Author: Anisha Tiwari

  • अझै २० वर्ष सक्रिय रहन्छु तर योग्यतम व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सघाउँछु – ओली (भिडिओ)

    अझै २० वर्ष सक्रिय रहन्छु तर योग्यतम व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सघाउँछु – ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन् ।

    ‘बा सँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीहरुका प्रश्नको जवाफ दिने क्रममा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताए । तर सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाए ।

    तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा ओलीले भने– मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।

    ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताए । उनले यसबीचमै नेतृत्वमा नयाँ व्यक्तिलाई ल्याएर सहयोग गर्ने समेत बताए ।

  • मोरङको ग्रामथानमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

    मोरङको ग्रामथानमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

    विराटनगर । मोरङको ग्रामथानमा पोखरीमा नुहाउन गएका २ बालिकाको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा पोखरीमा डुबेर शनिबार १० र १२ बर्षका दुई जना बालिकाको मृत्यु भएको हो ।

    ग्रामथान गाउँपालिका–२ मा रहेको रम्भा देवको माछा पोखरीमा डुबेर १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको डुबेर मृत्यु भएको बताए ।

    पोखरीमा नुहाउने क्रममा डुबेका उनीहरुलाई पोखरीबाट उद्वार गरी उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याएपनी उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

  • न्यूयोर्क उड्नुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

    न्यूयोर्क उड्नुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

    काठमाडौ‍ं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।

    राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

  • डाक्टर कुटपिट घटना : स्वास्थकर्मीद्वारा प्रदेशसभा अगाडि प्रदर्शन

    डाक्टर कुटपिट घटना : स्वास्थकर्मीद्वारा प्रदेशसभा अगाडि प्रदर्शन

    हेटौंडा । चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बागमती प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।

    पीडित चिकित्सकले न्याय पाउनुपर्ने माग गर्दै स्वास्थकर्मीहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् ।

    गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि आक्रमण भएको थियो ।

  • राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

    राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ ।

    बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई विदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले विदाइ गरिरहेका हुन्छन् । यो देख्दा लाग्छ, यो देशमा रोजगारीको सम्भावना नै छैन । त्यसैले गरेर खाने उमेरका युवायुवती यसरी दिन प्रतिदिन हजारौँको सङ्ख्यामा विदेशिएका छन् । अर्कातर्फबाट बाकसमा भित्रिएका शव बुझ्न आउनेको हालत त झन हेर्न नसकिने छ । त्यो दृश्यको बयान यहाँ शब्दले कोर्न कठिन छ ।

    यी दृश्य देखेपछि जसका मनमा पनि प्रश्न उब्जिन्छ– के देशमा काम गरेर खाने वातावरण नै छैन त ? अधिकांश यस्तै मानसिकताले ग्रसित भएर युवाले देश छोडेका छन् र खाडी पसेका छन् । अनि बजारमा सधैँभरि सुनिने निरासा त छँदैछ, जसले यहाँ केही हुँदैन भन्ने नकारात्मक सन्देश मात्र पर्वाह गर्ने गरेको छ । तर नराम्रा दृश्य र अवस्था मात्र छैन देशमा । गर्नसके देशभित्रै सबथोक छ भन्ने सन्देश पनि खोजीपसे प्रसस्तै भेटिन्छ । यसका लागि धेरै टाढा जानुपर्दैन, राजधानीबाट केही किलोमिटर पर काभ्रेको पाँचखाल नगरपालिका बाँस्कोट पुगे हुन्छ । यहाँ पुग्ने जोसुकैले पनि देशिभित्रै सम्भावनाको थुप्रो देख्न सक्छ । यहाँका स्थानीय गोविन्द थपलियाको कृषि फार्ममा पुग्नेले रोजगारीका लागि विदेशिनु पर्दैन भन्ने सन्देश मात्र पाउँछन् । यतिमात्र नभएर बजारमा जताततै पोखिने गरेको ‘यो देशमा केही हुँदैन’ भनिने निरासा पनि यहाँ पुग्ने मानिसको दिमागबाट हटेर जान्छ । गोविन्दको पौरख देख्ने जोसुकैको मनमा पनि यही माटोमा पसिना पोख्न सके सुन फल्दोरहेछ भन्ने सोच पलाउँछ ।

    नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले । प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो । त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती सुरु गरेका हुन् । ऊ बेलादेखि नै उनले काठमाडौँका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका हुन् । उनको लक्ष्य अहिले विस्तारित हुँदैछ ।

    गोविन्दले कोरोना महामारीपछि त्यही जमिन वरपर थप विस्तारित स्वरुपमा पशुपन्छी पालन थाले । त्यसपछि सो फार्ममा मिट मेकर प्रालि र मिट प्रोसेसिङ एण्ड मार्केटिङ कम्पनी हुँदै अहिले फार्म ग्रो ट्रेडिङ प्रालि सञ्चालित छन् । मागअनुसार जिउँदा तथा मासु बनाएरै उनले आपूर्ति गरेका छन् । अहिले त बजार खोज्न उनीहरु काठमाडौँसम्म आउनुपरेको छैन, बजारले उनीहरुलाई खोज्दै पाँचखाल पुगको छ ।

    थप ५४ रोपनी जमिन लिजमा लिएर पशुपन्छी पाल्न थालेका उनका फार्ममा अहिले तरकारी र फलफूलका अतिरिक्त करिब ३० हजार ब्रोइलर कुखुरासहित बाख्रा, गाई, भैँसी, बङ्गुर, स्थानीय जातका कुखुरा, टर्की आदि छन् । एकै स्थानमा रहेको करिब डेढ सय रोपनी जमिनमा अहिले तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ ।

    काठमाडौँका प्रमुख पाँचतारे होटलमा आपूर्ति गरिने मासु यिनै कम्पनीमा प्रोसेसिङ गरेर पठाउने गरिएको उनी बताउँछन् । यही फार्मबाट नै काठमाडौँका याक एण्ड यति, होटल र्‍याडिसन र हायात होटलमा उनकै फार्मबाट तरकारी, फलफूल र मासु आपूर्ति हुँदै आएको छ । अहिले यहाँ करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।

    यिनै कृषि फार्मबाट वर्षमा ७० करोडभन्दा बढीको कारोबार हुने गरेको थपलिया बताउछन् । पन्ध्र वर्षअघि एक करोडबाट सुरु भएको उनको कृषि कर्मको यात्रा अहिलेको मूल्याङ्कनमा कम्तीमा ४५ करोड बराबरमा उक्लिएको छ । त्यसमा रु २० करोड जति बैंकको ऋण पनि रहेको उनी बताउछन् । सन्ताउन्न वर्षीय थपलियाको यो फार्म १५ वर्षे यात्राको क्रममा नै नमूना बनेको छ । यसको अध्ययनका लागि स्वदेश तथा विदेशबाट पनि मानिस आउने गरेका छन् । उनको पशुपन्छी पालनलाई जर्मनीको पशु सेवासम्बन्धी संस्थाले एक सफल कृषक र सफल फार्म भनी संसारका पशुपालकको साइटमा राखेको छ । त्यसको अध्ययन गर्ने र थप बुझ्न उनको फार्ममा आउने विदेशी पनि थपिँदैछन् ।

    ‘सबैको प्रश्न हुन्छ– काम गर्ने वातावरण कतिको छ ? बजारको सुनिश्चितता के छ ?’ थपलिया भन्छन्,’यो सबै नकारात्मक बजारको उपज हो । किन भने हामी जताततै सुन्छौँ कि अहिले देशमा गरिखाने वातावरण नै छैन । तर मलाई त्यस्तो छैन । मैले त्यस्ता ठूला चुनौतीको सामना गर्नुपरेको छैन ।’

    उनको यो आत्मबल नै व्यावसायिक सफलताको जग हो । मानिस आफूले काम थालिहाल्न डराउने र सुरुमै वातावरण नभएको देख्ने गरेको बताउने थपलियाको प्रश्न छ ‘उद्यम नै सुरु नगरी उद्योगी या व्यवसायी कसरी बन्ने ? कामै नथाली सफल कसरी हुने ?’

    सफलताको सबैभन्दा प्रभावकारी सूत्र मेहनत, स्पष्ट ‘भिजन’ र विश्वास हो भन्नुहुन्छ थपलिया । पछिल्लो समय उनको कुखुरापालनबाट स्वदेश मात्र होइन विदेशीले पनि राम्रोसँग सिकेका छन् । ब्रोइलर कुखुरा पालनबाट आम्दानी धेरै भए पनि सबै सफल हुँदैनन्, कुखुराको मृत्युदर तीन–चार प्रतिशतसम्म हुने गर्दछ । उनको फार्ममा मृत्युदर त्यस्तै एक प्रतिशत छ । उनले हरेक दुई महिनामा एक लट कुखुरा बजारमा पठाउछन् । वर्षमा ६ लटसम्म कुखुरा उत्पादन गर्ने गरेका छन् । अहिलेका ३० हजारको बुकिङ भइसकेको छ अर्को लटको तयारी सुरु भएको छ ।

    बजारमा अहिले बुङ्गुरको मासु अभाव छ । तर वर्षमा केही लाख कमाइका लागि नेपालका लाखौँलाख युवा खाडी पसेका छन् । मानिसले पाँच–सात लाखबाटै बङ्गुरपालन थाल्ने हो भने यहीँ राम्रो कमाइ छ । दसैँ आयो खसीको आयात पहिलेभन्दा झन बढेका समाचार आउँछन् । तिहारमा फूल या भाइमसलालगायतका सामग्रीका लागि विदेशमै भर पर्नुपरिरहेको छ । यसको शूक्ष्म अध्ययन गरेर देशभित्रै काम गर्ने वातावरणका लागि सरकारले युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ भन्छन् थपलिया ।

    उनी भन्छन्, ‘डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट अएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं । आखिर के अर्थ भयो त ?’ सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले नपाएको उनको अनुभव छ । सरकारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम नल्याउँदासम्म कृषि क्रान्ति सम्भव नभएको उनको बुझाइ छ ।

  • युनिसेफको प्रतिनिधि भेट्न होटल पुगे मुख्यमन्त्रीसहितका तीन मन्त्री, के भयो कुराकानी ?

    युनिसेफको प्रतिनिधि भेट्न होटल पुगे मुख्यमन्त्रीसहितका तीन मन्त्री, के भयो कुराकानी ?

    कैलाली । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सहितका तीन मन्त्री युनिसेफ प्रतिनिधी भेट्न धनगढीको एक होटलमा पुगेका छन् ।

    मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पुर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिलामन्त्री माननीय नरेश बहादुर शाहीले आज नेपालका लागि युनिसेफ प्रतिनिधी एलिस् अकुङ्गासङ्ग भेटवार्ता गरेका हुन् । उनिहरुबिच धनगढीको चौलानी होटलमा भेटवार्ता भएको हो ।

    भेटका क्रमामा उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण, द्वन्द्व र कोभिड–१९ पछिको स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षण, तथा बालबालिकाको स्थितीमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्धनका विषयमा छलफल भएको थियो । दीगो जलवायू परिवर्तन प्रतिकार्यमा प्रदेश सरकारसँग मिलेर काम गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

  • तस्बिरमा हेर्नुस् काठमाडौंमा सफा पानीका मुहान

    तस्बिरमा हेर्नुस् काठमाडौंमा सफा पानीका मुहान

    काठमाडौं । काठमाडौंमा पानीको अभाव कस्तो छ भन्नेकुरा काठमाडौंवासी हरेक नागरिकलाई थाहा छँदैछ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन । अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरुमा पानीको कस्तो समस्या होला ? यो हामीले कल्पना गर्दा नै पुग्छ । अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ ।

    काँठ क्षेत्रमा पानीका मुहानहरु शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन् । तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरुले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदुषण बढीरहेको छ । त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन ।

    यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो । काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् ।

    काठमाडौंमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला । त्यसैले पनि हामीले यस्ता स्वच्छ पानीका मुहानमा फोहोर नगरी सफा र स्वच्छ राख्नुपर्छ । किनभने प्रकृतिको संरक्षण गरेमात्रै प्रकृतिले हामीलाई सुरक्षित राख्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौंका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरु ।

  • हेटौंडा अस्पतालमा चिकित्सकहरुकाे आन्दोलनपछि आकस्मिक बाहेकका सबै सेवा ठप्प (तस्बिरहरु)

    हेटौंडा अस्पतालमा चिकित्सकहरुकाे आन्दोलनपछि आकस्मिक बाहेकका सबै सेवा ठप्प (तस्बिरहरु)

    मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।

    गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

    उक्त घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द छन् । जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवामात्रै सञ्चालनमा रहेको उनले बताए ।

    उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८ चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको जानकारी दिए ।

    डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

  • गैँडाको आक्रमणबाट एकको मृत्यु

    गैँडाको आक्रमणबाट एकको मृत्यु

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
    निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
    ‘बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ’, उनले भने, ‘गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।’ ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन् ।
    आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन् ।
  • वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

    वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

    काठमाडौं । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख रुपैयाँ गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए ।
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो ।’ उनका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरु अहिले कानुनी कारबाहीको दायरामा छन् । दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले ११ लाख गुमाए । आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
    प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो । यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौंको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन् । यी घटनाहरु पछिल्ला एक साताका हुन् । यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ । सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन् । वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरु छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो ।
    प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैैदेशिक रोजगारीका नाममा दैनिक जसो नै मानिसहरु ठगिएका घटनाहरु देखिएको बताउछन् । उनले यो क्रम विगतका वर्षहरुभन्दा बढ्दो क्रममा रहेको देखिएको बताए। अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रुपमा बढिरहहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ । यसतर्फ प्रथमतः नागरिक आफैँ सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
  • रुसद्वारा दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला

    रुसद्वारा दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला

    मस्को । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।

    अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन)का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ ।

    संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन् ।

  • २८ करोडमा निर्माण गरिएको सभागृह प्रयोगहीन

    २८ करोडमा निर्माण गरिएको सभागृह प्रयोगहीन

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिब २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो ।
    सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए ।
    सो सभागृह डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको जनाइएको छ । सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ ।
    निर्माण कार्यसम्पन्न भएपछि हस्तान्तरणको तयारीसमेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ हुन गएको आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सौरभ कलौनीको भनाइ छ । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए ।
    सभागृहमा ९ सय जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ ।
    सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न चालु आर्थक वर्षमा रु २५ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी कलौनीले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो । कोभिड– १९ का कारण काममा बाधा उत्पन्न भएपनि एक वर्ष म्याद थप गरी २०७९ जेठमा निर्माण सम्पन्न भएको थियो ।
  • मरेका ७ गाईसहित दुईजना पक्राउ

    मरेका ७ गाईसहित दुईजना पक्राउ

    नवलपरासी । पाल्पाबाट अवैधरुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।
    तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए ।
    बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए ।
    ‘पिकअपमा ९ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा ९ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ’, उनले भने, ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन् ।’ पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।
    घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताए । गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन् ।
  • काठमाडौं महानगरद्वारा तत्काल गर्नुपर्ने कामको सूची सार्वजनिक

    काठमाडौं महानगरद्वारा तत्काल गर्नुपर्ने कामको सूची सार्वजनिक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।
    महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनलगायतका छन् ।
    साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको महानगरको भनाइ छ ।
    आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरको कार्यालय काठमाडौं प्लाजामा स्तनपान कक्ष निर्माण गराउने विषय पनि सूचीमा राखिएको छ ।
    महानगरले गत साता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमूना प्रदान गरी आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो । विगत केही वर्षदेखि नै महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म निर्माण अघि बढाउन सकेको छैन । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।
  • सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच समझदारी

    सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल हार्ट क्लिनिकबीच विशेष छुटको साझेदारी भएको छ ।

    आइतबार बैंक र बुटवल, रुपन्देही स्थित विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

    सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

    बैंकले देशभर १८८ शाखा, १४८ ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • महासंघद्वारा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    महासंघद्वारा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् ।

    उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने पनि बताए ।

    नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।

    महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासंघ अध्यक्ष ढकालले भन्नुभयो, ‘थप समस्या सिर्जना गरिदिनु भएन ।’

    कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्सायी हुने महासंघको धारणा छ ।

  • मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत, अब हुम्लामा मात्रै बाँकी

    मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत, अब हुम्लामा मात्रै बाँकी

    काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको हो ।

    प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगढी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगाड र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।

    अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ ।

    साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तिब्र रुपमा अगाडि बढाइने बताए । अहिले मुगुमा प्राधिकरणका तीन हजार ५०० घरधुरी ग्राहक छन् ।

    गत वर्षको असोजको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत गृह सञ्चालनमा ल्याइएको थियो ।

    मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

  • ऋण नउठेपछि धितोमा राखेको घरजग्गा बिक्री गर्दै नेपाल बैंक, कुन ठाउँको घरजग्गाको मूल्य कति राखिएको छ ?

    ऋण नउठेपछि धितोमा राखेको घरजग्गा बिक्री गर्दै नेपाल बैंक, कुन ठाउँको घरजग्गाको मूल्य कति राखिएको छ ?

    काठमाडौ । नेपाल बैंक लिमिडेटले बैंकमा धितो राखेर कर्जाको साँवा ब्याज नतिरेकाहरुको सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको घरजग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा बिक्री गर्नका लागि घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति वा फर्म आफुले के कति मूल्यमा लिन लागेको हो सो मूल्यमा लिनका लागि बैंकको प्रधान कार्यालय कर्जा असुली विभागको फर्म भर्न आव्हान गरेको छ ।

    फारम दस्तुर ५ हजार तोकिएको छ । बैंकले २१ दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सूचना प्रकाशित भएको २१ दिन अर्थात असोज १४ गतेभित्रमा यी जग्गाहरु खरिद गर्न चाहनेले आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले लिलाम गर्न लागेका जग्गाहरुमा काभ्रे, ललितपुर, सिराहा, सिन्धुपाल्चोक, पर्सा, झापा, सुनसरी लगायतका जिल्लामा रहेका छन् ।

  • सुनसरीमा पानीको ड्रम र नहरमा डुबेर २ जनाको मृत्यु

    सुनसरीमा पानीको ड्रम र नहरमा डुबेर २ जनाको मृत्यु

    विराटनगर । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको राम धुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

    उनी घर नजिकै रहेको नहरमा डुबेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पु¥याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

    यसै गरी सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।

    ज्येष्ठ नागरिकका मन्दिरमा पुजारीको रुपमा कार्यरत भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ड्रममा डुबेर मृत्यु भएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • माेरक्काेमा शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाकाे मृत्यु (भिडिओ)

    माेरक्काेमा शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाकाे मृत्यु (भिडिओ)

    काठमाडौं । उत्तरी अफ्रिकी मुलुक मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाको मृत्यु भएको छ । शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्पमा परी २९६ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको उल्लेख गरिएकाे छ ।

    भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको छ भने यसकाे गहिराइ  १८.५ किलोमिटर रहेको यूएएस जिओलोजिकल सर्भेले जनाएकाे छ ।

    भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।