Author: Anisha Tiwari

  • सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट पाइने

    सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट पाइने

    काठमाडौं । अक्टेभ काठमाडौंमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट पाइने भएको छ ।

    बुधबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित अक्टेभ काठमाडौंबिच विशेष छुट दिने समझदारी भएको हो । समझदारी अनुसार अब सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।

    बैंकले देशभर आफ्ना १९० शाखा, १५१ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • पियोर इनर्जीद्वारा सौर्य पीभी विद्युत आयोजना बाँकेको टेसटीङ सम्पन्न

    पियोर इनर्जीद्वारा सौर्य पीभी विद्युत आयोजना बाँकेको टेसटीङ सम्पन्न

    काठमाडौं । गोल्याण ग्रुप अन्तर्गतको कम्पनी पियोर इनर्जी लिमिटेड ले सौर्य पीभी विद्युत आयोजना बाँकेको टेसटीङ तथा कमिसनिङ सफलतापूर्ण सम्पन्न गरेको छ ।

    आइतबार रनियापुर खजुरा गाउँपालिका बाँके स्थित ग्रिडमा आवद्ध सौर्य पीभी विद्युत आयोजना बाँके ब्लक–१ (१० मेगावाट)को टेसटीङ गरेको हो ।

    अब ब्लक १ आयोजनाको सञ्चालन सँगै, नेपालको परिपेक्षमा निजी लगानीबाट निर्माण तथा संचालन हुने सबैभन्दा ठुलो पावर प्लान्टकोरूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।

    आयोजनाबाट उत्पादित उर्जा राष्ट्रिय ग्रिडमा सम्मिलित भई नेपालको उर्जामा योगदान गर्नुको साथै जलवायु परिवर्तनको समस्या समाधान तर्फपनि सकारात्मक भूमिका हुने कम्पनीको विश्वास छ ।

    कम्पनी अन्तर्गतको ब्लक–२ आयोजना गत मंसीर १९ गते देखि नै व्यापारिक उत्पादन सुरु भई हाल सञ्चालनमा आइसकेको छ ।

  • बीवाईडीद्वारा नेपाल भर ११ डीसी चार्जरको फास्ट चार्जिङ्गको विस्तार

    बीवाईडीद्वारा नेपाल भर ११ डीसी चार्जरको फास्ट चार्जिङ्गको विस्तार

    काठमाडौं । बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईक प्रालीले देशका मुख्य स्थानहरुमा ११ डीसी फास्ट चार्जर जडान गरेको छ ।

    कम्पनीले देशका मुख्य शहर पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा जडान गरेको हो । ११ डीसी फास्ट चार्जर मध्ये १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिन्छ भने, मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर दिन्छ ।

    सिमेक्स ईक प्रालीलद्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको कम्पनीले जनाएको छ । साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने जनाइएको छ । ।

    चर्जिङ्ग स्टेशनका लागि सम्पर्क नम्वर सीमेक्सको अधिकारिक वेबसाइटमा गएर हेर्न सकिनेछ ।

  • नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ९ प्रतिशत ब्याज पाइने

    नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ९ प्रतिशत ब्याज पाइने

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

    बैंकले सात वर्षे प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    बैंकले बिक्रीमा कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ । सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ ।

    सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सक्नेछन् । सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने बैंकले जनाएको छ । ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिन छ ।

  • सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

    सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता भएको छ ।

    मंगलबार बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच आन्तरिक लेखापरीक्षण गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहन राज काफ्लेले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानून तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले संपादन गर्ने भएको छ ।

    सिटिजन्स बैंकले देशभर १९० शाखा, १५१ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

  • यू १९ एसिया कप – कठिन पिच र बलिया टीमसँग नेपालको ब्याटिङ एक्सपोज

    यू १९ एसिया कप – कठिन पिच र बलिया टीमसँग नेपालको ब्याटिङ एक्सपोज

    काठमाडौं । यू १९ एसिया कपमा भाग लिन यूएई जाँदै गर्दा नेपाली युवा टीम निकै उत्साही थियो । कप्तान देव खनालले भारत र पाकिस्तानजस्ता टीमलाई समेत हराएर सेमिफाइनल पुग्ने महत्वाकांक्षा प्रस्तुत गरेका थिए । तर, नेपाल तीन खेलबाट एक अंक पनि नबटुलिकन प्रतियोगिताबाट बाहिरिएको छ ।

    यो अनपेक्षित नतिजा होइन, किनकी समूह चरणमा तीनवटै प्रतिस्पर्धी टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । भारत, पाकिस्तान क्रिकेटका हस्ति राष्ट्रहरु नै हुन् भने अफगानिस्तानले पनि पछिल्लो समय हस्ति राष्ट्रहरुलाई टक्कर दिइरहेको छ । त्यसैले उनीहरुसँग हार व्यहोर्दा लज्जित हुनुपर्दैन । तर, नेपाली टिीमबाटट जुन स्तरको प्रदर्शनको आशा राखेको थियो, त्यो चाहीँ पूरा भएन । खासगरि नेपालको ब्याटिङ यूएईको कठिन पीचमा नराम्ररी उदांगो भएको छ ।

    मंगलबार दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा भएको खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भयो । राष्ट्रिय टिमको अनुभव प्राप्त दुई ब्याट्सम्यानसमेत रहेको टीमबाट यस्तो आशा थिएन । हारे पनि नेपालले ‘मुकाबिला’ गर्ने छ भन्ने अपेक्षा फ्यानहरुले राखेका थिए । तर, ब्याट्सम्यानमा धारिलो फास्ट बलिङ सामना गर्ने खुबी र धैर्य देखिएन । फास्ट बलरलाई सहयोग गर्ने पीचमा नेपाली ब्याट्सम्यानले धेरै मिहिनेत गर्न बाँकी छ भन्ने पुष्टि भयो ।

    यो प्रतियोगितालाई आउँदो जनवरीमा हुने आइसीसी विश्वकप क्रिकेटको तयारीको रूपमा हेरिएको थियो । कम्तिमा एउटा जीत निकालेको भए त्यो अभूतपूर्व उपलब्धी हुन सक्थ्यो । तर, प्रतियोगिताभर नै नेपालको ब्याटिङ सम्झन लायक रहेन । ३ वटै खेलमा पूरा ५० ओभर खेल्न नसक्नुले नेपालको कमजोरी झल्किन्छ ।

    पहिलो खेलमा पाकिस्तानविरुद्ध ४७ ओभर २ बलमा अल आउट भएको नेपाल दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ४० ओभर १ बलमा अलआउट भएको थियो । अन्तिम खेलमा भारतविरुद्ध नेपाल २२ ओभर १ बलमै समेटियो । ओपनर अर्जुन कुमालले अफगानिस्तानविरुद्ध र उत्तम थापा मगरले बलियो पाकिस्तानविरुद्ध गरेको ब्याटिङ मात्रै सम्झनयोग्य रहे । उनीहरुको दुई इनिङबाट पुष्टि हुन्छ कि ब्याट्सम्यानले धैर्यता र सुझबुझ राखेको खण्डमा रन बन्न सक्थ्यो ।

    ३ वटै खेलमा नेपालले २ सय रन कटाउन सकेन । पाकिस्तानविरुद्ध १ सय ५२ मा समेटिएको नेपालले अफगानिस्तानसँग जेनतेन १ सय ८८ रन पुर्यायो । तर भारतसँग ५२ रनमै प्याक भयो । नेपालको ३ वटै खेलमा राम्रो साझेदारी बन्न सकेन । दीपेश कँडेल र उत्तम थापामगरले पाकिस्तानविरुद्ध गरेको ६८ रनको साझेदारी नै सर्वाधिक ठूलो रह्यो ।

    नेपाललाई ब्याटिङमा सबैभन्दा निराश बनाए कप्तान देव खनाल र स्टार अलराउन्डर गुल्शन झाले । उनीहरु दुवै राष्ट्रिय टीमका अनुभवप्राप्त हुन् । उनीहरुको ब्याट चलेको खण्डमा भारत–पाकिस्तानलाई पनि स्तब्ध पार्न सक्छन् भन्ने थियो । तर, दुवै फ्लप भए ।

    पहिलो खेलमा गोल्डेन डकआउट भएको कप्तान खनालले दोस्रो खेलमा २४ रन जोडे । तेस्रो खेलमा उनी २ रनमा आउट भएका थिए । तीन खेलमा उनको कुल स्कोर रह्यो २६ रन ।

    अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट समेत पाकिस्तान र भारतसँग खेलिसकेका छन् । राष्ट्रिय टीमका लागि थुप्रै उत्कृष्ट इनिङ खेलेका उनले युवा टीममा धमाल नै मच्चाउलान् भन्ने सोचिएको थियो । उनी अन्तिम समयमा यू–१९ टोलीमा समेटिएका थिए । तर, झाले तीन खेलमा जम्मा २२ रन बनाए ।

    नेपालको बलिङले पनि कुनै चमत्कार देखाउन सकेन । पीचमा फास्ट बलरलाई प्रशस्त अवसर थियो । त्यसको पुरा फाइदा उठाउन सकेनन् नेपाली बलरले । सिनियर टिममा जस्तै जुनियरमा पनि फास्ट बलिङको कमजोरी देखियो । स्पिनमा सबैभन्दा बढी आशा गरिएका दिपेश कँडेल पनि चम्किन सकेनन् । उनलाई पिचबाट खासै मद्दत पनि थिएन ।

    नेपालले अफगानिस्तानलाई ४९ ओभर ३ बलमा अलआउट गर्न सफल भयो । पाकिस्तानको तीन विकेट लिन सफल भयो । पाकिस्तानका तीन विकेट लिन सफल भयो । गुल्शनले बलिङमा चार विकेट लिए । उनको बलिङ सुधार हुनु नेपालका लागि सकारात्मक पक्ष हो ।

    नेपालका अधिकांश ब्याटर पाकिस्तान, अफगानिस्तान र भारतका पेस बलरको सिकार भए । टेस्ट राष्ट्रका पेस बलरसामु नेपाली ब्याटिङ धराशायी बन्यो । नेपालविरुद्ध पाकिस्तानका पेस बलर मोहम्मद जिशानले ६ विकेट लिएका थिए । भारतका पेस बलर राज लिम्बानीले एक्लै सात विकेट लिए ।

    हरेक जितले आत्मविश्वास बढाउँछन् भने हारले पाठ सिकाउँछन् । दुबईमा युवा टिमको प्रदर्शनले खेलाडीहरुको कमजोरी उजागर भएको छ । अब विश्वकपअघि ती कमजोरीलाई कसरी न्यूनिकरण गर्ने भन्नेमा टीम व्यवस्थापन र प्रशिक्षकको ध्यान जानुपर्छ ।

  • डिशहोमद्वारा विश्वकप छनोट अन्तर्गतको पुरस्कार रकम खेलाडीलाई प्रदान

    डिशहोमद्वारा विश्वकप छनोट अन्तर्गतको पुरस्कार रकम खेलाडीलाई प्रदान

    काठमाडौं । डिशहोमले आईसीसी टी–२० विश्वकप छनोटमा घोषणा गरेको पुरस्कार रकम खेलाडिलाई प्रदान गरेको छ ।

    आइतबार डिशहोमको मुख्य कार्यालयमा घोषणा पुरस्कार रकम खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो ।

    नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित कुमार पौडेल लगायतका खेलाडीहरुको उपस्थितीमा पुरस्कार रकम प्रदान गरिएको डिशहोमले जनाएको छ ।

    २९ अक्टोवर २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

    पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।

  • भाजपाको प्राथमिकता नेता होइन जात – राजस्थानमा ‘लो प्रोफाइल’ ब्राम्हण भजनलाल बने मुख्यमन्त्री

    भाजपाको प्राथमिकता नेता होइन जात – राजस्थानमा ‘लो प्रोफाइल’ ब्राम्हण भजनलाल बने मुख्यमन्त्री

    नयाँ दिल्ली । भारतीय जनता पार्टीले पार्टीभित्र र बाहिरका सबैलाई आश्चर्यचकित पार्दै राजस्थानको मुख्यमन्त्रीमा लो प्रोफाइल ब्राम्हण विधायक भजनलाल शर्मालाई अघि सारेको छ ।

    केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा बसेको विधायक दलको बैठकले बसुन्धरा राजे सिन्धिया,दिया कुमारी,बाबा बालकनाथलगायत चर्चित र लोकप्रिय हस्तिहरुलाई पाखा लगाउँदै पहिलोपटक विधायक बनेका भजनलाललाई मुख्यमन्त्री दलको नेता चयन गरेको हो । भजनलालले यसपाली पहिलोपटक टिकट पाउँन समेत निकै पापड बेल्नुपरेको थियो । तर ब्राम्हण समुदायको मत आगामी निर्वाचनमा आफूतिर तान्न नरेन्द्र मोदी र अमित शाहले भजनलाल शर्मालाई मुख्यमन्त्री बनाएको चर्चा छ ।

    यसअघि छत्तिसगढ र मध्य प्रदेशमा आदिवासीलाई मुख्यमन्त्री बनाएको भाजपाले राजस्थानामा ब्राम्हणलाई अघि सारेर उत्तर भारतको जनमत आगामी आम निर्वाचनमा आफूतिर पार्न खोजेको विश्लेषण गरिएको छ । हालै भएका ५ प्रदेशको निर्वाचनमा भाजपाले मध्य प्रदेश,राजस्थान र छत्तिसगढमा बहुमत ल्याएको छ । यसपटक भाजपाले मुख्यमन्त्रीमा सिनियर र प्रभावशाली नेताहरुलाई पाखा लगाएर जातीय समुदायलाई लक्षित गर्दै लो प्रोफाइल नेतालाई मुख्यमन्त्री बनाएको छ । मुख्यमन्त्रीकी एक सशक्त दाबेदार राजकुमारी दियाकुमारीलाई उप मुख्यमन्त्री बनाइएको छ ।

  • सञ्चालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिकः चेम्बर

    सञ्चालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिकः चेम्बर

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको बताएको छ ।

    मंगलबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले अर्थसचिव कृष्णहरी पुष्करसंग अर्थमन्त्रालयमा भेट गरी धितोपत्र बोर्डबाट जारी निर्देशिकाको व्यवस्थाप्रति ध्यानकर्षण गराएको हो ।

    धितोपत्र बोर्डबाट जारी सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने ’ व्यवस्था संशोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो ।

    ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गदर्छौ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष राजेन्द्र मल्लले बताए ।

  • ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण अनुबन्धित

    ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण अनुबन्धित

    काठमाडौं । साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण थापा अनुबन्धित भएका छन् । राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रमा केही दिनअघि केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भइसकेका छन् ।

    सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको कङ्गारु फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा तयार हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

    फिल्मको सह-निर्मातामा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।

    फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

  • प्रमोदको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

    प्रमोदको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

    काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘घर नभाको मान्छे’ बोलको गीत दर्शकको प्रिय बनिरहेको छ । यो गीतको शब्द, संगीत र प्रमोदको स्वरले दर्शकको मन जितिरहेको छ । यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीतमा प्रमोद र रीता केसीको स्वर छ । गीतका शब्दले श्रोताको मन छुने देखिन्छ ।

    यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतिले पर्दा शेयर गरेका छन् । उषासँगको प्रेममा आएको उतारचढाव भएपछि विरक्तलाग्दो जिन्दगीमा राजु गीत गाउँदै हिडेको भिडियोमा देखाइएको छ ।

    महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराइले यो भिडियोको निर्माण गरेकी हुन् ।

  • मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

    मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

    मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
    प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।
    प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।’ चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।
    चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।
    पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।’
    पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।
    चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।
    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।’ माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्णरुपमा बन्द नभएको भुजेलले जानकारी दिए ।
    पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउछन्। आफूहरु घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, ‘चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने  मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।’
    ‘लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनौं’, उनले भने, ‘लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।’
    यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् ।
    रासस
  • विद्यार्थी भिसामा अष्ट्रेलिया जान अब कठिन, पर्यटक र कामदार भिसामा समेत कडाइ

    विद्यार्थी भिसामा अष्ट्रेलिया जान अब कठिन, पर्यटक र कामदार भिसामा समेत कडाइ

    काठमाडौं । बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुनेछन् ।

    अष्ट्रेलिया सरकारले २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउँने घोषणा गरेको छ । त्यसो भयो भने हाल ५ लाख बढीको संख्यामा रहेका आप्रवासीको संख्या साढे २ लाखमा समिति हुनेछ । तर विदेशी विद्यार्थीको संख्या भने ६ लाख भन्दा बढी छ ।

    पछिल्ला २ वर्ष ठूलो संख्यामा अष्ट्रेलिया विदेशी विद्यार्थी र कामदार लिएको थियो । अब त्यससलाई कोभिड महामारी अघिको अवस्थामा फर्काउन विदेशी विद्यार्थी र न्यून सीप भएका कामदारलाई दिने भिसामा कडाई गरिने भएको छ ।

    आप्रवासी कामदार विद्यार्थीको संख्या बढेर डेरा नपाइने, सार्वजनिक सवारी साधनले नधान्न र अन्य भौतिक पुर्वाधारले समेत नथेग्ने अवस्था आएपछि नयाँ नीति जारी गरिएको बिबिसीले जनाएको छ ।

    गृहमन्त्री क्लेर ओ नीलले सोमवा पत्रकार सम्मेलनमार्फतसरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गरेकी हुन् । उनले यसअघिको सरकारले बसाइँसराइ प्रणालीलाई छिन्न भिन्न पारेको भन्दै अब लयमा फर्काउन खोजिएको बताएकी छन् ।

    मन्त्रालयका अनुसार सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अष्ट्रेलिया आएका थिए। त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। यद्यपी उनीहरु पर्यटक समेत हुन् ।

    अब पर्यटक भिसामा समेत कडाइ गरिने उनले बताएकी छन् । यो रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ। अब विद्यार्थीहरूले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुने भएको छ ।

    अष्ट्रेलिया जाने विद्यार्थीहरूले आफूले गर्न खोजेको थप अध्ययनले उनीहरूको एकेडेमिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्ने नयाँ रणनीतिमा उल्लेख छ ।

  • सहमति र सहकार्यका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँः कमल थापा (भिडिओ)

    सहमति र सहकार्यका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँः कमल थापा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।

    उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए । उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।

    उनले भने, ‘हाम्रो केन्द्रिय कार्यसमितिको बैठकले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको छ । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको छ भन्ने राप्रपा नेपालको निस्कर्ष रहेको छ । सो सन्देश यो व्यवस्था असफल भएको कारणले गर्दा यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्छ भन्ने राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको ठहर छ । यो विकल्प अर्थात् राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना यदी राजनैतिक दलहरु तयार हुने हो भने, सहमत हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ । ‘

    सफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

  • नेपाल टेलिकमद्वारा एक महिनासम्म ५० एमबीपीएसको निःशुल्क डाटा

    नेपाल टेलिकमद्वारा एक महिनासम्म ५० एमबीपीएसको निःशुल्क डाटा

    काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउन भएको छ ।

    टेलिकमले टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको हो । एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले परीक्षणकोरुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

    टेलिकमले आज सोमबार अर्थात मंसिर २५ देखि लागू हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएसको डाटा सेवा उपलब्ध गराउने भएको हो ।

    सेवा प्रयोग गर्नका लागि १९८ डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । जहाँ एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ । एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।

  • राष्ट्र बैंकले गर्यो विदेशी विनिमय कारोबारसम्बन्धी नियामावली संसोधन

    राष्ट्र बैंकले गर्यो विदेशी विनिमय कारोबारसम्बन्धी नियामावली संसोधन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।

    आज सोमबार देखि लागू हुनेगरी राष्ट्र बैंकले वि.स २०७७ मा जारी भयको ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ दोस्रो पटक संशोधन गरेको हो।

    गत मंसीर १२ गते बसेको सञ्चालक समितिको बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो। विदेशी विनिमय व्यवस्थापन विभागले उक्त निर्णय अनुरुप संशोधित नियमावली बमोजिम कार्य गर्न र गराउन आज निर्देशन जारी गरेको हो।

  • उपन्यास ‘आधा मण्डप’ लोकार्पण

    उपन्यास ‘आधा मण्डप’ लोकार्पण

    काठमाडौं । युवा साहित्यकार रुपक अधिकारीको दोस्रो कृति ‘आञा मण्डप’ लोकार्पण गरिएको छ । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासको प्रकाशक अमीर केसी र सहदेव अर्याल ‘यात्री’ रहेका छन् ।

    प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले उपन्यास ‘आधा मण्डप’ लाोकार्पण गरे । उपन्यासकार अधिकारीकाो यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

    उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रीत रहेर आधा मण्डप उपन्यास लेखिएको बताए ।

  • जेठ १८ मा आउने भयो दयाको ‘गाउँ आएको बाटो’

    जेठ १८ मा आउने भयो दयाको ‘गाउँ आएको बाटो’

    काठमाडौं । टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक भएको छ। निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो। सिनेमा आगामी वर्षको जेठ १८मा रिलिज हुने भएको छ।

    सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन्। ‘नुमाफुङ’ सिनेमा बनाएर फरक धारका सिनेमाका लागि अत्याधिक प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो सिनेमा हो। उनले बनाएको दोश्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन । टोरोन्टो फिल्म फेस्टिवलका अलावा बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो सिनेमाले नविन सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ।

    सिनेमाको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयूक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशख सुब्बा हुन्। सिनेमाले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरुको सात वर्षे छोरा बिन्द्रे( प्रसान राई)को सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।

    सिनेमाले मूलपात्रले पछ्याउँदै आएको परप्परागत जीवनशैलीमाथि के गर्ने भनेर लिने कदममा सिनेमाको कथा प्रस्तुत भएको छ। यसलाई बाबुआमासँगै उनीहरुको छोराले यो बदलिएको परिस्थितिमा नयाँ संसार कसरी चिहाउँदैछ र उसका सपना केकस्ता हुँदैछन् भन्ने कथालाई रोचक ढंगले भनेको छ। फिल्म फेस्टीवलहरुमा प्रशंसा बटुलेको यो सिनेमा आगामी वर्षका लागि एउटा प्रतिक्षित सिनेमा हो।

  • विकास गाउँमा बसाइँ भने सहरमा

    विकास गाउँमा बसाइँ भने सहरमा

    देउखुरी । घोराही उपमहानगरपालिका–९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । सामान्य हिँडडुल गर्नसक्ने उनलाई घरको आँगन पनि परदेश हुन थालेकोे छ । दिनभरि घरमा एक्लै बस्दा दिन काट्न मुस्किल हुने गरेको र दुःख, सुखका कुरा गर्ने छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेकाले सुमित्राले एक्लो महसुस गरेकी हुन्। अब गाउँमा मान्छे नै नहुने हो की भन्ने चिन्ता उनलाई छ ।

    अहिले दिनप्रति दिन गाउँ छोड्नेको सख्या बढ्दो छ आफू सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँबाट बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीयवासी दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँका टोल–टोलमा विकास पुगे पनि मान्छे भने छैनन् ।

    गाउँका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन झाडीले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो रहेका गाउँ अहिले बसाइँसराइका कारण चहलपहल हुनै छोडेको छ । पहिले गाउँमा बिजुली, पानी बाटोघाटोको सुविधा थिएन । अहिले घरघरमा पानीका धारा छन् आँगनीको बाटो कालोपत्रे गरेर चिल्लो भएका छन् । गाउँमा अहिले विकासले गति लिँदै गएको छ तर उपभोग गर्ने स्थानीय बासिन्दा भने थप सेवा सुविधा खोज्दै गाउँ छोडेर सहर पसेका छन् ।

    गाउँमा एकै परिवारले प्रसस्त गाईवस्तु पाले खेती किसानी गर्ने गर्थे । आवश्यक सामान लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटेको छ । तीन पाङ्ग्रे अटोरिक्सा गाउँका घरघरमा पुग्ने गरेपनि स्थानीयवासी महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको सुमित्रा बताछिन् ।

    उनी भन्छिन्, ‘हाम्रा पालामा अहिलेको जस्तो खानेपानी, विद्युत् र यातायातको सहज पहुँच नभए पनि गाउँमा मान्छेको बसाइ बाक्लो थियो । अहिले सुविधा भएर पनि बसाइसराइ गर्नेक्रम बढेको छ ।’

    स्थानीय ६८ वर्षीय पूर्णबहादुर बस्नेत सुविधा खोज्नका लागि युवा सहर पसेपछि परिवार पनि उतै लैजाने गरेको बताउछन् । विदेशमा रोजगारमा रहेका अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै बसाइ सर्ने गरेका हुन्। पछिल्लो दस वर्षमा यहाँका अधिकांश गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको उनी बताउछन् ।

    बस्नेत भन्छन्, ‘पहिले युवा गाउँमा खेतीपाती र गाउँमै कामधन्दा गर्ने गर्थे, पछिल्लो समय विदेश जान थाले, पैसा कमाउन थाले त्यसलेगर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, कमाएको पैसाले बजारमै घर बनाएर बस्न थाले त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन् ।’

    घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी नागरिकको मागलाई मध्यनजर गरी सडक निमार्णका लागि महत्व दिएको बताउछन् । सडक सञ्जाल नपुगेको स्थानमा नयाँ ट्रयाक खोल्नेदेखि कालोपत्र गरेर सडक सुविधा पुराउने काम गरिएको छ । सडकसँग मानिसको जीवनशैली पनि जोडिएको छ  । सडकको पहुँच भएका ठाउँका मानिसको बसाइँसराइ बढेको पनि छ । यसरी जिल्ला बाहिर र भित्रबाट पनि सुविधा भएका ठाउँमा बसाइँसराइ गर्ने क्रम बढेको उनी उल्लेख गर्छन्।

    ‘जनताको माग पनि सडकको विकासमै हुने गरेको र उपमहानगरपालिकाले पनि सडकको स्तरोन्नतिमै जोड दिइरहेको छ,’ नगरप्रमुख चौधरी भन्छन्,, ‘सडकले गाउँको विकास र अर्थतन्त्रमा टेवा पुगेको छ । सडकले गाउँ र सहरलाई जोडेको छ ।’

    राष्ट्रिय जनगणना–२०७८ अनुसार दाङ जिल्लाको जनसङ्ख्या ६ लाख ७४ हजार नौ सय ९३ छ । यसमा ५२ दशमलव ४० प्रतिशत अर्थात् तीन लाख ५४ हजार तीन सय ७६ महिला र ४७ दशमलव ५९ प्रतिशत अर्थात् तीन लाख २१ हजार नौ सय एक पुरुष छन् । कूल जनसङ्ख्यामध्ये एक लाख २७ हजार नौ सय ७३ जना अन्य जिल्लाबाट बसाइँसराइ गरी आएका हुन् ।

    यसैगरी ६४ हजार तीन सय ७५ जना जिल्लाभित्रै एक पालिकाबाट अर्को पालिकामा बसाइँसराइ गरेका छन् । यो जिल्लाको कूल जनसङ्ख्याको ९ दशमलव ५ प्रतिशत हो ।

  • यस वर्षको वर्षायाममा नेपालले भारतलाई बेच्याे १५ अर्ब २४ करोडको बिजुली

    यस वर्षको वर्षायाममा नेपालले भारतलाई बेच्याे १५ अर्ब २४ करोडको बिजुली

    काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

    प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

    चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यसअवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

    शुख्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत्गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

    ‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युतगृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘पिक समयमा आयात गर्दा विद्युत्को दर महंगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’

    उनले चैत्र र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेतापनि यसवर्ष आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए । ‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुने छ,यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिंदैछ, त्यसैले अर्को वर्ष २५÷३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने छ’, घिसिङले थपे । ‘दुई देशबीचको प्रसारण सञ्चाल सुधारका लागि ठूलो क्षमताका लाइनहरु बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरुको निर्माण भइरहेका छन् त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करिब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ ।’

    प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ ।

    यस वर्षको विद्युत् निर्यात अवस्था

    स्रोत  :  नेपाल विद्युत प्राधिकरण

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन (NTPC Vidyut Vyapar Nigam Ltd-NVVN)लाई बिक्री गरिरहेको थियो । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो ।
    भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५४७ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।