Author: Anisha Tiwari

  • विश्व विजेता बनेपछि खुसीयाली साँट्ने मौकामा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षलाई ३ वर्षको प्रतिबन्ध

    विश्व विजेता बनेपछि खुसीयाली साँट्ने मौकामा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षलाई ३ वर्षको प्रतिबन्ध

    म्याड्रिड। विश्व फुटबल महासंघ-फिफाले महिला खेलाडीलाई चुम्बन गरेर विवादमा आएका स्पेनिस फुटबल संघका तत्कालिन अध्यक्ष लुइस रुबियालेसलाई फुटबलका सम्पूर्ण गतिविधीबाट ३ वर्ष प्रतिबन्ध लगाएको छ।

    स्पेनले महिला विश्वकपको उपाधि जितेपछि रुबियालेसले खुसियाली साँट्नेक्रममा स्ट्राइकर जेन्नी हर्मोसोलाई चुम्बन गरेका थिए। हर्मोसोले सहमतीबिना रुबियालेसले चुम्बन गरेको आरोप लगाएकी थिइन्।

    त्यसपछि रुबियालेसले पदबाट राजिनामा दिएका थिए र फिफाले पनि छानबिन अगाडि बढाएको थियो। रुबियालेसले प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएका छन्।

  • राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा, प्रधानमन्त्रीले गरे स्वागत

    राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा, प्रधानमन्त्रीले गरे स्वागत

    रुपन्देही । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई लुम्बिनीमा स्वागत गरेका हुन् । हेलिकप्टरबाट आएका उनी शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम छ ।

    पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी यहाँ आइपुगेका हुन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आजै अन्नपूर्ण बेसक्याम्प हुँदै पोखराबाट लुम्बिनी आएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डसहित लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाइली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामासहितको टीमले गुटेरेसलाई लुम्बिनीमा स्वागत गरेका छन् ।

    यससँगै यहाँ रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् । गुटेरेसलाई मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि स्वागत गरिएको छ ।

    महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  • एमबाप्पे र हालान्डलाई सान्त्वना दिँदै मेस्सीले भने- एक दिन तिमीहरु पनि बेलोन डीअर जित्ने छौ

    एमबाप्पे र हालान्डलाई सान्त्वना दिँदै मेस्सीले भने- एक दिन तिमीहरु पनि बेलोन डीअर जित्ने छौ

    लन्डन। केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई पछि पार्दै आठौँपटक बेलोन डीअर जितेपछि लियोनल मेस्सीले उनिहरुलाई सम्बोधन गर्न छुटाएनन्। अवार्ड थापेपछि ३६ वर्षीय मेस्सीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त गरे।

    ‘हालान्ड र एमबाप्पेले एक दिन बेलोन डीअर जित्नेछन्। यसपटक एर्लिङ धेरै हकदार देखिएका थिए। उनले च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधिसहित हरेकमा सर्वाधिक गोलकर्ता पनि थिए। यो अवार्ड आज तिमीले पनि जित्न सक्थ्यौ। म ढुक्क छु की तिमीले आउँदा वर्षहरुमा यो अवार्ड हात पार्ने छौ ’, मेस्सीले भने।

    एमबाप्पेकै फ्रान्स फाइनलमा हराएर मेस्सीले गत वर्ष अर्जेन्टिनाका लागि विश्वकप उपाधि सपना पूरा गरेका थिए। अर्जेन्टिना ३६ वर्षपछि विश्वकप विजेता बनेको थियो। प्रतियोगितामा मेस्सीले गोल्डेन बल र एमबाप्पेले गोल्डेन बुट जितेका थिए।

    हालान्ड र एमबाप्पे दुवैले हालसम्म बेलोन डीअर जित्न सकेका छैनन्। उनिहरु दुवैलाई नयाँ पुस्ताका होनाहार खेलाडीका रुपमा हेर्न थालिएको छ। सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले दुई सिजन मेस्सीसँगै एउटै क्लबबाट व्यावसायीक फुटबल खेलेका थिए। यता नर्वेका हालान्ड इङ्लिस प्रिमियर लिगमा भित्रिएकै सिजन चम्किएका थिए। उनी प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए।

  • राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसदमा महासचिव डा. भरतराज गौतमका अनुसार बैठक अपराह्न ४:४६ मिनेटमा बस्नेछ।

    बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सदनलाई जानकारी गराउँने कार्यसूची छ।

    प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९/८० प्रस्तुत गर्ने कार्यक्रम पनि छ।

    यो बैठकअघि ४ बजे संसदको संयुक्त बैठकलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दैछन्।

     

  • फिल्म ‘दयारानी’को प्रदर्शन मिति घोषणा

    फिल्म ‘दयारानी’को प्रदर्शन मिति घोषणा

    काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

    सिनेमाको निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ । रिलिज अगाडी नै विभिन्न देशमा प्रदर्शन भैसकेको सिनेमा अब तोकेकै मितिमा प्रदर्शनमा आउने निर्देशक माओत्से गुरुङले बताए ।

    अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । उनले यसअघि तीन पटक सिनेमाको रिलिज मिति घोषणा गरेर पोष्टपोण्ड गरेका थिए । सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

    बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित सिनेमाले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्छ । सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

  • मंगलबार घट्यो सुनको मूल्य

    मंगलबार घट्यो सुनको मूल्य

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    आज बजारमा छापावाल सुन तोलामा ५ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको छ । यसदिन तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, मंगलबार चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै व्यवसायीको आन्दोलन

    गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै व्यवसायीको आन्दोलन

    रुपन्देही । रुपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै यहाँका व्यवसायीले रिले अनसनदेखि आन्तरिक उडान र सीमानाका रोक्नेसम्मका आन्दोलन सार्वजननि गरेका छन् । व्यवसायीहरुको सञ्जाल रहेको सिद्धार्थ सञ्जाल रुपन्देहीले सोमबार पत्रकार सम्मेलन गरेर यस्ता आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। सिद्धार्थ सञ्जाल रुपन्देहीमा रहेका विभिन्न संघसंस्थाको नेतृत्व गर्ने संस्था हो। सञ्जालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता रहेका विभिन्न २५ भन्दा बढी संघसंस्था आबद्ध छन्।

    सञ्जालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि विमानस्थलबाट आन्तरिक उडान रोक्ने र सीमानाका बेलहिया अनिश्चितकाललाई बन्द गर्नेसम्मका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

    सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले विमानस्थल नियमित सञ्चालन गर्न पटक–पटक सचेत गराउँदा पनि सरकार मौन रहेकाले सरकारसँग अन्तिम लडाइँको रूपमा आन्दोलन गर्नुपरेको जनाएका छन् । उनले भने– ‘हामीले अरू विरोध गरेका होइनौँ। सरकारकै अर्बौँको लगानी रहेको विमानस्थल नियमित सञ्चालन गर्नुपर्‍यो भन्ने मात्र माग हो, यसबाट अर्बौं लगानी गरेका व्यवसायी चल्नै नसक्ने अवस्था भयो ।’ ‘विमानस्थल सञ्चालनका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिन आन्दोलनको विकल्प यहाँको आम सर्वसाधारण तथा उद्योगी व्यवसायीले देखेका छैनन्’ ज्ञवालीले भने ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न दबाबका लागि संघर्ष गर्दै अघि बढ्ने जनाएका छन् भने सिद्धार्थ सञ्जाल रुपन्देहीमा रहेका विभिन्न संघ–संस्थाको नेतृत्व गर्ने संस्था भएको महासचिव संजय बजिमयले बताए ।

    सञ्जालले प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटी ऐक्यबद्धताका लागि आग्रह गर्ने सञ्जालको तयारी छ।

    त्यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा सभा गर्ने कार्यक्रम तय भएका छन्।

    दुई दिन विमानस्थलको गेटअगाडि धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २० पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमानाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ।

  • द्रुत बस सेवा रोकिएको होइन, तिहारलगतै पूर्ण क्षमतामा चलाउँछौंः मन्त्री ज्वाला

    द्रुत बस सेवा रोकिएको होइन, तिहारलगतै पूर्ण क्षमतामा चलाउँछौंः मन्त्री ज्वाला

    काठमाडौं । संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पूर्णरुपमा सञ्चालन गर्न हाललाई रोकिएको छ । प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुन सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

    ‘दशैदेखि तिहारसम्म राजधानीका सडकहरुमा जाम हुँदैन, यही बेला प्राविधिक र ब्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको हो’ मन्त्री ज्वालाले भने ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।’

    दशैदेखि तिहारसम्म जाम नहुने समयमा द्रुत बस सेवा रोकिएपछि सामाजिक सञ्चाल र केही मिडियामा चर्चा गरिएको छ । ‘तर द्रुत बस सेवा रोकिएको होइन, अहिले २५ वटा मात्र द्रुत बस चलेका थिए, त्यो संख्या बढाएर लैजानेगरी तयारी थालिएको छ’ मन्त्री ज्वालाले भने ।

    असोज ३ देखिदेखि द्रुत बस पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरिएको थियो । अब पूर्णरुपमा सञ्चालन गर्न लागिएको छ । रत्नपार्कदेखि धेरै सार्वजनिक बसहरु द्रुत लेनबाट सूर्यविनायक पुग्नेछन् । द्रुत बसको सर्भिस लेन पनि पूर्णरुपमा प्रयोगमा आउनेछ ।

    विगत एक महिनामा द्रुत बस सञ्चालनको अनुभव यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात व्यवसायीले लिएका छन् । देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन् ।

    ‘द्रुत बसको लेनमा अब डोरी लगाइनेछ भने २५ वटा मात्र हैन त्यो रुटमा चल्ने लगभग धेरै सार्वजनिक सवारीहरु गुड्नेछन्’ यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भने ।

    रत्नपार्क–सूर्यविनायक चल्ने सवै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुनेछ । राजधानी काठमाडौंको जाम कम गर्ने, सवारी साधनविहीन ‘भुई मान्छे’लाई सार्वजनिक सवारी साधनमा आकर्षण गर्ने उदेश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।

  • भोटेकोशीमा हाम फाली बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर खटाइयो

    भोटेकोशीमा हाम फाली बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर खटाइयो

    रसुवा । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।

    सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षिय छिरिङ्ग तामाङ्ग यही कार्तिक ८ गते उक्त खोलामा हामी फाली बेपत्ता भएको बताईएको छ । कार्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षिय फुर्पु छिरिङ्ग तामाङ्गलाई कुटपिट गरेपछि प्रहरी चौकी थुमनले सोधपुछको लागि मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकललाई पल्टाई भागेर उक्त खोलामा हाम फाली उनी बेपत्ता भएका थिए ।

    उनको खोजीकार्यको लागि सोमबार लागि सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको हो ।

  • आँचल शर्माले फिलिपिन्सबाट पोस्ट गरिन् विकिनी तस्बिरहरु

    आँचल शर्माले फिलिपिन्सबाट पोस्ट गरिन् विकिनी तस्बिरहरु

    नेपालका नायिकाहरु विदेशमा घुमघामका लागि जाना साथ अनिवार्यरुपमा गर्ने एउटा काम के हो ? सायद विकिनी फोटोसुट । अरु जे जे गरे पनि उनीहरु समुद्री तटमा विकिनी लगाएर फोटो खिच्न र सामाजिक सञ्जालमा हाल्न छुटाउँदैनन् ।

    आँचल शर्मा चाहीँ किन पछि पर्थिन् ? दशैंको छुट्टी मनाउन श्रीमान डा. उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचलले आज सामाजिक सञ्जालमा विकिनी फोटो पोस्ट गरेकी छन् । आँचलका अनुसार फिलिपिन्सको बोराके आइल्यान्डमा उनले यो फोटो खिचाएकी हुन् । उनले क्याप्सन लेखेकी छन्– सन् स्यान्ड एन्ड स्माइल अल डे लङ (दिनभर घाम, बालुवा र मुस्कानहरु)

    आँचलले राखेका तस्वीरले प्रशस्तै प्रतिक्रियाहरु जन्माएको छ । कतिले उनलाई ‘हट’ भन्दै फुर्काएका छन् त कतिले ‘विदेश जानासाथ विकिनी लगाउनैपर्ने ?’ भनेर उडाएका पनि छन् ।

    बाबु भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यति गर्नलाई त नारायणी नदी किनार नै काफी थियो । ज्यादा गर्मी भएको भा रारा, फोक्सुन्डो, गोकियो, तिलिचो तालतिर गएको भा नि हुने ।’

    आँचल अहिले रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ मा व्यस्त छिन् । उक्त फिल्मको एक चरणको छायाँकन पूरा भएपछि उनी फिलिपिन्स हिँडेकी हुन् ।

       

     

  • झिनो अंकले बढ्यो सेयर बजार, ६९ करोडमा खुम्चियो कारोबार

    झिनो अंकले बढ्यो सेयर बजार, ६९ करोडमा खुम्चियो कारोबार

    काठमाडौं । प्रि ओपन सेसनमा सामान्य वृद्धि भएर खुलेको सेयरबजार झिनो अंकले बढेको छ ।

    सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बन्द भएको हो । यसदिन बजारमा २८ लाख २४ हजार ७ कित्ता सेयरको खरिदबिक्री भएको छ । सुरुवातबाटै ओरालो झरेको सेयरबजार लगातारको उतारचढावपछि अन्तत समान्य अंकले बढेर बन्द भएको हो ।

    सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । जहाँ ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार खुम्चिएको छ ।

    कारोबारको पहिलो दिन नै नकारात्मक सकिर्ट लगेको सोनपुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमा आजपनि सकिर्ट लगेको छ । सोनपुर मिनरल्सको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार खुलेर ३१५ रुपैयाँमा बन्द भएको थियो भने, आज पनि घटेर २८३.५० रुपैयाँमा झरेको छ ।

    कारोबारका आधारमा आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेड प्रमोटर सेयर ३ करोड ६० लाख ७४ हजार रुपैयाँको कारोबारकासाथ शिर्ष स्थानमा रहेको छ ।

  • नेकपा एसका केन्द्रीय सल्लाहकार दलबहादुर गुरुङ एमालेमा प्रवेश

    नेकपा एसका केन्द्रीय सल्लाहकार दलबहादुर गुरुङ एमालेमा प्रवेश

    पोखरा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।

    एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

    सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

    एमाले प्रवेश गरेका गुरुङले देशमा देखिएको संकटलाई पार लगाउन एमालेले मात्र सक्ने भएकाले एमालेमा फर्किएको बताए ।

    ‘देशमा एकदमै संकट छ । त्यो संकट कुन पार्टीले पार लगाउन सक्छ भन्दा मेरो नजरमा नेकपा एमाले पर्‍यो । त्यसकारण एमालेमा प्रवेश गरे‌’, उनले भने, ‘नेकपा एसमा गएका सबैको मूल घर एमाले हो, सबैजना एमालेमै फर्कनुहुन्छ ।’

  • तातोपानी कुण्डमा डुब्न भीड

    तातोपानी कुण्डमा डुब्न भीड

    म्याग्दी । दसैँ सकिएसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ ।
    बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काका अनुसार दैनिक दुई सयको हाराहारीमा तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिनका लागि नेपालको विभिन्न ठाउँबाट बिरामीहरु यहाँ आएका छन् ।
    वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । ‘यो सामान्य अवस्था हो, चिसो बढेसँगै बिरामीको पनि चाप बढ्छ । बिरामीको चाप बढेपछि दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाएका छौँ’, सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए ।
    ‘अब तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन आउनेहरुको चाप बढ्छ, चिसो बढेसँगैे बिरामीको अतिरिक्त पर्यटकको पनि यहाँ आउने गर्दछन्’, अध्यक्ष खड्काले भने, ‘सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरकफरक समय तालिका बनाएका हौँ ।’
    स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।
    एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच/दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।
    बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ ।
  • रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं

    रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं

    रवीन्द्र जी,
    जय राष्ट्र,जय जनता ।

    कांग्रेसले जय नेपाल र कम्युनिष्टहरूले भन्ने लालसलामजस्तै राप्रपाको अभिवादन शैलीसहित तपाईँलाई यो छोटो खुला पत्र लेख्दैछु । हुन त तपाईँ विचारभन्दा माथि देश र देशभन्दा माथि नरेश भन्नुहुन्छ ।

    हुँदै नभएका नरेशलाई देशभन्दा माथि राख्ने तपाईँको अभियानप्रति मेरो टिप्पणी होइन । तर, राष्ट्र प्रमुखमाथि तपाईँले गरेका तुच्छ प्रहारप्रति यो पत्र केन्द्रित छ ।
    तपाईँले सामाजिक सञ्जालमा राख्नुभएका विचार देख्दा नलेखुभन्दा पनि लेख्न बाध्य हुनुपर्‍यो । तपाईजत्तिको विद्वान पूर्वपत्रकारको यति दरिद्र विचार छ भन्ने कल्पना पनि गरेको थिइनँ ।

    हो, लोकततन्त्रमा कमी कमजोरीहरु हुन्छन् । तर, यिनको समाधान पनि लोकतन्त्रभित्रै हुन्छ । कुनै वंश विशेषले शासन गर्ने र त्यसलाई देवत्व स्वीकार गरेर जनताालाई रैती र दास बनाउने तन्त्र नेपाली समाजलाई अब स्वीकार्य छैन ।

    तपाईँहरूको नरेशको निरंकुशकालमा नमिता सुमिता काण्ड, मूर्ति बेच्ने जस्ता काण्डै काण्डहरूको चाङ थुप्रिएको होइन ? त्यस्तै बोल्न नपाउने प्रणालीको पक्षमा नेपाली जनता छन भन्ने तपाईँलाइ लागेको छ भने तपाईँ दिउँसै सपना देख्दै हुनुहुन्छ ।

    गाँजा, चरेस, अफिम खाएर दिउसैँ मान्छे किच्ने अपराधीलाई मुलुकको शासक बनाउने र त्यसको पक्षपातिको वकालत गर्ने तपाईँको चाहनाप्रति घृणा होइन दया जागेको छ । व्यक्ति को हुन् मलाई मतलव छैन तर जनताले चुनेर पठाएको प्रतिनिधि आज मुलुकको राष्ट्र प्रमुख छन । जसको गरिमा, सम्मान र प्रतिष्ठा जति बढ्यो त्यति नै नागरिकको प्रतिष्ठा बढ्छ । उनले कुनै गल्ती गरे भने त्यो सच्याउने पनि यही लोकतन्त्रभित्रै जनतालाई अधिकार छ ।

    राष्ट्रपतिले गल्ती गरे भने राम्रोको लागि आवाज मुखरित हुनु स्वाभाविक हो, तर जनताको शासनप्रति विद्वेष फैलाउने तपाईँहरूको व्यवस्थाविरोधी नियत भने स्वीकार्य छैन । हिजो मण्डलेतन्त्रमा बोल्दा गोली खानुपर्ने नेपाली जनता तपाईँका दरिद्र विचारबाट प्रभावित होलान भन्ने मलाई लाग्दैन ।

    तपाईँले आज जसरी जनताको छोरो राष्ट्रप्रमुख बन्ने प्रणालीविरुद्ध विष वमन गर्दै हुनुहुन्छ त्यसै गरी मैले तपाईँहरूले कल्पना गरेको वंशीय शासक बन्ने प्रणालीको विरोध गरेँ भने मेरो हालत के होला ? तपाईँ भन्न सक्नुहुन्छ- मेरो छातीमा गोली हानिदैनथ्यो ?

    तपाईँ बीबीसीमाा काम गर्दा मेरो आदर्श हुनुहुन्थ्यो, मेरो त्यो आदर्श कायमै गर्ने हो भने आज विजयादशमीको टीकामा शीतल निवास गेटमा भेटौं । रामचन्द्र पौडेलबाट होइन देशको अभिभावकबाट टीका र आशीर्वाद लिन आउनुस् ।

    तपाईँले जसरी राष्ट्र प्रमुखको हातको टीका बहिष्कार गर्न आह्वान गरिरहनुभएको छ, यो आह्वान दसैँ बहिष्कार गरौं भन्ने आङकाजी शेर्पा शैलीको अर्को अतिवाद हो । आफूलाई सच्याउनुस्, त्यो अपील फिर्ता गरेर आज शीतल निवास आउनुस् ।

    (लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन्)

  • कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु

    कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु

    यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।
    अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीलाई अग्लो पर्खाल भएको कन्टेनरमा चढेर कच्चा सामग्रीमा पिसाब गरिररहेको देखाइएको छ ।
    उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा व्यापकरूपमा प्रसार गरिएको छ । यसलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँपटक हेरिएको छ ।
    सिङ्ताओले उक्त घटनालाई लिएर प्रहरीसँग सम्पर्क गरेको र अनुसन्धान जारी रहेको बताएको छ । ‘हाम्रो कम्पनीले बिहीबार सिङ्ताओ ब्रुअरी नम्बर ३ बाट बाहिरिएको प्रासङ्गिक भिडियोलाई धेरै नै महत्व दिएको छ’, बियर निर्माता कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले चाँडै नै प्रहरीलाई घटनाबारे जानकारी गरायौँ र सार्वजनिक सुरक्षा अङ्गहरू अनुसन्धानमा संलग्न भएका छन्, हाल विचाराधीन माल्टको ब्याचलाई पूरै सील गरिएको छ, कम्पनी आफ्नो व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाउन र उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरन्तर अग्रसर छ ।’
    केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै प्रतिक्रिया दिएका छन् र चीनको सबैभन्दा प्रख्यात पेय ब्रान्डमध्येको एक उक्त कम्पनीको समर्थनमा टिप्पणी गरेका छन् ।
    ‘उक्त व्यक्तिलाई अदालतमा लगेर कम्पनीलाई नोक्सानका लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने मेरो सुझाव छ’, कम्पनीको प्रतिक्रियामा विबोमा एक जनाले लेखेका छन् । अर्काले लेखेका छन्, ‘यसको गहिरोसँग अनुसन्धान होस्, सधैँ हाम्रो राष्ट्रिय च्याम्पियन ब्रान्डहरूका लागि अगाडि आउनुहोस् ।’
  • इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो

    इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो

    काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ ।

    इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम(गाउँहरू) लगायतका छन् ।

    शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२,००० जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

    अक्टोबर ७ मा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ ।

  • सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक

    सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक

    काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् । काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी दिए ।

    धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रब्य दृश्य मार्फत प्रस्तुत गरेको छ । २ युवा सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत समग्र नेपालको पर्यटनकोक्षेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ।

    संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एवं कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । म्युजिक नेपालको युट्युब च्यानल र अफिसियल मोबाइल एप्स मोमो एप मार्फत एकैसाथ सार्वजनिक ‘आए म त ‘ भिडियोलाइ समग्र दार्चुला जिल्ला र अपी गाउँपालिकाले समेत आफ्नोक्षेत्रको प्रचार प्रसार माध्यम बनाउन सक्छन । राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त ‘ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।

  • इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

    इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

    काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।
    उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँÞ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
    उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त(३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।
    आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।
  • रवीन्द्र मिश्रको अपील – अपराधीलाई आममाफी दिने राष्ट्रपतिको टीका बहिष्कार गरौं

    रवीन्द्र मिश्रको अपील – अपराधीलाई आममाफी दिने राष्ट्रपतिको टीका बहिष्कार गरौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपील गरेका छन् । उनले विभिन्न पाँच तर्कहरु प्रस्तुत गर्दै यस्तो अपील गरेका हुन् ।

    राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ । गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका नभएको उनले बताएका छन् ।

    ‘अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन् । राष्ट्रपतिले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन् ।

    मिश्रले दिएका थप तीन कारण यस्ता छन्ः

    – असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप–कर्म’ आम–जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने ?

    – राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आमसर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्म’ को नैतिक सजाय दिऊँ । यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ ।

    – हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए । अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो ।

  • ‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास

    ‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास

    झापा । झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जाने गर्दथे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे । उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा मृत्यु भयो ।

    झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौंको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर विहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती विहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् ।

    एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका रैथाने हात्तीका कारण ‘मर्निङ वाक’ त्रासमय हुने गरेको छ । ‘बिहानै सडकमा हात्ती हिँड्दै गरेका हुन्छन्, मर्निङ वाक गर्न पनि डराउने अवस्था आयो’, मेचीनगर–१० धुलाबारीका गङ्गाधर पराजुलीले सुनाए ।

    ‘मर्निङ वाक’ मात्र होइन, विहान सडक आसपास फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । हालै धुलाबारी बजारभित्रै बगैँचामा फूल टिपिरहेका बेला जङ्गली हात्तीको आक्रमणमा परी ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै मृत्यु भयो ।

    ‘मर्निङ वाक’ गर्ने, च्याउ र निगुरो टिप्ने र घाँस र दाउरा सङ्कलन गर्ने मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जङ्गलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरु धेरै छन् ।

    पूर्वपश्चिम राजमार्गको चारआली जङ्गल खण्डमा दिनहुँ ५० भन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरु एकाबिहानै घना जङ्गलभित्र पसेर निगुरो र च्याउ सङ्कलन गर्छन् र सडक किनारमा पसल थाप्छन् ।

    निगुरो र च्याउ खोज्ने मानिसहरु हात्ती आक्रमणको जोखिममा छन् । जङ्गल पार गरेर सडकमा आउनुपर्ने र एकाविहानै जङ्गलभित्र ती वस्तु खोजी गर्नुपर्ने भएकाले उनीहरु कुनै पनि बेला हात्तीको निशानामा पर्न सक्छन् ।

    हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल वनसहित दर्जनौं सामुदायिक वन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, विर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षीलगायतका क्षेत्रमा पनि हात्ती भेटिन्छन् ।

    स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जङ्गल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको पचास किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । ‘दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरु ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्’, उनले भने, ‘हात्ती जङ्गलमा छ कि छैन भन्ने थाहा हुने कुरा भएन । ‘साइरन’को व्यवस्था पनि छैन ।’

    डिभिजन वन कार्यालय झापाले हात्ती विचरण गर्ने जङ्गल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । कार्यालयले हात्तीलाई नजिस्काउन, नजिक नजान र नमार्न स्थानीयलाई चेतावनी दिए पनि घाँस, दाउरा, च्याउ र निगुरोको सङ्कलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।

    भद्रपुर नगरपालिका वडा नं. ७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक वडा नं. ३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए ।

    वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शङ्कर लुइँटेल जङ्गली हात्ती सामान्यतया आफू खतरामा परेको महसुस गरेपछि मात्रै आक्रमणमा उत्रिने बताउछन् । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उनको भनाइ छ ।

    ‘मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो,’ अभियन्ता लुइँटेलले भने, ‘हात्तीका लागि जङ्गलमा आहारा छैन । त्यसो भएकाले हात्तीहरु मानव बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।’

    डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विगत एक दशकमा झापामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।