Author: Anisha Tiwari

  • अर्थतन्त्रको समस्या समाधान खाेजीका लागी महासंघले वृहत बहस गर्ने

    अर्थतन्त्रको समस्या समाधान खाेजीका लागी महासंघले वृहत बहस गर्ने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारसहित सबै सरोकारवालाहरूको सहभागितामा असोज मसान्तभित्र काठमाडौंमा वृहत आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ ।

    महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बाग्लुङ ढोरपाटनमा कार्यकारिणी समितिको तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।

    निजी क्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आएपनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराई समाधानमा पहल गर्ने उद्देश्यले वृहत बहस आयोजना गर्न लागेको हो ।

    नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा सन् २०२३–३२ लाई पर्यटन दशककारूपमा मनाइने घोषणा गरिएको छ । सरकारको उक्त प्रयासलाई समेत सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रकातर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षकारूपमा मनाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।

    नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्नुकासाथै महासंघ तथा यसका सदस्य संघ÷संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राखि प्रचार प्रसार गरिनेछ ।

    यसैगरी ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा बृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    त्यसैगरी, महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारसंगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ ।

    महासंघका सदस्यहरूमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका वैठक आयोजना गर्न सुरु गरेको छ । ढोरपाटनको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वलाई मनन गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्न सकियोस भन्ने अभिप्रायले महासंघको कार्यकारिणी समितिको बैठक त्यस क्षेत्रमा आयोजना गरिएको हो ।

    बैठकमा महासंघका पदाधिकारीहरू, प्रदेश अध्यक्षहरू, समिति तथा फोरमका सभापतिहरू, कार्यकारिणी समितिका सदस्यहरूले आआफना धारणा राखेका थिए ।

  • आज पनि घट्यो सुनको भाउ

    आज पनि घट्यो सुनको भाउ

    काठमाडौं । लगातार आज सोमबार पनि सुनको मूल्य घटेको छ ।

    सोमबार बजारमा छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार मात्रै तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ ।

  • काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै (भिडिओ)

    काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै (भिडिओ)

    काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।

    उनले भने, ‘यो ४/५ वर्षको प्रयासमा कोशिस गरेर यो कार्यक्रम हुन गईरहेको छ । यसको पत्रकार सम्मेलन गर्न गईरहेका छौं । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नु भयो । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।’

    देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइनेछ । कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

  • नेकपा एस नवलपुरको सिंगो कमिटीले गर्‍यो पार्टी परित्यागको घोषणा

    नेकपा एस नवलपुरको सिंगो कमिटीले गर्‍यो पार्टी परित्यागको घोषणा

    पोखरा । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी नवरपुरका अध्यक्ष झविलाल रानासहितको सिंगो टिमले पार्टी परित्याग घोषणा गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष रानासहितका ३१ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

    रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी पे्रस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुलीले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला सदस्य ऋषिराम डुम्रे, मनरखा झेंडी, राजु चापागाई, धनलाल भुसाल, सिता अधिकारी पराजुली, होमकुमारी पोख्रेल, सुन्दरजंग कुँवर र सूर्यप्रसाद कँडेल पनि पार्टी परित्याग गर्ने सूचीमा छन् ।

    पार्टी परित्याग गर्नेमा जिल्ला सदस्य मनबहादुर सारु, दधिराम पाण्डे, ईन्द्र चापागाई, पूणर्बहादुर सोती, मोहनराज घिमिरे, प्रेमकुमारी शर्मा, नमकान्त भुसाल, लिला सुनार, अर्जुन विक र विजय भण्डारी पनि छन् ।

    विभिन्न कमिटी र जनवर्गिय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले असोज ५ गतेका दिन पार्टीको केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीमा गराइएको ध्यानाकर्षणका सम्बन्धमा कुनै सुनुवाई, छलफल, निणर्य समेत नभएको हुँदा पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको भन्दै उनीहरु पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

    ‘आजका मितिदेखि कम्युनिष्ट विचारधाराबाट भने विचलन नहुने प्रतिवद्धताका साथ हामी आवड पार्टी नेकपा ९एस० को साधारण सदस्य समेत नरहने गरी सामुहिक रूपमा पार्टी परित्याग गरिएको घोषणा गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ । 

  • भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

    भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ ।

    भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ ।

    भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत् आयात÷निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

    भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।

    यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिदैँ थियो । डे अहेडको नविकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गरे ।

    ‘यसअघि प्रतिश्पर्धी बजारबाट विद्युत आयात निर्यातका लागि एक दिन पर्खनु पर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौं, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद बिक्री गर्न सक्ने अवस्था निर्माण भएको छ ।,’ अधिकारीले भने । ‘डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रो लागि नयाँ अनुभव र उपलब्धी हो, यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुकासाथै दुई देशबीचको विद्युत व्यापारमा नयाँ इँटा थपिएको छ ।’

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

    प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

     

  • १० तस्बिरमा हेर्नुहोस् काठमाडौंका थिति बिग्रिएका सडक

    १० तस्बिरमा हेर्नुहोस् काठमाडौंका थिति बिग्रिएका सडक

    काठमाडौं । सडककै कारण सधैँ जनताले शास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ ।

    केन्द्रिय राजधानी काठमाडौंको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो मननयोग्य र विचरणीय छ । काठमाडौं उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? यो कल्पना गरेमात्रै पनि पुग्छ ।

    काठमाडौंका यी सडकहरु मृत्युमार्ग हुन् भन्दा फरक नपर्ला । यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखन्छि । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्बिरहरु ।

           

  • ‘सेल्फी खिचौंला’मा बिना र सरोजको रोमान्स

    ‘सेल्फी खिचौंला’मा बिना र सरोजको रोमान्स

    काठमाडौं । अहिलेको जमाना सेल्फीको छ । सेल्फी खिचेर सोसल मिडियामा अपलोड गर्न हरेक वर्गका मानिसहरु उत्साहित देखिन्छ । यही विषयलाई समावेश गर्दै गीत तयार पारिएको छ ।

    रानी शाक्य र किरण भुजेलको स्वरमा हरि उप्रेतिको शब्द, नागेन्द्र श्रेष्ठको संगीतमा ‘सेल्फी खिचौंला’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा यूवा यूवतीविच सेल्फी खिच्ने र माया पिरती साट्ने भावलाई उठान गरिएको छ । गीतका शब्दहरु टिकटकमा हिट हुन सक्छन् ।

    भिडियोमा विना राउत, सरोज प्रजा र निक्स शर्माको अभिनय हेर्न सकिन्छ । भिडियोमा ३ जनाले गज्जबको नृत्य गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ ।

  • ‘आइएमई पे’ बाटै एसआईपी भुक्त्तानी गर्न सकिने

    ‘आइएमई पे’ बाटै एसआईपी भुक्त्तानी गर्न सकिने

    काठमाडौं । अब नेपालको डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सजिलै ‘सिस्टम्याटीक इनभेष्टमेन्ट प्लान’ एसआईपी को रकम भुक्तानी गर्न सक्ने भएको छ । जसका लागि ‘आईएमई पे’ ले एनआईसी एशिया क्यापिटल र कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

    सम्झौता अनुसार आइएमई पे का सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को ‘एनआईसी एसीया डाइनामिक डेबिट फण्ड र कुमारी क्यापिटलको ‘कुमार सुनौलो लगानी योजनाको एसआईपी र यूनिट प्रचेजको भुक्तानी गर्न सक्नेछन् ।

    पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको भुक्तानीलाई थप सहज पार्दै सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका बताए ।

  • डिजिटाइजेसनसँगै सिटिजन्स बैंक, घरबाटै खाता खोल्ने देखि विदेश जाँदा डलर साटहीसम्म सुविधा

    डिजिटाइजेसनसँगै सिटिजन्स बैंक, घरबाटै खाता खोल्ने देखि विदेश जाँदा डलर साटहीसम्म सुविधा

    काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रको डिजिटलाइजेसनसँगै सिटिजन्स बैंक पनि निरन्तर नयाँ प्रविधिसंगै अगाडी बढिरहेको छ ।

    हाल नेपालले ‘डिजिटल नेपाल २०२३’ को नारा घन्काइरहेको छ भने, सिटीजन्स बैंकले पनि आफ्ना सबै सेवा सुविधालाई डिजिटलाइजेस तिर लैजानेमा जोड दिइरहेको छ ।

    हाल ग्राहकहरुको सहजिकरणका निमित्त बैंकले नयाँ भिषा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड बलक गर्ने, जस्ता सेवाहरु अनलाइन तथा मोबाइल बैकिङ्ग मार्फत प्रदान गरिरहेको छ । सिटिजन्स बैंकका ग्राहकले ‘क्यूआर’ कोड रजिष्ट्रेसन अनुरोध, अकाउन्ट नम्बर परिवर्तन, मोबाइल नम्बर परिवर्तन अनुरोध, मेरोसेयर अनुरोध, सिआरएन नम्बर अनुरोध, डिम्याट तथा आस्वा सेवा, मेरोसेयर पासवर्ड अनुरोध, मेरो शेयर रिन्यू सेवाहरु अनलाइन मार्फतबाटै पाइरहेका छन् ।

    बैंकका कारोबार प्रमुख शुवेस पोखरेलका अनुसार बैंकले देशमा मात्रै नभएर विदेशमा समेत चल्ने ‘एनपीआर र यूएसडी डेबिट कार्ड’/क्रेडिट कार्ड’ मार्फत ग्राहकहरुलाई सेवा प्रदार्न गरिरहेको छ ।

    पोखरेल भन्छन, ‘विदेश भ्रमणमा जाने ग्राहकहरुको लागि ‘यूएसडी ट्राभल’ कार्ड समेत संचालनमा ल्याएको छ । जहाँ विदेश जाने नेपालीहरुले सटही सुविधा स्वरुप २ हजार ५ सय अमेरिकी डलर सम्मको सटही सुविधा कार्डबाट समेत खर्च गर्न पाउनेछन् ।’

    ‘अनलाइन मार्फत वस्तु तथा सेवा प्रयोग गने बैंकले ५ सय डलर सम्मको ‘ई–कम कार्ड’ को सुविधा प्रदान गर्दै आएका छौं । जसका लागि ग्राहकहरुले सिटिन्जन्स बैंकमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ, जसको आधारमा वार्षिक ५०० डलर सम्म कार्डबाटै अनलाइन कारोबार गर्ने सुविधा बैंकले उपलब्ध गराउदै आएको छ’ पोखरेले बताए ।

    आफ्ना शाखाहरुबाट बैंकले ‘जीआरई, जीम्याट, टीओएफईएल भिशा प्रोसेसीङ’ सेवाहरुको अनलाइन भुक्तानी समेत गर्ने व्यवस्था मिलाएको छ । जसमार्फत डलर खाता नहुने ग्राहकहरुले समेत सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्नेछन् । यसका साथै बैंकले तत्काल कार्ड आवश्यक भएका ग्राहकलाई ‘इनसेन्ट’ कार्ड दिने व्यवस्था पनि मिलाएको छ । ‘एनपीआर र डलर’ दुवै किसिमका कार्डमा यस्तो सेवा उपलब्ध छ ।

    देशका मुख्य शहरमा मात्र नभई जुम्ला, जाजरकोट र मुगु जस्ता दुर्गम स्थानहरुबाट समेत एटीएम सेवा प्रदान गर्दै आएको सिटीजन्स बैंकको मोबाइल बैंकिङ्ग सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्ने बाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिषाकार्ड अनुरोध, अनलाइन मुद्दति खाता खोल्ने सुविधा, अनलाइन अपोइन्टमेन्ट सिस्टम साथै क्यू आर भुक्तानी सेवा रहेका छन् । मोबाइल बैकिङ्ग एपबाटै कर्जा सुविधा ‘फेन लोन’ तथा प्रिभिलेज बैंकिङ्ग सेवा ग्राहकले अंग्रेजी र नेपाली भाषामा चलाउने सुविधान प्रदान गर्दछ ।

    ग्राहकमैत्री सुविधा प्रदानको नाराका साथ बैंकले इन्टरनेट बैकिङ्ग सुविधा पनि प्रदान गरिरहेको छ । जहाँ ग्राहकलाई स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्ने र बिल पेमेन्टको सुविधा प्राप्त छ । बैंकका ग्राहकले विश्वको जुनसुकै कुनावाट दैनिक २० लाखदेखि ५० लाख मासिकसम्म कारोबार सुविधा रहेको छ ।

    ‘सिटिजन्स रेमिट’ सेवामार्फत संसारको जुनसुकै कुनाबाट तथा जुन सुकै माध्यमबाट आएको बिप्रेषण रकम पाप्त गर्नसक्ने व्यवस्था समेत गरिएको छ । रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्थाको अन्तय गरेको पोखरेलले जानकारी दिए ।

    त्यसैगरी बैकले डिजिटल कारोवारलाई प्रोत्साहन गर्न विभिन्न संस्थासँग सहकार्य गर्दै हस्पिटल, होटेल, रेष्टुरेण्ट, क्लिनिक, म्यूजियम, पार्क लगायतमा डिस्काउन्टको व्यवस्था गर्दै आएको छ । बैंक सदैव ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पोखरेलले बताए ।

  • मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

    मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

    काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।
    सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उनले बताए । उनले भने,’सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।’
    वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उनले बताए । उनले भने, ‘अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको छ ।’
    अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताए । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उनले जानकारी दिए ।
    सुरक्षा अपनाउँदा अपनाउँदै गेट नम्बर १ पुरिएको देखिएको उनले बताए । वैकल्पिक सुरुङभित्र पनि बालुवा छिरेको जस्तो देखिएको र यदी त्यसो भएमा सफा गर्न समय लाग्ने उनको भनाइ छ । पहिले सुरुङ बन्द गर्दा सबै गेट राम्ररी राखिएको छ । तिनलाई उपकरणबाट चलाउन सकिन्छ भन्ने अपेक्षा आयोजनाको रहेको थियो । तिनलाई वर्षा रोकिएपछि सजिलै चलाउन सकिने छन् भन्ने भए पनि अहिलेको क्षतिले त्यो अवस्था नभएको सूचना अधिकारी पन्तले बताए ।
    उनका अनुसार अहिले गेट नम्बर १ र ९ पुरिएको अवस्थामा छन् । उनले भने, ‘हेडवर्क डाइभर्सन सुरुङभित्र पनि केही छिरेको हुनसक्ने र त्यसो हुँदा समय लाग्नसक्ने देखिएको छ ।’ दुई वर्षसम्म आयोजनाले अस्थायी रुपमा नै पानी चलाएको थियो । लगानीको प्रतिफल आउँदा नआउँदै फेरि क्षति पुगेको छ । सरकारले अस्थायी रुपमा चलाउने हो भने त्यसका लागि गर्नुपर्ने काम कसरी गर्ने भनी निर्णय हुनुपर्ने बताए । उनले भने, ‘निर्णय भएपछि अस्थायी रुपमा चलाउन तयारी गरिनेछ ।’
    उनले भने, ‘गत दुई वर्षमा उपत्यकामा पानी ल्याएर केही राहत दिइएको थियो । बर्सेनि गरेको काममा फेरि खोलाले पुर्ने र फेरि गर्नुपर्ने भइरहेको छ ।  हरेक वर्ष दोहोराएर गर्ने कि नगर्ने निर्णय हुन जरुरी छ ।’
    अहिलेसम्म क्षतिका बारेमा स्थलगत रुपमा पुगेर हेर्न सकिएको छैन । आयोजनाले  ड्रोनबाट हेर्दा गेट नं १ र ९ पुरिएको देखिएको हो । गेट नं १ बाट डाइभर्सन सुरुङ हुँदै केही गेग्र्यान छिरेको हुनसक्ने र धेरै जम्मा भएर बसेको भए सफा गर्न बढी समय लाग्ने हुनसक्ने देखिएको उनले जानकारी दिए ।
    अहिले संरचना पुरिएको अवस्थामा रहेकाले कति क्षति भयो भनी यकिन भइसकेको छैन । गत वर्ष गरेको केही काम अहिलेको बाढीले क्षति पु¥याएको थियो । सुरुङ सफा गर्नका लागि जमिन मुनि ‘फल्सिङ सिस्टम’ (अन्डरग्राउन्ड स्ट्रक्चर) बनाएको थियो । त्यो क्षति भएको छ छैन भनी बाहिरबाट हेरेर भन्न नसकिने उनले बताए । उनले भने, ‘स्थलगत रुपमा हेरेर नै कुनकुन संरचनामा कतिकति क्षति पुगेको भन्न सकिन्छ ।’
    आयोजनानमा थप काम गर्नका लागि सरकारले अस्थायी रुपमा पानी चलाउने निर्णय गर्नुपर्ने उनले बताए । अस्थायी रुपमा पानी चलाउनका लागि पुराना निर्माण व्यवसायीबाटै गराउने हो भने भुक्तानी कसरी गर्ने टुङ्गो लगाउनुपर्ने उनले बताए । उनले भने, ‘लम्बिँदै गएको पहिलेका ठेक्का सकाएर नयाँ ठेक्का गर्ने कि तिनलाई मूल्याङ्कनबाट गराउने भन्ने निर्णय गर्नुपर्छ ।’
    सिनो हाइड्रोको ठेक्का र हेडवर्क निर्माणको चालु ठेक्कामा गत वर्ष कामको मूल्याङ्नका आधारमा भुक्तानी गरेर काम चलाइएको उनले बताए । गत वर्ष हेडवर्क सफा गर्ने र ठूलाठूला ढुङ्गा फुटाउने काम गर्न मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । उनले भने, ‘खानेपानी मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय भएपछि नै काम गर्न सकिनेछ ।’
    सरकारले पहिलो पटक विसं २०७७ चैतमा र दोस्रो पटक विसं २०७८ चैतमा तथा तेस्रो पटक गत वर्ष मङ्सिरमा मेलम्चीको पानी उपत्यकामा वितरण गरेको थियो । पहिलो पटक वितरण सुरु गरिएको केही महिनामा आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारण आयोजनाका धेरै संरचनामा क्षति पुगेको थियो । बाढीका कारण मानवीय क्षतिसमेत भएको थियो । त्यो क्षतिको पुनःनिर्माण नसकिँदै पुनः आयोजनाका संरचनामा अहिले क्षति पुगेको छ ।
  • अमेरिकी राष्ट्रपतिको कुकुरले मान्छे टोकेपछि…

    अमेरिकी राष्ट्रपतिको कुकुरले मान्छे टोकेपछि…

    न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ ।

    राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ ।

    कमाण्डर वाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

    सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका एक जना कर्मचारीलाई कमाण्डरले टोकेको हो ।

    गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको खोजिभइरहेको बताएका थिए ।

    यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन् ।

  • वसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरहरु/भिडिओ)

    वसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरहरु/भिडिओ)

    काठमाडौं । वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । वसन्तपुरमा आज ५४ जना कुमारीको पूजा गरिएको हो ।

    इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

    पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । कुमारी पूजाको आयोजना हिन्दु राष्ट्र संघले गर्दै आइरहेको छ ।

    हेर्नुस् तस्बिरहरु :

    तस्बिरहरु : उमेश कार्की

  • ‘संसद र सांसदकै क्षमता कमजोर छ, जनतासँग के भन्दै मुख देखाउन जाने ?’

    ‘संसद र सांसदकै क्षमता कमजोर छ, जनतासँग के भन्दै मुख देखाउन जाने ?’

    काठमाडौं । नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्, ‘जनतासमक्ष के भन्ने र कसरी मुख देखाउन जाने, एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ । यसमा संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ ।’

    विसं २०१४ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गरी विसं २०२१ मा बागलुङमा सङ्गठन बनाएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका केसी विसं २०३१ मा नेकपाको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । विसं २०२८ मा राजनीतिक प्रशिक्षणका क्रममा गिरफ्तारीमा परी नौ महिना कारागार जीवन बिएका उनी लामो समय शिक्षण पेसामा संलग्न भए ।

    विसं २०४० मा नेकपा (मसाल)का महामन्त्री, पाँचौँ महाधिवेशनमा पोलिटब्यूरो सदस्य, विसं २०५६, २०६४, २०७० र २०७९ मा बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित केसीले विसं २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे ।

    राष्ट्रिय जनमोर्चा विसं २०५२ मा गठन भएपछि निरन्तर अध्यक्ष रहेका केसीको ‘संसद्मा एक दशक २०५६–२०६७’ कृति प्रकाशित छ । नेता केसीले सदन होस् वा संसदीय समितिमा बोल्ने दिन सांसदहरूका लागि विशेष प्रतिक्षाको घडी बन्छ र सञ्चारकर्मी पनि उनलाई पर्खेर बस्ने गर्छन् । ठेट नेपाली भाषामा उखान टुक्कासहितको उनको वाक्कला पछिसम्म चर्चामा रहन्छ ।

    सांसदको मुख्य जिम्मेवारी नीति र विधि निर्माण अर्थात् नियम-कानुन बनाउने तथा बनेका कानुनलाई समयानुकूल तुल्याउन संशोधन र परिमार्जन गर्ने रहेको उनले बताए । उनले सरकार निर्माण, बजेट बाँडफाँट, छलफल र अनुमोदन मुख्य कार्यभार भए पनि मतदातामा सांसद भनेको विकास निर्माणको पनि मुख्य जिम्मेवारीमा बसेका प्राणी हुन् भन्ने जबर्जस्त बुझाइ रहेको प्रतिक्रिया दिए ।

    संसद्मा विधेयक, नियमावली, ऐन, कानुन र नियमका काममा व्यस्त रहनुभन्दा विकास चाहियो भनी मन्त्रालय, मन्त्री र कर्मचारीका कोठा, चोटा चहार्ने प्रवृत्ति गलत रहेको बताउँदै पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री केसीले निर्वाचनमा उम्मेदवार मत माग्न जाँदा तिनसँग धारा, बाटो, विद्यालय, कुलो र तटबन्धको माग गर्ने मतदाताको स्तरले पनि मुख्य जिम्मेवारी र कर्तव्यलाई ओझेलमा पारेको धारणा राखे ।

    बारीमा गएको पहिरो रोक्न आवश्यक जाली लिन वडा, पालिका र प्रदेशलाई छाडेर केन्द्रीय सांसदसँग माग गर्ने प्रवृत्ति कायम नै रहेको जनाउँदै उनले भने, ‘एक जना मतदाताले बारीमा गएको पहिरो रोक्न जाली पठाइदिनुपर्‍यो भनी मसँगै माग गरेको अवस्था छ । कार्यक्षेत्र र जिम्मेवारीबारे बुझाउन नसक्नु हाम्रो पनि कमजोरी छ ।’

    चुनावका बेला जे भने पनि दिन्छु भनेर प्रतिवद्धता गरेपछि उनीहरूले माग गर्नु स्वभाविक भएको बताउँदै उनले भने, ‘जैसा गुरु ओहिसा चेला भनेजस्तै छ ।’ विधि र विधान बनाउनेको स्तर माथि उठेको भए मतदाताले पनि त्यही सिक्ने र बुझ्ने थिए भन्दै अध्यक्ष केसीले मत माग्ने बेलामा नसक्ने, नपुग्ने, नहुने आश्वासन बाँड्ने विषय ठीक नभएको प्रतिक्रिया दिए ।

    सांसद भनेको नीति निर्माण गर्ने हुन् भन्ने बुझ्न जरुरी रहेको बताउँदै उनले संसदीय विकास कोषमार्फत पाँच करोड बराबरको योजना छनोट र खर्च गराउने विषयले पनि चुनाव खर्चिलो तुल्याएको धारणा राखे ।

    राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति किन विदेश जानुपर्थ्यो भनी प्रश्न गर्दै सांसद केसीले धेरै कुरा र थोरै काम गर्ने प्रवृत्ति सच्चिन आवश्यक रहेको विचार प्रकट गरे ।

    एक प्रसङ्गमा उनले भने, ‘सांसद र संसद्मा कमजोरी छ, आफू परिवर्तन भएको मानिसले मात्रै परिवर्तन गर्न सक्छ, त्यो यहाँ देखिन्न । सांसदकै स्तर नउठेको हो, अनि देशमा विकास र परिवर्तनको के सम्भावना हुन्छ र ?’

    ‘निर्वाचन भएको नौ महिना र सदन सञ्चालन भएको सात महिनासम्म प्राथमिकता परेको एउटा पनि विधेयक पारित हुन नसक्दा यसभन्दा लज्जाजनक कुरा के हुनसक्छ, यो मतदातालाई गर्नै नहुने र सुनाउनै नमिल्ने कुरा हो’, अध्यक्ष केसीले भने ।

    ‘जनतासमक्ष के भन्ने र के मुख देखाउन जाने भनी प्रश्न गर्दै उहाँले एउटै पनि कामै गर्न सकिएन भन्ने कि लुकेर यतै बस्ने अवस्था छ । संसद्को होइन, सांसदकै क्षमता र प्रवृत्ति कमजोर छ ।’

    विधि र थिति बनाउने प्रमुख भूमिकामा रहेका सांसद सरकार बनाउने, गिराउने र आफ्ना स्वार्थमा केन्द्रित हुने कुराले प्राथमिकताका विषय नै ओझेलमा पर्ने गरेको बताउँदै नेता केसीले १५ दिनभित्र बनाइसक्नुपर्ने संसदीय समितिका नियमावली पनि सात महिनासम्म पूरा नभएको घटनाले त्यसलाई पुष्टि गरेको जनाए ।

    अहिले जिम्मेवारी र काम, कर्तव्यभन्दा प्रधान विषय सत्ता हुन गएको विचार राख्दै उनले नेपालजस्तो पिछडिएको समाजमा राष्ट्र र जनताको स्वार्थ केन्द्रमा राखेर राजनीतिक दलले राजनीति गर्ने भए देशमा यस्तो अवस्था हुन्थेन भने । उनले भने, ‘जसरी पनि सत्तामा जानुपर्छ, रजाइँ गर्न पाउनुपर्छ भन्नेबाहेक अन्य चिन्ता नभएपछि सिद्धान्त र पद्धतिले काम गरेन, विशुद्ध सत्ता र शक्तिका लागि मात्र छिनाझपटी भयो ।’

    ‘संविधान जारी भएको आठ वर्षसम्म एउटा प्रदेशको न्वारन हुन सक्दैन, भएपछि त्यसका विरुद्ध झगडा हुन्छ, महिनैपिच्छे सरकार गठन हुन्छ, विघटन हुन्छ । मेरो पार्टीले प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ, प्रदेशको लफडामा नलागौँ त्यसै भनेको होइन । सत्ताका लागि सभामुखले नै भोट हाल्ने कार्य भएको छ, समृद्धि प्राप्त भइहाल्छ भन्ने लक्षण देखिँदैन’, उनले भने ।

    सबैभन्दा ठूलो सङ्कट भनेको त्यति ठूलो सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रप्रति जनतामा यति छिटो र ठूलो निराशाको स्थिति सिर्जना गराउनमा प्रमुख राजनीतिक शक्ति नै दोषी रहेको आरोप लगाउँदै सांसद केसीले नेताहरूको चरित्र, क्रियाकलाप र बानी–व्यहोराका कारणले जनताले विकल्प खोजेको भनाइ राखे ।

    सदनमा हाम्रो क्रियाकलाप र गतिविधि देखेर यस प्रणालीप्रति नै प्रश्नचिह्न खडा हुनु राम्रो नभएको बताउँदै उनले संसद् हाँक्ने नेतृत्व पनि परिपक्व हुनुपर्ने आवश्यकता महसुस भएको धारणा राखे । संसद्मा कसैले गलत कुरा प्रवेश गराएमा सैद्धान्तिक र कानुनीरूपमा प्रतिवाद गर्न सक्नुपर्नेमा जोड दिँदै उनले सदन चलाउन विशेष योग्यता, क्षमता र खुबी आवश्यक पर्ने पनि औँल्याए ।

    सदनको पनि आफ्नो मर्यादा र पद्धति हुने भएकाले आफ्ना कुरा मर्यादितरूपमा प्रवेश गराउन सकिने बताउँदै उनले बढी उच्छृङ्खल हुने र सञ्चालकले गर्ने ‘कमान्ड’मा निर्भर हुने विचार प्रकट गरे।

    (सांसदसँग राससबाट)

  • मैदान उत्रन संघर्षरत मेस्सी, के भएको हो ?

    मैदान उत्रन संघर्षरत मेस्सी, के भएको हो ?

    न्युयोर्क। लियोनल मेस्सीले पछिल्लो दुई सातामा आफ्नो टोलीले खेलेका ४ मध्ये तीन खेलमा मैदान उत्रन सकेका छैनन्। एक खेलमा पनि सुरुको ३७ मिनेटपछि मैदानबाट बाहिरिएका थिए।

    पछिल्लोपटक उनी, मेजर लिग सकर (एमएलएस)को महत्वपूर्ण खेलमा सोमबार बिहान ओर्लान्डो सिटीविरुद्ध उत्रिएनन्। उनलाई वैकल्पिक खेलाडीको सूचीमा समेत समावेश गरिएको थिएन।

    चार दिन अघि भएको एमएलएसकै खेलमा मेस्सीले टोरन्टो एफसीविरुद्ध सुरुवातबाट खेलेपनि पहिलो हाफ पूरा समय पनि टिक्न सकेनन्। ३७ औँ मिनेटमा बाहिरिएका मेस्सी त्यसपछि कुनै उपचार नगरी आरामपूर्वक खेल हेरेर बसेका थिए।

    इन्टर मियामीका प्रशिक्षक ताता मार्टिनोले मेस्सी चोटसँग जुधिरहेको उल्लेख गरेका छन् तर उनलाई केको चोट लागेको भने खुलाएका छैनन्। दुई साताअघि राष्ट्रिय टोलीबाट खेल्दा मेस्सी घाइते भएको र त्यसैका कारण अहिले उनी मैदानमा उत्रन असमर्थ भइरहेको उनको भनाई छ।

    ‘यो चोट लागेको भनेर भन्दा मेस्सीलाई मानसिक असर पर्न सक्छ। तर यो कुनै नयाँ चोट होइन र मांसपेशीसँग पनि सम्बन्धित छैन। उनलाई समस्या दिइरहने पुरानै चोट हो’, मार्टिनोले भनेका छन्।

    दुई साताअघि विश्वकपको दक्षिण अमेरिकी छनोटमा बोलिभियाविरुद्ध मेस्सीले खेलेका थिएनन्। त्यसको चार दिनअघि मेस्सीकै निर्णायक गोलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोलले हराएको थियो। बोलिभियाविरुद्ध नखेलेपछि मेस्सी घाइते भएको अनुमान गरिएको थियो।

    क्लब फुटबलमा फर्किएपछि उनले इन्टर मियामीले खेलेको पहिलो खेल खेलेका थिएनन्। त्यस खेलमा मियामी पराजित भएको थियो। मेस्सीलाई भित्र्याएयता मियामीको त्यो पहिलो हार थियो।

    मेस्सीले मियामीका लागि ११ खेलमा ११ गोल र ८ असिस्ट गरेका छन्। मियामीले आगामी बुधबार यूएस ओपन कपको फाइनल खेल्दै छ। त्यस खेलमा उनी उपलब्ध हुने नहुनेबारे केही बताइएको छैन।

    मेस्सीकै निर्णायक प्रदर्शनमा इन्टर मियामीले क्लब इतिहासमा पहिलो उपाधिका रुपमा लिग्स कप जितेको थियो। सोमबार बिहान भएको खेलमा मेस्सीबाहेक बार्सिलोनाका अन्य दुई पूर्वखेलाडी जोर्दी अल्बा र सर्जियो बुस्केट्स पनि मैदान उत्रिएका थिएनन्।।

  • सल्यानमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत

    सल्यानमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत

    सुर्खेत । सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका–१८ का ५० वर्षीय गणेश बुढा र २५ वर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए ।

    डिएसपी कार्कीका अनुसार ५० वर्षीया बुढा सवारी धनी हुन् भने घर्ती चालक रहेको बताए । उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

    सोमबार बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको प्रहरीले बताएको छ ।

  • इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निम्तो, यसरी भइरहेछ तयारी (भिडिओ)

    इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निम्तो, यसरी भइरहेछ तयारी (भिडिओ)

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ ।

    इन्द्रजात्राका सन्दर्भमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापान लगाएत देशका विभिन्न नगरका २० जना नगर प्रमुखहरु इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो । त्यस्तै महानगरले २२ जना स्वदेशी पाहुनाहरु पनि अवलोकनका लागि आउने जानकारी दिएको छ ।

    जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । जात्राका लागि शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । उनले २०७६ सालबाट भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई आमन्त्रण गर्न थालिएको बताए ।

    पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको र जात्रालाई भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी भइरहेको बताइन् । त्यस्तै उनले विभिन्न माग राख्दै सामाजिक अभियन्ता ईः ले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भइरहेको भन्दै छलफल गर्न महानगरको ढोका खुल्ला रहेको बताइन् । सामाजिक अभियन्ता ईः ले राखेको विषय महानगरको मात्रै नभएर संघीय सरकारको पनि रहेकाले सवैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको उनको भनाइ छ ।

    मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि विधिवत रुपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनादैछ । इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।

  • नेपालले दुई महिनामा आधा अर्बको ‘डग च्यु’ विदेश पठायो

    नेपालले दुई महिनामा आधा अर्बको ‘डग च्यु’ विदेश पठायो

    काठमाडौं । नेपालले दुई महिनामा मात्रै आधा अर्ब बढिको कुकरलाई खुवाइने आहार ‘डग च्यु’ निर्यात गरेको छ ।

    चालू आर्थिक वर्षको साउन र भदौ सम्ममा मात्रै नेपालले ५४ करोड ९८ लाख रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । अघिल्लो महिना असारमा मात्रै नेपालबाट ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो ।

    ‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पी हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर/बिरालोको आहारका रुपमा गरिन्छ । नेपालको अहिले यसको निर्यात बढ्दै गइरहेको छ । जहाँ गत आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो । भने, अहिले दुई चालू आर्थिक वर्षमा झन बढ्दै गएको देखिन्छ ।

    भदौसम्म मात्रै नेपालबाट २ लाख ७३ हजार ४९७ केजी ‘डग च्यु’ निर्यात भएको हो । जसवाफत नेपालले ५४ करोड ९८ लाख ८२ हजार रुपैयाँ भित्र्याएको छ ।

    एक महिनामा नेपालबाट सबैभन्दा बढि ४७ करोड ८९ लाख ३ हजार रुपैयाँको कुकुरले मन पराउने आहारा ‘डग च्यु’ निर्यात भएको छ ।

    त्यस्तै, नेपालले क्यानडालाई ४ करोड २० लाख ७६ हजार, युके ८२ लाख १० हजार, हङकङ ३५ लाख ८९ हजार, कोरीया ४५ लाख ७३ हजार, ताईवान ३७ लाख २१ हजार, चीन ३ लाख ६७ हजार, नेदरल्याण्ड्स २० लाख ८२ हजार, मलेसीया १२ लाख १३ हजार, सिंगापूर १३ लाख ३२ हजार, फिलिपिन्समा ११ लाख, दुबई ९ लाख ७३ हजार, जापान ९ लाख थाइल्याण्ड ४ लाख ४६ हजार, न्युजल्याण्ड १ लाख ६३ हजा, फ्रान्सलाई १ लाख ९५ हजार र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यु’ छुर्पी निर्यात गरेको छ ।

    ‘डग च्यु’ नामक कुकुर÷बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वि पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।

  • विदेशमा रहेका नेपालीले आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

    विदेशमा रहेका नेपालीले आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

    काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।

    विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ ।

    आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

    यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम २ हजार दुई मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।

  • एनआरएनए आईसीसी सचिवमा मनोज श्रेष्‍ठको उम्मेदवारी

    एनआरएनए आईसीसी सचिवमा मनोज श्रेष्‍ठको उम्मेदवारी

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी घोषणा गरेका छन् ।

    एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य र मध्यपूर्व उपसंयोजक भइसकेका श्रेष्ठले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।

    श्रेष्ठ लामो समयेखि दुबईमा व्यवसाय गर्दै आएका छन् । उनले सन् २००७ देखि एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दै आएका छन् । उनले मध्यपूर्वका राष्ट्रलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरेका छन् ।

    विपत्मा परेका नेपालीको उद्धार तथा सहयोगका लागि श्रेष्ठ अग्रस्थानमा छन् । कोभिड-१९ को महामारीमा पनि उनले कालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत सक्रिय भूमिका निभाएका थिए । श्रेष्ठले आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए।

    एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको बताए। यूरोप, अफ्रिका, अमेरिका, अष्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथाभन्दा फरक नरहेको उनको भनाइ छ ।

  • ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक

    ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर सिनेमा हो ।

    भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड सिनेमामा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।

    एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको सिनेमाका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सहनिर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको सिनेमाको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित स्वयंको सिनेमामा पटकथा लेखन रहेको छ ।

    सिनेमामा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा सिनेमाको छायांकन सुरु भएको थियो । सिनेमाको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ सिनेमा निर्माण गरिसकेको छ भने नयाँ सिनेमा ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनी विदेशी सिनेमा वितरणमा पनि संलग्न छ ।