Author: Anisha Tiwari

  • एमाले छाडेर पति प्रभुको पार्टीमा लागेपछि मौलापुरकी मेयरको पद रिक्त, आयोगले दियो यस्तो सूचना

    एमाले छाडेर पति प्रभुको पार्टीमा लागेपछि मौलापुरकी मेयरको पद रिक्त, आयोगले दियो यस्तो सूचना

    काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।

    २०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी साह उनका पति प्रभु साहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि पार्टीको सम्पर्कमा थिइनन् । उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि एमालेले कारबाही गरेको हो ।

    साह यसअघि पनि माओवादीबाट सोही नगरपालिकामा मेयर थिइन् । उनी एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरे पनि अदालतले उनलाई मेयरमा पुनर्वहाली गरेको थियो ।

     

  • पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- अहिले अर्थतन्त्र इन्धन सकिन लागेको मोटरसाइकल जस्तो हो

    पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- अहिले अर्थतन्त्र इन्धन सकिन लागेको मोटरसाइकल जस्तो हो

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र संकटमा रहेको बताएका छन्।

    रास्वपाको नीति मन्थन कार्यक्रममा आफ्नो धारणा राख्दै अर्थतन्त्र समस्यामा रहेको बेलामा वर्तमान सत्ता सञ्चालकले विपक्षी दलले नेतृत्व गरेको अघिल्ला सरकारलाई र हालका विपक्षीले वर्तमान सरकारलाई दोष दिने गलत प्रवृत्ति गलत भएको बताए ।

    उनले भने, ‘अर्थतन्त्र समस्यामा परेकै हो। तर, वर्तमान सत्ता सञ्चालकले विपक्षी दलले नेतृत्व गरेको अघिल्ला सरकारलाई र हालका विपक्षीले वर्तमान सरकारलाई दोष दिने गलत प्रवृत्ति छ। यसले समाधान दिँदैन। अहिले अर्थतन्त्र इन्धन सकिन लागेको मोटरसाइकल जस्तो हो, सरकारले रिजर्भको साँचो धुमाउने बेला बेला भइसक्यो। तर, सरकारले साँचो कहिले घुमाउँछ हेरौं। यो आर्थिक वर्ष पनि कमजोर नै हुने निश्चित छ।’

    अर्थतन्त्र अप्ठ्यारोमा परेका मार व्याजदरलाई मात्रै दिने गरिएको बताए। उनले भने, ‘व्याजदरलाई मात्रै दोष दिइन्छ। अरु कारणबारे खासै चर्चा गरिँदैन। किनकि, दबाबमा पारेर व्याजदर घटाउने स्वार्थ छ। बैंकमा अधिक थुप्रिएको पुँजी अनुत्पादक क्षेत्रमा बढी लगानी हुनु पनि हाम्रो समस्या हो।’

  • गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

    गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

    काठमाडौं । सरकारले सुरु गरेको गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले विरोध गरेका छन् ।

    अध्यक्ष साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भन्दै सामाजिक संजालमार्फत विरोध जनाएका हुन् । उनले सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जनता एक भएर प्रतिवाद गर्नुपर्ने उल्लेख गरेका छन् ।

    उनले गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजाने बाटो खुल्ने बताएका छन् ।

    ‘खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउँनेछन्’, उनले भनेका छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन ।’

    दुनियाँमा कही नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने उनले टिप्पणी गरेका छन् । ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुँदैछ’, उनको दाबी छ ।

  • ‘लिखु नदीको तिरै तिर’ गीतकार बनेर आए सहायक सिडिओ अमरदीप सुनुवार

    ‘लिखु नदीको तिरै तिर’ गीतकार बनेर आए सहायक सिडिओ अमरदीप सुनुवार

    काठमाडौं । नेपालको धेरै पूर्व र वर्तमान प्रशासकहरु गीतकार छन् । सोही लहरमा उभिएका छन् ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार । नेपाल सरकारका उपसचिव सुनुवारको पहिलो प्रयास ‘लिखु नदीको तिरै तिर’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

    रामेछाप र ओखलढुंगालाई छुट्याउने लिखु नदीको किनारा सिरिेसमा जन्मिएका सुनुवारले गीतको बोल पनि लिखु नदीको तिरै तिर जुराएका हुन् । अमरदीप सुनुवारको उक्त गीतमा स्वर तथा संगीत महेश मुखिया सुनियारले दिएका छन् भने भिडिओमा उनीहरु दुवैजनाको अभिनय छ ।

  • सरकारबाट गरिने पक्षपातले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ : ओली

    सरकारबाट गरिने पक्षपातले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको बताएका छन्।

    एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक दलका निम्ति सरकारभन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्ने बताए। उनले भने, ‘हामीले आज विशेष जोड दिनुपरेको छ- राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ।’

    कुनै पनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउनले बताए।

    उनले भने, ‘एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहँदा, आउनुहोस् मित्रहरू हामी विश्वका गम्भीर समस्या समाधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गरौँ। विश्वको बहुसंख्यक ज्ञान र कला एसियामा उत्पादन गर्ने संकल्प गरौँ । विश्वको संस्कृति र विमर्शलाई दिशानिर्देश गर्ने संकल्प गरौँ । हाम्रो प्रकृतिको रक्षा गर्दै मानवीय सम्भावनाको अधिकतम उपयोग गर्ने, साझा समृद्धि र दिगो उन्नति हासिल गर्न नेतृत्व लिने संकल्प गरौँ ।’

    एमालेले परिपूर्ण लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई आफ्नो सबैभन्दा ठूलो कार्यभार मानेको बताए।
    उनले भने, ‘हामी नेपालमा तीब्र आर्थिक वृद्धिदर कायम भएको गतिशील अर्थप्रणाली निर्माण गर्न चाहन्छौँ, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी सृजना गर्न, सामाजिक सुरक्षा कायम गर्न, कनेक्टिभिटि र भौतिक पूर्वाधार निर्माण गर्न तथा वातावारण संरक्षण गर्दै राष्ट्रिय विकासको नेतृत्व गर्न चाहन्छौं । विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले हामीलाई निर्देशित गर्दछन् । सबै सँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने सिद्धान्तमा हाम्रो अटल विश्वास छ हामी सबै द्विपक्षीय, क्षेत्रीय, तथा बहुपक्षीय अन्तर्राष्ट्रिय मन्चका सरोकारवालाहरूसँग साझा चासो र पारस्परिक लाभका विषयमा सहकार्य गर्न चाहन्छौं ।’

  • आजबाट हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’

    आजबाट हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’

    काठमाडौं । आजबाट देशभरका हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ एकसाथ रिलिज भएका छन् । ‘परदेशी २’ र ‘कौसीद’ सामाजिक कथामा आधारित चलचित्र हो भने ‘बसेन्जी’ तथा हरर-थ्रिलर जनराको चलचित्र हो।

    गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो। चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया र नायकहरु दिलीप रायमाझी र नीर शाहको अभिनय देख्न सकिनेछ। चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन। विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन।

    त्यस्तै, आजैबाट रिलिज भएको अक्रो चलचित्र हो, ‘बसेन्जी’। हरर जनरामा निर्माण गरिएको यस चलचित्रमा असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको शीर्ष भूमिकामा छन्। चलचित्रलाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् ।

    कुमार भाष्कर निर्देशित ‘कौसीद’आजबाटै लागेको तेस्रो चलचित्र हो। भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनीको शीर्ष भूमिका रहेको चलचित्रले आफ्नो परिवार बचाउन एक शिक्षकले गर्नुपरेको संघर्षको कथा बोल्छ। चलचिबलाई निर्देशक कुमार भाष्करले निर्देशन र निर्माता केदार भुसालले निर्माण गरेका हुन्।

  • विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

    विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

    सुर्खेत। नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

    कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

    ‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’

    कांग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए । त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो ।

    ‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् । मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,’ उनले भने, ‘पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ । हामी सच्चिन आवश्यक छ ।’

    त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर संघको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए । कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर संघको अधिवेशनबाट महत्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्ययक्त गरे ।

  • ‘दिमाग खराब’को टिकटक र यूट्यूब भिडियो च्यालेन्ज, विजयीलाई ५० हजार तथा डेढ लाख पुरस्कार

    ‘दिमाग खराब’को टिकटक र यूट्यूब भिडियो च्यालेन्ज, विजयीलाई ५० हजार तथा डेढ लाख पुरस्कार

    काठमाडौं । कार्तिक २४ गते रिलिज हुने निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमाले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।

    निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमश: ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ ।

    यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्यूब भिडियोका लागि छुट्याइएको छ ।

    प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा प्रतियोगीहरुले #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्नेछ।

    यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई cinemaart.np@gmail.com मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नसक्नेछन् ।

    उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी सिनेमामा काम गर्ने अवसर प्रदान गरिनेछ ।

    ‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ ।

    यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

    सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

    सामाजिक-राजनीतिक कथा पेस गर्ने सिनेमालाई आकाश बरालले लेखेका हुन् ।

    यस्तै, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमामा सुशन प्रजापतिको छायाँकन रहेको छ।

    भिडियो फर्म्याट निम्न लिंकमा दिइए अनुसार हुनुपर्नेछ :

    यूट्यूबका लागि https://drive.google.com/drive/folders/1y6hzquhcZAL50Zr7R_FLTKYEyfRl1dXl

    टिकटकका लागि https://drive.google.com/drive/folders/1wiapLBSTuFmbD0EnOHri2OBTwQrbTbNv

  • उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ : विश्व बैङ्क

    उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ : विश्व बैङ्क

    विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् ।

    विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैङ्कहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ ।

    विश्व बैङ्कका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले भने, ‘यी सबै झट्काका बावजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रहरू वास्तवमै समस्यामा परेको देखेका छैनौं । यो एउटा राम्रो समाचार हुनसक्छ कि ब्याजदर वृद्धि अभियान सम्भवतः यहीँ समाप्त हुन्छ ।’

    मोरक्कोको माराकेशमा आयोजित आईएमएफ–विश्व बैंकको वार्षिक बैठकका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले समस्या के छ भने तपाईले उल्लेख गरेको उच्च ब्याजदर र यसका कारण देखिएको आर्थिक वृद्धिदर निकै सुस्त भइरहेको छ ।’

    गिलले सन् १९७० को दशकमा उच्च ब्याजदरको अर्को लामो अवधिमा करिब २४ वटा अर्थतन्त्र सङ्कटग्रस्त स्मरण गरे । उनले भने, ‘हामीले यो कडा चक्रलाई पनि लामो समय लाग्ने अपेक्षा गर्नुपर्छ । उनले भने, ‘हामीले केही देशहरूले समस्या झेल्ने अनुमान गरेका छौँ ।’

    विश्व बैंकका अध्यक्ष अजय बङ्गाले मुद्रास्फिति घट्न थालेकोमा कुनै शङ्का नरहेको तर यो दर अझै उच्च रहने बताए । बङ्गाले भने, ‘यो लगानीका लागि र वर्षौंदेखि कम ब्याज दरको वातावरणमा अभ्यस्त भएका मानिसहरूका लागि पनि धेरै तरिकामा जटिल घटना हुन सक्छ ।’

  • जर्मनसँग नेपालको श्रम सम्झौता – दक्ष श्रमिकलाई अवसर

    जर्मनसँग नेपालको श्रम सम्झौता – दक्ष श्रमिकलाई अवसर

    काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तरराष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरुलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो ।

    राज्यमन्त्री गेवर्सले द्विपक्षीय आशयपत्रमा हस्ताक्षर भएपछि संस्थागतरुपमा नेपाली  श्रमिकलाई जर्मनीमा काम गर्न सहज हुने र जर्मनीका रोजगारदाता निकायलाई पनि काममा लगाउन कठिनाइ नहुने बताएको उक्त दूतावासले जनाएको छ ।

  • तोलामा ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    साताको पाँचौ दिन बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर १ लाख ९ हजार ५ सय रूपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार चाँदीको मल्य तोलामा १० रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • खराब मौसमका कारण मन्थली-लुक्ला उडान पाँच दिनदेखि ठप्प

    खराब मौसमका कारण मन्थली-लुक्ला उडान पाँच दिनदेखि ठप्प

    मन्थली । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।
    नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख आशोक थापाले बताए ।
    पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका भन्दै हेलिकप्टरका लागि पनि भिजिविलिटि कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् ।
    ‘सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्’, उनले भने, “शनिबारदेखि एक्कासी मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।”
    लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । ‘अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ’, थापाले भने ।
    यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जानेआउने गरेका हुन् । सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख थापाले बताए ।
    निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि  चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् । काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ ।
  • इजराइलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो

    इजराइलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो

    काठमाडौं । इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ताले बुधबार बताएका छन् । यो संख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।
    ‘मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ’, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।
    यसैबीच इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।
    हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए ।
    इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।
  • सीताराम मिल्क्सको बम्पर उपहार योजना, टि.भी र वाशिङ्ग मेसिनदेखि रेफ्रीजिरेटर र हिटरसम्म जित्ने मौका

    सीताराम मिल्क्सको बम्पर उपहार योजना, टि.भी र वाशिङ्ग मेसिनदेखि रेफ्रीजिरेटर र हिटरसम्म जित्ने मौका

    काठमाडौं । नेपालको पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा. लि. ले ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ ।

    ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।

    दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुने योजनाको बम्पर उपहारमा ३ जनाले ‘हाइसेन’ ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टि.भी र वाशिङ्ग मेसिन पाउँनेछन् । भने, अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् ।

  • नियन्त्रण हुँदै डेंगु संक्रमण

    नियन्त्रण हुँदै डेंगु संक्रमण

    काठमाडौं । डेंगु  भाइरसको संक्रमण कम हुँदै गएको छ । साउन १६ देखि भदौ १४ गतेदेखि बढेको डेंगु  संक्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म)मा घटेको पाइएको हो ।
    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा संक्रमण फैलिन नपाएको बताए । ‘हामीले भदौ र असोजमा डेंगु  संक्रमण बढ्ने प्रक्षेपण गरेका थियौँ’, उनले भने, ‘स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा संक्रमण बढ्न पाएन ।’
    सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेंगु नियन्त्रणमा रहेको उनको भनाइ छ ।  यसवर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेङ्गी संक्रमणबाट बिरामी भएका छन् । ७६ जिल्लामा डेंगु  संक्रमण फैलिँदा २० जनाको ज्यान गएको छ ।
    सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । गत अगस्तमा १३ हजार आठ सय ४० संक्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ संक्रमण देखिएका छन् । गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगु  संक्रमण देखिएको थियो ।
    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेंगु  रोग लाग्ने गर्दछ । महाशाखाले भदौ र असोजमा डेङ्गी संक्रमण बढ्ने प्रक्षेपण गरेको थियो । तर सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ ।
    सुनसरीमा मात्र १६ हजारभन्दा बढी सङ्क्रमित
    संक्रमण देखिएकामध्ये जिल्लामा सुनसरीमा अगाडि देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा १६ हजार ८० जनामा डेंगु  संक्रमण देखिएको छ । झापा तीन हजार पाँच सय ६२, धादिङमा तीन हजार एक सय २३, तनहुँमा तीन हजार एक सय २१ जना मोरङमा दुई हजार दुई सय ७३, कास्की सात सय ७२, काठमाडौँमा सात सय ६४, सङ्खुवासभामा पाँच सय २६, कैलाली चार सय ८० र  धनकुटामा चार सय ४५ जनामा संक्रमण देखिएको छ ।
  • नेपालगञ्जमा एक सातापछि हट्यो कर्फ्यु

    नेपालगञ्जमा एक सातापछि हट्यो कर्फ्यु

    रूपन्देही । बाँकेको नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायको विवाद कम गर्न स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ।्

    असोज १६ गते दिउँसोदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो। त्यसपछि रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो। नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले कर्फ्यु र निषेधाज्ञाको हटाउने निर्णय भइसकेको जानकारी दिए।

    हिन्दू समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाइएको हो ।

    सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा दुई समुदायबीच सद्भावविरोधी गतिविधि भएका थिए ।

  • राजिन राईले जिते डिशहोम सुपर स्टार

    राजिन राईले जिते डिशहोम सुपर स्टार

    काठमाडौं । डिश मिडिया नेटवर्कले सञ्चालन गर्दै आएको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत राजिन राईले एक लाख रुपैयाँ जितेका छन् ।

    राईले लक्की ड्रमार्फत नगद १ लाख जितेका हुन् । असोज २२ गते सोमबार भएको लक्की ड्रमार्फत राईले १ एक लाख जितेको डिश मिडिया नेटवर्कले जनाएको छ ।

    नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सञ्चालन गरेको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ सेवा जडान तथा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख , मिडिया कभरेज र सेलिब्रेटी जीवनशैली अनुभव गर्न सक्नेछन् ।

    यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी पाउनेछन् । यस अभियानमा सहभागी हुन ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

    सुपरस्टारको छनोट कार्यक्रम हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

  • शुवमन गिल एक रात अस्पताल बसेर डिस्चार्ज, तर विश्वकप गुमाउने खतरा

    शुवमन गिल एक रात अस्पताल बसेर डिस्चार्ज, तर विश्वकप गुमाउने खतरा

    काठमाडौं । डेंगु संक्रमित भारतीय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान शुवमन गिल शरीरमा प्लेटलेटको मात्रा घटेपछि एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन् । तर, उनले आफ्नै देशमा जारी विश्वकप क्रिकेट गुमाउने खतरा बढेको छ ।

    भारतले खेलेको पहिलो म्याचमा अष्ट्रेलियाविरुद्ध गिल अनुपस्थित थिए । भोलि हुने अफगानिस्तानविरुद्धको म्याच पनि उनले खेल्न नसक्ने भारतीय क्रिकेट बोर्डले बताएको छ । बोर्डले सोमबार बिहान पहिलोपटक गिलको अवस्थाबारे अपडेट दिँदै उनी टिमसँग दिल्ली नगएको जानकारी गराएको थियो । दिल्लीमा बुधबार भारतले अफगानिस्तानसँग खेल्दैछ ।

    हिजै उनी चेन्नइको कावेरी अस्पतालमा भर्ना भएका थिए । प्लेटलेटको मात्रामा उच्च गिरावट आएपछि अस्पताल भर्ना गरिएको हो । उनको प्लेटलेट ६० हजारभन्दा तल झरेको थियो । जबकि सामान्य व्यक्तिको चार–पाँच लाख हुन्छ । एक लाखभन्दा कम हुनु चिन्ताजनक मानिन्छ । अवस्थामा केही सुधार भएर उनी डिस्चार्ज भएको भारतीय स्ञ्चारमाध्यमले जनाएका छन् । तर, उनले पाकिस्तानविरुद्ध १४ अक्टोबरको म्याच खेल्न सक्ने सम्भावना न्यून रहेको जनाइएको छ ।

    डेंगु संक्रमणको असर लामो समयसम्म शरीरमा रहन्छ । टेस्ट नेगेटिभ आए पनि धेरै दिनसम्म शरीर कमजोर हुने भएकाले गिलले सिंगै विश्वकप गुमाउन सक्ने समाचारहरुमा जनाइएको छ । चिकित्सकहरुले उनलाई जहाजमा यात्रा नगर्न सुझाव दिएका छन् । भारतीय मिडियाका अनुसार क्रिकेट बोर्डले उनको प्रतिस्थापन घोषणा गर्ने तयारीमा जुटेको छ ।

    गिल अहिले चेन्नइमा छन् । उनलाई बीसीसीआइका फिजिसियन डा. रिजवान खानले फलोअप गरिरहेका छन् । उनी भारतीय टिमसँगै विश्वकपको पहिलो खेलका लागि चेन्नई पुगेका थिए । तर, अचानक अस्वस्थ भएर उनले अष्ट्रेलियाविरुद्धको म्याच गुमाए । अब चमत्कारिक सुधार भयो भने मात्रै उनले पाकिस्ताविरुद्धको म्याच खेल्न सक्छन् ।

    गिलको अनुपस्थितिमा अष्ट्रेलियाविरुद्ध इसान किसनले भारतका लागि कप्तान रोहित शर्मासँग ओपनिङ गरेका थिए । उनी शून्यमै आउट भए । तर, केही समयदेखि उनी राम्रो लयमा छन् । त्यसैले पाकिस्तानविरुद्ध पनि उनले ओपनिङ गर्न सक्ने सम्भावना छ ।

  • नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू

    नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू

    अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
    सन् २०२३ को नोबेल पुरस्कारहरूको घोषणा कोभिड–१९ विरुद्ध सफल एमआरएनए खोपको आविष्कार गर्ने दुई वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको पुरस्कार यही अक्टोबर २ (असोज १५) मा प्रदान गरेसँगै सुरु भएको थियो ।
    त्यसको भोलिपल्ट कसरी इलेक्ट्रोनहरू सेकेन्डको सबैभन्दा सानो हिस्सामा परमाणुको चारैतिर घुम्छन् भन्ने शोधका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भयो ।
    त्यसैगरी क्वान्टम डट्सको अनुसन्धानका लागि तीन अमेरिकी वैज्ञानिकलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो । अक्टोबर ५ (असोज १८) मा नर्वेली लेखक जोन फोसेले साहित्यतर्फको नोबेल पुरस्कार जिते ।
    त्यस्तै अर्को दिन इरानमा महिला र मानवअधिकारमाथि भएको दमनको विरोधमा अभियान चलाएकी र हाल बन्दी जीवन व्यतित गरिरहेकी अधिकारकर्मी नार्गेस मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । यी सबै पुरस्कार आगामी डिसेम्बर १० मा प्रदान गरिनेछ ।
    नोबेल पुरस्कारबारे केही थाहा पाउनुपर्ने कुराहरू :
    डाइनामाइटभन्दा धेरै शक्तिशाली विचार
    स्विडेनका रसायनशास्त्री एवं १९औँ शताब्दीका व्यवसायी अल्फ्रेड नोबेलले नोबेल पुरस्कार स्थापना गरेका हुन् । उनीसँग तीन सयभन्दा बढी पेटेन्ट थियो तर नोबेल पुरस्कार स्थापना गर्नुअघि उनले आविष्कार गरेको डाइनामाइटले ठूलो ख्याति कमाएको थियो । चाँडै नै निर्माण क्षेत्र र खानीका साथै हतियार उद्योगमा डाइनामाइट लोकप्रिय भयो । यसले नोबेललाई धेरै धनी बनायो । जीवनको आखिरी समयतिर उनले आफ्नो सम्पत्तिलाई वार्षिक पुरस्कार कोषका लागि प्रयोग गर्ने निर्णय गरीन् ।  उनको निधनको पाँच वर्षपछि सन् १९०१ मा पहिलो नोबेल पुरस्कार प्रदान गरियो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्कद्वारा अर्थशास्त्रका लागि छैटौँ पुरस्कार सिर्जना गरियो । प्राविधिकरूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई नोबेल विशुद्धतावादीहरूले नोबेल पुरस्कार नभने पनि यो पुरस्कार अन्य नोबेल पुरस्कारसँगै प्रदान गरिन्छ ।
    नोबेल शान्ति पुरस्कार नर्वेमा 
    समग्ररूपमा स्पष्ट नभए पनि अल्फ्रेड नोबेलले शान्ति पुरस्कार नर्वेमा र अन्य पुरस्कार स्विडेनमा प्रदान गरिने निर्णय गरिन् । नोबेल इतिहासकारहरूले उनको यो निर्णय स्विडेनको सैन्यवादको इतिहास एउटा कारण हुनसक्ने आशङ्का गरेका छन् । नोबेलको जीवनकालमा स्विडेन र नर्वे एउटै सङ्घमा थिए । स्विडेनले सन् १८१४ मा आक्रमण गरेपछि नर्वेलीहरू अनिच्छुक हुँदै सङ्घमा सामेल भएका थिए । ‘राष्ट्रहरूको मेलजोल’ लाई प्रोत्साहित गर्न नर्वे सबैभन्दा उपयुक्त हुनसक्छ भन्ने नोबेलले सोचेको हुनुपर्छ । त्यस दिनदेखि आजसम्म नोबेल शान्ति पुरस्कार पूर्णरूपमा नर्वेली मामिला भएको छ । नोबेल शान्ति पुरस्कारको छनोट र घोषणा नर्वेली समितिले गर्छ । शान्ति पुरस्कार अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा नर्वेको राजधानी ओस्लोमा आफ्नै समारोहमा प्रदान गरिन्छ भने अन्य पुरस्कार स्टकहोममा प्रदान गरिन्छ ।
    नोबेल पुरस्कारले राजनीतिक मैदानभन्दा माथि मानवताको हितमा मात्र जोड दिन्छ । तर विशेषगरी कहिलेकाहीँ शान्ति र साहित्यतर्फको पुरस्कारमा राजनीतिकरण भएको आरोप लाग्ने गरेको छ । उच्च प्रोफाइल पुरस्कारका लागि छानबिन तीव्र हुनसक्छ जस्तो कि पदभार ग्रहण गरेको एक वर्षभन्दा कम समयमा सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभयो । नर्वेली नोबेल कमिटी एउटा स्वतन्त्र संस्था हो र अल्फ्रेड नोबेलको इच्छा पूरा गर्नु उसको एक मात्र मिसन हो । यद्यपि यो नर्वेको राजनीतिक प्रणालीसँग जोडिएको छ । कमिटीका पाँच सदस्य नर्वेली संसद्ले चयन गर्छ । त्यसैले कमिटीको संरचनाले संसद्को शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ । नोबेल शान्ति पुरस्कामा नर्वेको राजनीतिक नेताहरूले प्रभाव पार्छन् भन्ने धारणाबाट बच्न नर्वेली सरकार वा संसद सदस्यहरूलाई कमिटीमा राख्न निषेध गरिएको छ । यति हुँदाहुँदै पनि उक्त कमिटीलाई विदेशी मुलुकहरूले सधैँ स्वतन्त्ररूपमा लिँदैनन् । जेलमा रहेका चिनियाँ शासनबाट असन्तुष्ट लिउ जियाओबाले सन् २०१० को नोबेल शान्ति पुरस्कार जित्दा बेइजिङले नर्वेसँगको व्यापार वार्ता रोकेर प्रतिक्रिया दिएको थियो । नर्वे–चीन सम्बन्ध पुनःस्थापित हुन कयौँ वर्ष लाग्यो ।
    सुन र महिमा 
    धेरै मात्रामा नगदका साथ प्राप्त हुनाले यो पुरस्कार यति लोकप्रिय हुनुको एउटा कारण हो । पुरस्कारको प्रबन्ध गर्ने नोबेल फाउन्डेसनले यस वर्ष पुरस्कारको राशि १० प्रतिशतले बढाएर एक करोड १० लाख क्रोनर (करिब १० लाख अमेरिकी डलर) बनाएको छ । यसका साथै डिसेम्बर १० मा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमासमेत प्राप्त गर्नेछन् ।अल्बर्ट आइन्स्टाइनदेखि मदर टेरेसासम्मको नोबेल पुरस्कार विजेताको सूचीमा परेका कारण अधिकांश नोबेल पुरस्कार पाउनेहरूले आफूलाई गौरवान्वित र विनम्र महसुस गर्छन् । तर दुई विजेताले पुरस्कार लिन अस्वीकार गरेका थिए । फ्रान्सेली लेखक जाँ पल सात्रले सन् १९६४ मा साहित्यतर्फको पुरस्कार अस्वीकार गरेका थिए भने अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरसँग साझा गरेर सन् १९७३ मा प्रदान गरिएको शान्ति पुरस्कार भियतनामी राजनीतिज्ञ लि डक थोले लिन अस्वीकार गरेका थिए । जेलमा रहेकाले धेरैले उक्त पुरस्कार ग्रहण गर्न सकेका छैनन् । रुस र युक्रेनका मानवअधिकारवादीहरूसँग साझारूपमा गत वर्ष शान्तितर्फको पुरस्कार पाएका बेलारुसका प्रजातन्त्रवादी नेता एलेस बियालियात्स्कीले बेलारुसको जेलमा रहेकाले ग्रहण गर्न सकेका थिएनन् ।
    विविधताको अभाव
    ऐतिहासिकरूपमा नोबेल पुरस्कार पाउनेहरूमा श्वेत मानिसहरूको बहुमत छ । यद्यपि अहिले त्यसमा परिवर्तन हुन थालेको छ । विशेषगरेर विज्ञानको श्रेणीमा नोबेल पुरस्कार पाउनेहरूमा थोरै मात्र विविधता छ । सोमबारको पुरस्कार घोषणासँगै विज्ञान श्रेणीमा २८ गरी हालसम्म कूल ६४ महिलाले उक्त पुरस्कार प्राप्त गरेका छन् । पाँच महिलाले भौतिकशास्त्रतर्फ र तीन महिलाले अर्थशास्त्रतर्फ पुरस्कार प्राप्त गरेका छन् । यस वर्षको नोबेल पुरस्कार विजेतामध्ये चार जना महिला थिए । नोबेल पुरस्कारका प्रारम्भिक दिनहरूमा विजेताहरूबीचको विविधतालाई सामान्यतया वैज्ञानिकहरूबीचको विविधताको कमीलाई व्याख्या गर्न सकिन्थ्यो । तर अहिले आलोचकहरूले उत्तर अमेरिका र युरोपबाहिरका महिला र वैज्ञानिकहरूले गरेको कामलाई उजागर गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । पुरस्कार कमिटीले राष्ट्रियता र लिङ्गका आधारमा नभई वैज्ञानिक आधारमा निर्णय लिइने गरेको बताएको छ । यद्यपि उनीहरूले आलोचनालाई नजरअन्दाज गरेका छैनन् । पाँच वर्षअघि रोयल स्विडिस एकेडेमी अफ साइन्सले आफ्नो मनोनयनमा महिला वा अन्य जाति तथा राष्ट्रियताका मानिसलाई बेवास्ता नगर्ने भनी सुनिश्चित गर्न मनोनयन गर्ने संस्थासँग सोध्न सुरु गरेको बताएको थियो ।
    रासस
  • यस्तो बन्यो एमालेको आठौं प्रदेश कमिटी, अध्यक्ष ओलीको चाहनाबमोजिम सबै पदमा सर्वसम्मत (सूचीसहित)

    यस्तो बन्यो एमालेको आठौं प्रदेश कमिटी, अध्यक्ष ओलीको चाहनाबमोजिम सबै पदमा सर्वसम्मत (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना बमोजिम सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

    ओलीको चाहना बमोजिम कमिटीको अध्यक्षमा प्रेम पराजुली निर्विरोध चयन भएको छ। पराजुलीलाई पोलिटब्युरो सदस्य तथा पेशागत जिल्ला कमिटी इन्चार्ज सुजिता शाक्यलगायतको जोडबलमा उम्मेदवार बनाइएको थियो।

    कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल,उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन्। ओलीले सबै प्रदेश कमिटीको नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गरेपनि कहिँ सफल हुन सकेका थिएनन्।

    यसअघि अधिवेशन भएको लुम्बिनी, बागमती, गण्डकी, कोशी, कणाली प्रदेशको नेतृत्व चयनमा निर्वाचन नै भएको थियो। सुदुरपश्चिममा पनि निर्वाचनतिर धकेलिने सम्भावना बढ्दै गएको छ।

    प्रदेशहरुमा सर्वसम्मतको प्रयास सफल नभएपछि ओली आठौं प्रदेशमा सफल भएका हुन्। ओलीले अधिवेशनको उद्घाटन गर्दै भनेका थिए, ‘म आग्रह गर्छु यसपटक नयाँ अभ्यास गर्नुस्। यहाँ जितेर पनि केके न ठूलो कुरा पाइने होइन। सबैले जित्ने होइन। हारेपछि मन दुख्छ। मैले साथीहरूलाई हेरेको छु।’