Author: Sharmila Pandit

  • सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटोमा हिँड्दैछ: गगन थापा

    सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटोमा हिँड्दैछ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

    उनले भनेका छन्, ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।’

    आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको बताए।

    उनले थपेका छन्, ‘सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।’

    यो निर्णय पुर्नविचार गरेर सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन माग गरेका छन्।

  • सडक अलपत्र पारेको विरोधमा कैलालीका ४ वडा कार्यालय सडकबाटै सञ्चालन 

    सडक अलपत्र पारेको विरोधमा कैलालीका ४ वडा कार्यालय सडकबाटै सञ्चालन 

    डोटी । लामो समयदेखि ठेकेदारले काम नगरी सडक अलपत्र पारेको विरोधमा कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडाले सडकबाटै कार्यालय राखी सेवा प्रवाह सुरु गरेका छन् ।

    चौकी–ओलानी–फल्टुडे सडक निर्माणको कार्य निर्माण व्यवसायीले विगत ६ वर्षदेखि अलपत्र पारेको भन्दै त्यस क्षेत्रका चार वडा कार्यालयहरू आन्दोलित भएका हुन् ।

    आन्दोलन स्वरूप गोदावरी नगरपालिकाका वडा नं. ३, १०, ११ र १२ ले बिहीबारदेखि सडकबाटै कार्यालय खडा गरी सेवा प्रवाह दिन थालेका छन् । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको वडाध्यक्षहरूको आरोप छ ।

    सो को विरोध गर्दै चारै वडाध्यक्षहरूले सोही सडक खण्डको चाक्लेखोला भन्ने ठाउँमा सडकबाटै वडा कार्यालय सञ्चालन गरेका हुन् ।

    सडक निर्माणका लागि पटक पटक आवाज उठाउँदा पनि ठेकेदारले लापरबाही गरेका कारण सम्बन्धित पक्षलाई दबाब दिन सडकबाटै वडा कार्यालय सञ्चालन गर्नु परेको वडा नं. १० का वडाध्यक्ष रवीन्द्र शाही बताउँछन् ।

    सडक समयमै निर्माण नहुँदा स्थानीयवासीले ६ वर्षेदेखि सास्ती खेप्नु परेको उनको भनाइ छ । उनले सडक निर्माणमा भइरहेको लापरबाही रोक्न र सडक निर्माण गर्न पटक पटक पहलकदमी गरे पनि ठेकेदारले अटेरी गर्दा बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।

    सुदूरपश्चिम प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको यो सडकलाई सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात गर्ने वैकल्पिक सडकमा रूपमा हेरिएको थियो । भिमदत्त राजमार्गको विकल्पका रूपमा रहेको उक्त सडक गोदावरी नगरपालिकाको चौकी डाडाँदेखि चुरे गाउँपालिकाको फल्टुडे जोड्ने सडक हो ।

    एक वर्षभित्रै सडक निर्माणको लागि मालाखेती सेतो पुलदेखि पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । गोदावरी नगरपालिका–१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक अलपत्र छ ।

    पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पूरा गर्न नसकेको स्थानीयको भनाइ छ ।

    यो खण्डको कार्य निर्माण व्यवसायीले अलपत्र पारेकै बेला पूर्वाधार विकास कार्यालयले वडा १० नं. वडा कार्यालयदेखि बान्द्रेखालसम्म ३ किलोमिटर कालोपत्रे गर्न २०७९ चैत १८ गते निर्माण कम्पनी तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गर्‍यो । १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने काम अझै भएन । उक्त ठेक्का सम्झौताको रकम पाँच करोड ७६ लाख रुपैयाँ रहेको छ ।

  • खानेपानीमन्त्री यादवसँग विवाद गरेकी किरण साह ५ हजार धरौटीमा रिहा

    खानेपानीमन्त्री यादवसँग विवाद गरेकी किरण साह ५ हजार धरौटीमा रिहा

    वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी वीरगन्जवासी किरण साहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा रहेको छ ।

    कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुधबार पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान फाइल बुझाएपछि आज जिल्ला अदालत पर्सामा बहस भएको थियो ।

    प्रहरीले गत शनिबार पक्राउ परेकी साहलाई मंगलबार दोस्रो पटक अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो । अनुसन्धान सकेर बुधबार प्रहरीले फाइल वकिल कार्यालयलाई बुझाएको थियो ।

    वीरगन्जमा हैला प्रकोप फौलिएपछि हाल वीरगन्ज मुर्लीमा बसोबास गरिरहेकी बारा कलैयाकी स्थानीय बासिन्दा किरण साहले खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर आक्रोशित शैलीमा प्रश्न गरेकी थिइन् । वीरगन्ज स्थायी घर भएका मन्त्री यादव पर्सा–१ बाट निर्वाचित सांसद पनि हुन् । फोन संवादमा साहले मन्त्री यादवलाई धम्कीपूर्ण शैलीमा प्रश्न गरेकी थिइन् ।

    सोही संवादलाई लिएर मन्त्री यादवको सचिवालयले दिएको उजुरीका आधारमा पर्सा प्रहरीले उनलाई गत शनिबार पक्राउ गरेको थियो । उनीविरुद्ध मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह फैलाएको, विद्युतिय कारोवारसम्बन्धि अपराधमा गरी तीन वटा मुद्दा दायर गरेर अनुसन्धान गरेको थियो ।

    बिहीबार मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्जमा हैजा र किरण साहले दिएको धम्कीबारे लामो स्टाट्स लेखेर स्पष्टीकरण दिएका थिए । उनले आफ्नो स्टाट्मा सचिवालयमार्फत प्रहरी समक्ष नरम भइदिन संदेश पठाएको पनि उल्लेख गरेका थिए ।

    हैजाले प्रभावित साहलाई जनसरोकारको विषयमा चर्को स्वरमा धम्कीपूर्ण रुपमा आक्रोश पोखेकै कारण मन्त्री यादवले राजनीतिक पहुँच लगाएर महिलालाई प्रहरी हिरासतमा पुर्याएको भन्दै जनगुनासो र आक्रोश बढेको थियो ।

  • पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ- एकीकृत समाजवादी र नेकपासँग चाँडै एकता हुन्छ

    पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ- एकीकृत समाजवादी र नेकपासँग चाँडै एकता हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग चाँडै एकता हुने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दुवै दलसँग एकता प्रक्रिया अघि बढाइएको बताए।

    प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘नेकपासँग एकता गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ त्यही अनुसार छलफल चलिरहेको छ, नेकपासँग लगत्तै माधव नेपालजीको पार्टीसँग पनि एकता गर्छौँ।’

    माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। त्यो निर्णय प्रचण्ड आफैँले विप्लव निवासमै पुगेर जानकारी गराइसकेका छन्।

    नेकपामा जारी बैठकले माओवादीको निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकबाट एकताबारे निर्णय लिँदै छ। यता, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि प्रचण्ड निरन्तर संवादमा छन्।

    माधव नेपाल माओवादीसँग एकता गर्न तयार भएपनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित उनीहरूनिकट नेताहरू एकताको विपक्षमा छन्।

  • फेसबुक, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्न पत्र, गुगल परेन (सूचीसहित)

    फेसबुक, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्न पत्र, गुगल परेन (सूचीसहित)

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक,इन्स्टाग्राम,ट्वीटरसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा निष्क्रिय गर्न सरकारको निर्देशन अनुसार इन्रटनेट सेवा प्रदायकहरुलाई पत्र पठाएको छ ।

    सोही पत्रबमोजिम सेवा प्रदायकले निम्न २६ प्लेटफर्म बन्दै गर्दैछन् । यसमा गुगलबाहेक निम्न प्लेटफर्म छन् ।

  • संसदीय सुनुवाई समितिको सभापति रामहरी खतिवडा निर्विरोध

    संसदीय सुनुवाई समितिको सभापति रामहरी खतिवडा निर्विरोध

    काठमाडौं । रिक्त रहेको संसदीय सुनुवाई संयुक्त समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाको मात्रै मनोनयन दर्ता भएको छ ।

    उक्त समितिका सभापति इश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भएपछि रिक्त रहेको सुनुवाई समितिको सभापतिमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

    संघीय निजामती सेवा विधेयमा ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालिन सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

    राजिनामा दिए लगत्तै उनी संसदीय सुनुवाई समितिको सदस्यमा मनोनित भएका थिए । मनोनित भए लगत्तै सुनुवाई समितिको सभापतिका लागि मनोनयन दर्ता गर्न आव्हन भएकोमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

    काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रस्ताव रहेको खतिवडाको मनोयनमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला समर्थक रहेका छन् ।

    समितिको सभापतिमा मनोनयन दर्ताका लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने समयसिमा तोकिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

     

  • भौतिक पूर्वाधार मन्त्रालयबाट ५६ डिईहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    भौतिक पूर्वाधार मन्त्रालयबाट ५६ डिईहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागका सिभिल र हाइवे समूहका ५६ जना उपसचिव तहका इन्जिनियरहरुको सरुवा सूची निकालेको छ ।

    मन्त्रालयले आज एकैपटक ठूलाे  स‍‌ंख्यामा  डिईहरुकाे सरुवा गरेकाे हाे ।

  • एकाघरका दाजुभाई ब्राउन सुगरसहित पक्राउ

    एकाघरका दाजुभाई ब्राउन सुगरसहित पक्राउ

    दाङ । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका २१ वर्षीय पुष्कर घर्तीको साथबाट १ ग्राम ८ सय ६० मिलिग्राम र २७ वर्षीय कमल घर्तीको साथबाट ५ लागुऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

    दाङका प्रहरीका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार पुष्करलाई पहिले पक्राउ गरेको प्रहरीले उनको बयानका आधारमा कमललाई पक्राउ गरेको हो । पुष्कर र कमल सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ ।

  • एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

    एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्न लागेको छ ।

    सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले एडिबीसँगको सम्झौताअनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्न लागेको हो ।

    प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले धार्मिक पर्यटनमा जोड दिएको बताउँदै एसियाली विकास बैंकको रु २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने जानकारी दिए । “बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा रु सात करोड बजेट आएको छ”, उनले भने, “गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरेका थियौँ ।”

    प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसायी, होमस्टे (घरबास) प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार पर्यटकको सहजताका लागि कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा हेल्पडेस्क (सहायता कक्ष) सञ्चालनमा छन ।

    “प्रदेश सरकारले यहाँका पर्यटकीय गन्तव्यको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको छ”, उनले भने, “यसै वर्ष टिकापुरको विमानस्थल स्तरोन्नतिका लागि रु ७० लाख बजेट विनियोजन भएको छ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै प्रदेश सरकारको २५ प्रतिशत लगानीमा मझगाउँ विमानस्थल निमार्ण भइरहेको छ ।”

    मन्त्रालयका प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले प्रकृतिमा आधारित पर्यटनलाई विकास गर्न लागेको बताए । उनका अनुसार स्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेकाले पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको उनले उल्लेख गरे।

     

  • बाँके जिल्ला अदालतका नायब सुब्बा १२ हजार घुससहित पक्राउ

    बाँके जिल्ला अदालतका नायब सुब्बा १२ हजार घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा रामप्रसाद धमलालाई १२ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

    फैसलाको प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस तथा रिसवत मागेको सूचना एवं उजुरीका आधारमा धमलालाई पक्राउ गरिएको अख्तियारले जनाएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले धमलालाई नेपालगञ्ज उपमहानगरपालिका ९, शान्तिनगरस्थित यातायात चोकबाट आज रंगेहात पक्राउ गरेको हो ।

    धमलाले सेवाग्राहीबाट घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका नायब सुब्बा धमलामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

  • सुनसरीको झुम्का कारागारमा तीन जना कैदीको मृत्यु, दर्जन बढी सिकिस्त

    सुनसरीको झुम्का कारागारमा तीन जना कैदीको मृत्यु, दर्जन बढी सिकिस्त

    विराटनगर । सुनसरीको झुम्कास्थित कारागारमा तीन जना कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीन जनाको मृत्यु भएको हो ।

    कारागारमा दर्जन बढी यस्तै लक्षण भएका बिरामी छन् । कारागारमा रहेका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएकोमा स्वास्थ्यकर्मीको टोलीले बुधवार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज ८ का ४६ वर्षीय जलेश्वर यादव, सुनसरीको गढी गाउँपालिका ६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको सोही रोगबाट मृत्यु भएको हो । उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

    बुधवार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। सोमवार उराँव र राईको मृत्यु भएको थियो ।

    उराँवलाई शनिवार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा सोमबार उनीहरूको मृत्यु भएको हो ।

    तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कारागारमा स्वास्थ्य सञ्चालन गरिएको थियो । बुधवार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनले भने, ‘अहिले सम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भएको छ । चिकित्सकको टोलीले स्वास्थ्य प्रशिक्षण गरिरहेको छ ।

    जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँच पनि भइरहेको प्रशासनले जनाएको छ । चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निष्कर्ष निकालेको प्रजिअ मिश्रले जानकारी दिए । झुम्का कारागारका १ हजार ७९४ जना कैदी बन्दी रहेका छन् ।

  • पाताले छाँगो ठेक्का विवादः मेयर आचार्य नबोली हिँडे, एक जनामाथि खुकुरी प्रहार

    पाताले छाँगो ठेक्का विवादः मेयर आचार्य नबोली हिँडे, एक जनामाथि खुकुरी प्रहार

    पोखरा । पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई पोखरा महानगरको निर्णय कार्यान्वयन गर्न खोज्दा पुनः विवाद सिर्जना भएको छ ।

    सिसाको पुल लगायत पूर्वाधार निर्माण गर्ने र सञ्चालन पनि गर्ने गरी जिम्मा पाएको सेती क्यानोनिङ प्रालिले काम सुरु गर्न खोज्दा स्थानीयले अवरोध गरेका हुन् ।

    कम्पनीले आज संरचना निर्माण गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो । तर, स्थानीयले त्यसलाई बिल्थोल्न खोजेपनि थप विवाद हुन पुग्यो । स्थानीय तथा पार्टीका नेताले लगातार नाराबाजी गरेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कार्यक्रममा नबोली निस्किए । कम्पनीले केहि दिनअघि पनि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।

    त्यसपछि पनि स्थानीयले नाराबाजी र विरोध गरिरहे । विवाद बढ्दै जाँदा विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार हुन पुग्यो । खुकुरी प्रहार गर्ने बंशसिंह खवासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    २०३४ देखि छोरेपाटन माध्यमिक विद्यालयले भोगचलन गर्दै आएको पाताले छाँगो महानगरले ४० वर्षका लागि निजी कम्पनीलाई दिने सम्झौता गरेसँगै स्थानीयहरुले विरोध गर्दै आएका छन् । छोरेपाटन माविको आम्दानीको स्रोत बन्द हुने चिन्तामा उनीहरु विरोधमा उत्रिएका हुन् ।

    तत्कालीन नगर योजना समिति (पोखरा उपत्यका नगर विकास समिति) ले २०३४ चैत ३१ गते छाँगोको गेट, रेलिङ र भर्याङको सुधार गरी रेखदेख गर्ने गरी छोरेपाटन माविलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । त्यसयता त्यसको रेखदेखदेखि भोगचलन छोरेपाटन माविले गर्दै आएको थियो ।

    तर, महानगनरका तत्कालिन मेयर मानबहादुर जिसीले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता गरेपछि यो विवाद सिर्जना भएको हो । वर्तमान मेयर धनराज आचार्यले पनि उक्त निर्णयलाई स्विकृत दिएका थिए । महानगरको १७औं कार्यपालिका बैठकले पुरानो निर्णयलाई सदर गरेर ठेक्का दिने निर्णय गरेका थियो ।

  • यी हुन् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल ,कानून मानेर कुन कुन सूचीकृत भए ?

    काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारले निर्णय गरेसँगै सामाजिक सञ्जाल भित्र के–के पर्छन् भन्ने बहस सुरु भएको छ । कतिपयले त हामीलाई सम्पर्क गरेर नै के–के सामाजिक सञ्जाल बन्द हुन लागेका हुन् ? युट्युव पनि सामाजिक सञ्जाल हो कि होइन ? युट्युव पनि बन्द हुन लागेको हो र भनेर प्रश्न गरेका छन् ।

    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले सामाजिक सञ्जालका र सामाजिक सञ्जालका प्लेटफर्मलाई परिभाषित गरेको छ ।

    निर्देशिका अनुसार सामाजिक सञ्जाल भन्नाले सामाजिक सञ्जाल प्लेटफर्मले कम्प्युटर, इन्टनरनेट लगायतका विद्युतीय सञ्चार माध्यमबाट उपलब्ध गराएको सुविधा र विधि अनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप लगायतका सञ्जाललाई भनेको छ ।

    यस्तै सामाजिक सञ्जाल प्लेटफर्म भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदानप्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित फेसबुक, ट्वीटर (एक्स), वाट्सएप, भाइबर पिन्टरेस्ट,म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, लिंन्कडइन, विच्याट लगायतका सार्वजनिक रुपमा उपलब्ध हुनेगरी सञ्चालनमा ल्याइएका प्रणालीलाई भनिएको छ ।

  • सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

    सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेको छ ।

    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो ।

    दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि ने सूचीकरण भइसकेका छन् ।

    टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

    ती सामाजिक सञ्जालका कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गरिसकेको थियो ।

  • किसान श्रेष्ठको कटाक्ष- मन्त्रीलाई फोन गरौँ मुद्दा लगाइदेला भन्ने डर (भिडिओ)

    किसान श्रेष्ठको कटाक्ष- मन्त्रीलाई फोन गरौँ मुद्दा लगाइदेला भन्ने डर (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले सरकारबारे बोल्दा बाल्दै आफू थाकिसकेको बताए। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रश्न उठाउँदा मुद्दा लगाइदेला भन्ने डर लागेको पनि बताए।

    हैजाले वीरगन्ज आक्रान्त भएको विषय खानेपानी मन्त्री प्रदीप यादवलाई जानकारी दिँदै जिम्मेवारीमाथि प्रश्न उठाएकी युवती किरण साहमाथि मुद्दा लगाएको प्रसङ्गलाई लक्षित गर्दै उनले भने, ‘बढी बोलौँ, मन्त्रीलाई फोन गरौँला मुद्दा लगाइदेला भन्ने डर।’

    उनले पूर्वपश्चिम राजमार्गमा बाघको आतङ्क बढेको भन्दै नियन्त्रण गर्न सरकारले ध्यान नदिए प्रतिकारमा उत्रिने चेतावनी दिए।

  • निर्माणाधीन संसद भवनको निर्माण कार्यप्रति संसदीय समिति असन्तुष्ट

    निर्माणाधीन संसद भवनको निर्माण कार्यप्रति संसदीय समिति असन्तुष्ट

    काठमाडौं । संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ ।

    बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मीक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो ।

    अनुगमनका क्रममा सरकारले उपलव्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए ।

    अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने संकेत नदेखिएको उनले बताए । सभापति गैरेले समितिलाई सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको जिकिर गरे ।

    यस विषयमा छिटै समितिको बैठक बस्ने र तोकिएको क्यालेन्डर अनुसार काम नभएको प्रति छलफल गरेर आवश्यक निर्देशन दिने उनको भनाइ छ ।

  • पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

    पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

    म्याग्दी । पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।

    ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवनसहित भौतिक संरचना बगाएपछि किमबोटमा अस्थायी भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको हो ।

    आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा १३ कोठे कच्ची भवन बनाएर स्थानान्तरण गरिएको मालिका–४ का वडाध्यक्ष भिजेन्द्रमान पुनले बताए । “विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष रु दश लाख विनियोजन भएको छ”, उनले भने, ‘पहिरो रोकथामका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।’ चाररचार कोठे दुई वटा पक्की भवनमुनिको जमिन चर्कीएपछि ढल्ने अवस्थामा रहेका उनले जानकारी दिए ।

    ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । भिरालो पाखोमा रहेको विद्यालय भवनमाथि रहेको सडकको भल, भूमिगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो गएको स्थानीय बताउँछन् ।

    पहिरोले तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताए। “किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल व्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौँ”, उनले भने, “पुरानो भवनको ढुङ्गा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौँ ।”

    विद्यालयका प्रधानाध्यापक नविन कार्कीका अनुसार विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् । “कच्ची भवनको एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ । कोठा विभाजन, पलास्टर र रङरोगन तथा घेराबार गर्न बाँकी छ”, उनले भने।

    ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका थिए । पूर्वउपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाईले सरकारीको मापदण्ड अनुसार  ४४ लाख ७७ हजार मूल्य पर्ने उक्त जग्गा निशुल्क रूपमा उपलब्ध गराएपनि नाम राख्ने विषयमा विवाद देखिएको थियो ।

    वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरे पनि गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए ।

    पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गरेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले तत्कालीन रूपमा अस्थायी कक्षाकोठा व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाए ।

    जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नामसम्बन्धी विषयलाई टुङ्गो लगाउन आग्रह गर्दै उनले थप पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गर्ने बताए ।

     

  • सिङ्गापुरमा अमेरिकी भन्सार शुल्कको असर गहिरिँदै, निजी क्षेत्र प्रभावित

    सिङ्गापुरमा अमेरिकी भन्सार शुल्कको असर गहिरिँदै, निजी क्षेत्र प्रभावित

    सिङ्गापुरको निजी क्षेत्रको आर्थिक गतिविधिमा अगस्ट महिनामा निरन्तर सुधार देखिए पनि अघिल्लो महिनाको तुलनामा त्यो सुधारको गति केही सुस्त देखिएको छ ।

    एसएन्डपी ग्लोबलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, समायोजित खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) अगस्टमा ५१.२ अङ्कमा मापन गरिएको छ, जुन जुलाई महिनामा ५२.७ थियो ।

    पीएमआई ५० अङ्कभन्दा माथि रहँदा आर्थिक विस्तारको सङ्केत गर्दछ भने ५० भन्दा तल झर्दा सङ्कुचन देखिन्छ । यो सातौँ महिनासम्म लगातार भएको वृद्धिको सङ्केत हो, यद्यपि वृद्धिको गति केही मन्द भएको बताइएको छ ।

    एसएन्डपी ग्लोबल बजार विश्लेषण विभागकी अर्थशास्त्री जिङयी पानले जानकारी दिँदै भने,“तेस्रो त्रैमासिकको मध्यतिर आइपुग्दा पनि सिङ्गापुरको निजी क्षेत्र विस्तारकै चरणमा देखिएको छ, तर हाल अमेरिकाले गरेको भन्सार शुल्कका कारण व्यापारमा केही दबाब देखिएको छ ।”

    उनका अनुसार नयाँ अर्डरहरू हालको सात महिनाको अवधिमा सबैभन्दा सुस्त दरमा बढेका छन्, जसको प्रमुख कारण अमेरिकी शुल्कले व्यापारमा पार्ने असर हो । साथै, व्यवसायीहरूबीचको आत्मविश्वासमा पनि अघिल्लो महिनाको तुलनामा केही कमी आएको उल्लेख गरिएको छ ।

    रोजगारी, खरीद र भण्डारणको स्तर घट्दै गएकाले आगामी दिनहरूमा अझ सुस्तता आउने सम्भावना रहेको पनि प्रतिवेदनमा जनाइएको छ ।

    पानले थपे“कच्चा पदार्थको लागत बढ्नु र सामान तथा सेवाका मूल्य घट्नुले गर्दा कम्पनीहरूमा नाफामा थप दबाब परेको छ । यस्तो अवस्थामा बजार प्रतिस्पर्धा अझ कडा भएको देखिन्छ ।”

    त्यसैगरी, सिङ्गापुर खरीद तथा सामग्री व्यवस्थापन संस्थाले सार्वजनिक गरेको छुट्टै प्रतिवेदनअनुसार, देशको उत्पादन क्षेत्रको पीएमआई सूचकाङ्क जुलाई महिनाको तुलनामा ०।१ अङ्कले बढेर ५० पुगेको छ, जुन ‘अनिश्चित’ अवस्थामा रहेको सङ्केत हो ।

  • टिकटकमा हतियार प्रदर्शन गर्ने पक्राउ (टिकटकसहित)

    टिकटकमा हतियार प्रदर्शन गर्ने पक्राउ (टिकटकसहित)

    काठमाडौं । टिकटकमा हतियार देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

    मुस्ताङ, वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर १ घर भई स्वयम्भू बस्ने २१ वर्षीय कर्म साङ्पो ठकुरी पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी परिसर, भद्रकाली र प्रहरी बृत्त लैनचौरको टोलीले उनलाई ठमेलस्थित न्यू भान्सा होटलबाट पक्राउ गरेको हो । ठकुरीले होटलको चौथो तलाको कोठामा हतियार सिरकभित्र पोको पारेर राखेका थिए ।

    प्रहरीका अनुसार हर्नेट जस्तो देखिनेModel को TM-07K.K mdtsushirso JAPAN and foreign patents pending made in japan लेखेको हतियार बरामद भएको हो । अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

  • घर फर्किन थाले बाढीबाट विस्थापित दोधारा–चाँदनीका स्थानीय

    घर फर्किन थाले बाढीबाट विस्थापित दोधारा–चाँदनीका स्थानीय

    दोधारा चाँदनी । बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन् ।

    आइतरबारदेखिको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका विस्थापितहरु घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

    उनका अनुसार आज अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना घर फर्किएका छन् । त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयमा बसेका वडा नं ८ का  २५ घरपरिवारका ७० जना घर फर्किएको प्रवक्ता बोहराले जानकारी दिए ।

    “बस्तीमा जमेको पानी घटेपछि उनीहरु घर फर्किन थालेका हुन्”, उनले भने “दोधारा–चाँदनी नगरपालिका–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना जमुना आधारभूत विद्यालय जमुनाघाडीमा बसेका छन् ।”

    कञ्चनपुरमा आइतबारदेखि लगातार तीन दिन भारी वर्षा भएपछि जोगबुढा नदीको बाढी बस्तीमा पस्दा दोधारा–चाँदनी नगरपालिकाका ५२ वटा घर डुबानमा परेका थिए । सो डुबानमा १६५ जना विस्थापित भएका थिए । बाढीले वडा १० र ७ मा रहेको सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानमा परेका परेका थिए ।

    दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नं ३ पटराखल्लाका बाढी विस्थापित अझै विद्यालयमा रहेको बताए । “बस्तीमा पानी घटे पनि घरभित्र हिलो भएकाले  बस्न सक्ने अवस्था छैन”, प्रवक्ता धनाडीले भने, “उहाँहरू भोलीसम्ममा घर फर्किनुहुन्छ ।” विस्थापितको खानपानको व्यवस्थापन स्थानीय सङ्घसंस्थाको सहयोगमा दोधारा–चाँदनी नगरपालिकाले गरिरहेको छ ।

    महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

     

  • विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

    विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

    त्रिशूली। तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् ।

    विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

    उनको अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो । खोलाले बगाएर उनलाई करिब १०० मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए ।

    उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई जना बालिका र एक जना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन् । घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

     

  • नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गरेका थिए ।

    सो विधेयक, २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । यस्तै, २०८१ फागुन ५ गते सामान्य छलफल भएको थियो । यसैगरी, समितिमा दफावार छलफलका लागि २०८१ चैत १८ गते पठाइएको थियो । समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा गत असार ५ गते पेस भएको थियो ।

    यस्तै, गत असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । राष्ट्रियसभाले यही भदौ ६ गते पारित गरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको थियो ।

    सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा गृहमन्त्री लेखकले  वर्तमान सरकारले नागरिकलाई सहज एवं सरल रूपमा सेवा प्रवाहका लागि विभिन्न विधेयक प्रस्तुत गरेको र सङ्घीय संसद्ले प्राथमिकता दिएर अगाडि बढाएकामा धन्यवाद दिए ।

    संवैधानिक हकसँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा साथ छलफल गरेर समृद्ध बनाउन पहल गरेकामा उनले प्रशन्नता व्यक्त गरे । यो विधेयकले आमाका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र संविधानमा नै भएको व्यवस्थालाई कार्यान्वयनमा सहज भएको गृहमन्त्रीले स्पष्ट पारे । यो विधेयकले ऐतिहासिक प्रस्थान गरेको तर्क गर्दै उनले बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था हालसम्मकै महत्त्वपूर्ण व्यवस्था भएको उल्लेख गरे ।

    आमाको नामबाट नागरिकता लिन सकिने, आमाको मात्रै नाम राखेर नागरिकता लिन सकिने, विदेशमा रहँदा जन्मेको सन्तानलाई  नागरिक दिन सकिने व्यवस्था विधेयकमा गरिएको र सन्तानको हकलाई समेत स्थापित गरेको गृहमन्त्रीको भनाइ छ । नागरिकता प्राप्तिका लागि प्रक्रियागत सरलीकृत समेत गरिएको उनले सदनलाई जानकारी गराए।

    कुनै पनि नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नहोस् भन्नेतर्फ विधेयकले विशेष ध्यान दिएको, जन्मका आधारमा नागरिकता प्राप्त गरेकाहरूको सन्ततिलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

    विधेयकमा रहेको स्वघोषणाको व्यवस्था दुरूपयोग नहुनेमा आश्वस्त  तुल्याउँदै गृहमन्त्री विधेयक शीघ्र कार्यान्वयनमा जाने विश्वास दिलाए । गैरनेपालीले नागरिकता नपाउन् भन्नेमा सरकार सचेत रहेको गृहमन्त्रीले जानकारी दिए । उनले गैरआवासीय नेपाली नागरिकका सन्दर्भमा संविधान प्रदत्त व्यवस्थाअनुसार नागरिकता प्रदान गर्ने र आर्थिक तथा सांस्कृतिक अधिकार प्रदान गर्नका लागि छुट्टै कानुन सदनमा शीघ्र प्रस्तुत गरिने बताए ।

    त्यसअघि, सांसद वासुदेव घिमिरेले आमाको नाममा नागरिकता दिने अधिकार यस विधेयकले दिएको उल्लेख गर्दै लैङ्गिक समानताका आधारमा पनि महत्त्वपूर्ण रहेको र नेपाली नागरिकलाई सहज रूपमा नाकगरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको बताए ।

    सांसद श्यामकुमार घिमिरेले यस विधेयकले धेरै बालबालिका, किशोरले नागरिकताका लागि खेप्नुपरेको समस्यालाई समाधान गर्ने गरी व्यवस्था गरिएकाले यो महत्त्वपूर्ण रहेको बताए । नेपालको संविधानको भावना  र आशयलाई सम्बोधन गर्नेगरी विधेयक आएकाले नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएका नागरिकलाई सम्बोधन गरेको उल्लेख गरे।

    सांसद अमरेशकुमार सिंहले आमाको नामबाट नागरिकता पाउने व्यवस्था विधेयकमा गरिएकामा सरकारलाई धन्वयाद दिए । तराईको डोम, मुसहर समुदाय, दलित तथा कमजोर समुदायले लामो समयदेखि नागरिकता पाउन नसकेको अवस्थालाई पनि सम्बोधन गर्नुपर्ने धारणा राखे ।

    सांसद मैना कार्कीले एकल महिलाका सन्तानले सहज रूपमा नागरिकता पाउने व्यवस्थाले धेरै नागरिकताविहीनले न्याय पाउने बताइन् । सांसद प्रतिमा गौतमले लामो समयदेखि नागरिकता पाउन नसकेका नागरिकलाई सहज रूपमा नागरिकता प्रदान गर्नसक्ने व्यवस्था विधेयकमा गरिएकाले सरकारलाई धन्यवाद दिइन्।

    सांसद रञ्जुकुमारी झाले नागरिकताका प्राप्त गर्ने सन्दर्भमा विधेयकमा धेरै विषय सकारात्मक भए पनि केही विषयमा भने कमजोरी रहेको धारणा राखिन् ।

    विधेयकमा उल्लेख भएको सन्तानले बाबुको पत्तो नभएको भन्ने विषयमा स्वघोषणा गर्ने प्रावधान नराखेको भए पनि हुने थियो भन्ने तर्क गरिन्।

    सांसद पूर्णबहादुर घर्तीले नागरिकता वितरणमा रहेको अस्पष्टता हटाउने र नागरिकताविहीन नेपालीलाई सहज रूपमा पहिचान प्रदान गर्ने व्यवस्था विधेयकमा रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा गलत प्रयोग हुनसक्ने अवस्थाकोसमेत ख्याल गर्नुपर्ने धारणा राखे।

    सहजै रूपमा नागरिकता प्राप्त गर्ने प्रावधान राखिँदा राष्ट्रियतामा खलल आउनसक्नेतर्फ ध्यान दिनुपर्ने सांसद घर्तीको भनाइ छ ।

    सांसद हितराज पाण्डेले यो विधेयकले महिलाको सम्मान गरेको र आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको र कानुनमा प्रष्टता नभएकाले समस्या आउने गरेकालाई समेत सहज हुने धारणा राखे ।

    सांसद सहराज अहमद फारुकी, ज्वालाकुमारी साह, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमिल्सिना, प्रेम सुवाल, रामप्रकाश चौधरी, प्रकाश ज्वाला, जावेदा खातुन जागा, रामहरि खतिवडाले सो विधेयकका सम्बन्धमा धारणा राखेका थिए ।

     

  • मोर्चाको निष्कर्ष- मधेशलाई मरुभूमि बनाउने उद्देश्यले भूमि विधेयक ल्याइयो, प्रतिवाद गर्नुपर्छ

    मोर्चाको निष्कर्ष- मधेशलाई मरुभूमि बनाउने उद्देश्यले भूमि विधेयक ल्याइयो, प्रतिवाद गर्नुपर्छ

    राजविराज । संघीय लोकतान्त्रिक मोर्चाले सप्तरीको राजविराजमा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान गरेको छ। कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, भूमिसम्बन्धी ऐन र मधेशी अधिकारको विषय धारणा राखे।

    लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसीहरूको इतिहास सङ्घर्षपूर्ण रहेको उल्लेख गर्दै भूमि अधिकारका विषयमा मधेशी समुदाय एकजुट भएर लड्नुपर्नेमा जोड दिए। भूमि विधेयक मधेशी समुदायलाई आफ्नै भूमिमा अल्पसङ्ख्यक बनाउने षड्यन्त्रको रूपमा ल्याइएको बताए।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भूमि विधेयक मधेशलाई मरुभूमि बनाउने योजनाका साथ ल्याएको आरोप लगाए। उनले निर्वाचन क्षेत्र निर्धारणमा समान जनसङ्ख्याको आधारमा विभाजन गर्नुपर्ने माग राखे।

    राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियानको सन्देश सबैभन्दा पहिले नेताहरूले आत्मसात् गर्नुपर्ने बताए । सत्ता गठबन्धनलाई लोकतन्त्रको उपहासको संज्ञा दिँदै मधेशी मात्र नभई सबै उत्पीडित समुदाय एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चालाई कमजोर बनाउने प्रयास भएमा त्यसको प्रतिकार गर्न जनतालाई आह्वान गरे। भूमिविहीन र सुकुम्वासीका नाममा ल्याइएको विधेयक वास्तवमा भूमाफियाको हितमा रहेको टिप्पणी गरे।

    तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले हालको सत्ता गठबन्धनमा कुशासन र भ्रष्टाचार मौलाएको आरोप लगाए। उनले आन्दोलनकारीहरूमाथि लगाइएको झूटा मुद्दा तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरे।

    नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट मुक्ति दिलाउने एक मात्र उपाय सङ्घर्ष भएको बताइन्।
    जनजागरण अभियानको पहिलो चरणमा मोर्चाले देशका आठ स्थानमा गर्ने योजनाका साथ भदौ २० गते जनकपुरधाममा गर्दैछ।

  • पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू

    पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको भन्दै सडक आन्दोलनको तयारी गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

    अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रतिगमनलाई परास्त गर्न नयाँ आन्दोलन आवश्यक रहेको बताए।

    उनले भने, ‘अहिले हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको छ, विभिन्न कोणबाट, क्रान्तिका उपलब्धिको रक्षा गर्न र नयाँ क्रान्ति समाजवादतिर यो देशलाई डोर्‍याउन अब फेरि हिजो जनयुद्धमा जस्तै गरी महिलाहरूको सक्रियता सदन सरकार र सडकमा आउन जरुरी छ। समाजवाद र महिलामाथिको विभेद सदाको लागि अन्त्य गर्न आन्दोलनमा जानुपर्छ।’

    उनले अहिले संविधानमाथि पनि घात हुने हो कि भन्ने परिस्थिति बन्दै गइरहेको बताए। उनले अस्थिरता, अराजकता र भ्रष्टाचार अहिले संस्थागत हुँदै गइरहेको बताए।

  • जनमतले बोलायो राष्ट्रिय परिषद् समन्वय बैठक, तल्ला कमिटीले ३ पटक बैठक बसेको माइन्यूट ल्याउनुपर्ने

    जनमतले बोलायो राष्ट्रिय परिषद् समन्वय बैठक, तल्ला कमिटीले ३ पटक बैठक बसेको माइन्यूट ल्याउनुपर्ने

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण गर्ने भएको छ। भदौ ३० देखि आगामी असोज ५ गतेसम्म बैठक र प्रशिक्षण सञ्चालन हुने प्रवक्ता डा. शरद यादवले बताए।

    उनका अनुसार बैठक र प्रशिक्षणमा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरू सहभागी हुनेछन्। बैठकमा आउँदा कम्तीमा ३ पटक बैठक गरेको माइन्यूटको फोटोकपी लिएर आउन निर्देशन दिइएको छ।

    उनका अनुसार प्रशिक्षण कार्यक्रम बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा हुनेछ।

  • नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब ७२ करोडमा खुम्चियो

    नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब ७२ करोडमा खुम्चियो

    काठमाडौ‌ं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम  चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

    आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ६९, निर्जीवन बिमा  शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

     

  • दीपेन्द्रको वरियता खस्कियो

    दीपेन्द्रको वरियता खस्कियो

    काठमाडौं । आइसिसीको टी–२०आई वरियतामा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी स्थान खस्किएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउन्डरतर्फ एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेका हुन् । उनी यसअघि दोस्रो स्थानमा थिए ।

    अलराउन्डरतर्फ भारतका हार्दिक पान्ड्या शीर्ष स्थानमा कायमै छन्। अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएका छन्।

  • सार्वजनिक निकायमा महिला र दलितको न्यून प्रतिनिधित्वप्रति सांसदको ध्यानाकर्षण

    सार्वजनिक निकायमा महिला र दलितको न्यून प्रतिनिधित्वप्रति सांसदको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सीता मिजारले नेपालको संविधान, २०७२ को धारा ४२ र २८५ मा उल्लेखित समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयनमा सरकार चुकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा शून्य समयमा उनले विशेषगरी राज्यको स्वामित्वमा रहेका प्राधिकरण, बोर्ड, विकास समिति, कोष, परिषद्, प्रतिष्ठान, कम्पनी लगायतका सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन नगरिएकोमा आपत्ति जनाइन् ।

    सांसद मिजारले महिला र दलित समुदायको सवालमा अत्यन्तै विभेदपूर्ण व्यवहार र न्यून प्रतिनिधित्व देखिएको भन्दै सरकारबाट यस्तो विभेद कहिलेसम्म हुने भनी प्रश्न गरिन् ।

    उनले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै संवैधानिक अंग, सार्वजनिक संस्थान लगायतका सार्वजनिक निकायमा हुने नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तलाई पूर्ण रूपमा ख्याल गरी महिला तथा दलित समुदायको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन् ।

    मिजारले संविधानले नै निजामती सेवा लगायत सबै संघीय सरकारी सेवा र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिताको हक सुनिश्चित गरेको भए पनि व्यवहारमा त्यसको पालना नभएकोमा चिन्ता व्यक्त गरिन् ।

  • संरक्षणका अभावमा हुलाकी सडक किनारका बिरुवा ओइलाए

    संरक्षणका अभावमा हुलाकी सडक किनारका बिरुवा ओइलाए

    सिरहा । हुलाकी सडकअन्तर्गत सिराहाको औरही, बरियारपट्टि, तथा नवराजपुर गाउँपालिका क्षेत्रका सडक किनारमा वृक्षरोपणका लागि खर्च गरिएको लाखौँ रुपैयाँ बराबरको लगानी संरक्षणको अभावमा खेर गएको छ ।

    डिभिजन वन कार्यालय लहानले पछिल्ला दुई आर्थिक वर्षमा करिब ५१ लाख खर्च गरेर रोपेका अधिकांश बिरुवा सुकिसकेका छन्भने बाँचेका बिरुवा पनि ओइलाउने अवस्थामा पुगेका छन् । आर्थिक वर्ष ०८१/८२ मा बरियारपट्टि गाउँपालिका क्षेत्रमा ३९ लाख खर्चेर चार हजार ६५० बिरुवा रोपिएको थियो ।

    जसमध्ये रु २५ लाख बजेटमा बेर्नासहित र १४ लाख बजेतमा बेर्नाविना आँप, गुलमोहर, जामुनसहितका बिरुवा रोपिएको भए पनि आधाभन्दा बढी बिरुवा सुकिसकेको डिभिजन वन कार्यालयको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

    त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा औरही गाउँपालिका क्षेत्रको साढे छ किलोमिटर सडक किनारमा रु १२ लाख ५० हजार खर्चिएर गरिएको वृक्षरोपणमा समेत ठूलो संख्यामा बिरुवा सुक्न पुगेका छन् । कतिपय स्थानमा घारी र झाँडीले जेलेको अवस्था छ ।

    औरही गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले गणेशपुर चोक क्षेत्रमा रोपिएका करिब ५०० बिरुवामध्ये जम्मा ८०/९० वटा बिरुवा मात्र बाँचेको बताए । उनले भने, “वनले वृक्षरोपण त गर्छ, तर संरक्षणका लागि बजेट र कार्यक्रम नै राख्दैन लाखौँ खर्चिएर बिरुवा रोप्ने मात्रै काम भइरहेको छ ।’

    सहजा जरुवा खोलाको किनारमा टाँगिएको होर्डिङ बोर्डमा वृक्षरोपण विवरण त उल्लेख छ, तर वरपर बिरुवाको नाम निसान छैन । स्थानीय बासिन्दा चन्द्रदेव यादवले चिन्ता व्यक्त गर्दै भने, ‘वनको कागजमा बिरुवा देखिन्छ, तर जमिनमा हुँदैन । बिरुवा रोपिसकेपछि त्यसको संरक्षण पनि उत्तिकै जरुरी हुन्छ, तर त्यसमा ध्यान दिइएको पाइएन ।’

    अर्का स्थानीय सुनील यादवले वृक्षरोपण सफल बनाउन जनचेतनाको आवश्यकता औँल्याए । उनले बिरुवा हुर्किएर रुख भएपछि स्थानीयले नै लाभ उठाउँछन् भन्ने कुरा स्थानीयलाई बुझाउनुपर्नेमा जोड दिए ।

    डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भने स्थानीयको असहयोगका कारण बिरुवा संरक्षणमा समस्या आएको बताए । उनले भने, “बिरुवा उखेल्ने, ट्रिगार्ड चोर्ने, पानी हाल्न नदिनेजस्ता व्यवहारले धेरै बिरुवा नष्ट भएका छन् ।” उनका अनुसार बलौटे माटो, पानीको अभाव, गाईबस्तुको चरिचरण र मानिसको आवतजावतका कारण सडक किनारमा बिरुवा हुर्काउन थप चुनौती रहेको छ ।

    उनले भने, “अबदेखि रोपेपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर हेरचाहको लागि छुट्टै बजेट विनियोजन गरिन्छ ।”

  • कांग्रेसको प्रश्न- जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा कसरी आयो ?

    कांग्रेसको प्रश्न- जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा कसरी आयो ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी ओलीले लिपुलेक सम्झौताबारे कुरा राखेपछि चिनियाँ राष्ट्रपति सीले पन्छिने गरी जवाफ दिएको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालको सार्वभौमिकतामाथि अपेक्षित सम्मान नदिएको बताए।

    उनले भने, ‘प्रधानमन्त्रीले लिपुलेकबारे राख्नुभएको आपत्ति चीनको परराष्ट्र नोटमा कुनै उल्लेख छैन। बरु छलफलको एजेन्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा उल्लेख भएर आयो। किन र कसरी रु यसबारे प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्छ।’

    उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि रहेको बताए।

  • सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    भीमदत्तनगर । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो ।

    जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

    जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताए । उनले भारतसँग सीमा जोडिएका दोधराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।

    ‘भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ’, खड्काले भने, ‘सस्तो मूल्य र खुला सीमाका कारण आपूर्ति सहज हुने भएकाले अवैध रूपमा पनि आयात हुने गरेको छ, त्यसले नेपालमा पनि सङ्क्रमणको जोखिम बढाएको छ ।’

    सङ्क्रमण फैलिएमा यस क्षेत्रमा पालिएका सबै कुखुरा नष्ट गर्नुपर्ने भएकाले समयमै नियन्त्रणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ । सङ्क्रमण भएमा कुखुरा मर्ने, झोक्य्राउने, चारा नखानेलगायत लक्षण देखिने प्रमुख खड्काले जानकारी दिए । आफूले पालेका कुखुरामा यस्ता लक्षण देखिएमा तत्काल पशु विज्ञ वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन उनले सबै किसानलाई आग्रह गरे ।

    यसैबीच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतीय कुखुरालाई नेपाल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले भारतको उत्तराखण्ड राज्यको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको विभिन्न सञ्चारमाध्यमबाट पुष्टि भएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

    समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ । निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने केन्द्रका प्रमुख खड्काले जानकारी दिए।

    उनका अनुसार अनुगमनका क्रममा अवैध रूपमा सामग्री आयात गरेको पाइएमा त्यस्ता सामग्रीलाई कडाइका साथ नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने समितिले निर्णय गरेको छ ।

  • मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ

    मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    उनले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

    अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको छ ।

  • महोत्तरीमा अझै चल्दैछ रोपाइँ

    महोत्तरीमा अझै चल्दैछ रोपाइँ

    जलेश्वर । समयमा पानी नपरेर ढिलो गरी धान रोप्न सुरु गरेका जिल्लाका किसानहरू हालसम्म पनि रोपाइँमा व्यस्त छन् । आज पनि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ का किसान रोपाइँमा व्यस्त देखिन्छन् । रामआश्रे मण्डल, किताब कवारी, मनोज ठाकुर र असर्फी साहले करिब ३६ जना रोपाहार (धानरोप्ने)लगाएर रोपाइँ गराइरहेका छन् ।

    समयमा पानी नपरेकाले यस वर्ष यहाँ ढिलो गरी धान रोपाइँ सुरु भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ७६ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको हो ।

    पानी नपरेर बीउ डढ्ने, सिँचाइ समस्याका बीचमा गत साउन १५ गतेपछि पानी पर्न सुरु गरेपछि किसानले रोपाइँ सुरु गरेकामा हालसम्म करिब ७६ प्रतिशत सम्पन्न भइसकेको केन्द्रका प्रमुख देवानन्द रायले जानकारी दिए। उनले यो वर्ष यहाँका अधिकांश किसानले बासमति धान लगाएका छन् । बासमति धानको बोट कम सिँचाइमा पनि सप्रिने र उत्पादन दिने भएकाले किसानको रोजाइमा परेको उनले बताए ।

    दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको केन्द्रका प्रमुख रायले जानकारी दिए । उनका अनुसार हालसम्म पनि रोपाइँ भइरहेकाले यसवर्ष करिब ४० हजार हेक्टरमायसवर्ष धानखेती हुने अनुमान गरिएको छ ।

    प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुँवा र स्यालो ट्युवबेलको सहयोगमा केही मात्रामा धान रोपे पनि जिल्लाभरि गत साउन १५ गतेपछि मात्रै सबै क्षेत्रमा रोपाइँ सुरु भएको थियो ।

    गत वर्ष समयमा पानी परेकाले जिल्लाको कूल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएको थियो । गत वर्ष एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष भने सिँचाइ अभावका कारण उत्पादनमा केही कमी आउने अनुमान गरिएको केन्द्रका प्रमुख रायले बताए ।

  • उखु किसानको अनुदान कटौती नगर्न सांसद चौधरीको ध्यानाकर्षण

    उखु किसानको अनुदान कटौती नगर्न सांसद चौधरीको ध्यानाकर्षण

    काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् ।

    सांसद चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।

    सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदानप्रति किविन्टल ७० रुपैयाँलाई आधाले कटौती गरेपछि उखु किसान सरकारविरुद्ध आन्दोलित छन् ।उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफूलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् ।

    सांसद चौधरीले सरकारले दिँदै आएको अनुदान कुनैपनि बहानामा कटौती गर्न नपाइने भन्दै संसदमा बुलन्द आवाज उठाएका हुन् ।
    “कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, र त्यसैको महत्वपूर्ण हिस्सा उखु उत्पादन हो,” चौधरीले भने, “तर, विगत लामो समयदेखि किसानहरू आफ्नो उत्पादनको उचित मूल्य नपाई निराश हुँदै आएका छन्। यो नेपालको कृषि क्षेत्र र समग्र अर्थतन्त्रको लागि राम्रो संकेत हैन ।”

    उत्पादन लागत लगातार बढ्दो क्रममा रहेको र रासायनिक मलको अभावले किसान थप मर्कामा परेको उल्लेख गर्दै चौधरीले भने, “उखु र केरा बालिका लागि अन्य बालिको तुलनामा दोब्बर रासायनिक मल आवश्यक पर्छ, तर किसानले न्यूनतम मल पनि पाउन सकेका छैनन्।”

    चौधरीले सरकारद्वारा विगतमा उखु किसानलाई दिँदै आएको प्रति क्विन्टल ७० को अनुदान रकम कटौती गर्नु किसानका लागि पीडादायी भएको उल्लेख गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गरे।

    ‘उत्पादन खर्च धान्नै मुस्किल भइरहेको अवस्थामा आम्दानी सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण हो,’ चौधरीले भने। उनले हालै माइतीघरमा सञ्चालन भएको किसान आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै, सरकारले आफैं गरेको निर्णयबाट विमुख नहुन र किसानमैत्री नीतिहरू लागू गर्न आग्रह गरे।

    देशभरका उखु किसानले भदौ ८ देखि १३ गते सम्म राजधानीमा अनुदान कटौतीको विपक्षमा प्रदर्शन गरेका थिए ।तत्काल माग पुरा नभए राजमार्ग अबरुद्ध गर्नेघोषणासहित उनीहरु जिल्ला फर्किएका छन् ।यहि पृष्ठभूमिमा सांसद चौधरीले उखु किसानकामाग तत्कालपुरा गर्न सरकारलाई सचेत गराएका हुन् ।

    सांसद चौधरीले उखु किसान र केरा किसानका समस्याबारे विगत लामो समयदेखि संसदमा निरन्तर आवाज उठाउँदै आएका छन् । विगतमा पनि उनले उखु किसानलाई समयमा भुक्तानी दिलाउन ठुलो भूमिका खेलेका थिए। नेपालको कृषि क्षेत्रमा देखिने उत्पादन, बजार, मूल्य, मल तथा भुक्तानीका विषयमा चौधरीले संसद तथा विभिन्न सरकारी निकायहरुमा निरन्तर पहल गर्दै आएका छन् ।

    ‘सरकारले तत्काल अनुदान रकम उपलब्ध गराई किसानको श्रमको उचित सम्मान गर्नुपर्छ,’ चौधरीले जोड दिए।

  • कांग्रेस-एमालेलाई रास्वपाको चेतावनी: ०८४ मा जनताले हिसाब राख्छन्, तपाईँहरूले बोल्ने ठाउँ समेत पाउनुहुन्न (भिडिओ)

    कांग्रेस-एमालेलाई रास्वपाको चेतावनी: ०८४ मा जनताले हिसाब राख्छन्, तपाईँहरूले बोल्ने ठाउँ समेत पाउनुहुन्न (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षका सांसदहरूले उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको भन्दै असन्तुष्टि जनाए।

    उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर छरपस्ट पार्न थालिएको छ। यो शैलीको निन्दा गर्छु।’

    उनले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताए। उनले भने, ‘०८४ मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। त्यो हिसाब निकाल्नेछन्। लोकतन्त्र जुरुक्क उठ्नेछ। जनता बोल्छन् तपाईँहरू बोल्ने ठाउँ हुँदैन।’