्वान गर्दछु । लाइसेन्स लिनुभएकाले पनि तत्काल लगानी गर्नु पर्छ ’ मुख्यमन्त्री शाहले भनेका थिए ।

    उनले सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलन सुदूरपश्चिम प्रदेश मात्र नभई मुलुककै विकासको कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको भन्दै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।

    ‘सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाइरहेका छौँ । लगानीमैत्री नीतिका लागि केही कानुन संशोधनको पनि तयारीमा छौँ । विभिन्न समस्याका बीच पनि हामी प्रदेशको समृद्धि र विकासका लागि लागिरहेका छौँ । तपाईँहरूको साथको अपेक्षा गर्दछौँ ’ मुख्यमन्त्री शाहले भनेका थिए ।

    अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री दीपक खड्काले पनि मुलुकमा लगानीमैत्री वातावरण बनिरहेको बताएका थिए । उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै लगानी भित्र्याउने तयारी गरिरहेको स्पष्ट परे ।

    ‘कानुनमा केही समस्या छन् । हामी ती समस्याहरू समाधान गर्न लागिरहेका छौँ । पहिलो चरणमा जग्गा र वनको समस्या हल गर्ने तयारी भइरहेको छ । लगानीकर्ताले लगानी गर्दा जग्गा विवादले समस्या हुने गरेका छन्’ मन्त्री खड्काले भने, ‘त्यसलाई मुआब्जा दिने, मुद्दा दर्ता गरेर काम रोक्ने प्रवृत्ति अन्त्य गर्ने गरी कानुन बनाउन लागिरहेका छौँ ।’

    उनका अनुसार सुदूरपश्चिममा पर्याप्त स्रोत हुँदा पनि प्रयोग हुन सकेको छैन । नीतिगत सुधारपछि सुदूरपश्चिमको ऊर्जाले प्रदेश मात्र नभई देशको समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।ट्रान्समिसन लाइनका कारण ऊर्जामा लगानी गर्न समस्या भइरहेको गुनासो आएको भन्दै मन्त्री खड्काले दुई वर्षभित्रै उक्त समस्या समाधान गर्ने दाबी गरे ।

    निजी क्षेत्रलाई विद्युत् बिक्री गर्ने व्यवस्था मिलाइने उल्लेख गर्दै उनले भने ‘निजी क्षेत्रलाई ३० मेगावाटसम्म लगानीकर्ताले बेच्न सक्ने व्यवस्था गर्दै छौँ । यसपछि लगानीकर्ताको लगानी सुरक्षित हुनेछ र उत्पादित विद्युत् जसलाई पनि बेच्न सकिनेछ ।’

    कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा। कमल पोख्रेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी गराएका थिए । लगानी तथा विकास सम्मेलनका परियोजना विज्ञ दिलीप भट्टले सुदूरपश्चिममा लगानीको अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

    छलफलमा ऊर्जा क्षेत्रमा लगानी गरिरहेका तथा लगानीका लागि लाइसेन्स लिएका दुई दर्जनभन्दा बढी लगानीकर्ताको उपस्थिति थियो । उनीहरूले सरकारको नीतिका कारण लगानीमा कठिनाइ भएको भन्दै लगानीमैत्री नीति बनाउन आग्रह गरे ।

    लगानीकर्ताले ऊर्जा प्रवर्द्धनका लागि ट्रान्समिसन लाइनको क्षमता बढाउन, प्रसारण पूर्वाधार निर्माण गर्न, जग्गा तथा वनको समस्या समाधान गर्न, काम छिटो गर्न सकिने वातावरण बनाउन सरकारसँग सुझाव दिएका थिए ।

    उनीहरूले कर्णाली र सुदूरपश्चिममा देशको आधा जलविद्युत सम्भावना रहेको भन्दै अब भारत मात्र नभई चीनमा पनि विद्युत् बिक्री गर्नुपर्नेमा जोड दिए । दोधारा–चाँदनी बन्दरगाह निर्माण भइरहेको उल्लेख गर्दै त्यसले सुदूरपश्चिमको समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।
    अन्तरक्रिया कार्यक्रम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले सहजीकरण गरेका थिए । उनले पनि सबै लगानीकर्तालाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका थिए ।

  • प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

    प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

    रुपन्देही । शनिबार मृत्यु भएकी लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

    आइतबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अगुवा नेता कार्यकर्ता, परिवारका सदस्य, आफन्त तथा स्षटमित्रहरुको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो ।

    रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरा बाछीगाउँ निवासी पुनको भदौ १४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाजलाई नै स्तब्ध तुल्याएको भन्दै मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गरे ।

    मुख्यमन्त्री आचार्यका अनुसार पुनले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेकी थिइन । उनलाइ एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधिका रूपमा स्मरण गर्दै उनको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् ।

    पुनको साउन २२ गते एकै दिन दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचार सफल हुन नसकेपछि पुनको निधन भएको हो ।

  • एमालेद्वारा पालिका नेतृत्वलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षण

    एमालेद्वारा पालिका नेतृत्वलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षण

    रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश स्कुल विभागले तीन जिल्लाका पालिका नेतृत्वलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम सकेको छ ।

    बुटवलस्थित जीवराज स्मृति प्रतिष्ठानमा आयोजित प्रशिक्षणको समापन गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका पालिकास्तरीय अध्यक्षहरुलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षणले पार्टीलाई चुस्तदुरुस्त र गतिशील बनाउने बताए ।

    देशकै उत्कृष्ट र जनमुखी पार्टी एमाले बनाउने अभियानलाई सफल बनाउन नेता, कार्यकर्ताहरुलाई विचार,संगठन र क्रियाशीलतामा जोड दिन प्रशिक्षणको आयोजना गरिएको उनको तर्क थियो ।

    भाद्र १३ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त बन्द प्रशिक्षणमा भोजप्रसाद श्रेष्ठ, दलबहादुर गुरुङ, युवराज घिमिरे, डीआर घिमिरे, कल्पना थापा, बाबुराम बिक, बद्री खनाल, नरबहादुर घर्तिले बैठक सञ्चालन, माइन्यूट लेखन, तालिम व्यवस्थापन तालिम, विकास निर्माणमा एमालेको दृष्टिकोण,लेखाविधि, प्रचारशैली, जनसंगठन र पार्टीबीच समन्वय,पार्टी सञ्चालन र व्यवस्थापन र अर्थराजनीति विषयहरुमा उल्लेखित प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।

    समापन सत्रमा प्रदेश उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले गर्दै सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।पहिलो चरणमा नवलपरासी, रुपन्देही र कपिलवस्तुभित्र रहेका पालिका कमिटी अध्यक्षहरुलाई सोही विषयमा तालिम दिइएको थियो ।

  • संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुँदै

    संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुँदै

    काठमाडौं । संगीतकार, गायक तथा लेखक संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने भएको छ । खोटाङ कलाकार समाजले श्रष्ठा सम्मानमा पहिलो पटक आयोजना गर्न लागेको राईको एकल साङ्गीतिक साँझ आगामी मंसिर १३ गते काठमाडौंमा हुने खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।

    खोटाङको अग्रज कलाकारहरुको सम्मानार्थ नियमित रुपमा वार्षिक एकल सांगीतीक सांझ कार्यक्रम गर्ने उद्देश्य लिएर अगाडि बढेको पनि रुपकुमारले बताए । प्रेसमिटमा बोल्दै प्राज्ञ संगीतकार शान्तिराम राईले आफ्नो संघर्ष र नेपाली संगीत क्षेत्रमा दिएको योगदान बुझेर एकल साङ्गीतिक साँझ योजना गर्न लागेकोमा आयोजक संस्था खोटाङ कलाकार समाजलाई धन्यवाद दिए । उनले भने, ‘मेरो जिवन नै संगीतमा समर्पण गरेको मान्छे हो म । र बाकि जिवन पनि संगीतमै रहने छु ।’

    प्रेसमिटमा शान्तिरामको एकल साङ्गीतिक साँझलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, माननिय सासंद बिशाल भट्टराई, नेता विष्णु राई, ब्यावसायी टंक श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

    शान्तिराम राई रेडियो नेपालमा २०४६ सालमा लोकगीततर्फ स्वरपरिक्षा उतिर्ण गरी नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर ३६ वर्षदेखि संगीत सिर्जनामै सक्रिय छन् ।

    हालसम्म पन्ध्र सयभन्दा बढी संगीत सृजना गरिसकेका शान्तिरामको एकल साझमा क्रमश ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमिले’, ‘छालहरु ओ छालहरु’, ‘आईडी काडैले’ र ‘ए पहराकी फूल’ लगायत सदावहार गीतहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा शान्तिरामले संगीतबद्ध गरेको गीतहरुलाई दीप श्रेष्ठ, सुकमित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई, मेलिना राई लगायत नया–पुराना पुस्ताका गायक गायिकाहरुमार्फत प्रस्तुति हुने पनि आयोजकले जानकारी दिएको थियो ।

  • भावी आईजीको सांकेतिक पोष्टिङ : को होला सीआईबी र उपत्यका प्रहरी प्रमुख ?

    भावी आईजीको सांकेतिक पोष्टिङ : को होला सीआईबी र उपत्यका प्रहरी प्रमुख ?

    काठमाडौं । मन्त्रिपरिषद्ले भदौ १९ देखि लागु हुने गरी नेपाल प्रहरीका एआईजी चन्द्रकुवेर खापुङलाई उक्त संगठनको ३२ औँ महानिरीक्षक (आईजी) नियुक्त गरेपछि अब अर्को खेल शुरु भएको छ, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका प्रहरीको प्रमुख को हुने ?

    नेपाल प्रहरीमा चलेको पछिल्लो अभ्यासअनुसार सीआईबी प्रमुख हुने एआईजी त्यसपछि संगठन प्रमुख, अर्थात् आईजीपी हुँदै आएका छन् । त्यसैले दुई महिनाभन्दा केही दिन बढीमात्रै कार्यकाल रहेका भावी आईजी खापुङको अवकासपछि प्रहरीमा को आईजी बन्छ भन्ने अनुमानलाई सीआईबी प्रमुखको पोष्टिङले संकेत गर्ने प्रहरीबारे जानकार व्यक्तिहरु बताउँछन् ।

    सीआईबी राष्ट्रिय महत्वका, ठूला र अति संवेदनशील घटना तथा मुद्दाको अनुसन्धान गर्नका निम्ति सीधै आईजीको नियन्त्रण र रेखदेखमा रहने निकाय हो । त्यस्तै, यसअघि जो–जो आईजी भए तीमध्ये कोही सीआईबी प्रमुखबाट त कोही उपत्यका प्रहरी प्रमुख हुँदै उक्त जिम्मेवारीमा पुगेका छन् । त्यसैले सीआईबीसँगै उपत्यका प्रहरी प्रमुख को हुने भन्ने जिज्ञासा पनि प्रहरी संगठनमा व्यापक बनेको छ ।

    भदौ १७ मा ३० वर्षे सेवाअवधी पूरा गरी वर्तमान आईजी दीपक थापा, एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी अवकास हुँदैछन् । उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा सँगै भर्ना भएका थिए । उनीहरुको अवकाससँगै रिक्त हुने आईजीका बारेमा त सरकारले पाँच दिन पहिल्यै निर्णय गरिदिँदा बजारमा चल्ने अनेकन शंका र अनुमानका श्रृंखला बन्द भए ।

    तर, त्यस्तो श्रृंखला रिक्त हुने दुई महत्वपूर्ण पोष्टिङका सन्दर्भमा शुरु भएको छ । सीआईबी प्रमुख खापुङले १९ गते गृह सचिवको हातबाट आईजीको फुली लगाएसँगै सीआईबी प्रमुख र अर्का एआईजी टेकबहादुर तामाङको अवकाससँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको पोष्टिङ रिक्त हुँदैछन् ।

    आईजी थापा, एआईजीहरु तामाङ र गिरी अवकास हुँदा नेपाल प्रहरीमा अर्को बढुवा नभएसम्मका लागि पाँच एआईजी बहाल रहन्छन् । तीमध्ये एकजना प्राविधिक सेवाअन्तर्गत नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा. सुन्दरप्रसाद ह्योजु छन् । उपत्यका प्रहरी प्रमुख तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक जिम्मेवारीमा रहेका एआईजी गिरीको अवकाश र सीआईबी प्रमुख खापुङको बढुवापछि उक्त युनिटको कमाण्ड रिक्त हुन्छ ।

    प्रहरीका एआईजीमध्ये दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह प्रहरी प्रधान कार्यालयभित्रै रहेका विभिन्न विभागका प्रमुख छन् । मानवस्रोत विकास विभागमा कार्की, अपराध अनुसन्धान विभागमा अधिकारी, प्रदेश समन्वय विभागमा डा.केसी र कार्य विभागमा शाह कार्यरत छन् । प्रशासन विभागका प्रमुख रहेका एआईजी कृष्णहरि शर्मा उमेरहदका कारण गत शुक्रबार नै कार्यालयबाट बिदा भए ।

    त्यसैले अब चारजना एआईजीमध्येबाट एकले सीआईबी र अर्काले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने भएको छ । त्यसमध्ये वर्तमान सरकारले रुचाएका एआईजी को रहेछन् र कात्तिक २७ मा आईजी पद रिक्त हुँदा बाजी मार्ने हुन् भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

    सिआइबी प्रमुखमा राजन अधिकारी र सिद्धीविक्रम शाहमध्ये एकजना हुने चर्चा छ । गृहमन्त्रीको रोजाइमा शाह छन् तर राजनलाई पठाउने प्रधानमन्त्रीले चाहेमा परिस्थिति फेरिन सक्छ ।

    त्यसो त एक आईजीसँगै दुई एआईजी रिक्त हुँदा नेपाल प्रहरीका डीआईजीमध्येबाट ३ जनालाई सरकारले एआईजीमा बढुवा त गर्छ नै । तर, महत्वपूर्ण मानिने निकायको जिम्मेवारी दिनका निम्ति बढुवा हुनेबाट नभई पुरानै नियुक्तिका एआईजीलाई पठाउने प्रचलन छ ।

    प्रहरीबीचको चर्चा अनुसार, भावी आईजीका रुपमा गृहमन्त्रीको तर्फबाट सिद्धिविक्रम शाह प्रस्तावित छन् । प्रधानमन्त्रीको रुचीमा भने राजन अधिकारी परेका छन् । यद्यपि, बढुवा मिति र बढुवा वरियतामा दानबहादुर कार्की पहिलो नम्बरका हुन् । त्यसो त प्रहरीसँग सम्बन्धित विद्यमान ऐन र नियमावलीले आईजी नियुक्तिका लागि वरीयताक्रमलाई बाध्यकारी बनाएको छैन । नेपाल सरकारले चाहेको एआईजी र डीआईजीमध्ये जो पनि हुन पाउने व्यवस्था छ ।

    पाँच वर्षमा पाँच आईजी, चार सीआईबीबाट

    नेपाल प्रहरीको आईजी हुनेहरूको २०७७ असारदेखि २०८२ भदौसम्मको रेकर्ड हेर्दा चारजना सीआईबी प्रमुख हुँदै आईजी भएको पाइन्छ ।

    २०७७ असार २४ गते २८ औं आईजीको चार्ज बुझेका शैलेस थापा क्षेत्री उपत्यका प्रहरी प्रमुख हुँदै आईजी भए । थापाबाट २०७९ वैशाख १८ गते आईजीको चार्ज बुझेका धीरजप्रताप सिंह, सिंहबाट २०७९ चैत ११ मा चार्ज बुझेका बसन्तबहादुर कुँवर, कुँवरबाट २०८१ चैत ४ गते चार्ज बुझेका दीपक थापा र थापाबाट मंगलबार चार्ज बुझ्न लागेका चन्द्रकुवेर खापुङ सीआईबी प्रमुख हुँदै आईजी भएको रेकर्ड भेटिन्छ ।

    को कहाँबाट आईजी भए ?

    १. शैलेस थापा क्षेत्री– काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट

    २. धीरजप्रताप सिंह– केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) बाट

    ३. बसन्तबहादुर कुँवर– केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) बाट

    ४. दीपक थापा– केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) बाट

    ५. चन्द्रकुवेर खापुङ– केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) बाट

  • डाक्टर गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह

    डाक्टर गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह

    काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सस्तो र सर्वसुलभ सेवा सुनिश्चितता, तथा चिकित्सा शिक्षा ऐनको अक्षरशः कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गरेका छन्।

    आइतबार कैलालीबाट डा केसीले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरुको सिट वृद्धि फिर्ता गर्ने साथैे इलाम,उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त संचालनमा ल्याउने लगायत यस अघि भएका सम्झौताहरु ( एकीकृत प्रतिष्ठान ऐन र विश्वविद्यालय पदाधिकारी नियुक्ति उच्च शिक्षा ऐन, गैरनाफामुलक मेडिकल शिक्षा , दरबन्दी सम्बन्धि आदि )कार्यान्वयन गर्न माग गरेका छन्  ।

    त्यस्तै लिपुलेकमा भइरहेको अतिक्रमण रोकि अतिक्रमित नेपाली भुमि फिर्ता गर्न भारतलाई तथा हाल चलिरहेका नर संहारकारी युद्धहरु रोक्न रुस र इजरायललाई माग राख्दै तीन दिने सत्याग्रह सुरु गरेको उनले विज्ञप्तिमार्फत बताएका छन् ।

    डा.केसीका अनुसार हालै चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपमा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय चिकित्सा शिक्षा ऐनको मर्मविपरीत रहेको बताएका छन्।

    इलाम, उदयपुर, डडेलधुरा र गेटामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न पटक–पटक सम्झौता भए पनि कार्यान्वयन नगरेकोमा डा. केसीले सरकारको तीव्र आलोचना गरेका छन्।

    ‘त्रिविले १०० जना एमबीबीएस पढाउन हिचकिचाउँछ, तर पूर्वाधारहीन निजी कलेजलाई १३० सिट दिइन्छ, जुन दुर्भाग्यपूर्ण हो,’ डा.केसीको भनाइ छ।स्वास्थ्य प्रणालीको गिरावटमा नेताहरूको स्वार्थ, माफियाको चलखेल र आयोग नेतृत्वको निरीहता जिम्मेवार रहेको डा.केसीको ठहर छ।

    उनले चीन र भारतले लिपुलेक हुँदै गरेको व्यापारिक सहमति तथा लिपुलेक अतिक्रमणको विरोधमा आवाज उठाउँदै नेपाल सरकारले त्यसप्रति तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।

    त्यस्तै, युक्रेनमाथि रुसको आक्रमण र गाजामा इजरायलद्वारा गरिएका आक्रमणलाई मानवताविरुद्धको अपराध भन्दै विरोध जनाएका छन्। डा‍. केसीले सरकारलाई चेतावनी दिँदै जनस्वास्थ्यसँग खेलवाड सह्य नहुने उल्लेख गरेका छन्। उनले आफ्नो सत्याग्रह शान्तिपूर्ण र अहिंसात्मक हुने र माग पूरा नभएसम्म संघर्ष जारी रहने बताएका छन्।

  • अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

    आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए ।

    ‘राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु’, उनले भने, ‘एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।’ गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

    ‘अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ’ उनले भने, ‘चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।’

    पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

    ‘भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ”, उनले भने, “राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय हुन आवश्यक छ ।’

    पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल प्रहरी मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

     

  • छाउ बार्न त्रिपालमुनिको त्यो रात: आमाको काखबाट पहिरोले छोरी खोस्यो

    छाउ बार्न त्रिपालमुनिको त्यो रात: आमाको काखबाट पहिरोले छोरी खोस्यो

    डोटी ।  दाइहरूले तराईतिर बसाई सारेपछि वैशाख १५ गते माइतीको घर कुर्न आएकी रत्ना भण्डारी अहिले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतको शैयामा छटपटिँदै छन् । उनले माइतीघरमै आफ्नो सात वर्षीया छोरी गुमाउनु पर्‍यो ।

    अछामको मंगलसैन नगरपालिका—६, तेर्सिङ्गे घर भएकी रत्ना श्रीमान् गोरे भण्डारीसँगै चार महिनादेखि पञ्चदेवल विनायक नगरपालिका–८ को बारला चुरखोलीमा रहेको माइत घरमा बस्दै आएकी थिइन् ।

    पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष छत्र बहादुर शाहीका अनुसार महिनावारी भएका कारण रत्ना चार दिनदेखि घर भन्दा करिब २५/३० मिटर टाढा खेतमा त्रिपाल हालेर बस्ने गरेकी थिइन् । बिहीबार राति पनि उनी आफ्नी सात वर्षीया छोरी कविता र स्थानीय निम जोशीसँगै त्रिपालमुनि सुतिरहेकी थिइन् ।

    ‘राती करिब ३ बजे माथिबाट पहिरो खसेछ, ढुङ्गा लागेर तीनै जना घाइते भएछन्’ वडाध्यक्ष शाहीले भने ‘रत्नाको टाउकोमा चोट लागेछ, कविता र निम ढुङ्गामुनि च्यापिएछन् ।’ छोरी ढुङ्गामुनि च्यापिएको देखेपछि रत्ना आत्तिएर चिच्याउँदै टोलतिर भागिन् । उनी चिच्याएको आवाज लगातार वर्षा भइरहेको सुनसान रातलाई चिर्दै गाउलेको कानसम्म पुग्यो ।

    गाउलेहरू उद्धारका लागि खटे । कविता र निमलाई निकालियो । बचाउने प्रयास गरियो तर सम्भव भएन । उनीहरू दुवैको ज्यान गयो । ‘आमासँगै सुत्ने जिद्धि गरेर गएकी कविताले खाना पनि खाएकी थिइनन् रे’ वडाध्यक्ष शाही बताउँछन् । कवितासहित रत्नाका चार छोरी र दुई छोरा रहेका छन् ।

    श्रीमान् गुमाएको एक वर्षमै निमको पनि ज्यान गयो 

    महिनावारी भएकै कारण रत्नासँगै त्रिपालमुनि सुतेकी स्थानीय निम जोशीको पनि अकालमै ज्यान गयो । गत वर्ष निमका श्रीमान् श्री जोशीको निधन भएको वडाध्यक्ष शाहीले बताए । ‘उहाँ मदिरा सेवन गरिरहनु हुन्थ्यो, त्यही कारण घरमा झगडा पनि भइरहन्थ्यो’ शाहीले भने ‘मदिराकै कारण उहाँको ज्यान गएको थियो ।’

    निमका दुई छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरालाई निमकी दिदीले पढाइरहेकी छिन् । कान्छो छोरा आमासँगै बस्ने गरेको वडाध्यक्ष शाहीले जानकारी दिए ।

    छाउगोठ भत्काउने अभियान अन्तरगत बारलामा भएका गोठहरू भत्काएपछि उनीहरू महिनावारी भएका बेला त्रिपालमुनि बस्दै आएका थिए ।

    नगर प्रमुख चलाउने भन्छिन्—हामी छाउ नबार्नुस् भन्छौँ 

    महिनावारी भएका बेला छाउ बार्न नहुने कुरा सबैले भन्ने गरेको तर पनि बार्न कसैले नछाडेको अछाम पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको दुखेसो छ ।

    शुक्रवार घटनास्थल पुगेर घटनाको बारेमा सम्पूर्ण जानकारी लिएकी नगर प्रमुख चलाउनेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘हामी भन्छौँ, छाउ नमानौँ तर घरमा श्रीमती छोरी बुहारीलाई गोठमा नबसौँ भन्दैनौँ ।’ उनले छाउ बार्दैनौँ, घरमै बस्छौँ भन्नेहरू पनि महिनावारी हुँदा गोठमै बस्ने गरेको बताएकी छन् ।

    ‘गोठ भत्काउँछौँ, अभियान गर्छौँ, फेरि पालमुनिको बास गर्छौँ’ नगर प्रमुख चलाउनेले भनेकी छन् ‘हामी अरूलाई तिमिले के गर्‍यौं भनेर प्रश्न गर्छौँ तर आफ्नो घरमा आमा श्रीमती छोरी बैनी बुहारीलाई पाखा नै राख्छौँ ।’ घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै उनले सामाजिक संरचनामा पितृसत्तात्मक सोच पुस्तान्तरण भएर आएको कुप्रथा हटाउन सबैले लाग्नु पर्ने बताएकी छन् ।

    उनी थप्छिन् ‘महिलाहरू मान्दैनन् भन्ने भाष्य नै गलत छ, यो तपाई हामीले बनाएको गलत संस्कार हो ।’

  • नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना (भिडिओ)

    नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना (भिडिओ)

    काठमाडौं । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलय आलोकनगरमा आज धर्ना दिएका छन। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

    आन्दोलित शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यलयमा धर्ना कार्यक्रम राखेको महासंघले जनाएको छ ।

    पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

    सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ ।

    पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

    महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्।

    प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरु अझै पनि सम्बोधन हुन नसकेको महास‌ंघकाे गुनासाे  छ  ।

  • प्रधानमन्त्री ओलीले गरे चीनको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

    प्रधानमन्त्री ओलीले गरे चीनको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

    थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गरेका छन् ।

    प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका हुन् ।

    अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवंं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए ।

  • प्रधानमन्त्री ओलीले गरे चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

    प्रधानमन्त्री ओलीले गरे चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

    थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री छन् ।

    अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए ।

    चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ चीन आएका हुन् ।

  • रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

    रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

    काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास म्याचमा साउथ अष्ट्रेलियालाई हराएको छ ।

    नेपाललाई २ विकेटको रोमाञ्चक जित दिलाउन कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे ।

  • कुलमान घिसिङलाई प्रश्न- अब आफ्नै दल खोल्नुहुन्छ कि नयाँसँग मिलेर जानुहुन्छ ?

    कुलमान घिसिङलाई प्रश्न- अब आफ्नै दल खोल्नुहुन्छ कि नयाँसँग मिलेर जानुहुन्छ ?

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अब राजनीतिमा आउने सङ्केत देखाएका छन्।

    उज्यालो नेपाल अभियान लिएर एक महिने विदेश भ्रमणबाट फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा भएको निराशा हटाउनुपर्ने बताए।

    विमानस्थलमा सञ्चारकर्मीहरूले अब नयाँ पार्टी खोल्ने कि नयाँ आएका शक्तिसँग मिलेर जानुहुन्छ ? भन्ने प्रश्न सोधेका थिए।

    उनले जवाफमा भने, ‘धेरै सुझाव आएका छन्, पार्टीभित्र होस् वा बाहिर राम्रा व्यक्तिहरू आओस्, डेलिभरी दिन सक्ने टिम बनोस्। व्यक्तिगत रूपमा मात्रै प्रयास गरेर मात्रै हुँदैन। सामूहिक प्रयास हुनुपर्छ भन्ने नै हो। राम्रा व्यक्ति हरेक क्षेत्रमा आउनुपर्छ भन्ने हो। केही गर्छु भन्नेहरू एक भएर देश बनाउने अभियानमा लाग्नुपर्छ।’

    उनले एक जना व्यक्तिले देशको समस्या समाधान गर्न नसक्ने भन्दै रुपन्देहीको उपनिर्वाचन आफ्नो प्राथमिकतामा नरहेको सुनाए।
    उनले भने, ‘रुपन्देहीको उपनिर्वाचनमा धेरै जान चाहन्न, एउटा व्यक्ति गएर धेरै सुधार हुने अवस्था छैन। एक ठाउँको विषयलाई लिएर मैले यो अभियान सुरु गरेको पनि होइन। रुपन्देहीको विषयलाई मैले महत्त्व दिएको छैन।’

  • कोसेढुंगा: पेचिलो विषय, सुकिलो प्रस्तुति

    कोसेढुंगा: पेचिलो विषय, सुकिलो प्रस्तुति

    काठमाडौं । चाडबाड लागेसँगै अहिले हलमा नेपाली फिल्मको ओभरफ्लो सुरु भएको छ । फेस्टिभ मुडमा रहेका दर्शकलाई तान्न सकिन्छ कि भनेर मेकर्स यो समयमा रिलिजको हानाथाप गर्छन् । तर, चर्को प्रतिस्पर्धामा कतिपय राम्रा चलचित्र डुब्ने खतरा हुन्छ ।

    गत हप्ता तीनवटा चलचित्र एकैसाथ प्रदर्शनमा आएका थिए– माग्ने राजा, जनै हराएको मान्छे र ताराहरु । यीमध्ये कलात्मक कलेवरमा प्रस्तुत गरिएको ताराहरु नामक चलचित्र आएको र गएकै पत्तो नै भएन । उत्कृष्ट रिभ्यू पाएको जनै हराएको मान्छेले पनि अपेक्षित दर्शक तान्न सकेको छैन । कमजोर रिभ्यूका बाबजुद माग्ने राजा भने हलमा टिकिरहेको छ ।

    यो साता फेरि दुईवटा चलचित्र खप्टिएका छन्, कोसेढुंगा र गुन्यूचोलो । यी दुवै प्रतिक्षित चलचित्र हुन्, जसमध्ये काशेढुंगा आजबाट प्रदर्शनमा आइसकेको छ भने गुन्यूचोलो भोलि रिलिज हुँदैछ । अघिल्लो साता मैले जनै हराएको मान्छेको रिभ्यू गरेको थिएँ भने यो साता कोसेढुंगाको रिभ्यू लिएर आएको छु ।

    यो रिभ्यू गर्नु वास्तवामा जटिल काम हो । चलचित्रमा जुन चिजले समिक्षकलाई छोएको हुन्छ, त्यसले आम दर्शकलाई अपिल नगर्न सक्छ । जुन चिज आम दर्शकलाई मन पर्छ, त्यसले समिक्षकलाई प्रभावित नगर्न सक्छ । समिक्षककै हेराइमा पनि एकरुपता हुँदैन । मैले चाहिँ समिक्षा गर्दा सँधै आफूप्रति इमान्दार हुने कोशिश गर्छु । मनमा एउटा र लेख्ने अर्को कदापी गर्दिनँ । यहाँले त्यही रुपमा बुझिदिनुहोला ।

    अब लागौं कोसेढुंगाको समिक्षातर्फ ।

    यो चलचित्रको निर्देशन सरोज पौडेलले गरेका हुन्, जसले नेपालको सर्वकालीन ब्लक बस्टर चलचित्र पूर्णबहादुरको सारंगी निर्देशन गरेका थिए । कोसेढुंगालाई पनि पूर्णबहादुरको सारंगीको निर्देशकले निर्देशन गरेको चलचित्र भनेर ब्राण्डिङ गर्न खोजिएको छ । इतिहासकै सुपरहिट चलचित्र दिएका निर्देशकले त्यसको ब्याज खान खोज्नु अस्वभाविक पनि होइन ।

    प्रश्न उठ्छ, के निर्देशक पौडेलले पूर्णबहादुर सारंगीको साख धानेका छन् त ? उत्तर हो अवश्य धानेका छन् । पूर्णबहादुरको सारंगी कागतली लागेर उत्कृष्ट बनेको होइन भन्ने यो चलचित्रबाट उनले सिद्द गरेका छन् । एक हिसाबले उनले आफ्नो निर्देशकीय दक्षताको पुनपुष्टि गरे कोसेढुंगा मार्फत । व्यवासयीकरुपमा त पूर्णबहादुरको सारंगीको रेकर्ड पछ्याउन असम्भव नै होला । निर्देशकीय हिसाबले उनले आफ्नो छाप छोडेका छन् र नेपालका अब्बल निर्देशकको सूचीमा अब उनलाई आँखा चिम्लेरै समावेश गर्न सकिन्छ ।

    चलचित्र चाहिँ कस्तो छ त ? निर्देशन राम्रो हुँदैमा चलचित्र उत्कृष्ट निस्किन्छ भन्ने पनि हुँदैन । चलचित्रको स्क्रिप्ट नै सबैभन्दा आधारभूत कुरा हो । कमजोर स्क्रिप्टमा टेकेर जतिसुकै अब्बल निर्देशकले पनि राम्रो चलचित्र दिन सक्दैन । पूर्णबहादुरको सारंगी जस्तै कोसेढुंगाको कथा पनि पौडेल स्वयम्ले लेखका हुन् । सह्रानीय के छ भने उनले कोसेढुंगाको कथा लेख्दा र निर्देशन गर्दा पूर्णबहादुरको सारंगीको उतिसारो धङधङी देखाएका छैनन् । धङधङी यस अर्थमा मात्रै छ कि यो चलचित्रमा पनि बढी भावुकता छ र दर्शकलाई रुवाउनै प्रयास गरिएको छ । कथावस्तुका हिसाबले भने कोसेढुंगाले फरक चिज पस्किएको छ । एकाध दृष्यले अवश्य पूर्णबहादुरको सारंगीलाई सम्झाउँछन् ।

    अब कथा सारमा जाउँ ।

    गाउँका दुई युवायुवती शीतल र सन्जोग (सुरक्षा पन्त र मञ्जिलकुमार) प्रेममा परेका छन् । तर, गरिब र बेरोजगार भनेर सुरक्षालाई छोरी सुम्पिन उनका बुवा तयार हुँदैनन् । लोकसेवा निकालेर सरकारी अफिसर बन्ने एकसुत्रीय अभियानमा छन् सन्जोग । गाउँमै बसेर पशुपालन गरिरहेका उनका फुपुका छोरा ऋषीराम (आर्यन सिग्देल)ले जसोतसो बुवालाई लट्पटाएर विहे गराइदिन सफल हुन्छन् ।

    विहेपछि पनि सन्जोगले लोकसेवामा नाम निकाल्न सक्दैनन् । अन्ततः उनी विदेश पलायन बन्न बाध्य हुन्छन् । केही समय त राम्रै चल्छ । तर, अचानक उनी एउटा ठूलो विपत्तिको खाडलमा पर्छन् । त्यसपछि चलचित्रले नयाँ मोड लिन्छ ।

    भयो, अब यहाँभन्दा बढी सस्पेन्स नखोलौं । सन्जोग यो खाडलबाट निस्किन सक्छन् कि सक्दैनन् भन्नेमा बाँकी कथा बहकिएको छ ।

    चलचित्रको पहिलो हाफ तुलनात्मकरुपमा कमजोर छ । पृष्ठभूमिको निर्माण र क्यारेक्टर बिल्ड अप गर्न गर्न लेखक–निर्देशकले आवश्यकताभन्दा धेरै समय लिएका छन् । मुलकथामा प्रवेश गर्न आलटाल गरिएको छ । यद्यपि, दर्शक बोर नै भने हुँदैनन् । टेलिसिरिलका जस्ता हल्काफुल्का दृष्यले ईंगेज गराइराख्छन् ।

    कतिपय दृष्य चाहिँ मिनिङलेस पनि छन्, जसलाई सहजै कैंची लगाउन सकिन्थ्यो । उदाहरणका लागि नीति शाहले लाइफ इन्सुरेन्सका लागि गाउँका मानिसलाई फकाएको बारम्बार देखाइएको छ । यसले इन्सुरेन्सको विषयमा केही सन्देश दिन खोजेको हो कि भन्ने लाग्छ, तर अन्ततः कथामा यसको कुनै पनि सरोकार भेटिन्न । यसरी नाश भएका दृष्य अरु पनि छन् । मैले चलचित्रको सुरुवातको र हाफटाइमपछिको दृष्य अलिकति छुटाएँ । जसले गर्दा केही मिस भएको हुन सक्छ । त्यसका लागि क्षमा चाहन्छु ।

    सेकेन्ड हाफ हेर्न लायक छ । मुख्य पात्र विदेशिएसँगै कथा राम्रैसँग मुभ अन हुन्छ र दर्शक बल्ल चलचत्रिमा डुब्न थाल्छन् । चलचित्रको एउटा गीतको भिडिओ केही दिनअघि युट्यूवमा रिलिज भएको थियो । खासमा यो गीत हेरेपश्चात नै म कोशेढुंगा चलचित्र हेर्न लालायित बनेको थिएँ । झलकमा गन्धर्वको कालजयी गीत ‘आमैले सोध्लिन् नि।।’ को रिमेक हो यो । यो गीतले नै चलचित्रको सिंगै कथाको पेटारो खोलिदिएको जस्तो लागेको थियो मलाई । तर, निर्देशकले झुक्याएका रहेछन् । गीतले जे बोल्छ, चलचित्रको कथा त्योभन्दा फरक छ ।

    गीतमा दर्शाइएजस्तै चलचित्रले वैदेशिक रोजगारसँग सम्वन्धित एउटा संवेदनशील मुद्दा बोकेको छ । चलचित्रको क्लाइमेक्स गहकिलो छ । चलचित्रको फाइनल ट्विस्टले दर्शकलाई झट्का दिने सामथ्र्य राख्छ । यद्यपि, यो एकदमै अनप्रेडिक्टेबल भने होइन । फिल्मी ट्वीस्टसँग अभ्यस्त दर्शकले यसको अनुमान गर्न पनि सक्छन् । आम दर्शकका लागि भने विष्मयकारी नै छ । अर्थपूर्ण र तार्किकरुपमा कथाको समापन गरिएको छ । यसलाई पूर्णबहादुरको सारंगीजस्तो पूरै वियोगान्त चलचित्र भन्न मिल्दैन । संयोग र वियोगको समिश्रण छ क्लाइमेक्समा । खुशीको कुरा यो हो कि नेपाली चलचित्रमा क्लाइमेक्स पनि गतिला बन्न थाले ।

    अब कुरा गरौं कलाकारको । कथाको केन्द्रमा छिन् अभिनेत्री सुरक्षा पन्त । उनको अभिनय ए श्रेणीको छ । आफ्नो चरित्रको गहिराइसम्म पुगेकी छन् सुरक्षा । खट्किएको चाहिँ उनको र नायकको केमेस्ट्री हो । नायकभन्दा नायिका पाको देखिनु हाम्रो फिल्मी गणितमा त्यति उपयुक्त मानिँदैन । यो चलचित्रमा या त नायक या नायिका अर्को खोजिनुपथ्र्यो, उमेर मिल्दो । उमेरकै कारणले सुरक्षालाई चञ्चले दृष्यमा त्यति सुहाएको पनि छैन, यद्यपि, उनले आफ्नो तर्फबाट चाहिँ राम्रो गरेकी छन् । यो चलचित्रको सफलता वा असफलता सुरक्षाका लागि निकै महत्वपूर्ण हुनेछ ।

    चलचित्रमा सुरक्षाको जोडी बनेका छन् अभिनेता मन्जिल कुमार । उनले आफ्नो चरित्रको वजनलाई अलि धान्न नसकेको हो कि जस्तो लाग्यो । अभिनयको हकमा सुरक्षाको अगाडि उनी फितला लाग्छन् । सायद अनुभवको कमिले पनि हुनुपर्छ । नायककै रुपमा चाहिँ उनीबाट धेरै आशा गर्न सकिन्न ।

    आर्यन सिग्देल पनि गतिलै भूमिकामा छन् । कुनै जमानाका चकलेटी वा रोमान्टिक हिरो आर्यन पछिल्लो केही समय सेलाएपछि अहिले फेरि आफूलाई ‘अभिनेता’का रुपमा रिभाइभ गर्न खोजिरहेका छन् र यो चलचित्रले उनलाई त्यसमा पक्कै सघाउने छ । उनको भूमिका जति र अभिनय दुवै वजनदार छ ।

    उदियमान अभिनेत्री नीति शाह इन्सुरेन्स एजेन्टको रुपमा छिन् । उनको सुन्दरताको त वर्णन गरिरहनु परेन । कम मेकअपमा पनि उनी पर्याप्त ग्ल्यामरस देखिएकी छन् । नीतीको अभिनयमा भने अझै परिस्कारको आवश्यकता देखिन्छ । विशेषत डाइलग डेलिभरीमा सुधार ल्याउनुपर्ने छ ।

    अभिनेता पवन खतिवडाको पनि चलचित्रमा बलियो उपस्थिति छ । मैले भनिरहन नपर्ला कि उनी एक कुशल अभिनेता हुन् । यो चलचित्रमा पनि आफ्नो छाप छोडेका छन् । उनको संवाद सम्प्रेषण निकै राम्रो छ । चलचित्रमा पवनको भूमिका कबड्डी सिरिजका दयाहाङ राईसँग एकदमै मिल्दोजुल्दो लाग्छ । उनलाई काजीको बाहुन भर्सन भन्दा पनि फरक पर्दैन, जो दुई आसेपासेलाई आफ्नो पछाडि राखेर मोटरसाइकलमा कुद्छ र एउटी केटीलाई असफलतापूर्वक निरन्तर फलो गरिराख्छ ।

    चलचित्रमा ऋचा शर्मा पनि छिन् र तर उनी किन छिन् भन्ने प्रश्नको उत्तर चाहिँ मैले भेटिनँ । चलचित्रमा उनको भूमिका अति मामूली छ । ऋचाले यो भूमिका किन स्वीकार गरिन् वा उनलाई किन अफर गरियो भन्ने उदेक लाग्छ ।

    अन्य कलाकारले आआफ्नो भूमिकालाई राम्रैसँग निभाएका छन् ।

    चलचित्रको संगीतपक्ष बलियो छ । चलचित्रमा समावेश ‘नत्र भने जिन्दगी व्यर्थ छ।’ बोलको गीत पहिल्यै सुपरहिट भइसकेको थियो । यो गीतको कोरियोग्राफी पनि बबाल छ । खासमा गीत हिट हुनुको केही श्रेय कोरियोग्राफर स्मृती तिमल्सिनालाई पनि दिनुपर्छ । उनले गराएका केही स्टेप टिकटकमा भाइरल छन् । यो गीतको लोकप्रियताले चलचित्रको व्यवसायीकतालाई मलजल गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।

    साथै, झलकमान गन्दर्भको ‘आमाले सोध्लिन् नि ।’ बोलको गीतलाई रिमेक गरेर चलचित्रमा समावेश गरिएको छ, जुन औधि मार्मिक सुनिन्छ । यो गीतको भिडिओ पनि बेदनामय छ ।

    चलचित्रको कथा टमक्क मिलेको छ । कथाले एउटा ज्वलन्त मुद्दाको उठान मात्रै गरेको छैन, प्रभावकारीरुपमा सन्देश प्रवाह पनि गरेको छ । पटकथामा भने केही कमीकमजोरी छन् । मध्यान्तरपूर्व चलचित्र पुरै ‘शाकाहारी’ हुनु पटकथाको कमजोरी हो । संवाद औसत छ । शहरमा हाकिम र नेतासँगका संवाद परम्परागत शैलीका छन् ।

    अहिले लाखौं नेपाली युवा रोजगारीकै प्रयोजनका लागि विदेशिएका छन् । आफ्नो छोरा–सन्तानलाई वैदेशिक रोजगारीमा पठाएका परिवारका सदस्यलाई यो चलचित्रले निकै संवेदित र आहत तुल्याउन सक्छ । साथै, देशका नीति निर्माताले पनि हेर्नुपर्ने चलचित्र हो यो । चलचित्रले उनीहरुलाई देशलाई बस्न लायक किन बनाउन सकेनौं भनेर सोच्न वाध्य बनाउने छ ।

  • ‘पताञ्जली जग्गाबारे निर्णय गर्ने मन्त्रिपरिषद्‌मा विद्या भण्डारी, शंकर पोखरेलदेखि मीनेन्द्र रिजालसम्म थिए’

    ‘पताञ्जली जग्गाबारे निर्णय गर्ने मन्त्रिपरिषद्‌मा विद्या भण्डारी, शंकर पोखरेलदेखि मीनेन्द्र रिजालसम्म थिए’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन्।

    समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै पताञ्जली जग्गा प्रकरणमा आफूलाई आफूलाई बिना कारण मुद्दा लगाइएको जिकिर गरे।

    उनले भने, ‘ममाथि मुद्दा चलाइएको छ। हदबन्दीभन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा बिक्री गर्न दिने काम गरेर बेठिक भयो भनिएको छ। सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना र हानी नोक्सानी गर्ने काम भयो। यसरी हिनामिना र हानी नोक्सानी गरेर भ्रष्टाचारको काम भयो। हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिन पाइन्छ कि पाइँदैन, कानुनले के भन्छरु हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था रहेको छ।’

    हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेको कानुनी आधार नरहेको भन्दै उक्त जग्गाबारे मन्त्रिपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर स्मरण गरे।

    उनले आफू प्रधानमन्त्री हुँदा विद्या भण्डारी, एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म मन्त्री रहेको भन्दै क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेको जिकिर गरे।

  • हिन्दूकुश–हिमालय क्षेत्रमा यसरी बढ्दैछ जोखिम, नेपालका यी ठाउँ पर्न सक्छन् चपेटामा

    हिन्दूकुश–हिमालय क्षेत्रमा यसरी बढ्दैछ जोखिम, नेपालका यी ठाउँ पर्न सक्छन् चपेटामा

    काठमाडौं । गत असार २४ बिहान ३ः०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो ।

    घले भूकम्प गयो कि क्या हो भनेर सोच्दै थिए । यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो । ‘बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त भुइँचालो गयो कि भन्ठाने । एक छिनपछि त खोला गडगडाएको सुनियो’, उनले त्यस दिनको अवस्था सुनाउँदै भने, ‘पानी परेको छैन, कसरी बाढी आयो होला, माथि तिब्बततिर पानी परेछ कि क्या हो भनेर अनुमान लगाए । मानिसहरू भागदौड गर्न थाले, म पनि घरबाट निस्किएँ ।’

    त्यसको भोलिपल्ट उनलाई थाहा भयो, नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा अचानक बाढी गएको रहेछ भनेर । बाढीले बाटो भत्काएछ । मितेरी पुल नै बगाएछ ।

    बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेछ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बढीसँगै बगेको छ । चीनसँगको व्यापारिक नाका अझै अवरूद्ध छ ।

    वडासदस्य घलेका अनुसार विसं २०१८ मा पनि यस्तै भीषण बाढी आएको थियो । तर त्यो बेला अहिलेजस्तो टिमुरेमा बस्ती बसेको थिएन । खोलाको माथिमाथि घर तथा बस्ती भएकाले क्षति पनि भएन । त्यो बाढीको असर खासै देख्न पाइएन ।

    पछिल्लो पटक गत असार २४ र त्यसको १० दिनपछि पनि गएको भेलबाढीले टुटाएको केरूङसँगको सडक पहुँच अझ जोडिन सकेको छैन । भेलबाढीपछि सीमावर्ती बजार ठप्प छ । जनजीवन उस्तै त्रस्त छ । ‘ठूलो बाढी आउने त्रासमा स्थानीय बसेका छन् । कति त विस्थापित पनि भएसकेका छन्’, घलेले भने ।

    गत वर्षको साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा पनि अचानक ठूलो भेलबाढी आयो । त्यहाँका स्थानीयहरूले यसरी एक्कासि भेलबाढी आउला र गाउँ नै एकै झट्कामा सखाप पार्ला भनेर चिताएकै थिएनन् । त्यहाँका स्थानीयका अनुसार त्यस दिन थामे क्षेत्रमा ठूलो पानी परेको थिएन । उत्तरतिर आकाश भने मडारिएको थियो । अनिष्टको कुनै सङ्केत थिएन । यद्यपि गाउँको शिर क्षेत्रबाट मडारिँदै आएको भेलबाढीले गाउँ नै बगरमा परिणत गराइदियो । त्यो अप्रिय एवं अकल्पनीय घटनाले जो कोहीको मन भक्कानिन्छ ।

    त्यो घटना सम्झँदा खुम्बु पासाङल्हामु गाउँपालिकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई सपनाजस्तै लाग्छ । ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौं’, उनी भन्छिन्, ‘कुन दिन हिमपहिरोकै शिकार बन्नुपर्ने हो भन्ने चिन्तामा छन्, यहाँका बासिन्दा । हामीलाई पनि यस्तै लागिरहन्छ ।’

    त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पा भन्छिन्, ‘हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको गाउँको दृश्यले अझै तर्साइरहेको छ । नसोचेको घटना भयो त्यस दिन । दिउँसो भएकाले धन्न भागेर ज्यान जोगाइयो । त्यस घटनाले कतिले त गाउँ छाडेर पनि हिँड्नुभयो ।’

    पर्यटन व्यवसायीसमेत रहेका आङछरिङ शेर्पा उमेरले ७० वर्ष कटिसके । सोलुखुम्बुमा जन्मिएका शेर्पा हिमाली क्षेत्रमा पर्न सक्ने जलवायु परिवर्तनजन्य असरका कारण उत्तिकै चिन्तामा देखिन्छन् । उनको अनुहारमै झल्किएको छ, ‘सम्भावित विपद्को त्रास ।’

    विगत र वर्तमानको घटनामा देखिएको अन्तर भएको आङछरिङ बताउँछन् । उनले भने, ‘भन्दा मान्छेले नपत्याउलान्, त्यो इम्जा छो हिमताल थिएन । सानो हिमनदी थियो । हामी केटाकेटी हुँदा चिप्लेटी खेल्न जान्थ्यौँ । सन् १९६२ तिर सानो कुवाजस्तो बन्यो । अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिमालको हिउँ सर्लक्कै पग्लिएको छ ।’

    पछिल्ला दुई वर्षमा लगातारजस्तो हिमताल विस्फोटका घटना भएका छन् । गत वर्ष सोलुखुम्बुको थामेमा हिमताल विस्फोटको घटना भयो । लगत्तै दोलखाको रोल्वालिङ क्षेत्रमा पनि भीषण भेलबाढी आएर एक जना होटल व्यवसायी महिला बेपत्ता भइन् । त्यसपछि गोरखाको मनास्लु क्षेत्रमा पनि हिमताल विस्फोट भयो ।

    पछिल्लो समय रसुवामा निम्तिएको विध्वंश र मुस्ताङमा पटकपटक गइरहेको भेलबाढीले स–साना हिमतालहरू पनि जोखिमपूर्ण बन्दै गएको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् ।

    रसुवा भेलबाढीको स्रोत नै ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको सुप्राग्लेसियल लेक (हिमनदीको माथिल्लो सतहको बरफ पग्लिएर बन्ने ससाना पोखरीहरू) विस्फोट हुँदा बाढी आएको बताउँछन् जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली ।

    यद्यपि विभागले यसबारे विस्तृत अध्ययन गरेको छैन । मुस्ताङमा पनि कालो लेदोसहितको बाढी आएको छ । भेलबाढीले स्थानीय बाटाघाटाको काठेपुल बगाएको छ । त्यहाँ पनि बाढीको कारणबारे कुनै अध्ययन, अन्वेषण हुन सकेको छैन ।

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियल ताल’ फुटेर रसुवाको भोटेकोसीमा बाढी आएको पुष्टि गरेका छन् ।

    हालैका यी घटनाहरू (रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट) नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरू बाट भएको इसिमोडले पुष्टि गरिसकेको छ ।

    इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिज–छो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झन्डै ३० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्‍याएको थियो । त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्र भ्रेमाथाङबाट उत्तपत्ति भएको भेलबाढी, उत्तरी गोरखाको वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको थियो ।

    तापमान वृद्धिको जोखिम

    तापमान वृद्धिका कारण हिमनदीजन्य घटनामा वृद्धि भएको बताउँछन् हिमतालविज्ञ शरदप्रसाद जोशी । ‘साना, छोटो समय टिक्ने तालहरूमा पनि अनुसन्धान गर्न आवश्यक छ’, उनले भने, ‘छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, हिमतालको प्राकृतिक बाँध (मोरेन) भत्कने, पर्माफ्रोस्ट (हिमोढ) भत्कने, उच्च हिमाली क्षेत्रमा चट्टानहरूरू खस्ने, जमिन भासिने घटना निम्त्याउँछ ।’

    इसिमोडका अनुसार हालका घटनाहरूमा बाढीले गिट्टी, बालुवा, माटो र ठूला ढुङ्गा बोकेको देखिन्छ र जसले पानी मात्र भएको बाढीको तुलनामा धेरै क्षति पुर्‍याउँछ । हिमाली क्षेत्रमा हिउँको सट्टा वर्षा बढी हुँदा यस्ता घटनाहरू बढ्ने इसिमोडको निष्कर्ष रहेको छ ।

    विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा हिमतालमा सञ्चित हिउँ क्रमशः पग्लने र हिमपात कम हुने तथा हिमताल विष्फोटजस्ता विपद्का सम्भावना बढ्दै गएको जलवायुविद् मञ्जित ढकालले बताए ।

    उनका अनुसार तापक्रम वृद्धिले हिमालको स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ । ‘तापक्रम बढ्दा हिमालको हिउँ पग्लने खतरा उच्च हुन्छ, हिमताल विष्फोट भएर धनजनको क्षति गर्ने खतरा बढाउछ’, ढकालले भने, ‘त्यसैले अन्तरराष्ट्रिय मञ्चहरूमा पर्वत संरक्षणलाई केन्द्रविन्दु बनाएर हिमालसम्बन्धी मुद्दा निरन्तर उठाउन जरुरी छ । यसबारे बहस, विमर्श र पैरवी अत्यावश्यक बन्दै गएको छ ।’

    विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १।४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १।३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको समेत अध्यायनले देखाएको छ ।

    इसिमोडको अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।

    नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पर्ने हिमताल विष्फोट हुँदा पनि नेपाललाई समेत असर पर्ने विज्ञहरूको भनाइ छ । सन् २०२१ को फेब्रुअरीमा भारतको उत्तराखण्डमा पनि हिमताल विस्फोटको घटना भएको थियो ।

    उत्तराखण्डको चमोली जिल्लास्थित नन्दादेवी हिमनदी क्षेत्रमा भएको उक्त हिमताल विस्फोटले धौलीगङ्गा नदीमा ठूलो भेलबाढी निम्त्यायो । यस भेलबाढीमा करिब २०० मानिस बेपत्ता भए, जसमध्ये २६ जनाको मृत्यु भएको अभिलेख भेटिन्छ । उक्त विपद्ले ऋषिगङ्गा र धौलीगङ्गा जलविद्युत् आयोजना दुवैमा ठूलो क्षति पुर्‍याएको थियो । तर, यसबारे विस्तृत अध्ययन भने अझै भएको छैन ।

    यसअघि सन् २०१३ को जुन महिनामा उत्तराखण्डको केदारनाथ क्षेत्रमा आएको भेलबाढी पनि हिमताल विस्फोटसँग जोडेर व्याख्या गरिन्छ । गान्धी सरोवर (हिमताल) मा अत्यधिक वर्षा र हिमनदी पग्लनु उक्त विपद्को कारण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

    यस्तै, सन् २०२३ को अक्टोबरमा सिक्किमको साउथ ल्होन्जक हिमताल फुट्दा टिस्टा नदीमा ठूलो बाढी आएको थियो । यस घटनाले टिस्टा नदी किनारका बस्ती, सडक र जलविद्युत् आयोजना सबैमा ठूलो क्षति पु¥यायो । यो हिमताल विस्फोट जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमनदी पग्लने प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ ।

    जोखिम बढ्न सक्ने

    गत असारमा मात्रै नेपालमा मात्र दुईवटा बाढीः रसुवा र माथिल्लो मुस्ताङमा देखा परेका थिए । अध्ययनले २१ औँ शताब्दीको अन्त्यसम्ममा हिमनदी विस्फोटको जोखिम तीन गुणा बढ्ने अनुमान गरेको छ ।

    इसिमोडका विपद् जोखिम न्यूनीकरण प्रमुख शाश्वत सन्याल हिमनदीजन्य विपद्को आवृत्ति देखेर चकित बनाएको बताउँछन् । ‘सन् २००० को दशकमा यस्ता घटनाहरू हिन्दूकुश–हिमालय क्षेत्रमा ५ देखि १० वर्षमा एकपटक हुने अपेक्षा गरिए पनि पछिल्लो समय बढ्दै गएको छ । सन् २०२५ को मे र जुन दुई महिना मात्रै हिमनदीजन्य बाढी तीनवटा देशमा (नेपालको हुम्लास्थित लिमि, अफगानिस्तानको एन्डोराब उपत्यका, पाकिस्तानको चित्रालरहुनजा) आएको छ’, उनले भने ।

    पूर्वसूचना प्रणालीको अभाव

    जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म इम्जा र छो–रोल्पाबाहेक अरू साना तालमा पूर्वसूचना प्रणाली विकास गरिएकै छैन । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले चीनतर्फबाट सूचना पाउनै मुस्किल रहेको बताउँछन् ।

    उनले सीमापार हुने विपद्का घटनाको जोखिम न्यूनीकरण गर्न सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउनुपर्ने खाँचो केरूङको विध्वंशले पनि देखाएको बताए । त्यहाँ पूर्वसूचना प्रणाली विकास गर्न सकेको भए मितेरी पुल जोगाउन नसके पनि मानवीय क्षति रोक्न सकिने उनको भनाइ छ ।

    जोखिमपूर्ण हिमताल

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्न सक्ने जोखिम रहेको देखाएको छ ।

    युएनडिपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमतालहरू जति बेलामा पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अध्ययन अनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ ।

    जोखिम घटाउन लगानीको अभाव

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले ४७ वटा ठूला हिमताल जोखिमको रहेको र यी हिमतालहरू फुटेमा मुलुकले खर्बौं आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने बताए । । ‘जोखिममा रहेका हिमतालमध्ये २५ चीनमा छन् । २१ वटा नेपालभित्रै छन्भने एक ओटा भारतमा छ’, उनले भने, ‘यी हिमतालको जोखिम न्यूनीकरणका लगानीको अभाव छ ।’

    हरित जलवायु कोष (जिसएफ)बाट नेपालले जोखिममा रहेका चार वटा हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने निश्चित भएको छ । नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत भएसँगै अव जोखिममा रहेका चार हिमतालका जोखिम न्यूनीकरण गर्न लागत व्यवस्थापन भएको हो ।

    यस परियोजनमा नेपाल सरकार, युएनडिपी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलरअर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३।४ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरेको थियो ।

  • झलनाथलाई माधवको जवाफ- एमाले फुटाएर जायज गरेका छौँ, नत्र हाम्रो विजोक हुन्थ्यो (भिडिओ)

    झलनाथलाई माधवको जवाफ- एमाले फुटाएर जायज गरेका छौँ, नत्र हाम्रो विजोक हुन्थ्यो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीतिमा आफ्नो पार्टीको विशिष्ट भूमिका रहेको दाबी गरेका छन्। समाजवादी प्रेस सङ्गठनको बैठकलाई सम्बोधन गर्दै पार्टी निर्माणको लागि जनतामा जान पार्टीपंक्तिलाई निर्देशन दिए।

    उनले भने, ‘०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेको जिल्लामा अरू पार्टीलाई एक्लै पराजित परेका पनि छन्। कर्णाली प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हटाउन सक्छौँ भन्दैछौं। सुदूरपश्चिममा पनि त्यस्तै छ। हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ, मधेश प्रदेशले पनि त्यही भन्दैछ।’

    उनले एमालेबाट विद्रोह गर्नेबेलामा सबैले साथ नदिएको भएपनि पार्टी निर्माणको लागि आँट गरेको स्मरण गरे।

    उनले थपे, ‘हामीले त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कम्ताविजोक हुँदैनथ्यो, विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन। कुनै अर्थ छैन। हामीले संविधान जोगायौँ, निरङ्कुशलाई चुनौती दिने काम पनि गर्‍यौँ। लोकतन्त्रको मूल्य र मान्यतालाई जोगाउने काम पनि गर्‍यौँ।’

    उनले एमाले फुटाएर आफूहरूले जायज काम गरेको जिकिर गरे। सम्मानित नेता झलनाथ खनालले औचित्य पुष्टि नभएको बताइरहेको बेलामा त्यस्ता अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै जवाफ फर्काए।

    उनले थपे, ‘यो कुनै निजी हित र स्वार्थको लागि होइन। अहिले पनि हाम्रो पार्टीको सम्भावना धेरै छ। त्यसमा सबैले अत्यन्तै मेहनत गर्नुपर्छ। अरू पार्टी पनि सङ्कटमा छन्, हामी सबैसँग संवाद गर्छौँ। कुनै पार्टीसँग विलीन हुँदैनौँ। जोसँग विचार, सिद्धान्त र नीति मिल्छ, त्यसपछि मात्रै पार्टी मिल्छ, अहिले हामी समाजवादी मोर्चालाई विस्तार गर्दैर्छौँ। सबै कुरा मिलेपछि वामपन्थी एकतालाई अगाडि बढाउँछौँ।’