Author: Anisha Tiwari

  • ललितपुर महानगरले किन्यो साढे पाँच करोडको दुईवटा दमकल 

    ललितपुर महानगरले किन्यो साढे पाँच करोडको दुईवटा दमकल 

    पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् ।
    महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने । हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पुर्‍याउने छ । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ ।
    महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य पाँच करोड ६५ लाख रहेको उनले जानकारी गराए ।
    दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी गराए । उनका अनुसार ती दमकलमा दुई हजार पाँच सय लिटर पानी भण्डारण क्षमता छ । यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ ।
    विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।
  • कालीगण्डकीमा बगरको सतह बढेर बस्तीमै पुग्न थाल्यो

    कालीगण्डकीमा बगरको सतह बढेर बस्तीमै पुग्न थाल्यो

    म्याग्दी । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए ।

    ‘सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो,’ उनले भने, ‘अरु ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा बगरको सतह बढेर बस्तीमै पुग्न थालेको छ ।’

    सो वडाका अध्यक्ष थकालीका अनुसार कालीगण्डकी नदीमा थुप्रिएको बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुुल, झोलुङ्गे पुुल, भवन, स्याउ बगैँचा लगायतका भौतिक संरचना जोखिममा परेका छन् । बर्सेनी भौतिक संरचनामा ठूलो क्षति भएको स्याङका बासिन्दा ङुटुक गुरुङले बताए । ‘नदि नियन्त्रण गर्न पक्की र ग्याबियन पर्खाल निर्माण भए पनि बगरको सतह बढेर बस्तीमै आउन थालेको छ’, उनले भने, ‘नदी नियन्त्रण र बगर व्यवस्थापनको प्रभावकारी कदम नचाल्ने हो भने मुुस्ताङको तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत भएको देख्न धेरै वर्ष पर्खनुुपर्दैन ।’

    छुसाङ, कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, टुकुचे, खन्ति, कोवाङ, लार्जुङ र लेतेका तटीय बस्ती बगरको सतहसँगै बाढीको जोखिममा परेका हुन् । वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले केही वर्षयता मुस्ताङमा वर्षा हुने क्रम बढेसँगै सहायक खोलामा आउने बाढीले बगाएर ल्याउने गेग्रर बगरमा थुप्रिँदा समस्या भएको बताए ।

    ‘सर्वोच्च अदालतको आदेश र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको नीतिगत समस्याका कारण स्थानीय तहले कालीगण्डकी नदीको बगर उत्खनन् गर्न पाएका छैनौँ’, उनले भने ‘कालीगण्डकीको बगरको व्यवस्थापन र बाढी नियन्त्रणका लागि राज्यले विशेष किसिमले सम्बोधन गर्नुपर्छ ।’ गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

    जोमसोम केन्द्रमा वार्षिक औसत २९२ दशमलव सात मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा वर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिदाँ बाढी आउने गरेको छ ।

    ‘खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुदैन् । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ’, उनले भने, ‘सडक, पुल र भवन जस्ता भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढीपहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।’ खोलामा गेग्रान थुप्रिँदै जाने र व्यवस्थापन नगर्दा बस्ती भन्दामाथि बगर हुन थालेको हो । केही दिनअघि मुस्ताङ भ्रमण गरेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मुस्ताङमा कालीगण्डकीको बगर व्यवस्थापन र बाढी नियन्त्रणका लागि विशेष नीतिगत पहल गर्नुपर्ने देखिएको बताएका थिए ।

    ‘समुदाय र जनप्रतिनिधि तहबाट बगर बस्तीमाथि आउन थालेको विषय गम्भीर रुपमा उठेको छ’, उनले भने, ‘प्रधानमन्त्री, मुख्यमन्त्री तहमा पनि यो विषयले ध्यानाकर्षण भएकाले समस्याको सम्बोधन हुनेमा आशावादी छौँ ।’ मनाङ र मुस्ताङमा सडक र मोटरेबल पुल बनाउँदा बाढी तथा नदीको सतहलाई पनि ध्यान दिएर डिजाइन गर्न थालिएको मन्त्री जुग्जालीको भनाइ छ ।

  • भूकम्प प्रभावितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

    भूकम्प प्रभावितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

    काठमाडौं । सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा यही कार्तिक २६ गतेका दिन जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ ।

    तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १ हजार २०० घर परिवारका ४ हजार ८०० जना भूकम्प पिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

    सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालको अनुसार, ‘भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पिडितहरुलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरेका छौं । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुराउने नै छौं ।’

    विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्ससँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःर्निमार्ण र हस्तान्तरण गरेको थियो ।

  • जनकपुरमा छठ घाट यसरी सिंगारियो (तस्बिरहरु)

    जनकपुरमा छठ घाट यसरी सिंगारियो (तस्बिरहरु)

    जनकपुरधाम । हिन्दूहरुले मनाइने पर्वहरुमध्ये छठ प्रमुख पर्व हो । मधेशका गाउँ-गाउँमा छठको रौनक छाएको छ ‌।

    जनकपुरधाम र वीरगञ्जमा छठ घाट दुलहीझैं सिंगारिएको छ । वीरगञ्जको घडियर्वा पोखरीमा छठ घाट सिंगार्न १५ लाख बढी खर्चिएको छ । जनकपुरधामको छठ घाटहरु पनि लाखौं खर्चिएर आकर्षक बनाइएको छ ।

    जनकपुरधामको गंगासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, दुधमती जलाशयहरुमा धुमधामसंग छठ मनाइन्छ । रंगिचंगी विद्युतीय बत्तीहरु छठ घाटमा लगाएपछि जनकपुरधामको सौन्दर्य नै बढाएको छ ।

    छठ घाट जाने बाटोहरुमा आकर्षक द्वार निर्माण गरिएको छ । घाटहरुमा छठ पर्वका गीत गुन्जिने गरेको छ । लाग्छ, झकिझकाउ पारिएको छठ घाटहरु ब्रतालुहरुको प्रतिक्षा गरिरहेको छ ।

    चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठको पहिलो दिन शुक्रवार ब्रतालुहरुले नहायखाय गरे । आज दोस्रो दिन ब्रतालुहरुले खरना विधि गरे ।

    तेस्रो दिन अर्थात् भोली ब्रतालुहरु छठ घाटमा पुग्छन् पूजाका सामग्रीहरु बोकेर । बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य चढाइन्छ । रातभरि जाग्राम बसी विहानपल्ट उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समापन गरिन्छ ।

    पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले छठ मनाइन्छ । छठमा गरिने सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास छ ।

  • गर्भवतीको घरमा निलो झण्डा

    गर्भवतीको घरमा निलो झण्डा

    सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
    सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उनले बताए ।
    गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताए । सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दसैँ र तिहारका बीचमा निलो झण्डा वितरण गरिएको जनाउँदै ‘गर्भवती पहिचान घर कार्यक्रम’अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उनले बताए ।
    ‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ । यो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान गरेका छौँ’, स्वास्थ्य संयोजक भण्डारीले भने, “पालिकाभित्रका वडा १ देखि ८ सम्म शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका छौँ ।” झण्डाले घर पहिचान हुने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज उनले बताए ।
    भण्डारीका अनुसार सिमकोट गाउँपालिका वडा १ मा आठ, २ मा १५, ३ मा दुई, ४ मा चार, ५ मा १६, ६ मा १२, ७ मा २३ र ८ मा ३० जना सुत्केरी गराउनेको सङ्ख्या रहेको छ ।
    ग्रामीण भेगमा आर्थिक अभाव, जनचेतनाको कमी, रुढीवादी परम्परालगायत कारणले घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुने भएकाले झण्डामार्फत घर पहिचान गरेपछि स्वास्थ्यकर्मीले विशेष प्राथमिकतामा सेवा प्रदान गर्न सक्ने स्वास्थ्य शाखा संयोजक भण्डारीको भनाइ छ । उनका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।
    ‘कुपोषण पहिचान घर कार्यक्रम’
    हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले पालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘कुपोषण पहिचान घर कार्यक्रम’ सुरु गरेको छ । कुपोषित सहजै पत्ता लगाउनका लागि १ देखि ८ नं वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको हो ।
    छ महिनादेखि २३ महिनासम्मका बालबालिका बढी कुपोषण हुने भएकाले कुपोषण पहिचान गरी ‘मध्यम शीघ्र कुपोषण’को घरमा पहेंलो र ‘कडा शीघ्र कुपोषण’ भएका बालबालिकाको घरमा रातो झण्डा राख्ने कार्य सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक वसन्ती रावतले जानकारी दिए । उनका अनुसार बालबालिकामा ‘स्क्रिनिङ’ गर्न सुरु गरिएको छ ।
    शाखाले १ देखि ८ नं वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १९ जनामा कुपोषण भएको पाइएको सहसंयोजक रावतले जानकारी दिए  । गाउँपालिका मातहतका स्वास्थ्य चौकीअन्तर्गतका सबै वडामा गरी १९ बालबालिका कुपोषित रहेको पाइएपछि उनीहरुको घरमा दुई किसिमको झण्डा राखिएको उनले बताए ।
    “वडा ३ मा तीन, वडा ६ मा चार, वडा ७ मा चार र वडा ८ मा तीन गरी १४ जनामा शीघ्र कुपोषण भएको पाइएको छ”, उनले भने, “वडा ५ मा एक, वडा ६ मा दुई र वडा ७ मा दुई गरी पाँच जनाका कडा शीघ्र कुपोषण भएको पाइएको छ ।” कुपोषित पहिचानका लागि शीघ्र कुपोषण भएका १४ बालबालिकाको घरमा पहेंलो झण्डा र कडा शीघ्र कुपोषण भएका पाँच बालबालिकाको घरमा रातो झण्डा राखिएको रावतले जानकारी दिए ।
    स्वास्थ्यचौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व, सर्वोत्तम पिठोलगायत आवश्यक खानेकुरा वितरण गर्नका लागि अभियान सुरु गरेको थियो । योसँगै कुपोषित बालबालिकाका लागि ‘पोषण प्याकेज कार्यक्रम’ सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
  • विपिनकाे खोजी गरिदिन माग गर्दै बुबाआमाले भेटे परराष्ट्रमन्त्री

    विपिनकाे खोजी गरिदिन माग गर्दै बुबाआमाले भेटे परराष्ट्रमन्त्री

    महेन्द्रनगर । त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन् ।
    ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो ।’ भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।
    भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए । ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने ।
    सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।
  • गीतकार तथा राजनीतिज्ञ दीपा वलीको निधन, कोमल वलीलाई मातृशोक

    गीतकार तथा राजनीतिज्ञ दीपा वलीको निधन, कोमल वलीलाई मातृशोक

    काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ ।

    उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।

    हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार वलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो । १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो ।

    दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

    दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् ।
    उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

  • लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा निर्माण सुरू

    लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा निर्माण सुरू

    लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो ।
    नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ । उक्त गुम्बा ३० करोडको लगानीमा निर्माण गरिने रुसी गुम्बा नेपालका संयोजक ई.प्रवीण गौचनले जानकारी दिए ।
    लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो  गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य रहेको उनले बताए । रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएका भिक्षुहरुबाट गरिएको बौद्ध पाठ परायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले गुम्बा शिलान्यास गरेका थिए । पाठ पारायण गर्ने भिक्षुहरुमा बुदाँ बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमन थिए ।
    रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल निर्माण सुरु गरिएको साढे दुईतले उक्त गुम्बा रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचना अनुरुपको हुनेछ । शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले नेपाल र रसियाबीच मैत्री सम्बन्ध एवं संस्कृति आदानप्रदान गर्ने उद्देश्यले बुद्धको जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरु गरिएको बताए ।
    उनले शान्तिको सन्देश दिने बुद्धभूमि लुम्बिनीले नेपाल र रसियाबीचको सम्बन्ध थप प्रगाढ बनाउने पनि जानकारी गराए । रूस नेपाल मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गराउने यो प्रयासले संस्कृति संरक्षणका साथै बुद्धभूमि नेपालको पहिचान थप उजागर गर्ने उल्लेख गरे ।
    रूसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्तिको स्रोत राष्ट्र बन्नसक्ने बताए । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्तिको सन्देशलाई संसारभरका मानव जातिले महत्वका हेर्ने बताए ।
    नेपालका तर्फबाट रुसका लागि पूर्वराजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध, आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रुपमा रहेको बुद्ध भूमिको महत्व बढाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
    लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले यस कार्यमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको जानकारी गराए । बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका उनको भनाइ थियो  । लुम्बिनी विकास कोषका अनुसार ४० देश तथा सङ्घसंस्थाले यहाँ संरचना निमार्णका लागि सम्झौता गरेका छन् ।
  • २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।

    गत सोमबार मात्रै प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा दुइ हजार तीन सय रुपैयाँले बढेर एक लाख १५ हजार पाँच सय रुपैयाँ कायम भएको हो । तीहार बिदाको तीनदिनपछि खुलेको सुनको पहिलो कारोबारको दिन नै २३ सय रुपैयाँले मुल्य वृद्धि भएको हो ।

    त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन बजारमा चाँदी तोलामा ९० रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । भने, गत सोमबार मात्रै चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

  • जुवा खेलिरहेका १७ जना पक्राउ

    जुवा खेलिरहेका १७ जना पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज चार लाख रपैयाँ तथा कौडा र ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट एक लाख १७ हजार नगद बरामद भएको उनले बताए ।
    यसैबीच, तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
  • ‘दिमाग खराब’को आक्रामक व्यापार कायमै ,‘वर्ड अफ माउथ’ अब्बल

    ‘दिमाग खराब’को आक्रामक व्यापार कायमै ,‘वर्ड अफ माउथ’ अब्बल

    काठमाडौं । कार्तिक २४ गतेबाट देशभरका हलमा रिलिज भएको सिनेमा ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ।

    आज रिलिजको पाँचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो सिनेमाको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ । सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहानदेखि रातीसम्मका शोमा दर्शकको चाप देखिएको छ। सिनेमाको विषयमा दर्शकको प्रतिक्रिया एकदम राम्रो भएका कारण व्यापार अझै बढेने निश्चित छ। तिहार बिदाको फाइदा सिनेमाले पर्याप्त मात्रामा उठाइरहेको छ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

    सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • यी २६ मुलुकमा टिकटक चलाउन प्रतिबन्ध, कुन मुलुकमा कहिले बन्द ?

    यी २६ मुलुकमा टिकटक चलाउन प्रतिबन्ध, कुन मुलुकमा कहिले बन्द ?

    काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको विरोध जनाएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमार्फत विभिन्न राजनीतिक दलका पदाधिकारी तथा नेतासँगै कलाकार, सामाजिक अभियन्ताले पनि टिकटकलाई नियमन गर्नुको सट्टा बन्द नै गर्ने निर्णय गलत भएको भन्दै यसमा पुर्नविचार गर्नुपर्नेमा जोड दिएका छन् ।

    तर, सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोगकर्तालाई लामो समयदेखि सरकारले सहि सदुपयोग गर्न अनुरोध गर्दा पनि नमानेका कारण सरकार बन्द गर्ने निर्णयमा पुगेको बताईन् ।

    उनले भनिन्, ‘अन्य सामाजिक सञ्जालमा विषयवस्तु, प्रयोगकर्ताले गलत प्रस्तुती वा कार्य गरेमा त्यसलाई नियमन या स्व नियमन गर्नसक्ने प्रावधान छन् । तर टिकटकमा सजिलै फेक आइडी खोल्न सकिने, फेक फिल्टर, गुनासो सुनुवाईको व्यवस्था नहुनु आदिले गर्दा नियमन गर्न सहज छैन । त्यसैले सरकारले बारम्बार प्रयोगकर्तालार्इ सभ्य बन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरे पनि टिकटक झनै छाडा हुन थालेपछि बन्द गर्नुबाहेक अरू विकल्प थिएन । त्यसैले गर्नुपरेको हो ।’

    टिकटकमा प्रतिबन्ध लगाउने देशको संख्या हालसम्म २६ वटा रहेका छन् । यदि नेपाल सरकारकाे निर्णय कार्यान्वयन भएमा याे संख्या २७ हुनेछ । टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको छ । यो एपले चिनियाँ सरकारलाई डाटा दिने आरोप पनि लाग्ने गरेको छ । कम्पनीले भने सरकारलाई कुनै खालको डाटा नदिने बताउँदै आएको छ।

    कुन देशमा कहिलेदेखि टिकटक बन्द भयो ?

    बेलायत – सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३

    अमेरिका – सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२

    न्यूजिल्यान्ड – सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध सन् २०२३

    क्यानडा – गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३

    ताइवान – राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२२

    बेल्जियम – गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३

    डेनमार्क – साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३

    पाकिस्तान – जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउँदै सन् २०२०

    अफगानस्तान – युवामा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी

    भारत – गोपनियता, सुरक्षा जोखिम र टिकटकको जोखिम देखाउँदै टिकटक लगायत चीनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध सन् २०२०

    सोमालिया – गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्टबाहेक अन्य प्रतिबन्ध सन् २०२३

    अर्मेनिया – विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२०

    अजरवैजान – नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२०

    बंगलादेश – पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१

    इन्डोनेसिया – धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै सन् २०१८

    ईरान – धार्मिक कारण देखाउँदै सन् २०२३

    जोर्डन – प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायी रूपमा प्रतिबन्ध सन् २०२२

    अष्ट्रिया – सुरक्षा जोखिम देखाउँदै सन् २०२३

    ईस्टोनिया – राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२३

    फ्रान्स – डाटा सुरक्षाको जोखिम देखाउदै टिकटक, ट्विटर, इन्स्टाग्राम, नेटफ्लिक्स, क्यान्डीक्रस लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३

    आयरल्यान्ड – साईवर सुरक्षा जोखिम देखाउँदै सन् २०२३

    लाटभिया – सुरक्षा जोखिम देखाउँदै सन् २०२३

    माल्टा – साईवर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध सन् २०२३

    नेदरल्यान्ड – डाटा सुरक्षा जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२

    नर्वे – राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रधानमन्त्री, मन्त्री, सचिव, राजनितिक सल्लाहकारले प्रयोगमा प्रतिबन्ध सन् २०२३

    अष्ट्रेलिया – सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाईस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध सन् २०२३

  • तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

    तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

    काठमाडौं । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।
    फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौं महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताए । आर्थिक मन्दीका कारण काठमाडौं उपत्यकाका सटर, पसल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकीझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको निणर्यका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एशोसिएसनले स्पष्ट गरेको छ ।
    यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौंका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।
    भृकुटीमण्डपमा फूलमाला बिक्री गरिरेका धादिङको महादेवबेंसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षौदेखि तिहारमा फूल कारोबारमार्फत परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताए । गाउँबाट सात सयका दरले ल्याएको फूल यहाँ तीन सय रपैयाँमा पनि बिक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उनीहरुले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौँका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गरे ।
    काठमाडौं महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एशोसिएसका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायत जिल्लाबाट काठमाडौँ उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइएको छ ।
  • चेपाङसँग तिहार मनाउन पर्यटनमन्त्री चितवनमा

    चेपाङसँग तिहार मनाउन पर्यटनमन्त्री चितवनमा

    चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए ।
    उनले भने, ‘चेपाङ समुदायले तिहार कसरी मनाउँछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।’ नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको उनले बताए । उनले भने, ‘चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ ।’
    मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उनले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताए । उनीहरुको भाषा, धर्म र संस्कृति लोप भए नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उनको भनाइ थियो ।
    फरक प्रसङ्गमा उनले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताए । नेपालको काम नगर्ने संस्कृतिको अन्त्य गर्दै सरकारले विमानस्थलको धावनमार्ग बढाउनका लागि नेपाली सेनासँग कुरा गरिरहेको उनले बताए ।
    उनले भने, ‘पहिला सेना र घोडा प्रजनन केन्द्र सार्ने कुरा गरेका थियौँ । वनका कारणले समस्या भयो । अब धावनमार्ग बढाउन सेनासँग छलफल भइरहेको छ ।’ सेनासँग सहमति गरेर सेना पनि त्यहीँ रहनेगरी धावनमार्ग बढाउनका लागि तिहारलगत्तै छलफल गरेर टुङ्गो लगाउने उनको भनाइ थियो । धावनमार्ग बढेसँगै ७२ सिटे जहाज अवतरण गर्न सकिने र रात्रिकालीन उडान गर्न सकिने उनले बताए ।
    वैज्ञानिक योजनाका आधारमाभन्दा पनि राजनीतिक दबाबका आधारमा विमानस्थल बन्ने गरेको बताउँदै उनले विमानस्थललाई व्यावसायिक प्रयोगमा लैजान सरकार लागेको बताए । निजगढ विमानस्थलको बाँकी काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय भएको बताउँदै उनले यसलाई अघि बढाउन मन्त्रालयले काम सुरु गरेको बताए । उनले भने, ‘यो विमानस्थल देशको आवश्यकता हो । काम अघि बढ्छ अब ।’
    अरु विमानस्थल थप्ने विषयमा वैज्ञानिक अध्ययन गर्नुपर्ने उनले बताए । जनताको माग र वैज्ञानिक अध्ययनका लागि कार्यदल बनाएर अघि बढेको उनको भनाइ छ । मन्त्री किरातीको रत्ननगर नगरपालिका वडा नं ११ मङ्गलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकासँग देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । केन्द्र सञ्चालन गर्दै आउनुभएका केपी किरण शर्माका अनुसार त्यहाँ एक सय ४५ जना चेपाङ बालबालिका रहेका छन् ।
    त्यसपछि मन्त्री किराती इच्छाकामना गाउँपालिकाको चौकीभञ्ज्याङ र सप्रेमीस्थित चेपाङ समुदायमा पुग्ने छन् । त्यहाँका चेपाङ संस्कृतिविद् भोटेबहादुर चेपाङको दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । चेपाङ ७९ वर्षीय हुन् ।
    सोही क्षेत्रमा चेपाङ समुदायलाई मन्त्री किरातीले न्यानो कपडासमेत वितरण गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री हुँदा डा बाबुराम भट्टराई कालिका नगरपालिका–१० को तीनदोभानमा आएर चेपाङ समुदायसँग रात बिताएका थिए । त्यतिबेला वडारमा रहेका बन्दीपुरे चेपाङलाई सम्मान गरेको थियो ।
  • दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

    दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

    बागलुङ । कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए । तर सबै बिक्री हुनसकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।

    दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आएका छन् । दसैँका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन् । दसैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमा सबै बिक्री भएका गुरुङ बताउछन् ।

    ‘यसपाली सोचे अनुसार व्यापार भएन’, उनले भने । वर्षौँदखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उनी छन् । कम मूल्यमा दिन थालेपछि दसैँका तुलनामा यस बेला बढी बिक्री भएका छन् । अझै पनि उनीसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् ।

    गुरुङलाई तिहारसम्म सबै भेडाच्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उहाँ १८ वर्षदेखि यही पेसामा लागेका हुन् । दसैँ तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यसवर्ष न्यूनतम ३० हजारदेखि ५८ हजारसम्म मूल्य छ ।

    सहरबजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ । एक करोड ५० लाखमा खरिद गरेको च्याङ्ग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाइ बेच्न बाध्य भएको गुरुङले बताए । दसैँका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उनले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताए । बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउछन् ।

    ‘मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्याङ्ग्रा झरे भने ग्राहकले बाटोमै कुरेर बस्थे, छानी–छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर होकी,’ गुरुङले भने– ‘यसपाली त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झण्डै भए एक महिना त गाउँमै दाना पानी खुवाएर पाले ।’

    पुथा उत्तरगङ्गा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपाली सोचे अनुसार भेडाबाख्रा बेच्न सकेनन् । ३४ वर्षदेखि भेडापालन गर्दै आएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाए । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उनको भनाइ छ । दसैँसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उनी बताउछन् ।

    गत वर्ष भेडाबाख्रा बिक्री गरेर १५ लाख आम्दानी गरे पनि यसवर्ष आधा मात्र कमाइ भएको बुढा मगर बताउछन् । न्यूनतम २० हजारदेखि अधिकतम ४२ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए । बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ ।

  • खुकुरी प्रहार गरी युवकको हत्या

    बर्दिया । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
    गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । गए राति दुई समूहबीच झगडा भएको थियो ।
    झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
  • लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्ध परिपथको विकासका लागि सहकार्य गर्न समझदारी

    लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्ध परिपथको विकासका लागि सहकार्य गर्न समझदारी

    रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) एवम् सरोकारवाला संस्थाहरुबीच सहकार्य गर्न सहमति जुटेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा शनिबार रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, लुम्बिनी विकास कोष एवं एनआरएनसहित सरोकारवालाहरुको उपस्थितिमा बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र पर्यटन प्रवद्र्धन लागि सहकार्य गर्न समझदारी बनेको हो ।

    शान्तिका अग्रदूत गौतबुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र बुद्ध परिपथको पर्यटन प्रवद्र्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, युरोप लगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरुको संस्थाहरुविच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।

    बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीय पालिकाहरुसहितको सहकार्यले आगामी दिनमा थप सहज बनाउने बताए । उनले लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) हरुसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार प्रसार गर्ने नीति लिएको बताउँदै अब सबैको सहकार्यले नै अन्र्तराष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए ।

    उनले विदेशमा गएका प्रत्येक नेपालीहरुले लुम्बिनीमा एक जना विदेशी पर्यटन पठाउने जिम्मा लिँदा पनि पर्यटन प्रवद्र्धन हुने बताए । बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी साँस्कृतिक नगरपालिकाहरुले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्विक स्थलहरुमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए ।

    बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसारको खाँचो रहेको बताए । उनले लुम्बिनी विकास कोषसँगै लुम्बिनीको प्रवद्र्धनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै बुद्धपरिपथसँग जोडिएका रामग्राम, कपिलवस्तु र देवदह नगरपालिकासँगै गैरआवासीय नेपाली, होटल व्यवसायी, अन्य सरोकारवालाहरु बीच सहकार्य आवश्यक रहेको बताए ।

    बैठकमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, देवदह नगरपालिकाका नगरप्रमुख धु्रवप्रसाद खरेल, कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिए । उनीहरुले अन्र्तराष्ट्रिय गैरआवासीय नेपालीहरुको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

    यसैगरी बैठकमा गैरआवासी नेपाली संघ अमेरिकाका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली संघ अमेरिका (एनआरएनए) का उपमहासचिव सोमनाथ सापकोटा, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले लुम्बिनी र बुद्धको प्रचार र बुद्धपरिपथको पर्यटन प्रवद्र्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरेका थिए ।

    बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष गोविन्द प्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दिक्षित लगायतले लुम्बिनीसँग सम्बन्धीत भ्रमहरु चिर्दै पर्यटकको बसाईअवधी लब्याउनुपर्ने बताए ।

    बैठकले बुद्धपरिपथको अन्तर्राष्ट्रिय स्तरमा प्रचार, पर्यटन प्रवद्र्धन, विकास र सहयोग आदानप्रदान गर्न अन्तर्राष्ट्रिय स्तरको समन्वय र सहजीकरण गर्न यूरोप नेपाल चेम्बर अफ कमर्श फर टुरिजम, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) , आइसीसी, एनआरएनए, एएनए, यूएसए, नेपाली समाज टेक्सास यूएसए, नेपाली साँस्कतिक तथा आध्यात्मिक केन्द्र, इन्द्रेणी साँस्कृतिक संघ टेक्सास, लुम्बिनी सेवा समाज टेक्सास लगायतका संस्थाका पदाधिकारीहरुलाई अनुरोध गर्ने सहमति भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले जानकारी दिए ।

  • बालेन निवासमा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई दिवाभोज र तिहार शुभकामना

    बालेन निवासमा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई दिवाभोज र तिहार शुभकामना

    काठमाडौं । सिंहदरबारमा आगो लगाउँने चेतावनीका बेला चिसिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्बन्ध न्यानो बनाउने प्रयास मेयर पत्नी सबिनाले गरेकी छन् ।

    शनिवार उपप्रधानमन्त्री श्रेष्ठलाई मेयर निवास लाजिम्पाटमा बोलाएर दिवाभोजपछि सबिनाले तस्विर सार्वजनिक गर्दै गृहमन्त्रीलाई लञ्चमा बोलाउन पाउँदा खुसी लागेको बताएकी छन् ।

    स्वकीय सचिव सुशसन कर्माचार्यासहित मेयरको सरकारी निवासमा पुगेका श्रेष्ठलाई मेयर शाह दम्पत्तिले स्वागत गरेका थिए । पत्नी सबिना प्रसुति व्यथाले अस्पताल लैजाने क्रममा ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच गरेको विरोधमा मेयरले सिंहदरवारमा आगो लगाउने चेतावनी दिएका थिए । तिहार शुरु भएका दिन श्रेष्ठलाई मेयर निवासमा शुभकामनाका लागि निमन्त्रणा गरिएको बालेनको सचिवालयले जनाएको छ ।

  • मन्त्री ज्वालाले गरे पोखराको सेती नदीमा सिग्नेचर पुलको शिलान्यास

    मन्त्री ज्वालाले गरे पोखराको सेती नदीमा सिग्नेचर पुलको शिलान्यास

    पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पोखराको सेती नदीमाथीको चार लेन सिग्नेचर बृजको शनिवार शिलान्यास गरेका छन् । एसियाली विकाश बैंक (एडिबी)को सहयोगमा १ सय ९० मिटर लामो पुलको शिलान्यास गरेका हुन् ।

    एक अर्ब १० करोड लागतमा थालनी भएको सिग्नेचर पुल २०८२ भदौ मसान्तभित्र काम सकिनेछ । शिलान्यास कार्यक्रममा निर्माण ब्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

    मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरुलाई समयमै काम सक्नेगरी सक्रियता बढाउन निर्देशन दिएका छन् । मन्त्री ज्वालाले भने, ‘यो वा त्यो बहानामा काममा ढिलाई गर्न पाइँदैन, समयमै काम सक्नेगरी सवै पक्षले सक्रियता देखाउनुहोस्’।

    कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सवै सहयोग गर्ने बताएकी छन् भने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न आफुहरु तयार रहेको बताए ।

  • भुकम्प पीडितलाई फेदिखोला गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीको तलब कटाएर सहयोग

    भुकम्प पीडितलाई फेदिखोला गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीको तलब कटाएर सहयोग

    पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब आधा रकम जाजरकोट भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ खर्चने भएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले गाउँपालिकाका जनप्रतिनिधिहरुको एक महिनाको तलब आधा रकम भूकम्प प्रभावित क्षेत्रमा खर्चने निर्णय गरेको हो ।

    जनप्रतिनिधिहरुको मासिक सुबिधाको आधा रकमसहित गाउँपालिका स्थायी, करार, ज्यालादारी कर्मचारीको एक दिनको तलब र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी र आइटी शिक्षकको एक दिनको तलब भुकम्पपीडितलाई प्रदान गर्ने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको हो ।

    गाउँपालिकाले जनप्रतिनिधिले एक महिनाको तलब आधा रकम २ लाख ४१ हजार ७५०, एक दिनको तलब रकम १ लाख ५ हजार ३३२, शिक्षकहरुको एक दिनको तलब २ लाख ३० हजार २७३ गरि कुल ५ लाख ७७ हजार ३५५ रुपैयाँ भुकम्पपीडितलाई प्रदान गर्न लागेको हो ।