Author: Anisha Tiwari

  • बाँकेको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरे

    बाँकेको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरे

    रूपन्देही । बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा आगोमा जलेर मरेका छन्।

    गयराती आगलागी हुँदा इकाईमा रहेका मध्ये ६२ वटा बाख्रा मरेका हुन् । विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको आशंका गरिएको छ । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेकामध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

    प्रहरीका अनुसार स्थानीयवासी र त्यहाँका कर्मचारीले बिहान ६ बजे आगो निभाएका थिए । जिउँदा बाख्राको उद्दार समेत स्थानीय र कर्मचारीहरुले गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी नारायण डाँगीले बताए ।

  • पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना, १२ जना घाइते

    पोखरा । पोखराबाट पाल्पा रामपुर जादै गरेको जीप तनहुँको भिमादमा दुर्घटना भएको छ । पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप बुधबार बिहान भिमादमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

  • ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

    ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

    पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

    बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५०,०० रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५०,०० रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ ।

    ग्लोबल आइएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ ।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

  • बदलिएको जनसंख्या सूचक- ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय

    बदलिएको जनसंख्या सूचक- ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय

    काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको जनसङ्ख्या नियन्त्रणका लागि राज्यका धेरैवटा संरचना यही काममा लामो समय व्यस्त रहे । खासगरी सन् १९५९ मा परिवार नियोजन सङ्घको स्थापना गरेर सानो परिवारको अवधारणा अघि बढाउँदै जन्मदर नियन्त्रणमा राज्य अनवरत रुपमा प्रयासरत रह्यो ।

    राष्ट्रिय योजना आयोगले पनि तेस्रो पञ्चवर्षीय योजनाकाल (सन् १९६५-७०) देखि जनसङ्ख्या वृद्धिलाई समस्याका रुपमा लिँदै दस्तावेजमा समावेश गर्‍यो । यस दस्तावेजमा पनि जनसङ्ख्या नियन्त्रण र सानो परिवारलाई उत्प्रेरित गर्ने प्रकारकै थियो । त्यसबेला नेपालको जनसङ्ख्या वृद्धिदर २.८ प्रतिशतसम्म थियो । उच्च जन्मदर भए पनि उच्च मृत्युदरका कारण जनसङ्ख्याको आकार अस्वाभाविक रुपले बढ्न पाएको थिएन ।

    नेपालको जनसङ्ख्यामा नीति निर्माताको एकमात्र रटान जनसङ्ख्या नियन्त्रण कति जायज थियो ? जनसङ्ख्या वृद्धिलाई समस्या मात्र देख्ने त्यसबेलाका नीति निर्माताको सोच स्वदेशी थियो वा विदेशीले दिएको जुक्ति ? अहिले त्यो बहसको विषय छ । नेपालमा अहिले नै जनसङ्ख्यालाई यति सानो आकारमा सीमित गर्नुपर्दथ्यो कि पर्थेन भनेर अहिले विभिन्न मञ्चहरुमा बहस हुन थालेको छ । जब जनगणना २०७८ ले नेपालको जनसङ्ख्या वृद्धिदर ०.९२ मा सीमित भएको देखायो तब यसको असर प्रभावलाई नियालेका राजनीतिक पार्टीका नेतादेखि अन्य सरोकारवालाहरु पनि गम्भीर बनेका छन्  । वर्षौंदेखि तीन करोड नेपाली भन्दै आएको समाजको एउटा तप्कालाई सम्झाउनुपर्ने कुरा के छ भने अझै पनि नेपालमा तीन करोड नेपाली पुगेका छैनन् ।

    खासगरी २०६८ सालको जनगणनाले नेपालको जनसङ्ख्या वृद्धिदर १.३ प्रतिशतमा सीमित गरेपछि जनसङ्ख्या नीतिमा पुनःविचार गर्नुपर्दछ भन्ने मतहरु बाहिर आउन थालेका हुन् । २०७८ सालमा गरिएको जनगणनाको नतिजाले एक दशकमा करिब २७ लाख मानिस नेपालमा थपिएको र जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशतमात्र रहेको तथ्याङ्क सार्वजनिक गरेपछि सरकार मात्र हैन, सरोकारवाला निकायले पनि यसलाई एउटा सामाजिक बहसको विषय बनाएका छन् । हाल नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९४ हजार पाँच सय ७८ रहेको छ ।

    जनसङ्ख्या वृद्धिको प्रवृत्ति विश्वभरि नै घट्दो अवस्थामा रहेको छ । विभिन्न प्रक्षेपणहरुले सन् २०५० मा विश्वको जनसङ्ख्या सबैभन्दा उच्चतम् विन्दुमा पुग्ने अनुमान गरेका छन् । त्यसबेला विश्वमा १० अर्ब जनसङ्ख्या पुग्ने भनिएको छ । त्यसपछि क्रमशः जनसङ्ख्या ओरालो लाग्ने र कतिपय देशहरु त अति न्यून जनसङ्ख्या ‘डिपपुलेटेड’को स्थितिमा पनि पुग्ने हुन् कि भन्ने आशङ्का गरिएको छ ।

    वर्तमानका तथ्याङ्कहरुले नेपाललाई पनि त्यतैतिर डोर्‍याएको देख्न सकिन्छ । नेपालमा अहिले प्रजनन दर घटेर विस्थापन तहभन्दा मुनि अर्थात् २.० प्रतिमहिला पुगेको छ । बालबालिकाको जनसङ्ख्या ह्वात्तै घटेको छ । ज्येष्ठ नागरिकको सङ्ख्या उसैगरी बढेको छ । २०६८ सालमा कूल जनसङ्ख्याको तीन प्रतिशत रहेको ६० वषभन्दा माथिको जनसङ्ख्या अहिले बढेर सात प्रतिशत पुगेको छ । आगामी दशकमा यो सङ्ख्या बढेर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । अघिल्लो जनगणनामा हिमाल र पहाडका २७ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएका थिए यस जनगणनामा त्यो सङ्ख्या बढेर ३४ वटा पुग्यो ।

    जनसङ्ख्याको वितरण पनि उस्तै असन्तुलित छ । कूल भूभागको २३ प्रतिशत भूभाग ओगटेको तराईमा करिब ५४ प्रतिशत जनसङ्ख्या छभने ७७ प्रतिशत ओगटेका हिमाल र पहाडमा कूल जनसङ्ख्याको ४६ प्रतिशत जनसङ्ख्या बसोबास छ । तराईको उर्वर भूमिमा जनघनत्व बढेर खेतीयोग्य जमिन साँघुरिँदै गएको छ । पहाडका जमिनहरु पनि मानिसको अभावमा बाँझा भइरहेका छन् । जनसङ्ख्याको संरचनामा व्यापक असन्तुलन आएको छ । पहाडमा विकास त भइरहेको छ तर मानिसहरु बस्न चाहेका छैनन् । यसले समग्र जनसङ्ख्या नीति र विकास योजनामा नै राज्यले सोच्नुपर्ने भएको छ । जनसङ्ख्याको यो अवस्थालाई मध्यनजगर गर्दै केही महिना पहिला जनसङ्ख्यासम्बन्धी सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालले अब विकासको ढाँचा नै बदल्ने बेला आएको बताएका थिए ।

    प्रो नेटालिष्ट कि एन्टी नेटालिष्ट ?

    नेपालमा विकासको ढाँचाका अतिरिक्त जनसङ्ख्यासम्बन्धी नीतिमा व्यापक संशोधन गर्ने समय आएको छ । त्यो समय अहिले किन पनि उपयुक्त छ भने राष्ट्रिय योजना आयोग अहिले १६औँ पञ्चवर्षीय योजनाको तयारीका क्रममा छ । यही समयमा राज्यले आगामी पाँच वर्षका लागि नयाँ नीति र कार्यक्रम बनाउँदछ । जनसङ्ख्याका सम्बन्धमा राज्यले लिइरहेको ‘नियन्त्रण’को नीतिबाट अब खुकुलो नीति अवलम्बन गर्नेतर्फ केन्द्रित हुनु जरुरी छ । सैद्धान्तिक हिसाबले नेपालले हालसम्म अपनाएको जनसङ्ख्या नीतिलाई जन्मविरुद्धको नीति अर्थात् ‘एन्टी नेटालिष्ट पोलिसी’ भनिन्छ । अब त्यसलाई रोकेर जन्मका सम्बन्धमा दम्पतीलाई विवेक प्रयोग गर्न दिने कि जन्मपक्षीय वा ‘प्रो नेटालिष्ट पोलिसी’ अपनाउने भन्ने बहसको विषय छ ।

    नेपालले जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी १९९४)लाई अनुमोदन गरिसकेकाले एन्टी वा प्रोनेटालिस्ट भनेर कसैले निरुत्साहित वा कसैलाई अति प्रोत्साहित गर्न मिल्दैन भन्ने तर्कहरु पनि छन् । यस विषयमा अर्को तर्क पनि छ । लोपोन्मुख जातिलाई धेरैवटा बच्चा जन्माउन प्रोत्साहित गर्ने, त्यसका लागि राज्यले आमा तथा बच्चाका लागि निश्चित सुविधा उपलब्ध गराउनुपर्ने माग छ ।  ठूलो जनसङ्ख्या भएका जातिलाई नियन्त्रण वा प्रवद्र्धनका लागि प्रोत्साहित नगर्ने । यसमा उनीहरुले स्वविवेक प्रयोग गर्न सक्छन् ।

    राज्यले लिने जनसङ्ख्या नीतिले केही दशकभित्रै कस्तो परिणाम दिने रहेछ भन्ने कुरा छिमेकी चीनले करिब पाँच दशकबीचमा अपनाएका तीनवटा जनसङ्ख्या नीतिलाई हेरे पुग्छ । चीनमा बढ्दो जनसङ्ख्या वृद्धि र त्यसले सृजना गर्ने भयाभव परिणामको अनुमान गर्दै सन् १९७१ मा बच्चा जन्माउने क्रमलाई कडाइका साथ नियन्त्रण गर्ने नीति लियो । यो नीतिलाई विश्वभरि चीनको एक बच्चा नीति (वान चाइल्ड पोलिसी इन चाइना) भनेर चिनिन्छ । चीन सरकारले लागू गरेको यो नीतिबाट कैयौँ दम्पतीले धेरै सन्तानको चाहना भए पनि एउटै सन्तानमा चित्त बुझाए । वान चाइल्ड पोलिसी लागू गरेको करिब ४५ वर्षपछि जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनबाट चीनले आफ्नो पूर्वघोषित नीतिमा पुनः विचार गर्ने अवस्था सृजना भयो ।

    देशमा ज्येष्ठ नागरिकको सङ्ख्यामा वृद्धि, काम गर्ने जनशक्तिको अभाव आदि समस्या आउन थालेपछि सन् २०१५ मा चीन सरकारले वान चाइल्ड पोलिसीलाई खारेज गर्दै दुईवटासम्म बच्चा जन्माउने छुट हरेक दम्पतीलाई दियो । विभिन्न सूचकका आधारमा भविष्यको जनसङ्ख्याको प्रक्षेपण गर्दा दुई सन्तानले मात्र पनि चीनमा आवश्यक पर्ने भावी जनशक्तिको आपूर्ति हुन सक्ने देखिएन । यसले गर्दा उसले सन् २०१९ मा तीनवटासम्म बच्चा जन्माउन पाइने गरी नीति बदल्यो । तर एकपटक जनसङ्ख्या उच्च विन्दुमा पुगेर पुनः प्रजनन दर बढाउन विश्वमा गरिएका प्रयास सफल भएका छैनन् । त्यसैले जापान, नर्वे जस्तै चीनले पनि सन्तान उत्पादन वृद्धि गर्ने कुरामा उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन ।

    नेपालमा जनसङ्ख्या नीतिको  विगत 

    नेपालमा जनसङ्ख्यासम्बन्धी नीतिगत व्यवस्था प्रजातन्त्रको स्थापना भएपछि भएको हो ।  नेपालमा योजनाबद्ध विकासको थालनी २०१३ सालमा भयो यसै बेलादेखि जनसङ्ख्यासम्बन्धी नीति निर्माण सुरु गरिएको हो । पहिलो पञ्चवर्षीय योजना (१९५९–१९६१) र दोस्रो योजना १९६१–१९६५) मा पहाडको घना जनसङ्ख्यालाई तराईमा पुनर्वास गराउने नीति ल्याइयो । त्यस नीतिअन्तर्गत कञ्चनपुर, कैलाली, नवलरपरासी, चितवन, झापाजस्ता ठाउँमा निःशुल्क जग्गा वितरण गरेर ठूलो सङ्ख्यामा पहाडबाट मानिस तराईमा झारियो । त्यसबेला तराईको जनसङ्ख्याको आकार सानो भएको तर आवादी धेरै भएकाले तराईतर्फको बसाइँसराइ तीव्र पार्ने सरकारी नीति थियो । यसको अर्को कारण  पहाडको उत्पादनमुखी जमिनले त्यसबेलाको पहाड केन्द्रित घना जनसङ्ख्यालाई थेग्न नसक्ने अवस्था सृजना भएपछि त्यसलाई तराईतर्फ केन्द्रित गर्न थालिएको हो । यसै कार्यक्रमको अवसर सदुपयोग गर्दै  त्यसबेलाको बसाइँसराइको प्रवृत्तिलाई नयाँपन दिँदै पूर्वी पहाडका मानिस सुदूरपश्चिमको कैलाली कञ्चनपुरमा बसोबास गर्न गएका हुन् ।

    तेस्रो पञ्चवर्षीय योजना (१९६५–७०) देखि नेपालमा जनसङ्ख्या नियन्त्रणका लागि राज्यले औपचारिक रुपमा कदम चालेको हो । यसका जन्मदर घटाउने नीति अघि सारियो । सन् १९५९ मा स्थापना भएको परिवार नियोजन सङ्घमार्फत जनसङ्ख्या नियन्त्रणको प्रचारप्रसार पनि व्यापक गरियो । जन्मदर नियन्त्रण गर्नका लागि परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको वितरणलाई तीव्रता दिइयो ।  चौथो पञ्चवर्षीय योजना (१९७०–१९७५) देखि आठौँ पञ्चवर्षीय योजना (१९८५– १९९०) सम्म जनसङ्ख्या नियन्त्रण, परिवारको आकार घटाउने, परिवार नियोजनाका साधनको अपरिपूर्त मागलाई पूरा गर्ने, दुई सन्तानको अवधारणा विकास गर्नेलगायत कार्यक्रम अघि सारियो ।

    जनसङ्ख्या कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सन् १९८३ मा राष्ट्रिय जनसङ्ख्या रणनीति तय गरियो । यसको प्रमुख उद्देश्य पनि जनसङ्ख्या नियन्त्रण गर्नु यसका लागि जन्मदर घटाउनु नै थियो । यस रणनीतिले त्यसबेला भएको कूल प्रजनन दर ६.३ लाई सन् १९८५ सम्ममा ५.८ मा झार्ने यो दरलाई सन् १९९० सम्ममा ४.० मा झार्ने र सन् २००० को अन्त्यसम्ममा प्रतिस्थापन तह अर्थात् २.१ प्रति महिलामा झार्ने उद्देश्य राखेको थियो । आठौँ पञ्चवर्षीय योजना (१९९२–०९७) मा पनि जनसङ्ख्याको वृद्धिदरलाई नियन्त्रण गर्ने योसँगै मानिसको सामाजिक र आर्थिक हैसियत पनि उकास्नेतर्फ केन्द्रित थियो ।

    नवौँ पञ्चवर्षीय योजना (१९९७–२००२) जनसङ्ख्यालाई व्यवस्थित गर्दै २० वर्षभित्र प्रजनन दरलाई विस्थापन गर्ने नीति लिइयो । दशौँ पञ्चवर्षीय योजना (२००२–२००७) मा जनसङ्ख्या नियन्त्रणका लागि मुख्य तीनवटा उद्देश्य राखिएको थियो । पहिलो सानो र गुणस्तरीय परिवारको अवधारणा विकास गर्ने, दोस्रो विकासका हरेक काममा जनसङ्ख्यालाई एकीकृत गरेर लैजाने र तेस्रो बसाइँसराइलाई व्यवस्थित गर्ने । एघारौँ त्रिवर्षीय योजना (२००७–२०१०) मा गरिबी नियन्त्रणसँगै जनसङ्ख्या नियन्त्रण गर्ने विषयलाई प्राथमिकतामा राखियो । बाह्रौँ पञ्चवर्षीय योजना (२०१०–०१३) मा जनसङ्ख्या नियन्त्रणका लागि सरकारी, निजी र समुदाय मिलेर नीति तयार गर्ने सानो परिवारको अवधारणा विकास गर्ने नीति लिइएको थियो । कूल प्रजनन दरलाई २.४ मा झार्ने लक्ष्य यसै योजनाको थियो । यस योजना कालमा नेपालीको औसत आयु ७१ वर्षमा पुर्‍याउने लक्ष्य राखिएको थियो ।

    त्यस्तै १३औँ त्रिर्षीय योजनाकाल (आव २०७०/७१–२०७२/७३) मा आइपुग्दा नेपालको जनसङ्ख्या वृद्धिदर घट्यो । २०६८ सालको जनगणनामा जनसङ्ख्याको वार्षिक वृद्धिदर १.३ प्रतिशत देखियो । अर्कोतिर सक्रिय उमेर समूह (१५–५९) वर्षको जनसङ्ख्या बढ्यो । देशले जनसाङ्ख्यिक लाभांश प्राप्त गरेको यस अवसरमा देशको नीति युवा जनसङ्ख्यालाई सदुपयोग गर्ने प्रकारको नै बनाइयो । यस योजनाले पनि परिवार नियोजनका साधानमार्फत जनसङ्ख्या वृद्धिदरलाई व्यवस्थापन गर्ने लक्ष्य राख्यो । २०७१ सालमा ल्याइएको राष्ट्रिय जनसङ्ख्या नीतिमा पनि सानो परिवारको अवधारणा कार्यान्वयन गर्ने भन्दै जनसङ्ख्या नियन्त्रणलाई नै प्राथमिकतामा राखियो ।

    चौधौँ पञ्चवर्षीय योजना (२०७३/७४–२०७५/७६) योजनाकालसम्ममा नेपालको जनसङ्ख्या वृद्धिदर उल्लेख्य मात्रामा घटिसकेको भए पनि योजना आयोगको नीतिको पहिलो वाक्यमा नै ‘जनसङ्ख्याको उच्च वृद्धिदर’ भन्ने शब्दावली राखिएको छ । यस योजनाकालमा सानो र गुणस्तरीय परिवारलाई प्रवद्र्धन गर्ने नीति लिइएको थियो । यसको अर्थ जन्मदर घटाउनप्रति नै यो योजना पनि उद्यत थियो । यसैगरी १५औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा जनसङ्ख्या व्यवस्थापन र बसाइँसराइलाई उचित व्यवस्थापन गर्ने नीति अघि सारिएको थियो ।  यो योजना जनसङ्ख्या नियन्त्रणका विषयमा मौन रह्यो ।

    पोलिसी डिपार्चरको उपयुक्त समय     

    नेपालमा योजनाबद्ध विकासको थालनी भएको ६७ वर्ष पुगेको  । यस अवधिमा राष्ट्रिय योजना आयोग १६औँ पञ्चवर्षीय योजना (२०८०/८१–२०८५/८६) को तयारीमा छ । यस अवधिमा नेपालको जनसङ्ख्याको क्षेत्रमा अनेक उतारचढाव भएका छन् । जनसङ्ख्याका धेरै सूचकहरु बदलिएका छन् । जनसङ्ख्याका मुद्दाहरु फेरिएका छन् । करिब सात दशक जनसङ्ख्या नियन्त्रणमा नीति केन्द्रित गरेको नेपालले अब सन्तुलित बसाइँसराइमा ध्यान दिनुपर्ने देखिन्छ । जसरी पहिलो पञ्चवर्षीय योजनामा पहाडबाट तराईमा जनसङ्ख्या बढाउन क्षेत्रीय पुनर्वास कार्यक्रम ल्याइएको थियो ।

    सोह्रौँ योजनाकालमा आइपुग्दा परिस्थिति ठीक उल्टो भएको छ । अहिले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा तराईमा छ । पहाड र हिमाल खाली हुने क्रममा छ । त्यसैले अब कसरी हुन्छ पहाडमा बस्ती बसाउनु, त्यहाँको जनसङ्ख्यालाई त्यतै बस्न सक्ने वातावरण सृजना गर्ने नीति बनाउने समय आएको छ । जसरी हिजो पहाडबाट तराईमा पुनर्वास हुन चाहनेलाई निःशुल्क जग्गा सरकारले उपलब्ध गराएर मानिसलाई आकर्षण गरेको थियो । त्यसैगरी आज पहाडमा केही न केही सहुलियत दिएर मानिसलाई आकर्षण गर्नुपर्ने समय आएको छ ।

    राष्ट्रिय जनगणना २०७८ को नतिजाका सूचकहरु केलाउँदा नेपालमा जनसङ्ख्याको भौगोलिक स्थानान्तरण (हिमाल र पहाडबाट तराईतर्फ), उमेरगत स्थानान्तरण (बालबालिकाबाट क्रियाशील उमेरको सङ्ख्या बढेको) को अवस्था छ । त्यसैले हामीले नीतिगत स्थानान्तरण पनि यही विन्दुबाट सुरु गर्नुपर्दछ । यी त स्वेदशभित्रको आन्तरिक बसाइँसराइको कुरा भयो । वैदेशिक रोजगारीमा जाने ठूलो समूह र उच्च अध्ययनमा नाम विदेश जाने झन् ठूलो सङ्ख्याका किशोर तथा युवालाई रोक्ने कार्यक्रम ल्याउन पनि ढिलाइ गर्नु हुँदैन ।

    (लेखक पत्रकार हुनुहुन्छ)

  • ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध

    ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले भने, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ ।’

    प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंको तीनकुने केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरका विभिन्न क्षेत्रमा उक्त सरकारीले सेवा दिएको र सोही क्रममा सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको ठूलो रकम हिनामिना गरेको पाइएको बताए । अहिलेसम्मको अनुसन्धानमा १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको उनले बताए । यसरी रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ ।

    कठायत र ओझाले सर्वसाधारणलाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका पारी रकम सङ्कलन गरेका थिए । समय पुगेपछि उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिएको तथा लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन आवश्यक पहल नगरी संस्था नै बन्द गरेर फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

  • समस्यामा परेका यी उद्योगले पाउँछन् ५ करोडसम्म कर्जा

    समस्यामा परेका यी उद्योगले पाउँछन् ५ करोडसम्म कर्जा

    काठमाडौं । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी समस्यामा परेका विभिन्न उद्योगले ५ करोडसम्म कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निकालेको सूचनाअनुसार समस्यामा परेका कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनले यो सुविधा लिन सक्ने छन् ।

    ‘मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र संचार, थोक तथा खुद्रा विक्री, पर्यटन, शिक्षा एवम् स्वास्थ्य, निर्माण (सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगहरुले पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने छन् । भने, ऋणीले कर्जा लिएको बैंक वा वित्तीय संस्थामा अनुरोध गरेमा उक्त संस्थाले उद्योग तथा व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा पाकेको ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी २०८० चैत मसान्तसम्म पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्दछ,’ नेपाल राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ ।

    कर्जाको पुनरतालिकीकरण भन्नाले कर्जाको भुक्तानी अवधि परिवर्तन गर्ने प्रक्रियालाई बुझिन्छ । भने, पुनरसंरचना भनेको कर्जाको प्रकृति वा सर्तमा परिवर्तन गर्ने प्रक्रिया हो ।

  • भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

    भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरुलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

    सोमबार काठमाडौँमा आयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रूतरुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको बताएका छन् ।

    उनले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको बताउए ।
    उनले नेपालमा होटल, केवलकार, थिम पार्क, साहशी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे ।

    “नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ । म भारतीय लगानीकर्ताहरुलाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगसँगै पर्यटकको आगमन बढेको छ । यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिनसक्ने वातावरण बनाइदिएको छ,” उनले भने ।

    उनले नेपालमा परम्परागत क्षेत्रभन्दा बाहिर रहेका नयाँ र उदीयमान क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रमा लगानीका लागि सहकार्य गर्नका लागि समेत आग्रह गरे । नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गरे ।

    नेपालमा भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पुर्‍याउने नभई दुई देशबिचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उनले व्यक्त गरे । अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल सरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्ताहरुलाई सक्रिय सहभागिताका लागि आमन्त्रण समेत गरे ।

    हालै भारतीय विदेशमन्त्री जय शंकरको भ्रमणको अवसरमा नेपाल र भारतबिच १० हजार मेगावाटसम्म नेपालको विद्युत भारतीय बजारमा लिने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई ठूलो अवसर सृजना गरेको उनले बताए ।

    अध्यक्ष ढकालले क्षेत्रीयरुपमा व्यवसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवद्र्धन गर्न आफूले बिम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेको बताउँदै त्यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न इन्डियन च्याम्बर अफ कमर्शलाई आग्रह गरेका छन् ।

  • ४३ करोड बक्यौता रहेको हुलास स्टीलको बिजुली काटियो

    ४३ करोड बक्यौता रहेको हुलास स्टीलको बिजुली काटियो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।

    प्रधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो । उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

    प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ । यसमध्ये हिमाल स्टीले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहलिो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको थियो ।

  • राष्ट्रपतिलाई ‘मोरल अथोरिटी’ प्रयोग गर्न प्रबुद्ध नागरिकको सुझाव

    राष्ट्रपतिलाई ‘मोरल अथोरिटी’ प्रयोग गर्न प्रबुद्ध नागरिकको सुझाव

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक समाजका अगुवा तथा प्रवुद्ध व्यक्तिले देशमा देखिरहेका वेथिति र अव्यवस्थालाई अन्त्य गरेर मुलुकलाई सही बाटोमा हिडाउन ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएका छन् ।

    सोमवार राष्ट्रपति निवासमा भएको छलफलमा प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई संविधानले कार्यकारी भूमिका नदिए पनि अभिभावकको हैसियतले नैतिक अधिकार प्रयोग गरेर सम्बद्ध पक्षलाई सही मार्गमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् ।

    सत्तामा रहेकाहरूको आचरण र व्यवहारबाट लोकतन्त्र कमजोर बनाउन चाहनेलाई बल नपुगोस भन्ने तर्फ सचेत रहँदै लोकतान्त्रिक प्रणाली र व्यवस्थालाई मजबुत बनाउन ‘मोरल अथोरिटी’ प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले नेपाल प्रेससँग बताए ।

    उनले भने–मबाहेक अरु पनि थियौं । हामीले राष्ट्रपतिज्यूलाई नैतिक अधिकार प्रयोग गरेर बेथिती,भ्रष्टाचार र विश्वविद्यालयको सुधारजस्ता विषयमा बलियो लबिङ गर्न सुझाव दिएका छौं । संविधानले राष्ट्रपतिलाई सीमा तोकेको छ तर देशको अभिभावको हैसियतले नैतिक अधिकार प्रयोग गर्दा धेरै गर्न सकिन्छ ।

    राष्ट्रपति पौडेललाई भेटेर सुझाव दिनेहरूमा दमननाथ ढुंगाना, डा.देवेन्द्रराज पाण्डे, होमनाथ दाहाल, प्राध्यापक पिताम्वर शर्मा र केदारभक्त माथेमा थिए ।

    माथेमाका अनुसार भेटमा संघीयतालाई सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति दिलाउन, सेवा प्रभावलाई चुस्त र प्रभावकारी बनाउन, दलीय भागबण्डाबाट आक्रान्त विश्वविद्यालयलाई त्यसबाट मुक्त गर्न र जनतामा देखिएको निराशालाई कम गर्न राष्ट्रपतिले संविधान प्रदत्त अभिभावकीय भूमिका र ‘मोरल अथोरिटी’ प्रयोग गर्नै पर्ने अवस्था सृजना भइसकेको सुझाव दिइएको थियो ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिक अगुवासँगको भेटको पुष्टी गर्दै उहाँहरूले लोकतन्त्र, संघीयता, सुशासन सुदृढीकरण र शिक्षा क्षेत्रको वेथिती अन्त्य गर्ने विषयमा महत्वूर्ण सुझाव दिएको बताए ।

  • राष्ट्रियसभा निर्वाचन : बागमतीमा १५ जनाको उम्मेदवारी

    राष्ट्रियसभा निर्वाचन : बागमतीमा १५ जनाको उम्मेदवारी

    हेटौँडा । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त हुने चार सदस्य पदको लागि १५ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा सत्तारुढ दलको तर्फबाट ४ जना तथा विपक्षी दलहरुको तर्फबाट ११ जना गरि १५ जनाको उम्मेदवारी परेको हो ।

    बागमतीमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले चारवटा सीट भागवण्डा गरेका छन् । सत्तारुढ दलको तर्फबाट नेपाली कांग्रेसले २ तथा माओवादी केन्द्र र एकिकृत समाजवादीले एक–एक सीटमा उम्मेद्वारी दर्ता गरेका छन् ।

    सत्तारुढ दलको तर्फबाट नेपाली काग्रेसका जितजंग बस्नेत (अन्य) र विष्णुदेबी पुडासैनी (महिला) क्लस्टरबाट उम्मेद्वारी दर्ता गरेका हुन् । माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी तथा एकिकृत समाजवादीको तर्फबाट दलित कोटामा घनश्याम रिजालले मनोनयन दर्ता गरेका छन् ।

    एमालेको तर्फबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि चारजनाको उम्मोद्वारी परेको छ । नेमकिपाको तर्फबाट अपांग तर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलितबाट संगीता नेपाली तथा महिलाबाट कृष्णलक्ष्मी दुवालले उम्मेद्वारी दिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट तीन जनाको उम्मेद्वारी परेको छ । राप्रपाबाट हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणी भट्टको उम्मेद्वारी परेको छ ।

    राष्ट्रियसभामा आगमी फागुन २० गतेबाट बागमती प्रदेश अन्र्तगतमा रहेका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको छ ।

    बागमती प्रदेशमा ११० प्रदेश सांसदको ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ । बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६, नेकपा एसको ५४२, राप्रपाको ७०८, नेमकिपाको १९७ ,हाम्रो नेपाली पार्टीको १०६, र स्वतन्त्रको १९ मतभार रहेको छ ।

  • लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

    लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

    रूपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेका दुई जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् । प्रस्तावक गिरिधारीलाल न्यौपाने र तुलसीप्रसाद चौधरी समर्थक रहेर पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्रीले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेर दाङकी तुलसाकुमारी केसीले महिलाको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् ।

    यसअघि एमाले जिल्ला पार्टी कार्यालयमा संक्षिप्त समारोहबीच पोलिटब्युरो सदस्य लिला गिरीले माला लगाएर पार्टीको उम्मेदवारको टिकट हस्तान्तरण गरेका थिए ।

  • जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

    जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

    काठमाडौं । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

    मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

    सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

    पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ ।

    सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० बर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि शनिबार जीबितै उद्धार गरिएको थियो ।

  • १२ वर्षपछि स्काउटको चुनाव हुँदै, स्थानीय परिषद् सदस्यका लागि १६१३ जनाको उम्मेदवारी

    १२ वर्षपछि स्काउटको चुनाव हुँदै, स्थानीय परिषद् सदस्यका लागि १६१३ जनाको उम्मेदवारी

    काठमाडौं । नेपाल स्काउटको निर्वाचनअन्तर्गत स्थानीय पालिका परिषद् निर्वाचनको उम्मेद्वार मनोनयन दर्ता सकिएको छ ।

    आइतबार भएको मनोनयन दर्तामा देशभरबाट स्थानीय परिषद् सदस्यका लागि १६१३ जनाले उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन समितिका संयोजक मुकुन्द अधिकारीले बताए ।

    २०६८ सालपछि निर्वाचन गर्ने प्रयोजनका लागि बनेका ४ वटा तदर्थ समितिहरूले स्काउटको निर्वाचन गराउन सकेका थिएनन् । करिब १२ वर्षपछि हुन लागेको नेपाल स्काउटको स्थानीय, प्रदेश र केन्द्रीय परिषद्को निर्वाचनमा उत्सहजनक सहभागिता देखिएको छ ।

    नेपाल स्काउटले पूर्वनिर्धारित निर्वाचन तालिकाअनुसार आइतबार स्थानीय परिषद् सदस्य निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता गराएको हो । आइतबार मनोनयन दर्ता गराएका उम्मेद्वारहरुको निर्वाचन पुस २७-२९ सम्म हुनेछ । भने प्रदेश र केन्द्रीय परिषद्को निर्वाचान काठमाडौंमा हुने नेपाल स्काउटले जनाएको छ ।

  • बोगटानको दुर्गम सेउडेखेतमा स्वास्थ्य ईकाई स्थापना

    बोगटानको दुर्गम सेउडेखेतमा स्वास्थ्य ईकाई स्थापना

    काठमाडौं । डोटीको दुर्गम क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–१ को सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना भएको छ ।

    बोगटान फुड्सिल गाउँपालिका–१ र बढीकेकेदार गाउँपालिका–५ का गरी एक सय १२ परिवारलाई आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउने गरी स्थापना भएको स्वास्थ्य ईकाईको आईतवार गाउँपालिकाका अध्यक्ष कमलवहादुर गड्सिला र उपाध्यक्ष बिष्नादेवी बमले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    उद्घाटनको क्रममा गाउँपालिकाका अध्यक्ष गड्सिलाले स्वास्थ्य इकाइबाट प्रदान हुने स्वास्थ्य सेवाको निरन्तरता र स्तरीकरणको लागि गाउँपालिकाले जिम्मेवारी लिने वताए । ‘नागरिक स्वस्थ भएमात्रै समाज र मुलुकको समृद्धि हुन सक्छ’ अध्यक्ष गड्सिलाले भने ‘गाउँपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको छ ।’

    यस क्षेत्रका बासिन्दालाई आधारभूत स्वास्थ्य सुविधा लिनका लागि धेरै समस्या हुने भएको कारण स्वास्थ्य ईकाई स्थापना गरिएको बोगटान फुड्सिल गाउँपालिका–१ का वडाध्यक्ष खेमवहादुर घर्तिमगरले वताए । ‘यो स्वास्थ्य ईकाईबाट बोगटान गाउँपालिकाका सेउडेखेत, झ्यामतोला, गुइनडा र बडिकेदार गाउँपालिकाका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दाले सेवा पाउनेछन्’ वडाध्यक्ष मगरले भने ‘परिवार नियोजन सेवा, ओपिडी सेवा, खोप सेवा, पोषण सेवा, गर्भवती जाँच लगायतका सेवा स्वास्थ्य इकाईबाट प्रदान हुने छन् ।’

    यसअघि यहाँका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन करीव ४ घण्टाको पैदल बाटो हिडेर जानु पर्ने अवस्था रहेको स्थानीय भीमवहादुर मगर बताउँछन् । उनी भन्छन् ‘सामान्य ज्वरो आएपनि चार घण्टा हिड्नु पर्ने वाध्यता रहेको थियो, अव केही सहज हुने आशा छ ।’ स्थानीय तुलक्षा मगरले स्वास्थ्य सेवा नियमित हुनु पर्ने माग गरिन् । उनले भनिन् ‘स्वास्थ्य सेवा सुरु भएको छ, अव यसलाई निरन्तरता दिनु पर्छ, एक दिन स्वास्थ्यकर्मी आउने तीन दिन नआउने भयो भने केन्द्र स्थापना गर्न आवश्यक छैन ।’

  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

    जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

    काठमाडौं । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।

    सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।

    भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मङ्गलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो ।

    स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् ।

    क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् ।

    जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपी मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् ।

  • घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

    घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

    सिमकोट (हुम्ला) । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् ।
    चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । कक्षा कोठाभित्र चिसो बढी हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको प्रधानध्यापक प्रेमकला बुढाले बताइन् ।
    प्रधानाध्यापक बुढाले भनीन्, “स–साना बालबालिकाले चिसोको समय हिउँदयाममा कक्षा कोठाभित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।” चिसोले कक्षा कोठाभित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानध्यापक बुढाले बताइन् । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
    बलभद्र आधारभूत विद्यालय साँतामा एक सय ६२ जना विद्यार्थी रहेका छन्भने कक्षा एकदेखि छसम्म पठनपाठन हुँदै आएको छ । हाल आठजना शिक्षक विद्यालयमा कार्यरत छन् । वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालयमा हिउँदे बिदा हुने उनले बताए ।
    सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका आधारभूत,  माध्यमिक विद्यालयमा आजदेखि एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको छ । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लाका धेरै विद्यालयले खुला चौरको पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन् ।
    सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो बढेको छ । जिल्लामा हिमपात नभए पनि हिउँदयाममा चिसो अत्यधिक हुने गरेको छ । यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भयो भने जिल्लाको तापक्रम माइनस १५ डिग्रीबाट झर्ने गरेको छ ।
  • प्रकाश सपुतको ‘रुवावासी सेन्टर’ चर्चामा, कस्तो छ नयाँ गीत ?

    प्रकाश सपुतको ‘रुवावासी सेन्टर’ चर्चामा, कस्तो छ नयाँ गीत ?

    काठमाडौं । गायक प्रकाश सपुतका गीतहरु सँधै दर्शक/स्रोताका लागि प्रतिक्षित हुन्छन् । हरेक गीतमा नयाँ शैली र भिडियोमा सिर्जनशीलता उनको विशेषता हो ।
    सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ को भिडिओ हिजो युट्युबमा रिलिज भएको छ । तत्कालै दर्शकहरु यसमा झुम्मिएका छन् । २१ घन्टासम्ममा ५ लाख २५ हजारपटक हेरिएको युट्युबको भिडियो शीर्ष ट्रेन्डिङतर्फ लम्किएको छ ।

    यो गीतको गायनमा सपुतलाई थप दुई गायक प्रताप दास र कुशल बेल्बासेले साथ दिएका छन् । सपुतको अघिल्लो गीत ‘दमाइ महाराज’ जस्तै भजन शैलीमा गाइएको हुँदा नयाँपनको महसुस हुँदैन । तर, भिडिओको अवधारणा विल्कुलै नौलो छ । ‘केटा मान्छेहरुलाई रुन एउटा ठाउँ चाहिन्छ’ भन्ने रोचक विषयवस्तु उनले अघि सारेका छन् ।

    केटाहरु रुनका लागि शहरमा खुलेको छ, रुवावासी केन्द्र । रुनलाई प्रेममा धोका खाएका युवाहरु त्यहाँ गएर रुन लाइन लाग्छन् । निश्चित शुल्क तिरेपछि उनीहरुलाई एउटा गाउन र आँशु पुछ्न रुमाल दिइन्छ । अनि एउटा कोठामा रुन्चे गीत सुन्दै केटाहरु छाति पिटिपिटि रुन्छन् ।

    हरेक कुराहरु व्यवसायीकरण भइरहेको जमानामा सपुतले ‘रुवावासी केन्द्र’ को अवधारणा वास्तवमा अविश्वसनीय पनि लाग्दैन । यो भिडियोबाट काटिएको ‘रुवावासी केन्द्र’को होडिङ बोर्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो नहेर्नेले साँच्चिकै हो कि भन्ने पनि ठानेका छन् ।

    गीतको शब्द र संगीत प्रकाश सपुतकै हुन् । भिडियोमा उनले कुशुम शर्मा उर्फ सकम्बरीलाई आफ्नो अनस्क्रिन जोडी बनाएका छन् । सपुतको गीत ‘फुलमाया’ बाट हिट भएकी कुशमले यो भिडियोमा भने त्यति धेरै स्पेस पाएकी छैनन् । यद्यपि, उनको ग्ल्यामर लुकले दर्शकलाई रिझाउने छ ।

  • युरोप पठाइदिने भन्दै साढे १९ लाख ठगी गरेको अभियोगमा मेनपावर सञ्चालक पक्राउ

    युरोप पठाइदिने भन्दै साढे १९ लाख ठगी गरेको अभियोगमा मेनपावर सञ्चालक पक्राउ

    काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने भन्दै १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि २० लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।

    पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ ।

  • बालेन भन्छन्- मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनुस् (भिडिओ)

    बालेन भन्छन्- मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनुस् (भिडिओ)

    काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगितामा करिब ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । उनले मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए ।

    उनले भने, ‘आजबाट शुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरुले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर बिस्तारै ५ हजार १० हजारले भाग लिनुहोस् । मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईहरुले आफूसँगै अरुलाई इन्स्पायर गर्नुस् ।’

    मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरेका छन् ।

  • सामसङले नयाँ वर्षमा ‘ग्यालेक्सी ए’ सीरीज र ‘ग्यालेक्सी एम’ सीरीजको मूल्य घटायो

    सामसङले नयाँ वर्षमा ‘ग्यालेक्सी ए’ सीरीज र ‘ग्यालेक्सी एम’ सीरीजको मूल्य घटायो

    काठमाडौं । सामसङले नयाँ वर्षका लागि आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरु प्रचलित मूल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ ।

    सामसङले ‘ग्यालेक्सी ए३४ फाईप जी’, ‘ग्लालेक्सी ए ०४ एस’, ‘ग्यालेक्सी ए ०४’ र ‘ग्यालेक्सी एम १४ फाइप जी’ गरी आफ्ना ५ वटा सर्वाधिक बिक्रीको सूचिमा रहेका मोबाइलको प्रचलित मुल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको दाबी छ । सामसङले पाँच वटै मोबाइलहरुको मुल्यमा २ हजार रुपैयाँ कम गरेर उपलब्ध गराउने भएको हो ।

    सामसङले ४५ हजार ९९ रुपैयाँ रहेको ‘ग्यालेक्सी ए ३४ फाईप जी’ लाई ४३ हजार रुपैयाँमा उपलब्ध गराइरहेको छ । त्यस्तै, २१ हजार ९९ रुपैयाँ कायम गरीएको ‘ग्लालेक्सी ए ०४ एस’ लाई १९ हजार ९९९ रुपैयाँ, १६ हजार ९९ रुपैयाँ रहेको ‘ग्यालेक्सी ए ०४’ लाई १४ हजार ९९९ रपैयाँ, २४ हजार ९९९ रुपैयाँ रहेको ‘ग्यालेक्सी एम १४ फाइप जी’ लाई २२ हजार ९९९ रुपैयाँ र १७ हजार ९९९ रुपैयाँ रहेको ‘ग्यालेक्सी एम ०४’ को मूल्यलाई १५ हजार ९९९ रुपैयाँमा झारेको छ ।

    सामसङको ‘ग्यालेक्सी ए’ सीरीज किफायती मूल्यमा पाइने उपकरण हो भने एम सीरीज ‘प्रिफमेन्स ड्राईभन मनस्टर’ उपकरणको रुपमा परिचित छ ।