Author: Matrika Poudel

  • चुनावी समीक्षा गर्न माओवादी पूर्वस्थायी समितिको बैठक बस्दै

    चुनावी समीक्षा गर्न माओवादी पूर्वस्थायी समितिको बैठक बस्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दैछ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।

    पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए ।

    स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।

    निर्वाचनमा तालमेल महानगर र उपमहानगरमा सन्तोषजनक भए पनि धेरै नगर र गाउँपालिका तहमा भने गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा भएको अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् ।

  • रुपन्देहीको रोहिणी खोलामा खस्यो यात्रुबस: नौ जनाको मृत्यु, २३ घाइते (भिडिओ)

    रुपन्देहीको रोहिणी खोलामा खस्यो यात्रुबस: नौ जनाको मृत्यु, २३ घाइते (भिडिओ)

    रूपन्देही । रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

    आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो । पाँचजनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

    जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताए ।

    भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुनसक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • कैलाली जिसस: उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति, कांग्रेससँग बेग्लै सम्झौता

    कैलाली जिसस: उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति, कांग्रेससँग बेग्लै सम्झौता

    कैलाली । कैलालीमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिल्ला समन्वय समितिका लागि सम्झौता गरेको नेकपा माओवादी केन्द्रले पुनः सत्तागठबन्धनसँग पनि सम्झौता गरेको छ ।

    जेठ ३० गते सम्पन्न हुने जिल्ला समन्वय समितिका लागि जेठ १९ गते माओवादी, एमाले र नागरिक उन्मुक्तिले लिखित सहमति गरेका थिए । तर, त्यसको दुई दिनपछि पुनः माओवादी केन्द्रले सत्तागठबन्धनसँग पनि समन्वय समितिका लागि लिखित सहमति गरेको हो ।
    शनिबार कैलालीका मसुरीयामा सम्पन्न बैठकमा समन्वय समितिका लागि तीन दलीय गठबन्धन गर्ने निर्णय भएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जानकारी दिए ।

    उनका अनुसार नेपाली कांग्रेसले प्रमुखसहित एक सदस्य, माओवादीको उपप्रमुखसहित तीन सदस्य र नेकपा एकीकृत समाजवादीको तीन सदस्य पाउने सहमति भएको छ ।

    यसअघि एमाले र नागरिक उन्मुक्तिसँग भएको सहमतिमा माओवादीले चार सदस्य पाउने सहमति गरेका थिए । नागरिक उन्मुक्तिले प्रमुखसहित २ सदस्य र एमालेले उपप्रमुखसहित २ सदस्य पाउने सहमति गरिएको थियो । उक्त निर्णयमा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का इन्चार्ज सुरेन्द्र देवकरले सहमति जनाएका थिए । उनीहरू दुवैजनाको हस्ताक्षरसहितको निर्णय सार्वजनिक भएको थियो ।

    शनिबार गठबन्धनमा माओवादीले तर्फबाट सम्झौता गर्नेमा माओवादीको तर्फबाट इन्चार्ज ज्ञवाली बैठकमा सहभागी भए पनि निर्णयमा सहभागी नभएको बताउँछन् । ‘उपस्थितिमा म सहभागी भएको हो तर, निर्णयमा म छैनँ’ उनले भने ‘मेरो पुरानो अडान छ ।’

    शनिबारको बैठकमा उनको उपस्थितिमा नाम लेखिएको भए पनि हस्ताक्षर भने छैन । सहमतिमा कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायण दत्त भट्ट, नेकपा एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य दीर्घ सोडारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य विरभान चौधरी र कृष्ण चौधरी, माओवादीका जिल्ला संयोजक विरमान चौधरी, नेकपा एकीकृतमा जिल्ला उपाध्यक्ष विमल जोशी र सचिव खडक रावत, कांग्रेसका जिल्ला सचिव केशव मिश्रले हस्ताक्षर गरेका छन् ।

    रोचक अंकगणित

    माओवादी केन्द्र गठबन्धनमै फर्किने निर्णयसँगै कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन थप रोचक हुने देखिएको छ । १३ पालिका भएको कैलालीका गठबन्धनका तीन दल मिल्दा १३ मत पुग्छ । यहाँ कांग्रेसको आठ मत, माओवादी केन्द्रको चार मत र एकीकृत समाजवादीको एक मत रहेको छ ।

    यता गठबन्धनइतर समूह अर्थात् एमाले र नागरिक उन्मुक्तिको सहमति यथावत् रहेको एमाले कैलालीका सचिव डेजी पाण्डेयले जानकारी दिए । यसो गर्दा कैलालीमा एमाले र नागरिक उन्मुक्तिको मत १२ पुग्न जान्छ । कैलालीमा एक जना स्वतन्त्र उम्मेदवार गोपाल हमालले भने अझैसम्म जिल्ला समन्वय समितिको विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

    गोपाल हमालले आफ्नो मत गठबन्धनलाई दिए गठबन्धनको मत १४ पुग्छ । एमाले–नागरिक उन्मुक्तिलाई दिए । दुवैको १३–१३ पुग्छ । स्वतन्त्र रूपमा निर्वाचन जितेका हमाल स्वतन्त्र बस्ने आँकलन गरिएको छ । उनी स्वतन्त्र रहे एमाले–नागरिक उन्मुक्तिको १२ र गठबन्धनको १३ पुग्छ ।

    गठबन्धनका अर्काे रोचक नतिजा कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीको कारण पनि हुनसक्ने अनुमान गरिएको छ । उनी गठबन्धनका उम्मेदवार लाजुराम चौधरीलाई हराउँदै कैलाली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवार बनेको भन्दै गठबन्धन र कांग्रेस दुवैले उनलाई कारबाही गरेको थियो । आफ्नो कारबाही फुकुवा नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनमा आफू तटस्थ बस्ने उनको घोषणा छ ।
    ‘मैले अहिलेसम्म क्लिन चिट पाएको छैन । ३० गतेसम्म त्यो आएन भने म तटस्थ बस्छु’ उनले भने ।

    उनी र गोपाल हमाल तटस्थ बस्ने अवस्थामा एमाले–नागरिक उन्मुक्तिको मत र गठबन्धनको मत बराबर हुन जान्छ । त्यसपछि थप रोचक हुने अनुमान गरिएको छ ।
    तर, कांग्रेस स्रोतले भने उनको कारबाही फिर्ता गराउन लागिपरेको जनाएको छ ।

  • वातावरण दिवसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्ः हरित मानवीय जीवन पद्दति आजको आवश्यकता

    वातावरण दिवसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्ः हरित मानवीय जीवन पद्दति आजको आवश्यकता

    काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वातावरण दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश जारी गरेका छन् ।

    वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हरित मानवीय जीवन पद्दतिको विकास नै आजको आवश्यकता भएको बताएकी छन् ।

    वातावरण संरक्षणमा सबै एकजुट हुन आग्रह गर्दै उनले सरोकारवाला सबै निकायबीच समन्वयन हुनपर्नेमा जोड दिएकी छन् ।

    शुभकामना सन्देशमा उनले भनेकी छन्–

    संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्‍व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दवाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको हो ।

    जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भई यस वर्षको विश्‍व वातावरण दिवस मनाइरहेका छौँ । हामीसँग पृथ्वी जस्तो सजीव ग्रह एउटै मात्र भएकोले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतिको रूपमा रहेको छ ।

    वातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय‚ राष्ट्रिय र स्थानीय स्तरमा विभिन्न नीति‚ योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरू समेत निर्माण गरेका छौँ । हाम्रा राष्ट्रिय प्रतिबद्धताहरू विभिन्न समयमा अभिव्यक्त भएका छन् । नेपाल आफैं ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएतापनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ । हाम्रो जस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको संकटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको संकट झेल्नु परिरहेको छ ।

    तसर्थ‚ हामीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुका साथै सतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानहरूको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक छ । हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्य मण्डलको सजीव पिण्डको रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहज रूपले चलिरहने आशा गर्न सकिन्छ । यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिवद्धताको अभियान चलाउन अत्यावश्यक भैसकेको छ । वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्‍वास लिएको छु ।

    अन्तमा, वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न संघीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अङ्गहरू, स्थानीय समुदाय, विकास साझेदार एवं सम्बद्ध सबैलाई धन्यवाद दिंदै पृथ्वीको रक्षा गर्ने महान लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आह्वान गर्दछु ।

     

  • मिस नेपालको फाइनलमा भिड्दै बुटवलकी डाक्टर डोटेल

    मिस नेपालको फाइनलमा भिड्दै बुटवलकी डाक्टर डोटेल

    रुपन्देही । चिकित्सा सेवामा रहेकी बुटवलकी डा. दिलाशा डोटेल मिस नेपाल– २०२२ को फाइनलमा भिड्ने भएकी छन् ।

    उनले बुटवलको न्यू होराइजन बोर्डिङ स्कूलबाट एसईई र प्लस टु गरेको कलेजका सहायक प्राचार्य गोपाल आचार्यले बताए । उनी चितवन मेडिकल कलेज सीएमसीबाट एमबीबीएस उत्तिर्ण गरी सोही कलेजमा कार्यरत छन् । डा. डोटेलसहित २४ जना युवती यो प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

    दिलाशा अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेसनलको चाइल्ड कोर्डिनेटर र ओरल हेल्थ नेपालको भाइस प्रेसिडेनटको रुपमा समेत सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

    डा. दिलाशाले खल्ती डटकम एपमार्फत आफूलाई धेरैभन्दा धेरै भोट दिएर मिस नेपाल २०२२ को फाइनलमा जिताउन अपिल गरेकी छन् । ४ असारमा प्रतियोगिताको फाइनल हुंदैछ ।

  • यूईएफए नेसन्स लिग: पहिलो खेलमै इंग्ल्यान्ड पराजित

    यूईएफए नेसन्स लिग: पहिलो खेलमै इंग्ल्यान्ड पराजित

    काठमाडौं । हंगेरीलाई १–० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।

    शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

    हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।

    जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा छ ।

  • अब मलेसियाका लागि श्रमस्वीकृतिपछि मात्रै स्वास्थ्य परीक्षण

    अब मलेसियाका लागि श्रमस्वीकृतिपछि मात्रै स्वास्थ्य परीक्षण

    काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला निकाय सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच भएको छलफलमा सरोकारवालाहरुले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    त्यसका लागि अबदेखि पूर्व श्रमस्वीकृतिका सबै प्रकृया पूरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ । अहिले श्रमस्वीकृतिको प्रकृया सुरु नहुँदै दैनिक हजारौं श्रमिकहरु बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् ।

    पूर्व श्रमस्वीकृतिका सवै प्रकृया पुरा गरी एलटी नम्वर आएपछि मात्र स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाहरुले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेछन् । नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि खुलेकोले स्वास्थ्य परीक्षणको लागि चाप बढेको स्वास्थ्य व्यवसायीहरुको भनाइ थियो ।

    छलफलमा स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधानका लागि स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सबै प्रकृया पूरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमअनुसार नगर्ने संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिक रुपमा मन्त्रालयमा बुझाउने निर्णय भएको थियो ।

  • डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा छ- सञ्चारमन्त्री कार्की

    डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा छ- सञ्चारमन्त्री कार्की

    काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

    सरकारले डिजिटल भुक्तानीलाई बढाउँदै आएको पनि उनको भनाइ छ । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ– २०२२ लाई सम्बोधन गर्दै कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकता रहेको बताएका हुन् ।

    कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने पनि मन्त्री कार्कीको भनाइ थियो ।

    उनले सूचना प्रविधिको विकासविना मुलुकको विकास असम्भव भएको समेत बताए ।

  • आजको संसदमा एमालेले मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस गर्ने

    आजको संसदमा एमालेले मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस गर्ने

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

    प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन् ।

    शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्यत्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।

     

     

     

  • वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

    वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

    कैलाली । पछिल्लो समय फेरि वाम गठबन्धनको चर्चा बढेको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै वाम गठबन्धनको चर्चा सुरु भएको हो ।

    कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि वर्तमान गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेपछि संसदीय निर्वाचनमा नयाँ गठबन्धन हुने शंका गरिएको हो ।

    देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका थिए ।

    ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौं, अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने ख्याल गरे हुन्छ’, उनले भनेका थिए, ‘कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ । हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौं ।’

    कांग्रेसलाई माओवादी अध्यक्ष दाहालले दिएको कडा चेतावनीले नयाँ राजनैतिक सिराको प्रारम्भका रूपमा धेरैले बुझेका छन् । यता एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट इमानदारिता नदेखिएको बताउँदै आइरहेको छ ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका थिए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।

    एकातर्फ गठबन्धनका मुख्य घटकहरूबाटै गठबन्धनप्रति असन्तुष्टि व्यक्त हुनु र अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर आएको भन्ने विषयले पनि नेपाली राजनीतिको कोर्स फेरिने संकेत गर्छ । तर, यी कुरामा भने त्यति धेरै आधार भेटिँदैन ।

    अहिले सम्भव छ त वाम गठबन्धन ?

    स्थानीय चुनावमा बलियो गढ मानिएको पोखरामा नै एमाले पराजित भयो । त्यसले एमाले पनि वाम गठबन्धनको पक्षमा छ कि भनेर अनुमान गर्नेहरु धेरै छन् । तर, एमाले नेतृत्व पंक्तिले त्यसलाई स्वीकारेको छैन ।

    एमाले नेताहरू कांग्रेससँग बार्गेनिङका लागि माओवादी र नेकपा एसले यस्तो अभिव्यक्ति दिइरहेको बताउँछन् । ‘एमालेले प्रचण्ड–माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरूको प्रस्ताव त हामीले अस्वीकार गरेका हौँ भने अहिले एमालेले उहाँहरूलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन’ एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेसलाई भनेका छन्, ‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजी मात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौँ ।’

    विभिन्न कार्यक्रमहरूमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे पनि नेपाल र दाहाल दुवैले तत्काल नै नयाँ गठबन्धनको सम्भव नभएको बताउँदै आइरहेका छन् । ‘सत्ता गठबन्धन दलहरूबिच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, माधव नेपालले सुर्खेतमा भनेका थिए , ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।’

    प्रचण्डको अभिव्यक्ति पनि योभन्दा फरक छैन । बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा दाहालले संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजान आफू तयार रहेको बताएका थिए । अरूले जेसुकै भने पनि गठबन्धन बचाएरै दुवै तहको निर्वाचनमा जाने उनको भनाइ थियो ।

    यस्तो छ दलहरूको बटमलाइन

    बजारमा वाम गठबन्धनको चर्चा चलिरहेको भए पनि अहिले गठबन्धन गर्ने भनिएका एमाले, माओवादी र एकीकृत समाजवादीले भने त्यो विषयलाई स्वीकार गर्न सक्दैनन् । उनीहरूले वाम गठबन्धनको चर्चा चर्चामा मात्रै सीमित रहेको बताउँछन् ।

    नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले तत्काल वाम गठबन्धन सम्भव नभएको बताए । उनले एमाले नेतृत्वबाट आत्मालोचना नभएसम्म गठबन्धन सम्भव नभएको बताए ।

    ‘पहिले नेकपा एमाले ठिक ठाउँमा आउनुपर्यो, अनि नेतृत्वले आफूले गरेको गलत कामको आत्मालोचना गर्नुपर्यो । त्यसपछि बल्ल सुरुवात हुन सक्छ’ उनले भने, ‘अहिलेसम्म त्यस्तो छैन । त्यसैले वामतालमेल अहिले तत्काल सम्भव छैन ।’

    माओवादी केन्द्रका नेता देव गुरुङले पनि वाम गठबन्धनको अहिले नै सम्भव नभएको बताए । तर, राजनीतिमा असम्भव भन्ने कुरा नभएको पनि उनको विश्लेषण छ । ‘अहिले तत्काल त्यो विषयमा कुनै कुरा भएको छैन’ उनले भने ‘असम्भव भन्ने कुरा राजनीतिमा हुँदैन तर, अहिले नै सम्भव हुने सम्भावना कम छ ।’

    मुख्य एजेण्डा छोडेर समसामयिक विषयमा अहिले छलफल गर्नुको औचित्य नरहेको उनले बताए । ‘लाइनको कुरा नगरी पद र प्रतिष्ठाको कुरा मात्रै लिएर एकता वा तालमेलको कुरा गर्नु उपयुक्त होइन’ उनले भने, ‘विगतका गल्तीहरुहरुको अत्मसमीक्षा गर्न तयारी हुने कि नहुने भन्ने कुरा आउनु पर्छ । पहिले लाइन प्रस्ट भएपछि सहकार्य वा मोर्चाबोन्दीको कुरा आउँछ ।’

    एकीकृत समाजवादी र माओवादी केन्द्रको जस्तै नेकपा एमालेले पनि तत्काल वाम एकताको अवस्था देखेको छैन । पछिल्लो समय प्रधानमन्त्री र वामएकताका विषय बार्गेनिङको माध्यम रहेको एमालेको ठहर छ ।

    प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘सबै हावादारी कुरा हो । कांग्रेससँग बढीभन्दा बढी सिट लिन र कांग्रेसलाई आगामी निर्वाचनमा धम्क्याउन फालिएको कार्डमात्र हो ।’

  • अझै सार्वजनिक भएन प्रधानमन्त्रीसँगै मन्त्रीहरूको सम्पत्ति विवरण

    अझै सार्वजनिक भएन प्रधानमन्त्रीसँगै मन्त्रीहरूको सम्पत्ति विवरण

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको छ ।

    सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानून व्यवस्था छ । यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।

    उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर सार्वजनिक गरिएको छैन ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाललगायत राजनीतिक दलको सहभागिता छ ।

    यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका केही मन्त्रीहरू ९प्रधानमन्त्रीसहित० ले मात्र सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ०७४ मा गठन भएको सरकारका मन्त्रीको सम्पत्ति विवरण २ महिनामै सार्वजनिक गरिएको थियो । तर, त्यसपछि नियुक्त भएका मन्त्रीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

    यद्यपि, ओली मन्त्रिपरिषद्‍मा दोस्रो पटक मन्त्री बनेका शेरबहादुर तामाङले भने दुवैपटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । मन्त्री बन्दा र सरकारबाट बाहिरिँदा गरी दुई पटक सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्री प्रदीपकुमार ज्ञवाली बनेका थिए ।

  • दुई वर्षअघिको श्रीलंकाकै स्थितिमा नेपाल, बजेट झन् खतरनाक !

    दुई वर्षअघिको श्रीलंकाकै स्थितिमा नेपाल, बजेट झन् खतरनाक !

    कुनै पनि देशको प्रमुख चालकशक्ति अर्थव्यवस्था वा अर्थप्रणाली हो अर्थात् अर्थव्यवस्था देशको इञ्जिन हो । यसलाई शरीरको रक्तप्रणालीसँग पनि तुलना गर्न सकिन्छ । रक्तप्रणालीमा समस्या उत्पन्न हुँदा शरीरमा विभिन्न समस्या पैदा हुन्छन् । हरेक अंगमा नकारात्मक प्रभाव पर्छ र अन्ततः समाप्त हुन्छ ।

    कोभिड–१९ महामारीले विगत दुई वर्ष यतादेखि विश्व अर्थतन्त्रमा अभूतपूर्व नकारात्मक प्रभाव परिरहेको छ । सबल र सक्षम भनिएका देशले समेत आर्थिक कठिनाइ झेलिरहेका छन् । त्यसमाथि रुस–युक्रेन युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी वृद्धि भएको छ । श्रीलंकाको आर्थिक संकटले यतिबेला विश्वको ध्यान खिचेको छ ।

    देशभित्रको चरम आर्थिक अव्यवस्था, चुलिँदो व्यापारघाटा र खस्किँदो रेमिट्यान्सका कारण यतिबेला नेपालमा विदेशी मुद्रा सञ्चिति दिनप्रतिदिन घट्दै गइरहेको छ । यो अवस्थाले भविष्यमा नेपालको अर्थतन्त्र धराशायी हुने हो कि भन्ने संशय छ, सर्वत्र ।

    अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) को पहिलो तीन महिनासम्म देशमा करिब चौध महिनाको आयात थेग्नसक्ने विदेशी मुद्राको सञ्चिति थियो । लकडाउनले गर्दा बन्द व्यापार ठप्प थिए । देशबाट बाहिरिने रकम नगन्य थियो । त्यसैले विदेशी मुद्राको सञ्चिति सन्तोषजनक थियो ।

    यतिबेला नेपालले विदेशबाट वस्तु तथा सेवा आयात गर्ने क्षमता झण्डै पचास प्रतिशतले गुमाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले हामीसँग करिब चार महिनाको आयातलाई मात्र धान्नसक्ने विदेशी मुद्रा सञ्चिति छ । यो भनेको श्रीलंकाको दुई वर्षअघिको अवस्था जस्तै हो । विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो र दीगो स्रोत हामीसँग छैन । यसरी विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा हामीले भविष्यमा अत्यावश्यक वस्तु र सेवासमेत खरिद गर्न नसक्ने परिदृश्य देखिँदैछ ।

    कृषिलाई प्राथमिकता, अनुदान कार्यक्रम, कृषिजन्य आयातलाई ३० प्रतिशतसम्म कम गर्ने भन्ने कुरा राम्रो छ । तर कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । वृद्धभत्ता दिने उमेर घटाउने कुरा प्रत्युत्पादक छ । सरकारी कर्मचारीको तलब वृद्धि गर्ने कुरा यो संकटको घडीमा व्यवहारिक होइन ।

    सरकार यस विषयमा मौन देखिन्छ । केपी ओली सरकारलाई जसरी पनि सत्ताच्यूत गर्ने उद्देश्यले निर्मित गठबन्धन र उसको सरकारले जेजस्ता आरोप लगाएर सरकार बनाएको थियो, त्यसलाई पुष्टि गर्ने आधार बनाउन सकेन । गठबन्धन सरकार निर्माणपछि अर्थतन्त्र झन् डामाडोल देखिएको छ ।

    नेपालको इतिहासमा नभएको बजेट होलिडेको प्रभाव जताततै परिरहेको छ । अर्थमन्त्रालय र सरकारको प्रमुख आर्थिक सल्लाहकार राष्ट्र बैंकबीच विश्वासको संकट छ । फरकफरक पृष्ठभूमि र स्वार्थबाट प्रेरित सत्तागठबन्धनले आशा जगाउने नीति, कार्यक्रम र योजना बनाउन सकिरहेको छैन ।

    पार्टी स्वार्थ र आसन्न निर्वाचनलाई ध्यानमा राखेर काम गरिरहेको छ । ‘सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौ’ भन्दै हौसिएर संसदमा भाषण गर्ने नेताहरु सत्तारोहणसँगै चुपचाप देखिएका छन् । पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय आयोजना र विकास निर्माणको श्रेय उसलाई नजाओस् भन्ने संकीर्ण सोच राख्दा पूँजिगत खर्च असाध्यै न्यून भयो ।

    अर्कातिर बैंकिङ प्रणालीमा तरलता अभाव चरम रुपमा देखिँदैछ । बैंकहरुको सापटी बजेटको आकारभन्दा माथि पुगेको छ । अनिवार्य नगद रिजर्भ राख्ने पैसा समेत छैन, उनीहरुसँग । अर्थतन्त्रमा देखापरेको यो संकट अल्पकालीन होइन । विगत दुई दशकदेखि नेपाली अर्थतन्त्रलाई बलियोसँग भरथेग गरिरहेको महत्वपूर्ण क्षेत्र वैदेशिक रोजगारीबाट प्राप्त भैरहेको रेमिटान्स घट्दै जानुले पनि अर्थतन्त्रको सम्भावित जोखिमलाई संकेत गर्छ । यसको स्थायी विकल्प अझै तयार हुन सकेको छैन ।

    वर्तमानमा देखिएको यस समस्याको दूरगामी प्रभाव मूल्यांकन गरी नीतिगत हिसाबले हस्तक्षेप नगर्ने हो भने हामी निकट भविष्यमा निस्कनै नसकिने कठिन दलदलमा फस्नेछौं । अर्थ मन्त्रालय हाँकिरहेका अर्थमन्त्रीलाई यो संवेदनशीलताले छोएजस्तो देखिन्न । वित्तीय अनुशासन कमजोर छ । अर्थतन्त्रको चक्रिय समस्याबारे बेखबर देखिन्छन्, अर्थमन्त्री । कोभिड प्रभावले थला परेका उद्योग व्यवसायको पुनरुत्थान गर्ने कुनै कार्यक्रम छैनन् बजेटमा ।

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधानले प्रत्याभूत गरेको समाजवादउन्मुख अर्थतन्त्र बनाउने कुरा हराएको छ भनेर स्वयं सत्तागठबन्धनका शीर्ष नेताले भन्दै छन् । यस्तो विषम परिस्थितिमा सरकारले सामुन्नेको संकटलाई पूरै नजरअन्दाज गरेर मीठा र काल्पनिक दूरगामी महत्वका महत्वाकांक्षी योजना ल्याएको छ । स्रोत र कार्यक्षमता बिर्सेर चुनावलक्षित पपुलिस्ट कार्यक्रम ल्याएको छ । मंसिरमा जसरी पनि प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसैले आर्थिक बर्ष २०७९ मा यो सरकारको आयु बढीमा छ महिना रहन्छ । वास्तविक रुपमा कार्यान्वयन गर्ने बेलामा अर्कै सरकार र अर्थमन्त्री आउने छन् । त्यस्तो अवस्थामा यो बजेटको के अर्थ रहला ? तैपनि बजेटमा प्रस्तुत भएका विषयउपर समीक्षा गरिनुपर्छ । किनकि बजेट अभिलेखमा रहने राजनीतिक दस्तावेज हो ।

    स्थिरता, उत्पादनशीलता उत्पादकत्व वृद्धि जस्ता उद्देश्य राम्रा छन् । तर यी उद्देश्य कसरी भेट्ने भन्ने ठोस योजना र कार्यक्रम छैन । बजेट छरपस्ट छ । आकार अस्वभाविकरुपमा ठूलो छ । यो बजेटले अर्थतन्त्रको संकटपूर्ण अवस्थालाई सम्बोधन गर्न सक्दैन । चुनावी वर्ष भएको हुँदा बजेटको ठूलो हिस्सा निर्वाचनमा खर्च हुनेछ । त्यसैले यो आवमा पनि पुँजीगत खर्च न्यून नै हुनेछ । सरकारको आम्दानी वा राजस्वले साधारण खर्चका लागि पनि नपुग्ने स्थिति छ ।

    पार्टी स्वार्थ र आसन्न निर्वाचनलाई ध्यानमा राखेर काम गरिरहेको छ । ‘सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौ’ भन्दै हौसिएर संसदमा भाषण गर्ने नेताहरु सत्तारोहणसँगै चुपचाप देखिएका छन् । पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय आयोजना र विकास निर्माणको श्रेय उसलाई नजाओस् भन्ने संकीर्ण सोच राख्दा पूँजिगत खर्च असाध्यै न्यून भयो ।

    विश्व बैंकका अनुसार अर्थतन्त्रको विश्वव्यापी वृद्धि सन् २०२१ को ५.५ प्रतिशतबाट घटेर २०२२ मा ४.१ प्रतिशत पुग्दैछ र अझ सन् २०२३ मा त ३.२ प्रतिशतमा झर्ने प्रक्षेपण छ । तर हाम्रो बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हुने आधारहिन तथ्यांक पेश गरेको छ । अर्थतन्त्रले लय समाएको कुरा अमूर्तरुपमा भनिएको छ । गतवर्षभन्दा १८ प्रतिशत बढी राजस्व संकलन गर्ने प्रक्षेपण हावादारी छ ।

    यतिबेला मुद्रास्फिति ७ प्रतिशत पुगेको छ । यो विगत पाँच वर्षकै उच्च हो । दैनिक उपभोगका अत्यावश्यक वस्तु तरकारी, खाने तेल, दाल, चामल आदिको मूल्य आकासिएको छ । आधारभूत आवश्यकता अन्तर्गतको अर्को क्षेत्र स्वास्थ्य सेवा र गैरखाद्य सामग्रीको मूल्य पनि चुलिएको छ । बेलैमा नियन्त्रण गर्ने उपाय नल्याउने हो भने यसै आर्थिक बर्षको अन्त्य सम्ममा मुद्रास्फिति झण्डै दोहोरो अंकमा पुग्ने निश्चित छ । तर बजेटमा महंगी ७ प्रतिशतमा नै सीमित रहने आधारहिन तथ्य प्रस्तुत गरिएको छ ।

    वीरगञ्ज–काठमाडौं रेल मार्ग बनाउने, काठमाडौंमा मेट्रो रेल संचालन गर्न सम्भाव्यता अध्ययन गर्ने कुरा समयसापेक्ष छैनन् । किनकि यी विषय पूर्ववर्ती सरकारको पालामा सर्बाधिक आलोचित विषय थियो । हिमाली सहर निर्माण गर्ने भन्ने योजनाको ठोस् आधार स्पष्ट छैन । यद्यपि पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने १० वटा नयाँ शहर आयोजना सञ्चालन गर्न ३ अर्ब १० करोड बजेट छुट्याइनु राम्रो पक्ष हो ।

    कृषिलाई प्राथमिकता, अनुदान कार्यक्रम, कृषिजन्य आयातलाई ३० प्रतिशतसम्म कम गर्ने भन्ने कुरा राम्रो छ । तर कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । वृद्धभत्ता दिने उमेर घटाउने कुरा प्रत्युत्पादक छ । सरकारी कर्मचारीको तलब वृद्धि गर्ने कुरा यो संकटको घडीमा व्यवहारिक होइन ।

    अघिल्लो सरकारले अघि सारेका महत्वपूर्ण योजनाहरु जस्तै सिद्धबाबा सुरुङ्ग मार्ग बनाउने कुरा, तिनाउमा बहुउद्देशीय सिग्नेचर पुल बनाउने कुरा, कालिगण्डकी पथान्तरणको कुरा यो बजेटमा पनि पर्नु सकारात्मक हो । विशेष आर्थिक क्षेत्र (सेज)लाई पूर्णरुपमा सञ्चालनमा ल्याउने कुरा, बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने कुरा, बुटवल औद्योगिक क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने भन्ने कुरा राम्रा छन् । तर १० हजार बिरुवा रोपेर हरित सहर बनाउने कुरा हावादारी छ । कार्यकर्ता भर्ती गर्ने र पोस्ने प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि स्वयं सेवक तयार गर्ने कुराले स्रोतसाधनको दोहन र दुरुपयोग मात्र हुन्छ । यी कार्यक्रमको उपादेयता छैन ।

    आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने कुरा राम्रो छ तर त्यसका लागि ठोस आधार र कार्यक्रम खोइ ? त्यस्तै १० हजार युवालाई उद्यमशीलता तालिम दिने कुरा अमूर्त छ । स्नातक र स्नातकोत्तर पास गरेका नवयुवालाई ९० दिनको अनिवार्य स्वयं सेवामा लगाउने कुरा गज्जब छ । खाना पकाउने एलपी ग्यासमा दिँदै आएको अनुदान घटाउने कुरा र एक परिवारलाई एक इण्डक्सन चुलो दिने कुरा राम्रो हो । तर लाखौंको संख्यामा आवश्यक पर्ने यस्तो चुलो आयात गर्दा ठूलो रकम बाहिरिने जोखिम रहन्छ । अर्को कुरा वितरणमा मनपरी नहोला भन्न सकिन्न । कोभिड महामारी र भूकम्पको बेला देखिएका अनियमितता दोहोरिने खतरा छ ।

    समग्रमा भन्दा बजेट वक्तव्य मिहिनेत गरेर लेखिएको असाध्यै राम्रो निबन्ध जस्तो छ । सुन्दा कर्णप्रिय लाग्छ । लगभग सबैकुरा समेटिएका छन् । तर व्यवहारिक रुपमा कार्यान्यन हुन्छ भनेर विश्वास गर्ने दरिलो आधार छैन । पपुलिष्ट कार्यक्रमहरु देख्दा लाग्छ यो वजेट गठबन्धन दलको लागि आगामी प्रदेश र संघीय चुनावको घोषणा पत्र हो कि ?
    (लेखक अर्थ मामिलामा चासो राख्छन्, प्रध्यापन पेसामा संलग्न छन् ।)

  • फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

    फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

    काठमाडौं । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका काठमाडौंका मेयर बालेन्द्र साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।

    त्यस्तै उनले फोहोरबाट इन्धन निकाल्न करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको पनि सुनाए ।

    कुहिने र नकुहिने फोहोर छुट्याउन काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

    मेयर साहले स्थानीयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताएका छन् ।

    मेयर साह र उपमेयर सनिता डंगोल आज बिहानै सिसडोल गएका हुन् । उनीहरुले हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए ।

  • सुर्खेतका नौ र दैलेखका ११ पालिकाले कति-कति पाए बजेट ?

    सुर्खेतका नौ र दैलेखका ११ पालिकाले कति-कति पाए बजेट ?

    सुर्खेत । संघीय सरकारले कर्णालीका ७९ ओटै पालिकामा आगामी आर्थिक वर्ष २०७९–८० का लागि बजेट पठाएको छ ।

    दैलेखको आठबीस नगरपालिकाले ३६ करोड ५१ लाख, दुल्लु नगरपालिकाले ५५ करोड ४१ लाख, चामुण्डा विन्द्रासैनी नगरपालिकाले ३२ करोड ८६ लाख बजेट पाउँदा नारायण नगरपालिकाले ४३ करोड ४९ लाख पाएको छ ।

    यस्तै, गुराँस गाउँपालिकाले ३९ करोड ४८ लाख, ठाटीकाँधले २७ करोड ४६ लाख, डुंगेश्वर गाउँपालिकाले २६ करोड ८४ लाख बजेट पाएको छ ।

    त्यस्तै, नौमुलेले ३५ करोड ५९ लाख, भगवतीमाई गाउँपालिकाले ३२ करोड ७३ लाख, भैरवी गाउँपालिकाले २७ करोड ९१ लाख र महावु गाउँपालिकाले २९ करोड २४ लाख बजेट पाएका छन् ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ८१ करोड २२ लाख बजेट पाउँदा गुर्भाकोट नगरपालिकाले ५१ करोड ८६ लाख पाएको छ ।

    पञ्चपुरी नगरपालिकाले ४३ करोड ९९ लाख बजेट पाउँदा लेकबेशी नगरपालिकाले ४४ करोड ४२ लाख बजेट पाएको छ । भेरीगंगा नगरपालिकाले ४७ करोड २९ लाख बजेट पाएको हो ।

    गाउँपालिकातर्फ चिङ्गाडले २६ करोड ७५ लाख बजेट पाउँदा चौकुनेले ३८ करोड ३६ लाख बजेट पाएको छ ।

    त्यस्तै, बराहताल गाउँपालिकाले ४० करोड ७३ लाख बजेट पाउँदा सिम्ता गाउँपालिकाले ४१ करोड ४२ लाख बजेट पाएको हो ।

  • एमाले महासचिवको प्रष्टीकरण: हामी सरकार ढाल्ने, बनाउने खेलमा छैनौं

    एमाले महासचिवको प्रष्टीकरण: हामी सरकार ढाल्ने, बनाउने खेलमा छैनौं

    रूपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको जनाएका छन्। सरकार परिवर्तनको चर्चा चलिरहेका बेला महासचिव पोखरेलले भनेका छन्– यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन। विकास र समृद्धिका लागि बलियो शक्ति निर्माणको तयारीमा जुट्दैछ।

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको सार्वजनिकरुपमै बताउन थालेपछि एमालेका शीर्ष नेताहरूले त्यसको खण्डन गरेका छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ठूलो पार्टी बनेर दम्भ देखाए एमाले अध्यक्ष ओलीलाई हटाएजस्तो सत्ताबाट हटाउने धम्की दिइरहेका छन्।

    कांग्रेसले भने आगामी निर्वाचनका लागि सिटका लागि प्रचण्डले बार्गेनिङ गरेको र आफूहरु हार्ने तर जनताविरुद्ध नजाने बताउँदै आएको छ।

    यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलले तत्काल वाममगठबन्धनको संभावना नरहेको र प्रचण्ड–नेपाललाई कुनै प्रस्ताव नगरेको बताएका थिए ।

  • फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न बालेन र सुनिता सिसडोलमा

    फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न बालेन र सुनिता सिसडोलमा

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् ।

    हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल गएको उपमेयर सुनिता डंगोलले बताइन् ।

    काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदा आएका मेयर साह चुनाव जितेलगत्तै पनि सिसडोल पुगेका थिए । मेयर साह र उपमेयर डंगोल एकैचोटि सिसडोल पुगेको यो पहिलोचोटि हो ।

    डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् ।

  • स्वरोजगार कोषले दियो ब्याजअनुदान वितरणमा तीव्रता, देशभर एक करोड बाँडियो

    स्वरोजगार कोषले दियो ब्याजअनुदान वितरणमा तीव्रता, देशभर एक करोड बाँडियो

    काठमाडौं । युवा स्वरोजगारकोषले पछिल्लोसमय ‘असल व्यवसायी’हरूलाई ब्याजअनुदान दिने क्रम तीव्र पारेको छ ।

    कोषले बिहीबार भक्तपुर जिल्लाको सूर्यविनायकस्थित प्रकृति सहकारीसंस्थामा आवद्ध व्यवसायीहरूलाई करिब ३ लाख रूपैयाँ ब्याजअनुदान बाँडेको हो । कोषको तर्फबाट अनुसन्धान, कार्यक्रमप्रवर्द्धन तथा सूचनाप्रविधि शाखाप्रमुख नारायणदत्त देवकोटाले उक्त परिमाणको रकम बाँडेका हुन् ।

    कोषसँग थोककर्जा सम्झौता गरी प्रकृति सहकारीले लगानी गरेकोमध्ये १७ जना व्यवसायीलाई २ लाख ७२ हजार रूपैयाँ एक कार्यक्रमबीच वितरण भएको हो ।

    केहीदिनअघि पनि कोषका कार्यकारीनिर्देशक विश्वमोहन अधिकारीले एक कार्यक्रमबीच काठमाडौंस्थित तारकेश्वरमा रहेका काभ्रेस्थली कृषि र युवक कृषि सहकारीका सदस्यलाई ५ लाख ३ हजार रुपैयाँ ब्याजअनुदान वितरण गरेका थिए ।

    कोषले चालु वर्षको जेठसम्ममा १ करोड ६ लाखभन्दा धेरै रूपैयाँ ब्याजअनुदान वापत वितरण गरिसकेको छ । कोषले मुलुभरका करिब २३ शय वित्तीय संस्थामार्फत करिब ११ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ ।

    वित्तीय संस्थामार्फत् लगेको कर्जा नियमितरूपमा साँवाब्याज तिर्नेलाई कोषले ‘असल व्यवसायी’ मान्दै आएको कोषले ‘असलव्यवसायी’लाई ६० प्रतिशत ब्याज फिर्ता गर्ने प्रावधान राखेको छ ।

    कोषका कार्यकारीनिर्देशक विश्वमोहन अधिकारीले ‘असल व्यवसायी’लाई ब्याजअनुदान दिने नीति अख्तियार गर्दै आएको बताए ।

    कोषले मुलुकभरका विभिन्न जिल्लास्थित सहकारी तथा वित्तीय संस्थामार्फत् ९ अर्ब कर्जा प्रवाह गरी करिब ९८ हजार रोजगारी सृजना गरेको दाबीसमेत गरेको छ ।

  • बजेट: गण्डकीलाई सबैभन्दा कम, कर्णाली प्राथमिकतामा

    बजेट: गण्डकीलाई सबैभन्दा कम, कर्णाली प्राथमिकतामा

    सुर्खेत । संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तरगत आर्थिक वर्ष २०७९–८० का लागि बजेट पठाएको छ ।

    अर्थ मन्त्रालयले प्रदेशमा पठाएको बजेटअनुसार सबैभन्दा बढी वागमती प्रदेशले पाएको छ । वाग्मती प्रदेशले २० अर्ब ३२ करोड ६६ लाख बजेट पाउँदा सबैभन्दा कम गण्डकी प्रदेशले पाएको छ । यो प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख बजेट अर्थ मन्त्रालयबाट पाएको छ । यस्तै, प्रदेश नम्बर एकले १९ अर्ब नौ करोड ९१ लाख बजेट पाएको छ भने मधेस प्रदेशले १९ अर्ब १५ करोड नौ लाख रुपैयाँ बजेट पाएको छ ।

    लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख बजेट पाउँदा कर्णालीले १८ अर्ब ३० करोड ६१ लाख पाएको छ । सुदूरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड ८३ लाख बजेट पाएको छ ।

    कर्णाली प्रदेशले समानीकरण अनुदानमार्फत न्यूनतम अनुदानअन्तरगत एक अर्ब ७९ करोड ८९ लाख पाएको छ भने सुत्रमा आधारित अनुदानबाट ८ अर्ब ५९ करोड ९१ लाख पाएको छ । त्यस्तै कार्यसम्पादनमा आधारित अनुदान ३१ करोड ७४ लाख पाएको छ ।

    सशर्त अनुदान ६ अर्ब ९८ करोड ८० लाख पाउँदा विशेष अनुदान शीर्षकमा ७९ करोड ७८ लाख रुपैंया पाएको छ । त्यस्तै, समपूरक अनुदान पुंजीगततर्फ कर्णालीले ७६ करोड ५० लाख पाएको छ ।

  • यसरी भीषण आगलागीबाट जोगियो नेपाली रेल

    यसरी भीषण आगलागीबाट जोगियो नेपाली रेल

    जनकपुरधाम । जयनगर–जनकपुर चल्ने नेपाली रेल भीषण आगलागीबाट जोगिएको छ ।

    जनकपुर आउने तयारीमा रहेका नेपाली रेलमा भारत विहारको जयनगरमा आगो लागेको थियो । आगो लागेको तत्कालै थाहा पाएपछि यात्रुको भाभाभाग भएको थियो । र कर्मचारी र भारतीय प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

    रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेलको सिटमाथि रहेको समान राख्ने बाकसमा यात्रुले प्रतिबन्धित एसिड राखेका थिए । सो एसिड चुहिएर सिटमा आगो लागेको थियो ।

    ‘समयमा थाहा नभएको भए रेलमा भीषण आगो लागेर ठूलो क्षति हुने थियो, महाप्रबन्धक झाले भने, ‘तर तत्कालै थाहा पाएर नियन्त्रणमा लिएर सामान्य क्षति मात्र भयो ।’

    एसिड कसले राखेको थियो भन्ने कुरा खुल्न सकेका छैन । महाप्रबन्धक झाले एसिड राखेको आशंकामा दुई महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको जिम्मा लगाएको बताए ।

    उनका अनुसार रेल जनकपुर आइसकेको छ ।

  • महानगरलाई संघीय अनुदान: भरतपुर प्राथमिकतामा, विराटनगर उपेक्षामा

    महानगरलाई संघीय अनुदान: भरतपुर प्राथमिकतामा, विराटनगर उपेक्षामा

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तीय हस्तान्तणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपूरक गरी १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान दिएको छ ।

    अघिल्लो वर्ष छ वटा महानगरपालिकालाई १० अर्ब नौ करोड २८ लाख रुपैयाँ अनुदान दिइएको थियो । यसपटक महानगरलाई दिने अनुदानमा २२ करोड एक लाख रुपैयाँ अनुदान बढाइएको हो । महानगरलाई अनुदान बढाइँदै गर्दा भरतपुर महानगरपालिकालाई प्राथमिकता दिइएको छ ।

    सत्ता गठबन्धनका पाँच दलमध्ये नेकपा (माओवादी केन्द्र) विजयी भएको एक मात्र महानगरपालिका भरतपुरलाई अर्थमन्त्री जनार्दन शर्माले प्राथमिकता दिएका हुन् । भरतपुरको प्रमुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल निर्वाचित भएकी थिइन् । अर्थमन्त्री शर्मा पनि माओवादी केन्द्रकै नेता हुन् ।

    भरतपुर महानगरपालिकाले आगामी आवको लागि एक अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ । चालु आवमा भरतपुरले एक अर्ब ६४ करोड २८ लाख पाएको थियो । भरतपुरलाई १५ करोड ९६ लाख रुपैयाँ अनुदान बढाइएको हो । महानगरहरुलाई थपिएको अनुदानमध्ये भरतपुरलाई मात्रै ७२ प्रतिशत अनुदान दिइएको छ ।

    पोखराले आगामी आवको लागि दुई अर्ब ५८ करोड ४६ लाख अनुदान पाएको छ । यस आवमा दुई अर्ब ५६ करोड १६ लाख अनुदान पाएको थियो । पोखरालाई जम्मा दुई करोड ३० लाख रुपैयाँ अनुदान बढाइएको हो ।

    काठमाडौँले आगामी आवको लागि दुई अर्ब तीन करोड ९९ लाख अनुदान पाएको छ । यस आवमा दुई अर्ब एक करोड ३७ लाख पाएको थियो । काठमाडौँलाई जम्मा दुई करोड ६२ लाख रुपैयाँ अनुदान बढाइएको छ ।

    ललितपुरले आगामी आवको लागि एक अर्ब २१ करोड ८९ लाख रुपैयाँ अनुदान पाएको छ । यस आवमा एक अर्ब २२ करोड ५४ लाख रुपैयाँ अनुदान पाएको थियो । ललितपुरलाई दिइने अनुदानमा यस पटक ६५ लाख रुपैयाँ अनुदान घटाइएको छ ।

    त्यस्तै, वीरगञ्जले आगामी आवको लागि एक अर्ब ४४ करोड ८६ लाख रुपैयाँ अनुदान पाएको छ । यस आवको लागि वीरगञ्जले एक अर्ब ४५ करोड ४० लाख पाएको थियो । वीरगञ्जको अनुदानमा ५४ लाख रुपैयाँ अनुदान कम गरिएको छ ।

    विराटनगरले आगामी आवको लागि एक अर्ब २१ करोड ८५ लाख पाएको छ । यस आवमा एक अर्ब १९ करोड ५३ लाख रुपैयाँ पाएको थियो । विराटनगरलाई दुई करोड ३२ लाख रुपैयाँ अनुदान बढाइएको छ ।

  • बजेटपछि लुम्बिनी सरकार हेरफेरको तयारी, को-को छन् मन्त्रीको लाइनमा ?

    बजेटपछि लुम्बिनी सरकार हेरफेरको तयारी, को-को छन् मन्त्रीको लाइनमा ?

    रुपन्देही । लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धन सरकारको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाको मुख्यमन्त्री बन्ने योजना पूरा नहुने भएको छ ।

    साउन २८ गते एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा अहिलेको सरकार बनेको थियो । त्यतिबेला माओवादी र कांग्रेसबीच पहिलो चरणमा माओवादी नेता केसी मुख्यमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस नेता कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको थियो । तर मुख्यमन्त्री केसीले सहमति भएको समयमा छोडेनन् ।

    ‘पहिले सजिलै माओवादीले दिएन, त्यसपछि स्थानीय तहको निर्वाचन आइहाल्यो, अब नयाँ निर्वाचनको मितिका विषयमा छलफल हुन थाल्यो, माओवादीले त्यो समयमा भएको सहमतिअनुसार नेतृत्व छाड्नुपर्ने हाम्रो आग्रहलाई कमजोरी ठानियो’, कांग्रेसका एक सांसदले भने ।

    सत्तासाझेदार माओवादी र कांग्रेसबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागूू भएको भए फागुनमै मुख्यमन्त्री परिवर्तन भइसक्थ्यो । तर, केन्द्रीय राजनीति निर्वाचनतर्फ केन्द्रीत भएकाले मुख्यमन्त्री परिवर्तनको प्रदेश तहको समझदारी तोडिएको हो ।

    लुम्बिनीमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसी स्वयम्ले मुुख्यमन्त्री पद कुनै पनि हालतमा नछाड्ने मनिस्थितिमा थिए । केन्द्रीय राजनीति र स्थानीय तहको निर्वाचनले केसीले प्रदेशमा कांग्रेससँगको सहमति पालना गर्नुुपर्ने बाध्यता टरेको हो । तर, सत्तासाझेदार कांग्रेसभित्र भने एक पक्ष मुख्यमन्त्री फेर्नुुपर्ने लबिङमा अहिले पनि लागेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले बेला बेलामा सरकार परिवर्तनको कुरा उठाउने गर्छन् । उनले फागुनअघि नै कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

    तर गृहमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले समेत कांग्रेसबाट प्रस्तावित वीरेन्द्र कनौडियालाई मुुुख्यमन्त्री बनाउने चाहना नराखेकाले मुख्यमन्त्री फेर्ने प्रदेशका कांग्रेस नेताहरुको प्रयास असफल बनेको हो ।

    माघको अन्तिमतिर यो विषय कांग्रेसका नेताहरुले उठाएका थिए । तर माओवादीका नेताहरुले सजिलै नछाड्ने संकेत दिएपछि कांग्रेस संसदीय दलले औपचारिक पत्र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको थियो ।

    मन्त्री बन्न कुरिरहेका सांसद

    कांग्रेस र माओवादीभित्र ८ महिनामा सरकार फेरिने भएपछि साउनमै मन्त्री बन्ने पालो कुरिरहेकासांसदहरुले यो विषय पेचिलो ढंगले उठाइरहेका छन् । धेरै सांसदहरुलाई मन्त्रीको भाग पुर्याउने आश्वासन नेताहरुले दिएका थिए । कांग्रेसका एक सांसुद भन्छन्, ‘साउनमा ८ महिनापछि तपाईं मन्त्री बन्ने भनेर फकाइयो, अहिले त चालचुल छैन, चुनावी समयमा मन्त्री बन्ने भनेर त्यो बेला छोडेको हो ।’

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० जना सांसद छन् । जसमध्ये १३ मन्त्री र ४ राज्यमन्त्री गरी १७ जनाको मन्त्रीमण्डल छ । यसअघि साढे ३ वर्ष ७ मन्त्रालयबाट काम भएको लुम्बिनीमा भागवण्डाका लागि मन्त्रालय थपिएको विषयमा आलोचना भइरहेको छ ।

    ८० सांसदमध्ये एमालेका ३६, कांग्रेसका १९, माओवादी केन्दका सभामुखसहित १८, जसपाका ४, नेकपा एसका १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र (सूर्य चुनाव लिएर जितेका)१ छन् ।

    मन्त्रीमण्डलमा जसपाका ३, स्वतन्त्र १, नेकपा एसका १ माओवादीका मुख्यमन्त्रीसहित ४ मन्त्री दुई राज्यमन्त्रीसहित ६, कांग्रेसका ४ मन्त्री ३ राज्यमन्त्रीसहित ७ मन्त्री गरी १७ सदस्यीय छन् ।

    लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती तीनै मुख्य पदमा माओवादीबाट प्रतिनिधित्व भएको छ । तेस्रो दलले सबै पद राखेको भन्दै शक्ति सन्तुलन नमिलेको भन्दै धेरैपटक आलोचना भएको छ ।

    बजेटपछि मन्त्री फेर्ने तयारी

    लुम्बिनी प्रदेशमा बजेट ल्याएलगत्तै मन्त्री हेरफेर हुने भएको छ । नयाँ बजेट ल्याउने संघारमा भएकाले बजेट अगाडि मन्त्री हेरफेर हुने छैनन् । तर, त्यसलगत्तै गठबन्धन दलले मन्त्रीहरु फेर्ने गरी तयारी थालेका छन् । मन्त्री फेरिनेमा कांग्रेस माओवादीका नै हुनेछन् । असार १ गते प्रदेश सरकारले बजेट ल्याएलगत्तै मुख्यमन्त्री नभएपनि अधिकांश मन्त्रीहरु फेरिनेछन् ।

    को–को फेरिँदैछन् मन्त्रीहरु ?

    लुम्बिनीमा अहिले १७ सदस्यीय मन्त्रिमण्डल छ । जम्बो मन्त्रिमण्डल बनेपनि सरकारको काम कारवाही भने निकै सुुस्त छ । एकातर्फ सरकारको गति बढेको छैन भने अर्कोतर्फ मन्त्रीहरुले समेत काम देखाउनै सकेका छैनन् ।

    कतिपय मन्त्रालय फुटाएर नयाँ बनाएकाले बजेट मात्रै होइन, गतिलो बस्ने कार्यालय समेत नपाएको गुनासो मन्त्रीहरुको छ । मुख्यमन्त्रीकै कामप्रति गठबन्धनमा असन्तुुष्टि भइरहेको बेला मन्त्रीहरुलाई हेरफेरको कुरा भइरहेको छ । अर्थमन्त्री कृष्णध्वज खड्काको काममै माओवादीका नेताहरुले विरोध गरेका छन् ।

    खड्कासहित मन्त्रीहरु सुरेन्द्र हमाल, विरबहादुर राना, तिलकराम शर्मालाई परिवर्तन गर्नेबारेमा छलफल चलेको छ । कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुुख्यमन्त्री केसीले परिवर्तन गर्न चाहेका छैनन् । तर, कांग्रेसकै एउटा समूूह उनलाई पनि हटाउनुपर्ने पक्षमा छ ।

    जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना र नेकपा एसका मन्त्री भने तत्काल हट्ने सम्भावना छैन । कांग्रेसबाट अष्टभुजा पाठक, निर्मला क्षेत्री, फकुरुद्दिन खान, बैजनाथ कलबार नयाँ मन्त्री बन्ने लाइनमा छन् भने माओवादीबाट सुदर्शन बराल, दामा शर्मा, दीपेन्द्र पुनलाई सरकारमा पठाउनेगरी छलफल चलाइएको छ । तर अहिले भएका मन्त्री कसले छोडेर कसलाई पठाउने भन्ने विषयमा दलहरुबीच रस्साकस्सी चलेको छ ।

  • बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

    बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य पाँचदलीय गठबन्धनबाट निर्वाचित भएका छन् । नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

    कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाअध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए । कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, वसन्ती विक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा एकीकृत समाजबादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार विजयी भएका हुन् ।

    एमालेका सबै उम्मेदवार पराजित भएका छन् । यहाँको मेयरमा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएका छन् । १९ वडा रहेको उपमहानगरमा ५ वटा वडाध्यक्ष मात्रै एमालेले जितेको छ ।

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घट्यो

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घट्यो

    काठमाडौं । भारतबाट हिजो पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएपछि आज नेपाल आयल निगमाले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्राल डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घटेको छ ।

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया मूल्य घटेको उल्लेख गरेको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०रुपैँया र डिजेल तथा मट्टितेलको मूल्य १ सय ५३ रुपैँया पर्नेछ ।

    सरकारले १० रुपैँया पूर्वाधार कर घटाएसँगै निर्णय गरेसँगै मूल्य पनि घटेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलको प्रतिलिटर १० रुपैँया मूल्य घटेको छ ।

  • जिससको लागि कैलालीमा नागरिक उन्मुक्ति, एमाले र माओवादीको सहमति

    जिससको लागि कैलालीमा नागरिक उन्मुक्ति, एमाले र माओवादीको सहमति

    कैलाली । कैलालीमा जिल्ला समन्वय समितिको लागि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति, एमाले र माओवादी केन्द्रले तालमेल गर्ने भएका छन् । आज भएको सहमति अनुसार तीन दलले समन्वय समिति बनाउने भएका छन् ।

    सहमति अनुसार नागरिक उन्मुक्तिले प्रमुख सहित दुई सदस्य, एमालेले उपप्रमुख सहित एक सदस्य र माओवादी केन्द्रले चार सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले जानकारी दिए ।

    तीन दल बिच लिखत सहमति भएको हो । तीन दल मिल्दा कैलालीमा समन्वय समिति बनाउन बहुमत पुग्छ । कैलालीमा नागरिक उन्मुक्तिका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख उपप्रमुख छन् । १३ पालिका रहेको कैलालीमा जिल्ला समन्वय समिति बनाउन १४ सदस्य चाहिन्छ । तीन दल मिल्दा कैलालीमा १६ सदस्य हुन्छ ।

    तीन दल बिच सहमति भएको माओवादी स्रोतले पनि पुष्टि गरेको छ ।

    छलफलमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट केन्द्रीय प्रवक्ता दामोदर पण्डीत, केन्द्रीय सदस्य रमेश विक,रामलाल थारु र लालबीर चौधरी थिए एमालेका तर्फबाट कैलाली उपाध्यक्ष दुर्गा जोशी, सचिब डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाही उपस्थित थिए ।

    माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि ज्ञवाली र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर उपस्थित थिए ।

  • पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक तर ‘ड्यू प्रोसेस’ यही हो

    पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक तर ‘ड्यू प्रोसेस’ यही हो

    काठमाडौं । जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पोखराले पल शाहलाई थुनामै राख्ने निर्णय लिएपछि उनका समर्थकहरु निराश बनेका छन् । पिडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उच्च अदालतले पललाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा उनका समर्थकले राखेका थिए ।

    अब फैसला नहुञ्जेलसम्मका लागि पल शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको निर्णय चित्त नबुझेको खण्डमा सर्वोच्च अदालत जाने अन्तिम विकल्प भने बाँकी छ । पल शाहको तर्फबाट बहस गरेका कानून व्यवसायी कमलामोहन वाग्लेले उच्च अदालतको आदेशको पूर्णपाठ आएपछि थप कदमबारे निर्णय लिने बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘भोलि आदेशको पूर्णपाठ अध्ययन गरेपछि सर्वोच्च जाने विषयमा छलफल र निर्णय लिनेछौं ।’
    उच्चको आदेशलाई भने उनले ‘निराशाजनक’ संज्ञा दिएका छन् । वाग्लेको भनाइमा पिडितले नै आफ्नो अस्मिता सुरक्षित रहेको भनेर बयान दिइसकेपछि अदालतले आरोपिलाई तारेखमा छाड्नु वाञ्छनीय हुन्थ्यो ।

    ‘अदालतले साधारण तारेखमा वा धरौटीमा छाड्छ भन्नेमा हामी निकै आशावादी थियौं,’ उनले भने । यद्यपि, अदालतको आदेशप्रति उनले कडा टिप्पणी भने गरेनन् । वाग्लेको थप भनाइ यस्तो छः

    उच्च अदालतको आदेश मैले हेरिसकेको छैन । पूर्णपाठ भोलि मात्रै आउला । अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा आदेश गर्ने हो । वकपत्रभन्दा अगाडि वा अभियोगपत्र अदालतमा प्रवेश गरेपछिका प्रमाणलाई आधार मानिँदैन । अदालतमा अभियोगपत्र प्रवेश गरेपछि अभियुक्तको बयानसम्मलाई तत्काल प्राप्त प्रमाण मानिन्छ । त्यसपछि भएका वकपत्रहरुलाई मानिँदैन । त्यसैले तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले जे देख्यो त्यसकै आधारमा आदेश गर्ने हो । पूर्णपाठ हेरिनसकेकाले विस्तृतमा त भन्न सक्दिनँ, मलाई लाग्छ, यसरी नै आदेश गर्नुभएको होला ।

    म भयंकर आशावादी थिएँ । यो मुद्दामा थुनामा राख्नुपर्ने कहीँ कतैबाट केही आधार नै देखेको थिइनँ । हाम्रो कानूनमा थुनामा राखिएको रहेछ भने पनि पछि प्रमाण बुझ्दै जाँदा थुनामा रहेको व्यक्ति निर्दोष रहेछ, थुनामा राखिरहनुपर्ने रहेनछ भने त्यस्तो व्यक्तिलाई जुनसुकै समयमा थुनाबाट मुक्त गर्नसक्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ मा स्पष्ट व्यवस्था छ । त्यसलाई पनि हामीले न्यायमूर्ति समक्ष पेश गरेका हौं ।

    जाहेरवाला होस्टाइल भइसक्नुभएको अवस्था छ । पिडित पक्षले नै आफूमाथि केही भएको होइन भन्नुभएको छ । मेरो अस्मिता सुरक्षित छ, मेरो अस्मितामा कहीँ कतै दाग लागेको छैन, म चोखी छु, म कन्या छु भनेर भन्दाभन्दै पनि थुनामा राखिनु चाहिँ निराशाजनक हो ।

    अर्को, पिडित र जाहेरवाला लगायत केही व्यक्तिको वकपत्रसमेत तनहुँ जिल्ला अदालत, नवलपूर जिल्ला अदालतमा भइसकेको कारणले अब यथासिघ्र चाँडै मुद्दाको प्रमाण बुझेर फैसला गर्नु भनेर आदेशमा लेखिन पनि सक्छ ।
    तल्लो अदालतले गरेको आदेशलाई माथिल्लो अदालतले जाँच गर्ने हो । जाँच गर्दा तल्लो अदालतको आदेश ठिकै छ भनेर गरेको आदेशलाई लिएर व्यक्तिगतरुपमा म खुशी छु छैन तर कानूनीरुपमा ‘ड्यू प्रोसेस’ यही हो ।

  • चिङ्गाड गाउँपालिकामा श्रीमान-श्रीमती नै दलित कोटाबाट चुनिए कार्यपालिका सदस्य

    चिङ्गाड गाउँपालिकामा श्रीमान-श्रीमती नै दलित कोटाबाट चुनिए कार्यपालिका सदस्य

    सुर्खेत । जिल्लाको पुर्वि क्षेत्रमा पर्ने चिङ्गाड गाउँपालिकामा श्रीमान र श्रीमती नै कार्यपालिका सदस्यमा चुनिएका छन् । वडा नं. ५ अवलचिङ्गबाट एमालेको तर्फबाट दलित महिला सदस्यमा भुवानसरी कामीले ४६९ मत ल्याएर विजयी भएकी थिईन् ।

    उनका श्रीमान तिलविर कामी भने १७ गते सम्पन्न कार्यपालिकाको चुनावमा दलित कोटाबाट चयन भएका हुन । यहाँ नेकपा एमाले र माओवादीबीच माओवादीका समर विकलाई नियुक्त गर्ने भनिएपनि विभिन्न कारणले उनको सट्टामा तिलविरलाई चयन गरिएको हो ।

    उनिहरु दुवै जना विगत लामो समय देखि एमालेका वडा स्तरीय राजनीतिमा सहभागि रहँदै आइरहेका थिए । यसअघि २०७४ सालमा भएको निर्वाचनमा एमाले पालिकामा कांग्रेससँग पराजित भएपनि यसपटक अध्यक्ष र उपाध्यक्ष सहित कार्यपालिका नै एमालेको बहुमतमा आएको छ ।

    ‘उहाँहरु श्रीमान-श्रीमती नै चुनिएर कार्यपालिकामा आउनु भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत जनक हमालले भने ।
    कर्णालीमा श्रीमान र श्रीमती कार्यपालिका सदस्यमा निर्वाचित भएको यो नै पहिलो हो । २०७४ सालमा पनि कोही श्रीमान र श्रीमती निर्वाचित भएका थिएनन् ।

  • रियालिटी शोमा सोनिकाको उत्तेजक नृत्यः यो गुड टच कि ब्याड टच ?

    रियालिटी शोमा सोनिकाको उत्तेजक नृत्यः यो गुड टच कि ब्याड टच ?

    काठमाडौं । अहिले गुड टच र ब्याड टचको बहस उत्कर्षमा छ । महिलाहरुको संवेदनशील अंगकमा पुरुषले नियतवश छुनुलाई ‘ब्याड टच’ भन्ने गरिन्छ, जुन यौनजन्य दुव्र्यवहार अन्तरगत पर्छ ।

    हालै नायिका मिरुना मगरले आफूमाथि ब्याड टच गरेको भन्दै एक युवकलाई प्रहरी हिरासतमै पुर्याइन् । र, यही बेला चर्चा छ एउटा नृत्यको । हिमालयन टेलिभिजनमा प्रशारण हुने ‘डान्सिङ विथ स्टार्स’ को १७ औं एपिसोडमा मोडल सोनिका रोकायाले कोरियाग्राफर दिलिप ओखेडासँग उत्तेजक नृत्य प्रस्तुत गरेकी थिइन् ।

    ‘गल्ति गरौं न’ बोलको गीतमा नृत्य गर्ने क्रममा कोरियोग्राफर ओखेडाले पटकपटक सोनिकाको संवेदनशील अंगमा हात र मुख पुर्याएको देखिन्छ । यो ‘ब्याड टच’ हो कि होइन भन्ने प्रश्न उठेको छ । राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने र परिवारसहित हेरिने रियालिटी शोमा यस्तो नृत्य सुपाच्य मानिदैन । कमेन्टमा धेरैले यसलाई ‘अश्लिल’ संज्ञा दिएका छन् ।

    यद्यपि, उक्त शोका तीनैजना निर्णायहरुले कुनै प्रश्न उठाएनन् । रेनेशा राईले उठेरै ताली बजाइन् भने दिलिप रायमाझी र गौरी मल्लले पनि वाहवाही नै गरे । दिलिप त अझ ‘म पनि गल्ति गर्छु’ भन्दै स्टेजमै पुगेर सोनिकासँग उसैगरी लहसिन खोजेका थिए ।

    निश्चय पनि यो नृत्यका क्रममा सोनिका र दिलिपले केही शानदार स्टेपहरु देखाएका थिए । सोनिकाको शरीरको स्फुर्ति र लचकता प्रशंसालायक थियो । तर, अत्यधिक कामूकता र संवेदनशील अंगहरुमा गरिएको स्पर्शले उनको गज्जबकाे नृत्य ओझेलमा पारिदियो ।

    यो एपिसोड टप ८ को प्रतिस्पर्धा अन्तरगत गत २७ मेमा प्रशारण भएको थियो । डान्सिङ विथ स्टार्सको टप ७ मा सोनिकासहित धिरज राई, प्रिती आले, भगवति खड्का, अमर–अमृत दाहाल, छिरिङ शेर्पा र परमिता राणाले प्रतिस्पर्धा गरिरहेका छन् । डान्सिङ विथ स्टार्सको यो दोस्रो सिजन हो ।

    हेर्नुस् सोनिकाको नृत्यका केही झलकः

  • पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    काठमाडौं । बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाेखरामा पुनरावेदन गरेका थिए ।

    बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।

    शाह गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।

  • जनताले एमालेलाई माया गरे, आफ्नै नेताबाट पार्टी जोगाउने चुनौति देखियो- अध्यक्ष ओली

    जनताले एमालेलाई माया गरे, आफ्नै नेताबाट पार्टी जोगाउने चुनौति देखियो- अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन गाह्रो परेको टिप्पणी गरेका छन् ।

    जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताए ।

    ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने- जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

    पोखरा लगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिएको ओलीले बताए ।

    अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको ‌ओलीले बताएका छन् ।

  • महोत्तरीमा घुस लिदैगर्दा विद्यालयका प्रधानाध्यापक र अध्यक्ष पक्राउ

    महोत्तरीमा घुस लिदैगर्दा विद्यालयका प्रधानाध्यापक र अध्यक्ष पक्राउ

    जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यबस्थापन समितिका अध्यक्ष घुस लिदैगर्दा पक्राउ परेका छन् ।

    प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट उनी दुबै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

    विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट प्रधानाध्यापक र अध्यक्षले घुस मागेको सुचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं र बर्दिबासको संयुक्त टोलीले होटल पुगेको थियो ।

    घटनास्थलमा स्थानीय जनप्रतिनिधिको उपस्थितमा मुचुल्का तयार पारेर पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाही गर्न अख्तियारको कार्यालय बर्दिबास लगिएको छ ।

  • सुदूरपश्चिममा आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

    सुदूरपश्चिममा आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको दशौं अधिवेशनको पाँचौ बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनाइएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

    बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेशले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारे सभामा जानकारी दिएका थिए ।

    आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्धारा प्रदेशको नीति तथा कार्यक्रम गर्ने छन्।

  • नयाँ ‘इनरुट’ नियमविरुद्ध आज यतिका सबै उडान रद्द

    नयाँ ‘इनरुट’ नियमविरुद्ध आज यतिका सबै उडान रद्द

    काठमाडौं । हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आजका सबै उडान रद्द गरेको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो ।

    ‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो पनि काठमाडौंबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो ।

    मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सदर्शन बर्तौलाले बताए । ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रष्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उनले भने ।

    पाइलटहरुले मौसम सफा रहेको भने पनि उडानमा समस्या आएको उनको भनाइ छ ।

    सरोकारवाला निकायबीच आवश्यक समन्वयबिना नै यस्तो निर्णय गर्दा समस्या परेको उनले बताए ।

    उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् ।

  • राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

    राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

    हेटौंडा । राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।

    पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए ।

    उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

  • मकवानपुर गोल्डकप आजदेखि, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्ने

    मकवानपुर गोल्डकप आजदेखि, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्ने

    काठमाडौं । स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता– २०७९ आजदेखि हेटौंडामा हुँदैछ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र बाग्मती युवा क्लब सर्लाही भिड्नेछन् ।

    प्रतियोगितामा नव जनजागृति र बाग्मतीसँगै विभागीय क्लबह नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेका थिए ।

    प्रतियोगिताका लागि करिब एक करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव सुवेदीले बताए । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नेछन् । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो ।

    प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

    अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् ।

    प्रतियोगिता हेर्नका लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

  • ललितपुर जिसस प्रमुखमा ऋषिदेव र उपप्रमुखमा थिङ निर्विरोध

    ललितपुर जिसस प्रमुखमा ऋषिदेव र उपप्रमुखमा थिङ निर्विरोध

    ललितपुर । ललितपुरको जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएको बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको उनले जानकारी दिए ।

    शिवाकोटीले भने, ‘अपरान्ह १ बजे घोषणा हुन्छ । २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया भने अझै बाँकी नै छ ।’
    खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिए ।

    जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती महाँकालको उपप्रमुख जितेको थियो ।