Author: Anisha Tiwari

  • अनेरास्ववियुले भन्यो – बालकुमारी घटनामा प्रहरी र सरकार जिम्मेवार

    अनेरास्ववियुले भन्यो – बालकुमारी घटनामा प्रहरी र सरकार जिम्मेवार

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बालकुमारीमा भएको घटनामा प्रहरी र सरकार जिम्मेवार रहेको ठहर गरेको छ । अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै घटनामा प्रहरीले दमन गरेको उल्लेख गरेका छन् ।

    दक्षिण कोरिया जान चाहेका युवाहरूले आन्दोलनका क्रममा सरकारको मन्त्री सवार गाडीमा आगजनी गरेको निउमा बेरोजगारको पीडाले छटपटिएर आएको युवामाथि प्रहरीले दमन गरेको अनेरास्ववियुले जनाएको छ । त्यस क्रममा दुई जनाको ज्यान गएको प्रति भर्सना गरिएको छ ।

    आन्दोलनमा पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन घाइतेको उपचारको व्यवस्था गर्न पनि अनेरास्ववियुले सरकारसँग माग गरेको छ ।

    ‘गम्भीर परिस्थितिलाई प्रहरी दमनबाट होइन आन्दोलनरत युवाहरूको पिर मर्का बुझी वार्ता र संवाद मार्फतबाट समाधान गर्न अनेरास्ववियु सरकारसँग जोडदार माग गर्दछ’ अध्यक्ष बडालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आजको घटना घट्नुमा स्वयम सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ ।’

    देशमा रोजगारीको अवसर दिन नसक्ने सरकारले युवाहरूमाथि दमन गरेको विज्ञप्तिमा भनिएको छ । देशमै रोजगारीको सिर्जना गरेर युवा पलायन रोक्न पहल गर्नुको सट्टा दिउँसै युवाहरू माथि गोली बर्साउने सरकारको गलत रवैयाको भण्डाफोर गर्न सशक्त आन्दोलनको लागि तयार रहन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • नेसनल क्रिकेट आइकन कुशल मल्ललाई

    नेसनल क्रिकेट आइकन कुशल मल्ललाई

    काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ ।

    खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको अवार्ड यस वर्ष कुशल मल्ललाई प्रदान गरिएको हो । अवार्डको साथै मल्ललाई १ लाख १ हजार रुपैयाँ रकमको चेक पनि प्रदान गरिएको हो ।

    त्यस्तै, संस्कृति स्पोर्टस् सम्मान २०२३ कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार बराबरको ट्रेनिङ स्कलरशिप पनि प्रदान गरिएको छ । स्कलरशिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्य १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्घ छिन् । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।

    स्कुलका चेयरपर्सन रञ्जित आचार्यले भने, ‘संस्कृति सदैव आफ्ना विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिवद्ध रहेको छ । वार्षिक रुपमा प्रदान गरिने यस संस्कृति स्पोर्टस सम्मानमार्फत हामीले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आफ्ना विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको बोध गराउने लक्ष्य राखेका छौँ । कुशल मल्ल र सोनी पाख्रिनलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

  • नबिल बैंकको ३९औँ वार्षिक साधारणसभाले परित गर्‍यो ११ प्रतिशत लाभांशको प्रस्ताव

    नबिल बैंकको ३९औँ वार्षिक साधारणसभाले परित गर्‍यो ११ प्रतिशत लाभांशको प्रस्ताव

    काठमाडौं । नबिल बैंकको ३९औँ वार्षिक साधारण सभाले ११ प्रतिशत लाभांशको प्रस्ताव परित गरेको छ ।

    बिहीबार बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव परित गरेको हो । त्यस्तै, बैंकको साधारण सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंक आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ मुनाफा गर्न सफल भएको थियो ।

    बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । ‘देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ’, उनले भने ।

    साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा शेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पूँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए ।

  • नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

    नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

    काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ ।

    बैंकले आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी बैंकले ‘इन्स्ट्यान्ट गोल्ड लोन’ ऋण योजना ल्याएको हो ।

    यस ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै, सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।

    नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट ‘इन्स्ट्यान्ट गोल्ड लोन’ सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट र उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

    बैंकले देशभर २६६ शाखा, २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

  • घरजग्गा मेलामा अफर नै अफर : नेपालभरका जुनसुकै जग्गासँग काठमाडौंको घर साट्न सकिने

    घरजग्गा मेलामा अफर नै अफर : नेपालभरका जुनसुकै जग्गासँग काठमाडौंको घर साट्न सकिने

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट घरजग्गा मेला सुरु भएको छ । सो मेलामा विभिन्न घरजग्गा निर्माण कम्पनीहरुले छुट तथा अफरहरु सार्वजनिक गरेका छन् । मेला अवधिभर घरजग्गा बुकिङ गर्नेले जग्गासँग घर साट्न मिल्नेदेखि लिएर ५० लाख रुपैयाँ नगद छुटसम्मको व्यवस्था कम्पनीहरुले गरेका हुन् ।

    नेपाल रियल स्टेट म्यानेजमेन्ट लिमिटेडले नेपाल भर जहाँसुकै भएको जग्गासँग घर साट्न सकिने अफर ल्याएको छ । सो जग्गाको मूल्य निर्धारण गरेर जग्गासँग घर अथवा जग्गासँग जग्गै साट्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

    यस्तै घरजग्गा खरिद गर्दा २५ प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम तिर्नको लागि एक वर्षको समय दिइएको छ । एक वर्ष मासिक किस्ता बुझाए कुनै पनि ब्याज नलाग्ने रियलस्टेट म्यानेजमेन्ट लिमिटेडले जनाएको छ । यो कम्पनीले भैसेपाटी वा चाँगुनारायणमा रहेको घरजग्गामा एक्सचेन्जको अफर ल्याएको हो ।

    यस्तै, यो कम्पनीको घरजग्गा खरिदमा ११ प्रतिशतसम्मको ब्याजदरमा हाउजिङ लोन पाइने गरी प्राइम, नबिल बैंकसँग सम्झौता गरेको जनाएको छ । यो व्याजदर स्थिर हो । रियलस्टेट म्यानेजमेन्टले चाँगुनारायणमा ७४ वटा घर बनाइरहेको छ भने भैसेपाटीमा २० रोपनीको ५४ वटा जग्गा रहेको छ । साढे ४ आनादेखि एक रोपनीसम्मको ब्लक दिन मिल्ने गरी जमिनहरुको संरचना बनाएको छ । भैसेपाटीको ४७ लाख प्रति आना मूल्य राखिएको र यसमा १५ प्रतिशत छुट दिइएको छ । यस्तै साइट भिजिट गरेर बुकिङ गर्नेलाई ५० लाखसम्मको नगद छुट दिइएको कम्पनीले जनाएको छ ।

    यता पद्दमा कोलोनीले मेलामा घर बुकिङ गर्नेलाई सात प्रतिशतसम्म छुट दिएको छ । यस्तै अपार्टमेन्ट बुकिङ गर्नेलाई सुरक्षा डिपोजिटमा ३ लाख बराबरको छुट दिएको छ । पद्माको ठुलो भर्याङमा १३४ अपार्टमेन्ट बन्दै छ भने डाडापौवामा ९२४ वटा बनिरहेको छ । ६० लाख रुपैयाँ देखिका अपार्टमेन्ट बिक्रिमा राखिएको छ । मेलामा बुकिङ गर्नेले भने ५ लाख रुपैयाँ बुकिङ चार्ज दिन सक्नेछन् ।

    यस्तै भूमि कोलोनीले मेलामा बुकिङ गर्नेलाई १० प्रतिशतसम्म छुट दिएको छ । भूमिले गोदावरीमा ७२ वटा कोलोनी बनाइरहेको छ । ५ आनादेखि १२ आनासम्मको जग्गामा बनेका कोलोनीको मूल्य ३ करोड ९० लाख देखि साढे ७ करोड रुपैयाँसम्म राखिएको छ ।

    भूमिले आफ्नो कोलोनी खरिद गर्नेलाई नबिलसँग १०.५९ प्रतिशत ब्याजदरमा ७ देखि १० वर्षसम्म किस्ता तिर्न मिल्ने गरि व्यवस्था गरेको छ । आजै बुकिङ गरेभने २ महिनानमा पास गरे भने ५ प्रतिशतसम्म छुट छ ।

    सिडि डेभलपर्सले बनाइरहेको हेपाली हाइटको आकृति कोलोनी बुक गर्नेले ३० लाख छुट पाउनेछन् । यसमा ९ वटा घर बाँकी रहेको छ । यस्तै आभास कोलोनी बुकिङ गर्दा भने २५ लाख छुट पाइने कमपनीले जनाएको छ । आभास बनिरहेको योजना हो । अहिले बुक गर्नेलाई १८ महिनाभित्र कोलोनी हस्तान्तरण हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

    सिइ कन्स्ट्रक्सनले वाफल ताहाजल, विराटनगर, पोखरा भोटेबहालमा कोलोनी तथा अपार्टमेन्ट बनाइरहेको छ । सो कोलोनी मेलामा बुकिङ गर्नेले तिन बर्षभित्र तिन–तिन महिनामा किस्ता तिर्न सकिने व्यवस्था गरिएको छ । एउटा अपार्टमेन्टको २ करोड २९ लाख देखि ४ करोडसम्मका अपार्टमेन्ट छन् ।

  • एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसबीच छुट प्रदान गर्ने सम्झौता

    एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसबीच छुट प्रदान गर्ने सम्झौता

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    नयाँ बानेश्वर स्थित एएसजी आई केयर हेल्थ सभिर्समा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकले अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

    सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरुका साथै कर्मचारी तथा तिनका पारिवारीक सदस्यहरुले आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत ‘सर्जरी प्रक्रिया, माइनर इन्वेस्टिगेशन ९कर्मचारी मात्र० अप्टिकल मा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

    त्यस्तै, पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअफ समेत निशुल्क हुनेछ ।

  • भृकुटीमण्डपमा सुरू भयो घरजग्गा मेला (भिडिओ)

    भृकुटीमण्डपमा सुरू भयो घरजग्गा मेला (भिडिओ)

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेलाको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् ।

    बिहीबारबाट सुरु भएको मेला पौष १५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा सुरु भएको मेलाले क्रेता र बिक्रेताहरुबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

    मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको संघका अध्यक्ष विदुर धमलालले बताए ।

    उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरु रहने बताए। मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ । मेलाबाट २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

  • आगोले जलेर शिशुको मृत्यु

    आगोले जलेर शिशुको मृत्यु

  • बम हानेको अभियोगमा हङकङका तीन अभियानकर्मी जेल चलान

    बम हानेको अभियोगमा हङकङका तीन अभियानकर्मी जेल चलान

    काठमाडौं । हङकङका तीन अभियानकर्मीहरु बम हान्ने कसुरमा चेल चलान भएका छन् । हङकङको उच्च अदालतले गरेको बिहीबारको फैसला अनुसार उनीहरु जेल चलान भएका हुन् ।

    जेल चलान हुनेहरुमा २० वर्षका हो यु वाङ, २१ वर्षका क्वक मान हई र २३ वर्षका चउङ हो येउङ रहेका छन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार अदालत तथा अन्य सार्वजनिक भवनहरुमा बम राख्ने अभियोगमा उनीहरुलाई सजाय सुनाइएको हो ।

    सन २०२० मा हङकङमा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुन अनुसार उनीहरुमाथी बम अभियोग सन २०२१ मा लगाइएको थियो । त्यसैको फैसलामा उनीहरु जेल चलान भएका हुन् । सन २०२१ अप्रिल १ र जुलाई ५ को बिचमा उनीहरुले बम राखेको अभियोग थियो ।

  • मस्कोमा पुटिन जयशंकर वार्ताः मोदीलाई रुस भ्रमणको निम्तो

    मस्कोमा पुटिन जयशंकर वार्ताः मोदीलाई रुस भ्रमणको निम्तो

    काठमाडौं । बुधबार रुसको राजधानी मस्कोमा भारतिय विदेशमन्त्री एस. जयशंकर र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको भेट भएको छ ।

    भेटमा पुटिनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुस भ्रमणको निम्तो दिएका छन् । क्रेमलिनमा भएको भेटमा पुटिनले मोदीलाई निम्तो दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    निम्तो गर्दै पुटिनले भनेका छन्, ‘म मेरा मित्र प्रधानमन्त्री मोदीलाई रुसमा देख्न चाहान्छु ।’ भारतिय विदेशमन्त्री एस. जयशंकरले पनि दुई देशबिचको परम्परागत शिर्षवार्ता चाँडै हुने बताएका छन् ।

  • धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

    धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

    नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूरविरुद्ध मुम्बईको घाटकोपर पुलिस स्टेशनमा धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उजुरी दर्ता भएको छ।

    हालै सामाजिक सञ्जालमा रणवीरको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी केक जलाएपछि ‘जय माता दी’ भन्दै थिए । रणवीरको यो भिडियोको निकै आलोचना पनि भएको थियो ।

    बम्बे हाई कोर्टका वकिल आशिष राई र पंकज मिश्राले रणवीर विरुद्ध यो उजुरी दर्ता गरेका छन्, जसमा उनीहरूले आईपीसी (भारतीय दण्ड संहिता) को धारा २९५ए, २९८, ५०० र ३४ अन्तर्गत मुद्दा दर्ता गर्न माग गरेका छन्। तर, प्रहरीले भने अहिलेसम्म कुनै एफआईआर दर्ता नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

    कपूर परिवारमा हरेक वर्ष क्रिसमस धूमधामका साथ मनाउँदै आइरहेका छन् । यसपटक पनि क्रिसमसको विशेष अवसरमा सम्पूर्ण परिवारले मुम्बईमा सँगै खाना खाएका थिए । यो भिडियो त्यही बेला भाइरल भएको थियो । यो भिडियोमा कपूर परिवारका एक सदस्यले केकमा रक्सी खन्याए र त्यसपछि रणवीरले केकमा आगो लगाएर ‘जय माता दी’ भनेका छन् । यस क्रममा उनका परिवारका अन्य सदस्यले पनि उनीसँगै जय माता दी भनेका थिए ।

    उजुरीका अनुसार हिन्दू धर्ममा देवताको पूजा गर्नुअघि अग्निदेवतालाई पुकार्ने गरिन्छ तर क्रिसमस मनाउने क्रममा रणवीर कपुर र उनको परिवारका सदस्यले मदिरा सेवन गरेका थिए र ‘जय माता दी’ भनिरहेका थिए । यही कारणले उजुरीकर्ताले धारा ३४ अन्तर्गत एफआईआर दर्ता गर्न माग गरेको छ ।

    क्रिसमसको विशेष अवसरमा रणवीर र आलियाले छोरी राहालाई पहिलो पटक मिडियामा परिचय गराएपछि राहाका धेरै तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

    रणवीरको हालै रिलिज भएको ‘एनिमल’ ले बक्स अफिसमा ठूलो कमाई गरेको छ । फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ५४० करोड र विश्वभर ८८०.८३ करोड कलेक्सन गरेको छ ।

     

  • रस्मिलाज फेसियल हाउसको १५ औं वार्षिकोत्सव मानव सेवा आश्रममा यसरी मनाइयो

    रस्मिलाज फेसियल हाउसको १५ औं वार्षिकोत्सव मानव सेवा आश्रममा यसरी मनाइयो

    काठमाडौं । रस्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

    फेसियल हाउसले पुस १० गते काठमाडौंको गोंगबु टाउन प्लानिङस्थित मानव सेवा आश्रममा ५६ जना ज्येष्ठ महिला र अनाथ बालबालिकालाई भोजन गराएर १६औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।

    अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सुविधा रहेको रस्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले ६० जनालाइ रोजगरी दिइरहेको छ भने कम्पनीले हजारौंलाई सीपमूलक तालिम समेत दिइसकेको छ ।

    उत्त कम्पनी काठमाडौं मल सुन्धाराको पहिलो र चौथो तल्लामा सञ्चालन भइरहेको छ भने बिजी मल गोंगबुको चौथो तथा बुद्धमल बालाजुको पहिलो तल्लासहित चार वटा शाखाबाट यो सञ्चालित छ ।

    रस्मिलाज का संरक्षक प्रकाशकुमार श्रेष्ठकी दिदी ज्योती श्रेष्ठ केही दिनअघि अमेरिका कनेक्टिकट ब्राण्डफ्रोर्ड राज्यबाट परिवार साथ माइतीघर नेपाल फर्कीएपछि हृदयघातबाट बितिन् । दिदीकै सम्झनामा १६औँ वार्षिकोत्सवलाई सेवामूलक बनाइएको संरक्षक श्रेष्ठले बताए ।

    रस्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चाया, पोतो हटाउने, ट्याटु हटाउने आदि सेवा प्रदान गर्दै आएको अध्यक्ष एवं विरिष्ठ ब्यूटिसियन रस्मिला श्रेष्ठले जानकारी दिइन् ।

  • सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

    सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।
    सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
    गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का सङ्घीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन् । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।
    सबइन्जिनियर यादवले डिपिआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।
    बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलङ्का टापुमा चार हजार पाँच सय घर धुरीका १० हजारबढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए । उनले पुल बनेपछि श्रीलङ्का टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।
    श्रीलङ्का टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुङ्गे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए । उनले भने, ‘यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिङ्गो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ ।’
    जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् । वर्षायाममा सप्तकोशीमा पानीको बहाब बढ्ने भएकाले डुङ्गाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए । श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उनको भनाइ थियो ।
  • युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

    युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

    काठमाडौं । युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।

    वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

    फिओडोसिया रूसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधासर शिविर हो।

    स्रोतले बताए अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशङ्का गरिएको छ ।

    वायुसेना कमान्डेन्ट माइकोला ओलेचचौकले फिओडोसियामा रहेको रुसी नौसैनिक आधारमा भएको ज्वलन्त विस्फोटको भिडियो पोस्ट गरेका छन् ।

  • फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

    फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

    काठमाडौं । नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् ।

    माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।

    यसैबिच, यो फिल्मलाई फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

    किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

    जापान र कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।

  • कसरी सुरू भयो बक्सिङ डे, के खेलसँग सम्बन्धित छ ?

    कसरी सुरू भयो बक्सिङ डे, के खेलसँग सम्बन्धित छ ?

    काठमाडौं। क्रिसमस धर्मालम्बीहरु क्रिसमस डेको भोलीपल्ट अर्थात डिसेम्बर २६ लाई बक्सिङ डेका रुपमा मनाउँछन्। युरोप र अमेरिकामा यही दिन हुने खेलहरुले पनि ‘बक्सिङ डे गेम’का रुपमा विशेष चर्चा पाउँछन्।

    तर बक्सिङ डे खेलसँग सम्बन्धित भएर मनाउन सुरु गरिएको भने होइन। महारानी भिक्टोरियाको शासनताका बक्सिङ डे सुरु भएको मानिन्छ। बेलायती सन्चार माध्यम बिबिसीका अनुसार नोकरहरुलाई उनिहरुका मास्टरहरुले बक्समा उपहार राखेर दिने र विदा पनि दिने कारण बक्सिङ डे सुरु भएको हो।

    मास्टरहरुबाट प्राप्त त्यस्ता क्रिसमस बक्सहरु नोकरले लगेर परिवारलाई दिने गर्थे। त्यसबाहेक चर्चहरुमा पनि वर्षभर जम्मा भएको रकम बक्समा जम्मा गरेर क्रिसमस डेको दिन खोलिने र भोलिपल्ट गरिबलाई वितरण गर्ने गरिन्थ्यो। यस्तो अभ्यास अहिले छैन।

    बक्सिङ डेका दिन बेलायतमा सार्वजनिक बिदा दिइन्छ र त्यो दिन शनिबार परे सोमबार र आइतबार परे मंगलबार सार्वजनिक बिदा दिइने गरेको बिबिसीले जनाएको छ।

    डिसेम्बर २६ तारिखको धार्मिक महत्व पनि छ। आयरल्यान्ड र स्पेनको क्यातालोनियामा सेन्ट स्टेफन डेका रुपमा यो दिनलाई मनाइन्छ। यस्तै हंगेरी, जर्मनी, पोल्यान्ड र नेदरल्यान्ड्सलगायत देशमा सेकेन्ड क्रिसमस डे भन्ने गरिन्छ।

  • टेलिकमद्वारा रुकुमकोटमा एनटी फाइबरको परीक्षण सेवा प्रारम्भ

    टेलिकमद्वारा रुकुमकोटमा एनटी फाइबरको परीक्षण सेवा प्रारम्भ

    काठमाडौं । नेपाल टेलिकमले रुकुमकोटमा एनटी फाइबर सेवाको परीक्षण सेवा प्रारम्भ गरेको छ ।

    टेलिकमले पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउनका लागि परीक्षण सेवा प्रारम्भ गरेको हो । परिक्षणको अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने टेलिकमले जनाएको छ ।

    परिक्षणका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत ‘१०२४’ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने समेत जनाइएको छ ।

    टेलिकमका अनुसार एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

  • कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

    कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

    कैलाली । कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ ।

    जिल्लाको घोडाघोडी नगरपालिका-१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

    घरको आगनमा बालेको आगो ताप्ने क्रममा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।

    घरमा कोहि नभएको अवस्था उनी बलिरहेको आगोमा लडेको र जलेर मृत्यु भएको उनले प्रहरी उपरीक्षक विकले बताए ।

  • नेपाल प्रहरीका सई सुतिरहेकै ठाउँमा मृत फेला

    काठमाडौं। नेपाल प्रहरीका एक जना नायब निरिक्षक–सई सुतिरहेकै अवस्थामा मृत फेला परेका छन्।

    सई बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित सिपाडोलमा रहेको घरमा मृत भेटिएका हुन्।

    बिहान मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो। ४४ वर्षीय घिमिरे प्रहरीको एक नम्बर गणमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

  • सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने नेकपा एसको निर्णय

    सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरुले मरणोपरान्त अंगदान गर्ने भएका छन् । हिजो बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

    नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अंगदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको जानकारी दिए ।

    ‘सचिवालय सदस्यको हकमा सबैले प्रतिवद्धता जनाएका छौं । यसैगरी, अन्य नेता कार्यकर्तालाई पनि आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

    नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अंग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अंगदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरुको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए । त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अंगदानसम्बन्धी प्रतिवद्धता जाहेर गर्ने कुरा भएको प्रवक्ता खतिवडाले बताए । अध्यक्ष माधव नेपाल पनि सकारात्मक भएपछि औपचारिक निर्णय लिइएको हो ।

    ‘अहिले किड्नी मुटु, कलेजोजस्ता धेरै संवेदनशील अंगहरु प्रत्यारोपण गर्न सकिने सुविधाहरु आएका छन् । मृत्युपर्यन्त अंगदानले धेरैको जीवन बाँच्न सक्छ । त्यसैले हाम्रो निर्णयले जनमानसमा पनि सकारात्मक सन्देश दिने आशा गरेका छौं,’ उनले भने ।