Author: Anisha Tiwari

  • आइएफआरसीद्वारा जाजरकोट भूकम्प पीडितलाई १० करोड सहयोग

    आइएफआरसीद्वारा जाजरकोट भूकम्प पीडितलाई १० करोड सहयोग

    काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन कोष (डिआरइएफ)मार्फत् नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो ।

    आइएफआरसीको महासचिव जगन चापागाईँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भने ‘नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिनथालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपतकालीन कोषमार्फत् तत्काल आकस्मिक सहयोग उपलब्ध गरायौँ । म रेडक्रसका स्वयंसेवकलाई भूकम्पपीडितका सहयोगमा जुट्न आग्रह गर्दछु ।’

    उनले आगामी दिनमा मानवीय सेवाका लागि आइएफआरसीले थप सहयोग उपलब्ध गराउँदै जाने पनि जानकारी दिएका छन् । जाजरकोट र रुकुम पश्चिममा अहिले सोसाइटीका तालिमप्राप्त ९० भन्दा बढी स्वयंसेवक भूकम्पबाट प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा अनवरत रुपमा जुटिरहेका छन् । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूटको अकल्पनीय भूकम्प गएको थियो । यसपछि तत्काल ‘पहिलो उद्धारक’ रुपमा सो मानवीय संस्थाका स्वयंसेवक उद्धारमा जुटेका थिए । यो कार्य निरन्तर जारी रहेको जनाइएको छ । प्रारम्भिक प्रतिवेदनका अनुसार मुख्यगरी ती दुई जिल्लामा हालसम्म भूकम्पबाट एक सय ५० जना भन्दा बढीको मृत्यु, तीन सय ४५ घाइते, १२ हजार ०६ परिवार विस्थापित, ३८ हजार सात सय पाँच प्रभावित, नौ हजार चार सय ८३ घर क्षति, १९ हजार दुई सय ८६ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

    सोसाइटीले हालसम्म एकहजार सात सय म्याट्रेक्स, एकजार पाँच सय तारपोलियन, सोही सङ्ख्यामा ब्ल्याङ्केट, दुईसय बुकटेस, एकजार रोपेस भूकम्पपीडितलाई वितरण गरिसकेको जनाएको छ । यो कार्य जारी रहेको जनाइएको छ ।

    आवास र गैर खाद्य सामग्री ÷नगद वितरण (आकस्मिक आवास,तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृत रुपमा भूकम्पपीडितलाई उपलब्ध गराउने नीति नेपाल रेडक्रसले लिएको छ ।

    राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने आएफआरसीले जनाएको छ । भूकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित नगद सहयोग गर्ने नीति उसले लिएको छ ।

  • मानव बेचिबखन प्रभावितको न्याय प्राप्तिका लागि भूमिका खेल्न सञ्चारकर्मीलाई चरिमायाको आग्रह

    मानव बेचिबखन प्रभावितको न्याय प्राप्तिका लागि भूमिका खेल्न सञ्चारकर्मीलाई चरिमायाको आग्रह

    काठमाडमौं । शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले पीडितहरुको पुनस्थापना, न्याय प्राप्तिलगायतका अभियानमा मिडियाले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।

    शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा मंगलबार ललितपुरमा आयोजित मानव बेचबिखन न्युनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा उनले मिडियाको भूमिका प्रशंसनीय रहेको बताइन् ।

    आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किदाको अवस्था र यो बीचमा करीब ३० वर्षको अवधिमा नेपाली समाज र मिडिया दुवैको मानव बेचबिखनलाई बुझ्ने क्षमतामा विकास भएको भन्दै उनले अझै पनि प्रभावितको पक्षमा मिडियाले धेरै काम गर्न बाँकी रहेको बताइन् ।

    कार्यक्रममा मुक्ति साउथ एशियाको तर्फबाट उर्मिला श्रेष्ठले नेपालमा मानब बेचिबखनको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक उनले प्रस्तुत गरिन् ।

  • चेम्बर अफ कमर्सद्धारा कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव

    चेम्बर अफ कमर्सद्धारा कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ ।

    मंगलबार बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासंग भेटबार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् । कोसोभोमा नेपालको कुटनीतिक सम्वन्ध स्थापना नभएपनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासंग अध्यक्ष मल्लले आग्रह गरेका छन् ।

    ‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गर्दछु’, अध्यक्ष मल्लले भने । नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह समेत गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

    भेटवार्ताका क्रममा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफु निकै प्रभावित भएको बताए । उनले दुई मुलुकबीच व्यापार सहजीकरणका लागि पहल गर्ने बताए । भने, नेपालको सूचना प्रविधी एवं पर्यटनको क्षेत्रमा लगानीका लागि आफ्नो देशका निजी क्षेत्रसँग पहल गर्ने सोत राजदुत उरेयाले बताए ।

  • कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

    कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

    काठमाडौं । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो ।

    बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

    व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताए । उनले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताए । ‘अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अब हामी प्रयोग गर्न सक्दैनौ’, उनले भने ।

    खोपको म्याद यही पुस ७ गतेसम्म मात्र छ । उनले खोप त्यतिकै खेर जान थालेपछि उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको बताए । ‘हामीले दुई पटकसम्म खोप के गर्ने भनेर मन्त्रालयलाई पत्राचार गरिसक्यौँ’, उनले भने, ‘अब मन्त्रालयले जे गर्न निर्देशन दिन्छ । त्यही गर्दछौँ ।’

    नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन पठाउन अनुरोध भएको थियो ।

    आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताए । ‘कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । तर खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका थिए’, उनले भने, ‘खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले खोपको प्रयोग गर्न सकेनौँ ।’ त्यतिबेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । डब्लूएचओले प्रयोग नगर्ने भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले खेर जान थालेको खोपबारे अझै निर्णय नभएको बताए । उनले चीन बाहेक अन्य देशमा पठाउन नसके यही खोपलाई ‘डिस्पोजल’ गरिने बताए । अहिलेसम्म नेपालमा छ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप आइसकेको छ ।

  • भूकम्प पीडित राहतका लागि आईएमई ग्रुपले प्रधानमन्त्रीलाई बुझायो डेढ करोडको चेक

    भूकम्प पीडित राहतका लागि आईएमई ग्रुपले प्रधानमन्त्रीलाई बुझायो डेढ करोडको चेक

    काठमाडौं । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

    अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् ।

    चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाश शरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेत उपस्थित थिए ।

    यसैगरी, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो ।

    सहयोग रकम हस्तान्तरण सँगै आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
    साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

  • भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, १ लाख देखि ५० हजार सम्म जित्ने मौका

    भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, १ लाख देखि ५० हजार सम्म जित्ने मौका

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको छ ।

    कम्पनीले चलचित्र मार्फत दाजू–बहिनी, दिदि–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको हो ।

    प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्नेछन् ।

    प्रतियोगितामा सहभागी हुन दिदि–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्नेछ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्नेछ ।

    उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदि–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् ।

    प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । भने, दोस्रो हुनेले ७५ हजार रुपैयाँ नगद र तेश्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाईटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले प्रतियोगितामा प्राप्त भिडियोहरुको समिक्षा र मुल्यांङकन गर्नेछ । प्रतियोगिताका विजेताहरु कार्तिक २९ गते भाईटिकाको दिन घोषणा गरिनेछ ।

    प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको छ । थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ ।

  • १९ वर्षीया जमुना, जसले गुमाइन् श्रीमान् र गर्भमा हुर्किरहेको ‘मुना’

    १९ वर्षीया जमुना, जसले गुमाइन् श्रीमान् र गर्भमा हुर्किरहेको ‘मुना’

    बाँके । जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छीन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् ।

    जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शैययामा छटपटाइरहेकी छन् ।

    जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन् भने कतिबेला बोल्दै बोल्दीनन् । निकै कम बोल्छीन् । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउछिन् । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छीन् ।

    ‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भनीन्, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।’ भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ ।

    शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए ।

    ‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ’, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनले भने । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुवा भागिरामले बताए ।

    जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।’ दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

    अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्सँगै आएकी आमा पवित्रा भन्छीन्, ‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला’, उनले भनीन्, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।’

    आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

    भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए ।

    रुपनी जिएम / रासस

  • नयाँ दिल्लीमा प्रदूषण बढेपछि सवारी साधनमाथि रोक लगाइयाे

    नयाँ दिल्लीमा प्रदूषण बढेपछि सवारी साधनमाथि रोक लगाइयाे

    नयाँ दिल्ली । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँ दिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
    तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।
    अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।
    दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए ।
    योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइने छ । मन्त्री रायले भने, ‘दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो ।’ उनका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिने छ ।
    आइक्युएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब १२ गुणा धेरै हो । पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।
    दिल्लीमा प्रदूषण बढेको भए पनि बङ्गलादेश र श्रीलङ्का दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन् । राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक होइन । यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो ।
    रासस-
  • रुकुमपश्चिममा १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त

    रुकुमपश्चिममा १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त

    रुकुमपश्चिम । भूकम्पका कारण रुकुमपश्चिमका ६ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए ।
    नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ ।
    समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् ।
    चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।
  • नेपालमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

    नेपालमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

    एसिया-प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री – क्यासि परिस‌‌घको आज काठमाडौंमा सुरु ३७ औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्।

    नेपाली अर्थतन्त्रले ठुला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए । पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैङ्किग क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्ताहरुका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

    नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताए ।

    यसैगरी विश्वस्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठुला होटेल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

    नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

    नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे ।

    महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न तयार रहेको तर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे ।

  • लगातार घटिरहेको सेयर बजार एक सातापछि दोहोरो अंकले बढ्यो

    लगातार घटिरहेको सेयर बजार एक सातापछि दोहोरो अंकले बढ्यो

    काठमाडौं । साताको पहिलो दिन २१ अंकले घटेको सेयरबजार साताको दोस्रो दिन २१ नै बढेको छ ।

    अघिल्लो दिन आइतबार मात्रै २१.४६ अंकले गिरावट भई १८२६.२३ बिन्दुमा झरेको सेयरबजार आज २१.३० अंकले वृद्धि भएर १८४७.५४ बिन्दुमा कायम भएको छ । यसअघि गत सोमबार मात्रै ३.०४ अंकले सेयरबजार बढेर १८७८.७० बिन्दुमा बन्द भएको थियो । भने, आज एक सातपछि सेयरबजार बढेको हो ।

    सोमबार बजारमा ३५ लाख ५५ हजार ६७० कित्ता सेयरको खरिदबिक्री हुदाँ ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँको कारोबार भएको छ ।

    आज ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । भने, लक्ष्मी लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआइसी एसीया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड ६ करोड ४३ लाख २० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

    सोमबार उपसमूतर्फका १३ वटै समूहको सेयर मूल्य बढेको छ ।

  • ढुवानी व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री निःशुल्क पुर्‍याउने

    ढुवानी व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री निःशुल्क पुर्‍याउने

    काठमाडौं । ढुवानी व्यवसायी महासंघ नेपालले भूकम्प प्रभावित क्षेत्रहरुमा पठाउने लत्ताकपडा, औषधी जस्ता अत्यावश्यक राहत सामाग्रीहरु एक हप्ता सम्मको लागि निःशुल्क ढुवानी गर्ने निम्ति सम्पूर्ण ट्रान्सपोर्ट ढुवानी व्यवसायीहरुलाई विशेष अनुरोध गरेको छ ।

    आइतबार एक विज्ञप्ति जारी गर्दै भूकम्पले पुर्‍याएको जनधनको क्षतीप्रति दुःख व्यक्त गर्दै घाइतेहरु उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन पनि अपिल गरेको हो ।

    महासंघका महासचिव अरुण श्रेष्ठका अनुसार जाजरकोट र रुकुम पश्चिम भूकम्पले देशनै दुःखित भएको बेलामा सरकारको मात्रै मुख ताकेर बस्नु उचित हुँदैन । विपत्तिको बेलामा मलम लगाउने उद्देश्यका साथ एक हप्तासम्म लत्ताकपडा, औषधिजन्य र अत्यावश्यक राहत सामग्रीहरुको ढुवानी निः शुल्क गर्ने निर्णय गर्दै सम्पूर्ण संघहरुलाई पत्राचार गरिएको बताए ।

    निःशुल्क ढुवानी सेवाका लागि महासंघले काठमाडौंमा तीन स्थान सहित काठमाडौं बाहिर वीरगञ्ज, इटहरी, नेपालगञ्ज, विराटनगर, रुपन्देही, झापाको बिर्तामोड, चितवन, धनगढी, उदयपुर, दाङ, हेटौंडा, पोखरा र बाराबाट प्रदान गरिने व्यवस्था मिलाएको महासचिव श्रेष्ठको बताए ।

    साथै शनिबार नै सुर्खेत र नेपालगन्जबाट २ लाख हाराहारीको चार ट्रक अत्यावश्यक सामाग्री जाजरकोटमा निः शुक्ल ढुवानी समेत गरिएको महासंघ जनाएको छ ।

  • सौराहामा हात्ती परीक्षण स्वास्थ्य शिविर

    सौराहामा हात्ती परीक्षण स्वास्थ्य शिविर

    चितवन । सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प २०२३ आजदेखि सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका सरकारी र यस क्षेत्रका होटलमा रहेका निजी हात्तीको स्वास्थ्य परीक्षणका लागि शिविर सुरु गरिएको हो । शिविर नोभेम्बर ११ तारेखसम्म जारी रहनेछ ।
    निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार शिविरका क्रममा हात्तीको आधारभूत स्वास्थ्य परीक्षण, जुकाको औषधि खुवाइने, हात्तीको खुट्टाको नङ काट्ने र मिलाउने सँगै हात्तीलाई टिटानस र रेबिजको खोपसमेत लगाइने छ ।
    परीक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटीक औषधिको प्रयोग गरिने, मिनिरल्स दिने उनले जानकारी दिए। थप अन्य समस्या देखिएमा उपचार गरिनेछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका ५८ हात्तीसहित एक सय १५ हात्तीको स्वास्थ्य परीक्षण गरिनेछ ।
    अमेरिकी संस्था कटी एडम्सन कञ्जरभेसन फन्टको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिविरको आयोजना गरेका हुन् । अमेरिकीसहित नेपालका पशु चिकित्सक र प्राविधिकले हात्तीको स्वास्थ्य परीक्षण तथा नङ मिलाउने काम गर्ने उनले जानकारी दिए ।
    राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो । हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ । हात्तीको अगाडिका खुट्टामा पाँच÷पाँच वटा र पछाडिको खुट्टामा चार/चार नङ हुने गर्दछन् । ती नङ प्याडभन्दा लामो हुँदै गर्दा नङ फुट्ने, माटो छिर्ने, पाक्नेजस्ता समस्या आउने उनले जानकारी दिए । हात्तीको खुट्टाको नङ चार/चार महिनामा काट्नुपर्ने हुन्छ ।
    शिविरमा यसलाई प्राथमिकता दिइँदैछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिविरमार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राविधिक पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्नेछन् । यसअघि नोभेम्बर १ देखि चार दिनसम्म बर्दियामा रहेका १३ हात्तीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
  • जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

    जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

    सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।
    जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताउए ।
    रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।’
    मृत्यु हुनेमा महिला धेरै
    भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ ।
    बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।
  • आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग

    आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग

    काठमाडौं । आइएमई ग्रुपद्वारा भुकम्प प्रभावितलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ ।

    आइतबार ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितलाई १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो ।

    जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने जनाइएको छ ।

    आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि हर सम्भव सहयोगका लागि जुटेको बताए ।

  • तोलामा पाँच सय रुपैयाँले घट्यो सुनकाे मूल्य

    तोलामा पाँच सय रुपैयाँले घट्यो सुनकाे मूल्य

    काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले घटेर १ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा स्थिर रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार बजारमा चाँदी प्रतितोला १ हजार ४१५ रुपेयाँमा स्थिर रहेको छ ।

  • धनगढीबाट औषधि बोकेर विशेषज्ञ चिकित्सकको टोली लाग्यो भूकम्प प्रभावित क्षेत्र

    धनगढीबाट औषधि बोकेर विशेषज्ञ चिकित्सकको टोली लाग्यो भूकम्प प्रभावित क्षेत्र

    कैलाली । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितहरुको उपचारको लागी सुदूरपश्चिम प्रदेश सरकारले औषधिसहित विशेषज्ञ चिकित्सककोको टोली प्रभावित क्षेत्रमा खटाएको छ ।

    आज २० जना चिकित्सकलाई समाजिक विकासमन्त्री झपट साउदले भूकम्प प्रभावित क्षेत्रको लागी बिदाइ गरे । चिकित्सकहरुले आवश्यक औषधि समेत बोकेका छन् । उनीहरु प्रभावित क्षेत्रमै बसेर उपचारमा खटिने छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारले शनिबार बिहानै विशेषज्ञ चिकित्सककोको टोली, औषधि र १ करोड सहयोग गर्ने घोषण गरेको थियो । त्यही निर्णय अनुसार समाजिक विकासमन्त्री साउदले चिकित्सककोको टोली औसधि सहित पठाइसकेको जानकारी दिए । टोलीले त्रिपाल समेत लिएर गएको छ । घर बिहीन भएकाहरुको लागी समेत प्रदेश सरकारले तत्कालीन व्यवस्था गर्ने गरि त्रिपाल उपलब्ध गराएको जनाएको छ ।

    ‘कर्णाली प्रदेशमा आएको भूकम्प र त्यसले पुराएको क्षतिले हामी पनि बिक्षिप्त भएका छौ’ समाजिक विकासमन्त्री साउदले भने ‘हाम्रो सानो सहयोगले प्रभावित क्षेत्रका नागरिकहरुलाई ठूलो राहत हुन्छ भनेर हामीले चिकित्सक र औषधि पठाइसकेका छौँ ।’

  • पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा कृषि मन्त्रालयले पठायो विशेषज्ञ टोली

    पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा कृषि मन्त्रालयले पठायो विशेषज्ञ टोली

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ ।

    भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

    मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।
    उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटिने छ ।

    स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।

    शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।

    कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण पठाएको छ । अरु विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ ।

  • प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै

    प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतमा आइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प र त्यसको प्रभाव, अवस्था र आगामी कार्य योजना तय गर्नका लागि दुई उपप्रधानमन्त्री एवम सबै मन्त्री सदस्य रहने परिषद्को बैठक बस्न लागेको हो ।

    बिहान साढे नौ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा सिंहदरबारमा बैठक बोलाइएको उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

    बैठकमा जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्पको राहत, उद्धार र अवस्थाबारे, छलफल गरिने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त सदस्य सचिव धुब्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा प्रभावितको पहिचान र पुर्नस्थापनबारे तथा खोज उद्धार एवम राहतका सम्बन्धमा स्रोत व्यवस्थापनबारे पनि छलफल हुनेछ ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा तीनको व्यवस्था अनुसार विपदु व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहने व्यवस्था छ । समितिको सदस्यमा सबै मन्त्री, प्रतिनिधि सभाको विपक्षी दलको नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधान सेनापती, गृह मन्त्रालयका सचिव रहेको व्यवस्था छ ।

    यस्तै विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट कम्तीमा एक जना महिलासहित परिषद्बाट मनोनित तीन जना सदस्य रहने व्यवस्था छ भने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।

  • भूकम्पको क्षतिबारे रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त

    भूकम्पको क्षतिबारे रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
    आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
    सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना  गरेका छन् ।