Author: Anisha Tiwari
-

मेलम्चीको पानी चार दिनपछि काठमाडौं आउने
काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ ।यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।’ करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए ।उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणासमेत गरेका थिए । मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गरेका थिए ।बाढीका कारण रोकिएको पानी काठमाडौं ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लाग्नुभएको मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाले जानकारी दिए । -

झलनाथको आह्वान- राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने संकल्प गरौं
काठमाडौं । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ अघि बढाउने संकल्प लिन आह्वान गरेका छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अब मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने बताए।
उनले भनेका छन्, अब हामीले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्दै, सामाजिक–आर्थिक रुपान्तरण गर्ने, मानिसले मानिसलाई गर्ने शोषणबाट मुक्त पार्ने, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई सुदृढ बनाउँदै समाजवादको बाटोमा अग्रसर भएर मात्र एकिकरणका योद्धाहरु, हाम्रा वीर पूर्खाहरु, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकांक्षा अनुरुपको समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न सक्छौं ।
तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकिकृत भएपछि नेपालको ऐतिहासिक एकिकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, त्यहि क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका ६० भन्दा बढी स–साना राज्यहरुलाई एकिकरण गर्दै हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र सौर्यको परिणाम स्वरुप हाम्रो मातृभूमि नेपाल एउटा स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विकसित भएको छ ।
-

दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो
सिमकोट (हुम्ला) । हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो ।जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम बस्ने चलन छ ।हिउँद खेतीपातीबाट फुर्सद हुने समय भएकाले भुवो पर्व हुम्लाका सबै गाउँमा परापूर्वकालदेखि मनाउने चलन छ । । यो पर्वमा सबैले मीठामीठा खानेकुरा एकआपसमा बाँडीचुँडी खाने परम्परा छ ।ठेहे गाउँका लागि विशेष पर्वजिल्लाको सबैभन्दा बढी जनसङ्ख्या र घर एकआपासमा जोडिएर ठूलो बस्ती रहेको सिमकोट गाउँपालिका–१,२ ठेहे गाउँमा भुवो पर्वलाई दसैँ, तिहारको जस्तै महत्वका साथ यो पर्व मनाउने गरेका छन् । गाउँभन्दा टाढा सरदमुकाम, अन्य गाउँबस्तीमा कामको सिलसिलामा रहेका ठेहेका बासिन्दा यो दिन घर आइपुग्छन् ।टाउको सेतो पटुकी, घाँटीमा पहेंलो कपडा, ऊनी बक्खु र कम्मरमा सेतो पटुकी बाँधेर भुवाखाडोमा पुरुष जम्मा हुने गर्छन्भने धामीझाँक्रीले सेतो बक्खु लगाउने प्रचलन छ ।युवा पुस्ताले भने गाउँमा कुटुम्बकी छोरीसँग पानी मागेर ठटेउली शब्द बोलेर रमाइलो गर्ने चलन रहेको रावलले बताउनुभयो । ठेहे गाउँमा बोहरा थरका युवाले भण्डारी र रावल थरका युवाले बोहरा थरका युवतीसँग पानी माग्दै उनीहरुका बुवाबाजेको नाम पुकार्ने चलन छ । एक टोलबाट कुटुम्बको अर्को टोलमा गएर पानी माग्ने चलन रहेको छ । बुढापाका भने रातभरि जाग्राम बसी भुवो देवता, देवीदेवताका भोजन, फाक, चाँची गाएर भुवोको अगेनु वरिपरि बसी गीत गाउने चलन रहेको सिमकोट गाउँपालिका–२ का हुनी बोहराले बताए ।आज बिहानपख दियालो सल्काएर गाउँ नजिकै खोला वा मुल पानीको धारो नजिकै भुवो विर्सजन गरी स्ननान गरेका छन् । हिउँदयामको माइनसमा झरेको तापक्रमको चिसोको कुनै पर्वाह नगरी नुहाउँछन् । बिहान सबेरै आफ्ना मान्यजनको घरमा गएर ढोक गर्ने चलन रहेको बोहराले बताए । राती भुवो खेल्दा मान्यजनको नाम पुकारेर गरेको गालीको माफी माग्न ढोग गर्न जाने चलन छ । आज दिनभरि नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शनका खेल, चुँढाल (तरबार) नाच, फुर्का खेल खेल्ने चलन भएको उनले बताए ।महाभारतको स्मरणमा भुवो पर्वमहाभारतका पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै हुम्लाका विभिन्न गाउँमा भुवो खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धकाबेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवोका गीत गाइन्छ । वनबासमा पाण्डवका भाइ पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने चलन रहेको बौद्धिक व्यक्ति तथा शिक्षक सूर्यमणि बोहराले बताए । भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा औँसीको अघिल्लो दिन राति मुढा सल्काइ रातभरि देउडा, भुवो गीत, फाँक, चाँची, भोस्सो, खेल्ने चलन रहेको बोहराले बताए ।शिक्षक बोहराले भने, ‘आज दिउँसो दायाँ हातमा तरबार र बायाँ हातमा ढाल समाइ बाजाको तालमा तरवार नाच नाच्ने चलन छ । पौराणिककालमा पाण्डव र कौरवबीच लडाईं हुँदा एक हातमा तरबार र अर्को हातमा ढाल समाइ गरेको सम्झनामा तरवार नाच खेल्ने गरिन्छ ।’ उनले भने, राति राँकेजुलुसको अर्को विशेषता पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरिन्छ । बोहरा थरका पुरुषले प्रत्येक टोलमा राँकेजुलुस निकालेर काठका दाउरा(मुणा) माग्ने गर्छन् ।पछिल्लो समय भुवो पर्वप्रति युवाको आकर्षण घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । यो पर्व हुम्लाका ठेहे, ताक्ला, राया, सर्किदेउ, उनापानी, रोडीकोट, राहदेव श्रीमष्ठा, मेल्छाम, दार्मा, मिमी, जैर, कालिका, श्रीनगर, मैला र मदाना गाउँमा भव्यरुपले मनाएका छन् । -

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
चितवन । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो । सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए ।
यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका–७ भालुमाराबाट पक्राउ गरिएको हो । उनी १७ वर्षदेखि फरार थिए ।
यस्तै निकुञ्ज र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारी खाग तस्करी गरेको आरोपमा १३ वर्षदेखि फरार रहेका जेठा र पुनमगरलाई पक्राउ गरिएको हो । दुवैजनालाई यही पुस २४ गते राप्ती नगरपालिका–११ सिमलटाडीबाट पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला अदालत चितवनले १५ वर्ष कैद तथा रु एक लाख जरिवाना तोकेको थियो । सो मुद्दामा चार जना प्रतिवादी रहेका थिए । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतलाई बुझाइएको सूचना अधिकारी तिवारीले बताए ।
-

दुर्घटनाको निगरानी गर्न काठमाडौं उपत्यकामा एएनपीआर क्यामेरा जडान
काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । जसलाई ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूम्रपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ ।आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।‘मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङमात्रै थाहा भयो, तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ, अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ’, मैनालीले भने ।‘मनिसले सत्य नबक्न पनि सक्छ, तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ’, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले थपे, ‘अहिले हामीले कोटेश्वरको मुनिभैरव, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रमा जडान गरेका छौँ ।’ आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ । उहाँका अनुसार चारवटा मुनिभैरवमा, चारवटा महाराजगञ्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ । त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ । त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ ।यसअघि प्रहरीलाई ‘हिट एण्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ ।केही दिनअघि जडान गरिएको उक्त क्यामेराका लागि काठमाडौँ महानगरपालिकाको सहयोग रहेको छ । यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ । अरु पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ, अब यो आर्थिक वर्षभरिमा काठमाडौँका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिए । रातिको समयका लागि समेत यसले काम गर्छ । गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ ।उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको छ । उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौँको प्राविधिक सहयोग रहेको छ । सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक–फरकरूपमा काम गर्ने बताए ।उनले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताए । हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ । भीडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उनले बताए । -

भरतपुर महानगरपालिकाले दश हजार किसानलाई दूधमा अनुदान दिने
चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई ६ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर एक रुपैयाँ र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर तीन रुपैयाँ अनुदान दिइँदैछ । गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा पाँच करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन् । उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो ।
किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ । अघिल्लो वर्ष दूधमा अनुदान रु पाँच करोड १० लाख दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । उनले भनीन्, “अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ ।”
महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए। उनले भने, “हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ ।” कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिए ।
महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्याइने उनले बताए ।
चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि रु आठ करोड विनियोजन गरेको थियो । पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ । पशुचौपायलाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ ।
-

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो । जङ्गलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
-

‘टाटा मोटर्स फन कार्निभल ३.०’ सुरु हुँदै, जुनसुकै ब्राण्डका पुराना गाडीहरु साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ को आयोजना गर्न लागेको छ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै ‘टाटा मोटर्स फन कार्निभल ३.०’ मेलाको आयोजना गरिएको हो ।
मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ जनाइएको छ ।
यहि पौष २७ गतेदेखी पौष २९ गतेसम्म हुने मेला उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंजमा आयोजना गरिएको छ ।
‘फन कार्निभल ३.०’ मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्न सक्नेछन् ।
कार्निभलको मुख्य उदेश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
-

र्याप गीतको महायुद्ध ‘र्याप व्याटल नेपाल’ प्रसारणमा आउँदै
काठमाडौं । र्याप गीतको महायुद्ध ‘र्याप व्याटल नेपाल’ टेलिभिजन रियालीटी शो प्रसारणमा आउने भएको छ ।
बुधबार आयोजक युजिसा इन्टरनेशल र सह आयोजक राज्य मिडिया नेटवर्कले पत्रकार सम्मेलन आयोजना गर्दै टेलिभिजन रियालीटी शो प्रसारणमा आउने बताएको हो ।
एपी वान टेलिभिजनबाट प्रसारणमा आउन लागेको ‘र्याप व्याटल नेपाल’ आयोजक कम्पनी युजिसा इन्टरनेशलका एक्जिक्युटिभ डाईरेक्टर सानु खानले बताए ।
उनले भने, ‘एपीवान टेलिभिजनबाट आगामी अप्रिलदेखी र्याप व्याटल नेपाल प्रसारण हुनेछ, हामी हाल अडिसनको तयारीमा जुटेका छौँ, फेव्रवरीबाट अडिसन सुरु गर्नेछौं ।’
शो का ईभेण्ट निर्देशकसमेत रहेका खानले नेपाली सांगितिक फाँटसहित बलिउड फिल्म नगरीबाटसमेत अतिथि जर्ज निर्णयककारुपमा रहने उनले बताए ।
‘र्याप व्याटल नेपाल’ को अडिसन नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, झापा, ईटहरी, चितवनसहित सिमापारी दार्जिलिङ, सिलिगुढि र सिक्किममा पनि गर्ने कार्यक्रम रहेको ईभेण्ट डाईरेक्टर डेभिल सिंह राजपुतले बताए ।
शो को अडिसन दार्जिलिङ्गमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फाल्गुण ०२, ईटहरीमा फाल्गुण ०५, चितवन फाल्गुण ०९, पोखरा फाल्गुण १२ र काठमाण्डौंमा १८ एवं १९ गते गर्ने तय गरिएको छ ।
त्यस्तै, सह आयोजक कंपनी राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं ईभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगितिक माहौलमाझ रम्ने वातावरण शोले दिने बताए ।
‘युवासहित सबै किसिमका दर्शकलाई सांगितिक माहौलमाझ रम्ने वातावरण यस शोले दिनेमा हामी विश्वस्त छौँ, त्यसबाहेक पनि युवाहरुलाई स्वदेशभित्रै रहेर केही गर्न सन्देश दिने उदेश्य यस शो ले बोकेको छ’, ओझाले भने ।
विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले बताए ।
-

धनुषाको जलाद खोला अबैधरुपमा उत्खनन गर्दा सात ट्रयाक्टर प्रहरीको नियन्त्रणमा
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ४ स्थित जलाद खोलामा अबैध रुपमा उत्खनन गर्दा प्रहरीले सात वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
आज बिहान अत्यधिक कुहिरो लागेको मौका छोपेर नदी उत्खनन गरिरहेको बेला ईलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । वालुवा उत्खनन गर्ने चालक र मजदुरलाई भने नियन्त्रणमा लिइएको छैन् ।
प्र २-०२-००१ त २०४९, प्र २-०२-००१ त १६५४, प्र २-०२-००१ त १५२२, प्र २-०२-००१ त १९२, ज १ त ४४७७, ज १ त ४२४८ र ज १ त ९७९७ नम्वरको ट्रयाक्टर ढल्केबर प्रहरी नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जलाद खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्दा असअघि पनि पटक-पटक प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ । तर पनि अबैध उत्खनन रोकिएको छैन् ।
-

गोकर्णेश्वरमा गया श्राद्ध गर्नेको भीड
काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ ।गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए । पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले बताए ।दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ ।यसै आधारमा आज राजधानीको गोकर्णेश्वर उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिइ गरिने श्राद्ध शास्त्रीयरुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउछन् ।‘महालय परपक्ष र पितृपक्षसमेत भनिने सोह्रश्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघरतिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ’, उनले भने ।श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसैकसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ । -

राष्ट्रिय भलिबलको उपाधीका लागी पुलिस र एपीएफ भिड्दै
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।
बुधबार वीरेन्द्रनगरस्थित खुलामञ्चको भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–० ले हराँउदै पुलिस फाइनलमा पुगेको हो । बिहीबार हुने फाइनलमा पुलिसले साविक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिसले आर्मीलाई २५–२१, २५–२३ र २५–१९ ले पराजित गरेको थियो । दोस्रो सेटमा २ अंकले पुलिसले सेट जितेको थियो भने तेस्रो सेटमा पुलिसले ५ अंकको कायम राखेको थियो ।
साथै, आजै भएको पहिलो सेमिफाइनलमा एपिएफले गण्डकीलाई २५–२३–२५–२० र २५–१५ ले पराजित गरेको थियो ।
अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो । त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो । समूह ए बाट दोस्रो हुँदै पुलिस सेमिफाइनल पुगेको थियो ।
बिहीबार भोलि प्रतियोगिताको एउटै समूह चरणमा रहेका एपिएफ र पुलिसबीच फाइनल र आर्मी र गण्डकीबीच तेस्रो स्थानको खेल हुनेछ ।
-

चलचित्र ‘एक्टर’मा नायिका आना शर्मा अनुबन्धित, प्रदीप खड्कासँग जोडी बाधिँने
काठ्माडौं। नायक प्रदीप खड्का मुख्य भूमिकामा रहने फिल्म ‘एक्टर’मा नायिका आना शर्मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो ।
आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुर्इको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह–निर्मातामा भने एनिस भुसाल रहेका छन् ।
फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।
फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ ।
-

२०२४ मा विश्वभरको आर्थिक वृद्धिदर घट्ने, नेपालको आगामी वर्ष ५ प्रतिशत हुने
काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण छ ।
चालु आर्थिक वर्षमा (२०८०/८१) भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै सार्वजनिक गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत भएको थियो ।
सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो । विकासशील अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ ।
अतिकम विकसित मुलुकहरुको आर्थिक वृद्धि पनि थप कमजोर हुने देखिएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार अतिकम विकसित मुलुकहरुको आर्थिक वृद्धि ५.५ प्रतिशतमा झर्नेछ ।
-

राजु गिरीको फिल्म ‘ईश्वर’मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित
काठमाडौं । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्म ‘ईश्वर’को मुख्य भुमिकामा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । राजु गिरीको निर्देशनमा फिल्म निर्माण घोषणा केही समय पहिले गरिएको थियो। फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ ।
फिल्ममा यसअघि नै कलाकारको रुपमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्माको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
-

कर्मचारी सञ्चय कोषका योगदानकर्ताको दम्पतीलाई नै अब यस्तो सुविधा
काठमाडौं । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।आगामी फागुन १ गतेदेखि साविक सञ्चयकर्तालाई मात्र उपलब्ध गराइएको सो सुविधा सञ्चकर्ताका पति वा पत्नीलाई पनि प्रदान गरिने कोषले जनाएको छ । उक्त सुविधा सञ्चालका लागि अस्पतालको सूची तयार भइरहेको कोषले जनाएको छ । कोषले सूचीकृत अस्पतालमा मात्र सञ्चयकर्ता वा पति तथा पत्नीको उपचार गराइ कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न अनुरोध गरेको छ ।कोषले सञ्चयकर्तालाई वित्तीय सेवा र सामाजिक सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्तालाई विशेष, घर, शैक्षिक र घर मर्मत सापटी, जग्गा खरिदमा कर्जा तथा स्वास्थ्य उपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी एवं शिशु स्याहर र दुर्घटना क्षतिपूर्ति प्रदान गर्दै आइरहेको छ ।२०१९ सालमा स्थापना भएको कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिका निमित्त सञ्चय कोष व्यवस्थापनको काम गर्दै आएको छ । कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षाका सुविधा प्रदान गर्नुका साथै नयाँ सुविधा पनि थप गर्दै आइरहेको छ । कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता सूचीकृत छन् । -

नारायणगढ-मुग्लिन सडक तीन साता बन्द हुँदै
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए ।उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उनले जानकारी दिए ।उनले भने, ‘अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई/तीन घण्टा राम्रो गरी काम भएको छ ।’ यथाशीघ्र छिटो काम सक्न भनिएको उनले बताए । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ ।गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । -

फ्रान्सको सबैभन्दा कान्छो ३४ वर्षीय ग्याब्रियल एटल प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन् ।धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गरेका थिए । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिन ले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेको बेला यसै साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रका राष्ट्रपतिले श्री ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ ।’फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गरेका छन् । जनताबाट लोकप्रियता हासिल गर्न आवश्यक नभए पनि आफ्नो विनम्र र बकवास आचरणले एटलले सहकर्मीहरूबाट सम्मान पाएका छन् । उनी राजनीतिकरूपमा महत्त्वपूर्ण शिक्षा मन्त्रालयमा आफ्नो कार्यकालपछि सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् ।सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो । यद्यपि आन्तरिकमन्त्री गेराल्ड डर्मानिन तथा वित्तमन्त्री ब्रुनो ले माइरेसहित तनावको पछाडि रहेका भनिएका नजिकका स्रोतहरूले यसको कडा खण्डन गरेका छन् ।एटलको तुलना उनका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।एटलको अधिक लडाकू शैली उनका पूर्ववर्ती बोर्नको विपरित हुने सम्भावना छ । यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग अपरिहार्य भएको छ । म्याक्रोन ३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए ।एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड सजिलै तोडेका छ । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा फ्रान्सेली राष्ट्रपतिले आफ्नो कार्यकालको सीमा नाघ्दा एटलले एलिसी प्यालेसमा म्याक्रोनको स्थान लिन सक्नुहुने अनुमान गरेका छन् । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले भनेको थियो, ‘ग्याब्रिएल एटल, नयाँ म्याक्रोन ?’आफ्नो आत्मविश्वास र राम्रो अनुहारका रूपमा जानिने एटलले स्वयंलाई म्याक्रोनको सरकारको सबैभन्दा महत्त्वाकांक्षी मन्त्रीहरूमध्ये एक प्रमाणित गरेका छन् । यद्यपि आफ्नो सापेक्ष अनुभवहीनताका बावजुद उनले दृढ र निर्णायक व्यक्तिका रूपमा ख्याति कमाएका छन् ।गत साता प्रकाशित ओडोक्सा सर्वेक्षणअनुसार एटल सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति छन् । एक तिहाइभन्दा धेरै मानिसले प्रधानमन्त्रीका रूपमा उनको नियुक्तिलाई समर्थन गरेका छन् ।राष्ट्रपतिसँग सम्बन्धित नजिकको स्रोतले भनेको छ, ‘युवा, जनमत र युरोपेली निर्वाचन अभियानको नेतृत्व गर्ने वास्तविक वा सम्भावित क्षमताले छनोटमा फरक पारेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक मन्त्रीले भनेका छन्, ‘उहाँ लोकप्रिय हुनुहुन्छ, युवा हुनुहुन्छ र उहाँ म्याक्रोनले बनाएको व्यक्ति हुनुहुन्छ ।’ -

चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो
काठमाडौं । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।
चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ ।
चीनको रेल क्षेत्रमा लगानी १०७.७ विलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो ।
सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् । जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेशनमा सेवाको शुरुवात् तथा निर्माणाधीन ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।
-

दक्षिण कोरियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने
सोल । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, वध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् ।कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो । यद्यपि ठूलो सङ्ख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्ररूपमा घटेको छ ।युवा, सहरी दक्षिण कोरियालीबीच कुकुरको मासु खान वर्जित छ र सरकारमाथि पशु अधिकारकर्मीहरूका तर्फबाट यो अभ्यासलाई गैरकानूनी घोषणा गर्न दबाब बढिरहेको छ ।प्रतिबन्धका लागि आधिकारिक समर्थन राष्ट्रपति युन सुक येओलको नेतृत्वमा बढेको छ । उनी आफूलाई पशुप्रेमी दाबी गर्छन् । राष्ट्रपति युनले कुकुरको मासुको खपतको प्रमुख आलोचक प्रथम महिला किम केओन–हीसँग आवारा कुकुर र बिराला पालेका छन् ।सत्तारूढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुई जनाको अनुपस्थितिका साथ २०८–० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युनबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागू हुनेछ ।कानूनअन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर) जरिवाना लाग्नेछ ।“अब ‘कुकुर खाने देश’ का रूपमा आलोचना गर्नुको कुनै औचित्य छैन”, विधेयक प्रस्ताव गर्ने सत्तारूढ पिपुल्स पावर पार्टीका सांसद थाए योङ– होले भने, “सत्तारूढ, विपक्षी दलहरू तथा सरकारले अब पशु अधिकारको रक्षा गर्ने जिम्मेबारी लिनुपर्छ ।”कार्यकर्ता र केही सांसद विधेयक पारित भएको खुशी मनाउन संसद भवनबाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलविदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदैछ’ भन्ने पोस्टर लहराउँदै खुशी मनाएका थिए ।कार्यकर्ताहरूले ‘इतिहास निर्माणमा रहेको’ भन्दै विधेयकको स्वागत गरेका छन् । “हामी निर्णायक विन्दुमा पुगेका छौँ, अधिकांश कोरियाली कुकुरको मासु खान अस्वीकार गर्नेछन् र यो पीडालाई इतिहासको किताबमा राखिएको हेर्न चाहन्छन्”, ह्युमन सोसाइटी इन्टरनेसनल/कोरियाका कार्यकारी निर्देशक जुङआह चाइले भने, “आज हाम्रा निर्माताहरूले यसलाई वास्तविकता बनाउन निर्णायकरूपले काम गर्नुभएको छ, यद्यपि मेरो हृदय लाखौँ कुकुरका लागि भाँचिएको छ जसका लागि यो परिवर्तन अत्यन्त ढिलो आएको छ, दक्षिण कोरियाले अब हाम्रो इतिहासमा यो दयनीय अध्यायलाई बन्द गर्न सक्छ र कुकुरको अनुकूल भविष्यलाई अपनाउन सक्छ भन्नेमा म अत्यन्त खुशी छु ।”सोलस्थित थिङ्कट्याङ्क वेलफेय अवेरनेस, रिसर्च एन्ड एजुकेसनले सोमबार जारी गरेको सर्वेक्षणमा दक्षिण कोरियामा १० मध्ये नौ जनाले भविष्यमा कुकुरको मासु नखाने बताएका छन् । एक्टिभिस्ट ग्रुप एनिमल लिबरेसन वेभले मङ्गलबारको मतदान विश्वस्तरमा अग्रणी निर्णय थियो भन्दै यसबाट अन्य जनावरको अधिकारको रक्षाका लागि मार्ग प्रशस्त भएको बताएको छ ।