Author: Anisha Tiwari

  • एभरेष्ट बैंकद्वारा ‘डिजिटल लिट्रेसी’ वित्तीय चेतनामूलक भिडियो तयार

    एभरेष्ट बैंकद्वारा ‘डिजिटल लिट्रेसी’ वित्तीय चेतनामूलक भिडियो तयार

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल लिट्रेसी’ वित्तीय चेतनामूलक भिडियोहरु तयार गरेको छ ।

    बैंकले ‘डिजिटल लिट्रेसी’ अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको हो । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भिडियो तयार पारिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार भिडियोहरु ५ श्रृंखला रहेको छ भने, क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले बताए ।

    भिडियोमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको छ । उक्त भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुने विश्वास बैंकले लिएको छ।

  • ‘ऐरी’ बन्दै प्रदिप, कसको गर्लान सिकार ?

    ‘ऐरी’ बन्दै प्रदिप, कसको गर्लान सिकार ?

    काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो। एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो ।

    सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ ।

    ‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।

    सिनेमालाई भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरको लगानी रहनेछ । जीवन थापा सिनेमाका निर्देशक हुन् ।

    आगामी वर्ष रिलिज हुने सिनेमा ठूलो बजेटमा तयार हुने बताइएको छ भने यो सिनेमा अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ । ‘प्रेमगीत-३’ को हिन्दी डब भारतमा रिलिज भएपछि सोका वितरक सुवास कालेले प्रदिपसँग हिन्दी सिनेमा बनाउने बताउँदै आएका थिए । यसैका लागि प्रदिपले ‘प्रेमगीत-३’ पछि निक्कै बाक्लो मात्रामा मुम्बई आउजाउँ गरिरहेका थिए ।

    हिन्दीसँगै यो सिनेमा नेपाली तथा तमिल भाषामा समेत रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

  • देशभरीका कारागारमा योग शिविर चलाइदैँ, नक्खु कारागारबाट सुरु गरिने

    देशभरीका कारागारमा योग शिविर चलाइदैँ, नक्खु कारागारबाट सुरु गरिने

    काठमाडौं । देशभरीका कारागारमा योग शिविर सञ्चालन हने भएको छ । गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा पनि योग शिविर सञ्चालन गर्न लागिएको हो ।

    उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बैठकमा गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्वप्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंहराना सहभागि थिए ।

    प्रेस सल्लाहकार गिरीका अनुसार एक महिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् । पटक–पटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराइने छ।

    यसअघि नक्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ ।

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।

    आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेर एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ, भने हिजो एक लाख १७ हजार ४ सयमा कारोबार भएको थियो ।

    यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदी प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

  • लोकतान्त्रिक आदिवासी महासंघको आरोप – कथित पहिचानवादीले जनजाति आन्दोलनको बदनाम गर्दैछन्

    लोकतान्त्रिक आदिवासी महासंघको आरोप – कथित पहिचानवादीले जनजाति आन्दोलनको बदनाम गर्दैछन्

    काठमाडौं । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आइतवार ताप्लेजुङमा योगेश भट्टराई, तिलकुमार मेन्याङ्बो, उर्मिला थेबेलगायत नेताहरुमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।

    महासंघका अध्यक्ष पासाङ शेर्पाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चियापानमा सहभागी हुने क्रममा कथित पहिचानवादीको नाममा भेला भएका जमातले गाडीमा ढुंगामुढासहित आक्रमण गरेको बताएका छन् ।

    महासंघले पहिचानको नाममा गरिने यस्ता गतिविधिले आदिवासी जनजाति आन्दोलनलाई कमजोर बदनाम गरेको भन्दै सामाजिक सद्भाव बिथोल्ने कार्य सहेर नबस्ने चेतावनी समेत दिएको छ । महासंघले आक्रमणकारीलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्न समेत माग गरेको छ ।

  • सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

    सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

    काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।

    नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५ को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।

    ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउने पर्ने अवस्था छ’, कार्यकारी निर्देशक घिसिङल भने, ‘कोशी प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’
    वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।

    वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर २२० केभी डवल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ ।

    नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

    अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो ।

    कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने १२८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

    वसन्तपुर–ढुंगेसाँघु २२० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३÷७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजनाहरु जोडिने छन् ।
    अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक ९क्ष्लमष्ब भ्हष्m द्यबलप० दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

    कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

  • ‘नबिल एसएसई’ कार्यक्रमको दोस्रो वार्षिकोत्सव सम्पन्न

    ‘नबिल एसएसई’ कार्यक्रमको दोस्रो वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नबिल बैंक लिमिटेडले देशभर सञ्चालन गरेको ‘नबिल एसएसई’ कार्यक्रमको दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।

    त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विद्यालयबाट देशभर सञ्चालन गरिएको ‘नबिल एसएसई’ कार्यक्रम सम्पन्न गरिएको हो । जहाँ दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्याथीलाई कार्यक्रममा सहभागी गराइएको बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८ सय ६९ जनाले रोजगारी पाएको बैंकको दाबी छ ।

    बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले कार्यक्रमको कारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं’,अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए । ‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलता मार्फत हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं’, उनले भने ।

    नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि कार्यक्रम सहयोगी भएको उद्यमीहरूको भनाइ छ । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।

    कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएको बैंकले जनाएको छ । उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलता मार्फत समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको समेत बैंकले जनाएको छ ।

  • पिज्जा हटको नयाँ स्वाद थिन क्रस्ट पिज्जा अब नेपालमा

    पिज्जा हटको नयाँ स्वाद थिन क्रस्ट पिज्जा अब नेपालमा

    काठमाडौं । नेपालको पिज्जा ब्रान्ड पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । पिज्जा हटले आफ्नो मेनुमा नौलो स्वादका साथ थिन क्रस्ट पिज्जा ल्याएको हो ।

    कम्पनीका अनुसार हटको थिन क्रस्ट पिज्जा मात्र ४९९ रुपैयाँबाट सुरु रहेको छ । पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाले नेपालभरका ग्राहकहरुका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको कम्पनीले जनाएको छ ।

    पिज्जा उत्साहीको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालका लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छ ।

    ग्राहकले डाइन (इन वा टेक)अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने, भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नेछन् ।

  • दुई जनाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर चितवन ल्याइयो

    दुई जनाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर चितवन ल्याइयो

    भरतपुर । मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९ः४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो ।
    मकवानपुरको मनहरि गाउँपालिका–६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट शुक्रबार र आइतबार दुई जनाको मृत्यु भएको थियो ।
    बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए । उक्त बाघले गएको शुक्रबार राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा चितवनको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो ।  बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट पहिचान खुल्न नसकेको एक पुरुषको समेत शव फेला परेको छ ।
    कसरा ल्याइएको बाघलाई राख्ने ठाउँ यकीन भइनसकेको तिवारीले बताए । ‘बाघले सबै खोर भरिएका छन्’, उनले भने, ‘अन्य ठाउँमा समन्वय भइरहेको छ, जहाँ खाली हुन्छ त्यहाँ राख्छौँ ।’ कसरामा चार र सौराहामा विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई बाघ राखिएको छ । यहाँ बाघ राख्ने ठाउँ नभएपछि यसअघि नियन्त्रणमा लिएका तीन बाघलाई पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । नेपालमा रहेका तीन सय ५५ बाघमध्ये चितवनमा मात्रै एक सय २८ वटा छन्  ।
  • सुनको भाउ हालसम्मकै उच्च – तोलामा एक लाख १७ हजार नाघ्यो

    सुनको भाउ हालसम्मकै उच्च – तोलामा एक लाख १७ हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।

    आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेर एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ, भने हिजो एक लाख १६ हजार ९ सयमा कारोबार भएको थियो ।

    यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।

     

  • सुदूरपश्चिममा लगानी एवं विकास सम्मेलनको तयारी तीव्र, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता

    सुदूरपश्चिममा लगानी एवं विकास सम्मेलनको तयारी तीव्र, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । सातै प्रदेश मध्ये सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको आयोजना गर्न लागेको हो ।

    सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले जानकारी दिए ।
    निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न प्रदेश सरकारले पहिलो पटक लगानी एवं विकास सम्मेलन गर्न लागिएको उनले बताए ।

    यसैबिच आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लगानी एवं विकास सम्मेलनको लागि संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताएका थिए ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, सभामुख भण्डारी सहित संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउद प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाही, सामाजिक विकासमन्त्री झपट साउदसहित माओवादी संसदीय दलका नेता खगराज भट्ट माओवादी सांसद ओम विक्रम भाट सरल र लक्ष्मी बिक थिए ।

    उनीहरुले सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन पहल गर्न र लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले तत्काल मन्त्रिपरिषद् बैठकबाट सुदूरपश्चिममा आयोजना हुने लगानी एवं विकास सम्मेलनमा सहयोग र समन्वयन गर्ने आश्वासन दिएका हुन् । सुदूरपश्चिम सरकारले उक्त सम्मेलनको प्रमुख अतिथिको लागि पनि प्रधानमन्त्रीलाई निम्ता दिएको थियो ।

    प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेपछि मुख्यमन्त्री शाह, भौतिक मन्त्री देउवा र आर्थिक मामिला मन्त्री शाहीले संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतलाई समेत भेटेका थिए । उक्त भेटमा पनि लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले नीतिगत सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको थियो ।

    यस अघि सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको लागि उद्योग वाणिज्य महासङ्घबीच लगानी सम्झौता गरिसकेको छ । यो सम्मेलन सुदूरपश्चिमको विकासको सम्भाव्यता पहिचान, पुँजी निर्माण र प्रदेशको समग्र विकासको कोशेढुंगा बन्ने प्रदेश सरकारले दाबी गरेको छ ।

  • काठमाडौंमा अमेरिका र क्यानडा शिक्षा मेला हुँदै

    काठमाडौंमा अमेरिका र क्यानडा शिक्षा मेला हुँदै

    काठमाडौं । काठमाडौंमा जाम्बोरी एजुकेशन नेपालले अमेरिका र क्यानडा विश्व विद्यालय फेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    यहि शनिबार(नोभेम्बर २५) जाम्बोरीले कार्यालय पुतली सडकमा विश्व विद्यालय फेयर कार्यक्रम गर्न लागेको हो ।

    कार्यक्रममा २५ भन्दा बढी विश्व विद्यालय र कलेजका प्रतिनिधिको सहभागिता रहनेछ । सहभागी अमेरिका र क्यानडा विश्व विद्यालयका प्रतिनिधिहरुले विश्वभरको शिक्षा डिजीटलबाट कसरी एकरुपता गर्न सकिन्छ भन्नेबारे छलफल हुने जनाइएको छ ।

    कार्यक्रममा सहभागिले विश्व विद्यालयका प्रतिनिधिहरुलाई प्रश्नसमेत गर्न सक्नेछन् । नेपालको शिक्षा र बाह्य देशको शिक्षा विषयमा बहस हुने भएकाले कायक्रम अन्वेषणको मञ्चमात्र नभइ बृहत तयारीको हब हुने जाम्बोरीले जनाएको छ ।जसले गर्दा विद्यार्थीहरुले आफ्नो आफ्नो शैक्षिक यात्रामा आउने चुनौतीसँग तयार रहन सक्षम राख्ने दावी गरेको छ । कार्यक्रममा विद्यार्थीमात्र नभइ शिक्षासँग सरोकार राख्नेहरुका लागि पनि उपयोगीमुलक रहने भएकाले सहभागी हुन जाम्बोरीले आग्रह गरेको छ ।

  • ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

    ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

    पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो ।
    कार्यविधिअनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार  रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।
    गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिए । उनका अनुसार आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ ।
    हालैमात्र कार्यविधि कार्यान्वयनमा आएकाले यस वर्ष ५० मुरीभन्दा बढी धान फलाएका कृषकको धान जहाँ राखिएको छ, सोही स्थानमा जाँच्ने गाउँपालिकाको तयारी छ । यसका लागि पालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले बताए । ‘यस वर्षका लागि दाबी आएपछि धान उठाएर घर लगिएको भए घरैमा गएर नाप्ने व्यवस्था कार्यविधिमा गरेका छौँ’, उनले भने, ‘अर्को वर्षदेखि खलामै धान नापिन्छ ।’ कृषकले जसको जमिनमा भए पनि धान फलाए हुने व्यवस्था गाउँपालिकाले गरेको उनको भनाइ थियो ।
    ‘जग्गा जसको भए पनि एकै परिवारले फलाएको प्रमाणित हुनुपर्‍यो’, तुम्रोकले भने । गाउँपालिकाले विशेषतः आर्थिकरुपले विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको जनाएको छ । उनका अनुसार अधियाँ, कुत आदिमा धान फलाउने कृषकले आफू र जग्गा धनीका लागि छुट्याउनुपर्ने धान ५० मुरीभन्दा बढी फलाए पनि पुरस्कार प्राप्त गर्न सक्नेछन् । ‘अधियाँ गरे पनि, कुतियाँ गरे पनि सबै जोड्दा ५० मुरी फलेको देखियो भने उत्पादन गर्ने कृषकले पुरस्कार पाउँछन् । जग्गा धनीले होइन’, प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले भने ।
    अधिकांश विपन्न परिवारले धान, मकैलगायत परम्परागत खाद्यबाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सातवटै वडामा धानखेती हुने गर्दछ । यहाँ रहेको निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो । यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकालेसमेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।
  • एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता, यी क्षेत्रमा खर्च गरिने

    एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता, यी क्षेत्रमा खर्च गरिने

    काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
    आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    ‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ’, सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भने, ‘चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरुमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको छ ।’
    एडिबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताए । ‘सन् २०३० सम्ममा नेपाललाई  मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ’, उनले भने ।
    नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको  अर्थमन्त्रालयले जनाएको छ । तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्‍याउने ठानिएको छ । त्यस्तै, केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ ।
  • मुक्तिनाथ कृषि कम्पनीको खुल्यो आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

    मुक्तिनाथ कृषि कम्पनीको खुल्यो आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज(शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ बिक्री खुल्ला गरेको छ ।

    मुक्तिनाथ कृषि कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँ प्रतिकित्ताका दरले ११ लाख ४८ हजार कित्ता सेयर सर्वासाधारणका लागि खुला गरेको छ । जहाँ सर्वसाधारणहरुले न्युनतम १० कित्ता देखि अधित्तम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । इच्छुकले छिटोमा यहि मंसीर १२ गतेसम्म आफ्नो आवेदन दिन सक्नेछन् भने, ढिलोमा २२ गतेसम्म आवेदन खुलाइएको छ ।

    कम्पनीले पहलो चरणमा विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो । भने, कुल निष्काशनको ३ प्रतिशत अर्थात ४२ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । जहाँ बाकि दोस्रो चरणमा ११ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

  • डीडी इन्भर्टर मोटर प्रविधिको टिसिएल वाशिङ मेसिन बजारमा

    डीडी इन्भर्टर मोटर प्रविधिको टिसिएल वाशिङ मेसिन बजारमा

    काठमाडौं । टिसिएल ब्रान्डले नवीनतम वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।

    कम्पनीले ग्राउन्डब्रेकिंग डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधि रहेको नवीनतम वाशिङ मेसिन नेपाली बजारमा ल्याएको हो ।

    डीडी इन्भर्टर मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै वाशिङ मेसिनलाई अरु भन्दा उत्कृष्ट बनाउने कम्पनीको दाबी छ ।

    त्यस्तै, बेल्ट–फ्री डिजाइनले दक्षता बढाउँउने, शोर र कम्पन कम गर्ने, मेसिनलाई बढी टिकाउ बनाउने, मेसिनले ऊर्जा र पानीको खपत कम गर्ने कम्पनीले जनाएको छ । ।

    त्यसैगरी, स्टीम वाश जसले कपडा र भित्री ड्रमबाट ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ । ड्रम क्लीनले प्रत्येक वाश अघि भित्री सिलिन्डरलाई तातो पानीले तुरुन्तै फ्लश गरी सफा धुने वातावरण कायम गर्दछ । भने, स्प्रे वाशले पानीको जेटले ढोकाको ग्यास्केटमा रहेको फोम र डिटर्जेन्टको अवशेषलाई धुन्छ र प्रभावकारी लुगा वातावरण सुनिश्चित गर्दछ । एड गारमेन्टले पुनः सुरु नगरी वाश साइकलको समयमै मेसिन पज गरेर र कपडा थप्न सकिन्छ ।

    २४–घण्टा डिले आफू अनुकुल वाश साइकल छनौट गर्न, चाइल्ड लकबाट सेटिङहरू सुरक्षित राखी अवरोधहरू रोकी मनको शान्ति सुनिश्चित गर्न सकिन्छ ।

  • शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ भने, चाँदीको बढेको छ ।

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुर्इ सयले घटेर एक लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन बिहीबार मात्रै तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख १५ हजार ७५० रुपैयाँमा झरेको छ ।

    यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

    ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

    आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन् ।

    ग्लोबल आइएमई बैंक लिमिटेड विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

    सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।

    आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

  • सोसल मिडिया भाइरल नब्यश्रीको पहिलो सर्ट फिल्म महाकाली डिसेम्बर १० मा आउँने

    सोसल मिडिया भाइरल नब्यश्रीको पहिलो सर्ट फिल्म महाकाली डिसेम्बर १० मा आउँने

    भोपाल । सामाजिक सञ्जालबाट चर्चामा आएकी मोडल तथा नायिक नव्यश्री अभिनित पहिलो सर्ट फिल्म ‘महाकाली’को स्ट्रिमिङ आगामी डिसेम्बर १० मा हुने भएको छ ।

    निर्माण टिमले केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरिसकेको छ । भारतको सुन्दर सहर दार्जिलिङकी मोडेल नव्यश्री पछिल्लो समय सामाजिक संजालबाट चर्चित कलाकार हुन् ।

    फिल्म आगामी डिसेम्बर १० अर्थात् मंसिर २४ गतेदेखि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत स्ट्रिमिङ हुने उनले बताइन् । सार्वजनिक पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री नव्यश्रीलाई देवी महाकालीको रुपमा चित्रण गरिएको छ ।

    काजिश श्रेष्ठ निर्देशित सर्ट फिल्मले आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन दुई युवतीले गर्ने संघर्ष र देवी महाकालीको भक्तिको कथा प्रस्तुत गर्छ । फिल्ममा नव्यश्रीका साथै लोमस शर्माको पनि मुख्य भूमिका छ ।

    नब्यश्रीले नेपाल प्रेससँग भनिन्–‘सोसल मिडियामार्फत धेरैले मलाई माया गर्नुभयो । अब फिल्मलाई पनि माया दिनहुनेछ भन्ने विश्वास छ । लामो समयदेखि फिल्ममा करिअर बनाउन लागिरहेको छु, पहिलो कोसिसस्वरुप यो सर्ट फिल्म हो । मलाई नेपाली दर्शकहरुबाट ठूलो आशा छ ।

    १४ वर्षकै उमेरमा मोडलिङ करिअर सुरु गरेकी नव्यश्रीले सन् २०१८ मा १५ वर्षको उमेरमा प्लानेट मिस इण्डिया वर्ल्ड, मिस टिन रिपब्लिक अफ इण्डिया र मिस नर्थइस्टको उपाधि जितिसकेकी छन् । सामाजिक सञ्जालमा आफ्ना पोस्टहरू सेयर गर्न थालेसँगै उनी चर्चामा आएकी हुन् । वास्तविक नाम मञ्जु थापा रहेकी नव्यश्री हाल भारतमै बसोबास गर्दै आइरहेकी छन् । उनको पुर्ख्यौली घर भने विराटनगर हो ।

    सर्ट फिल्म ‘महाकाली’लाई नव्यश्रीकै लेखन तथा निर्माण छ भने फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् । श्रीधर अधिकारीको संगीत, सरोज श्रेष्ठको कोरियोग्राफी, एलिना चौहानको स्वर रहेको फिल्मलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

  • अपर बलेफी हाइड्रोपावर र विद्युत प्राधिकरणबीच पीपीए सम्झौता

    अपर बलेफी हाइड्रोपावर र विद्युत प्राधिकरणबीच पीपीए सम्झौता

    काठमाडौं । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र हाइड्रोपावरका अध्यक्ष उमेश कसजुबचि एक कार्यक्रममा सम्झौता भएको हो । सम्झौतामा गोल्याण ग्रुपको उर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल र गोल्याण ग्रुपका प्रमुख वित्तिय अधिकृत संजय कुमार साहको उपस्थितिमा सम्झौता भएको हो ।

    अपर बलेफी जलविद्युत परियोजना (४६ मेगावाट)ले परियोजनाको नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता पीपीएले नेपालमा उर्जाको दिगो समाधानको लागी एक महत्वपूर्ण खुड्किला पार गरेको कम्पनीले जनाएको छ । त्यस्तै, परियोजना बाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित बलेफी नदीमा प्रस्तावित (रन अफरिभर)ं आरओआर जलविद्युत परियोजना हो ।