Author: Anisha Tiwari

  • कर्णालीमा खड्काको कमाण्ड – फिल्डमै खटेर सुन्दैछन् भूकम्प प्रभावितका डिमाण्ड

    कर्णालीमा खड्काको कमाण्ड – फिल्डमै खटेर सुन्दैछन् भूकम्प प्रभावितका डिमाण्ड

    सुर्खेत । कर्णालीबाट देशको उच्च नेतृत्वमा पुग्ने समकालीन राजनीतिक दलका नेतामा उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नै हुन् । यस हिसाबले पनि कर्णालीको संकटमा सरकारको दोस्रो वरियताको नेताको हैसियतले उनकै कमाण्डमा उद्दार, राहत र यसपछिको पुननिर्माणको समेत काम अघि बढ्ने संंकेत प्रधानमन्त्री प्रचण्डले गरिसकेका छन् ।

    रक्षा मन्त्रालय कामका हिसाबले धेरै चापको विभाग नभएका कारण पनि खड्का भूकम्प प्रभावितहरुसँगै छन् । उनले युएइको भ्रमण समेत रद्द गरेर कणालीमा राहतका बोरा बोकेर गएका छन् । अहिलेसम्म उनको भूमिका सकारात्मक नै रहेको एमालेबाट निर्वाचित भेरी नगरपालिकाका मेयर सीपी घर्ती बताउँछन् ।

    कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दू बनाएर ६.४ म्याग्निच्युडको गएपछि कर्णालीमा राजनीतिक दलका नेताहरुको ओहोर दोहोर चलिरहेको छ । राष्ट्रपति र प्रधानमन्त्री एक पटक गएर फर्किएपछि फिल्डको कमाण्ड उप प्रधानमन्त्री खड्काले सम्हालेका हुन् ।

    कर्णालीको वियोग, खड्काको संयोग

    भूकम्पमा परेर जाजरकोटसहित पश्चिम रुकुम र सल्यानका १५४ जनाले हालसम्म ज्यान गुमाएका छन् । झण्डै ४० हजार घरहरु बस्न नमिल्ने अवस्थामा छन् । सरकार उद्दार र राहतको काममा केन्द्रित छ । भूकम्पबाट घाइते भएकाहरुको उद्दारमा यसपटक उदाहरणीय काम भएको र राहतमा केही विवाद देखिए पनि प्रभावितसम्म पुगिरहेको छ ।

    संयोग नै यस्तो पर्‍यो कि, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कात्तिक १७ गते पूर्व निर्धारित कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए । राति पार्टीका नेताहरुसँग छलफल सकेर सुत्ने तरखरमा रहेका खड्कालाई भूकम्पले हल्लायो । तत्कालै भूकम्पको केन्द्रविन्दू र भएको क्षति तथा उद्दारमा उनी खटिएको प्रेस सल्लाहकार डिपी उपाध्यायले बताए ।

    एक दिनको कार्यक्रमका लागि गृह जिल्ला आएका खड्का त्यसयता राजधानी फर्किएका छैनन् । निरन्तर भूकम्प पीडितहरुको उद्दार र राहतमा केन्द्रित रहेको उनको सचिवालयले जनाएको छ । खड्काले भारत सरकारको राहत नेपालगञ्ज एयरपोर्टमा पुगेर जिम्मा लिएका थिए ।

    राहतपछि कसरी पीडितहरुलाई तत्कालका लागि अस्थायी घरहरु निर्माण गरेर दिने भन्नेमा अब सरकार केन्द्रित भएको उनले बताएका छन् । राहतमा विभेद नहोस् भन्नेमा आफू सचेत रहेको र आफ्ना लागि जाजरकोट,रुकुम पश्चिम सबै ठाउँका प्रभावित बराबर भएकाले सरकारबाट समान व्यवहार हुने उनको भनाइ छ ।

    उपप्रधानमन्त्री खड्काका स्वकीय सचिव गौतम विसीले भने–भूकम्प गएलगत्तै उहाँ निरन्तर घाइतेहरुको उद्दारमा केन्द्रित हुनुभयो, एक दिनमै जाजरकोट र रुकुम पश्चिममा घाइते भएकाहरुलाई नेपाली सेनाका हेलिकप्टरहरु प्रयोग गरेर जिल्ला अस्पतालहरु, सुर्खेत, नेपालञ्ज र काठमाडौंसम्म पुर्‍याउन सफल हुनुभयाे । त्यसयता निरन्तर पीडितहरुलाई राहत पुर्‍याउन व्यस्त हुनुहुन्छ ।’

    कर्णालीको राजधानीमा खड्काको दैनिकी

    खड्का विहानै सुर्खेत विमानस्थल पुग्छन् । विभिन्न ठाउँबाट आएका सामाग्रीहरु कहाँकहाँ पुर्‍याउने हो स्थानीय पालिका, प्रशासन र प्रदेश सरकारसँग टेलिफोनमा समन्वय गर्छन् । आवश्यकता अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत सम्बन्धित ठाउँमा राहत सामाग्रीहरु पुर्‍याउँछन् । तत्काल स्थलमार्गबाट राहत जान नसक्ने ठाउँमा राहत सामाग्री लिएर आफै पुग्छन् । स्थानीय पालिकाका प्रतिनिधिलाई ती राहत सामाग्री हस्तान्तरण गर्छन् । राहतको विवरण स्थानीय प्रशासनलाई टिपाउँछन् ।

    कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भने–उपप्रधानमन्त्रीज्यूको सक्रियताकै कारण एकै दिनमा घाइतेहरुको उद्दार सम्भव भयो । अहिले धमाधम पीडितहरुसम्म राहतका सामाग्रीहरु पुगिरहेका छन् । कर्णाली भूकम्पपछिको उद्दार कार्यको विपक्षी पार्टीका रवि लामिछानेजीहरुले समेत प्रशंसा गर्नुभएको छ । अब राहत र पुननिर्माणमा पनि उहाँको कमाण्डमा रफ्तारमा काम होस् ।

    रक्षामन्त्री पनि भएकाले खड्काले नेपाली सेनाका पाँच हेलिकप्टर र स्काई ट्रकलाई कर्णाली केन्द्रित गरे । स्थलमार्ग र हवाईमार्गबाट घाइतेहरुको उद्दार र राहत पुर्‍याउने काम पनि सँगसँगै गरे । खड्का आफैले राहत सामाग्री ओसारेकादेखि भूकम्प पीडित नागरिकहरुलाई सान्त्वना दिइरहेका तस्बीरहरु आइरहेका छन् । जेहोस् खड्का भूकम्पपछि निरन्तर उद्दार तथा राहतमा सरकारकोतर्फबाट समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

    अन्तरमुखी स्वभावका खड्का कांग्रेसभित्र आजीवन निष्ठा र कर्मको राजनीति गरेर सक्रिय जीवन बिताएका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका अनुयायी हुन् । खड्काले सार्वजनिक कार्यक्रमहरुमा किशुनजीका प्रसङ्ग निकालिरहन्छन् ।

    भूकम्पबाट प्रभावित गाउँहरुमा आफैँ पुग्ने, राहत वितरणको समन्वय गर्नेदेखि कर्णाली प्रदेश सरकारलाईसमेत साथ लिएर पीडित नागरिकहरुलाई खड्काले सरकारको अनुभूति दिलाइरहेको शाहीले बताए ।

    भावनात्मक सम्बन्ध, उद्दार राहतमा तदारुकता

    कर्णाली उपप्रधानमन्त्री खड्काको गृह प्रदेश हो । भूकम्प गएका दुबै जिल्लाहरु सुर्खेतसँग जोडिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसँग जोडिएका जिल्लामा आइपरेको विपदमा मल्हम लगाउन उनले निर्धारित औपचारिक कार्यक्रम र विदेश भ्रमणसमेत स्थगित गरेर रातदिन उद्दार, उपचार, राहतमा केन्द्रित भएका हुन् ।

    उनी प्रदेश राजधानीमै बसेर भूकम्प पीडितहरुको उद्दार र राहतमा केन्द्रित भएकाले स्थानीय तह, प्रशासन र प्रदेश सरकारलाई पनि काम गर्न सहज भएको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बताए ।

    मुख्यमन्त्री शर्माले भने– ‘प्रदेश तहबाट स्रोत र जनशक्ति एकै पटक जुटाउन समस्या हुन्थ्यो, यसले गर्दा घाइतेहरुको उद्दार र राहत पुर्‍याउन कठिन हुने अवस्था थियो । उपप्रधानमन्त्रीज्यूले कमाण्ड सम्हाल्दा हामीलाई धेरै सहज भएको छ ।

    उनले संघ, प्रदेश, स्थानीय तह र प्रशासनसँगको सहकार्यले तत्कालै घाइतेहरुको उद्दार गर्न सहज भएको बताउँदै राहत वितरण प्रक्रिया पनि प्रभावकारी भएको जानकारी दिए ।

    भूकम्पले दुर्गममा बढी क्षति पुर्‍याएको छ । आफूले कर्णाली छोड्दा राहत वितरण र पुनःस्थापनाको काममा ढिलाई हुने र थप राजनीतिकरण समेत हुने भएकाले खड्काले कर्णाली मुकाम नछाडेका हुन् । त्यसैले स्थानीय तहदेखि स्थानीय प्रशासन, प्रदेश र दातृ निकाय तथा संस्थाहरुसँग उनी आफै प्रत्यक्ष सम्पर्कमा छन् ।

    भुकम्पको भोलिपल्ट १८ कात्तिकमा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै खड्काले भनेका थिए,– ‘नागरिकको जीवन रक्षा पहिलो दायित्व हो, त्यसपछि विना भेदभाव र रातह र पुनःस्थापनाको काम अघि बढाउँछौं ।

    राहतलगत्तै भूकम्प पीडितहरुलाई अस्थायी आवास बनाउने योजनामा उनी छन् । यसका लागि तीनै तहका सरकारसँगै दातृ निकाय र सहयोगी संघ–संस्थाहरुसँग उनले समन्वय गरिरहेका छन् ।

    यसबीचमा उनी भूकम्पमा ज्यान गुमाएका परिवारलाई समवेदना र सान्त्वना दिन तथा ज्यान गुमाउनेहरुलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न ठाउँमा पुगे । सुर्खेत र नेपालगञ्जमा उपचाररत घाइतेहरुलाई भेटे । अस्पतालहरुलाई घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन र नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भएकाले सोही अनुसार उपचार गर्न चिकित्सहरुलाई आग्रह गरे ।

    उपप्रधानमन्त्री खड्का भूकम्प पीडितले राहत नपाएको गुनासो आएका ठाउँमा आफै राहत सामाग्री लिएर जाने गरेका छन् । खड्काले यसपटक कर्णालीलाई अभिभावकत्व प्रदान गर्ने क्रममा आफूलाई परिपक्व नेताका रुपमा पनि स्थापित गरेका छन् ।

     

  • झलनाथको चिन्ता- देश संकटग्रस्त अवस्थामा छ, कतिबेला के हुन्छ थाहा छैन

    झलनाथको चिन्ता- देश संकटग्रस्त अवस्थामा छ, कतिबेला के हुन्छ थाहा छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक रुपमा देश संकटग्रस्त अवस्थामा रहेको बताएका छन्।

    अमृतनाथ तिमिल्सिनाको पुस्तक समृद्धि सरोकार लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्ड नेतृत्वको सरकारको काम गर्न नसकेको बताए।

    उनले भने, हामीलाई दुई तिहाई बहुमत आउनु भनेको बढी भएछ संसद विघटन गरिहालियो। त्यसपछि हामीले दुईवटा सरकार भोगिसक्यौं। अहिले कमरेड प्रचण्डको नेतृत्वमा सरकार छ। यो दुईवटा सरकारले अघिल्लो सरकारले गर्न नसकेको काम गर्नुपर्नेथ्यो। तर, एउटै काम पनि अगाडि बढेको छैन। त्यसैले अहिले राजनीतिक क्षेत्र दिशाहिन बनेको छ।

    उनले आठवटा संसद कहिँ पनि एउटा दलले बहुमत ल्याउन नसक्ने स्थिती बनेको बताए। उनले थपे, त्यही जनताले एउटा पार्टीलाई बहुमत दिएका थिए। अहिले कुनै पार्टीलाई नपत्याउँने स्थिती बन्यो। राजनीतिक रुपमा देश संकटग्रस्त अवस्थामा छ। कहाँ कतिबेला के हुन्छ भन्ने सकिँदैन।

  • मुटु रोगबारे चेतनामूलक प्रत्यक्ष प्रसारणबाट डा. ओममूर्तिले राखे विश्व रेकर्ड

    मुटु रोगबारे चेतनामूलक प्रत्यक्ष प्रसारणबाट डा. ओममूर्तिले राखे विश्व रेकर्ड

    काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् ।
    चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् ।
    आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिए ।
    ‘गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु’, उनले भने, ‘यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।’
    असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए ।
    डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउएका छन् । उनले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिएका थिए ।
  • तिहारमा कस्तो रहला मौसम ?

    तिहारमा कस्तो रहला मौसम ?

    काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।
    मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गरे । उनले भने, ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बाँदल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।’
    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
    तापक्रम घट्दैः चिसो बढ्दै
    पछिल्ला दिनमा क्रमिकरुपमा तापक्रम घट्दै गएकाले आगामी दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । ‘तापक्रम क्रमिक रुपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’, मौसमविद् अधिकारीले भने ।
    तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
  • ‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

    ‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ ।
    तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ ।
    कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्यगरी पटाका पटकाउनेजस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
    साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ । सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ ।
    नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ/छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
    लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।
    यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
  • बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन

    बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन

    खप्तडछान्ना (बझाङ) । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना-५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उनको परिवार हप्ता दिनसम्मै अस्थायी छानो – गाउँबाट टाढा वस्तुभाउका लागि बनाएको घर/गोठ) मा बस्न थाल्यो ।
    पराकम्प कम भएपछि फेरि गाउँमा आएर चिरा परेको घरको तल्लो कोठामा उनीहरु बस्न थाले । अर्कोपटक भूकम्प आएपछि मथिल्लो तला बस्नै नमिल्ने भयो । केही दिन नजिकैको खलो (अन्नबाली सुकाउने ठाउँ) मा बास बसे पनि बिहान शीत पर्न थालेपछि फेरि त्यही कोठा बस्न थालेको अम्भिकाले बताइन् । भूकम्प आएको एक सातापछि वडा नं ५ का वडाध्यक्ष रामबहादुर सिंहको टोली गाउँगाउँमा अनुगमनमा आएको उनको भनाइ थियो ।
    ‘अनुगमनमा विवरण सङ्कलन गर्‍यो भन्ने सुनेका थियौँ,’ अम्भिकाले भनिन्, ‘विवरण लिएको पनि एक महिना हुन लाग्यो । तर, अहिलेसम्म कसैले त्रिपालसमेत दिएको छैन ।’ त्रिपाल पाए खुला ठाउँमै भए पनि बस्ने उनले सुनाइन् ।
    ‘हरेक दिन दातृ निकायले राहत सामग्री वितरण गरिएको भन्ने सुनिन्छ,’ अम्भिकाले भनिन्, ‘सरकारले पनि राहत दिने भन्ने रेडियोमा सुनेका थियौँ । तर, अहिलेसम्म पिठातोलामा कसैले पनि राहतको सानो अनुभूतिसमेत गर्न पाएका छैनन् ।’ सरकारले एउटा/एउटा त्रिपाल मात्रै दिए पनि गाउँलेहरू पाल टाँगेर बस्ने उनको भनाइ थियो । ‘अब यस्तो घरमा त कसरी ज्यान जोगाउने ?,’ उनले प्रश्न गरिन् ।
    पिठातोलामा अम्भिकाको मात्रै होइन, हरेक घर जोखिममा छन् । ‘पाँण (माथिल्लो तला) बाट मुज्याला (बीचका कोठा) धेक्किन लाग्यो भनेर फाटेका त्रिपाल जम्मा गर्दै शीत छेक्ने सानो टहरा बनाएर बसेका छौँ । त्यसमा टोलभरकै बस्छौँ’, सोही ठाउँका तिलक जोशीले भने । उनका अनुसार गत महिना आएको भूकम्पले धैरैको घरमा क्षति पुर्‍याएको छ । ‘घरमा बस्दा निकै जोखिम भएपछि लेकतिर गएर गोठमा बस्न थाल्यौँ । त्योसमेत आधा भत्किने जस्तो भएपछि कपाल लुकाउने त्रिपाल टाँगेर बसेका छौँ’, उनले भने ।
    भूकम्प गएपछि अनुगमनमा आएको टोली आफ्नो घरसम्म नआएको तिलकले बताए । ‘यति घरमा क्षति भएको भनेर समाचार सुनिन्छ । तर, हाम्रो घरतिर÷गोठतिर भने कोही आएनन्,’ उनले गुनासो पोखे ।
    तिलकका अनुसार अहिलेसम्म गाउँमा कसैले पनि त्रिपालसमेत पाएका छैनन् । उनले भने, ‘एकपटक वडासदस्य वसन्त आग्रीले गाउँमा दुई÷तीन परिवारलाई दाताले दिएको स्लिपिङ ब्याग दिएको भन्ने सुनेका थियौँ । उनले पनि त्यो स्लिपिङ ब्याग आफ्नैलाई दिनुभएछ । अरू भने केही सुनिएन ।’
    थलारा गाउँपालिका–३ का श्याम नेपाली गत महिनादेखि चुहिने त्रिपालमा छन् । एकसरो त्रिपाल त्यसैमा चुहिने भएपछि उनी रातभर जाग्रामजस्तै बसुछन् । ‘चिसोले रातभरि सुत्न सकिँदैन । छोराछोरीलाई पनि रुघाखोकी लाग्न थालेको छ । सरकारले केही राहत दिएमा त बाँच्न सकिएला नत्र भन्न सकिँदैन,’ उनले भने।
    खप्तडछान्ना–१ का मानबहादुर खातीको घर ढल्न मात्रै बाँकी छ । भित्र पूरै चिरा परेर जानै नसकिने अवस्थामा छ । स्थानीय सरकारको नजरमा ‘प्रभावित’ भनेरसमेत नपरेको उनले बताए। ‘राति घरभित्र जाउँ कति बेला च्यापिन्छौँ भन्ने डर लाग्छ । बाहिर जाउँ पनि माथिल्लो घरहरू भत्केर ढुङ्गा आउँलान् भन्ने पीर छ । खुला ठाउँमा जान रित्तै आकाश छ । पीडा सुनिदिने कोही छैन,’ खातीले भने ।
    यो समस्या खप्तडछान्नाको मात्रै नभएर हरेक पालिकाको हो । पहुँच भएकाहरूले सबै किसिमको राहत पाउने र पहुँच नहुनेले त्रिपालसमेत पाउन नसकेको उनले बताए ।
    यता खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले राहत वितरणमा राजनीति नगरेको दाबी गरे । वडाध्यक्षको सिफारिसबाट आएका पीडितलाई पालिकाले सके जति सहयोग गरेको उनले बताए । ‘दातृ निकायले दिएको त्रिपाल तथा कम्मल वडाको सिफारिसमा आएका पीडितलाई अवस्था हेरेर वितरण गरेका छौँ’, जोशीले भने, ‘पीडितको अवस्था छनौट पनि वडाले गरेको हो ।’ कुनै पीडितलाई त्रिपालसमेत नपुगेको खबर आए फेरि अनुगमन गरेर राहत दिने उनले बताए ।
    भिआइपीको तामझाम मात्रै
    बझाङमा भूकम्प आएको एक सातासम्म राज्यको ध्यान बझाङ केन्द्रित थियो । राज्यका सबै निकाय गाउँदेखि जिल्लासम्म पुगे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसहितको टोली भूकम्प आएको तेस्रो दिन दर्जनौँ गाडीसहित बझाङ पुग्यो । दुर्गाथली, थलारा गाउँपालिकामा अनुगमन गरेको प्रदेश सरकारले पीडितका घर बनाइदिने आश्वासनसमेत दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली पनि पीडितलाई भेट्न आएर केही राहत सामग्रीसहित घर निर्माणका लागि सरकारलाई दबाब दिने आश्वासनसहित फिर्ता भयो ।
    केन्द्र सरकारको टोली आएर पनि राहत घोषणा गर्‍यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी सावद, प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसहितको टोलीले भ्रमण गर्‍यो र पीडितलाई राहत दिने आश्वासन मात्रै दियो ।
    प्रधानमन्त्रीको घोषणा अधुरै
    असोज २० गते अर्थात् भूकम्प गएको चौथो दिन प्रधानमन्त्री प्रचण्ड भूकम्पपीडितलाई भेट्न बझाङ पुगेका थिए । उनले सदरमुकाम चैनपुरमा रहेको विक टोलको अनुगमनसमेत गरे । लगत्तै जिल्ला प्रशासनमा आएर सर्वपक्षीय बैठक बसालेर राहत घोषणा गरे ।
    अस्थायी आवास निर्माणका लागि तत्काल टिनको टहरा बनाउन ५० हजार दिने उनको घोषणा थियो । चर्किएका घरको १५ देखि २० हजार रूपैयाँसम्म राहत दिने घोषणा गरेका प्रधानमन्त्रीले अहिले भने बझाङका भूकम्पपीडितबारे कतै बोलेको सुनिँदैन । यता भूकम्पपीडितहरू भने त्रिपालकै आस गरिरहेका छन् ।
    विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा बझाङमा १२ हजार पाँच सय ५९ घरमा क्षति पुगेको थियो । आठ हजार पाँच सय २९ घर बस्न नमिल्ने गरी क्षति भएका थिए भने तीन हजार पाँच सय २४ घरमा सामान्य क्षति भएको थियो । जिल्लाका जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा बढी क्षति भएको समितिले जनाएको छ । क्षति भएको एक महिनासम्म पनि आधाजसो पीडितले त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।
    समितिका सम्पर्क व्यक्ति नन्दबहादुर धामी पीडितको तथ्याङ्कै यकिन नभएकाले राहत वितरणमा ढिलाइ भएको बताउए । प्रहरीको तथ्याङ्कसँग पालिकाको तथ्याङ्क नमिलेका ढिलाइ भएको उनको भनाइ थियो । उनले भने, ‘विश्वास गर्न गाह्रो भएकाले वास्तविक पीडितको पहिचान गरेपछि मात्रै अस्थायी आवास निर्माणका लागि राहत वितरण गरिन्छ ।’
  • चितवनको सयपत्री र मखमली हङकङ निर्यात

    चितवनको सयपत्री र मखमली हङकङ निर्यात

    भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।
    तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिकरुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।’ उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ ।
    उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उनले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’
    विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए । ‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ’, उनले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’
    तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट १५ लाख आम्दानी हुने अमितले बताए । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उनले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।
    भारतको कलकत्तादेखि एक लाख बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौँबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।
    ‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, उनले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’
    फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए ।
    चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । ‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो’, उनले भने, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौ ।’
    नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए। ‘गत आर्थिक वर्षदेखि फूलखेती प्रवद्र्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ’, उनले भने । अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए ।
    चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन् ।
  • १५ दिने बृहत्तर वराहक्षेत्र परिक्रम सुरु, मुख्यमन्त्रीले गरे शुभारम्भ

    १५ दिने बृहत्तर वराहक्षेत्र परिक्रम सुरु, मुख्यमन्त्रीले गरे शुभारम्भ

    विराटनगर । प्रसिद्ध धार्मिक स्थल चतरा धामबाट आजदेखि बृहत् बृहत्तर वराहक्षेत्र परिक्रमा सुरु भएको छ । १५ दिवसीय वृहत् पदयात्राले उदयपुर, धनकुटा सुनसरी जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्नेछ ।

    परिक्रमाको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा कार्कीले आफू हिन्दू धर्मावलम्बी भएकाले हिन्दू धर्मको वकालत गर्ने बताए ।

    उनले वराहक्षेत्र, पाथीभरा र हलेसी धामको विकासमा प्रदेश सरकारको विशेष ध्यान रहेको बताए । उनले फाल्गुननन्द, आत्म नन्द र खुवालुङको पनि विकास गर्दै जाने बताए । पदयात्राका क्रममा सुनसरी उदयपुर र धनकुटा धार्मिक तथा ऐतिहासिक स्थलमा पुगेर पूजा आजा गरिने छ ।

    चतरा धामबाट सुरु भएको पदयात्राका क्रममा उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाकाल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोशी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ ।

    २५ गते बिहान मैनामैनीमा अवस्थित मैना कुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने छ । २६ गते पदयात्रा त्रिवेणी धाम पुग्नेछ । २७ गते सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर पुग्नेछ ।
    २८ गते मूल घाट विश्रान्ति धाम पुग्नेछ । धनकुटाको बेलहरा, साँगुरी गढी, नमस्ते झरना हुँदै कार्की छाप- भेडे टार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।

    पदयात्रा धरानको शिवजट्टाधाम- सुधारासुधार मङ्सिर १ गते आइपुग्नेछ । मङ्सिर २ गते बुढासुब्बा, दन्त काली, चण्डेश्वर मन्दिरको दर्शन गरिने छ । मङ्सिर ३ गते तरहरा– इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वेश्वर महादेव मन्दिर पदयात्रा आइपुग्नेछ ।

    मङ्सिर ४ गते पदयात्रा रामधुनीधाम आइपुग्नेछ । पदयात्राले रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा गर्नेछ । त्यसपछि पदयात्रा प्रकाशपुर, राजा बास, सालबनी आइपुग्नेछ । मङ्सिर ६ गते पदयात्रा शक्ररुद्र तीर्थ चक्रघट्टी आइपुग्नेछ । मङ्सिर ७ गते चतरा धाम हुँदै ८ गते वराहक्षेत्र पुगेर वराह भगवानको गर्भ गृहको दर्शनका लागि पदयात्रा पुग्नेछ ।

    पदयात्राका क्रममा जगद्गुरु पीठ र स्थानीय आयोजकले महाप्रसादको प्रबन्ध गर्ने जगद्गुरु बालसन्तले जानकारी दिए ।

  • भूकम्पपीडितका लागि राहत वितरणमा सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

    भूकम्पपीडितका लागि राहत वितरणमा सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् ।

    रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए।

    उनले भने राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ। राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।

  • एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई होटल क्राउन हिमालयजमा विशेष छुट पाइने

    एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई होटल क्राउन हिमालयजमा विशेष छुट पाइने

    काठमाडौं । । एभरेष्ट बैंक लिमिटेडका ग्राकह र कर्मचारीलाई होटल क्राउन हिमालयजमा विशेष छुट पाइने भएको छ ।

    बिहीबार पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयज र एभरेष्ट बैंकबीच विशेष छुट सम्बन्धी सम्झौतामा भएको हो । भने, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउँनेछन् । त्यस्तै, रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले बताए ।

    होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरुले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम रहेका छन् ।

    देशभर बैंकका १२७ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटीएम नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

  • कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त

    कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त

    विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

    आचार्यलाई प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

    आचार्यले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली समेत गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, प्लान इन्टरनेशन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गरेको अनुभव भएका आचार्य नेपाली काँग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सचिवालयमा समेत बसेर काम गरिसकेका छन् ।

    उनी काँग्रेसमा नेता डा. शेखर कोइराला निकट आचार्य काँग्रेस संस्थापनको भने कटु आलोचक हुन् ।

  • रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला

    रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला

    काठमाडौं । कात्तिक २३ गते विहीवार गते प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको वक्तव्यको मुख्य अन्तर्यमा कसैको चासो नगएपछि सो पार्टीका नेताहरुबीचमै मतान्तर प्रकट भएका छन् ।

    रास्वपाले जाजरकोट भूकम्पपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेको थियो । बैठकपछि प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले ७ बुँदे वक्तव्यमा भुकम्प प्रभावितको राहत,उद्दार र पुननिर्माणको सन्दर्भमा पार्टीको निर्णय सार्वजनिक गरेका थिए ।

    रास्वपाले अघि सारेका सुझावहरुको समाचार आए पनि उसले राखेको माग वा प्रस्तावको मुख्य विषय बहसमा नआएपछि पार्टीभित्र भने मतान्तर प्रकट भएको छ । त्यो विषय हो, भूकम्प प्रभावितको पुनःस्थापना र पुननिर्माणको नेतृत्व रास्वपालाई दिनुपर्ने निर्णय । प्रेस वक्तव्यको तेस्रो बुँदामा उल्लेखि सो निर्णयलाई लिएर रास्वपाकै कतिपय नेताले असन्तुष्टि जनाएका छन् ।

    वक्तव्यमा भनिएको छ–प्रभावितहरुको प्रारम्भिक पुनःस्थापना एवं भुकम्पपछिको पुननिर्माणका लागि पार्टीमा रहेका विज्ञहरुको विज्ञता तथा स्वयंसेवकका रुपमा मानवनीय संशाधन निशर्त सरकारलाई सहयोग गर्न रास्वपा तत्पर रहेको छ । साथै,देशको चौथो ठूलो राजनीतिक दल एवं नेपाली जनताको नविन आशाको केन्द्रबिन्दुमा रहेका नाताले भुकम्पपछिको पुनःस्थापना एवं पुननिर्माणको नेतृत्व रास्वपालाई दिन सरकारसमक्ष हार्दिक अपिल गर्दछ ।

    राजनीतिक दलले पुननिर्माण जस्तो प्राविधिक र बजेटरी कामको जिम्मा खोज्नु अपरिपक्वता हुने भन्दै नेताहरुले यो वक्तव्यको बुँदामा विमति जनाएका छन् । पुननिर्माण प्राधिकरणले विगतको गरेको काम यसपटक रास्वपाले मागेको हो ? यो प्रश्न उठेको छ ।

    ती नेताले भने–धन्न मिडियाले यो विषयमा ध्यान दिएनन् त्यस दिन । नत्र राजनीतिक पार्टीले ठेक्कापट्टाको काम देऊ भन्नु हाम्रो अपरिपक्वता र हास्यास्पद कुरा हो । हाम्रा विज्ञ र प्राविधिकहरु स्वयंसेवीरुपमा दिन्छौं भनेको भए हुन्थ्यो,आयोजना नै निर्माणको काम हामीलाई देऊ भन्नु त हामीलाई नै उडाउने कुरा भयो ।

    एउटा पार्टीले पुनःनिर्माण गर्न हामीलाई देऊ भनेर औपचारिक निर्णय गर्नु लाजमर्दो कुरा भएकाले यसलाई सच्याउन आग्रह गरिएको उनले बताए ।

     

  • साल्ट ट्रेडिङले बढायो चिनीको कोटा, खुद्रा पसलेले अब कति पाउँछन् ?

    साल्ट ट्रेडिङले बढायो चिनीको कोटा, खुद्रा पसलेले अब कति पाउँछन् ?

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो ।
    प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् । उनले भने, ‘काठमाडौं उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन् ।’ उनका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।
    कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।
    दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् ।
    सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ । कर्पोरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए ।
  • कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

    कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
    बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
    परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।
  • रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै, भूकम्पदेखि महाधिवेशनसम्म एजेण्डा

    रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै, भूकम्पदेखि महाधिवेशनसम्म एजेण्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बोलाएको छ। पार्टी मुख्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो।

    बैठकमा जाजरकोट र रुकुपपश्चिममा गएको भुकम्प प्रभावित क्षेत्रमा भएका उद्धार, राहत र पुनस्र्थापनाबारे छलफल हुने उपसभापति डिपी अर्यालले बताए।

    उनले भने, पार्टी सभापतिज्यू पनि प्रभावित क्षेत्रबाट फर्किनुभएको छ। उहाँले त्यहाँको अवस्था र पार्टीको तर्फबाट भएका कामबारे ब्रिफिङ गर्नुहुन्छ। र, अब कसरी अगाडि जाने भन्ने बिषयमा पनि केही निर्णय हुन्छ।

    उनले बैठकमा पार्टीको महाधिवेशनको बिषयमा पनि छलफल हुने बताए। मंसिरमा गर्ने भनिएको महाधिवेशनको विधिलगायतको बिषयमा पनि छलफल हुने उनले बताए।

    रास्वपाले यसअघि पार्टीको बैठक मधेश प्रदेशमा गर्ने तयारी गरेको थियो। तर, भूकम्पपछि स्थगित भएको बैठक आज काठमाडौंमै बस्न लागेको हो।

  • एन्फाको विषेश साधारण सभा सुरु, के होला पंकजको पद ?

    एन्फाको विषेश साधारण सभा सुरु, के होला पंकजको पद ?

    काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को विषेश साधारण सभा सुरु भएको छ ।

    बिहान १० बजेदेखि सुरू हुने भनिएको साधारणसभा २ घण्टा ढिला गरी सुरू भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेण्डा आजको विशेष साधारण सभामा रहेको छ ।

    गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईकाे बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । तर, अध्यक्षलाई मात्र प्रस्ताव राख्न मिल्ने व्यवस्थाको कारण एकमात्र एजेण्डा भएको हो । कुल ११० प्रतिनिधि रहेकोमा साधारणसभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छ्न् । साधारणसभामा सतप्रतिशत प्रतिनिधि उपस्थित छन् ।

  • एकैदिन एक हजार रूपैयाँले घट्यो सुनको भाउ

    एकैदिन एक हजार रूपैयाँले घट्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

  • भूकम्प पीडितलाई महासंघद्वारा २२ लाखको राहत सामग्री हस्तान्तरण

    भूकम्प पीडितलाई महासंघद्वारा २२ लाखको राहत सामग्री हस्तान्तरण

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाइ २२ लाख रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

    महासंघ कर्णाली च्याप्टर मार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्फत नै दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो ।
    महासंघले काठमाडौंमा गृहमन्त्रालयको विपद व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

    महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरी अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।

    महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्धार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ ।

  • व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीका लागि कोरियाली लगानीकर्ताहरूसँग अध्यक्ष ढकालको आग्रह

    व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीका लागि कोरियाली लगानीकर्ताहरूसँग अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् ।

    आज काठमाडौंमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताए ।

    अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए । यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यहि क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विनविनको अवस्था सृजना हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

    नेपालमा ठूलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा पनि अध्यक्ष ढकालले जोड दिए।

    नेपालले विकासोन्मुख देशकोरूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताए ।

    केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ ।

    ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ-नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने अध्यक्ष ढकालले बताए ।
    त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले बताए ।

  • उद्धार तथा भग्नावशेष व्यवस्थापन गर्न स्काउटको तालिमप्राप्त टोली भूकम्प प्रभावित क्षेत्रमा (भिडिओ)

    उद्धार तथा भग्नावशेष व्यवस्थापन गर्न स्काउटको तालिमप्राप्त टोली भूकम्प प्रभावित क्षेत्रमा (भिडिओ)

    काठमाडौं । भूकम्प प्रभावितको उद्दार, राहत तथा अस्थायी व्यवस्थापनका लागि स्वयंसेवा गर्न नेपाल स्काउटको आकस्मिक उद्दारकर्ताको टिम जाजरकोट पुगेको छ । नेपाल स्काउटका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीका अनुसार २०७२ को महाभूकम्पमा समेत उत्कृष्ट काम गरेको टिमसहित जाजरकोटमा एक साताका लागि स्वयंसेवा गर्नेछन् ।

    विपद व्यवस्थापनमा तालिम प्राप्त टिमले भग्नावशेषहरु व्यवस्थापन गर्ने, उद्दार तथा अस्थायी व्यवस्थापनलगायतका काममा सघाउने उनले बताए । भूकम्पले भत्किएका संरचनाहरु व्यवस्थापनमा समेत स्काउटको टोलीले काम गर्नेछ । स्काउटको अर्को टोली पनि जाजरकोट र रुकुम पश्चिततर्फ जाने तयारीमा रहेको छ ।