Author: Ishwor Kaji Khaiju

  • बजेटमा बहसः आफ्नै मन्त्रीसँग बुढाथोकीको गुनासो

    बजेटमा बहसः आफ्नै मन्त्रीसँग बुढाथोकीको गुनासो

    कैलाली । नेकपा एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले आफ्नै मन्त्रीहरूप्रति गुनासो पोखेकी छन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा आजबाट छलफल सुरु भएको हो ।

    आज प्रदेशसभामा बजेटमाथिको छलफलमा धारणा राख्दै उनले आफ्नै मन्त्रीले पनि पर्याप्त योजना नदिएको गुनासो पोखिन् ।

    ‘मेरो क्षेत्रमा १० करोड पुगेन । कसैको वडामा १५ करोड पुग्छ । दुई मन्त्री हुँदा पनि आवश्यक बजेट भएन’, उनले भनिन्, ‘भौतिक पूर्वाधारले काट्दिनुभयो । अर्थमन्त्रीले आफ्नै क्षेत्रमा २ अर्ब लानुभयो । ४० मन्दिर बनाउनुभयो । हाम्रो एउटा मन्दिर पनि आवश्यक ठान्नुभएन ।’

    भौतिक विकास र आर्थिक मामिला दुबै नेकपा एसका मन्त्री हुन् ।उनले बजेटको सन्तुलन नमिलेको भन्दै त्यसको सम्पूर्ण दोष मुख्यमन्त्री त्रिलोचन भट्टले लिनुपर्ने बताइन् ।

    ‘सरकार प्रमुखलाई दोष जान्छ । सबै मन्त्रालयमा ध्यान दिनुपर्ने हो । बजेट बिग्रेको अनुभूति हामीले गरेका छौं’, उनले भनिन्, ‘सबै मन्त्रीको जिल्लामा बजेटको खात छ । माननीयको जिल्लामा अवस्था चिन्ताजनक छ ।’

    उनले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मनबहादुर धामीप्रति पनि असन्तुष्टि व्यक्त गरिन् । बुढाथोकीले भनिन्, ‘पर्यटनमन्त्रीलाई धन्यवाद ! पोहोर पनि लिस्ट गायब गरिदिनुभयो । अहिले पनि गायब गर्नुभएको छ। मेरो वडामा मैले भनेको योजना परेन । अरू कसैले भनेको आयोजना परेको छ ।’

  • प्रदर्शनकारीद्वारा श्रीलंकाको राष्ट्रिय टेलिभिजनको कार्यालय कब्जा, रोकियो प्रसारण (भिडिओ)

    प्रदर्शनकारीद्वारा श्रीलंकाको राष्ट्रिय टेलिभिजनको कार्यालय कब्जा, रोकियो प्रसारण (भिडिओ)

    काठमाडौं । राष्ट्रपति गोटाबाया राजापाक्षे परिवारसहित देश छोडेर भागेसँगै श्रीलंकाको अवस्था थप तनावग्रस्त बनेको छ । देशका विभिन्न ठाउँमा जारी सरकारविरोधी प्रदर्शनहरुले उग्र रुप लिएपछि हाल श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । केही स्थानमा कर्फ्युसमेत लगाइएको छ ।

    यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले श्रीलंकाको राष्ट्रिय टेलिभिजन ‘रुपाबहिनी’ को कार्यालय पनि कब्जामा लिएका छन् ।

    प्रदर्शनकारीहरुले कब्जामा लिएसँगै हाल उक्त टेलिभिजनका सम्पूर्ण प्रसारण रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    कार्यालय कब्जामा लिएपश्चात केही प्रदर्शनकारीहरुले टेलिभिजन लाइभमै गएर उक्त टेलिभिजन निष्पक्ष हुनुपर्ने र अबदेखि यस टेलिभिजनले जनतामुखी कार्यक्रममात्र प्रसारण गर्ने घोषणा गरेका थिए ।

  • गगन र विश्वप्रकाशप्रति राजीवको कटाक्ष- मिडियामा हिरो हुन आयोग र प्यालेस जाने ?

    गगन र विश्वप्रकाशप्रति राजीवको कटाक्ष- मिडियामा हिरो हुन आयोग र प्यालेस जाने ?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टीको संस्थागत निर्णयभन्दा पनि मिडियामा हिरो हुन व्यक्तिगत गतिविधि गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

    केन्द्रीय कार्य समितिको जारी बैठकको तेस्रो दिन बुधबार आफ्नो धारणा राख्ने क्रममा ढुंगानाले गैरआवासीय नेपालीलई मतदानको अधिकार माग्दै महामन्त्रीद्वय निर्वाचन आयोगमा गएकोमा प्रश्न उठाएका हुन् । आफूखुशी गर्ने छुट पदाधिकारीलाई नरहेको ढुंगानाको भनाइ थियो ।

    ढुंगानाले भने, ‘विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषय पहिले केन्द्रीय समितिमा छलफल हुनुपर्ने थियो । पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जाने मिल्ने कुरा होइन । पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुशी गएर कुरा गर्दै जाने हो भने भोलि अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ ?’

    नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ढुंगानाले केन्द्रीय समितिमा बसेर गर्नुपर्ने छलफल पार्टी प्यालेसमा हुन थालेको भन्दै यस्तो गर्ने हो भने बैठक पार्टी कार्यालयमा नगरी पार्टी प्यालेसमा गर्नुपर्ने बताए ।

  • शेयर बजार उच्च अंकले वृद्धि

    शेयर बजार उच्च अंकले वृद्धि

    काठमाडौं । शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजार ५९.५४ अंकले वृद्धि हुँदा नेप्से परिसूचक १९८६.८२ अंकमा पुगेको छ ।

    २ अर्ब ४ करोड ४४ लाखभन्दा धेरैको शेयर कारोबार भएको छ । २२५ वटा कम्पनीका ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्री भएको हो ।

    नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । ती कम्पनीको आज १०–१० प्रतिशत शेयर मूल्यवृद्धि भएको हो । शिवम् सिमेन्टको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । सो कम्पनीको ९ करोड २ लाखभन्दा धेरै मूल्यको सेयर कारोबार भएको छ ।

  • राजीनामा नदिई राष्ट्रपति भागेपछि श्रीलंकामा राजनीतिक र संवैधानिक संकट, अब के हुन्छ ?

    राजीनामा नदिई राष्ट्रपति भागेपछि श्रीलंकामा राजनीतिक र संवैधानिक संकट, अब के हुन्छ ?

    काठमाडौं । बहालवाला राष्ट्रपति गोटाबाया राजापाक्षे मंगलबार राति देश छोडेर भागेपछि श्रीलंकाको संकटले नयाँ मोड लिएको छ । आर्थिक रुपमा समस्याग्रस्त राष्ट्रमा अब राजनीतिक तथा संवैधानिक अन्योल उत्पन्न भएको छ ।

    श्रीलंकाको प्रधानमन्त्री कार्यालयले पनि राष्ट्रपतिले देश छोडेर भागेको आधिकारिक पुष्टि गरिसकेको छ । देशलाई चरम आर्थिक संकटमा धकेल्न राजपाक्षे परिवार नै मुख्य कारकतत्व रहेको भन्दै आक्रोशित जनताले राष्ट्रपतिको राजीनामा माग्दै आएका थिए । गत शनिबारदेखि आक्रोशित प्रदर्शनकारीहरुले राष्ट्रपतिको निवास नै कब्जा गरेर बसेका छन् ।

    निवासमा कब्जा भएसँगै देशभित्र लुकीछिपी अवस्थामा बसेका राष्ट्रपति गोटाबायाले आज (बुधबार) राजीनामा दिने बताइएको थियो । तर, उनी राजीनामा नदिई भागेपछि संवैधानिक संकट उत्पन्न भएको हो । उनी आफ्नी श्रीमतीसमेत लिएर हिँडेको बताइएको छ ।

    यता प्रधानमन्त्री रानिल विक्रमसिंघेले समेत राजीनामा दिने मनस्थितिमा छन् भने मन्त्रिपरिषद् पनि भताभुङ्ग भएको अवस्था छ । देशमा खाद्यवस्तु, इन्धन सबै कुराको चरम अभाव देखिएको छ । कागजको अभाव देखिएपश्चात परीक्षा स्थगित गर्नुपरेको छ । बिहानको खाजा बचाउन अभिवावकहरुले आफ्ना सन्तानलाई अबेरसम्म सुताइराख्छन् ।

    यो अस्तव्यस्तताको निकास के होला ? श्रीलंकाको राजनीतिक नेतृत्व अब कसले सम्हाल्छ ? आर्थिक संकटको निवारण कसरी हुन्छ ? स्पष्ट जवाफ कसैसँग छैन ।

    सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेदेखि नै श्रीलंकामा राजापाक्षे परिवारको प्रभुत्व कायम रहँदै आएको छ । राजापाक्षे परिवारअघि श्रीलंकामा भण्डारनाइके परिवारको वर्चश्व थियो । भण्डारनाइके परिवारले श्रीलंकामा तीन राष्ट्रपति र एक प्रधानमन्त्री पाएको थियो । परिवारकी अन्तिम प्रभावशाली नेता चन्द्रिका कुमारतुङाले सन् २००५ मा राजनीति छोड्ने घोषणा गरेसँगै राजापाक्षे परिवार शक्तिमा आएको हो ।

    राजपाक्षे परिवारका महिन्दा राजापाक्षे सन् २००५ मा पहिलोपटक श्रीलंकाका राष्ट्रपति बने र उनले आफ्नै भाइ गोटाबायालाई रक्षामन्त्री बनाए । सन् २००९ मा श्रीलंकाको गृहयुद्ध अन्त्य भएसँगै राजापाक्षे परिवारको प्रभुत्व श्रीलंकामा बढ्दै गयो । राजपाक्षे परिवारले उक्त गृहयुद्धलाई अत्यन्तै प्रभावकारी ढंगबाट अन्त्य गरेको भनेर बाहिरी संसारमा भ्रम फैलाउन सफल भएको थियो । युद्धको समयमा राष्ट्रपति महिन्दा राजपाक्षेले अमेरिकालाई समेत आफूहरुले आम नागरिकको सुरक्षाका लागि प्रभावकारी ढंगमा काम गरिरहेको विश्वास दिलाएका थिए ।

    यद्यपि विस्तारै गृहयुद्धको समयमा श्रीलंकन सैनिकले त्यहाँका आम मानिसलाई गरेको ज्यादती संसारसमक्ष उजागर हुँदै गयो । यसले राजापाक्षे परिवारले सुरुवातदेखि नै भ्रमको खेती गर्दै आएको प्रस्ट भएको छ । कुनै समय राजापाक्षे परिवारका ४० भन्दा बढी सदस्य कुनै न कुनै सरकारी पदमा थिए । उक्त समयमा श्रीलंकामा मानव अधिकार हनन्, प्रेस स्वतन्त्रतामाथिको दमन, भ्रष्टाचार सामान्यजस्तै भएको थियो । सरकारको विरुद्धमा बोल्ने जो–कोहीको हत्या हुने लगभग पक्कापक्की थियो ।

    यही समयमा श्रीलंका वा भनौं राजापाक्षे परिवार चीनको निकट बन्न पुग्यो । चीनले पनि सो समयमा राजापाक्षे परिवारलाई सहयोग ग¥यो । श्रीलंकाको पूर्वाधार विकासका निम्ति चीनले श्रीलंकालाई अत्यधिक ऋण दियो । तर, त्यो ऋणसँगै जोडिएको थियो अनेकौं पूर्वशर्त । ती नै शर्तहरुको पासोमा परेर श्रीलंकाको अर्थतन्त्र बर्बाद बनेको चीनविरोधीहरुको विश्लेषण छ ।

    जानकारहरुका अनुसार चीनद्वारा प्राप्त ऋणमा राजापाक्षे परिवारले अत्यधिक भ्रष्टाचार गरेको छ । मौलाउँदो परिवारवाद, भ्रष्टाचार, महंगी र मानव अधिकार हननका कारण राजापाक्षे सन् २०१५ को चुनावमा राष्ट्रपति पदमा पराजित हुन पुगे । तर, सन् २०१९ मा फेरि एकपटक राजापाक्षे परिवार राष्ट्रपतिको प्रबल दाबेदारको रुपमा देखापर्‍यो । यद्यपि त्यसबेला श्रीसेना सरकारले कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने नियम बनाएको थियो ।

    महिन्दाले कानुनको ‘लुप होल’ लाई प्रयोग गर्दै आफ्नै भाइ गोटाबाया राजपाक्षेलाई राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारे । तत्पश्चात गोटाबाया राष्ट्रपति र महिन्दा प्रधानमन्त्री बने । सन् १९५० देखि नै आयात र निर्यातको बीचको भारी ‘ग्याप’ झेल्दै आएको श्रीलंकामा सन् २०१९ मा गोटाबायाले करमा भारी छुट दिए । यसबाट उनले ठूलै राजनीतिक लाभको अपेक्षा गरेका थिए । उनको अपेक्षा क्षणिक रुपमा सत्य पनि प्रमाणित भयो । तर, यसले अन्ततः श्रीलंकाको सरकारलाई ‘ब्याकफायर’ गर्‍यो र देशको आम्दानीमा भारी गिरावट आयो ।

    सोही समयमा बज्रपातको रुपमा देखापर्‍यो कोरोना महामारी । कोरोना महामारीका कारण देशको पर्यटन लगभग ठप्प भयो । यतिमात्र नभएर अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने भन्दै श्रीलंकाले रासायनिक मललाई पूर्ण रुपमा प्रतिबन्ध गरेको थियो । तर, यसले श्रीलंकाको कृषि क्षेत्रमा पनि नकारात्मक असर गर्‍यो । देशको कुल आम्दानीमध्ये १० प्रतिशत चियाको निर्यातबाट उठाउँदै आएको श्रीलंकालाई यसले ठूलो असर ग¥यो । जसका कारण श्रीलंकाको विदेशी मुद्रा भण्डारमा भारी गिरावट आउन थाल्यो । यसकै परिणामस्वरुप श्रीलंका आजको दुरावस्थामा पुगेको हो भन्न सकिन्छ ।

    आर्थिक संकटले जब आम मानिसको जीवनमा प्रत्यक्ष असर पार्न थाल्यो, तब ३१ मार्च २०२२ देखि आम मानिसले सडकमै उत्रेर विरोध जनाउन थाले । देश यस किसिमको दयनीय अवस्थामा पुग्दा पनि गोटाबाया भने आफ्नो पद छोड्ने मुडमा देखिएनन् । देशै छोडेर भाग्दा पनि राजीनामा दिएका छैनन् ।

    अगष्टसम्म श्रीलंकामा नयाँ राष्ट्रपतिको चयन हुने बताइएको थियो । राष्ट्रपतिले राजीनामा नदिई भाग्नाले देशमा अन्योलको अवस्था सिर्जना भएको छ । श्रीलंकामा नयाँ राष्ट्रपति चयन हुन पनि गोटाबायाको पार्टीको समर्थन अपरिहार्य हुन्छ ।

    यता श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्राकोषबाट पनि आर्थिक सहायताको अपेक्षा गरेको छ । तर, त्यसका निमित्त श्रीलंकामा स्थायी सरकार हुनुपर्ने शर्त छ ।

    राष्ट्रपतिले देश छोडेसँगै सभामुख महिन्दा यापा अबेवर्देनाले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेको घोषणा गरेका छन् । यता श्रीलंकाको संविधानअनुसार गोटाबायाले राजीनामा दिए नै भने पनि नयाँ राष्ट्रपतिको चयन नहुने बेलासम्म रानिल विक्रमसिंघे नै कार्यवाहक राष्ट्रपति हुनेछन् । तर, श्रीलंकाका जनता भने दुबैजनाले पदत्याग गर्नुपर्ने माग गरिरहेका छन् ।

    यावत परिस्थितिलाई मध्यनजर गर्दा हाल श्रीलंकामा आर्थिक संकट सँगसँगै राजनीतिक संकट पनि चुलिएको छ । देशमा संकटकालको घोषणा गरिएको छ । तर, अब सत्ताको नेतृत्व कसले गर्छ भन्ने स्पष्ट भएको छैन ।

  • प्रधानमन्त्री विक्रमासिङ्घे बने श्रीलंकाका कार्यवाहक राष्ट्रपति

    प्रधानमन्त्री विक्रमासिङ्घे बने श्रीलंकाका कार्यवाहक राष्ट्रपति

    काठमाडौं । चरम आर्थिक संकटको बीचमा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे परिवारसहित देश छोडेर भागेसँगै श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घे श्रीलंकाका कार्यवाहक राष्ट्रपति बनेका छन् ।

    सभामुख महिन्दा यापा अबेवर्देनाले एक पत्रकार सम्मेलन आयोजना गर्दै गोटाबाया राजापाक्षेले नै आफू विदेशमा रहेका बेला प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिएको जानकारी गराएका हुन् ।

    श्रीलंकाको संविधानको धारा ३७ को उपधारा (१) बमोजिम रानिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको अबेवर्देनाको भनाइ छ ।

    मंगलबार राति श्रीलंकाका राष्ट्रपति गोटाबाया परिवारसहित देश छोडेर माल्दिभ्स पुगेसँगै हाल श्रीलंकामा आर्थिक संकट सँगसँगै राजनैतिक संकटको अवस्था देखापरेको छ ।

  • बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

    बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

    काठमाडौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो ।

    प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पीस स्रष्टा हुन् । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठवटा एल्बम ल्याइसकेका छन् ।

    कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा शहरमा गीत तथा कविताका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् । उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान तथा पुरस्कारहरु प्राप्त भइसकेका छन् ।

    नेपाली गीत-संगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित चौधरीको गीतिकारिताको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।

    सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनोट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो ।

    २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् । विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।

    यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन् ।

    २०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।

  • बागमती सभ्यताका कर्मचारीमाथि मुक्का प्रहार गर्ने सुन मुन्द्रेमाथि ज्यान मार्ने उद्योगको कसुर

    बागमती सभ्यताका कर्मचारीमाथि मुक्का प्रहार गर्ने सुन मुन्द्रेमाथि ज्यान मार्ने उद्योगको कसुर

    काठमाडौं। बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारीमाथि हातपात भएको छ । फोहोरको अनुगमन गर्ने क्रममा बलराम श्रेष्ठमाथि ठेकेदार सुवास घिसिङले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

    फोहोरको विषयलाई लिएर घिसिङले सोमबार दिउँसो हातपात भएको थियो । सुन मुन्द्रे नामले समेत चिनिने गरेका घिसिङलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

  • इन्स्पेक्टर र डीएसपी बढुवामा वरियता मिचेको भन्दै सशस्त्रका आईजीपी अर्याल विवादमा

    इन्स्पेक्टर र डीएसपी बढुवामा वरियता मिचेको भन्दै सशस्त्रका आईजीपी अर्याल विवादमा

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा वरियता कायम गर्दै सरकारले आईजीपी बनाएका राजु अर्याल आफू भने विभिन्न दर्जाको बढुवामा भएको ‘मिच्याइ’का कारण विवादमा तानिएका छन् ।

    खासगरी नायब उपरीक्षक (डीएसपी) र इन्स्पेक्टरको बढुवामा वरियता मिचिएको भन्दै अधिकृतहरुमा असन्तुष्टि देखिएको छ ।
    सोमबारमात्र डीएसपीको फुली लगाएका ५६ जना अधिकृतहरुको बढुवा गर्दा वरियतामा व्यापक हेरफेर भएको थियो । २०६४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १२१ जनामध्येबाट उनीहरुको बढुवा भएको हो ।

    योग्यता वरियताक्रममा सयभन्दा माथि रहेका अधिकृतहरु पनि डीएसपी बनेका छन् । योग्यताक्रममा शीर्ष ५६ भन्दा बाहिर रहेका १७ जनाले डीएसपी बढुवामा बाजी मारेका छन् ।

    एक नम्बरमा रहेका धनबहादुर राना डीएसपी बन्दा चौथो नम्बरमा पुगेका छन् । दोस्रो नम्बरमा रहेका रामेश्वर श्रेष्ठ पहिलो नम्बरमा पुगेका छन् । २५ औं नम्बरका राजनविक्रम कार्की तेस्रो नम्बरमा उक्लिएका छन् ।

    आईजीपी अर्यालका नातेदार भनिएका राजेश फुयाँल ५५ बाट उक्लिएर १२ औं नम्बरमा पुगेका छन् । सशस्त्र हेडक्वार्टरका अधिकारी भने एउटै मितिमा भर्ना भएकाले कार्य सम्पादनका आधारमा बढुवा भएको र वरियता तलमाथि हुने दावी गर्छन् । तर, असन्तुष्ट अधिकृतहरु भने शक्तिकेन्द्र र आर्थिक चलखेलका कारण बढुवा प्रभावित हुने गरेको गुनासो गर्छन् ।

    ‘जसले राम्रो गर्छ, वरियतामा ऊ अगाडि आउँछ वा बढुवा हुन्छ भन्ने भएन । जसको पहुँच पुग्यो बढुवामा ऊ नछुट्ने वा वरियतामा अगाडि आउने स्थिति देखिरहेको छ’, सशस्त्र प्रहरीका एक अधिकृत भन्छन् । आईजीपी यसअघि एसपीको बढुवामा पनि विवादमा तानिएका थिए ।

    असारको पहिलो साता एसपीका लागि सिफारिस भएका ३७ जनामध्ये पहिलो नम्बरमा रहेका टोपबहादुर डाँगीलाई ज्येष्ठतासमेत मिचेर वरियताको शीर्ष स्थानमा ल्याइएको थियो ।

    दोस्रो नम्बरमा रहेका हस्तबहादुर गुरुङभन्दा साढे तीन वर्षपछि डीएसपी बनेका डाँगी एसपीमा पहिलो नम्बरमा पुगेका हुन् । संगठनको नेतृत्व सम्हालेलगत्तै आईजीपी अर्यालल‍े बढुवाका लागि आवश्यक मापदण्ड बनाइने बताएका थिए ।

  • नयाँ भन्सार एजेन्टलाई इजाजतपत्र दिन आनाकानी

    नयाँ भन्सार एजेन्टलाई इजाजतपत्र दिन आनाकानी

    काठमाडौं । नयाँ भन्सार एजेन्टमा नाम निकालेकाहरुले भन्सार विभागले इजाजतपत्र दिन आनाकानी गरेको आरोप लगाएका छन् । नयाँ आर्थिक वर्षको पहिलो दुई महिना विदेशबाट धेरै सामान आयात हुने समयमै इजाजत दिन आनाकानी गरेको भन्दै मंगलबार भन्सार विभागसँग नयाँ भन्सार एजेन्टले छलफल गरेका हुन् ।

    मंगलबार ३० जना नयाँ भन्सार एजेन्टमा नाम निकालेकाहरुले भन्सार विभागमा गएर इजाजतपत्र छिटो दिन माग गरेका छन् । असार १५ गते भन्सारले नयाँ भन्सार एजेन्टहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । तर, १४ दिनसम्म पनि भन्सार कार्यालयले कुनै जानकारी नगराएको भन्दै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग नयाँ भन्सार एजेन्टहरुले छिट्टै इजाजतपत्र पाउनुपर्ने माग राखेका छन् ।

    नयाँ भन्सार एजेन्टमा नाम निकालेका भोलानाथ अर्यालले भन्सार विभगाले नयाँ भन्सार एजेन्टलाई इजाजत दिन आनाकानी गरेको बताए । उनले भने, ‘हामी नयाँ भन्सार एजेन्टहरु हिजो भन्सार विभागमा इजाजत दिन किन ढिला गरेको भनेर छलफल गर्न गएका थियौं । भन्सार विभागले यो आर्थिक वर्ष सकिएपछि इजाजत दिने बताएको छ । नयाँ आर्थिक वर्षको पहिलो २ महिनामा विदेशबाट धेरै सामान आयात हुने भएकाले पनि पुराना भन्सार एजेन्टले नयाँलाई इजाजत दिन रोक लगाएका हुन् ।’

    अर्का नयाँ भन्सार एजेन्ट समीरराज विष्टले भन्सार विभागले इजाजत दिन ढिलाइ गरेकाले भन्सार विभागसँग छलफल भएको बताए । अन्तिम नाम सार्वजनिक भएको १४ दिनसम्म पनि कुनै खबर नगरेकाले भन्सार विभागसँग छलफल गरिएएको उनले बताए ।

    भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले अन्तिम नाम सार्वजनिक भएको ९० दिनसम्म भन्सार एजेन्टको इजाजत दिनुपर्ने व्यवस्था रहेको बताए ।

    उनले भने, ‘आर्थिक वर्षको अन्तिम भएर नयाँ भन्सार एजेन्टको इजाजत केही समय लाग्ने भएको हो । ९० दिनभित्र इजाजत दिनुपर्ने व्यवस्था छ । ६० जनालाई इजाजत दिन पनि विभागले केही तयारी गर्नुपर्छ । हामीले आर्थिक वर्ष सकिएपछि इजाजत दिनेछौं ।’

  • गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

    गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरूको संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर ‘अमुक दल’को कार्यकर्ता भएको भन्दै गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेकी हुन् ।

    विज्ञप्तिमा सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व गर्नुपर्ने राष्ट्र बैंकको गभर्नर अधिकारी विगतदेखि नै विभिन्न शेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टोकरेन्सीलगायत प्रकरणमा विवादास्पद बनेको उल्लेख छ ।

    ‘हालैमात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमन ढालेर बनेको वर्तमान सरकारलाई असहयोग गरेको भन्दै केही समयअघि उनलाई नेपाल सरकारले पदमुक्त गरे पनि अदालतले पुनर्बहाली गरेको थियो । सरकारको उक्त कदम सही थियो भन्ने कुरा अहिले प्रमाणित भएको छ ।’

    विज्ञप्तिमा राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको ऐनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति ‘राजनैतिक दलको सदस्य वा पदाधिकारी’ भएमा नियुक्त हुन अयोग्य हुने व्यवस्था रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले ऐन-कानुनको धज्जी उडाएकाले उनलाई तुरुन्त बर्खास्त गर्न माग गरिएको छ ।

    ‘राष्ट्रहितलाई तिलान्जली दिएर अमुक दलको कार्यकर्ता अवैध गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

  • बुटवलमा बढ्दो बाल विवाह, कम उमेरमै बन्छन् तीन बच्चाको आमा

    बुटवलमा बढ्दो बाल विवाह, कम उमेरमै बन्छन् तीन बच्चाको आमा

    रुपन्देही । लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवल उपमहानगरपालिकाका केही वडामा गरिएको सर्वेक्षणमा बालविवाहको आंकडा भयावह देखिएको छ । बालविवाह गर्नेहरुको उमेर १२ देखि १८ वर्षको छ । विवाह भएका किशोरीहरु कम उमेरमै ३ जनासम्मको बच्चाको आमा बनेको अवस्था अझै डरलाग्दो छ । उनीहरुका अधिकांश बच्चा विभिन्न रोगले ग्रसितसमेत भेटिएका छन् ।

    बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले बुटवल उपमहानगरपालिकाका ५ वटा वडाका केही क्षेत्रमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार २७५ जना किशोरीको बाल विवाह भएको छ । गरिबी र अशिक्षाकै कारण शहरमै बाल विवाहको डरलाग्दो तथ्यांक बाहिर आएको छ । यो संस्थाको सर्वेक्षणमा भेटिएका यी किशोरीमध्ये एकले केही दिनअघि आत्महत्या गरिन् । अहिले २७४ जना बाल विवाह गरेका किशोरीलाई संरक्षणमा राखिएको सेतो गुराँसले जनाएको छ ।

    बुटवल वडा नं २, ५, ६, ११ र १७ वडाका केही क्षेत्रमा गरिएको सर्वेक्षणमा मात्र २७५ जना बाल विवाह गरेका किशोरी फेला परेको सेतो गुराँसका कार्यक्रम संयोजक अर्जुन तामाङले बताए ।

    यसअघि गरिएको सर्वेक्षणमा ११ र १२ वर्षका २-२ जनाले विवाह गरेका छन् । १३ वर्षमा १४ जना, १४ वर्षमा ४१ जना, १५ वर्षमा ६१ जना, १६ वर्षमा ५७ जना र १७ वर्षमा १६ जना गरी १९३ जना बालविवाह भएका किशोरी भेटिएका थिए । अहिले थप २ वडामा सर्वेक्षण गर्दा २७५ जना पुगेका हुन् ।

    यसरी भेटिएका अधिकांश किशोरी आमा बनिसकेका छन् । ती किशोरीले एउटादेखि ३ वटासम्म बच्चा जन्माएको भेटिएको छ । १२ वर्षमा एउटा सन्तान हुने १ जना, १६ वर्षमा एउटा सन्तान हुने २ जना, १७ वर्षमा एउटा सन्तान हुने ११ जना र २ वटा सन्तान हुने १ जना रहेका छन् । त्यस्तै १८ वर्षमा एक सन्तान हुने ९१ जना, दुई वटा हुने ३८ जना र ३ वटा हुने २ जना किशोरीहरु रहेका छन् ।

    यसरी बालविवाह हुनेमा बुटवलका मैनाबगर, मजुवा, बुद्धनगर, दुर्गानगर, हात्तीसुढ, रानीगञ्ज, प्रगतिनगर, सुन्दरनगर, टप मजुवा, सत्यवती विनापाते, नियमचोक, हाटबजारलगायतका स्थानका किशोरीहरु रहेका छन् । यी वस्ती बुटवलका सुकुम्बासी बाहुल्य र मधेसी समुदायको बस्ती रहेका क्षेत्र पर्दछन् ।

    सेतो गुराँसका कार्यक्रम संयोजक तामाङका अनुसार कम उमेरमा आमा बनेका किशोरीहरुले जन्माएका बच्चाको जन्म दर्ता हुन सकेको छैन । जसले गर्दा उनीहरुले स्थानीय सरकारबाट पाउने पोषणभत्तालगायतका सुविधाहरु पाउन सकेका छैनन् । त्यस्तै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान नसकेको र सरकारी अभिलेखमा उल्लेखसमेत हुन सकेको छैन् ।

    यसअघि जीवनका लागि सिकाइ परियोजनाले सन् २०२० को जनवरीमा १४५ र सन् २०२१ को जनवरीमा १५४ गरी कुल २५६ जना किशोरीहरु विद्यालय बाहिर रहेको भेट्टाएको थियो । तीमध्ये १९३ जना किशोरी बाल विवाह भएकै कारण विद्यालय बाहिर भएको पुष्टि भएको थियो ।

    त्यसपछि बुटवलभित्र पनि बाल विवाहको अवस्था नाजुक देखिएको सेतो गुराँसका कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन् । पढ्न नपाएका किशोरीहरुसँग संवादको क्रममा उनीहरुले छिटो विवाह गर्दा पढ्न नपाएको बताएपछि सबैको अवस्था बुझ्दा बाल विवाहको आश्चर्यजनक आँकडा भेटिएको शर्माको भनाइ छ ।

    बढ्दो गरिबी, बसाइसराइ, विवाह भएपछि जीवन सुरक्षित मान्ने कारणले पनि बालविवाह धेरै हुने गरेको शर्माको भनाइ छ । त्यो समयमा यो संस्थाले तयार गरेका सबै प्रतिवेदन स्थानीय सरकारलाई तीनपुस्ते नामावलीसहित बुझाएको थियो । तर, अहिले जनप्रतिनिधि फेरिएका छन् ।

    सेतो गुराँसले बाल विवाह गरेका सबै किशोरीलाई राखेर विशेष कक्षा सञ्चालन गर्दै आएको छ । यो कक्षामा बाल विवाह गर्दा आउने समस्या, यसले स्वास्थ्यमा पार्ने प्रभाव, कम उमेरमा जन्मने बच्चामा लाग्ने रोगका विषयमा सचेतना दिइने गरिन्छ । उनीहरुलाई सरोकारवाला निकाय वडा कार्यालय, इलाका प्रहरी कार्यालय, शहरी स्वास्थ्य कार्यालयका प्रतिनिधि राखेर प्रशिक्षण गराइएको सेतो गुराँसले जनाएको छ ।

    एड्भोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता इन्दिरा आचार्यले छोरी शिक्षाको कमीका कारण किशोरीको बालविवाह नरोकिएको बताउँदै भनिन्–‘पैतृक सम्पतिमाथि छोरीको अधिकार नहुँदा यस्तो भएको हो । अभिभावक पनि छोरीलाई छिटो विवाह गरिदिएर उम्कने चिन्तनबाट ग्रसित छन् ।’

    आचार्यले शहरबजारमा कुरीति हुँदैन भनेरमात्रै नहुने भन्दै गाउँबाट बसाइ सरेर बजारमा बसे पनि छोरी शिक्षा अभाव भएका परिवारमा बाल विवाह हुने गरेको बताइन् । ‘स्थानीय सरकार र सरोकारवाला निकायले बढी चासो राख्नुपर्दछ र सबैको समन्वयमा यसलाई रोक्ने योजना बनाउनुपर्दछ’, उनले भनिन् ।

    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यो तथ्यांकले उपमहानगरको ध्यान तानेको बताइन् । ‘गम्भीर विषय बाहिर आएको छ, उपमहानगरले यसका सरोकारवाला पक्षलाई राखेर तत्काल छलफल चलाउँछ र न्यूनीकरणका हरेक विधि अवलम्बन गर्न अभियान चलाउँछ’, उपप्रमुख अर्यालले भनिन् ।

    बाल विवाह रोक्नु सबैको दायित्व रहेको भन्दै उनले त्यस्तो सूचना भेटिए सबै बुटवलवासीले सरोकारवालालाई तत्काल खबर गर्न आग्रह गरिन् ।

  • आदिकवि भानुभक्तसँग झगडा गरेर ‘अमर’ बनेका गिरिधारी भाट!

    आदिकवि भानुभक्तसँग झगडा गरेर ‘अमर’ बनेका गिरिधारी भाट!

    इटहरी । आज भानु जयन्ती । दुई शताब्दी अगाडि जन्मेका भानुभक्त नेपाली भाषाका आदिकवि हुन् । सन् १९६५ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट छापिएको ‘हिरोज् एण्ड बिल्डर्स् अफ नेपाल’ पुस्तकमा नेपालका चर्चित कूटनीतिज्ञ, नेता तथा प्राज्ञिक व्यक्तित्व ऋषिकेश शाहले भानुभक्तले सुगौली सन्धिपछिको तनावग्रस्त नेपाली मानसपटलमा साहित्यबाट ऊर्जा भरेको तर्क गरेका छन् ।

    आदिकविको व्यक्तित्व उजागर गर्ने मुख्य श्रष्टा हुन् मोतीराम भट्ट । भट्टले १३१ वर्ष अगाडि भानुभक्तको जीवनी छापे । बनारसको भारत जीवन प्रेसबाट छापिएको संक्षिप्त जीवनीको नाम हो, ‘कवि भानुभक्तको जीवनचरित्र’ । यो जीवनी तयार गर्न भट्टले भानुभक्तका भतिजा रामदत्तसँग सहकार्य गरेको लेखेका छन् ।

    यो जीवनीमा कवि भानुभक्त किन आदिकवि हुन् भन्ने तर्क दिँदै भट्टले लेखेका छन्, ‘गोर्खा राज्यमा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरुमा आदिकवि भानुभक्त नै हुन् ।’ सन् १९४८ मा अहिलेको सिंगो नेपाललाई गोर्खा नै भनिन्थ्यो । नेपाल भन्न थालिएको त धेरै भएकै छैन । सात सालको प्रजातन्त्रपछि मात्रै नेपाल भन्न थालिएको हो । नेपाल चै काठमाडौंलाई भनिन्थ्यो ।

    अझ रोचक कुरा पूरा देशलाई नेपाल भन भनेर राजाले सूचना नै सार्वजनिक गर्नुपरेको थियो । पहिलो संसद पुस्तकमा लेखक जगत नेपालले त्यसको उदाहरणको रुपमा राजा महेन्द्रलाई दिएका छन् । राजा महेन्द्रले पहिलो आम निर्वाचनको संघारमा काठमाडौंमात्रै नभएर सिंगो मुुलुकलाई नेपाल भन्न उर्दी जारी गर्दै भनेका थिए, ‘काठमाडौंलाई मात्र नेपाल भन्ने बानी वा चलन मलाई राम्रो लागेन । अब उप्रान्त काठमाडौंलाई मात्र नेपाल भन्ने बानीलाई प्रत्येक नेपालीमात्रैले हटाई महाकालीदेखि मेचीसम्मलाई नेपाल भन्ने र राजधानीलाई काठमाडौं भन्ने बानी गरुन् । यो मेरो अपिल छ ।’

    २०१५ माघ २९ गतेको गोरखापत्रमा आएको राजा महेन्द्रको अपिलमा थप अर्को अपिल प्रकाशन भएको थियो । जसमा लेखिएको थियो, ‘श्री ५ महाराजाधिराजको सदिच्छाअनुसार प्रत्येक देशवासीले आजैदेखि, अहिलेदेखि नै उचित तरिकाले आफ्नो आफ्नो पुरानो बानी सपार्न प्रयत्नशील हुनुपरेको छ ।’ यहाँ बानी भन्नाले काठमाडौंलाई नेपाल र देशलाई गोर्खा भन्ने नभएर काठमाडौंलाई काठमाडौं नै र देशलाई नेपाल भन्ने कुरा गरिएको हो ।

    भानुभक्तको मृत्युको २२ वर्षपछि छापिएको यो जीवनीले भानुभक्तलाई नेपालको विभूति बनाउने तर्कलाई बलियो बनायो । नेपाली गजलका पायोनियर मानिने स्वयं भट्ट पनि विभूति बन्न सफल भए ।

    भानुभक्तको जीवनमा धेरैले चिन्ने नाम हो घाँसी । भानुभक्तलाई केही गर्नुपर्छ लोकको लागि भन्ने भनेर प्रेरणा दिने भनिएका घाँसीको बारेमा धेरै चर्चा भइसकेको छ । यो सामग्रीमा भानुभक्तसँग झगडा गरेर चर्चामा आएका एक संधियारको चर्चा गरिएको छ । उनी थिए गिरिधारी भाट ।

    भाटसँग भानुभक्तको खेतको साँध जोडिएको थियो । साँधकै विषयमा भाटसँग भानुभक्तको झगडा पर्‍यो । कानूनी लफडा भए । अन्ततः भानभुक्तले मुद्दा जिते । मुद्दा जिते पनि भानुभक्तले कवितामा स्पेस दिएकाले आज भाट पनि ‘अमर’ भएका छन् । भानुभक्तको जीवनमा चर्चा हुने एक पात्र भएर उनी बाँचिरहेका छन् ।

    भट्टले लेखेको भानुभक्तको जीवनीमा जग्गा विवादको जरो यस्तो लेखिएको छ, ‘रम्घामा कवि भानुभक्तको एक जग्गा थियो, तेसै खेतको साँध एक गिरिधारी भाटका खेतसित थियो । ई दुवै खेतका बीचमा एक खोलो थियो । अकस्मात् एक वर्ष खोलाले भानुभक्तको खेत खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्‍याे । तिनताकका ऐनबमोजिम गिरिधारीको भोग पाको हो, पछि ४/५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत बेहिसाब मिच्यो र भानुभक्तले ऐनबमोजिम खोलाले छाडेको बगर ३/४ वर्ष आवादी गरी भोग गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग गर्‍यो भनी बादी हाल्दा भानुभक्तले इजहार दिये ।’

    भानुभक्तले आफ्नो कवितामै गिरिधारी भाटको प्रसंग ल्याएका छन् । एउटा कवितामा यो प्रसंग ल्याएर भनिएको छ,

    ख्यामित् यस गरिधारीले अति पिर्यो व्थर्थै गर्यो झेल पनि
    यस्का झेल उतार्नलाई सजिलो यो हो व्यहोरा भनी
    ख्यामितलाई चढाउनाकन यहाँ क्यै श्लोक कविता गर्याँ
    मेरा श्लोक सुनिबक्सियोस् झगडा छीनिन्छ पाउ पर्याँ

    अन्ततः भानुभक्तले मुद्दा जितेर आफ्नो खेत आफ्नै बनाए । तर, उनले अड्डामा धाएको तनावको कथा भने अहिलेका सेवाग्राहीले पाएकोभन्दा कम छैन । कर्मचारीले भोलि भन्ने कुरालाई व्यंग गर्दै भानुभक्तले कवितै तयार गरेका थिए । उनको कवितांश यस्तो थियोः

    बिन्ती डिट्ठा बिचारीसित क–कति गरुँ चुप रहन्छन् न बोली
    बोल्छन् ता ख्याल् गर्याँझैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि
    की ता सक्तीन भन्नू कि तब छिनी दिनू क्यान भन्छन् इ भोलि
    भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली

    यसरी हरेक कुरालाई कविताको भाषामा भन्न सक्ने खुबीको भव्य तारिफ भट्टले भानुभक्तको जीवनीमा गरेका छन् । विक्रम संवत् १८७१ असार २९ मा जन्मेर १९२५ असोज ६ मा देहत्याग गरेका भानुभक्तको काव्य खुबीबारेमा भट्टले तारिफ गरेका छन् ।

    उनले लेखेका छन्, ‘रातदिनका बोलीचालीमा बराबर कविता भर्नसक्ने सामथ्र्य केवल इनै कविमा अझतक् देखियाको छ । पछि हुनेहरुका बयान पछि नै हुनन् ।’

  • लुम्बिनीमा निजामती विधेयक सदनमा लैजाने तयारी

    लुम्बिनीमा निजामती विधेयक सदनमा लैजाने तयारी

    रुपन्देही । कर्मचारी व्यवस्थापनमा समस्या भोगेको लुम्बिनी प्रदेश सरकारले निजामती विधेयकबारे सरोकारवाला पक्षसँग छलफल सुरु गरेको छ । छलफलपछि मन्त्रिपरिषद् बैठकले पारित गरेर सदनमा लैजाने तयारी सरकारले गरेको हो ।

    बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यको हरेक कामलाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएकाले निजामती कर्मचारी विधेयकलाई पारित गरी कार्यान्वयनमा लिएपछि मात्रै संघीयता बलियो हुने बताएका छन् ।

    प्रदेश निजामती विधेयकबारे मुख्यमन्त्री कार्यालयले आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

    उनले प्रदेशवासीलाई सहज रुपले सेवा प्रवाह गर्न कर्मचारी प्रशासनलाई जनताको सेवकको रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छिटोछरितो रुपमा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने सुझाव कर्मचारीलाई दिए ।

    मुख्यमन्त्री केसीले संघीयताको कार्यान्वयनका लागि कर्मचारी प्रशासन तयार भएपछि मात्रै संघीयताको कार्यान्वयन हुने धारणा राखेका छन् । लुम्बिनी प्रदेशको निजामती कर्मचारी ऐन नमुना र कार्यान्वयनका लागि सहज हुने तरिकाले निर्माण गरी अगाडि बढाउन उनले निर्देशनसमेत दिए ।

    लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले संघीयताको मर्म र भावनाअनुसार राजनीतिक संघीयता, कर्मचारी संघीयता र वित्तीय संघीयताको सहकार्य र समन्वयमा मात्रै संघीयता बलियो हुने बताए ।

    विधेयक मन्त्रिपरिषद्को बैठकले पारित गरी प्रदेशसभामा लग्ने गरी तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन सचिव नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् ।

  • चुनावी प्रतिस्पर्धीहरुसँग मेयर बालेन्द्र, केशव स्थापितको घरमै पुगे

    चुनावी प्रतिस्पर्धीहरुसँग मेयर बालेन्द्र, केशव स्थापितको घरमै पुगे

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आज बिहान चाबहिल-बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका थिए । अचानक स्थानीय चुनावमा एमालेबाट मेयर उम्मेदवार बनेका केशव स्थापितसँग उनको जम्काभेट भयो ।

    स्थापितको घर सोही स्थानमा छ । सायद मेयर आएको थाहा पाएर स्थापित घरबाहिर निस्केका थिए । भेटमा अभिवादन आदानप्रदानपछि स्थापितले साहलाई आफ्नो घरमा जान आग्रह गरे । साहले पनि सहर्ष स्वीकार गरे ।

    स्थापितको घरमा पूर्वप्रतिस्पर्धीहरुबीच करिब १५ मिनेट भलाकुसारी भएको छ । भेटमा सहभागी मेयर साहका सहयोगी कुमार बेनका अनुसार स्थापितले काठमाडौं महानगरमा के के काम गर्न सकिन्छ भनेर आफ्नो आइडिया शेयर गरेका थिए ।

    स्थापितले ‘काठमाडौं आफ्नो पनि घर भएकाले यहाँको विकासका लागि सबै सहयोगका लागि तयार रहेको बताए ।

    साहले उनको कुरा ध्यानपूर्वक सुनेका थिए । उनी चिया पिएर स्थापितसँग बिदा भए ।

    यसअघि मेयर साहले कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहसँग पनि भेट गरेका थिए । उक्त भेट पनि आकस्मिक थियो । काठमाडौं वडा नम्बर १० का वडाध्यक्षको छोराको विवाहमा उनीहरुको भेट भएको हो । उक्त भेटमा सिर्जनाले साहलाई छोरा भनेर सम्बोधन गरेकी थिइन् ।

    उनले महानगरपालिकाको बजेट राम्रो भएको तर सार्वजनिक स्थानमा खानेपानीका लागि धाराको योजना राख्न बिर्सेको टिप्पणी गरिन् । बालेनले सिर्जनालाई उनका सुझावहरु मनन गर्ने आश्वासन दिएका थिए ।

    चुनावअघि बालेनले मेयरका दुई प्रतिस्पर्धी स्थापित र सिंह आफ्नो बुवाआमाजस्तै भएको टिप्पणी गरेका थिए । मेयरको चुनावमा कांग्रेस उम्मेदवार सिंह निकटतम प्रतिस्पर्धी बनेकी थिइन् भने एमाले उम्मेदवार स्थापित तेस्रो भएका थिए ।

  • नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा अघि बढ्यो

    नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा अघि बढ्यो

    काठमाडौं । सरकारले नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आजको बैठकमा विधेयक पेस गरेका हुन ।

    सरकारले ल्याउन लागेको उक्त विधेयकमाथि तीनवटा विरोधका सूचनाहरू बहुमत सांसदहरूले असफल पारेपछि विधेयक अगाडि बढेको हो ।

  • संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको होः गृहमन्त्री खाण

    संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको होः गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘यो विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको हो’, उनले भने, ‘नागरिकता नपाएर असहज जीवन बिताइरहेकाहरूलाई नागरिकता दिलाउन यो विधेयक ल्याइएको हो ।’

    उनले अघिल्लो सरकारले विधेयक लामो समय राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको र छलफलपछि प्रतिवेदन आउँदा पनि सहमति नजुटेपछि अर्को विधेयक ल्याउनुपरेको बताए ।

    गृहमन्त्री खाणले भने, ‘त्यो विधेयकलाई अगाडि बढाउने र पारित गरेर कानून बनाउने संसदभित्रै प्रयास गरेको हो । तर, सकिएन । त्यसकारण फिर्ता लिनुपरेको हो ।’

  • अवैध धनलाई वैध बनाउन र माफियालाई कर छुट दिन नमानेबापत गभर्नरको विरोध- सांसद पोखरेल (भिडिओ)

    अवैध धनलाई वैध बनाउन र माफियालाई कर छुट दिन नमानेबापत गभर्नरको विरोध- सांसद पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले बजेटमा बिचौलिया पोसेर राजीनामा दिएका र संसदीय छानबिनमा रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माको असक्षमता ढाकछोप गर्न सत्तापक्षले (माओवादी) गभर्नरको विषयमा अनावश्यक टिप्पणी गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले अर्बौं रुपैयाँ अवैध सम्पत्तिलाई वैध बनाउन गठबन्धन सरकारले दिएको निर्देशन नमान्दा र माफियालाई कर छुट नदिएबापत गभर्नर निलम्बन गर्दा पनि नसकेर आफ्ना सांसदमार्फत संसदमा बेतुकका कुरा उठाउन लगाइएको बताए ।

     

    पोखरेलले भने, ‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उनी गभर्नर हो भनी सत्ता पक्षका सांसदले अर्थ मन्त्रालयको असक्षमता लुकाउन गरिएको विषयान्तर हो । महाप्रसाद अधिकारीले त्यो व्यक्ति म होइन र कुनै पार्टीको सदस्य छैन भनेर वक्तव्य दिइसकेपछि यो विषय यहाँ उठाउन मिल्दैन । यो भनेको अवैध धनलाई वैध बनाउन दिएको निर्देशन नमानेबापतको रिसराग हो ।’

  • प्रेम सुवालको प्रस्ताव- संघ र प्रदेशको अलग अलग नागरिकता

    प्रेम सुवालको प्रस्ताव- संघ र प्रदेशको अलग अलग नागरिकता

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघ र प्रदेशको अलग–अलग नागरिकता हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत आजको बैठकमा बोल्दै उनले यस्तो तर्क राखेका हुन् ।

    यसबाहेक उनले बुवा र आमा दुबै नेपाली नागरिक भएमात्र वंशजको आधारमा नागरिकता दिनुपर्ने बताए । उनले भने, ‘निर्वाचन, सरकारी सेवा, राजनीतिक मनोनयन र नियुक्ति, कूटनीतिक नियुक्ति र उद्योग व्यापारमा वंशजको नागरिक हुनुपर्छ ।’

    यस्तै उनले जन्मका आधारमा विदेशीले पाएको नागरिकता छानबिन गरी खारेज गर्नुपर्ने बताए । नेपालीसँग विवाह गरेका विदेशी नागरिकका हकमा नेपालमा निरन्तर बसोबास गरेको २० वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने उनले बताए ।

    ‘अंगीकृत नेपाली नागरिकता उपलब्ध गराउनसक्ने र यस्तो नेपाली नागरिकता उपलब्ध गराउनुअघि नेपालको कुनै भाषा र संकृतिबारे लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने व्यवस्था जरुरी छ’, सांसद सुवालले भने ।

  • उत्पादनमुखी, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रको माग

    उत्पादनमुखी, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रको माग

    काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिँदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो ।

    लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, विश्व भू-राजनीति र मूल्यवृद्धि, उन्मुख अवस्था, औद्योगीकरण, निर्यात प्रवर् द्धन तथा आयात प्रतिस्थापन र खुम्चिँदो समग्र माग अर्थतन्त्रका विद्यमान चुनौती रहेको छ । अर्थतन्त्रका यस्ता चुनौती सामना गर्ने गरी मौद्रिक नीति ल्याउन परिसंघले सुझाव दिएको छ ।

    परिसंघले तरलताको राम्रो व्यवस्थापन, विदेशी मुद्रा नेपालमा भित्र्याउने एवं लगानीलाई उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।

    विकास खर्च समयमा नहुने, अन्तर्राष्ट्रिय बजारमा इन्धन एवं कमोडिटीहरुको मूल्यवृद्धि, कोभिड १९ ले आपूर्ती श्रृङ्खलामा ल्याएको अवरोधका कारण अर्थतन्त्र खुम्चिन पुग्यो । जसका कारण हालको समग्र मागमा समेत संकुचन आयो । तर, पछिल्लो ६ महिनादेखि विदेशी मुद्रा सञ्चितीको घट्ने दरमा सुधार आएको छ भने पछिल्लो महिनामा यो बढेको छ ।

    यसैगरी शोधनान्तर स्थितिमा पनि सुधार आउँदै गरेको देखिन्छ । त्यसैगरी पर्यटन तथा विप्रेषण आयमा क्रमिक सुधार भएको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा छ । यसले नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास छ ।

    त्यसैले आगामी आर्थिक वर्षमा नेपालको आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिती जस्ता बाह्य क्षेत्रमा सुधार हुने संकेत देखिएकाले समग्र मागमा संकुचन नआउने गरी मौद्रिक नीति ल्याउन परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आग्रह गरे ।

    उनले हालको तरलता तथा विदेशी विनिमय सञ्चितीको समस्या समाधानका लागि विदेशी संस्थागत लगानीकर्ताको निक्षेप बैंकमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । साथै ब्लेन्डेड फाइनान्स तथा हेजिङका लागि नियमावली बनाइनुपर्ने तथा उत्पादनमूलक उद्योग तथा पूर्वाधारको क्षेत्रमा लगानी संकलन गर्न लामो समयावधिका ग्रिन बोण्ड (हरित कोष) जस्ता ऋण उपकरणहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निष्कासन गरी पूँजी संकलन तथा परिचालन गर्न आवश्यक सहजीकरण र प्रोत्साहन गरिनुपर्ने सुझाव दिएका छन् ।

    नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं १६ (५) को ३ को व्यवस्था २०८० असारबाट मात्र लागू गरिनुपर्दछ । बैंकिङ प्रणालीभन्दा बाहिर रहेको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन ‘नेपाल विकास पत्र’, गोल्ड बन्ड जस्ता वियरर बोण्ड जारी गर्दै यस्ता बोण्डहरू मुद्रा बजारमा कारोबार गर्ने अनुमति उपलब्ध गराउनुपर्ने परिसंघको सुझाव छ ।

    परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले उद्योगलाई सहजीकरण गर्दै आएको भन्दै औद्योगिक उत्पादन बढाउने गरी नीति अवलम्बन गर्ने आश्वासन दिलाए । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु, परिसंघको विभिन्न समिति सभापतिलगायत सहभागी थिए ।