Author: Anisha Tiwari

  • बझाङ भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री (तस्बिरहरु)

    बझाङ भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री (तस्बिरहरु)

    कैलाली । मंगलबार गएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बझाङ पुगेका छन् ।

    टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।

    आज नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै टोली बझाङ पुगेको हो । यस अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भिम भण्डारी, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलवार गते गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छन् ।

    बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

  • तस्बिरमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको पहिलो अधिवेशन

    तस्बिरमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको पहिलो अधिवेशन

    काठमाडौं । नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटनअघि र्‍याली निकालिएको छ। अधिवेशनको केही समयपछि राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

    उद्घाटनअघि नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर उद्घाटनस्थल राष्ट्रियसभागृहमा पुगेका छन्। कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन्।

    एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन समेत गरिसकेको छ।

  • जनमोर्चाका म्याग्दी अध्यक्ष छवि : पुर्ख्यौली पेसा धान्दै, आरन चलाएर परिवार पाल्दै

    जनमोर्चाका म्याग्दी अध्यक्ष छवि : पुर्ख्यौली पेसा धान्दै, आरन चलाएर परिवार पाल्दै

    बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन् । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन् ।

    गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याएका छन् । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन् । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो ।

    विसं २०७५ देखि नै पार्टी राजनीतिसँगसँगै आरन उद्योगमा समेत उनले आफैँ काम गर्न थालेका थिए । करिब एक रोपनी जग्गामा मासिक सात हजार रुपैयाँ शुल्क तिर्ने गरी भाडामा लिएका उनले आरन उद्योगसँगसँगै सामग्री बिक्रीकक्षसमेत सञ्चालन गरेका छन् ।

    केही वर्षअघिसम्म पार्टीको राजनीतिक गतिविधिमा सक्रिय हुने उनी अहिले आफ्नै पौरखको पेसामा फर्कीएका छन् । ‘‘हरेक दिन आरनकै काम गर्नेमा मेरो समय खर्चिएको छु, कहिलेकाहीँ पार्टीको बैठक, भेला, प्रशिक्षणहरूमा भाग लिनुपर्दा मात्रै यहाँ आउन सक्दिनँ, पार्टीको नेतृत्व पनि अधिवेशनबाट हस्तान्तरण गर्ने योजनामा छु, उनले भने ।

    जिल्लामा पार्टी सङ्गठनको आकार ठूलो नहुँदा राजनीतिक गतिविधिसमेत कम हुने र घरपरिवारको जीविकोपार्जनका लागि पनि अन्य स्रोत नभएपछि विश्वकर्माले आरन उद्योगलाई पेसा–व्यवसायको रूपमा रोजेका थिए । सङ्घीयता नआउँदै जिल्लास्तरमा राजनीतिक दलका नेताहरू बैठक, अन्तक्रिया, सभा, समारोह, योजना, अनुगमनलगायतको क्षेत्रमा समेत व्यस्त बन्ने गरेको भए पनि स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जिल्लास्तरीय नेताहरूको भूमिका खुम्चिएको छ ।

    पार्टी कामबाहेक अन्य समय फुर्सदिलो हुने भएकाले आफूले आरन उद्योग खोलेको नेता विश्वकर्मा बताए । सुरुआतमा तीन लाख लगानीबाट आरन सञ्चालन गरेका विश्वकर्माले परम्परागत आरनलाई आधुनिकीकरणसमेत गरेका छन् । पहिले फलाम काट्ने, जोड्ने र धार लगाउने सबै काम हातले नै गर्नुपर्ने भए पनि अहिले भने फलाम काट्ने, जोड्ने र धार लगाउन मेसिनको प्रयोग गर्ने गरेको उनले बताए ।

    विश्वकर्माको आरन उद्योगलाई मालिका गाउँपालिकाले परम्परागत आरन आधुनिकीकरण गर्ने कार्यक्रमअन्तर्गत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामग्री निर्माण हुने गरेको छ । उद्योगमा आफूसँगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताए । एक्लैले सामग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उनले जानकारी दिए ।

    ‘‘राजनीति सेवा हो, घरिवार चलाउन त पेसा अँगाल्नै पर्यो, आफूले गरेको पेसाले पुख्र्यौली पेसाको संरक्षण र कृषि उत्पादनमा टेवा पुर्याओस् भन्ने चाहनाले आरन खोलेको हुँ’, उनले भने । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको उनले बताए । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुवा–आमा, दुई छोरा र श्रीमतीसहित छ जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

    आरनमा आवश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामग्री र औजारको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामग्रीको मूल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाइएको सामग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मूल्यका सामग्रीसँग प्रतिस्पर्धा गर्न कठिनाइ हुने गरेको उनको अनुभव छ ।

    परम्परागत सीपको उपयोग हुने आरन पेसा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले अरु पेसा व्यवसायको विकल्प हुँदाहुँदै आरनमा लागेको विश्वकर्माले बताए । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ वर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिएका उनले सात वर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हालेका छन् । नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रूपमा परिचित छन् ।

    कमल खत्री/रासस

  • मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

    मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

    मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।

    डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

  • सुनिता डंगोल भन्छिन् – ३ महिनाभित्र काठमाडौंका मुख्य सडकमा सीसी टिभी र बत्ती जोडिसक्छौं  (भिडिओ)

    सुनिता डंगोल भन्छिन् – ३ महिनाभित्र काठमाडौंका मुख्य सडकमा सीसी टिभी र बत्ती जोडिसक्छौं (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सीसी टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छन् ।

    शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सीसी टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताइन् । उनले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको पनि बताए । उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने बताइन् । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न आग्रह गरीन् ।

    उनले भनीन्, ‘महानगरपालिकाले सीसी टिभीका लागि नेपाल प्रहरीसँग एमओयु गरिसकेको छ । र एनइएसँग पनि रोड सेफ्टी सम्बन्धी जोडिने अर्को महत्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरु हुन् । त्यसका लागि पनि हामीले एनइएसँग एमओयु गरिसकेका छौँ । ३ महिनाभित्र मुख्य सडकहरुमा सिसि टिभी कम्प्लिट रुपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ । धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलो रहित सडकका लागि हामीले एक अर्बको टेण्डर पनि अघि बढाइसकेका छौं । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ । सडक पेटीमा पैदलयात्रुलाई हिँड्ने वातावरण बनाउनेमा हामी कन्भिन्स छौँ । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिएकाले पैदल यात्रीलाई असहज भएको छ ।

    डंगोलले सवारी साधनको रुटमा विशेष पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको बताइन् ।

  • रुसी सेनामा गएका नेपाली युवाको मृत्युबारे सांसदले मागे सरकारसँग जानकारी

    रुसी सेनामा गएका नेपाली युवाको मृत्युबारे सांसदले मागे सरकारसँग जानकारी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रुसी सेनामा नेपाली युवाको अनधिकृत भर्तीबारे सरकार गम्भीर नबन्दा युद्धमा नेपालीको मृत्यु भएको दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बजगाईले यसअघि रुसी सेनामा भर्तीको बारेमा प्रश्न उठाउँदा आफ्नै पार्टीका परराष्ट्रमन्त्री एनपी साउदबाट ठोस जवाफ नआएकोमा समेत असन्तुष्टि जनाए ।

    बजगाईले भने– रसियन सेनामा नेपाली युवाको भर्तीले समस्या ल्याउन सक्ने भनेर यसअघि पनि मैले यहाँ उठाएको थिएँ । हाम्रै दलको मन्त्रीले ठोस जवाफ दिनुभएन । नेपाली युवाले रसियन सेनामा भर्ती भएर मृत्युसमेत भइसकेको अवस्था छ । यो भयावह अवस्था आउनसक्नेबारे सरकारको धारणा के छ ?

    सांसद बजगाईले नेपाल र रुसबीच सन् १९५६ देखि सम्बन्ध रहेको र नेपालमा रुसी दूतावास समेत रहेकाले रुस सरकारको धारणा के छ भनेर परराष्ट्र मन्त्रीले जिज्ञासा राखे नराखेको बारे समेत प्रश्न गरे ।

    रुसी सेनामा नेपाली युवाको प्रवेशबारे सबैभन्दा पहिले नेपाल प्रेसले प्रमाणसहित समाचार प्रकाशन प्रसारण गरेपछि संसदमा यो विषयले प्रवेश पाएको थियो ।

  • बेगनासतालमा एकजना मृतावस्थामा फेला

    बेगनासतालमा एकजना मृतावस्थामा फेला

    पोखरा । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए ।

    उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

    इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।

  • बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

    बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।
    उनका अनुसार काभ्रेको तेमाल –७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौं महानगरपालका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।
    नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । आरोपितहरुविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
  • राष्ट्रियसभाका अध्यक्षले गरे अष्ट्रेलिया सभामुखलाई नेपालबाट सीधा हवाई उडानको प्रस्ताव

    राष्ट्रियसभाका अध्यक्षले गरे अष्ट्रेलिया सभामुखलाई नेपालबाट सीधा हवाई उडानको प्रस्ताव

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । सिहंदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।

    भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए । नेपाल र अष्ट्रेलिया बिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखी नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे ।

    भेटमा उनले भने, ‘नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नु आवश्यक छ । दुवै देशको संसदमा मैत्री समुहहरुले दुई देशका संसद्हरूबीचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको छु ।’

    अष्ट्रेलियाले नेपालको समाजिक–आर्थिक विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि व्यक्त गरे। अष्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अष्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेको बताए।

    भेटमा अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अष्ट्रेलियामा संघीयताको अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे। अष्ट्रेलियाले संघीयता कार्यन्वयनका क्रममा हाँसिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

  • ‘वानर सेना’को दोस्रो गीत ‘तिम्रो जुनेली रुप’ सार्वजनिक

    ‘वानर सेना’को दोस्रो गीत ‘तिम्रो जुनेली रुप’ सार्वजनिक

    काठमाडौं । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो जुनेली रुप’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

    फिल्मको सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङ र निर्देशक गिरीको संगीत रहेको छ । फिल्मको कथा पौराणीक रहेकाले पनि दशैंको अवसरमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ । फिल्मको यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेको दाबी निर्देशक गिरीको छ ।

    गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

    आगामी शुक्रबार अर्थात् असोज १९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

    फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

    https://www.youtube.com/watch?v=MG516GVrnaE

  • ‘परदेशी-२’ को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

    ‘परदेशी-२’ को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

    काठमाडौं । यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

    चलचित्रमा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

    यो गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ ।
    गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् ।‘लिरिकल शैली’मा तयार यस गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।

    दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

    रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

    ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । यसअघि सार्वजनिक गीत र देशदौडाहाबाट चलचित्रले निकै राम्रो हाइप बनाइसकेको छ ।

  • बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

    बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

    कैलाली । हिजो दिउँसो बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ ।

    आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो ।

    उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले भने, ‘भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ ।’

    भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो । बैठकमा सभामुख भिम भण्डारी पनि उपस्थित थिए ।

    घाइतेहरुको तदारुकताका साथ उपचार गर्ने, क्षति भएका भौतिक संरचनाको क्षतिको एकिन विवरण सकलन गर्ने, सुख्खा पहिरो गएर अबरुद्ध भएको सडक तत्काल संचालनमा ल्याउन तथा पीडितहरुलाई क्षतिपूर्ति र राहतको उचित व्यवस्थापन गर्न, भत्किएका घरहरुका मानिसहरुलाई तत्काल खान , बस्न र पुनर्स्थापना गर्न तदारुकताका साथ लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री धामीले बताए ।

    मंगलबमर ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भुकम्पले बझाङ सहित आसपासमा गरि सयौं घरमा क्षति पुगेको छ ।

  • एक सातादेखि लगातार घटिरहेको सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    एक सातादेखि लगातार घटिरहेको सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । एक सातादेखि लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ ।

    बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी आज चाँदीको मुल्य १ हजार ३१० रुपैयाँमा स्थिर रहेको छ ।

  • सांसद असिम शाहको आरोप – दलाल विचौलीयाको भए भुक्तानी दिन्थ्यो, क्रिकेट खेलाडीलाई सरकारले झुक्यायो

    सांसद असिम शाहको आरोप – दलाल विचौलीयाको भए भुक्तानी दिन्थ्यो, क्रिकेट खेलाडीलाई सरकारले झुक्यायो

    काठमाडौं । रास्वपा सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झुक्याएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खेलाडीका लागि रकम भुक्तानी गर्ने प्रक्रिया अघि नबढाएकोमा आपत्ति जनाए।

    उनले भने, ‘आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई दिन त सरकारको बिर्सेन होला तर, पुरस्कार दिन चाहिँ बिर्सेको छ। सरकारको बिर्सेको कुरा पटक–पटक सदनमा उठाउँन मलाई लाज लाइसकेको छ। क्रिकेट खेलाडीले लिग जित्दै गए सरकारले उदारो पुरस्कार घोषणा गर्दै गयो। खेलाडीले पाउनुपर्ने रकम १६/१७ लाख जम्मा भइसकेको छ। तपाईंहरु खेल खेल्न जानुस् फर्किँदा पैसा आउँछ भनेर प्रधानमन्त्रीले भन्नुभयो। तर, भुक्तानीको कुरा छैन। तर, दलाल, विचार, ठेकेदार कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला। तर, खेलाडिलाई झुटो आश्वासनमा झुलाइएको छ।’

  • एसियाड ब्याडमिन्टनमा नेपाली रसिला महर्जन प्रिक्वाटरफाइनल पुगिन्

    एसियाड ब्याडमिन्टनमा नेपाली रसिला महर्जन प्रिक्वाटरफाइनल पुगिन्

    काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुद–एसियाडअन्तर्गत ब्याडमिन्टनको महिला एकलमा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन्।

    उनले मंगोलियाकी खेलाडीलाई सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी हुन्। अनुमाया राई भने अगाडि बढ्न सकिनन्।

    उनलाई थाइल्यान्डकी खेलाडीले सोझो सेटमा हराइन्। यसअघि पुरुष एकलमा नेपालका दुवै खेलाडी अन्तिम ६२ अर्थात पहिलो चरणबाटै बाहिरिएका थिए।

    महिला डबल्समा नेपालका दुवै जोडी अन्तिम ३२ बाटै बाहिरिएका छन्। निता लम्साल र नंशल तामाङको जोडी ताइपेईसँग तथा अनुमाया राई र रसिला महर्जनको जोडी इन्डोनेसियासँग सोझो सेटमा पराजित भयो।

  • नेपालगञ्जवासीलाई राप्रपाको आग्रह – हिंसाको बाटो लिएर सद्भाव बिगार्नतिर नलाग्नुस् (भिडिओ)

    नेपालगञ्जवासीलाई राप्रपाको आग्रह – हिंसाको बाटो लिएर सद्भाव बिगार्नतिर नलाग्नुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगञ्जवासीले सद्भाव नभड्काउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलसम्शेर जबराले देशभर नै दंगा भड्किने सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

    उनले भने, ‘बाँकेको नेपालगञ्जमा दुई समूदायबीच झडप भएर अहिले कफ्र्यू लागको छ। सरकारलाई यो हिंसाहरुलाई कन्ट्रोलमा ल्याउनुपर्यो। यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो। साइबरक्राइमलाई तुरुन्तै कन्ट्रेल गर्नुपर्यो होइन भने देशभरी नै गौहत्यादेखि हिन्दू मुसलमानको झडपको कुरा सबै यही कारणले भएका हो। यस्तै रहिरहे देशभरी नै दंगा भड्किने सम्भावना छ।’

    नेपालगञ्जका दुवै समुदायलाई सद्भावलाई कामय राख्न आग्रह गरे। उनले भने, ‘नेपालगञ्जलाई हामी सद्भावको शहर बनाइरहेका छौं। त्यो सद्भावलाई कायम राखेर सबै शान्तिपूर्णरुपले विरोध गर्न पाइन्छ आफ्नो कुरा राख्न पाइन्छ। तर, उग्र र हिंसाको बाटो लिएर सद्भाव नबिगार्न आग्रह गर्छु।’

  • आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

    आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

    काटमाठौं । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेता आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बनेका छन् ।

    शनिबार रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करण अन्र्तगत आयोजना भएको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेता आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहाल बनेका हुन् । जहाँ सिनियर र जुनियर अन्र्तगत केटा र केटी गरेर ४ विजेता चुनिएका थिए ।

    प्रतियोगीतामा सिनियर केटातर्फ आरुष भट्टराई र जुनियर केटातर्फ ब्रबिम बराल विजेता बने भने, सिनियर केटीतर्फ अक्क्षयनी दाहाल र जुनियर केटीतर्फ सायुरी कडेलले उपाधी हात पारेका हुन् । प्रतियोगीतामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बन्ने ।

    त्यस्तै, प्रतियोगीतामा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गरे ।

  • डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको सुझाव

    डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको सुझाव

    काठमाडौं । आउँदै गरेको चाडपर्वमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकले सुझाएको छ ।

    राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने बताएको छ । बैंकले डिजिटल भुक्तानीका साधनहरुको प्रयोग गर्दा आफैं उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने सुझाब दिएको हो ।

    डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुयाउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने भएकोले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

    No description available.

  • नेता कार्यकर्तालाई माओवादीको निर्देशन – चाडपर्वमा जो जहाँ पुग्छौं त्यही पार्टीको अभियानमा लाग्नू

    नेता कार्यकर्तालाई माओवादीको निर्देशन – चाडपर्वमा जो जहाँ पुग्छौं त्यही पार्टीको अभियानमा लाग्नू

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चाडपर्वको बेलामा पनि ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ लाई नरोक्ने निर्णय गरेको छ।

    आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले चाडपर्वको बेलामा पनि अभियान नरोक्न सर्कुलर पठाउँने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए।

    उनले भने, ‘बैठकमा तीन महिने अभियानको बारेमा सामान्य कुरा उठ्यो। अब चाडपर्वको बेलामा सबै काठमाडौंमै बस्दैनन्। बाहिर जान्छन्। जोजो जहाँ जान्छन् त्यही नै अभियानमा समावेश हुने भनेर एउटा सर्कुलर हुन्छ।’

    अभियानलाई थप प्रभावकारी बनाउनको लागि अब चाँडै बसेर समिक्षा गर्ने गर्ने कुरा भएको पनि बताए। माओवादीले जनताको घरघरमा गएर सुझाव र गुनासो सुन्नको लागि तीन महिने अभियान चलाइरहेका छ। अभियानका क्रममा २५ लाख मतदातासँग भेटेर ८ लाख पार्टी सदस्यता संख्या पुर्याउँने लक्ष्य लिएको छ।

  • भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

    भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

    काठमाडौं । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए ।
    सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उनको भनाइ छ । यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुनेछ ।
    मुख्य गरी यस सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माको भनाइ छ । उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उनले बताए ।