Author: Anisha Tiwari

  • एमालेको टोली बागलुङमा : ओलीलगायतका नेतालाई स्थानीयको स्वागत (तस्बिरहरू)

    एमालेको टोली बागलुङमा : ओलीलगायतका नेतालाई स्थानीयको स्वागत (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली बिहीबार मध्यान्ह बागलुङ सदरमुकाम आइपुगेको छ ।

    झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू बागलुङ पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।

    बागलुङ बजारमा विभिन्न झाँकीसहित एमाले टोलीलाई स्वागत गरिएको छ । अभियानमा रहेको एमालेको टोलीलाई स्वागत गर्न स्थानीय सडकमा लामो समयदेखि लाइन लागेर बसेका थिए ।

    बागलुङमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि खाना खाएर पोखरातर्फ लाग्ने कार्यक्रम रहेको छ । आजै पर्वतको कुश्मामामा पनि सभा हुने छ । आजको बास पोखरा तय गरिएको छ ।

  • नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत (भिडिओ)

    नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत (भिडिओ)

    काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।

    स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् ।

    नेपाल टी २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’

    विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकरको रहेको यो गीतको रेकर्डिस्ट रन्जन राई हुन् । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

    https://www.youtube.com/watch?v=N3ysomgtcNg

  • शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत निर्यात

    शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत निर्यात

    काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले क्लिङ्कर उत्पादनलाई भारत तर्फ निर्यात सुरुवात गरेको छ ।

    कम्पनीले औपचारिकरुपमा आफ्नो उद्योग परिसरमा आइतबार कम्पनीका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी पहिलो निर्यातको सुरु गरेको हो ।

    उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको क्लिङ्कर तथा सिमेन्टमा न्यूनन्इ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएको हो ।

    वि.स २०७८ माघबाट व्यवसायिक उत्पादन सुरुवात गरको उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित उद्योगले ओपीसी(५३ ग्रेड, ४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।

  • ‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

    ‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

    काठमाडौं । नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ ।

    फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकहरुलाई उत्साहित बनाउने पक्का छ ।
    रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् ।

    यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।

    नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र बिष्ट हुन् । सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् ।

    यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

  • खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

    खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

    काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ ।

    चालु आर्थिक वर्ष २०८०–८१ को चाडबाड लक्षित सहुलियत पसल असोज २१ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा उक्त समयसीमा बढाएर माघ २ गतेसम्म पुर्‍याइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए ।

    यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट उपलब्ध गराएको थियो । उक्त रकम बचत हुन गएमा त्यसपश्चात्का चाडपर्वमा पनि सहुलियत पसल सञ्चालन गर्ने निर्णयअनुसार निरन्तरता दिइएको सुवेदीको भनाइ छ ।

    सहुलियत मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा अहिलेको बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँले सस्तोमा बिक्री वितरण भइरहेको छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।

    खाद्य व्यवस्था कम्पनीले प्रवद्र्धन गरिरहेको ‘नेपाल फुड’ ब्राण्डका खाद्य सामग्रीमा यो अवधिसम्मका लागि निःशुल्क अनलाइन होम डेलिभरीको सुविधा पाइने पनि कम्पनीले जनाएको छ ।

    खाद्य व्यवस्था कम्पनीको काठमाडौं उपत्यकासहित देशभरका ५० स्थानमा सहुलियतपूर्ण स्टल छन् । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस्ता पसलबाट खाद्य वस्तुमा बजार मूल्य नियन्त्रण हुने तथा गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलव्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

  • लगातार बढेको सुनको मूल्य आज दुई हजार चार सय रूपैयाँले घट्यो

    लगातार बढेको सुनको मूल्य आज दुई हजार चार सय रूपैयाँले घट्यो

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज दुई हजार चार सय रूपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ भने सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

  • हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।
    आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिए । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उनले बताए । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेँसी झारिएको उनको भनाइ छ ।
    उनले भने, ‘हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै गठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडीहरु चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, बेँसीबाट लिएका भेडाबाख्रा पनि फर्काइएको छ, आज रातिसम्म हिमपात हुने सम्भावना देखिएको छ ।’
    ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् ।
    खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ ।
  • कोशी टप्पुमा रम्न थाले चितवनबाट पठाइएका पुष्पा र अञ्जली (भिडिओ)

    कोशी टप्पुमा रम्न थाले चितवनबाट पठाइएका पुष्पा र अञ्जली (भिडिओ)

    काठमाडौं । गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैंडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारी सँग रमाउने गरेका छन् । माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछी उनीहरुलाइ कोशी टप्पु वन्यजन्तु आरक्षको सप्तरी स्थित पथरी सेक्टरमा राखिएको छ, उनीहरुको स्याहारसुसारका लागि एकजना कर्मचारी खटाइएको छ ।

    विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्णरूपमा सफल नभए पनि यस पटक कोशी टप्पुमा गरिएको स्थानान्तरण भने सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ ।

    कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किमि क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरकि प्रमुख रेखा कुमारी मेहताले बताइन् । अहिले पुष्पा र अञ्जलीलाई राख्नका लागि कोशी टप्पु आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ ।

    चितवन बाट कोशी टप्पु ल्याउदा दुवै गैंडालाइ स्याहारसुसार र सहजतामा निकै कठिन भएको भएपनी अहिले उनीहरुलाई सोक्षेत्रको रहनसनमा सहज हुन थालेको छ । अहिले उनीहरु टप्पुका हात्ती सँगै रम्ने गरेका छन् । उनीहरुलाइ बिहान ६ बजे इन्क्लोजर बाट सोही क्षेत्रमा रहेको घाँसेमैदानमा बाहिर निकाल्ने गरिएको छ भने दिउसो ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्ती संगै चराउन लैजाने गरिएको छ । साँझ ५ बजे भने उनीहरु आफै आफ्नो बासस्थान इन्क्लोजर तर्फ आउने गरेका छन् ।

    पछिल्लो समय कोशी टप्पु पथरी सेक्टरमा रहेका हात्ती र स्थानीय कर्मचारी संगै रमाउदै पुष्पा र अञ्जलीले आफ्नो दिनचर्या गुजार्दै आएका छन् । पुष्पा र अञ्जलीलाइ कोशी टप्पु वन्यजन्तु आरक्षमा निकै सहज हुने देखिएपछी चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैंडा कोशी टप्पु ल्याउने तयारी गरिएको छ । यस संगै कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाको संख्या ५ हुने छन् ।

  • चितवन माडी र ठोरीको जंगलमा क्यामेराबाट बाघको मनिटरिङ

    चितवन माडी र ठोरीको जंगलमा क्यामेराबाट बाघको मनिटरिङ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो ।
    असोज २५ गतेदेखि राखिएका क्यामेरा एक साताअघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेरा निकाल्न थालिएको हो । उनका अनुसार क्यामेरा ट्यापिङ्को विधिबाट बाघको अवस्थाबारे जानकारी लिइएको छ ।
    माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको थियो । यसका लागि ६२ क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरी बाघको अवस्थाबारे जानकारी लिइएको तिवारीले बताए । तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङ्को काम गरिएको उनले जानकारी दिए । ‘एउटा ब्लकमा १७ देखि २१ ग्रिड निर्माण गरी क्यामरा जडान गरिएको थियो । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिएको थियो । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड बनाएर क्यामेरा जडान गरिएको हो’, उनले भने ।
    तिवारीका अनुसार क्यामेरा निकालेर अहिले अध्ययनको काम भइरहेको छ । अध्ययनका लागि प्राविधिक टोली खटिएको भन्दै उनले अहिले फोटो सङ्कलन तथा फोटोहरुको अवस्थाका बारेमा अध्ययन भइरहेको जानकारी दिए । फोटोमा देखिएका बाघको पाटाको आधारमा अवस्थाबारे अध्ययन गरिने छ’, उनले भने, ‘अबको एक महिनाभित्र सो क्षेत्रमा रहेका बाघको अवस्थाका बारेमा प्रतिवेदन तयार गर्नेछौँ ।’
    टाइगर इकोलोजिकल मोनिटरिङ् अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन वटा बाघ रहेकामा सन् २०२२ मा यो सङख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययनका लागि क्यामेरा ट्यापिङ् गरिएको उनको भनाइ थियो । यसले बाघ संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने छ ।
  • आईएमई लाइफ ईन्स्योरेन्सद्वारा कर्मचारीहरुलाई प्रशिक्षण

    आईएमई लाइफ ईन्स्योरेन्सद्वारा कर्मचारीहरुलाई प्रशिक्षण

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेश टिकापुरमा कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ ।

    आईएमई लाइफ इन्स्योरेन्सले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश शाखा कार्यालयहरुमा कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको हो ।

    आइतबार(मंसीर १७) गते सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएममटी÷सीएफटी, का महत्व र लक्ष्यहरु, मनि लाउन्डरिङका घटना, सम्पत्ति शुद्धीकरणका लक्ष्य, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङ घटना, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाड्ढन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गिकराण, वित्तीय जोखिमाड्ढको चरण, कम्पनीको भूमिका कारवाही तथा सजाय लगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।

    ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका बिभागिय प्रमुखको उपस्थितमा तालिम सञ्चालन गरिएको जनाइएको छ ।

  • केरामा लाग्ने रोग नियन्त्रणका लागि प्राविधिकलाई प्रशिक्षण

    केरामा लाग्ने रोग नियन्त्रणका लागि प्राविधिकलाई प्रशिक्षण

    काठमाडौं । केराको पानामा ओइलाउने रोग ‘टिआर–४’ को निराकरणका लागि प्राविधिकहरुलाई तीन दिने तालिम प्रदान गरिएको छ ।

    गत शुक्रबारदेखि ललितपुरमा ‘टिआर–४’ रोगसँग लड्न प्राविधिकहरुलाई तीन दिने प्रशिक्षण प्रदान गरिएको हो । जहाँ ‘टिआर–४’ रोगको निराकरणका लागि सातै प्रदेशबाट २५ जना कृषि प्राविधिकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

    गत असार महिनामा केराको पानामा ओइलाउने रोग ‘टिआर–४’ पहिलोपटक कैलाली जिल्लामा देखा परेको थियो । जुन यसअघि नेपालमा देखा परेको ‘टिआर’ रोगभन्दा बढी विनाशकारी रहेको राष्ट्रिय कृषि तथा प्रविधि सुचना केन्द्रका प्रमुख डा. कालिका प्रसाद उपाध्यायले बताए ।

    डा. उपाध्यायले भने, ‘यसअघि पनि नेपालका विभिन्न जिल्लाहरुमा ‘टिआर’ रोग लाग्ने गरेको थियो । तर, अहिले पत्ता लागेको केराको पानाउमा ओइलाउने रोगलाई ‘टिआर–४’ नाम दिइएको छ । जुन यसअघि नेपालमा ‘टिआर–२’ र ‘टिआर–३’ को सामान्य रोग थियो । जसको निराकरणका उपायहरु हामीलाई थहाँ थियो । तर, अहिले कैलालीबाट पत्ता लगेको ‘टिआर–४’ बढी प्रभावकारी र विनाशक रहेको छ ।’
    ‘हाल देखि परेको ‘टिआर–४’ नेपालको केरा उत्पादनका लागि विनाशकारी रहेको छ । त्यसैले यो रोग पत्ता लाग्नासाथ हामीले सम्बन्धित केन्द्रहरुमा जानकारी र अनुसंन्धानमा जोड दिदैँ कृषि मन्त्रालयलाई आग्रह गरेर निराकरणका पाछि लाग्यौ । मन्त्रालयले पनि यसलाई गम्भिरताका साथ लिएर आवश्यक कदम चाल्दै अगाडी बढ्यो । सबैसँगको समन्व्यपछि देशभरीकै प्रतिनिधित्व हुनेगरी तीन दिने प्रशिक्षण आयोजना गरिएको हो’, डा. उपाध्यायले भने ।

    आइतबार सम्पन्न तीन दिने प्रशिक्षण राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, बाली क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको सहयोगमा सञ्चालन गरिएको थियो ।

    प्रशिक्षणबाट भविषयमा ‘टिआर–४’ रोगलाई निराकरणमा आफ्नो ठाँउबाट महत्वपूर्ण भुमिका निर्वह गर्नसक्ने पोखराबाट प्रशिक्षणमा सहभागी प्राविधिक सुस्मा मराठााले बताईन् । सुस्माले भनिन्,‘तीन दिने तालिम मेरो र मेरो क्षेत्रका लागि फलदायी रहेको मानेकी छु ।’

    प्रशिक्षणले भविष्यमा नेपालका केरा उद्योगलाई जोगाउँन एफएओ, नार्क, कृषि मञ्त्रालय, र अन्य संस्थाहरुको समन्वय रहने प्रतिबद्धता प्रमुख डा. कालिका प्रसाद उपाध्यायले जनाए ।

    त्यस्तै, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले प्रशिक्षणबाट कृषि प्राविधिकहरुलाई कृषकस्तरमा ‘टिआर–४’ रेस पत्ता लगाउने तरिका र निराकरणमा महत्वपूर्ण भूमिका निर्वह गर्ने बताए ।

    बाली संरक्षणमा काम गर्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क), बाली क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, कृषि क्याम्पसका विद्यार्थी र प्रादेशिक कार्यालयका प्राविधिकहरु उक्त तीन दिने तालिम प्रदान गरिएको थियो ।

    त्यसैगरी, डा.रामबहादुर खड्का, डा.रेशमबहादुर अमागाई, विमला पन्त, प्रकाश साउथ अफ्रिका र टर्किका विशेषज्ञबाट भर्चुअल र भौतिक कक्षा सञ्चालन गरी प्रशिक्षण प्रदान गरेका हुन् ।

    ‘टीआर ४’ रोगको पहिचान, व्यवस्थापन र नियन्त्रण स्थानीय तहबाटै समेत गर्न सकिने डा. राम बहादुर खड्काले बताए । उनले भने, ‘यस रोगको नियान्त्रण तथा पहिचानका लागि प्रदान गरिएको तीन दिने तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । जहाँ हामीले सहभागी सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी टाक्स फोर्स जस्तो संरचना निमार्ण गरेका छौ । जसबाटै हामीले सबै क्षेत्रमा लाग्ने रोगसंग लड्न समन्व्य छिटो र प्राविधिकहरुसंगको सम्बनध नजिक हुनेछ् ।’

  • हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर

    हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर

    सिमकोट । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
    सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए ।
    हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उनले बताए ।
    आज बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।
    यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
    मुस्ताङमा पनि हिमपात
    मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
    बिहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।
    यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उनको भनाइ छ । बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए ।
    उनी भन्छन्, ‘यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।’
    मान्ममा हिमपात
    कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् ।
    पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए । ‘गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ’, उनले भने ।
    मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिए ।
    रासस
  • कांग्रेसलाई मिसन ०८४ जरुरत छैनः महामन्त्री शर्मा (भिडिओ)

    कांग्रेसलाई मिसन ०८४ जरुरत छैनः महामन्त्री शर्मा (भिडिओ)

    रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई लक्ष्यबिहीन मिसन ८४ मा लाग्न जरुरी नभएको बताएका छन् ।

    नेपाली कांग्रेस लुम्बिनीको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहिले केही पुराना र नयाँ दलहरुले मिन ०८४ का नाममा गरेको कार्यक्रम बेमौसमी बाजा भएको र त्यो नेपाली कांग्रेसका लागि जरुरी नभएको बताए ।

    ‘एमाले, माओवादी, रास्वपा लगायतका दलहरुले मिसन ०८४ थालेका छन्, त्यो जिम्मेवारी उनीहरुलाई नै दिऔं, उहाँहरुलाई शुभकामना छ अहिले भरखर निर्वाचन भएको एक वर्ष भएको छ, काम गर्न कति बाँकी छ, त्यति पछिका आश्वासन बाँडेर बस्ने छुट हामीलाई छैन, हामी गर्नका लागि खटिएको पार्टीका कार्यकर्ता हौं, हामीलाई ०८४ सम्म कुर्नुपर्दैन, खुरुखुरु काम गरौं,हामीलाई बसेर गफ लगाउने छुट छैन’ नेता शर्माले भने ।

    अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने तर हिजोको अवस्थामा राजसंस्थाले गरेका विकास र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझउनुपर्ने कांग्रेसको जिम्मेवारी भएको शर्माले बताए । नेता शर्माले पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नताका हरेक पक्षमा साथ दिन जनसंगठन र पार्टीलाई क्रियाशील बनाउन आग्रह गरे ।

    ‘देशलाई सतिको श्राप होइन भगवान बुद्धको आर्शिवाद भएको देशका नागरिक होऔं भने संकल्पका साथ अगाडि बढौं, निरासालाई मात्रै होइन अब उत्साहलाई लिएर अगाडि बढाऔं देश बनाउने संकल्प अब लुम्बिनीबाट सुरु गरौं, त्यसको नेतृत्व र साथमा हरेक कांग्रेसले साथ दिऔं’ उनले भने । अब बलियो कांग्रेस बनाउन सबैको संकल्प आवश्यक रहेको बताए ।

  • विश्वकै बौद्धमार्गीको सर्वोच्च संस्थाको अध्यक्ष निर्वाचित भएकोमा डा.ल्हारक्याललाई अभिनन्दन

    विश्वकै बौद्धमार्गीको सर्वोच्च संस्थाको अध्यक्ष निर्वाचित भएकोमा डा.ल्हारक्याललाई अभिनन्दन

    काठमाडौं । विश्वभरका बौद्धमार्गीहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल बुद्धिस्ट कम्फेडेरेसन (आइबिसी) को अध्यक्ष निर्वाचित भएका खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामालाई राजधानी काठमाडौंमा विशेष अभिनन्दन गरिएको छ ।

    हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न आइबिसीको दोस्रो महाधिवेशनबाट लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहेका धर्मगुरु डा.ल्हारक्याल लामा अध्यक्ष निर्वाचित भएका हुन् । बुद्धिस्टहरुको अन्तर्राष्ट्रिय फोरममा नेपालको यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

    शनिबार ह्योल्मो समाजले बौद्ध तिनचुलीमा आयोजना गरेको विशेष अभिनन्दन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्मानपत्र र खादाले प्रथम ह्योल्मो खेन्पो डा.लामालाई सम्मानित गरेका हुन् ।

    डा.लामा यसअघि सो संस्थाको स्थायी समिति सदस्य, अन्तर्राष्ट्रिय समिति सचिव हुँदै यसपटक सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यो संस्थामा विश्वभरका बौद्धमार्गी आबद्ध देशका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

    अभिनन्दन कार्यक्रममा मन्त्री किरातीसहित एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री शेरवहादुर तामाङ, वागमती प्रदेशका मन्त्री युवराज दुलाल, पूर्वमन्त्री निमा लामालगायतले डा.ल्हारक्याल लामाले नेपालको प्रतिष्ठा बनाउने काम गरेको बताए ।

    तस्बिरहरु : गौरव पौडेल

  • रामेछाप थातथलोका टिपनटापन – आत्मनिर्भर पितृलाई परनिर्भर सन्ततिको श्रद्धासुमन

    रामेछाप थातथलोका टिपनटापन – आत्मनिर्भर पितृलाई परनिर्भर सन्ततिको श्रद्धासुमन

    प्रधानाध्यापक भगवान कार्की, महेशलाल प्रधान, भुवनेश्वर प्रधानहरूले शारदा उमावि ठोसे रामेछापका लागि एउटा रचना पठाइ दिन आग्रह गर्नुभयो । लेख्न विषय चाहिन्छ । ठोसे के हो ? मैले त्यसलाई कसरी चिनेको छु ? अनेक कोणबाट खोजें । विषय पाउन मुश्किल पर्‍यो । केहिनकेहि त लेख्नै पर्‍यो भनेर घोरिएँ । पुर्खाले के के गरे, अनि हामी के गर्दै छौं ? समयको गतिसँगै दौडन सकिएन भने त्यस्ता सन्तानले टेकेको भू-खण्ड असन्तुष्ट रहन्छ । पितृको श्रद्धा नगर्ने सन्तानको अग्रगति सम्भव छैन, भन्ने ठानेर ‘ठोसे बजार नेवाः पुच काठमाण्डौ’द्वारा बिजुली बजारमा आयोजित कार्यक्रमा आफैंले बोलेका विषयलाई लिएर इतिहास र अनुभवका खानी अग्रजहरूबाट तथ्यहरू उत्खनन् गर्ने विचार गरे ।

    २०३४ साल असारमा उपचारको सिलसिलामा जिरी अस्पताल पुगेर फर्कदा सर्वप्रथम ठोसे टेकेको थिएँ । त्यसबेला साँघुटारमा कक्षा दसमा पढ्थें । दाजु हरिप्रसाद पौडेल डि.भक्तबहादुरले बनाएको (पुष्प-लता वेष्ठित) घरमा डेरा गर्नु हुँदोरहेछ । चार रात दाजु-भाउजुको अतिथि भएर त्यहाँ बिताएँ । छन्दमा कविता लेख्ने केहि सूत्रहरू दाजुसँग त्यहि घरमा सिकेको थिएँ ।

    वि.सं. २०३८ मा म शिक्षक भइसकेको थिएँ । चण्डेश्वरी निमावि प्रितीमा पढाउँथें । त्यसबेला शिक्षक आन्दोलन चर्किएको थियो । श्यामलाल प्रधान, गोपाल कोइराला सरहरू आन्दोलनको औचित्य बताउँदै म भए ठाउँसम्म आउनु भयो । म पनि संगसंगै हिडें । श्यामलाल सरसँग जिज्ञासाहरू मेट्दै ठोसेसम्म पुगें । त्यसबेला ठोसेलाई चिन्ने थप अवसर मिलेको थियो । कलेजमा तुलसीभक्त प्रधान र ललित श्रेष्ठ मेरा अभिन्न मित्र हुनुहुन्थ्यो । उहाँहरूबाट पनि पर्याप्त जानकारी पाएको थिएँ । पछि धेरै पटक ठोसे पुगें अनि विभिन्न कोणबाट यस ठाउँलाई चिन्ने थप अवसर पाएँ । ठोसे मुलुककै इतिहासमा महत्वपूर्ण स्थान ओगटेको ठाउँ भएर पनि पछि पारिएको जस्तो लागिरहेको थियो/छ ।

    पुर्खाका पालामा फलामको खेती फष्टाएको यो मात्र यस्तो गाविस हो, जहाँ एक गावो मात्र पनि धान खेती हुँदैन । मान्छेलाई हिंस्रक बनाउने बन्दुक र विवेक बढाउने विद्याको संयोजन ठोसेमा छ । राजधानी काठमाण्डौ देखि पूर्व ४ नं. भोजपुरसम्म फाली, कोदाला, कोदाली, हँसिया, खुर्पा, खुकुरीजस्ता घरेलु कृषि औजार अनि झोलुङ्गे पुलका साङ्ला यहि ठोसे खानीबाट लगेर चलन गरिन्थ्यो । दुम्जा देखि हलेसीसम्मका धार्मिक जात्रा-बजारमा ठोसेको फलामले कब्जा जमाएको थियो । पूर्वतर्फ दिङ्लासम्म पनि पुर्‍याइन्थ्यो । बन्दुक कारखाना सञ्चालन भएपछि दक्ष कालिगढको सिपले कलात्मक ताल्चा, पानस, चरिबत्ती जस्ता घरेलु प्रयोगका सामानहरू बन्न थाले पछि ठोसेको कला मुलुकभर फैलियो ।

    त्यसबेला सोलुको फाप्लु, काँगेल, मुक्ली, देउसा, जुँगु, ऐँसेलुखर्कमा सरकारी गोठखुवा रहेछ । त्यहाँ उत्पादन भएको घीउ प्रधान सेनापतिको दरवारमा बुझाउनु पर्थ्यो । घिउ ठेक्काको जिम्मेवारी लिखुखोलाका खप्तडी बस्नेतहरूले पाएका थिए ।

    वि.सं. १९८७ सालमा सुवेदार इन्द्रबहादुर कार्की (बाम्ती) र सुवेदार लालबहादुर बस्नेत (सिरुवा)ले भीम शमशेसँग बक्साएर बाम्तीमा भाषापाठशाला स्थापना गरेका थिए । यो पहिलो शैक्षिक सस्थाका प्रथम अध्यापक हैबारका कुलनाथ अधिकारी र अन्तिम अध्यापक गैराथोकका सोमनाथ घिमिरे हुनुहुन्थ्यो । नौ बर्ष बाम्तीमा रहेर उक्त पाठशाला १९९६ मा ठोसे‌ सर्‍यो । अध्यापक सोमनाथ घिमिरे पनि सँगसँगै ठोसे सर्नुभयो । संयोगवस बुद्धिको कारखाना पाठशाला र विकास निर्माणको पूर्वाधार फलामखानी २००७ सालमा एकैपटक बन्द भए । त्यसको दुई वर्ष पछि २००९ सालदेखि ठोसेमा आधुनिक विद्यालयको स्थापना भयो । त्यसवेला स्थापित सारदा प्राईमरी स्कुल आज उमावि हुँदै कलेजमा विकास भएको छ । यो नै रामेछापको पहिलो आधुनिक विद्यालय हो । यसका पहिलो अध्यापक भागवत प्रधान रामेछाप जिल्लाकै पहिलो आधुनिक शिक्षक पनि हो ।

    ठोसेसँग संबन्धित भएर त्यस आसपासको इतिहास खोतल्दा भीम आले र राम आले मगरले कोतपर्वमा क्रमशः जनरल अभिमानसिंह रानामगर र मुख्तियार फत्यजङ्ग शाहको हत्या गरेकाले उनिहरू दुवै भाइलाई जङ्गबहादुरको उदय हुनासाथ कप्तानको पगरी दिएछन् । त्यसपछि आले दाजुभाई रामेछापको तिल्पुङमा बसोबास गरे । राम आलेलाई तिल्पुङ अमाल प्रमुखको जिम्मेवारी दिइयो भने नाम्दु-काभ्रेका रामचन्द्र उपाध्यायलाई डिठ्ठाको जिम्मेवारी सुम्पिए । डिठ्ठा रामचन्द्रका सन्तान मन्थली र खिम्तीमा छन् ।
    रामेछापका अर्का लडाकु बाम्तीका जवरसिंह कार्कीले कोतमा जङ्गबहादुर कुँवरको हुँदो गरे वापत त्यसैगरि कप्तान दर्जा पाएछन् । मिल्दो कुटुम्व समेत भएकाले उनका छोरा कर्णेल गुमानसिंहलाई राणा प्रधानमंत्री बमबहादुरकी छोरी भुवनेश्वरीसंग विवाह समेत गरिदिए । हात्ती दाइजो दिए, बाम्तीसम्म पुर्‍याए । समय वित्दैजाँदा हात्ती मर्‍यो, त्यहिँ गाडियो । चिनोको रुपमा अब समाधिस्थल हात्तीटारको प्रसिद्धि कायम छ ।

    उता रोसीमा जन्मिएर सिरुवा तर्फ बसोवास भएका जीतमान र उनका छोरा वीरबहादुर बस्नेत पनि सेनामा कप्तान थिए । वीरबहादुरले कप्तान जवरकी छोरीसँग विवाह गरेका थिए । श्री ३ वीरशमशेरका भाई डम्बरशमशेरको विवाह छिपिटार निवासी मोहनबहादुर बस्नेतकी बुढीफुपुसँग भएको रहेछ । भुवनेश्वरी र कप्तान जीतमानको सिफारिसमा डम्बरशमशेरको विवाहको कुरा छिनिएछ । केटीका बुवा भारत बस्नेतलाई कप्तान दर्जा र काठमाण्डौ ज्ञानेश्वरमा घर समेत बनाई दिएर मात्र विवाह गरेछन् । त्यसबेला बस्नेत परिवार सिरुवामा बस्थ्यो ।

    त्यसबेला सोलुको फाप्लु, काँगेल, मुक्ली, देउसा, जुँगु, ऐँसेलुखर्कमा सरकारी गोठखुवा रहेछ । त्यहाँ उत्पादन भएको घीउ प्रधान सेनापतिको दरवारमा बुझाउनु पर्थ्यो । घिउ ठेक्काको जिम्मेवारी लिखुखोलाका खप्तडी बस्नेतहरूले पाएका थिए । गर्जाङ र जिरीको गाईगोठ त्यसैको निरन्तरता रहेछ ।बाम्ती, सिंगटी, भित्रीखानी, खरिखोला, बेताली, गर्जाङ, घुन्सा, गोबे्रटार, शिवालय, कात्तिके, छाँगे, सिरुवानी, जफे, नाम्दु, निमकोट, पाइले, भीरकोट आदि ठाउँमा जवरसिं कार्की परिवारको नाममा जमिन थियो । कुनैमा बसोवास र कतै खर्कको रुपमा प्रयोग गर्ने गर्थे । पाइले, छाँगे, सिरुवानी, कात्तिकेमा जवरका सन्तान आजसम्म बसोवास गरिरहेकै छन् ।

    मेक्चनको बन्दुक कारखानाको सुरक्षार्थ तैनाथ सैनिक टुकडिको नेतृत्व पनि कप्तान जीतमान बस्नेतले नै पाएछन् । जो बन्दुक कारखानाका प्रमुख हाकिम हुन् । पछि ठोसेका समाजसेवी भुवनबहादुर कार्की र लक्ष्मीलाल श्रेष्ठका हजुरबुवा क्रमशः भक्तबहादुर र पूर्णमानले खानीअड्डामा डिठ्ठा र सुब्बाको जिम्मेवारी पाएछन् ।

    पुरानो बस्ती बेतालीबाट जोजन कार्की चुचुरे सरे । मरणघाटमा शिवालय स्थापना गरे । उनका दुई भाई छोरा बाम्ती र एक भाई तिङ्ला सरे । हालको बेताली, रस्नालु, चुचुरे र ठोसे एउटै गाउँ जस्ता थिए । बाम्ती पुगेर पनि कार्कीहरूको मरणघाट शिवालयमा नै कायम थियो । मृत्यु सय्या या मृत्यु पछि शिवालयमा लाने र पवित्र गोकुलगङ्गा (खिम्ती)मा दाहसस्कार गर्ने चलन धेरै पछिसम्म रह्यो । खिम्तीखोलामा एकाङ निवासी बस्नेतहरूको खर्क हुनाले एकाङेहरूको फेदी भन्दाभन्दै एकानफेदी वा एकामफेदी भन्ने गरिएकोछ । यसरी लिखु र खिम्ती दुवैतर्फ बरावर सम्वन्ध देखिन्छ । यिनै कार्की र बस्नेतहरूको राणाहरूसंग सम्बन्ध सुमधुर हुनाका कारण ठोसेमा कारखाना चलाउन सजिलो भएको रहेछ । यो राणाकालीन दरबार र लिखु, खिम्तीखोला बिचको सैनिक र वैवाहिक सम्वन्धको महत्वपूर्ण उपलब्धि हो ।

    भोटसंगको युद्ध पछि वि.सं. १९१२ मा थापाथली सन्धि भयो । त्यसपछि नेपालले सैनिक शक्ति बलियो बनाउनु पर्ने आवस्यकता महशुस गर्‍यो । विदेशीले नदेख्ने ठाउँमा लुकेर बन्दुक कारखाना खोल्नु पर्ने भएर राजधानी छेउको फूलचोकी आकर्षित हुनसकेन । त्यतिवेला राणासँग पारिवारिक सम्वन्ध कायम गरेका जवरसिंह, जीतमान, गुमानसिंहहरू वारीपारी नाताका मान्छे हुन् । आफ्नो खर्कमा फलाम निकालेर घरेलु औजार त्यस अघिनै बनाइदै आएको अवस्था छँदैथियो । बन्दुक कारखाना सञ्चालन हुनु अगाडिनै जवरसिंले भोट जाने बाटामा तामाकोसीको मौरे भन्ने ठाउँमा ठोसेको फलाम लगेर साङ्लेपुल र नाम्दुस्थित बैतेश्वर महादेवस्थानको छानो स्थानीय खानीबाट तामा लगेर हालिसकेका थिए ।

    पुरानो सदरमुकाम रामेछाप आसपास गोल्माटार र ठोसेमा फलाम खानी अनि सैपु, विजुलीकोट, साँघुटार, देउराली, तिल्पुङ, खिम्ती, गेलु, चनखु, पिङ्खुरी, भदौरे, पकरवास, टोकरपुर, लखनपुर आदि गाउँमा तामाखानी राणाकालपूर्व देखिनै संचालन हुँदै आएका थिए । आफ्नै खर्क आसपासको फलामखानीको ज्ञान उनिहरूलाई छँदै थियो । अनकण्टार ठाउँमा बन्दुक कारखाना बनाएमा दुनियाँको आँखा छल्न सकिन्छ भन्ने निष्कर्ष पनि निस्किएकै थियो । यहि मौकामा ठोसेखानीलाई कारखानामा विकसित गर्न यीनै कार्की र बस्नेतहरूले सरकारलाई प्रेरित गरेछन् । यो बन्दुक कारखाना जङ्गबहादुर कालको महत्वपूर्ण उपलब्धि हो ।

    मेक्चनको बन्दुक कारखानाको सुरक्षार्थ तैनाथ सैनिक टुकडिको नेतृत्व पनि कप्तान जीतमान बस्नेतले नै पाएछन् । जो बन्दुक कारखानाका प्रमुख हाकिम हुन् । पछि ठोसेका समाजसेवी भुवनबहादुर कार्की र लक्ष्मीलाल श्रेष्ठका हजुरबुवा क्रमशः भक्तबहादुर र पूर्णमानले खानीअड्डामा डिठ्ठा र सुब्बाको जिम्मेवारी पाएछन् ।

    फलामखानी माथि विदेशी कोदाला र फालीले खन-जोत गर्नुपर्दा नेपाली माटो चहर्‍याई रहेको छ । पुराना खानी-मजदुरका सन्तानहरू कोहि सिक्किम, कोहि बंगाल कोहि राजस्थानको फलाम त कोहि सिलाङको कोइला खानीतिर पलायन हुन बाध्य भएकाछन् ।

    जब ठोसे फलामखानीमा सरकारको आँखा पर्‍यो । त्यसपछि सिंगटी, हिले, कपासे, चुचुरे, लिसे, कोप्चे, झोरेनी, झगरे, रोटे, पात्ले, आरुबोटे, दाँगरदिगर, सोत्रे, भित्तरी, डडुवा, बञ्चरे, विगुजस्ता खानीहरू पहिचान गरियो । खानीहरूमा अभूतपूर्व चहलपहल सुरु भयो । सुमेरु पर्वतलाई मदानी मानेर समुद्र मन्थन गरेको पौराणिक कथाझैं, घना जंगलले घेरिएको तामेलाई ‘सुमेरु पर्वत’ मानेर ठोसे, चुचुरे, रस्नालु, प्रिती र गुप्तेश्वरका भूभागमा फलामको खोजीमा खनेल (खँदेल)हरूका बलिष्ट पाखुराहरू अहोरात्र भुँई खोस्रन तल्लिन भए । धाउको उरुङ लाग्यो । जङ्गलमा रहेका बङ्सेट, गुराँस, खस्रु, फलाँटजस्ता खरो प्रजातीका रुखहरू क्रमशः समाप्त हुँदैगए । ठोसेमा दैनिक नौ नौ नालका दरले बन्दुक तयार हुन थाल्यो । मुलुक बन्दुक र फलाममा आत्मनिर्भर भयो । औद्योगिक केन्द्र ठोसे धपक्कै बल्यो । स्थानीयले रोजगारी पाए ।

    कारखाना सञ्चालनको सिलसिलामा विभिन्न किसिमका कालिगड, ब्यापारी, उद्योगपतिको आवस्यकता पर्‍यो । सरकारले सुन्दरीजल आर्सनल गोस्वाराबाट कालिगड झिकायो । गुल्जार बजार बसाइयो । बजारले उपभोग गरेको हालको जग्गा कार्की परिवारले उपलब्ध गरायो । ठोसे चम्कदै गएपछि काठमाण्डौ, भादगाउँ, बनेपा, साँखु आदि ठाउँबाट नेवारहरू प्रवेश गर्दैगए । त्यस पछि विभिन्न मठ मन्दिर निर्माण र साँस्कृतिक झाँकीहरू प्रचलनमा ल्याए । काठमाण्डौबाट गएकाहरूले घोडेजात्रा, बनेपालीले चण्डिपूर्णियाँ, भादगाउँलेले विस्केट र नवदुर्गा, साँखुलेले माघमहात्म्य ठोसेसम्म पुर्‍याए । हिलेजात्रा र लाखेनाच चाहिँ सबै मिलेर मनाउने गरे । प्राकृतिक रुपमा भूस्वर्ग जस्तो यो सानो भूखण्ड साँस्कृतिक विविधताले समेत आलङ्कारिक हुन पुगेर ‘ठोसे-सस्कृति’को भिन्नै पहिचान बन्यो । कलातर्फ पानस, भाले आकृतिका बत्तिहरू, मेक्चने गोल्चे-ताल्चा इत्यादि पनि ठोसेका परिचय बने ।

    अभावै अभावमा पुर्खाले तामा, फलाम निकालेर मुलुकलाई आत्मनिर्भर बनाए । आज शिक्षा, सञ्चार, यातायात, विद्युतीकरण जस्ता विकासका सम्पूर्ण पूर्वाधारहरू उपलब्ध छन् । जङ्गल सकिए पनि कोइला ल्याउन यातायात उपस्थित छ । वि.सं. १९६३ मा बन्दुक कारखाना बन्द भए पनि २००७ सालसम्म स्थानीय रुपमा फलाम उत्पादन भने भइनै रहेको थियो । जङ्गल सकिए पछि इन्धनको विकल्प नपाएर थलापरेको खानी आजसम्म पनि उठ्न नसकेर सहारा खोज्दै टुलुटुलु हेरिरहेको छ ।

    फलामखानी माथि विदेशी कोदाला र फालीले खन-जोत गर्नुपर्दा नेपाली माटो चहर्‍याई रहेको छ । पुराना खानी-मजदुरका सन्तानहरू कोहि सिक्किम, कोहि बंगाल कोहि राजस्थानको फलाम त कोहि सिलाङको कोइला खानीतिर पलायन हुन बाध्य भएकाछन् । कोहि चाहिं अरवको टण्टलापुर घाममा पुर्पुरो सेकाइ रहेका छन् । सोचनीय छ, मुलुकको बागडोर समातेका त्यस यताका साशकहरूलाई मातृभूमिले के भनिरहेको हुँदोहो ? संग्रहालयसम्म पनि बनाउन नसकेको देखेर ठोसे खलङ्गामा यत्रतत्र छरिएर रहेका; सातसमुद्र पारी (स्वीडेनमा) निर्मित यन्त्रहरूका भग्नावशेषले भने गिज्याइरहेको छ । मुलुक जुर्मुरायो भने ठोसेको पनि पुनर्जागरण अवस्यम्भावी छ । प्राकृतिक स्रोत र साधनको दोहन विना ‘नयाँ नेपाल’ बन्नु सम्भव छैन । ‘आत्मनिर्भर’ मुलुक सुम्पिएर जाने श्रद्धेय पितृहरूलाई ‘परनिर्भर’ सन्तानको तर्फबाट ढिलै भए पनि हार्दिक श्रद्धासुमन अर्पण गरौं !
    सन्दर्भ ब्यक्ति/सामाग्रिहरूः
    स्व.जयप्रसाद दाहाल (मन्थली), कृपाचार्य दाहाल (एकाङ), हिक्मतबहादुर कार्की (बाम्ती), नरेन्द्रबहादुर बस्नेत (सिरुवा), श्रीबहादुर कार्की (बाम्ती), ललितबहादुर कार्की (ठोसे), टोपबहादुर कार्की (बाम्ती), भागवत प्रधान (ठोसे), श्री ३ हरूको तथ्य वृत्तान्त, लेखवीरसिं बस्न्यात (नेपाल राष्ट्रको ऐतिहासिक झलक)
    (पौडेल रामेछापका पूर्व सांसद हुन्)

  • गीतकार रोज लामाको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक

    गीतकार रोज लामाको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक

    काठमाडौं । गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक भएको छ । विदेशी भूमीमा रहेर पनि नेपाली गीत संगीतमा टेवा पुर्‍याई रहेका गीतकार रोज हाल दोहा कतारमा छन् ।

    विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किँरातीको स्वर रहेको छ ।

    सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् । गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि युट्युवमा सार्वजनिक गरिएको थियो ।

    https://www.youtube.com/watch?v=qnYxzJH9aMs

  • नौ हजार भूकम्पपीडितले पाए २२ करोड

    नौ हजार भूकम्पपीडितले पाए २२ करोड

    काठमाडौं । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

    पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म दुई करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो ।

    प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि २८ लाख, रुकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि २१ करोड ४६ लाख २५ हजार र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको ३५ लाख ५० हजार रकम निकासा गरिएको हो ।

    सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिए ।
    रासस

  • आज सुनको मूल्य १ लाख १९ हजार रुपैयाँ कायम

    आज सुनको मूल्य १ लाख १९ हजार रुपैयाँ कायम

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने, चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

    आज बजारमा छापावाल सुनको मूल्य तोलामा तीन सयले घटेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ भने हिजो १ लाख १९ हजार तीन सयमा कारोबार भएको थियो।

    त्यस्तै अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख १८ हजार ४५० रुपैयाँमा झरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार ५४० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन बिहीबार मात्रै प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

  • पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

    पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

    जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।
    कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको जानकारी दिए ।
    उनका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ ।
  • पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

    पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

    काठमाडौं ।  यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ ।

    ‘विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई मोड्नु पर्‍यो ।’

    विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोध पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षा निकायलाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।